`

आयोजकलाई पराजित गरी स्टार सिटी क्लब गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा 

धनगढी, २५ चैत – स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी स्टार सिटीले ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा स्थान पक्का गरेको हो । 

निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको ८ औँ मिनेटमै स्टार सिटीका कमल देउवाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० मा रहेको खेलमा ७५ औँ मिनेटमा आयोजक गौरीगङ्गाका नीराजन धामीले १ गोल फर्काएपछि खेल बराबरीमा सकियो । टाइब्रेकरमा स्टार सिटीका कुशल देउवा, माधव भण्डारी, किरण बोहरा र विष्णु चौधरीले गोल गरे । गौरीगंगा स्पोर्ट्सका तर्फबाट प्रकाश बोहरा, भरत बोगटी र सन्दीप कडायतले मात्र गोल गर्न सके । 

प्रतियोगिता अन्तरगत आइतबार बाजुरा र नवलपरासी आमनेसामने हुनेछन् । विजेता टोली अन्तिम चारमा पुग्ने छ । स्टार सिटीसँगै  बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र बाँकेको रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनल पुगिसेका छन् ।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सतराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।

मानवीय र भावनात्मक रूपमा समाजलाई नबुझ्ने मानिस नेता हुन सक्दैन : कांग्रेस महामन्त्री शर्मा 

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताएका छन् । उनलेे सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नु पर्नेमा जोड समेत दिए।

 राजनीतिभन्दा साहित्यको फाँट विराट हुने उनले उल्लेख गरे। ” समाजलाई बुझ्न मानवीय र भावनात्मक हुन जरुरी छ” महामन्त्री शर्माले भने,” राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ।” 

नेपाली लेखक संघ झापाले अर्जुनधाराको शनिश्चरेमा शनिबार सम्पन्न गरेको साहित्य उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने स्पष्ट पारे। 

गीत, संगीत, गायन, लेखन, कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्ममा समेत राम्रो दख्खल राख्ने शर्माले वैशाखी शीर्षकको कविता वाचन गरेर कार्यक्रमको माहोल आकर्षक बनाएका थिए। 

उनले पार्टीले लेखक संघ र लेखकका पक्षमा उल्लेख्य काम गर्न नसकेको स्वीकारे। महामन्त्री शर्माले आगामी दिनमा पार्टीले त्यसलाई आत्मसात गरेर अघि बढ्ने वचन समेत दिए। 

लेखक संघलाई प्रभावकारी बनाउन आफूले विगतमा पनि काम गरेको र भविस्यमा पनि त्यसलाई निरन्तरता दिने आश्वासन दिए। उनलेे लेखकहरु समाज रुपान्तरण र परिवर्तनका सम्बाहक भएको उल्लेख समेत गरे । 

तीन सत्रमा सञ्चालन भएको कार्यक्रममा लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठ , महासचिव सोझो गाउँलेले संघका गतिविधि र भावी कार्यक्रमका बारेमा स्पष्ट पारेका थिए। 

ज्ञानमणि नेपालले राष्ट्रिय लेखक दिवस, सन्दर्भ र औचित्य, कृष्ण बरालले लिला लेखन, बिचार र बहस विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि शैलेन्दुप्रसाद नेपाल, अनुपमा रेग्मी,  प्राज्ञ मुनाराज शेर्मा,  विष्णुकुमार भट्टराई लगायतले टिप्पणी गरेका थिए । 

संघका झापा अध्यक्ष कुमार भट्टराईले औचित्यका बारेमा प्रस्ट्याएको कार्यक्रममा केशव आचार्य, सुनिता तामाङ, लीला अनमोलले सहजीकरण गरेका थिए। उत्सवमा २० जना बढीले आआफ्नो रचना वाचन गरेको समीर कट्टेलले बताए। 

उत्सवको अवसरमा संघको केन्द्रीय सचिवालयको बैठक समेत शनिश्चरेमा बसेको थियो। सातै प्रदेशमा बैठक बस्ने योजना अनुरुप पहिलो बैठक कोशी प्रदेशमा बसेको संघका अध्यक्ष श्रेष्ठले जनाए।

भारतको तिहाड जेलबाहिर ‘मलाई जेल हाल’ भन्दै लाग्याे लाइन

नयाँदिल्ली, २५ चैत । शुक्रबार दिल्लीको तिहाड जेल बाहिर एउटा अनौंठो दृश्य देखियो । 

जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन मात्रै देखिएन कि जेल भित्र जानका लागि एक आपसमा तछाड मछाड गरेको दृश्य पनि ढोका देखियो । मानौं कारागारमा सबैभन्दा पहिले को प्रवेश ? गर्ने भन्नेमा कैदीबन्दीहरुको बीचमा प्रतिस्पर्धा चलिरहेको छ । 

वास्तवमा कोरोना महामारीका बेला सर्वोच्च अदालतको आदेशमा ४ हजार ६८३ कैदी रिहा भएका थिए । जसमा ११ सय ८४ कैदी सजाय पाएका थिए भने अन्य बिचाराधिन कैदी थिए । कोरोना महामारीमा बाहिर आउन पाएका मध्ये अधिकांश कैदीले अहिलेसम्म कारागारमा फर्केर गएका थिएनन । 

तर, गत फागुन २४ गते भारतीय सर्वोच्च अदालतले जेलबाट बाहिर आएका सबै कैदीलाई समयसिमा नै तोकेर १५ दिनभित्र जेलमा आत्मसमर्पण गर्नुपर्ने आदेश दियो । अदालतका आदेश अनुसार यसरी आत्मसमर्पण गर्ने अन्तिम दिन चैत २५ गते रहेको थियो । त्यसैले आत्मसमर्पण गर्ने अन्तिम मिति अर्थात चैत २५ गते तिहाड जेलको बाहिर कैदीहरुको लस्कर लागेको हो । उनीहरु बिच को पहिला जाने भन्नेमा सामान्यसम्म झगडासमेत भएको इन्डिया टिभीले जनाएको छ । 

अहिलेसम्म १ हजार ७६८ कैदीले आत्मसमर्पण गरिसकेका छन् । यद्यपि अझै धेरै कैदी आत्मसमर्पण गर्न नपुगेकाे भारतीय मिडियाहरूले जनाएका छन्  ।

१८० किलो गाँजासहित भारतीय नम्बर प्लेटको ट्रक र चालक नियन्त्रणमा

चितवन, २५ चैत – भारतीय नम्बर प्लेटको ट्रकमा राखेको १८० किलो गाँजासहित चितवन प्रहरीले ट्रक चालक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

चितवन प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै ट्रक चालक भारत बिहारको पूर्वी चम्पारण रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेललाई गाँजासहित पक्राउ गरेको हो ।

सामान लिएर आएको ट्रक फर्कंदा गाँजा लिएर जान लागेको भन्ने सूचनाका आधारमा प्रहरीले ट्रक रोकेर खोजतलास गर्दा १६ वटा पोका बनाएर लुकाएको गाँजा बरामद गरेको थियो । घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए ।

शुक्रबार बिहान राप्ती नगरपालिका–१ लोथर राजमार्गमा भारतीय नम्बर प्लेट बीआर – ६ जी २१२८ नम्बरको ट्रकको क्याबिनबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

पाँंचतल्ले मन्दिरमा कर खिं बाजा बजाई प्रदर्शन

भक्तपुर, २५ चैत – भक्तपुरको विश्वप्रसिद्ध पाँंचतल्ले मन्दिरमा शनिबार कर खिं (एक प्रकारको परम्परागत बाजा) को प्रदर्शन गरिएको छ । श्री भैरबनाथ साँंस्कृतिक समूह दोगन पोत्वाले खलाँंबाट प्रशिक्षण प्राप्त समूहबाट प्रदर्शन गरिएको हो । ४ महिनाको कोर्स पूरा गरी प्रशिक्षण प्राप्त समूहमा सहभागी ३७ जनाको समूहले त्यहाँं प्रदर्शन गरिएको थियो । उनीहरु सवैजना पाँंचतल्ले मन्दिरभरि रहेर प्रदर्शन गरिएको थियो । 

