`

भारु बलियो बनेपछि नेपालमा डलरको मूल्य घट्यो

काठमाडौं । भारतीय रुपया (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले रिपोदर यथावत् राखेको घोषणा गरेपछि भारु बलियो बन्दा नेपालमा डलरको मूल्य घटेको हो । उक्त घोषणाअघि ८२ दशमलव १० पैसा भारु पुगेको डलरको मूल्य घटेर ८१ दशमलव ८८ पैसा भारुमा झरेको थियो ।

भारतमा डलर मूल्य घटेसँगै भारु बलियो बनेको हो । भारतमा डलर कमजोर बनेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको छ । फलस्वरूप नेपालमा डलरको मूल्य घटेको हो ।

एभरेष्ट बैंकले बिहीवार बिहान कारोबार शुरू हुँदाको तुलनामा कारोबार बन्द भएपछि डलरको विक्रीदर १५ पैसाले घटाएर १३१ रुपैयाँ ३५ पैसा तोकेको थियो । एभरेष्टले कारोबार शुरू हुँदा डलरको विक्रीदर १३१ रुपैयाँ ५० पैसा तोकेको थियो ।

नेपाल राष्ट्र बैंकले भने बिहीवारका लागि डलरको विक्रीदर १३१ रुपैयाँ ५१ तोकेको थियो । राष्ट्र बैंकले शुक्रवारका लागि डलरको विक्री दर १३१ रुपैयाँ ३२ पैसा तोकेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

सबैको ‘टार्गेट’मा उपेन्द्र यादव

काठमाडौं । आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका कारण बारा जिल्लाको राजनीति मधेसको गर्मीजस्तै गर्माएको छ । अहिले कलैयामा विभिन्न पार्टीका शीर्ष नेताको आउजाउ बढेको छ । सबैको ‘टार्गेट’मा परेका छन् जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव । यादव बारा २ मा हुने उपनिर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनको साझा उम्मेदवारसमेत हुन् ।

अहिले भइरहेको चुनावी सभा, बैठक, कार्यक्रममा पुग्ने अधिकांश नेताले जसपा अध्यक्ष यादवको चर्को रूपमा विरोध गरिरहेका छन् । यादवको विरोध गर्दै उनीहरूले आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरिरहेका छन् । आफ्ना उम्मेदवार विजयी भए बारासहित मधेसको विकास, समृद्धिका लागि काम गर्ने उनीहरूको दाबी छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न बारा पुगेका थिए । महागढीमाई नगरपालिकाको वरियारपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यादवको चर्को विरोध गरे । उपनिर्वाचनमा यादव विजयी भए केही नगर्ने बताउँदै ओलीले मधेसको विकासका लागि एमाले उम्मेदवार पुरुषोत्तम पौडेललाई मतदान दिन आग्रह गरे ।

कलैयाको सिद्धेश्वर माविस्थित क्रिकेट खेलमैदानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले यादवलाई ‘फिरंगी’को संज्ञा दिए । सप्तरी–२ मा ४ मंसिरमा भएको निर्वाचनमा यादवलाई पराजित गर्दै राउत दोब्बर मतले प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ‘उपेन्द्र यादव ‘फिरंगी’ हुन्,’ राउतले भने, ‘सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउँछ ।’ जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहा स्थायी भएको बताउँदै उनले स्थानीय नेतालाई नै विजयी बनाउन र टुरिस्ट उम्मेदवारलाई बहिष्कार गर्नुपर्ने बताए ।

आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले यादवलाई ‘बहुरुपीया’ रहेको संज्ञा दिएका छन् । मधेसी जनतालाई ठग्दै आएका मधेस विरोधी बारामा चुनाव लड्न आएको भन्दै साहले यादवलाई पराजित गर्न आआफना ठाउँबाट लाग्नुपर्ने बताए । एमाले अध्यक्ष ओली, जनमत अध्यक्ष राउत, आजपा अध्यक्ष साहसहितका नेताले यादवका विरोधमा उत्रे पनि यादवले कुनै प्रतिक्रिया जनाएका छैनन् । उनी मौन रहेरै मतदातासँग भेटघाट गरिरहेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

विशेषबाट सफाइ पाएको १ सय ९४ वटा मुद्दा सर्वोच्चमा पुनरावेदन गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले सफाइ दिएको मुद्दामा धमाधम सर्वोच्चमा पुनरावेदन दिने क्रम बढाएको छ । आयोगले विशेष अदालतको फैसलामा असन्तुष्ट जनाउँदै निरन्तर पुनरावेदन दर्ता गराइरहेको छ ।

साउनयता अख्तियारले विशेषको फैसलामा असन्तुष्ट जनाउँदै १ सय ९४ वटा मुद्दा सर्वोच्चमा पुनरावेदन दिएको छ । चालू आर्थिक वर्षको असारदेखि फागुनसम्मका १० महिनामा विशेष अदातलको फैसलामा चित्त नबुझाउँदै अख्तियारले १ सय ९४ मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ ।

बिहीबार मात्रै त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीको उत्तरपुस्तिका साटफेर गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत सफाइ पाएकाविरुद्ध बिहीबार अख्तियार सर्वोच्च अदालतमा पुनरावेदनमा गएको छ ।

अख्तियारले परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहाल, त्रियुगा जनता बहुमुखी क्याम्पसका गाईघाटका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षार्थीविरुद्ध २०७६ मंसिरमा भ्रष्टाचारको अभियोग लगाएको थियो ।

जसमा अभियुक्तहरूले इन्कारी बयान दिएको, उत्तरपुस्तिकाको लेखाइ कसको हो भन्ने परीक्षण प्रतिवेदनमा देखिन नआएको, अभियुक्तले कसुर गरेको ठोस, भरपर्दो र शंकारहित पुष्टि नभएको उल्लेख गरी सफाइ दिएको थियो ।

अभियुक्तले इन्कारी बयान दिँदैमा निर्दोष भन्न नमिल्ने अख्तियारको जिकिर छ । अख्तियारको दाबीमा विशेषज्ञले मौकामा दिएको प्रतिवेदनलाई अदालतसमक्ष समेत उपस्थित भई सनाखत गरिदिनुका साथै विवादित उत्तरपुस्तिका आपसमा तुलना गर्दा अक्षरमा हुने गुण र विशेष मिलेको देखिएको थियो । एउटै व्यक्तिले लेखेको अवस्था रहेको र सो कुरा प्रमाण ऐन, २०३१ बमोजिम प्रमाणका रूपमा लिनुपर्ने व्यवस्था भएको अख्तियारको दाबी छ ।

सर्वोच्चमा पुनरावेदन गरिएका मुद्दामा घुस, राजस्व चुहावट, गलत प्रतिवेदन तथा झुटा बिल भर्पाइ, गैरकानुनी सम्पत्ति आर्जन, सार्वजनिक सम्पत्ति नोक्सानीलगायत रहेको अख्तियारले जनाएको छ । विशेष अदालतको फैसलामा चित्त नबुझेर अख्तियार सर्वोच्च जाने क्रम व्यापक बढेको छ । यो समाचार राजधनी दैनिकमा छ ।

