`

हिउँदे अधिवेशन लम्बिँदा बजेटमा दबाब

काठमाडौँ । संसद्को चालु हिउँदे अधिवेशन लम्बिँदै जाँदा बजेट अधिवेशनको कार्यतालिकामा दबाब पर्न थालेको छ । चालु अधिवेशन अन्त्यको कुनै टुङ्गो लागेको छैन । वैशाख १२ गतेपछि लगत्तै अधिवेशन अन्त्यको सिफारिस गर्ने सरकारको तयारी छ । अधिवेशन अन्त्यमा ढिलाइ हुँदा यो वर्ष पनि बजेटको सिद्धान्त र प्राथमिकता (प्री–बजेट)को छलफल सङ्क्षिप्त वा नियम निलम्बनकै भर पर्नुपर्ने अवस्थाउन्मुख भएको छ ।

अघिल्लो वर्ष प्रतिनिधि सभा नियमावलीको नियम निलम्बन गरेर २०७९ जेठ ४ गतेबाट प्री–बजेट छलफल प्रारम्भ भएको थियो । २०७८ सालमा प्रतिनिधि सभा विघटनको अवस्थामा सरकारले अध्यादेशबाट वार्षिक बजेट ल्याएको थियो ।

चालु अधिवेशन वैशाख १३ गतेपछि अन्त्य गर्ने सरकारको तयारी छ । सोही मितिमा अधिवेशन अन्त्य गरी वैशाख २८ गतेपछि मात्र बजेट अधिवेशन सिफारिसको तयारी थालिएको छ । वैशाख २८ गतेपछि मात्र अधिवेशन बोलाइए प्री–बजेट तालिकामा दबाब पर्नेछ । जेठ १५ गते बजेट पेस गर्नुभन्दा १५ दिनअघि प्री–बजेट छलफल सक्नुपर्ने प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ ।

वैशाख २८ गतेपछि मात्र अधिवेशन प्रारम्भ भएमा प्रस्ताव प्रस्तुत गरेकै दिनबाट सार्वजनिक बिदामा समेत छलफल भएमा तीन कार्य दिन बाँकी रहनेछ । तीन दिनमा छलफलमा उठेका विषयमा जवाफको समेत कार्यतालिका बन्नुपर्नेछ । जेठ लागेपछि छलफलका लागि भने प्रतिनिधि सभा नियमावली निलम्बन गर्नुपर्छ ।

सङ्घीय संसद् सचिवालयले भने छलफलको अनौपचारिक रूपमा आन्तरिक कार्यतालिका गृहकार्य गरेको छ । सचिवालयले प्री–बजेट, नीति तथा कार्यक्रम पेस र छलफल, आर्थिक सर्वेक्षण पेसलगायतको अनौपचारिक रूपमा समयतालिका गृहकार्य गरेको छ । जसमा प्री–बजेट छलफलका लागि तीनदेखि चार दिन समय छुट्याइएको छ । यस्तै नीति तथा कार्यक्रमको छलफलका लागि पनि तीनदेखि चार दिन र जवाफका लागि बढीमा दुई दिनको तालिका आवश्यक हुने गृहकार्य सचिवालयको छ ।

अर्थ मन्त्रालयले भने वैशाख २५ गते बजेटका प्राथमिकता र सिद्धान्त संसद्मा पेस गर्ने गरी कार्यतालिका गृहकार्य गरेको छ । आन्तरिक कार्यतालिका अनुसार मन्त्रालयले बजेट तालिका तय गरिसकेको छ । संवैधानिक रूपमा जेठ १५ गते वार्षिक बजेट संसद्मा पेस अनिवार्य बनाइए पनि त्यसअघिका प्री–बजेट र नीति तथा कार्यक्रम तालिकाबद्ध हुन सकेका छैनन् । पछिल्ला वर्ष राजनीतिक र महामारीका कारण तालिका प्रभावित भइरहेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा

भरतपुर – चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।

निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन् । सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ । इच्छाकामना र कालिका नगरपालिकामा बिहीबार नै निर्वाचन सामग्रीसहित कर्मचारी पुगे भने भरतपुर क्षेत्रमा शुक्रबार कर्मचारी पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी अमबहादुर पुर्जाका अनुसार मतदान अधिकृतले सर्वदलीय बैठकलगायतका आवश्यक तयारीका काम गर्ने बताउनुभयो । उहाँले मतपत्र, मतपेटिकालगायतका सामग्री पनि मतदानस्थलमा पुगिसकेको जानकारी दिनुभयो ।

चितवन २ का ४३ निर्वाचनस्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका छन् । उहाँका अनुसार एक मतदान केन्द्रमा पाँच कर्मचारी खटाइएको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् ।

लामो दूरीका सवारी साधन मात्रै चल्ने

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि यस क्षेत्रमा स्थानीय रुटका सवारी साधन आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै लामो दूरीका सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । लामो दूरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ । प्रहरीले चितवनको सिमाना धादिङतर्फको मौवा खोला, मुग्लिन, नारायणगढको पुलचोक र गोन्द्राङ चोकमा चेकजाँच गरी केही समयको अन्तरालमा मात्रै समूहमा मात्रै सवारी साधनलाई गन्तव्यमा पठाइने प्रशासनले जनाएको छ ।

चितवन प्रशासनले नारायणी पुलमा पर्नसक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैँडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दूरीका सवारी साधन यकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ । वैशाख १० गते जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, पत्रकारका सवारी साधन मात्र सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।

पासाङल्हामु राजमार्ग निर्माणलाई प्राथमिकता दिन मन्त्री ज्वालाको ध्यानाकर्षण

काठमाडौँ-पासाङल्हामु राजमार्गअन्तर्गत बालाजुदेखि नुवाकोटको रानीपौवा हुँदै पीपलटारसम्मको सडकको तत्काल पुनःठेक्का लगाई तीव्रताका साथ काम गर्न   भैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराइएको छ ।

नुवाकोटका पूर्वसांसद एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य राजेन्द्रप्रकाश लोहनीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सो ध्यानाकर्षण गराएको हो । छिमेकी चीनको केरुङसम्म जोडिएको सो मार्ग नौ वर्षदेखि असरल्ल अवस्था छ । उहाँहरूले टोखा छहरे सुरुङमार्ग निर्माणको काम अघि बढाउन पनि माग गर्नुभयो । सो अवसरमा मन्त्री ज्वालाले उक्त सडक र सुरुङ निर्माणकार्यलाई प्राथमिकता दिने आश्वासन दिनुभयो ।

सो अवसरमा अधिवक्ता वसन्त बस्नेत, विदुर नगरपालिका–६ का पूर्वअध्यक्ष राजु सडौैला, शिवपुरी गाउँपालिका–४ का पूर्ववडा सदस्य सन्तोष थापा, समृद्ध नुवाकोट अभियानका महासचिव माधवप्रसाद तिवारीलगायत सहभागी हुनुहुन्थ्यो ।

महँगो हवाई भाडाबारे इपिएस कोरियालाई श्रम मन्त्रालयले सोध्यो स्पष्टीकरण

नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएकोबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) कोरियालाई स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका अनुसार कोरिया जाने अत्यधिक महँगो टिकटबारे श्रम मन्त्रालयमार्फत इपिएसलाई तीन दिनभित्र जवाफ पेस गर्नेगरी स्पष्टीकरण सोधिएको हो ।

इपिएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो रु प्रतिव्यक्ति नाफा कति आउँछ रु भनी प्रश्न सोधिएको मन्त्री किराँतीले जानकारी दिनुभयो । त्यस्तै कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोकेको छ रु समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ रु सोको जानकारी गराउन भनिएको छ । 

त्यसैगरी कोरियन एयरलाइन्सले रु एक लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ रु कोरियन एयरलाइन्सले किन अत्यधिक भाडा लिएको हो रु लगायत प्रश्न इपिएस कोरियालाई मन्त्रालयले गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो वायु प्रदूषणले १५ दिनमै कालो

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूलद्वारमा राखिएको कृत्रिम फोक्सो १५ दिनमा नै कालो भएको छ । गत चैत २४ गते राखिएको एक जोडी कृत्रिम फोक्सो यहाँको वायु प्रदूषणले गर्दा १५ दिनमा नै कालो भएको हो । वायु प्रदूषण गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा एक जोडी कृत्रिम फोक्सो राखिएको थियो । उक्त फोक्सो आज १५ दिनपछि झिकिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले १५ दिनमा नै फोक्सो कालो देखिनुले यहाँ वायु प्रदूषण धेरै नै भएको बताउनुभयो । “फोक्सो १५ दिनमा नै कालो भएको छ । यसबाट वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने असरलाई बुझ्न सहज भएको छ”, उहाँले भन्नुभयो, “यसले फोक्सोलाई कति खराब गरेको छ भन्ने हामीले परीक्षण गर्नेछौँ ।”

उहाँले १५ दिनमा नै फोक्सो कालो भएपछि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । नेपालमा वायु प्रदूषणको मुख्य कारणमा सवारीसाधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कलकारखानाबाट हुने उत्सर्जन, जङ्गलमा लाग्ने डढेलोका साथै घर, रेष्टुरेन्ट तथा होटल व्यवसायबाट हुने उत्सर्जन र ऊर्जाका रूपमा काठ, दाउरा, कोइला, ब्रिकेट आदिको प्रयोग रहेका छन् । प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कणसमेत समावेश हुन्छन् ।

वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयाघात, मस्तिष्काघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउने गरेको छ । वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ ।

प्रदूषित वायुले सबै उमेर समूह र वर्गलाई प्रभावित गर्ने भए पनि बालबालिकाको फोक्सो विकसित भई नसकेकाले वायु प्रदूषणले उनीहरूको फोक्सोमा बढी प्रभाव पार्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

“वायु प्रदूषणको नकारात्मक प्रभावबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट आफूलाई बचाउन ठोस कदम चाल्नुपर्ने हुन्छ । तत्काल यसका लागि मास्क लगाउने, अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहने, विद्युतीय चुलो र सवारीसाधनको प्रयोग गर्ने, फोहर नजलाउने जस्ता कार्य गर्नुपर्ने हुन्छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दीर्घकालीनरूपमा व्यवस्थित सहरीकरण, नवीकरणीय ऊर्जा प्रयोग, रुख बिरुवा लगाउने जस्ता कार्य गरी वायु प्रदूषण कम गर्न सकिन्छ । विज्ञप्तिमा स्वास्थ्यमा वायु प्रदूषणको प्रभावबारे सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्य गर्न सबै सरोकारवालाको निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ ।

सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तरसम्बन्धी तथ्याङ्कअनुसार विश्वका एक सय ३१ देशमध्ये धेरै वायु प्रदूषण हुने देशमा नेपाल १६औँ स्थानमा रहेको छ । नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार एक सयको मृत्यु भएको थियो भने त्यसमध्ये पाँच हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो ।

ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज

विराटनगर – ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ ।

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्ने हिजो साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ ।

रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।

यी हुन् गण्डकी प्रदेश सरकारको सय दिनका उपलब्धि

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारको नेतृत्व सम्हालेको सय दिन पूरा भएका अवसरमा सरकारले गरेका उपलब्धि सार्वजनिक गरेका छन् । गत पुस २५ गते गण्डकी प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री बनेका उनले शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका १८ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा पु¥याउनुलाई वर्तमान सरकारको मुख्य उपलब्धिका रुपमा उल्लेख गरे । मन्त्रालय घटाउँदा सरकारको व्ययभार ८० देखि ९० करोडसम्म घट्ने मुख्यमन्त्री अधिकारीले बताए ।

मुलुकको वर्तमान आर्थिक अवस्था, प्रदेशको आन्तरिक आय र जनचाहनासमेतलाई दृष्टिगत गरी मन्त्रालयको सङ्ख्या कटौती गरिएको उनको भनाइ छ । मिर्गौलाका बिरामीलाई निःशुल्क डायलासिस सेवा प्रदान गर्न सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा २५ शय्या क्षमताको डायलासिस केन्द्र स्थापनालाई अर्को महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ ।

डायलासिस केन्द्रका लागि जनशक्ति व्यवस्थापनदेखि उपकरण खरिदको प्रक्रिया अगाडि बढिसेको मुख्यमन्त्री अधिकारीले बताए । उक्त केन्द्र सञ्चालनमा आएपछि गण्डकीमै डायलासिस सेवाको प्रतिक्षामा रहेका झण्डै तीन सय बिरामीको माग सम्बोधन हुने उनको भनाइ छ ।

हल गण्डकी प्रदेशभित्रका नौ सरकारी र छ वटा निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट डायलासिस सेवा प्रदान हुँदै आएको छ । उक्त क्षमताले नभ्याएका कारण कतिपय बिरामीले प्रदेश बाहिरका अस्पतालबाट सेवा लिन बाध्य छन् ।

सङ्घीय निजामती सेवा ऐन जारी नभएको स्थितिमा प्रदेश निजामती सेवा ऐन २०७९, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०७९ र गण्डकी प्रदेश निजामती सेवा नियमावली २०७९ जारी गरिएको सरकारको उपलब्धिमा उल्लेख छ । यस्तै केही प्रदेश कानुन संशोधन ऐनमार्फत ३४ ऐनहरुको संशोेधन गरिएको जनाइएको छ ।

औद्योगिक क्षेत्रलाई चाहिने जग्गा, प्रदेश सरकारका मन्त्रालय र कार्यालयले उपयोग गरेको भवन तथा जग्गाको स्वामित्व हस्तान्तरणका लागि सङ्घ सरकारलाई अनुरोध गरिएको मुख्यमन्त्री अधिकारीले बताए । पचासभन्दा बढी सडक, जलविद्युत्लगायत पूर्वाधार आयोजनाका लागि जग्गा उपलब्ध गराउन सङ्घ सरकारसमक्ष सिफारिस गरिएको उनले उल्लेख गरे ।

कोभिड–१९ महामारीबाट प्रभावित साना व्यवसायीको कर्जामा ब्याज सहुलियतका लागि रु १३ करोड निकासा गरिएको जनाइएको छ । किसानलाई व्यावसायिक बनाउन कृषि र पशु बीमालाई निःशुल्क बनाइएको मुख्यमन्त्री अधिकारीले बताए ।

जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार कार्यविधि २०७९ तयार गरिएको उपलब्धिमा उल्लेख छ । यस अवधिमा सडक तथा पूर्वाधारतर्फ दुई सय ४१ योजनाको ठेक्का सम्झौता भएको र ५१ किमी सडक कालोपत्र भएको जनाइएको छ ।

राष्ट्रका लागि चाहिने स्वयंसेवक उत्पादन गर्न आधारभूत तहका विद्यालयमा मानव उपयोगी आधारभूत सीप सम्बन्धि पाठ्यक्रम विकास गर्न लागिएको मुख्यमन्त्री अधिकारीले बताए । यस्तै ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमअन्तर्गत १५ वटा खेल मैदान निर्मााणका लागि सम्झौता भएको उनले उल्लेख गरे ।

प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठिरहेका बेला संविधानले परिकल्पना गरेअनुसार जनजीविकाका मुद्दालाई बलियो रुपमा प्रस्तुत गर्न ठोस कदम चालिएको मुख्यमन्त्री अधिकारीले बताए । गण्डकी प्रदेशको विकास, समृद्धि र सुशासनमा टेवा पुग्ने गरी सरकारले कार्यसम्पादन गरेको उनको भनाइ छ ।

एमालेसहित नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा गत पुस २५ गते अधिकारी नेतृत्वको सरकार गठन भएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गत चैत १० गतेदेखि सरकार अल्पमतमा छ ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट शनिबार विश्वासको मत लिँदै छन् । साठी सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । अहिलेकै स्थितिमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने सम्भावना कम छ ।

कोशी प्रदेशलगायत पहाडी भुभाग पानी पर्ने, तराईमा हावाहुरी

काठमाडौं – आज देशका केही स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको छ । अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ भने कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कारक्षणिक पानी पर्ने सम्भावना रहेको छ।

कतार प्रहरीमा जागिर लगाउने प्रलोभनमा ६३ लाख ठगी

काठमाडौँ – वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनाको रु ६३ लाख ठगी गरेका छन् ।

उनीहरुबाट रु ६३ लाख ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौँको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि रु सात लाख लाग्ने भन्दै रकम ठगेको पाइएको छ । दाहालले यसरी रकम ठगी गर्दा त्यहाँको प्रहरीमा जागिर भएपछि मासिक रु एक लाख कमाइ हुने लोभ देखाएका थिए ।

पीडितहरुको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरीदिन माग भएअनुसार खोजीका लागि खटिएको प्रहरीले उनलाई गएराति झापाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि आजै वैदेशिक रोजगार विभाग काठमाडौँमा पठाइएको राठौरले जानकारी दिनुभयो ।

यस्तै कार्यालयले फेसबुकको दुरुपयोग गरी मानिसको चरित्रह-त्या गर्ने दोलखाका शम्भुलाई पनि पक्राउ गरी थप कारबाहीका लागि ललितपुर प्रहरीलाई बुझाएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।

‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ – यही शैक्षिकसत्रदेखि काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अब विद्यार्थीले शुक्रबार किताब बोकेर विद्यालय जाँदैनन् । नियमित समयमै विद्यालय जान्छन् तर अन्य अतिरिक्त क्रियाकलाप गरेर व्यावहारिक ज्ञान लिएर घर फर्कन्छन् । कक्षा सञ्चालन सुरु भएसँगै प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम लागू गर्ने कामपाको भनाइ छ । अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको छ ।

कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि कामपाको प्रत्येक सामुदायिक विद्यालयलाई पत्राचार गरिसकेको छ । यसअघि केही विद्यालयले शुक्रबार १ बजे पछि मात्रै केही अतिरिक्त क्रियाकलाप गर्ने गरेका थिए । यसलाई पूरा दिन र सबै शुक्रबार किताबको ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको हो । विद्यार्थी भाइबहिनीका लागि जीवनोपयोगी, जिन्दगी पढ्ने शिक्षा दिन खोजिएको महानगरले बताएको छ ।

अब हरेक शुक्रबार १० देखि ४ बजेसम्म नै अतिरिक्त कार्यक्रम सञ्चालन हुन्छ । सुरुआती चरणमा सामुदायिक विद्यालयमा मात्रै कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षदेखि निजी विद्यालयमा पनि विस्तार गरिने कामपाको तयारी छ । कार्यक्रम सञ्चालन गर्न कामपाले प्रत्येक माध्यमिक विद्यालयलाई रु एक लाखका दरले बजेट वितरण गरिसकेको छ । “आगामी वर्ष बढाएर कम्तीमा रु दुई लाख बचाउने तयारी छ”, प्रमुख सुवेदीले भन्नुभयो ।

आज ‘हाफटाइम’ अघि सम्बन्धित कक्षामा अध्ययन गराइने सम्बन्धित किताबसँग आधारीत रहेर अतिरिक्त क्रियाकलाप हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूहगत छलफलका क्रियाकलाप गर्दैै रमाउँदै कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रमुख सुवेदीले भन्नुभयो, “क्रियाकलाप थप महत्वपूर्ण हुन्छ जुन सीपसँग सम्बन्धित छन् जहाँ खाना पकाउने, व्यक्तिगत र घर सरसफाइका भाषण गर्ने कलासहित अन्य व्यावहारिक ज्ञानका विषय यसमा समावेश गरिन्छ ।” कार्यतालिका बनाएर शुक्रबार नै खेतबारीको स्थलगत अवलोकन पनि गराइनेछ । उक्त कार्यक्रम कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीलाई सञ्चालन गरिन्छ ।

कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

दक्षिण कोरियाको उत्पादक मूल्य उकालो लाग्दै

कोरिया – दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।

उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) एक महिना अघिको मार्चमा ०.१ प्रतिशतले बढेको थियो भने फेब्रुअरीमा ०.२ प्रतिशत र जनवरीमा ०.४ प्रतिशतले बढेको बैंक अफ कोरिया (बीओके) ले जनाएको छ ।

कोभिड–१९ महामारी विरूद्ध बिभिन्न किसमका नियन्त्रणात्मक उपायहरू अपनाइएका कारणले गर्दा भोजनालय र आवास सेवाका क्षेत्रका उच्च मूल्यमा आपूर्तिकर्ताहरू बीचको सेवा मूल्य गत महिना ०.१ प्रतिशतले बढेको बैङ्कले जनाएको छ । यसैगरी महङ्गा खालका रासायनिक उत्पादनहरूमा औद्योगिक उत्पादनहरूको मूल्य ०.२ प्रतिशतले बढेको पनि बताइएको छ ।