प्रदशर्न हेर्न सयौंको भीड लागेको थियो । आकर्षक प्रदर्शन देखेपछि फोटो तथा भिडियो लिनेहरुको पनि भीड लागेको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रशिक्षण प्राप्त महिला पुरुषहरुले बाजा बजाएर प्रदर्शन गरेका थिए । 

समूहका संयोजक एवं बाजाका गुरु श्रीभक्त सुवालले बाजा प्रशिक्षण सम्पन्न गरी सिकारुहरुको सार्वजनिकीकरणको क्रममा प्रदर्शन गरिएको हो । सिकारुहरुले दुई समूहमा गरी प्रत्येक दिन साँंझ पाँंच बजेदेखि ६ बजेसम्म एक समूह र ६ बजेदेखि ७ बजेसम्म अर्काे समूह गरी उनीहरु ३७ जनाले बाजाको प्रशिक्षण लिएका थिए । प्रशिक्षणको क्रममा कोठामा मात्रै बजाउन सिक्ने उनीहरुले प्रशिक्षण पूरा भएपछि सार्वजनिक रुपमा बाजा बजाएर बजार घुम्ने प्रचलन अनुसार बजार घुम्ने क्रममा पाँंचतल्ले मन्दिरमा पनि बाजाको प्रदर्शन गरिएको जनाइएको छ । 

पाँंचतल्ले मन्दिरमा प्रदर्शनपछि उनीहरुले बजार घुमेका थिए । उनीहरुले स्थानीय नासद्यमा पुगेर बाजा बजाउन पुगेका थिए । यसअघि उनीहरु विहानै सिकारु र तिनका आफन्त भक्तपुरको पाँंचतल्ले मन्दिरसँंगै भैरबनाथको मन्दिर नजिक पुगी पूजाआजामा सहभागी भएका थिए । पूजाआजाको काम पूरा गरेपछि दिउँंसो उनीहरुले पाँंचतल्ले मन्दिरमा बाजा प्रदर्शन गरेका थिए । साथै उनीहरु बाजा बजाई भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा पनि पुगेका थिए । यसरी उनीहरु दिनभर बाजागाजा बजाएर रमाएका थिए । 

प्रशिक्षणमा ससाना बालबालिकादेखि बृद्धबृद्धा उमेरकासम्म छन् । तथापि विशेष गरेर युवायुवतीहरु बढी छन् । प्रशिक्षणमा कक्षा नौ वर्षदेखि चार दशक पार गरिसकेका महिला पुरुष सहभागी रहेको जनाइएको छ । 

कर खिं एक प्रकारको परम्परागत बाजा हो । यो धिमे जस्तो बाजा हो । तर धिमे भन्दा केही सानो रहेको हुन्छ । यो बाजा भक्तपुरमा हुने दसैं, नयांँवर्ष विस्केट जात्रालगायतका मेला महोत्सव उत्सबमा समूहसमूहमा बजाउने गरिन्छ । 

यहाँंका बाजागाजालाई जीवन्त राख्न बाजा प्रशिक्षण दिइएको बताइएको छ । भक्तपुरका कला, संस्कृति, बाजागाजालाई जीवन्त राख्न नयाँं पुस्तालाई सीप हस्तान्तरण गर्ने क्रममा समूहले बाजा प्रशिक्षण दिइएको बताइएको छ । प्रशिक्षणमा भक्तपुर नगरभरिका साथै जिल्लाका विभिन्न नगरपालिकाबासीहरु सहभागी रहेको बताइएको छ । 
जानकारहरुका अनुसार कर खिं बजाउनका लागि घटीमा पनि तीनजनाको टोली चाहिन्छ । एकजनाले कर खिं, एकजना, भुछ्या (एक प्रकारको परम्परागत बाजा) र एकजना सिछ्या (एक प्रकारको परम्परागत बाजा) गरी समूहमा घटीमा तीन जना चाहिन्छ । भक्तपुरमा बजाइने धिमे, कर खिं, धाँं झण्डैझण्डै उस्तै धिमे जस्ता हुन्छन् ।  
 

सिद्धार्थनगर मेयर कपको उपाधि वडा नम्बर ६ लाई

भैरहवा, २४ च‌ैत – सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ माथि ८ विकेटको जित निकाल्दै उसले उपाधि चुम्न सफल भएको हो । आजै भएको मेमिफाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर ८ लाई १३ रनले पराजित गर्दै र वडा नम्बर ६ ले वडा नम्बर २ लाई ५ रनले पराजित गर्दै फाइनल पुगेका थिए ।

जितसँगै वडा नम्बर ६ ले नगद ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको वडा नम्बर ३ ले २५ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त पारेको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको नोक्सानीमा ६० रनको समान्य योगफल बनायो । उसका लागि  आषिश रोकाले १६ र अर्मान मल्लिकले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन बटुल्न सकेनन् । बलिङमा वडा नम्बर ६ का  सुरज गुरुङ, प्रवेश अन्सारी र इकलाख वारिसले समान २–२ विकेट लिए ।

प्रतिउत्तरमा ६१ रनको झिनो लक्ष्य पछ्याएको वडा नम्बर ६ ले ९.४ ओभरमा २ विकेटको क्षतिमा ६६ रन बनाउँदै लक्ष्य पूरा गर्याे र मेयर कपको उपाधि चुम्न सफल भयो । उसको जितमा प्रवेश अन्सारीले २७, अर्जुन चौधरीले नटआउट २१ र अकबर अलीले नटआउट ९ रनको योगदान दिए । बलिङमा वडा नम्बर ३ का अर्जुन चौहान र मैनउद्दिन शेषले समान १–१ विकेट लिए । खेलमा वडा नम्बर ६ का प्रवेश अन्सारी म्यान अफ द फाइनल घोषित भए । उनले एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा वडा नम्बर ६ का सुरज गुरुङ म्यान अफ द सिरिज भई ११ हजारसहित ट्रफी र मेडल पाए भने वडा नम्बर ८ का सुमन अधिकारी उत्कृष्ट बलर हुँदा वडा नम्बर ३ का सुजन न्यौपाने उत्कृष्ट ब्याट्सम्यान बने । उनीहरु दुबैजनाले जनही ५  हजार एक सयका दरले नगदसहित ट्रफी र मेडल पाए ।

विजेता र उपविजेता खेलाडीहरुलाई जिल्ला समन्वय समिति, रुपन्देहीका सभापति उमाकान्त चापागाईं, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, वडाध्यक्षहरु लगायतले पुरस्कार प्रदान गरेका थिए । स्थानीयस्तरबाट नयाँ–नयाँ खेलाडी उत्पादन गर्न टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयाे

काठमाडौं, २५ चैत । ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ । 

चीनले ताइवान सीमानजिकै तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो  ।

चिनियाँ सेना पीएलएको पूर्वी कमाण्डले शनिबार यो घोषणा गरेको हो । जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ चल्नेछ ।’ यस सैन्य अभ्यासमा चीनले ताइवानको क्षेत्रीय जलक्षेत्र र ताइवानको उत्तर, दक्षिण र पूर्वमा “योजनाबमोजिम” आफ्ना लडाकु विमानहरू प्रयोग गर्नेछ । यस अभ्यासमार्फत चीनले ताइवानलाई आफ्नो सैन्य शक्ति देखाउनका साथै फेरि युद्धको चेतावनी दिएकाे छ । 

ताइवानको रक्षा मन्त्रालयले पनि उक्त टापु वरपर १३ चिनियाँ विमान र ३ युद्धपोत रहेको पुष्टी गरेकाे छ ।

