`

नेपालमा बीमा पोलिसी समर्पण गर्ने बीमितको संख्या बढे

काठमाडौं – पछिल्लो समय नेपालमा बीमा पोलिसी समर्पण (सरेन्डर) गर्ने बीमितको संख्या बढेको छ । पोलिसी सरेन्डर गर्ने बीमितको संख्या बढ्दा चालू आर्थिक वर्षको ८ महीनामै जीवन बीमा कम्पनीहरूले झन्डै ९ अर्ब रुपैयाँ बीमा शुल्क फिर्ता गर्नुपरेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा बीमितहरूले पोलिसी सरेन्डर गर्दा बीमा कम्पनीहरूले ८ अर्ब ८५ करोड ५४ लाख रुपैयाँभन्दा रकम फिर्ता गरेका छन् ।

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी पोलिसी साउनमा सरेन्डर भएको छ । साउनमा बीमितले पोलिसी सरेन्डर गरेर १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम बीमा कम्पनीसँग फिर्ता लिएका छन् । यस्तै फागुनमा १ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क पोलिसी सरेन्डरमार्फत फिर्ता भएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

सरकारी टोलीसँग मिटर ब्याज पीडितले आज पनि बार्ता गर्ने

काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः बार्ता हुने भएको छ । 

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच सोमवार पनि बार्ता हुन लागेको हो ।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतवार छलफल भए पनि सहमति नभए पछि सोमवार पुनः गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए । उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषकाे निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुदेँ मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ । पहिलो दिनको बार्तामा सहमति हुन नसके पछि पुनः सोमवार वार्तामा बस्ने उनले जानकारी दिए ।   

युवा संघको राष्ट्रिय महाधिवेसन आजवाट, ओलीले उदघाटन गर्ने

काठमाडौं, २७ चैत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज उदघाटन हुदैँछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने सो महाधिवेसन २७–२९ गतेसम्म जारी रहनेछ । 

नेपालगञ्जमा हुने महाधिवेसनको उदघाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए । उनका अनुसार महाधिवेसनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् । 

नेपालमा नयाँ प्रजातिको माछा भेटिएको दाबी

विराटनगरस्थित सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । अनुसन्धानकर्ताले नेपालमै पहिलो पटक यस्तो प्रजातिको माछा भेटिएको दाबी गरेका छन् । झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा विराटनगरको पूर्वी सिमाना भएर बग्ने सिङ्घियाको तल्लो तटीय क्षेत्रमा नयाँ माछा एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको हो । अनुसन्धानकर्ताहरूले २०७८ मङ्सिरदेखि २०७९ असोजसम्म कोशी प्रदेशका दुई जिल्लामा बग्ने पाँच नदीमा अनुसन्धान गरेका हुन् ।

विराटनगरका अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरू जिनक्वान याङ र चेनहोङ लीको समूहले सिङ्घियाको तल्लो भाग जहदा पुुल र बुधनगर गरी दुईवटा अध्ययन बिन्दुमा नयाँ प्रजातिको माछा फेला परेको दाबी गरेको छ । यो माछा नेपालका लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित इन्टरनेसनल जर्नल अफ जुलोजीको २०२३ अप्रिलको अङ्कमा प्रकाशित छ । अनुसन्धानकर्ताहरूका अनुसार एम्ब्लिसेप्स वाइखोमी प्रजातिको माछा दक्षिण एसियातिर विरलै पाइन्छ । अनुसन्धानमा संलग्न त्रिभुवन विश्वविद्यालयको जुलोजी विषयका पूर्वसहप्राध्यापक डा. भरतराज सुब्बाका अनुसार सन् २०१६ मा भारतमा पनि ब्रह्मपुत्र नदीको सहायक नदीअन्तर्गत अरुणाचल प्रदेशमा पहिलो पटक यो प्रजातिको माछा फेला परेको रेकर्ड गरिएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ ।

सो शाखाका अनुसार दोस्रो चरणमा सात हजार ७५७ जनाका लागि लिइने परीक्षाका लागि २६ हजार ८७६ जनाले आवेदन दिएका छन । कृषि तथा पशुपालनतर्फको पहिलो चरणको तीन हजार एक जनाका लागि १० हजार ३९८ जनाको आवेदन परेको थियो ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले गत वर्षदेखि नै युबीटी (युविक्युट्स बेस टेस्ट) ट्याबमार्फत भएको परीक्षा विगतको तुलनामा मर्यादित र व्यवस्थित भएको दाबी गरे । उनका अनुसार अघिल्ला वर्षहरूमा भाषा परीक्षा पेपर बेस टेस्ट (पीबीटी)का रूपमा गरिँदै आएकामा एक वर्षयता युबीटी (युविक्युट्स बेस टेस्ट) ट्याबमार्फत गरिँदै आएको छ । सो शाखाका निर्देशक कटुवालले युबीटी परीक्षा प्रणाली लागू भएसँगै परीक्षा शतप्रतिशत नै पारदर्शी भएको दाबी गरे ।

उनले भने, “नयाँ परीक्षा प्रणालीअनुसार परीक्षाको रोस्टममा परेकाले अघिल्लो दिन बायोमेट्रिक गरेर मात्रै परीक्षा दिने व्यवस्था गरिएको छ । त्यसले गर्दा नक्कली परीक्षार्थी प्रवेश गर्ने अवस्था नै रहँदैन ।”

दक्षिण कोरियाले ईपीएसअन्तर्गत अहिलेसम्मकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी कृषि तथा पशुपालनतर्फ पहिलो र दोस्रो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

भारतीय सुरक्षा अधिकारीहरू नेपालमा, अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै सतर्क रहन आग्रह

काठमाडौँ । केही दिनअघि भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सतर्क रहन आग्रह गरेको थियो । यतिखेर भने अमृतपालको खोजीमा भारतीय सुरक्षा अधिकारीहरू नेपालमै रहेको सुरक्षा स्रोतले जनाएको छ ।

उनीहरू चैत २० गते अघि नै नेपाल-भारत सीमा क्षेत्र पर्साको वीरगन्ज र बाँकेको जमुनाह नाका हुँदै नेपाल आएको उच्च सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । ‘उनीहरू स्थलमार्ग हुँदै नेपाल आएका हुन्, उनीहरूले नेपालका सुरक्षा अधिकारीहरूसँग अनौपचारिक सम्पर्क गरे पनि भेटघाट भने गरेका छैनन्,’ उच्च सुरक्षा अधिकारीले भने । अमृतपाल नेपालमै रहेको भन्दै उनको खोजीका लागि नागेश चौधरीको नेतृत्वमा भारतीय इन्टेलिजेन्स ब्युरोबाट ६ सदस्यीय टोली नेपाल आएको सुरक्षा स्रोतले जनाएको छ । भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपालका सुरक्षा अधिकारी अध्यागमन विभागलाई अमृतपाल नेपालमा लुकेको आशंका गर्दै निगरानी गर्न आग्रह गरेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

आजको मौसमः पहाडी भु–भागमा आंशिक बदली रहने

काठमाडौं, २७ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ

राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ। 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कैलाली कञ्चनपुरमा भयावह बन्दै रेबिज रोग

धनगढी, २६ चैत । कैलाली कञ्चनपुरमा रेबिज रोगको संक्रमण भयावह बन्न थालेको छ । पशुपञ्छि रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपञ्छिमा रेबिज तिब्र रुपमा देखिन थालेको हो भने रेबिजका कारण मर्ने पशु चौपायको संख्या समेत बढ्न थालेको छ

‘कैलालीको गौरिगंगा र धनगढीमा रेबिज संक्रमण भएका पशु चौपाया भेटिएका छन्,’ पशुप‌ंछी रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका प्रमुख डा.नरेश जोशीले भने, ‘कञ्चनपुरमा यसको संक्रमण उच्च रुपमा देखिएको छ, रेबिजका कारण पशु मर्नेक्रम पनि कञ्चनपुरमै उच्च रहेको छ ।’

उनका अनुसार हालसम्म कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा एटा भैसी, एक बाख्रा, शुक्लाफाँटा नगरपालिकामा एउटा कुकुर, भीमदत्त नगरपालिकाका विभिन्न वडामा कुकुर, बाख्रा, गाईको बच्छो, गाई, लालझाडी गाउँपालिकामा कुकुर लगायत धेरै पशुप‌ंछी रेबिज रोगका कारण मरेको पुष्टि भएको छ । 