दुई बर्ष पछि लाम्पार्ड फेरी चेल्सीको व्यवस्थापकीय जिम्मेवारीमा

काठमाडौं, २४ चैत । बिहीबार देखी फ्रायन्क लाम्पार्ड इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको व्यवस्थापकका रूपमा फर्केका छन् । 

दुई वर्षअघि बर्खास्तीमा परेर बाहिरिएका लाम्पार्डलाई फेरि चेल्सीको व्यवस्थापकीय भूमिकामा फर्काइएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार केही समय अघि मात्र ग्राहम पोटरलाई बर्खास्त गरेको चेल्सीले दुई बर्ष अघि बर्खास्त गरेका लाम्पार्डलाई फेरि क्लबमा फिर्ता बोलाएको बिषयलाई आश्चर्यजनक घटनाको रुपमा लिईएको छ ।

उनलाई बर्खास्त गरेयता चेल्सीले यसबिचमा दुई जनालाई ब्यवस्थापकीय जिम्मेवारी दिएको थियो । लाम्पार्ड बर्खास्तमा परे पछि चेल्सीले थोमस टुचेल व्यवस्थापकी जिम्मेवारी दिएको थियो । त्यसवाट पनि असन्तुष्ट रहेको चेल्सीले टुचेललाई पनि बर्खास्त गरेर पोटरले सो अवसर दिएको थियो । 

तर, केही समय अघि पोटर पनि बर्खास्तीमा परे पछि चेल्सीले लाम्पार्ड छोटो समयका लागि व्यवस्थापकीय जिम्मेवारीमा ल्याएको हो । उनी यस सिजनको अन्त्यसम्म रहने गरी चेल्सीले सम्झौता गरेको जनाईएको छ ।

माेहन वैद्य नेतृत्वकाे पार्टी र नेकपा बहुमत बिच एकता हुदैँ

काठमाडौं – दुईवटा साना कम्युनिष्ट पार्टी बिच आज एकता हुदैँछ । 

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हाे । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घाेषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै अाएका थिए । 

नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बिचमा एकीकरण घोषणा सभा हुदैँछ । 

उपनिर्वाचनकाे आचारसंहिता आजदेखि लागु हुने, क–कसलाई लाग्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्य उपनिनर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागु हुने भएको छ । 

बारा–२, चितवन–२ र तनहुँ–१ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैत शुक्रबारबाट आचारसंहिता लागु हुने  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

‘वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर देहायका व्यक्ति, निकाय तथा अधिकारीलाई संवत् २०७९ साल चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क–कसलाई लाग्छ आचारसंहिता ?
   
(क)    नेपाल सरकार र नेपाल सरकारका मन्त्री

(ख)    प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री

(ग)    संवैधानिक निकाय र सो निकायका पदाधिकारी

(घ)    नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी

(ङ)    स्थानीय कार्यपालिका र सोका सदस्य

(च)    सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी

(छ)    सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी

(ज)    सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी

(झ)    राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन

(ञ)    उम्मेदवार तथा सम्बन्धित व्यक्ति

(ट)    राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि

(ठ)    सार्वजनिक पद धारण गरेको व्यक्ति

(ड)    अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता

(ढ)    पर्यवेक्षण संस्था तथा पर्यवेक्षक

(ण)    सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी

(त)    निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी

(थ)    विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी

(द)    मतदाता

(ध)    विकास साझेदार संस्था

(न)    सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका  कर्मचारी

(प)    मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी

(फ)    निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार

(ब)    वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार
 

आजको मौसमः मधेस र कोशी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं, २४ चैत । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मधेश प्रदेश, कोशी प्रदेश लगायत देशको पहाडी भू–भाग आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको  पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सदन चलिरहेकै समयमा सदनबाहिर साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरिनु गम्भीर चिन्ताको विषय – एमाले

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले साझा न्यूनतम कार्यक्रम सदन बाहिर गरिएको भन्दै प्रश्न गरेका छन् ।

बिहिबार सिंहदरबारमा सरकारमा रहेका १० दलका शिर्ष नेताहरुको सहभागीतमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । यसै बिषयलाई लिएर एमाले नेता नेम्वाङले कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको बताए ।

उनले प्रधानमन्त्रीलगायत सरकार संसद्प्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदनबाहिर त्यस्ता कार्यक्रम प्रस्तुत गरिनु गम्भीर चिन्ताको विषय भएको बताए । उनले भने सरकारले के ग¥यो भन्नेबारे प्रतिनिधिमूलक संस्था संसद्ले थाहा पाउनुपर्छ, सदन चलिरहेको छ, सरकारले बिजनेश दिन सकेको छैन, संसद्लाई बेवास्ता गरिएको छ, साझा कार्यक्रम संसद्ले थाहा पाउन पर्ने होइन रु यस विषयमा सरकार चुकेको छ ।

सरकारले सदनको अबको पहिलो बैठकमै सदन बाहिर साझा कार्यक्रम प्रस्तुत गर्नु पर्नाको कारण र औचित्यबारे जानकारी गराउनुपर्ने उनले बताए ।

युक्रेन युद्धबारे विश्वको ध्यान खिच्ने तस्वीर कोरेकी रूसी बालिका ‘आमाको जिम्मामा’

युक्रेन (रासस÷एएफपी) युक्रेनको समर्थनमा विद्यालयमा तस्वीर कोरेपछि बुबाबाट छुटाइएकी एक रूसी बालिकालाई अधिकारीहरूले उनकी आमालाई सुम्पेका बताएका छन् ।तेह्र वर्षीय मारिया मोस्कालियोभाको संलग्नता रहेको यो घटनाले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ । मस्कोले युक्रेनमा आक्रमणको साङ्केतिक यो आलोचनालाई कडा निगरानी गरिरहेको छ । बालिकाले एक महिला र बच्चालाई युक्रेनको झण्डा र क्षेप्यास्त्रको छेउमा रूसी झण्डासहित कोरेर राखेकी थिइन् । उनकी शिक्षिकाले उक्त तस्वीरबारे रूसी प्रहरीलाई जानकारी गराएकी थिइन् ।

घटनालाई लिएर मार्चको सुरुमा रूसी अधिकारीहरूले मारियालाई उनका बुबाबाट अलग्याएका थिए र बुधबार अबेर अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले खोजी गरिरहेका एक रुसी अधिकारीले मारिया आफ्नी आमाको हिरासतमा रहेको बताएका थिए ।

रूसी बाल अधिकार आयुक्त मारिया लभोभा–बेलोभाले टेलिग्राममा लेखेकी छन्, “सुरुमा, माशा (मारिया) आफ्नी आमाकहाँ जान चाहन्थिन् । तर, पछि उनको सोच बदलिएको छ, उनले मलाई फोनमा यसबारे बताएकी थिइन् ।”

एएफपीले यसको स्वतनत्र पुष्टि गर्न सकेन । धेरै अधिकारकर्मी र वकिलहरूले एएफपीसँगको कुराकानीमा मारियासँग उनीहरूको पहुँच नभएको गुनासो गरेका थिए । ती बालिका वर्षौंदेखि आफ्नी आमा ओल्गा सिचिखिनाबाट अलग बस्दै आएकी थिइन् ।