ताईवानका राष्ट्रपति साइ इङ वेनले बुधबार क्यालिफोर्नियामा अमेरिकी तल्लो सदनका अध्यक्ष केभिन म्याकार्थीसँग भेट गरेका थिए । ताइवानी राष्ट्रपतिले अमेरिका गएर अमेरिकी तल्लाे सदनका अध्यक्षले भेटकाे यो पहिलो पटक हो। जुन भेटघाटलाइ  लिएर चीनले आपत्ति जनाउँदै ताइवानी सिमामा सैन्य अभ्यास गरेको हो । 

चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएको छ । 

दुई वर्षदेखि अवरूद्ध प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो। भेरिफाइड उक्त पेज विगत दुई वर्षदेखि अवरूद्ध रहँदै आएको थियो।

सरकारका कामको एकीकृत प्रचार र सूचना संयन्त्रलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको सचिवालय टीमले सबै सामाजिक सञ्जाललाई सञ्चालनमा ल्याउने योजनाअनुरूप आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा ल्याइएको हो। प्रधानमन्त्री कार्यालयले नेपाल सरकारको मातहतमा रहेका सबै कार्यालयहरूले फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालहरू प्रयोग गर्ने गरि निर्देशिकाको मस्यौदासमेत तयार गरिसकेको छ।

उक्त निर्देशिका मन्त्रिपरिषद बैठकबाट पारित भएसँगै कार्यान्वयनमा आउने छ । “सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८०” नाम दिइएको उक्त प्रस्तावमा संघ, प्रदेश र स्थानीय तहसम्म सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने र सोका लागि सबै तहका सामाजिक सञ्जालको एकीकृत भेरिफाइड गर्ने पनि प्रस्ताव गरिरहेको छ। निर्देशिका सञ्चालनमा आएपछि नेपाल सरकारका तीनै तहका सबै कार्यालय र निकायहरूले तोकिएका सामाजिक सञ्जालहरूको अनिवार्य प्रयोग गर्नेछन्।

यसबाट सरकारी कामकाज र सेवाको सेवाग्राहीमा व्यवस्थित प्रचार र सूचना सम्प्रेषण हुने अपेक्षा गरिएको छ।

नेपालका सर्वाधिक अनुभवी क्रिकेटरको अबको यात्रा कस्तो होला ?

आजको दिनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ज्ञानेन्द्र मल्लको भूमिका ‘१२ औँ खेलाडी’ का रूपमा छ।१२ औँ खेलाडी अर्थात् ‘वाटर ब्वाइ’ वा भनौँ मैदान बाहिरका खेलाडी।

उनी मैदानभित्र छ जस्तो पनि, छैन जस्तो पनि। टोलीमा हो जस्तो पनि, होइन जस्तो पनि। यद्यपि कीर्तिपुर क्रिकेट मैदानमा आइसीसी विश्वकप लिग-२ का बेला यी वैकल्पिक खेलाडी क्रिकेट प्रेमीहरूको आँखामा भने मज्जाले परिरहे।

टोलीमा एक-एक खेलाडीको भूमिका कति महत्त्वपूर्ण हुन्छ र त्यो कसरी बहन गरिन्छ भन्ने कुराको उदाहरण उनले पस्किए। उनको भूमिकालाई लिएर अहिले एउटा बहस नै छेडिएको अवस्था छ।

कम्तीमा ज्ञानेन्द्र मल्ल जतिको सिनियर खेलाडीलाई ‘वाटर ब्वाइ’ बनाइनु हुन्न भन्ने आवाजहरू एकातिर उठिरहेका छन्।अर्कोतिर कतिपय आलोचकले उनलाई टोलीमा ‘राख्नै नहुने’ तर्क पनि पेश गरिरहेका छन्।

यद्यपि यी सबै उतारचढावमा बहँदै गरेका ज्ञानेन्द्र मल्ल भने आफ्नै धुनमा देखिन्छन्।वर्तमान टोलीकै सबैभन्दा पाका खेलाडी उनी आफ्नो आगामी यात्राका लागि स्पष्ट योजना बोकेर अगाडि बढिरहेका छन्।उनी भन्छन् – “म को हुँ मलाई थाहा छ। के गरिरहेको छु हेक्का छ र मैले के गर्नुपर्छ त्यो पनि मैले स्पष्ट बुझेको छु।”

पारस-ज्ञानेन्द्रको जोडी
नेपाली क्रिकेटको ‘स्वर्णिम टोली’ भनिएको राष्ट्रिय टोली (जसले टी-२० विश्वकप खेलेको थियो) का पाँच मुख्य खेलाडीमा पारस खड्का, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी सँगै ज्ञानेन्द्र मल्लको नाम आँउछ।

ज्ञानेन्द्र लामो समय कप्तान पारसको भरपर्दो उपकप्तानको भूमिकामा रहे। नेपाली क्रिकेटले एकपछि अर्को सफलताको तहल्का मच्चाइरहँदा उनले अहम् सदस्यको भूमिका निर्वाह गरिरहे।डिभिजन-५ देखि पहिलो डिभिजनसम्म र विश्वकप सहभागितादेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) सम्मको नेपाली क्रिकेटको यात्रामा उनी टोलीका अभिन्न अङ्ग बने।

पारस र उनको नाममा त सदावहार ‘ट्रोल’ नै छ। पूर्व युवराजका रूपमा पारसको अनि पूर्व राजाका नाममा ज्ञानेन्द्रको नाम। जति बेला यी दुई क्रिजमा हुन्थे, मानिसहरूमाझ राजसंस्थासँग जोडिएर एउटा कथा बनिहाल्थ्यो।

त्यो युगको इतिहास त स्वर्ण अक्षरले लेखिसकिएको छ। बरु त्यो इतिहास रच्न यिनीहरुले के के मात्र देखे, भोगे, त्यसको छुट्टै कथा छ।

उदाउँदो खेल
पारस-ज्ञानेन्द्र नेतृत्वको यु -१९ टोलीले एकपछि अर्को सफलता पाउने क्रममा टोलीले तीन पटक युवा विश्वकप खेल्यो।नेपाली युवा टोलीले टेस्ट क्रिकेट खेल्ने अग्रणी राष्ट्रलाई धमाधम हराउनु सपना जस्तै नै थियो त्यो बेला।

युवा खेलाडीहरू त्यो सफलतामा नै दङ्ग थिए। न कुनै ठूलो सपना न कुनै भविष्यको योजना, खेल्न र जित्न पाए पुग्थ्यो।उनी सम्झिन्छन् – “अरू कुराको त हेक्का सम्म थिएन त्यो बेला।”सन् २००० देखिको एक दशकमा नेपाली क्रिकेट पनि वास्तविक आकार लिने क्रममा नै थियो।

“बल लागेपछि हाम्रो ब्याटको आवाज बेग्लै तरिकाले आउँथ्यो। बाउन्ड्री हुनुपर्ने बल क्याच हुन जाने, – ढङ्गको ब्याट नभएर।” मल्ल सम्झिन्छन् – “अनि कसैको राम्रो ब्याट छ भने कोही आउट भएर फर्केपछि जो नयाँ खेलाडी छिर्छन्, उसलाई राम्रो ब्याट खोजी खोजी दिइहाल्ने, बढी रन बनाओस् भनेर।”

ब्याट त उदाहरण मात्रै भयो। नेपाली क्रिकेटको हरेक पक्ष त्यस्तै थियो। अभावसँग अभ्यस्त थिए खेलाडीहरू। सन् २०१० मा नेपालले डिभिजन-५ घरेलु मैदानमै खेल्दै थियो। नेपाल क्रिकेट सङ्घका तत्कालीन अध्यक्ष विनयराज पाण्डेले उपाधि जिते प्रत्येक खेलाडीलाई ५० हजार रुपैयाँ दिने घोषणा गरे।

खेलाडीहरूले पहिलो पटक यति ठूलो रकम सुनेका थिए क्यानको मुखबाट।मल्ल सम्झिन्छन् -“हामीलाई थाहा छ, त्यो बेला त्यो घोषणापछि खेलाडीहरूमाझ खुशी कस्तो थियो।”