यद्यपि कृषि, पशुपालन र माछापालन उत्पादनहरूको मूल्य ०.९ प्रतिशतले घटेको छ । बिजुली, प्राकृतिक ग्यास र धाराको पानीको उत्पादक मूल्य एक महिना अघिको तुलनामा मार्चमा ०.४ प्रतिशतले घटेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

अन्तरसरकारी वित्त परिषद् बैठक : वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउन जोड

काठमाडौँ – अन्तरसरकारी वित्त परिषद्को आठौँ बैठकले वित्तीय सङ्घीयतालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न तीनवटै तहका सरकारबीच समन्वय र सहकार्यको आवश्यकता औँल्याएको छ । अर्थ मन्त्रालयमा आज बसेको परिषद् बैठकले योजना तर्जुमा, बजेट विनियोजन, कार्यान्वयन तथा खर्च र राजस्व सङ्कलनमा तीन तहका सरकारबीच समन्वय हुन नसकेको निश्कर्ष निकाल्दै वित्तीय सङ्घीयता कार्यान्वयनमा बढी जोड दिनुपर्ने आवस्यकता औँल्याएको हो ।

तीन तहका सरकारबीच दोहोरो नपर्ने गरी आयोजना सञ्चालन गर्ने, कर सङ्कलन प्रणालीलाई थप सुदृढ गर्ने, करमा देखिएको दोहोरोपनलाई स्पष्ट गर्ने, वित्तीय सङ्घीयताका आधारमा कानुन निर्माणलाई जोड दिनेलगायत विषयमा बैठकले निर्णय गरेको छ । त्यस्तै, प्राप्त स्रोत र साधनलाई व्यवस्थित गर्दै उच्चतम उपयोगलाई अवलम्बन गर्ने, श्रोतको यकिन नगरी दायित्व सिर्जना हुन नदिने र योजना तर्जुमा गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै स्रोत सुनिश्चितता गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले श्रोतको सुनिश्चितता गरेर मात्र आयोजना छनोट गरिनुपर्ने बताउनुभयो । वित्तीय सङ्घीयता कार्यान्वयनमा तीनवटै तहका सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । “सबै तहका सरकारको महत्वपूर्ण जिम्मेवारी छन् । ती जिम्मेवारी प्रभावकारी ढङ्गले पूरा गर्नुपर्ने अहिलेको चुनौति छ”, अर्थमन्त्री महतले भन्नुभयो, “कतिपय विषयमा ऐन कानुन तर्जुमा भइनसकेकाले समस्या छ । कार्यान्वयनमा पनि कमजोरी छन् । कतिपय हामी आफैँले सिर्जना गरेका समस्या छन् ।”

अर्थमन्त्री अध्यक्ष रहने परिषद्मा प्रदेश सरकारका अर्थमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री, प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्यमन्त्री सदस्य रहने व्यवस्था छ ।

अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्नका लागि पनि तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको अर्थमन्त्री महतले बताउनुभयो । “अर्थतन्त्रमा धेरै समस्या छन् । तर अब हामीसँग विकल्प धेरै छैनन् । एउटा विकल्प भनेको अब हामीले साधारण खर्चलाई निर्ममतापूर्वक न्यून गर्नुपर्छ”, उहाँले भन्नुभयो, “तलबभत्ता र सामाजिक सुरक्षामा हामीले प्रतिबद्धता जनाइसकेका छौँ, यसबाट पछि हट्नसक्ने अवस्था छैन । यी बाहेक हामीले खर्च घटाउन सक्ने फर्निचर, गाडी, भ्रमण भत्तालगायतमा केन्द्र सरकार र अर्थ मन्त्रालयले निर्ममतापूर्वक प्रस्तुत हुनेछ ।” प्रदेश सरकारले पनि नयाँ सामान खरिद नगरेर अहिले उपलब्ध साधनस्रोतबाटै काम गर्न आग्रह गर्नुभयो ।

तीनवटै तहमा विकास खर्च निकै कम हुनु पनि अहिलेको मुख्य समस्या रहेको उहाँको भनाइ छ । “सङ्घ, प्रदेश र स्थानीय तह सबैतिर पूँजीगत खर्च कम भइरहेको छ । यसलाई बढाउन खर्चको प्राथमिकीकरण गर्न जरुरी छ”, अर्थमन्त्री महतले भन्नुभयो, “सीमित आयोजनामा हामीले खर्च गर्न सकेको भए यसको निश्चित प्रभाव देखिन्थ्यो । श्रोत नभएको आयोजनाले प्रभाव देखिँदैन, जनता पनि निराश हुन्छन् । यसले हाम्रो विश्वसनीयतामा प्रश्न उठ्छ ।”

विनियोजन कुशलता नरहेको पनि अर्थमन्त्री महतले स्वीकार्नुभयो । यसलाई सुधार गर्नुपर्ने उहाँको भनाइ छ । “बजेट छर्ने पुरानो शैलीबाट अब चल्नु हुँदैन । यी कुरालाई म कत्ति रोक्न सक्छु थाहा छैन । तर मेरो क्षमता, योग्यता र नियन्त्रणले भ्याएसम्म प्राथमिकताप्राप्त आयोजनाको श्रोत सुनिश्चिता गरेर मात्र अगाडि बढाउँछौँ ।”

‘केन्द्रका पार्टीबीचको समस्याले प्रदेशमा प्रभाव पर्नु गलत’

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकार छुट्टै सरकार हुन् भन्ने कुराको अनुभूति सबैमा हुनुपर्ने बताउनुभएको छ । प्रदेश सरकारका सन्दर्भमा स्वतन्त्र निर्णय गर्ने सामथ्र्य प्रदेशको हुनुपर्ने उहाँले बताउनुभयो । संसद्मा विश्वासको मत लिनु अघिल्लो दिन आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले भन्नुभयो, “नेपाल सरकारको छायाँ प्रदेश सरकारमा परेको छ, केन्द्रका पार्टीबीचको समस्याले प्रदेशमा पनि प्रभाव पर्नु गलत हो, यसले सङ्घीयता बलियो बनाउँदैन ।”

मुख्यन्त्री अधिकारीले संविधानको पालनाका लागि जुनसुकै जोखिम उठाउनसमेत आफू तयार रहेको स्पष्ट पार्नुभयो । “हामीमा सत्तामोह छैन, मात्र अस्थिरता नहोस् भन्ने पक्षमा छौँ, संविधान आफ्नो अनुकूल ब्याख्या गर्ने विषय होइन पनि होइन, संविधानको पूर्ण पालनाको पक्षमा छु”, मुख्यमन्त्रीले भन्नुभयो ।

सरकारले छोटो समयमा पनि सुशासन, विकास तथा गण्डकी प्रदेशको समृद्धिका लागि महत्वपूर्ण कार्य गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको औचित्यका बारेमा प्रश्न उठिरहेका बेला संविधानले परिकल्पना गरेअनुसार प्रदेशलाई समन्वयकारी र जनताको नजिक रहेर जनताको जनजीविकाको सवालमा बलियोरुपमा प्रस्तुत हुन ठोस कदम चालिएको छ ।”

नेकपा(एमाले) संसदीय दलका नेता मुख्यमन्त्री अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।केन्द्रमा एमालेसहितको गठबन्धन परिर्वतन भएपछि गण्डकीमा समेत गठबन्धन परिवर्तन भएको हो । गण्डकी प्रदेशमा गत चैत १० गते नेकपा(माओवादी केन्द्र)ले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट हटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अधिकारीले शनिबार सदनमा विश्वासको मत लिन लाग्नुभएको हो । गण्डकीमा नेपाली कांग्रेसका २७, नेकपा(एमाले)का २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन् । मुख्यमन्त्री अधिकारीले संसद्बाट विश्वासको मत प्राप्त गर्न नसके उहाँको सरकार ढल्नेछ ।

उपनिर्वाचनको व्यवस्थापन चुस्त बनाउन निर्देशन

काठमाडौँ – यही वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन व्यवस्थापन चुस्त बनाउन निर्वाचन आयोगले सरोकारवाला निकायलाई निर्देशन दिएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले निर्देशन दिएको हो ।

उपनिर्वाचन हुने जिल्लाका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ । त्यस्तै, सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि आफ्नो सेवा चुस्त बनाउन र निर्वाचनका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ ।

उपनिर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई कसैले कुनै किसिमको डर, धम्की, प्रलोभन दिएमा वा उनीहरूको काममा बाधा पु¥याएमा उक्त कार्यलाई निर्वाचन कसुर मानी तत्काल कारबाही गर्न आयोगको निर्देशन छ । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले आफ्नो कर्तव्यभन्दा बाहिर गई निर्वाचनलाई प्रभावित हुने कुनै क्रियाकलाप गरेको भेटिएमा कारबाही गरिने पनि आयोगले जनाएको छ ।

मतदान हुने दिन मतगणना कार्यमा संलग्न सबै व्यक्तिले कोभिड–१९ लगायत सङ्क्रामक रोगको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी मापदण्ड अवलम्बन गर्ने गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।

हावाहुरी र बर्सातका कारण मतदान कार्य प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखी निर्वाचन सामग्रीको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारीका लागि पनि दिर्नेशन दिइएको छ । निर्वाचन सामग्रीको सुरक्षाका लागि त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समिति, निर्वाचन क्षेत्रभित्रका स्थानीय तह तथा सम्बन्धित स्थानीय तहका स्थानीय तह विपद् कार्य सञ्चालन केन्द्रलाई आयोगले निर्देशन दिएको हो ।

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा

काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौँ – भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उहाँको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गर्नुभएको थियो ।

उपनिर्वाचनको अनुगमन गर्दै मानवअधिकार आयोग

चितवन – यही वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुनलागेको उपनिर्वाचनमा हुनसक्ने मानवअधिकार उल्लङ्घनका घटनाको विषयमा अनुगमन सुरु गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा आएको टोलीले अध्ययन एवम् अनुगमनको काम सुरु गरेको हो ।

अनुगमनका क्रममा आज टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालगायतका विभिन्न सङ्घसंस्थासँग छलफल गरेको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा आयोजित अन्तरक्रिया कार्यक्रममा सदस्य ठाकुरले निर्वाचनको समयमा मानवअधिकार उल्लङ्घनका घटना सबै पक्षबाट हुने भन्दै यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।