आफ्ना पिता एलेक्सी मोस्कालियोभबाट लगिएपछि मारियालाई मस्कोको दक्षिणमा पर्ने उनको सानो शहर येफ्रेमोभको एउटा केन्द्रमा राखियो । बिहीबार अदालतमा उपस्थित भएका उनका पिताले आफ्ना वकिलमार्फत् आफ्नी छोरीलाई पत्र पठाएका थिए, जसमा उनले छोरीलाई ‘सोही अवस्थामा पर्खिन’ सुझाब दिएका थिए । एक रूसी अदालतले मारियाका बाबुलाई यसै प्रकरणमा रूसी सेनालाई ‘बदनाम’ गरेको अभियोगमा दोषी ठहर गरी दुई वर्षको जेल सजाय सुनाएको छ । यो अभियोगलाई उनले अस्वीकार गर्दै आफूमाथि अन्याय भएको बताएका छन् । उनलाई (बालिकाका बाबुलाई) बेलारुसको राजधानी मिन्स्कमा अधिकारीहरूले हिरासतमा लिएका छन् ।

मारियालाई राखिएको पुनः स्थापना केन्द्रका निर्देशकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले ती बालिकासँग ’सामाजिक शिक्षक र मनोवैज्ञानिक’ले सोधपुछ’ गरेको बताएका छन् । क्रेमलिनले मोस्कालियोभविरुद्धको मुद्दाको बचाउ गर्दै उनको पालनपोषणलाई ‘निन्दनीय’ भनेको थियो।

गत हप्ता, मोस्कालियोभ नजरबन्दबाट भागेपछि, अधिकारकर्मीहरूले मारियाले उनको बुबाले लेखेको पत्र प्रकाशित गरेका छन् । पत्रलाई वकिलहरूले सक्कली भएको पुष्टि गरेका छन् । उक्त पत्रमा लेखिएको छ ,“म तिमीलाई असाध्यै माया गर्छु र तिमी कुनै पनि कुरामा दोषी छैनौ भन्ने थाहा छ ।” उनलाई बाबुले ‘मेरो हिरो’ भनी पत्रमा सम्बोधन गरेको देखिन्छ ।

मारियाका बाबुले निगरानी साइट ओभीडी–इन्फोमा आफ्नो वकिलद्वारा प्रकाशित पत्रबारे जवाफ दिएका छन् ।पत्रमा थप लेखिएको छ, “मशेन्का, तिम्रो बुबाले लेखिरहेको छु । कृपया तिमी नआत्तिइकन त्यहाँ नै बस । मानिसहरूले तिमीलाई कसरी मद्दत गर्ने भनेर सोचिरहेका छन् ।”

ती बाबुले मारियालाई पत्रमा भनेका छन्, “आफन्तहरू उनको हेरचाहको लागि सोध्न आए भने अनाथालयमा बस्नुभन्दा यो बसाइ राम्रो छ भन्नेमा उनी सहमत हुनुपर्छ । यदि तिनीहरूले तिमीलाई अदालतमा ल्याए भने, तिमीले मेरो बुबा खोई भनेर सोध्नू । न्यायाधीशसँग अझै (साँच्चै) कडा स्वरमा सोध्नू ।”

रामेछाप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

काठमाडौं – रामेछापमा बलेरो दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । बिहिबार मन्थली नगरपालिका–७ को कौछिनीमा बलेरो दुर्घटना भएको हो ।

दुर्घटनामा थप मृत्यु हुनेमा मन्थली नगरपालिका–७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन् । बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको जनाइएको छ ।

यसरी २ घण्टामा २८ देशका एटीएमबाट १ करोड ४० लाख डलर लुटियो

कल्पना गर्नुहोस् तपाईँ भारतमा ज्यालादारी मजदुरी गर्नुहुन्छ। तपाईँलाई एक दिनका लागि बलिवुड सिनेमामा अतिरिक्त कलाकारको रूपमा काम गर्ने प्रस्ताव आउँछ। तपाईँको भूमिका चाहिँ, तोकिएको एटीएममा जाने र केही रकम निकाल्ने।

सन् २०१८ मा भारतको महाराष्ट्र राज्यका केही पुरुषले आफूहरूले चलचित्रमा अभिनय गर्ने अवसर पाएको ठानेका थिए। तर वास्तवमा उनीहरू एक महत्त्वाकाङ्क्षी ब्याङ्क लुट्ने योजनामा पैसा सङ्कलन गर्ने प्रयोजनका लागि ठगिएका थिए।

सन् २०१८ को एक सप्ताहान्तमा पुणेमा मुख्यालय रहेको कसमस को-अपरेटिभ ब्याङ्कमा आक्रमण भएको थियो।शनिवार दिउँसोको समय ब्याङ्कको प्रधान कार्यालयका कर्मचारीहरूलाई अचानक चेतावनी पूर्ण सन्देशहरू आउन थाले।

ती सन्देशहरू संयुक्त राज्य अमेरिकाको कार्ड भुक्तानी गर्ने कम्पनी भिसाका थिए जसमा विभिन्न एटीएमहरू मार्फत् कसमस ब्याङ्कको कार्ड प्रयोग गरेर ठूलो रकम निकाल्न खोजिएको र त्यो शङ्कास्पद देखिएको चेतावनी दिइएको थियो।तर जब कसमसका कर्मचारीले ब्याङ्कको प्रणालीहरू जाँच गरे त्यहाँ कुनै असामान्य कारोबार भएको पाएनन्।

करिब आधा घण्टापछि सुरक्षा नीति अपनाउँदै कसमस ब्याङ्कले भिसालाई आफ्ना सम्पूर्ण कार्डहरूबाट कारोबार रोक्ने अधिकार दियो। तर त्यस उपाय अपनाउन ढिलो हुँदा ठूलो मूल्य चुकाउनु पर्‍यो।

भोलिपल्ट, भिसाले सन्दिग्ध कारोबारको पूर्ण सूची कसमसको मुख्य कार्यालयसँग साझा गर्‍यो: संसारभरका विभिन्न एटीएमहरूबाट छुट्टाछुट्टै करिब १२,००० पटक पैसा निकालिएको देखियो।

ब्याङ्कले करिब एक करोड ४० लाख अमेरिकी डलर गुमाइसकेको थियो।यो अत्यन्त बृहत् स्तरमा, निकै मिहिन समन्वयमा गरिएको दुस्साहसपूर्ण अपराध थियो। लुटेराहरूले संयुक्त राज्य अमेरिका, यूके, संयुक्त अरब इमिरेट्स र रुस लगायत २८ देशका विभिन्न एटीएमहरूबाट लुटपाट गरेका थिए। यस असाधारण आपराधिक घटनाक्रम मात्र दुई घण्टा १३ मिनेटको अवधिमा भएको थियो।