नेपालले डिभिजन-५ जित्यो पनि र खेलाडीहरू प्रत्येकले ५० हजार नगद पाए पनि।अर्को शब्दमा भन्दा खेरि नगद पुरस्कार पाउने शृङ्खलाको श्री गणेश त्यहाँबाट भयो।

बर्मुडाको बहस
सन् २०१३ मा बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन-३ खेलिरहेको नेपालले शुरुको दुई खेल अमेरिका र युगाण्डासँग लगातार हार्‍यो।अबको एक हारले नेपालको अगाडिको यात्रा रोकिन्थ्यो।टोलीमा गम्भीर शून्यता छाइसकेको थियो।होटल कोठामा सबैजना जम्मा भए।

खेलाडीहरू यति गम्भीर बने की पारसले कप्तानी अनि ज्ञानेन्द्रले उपकप्तानी छोड्ने सम्मको सल्लाह भयो। अब नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने योजना बुनियो।

प्रशिक्षक पुबुदु दशानायके पनि साथमा थिए। उनको भनाइ थियो-“तिमीहरुले जितेमा मात्र नेपाली क्रिकेटको आवाज पुग्छ। त्यसको लागि जित्न जरुरी छ।”झण्डै झण्डै खस्किसकेको टोलीको मनोबल फेरि उकासियो। त्यसपछि नेपालले बाँकी सबै खेल जित्यो।

आफू जितेर मात्र नपुग्ने अनि अन्तिममा बर्मुडाले अमेरिकालाई हराउनुपर्ने र नेपालले इटलीलाई ठूलो अन्तरमा जित्नुपर्ने अवस्थासम्म सिर्जना भयो। ठ्याक्कै त्यस्तै भइदियो पनि।फाइनलमा बर्मुडालाई नै हराएर च्याम्पियन हुँदै डिभिजन २ मा बढुवा भयो। त्यतिमात्र होइन २०१५ को विश्वकप क्वालिफायरको लागि पनि छनोट भयो।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

इटालियन सिरी एः चार खेलमा जीत हासिल गरे नेपोलीले उपाधी जित्ने

काठमाडौं, २५ चैत ।  मा नेपोलीले लेसेलाई २–१ ले पराजित गरेको छ ।शुक्रवार भएको खेलमा २–१ ले बिजयी भएको नेपोली उपाधितर्फ लम्किएको छ ।

शुक्रबार लेसेको घरेलु मैदानमा पहिलो हाफमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको सुरुवाती ५२औं मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले गोल फर्काए पछि पछि खेल बराबरी हुन पुग्यो । 

तर बराबरीको अवस्था लामो समयसम्म भने रहन सकेन  । ६४औं मिनेटमा लेसेकै एन्टोनियो गाल्लोले आत्मघाती गोल गरे । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली २–१ को अन्तरले खेल जित्न सफल भयो ।

आइतबार एसी मिलानसँग ४–० ले पराजित नेपोली यस जितपछि २९ खेलबाट ७४ अंक जोडन सफल भएको छ भने नेपोलीले अब लिगका बाँकी ९ मध्ये ४ खेल जितेमा उपाधि पक्का गर्नेछ भने पराजित लेस २७ अंक जोडेर १६औं स्थानमा छ ।

यस जितसँगै शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ ।  पछिल्लो पटक डिएगो म्याराडोनाको पालामा १९९० मा लिग उपाधि जितेको नेपोलीले ३३ वर्षपछि फेरि लिग जित्ने तयारीमा छ ।

बालेन शाहको आक्रोशः ‘नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ’ 

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टी जनाउँदै कडा टिप्पणी गरेका छन् । 

काठमाडौंको फोहोर उठाउने सन्दर्भमा मेयर साहले राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गरेका हुन ।

‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबुकमा लेखेका छन, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

पुर्व गभर्नरको नेतृत्वमा वायुसेवा निगमको सुधारबारे अध्ययन गर्न समिति गठन

काठमाडौं, २५ चैत । सरकारले नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्नको लागि समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्सीय समिति गठन गरेको हो । 

जसअनुसार समितिमा का सदस्यमा ओम गुरुङ (क्याप्टेन), टिकाराम राई (सञ्चारकर्मी), पियुस आनन्द (वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट) र सहारा न्यौपाने रहेका छन् । समितिले निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्न कार्ययोजना दिईएको छ ।

समितिले निगमको व्यवस्थापकीय पक्ष सुधार गर्न कस्तो व्यवस्थापन आवश्यक पर्ने हो ? पुनर्संरचना कसरी गर्नुपर्ने हो ? लगायतका ८ वटा विषयमा अध्ययन गर्ने कार्यभार तोकिएको छ । 

बिगत ५ वर्षको निगमको अवस्था अध्ययन गरी निगमको ऋण, दायित्व, नीतिगत तथा कानुनी पक्षलगायतका बिषयमा अध्ययन गरेर २ महिना भित्र प्रतिवेदन बुझाउनु पर्ने भन्दै समितिलाई समयसिमा तोकिएको छ ।
 

मोटरसाइकको ठक्करबाट तीन विद्यार्थी घाइते

दार्चुला, २५ चैत – दार्चुलामा मोटरसाइकलले ठक्कर दिँदा तीन विद्यार्थी घाइते भएका छन्। महाकाली नगरपालिका-७ धापमा म २ प ३९४६ नम्बरको मोटरसाइकलले शुक्रबार मध्यान्ह मालिकार्जुन नमुना मावि धापका विद्यार्थीलाई ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट महाकाली नगरपालिका-८ का १८ वर्षीया सरस्वती भाट, कमला भट्ट र माधवी पाल घाइते भएकी छन्। भाटको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम छ। त्यस्तै भट्टको खुट्टा र पालको टाउकोमा चोट लागेको तथा उनीहरूको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक महाकाली नगरपालिका-४ का १८ वर्षीय सक्षम निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

एनआरएनए कार्यकारी अध्यक्षमा डा. बद्री केसी

लण्डन्, २५ चैत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले समालेका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार काठमाण्डौंमा आयोजित एक पत्रकार सम्मेलनकाबीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद हस्तान्तरण गरेकी हुन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा देखिएको विशेष परिस्थितिका कारण संघको अभियानबाट बाहिर रहेका नेपाली गैरआवासीय नेपालीहरुलाई एकताको सुत्रमा बाँध्नु पहिलो प्राथामिकता हुने बताएका छन् । १९ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै डा. केसीले संस्थामा सबैको अपनत्व हुने गरि एकता कायम गर्न विशेष पहल कदमी लिइने बताए ।

उनले वैदेशिक रोजगारी सम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारको साझेदारीमा समेत केही नीति तथा ऐन कानून निर्माणमा उल्लेख्य काम गर्न सफल भएको बताए । गत एक वर्षमा नेपाली नागरिकताको निरन्तरता, सामाजिक सुरक्षा कोष, विदेशमै बसेर नेपालमा डलर खाता खोल्ने अवसर, मोबाइल ब्लड बस, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान, पर्यटन प्रवर्धन कार्यक्रम, पोखरामा स्मार्ट ट्वाइलेट, राष्ट्रिय खेलकुद तथा कराँते प्रतियोगितामा गैरआवासीय नेपालीहरुको सफलता लगायतका विषयमा उल्लेख्य रुपमा प्रगतिहरु भएको पत्रकार सम्मेलनमा डा. केसीले जानकारी दिए।

उनले गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा गरेको प्रतिबद्धता अनुरुप अघि सारेका संघको पुर्नरसंरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता, लगायतका कार्यको जग स्थापना भइसकेको बताए ।

उनले संघको संशोधित विधानले संघका पुर्नसंरचनाका लागि स्मार्ट एनआरएनए अन्तर्गत विश्वव्यापी रुपमा एमआईएस प्रणालीमार्फत सदस्यता वितरण शुरुआत गरिएको जानकारी दिए ।