विशेषगरी तीन प्रकारबाट मानवअधिकार उल्लङ्घनका घटना हुने उहाँको भनाइ थियो । मसलको प्रयोग, शक्तिको प्रयोग र आर्थिक प्रयोग गरेर निर्वाचनमा मानवअधिकार उल्लङ्घनका घटना हुने गरेको उहाँको भनाइ थियो ।

पछिल्लो समय सामाजिक सञ्जालमार्फतसमेत मानवअधिकार उल्लङ्घनका घटना भएको भन्दै उहाँले यसलाई नियन्त्रणका लागि मानवअधिकार आयोग मात्रै नभएर निर्वाचन आयोग र जनता स्वयं चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सरकार र सरोकारवाला निकायलाई भन्ने हो, खवरदारी गरिरहेका छाँै ।”

कार्यक्रममा आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले सामाजिक सञ्जालमा आएका टिक्काटिप्पणीले मानसिकरुपमा प्रभावित पर्ने भन्दै यस्तो कार्यलाई तत्काल रोक्न निर्वाचन आयोगसँग माग गरिने बताउनुभयो । यस्ता घटनाक्रमले शारीरिक रुपमा नभइ मानसिक रुपमा समस्या पार्ने उहाँको भनाइ थियो । यसलाई समेत मानवअधिकार हनन्को घटनामा राखेर हेर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानवअधिकार आयोगले सुन्ने मात्र होइन कानुनको पालना गर्न लगाउनुपर्छ ।” मानवअधिकार आयोग बागमती प्रदेशका सह–सचिव यज्ञ अधिकारीले सामाजिक सञ्जालमा गाली गलैच गर्दा पनि कतिसम्म गर्ने भन्ने विषय ख्याल गर्नुपर्ने बताउनुभयो ।

कसैले व्यक्त गरेको विचारमा अनावश्यक टिक्काटिप्पणी र गालीगलौज गर्न नमिल्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “त्यस्तो भएमा निर्वाचित भए पनि उसलाई पछि फाल्न सकिन्छ ।” मानवअधिकारका विषयमा प्रश्न गर्ने अधिकार सबैमा रहेको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार दीपेन्द्र वडुवाल, राजेश घिमिरे, कृष्ण आचार्यलगायतले उपनिर्वाचनका क्रममा जिल्लामा भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

कानुन बनाउने नै प्रभावित हुँदा विकास असम्भव भयो : मुख्यमन्त्री शर्मा

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कानुन बनाउनेहरू नै प्रभावित हुँदा विकासका गतिविधि असम्भव भएको बताउनुभएको छ । उहाँले कानुन जनताका प्रतिनिधिले नभई निश्चित स्वार्थ बोकेका व्यक्ति एवं संस्थाले बनाउने गरेका कारण विकासले गतिलिन नसकेको टिप्पणी गर्नुभयो ।

नगर विकास कोषले आज आयोजना गरेको कर्णाणी प्रदेशस्तरीय कार्यशालामा मुख्यमन्त्री शर्माले सार्वजनिक खरिद नियमावलीमा निर्माण व्यवसायीको र भूमाफिया एवं स्वास्थ्यका कानुनमा मेडिकल माफियाको प्रभाव हुने गरेको खुलासा गर्नुभयो । सङ्घीय सरकारको गतिविधिप्रति विरोध जनाउँदै उहाँले कर्णाली प्रदेशमा आवश्यक एक हजार एक सय कर्मचारी नपठाएर सिंहदरबारले अप्ठ्यारो पारेको उल्लेख गर्नुभयो ।

वित्तीय सङ्घीयता कार्यान्वयनमा सङ्घ र प्रदेश सरकार सफल हुन नसकेको मुख्यमन्त्री शर्माको भनाइ छ । “बजेट नै नभएको होइन, आफूसँग भएको साधन स्रोत, सीप, कला, क्षमता सही ढङ्गले परिचालन गर्ने कुशल व्यवस्थापकीय गुण हामीमा रहेनछ”, मुख्यमन्त्री शर्माले भन्नुभयो, “कर्णाली पछाडि परेको यस्तै कारणले हो ।”

नगर विकास कोषले स्थानीय सरकारको क्षमता विकासमा सहयोग पु¥याउँदै विकासका नयाँ मोडल स्थापित गर्न सक्ने भएकाले कोषलाई प्राथमिकतामा कर्णालीलाई राख्न उहाँले अनुरोधसमेत गर्नुभयो ।

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले ऋण र अनुदान दिने मात्र नभई प्राविधिक क्षमता विकासमा पनि कोषले सहयोग गर्ने भएकाले नगरपालिकाले यसबाट फाइदा लिन आफैँ अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोषसँग पैसा छ, फाइल बोकेर सिंहदरबार होइन कोष कार्यालयमा आउनुस्, हामी योजनालाई प्रतिफलमुखी अवधारणामा विकास गर्ने प्राविधिक सीपसँगै लगानी पनि गरिदिन्छौँ ।”

कार्यक्रममा घोराही नगरपालिकाका नगरप्रमुख एवं नगरपालिका सङ्घका महासचिव नरुलाल चौधरीले व्यावसायिक प्रतिफल दिने खालका आयोजनामा ऋण लिन अग्रसर हुन कर्णालीका २५ वटै नगरपालिकाका प्रतिनिधिलाई आह्वानसमेत गर्नुभयो ।

पूर्वअर्थ सचिव कृष्णहरि बास्कोटाले ऋणको सही सदुपयोग गर्नसके नगर समृद्ध हुने तर्क प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “नगर विकास कोष स्थानीय सरकारकै बैंक हो, सदुपयोग गर्न सके श्रीखण्ड नत्र सामान्य बिड हो, त्यो क्षमतामा निर्भर रहन्छ ।”

कार्यक्रममा सहभागी नगरप्रमुखहरूले कोषले दिने ऋण सुविधाबारे यसअघि पर्याप्त जानकारी हुन नसकेकाले कोषसम्म पुग्न नसकिएको स्वीकार गर्नुभयो । योजना निर्माणमै कोषसँग उहाँहरूले सहयोगका लागि आग्रहसमेत गर्नुभयो ।

युरोपियन युनियनको सहयोगमा नगर विकास कोषले नगरपालिकाको वित्त व्यवस्थापन तथा क्षमता विकाससम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअघि कोशी, मधेस, बागमती, लुम्बिनीमा कार्यशाला आयोजना गरिसकेको कोषले शुक्रबार कर्णाली प्रदेशमा कार्यशाला आयोजना गरिएको कोषका महाशाखा प्रमुख सुवासराज पन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा कोषले लगानी गर्ने विधि, प्रक्रिया, कानुनी व्यवस्था, जग्गा प्राप्तिलगायत विषयमा कोषका उपप्रबन्धकहरू सूर्य कार्की, देवान राई, राजेशकुमार भोछिभोया लगायतले प्रस्तुति दिनुभएको थियो । कार्यशालामा कर्णाली प्रदेशमा रहेका २५ वटा नगरपालिकाबाट प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर गरी एक सयभन्दा बढीको उपस्थिती रहेको थियो ।

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट गर्दै उहाँले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाइने बताउनुभयो ।

“हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने व्यवस्था गरेको छ । अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एकअर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु । निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्नेगरी कुनै पनि कानुन बनाउँदैनौँ ।”

निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्नेगरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मैले तपाईँहरूको साधारणसभामा नै भनिसकेको छु निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समेटिन्छ । निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न कुनै अप्ठ्यारो छैन । मर्यादाक्रम निर्धारण कसरी गर्ने भन्ने विषयमा मात्र हाम्रो ध्यान छ ।”

प्रधानमन्त्री दाहालले भर्खरै सम्पन्न साधारणसभाबाट कुशल नेतृत्व आएको र नयाँ कार्यसमितिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारसँग बलियो सहकार्य गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । “तपाईंहरूले राम्रो नेतृत्व छान्नुभएको छ । नयाँ नेतृत्वले सरकार र अन्य क्षेत्रसँग बलियो सहकार्य गर्नेछ । हामी सबै मिलेर अर्थतन्त्रका चुनौती छिचोल्दै सुशासन र समृद्धिको लक्ष्य हासिल गर्नेछौँ”, प्रधानमन्त्रीले भन्नुभयो ।

भेटमा महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने गरी विधेयकको प्रक्रिया अगाडि बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । महासङ्घले निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न, नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सरलीकृत गर्न, पुँजीगत खर्च बढाउनका लागि नीतिगत र संरचनागत सुधार ल्याउन, राष्ट्रिय उद्योग र निर्यात प्रवद्र्धनमा जोड दिने नीति ल्याउन र निजी क्षेत्रसँगको सहकार्यका आधारमा अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कोशी प्रदेश नामकरण कसैको विपक्षमा छैन – मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको बताउनुभएको छ ।नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार एकाइको १३औँ कार्य समितिको वार्षिक साधारणसभा तथा बार भवन माथिल्लो तलाको आज उद्घाटन गर्दै उहाँले नामकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएकाले यसलाई आत्मसात गरेर जान आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “समयक्रममा भविष्यमा जनताको दुई तिहाइ मत प्राप्त भएमा संविधान एवं कानूनअनुसार प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ ।” उहाँले प्रदेश सरकार स्थानीय तहसँग विकास, उत्पादकत्व वृद्धि, रोजगारीको अभिवृद्धि, सौन्दर्य अभिवृद्धि र राजस्वको वृद्धि यी सबै पक्षलाई जोडेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले विगत १५ वर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेको जिकिर गर्नुभयो । उहाँले विगत पाँच वर्षको अवधिमा प्रदेश सरकारले आठ सय किलोमिटर कालोपत्र सडक, एक सय पक्की पुल, दुई सय झोलुङ्गे पुल र दुई सय भौतिक संचरना निर्माण गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तीको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्नसमेत आग्रह गर्नुभयो । प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आचारसंहिताको पालन गरी उच्च मूल्य र मान्यता कायम राख्न अधिवक्ताहरूलाई आग्रह गर्नुभयो । वरिष्ठ अधिवक्त विपुलेन्द्र चक्रवर्तीले फुटेर होइन जुटेर स्वतन्त्र न्यायपालिका कायम राख्न आग्रह गर्नुभयो ।