अन्ततः अनुसन्धानकर्ताहरूले यस चोरीको सम्बन्ध एक सन्दिग्ध ह्याकरहरूको समूहसँग जोडिएको पाए जसले यसअघि उत्तर कोरियाली राज्यको निर्देशनमा उस्तै लुटमा सफलता हात पारेको थियो।तर उनीहरूले घटनाबारे थप जानकारी प्राप्त गर्नुअघि, महाराष्ट्रको साइबर-अपराध एकाइका अधिकारीहरू केही सीसीटीभी फुटेज देखेर छक्क परे। ती दृश्यहरूमा दर्जनौँ पुरुष एटीएम बुथहरूमा देखिए। उनीहरूले ब्याङ्कको कार्ड प्रयोग गरेर पैसा निकाल्दै झोलामा भरेको फुटेजमा देखिन्छ।

“हामीलाई पैसा ओसार्ने यस्तो सञ्जालको बारेमा केही थाहा थिएन,” अनुसन्धानको नेतृत्व गर्ने इन्स्पेक्टर जनरल ब्रिजेश सिंहले भने।

सिंहका अनुसार हरेक गिरोहमा एक जना व्यक्ति थिए जसले ल्यापटपमा घटना भइरहेको वास्तविक समयमै एटीएम कारोबारको निगरानी गरिरहेका थिए। सीसीटीभी फुटेजमा देखिए अनुसार पैसा ओसार्न खटेको व्यक्तिले केही रकम लुकाउन खोज्दा निगरानीकर्ताले देख्छन् र गाली गर्छन्।

सीसीटीभी फुटेज र एटीएम नजिकका क्षेत्रहरूबाट मोबाइल फोन डेटा प्रयोग गरेर भारतीय अनुसन्धाताहरूले लुट मच्चिएको केही सातापछि १८ जना सन्दिग्धहरूलाई पक्राउ गर्न सफल भए। तीमध्ये अधिकांश अहिले मुद्दा सुनुवाइको पर्खाइमा छन्।

ती मानिसहरू गम्भीर प्रकृतिका अपराधी नभएको सिंहले बताए। पक्राउ पर्नेहरूमा एक जना वेटर, एक जना चालक र एक जना जुत्ता बनाउने मानिस थिए। अर्का एक जनाले त फार्मेसीमा डिग्री हासिल गरेका थिए।

“ती सबै भलाद्मी मानिस थिए,” उनी भन्छन्।यद्यपि, पैसा लुट्ने समयसम्ममा “अतिरिक्त कलाकार”को रूपमा खटाइएका ती मानिसहरूलाई पनि आफूले वास्तवमा के गरिरहेको छु भन्नेबारे थाहा भएको हुनसक्ने उनको अनुमान छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

शाहरुखसँग ८० वर्षसम्म रोमान्स गर्न चाहन्छिन् रानी

मुम्बई, २३ चैत । बलिउड अभिनेत्री रानी मुखर्जी हालका दिनमा आफ्नो रिलिज फिल्म ‘मिसेज चटर्जी वर्सेज नर्वे’को सफलताको उत्सव मनाइरहेकी छन् । आशिमा छिब्बरको निर्देशन रहेको फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा रानीको अभिनयको जोकोहीले तारिफ गरेका छन् ।

‘राजाकी आएगी बारात’बाट बलिउडमा पाइला चालेकी उनले शाहरुख खानका साथ फिल्म ‘कुछ कुछ होता हे’मा अभिनय गरेपछि सफलता पाइन् । उनले हालैमात्र शाहरुखसँगको रोमान्सलाई आफूले जारी राख्ने बताएकी छन् ।

उनले आफूले शाहरुखसँग अझै फिल्ममा काम गर्न चाहेको र ८० वर्षको उमेरसम्म शाहरुखसँगै रोमान्स गर्न चाहेको खुलासा गरेकी छन् । शाहरुख र रानीले ‘कुछ कुछ होता हे’, ‘चलते चलते’ र ‘कभी अलविदा ना कहना’ जस्ता फिल्ममा स्क्रिन शेयर गरेका छन् ।

अर्थतन्त्रमा केही समस्या छन्, तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ – अर्थमन्त्री महत

काठमाडौं – अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा केही समस्या भएपनि न्यूनीकरण गर्न सकिने बताएका छन् । बिहिबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाजसँगको छलफलमा उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताए ।

उनले भने – ‘अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ ।’

उनले अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको बताए । उनले भने ‘“’अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्च ‘मस्ट प्रोडक्टिभ’ क्षेत्रमा गर्ने योजना छ ।’”’

नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्य

काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार सिंहदरबारमा सरकारमा रहेका १० दलका शिर्ष नेताहरुको सहभागीतमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

सञ्चारमन्त्री रेखा शर्माले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेकी हुन् । उक्त कार्यक्रममा सरकारले नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने कुरा समेटिएको छ । विमानस्थल, हवाई उड्डयन, हिमाली लोकमार्ग जस्ता पूर्वाधारको विकास गर्नुका साथै पर्यटकीय क्षेत्रका होटल, ट्राभल एजेन्सी, टे«किङ एजेन्सीलगायतका सेवा प्रदायकहरूको विकास तथा गुणस्तर व्यवस्थित गर्ने सरकारको प्राथमिकता रहेको छ । सांस्कृतिक, जैविक एवं भौगोलिक विविधतालाई पर्यटनको मुख्य क्षेत्रको रूपमा विकास गर्ने, राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रको उचित व्यवस्थापन गर्ने उल्लेख गरेको सरकारले निजगढ विमानस्थललगायत पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने भएको छ ।

विद्युत् महसुल घटाइने

काठमाडौं पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार सिंहदरबारमा सरकारमा रहेका १० दलका शिर्ष नेताहरुको सहभागीतमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

सञ्चारमन्त्री रेखा शर्माले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेकी हुन् । उक्त कार्यक्रममा सरकारले विद्युत्को आन्तरिक खपत बढाउनका लागि निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ समावेश गरेको छ ।

सरकारले आन्तरिक उत्पादन वृद्धि हुँदै गएकाले गरिब तथा विपन्न वर्गलाई २० युनिटसम्म निःशुल्क बिजुली दिन सकिने ठहर गरेको छ । हाल २० युनिट बिजुली प्रयोग गर्ने उपभोक्ताले रु ३० मात्रै तिरे हुने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर सरकारले २० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने गरिब र विपन्नका लागि विद्युत् महसुल नलाग्ने व्यवस्था गर्न लागेको हो । यसबाट कमजोर आय भएका वर्गले राहत पाउने विश्वास सरकारको छ ।

त्यस्तै ५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत् महसुल घटाउने भएको छ । त्यसबाट आन्तरिकरूपमा बिजुलीको खपत बढ्नेछ ।

सप्तरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सप्तरी २३ चैत । बोदेवरसाइन नगरपालिका २ बेलहानजिक विसनपुर स्वर्णपट्टी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ । 

माेटरसाइकल दुर्घटनामा परेर बोदेवरसाइन नगरपालिका– ५ भाटीनका १७ वर्षीय सागर पण्डितको मृत्यु भएको हाे । 