विगत एक वर्षमा संस्थाका विभिन्न गतिविधिमा सहभागी भएर बृहत एकता कायम राख्दै अघि बढ्नको लागि सहयोग गर्ने अध्यक्षद्धय कुल आचार्य र रविना थापाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा सहयोगको लागि अपेक्षा गर्दै आगामी अक्टोबरमा हुने संघको ११ औँ महाधिवेशन सफल पार्न आग्रह गरे ।

पत्रकार सम्मेलनलाई अध्यक्षद्धय कुल आचार्य र रविना थापाले आआफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संस्थापक महासचिव भिम उदास, उपाध्यक्षद्धय डिबी क्षेत्री, दुर्गा आचार्य, टिबि कार्की, अर्जुन श्रेष्ठ, योगेन क्षेत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए । पत्रकार सम्मेलनमा डा केसी आगामी ६ महिनाको कार्ययोजना क्यालेण्डर सहित प्रस्तुत गरेका थिए ।

काठमाडौं उपत्यकामा शुक्रवार मात्रै झन्डै ३४ सय सवारी चालक कारबाहीमा 

काठमाडौं, २५ चैत । काठमाडौं उपत्यकामा ३ हजार तीन सय १० दश जना सवारी चालक पक्राउ परेका छन्  । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८४ जनासहित सो संख्यामा सवारी चालक कारबाही परेका छन्। 

शुक्रवार मात्रै लेन अनुशासन पालना नगर्ने ८१ सवारी चालक पनि कारबाहीमा परेका छन्  भने सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, अनावश्यक हर्न बजाउने ४६, नम्बर प्लेट स्पष्ट नलेखिएका ३१, लिडारगन ३०२ र अन्य २ हजार ६ सय ८ गरि २ हजार ५४९ जना सवारी चालकलाई कारबाही उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

लेवनानवाट इजरायलमा आक्रमण, १७ बर्ष पछिको सबैभन्दा ठूलो

काठमाडौं, २५ चैत । प्यालेस्टिनी हमास समूहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ ।

इजरायली सेनाका अनुसार प्रहार गरिएका ३६ वटा मिसाइलमध्ये धेरैजसो लक्ष्यमा पुग्नुअघि नै नष्ट भएका थिए तर तीमध्ये केहीले इजरायली क्षेत्रलाई निशाना बनाएका थिए।

यी आक्रमणमा केही भवनमा क्षति पुगेको छ । एक जनाको टाउकोमा चोट लागेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

हमासले भने क्षेप्यास्त्र कसले हान्यो ? भन्ने बारे कुनै जानकारी नभएको बताएको छ। पछिल्लो १७ वर्षमा लेबनानबाट इजरायलमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो।

इजरायली प्रहरीले जेरुसेलमको अल अक्सा मस्जिदमा प्यालेस्टाइनीहरूसँग लडाइँ गर्दा यस क्षेत्रमा हिंसा बढेको बेला यो हमला भएको हो।

अर्कोतर्फ, हमासको नियन्त्रणमा रहेको गाजाबाट पनि इजरायलमा रकेट प्रहार गरिएको छ । इजरायलको वायुसेनाले यी हवाई आक्रमणको जवाफ दिएको छ।
 

अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी

मुम्बई, २५ चैत । बलिउड अभिनेत्री अमीषा पटेल आगामी फिल्म ‘गदर २’का कारण चर्चामा छिन् । लामो समयपछि उनी फिल्ममा कमव्याक गर्दैछिन् । यही बीच राँची सिभिल कोर्टले अभिनेत्रीविरुद्ध वारेन्ट जारी गरेको छ ।

उनीमाथि चेक बाउन्स र धोखाधडीको आरोप छ । अदालतले बिहीबार अभिनेत्री र उनको बिजनेस पाटर्नरविरुद्ध वारेन्ट जारी गरेको हो । अदालतले पटक पटक तारीख दिए पनि अमीषा र उनको वकिल अदालत पुगेका छैनन् । अभिनेत्रीको यो रवैयामाथि कोर्टले दुःख व्यक्त गरेको छ ।

अब मुद्धाको आगामी सुनुवाई अप्रिल १५ मा हुनेछ । यो मामलामा अभिनेत्रीमाथि अढाई करोड रुपैंयाँ धोखाधडीको आरोप छ । राँची जिल्लाका हरमू निवासी अजयकुमार सिंहले अमीषा र उनका बिजनेस पाटर्नरविरुद्ध धोखाधडीको मुद्धा दर्ता गराएका थिए ।

अजयका अनुसार अमीषाले फिल्म ‘देसी म्याजिक’ को अफर दिँदै अजयलाई फिल्ममा लगानी गर्न आग्रह गरेकी थिइन् । त्यसपछि अजयले अढाई करोड रुपैंयाँ अमीषाको खातामा पठाइदिएका थिए ।

फिल्मको सुटिङ सन् २०१३ मा हुनुपर्ने थियो । तर सुटिङ भएन । त्यहीबेला अजयले अमीषालाई पैसा फिर्ता माग्दा अमीषा र उनको मेनेजरले फिल्मको काम पुरा गरेपछि व्याजसहित पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए ।

अमीषाले लामो समयसम्म पैसा नदिएपछि अक्टोबर २०१८ मा अजयलाई अढाई करोड र ५० लाखको दुई चेक दिएकी थिइन् । तर चेक बाउन्स भएपछि उनले अमीषाविरुद्ध उजुरी दिएका हुन् ।

‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा, छनोटका च्यानललाई मात्र शुल्क तिरे पुग्ने

काठमाडौँ । स्वदेशी टेलिभिजन च्यानल वितरकहरूले लामो समयदेखि माग राख्दै आएको ‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त प्रणाली सुरु भएको जानकारी दिएको हो । यो प्रणाली कार्यान्वयनमा आएसँगै टेलिभिजन च्यानलहरूको सिग्नल वितरण गर्ने केबुल, एमएसओ, डीटीएच, आईपीटीभीजस्ता संस्थाले उपभोक्ताबाट लिन पाउने शुल्कमा एकरूपता कायम भएको छ ।

टेलिभिजन शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अबदेखि यस्ता संस्थाले टेलिभिजन च्यानलहरूको न्यूनतम शुल्कबापत मासिक करसहित २५० रुपियाँ मात्र लिन पाउनेछन् । यो रकममा स्वदेशी तथा विदेशी ‘फ्री टु एयर’ च्यानल उपभोक्तालाई देखाउनुपर्नेछ । सशुल्क च्यानलहरूको हकमा भने अलग अलग रूपमा वा च्यानलहरूको बुकेका आधारमा मात्रै उपभोक्ताबाट शुल्क लिन पाइने व्यवस्था यो प्रणालीले गरेको छ ।

“अब ग्राहकले आफ्नो रुचिअनुसारका च्यानल छनोट गरेर त्यो हेरेबापतको मात्र शुल्क तिर्न सक्छन्,” सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने । मन्त्रालयले प्रत्येक बुकेको अधिकतम मूल्य करसहित ४० रुपियाँभन्दा बढी लिन नपाइने जनाएको छ । बुके भन्नाले टेलिभिजन च्यानलहरू प्याकेज हो, जहाँ च्यानलहरूलाई उनीहरूले प्रस्तुत गर्ने सामग्रीका आधारमा समाचार, खेलकुद, घुमघामजस्ता विधामा एकै ठाउँ राखिएको हुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आजको मौसम: कर्णाली, गण्डकी र कोशी प्रदेशको पहाडी भु-भागमा पानी पर्ने

काठमाडौं, २५ चैत । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो  कोशी प्रदेश ,मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको  पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेश ,मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जनरचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।
 