बार एकाइका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रदेश मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य, पूर्वअध्यक्ष रमेश कोइराला, सुनसरी बार सचिव, पार्षद प्रेमप्रसाद पोखरेल, वीरेन्द्रप्रसाद गौतम, अनिल खड्का र भवन निर्माण संयोजक सुरेशलाल श्रेष्ठले कानून व्यवसायीहरूबीच विवाद, समाधान र एकता कायम राखी नागरिकलाई न्यायालयप्रति आस्था एवं विश्वास कायम गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । प्रदेश सरकारको रु ४० लाख सहयोगमा बारको माथिल्लो तलाको सभा हलसहित भवन निर्माण गरिएको हो ।

बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छ : कामु प्रधानन्यायाधीश

दोलखा – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताउनुभएको छ । नेपाल बार एशोसिएसन दोलखा इकाइको भवन उद्घाटन कार्यक्रममा आज उहाँले बार र बेञ्च मिलेर न्यायपालिकाको सुधारका लागि काम गर्नुपर्ने बताउनुभयो ।

“निरंकुशतामा न्यायापालिका स्वतन्त्र हुन सक्दैन”, कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “बार र न्यायपालिका सदा स्वतन्त्र, सक्षम र निष्पक्षताका लागि मिलेर काम गर्नुपर्छ ।”

उहाँले कानुन व्यवसायीले पक्षको मात्रै न्याय गर्न नहुने र विपक्षीलाई पनि न्याय हुनुपर्ने र राज्यका हरेक क्षेत्र सच्चिनुपर्नेमा जोड दिनुभयो । कामु प्रधानन्यायाधीश कार्कीले कानुनको मूल्य र मान्यताका आधारमा कार्यपालिका र व्यवस्थापिकाको विवादका साथै प्रदेशका विवाद निरूपण गर्ने निकाय नै सर्वोच्च अदालत हो । उहाँले आफूले कानुन व्यवसाय र न्याय क्षेत्रको यात्रा दोलखाबाटै प्रारम्भ गरेको स्मरण गर्नुभयो ।

महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रधानमन्त्रीका तर्फबाट छिटो अगाडि बढाउन आफूले पहल गरिरहेको बताउनुभयो । उहाँले विपक्षी दलका नेता बिरामी हुँदा पनि विपक्षी दलकै नेतको निवासमा गरेर अघि बढाउने विषयमा छलफल भएको जानकारी गराउनुभयो । महान्यायाधिवक्ता पोखरेलले आज पनि सोही विषयमा प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग छलफल गरेको स्पष्ट पार्नुभयो ।

संवैधानिक परिषद्को बैठक राष्ट्रियसभाका अध्यक्ष यही वैशाख १२ गर्ने आएपछि सहमति प्रक्रिया अघि बढ्ने र अब तत्काल नियुक्ति प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्दै संवैधानिक परिषद्ले तत्काल सर्वसम्मतिले नाम सिफारिस गर्न आग्रह गर्नुभयो ।

सर्वसम्मतरूपमा प्रधानन्यायाधीशको नाम तत्काल सिफारिस गरेमा कानुनको आवश्यकता नपर्ने उल्लेख गर्दै उहाँले उक्त कार्य नभएमा बारले चरणबद्धरूपमा आन्दोलन गर्ने बताउनुभयो । बागमती प्रदेशसभा सदस्य भरत केसीले आफ्नै नेतृत्वमा बार भवन निर्माण सुरू भएको उल्लेख गर्दै दोलखा बारले असहाय र न्याय पाउनबाट बञ्चितलाई निःशुल्क सेवा दिने गरेको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस दोलखाका अध्यक्ष बर्मा लामाले देशको समग्र क्षेत्रमा सुशासन कायम गर्न न्याय क्षेत्रले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले देशको विकृति र विसङ्गतिको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्नका लागि न्याय क्षेत्रले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) दोलखाका अध्यक्ष कुलबहादुर बुढाथोकीले सबैले न्याय पाउनुपर्ने र कोही पनि न्याय पाउने हकबाट बञ्चित हुन नपर्ने अवस्था सिर्जना हुनुपर्नेमा जोड दिनुभयो । नेपाल बार काउन्सिलका सदस्य डा चन्द्रकान्त ज्ञवालीले दलको इच्छाशक्ति भएमा संवैधानिक परिषद्का छ जनाको सहमतिमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संविधान बाधक नभएको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता लक्ष्मी उप्रेतीले न्यापालिकालाई रिक्त राख्नु नहुनेमा जोड दिँदै तत्काल प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अघि बढाउन माग गर्नुभयो । सर्वोच्च बार एशोसिएसनका अध्यक्ष हरिशङ्कर निरौलाले १४ महिनासम्म कामुका भरमा न्यायालय नेतृत्वविहीन हुनु अन्यायपूर्ण भएको हुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल माग गर्नुभयो ।

पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले न्यायापालिका नेतृत्वविहीन हुनु चिन्ताजनक विषय भएको र तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन माग गर्नुभयो । नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले सिङ्गो न्यायपालिकाले प्रधानन्यायाधीश तत्काल पाउनुपर्ने नत्र बार चुप लागेर बस्न नसक्ने चेतावनी दिनुभयो । उहाँले प्रधानमन्त्रीले तत्काल कार्यपालिकाको प्रमुखको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

दोलखा काठमाडौँ कानुन व्यवसायी समाजको संयोजक तथा वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले दोलखाका कानुन व्यवसायीले अध्ययन गर्ने थलो बन्नु महत्वपूर्ण भएको उल्लेख गर्दै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभयो ।

दोलखा बार इकाइका अध्यक्ष कृष्ण बस्नेतले दोलखा बारको भवन निर्माणमा सहयोग गर्नुहुने र उद्घाटनमा सहयोग गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले दोलखा बारले प्रकाशन गरेको न्यायिक बिम्वको पनि सार्वजनिक गर्नुभएको थियो ।

बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा

बारा – यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा खटिसकेका कर्मचारीले मतदानलाई सहज हुने गरी आवश्यक संरचना तयार पार्ने काम सुरु गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो । उहाँका अनुसार गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उहाँहरुलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने ब्यवस्था मिलाइएको छ ।

उहाँका अनुसार शनिबार बिहानदेखि मतपत्र पठाउन सुरु गरिने र भोलि बेलुकासम्म सबै मतदान केन्द्रमा पु¥याइसकिने छ । निर्वाचन आचारसंहिता पालना गराउन सुरु देखि नै कडाइ गरिए पनि छिटफुटरुपमा आचारसंहिता उल्लङ्घनका उजुरी आएको र त्यसमा आवश्यक छानविन भइरहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायको भनाइ छ ।

यस्तै बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल तय गरिएको र मतगणनास्थलमा आवश्यक तयारी भइरहेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार बारा क्षेत्र नं २ मा एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । कसैले मतपेटिका चलाउन र धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यतिmलाई सिधै गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रजिअ सापकोटाले बताउनुभयो ।

निर्वाचनका समयमा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशसान कार्यालयबाट पास लिएको भए पनि त्यसको दुरुपयोग भएको पाइएमा कानुन बमोजिम त्यस्तालाई कारवाहीसमेत गरिने प्रजिअ सापकोटाको भनाइ छ ।

सो निर्वाचन क्षेत्रका ८२ मतदान स्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ । त्यसमध्ये ६५ मतदानस्थल अतिसंवेदनशिल र १७ सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनलाई दृष्टिगत गरी आजदेखि तीन दिन भारतीय सीमा नाकामा आवतजावत बन्द गरिएको छ ।

वैशाख १० गते राति १२ बजे भारतीय सिमाना बन्द रहने प्रजिअ सापकोटाले बताउनुभयो । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाका ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी मैदानमा छन् ।

‘शेषराजगज’को स्याहारमै ब्यस्त बिमला

महेन्द्रनगर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै ब्यस्त हुनुहुन्छ । कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त नगरपालिका–१४ बनकट्टटीमा हुर्किनुभएकी ३० वर्षीया बिमला निकुञ्जकी पहिलो र एक मात्रै महिला माहुत हुनुहुन्छ ।

जागिरमा प्रवेश गरेदेखि नै यहाँको पिपरिया हात्तीसारमा कार्यरत बिमलाले हात्तीसारमा रहेकी शारदाकलीको निधनपछि शेषराजगजको स्याहारसुहारको जिम्मेवारी प्राप्त गर्नुभएको हो । “बिहान हात्तीलाई नुहाउनदेखि जङ्गलमा चराउने, खुवाउने र स्याहारलगायत काम गर्दै आएकी छु”, बिमलाले रासससित भन्नुभयो, “जागिरको सुरुआतमा जनावरसितको घुलमिल नहुँदा काम गर्न असहज भएको थियो, पछि बानी पर्दै जाँदा सहज बन्दै गयो ।”

निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीन स्थानमा हात्तीसार छन् । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाका लागि हात्तीद्वारासमेत गस्ती गरिन्छ । यहाँ रहेका छ हात्तीबाट गस्तीलगायत निकुञ्जको कामकाज गरिँदै आएको छ । शेषराजगज छावा भने गत पुसमा मात्र पिपरिया हात्तिसारमा राखिएको बिमला बताउनुहुन्छ ।

हात्तीको स्याहारदेखि गस्ती लैजाँदासम्मका लागि माहुत, पछुवा र फणित खटिने गरेका छन् । यहाँ हात्तीका लागि २१ कर्मचारी खटिएका छन् । ‘बिमला’ एक मात्र महिला कर्मचारीका रुपमा कार्यरत हुनुहुन्छ । “शारदाकली हुँदासम्म एक्लै पनि चराउन धेरै टाढासम्म जंगल पसेकी छु”, उहाँले भन्नुभयो, “अहिले शेषराजगज सानै भएकाले हात्तीसारबाहेक अन्यत्र जानु परेको छैन ।”

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गोपाल चौधरीसित घरजम गरेकी बिमलाका एक वर्षीय छोरा पनि साथमै हुनुहुन्छ । “छोरा सानै छ, उसको र शेषराजगजको स्याहारको जिम्मेवारी मेरै काँधमा छ”, उहाँले भन्नुभयो, “दुवैका लागि समय व्यवस्थापन गरेर अघि बढेकी छु ।” घरमा पशुचौपायाका लागि घाँस आहारा खोज्ने बिमलाको ब्यस्तता हात्तिसारमा पनि उत्तिक्कै बढी छ ।