‘कार्यालयमा रेबिजका कारण पशुचौपाय मरेको थोरैमात्रै तथ्याङ्क आएको छ,’ जोशीले भने, ‘तर पछिल्लो एक डेढ महिना यता रेबिजका कारण मात्रै ५ सय भन्दा बढी पशु चौपाय मरेको हाम्रो आकलन रहेको छ ।’

यता कैलालीको धनगढी र गौरिगंगाको एउटा–एउटा बाख्रामा पनि रेबिज रोग पुष्टि भएको प्रयोगशाला प्रमुख जोशीले बताए । उनले पशु चौपायमा रोगको संक्रमण देखिएपछि त्यसको कुनै औषधि नभएको समेत बताए । ‘रोग नियन्त्रण गर्ने एउटै उपाय रोग लाग्न पुर्वनै पशुचौपायमा रेबिजविरुद्धको खोप लगाउनु हो,’ प्रयोगशाला प्रमुख जोशीले भने, ‘रोग लागिसकेपछि त्यसलाई निको पार्ने कुनै औषधि अहिलेसम्म पत्तालागेको छैन, रोग लागेको चौपाया मरिहाल्छ ।’

उनले रेबिजको संक्रमण बढ्नथालेपछि पछिल्लो समय २४औं घण्टा प्रयोशालामा रोगकको परिक्षण हुने गरेको बताए । ‘श्रोतसाधन न्युन हुँदा पनि कर्मचारी जिम्मेवारीपुर्ण तरिकाले काम गरिरहनुभएको छ,’ उनले भने, ‘अहिले २४औं घण्टा प्रयोगशालामा हामी काम गरिरहेका छौं, अत्यावश्यक सेवाका लागि पशु एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ ।

रोग लाग्न नदिन के गर्ने ?

पशुप‌ंछीमा रेबिज रोग लाग्न नदिन खोप लागाउनु एक मात्र विकल्प भएको पशुप‌ंछी अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका प्रमुख डा.नरेश जोशीको भनाइ छ ।  ‘रोगलागिसेपछि यसको औषधि अहिलेसम्म पत्ता लागेको छैन,’ जोशीले भने, ‘त्यसलै सवैले आफ्ना पशु चौपायमा रेबिजविरुद्धको खोप लगाउनु अपरिहार्य छ ।’

रेबिज रोग खास गरी स्याल र संक्रमित कुकुरको टोकाईबाट सर्ने गर्दछ । त्यसैल सवैले आफ्नो घरमा पालेका कुकुरलाई रेबिजविरुद्धको खोप अनिवार्य लगाउन उनले सुझाव दिएका छन् । त्यसैगरी सडकमा रहेका सामुदायिक कुकुरमा पनि खोप लगाउनु अनिवार्य भएको डा. जोशीको भनाई छ ।

‘कुकुर वा स्यालले पशु चौपायलाई टोकेको खण्डमा तत्काल ती पुशुमा खोप लगाउन उनले सुझाव दिएका छन् । कुकुर वा स्यालले टोक्दा र्‍यालमा रेबिजको किटाणु देखिएको अवस्थामा पशुपञ्छि रोग अन्वेषण प्रयोगशालाले निशुल्क खोप लगाउने कार्यक्रम रहेको उने बताए । त्यसैले पशुप‌ंछीलाई कुकुर वा स्यालले टोकेको खण्डमा तत्काल पशुप‌ंछी रोग अन्वेषण कार्यालयमा खबर गर्न उनले अनुरोध समेत गरेका छन् ।

अहिले गोठमै पशुमा रोग भए नभएको पत्तालगाउने प्रविधि भित्रिएको छ,’ उनले भने, ‘त्यसैले पहिला जस्तो रेबिज पत्तालगाउन प्रयोगशालामै आउनुपर्ने अवस्था छैन, त्यसैले किसानले पपशुप‌ंछीमा रेबिज जस्तो लक्षण देखिएको खण्डमा तत्काल पशुपञ्छि रोग अन्वेषण प्रयोगशाला वा स्थानीय पालिकाको पशु शाखामा जानकारी गराउन अनुरोध छ ।

के हो रेबिज, कसरी सर्छ ?

सुरुमा जनावरको र्‍यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । दिमागको गिदीमा सङ्क्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ ।

रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।

लक्षण

रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।

त्यसैगरी पशु चौपायमा बौलाउने, झोक्राउने, ¥याल चुहाउने जस्ता लक्षण देखिएमा रेबिज रोग हुन सक्छ । त्यसतो लक्षण देखिएका मानिस वा पशुलाई छुट्टै स्थानमा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । 

प्रदेश भर एउटै प्रयोगशाला, बजेट छैन

पशुप‌ंछी रोग अन्वेषण प्रयोगशाला सुदूरपश्चिममा एउटा मात्रै रहेको छ । जसका कारण सुदूरपश्चिमका ७ वटा पहाडी जिल्ला प्रयोगशालको सेवा लग्न पाउँदैनन् । धनगढीमा रहेको प्रयोगशालाले कैलाली, कञ्चनपुरमा अहिले जसोतसो सेवा दिंदै आएको छ । कार्यालयमा हाल तीन पशु विशेषज्ञ डाक्टर प्राबिधिक कर्मचारी कार्यरत रहेका छन् । अत्यावश्यक सेवाका लागि प्रयोगशालामा पशु एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ । 

तर, बजेट अभावका कारण भने काम गर्न सकस भइरहेको प्रयोगशालाका प्रमुख जोशी बताउँछन् । ‘संघिय सरकारले अहिले सबै योजना  तथा कार्यक्रमको बजेट कटौति गरेको छ,’ कार्यालय प्रमख डा. जोशीले भने, ‘जसका कारण श्रोतसाधनको समस्या हुन थालेको छ, अहिलेसम्म जसोतसो काम गरिरहेका छौं, आगामी दिनमा केहुन्छ भन्न सकिदैन ।’ अहिले पनि कतिपय अवस्थामा कर्मचारीले आफ्नो व्यक्तिगत खर्च व्यहोरेर फिल्डमा जानुपर्ने अवस्था रहेको उनले बताए ।

जसले ५० वर्ष अध्यापन गराए…

भक्तपुर, २६ चैत – भक्तपुरको एउटा कलेजका प्राध्यापक ५० वर्ष सेवा गरेर बिदाइ भएका छन् । उनलाई कलेजले आइतबार कार्यक्रम गरि बिदाइ दिएको छ ।

प्राध्यापक सुदर्शन कारञ्जित ५० वर्षको अध्यापन पश्चात नियमित अध्यापन पेसाबाट उमेरहदका कारण बिदा लिएका हुन् । मुनाफारहित सामाजिक संस्थाको रूपमा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता गरी सञ्चालन गरिएको नेपाल इन्जिनियरिङ कलेजबाट उनलाई बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा प्राध्यापक सुदर्शन कारञ्जितलाई नियमित सेवाबाट कलेजका प्राचार्य, सहायक प्राचार्य, विभागीय तथा शाखा प्रमुखहरू तथा शिक्षक कर्मचारी प्रतिनिधिहरूले दोसल्ला तथा प्रमाण–पत्रसहित बिदाइ गरिएको थियो । 

प्राध्यापक कारञ्जितको अध्यापन कार्य २०३० सालमा ललितपुरको एउटा माध्यमिक स्कूलमा प्रारम्भ भएको थियो । बेलायतको द सिटी युनिभर्सिटिबाट सन् १९८७ मा स्नातकोत्तर उपाधि हासिल गरी लगभग १८ वर्ष राष्ट्रिय कम्प्युटर केन्द्र सिंहदरबारमा काम गरिसकेपछि उनी पुनः शिक्षण पेशामा फर्किएको थियो । पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपाल इन्जिनियरिङ कलेजमा सञ्चालित पिजिडिसिए कार्यक्रममा उनी सन् २००० जनवरी १६ मा सहप्राध्यापकको रूपमा आवद्ध भएपछि लगातार २३ वर्ष सोही कलेजमा स्नातक तथा स्नातकोत्तर तहका कम्प्युटर इन्जिनियरिङ सम्बन्धी विभिन्न विषयहरू अध्यापन गराइरहेका थिए ।