फेसन कलेजको ग्राजुएसन फेसन शो

काठमाडौं, २४ चैत । नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्राजुएसन फेसन शो बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ । नेपाली फेसन शोमा सम्भवतः पहिलो पटक रनवेलाई रिभल्भिङ अवधारणामा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको क्रिएटिभ वेयरको प्रस्तुतिमा र्‍याम्पको एउटा निर्देशित स्थानमा मोडल उभिने बितिकै सो स्थानलाई रिभल्भिङ संयन्त्रको प्रयोगबाट आफैं निर्देशित गतिमा गोलाकार रुपमा घुम्ने गरी व्यवस्था गरिएको थियो । क्रिएटिभ ड्रेस पहिरिएका मोडलकै हुबहु पहिरन शैलीमा करिब तीन फिट अग्लो पुतली पनि रनवेमा प्रस्तुत गरिएको थियो ।

१७औं संस्करणको रुपमा प्रस्तुत गरिएको जर्नी अफ फेसनअन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘कल्पनम् सत्यतात्’ शीर्षकमा थियो । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसंगै शुभारम्भ भएको उक्त कार्यक्रममा ९ वटा विभिन्न अवधारणाबाट प्रेरित ८३ पहिरनहरुलाई प्रदर्शन गरिएका थिए । ती पहिरनहरुका परिकल्पनाकार एवं सृजनाकर्ताहरु पनि ८३ जना नै थिए । हरेक प्रस्तुति अन्तर्गत अन्त्यमा सोही कलेक्सनको मास्टरपीसका रुपमा क्रिएटिभ डिजाइनलाई र्‍याम्पमा देख्न पाइएको थियो ।

२७ जना युवती मोडलहरु र ६ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न भएकोे उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७ औं ब्याचका ८३ जना विद्यार्थी डिजाइनरले गरेका थिए । कार्यक्रमको कोरियोग्राफी र निर्देशन संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका थिए ।

शोमा कृस्टलाइनमा आधारित द स्पार्कलिङ् सोयर, फेम फाटलमा आधारित डार्कनेस रिभ्याम्प, अरोराको अवधारणमा मिस्टिक इपिफानी, गिल्डेड ग्ल्यामरको प्रस्तुतिमा राजमटाज, किनसुकी आर्टमा आधारित आर्टष्ट्रिी अफ एड्भर्सिटीका पहिरन प्रदर्शन भएका थिए । ब्ल्याक स्वानको अवधारणामा क्रिप अन् डार्क, ग्राफिटीमा आधारित ग्रिफोनेज्, ग्लो इन डार्कमा केन्द्रित नियन परेड तथा एक्लेटिक् अवधारणामा एसिन्ट्रिक एज् कलेक्सन पनि देखाइएको थियो ।

कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित दोस्रो संस्करणको फेसन क्याटलगको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादवराज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो । सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरु पदार्पण भएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो ।

उक्त परिक्षा रुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द« सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साखः ग्रुपका अध्यक्ष किरण साखः, प्रथम मिस नेपाल रुबी राणा, राष्ट्रिय सीप परिक्षण समितिका कार्यकारी निर्देशक डा. कुल बहादुर बस्नेत, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्णायकको भूमिका निर्वाह गरेको थिए ।

सलमान भन्छन्- ओटीटीमा सेन्सरसिप आवश्यक

मुम्बई, २४ चैत । बलिउड अभिनेता सलमान खानले ओटीटी प्लेटफर्मममा सेन्सरसिपको आवश्यकता रहेको बताएका छन् । एक अवार्डको पत्रकार सम्मेलनमा उपस्थित सलमानले ओटीटीमा सेन्सरसिपको आवश्यकता औल्याएका हुन् ।

‘मलाई लाग्छ कि ओटीटीमा सेन्सरसिप आवश्यक कुरा हो । गालीगलोज, अश्लीलता र अन्तरंग दृश्यमा प्रतिबन्ध लगाउनुपर्छ । १५ देखि १६ वर्ष उमेर बालबालिका पनि ओटीटी हेर्छन् । यदि तपाईंको छोरी छ र उसले यी सबै कुरा हेर्छ भने उसलाई कस्तो लाग्ला । मेरो बुझाईमा यसका लागि सेन्सरसिप आवश्यक छ’, उनले भने ।

सलमानअघि कैयौं सेलिब्रेटीले पनि ओटीटीमा सेन्सरसिप हुनुपर्ने माग राख्दै आएका छन् । सलमानको फिल्म ‘किसीका भाई किसीकी जान’ रिलिजको तयारीमा छ । फिल्म अप्रिल २१ मा रिलिज हुँदैछ ।

सवारी दुर्घटना हुँदा महोत्तरीमा एक जनाको मृत्यु

महोत्तरी, २४ चैत – महोत्तरीको बर्दिवासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बर्दिवास-१ स्थित बजार क्षेत्रमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको हो ।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०२९७ नम्बरको विङगर र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०४–००१ प् १३२७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरी गौशला-९ का ३० वर्षीया पनिषकुमार कार्की घाइते भई बर्दिवास शुभस्वस्तिक अस्पतालमा उपचार गराउने क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

विङगर गाडीसहित चालक सर्लाही हरिवन-५ घर भएका निरज लामा र मोटरसाइल ईलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुरेन्द्र चौधरीले त्यागे नागरिक उन्मुक्ति पार्टी

दाङ, २४ चैत नागरिक उन्मुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका नेता सुरेन्द्र चौधरीले सो पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

पार्टीको राजनीतिक संवाद् समितिका संयोजकको जिम्मेवारीमा रहेका सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेका हुन् ।

पार्टीको बिहीबारदेखि सुरु भएको दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलबाटै आज शुक्रबार आफूले पार्टी परित्याग गरेको घोषणा गरे ।

टीकापुर घटनामा पीडित बनेकाहरुलाई न्याय दिनुको साटो उल्टो परिवारवाद लाद्न खोजेको भन्दै उनले पार्टीबाट अलगत भएको बताए ।

त्रिशुली नदीमा जीप खस्दा एक जना बेपत्ता

काठमाडौं, २४ चैत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, तिङग्राङखानीबाट आज बिहान महेन्द्रा पिक जीप त्रिशुली नदीमा खसेको छ । जीप अनियन्त्रित भई नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । दुर्घटनामा चालक घाइते छन् । 

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२५ च ७९९१ नम्बरको जीप अनियन्त्रित भइ आज त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । 

जीपमा सवार झापा घर भएका २७ वर्षीय सुरेश चौधरी बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको छ । घाइते भएका चालक गुल्मीको रेसुंगा नगरपालिका–१० बस्ने ३७ वर्षीय सुजन थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

उपप्रधान एवं रक्षामन्त्री खड्काले गरे जङ्गी अड्डाको निरीक्षण

काठमाडौं, २४ चैत – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भएकाले यसलाई पालना गर्न सकल दर्जालाई निर्देशन दिएका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डाको परिचयात्मक निरीक्षण भ्रमणपछि उनले जनतासँगको निकटता र नागरिकमैत्री हुनु नै सेनाको विशेषता भएको हुँदा त्यसलाई निरन्तरता दिन सुझाव दिए ।

मन्त्री खड्का समक्ष सो अवसरमा नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका कार्यलगायतबारे विविध जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा रक्षामन्त्री खड्काले सेनाले नेपाली जनताको शीर उचो राख्न तथा जनताको विश्वासिलो संस्थाका रुपमा सधैँ अब्बल रहन सकेको भनी सह्राना गरेका छन् ।

सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप : बर्दियाको नव युवा मैत्री भाव क्लब सेमिफाइनलमा 

कैलाली, २४ चैत-बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा कञ्चनपुरको हिमाल फ्रेन्ड्स क्लबलाई ३–२ गोल अन्तरले पराजित गरी बर्दिया ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा पुग्ने दोस्रो टोली बनेको हो । बाँकेको कोहलपुर रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ । 

शुक्रबार भएको खेलमा निर्धारित समय भित्र दुवै टोलीले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट नजिता निकालिएको हो । पेनाल्टीमा बर्दियाका तर्फबाट योगेश थापा, चिरण कार्की र अभिषेक बमले गोल गर्न सफल भए । कञ्चनपुरका तर्फबाट शिव वोटे र अञ्जन बोगटी मात्र गोल गर्न सफल भए । 