“जनावरसितको काम चुनौतीपूर्ण नै हुन्छ, कति बेला कुन मुडमा हुन्छन् भर नै हुँदैन”, बिमलाले भन्नुभयो, “ अहिलेसम्म विना डरत्रास काम गरेकी छु ।” उहाँले आफ्नो पाँचवर्षे जागिरकालका क्रममा शुक्लाफाँटामा शारदाकली र रतनकली उमेर पुगे निधन भएको देखेको बताउनुभयो । “आफूले रातदिन स्याहारसुसार गरेको जनावरको मृत्यु हुँदा निकै दुःख लाग्छ”, बिमला भन्नुहुन्छ–“ठूला हात्तीसित काम गर्न धेरै सक्रियता चाहिने रहेछ ।”

विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान शुक्लाफाँटा ३६ पाटे बाघ, १७ गैँडालगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो । यहाँ आउने पर्यटकले हात्ती शयरको अवसर घरपालुवा हात्ती अभावकै कारण पाउन सकिरहेको छैनन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा दश हात्तीको दरबन्दी रहेको जानकारी दिनुभयो । “अहिले एउटा छावा (बच्चा) सहित सात हात्ती मात्रै यहाँ छन्”, उहाँले भन्नुभयो ।

विसं २०२६ मा सिकार आरक्षका रुपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । अभाव देखाउँदै निकुञ्ज प्रशासनले माथिल्लो निकायमा आवश्यकताअनुसार हात्तीको माग गरे पनि यसको सुनवाई हालसम्म हुनसकेको छैन । चोरी शिकारी नियन्त्रणका लागि गस्ती गर्न हात्तीको प्रयोग गर्नुपर्ने हुन्छ । हात्तीमा गस्ती गर्दा ‘फणित’ले नेतृत्व गर्छन् । हात्ती हाँक्ने, चराउनेदेखि स्याहारसुसार गर्ने कार्यका लागि यहाँ फणित, पछुवा र माहुत गरी तीन पदमा कर्मचारी कार्यरत छन् ।

सन् २००२ को साम्प्रदायिक दङ्गामा सामेल भएको अभियोग लागेका ६८ जना निर्दोष ठहर

भारत – सन् २००२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राज्यका प्रधानमन्त्री हुँदा गुजरातमा भएको धार्मिक दङ्गामा ११ जना मुस्लिमको हत्या गरेको आरोपमा मुद्दा लड्दै आएका पूर्वमन्त्रीसहित ६८ जनालाई भारतीय एक अदालतले बिहीबार सफाइ दिएको छ ।

११ जना मुस्लिमको हत्यापछि रेलमा भएको आगलागीमा परी ५९ जना हिन्दू तीर्थयात्रीको मृत्यु भएको र यसैलाई लिएर भएको धार्मिक हिंसामा कम्तीमा एक हजार व्यक्तिको मृत्यु भएको थियो ।

हिन्दू राष्ट्रवादी नेता मोदीमाथि घटनालाई नजरअन्दाज गरेको आरोप लागेको थियो । सन् २०१४ मा प्रधानमन्त्री बन्नुभएका उहाँलाई केही समयका लागि अमेरिकाको यात्रा प्रतिबन्धसमेत लगाइएको थियो । मोदीलाई सन् २०१२ मा सफाइ दिइएको थियो ।

एक पूर्व राज्यमन्त्री र कट्टरपन्थी हिन्दू समूहका दुई वरिष्ठ सदस्यलाई सफाइ दिएसँगै बिहीबार समाप्त भएको यो मुद्दा ११ जना मुसलमानको मृत्युमा केन्द्रित थियो र १४ वर्षसम्म चलेको थियो ।

हत्या, हत्याको प्रयास र दंगाको आरोपबाट मुक्त भएपछि अभियुक्त र उनीहरूका समर्थकहरूले हिन्दू नारा लगाएका थिए र अहमदाबादको अदालत बाहिर धेरैले आँसु झार्दै रोएका थिए ।

पूर्व मन्त्री माया कोडनानीलाई यसअघि ९७ जनाको मृत्यु भएको दङ्गाको अर्को घटनामा आजीवन कारावासको सजाय सुनाइएको थियो तर पछि उहाँलाई पनि सफाइ दिइएको थियो ।

भारतको सर्वोच्च अदालतले नयाँ अनुसन्धानको आदेश दिएपछि सुरु भएका केही मुद्दामध्ये यो अन्तिम मुद्दा हो । मुद्दामा कूल १८८ जना दोषी ठहर भएका छन् भने ३१३ जनाले सफाइ पाएका छन् ।

गत अगष्टमा १४ जना मुसलमानको हत्या गरेको अभियोगमा जेलमा रहेका ११ जनालाई रिहा गरिएको थियो । सामूहिक बलात्कारमा परेकी बिलकिस बानोनामकी एक महिलाले आफ्नो रिहाईविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेकी छन् ।

यसैबीच विपक्षी दल काङ्ग्रेसकी शमा मोहम्मद फैसलाप्रति विमति जनाउँदै बिहीबार गरेको ट्वीटमा गुजरातको न्याय प्रणाली ‘ढोंग’ भएको बताउनुभएको छ ।

यसअघि रेलमा भएको आगलागीमा आपराधिक षडयन्त्र र हत्याको अभियोगमा ३१ जना मुसलमानलाई दोषी ठहर गरिएको थियो ।

आज कुन देशको विनिमयदर कति ?

काठमाडौं – शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १३ पैसाले घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७४ पैसा कायम गरिएको छ । यस्तै आज युरोपियन युरो ४३ पैसाले बढेको छ ।

आज युरो एकको खरिददर १४३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। यस्तै बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ ३० पैसा र बिक्रीमा ८८ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ । 

यस्तै आज कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसा रहेको छ ।

बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा केसी

ढोरपाटन – डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिनुभएको छ । मङ्गलबार निसीखोला आउनुभएका डा केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिनुभएको हो ।

डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिनुभयो । केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुग्नुभएको हो । शाही भन्नुहुन्छ, “उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ, टुप्लुक्क आउनुभयो, हामी अचम्ममा प¥यौँ ।” डा केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिनुभएको उहाँले बताउनुभयो ।

“सबैलाई खबर गरिदिनु, कुनै रोगको समस्या भए आउनुहुन्छ, उहाँहरूको स्वास्थ्य जाँच गर्छु”, डा केसीको भनाइ उल्लेख गर्दै शाहीले भन्नुभयो । डा केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि यहाँ आउनुभएको थियो । आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उहाँले बताउनुभयो ।

डा केसी भन्नुहुन्छ, “पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ, त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुप¥यो भन्नुभएको थियो, अहिले मेसो मिल्यो, त्यही भएर आएँ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा केसीले यहाँ तीन दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले उहाँले सिफारिस गरेका औषधिको व्यवस्थापन गरेको जानकारी दिनुभयो । “उहाँ एक्कासी बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो, उहाँले हाडजोर्नी र नसासम्बन्धीका बिरामीको उपचार गर्दै हुनुहुन्छ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “बिरामी आउन थालेका छन्, हामीले रु एक लाख बराबरको औषधि व्यवस्थापन गरेका छौँ ।”

गलकोटमै आँखाको शल्यक्रिया

बागलुङको गलकोट नगरपालिका–३ हटियाका टेकबहादुर नेपालीको मोतियाबिन्दुको समस्याका कारण दुवै आँखामा समस्या थियो । गाउँमै आयोजना गरिएको निःशुल्क शल्यक्रियामार्फत नेपालीसहित ८५ जनाको शल्यक्र्रियामार्फत उपचार गरिएको छ ।

दुवै आँखा पुरानै अवस्थामा फर्केपछि दङ्ग परेको नेपालीको भनाइ छ । “दुवै आँखामा मोतियाबिन्दुको समस्या थियो, शल्यक्र्रियामार्फत आँखा देख्ने अवस्थामा पुगेँ”, नेपालीले भन्नुभयो, “गाउँमै आँखाको उपचार होला भनेर सोचेकै थिइनँ, अहिले उपचारपछि खुसी छु, भैरव आँखा उपचार केन्द्रले ठूलो गुन लगायो ।”

दुवै आँखाको उपचारपछि स्थानीय नन्दी पुनसमेत खुसी हुनुभएको छ । उहाँले गाउँमै आँखा उपचारपछि खर्च र समयको बचत भएको बताउनुभयो । गलकोटस्थित मल्ममा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट पाँच सय ७५ जना लाभान्वित भएका छन् । आँखा शिविरमा लाभान्वितमध्ये ८५ जनाको आँखाको शल्यक्र्रिया गरिएको थियो ।

गलकोट नपा–७ आँगाखेतमा बिहीबार सम्पन्न तीनदिने निशुःल्क आँखा शिविरबाट गाउँमै आँखाको उपचार तथा शल्यक्रिया सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।

श्री कृष्ण भैरव आँखा उपचार केन्द्रको आयोजना, श्री कृष्ण नेत्रालय भैरहवाको प्राविधिक सहयोग, हरिकृष्ण आइकेयर फाउन्डेसन र लायन्स क्लब अफ बुटवल मणिउजेशको सहयोग र गलकोट नपा–७ को संयोजनामा आयोजना गरेको आँखा शिविरका क्रममा पाँच सय ७५ जनाको आँखा जाँच गर्दा ८५ जनाको आँखाको समस्या देखिएकाले शल्यक्र्रियामार्फत उपचार गरिएको श्रीकृष्ण भैरव आँखा उपचार केन्द्रका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिनुभयो ।

शिविरमा स्थानीय सङ्घसंस्था र महिला समूहले सहयोगी भूमिका निभाएका थिए । आँखामा समस्या भएर देख्न नसक्नेलाई शल्यक्र्रियामार्फत उपचार गरिएको श्रीकृष्ण नेत्रालयका प्रमुख चिकित्सा निर्देशक डा सल्मा केसीले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका जनतालाई घरदैलोमै विशेषज्ञ सेवा प्रदान गरी स्वास्थ्यलाभ प्रदान गर्न शिविर सञ्चालन गरिएकोे डा केसीले बताउनुभयो । सेवा लिन गलकोटसहित छिमेकी पालिका र छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिकाबाट समेत आँखाका बिरामी आएका थिए ।

नेपाली सेनामा जागिर खाने सूवर्ण अवसर, ४५ सयले जागिर पाउने

काठमाडौं – नेपाली सेनामा जागिर खुलेको छ । शुक्रबार गोरखा पत्रमा जारी सूचनामा सेनाले ४५ सय जनाका लागि जागिर खुलइएको हो ।

भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाका अनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ । महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाइएको छ । आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौट स्थलमा बुझाउनु पर्ने नेपाली सेनाले जनाएको छ ।

चौथाइवाले किन बारम्बार काठमाण्डू आउँछन् ?