सन् २००२ मा उनी प्राध्यापकमा पदोन्नति भएका थिए । उक्त सेवा अवधिमा उनले विभागीय प्रमुख भई सन् २००२ मा र दुई पटक विद्यार्थीहरूको काउन्सेलरकोरूपमा काम गरेका थिए । नियमित अध्यापन बाहेक कलेजका विभिन्न समितिहरूमा योगदान गर्दै आएका प्राध्यापक कारञ्जितले दुई वर्ष अगाडि कलेजको सहायक प्राचार्य छनौटको मापदण्ड तयार पनि गरेका थिए ।

पार्टी एकताको सम्भावना भएका माओवादी घटकसँग एकता गर्दै जान्छौं – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बृहत् समाजवादी मोर्चा गठनका लागि पहल भइरहेको बताउका छन् । आइतबार नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले यस्तो बताएका हुन् । उनले ‘जनतासँग पार्टी अभियान’ मा प्राप्त सुझावका आधारमा पार्टीको पुनःनिर्माण गरिने बताए ।

उनले भने, “हामीले दुई महिनाका लागि अहिले जनतासँग पार्टी अभियान चलाएका छौँ । सबै नेता कार्यकर्ता अभियानमा तलैसम्म खट्नुहोला र जनताबाट सुझाव लिनुहोला । सोही सुझावका आधारमा आगामी दिनमा पार्टी पुनःनिर्माण गर्नेछौँ ।”

उनले पार्टी एकताको सम्भावना भएका माओवादी घटक र अन्यसँग एकता गर्दै जाने र तत्काल एकता सम्भव नभएका दलहरुका बीच समाजवादी मोर्चा बनाइने बताउ ।

मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी होइन – गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा आर्थिक सङ्कट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी नभएको बताउका छन् । आइतबार कांग्रेस दाङले घोराहीमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने देशमा आर्थिक सङ्कट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी छैन, यो अवस्था आउनुमा विगत २० वर्षदेखिको सत्ता साझेदारहरुको भूमिका छ ।उनले भने, “देशमा आर्थिक सङ्कट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी छैन, यो अवस्था आउनुमा विगत २० वर्षदेखिको सत्ता साझेदारहरुको भूमिका छ ।”

उनले देशको राष्ट्रिय अस्मिता, स्वन्त्रतता र लोकतन्त्रको आत्मा बचाएर राख्ने काम कांग्रेसले गरेको बताए । साथै उनले अब कांग्रेस अविकसितबाट विकसित मुलुक बनाउने अभियानमा अघि बढेको बताए । उनले कांग्रेस पार्टीभित्र दुःख, सङ्घर्ष गरेका व्यक्तिलाई न्याय गर्नुपर्ने कामको असल अभ्यास दाङ कांग्रेसले गरेको भन्दै प्रशंसा पनि गरे ।

बारा पुगेर रवि लामिछानेले भने – ‘दलहरूको चुनाव चिन्हले मान्छे छुन सकेन’

बारा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थापीत भनिएका पार्टीको झण्डा, नाम, चुनाव चिन्ह गाउँ-गाउँसम्म पुगे पनि पार्टीको नारा विचार सिद्धान्तले गाउँको समस्या अंकमाल गर्न नसकेको बताएका छन् ।

आइतबार बारा क्षेत्र नम्बर २ को चुनाबी सभालाई सम्बोधन गर्न आएका सभापति लामिछाने सिमरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीहरु देश भात्र नभई विदेश फैलिए पनि त्यस्ता पार्टीहरुले आम मान्छेलाई छुन नसेके पछि आफूहरू उपस्थित भएको बताए ।

सभापति लामिछानेले वर्तमान परिस्थितिमा राजनीतिलाई सुद्धिकरण गर्दै अगाडी बढ्ने अभियानमा आफ्नों पार्टी रहेकोले समाजमा स्थापित राजनीती दलको उद्देश्य जनता प्रति उत्तरदायी नबन्दा राजनीती गलत ब्याख्याको शिकार भएकोले आफ्नों दल जनता प्रति शमप्रति रहने हालसम्मको निर्वाचित सांसदको प्रतुतिले प्रष्ट पारेको बताए ।

घण्टी बजाएर थालिएको राजनीतीक बिद्रोह मुलुकलाई ट्रयाकमा ल्याउँन युवाहरुको बिद्रोह भएकोले घण्टीको पवित्रता नै भरोसाको आधार रहेको नेपाली समाजले बुझेको लामीछानेले बताए ।
  
एक फरक प्रशंङ्गमा लामीछानेले राजनीतीक दलहरुले आफू भित्रको आन्तरिक लोकतन्त्रलाई महत्व नदिई कार्यकर्ताले बलियो बनाएको क्षेत्रमा नेताले आफू निकट टिकेलाई उम्मेदवार पठाउँने र दल मिलेर जिताउँने सिन्डिकेट बनाएको प्रति जनता सचेत बन्नु पर्ने बताए ।

 मधेसी नेताहरुले यहाँका मुद्दालाई प्रचार गर्ने र भजाउँने आधार बनाउँदै आएको स्थानीयले बुझिसकेकले अब मधेशी जनता कसैले झुक्याउन नसक्ने बताउँदै लामीछानेले उपनिर्वाचनको तीनै क्षेत्रमा  राष्ट्रिय स्वतन्त्र पार्टी बलियो रहेको जानकारी गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नम्बर २ को विकासको लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुँनु वा बाहिरको हुँनुले खास फरक नपर्ने लामिछानेको भनाई छ ।
 
राष्ट्रिय स्वतन्त्र पार्टीले बारा क्षेत्र नम्बर २ मा चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा भाग लिन सो पार्टीका सभापतिसहित केन्द्रीय स्तरमा नेताहरू बारा आइपुगेका हुँन् ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको छ – अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक सङ्घ ९इमान० सँग अर्थमन्त्रालयमा भएको भेटमा उनले यस्तो बताएका हुन् ।

उनले भने “अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी सरकार लागिरहेको छ, मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रीत रहेको छ” उनले अर्थतन्त्रमा लगानी, बैंकको ब्याजदर, पूँजीबजार र निजी क्षेत्रमा समेत समस्या समाधान गरी तत्काल अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको पनि बताए । मुलुकको राजस्व सङ्कलन भन्सारमा निर्भर भएको भन्दै यो वर्ष आयात प्रतिबन्ध लगायतको कारण लक्ष्य पूरा हुन नसकेको उनको भनाई छ ।

अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहकार्यमा सरकारको वित्त नीति र मौद्रिक नीति निश्चित लक्ष्यका साथ सकारात्मक दिशामा उन्मुख गराउने उनले बताए ।

एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक

चितवन । एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को तयारी तीव्र पारिएको छ । लक्की मिडिया हाउस चितवनले असारमा चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको प्रचार प्रसारलाई तीव्र बनाएको हो ।

 नायिका पूजा शर्माले लक्की फिल्मी अवार्डको टिसर्ट सार्वजनिक गरेकी हुन् । चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न अवार्ड गर्न लागेको हो ।

लक्की मिडिया हाउसले प्रचार सामाग्री सार्वजनिक गर्ने अभियाननै चलाएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले टिसर्ट मोफसल टूर कार्यक्रममा प्रयोग हुने बताए । मोफसल टूर देशका मुख्य शहरमा पुग्नेछ । पहिलो टूर बाग्लुङ हुने जनाइएको छ । नेपालका मुख्य शहरमा फिल्मी अवार्डबारे जानकारी गराउने अभियान छिटै चल्ने बताए ।

टिसर्ट सार्वजनिक कार्यक्रममा चितवनका युवा उधमी तथा वरिष्ठ समाजसेवी विजय बहादुर घले, वरिष्ठ दन्त चिकित्सक डा. विष्णुप्रसाद सुवेदी, चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष विजय सुवेदी आवाज, युवा उधमी सुरज तिवारी, अवार्ड कार्यक्रम संयोजक राजेश शर्मा आचार्य लगायतको सहभागिता रहेको थियो ।