प्रतियोगिता अन्तरगत शनिवार सेमिफाइनल प्रवेशका लागि कैलाली र आयोजक प्रतिस्पर्धा गर्नेछन् । 

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ । आयोजक गौरीगङ्गा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको गरी १० टिको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सतराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।

संसद भवननजिकै आत्मदाह प्रयास गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं, २४ चैत – नयाँ बानेश्वरस्थित संसद भवननजिकै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गरेकोमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको बताएका छन् ।

नेपालमा ९९ कोरोना संक्रमित थपिए

काठमाडौं, २४ चैत – नेपालमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो । आज २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।

शुक्रबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये चार जना आइसीयु तथा एक जना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वाइडेनको आरोपः अफगानिस्तानवाट अमेरिका सेना फिर्ता गर्ने तरिकामा ट्रम्प दाेषी

काठमाडौं, २४ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना फिर्ता गर्ने तरिकाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ।

नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्पले प्रशासनले लिएको सो निर्णयबाट खुसी थिएनन्। यसमा सन् २०२० मा तालिबानसँग युद्ध अन्त्यका लागि भएको सम्झौता पनि समावेश छ।

प्रतिवेदनमा भनिएको छ कि तालिबानले सत्ता ग्रहण गर्नुअघि नै सर्वसाधारणलाई बाहिर निकाल्ने काम सुरु गरिसक्नु पर्थ्यो। तर वाइडेन आए पछि बनाइएको सो  प्रतिवेदनमा प्रतिक्रिया दिँदै ट्रम्पले भने बाइडेन प्रशासनले गलत सूचना फैलाइरहेको छ।

अगस्ट २०२१ मा अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको थियो ।

अमेरिकाले १ लाख २० हजार भन्दा बढी मानिसहरूलाई तुरुन्तै अफगानिस्तानवाट निकाल्ने कार्य ग¥यो, सो क्रममा १३ अमेरिकी सैनिक र लगभग १ सय २० अफगान नागरिकहरूले ज्यान गुमाउनु परेको थियो । 

विदेश मन्त्रालय र पेन्टागनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयहरूको समीक्षा गरेका छन्। यो समीक्षा प्रतिवेदन गोप्य रुपमा संसदमा पठाइएको छ ।
 

प्यालेस्टिनी समुहले लेवनानी भुमीवाट इजरायलमा आक्रमण गरेको दावी 

काठमाडौं, २४ चैत । प्यालेस्टिनी हमास समूहले दक्षिणी लेबनानबाट उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ ।

इजरायली सेनाका अनुसार प्रहार गरिएका ३६ वटा मिसाइलमध्ये धेरैजसो लक्ष्यमा पुग्नुअघि नै नष्ट भएका थिए तर तीमध्ये केहीले इजरायली क्षेत्रलाई निशाना बनाएका थिए।

यी आक्रमणमा केही भवनमा क्षति पुगेको छ । एक जनाको टाउकोमा चोट लागेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

हमासले भने क्षेप्यास्त्र कसले हान्यो ? भन्ने बारे कुनै जानकारी नभएको बताएको छ। पछिल्लो १७ वर्षमा लेबनानबाट इजरायलमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो।

इजरायली प्रहरीले जेरुसेलमको अल अक्सा मस्जिदमा प्यालेस्टाइनीहरूसँग लडाइँ गर्दा यस क्षेत्रमा हिंसा बढेको बेला यो हमला भएको हो।

अर्कोतर्फ, हमासको नियन्त्रणमा रहेको गाजाबाट पनि इजरायलमा रकेट प्रहार गरिएको छ । इजरायलको वायुसेनाले यी हवाई आक्रमणको जवाफ दिएको छ।
 

भारतमा कोरोना संक्रमित बढे पछि प्रदेश स्वास्थ्य मन्त्रीहरूको आकस्मिक बैठक

नयाँदिल्ली, २४ चैत । भारतमा कोरोना संक्रमितको संख्या बढे पछि केन्द्रिय स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ ।  

केन्द्रीय स्वास्थ्य मन्त्री डा मनसुख मण्डवियाले देशमा कोभिड मामिलाको बृद्धि भएको भन्दै आज सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा गरी बैठक आब्हान गरेका हुन् ।

स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवारका अनुसार कोभिड नियन्त्रणका लागि केन्द्र सरकारले नियमित रूपमा राज्य र केन्द्र शासित प्रदेशहरूमार्फत कोभिड सम्बन्धी दिशानिर्देशहरू जारी गरिसकेको छ । ‘प्रधानमन्त्रीले कोभिडमा सबै राज्यहरूसँग समीक्षा गर्न निर्देशन दिनु भएको छ’ उनले भने । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशन पछि आज स्वास्थ्यमन्त्री मण्डवियाले राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा बैठक गर्न लागेका हुन । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा बिहीबार ५ हजार ३ सय ३५ नयाँ कोरोना संक्रमित थपिएका छन्, जुन पछिल्लो १९५ दिनमा सबैभन्दा धेरै हो। बिहीबार देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ५८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्रिश्चियन महिलासँग बोलेको भन्दै मुस्लिम युवामाथी कुटपिट

नयाँदिल्ली, २४ चैत । क्रिस्चियन महिलासँग बोलेको भन्दै एक भारतीय मुस्लिम युवकमाथि कुटपिट भएको छ ।

दक्षिण भारतको कर्नाटकको मेंगलुरुमा मुस्लिम युवकमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न चार जनालाई गिरफ्तार गरिए पछि यो घटना बाहिर आएको हो ।

बिविसिका अनुसार गत मंगलवार ती मुस्लिम युवकमाथि कर्नाटकको बेलतांगडीमा कुटपिट भए पछि प्रहरीले कुटपिटमा संलग्नहरुको खोजी गरेको थियो । 

बिबिसीका अनुसार गाडीमा बसेकी क्रिस्चियन महिलासँग ती युवकले बोलेको र सोही गाडीमै नै सवार रहेका चारजना युवकहरुले उनी माथी कुटपिट गरेका थिए ।

सो कुटपिटमा संलग्न रहेको आरोपमा कर्नाटक प्रहरीले दिनेश, नितेश, अविनाश र सचिन नामक युवालाई पक्राउ गरेका छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न युवाहरु ती क्रिस्चियन महिलाकै चिनजानका व्यक्ति भएको जनाईएको छ ।

सहिद स्मारक लिग आज दुई खेल हुदैँ

काठमाडौं, २४ चैत । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै छन् । 

अपरान्ह २ बजे एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ । ६ खेलबाट  १३ अंक जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अंक जोडेर ११ औँ स्थानमा छ । 

यसैगरी सोही समयमा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिडने छन् । मनाङ मर्स्याङ्दी ५ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा छ भने ५ खेलवाट ४ अंकका साथ फ्रेन्ड्स भने १२औँ स्थानमा रहेको छ ।
 

साउदी र इरानी परराष्ट्रमन्त्रीकाे बेइजिङमा बार्ताः एक अर्काको देशमा दुतावास खोल्ने सहमति

बेइजिङ, २४ चैत । साउदी अरब र इरानका बिचमा एकअर्काको देशमा राजदुतावास खोल्ने देखी हवाई उडान गर्नेसम्मको सहमति भएको छ । 

साउदी अरब र इरानका परराष्ट्रमन्त्रीबीच चीनको राजधानी बेइजिङमा भएको भेटवार्ता पछि उक्त सहमति भएको हो । चीनले साे वार्ताकाे मध्यस्थकर्ता गरेकाे थियाे । 