सुदुरपश्चिम नेपालमा एउटा सम्मेलनमा भाग लिन आएका भारतीय जनता पार्टीको विदेश मामिला प्रमुख विजय चौथाइवाले काठमाण्डूमा उच्चस्तरीय भेटवार्ताहरू सम्पन्न गरेर नयाँ दिल्ली फर्किएका छन्।

मनसखण्ड सम्मेलनमा विशेष अतिथिका रूपमा भाग लिन आएका चौथाइवाले त्यहाँबाट काठमाण्डू आएका थिए।उनले आफूले नेपालका प्रधानमन्त्रीसहित सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग भेटवार्ता गरेको जनाएका छन्।

सबै नेपाली नेताहरूले बलियो नेपाल-भारत सम्बन्ध र सघन पार्टीगत अन्तरक्रियामा जोड दिएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

को कोसँग भेटे, के भने?
काठमाण्डूमा भएका आफ्ना भेटवार्ताबारे ट्विटरमा चौथाइवालेले प्रसन्नता जनाएका छन्।उनले आफूले प्रधानमन्त्रीमा प्रचण्डलाई चुनावपछि सत्ता सम्हालेकोमा बधाई दिएको उल्लेख गरेका छन्।

प्रमुख विपक्षी नेता केपी ओलीसँगको भेटका बारेमा उनले लेखेका छन्, “उहाँले मलाई नेपालको राजनीति र अन्य अरू धेरै सम्बन्धित विषयहरूमा रोचक कुरा सुनाउनुभयो।”चौथाइवालेसँगको छलफलमा गेरुवा रङ्गको कमिज लगाएका ओलीसँगै एमाले नेता विष्णु रिमाल तस्बिरमा देखिन्छन्। बीबीसीले सम्पर्क गर्दा रिमाल उक्त भेटबारे खुल्न चाहेनन्।

पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र माधवकुमार नेपाल साथै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि उनले भेटवार्ता गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर राष्ट्रप्रमुख निर्वाचित भएकोमा बधाई दिने उनको योजना रहे पनि पौडेल अचानक अस्वस्थ्य भएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो।प्रधानमन्त्री प्रचण्ड आगामी वैशाखको अन्त्यसम्ममा भारत भ्रमणको तयारीमा रहेका भन्ने विवरणमाझ भारतीय सत्ताधारी दलका विदेश विभागका प्रमुखले राजनीतिक अन्तरक्रियाहरू गरेका हुन्।

यसअघि एमाले अध्यक्ष ओलीको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि चुनावअघिको गठबन्धन भत्किएको सहितका विषयमा नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा भाग लिन केही समय पहिले आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले चासो राखेका थिए।

चुनाव लगत्तै बनेको गठबन्धन भत्किएर अहिले बनेको कांग्रेस माओवादी समीकरणलाई नयाँ दिल्ली समेतले आफ्ना लागि सहज मानेको कतिपय विश्लेषकहरूले बताइरहेका छन्।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

चिट्ठी बाँड्नेको कथामा बन्यो ‘हल्कारा’

काठमाडौँ – अहिले प्रविधिमय जीवन छ । कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु छ भने सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँगाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’ को कथामा चलचित्र बनेको छ ।कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिनुभयो । चलचित्रले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रले वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गर्ने बताउनुभयो ।

“हामीले हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरेका छौँ । योसँगै गाउँको परिस्थिति, सामाजिक सचेतना पनि समेटेका छौँ । वैदेशिक रोजगारीमा रहेकाले यसलाई नजिकबाट महसुस गर्नु हुनेछ”, निर्देशक सापकोटाले भन्नुभयो । उहाँले नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँ आफ्नो चलचित्रलाई पूर्णरूपमा व्यावसायिक भन्न रूचाउनु हुन्छ । यद्यपि ‘हल्कारा’ लाई कालोपोथी, सेतो सूर्य, ऐना झ्यालको पुतलीको श्रेणीमा बुझिएको छ । निर्देशक सापकोटा श्रेणीगत भिन्नतामा सहमत हुनुहुन्न ।

“नेपालमा व्यावसायिक चलचित्रको परिभाषा फेरिएको छ । मनोरञ्जन जसरी पनि लिन सकिन्छ । एउटा गीत, एउटा द्वन्द्व र हास्य दृश्यलाई मात्र मूलधारको चलचित्र भनेर व्याख्या गरिनु सही होइन”, निर्देशक सापकोटाले भन्नुभयो, “मेरो चलचित्रमा ठूला दृश्य, चलचित्र भवनमा अनुभव गरिने ध्वनि छन् । यसले दिने मनोरञ्जनको शैली भने फरक हुन सक्छ ।”

चलचित्रमा शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नुभएको छ । हुलाकीलाई बाल्यकालमा देख्नुभएका अभिनेता त्रिपाठीलाई चरित्र निर्माण गर्न निर्देशक सापकोटाले पटकथामा तयार पार्नुभएको पात्रले सहज बनायो । “निर्देशकले दिनुभएको पटकथाले मेरो बाल्यकालको स्मृतिलाई ताजा बनायो । हुलाकीसँग जोडिएको सन्दर्भ सम्झेँ । आफ्नो पात्रलाई पढेपछि बाध्यता र स्थितिलाई महसुस गरँे”, अभिनेता त्रिपाठीले भन्नुभयो, “यो पात्रले आफ्नो अव्यक्त चाहना, सामाजिक दायित्व र आर्थिक पाटोलाई सबल बनाउन सङ्घर्ष गरिरहेको छ । हल्काराको आँखाबाट त्यो समय, परिस्थितिलाई सहजै देख्न र महसुस गर्न सकिन्छ ।”

अभिनेता त्रिपाठीले यही चलचित्रमार्फत अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जित्नुभएको थियो । उहाँसँगै छायाँकारले अवार्ड जितेपछि चलचित्रको चर्चा सुरु भएको अभिनेता त्रिपाठीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले मौलिक विषयलाई उठान गरेर चलचित्रमा ल्याएका छौँ । तर हामीलाई विदेशीले राम्रो छ भनेर प्रमाणित गरेपछि मात्र एक वर्गले विश्वास गर्नु हुन्छ । नेपाली मौलिक विषयलाई पर्दासम्म ल्याउन प्रोत्साहित गर्ने दायित्व दर्शकको पनि हुन्छ ।”

चलचित्रमा हल्काराको श्रीमतीको भूमिका विनिता थापामगरले निर्वाह गर्नुभएको छ । रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा आइपुग्नुभएकी अभिनेत्री थापामगरले अडिसन दिएर पात्रलाई प्राप्त गर्नुभएको थियो । “यो पात्रलाई मैले आफ्नो कलाकारिताको अनुभवलाई मिसाएर पूर्ण गरेकी छु । उसको पनि आफ्नै चाहना छ । केही सामाजिक प्रभाव पनि हुन सक्छ”, अभिनेत्री थापामगरले भन्नुभयो, “यसमा अभिनेत्रीको परिभाषालाई पछ्याइएको छैन । उसको सुन्दरता अनुहारमा नभई पात्रको विभिन्न आयाममा झल्किन्छ । पात्र बाँचेकी छु ।”

चलचित्रलाई सार्वजनिक प्रदर्शनमा ल्याउनुअगाडि विभिन्न अन्तर्राष्ट्रिय चलचित्रसम्बन्धी महोत्सवमा सहभागी गराइयो । केहीमा पुरस्कार र केहीमा छनोट भएको निर्देशक सापकोटाले जानकारी दिनुभयो । “हाम्रो नेपालमा बनिरहेको चलचित्र सूत्रमै केन्द्रित छ । पटकथामा देखिएका दृश्यलाई छायाङ्कन गर्दा दृश्य व्याकरण नमिल्दो देखिन्छ । यी यस्तै केही कारणले विदेशमा आयोजना हुने महोत्सवमा हाम्रो चलचित्र सहजै सहभागी गराउँदैनन् । यद्यपि केही व्यक्तिको नामकै कारण चासो दिने पनि गरेका छन्”, निर्देशक सापकोटाले भन्नुभयो ।

चलचित्रमा उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारले अभिनय गर्नुभएको छ । यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल हुनुहुन्छ । चिन्तन राजभण्डारी छायाँकार रहनुभएको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । वैशाख २९ गते प्रदर्शन तय गरिएको चलचित्रलाई जीजीए समूहअन्तर्गत रहेर करण श्रेष्ठले वितरण गर्दैहुनुहुन्छ ।

नक्कली नागरिकता बनाई दिने वडा अध्यक्षसहित ३ जना पक्राउ

काठमाडौं – नक्कली नागरिकता बनाई दिने बाराका वडा अध्यक्ष पक्राउ परेका छन् । मावली हजुरबुवावाट बंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई पक्राउ गरिएको हो । कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् ।

बारपाकमा टेलिकमको नेटवर्कमा समस्या

गोरखा – गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो ।

स्थानीयवासी सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ । उनले भने “फोन लाग्दैन, टावर पनि देखाउँदैन, इन्टरनेट चलाउन डाटा नचल्ने समस्या छ ।” स्थानीयवासीले सञ्चार सम्र्पकका लागि हैरानी खेप्नुपरेको छ ।

नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालले बारपाकमा रहेको टेलिकमको टावरमा बिद्युत्को भोल्टेज नपुग्दा नेटवर्कमा समस्या आएको बताए । समस्या समाधान गर्न त्यहाँ रहेको टेलिकमको टावरमा केन्द्रीय प्रसारण लाइनको थ्री फेज लाइनको मिटर जडान गर्न कार्यालयले आवश्यक पहल गरिरहेको उनले बताए ।

यस्तो छ आजको तरकारी तथा फलफुलको मूल्य

काठमाडौ। शुक्रबार केही हरियो तरकारी तथा फलफुलको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य तालिका अनुसार आज कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २८ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती २३० रुपैयाँ, कुरीलो २३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी र गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै राजमा घिउ सिमी ७० रुपैयाँ, घिरौला २८ रुपैयाँ, चमसूरको साग ७० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, लोकल परवर ८० रुपैयाँ, न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, पुदीना १२० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, भिण्डी ६० रुपैया केजी, मूला सेतो १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ३० रुपैयाँ केजी कायम गरिएको छ ।