विसनपुरबाट बोदेवरसाइनतर्फ आउँदै गरेको बा १७ प ९४७५ नम्बरको मोटरसाइकल बोदेवरसाइन-२ वैरियामा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सागर पण्डित र १५ वार्षीय सुमित पण्डित घाइते भएका थिए । 

उनीहरुलाई तत्काल वरसाइन स्थित जीवनज्योति अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मोटरसाईकल चालक सागरको मृत्यु भएको र मोटरसाइकल पछाडि सवार १५ वार्षीय सुमित पण्डितको उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन ।

फेरी बढन थाल्यो कोरोना संक्रमितको संख्या, आज मात्रै ८४ जना संक्रमित  

काठमाडौं, २३ चैत । पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाइरस संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार  १ हजार ४०२ नमूना परीक्षण मध्ये ८४ जनामा कोरोना संक्रमण देखिएको हो । जसअनुसार २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना देखिएको हो ।

यसैगरी, हाल  कोरोना संक्रमितको संख्या ३५८ जना रहेका छन । जसमध्ये आइसोलेसनमा १७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एकजना कोरोनाका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं, २३ चैत । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७५ रूपैयाँ र मोबाइल ७ थानसहित फेला पारी पक्राउ गरेको हो । 
 

सरकारले सार्वजनिक गर्‍यो न्यूनतम साझा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार सिंहदरबारमा सरकारमा रहेका १० दलका शिर्ष नेताहरुको सहभागीतमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

सञ्चारमन्त्री रेखा शर्माले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेकी हुन् । उक्त कार्यक्रममा माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डसहित कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव, लोसपा नेपालबाट अध्यक्ष महत्थ ठाकुर, नेसपाबाट अध्यक्ष बाबुराम भट्टराइ, जनमत पार्टीबाट अध्यक्ष सिके राउत लगायतका १० दलका नेता हस्ताक्षर गरेका छन् । कार्यक्रममा सरकारका नौ प्राथमिकतामा रहेका छन् ।

यस्तो छ कार्यक्रमको पूर्णपाठ

मस्जिदको बिषयमा कुटाकुट, दुई जना गम्भीर

सप्तरी २३ चैत – सप्तरीमा मस्जिदको विषयलाई लिएर कुटाकुट हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.१२ सोनमा बस्ने ५३ वर्षीय शोभराति मिया र ७० वर्षीय ईस्लाम मियाबीच मस्जिदको बिषयलाई लिएर कुटाकुट हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ईस्लाम मियाको शरिरको बिभिन्न भागमा चोट लागेको र स्थानीय मो. फरसुदको छोरा ११ वर्षीय मो. अजादको निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शाहरुखको बक्सअफिस सफलताको बाटोलाई आमिरले पनि पछ्याउदै,धुमको नयाँ सिरिजमा दिए चासो

मुम्बई । भनिन्छ, हरेक शुक्रबारले फिल्म स्टारको भाग्य बदलीदिन्छ । कुनै समय एकपछि अर्को गर्दै लगातार फ्लपको मार झेलिरहेका अभिनेता शाहरुख खान यतिबेला ‘पठान’को सुपर सक्सेस मनाइरहेका छन् ।

किङ खानको करियर पुनः सही बाटोमा आएको छ । अब भने शाहरुखको बक्सअफिस सफलताको बाटोलाई अर्का अभिनेता आमिर खानले पनि पछ्याउने भएका छन् ।

आमिरको पछिल्लो फिल्म ‘लाल सिंह चड्डा’ थियो । यो फिल्म फ्लप भयो र यो फ्लपसँगै आमिरले अभिनयबाट ब्रेक लिने नै निर्णय लिए । उनी आजकल परिवारसँग समय बिताइरहेका छन् ।

यही बेला आफ्नो करियरलाई पुनः ट्रयाकमा ल्याउनका लागि उनले शाहरुखको पाइला पछ्याउने भएका छन् । उनी यशराज फिल्मस्को एक्सन इन्टरटेनर फिल्म ‘धूम’को नयाँ सिरिजमा देखिँदैछन् ।

आमिर ‘पठान’को सफलताबाट प्रभावित छन् । उनलाई सलमान खानको फिल्म ‘टाइगर ३’ पनि ब्लकबस्टर हुन्छ भन्ने थाहा छ । यहीकारण उनले हालै निर्माता आदित्य चोपडासँग भेटेर ‘धुम’को नयाँ सिरिजको बारे कुराकानी गरेका छन् ।

हालैमात्र एक अन्तरवार्तामा ‘पठान’का लेखक अब्बास टायरवालाले आमिर यशराज ब्यानरको स्पाई युनिभर्समा देखिन चाहेको खुलासा गरेका थिए । सलमान, शाहरुख र ऋतिक रोशन यसअघि नै स्पाई युनिभर्सको हिस्सा भइसकेका छन् ।

लुम्बिनीमा पीस हाफ म्याराथन सुरू, २ हजार बढि सहभागी

भैरहवा, २३ चैत । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा  लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु  भएको  छ।

अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले  प्रतियोगिता आयोजना गरेको हो ।  

प्रतियोगितामा देश भरका २ हजार  ५ सय ५० महिलापुरुष  खेलाडी  मैदानमा उत्रिएका छन्  । पुर्व  प्रधानमन्त्री केपी एमाले  अध्यक्ष  लुम्बिनीमा शान्ति दीपमा बालेको  दीप ओलम्पिक  कोच चन्द्र बहादुर  घले बिमला राना र मोहन  घलेलाइ दिएर  प्रतियोगिता  सुरु गरेका  हुन् ।  उनी एकेडेमीका  संरक्षक  पनि  हुन । मायादेवी  मन्दिर अगाडिबात्त सुरु  म्याराथनमा खेलाडीले  लुम्बिनी वरपर २ फन्को मारेर  २१ किलोमिटरको दुरी पुरा  गर्ने छन् ।

प्रतियोगितामा महिलापुरुष  दुवैलाई  छुट्टाछुट्टै पुरस्कृत  गरिने  छ । प्रतियोगितामा  प्रथम   हुने पुरुष  खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र, तेस्रोलाई ५० हजार रुपैया“ नगद पुरस्कार दिइने छ । महिला  प्रथम  हुनेले १ लाख  ५१ हजार  नगद पाउने छन् । दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।

राशफोर्डको गोलमा युनाइटेड विजयी

काठमाडाैं, २३ चैत । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई पराजित गरेको छ। 

बुधबार राति युनाइटेडको घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टरले १–० ले पराजित गरेको छ ।

पहिलो हाफको २७ औं मिनेटमा रासफोर्डले गरेको एक मात्र गोल युनाइटेडलाई तीन अंक दिलाउन पर्याप्त बन्यो। 

जितसँगै २८ खेलबाट ५३ अंक जोडेको युनाइटेड अंक तालिकाको चौथौ स्थानमा यथावत छ भने ब्रेन्टफोर्ड ४३ अंकसहित नवौं स्थानमा छ। 