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको अनुसार गत मार्च महिनामा चीनको मध्यस्थतामा यी दुई देशबीच भएको ऐतिहासिक सहमति भएकाे थियाे । साे सहमति पछि कूटनीतिक सम्बन्ध अघि बढाउनका लागि चीनको राजधानी बेइजिङमा भएको भेटवार्ता पछि दुवै देशले राजदुतावास खोल्ने देखी हवाई उडान गर्नेसम्मको सहमति कायम गरेका हुन । 

इरानका परराष्ट्रमन्त्री अमिर अब्दोल्ला हियान र साउदी अरबका राजकुमार फैसला बिन फरहान अल साउदबीच एकअर्काको देशमा दूतावास तथा वाणिज्य दूतावास खोल्ने सहमति बने अनुसार साउदीको राजधानी रियाद र इरानको राजधानी तेहरानमा राजदूतावास खोलिनेछ । सोही सहमतिको क्रममा साउदीको जेद्दाहमा र इरानको मशहदमा वाणिज्य दूतावास खोल्न पनि दुवै देश सहमत भएको जनाईएको छ ।

सन् २०१६ मा कूटनीतिक सम्बन्ध तोडेका इरान र साउदी चीनको मध्यस्तकर्तामा पुनः सहकार्य विस्तारलगायत अन्य पक्षमा पनि मिलेर जाने बिषयमा सहमति गरेका हुन्। समाचारअनुसार एकअर्काको देशमा उडान गर्ने, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलहरुको द्धिपक्षिय भ्रमणलाई पुनः निरन्तरता दिने, ब्यापार खुल्ला राख्ने तथा हजलगायतमा इरानी नागरिकलाई आउन सहज गर्नेलगायतका बिषयमा दुवै पक्ष बिच सहमति कायम भएको छ ।
 

पोखरीमा डुबेर किशोरको मृत्यु

सर्लाही, २४ चैत – सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ। 

ज्यान गुमाउनेमा ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवन रहेका छन्। उनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

बुधबारदेखि हराइरहेका किशोरको शव बिहीबार साँझ पोखरीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बुधबार दिउँसो एक्लै साइकल चढेर घरबाट निस्किएका भूवन रातिसम्म घर नफर्किएपछि अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए।
 

सेनाले माग्य विभिन्न क्षेत्रका कर्मचारी

काठमाडौं, २४ चैत – नेपाली सेनाले विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो।

सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि इच्छुकहरूबाट दरखास्त मागेको हो। सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न १३७ जना माग गर्दै आज गोरखापत्रमा सूचना निकालेको छ।

१८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन्। उचाई भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने सूचनामा उल्लेख छ।

सेनाको वेबसाइटमा गएर दरखास्त फारम भर्न सकिन्छ। भरेको फारम प्रिन्ट गरेर स्वयम नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा बुझाउनुपर्ने छ। १० को टिकट टाँसेर दरखास्त दिनसमेत सेनाले आग्रह गरेको छ। दरखास्त शुल्क भने एक हजार रुपैयाँ तोकिएको छ।

आजदेखि २०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिने छ।

आमाको विकल्पमा मावली

काठमाडौं । एकल महिलाको विवाह भएको अवस्थामा विवाहअघि जन्माएको बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सरकारले निर्देशन दिएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एकल महिलाका बच्चाको जन्मदर्ताको विषयमा यस्तो परिपत्र जारी गरेको हो।

परिपत्रमा उल्लेख भएअनुसार विवाह भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएका महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए सो बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गरिदिन भनिएको छ। त्यस्तै विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उसको बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिने व्यवस्था गर्न भनिएको छ।

त्यस्तै जन्मदर्ता भएपछि बाबुको ठेगाना पत्ता लागेको अवस्थामा अघि गरेको जन्मदर्ता रद्द गरी बाबुको ठेगानामा नयाँ जन्मदर्ता गरिदिन सबै जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयलाई भनिएको छ।

भर्खरै सार्वजनिक भएको जनगणनाको तथ्याङ्कअनुसार कुल ३० लाख सात हजार ६४८ जना साना बालबालिकामध्ये ७४ प्रतिशतको जन्मदर्ता गराएका छन्। बाँकी २६ प्रतिशतले भने जन्मदर्ता गरेका छैनन्। अठार वर्षभन्दा मुनिका नाबालिगको सङ्ख्या ९८ लाख ६९ हजार ५८३ छ।

जसअनुसार आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत एवं मावली र अन्य नातेदारसँग बस्ने बालबालिका ३.०० प्रतिशत छन्। आमाले अर्को विवाह गरेको अवस्थामा सौतेनी बाबुसँगै रहेका बालबालिकाको सङ्ख्या ०.१ प्रतिशत मात्र छ। सबैभन्दा धेरै आमासँगै रहेको देखिन्छ।

विभागले यसअघि बाबु पत्ता नलागेको खण्डमा आमाको नाम र थरबाट जन्मदर्ता गराउन सकिने परिपत्र २०७९ कात्तिक ३० गते गरेको थियो। आफ्नै निर्णयमा असर गर्ने गरी आएको नयाँ परिपत्रले महिलालाई फेरि पुरुषकै भरमा रहेको निरीह महिलाका रूपमा चरितार्थ गर्न खोजिएको आरोप अधिकारकर्मीहरूले लगाएका छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।

यसै महिनाभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह

काठमाडौं, २४ चैत – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई यसै महिनाभित्र इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले एक सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो। सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजतपत्रको अवधि हरेक आर्थिक वर्षमा समाप्त हुने भएकाले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्ने सूचनामा उल्लेख छ।

यो अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको छ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन्। ६ महिनाभित्र पनि नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने सूचनामा उल्लेख छ। इजाजतपत्र नवीकरण गराउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्रलाई अनिवार्य गरिएको छ।

कस्तो छ कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्य?

काठमाडौं, २४ चैत – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। उनीसँगै गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको भने कीर्तिपुर अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

सुरूमा भण्डारीको पनि कीर्तिपुरस्थित अस्पतालमा उपचार गरिएकोमा उनलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले जानकारी दिए।

उनको अनुहारको छाला राम्रो हुँदै आएको र बायाँ हातको पट्टी खोलिइसकिएको उनले जानकारी दिए। कलमी गरिएको छालाले पनि राम्रो काम गरिरहेको चिकित्सकहरूले जानकारी दिएको न्यौपानेले बताए।

दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइन्छ भने हिँडाउन पनि सुरू गरिएको छ। दिनमा तीन/चार पटक हिँडाउन थालिएको र उनी अरूको सहयोगमा हिँड्न थालेको न्यौपानेले जानकारी दिए।

भारु बलियो बनेपछि नेपालमा डलरको मूल्य घट्यो

काठमाडौं । भारतीय रुपया (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले रिपोदर यथावत् राखेको घोषणा गरेपछि भारु बलियो बन्दा नेपालमा डलरको मूल्य घटेको हो । उक्त घोषणाअघि ८२ दशमलव १० पैसा भारु पुगेको डलरको मूल्य घटेर ८१ दशमलव ८८ पैसा भारुमा झरेको थियो ।

भारतमा डलर मूल्य घटेसँगै भारु बलियो बनेको हो । भारतमा डलर कमजोर बनेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको छ । फलस्वरूप नेपालमा डलरको मूल्य घटेको हो ।

एभरेष्ट बैंकले बिहीवार बिहान कारोबार शुरू हुँदाको तुलनामा कारोबार बन्द भएपछि डलरको विक्रीदर १५ पैसाले घटाएर १३१ रुपैयाँ ३५ पैसा तोकेको थियो । एभरेष्टले कारोबार शुरू हुँदा डलरको विक्रीदर १३१ रुपैयाँ ५० पैसा तोकेको थियो ।

नेपाल राष्ट्र बैंकले भने बिहीवारका लागि डलरको विक्रीदर १३१ रुपैयाँ ५१ तोकेको थियो । राष्ट्र बैंकले शुक्रवारका लागि डलरको विक्री दर १३१ रुपैयाँ ३२ पैसा तोकेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।