टिसर्ट सौजन्य भरतपुर, मालपोतचोक र गैँडाकोटमा रहेको स्माईल डेण्टल एण्ड ओरल हेल्थ केयर सेन्टर प्रालिले गरेको थियो । विभिन्न ३० विधामा सिने क्षेत्रका उत्कृष्ट कलाकारलाई अवार्ड वितरण गरिने जनाइएको छ ।
 

प्रेमीबाट ६० लाख ठग्ने युवक पक्राउ

काठमाडौं, २६ चैत – सामाजिक सञ्जालमा जोडिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भएका २६ वर्षीय विश्व शर्मा रहेका छन् ।

आरोपित शर्माले सामाजिक सञ्जाल फेसबुकमा महिलाको नक्कली फेसबुक अकाउन्ट बनाएर पीडितलाई फ्रेन्ड रिक्वेस्ट पठाइ ठगी गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

साथी भएपछि वार्तालाप हुँदै जाँदा उनीहरूको सम्बन्ध प्रेममा परिणत भएको र प्रेममा पारिसकेपछि शर्माले नक्कली आईडीबाट पीडित युवालाई विभिन्न प्रलोभनमा पारेर रकम माग गर्न थालेको प्रहरीको भनाइ छ ।

यसरी विभिन्न समयमा प्रलोभनमा पारेर पीडित युवाबाट ६० लाख रुपैयाँ बढी ठगी गरेको उजुरी साइबर ब्यूरोमा परेको थियो । त्यही उजुरीमाथिको अनुसन्धानका क्रममा शर्मा पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शर्माले आफ्नै महिला साथीको फोटो दुरुपयोग गरी नक्कली अकाउन्ट बनाएको देखिएको छ । शर्मालाई सामाजिक सञ्जालको दुरुपयोग गरी भएको ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालतको आदेशले पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

गायिका व्हिटनीसँग विवाह गर्न चाहन्थे ओसामा बिन लादेन

लसएन्जल्स, २६ चैत । अमेरिकी गायिका व्हिटनी ह्यूस्टन सर्वकालिन लोकप्रिय गायिकाका रुपमा चिनिन्छिन् । उनी अश्वेत थिइन्, तर उनको स्वरमा जादु थियो । विश्व उनको गीतबाट मोहित थियो । उनका २० करोड गीत बिकेका छन् । ८ ग्रामी, २ एमी अवार्ड उनले जितेकी छन् । उनको नाम गिनीज बुकमा २८ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

विश्वका प्रख्यात आतंकवादी ओसामा बिन लादेन पनि व्हिटनीको ठूलो फ्यान थिए । लादेन व्हिटनीको पतिको हत्या गरेर व्हिटनीसँग विवाह गर्न चाहन्थे । व्हिटनीको जीवनमा राम्रो नराम्रो सबै समय आयो । धन, इज्जत, लागुऔषध, रंगभेदको पीडा, समलिंगी सम्बन्ध, पति र छोरी, माता पिताबाट अलग, डिप्रेशन, करियरमा गिरावट भइरहँदा ४८ वर्षको उमेरमा उनको रहस्यमयी तरिकाले मृत्यु भयो ।

लादेन व्हिटनीप्रति यती मोहित थिए कि उनी आफ्नो पत्नी बनाउन चाहन्थे । उनी आफ्नो खार्तुम(सुडान)स्थित मेन्सन पनि व्हिटनीको नाममा सार्न चाहन्थे । ओसामाका लागि व्हिटनी विश्वकै सुन्दर महिला थिइन् । यो कुरा लादेनको सेक्स स्लेव रहेको सुडानियन अमेरिकन उपन्यासकार कोला बूफले आफ्नो अटोबायोग्राफी ‘ए डायरी अफ ए लास्ट गर्ल’मा लेखेका थिए ।

१९९६ मा कोला बूफ ६ महिनासम्म मोरक्कोमा लादेनको सेक्स स्लेव रहेकी थिइन् । उनलाई बन्दी बनाएर राखिएको थियो । बूफलाई कैयौंपटक लादेनले बलात्कार पनि गरेका थिए । बूफको पुस्तकमा लादेन प्रायः व्हिटनीको बारेमा कुरा गर्ने र उनको मुस्कानमा फिदा हुने गरेको उल्लेख छ ।

बूफको पुस्तकमा लादेनले व्हिटनीसँग भेट्न चाहेकाले उनलाई भेट गराइदिने व्यक्तिलाई मात्र करोडौं रुपैंयाँ रकम दिन तयार थिए । तर यसो हुन सकेन । लादेन व्हिटनी हृदयबाट एक मुस्लिम भए पनि अमेरिकी संस्कृतिको बहकाउमा लागेर क्रिश्चियन बनेको मान्यता राख्थे ।

व्हिटनीले सन् १९९३ मा गायक बोबी ब्राउनसँग विवाह गरेका थिए । बोबीप्रति लादेनको ठूलो रिस थियो । त्यहीकारण उनी जहिल्यै बोबीलाई घृणा गर्थे । उनी प्रायः बोबीलाई कसरी मार्न सकिन्छ भनेर सोच्दथे ।

बागमती प्रदेशको खानेपानी मन्त्रालयको जिम्मेवारी लामालाई

हेटौंडा, २७ चैत – नेपाली कांग्रेस काभ्रेका सभापति रहेका प्रदेश सभा सदस्य तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । आइतबार बागमती प्रदेश सरकार विस्तार हुँदा लामाले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । लामाले आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासंग सपथ लिएका छन् । 

२०७९ सालमा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित उनी २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । सोही कार्यकालमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य निर्वाचित भएका उनी संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएर भुमिका निर्वाह गरेका थिए । 

कम्युनिष्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने उनी कांग्रेसको पहिलो उम्मेदवार हुन् । २०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उनी १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए । तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर भएको बाम गठबन्धनका कारण २०७४ सालको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा भने उनी ४ हजार २६ मत अन्तरले मात्रै पराजित भएका थिए । बाम गठबन्धनका गंगाबहादुर दोङले ४३ हजार ६ सय ३१ र कांग्रेसका तिर्थबहादुर लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका थिए । 

२०६४ सालबाट नेपाली कांग्रेसको राजनीति शुरु गरेका लामा सोही बर्ष क्षेत्रीय उपसभापति मनोनित भएका थिए । पार्टीको १२औं र १३औं महाधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित लामा संघीयतापछि जिल्ला २ निर्वाचन क्षेत्रमा विभाजन भएपछि प्रतिनिधी सभा क्षेत्र नम्बर १ को सभापति भएका थिए । पार्टीको १४औं महाधिवेशनमा उनी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

एकै दिन सुदूरपश्चिममा थपिए २२ कोरोना संक्रमित

धनगढी, २६ चैत – सुदूरपश्चिम प्रदेशमा आइतबार एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सात सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १८ जना र ४० जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १९ जना कैलालीका, दुई जना कञ्चनपुर र एक जना बैतडी जिल्लाका रहेको जनाएको छ ।

हिस्टुनको बागमति प्रदेश अधिवेशन सम्पन्न

काठमाडौं, २६ चैत – माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को बागमती प्रदेशको प्रथम अधिवेशन राजधानीमा सम्पन्न भएको छ । हिस्टुन नेपालका केन्द्रीय अध्यक्ष जीवराज सुवेदीले पानसमा दीप बालेर उद्घाटन गरेको अधिवेशनबाट १५ सदस्यीय बागमती प्रदेश समिति गठन गरेको छ ।
प्रमुख अतिथि सुवेदीले कक्षा ११–१२ को कक्षा सुरु गरेको तीन दशक नाघिसक्दा पनि सरकारले यस तहका शिक्षकहरुको व्यवस्थापन गर्न नसक्नु आफैमा अचम्मको विषय भएको बताए । 