बेन्जेमाको ह्याट्रिकमा रियल कोपा डेल को फाइनलमा 

काठमाडौं, २३ चैत । बार्सिलोनामाथि सानदार जित दर्ता गर्दै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति बार्सिलोनाको घरेलु मैदानमा ४–० को जित दर्ता गर्दै रियल फाइनलमा प्रवेश गरेको हो । सो जीतमा कप्तान तथा फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक गरेका थिए भने  भिनिसियस जुनियरले एक गोल थपे । 

कप्तान बेन्जेमाको पासमा पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए भने दोस्रो हाफको ५०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत पहिलो गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

साथै, त्यसको ८ मिनेट पछि अर्थात ५८औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत थप गोल गर्दै रियल ३–० को फराकिलो अग्रतामा खेल लगिदिए । त्यसपछि ८०औं मिनेटमा बेन्जेमाले आफनो ह्याट्रिक पूरा गर्दै रियललाई फाइनलको सिट सुरक्षित गराए । 

भूगोल इनर्जीकाे आइपीओ बिक्रीमा

काठमाडौं, २३ चैत । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज बिहीबार चैत २३ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको छ ।

कम्पनीले सर्वसाधारणका लागि उक्त आईपिओ निष्काशन गरेको हो । यस भूगोल इनर्जीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हाे । 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यो मध्ये १० प्रतिशत  अर्थात १ लाख ८ हजार ८११ कित्ता निष्कासन गरिसकेको छ । सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ७१ हजार ९१६ कित्ता छुट्याइएको छ  भने  बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले  चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपिओ भर्न सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर सकिनेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले भूगोल इनर्जीलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत जनाउँछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रावा इनर्जीको आइपीओ बिक्री आजवाट खुला

काठमाडौं, २३ चैत । रावा इनर्जी डेभलपमेन्टले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ आज बिहीबार चैत २३ गतेदेखि बिक्री खुला भएको छ । 

कम्पनीले  स्थानीय बासिन्दाहरुका लागि आफ्नो जारी पुँजीको २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसअनुसार १०० अंकित मूल्यमा २ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।

खोटाङ्ग जिल्ला केपीलासगडी गा.पा. (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स. का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्ने यस कम्पनीले जनाएको छ ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ५६ लाख रुपैयाँ बराबरको सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याईएको छ । प्रतिसेयर १०० अंकित दरले ५६ हजार कित्ता साधारण सेयरमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने २०८० वैशाख ७ गतेभित्र आवेदन दिनु पर्नेछ । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

रावा इनर्जीको आइपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सकिनेछ ।
 

माल्टामा नेपाल डे मनाइने

माल्टा, २३ चैत । नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ बर्षमा नेपालमा पर्यटन पर्बद्दन गर्ने ऊद्देश्यले नेपाल डे मनाइने भएको छ ।

माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरुकाे बैठकले नेपाल डे कार्यक्रम मनाउने निर्णय गरेका हुन् ।

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाऊन र नेपालमा पर्यटक भित्र्याउने ऊद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिन लागिएकाे बताए ।  नेपाल बहु जाति, बहु धार्मिक,बहु सास्कृतिक अनि बिबिध भाषा , भेष भुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको दाबी गर्दै उनले समस्त माल्टा बासि नेपालीहरुलाई देशलाइ बिश्व सामु चिनाउन र देश विकासको लागी एउटा इट्टा थप्न, पर्यटन ब्यबसायलाइ फस्टाउन नेपाल डेलाई सफल र भब्य बनाउन आग्रह पनि गरे ।

रोजगारीको शिलशिलामा कर्मभुमि माल्टामा रहदै गर्दा पनि आफ्नो मातृभूमिलाइ चिनाउनको लागि नेपालि नया बर्ष २०८० सालको अबसर पारेर अप्रिल १६ तारिकका दिन माल्टाको राजधानी भ्यालेटामा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले सांस्कृतिक कार्यक्रमका साथ नेपाल डे आयोजना गरिनेछ । उक्त कार्यक्रमलाइ नेपाली राजदुतावास लन्डन/स्पेन र प्रचार प्रसार सामग्री उपलब्ध गराइ सहयोग गर्ने नेपाल पर्यटन बोर्ड एबं कोस्टा क्लिन फाउन्डेसन माल्टाले सहयाेग गरेका छन् ।

अमेरिकी डलरको भाउ घट्दा युरो पनि घट्यो

काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

बिहीबार अमेरिकी डलरको भाउ घटेको छ । यसअघि बुधबार स्थिर रहेको डलर आज ५३ पैसाले घटेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । यसअघि बुधबार पनि उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ४ पैसामा कारोबार भएको थियो । 

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३२ पैसाले घटेको हो । बुधबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १९ पैसा कायम गरिएको थियो। 

बिहीबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा तोकिएको छ। यो मूल्य बुत्रबारको तुलनामा एक रुपैयाँ १४ पैसाले घटेको हो । बुधबार यसको खरिदमूल्य १६४ रुपैयाँ ३१ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ ६ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । 

बिहीबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७६ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसामा पाइनेछ । 

उता, कुवेती दिनार एकको खरिदमा बिहीबार ४२६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५४ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८१ पैसा तोकिएको छ।
 

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

धनगढी, २३ चैत – कैलाली प्रहरीले एक जना चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। बुधबार बिहान साढे नौ बजे धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउ बस्ने २२ वर्षीय नरेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई चोरी मुद्दामा २०७६ जेठ १ गतेको सात दिन दिन कैद सजाय र १० हजार जरिवाना तोकिएकोमा फरार रहँदै आएका थिए। जिल्ला प्रहरी कार्यालय कार्यालयबाट खटिको टोलीले उनलाई घर नजिकैबाट नियन्त्रणमा लिएर कैलाली जिल्ला अदालतमा उपस्थित गराएको छ।

आज हरियो तरकारी तथा फलफूलको मूल्य कति?

काठमाडौं, २३ चैत-कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ।जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु २७ रुपैया, सेतो आलु २० रुपैयाँ रहेको छ भने स्थानीय काउली ४० रुपैयाँ, कागती २२० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ७० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैया, लोकल परवर ११० रुपैयाँ, न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ।

ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी ११० रुपैया केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुई कटहर १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ।यसैगरी, ताजा छडी माछा २३० रुपैयाँ र बचुवा माछा २५० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

साउदी क्लबद्धारा मेस्सीलाई ५८ अर्बको अफर !!

