प्रधानमन्त्रीविरुद्ध रास्वपाको उजुरी, कारबाही गर्न माग


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले कारबाही गर्न माग गरेका हुन् ।
पौडेलले प्रधानमन्त्री प्रचण्डले बिहीबार पूर्वप्रधानमन्त्रीहरूसहित नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र चुनावी सभामा भाषणको क्रममा गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री, मुख्यमन्त्री बनाउनेजस्ता अनूचित प्रभाव पारेको भन्दै कारबाहीको माग गरेका हुन् ।
उजुरीमा गठबन्धनको उम्मेदवारको प्रचार प्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बहानामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण गराउन चाहेको बताइएको छ ।