यही कारण समयमा यस तहमा बसेर काम गर्ने धेरै शिक्षकहरु खाली हात नै अवकासमा जानुपर्ने भएको उनले बताए ।
उनले हिस्टुनको आगामी बैशाख १६–१७ गते हुने केन्द्रीय अधिवेशन हुनु आफैमा महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा हिस्टुन अध्यक्ष मण्डलका सदस्य एवं वरिष्ठ शिक्षक पुष्प नेपालीले यस तहका एकजना शिक्षकले विद्यालयसंग एक हप्ताको विदा लिएर विहेबारी सम्पन्न गरी विद्यालयमा फर्कन्दा उसलाई जागिरबाट निकालेको घटनाबाट यस तहका शिक्षकहरुको आन्दोलनको सुरुवाट भएको प्रसंग कोट्याए । त्यस्तै कार्यक्रममा हिस्टुनका महासचिव टिकाप्रसाद न्यौपानेले २०६१ सालमा स्थापना भएको हिस्टुनले विभिन्न समयमा विभिन्न किसिमका कार्यक्रमहरु सम्पन्न गरेको र यो संगठन अब देशव्यापी रपमा फैलिसकेको बताए । 
कार्यक्रममा बागतमती प्रदेशका १३ वटै जिल्लाको प्रतिनिधिहरुको सहभागिता रहनुका साथै सबै जिल्लाहरुको शैक्षिक स्थिति तथा यस तहका शिक्षकहरुको अवस्था सहितका प्रतिवेदनहरु प्रस्तुन् गरेका थिए ।

हिस्टुनका केन्द्रीय उपाध्यक्ष कल्पना पनेरुको सभापतित्वमा सम्पन्न उक्त हिस्टुन प्रथम बागमती प्रदेश अधिवेशनबाट मकवानपुर जिल्लाका शिक्षक रामशरण पौडेलको अध्यक्षतामा १५ सदस्य हिस्टुन बागमती प्रदेश समिति गठन भएको छ । सोही स्थानमा हिस्टुन काठमाडौं उपत्यका स्तरको पनि अधिवेशन भएको थियो । उक्त अधिवेशनबाट काठमाण्डौंका शिक्षक सुमन गौतमको अध्यक्षतामा ९ सदस्यीय हिस्टुज काठमाडौं उपत्यका समिति पनि गठन भएको छ । 
 

तोशाखाना मुद्दा: लाहोर उच्च अदालतले इमरान खानको याचिकामा अप्रिल १२ मा सुनुवाइ गर्ने

लाहोर, २६ चैत ।  पाकिस्तानको एक अदालतले पुर्व प्रधानमन्त्री इमरान खान विरुद्ध सुनुवाइ अप्रिल १२  मा गर्ने भएकाे छ ।

डन अखबारका अनुसार न्यायाधीश शाहिद बिलाल हसनको अध्यक्षतामा लाहोर उच्च न्यायालयको पाँच सदस्यीय बेन्चले १२ अप्रिलमा याचिकाको सुनुवाइ गर्नेछन ।

सो अदालतले तोशाखाना भ्रष्टाचार मुद्दाको बहुप्रतिक्षित सुनवाइ अप्रिल १२ मा गर्ने भएकाे हाे  । र,  साे सुनवाइमा दुवै पक्षलाई यस विषयमा आफ्नो तर्क पेश गर्न अनुमति दिने बताएको छ ।

तोषखानाको उपहार बेचेको आरोप इमरान खान माथी छ।  इमरान खानलाई तोशाखानामा राखिएका उपहारहरू तत्कालीन प्रधानमन्त्रीका रूपमा पाएको महँगो घडी समेत सस्तो मूल्यमा किनेर नाफा कमाउन बेचेको आरोप छ।

तोषखाना पाकिस्तानको एक सरकारी विभाग हो, जहाँ सरकारका प्रमुखहरू, राष्ट्रपति, प्रधानमन्त्री, सांसद, नोकरशाह र अधिकारीहरूलाई विदेशी प्रतिष्ठित व्यक्तिहरूले दिएका उपहारहरू राखिन्छन्।

भारतीय कानुन मन्त्री रिजुजुको कार ट्रकमा ठोक्कियो

नयाँ दिल्ली, २६ चैत । केन्द्रीय कानून मन्त्री किरेन रिजिजुको कार ट्रकमा ठोक्किएको छ ।

जम्मू कश्मीरको एक कार्यक्रममा सहभागी हुन निस्केका कानुन मन्त्री रिजिजुको कार ट्रकमा ठोक्किएको हो ।

सो घटनामा कानुन मन्त्री रिजिजु र उक्त कारमा सवार अन्य मानिसहरु पूर्ण रुपमा सकुशल छन् । प्राप्त जानकारी अनुसार यो घटना जम्मू कश्मीरको रामबन जिल्लामा शनिबार भएको हो ।

यो घटनासँग सम्बन्धित एउटा भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियोमा किरण रिजिजु बसेको कारलाई ट्रकले ठक्कर दिएको देखिन्छ । ठोक्किएपछि किरेन रिजिजुको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी सो कारतर्फ दौडिरहेको देखिन्छ । सुरक्षाकर्मी कारको नजिक पुग्ने बित्तिकै किरेन रिजिजु आफ्नो कारबाट निस्केर उठ्छन्।

यो भिडियोमा रिजिजुलाई हेर्दा उनलाई कुनै चोट लागेको छैन । उनीसँगै कारमा सवार अन्य व्यक्ति पनि सकुशल छन् । अहिले स्थानीय प्रहरीले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको छ ।

यस दुर्घटनाको केही समय अघि किरण रिजिजुले एक ट्वीट मार्फत आफ्नो यात्राको जानकारी दिएका थिए। उनले आफ्नो ट्वीटमा लेखेका थिए, ‘म अहिले जम्मुबाट उधमपुर जाँदैछु । त्यहाँ कानुनी सेवा शिविरमा सामेल हुनु पर्नेछ। यस कार्यक्रममा म बाहेक धेरै जजको टोली पनि सहभागी हुनेछन्। यतिबेला, म पनि यो यात्रामा उत्कृष्ट सडकको आनन्द लिइरहेको छु।’

सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझकाे बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो ।

अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्धालाई प्राथमिकतामा राखिएको छ । लामिछानको मुद्धाको फैसाला गरेका न्यायधिस केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय भएपछि उनका कानुन व्यावसायीको अनुरोधमा रोकिएको थियो । पुनः सुनवाईका लागि पेशी तोकिएको भए पनि समयसिमा अभावका कारण गत बिहिवार सुनवाई हुन सकेको थिएन ।

सर्वोच्च अदालतले सो मुद्धाको चाडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसाला आउन सक्ने सम्भावना रहेको छ । 

एक किशोरी माथी बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । सो आदेशसँगै लामिछाने पुर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले कडा सर्तसहित २० लाख धरौटीमा उनलाई छाडेको थियो ।

उदयपुुरमा ट्रकको ठक्करवाट मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु

उदयपुर, २६ चैत । ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ । 

आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाका अनुसार मे.१ ख २१८४ नम्बरको ट्रकले प्रदेश नं १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ का मगरले चलाएको मोटरसाइकललाई गाईघाट बजारमा ठक्कर दिएको थियो ।

साे घटना पछि ट्रक चालकलाई नियन्त्रणमा लिईएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाटन क्याम्पसमा स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी

काठमाडौं, २६ चैत । पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। 

शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी भएका हुन । 

गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिएको थियो । जुन निर्वाचनवाट बिष्ट ८४१ मतसहित बिजय भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसी भने ६७२ मतमा सिमित भएका छन् ।
 

बलात्कारको आरोपमा ओखलढुंगामा ६० बर्षिया बृद्ध पक्राउ

ओखलढुङ्गा, २५ चैत । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले  ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० बर्षिया गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक देबेन्द्र दासका अनुसार एक २४ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । बलात्कृत भनिएको युवतीको उजुरीको आधारमा कटुवाललाई पक्राउ परेका हुन ।  

पक्राउ परेका कटुवाल माथी सोधपुछ जारी रहेको र उक्त घटनाका विषयमा थप अनुसन्धान गर्नु परेकाे भन्दै अदालतको म्याद थप गरेर उनलाई हिरासतमा राखिएको छ । 

इन्डियन प्रिमियर लिगमा चेन्नाईको दोस्रो जीत

काठमाडौं, २६ चैत । इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्सले पुनः दोस्रो खेलमा जीत हासिल गरेको छ । 

शनिबार चेन्नाईले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेर दोस्रो जीत दर्ज गरेको हो  भने मुम्बई आफ्नो सुरुआती दुवै खेलमा लगातार पराजित हुन पुगेको छ ।

मुम्बईले दिएको १ सय ५८ रनको लक्ष्य पछयाउँदै चेन्नाईले तीन विकेट गुमाएर १८.१ ओभरमै पूरा गरेको थियो । चेन्नाईका लागि अजिन्के रहानेले सर्वाधिक ६१ रन बनाएका थिए । 