काठमाडौं, २३ चैत । रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमकाे अफर आएको छ । 

चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव गरिएको छ । 

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को बिच सम्झौता समाप्त हुन तीन महिनामात्र बाँकी रहेको बेला साउदी क्लबले किर्तिमानी रकममा अफर गरेको हो । मेसी र पीएसजीबीचको सम्झौता यही जुनमा समाप्त हुँदै छ । 

पीएसजीले मेसीसँगको सम्झौता एक वर्षका लागि थप गर्ने तयारी गरेको तथा स्पेनिस क्लब बार्सिलोनाले पुनः आबद्ध हुने चर्चाका बिचमा मेस्सीलाई साउदी क्लबको सो अफर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरबाट हाल खेलिरहेका छन्, अल नासरले रोनाल्डोलाई वार्षिक १७३ मिलियन युरोमा अनुबन्ध गरेको थियो । अर्जेन्टेनी स्टार मेस्सीलाई रोनाल्डोको भन्दा २०० मिलियन युरो बढी रकमको अफर आएको हो ।

सर्वोच्चको आदेशले धितोपत्र बोर्डलाई ब्रोकर लाइसेन्स दिन बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिधिभित्र रहेको ठहर गरेको छ ।

सीमित व्यापारिक घराना लाभान्वित हुनेगरी योजनाबद्ध रूपमा नयाँ लाइसेन्स वितरण गर्ने उद्देश्यले ल्याइएको धितोपत्र बजारसम्बन्धी नियमावलीहरू संशोधनका प्रावधान संविधानसँग प्रत्यक्ष बाझिएकाले प्रारम्भदेखि नै अमान्य र बदर गर्न माग गर्दै अधिवक्ता अमृत खरेलको वारेस भई इन्द्रबहादुर बानियाँले सर्वोच्चको संवैधानिक इजलासमा रिट दिएका थिए ।

सो रिटमा १३ पुसमा सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानको संवैधानिक इजलासले रिट खारेज हुने फैसला गरेको थियो । सो फैसलाको पूर्णपाठ गत साता मात्रै सार्वजनिक भएको छ । संवैधानिक इजलासले रिट खारेज गरे पनि नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका विषयमा निर्देशनात्मक आदेश दिएको छ ।

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘निवेदकले चुनौती दिएका नियमहरूले मूलतः नयाँ दर्ता भई सञ्चालनमा आउने धितोपत्र बजारको पुँजी संरचना, सोमा प्राइभेट कम्पनीको हिस्सा, सेयर स्वामित्वको अधिकतम सीमा, धितोपत्र बजारले जारी गर्ने सेयरको प्राथमिक सार्वजनिक निष्कासन, धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया सम्बन्धमा व्यवस्था गरेको देखियो, ती व्यवस्था धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिधिभित्रका विषय रहेको र ऐनमा भएका विषय कार्यान्वनय गर्न नै ऐनको दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नियमहरू बनाएको देखिन्छ ।’

सर्वोच्चको यस आदेशले नेपाल धितोपत्र बोर्डलाई बजारको आवश्यकतानुसार नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको आवेदन माग गर्नेगरी नियमावली संशोधन गर्न बाधा नरहेको भन्दै बोर्डलाई बाटो खुला गरिदिएको छ ।

संवैधानिक इजलासले स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्स अहिलेको बजारको आवश्यकता हो कि होइन भन्ने विषयमा सर्वोच्चकै संयुक्त इजलासले फैसला गर्नसक्ने र त्यस्ता विषय संवैधानिक इजलासमा छलफल हुन नपर्ने भनेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

संकट टार्न दातृ निकायको साथ खोज्दै अर्थमन्त्री महत

काठमाडौं । मुलुकभित्र देखिएको आर्थिक संकट टार्न अर्थमन्त्री डा. प्रकाशशरण महतले दातृ निकायको साथ खोज्न थालेका छन् । उनले प्रमुख दातृ निकायहरूसँग नेपालले आन्तरिक र बाह्य कारणले आर्थिक संकटको सामना गर्नुपरेको भन्दै थप सहयोग र सहकार्यका लागि प्रस्ताव गरेका छन् ।

अर्थमन्त्री भएको हप्ता दिन नबित्दै डा. महतले मंगलवार विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जर्भोसलाई भेटेर सहयोगका लागि आग्रह गरे । बुधवार एशियाली विकास बैंक (एडीबी)का देशीय निर्देशक अर्नड काउचिससहितको टोलीसँग पनि अर्थमन्त्री महतले सहयोगका लागि आग्रह गरे ।

भेटमा एडीबी र विश्व बैंकका प्रतिनिधिसँग मन्त्री महतले अनुदान र सहुलियत कर्जा दिएर नेपाललाई सहयोग गर्न आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । एडीबी र विश्व बैंकका प्रतिनिधिले त्यसमा सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ ।

अर्थमन्त्री डा। महतले बुधवारै अमेरिकी अधिकारीसँग पनि अहिले देखिएको आर्थिक संकटबाट नेपाललाई किनारा लगाउन सहयोग मागेका छन् । नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले डा. महतलाई भेटेका थिए । सो क्रममा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको अर्थमन्त्रीका प्रेस सल्लाहकार प्रकाश थापाले जानकारी दिए ।

कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा। महत र राजदूत थमसनबीच छलफल भएको थियो ।

अर्थ मन्त्रालयका अनुसार अमेरिका मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत नेपालमा अनुदान थप्न इच्छुक छ । नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा. महतले जानकारी दिए ।

‘आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ,’ डा. महतले भने । नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्त्वपूर्ण रहेको मन्त्री महतले बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

संघीय निजामती सेवा ऐनको अन्तिम मस्यौदा तयार, विवाहमा एक साता विदा प्रस्ताव

काठमाडौं । सरकारले संघीय निजामती सेवा ऐनको अन्तिम मस्यौदा तयार गरेको छ । मस्यौदामा निजामती कर्मचारीहरूलाई साविकको भन्दा बढी सुविधा थपिएको छ । तर उनीहरूबाट सम्पादन हुने कामकारबाही र सेवाप्रवाहबारे भने स्पष्ट व्याख्या गरिएको छैन ।

उक्त मस्यौदा कर्मचारीले नै तयार पारेका हुन् । आफैँले तयार गरेको मस्यौदामा कर्मचारीहरूले सुविधा, हक र अधिकारलाई बढी प्राथमिकतामा राखेका छन् ।

केही दिनअघि संघीय मामिलामन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गरेका थिए । संघीय निजामती सेवा ऐनको प्रारम्भिक मस्यौदामा कर्मचारीहरूको हक, हित र अधिकारबारे अहिलेको कानुनमा भन्दा अझै केही बुँदा थप गरिएको तर सेवा प्रवाह, काम र कर्तव्यसम्बन्धी प्रावधानमा खासै स्पष्ट नपारिएको विषयमा प्रश्न उठाइएको थियो ।

तर अन्तिम मस्यौदा बनाइसक्दा पनि सेवा प्रवाहको विषय स्पष्ट रूपमा उल्लेख छैन । मस्यौदा परिमार्जन नभई पारित भए अब कर्मचारीहरूले थप विदा पाउनेछन् । यहाँसम्म कि विवाह बिदासम्मको व्यवस्था पनि मस्यौदामा गरिएको छ । मन्त्रालय स्रोतका अनुसार विधेयक पारित भइ ऐन बनेपछि नियमावली ल्याउने तयारी छ । नियमावलीमा विवाह सम्बन्धि थप व्यवस्था गरिने छ । एक साता विवाह विदा दिने व्यवस्था नियमावलीमा राख्ने तयारी भइरहेको मन्त्रालयका एक उच्च कर्मचारीले बताए । यो समाचार नागरिक दैनिकमा छ ।

मातृ मृत्युदर घट्यो, दिगो विकास लक्ष्य भेट्न कठिन

काठमाडौं । नेपालमा यसअघिका तथ्याङ्कले देखाएभन्दा निकै नै कम मातृ मृत्युदर रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा गरिएको दोहोरो अध्ययनबाट मातृ मृत्युदरको वास्तविक स्वरूप पत्ता लगाइएको हो ।