सेभियासँग म्यानचेस्टर युनाइटेड पराजित, क्वाटर फाइनलवाटै बाहिरियो

काठमाडौं – गए राति युरोपा लिग अन्तर्गत भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ । रोमन सान्चेज पिजुवान सेभियामा भएको खेलमा म्यानचेस्टर युनाइटेड सेभियासँग पराजित भएको छ । 

क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलवाट बाहिरिएको हो ।  खेलको ८ औं मिनेटमा न्यास्रीको गोलबाट सेभियाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।

इभान राकिटिचको पासमा ४७औं मिनेटमा लोइक बेडले गोल गर्दै सेभियाको अग्रतालाई दोब्बर पारिदिए । पहिलो हाफमा खेल २–० को अवस्थामा पुग्यो ।   त्यसपछि ८१औं मिनेटमा न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल  गरे ।

बाराका नेपाल–भारत सिमा आज रातीवाट बन्द

बारा । १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजवाट मौन अबधि शुर गरिएको छ । उपनिर्वाचनका लागि आजवाट नेपाल भारत सिमा पनि बन्द गरिनेछ । 

जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द रहने जनाएको हो ।

सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ – मन्त्री रिजाल

बारा – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाद्वारा बिहीबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री रिजालले सिर्सियाको प्रदूषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सराहनीय रहेको र त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योगग्राम निर्माणका लागि पहल भइरहेको उनको भनाइ थियो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सिर्सियामा उद्योगबाट भइरहेको प्रदूषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोग आवश्यक भएको जिकिर गरे । बजेट अभावले नागरिकमुखी योजना कार्यान्वयन गर्न कठिन भएको उल्लेख गर्दै उनले यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन उनले मन्त्री रिजालसमक्ष आग्रह गरे ।

बैंक नाफासँगै जोखिम बढ्यो

बैंक, वित्तीय संस्थाको नाफासँगै जोखिम पनि बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा आइपुग्दा बैंकहरूको नाफामा सुधार आएसँगै खराब कर्जा पनि उच्च दरमा वित्तीय बढेको देखिएको छ ।

प्रकाशित अपरिष्कृत विवरणअनुसार २१ ओटा वाणिज्य बैंकहरूले चालू आवको चैतसम्ममा कुल ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो ११ दशमलव ६७ प्रतिशतले बढी हो । गत आवको चैतसम्ममा बैंकहरूले ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

चैतसम्ममा सबैभन्दा बढी नबिल बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवको सोही त्रैमासको तुलनामा सर्वाधिक नाफा वृद्धिदर एभरेष्ट बैंकको छ । उसले ६२ दशमलव ६३ प्रतिशतले नाफा बढाएको देखिएको छ । चैतसम्ममा सातओटा बैंकको नाफा पोहोरको तुलनामा घटेको देखिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रदेश तथा स्थानीय तहका लागि आएको १३ अर्बको कार्यक्रम असफल !

काठमाडौं । प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी संघीयता कार्यान्वयनमा सहयोग पु-याउने उद्देश्यले सञ्चालनमा ल्याइएको १३ अर्ब ३० करोडको कार्यक्रम असफलजस्तै देखिएको छ । सो कार्यक्रमको कुनै लेखाजोखा पनि हुन सकेको छैन ।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी संघीयताको कार्यान्वयन गर्ने उद्देश्यले १३ अर्ब ३० करोड रुपियाँ लागतमा आर्थिक वर्ष २०७९÷८० सम्ममा सम्पन्न गर्ने गरी प्रदेश तथा स्थानीय तह क्षमता विकास कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो । तर, मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व संवेदनशील र गम्भीर बन्न नसक्दा सो कार्यक्रम सफल हुन नसकेको मन्त्रालयका अधिकारीहरूको गुनासो छ ।

त्यति धेरै बजेट रहेको संवेदनशील कार्यक्रमको बारेमा मन्त्रालयमा गम्भीरतापूर्वक छलफल गरी योजना बनाउने कार्य हुन नसक्दा पूरै कार्यक्रम असफल हुने अवस्थामा पुगेको मन्त्रालयका एक अधिकृतको दाबी छ ।

संघीय शासन प्रणाली लागु भएसँगै सो शासन प्रणालीले आत्मसात गरेका मूल्य र मान्यताका बारेमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सचेतीकरण तथा पैरवी गराउन तथा सेवा प्रवाह प्रभावकारी बनाउने र सुशासन कायम गर्नेलगायतका विषयमा सचेत गराउनसक्ने उक्त योजना तथा कार्यक्रम कोशेढुंगा हुन सक्ने विश्वास गरिएको थियो तर, योजनाको फितलो कार्यान्वयनका कारण सफल हुन नसकेको बताइएको छ ।

मन्त्रालयले गत वर्ष २०७८/७९मा २ अर्ब ९५ करोड ५८ लाख खर्च हुने गरी विभिन्न क्रियाकलाप गर्ने योजना बनाएको भएपनि सो योजना सफल हुन नसकेको हो । मन्त्रालयका अनुसार सो रकमबाट स्थानीय र प्रदेशमा ५ सय ३३ वटा क्रियाकलाप गर्ने लक्ष्य राखिएको भएपनि १ सय ६८ वटा क्रियाकलाप भने शुरू नै हुन सकेन ।

मन्त्रालयले ५ सय ३३ क्रियाकलाप मध्ये २ सय ४४ वटा क्रियाकलाप मात्रै सम्पन्न भएको र त्यसका लागि १ अर्ब ४८करोड १० लाख रुपियाँ खर्च भएको जनाएको छ । तर, त्यसरी सम्पन्न गरिएका क्रियाकलापको उपलब्धिका बारेमा मन्त्रालयको नेतृत्व बेखबरजस्तै रहेका छन् । ती कार्यक्रमको बारेमा प्रभावकारी अनुगमनसमेत हुन सकेको छैन भने उपलब्धिकाबारेमा कुनै विश्लेषण गरिएको छैन । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

स्थानीय तहमा मनपरी नियुक्ति

काठमाडौँ । कतिपय स्थानीय तहका प्रमुखले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक भार थप्ने काम गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिकाका प्रमुखले आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक व्ययभार थपेका हुन् ।

महालेखा परीक्षकको गत पाँच वर्षको प्रतिवेदन अध्ययन गर्दा हरेक वर्ष गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेको उल्लेख छ । स्वकीय सचिव र सल्लाहकारका लागि प्रदान गरिने पारिश्रमिक खर्च नियन्त्रण गर्नुपर्ने भनी महालेखाको हरेक प्रतिवेदनमा उल्लेख गरे पनि स्थानीय तहले भने त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७८र७९ मा १८८ स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी वार्षिक आठ करोड ५३ लाख रुपियाँ पारिश्रमिक भुक्तानी दिएका छन् । आर्थिक वर्ष २०७७र७८ मा २३२ स्थानीय तहले स्वकीय सचिव र सल्लाकार नियुक्त गरी वार्षिक १० करोड २९ लाख २३ हजार रुपियाँ पारिश्रमिकस्वरूप भुक्तानी दिएको देखिएको छ ।

आर्थिक वर्ष २०७६र७७ मा १३१ स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी नौ करोड २९ लाख १६ हजार रुपियाँ पारिश्रमिकस्वरूप भुक्तानी दिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै २०७५र७६ मा १४० स्थानीय तहले पाँच करोड ६१ लाख रुपियाँ तथा २०७४र७५ मा १० वटा स्थानीय तहले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी ३५ लाख ३० हजार रुपियाँ पारिश्रमिकस्वरूप रकम भुक्तानी दिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७४ मा पहिलो पटक स्थानीय तहको निर्वाचन भएकाले सो वर्ष अन्य वर्षभन्दा केही कम सङ्ख्यामा स्वकीय सचिव र सल्लाहकार नियुक्त गरेको पाइएको छ ।

महालेखा परीक्षक कार्यालयका प्रवक्ता रवीन्द्रप्रसाद देवकोटाले स्थानीय तहका जनप्रतिनिधिले नियुक्त गरेका स्वकीय सचिव र सल्लाहकारलाई उनीहाँहरूको पारिश्रमिक शीर्षकमा नै भुक्तानी दिने गरेको आफूहरूले पाएको बताए । उनका अनुसार जनप्रतिनिधिले स्वकीय सचिव र सल्लाहकार राख्ने हो भने नियम एवं मापदण्ड बनाएर राख्नुपर्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

नेपालको कर प्रणालीमा गुगल दर्ता

विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो।

सरकारले चालु आर्थिक वर्ष २०७९र८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो। “गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने गरी दर्ता भएको छ,” उहाँले भन्नुभयो।

विभागका अनुसार सिङ्गापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल दर्ता भएको हो । विद्युतीय सेवा करको प्रशासन हेर्ने गरी विभागले ललितपुरको हरिहरभवनस्थित ठूला करदाता कार्यालयलाई जिम्मेवारी तोकेको छ। सरकारले चालु आर्थिक वर्ष २०७९र८० देखि गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तलाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लागू गरेको छ। यसअनुसार गुगलले नेपालका उपभोक्तालाई सेवा प्रदान गरेर आर्जन गरेको कुल आम्दानीको दुई प्रतिशत रकम अबदेखि नेपालमा बुझाउनुपर्नेछ। यद्यपि गुगलले नेपालबाट गर्ने वार्षिक आम्दानीको सरकारसँग आधिकारिक तथ्याङ्क भने छैन।

‘सर्च इन्जिन जायन्ट’का रूपमा चर्चिच गुगलका युट्युब र एन्ड्रोइड अपरेटिङ सिस्टम नेपालमा लोकप्रिय छन्। यसबाहेक गुगलले वेब ब्राउजिङ, क्लाउड कम्प्युटिङ, जिमेल, म्याप्स, फोटोज्लगायतका सेवा पनि उपलब्ध गराइरहेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
 

एसिसी प्रिमियर कप : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं – एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुने भएका छन् । कीर्तिपुरस्थित खेल मैदानमा हुने खेलमा नेपाल र ओमान  बीच प्रतिस्पर्धा हुनेछ। खेल आज बिहान पौने ९ बजे शुरु हुनेछ ।

यस्तै मुलपानी मैदानमा युएइ र हङकङ बीच प्रतिस्पर्धा हुनेछ। यो खेल पनि बिहान पौने ९ बजे नै शुरु हुनेछ ।