त्यस अगाडि मुम्बईले आठ विकेटमा १ सय ५८ रनको लक्ष्य चेन्नाईलाई दिएको थियो । 

भिल्लासँग पराजित भएसँगै रियल म्याड्रिड बार्सिलोनासँग १२ अंकले पछाडी

काठमाडौं, २६ चैत । स्पेनिस ला लिगामा रियल म्याड्रिड भिल्ला रियलसँग पराजित भएको छ ।

घरेलु मैदानमा रियल भिल्ला रियलसँग ३–२ काे अन्तरले पराजित भएको हो । रियल भन्दा एक खेल कम खेलेको बार्सिलोना ७१ अंकका साथ शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानमा रहेको बार्सिलोनासँग १२ अंकले पछि परेको छ ।

सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलको पहिलो हाफको  १६औं मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट रियलले अग्रता लिएको थियो तर ३९औं मिनेटमा भिल्लाका सामुइल चुकविजीले गोल फर्काउदै खेललाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याउन सफल भए । खेलको थप समय अर्थात ४८औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए । 

पहिलो हाफमा २–१ को अग्रता कायम गरे पनि दोस्रो हाफमा भने रियलले अग्रता जोगाउन सकेन, खेलको ७०औं मिनेटमा भिल्लाका जोश लुइस मोरालेसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याई दिए ।

अन्त्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक देखिएको खेलको दोस्रो हाफको ८०औं मिनेटमा सामुइल चुकविजीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लालाई ३–२ को अवस्थामा अघि बढाए ।

साथै, ८३औं मिनेटमा रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेको पनि भिल्लाले त्यसलाई अस्विकार गरयाे । त्यसपछि भिएआरबाट परिक्षण गरी हेर्दा भने भिल्लाले भने झै रियलले पेनाल्टी पाएन । अन्तत त्यसपछि थप गोल निस्कन नसक्दा रियल घरेलु मैदानमा नै ३–२ ले पराजित हुन पुग्यो ।

यस हारसँगै रियल २८ खेलबाट ५९ अंकमा सिमित भएको छ भने भिल्लारियल ४७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । शनिवारको खेलमा पराजित भएसँगै बार्सिलोनासँग अंक फराकिलो गर्न रियल बाध्य भएको छ । 

कोशी प्रदेशका सांसदमाथी दुर्व्यवहार गर्ने ‘पहिचानवादी’ चार युवाको रिहाई

खोटाङ, २५ चैत । प्रदेश सांसदलाई दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ परेका चार जना रिहा भएका छन् ।

कोशी प्रदेश नामाकरणको बिषयलाई लिएर प्रदेशसभा सदस्य पाँचकर्ण राईलाई दुर्व्यवहारको कोशिश गरेकाे आरोपमा पक्राउ परेका चारै जनालाई प्रहरीले छाडिदिएको हो । 

जिल्ला समन्वय समितिको छैटौं जिल्ला सभा चलिरहेको बखतमा सप्तमणि राई, सुनिल चाम्लिङ, युगसन किरात, डार्विन चाम्लिङले सांसद राईलाई लक्षित गरेर नाराबाजी तथा कालो झन्डा देखाएका । सदरमुकाम दिक्तेलमा आयोजित सभामा सांसद राईलाई लक्षित गरेर दुर्व्यवहार गरे पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मन्जिल मुकारूङले कोशी प्रदेश नामाकरणमा सहमति जनाएको भन्दै सांसद राईको बिरुद्धमा नाराबाजी र कालो झन्डा देखाएका कारण पक्राउ परेका चारैजनालाई छाडि सकिएको बताए । 

प्रदेश १ लाई कोशी प्रदेशमा नामकारण गरेको भन्दै पुर्वी पहाडी जिल्लामा पहिचानवादी आन्दोलनकारीहरुले सो प्रदेशका सांसद देखी मन्त्रीहरु बिरुद्ध निरन्तर प्रदर्शन गर्दै आएका छन् ।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका ल्याइने

काठमाडौँ । सरकारी स्तरबाट प्रयोग हुने सामाजिक सञ्जाल सञ्चालनको मापदण्ड तथा नियमन गर्ने दस्तावेज अपर्याप्त हुँदा बेलाबेलामा समस्या आउने गरेको छ। हाल यससम्बन्धी २०७५ मा तर्जुमा गरिएको एक कार्यविधि छ तर त्यो ‘हेलो सरकार’ सञ्चालनका लागि मात्र लक्षित थियो।

स्पष्ट मार्गदर्शक दस्तावेज नहुँदा राष्ट्रप्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट पदाधिकारीका सामाजिक सञ्जालका आधिकारिक पेज सञ्चालनमा पनि व्यक्ति परिवर्तन हुँदा समस्या आउने गरेको छ। केही समयअघि राष्ट्रपति परिवर्तन हुँदा पनि त्यस्तै ट्वीटर ह्यान्डिल सञ्चालनमा समस्या आएको थियो ।

त्यस्तै समस्या रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज दुई वर्षदेखि सञ्चालनमा आउन सकेको थिएन। शनिबार मात्र उक्त पेज सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले बताए ।

यस्तै समस्या मन्त्रालय, विभाग वा कार्यालयका तर्फबाट सञ्चालन गरिने सामाजिक सञ्जालमा समेत रहेको छ। यीलगायतका समस्या समाधानका लागि अब सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना दिन निश्चित प्रक्रिया पूरा गरेर मात्रै सामाजिक सञ्जाल सञ्चालन तथा प्रयोग गर्न पाउने भएका छन्।

यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहसम्म सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्न ‘सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका–२०८०’ ल्याउन लागिएको छ। निर्देशिका तर्जुमा टोलीका एक सदस्यका अनुसार यसअघि जारी ‘सरकारी निकायद्वारा सामाजिक सञ्‍जाल प्रयोग गर्ने कार्यविधि– २०७५’ भन्दा निर्देशिका थप परिष्कृत हुनेछ।

२०७५ को कार्यविधि सामयिक नभएकाले अब बन्ने निर्देशिकाले अहिले सञ्चालनमा रहेका र भविष्यमा आउन सक्ने सबैखाले सामाजिक सञ्जाललाई निर्देशिकाले सम्बोधन गर्ने बताइएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रचण्ड र देउवाको प्रस्ताव ओलीले किन गरे अस्वीकार

काठमाडौं । संक्रमणकालीन न्याय निरूपण (टीआरसी)सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तारूढ दलले गरेको प्रस्ताव विपक्षी दलले अस्वीकार गरेको छ । सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शनिबार प्रमुख तीन दलका अध्यक्षको बैठक बसेको थियो ।

सभामुख घिमिरेसहित बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार कांग्रेसका सभापति देउवाले टीआरसी विधेयक फास्ट ट्र्याकमा पारित गर्ने प्रस्ताव गरेपछि एमाले अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गर्दै समितिमा छलफल गर्नुपर्ने अडान लिए ।

एमाले अध्यक्ष ओलीले उक्त विधेयक संसदीय समितिमा लैजानुपर्ने अडान लिँदै प्रधानमन्त्री प्रचण्ड र देउवाको प्रस्ताव अस्वीकार गरेका छन् । प्रमुख दलका शीर्ष नेताबीच सहमति नजुटेपछि बैठक २८ चैतमा बिहान ९ बजे पुनः बसेर टुंगो लगाउने सहमति भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘सभामुखजीले दुई जना साथीलाई बोलाउनुभयो । खासगरी टीआरसी, संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भनेर छलफल भयो । सहमति जुटाउन सैद्धान्तिकरूपमा हामी सहमत नै छौं । तर, टेक्निकल पाटो छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नियमावली पास भएको छ, यो सबै’ यो क्षेत्रमा काम गरेका साथीसमेत बसेर २८ गते बिहान बसेर टुंग्याउने भन्ने भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले आफूहरूले फास्ट ट्र्याकबाटै टुंग्याउन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको पनि बताए । ‘हाम्रो कुरा पूmल हाउसबाटै, फास्ट ट्र्याकबाटै गरौं भन्ने छ । प्रतिपक्षीले संसदीय समितिमा लैजाऔं भन्नुभएको छ । यसमा बीचको बाटो खोज्ने कि भन्ने भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । यो समाचार राजधानी दैनिकमा छ ।

पौने तीन लाख नक्कली नोटसहित सर्लाहीमा एक युवा पक्राउ

सर्लाही, २६ चैत । सर्लाहीमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन । 

सर्लाही प्रहरीले पौने ३ लाख रुपैयाँ नक्कली नोटसहित बलरा नगरपालिका–५ अर्नाहाका ३० वर्षीय रामप्रसाद रायलाई पक्राउ गरेको हो ।  

बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ नहरमा नक्कली नोट लिएर हिडिरहेको अवस्थामा रायलाई पक्राउ गरिएको सलार्ही प्रहरीका डिएसपी तथा प्रवक्ता डीएसपी कैलाश राईले जानकारी दिए। उनका अनुसार  पक्राउ रायका साथवाट १ हजारका २ लाख ६८ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको हाे ।

प्रहरीले राय सवार भारतीय नम्बर प्लेटको बीआर ३० एम ३८२५ नम्बरको मोटरसाइकलसहित अर्को भारतीय नम्बर प्लेटको गरी दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ ।

नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेको चेल्सी पराजित

काठमाडौं, २६ चैत । नयाँ प्रशिक्षकसहित मैदानमा उत्रेका भएपनि इंग्लिस प्रिमियर लिगमा चेल्सीले पराजय भोग्नु परेको छ ।

घरेलु टोली वल्भ्ससँग चेल्सीले १–० ले पराजय भोग्नु परेको हो । चेल्सीको पराजयमा वल्भ्सका म्याथिअस नुनेसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

हालै मात्रै अन्तरिम प्रशिक्षकमा रुपमा नियुक्त भएका फ्रान्क लाम्पार्डको उपस्थितिमा भएको पहिलो खेलमा चेल्सीले पराजय भोग्नु परेको हो ।  गत साता मात्रै लाम्पार्ड प्रशिक्षकमा नियुक्त भएका थिए । उनी नियुक्त भएपछि चेल्सीको यो पहिलो खेल हो । 

यस पराजयसँगै ३० खेलबाटै ३९ अंक जोडेर चेल्सी ११औं स्थानमा रहेको छ भने जितसँगै वल्भ्स ३० खेलबाट ३१ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।
 

तावाको सट्टा सिधै आगोमा पकाएको रोटी स्वास्थ्यका लागि हानिकारक

काठमाडौं, २६ चैत । कतिपयले तावाको सट्टा सिधै ग्यासको आगोमा रोटी पकाउन थाल्छन्। 

वास्तवमा ग्यासमा रोस्ट गरेपछि खान राम्राे  र फुलेकाे देखिन्छ अनि एकको सट्टा दुईवटा रोटी खाइन्छ। त्यसैले अधिकांश गृहिणीहरूले रोटी पकाउने यो विधि अपनाउने गर्छन्। 

तर स्वाद कहिलेकाहीँ स्वास्थ्य भन्दा बढी हुन्छ। यसरी रोटी पकाउँदा शरीरलाई हानी हुन्छ ।

आजको लेखमा हामी तपाईलाई त्यसैको बारेमा बताउन गइरहेका छौं, ताकि तपाईले रोटी पकाउने तरिका परिवर्तन गर्न सक्नुहुन्छ। किनकी, यस्तो रोटी खाँदा तपाईको मात्र होइन सम्पूर्ण परिवारको स्वास्थ्य बिग्रन्छ ।

जर्नल इन्भाइरोमेन्टल साइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित हालैको अनुसन्धानका अनुसार यसरी रोटी पकाउँदा वायु प्रदूषक निस्कन्छ, जसलाई डब्लुएचओले हानिकारक मानेको छ । ती प्रदूषक हावाको नाम कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड हो।

उता, फुड स्ट्यान्डर्ड अष्ट्रेलिया र न्यूजील्याण्डका वैज्ञानिक डा. पल ब्रेन्टद्वारा २०११ मा प्रकाशित अनुसन्धानले ‘प्रत्यक्ष आगोमा पकाउँदा क्यान्सरजन्य रसायनहरू उत्सर्जन हुन्छ, जुन स्वास्थ्यका लागि हानिकारक साबित हुनसक्छ’ भनि उल्लेख गरेका छन । 

सिधै आगोमा पकाएको रोटीले स्वास्थ्यलाई हानि पुर्‍याउँछ भन्ने अहिले नै पूर्ण रूपमा भन्न सकिन्न । यस विषयमा अझै अनुसन्धान आवश्यक छ। तर, अहिलेसम्मको अनुसन्धानलाई हेर्दा यसरी रोटी पकाउँदा स्वास्थ्यलाई हानि पुरयाउन सक्छ, त्यसैले तावामा नै रोटी पकाउने प्रयास गर्नुहोस् । 

तस्विरमा देखिए झै तरिकावाट रोटी नपकाउन स्वास्थ्य बिज्ञहरूको सल्लाह छ । 

न्युक्यासल तेस्रो स्थानमा उक्लदा म्यानचेस्टर चौथोमा झरयो

काठमाडौं, २६ चैत । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ । 

आज भएको खेलमा न्युक्यासलले ब्रेन्टफोर्डमाथि २–१ गोल अन्तरले जीत निकाल्दै तेस्रो स्थानमा उक्लिएको हो । न्युक्यासल तेस्रो स्थानमा उक्लिएसँगै म्यानचेस्टर युनाइटेड भने चौथो स्थानमा झरेको छ । 

पहिलो हाफको २९ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न भने असफल भए पनि पुन खेलेको अन्तिम समयमा पाएको पेनाल्टीमा इभान टोनी गोल गर्न सफल भए पछि खेल ब्रेन्टफोर्डले १–० को अग्रता लियो । 

तर, दोस्रो खेलको ५४ औं मिनेटमा न्युक्यासलका  डेभिड रायाले गोल गरेपछि खेल १–१ को अवस्थामा पुग्यो भने ६१ औं मिनेटमा एलेक्जेन्डर इस्कले गोल गरेपछि न्युक्यासलले २–१ को सहज जीत निकाल्यो ।

रोकिएन निजी विद्यालय सञ्चालकको मनपरी

काठमाडौँ। नियमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै निजी विद्यालय सञ्चालकले यस वर्ष पनि विद्यार्थीबाट चर्को शुल्क असुल्न थालेका छन्। शैक्षिक सत्र सुरु हुनै लाग्दा तिनीहरूले आफूखुसी शुल्क तोक्दै विद्यार्थी तथा अभिभावकलाई बिल पठाउन थालेका छन्।

यसबीचमा कतिपय विद्यालयले भर्नासमेत सुरु गरिसकेका छन् तर कुन तहका विद्यार्थीबाट भर्ना तथा मासिक शुल्कबापत कति रकम लिने भन्ने विषयमा विद्यालयबीच एकरूपता छैन। कतिपय निजी विद्यालय सञ्चालकले आफैँ पाठ्यपुस्तक, कापी, विद्यालय पोसाक, जुत्ता, मोजा तथा झोलासमेत बेच्ने गरेका छन्।

अति नै सस्तो मूल्य पर्ने जुत्ता, मोजा तथा टाइमा समेत उनीहरूले आफूखुसी मूल्य तोक्ने र अभिभावकलाई किन्न बाध्य पारेका छन्। पुस्तक किन्दा पसलेले दिने छुटसमेत विद्यालय सञ्चालकले अभिभावकलाई दिएका छैनन्।

कतिसम्म भने विद्यार्थीलाई भर्ना शुल्क तथा मासिक शुल्क लिइसकेपछि वार्षिक शुल्कको नाममा थप रकम लिइरहेको गुनासो छ। साना तथा मध्यम किसिमका विद्यालयका साथै राजधानीमा नाम कहलिएका विद्यालयले समेत यस्ता अनावश्यक शीर्षकमा शुल्क लिइरहेका छन्।

निजी विद्यालय सञ्चालकको एउटा छाता संस्था प्याब्सनका महासचिव आरबी कटुवालले केही ठूला विद्यालयले चर्को शुल्क लिँदा अन्य विद्यालयलाई समस्या परेको बताए। नियमअनुसार विद्यार्थीले एक पटक भर्ना गरिसकेपछि हरेक वर्ष भर्नाका नाममा शुल्क लिन नपाउने विषयमा आफूहरू पनि सचेत रहेको बताउँदै कटुवालले भने, “त्यस्ता विद्यालयलाई हामीले पनि सचेत गराएका छौँ। तर अभिभावकसँगको सहमतिमा शुल्क लिएको भन्दै उहाँहरू पन्छिने गर्नुभएको छ।”

संविधानले माध्यमिक तह (कक्षा १२)सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ। संविधानको यही व्यवस्थालाई देखाउँदै निजी विद्यालयको मनपरी रोक्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पहल गरेको छैन। १२ कक्षासम्मको शिक्षा व्यवस्थापनको अधिकार पाएको स्थानीय सरकारका प्रमुखहरूले पनि यस्ता बेथिति नियन्त्रण गर्नेतर्फ रुचि देखाएका छैनन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।

कामका लागि दैनिक विदेशिन्छन् ३ हजार ३२७ जना नेपाली

काठमाडौं । पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् । यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो ।

पोहोर फागुनमा ८० हजार ९७७ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका थिए । औपचारिक रूपमा रोजगारीका लागि विदेश जान विभागबाट श्रमस्वीकृति लिनुपर्छ । सरकारी तथ्यांकले दैनिक उक्त संख्याका नेपाली रोजगारीका लागि विदेश गइरहेको देखाए पनि वास्तविक संख्या भने त्योभन्दा निकै बढी छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै 

काठमाडौं, २६ चैत ।  फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मा २–० को सहज जित निकालेको छ ।

घरेलु टोली नाइसमाथि पिएसजीले  २–० को सहज जित निकाल्दै शिर्षस्थान कायमै राखेको छ । 

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलमा पहिलो हाफको  २६औं मिनेटमा मेस्सीको गोल गरे । पहिलो हाफमा नै १–० को अग्रता लिन सफल भएको पिएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुप¥यो । दोस्रो हाफको ७६औं मिनेटमा मेस्सीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । यो गोलसँगै खेल २–० को अवस्थामा टुंगियो । 

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंक थपेको छ । जसअनुसार  पिएसजीको ३० खेलबाट ६९ अंक हासिल गरेको छ भने पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमा छ ।

आजको मौसमः सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा पानी पर्ने

काठमाडौं, २६ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ। 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन रचट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

अमेरिकन एक परिवारमा १३८ बर्ष पछि बल्ल छोरीको जन्म

मिसिगन, २५ चैत । एक सय ३८ वर्षपछि परिवारमा छोरीको जन्माउने श्रीमान श्रीमतीको यो कथा सुनेर छक्क पर्नुहुनेछ ।

अमेरिकाकाे मिसगनमा एक दम्पतीले दुई साताअघि अड्रे नामक छोरीलाई परिवारमा स्वागत गरे। गुड मर्निङ अमेरिकाको एक रिपोर्ट अनुसार तिनीहरूका लागि नयाँ अध्याय अरु भन्दा फरक यसकारण यो थियो कि सन् १८८५ पछि उनीहरुको परिवारमा पहिलोपटक छोरी जन्मेकी थिइन । छोरी बाबु एन्ड्रयू क्लार्क भन्छन, ‘यो हामी सबैको लागि ठूलो आश्चर्य थियो।’

आमा, क्यारोलिन क्लार्कका अनुसार उनको श्रीमनाले दस वर्ष अघि पुर्खौ देखी परिवारमा छोरीको रुपमा कुनै सन्तान जन्म नभएको कुरा सुनाउँदा आश्चर्य लागेको थियो ।  जो उनलाई लामो समयसम्म पनि विश्वास लागेको थिएन ।

साे कुरा सुनेपछि क्यारोलिन श्रीमानका आमाबाबुलाई यो बारेमा सोधपुछ गरिन । ‘ उनीहरूले मलाई भने हो, धेरै पुस्ता देखी हामीसँग छाेरीकाे रूपमा  सन्तानहरु छैनन् ।’ उनका अनुसार उनका ससुरा काकाहरुवाट छाेरीकाे जन्म भएको त थियो तर छाेरीका वंशमा पनि अब कुनै छाेरीहरू छैनन्। घरमा सधै पुरुष मात्रै सन्तानकाे रूपमा जन्मेका छन् । 

ती दम्पतीको २०२१ मा गर्भपात भएको थियो तर आश्चर्यजनक रुपमा सयौं बर्ष पछि उनीहरूको सम्पुर्ण परिवारको जीवनमा नसाेचेकाे थप खुशी ल्याउँछ भन्ने साेचेका पनि थिएनन ।

क्लार्कले भनिन, ‘जब मैले थाहा पाएँ कि म पुन गर्भवती भएको छु, हामीलाई यो परबाह थिएन कि अब जन्मने सन्तान छोरा हुन्छ वा छोरी ? म गर्भवती भएकोमा नै कृतज्ञ थिएँ । स्वस्थ गर्भावस्था र स्वस्थ बच्चाको लागि प्रार्थना मात्रै गर्दै थिए।’

तर, गत वर्ष सेप्टेम्बरमा, ती दम्पतीले आफ्नो परिवारका सदस्यहरुलाई एक उत्सवको लागि निम्तो दिए, जहाँ उनीहरूले बच्चाको लिंग पत्ता लगाउन कुकीहरू खाएका थिए । अचम्मको कुरा, स्टफिंग गुलाबी थियो।

क्लार्कले गुड मर्निङ अमेरिकालाई भनिन, ‘हामीले यसलाई आफ्नै लागि पनि गोप्य राखेका थियौं । तर, म छक्क परें किनकी त्यो कुकीको केन्द्र, जहाँ वास्तवमा गुलाबी थियाे । त्यसैले यो हाम्रो लागि आश्चर्य थियो।’

नवजात आमाले सन्तानको आगमनले परिवारमा खुसीको लहर चलेको बताइन् । ‘हामी धेरै खुसी छौं कि उनी अन्ततः यहाँ हामीसँग छिन् र उनी स्वस्थ पनि छिन् र मेराे पनि प्रसवसँगै सबै कुरा राम्ररी बितेर गयो।’

नेपाल वादोरियो करांते डो संघ गठन, लुम्बिनी प्रदेश अध्यक्षमा पन्थी

भैरहवा, २५ चैत नेपाल वादोरियो करांते डो संघ लुम्बिनी प्रदेशको भेला तथा २४ औं दिक्षान्त समारोह शनिवार सम्पन्न भएको छ ।

भेलाले जेनेश पन्थीको अध्यक्षतामा १३ सदस्यीय नेपाल वादोरियो करांते डो संघको लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा शोभाखर पन्थ,सचिवमा लोक प्रसाद भण्डारी( राजु), कोषाध्यक्षमा कमरुद्धिन अलि सर्वसम्मत चयन हुनुभएको नेपाल वादोरियो करांते डो संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक हरी शरण के.शी. (हुस् ), ले जानकारी दिए ।

यस्तै नव गठित प्रदेश कमिटीको सदस्यहरुमा युवराज अर्याल, अर्जुन गिरी, कृष्ण भण्डारी, अंकित थापा, जिलेदार थारु, विराट पौडेल, सम्झना शर्मा, सुर्य चापागाई, लोकमान गुरुङ चयन भएका छन् ।

नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदै  केन्द्रिय अध्यक्ष केशीले वादोरियो करांतेको ईतिहास लामो रहेको भन्दै अनुशासित खेलाडि उत्पादन गर्न निर्देशन दिए । नेपाल करांते महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष, साउथ एसियन  वादोरियो करांते डो संघका अध्यक्ष समेत रहनुभएका केशीले अव नेपालमा करांते महासंघमा कुनै द्धिविधा नरहेको बताउँदै चारवटा करांते मात्र राष्टिय मान्यता प्राप्त भएको जानकारी दिए । नेपाल वादोरियो संघका कमिटी तथा खेलाडिहरु देशका ६५ जिल्ला तथा पांच प्रदेशमा रहेको जानकारी दिदै वांकी जिल्ला र प्रदेशमा समेत कमिटी विस्तार गर्ने तयारीमा रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जय प्रकाश भट्टराईले करांते खेल मार्फत नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउन सफल खेलाडिको संरक्षण गर्न परिषद् तत्पर रहेको बताए ।