नयाँ तथ्याङ्कअनुसार मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १५१ जना रहेको छ । यो पनि उच्च मृत्युदर नै मानिन्छ । नेपालले दिगो विकासको लक्ष्य भेट्न मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा ७० भन्दा कम गर्नुपर्छ ।

यसअघिका जनगणना र सर्वेक्षणले भने यो दर अहिलेभन्दा निकै बढी देखाएका थिए । २०६८ को जनगणनाले नेपालमा प्रतिएक लाख महिलामध्ये चार सयको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको देखाएको थियो ।

त्यसको विश्लेषणमा विविधीकरण नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नमुना छनोटका आधारमा २८ जना महिलाको मृत्युदरको घटनालाई आधार मानेर छुट्टै सर्वेक्षण गरी कुल एक लाख महिलामा २३९ मातृ मृत्युदरको अनुपात देखाएको थियो ।

यस्तो अन्योल हटाउन यस पटक भने दोहोरो विधि अपनाइएको थियो । राष्ट्रिय जनगणनाका गणकले घरधुरीमा मातृ मृत्युको घटना पत्ता लगाएपछि स्वास्थ्यकर्मीको अर्को टोली पुगेर समग्र अध्ययन गरेको थियो । त्यस क्रममा गणकबाहेक झन्डै एक हजार स्वास्थ्यकर्मीले मातृ मृत्युदरसँग सम्बन्धित विवरण सङ्कलन गरेका थिए ।

यसका लागि २०७७ मङ्सिर १० देखि २०७८ मङ्सिर ९ सम्मका मातृ मृत्युदरको घटनालाई आधार मानिएको थियो । त्यस अवधिमा भएका कुल ६५३ वटा मातृ मृत्युका घटनामा पनि गर्भावस्थासँग सम्बन्धित मातृ मृत्युका घटना भनेर ६२२ पत्ता लगाइयो । सोही आधारमा ती घरधुरी पत्ता लगाएर मातृ मृत्युदरका विविध विवरण सङ्कलन भएको हो ।

यस विधिबाट मातृ मृत्युदर पत्ता लगाइएको विश्वमा नै पहिलो पटक भएको दाबी गरिएको छ । नेपालको जनगणनाको ११० वर्षको इतिहासमा यसअघि यसरी समन्वयात्मक अध्ययन भएको थिएन ।

मातृ मृत्युदरका कारक तत्वमा गैरप्रसूतिजन्य जटिलता, प्रसूतिका बेला उच्च रक्तस्राव, उच्च रक्तचापजन्य समस्या, गर्भावस्थासँग सम्बन्धित सङ्क्रमण, आत्महत्या, गर्भपतन, शल्यक्रियाका क्रममा एनेस्थेसिया व्यवस्थापनमा समस्या र अन्य कारण छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

जनकपुर क्षेत्र विकास परिषद् विवादमा

जनकपुरधाम । सांस्कृतिक सम्पदा संरक्षणको कार्यभार बोकेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् पछिल्लो समय विवादमा परेको छ। परिषद्का अध्यक्ष र कर्मचारीबीचका विवाद र असहमतिले एकातर्फ परिषद्को काम कारबाही सञ्चालनमा समस्या आएको छ भने अर्को तर्फ भ्रष्टाचार र अपारदर्शिताले संस्थाको अस्तित्वमाथि नै प्रश्न चिह्न उठाएको छ।

संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको परिषद्ले मिथिलाको प्रख्यात पञ्चकोसी माध्यमिकी परिक्रमा सञ्चालन हुने धनुषा र महोत्तरीभित्रका परिक्रमा पडाव स्थलहरूको संरक्षण, बाटोघाटो निर्माण, सांस्कृतिक सम्पदाहरूको जगेर्नालगायतका मुख्य कामहरूको जिम्मेवारी बोकेको छ। तर, जिम्मेवारी वहन गर्नुको साटो प्राप्त बजेटमा भ्रष्टाचार र अपरादर्शिताले गर्दा आगामी कार्यक्रमहरू प्रभावित भएका छन्।

जम्मा ३ करोड रुपैयाँ वार्षिक बजेट छुट्ट्याइएको परिषद्को हालसम्मको बेरुजु मात्रै १२ करोडभन्दा बढी छ। कर्मचारीहरूको काम नगर्ने प्रवृत्ति, अध्यक्ष र कार्यकारी निर्देशकबीच समन्वय अभावमा पछिल्लो ६ महिनादेखि परिषद्का २४ जना कर्मचारीहरूले तलबाएका छैनन्। ‘जुन उद्देश्यका साथ यो संस्था गठन भएको हो त्यो उद्देश्य पूरा गर्ने ठोस कार्ययोजना नै नभएका कारण यति धेरै समस्या आइरहेका छन्,’ परिषद्का कर्मचारी जितेन्द्र यादवले भने ।

उनका अनुसार यसपटक सरकारले विकास बजेट निकै कम दिएको छ र भएको बजेटमा समेत कार्यप्रगति देखाउन नसकेको कारण कर्मचारीहरूको तलब निकासा हुन सकेको छैन। यता, परिषद्का अध्यक्ष शीतल साह यस संस्थाभित्र पहिलादेखि नै भएको भ्रष्टाचारको श्रृंखलाहरूको कारण आगामी कामहरूसमेत प्रभावित भएको बताउँछन्।

‘यस संस्थाका पहिलाका कार्यकारी निर्देशक र कर्मचारीहरूले प्राप्त बजेटमा व्यापक भ्रष्टाचार र अनियमितता गरेको जनगुनासोहरू म यहाँ नियुक्त भएपछि आउन थाले। पाँच महिनाअघि मेरै संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेँ। अकुत भ्रष्टाचार भएको प्रमाणित गर्ने प्रमाण मसँग आएका छन्,’ साहले भने । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच शुक्रबार पार्टी एकता हुँने

दुईवटा साना कम्युनिष्ट पार्टी बिच आज एकता हुदैँछ । 

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हाे । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घाेषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै अाएका थिए । 

नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बिचमा एकीकरण घोषणा सभा हुदैँछ । 

निर्वाचनले सत्तारुढ दललाइ तेस्रो स्थानमा झरेको बेला फिनल्याण्ड नेटोमा आबद्ध 

काठमाडौं । मत परिणामले सरकारको नेतृत्व गरेको पार्टी तेस्रो स्थानमा खुम्चेको बेला फिनल्यान्ड भने उत्तर एटलान्टिक सैन्य संगठन (नेटो)मा आबद्ध भएको छ ।

विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धन नेटोमा आबद्ध हुने फिनल्याण्ड ३१ औं सदस्य बनेको हो । स्विडेन पनि नेटाेमा आबद्धता हुने सुचीमा रहेकाे छ । 

नेटोमा फिनल्याण्ड आबद्ध हुदैँ गर्दै हालै आएको आम निर्वाचनको परिणामवाट प्रधानमन्त्री सना मरिनको पार्टी भने तेस्रो स्थानमा खुम्चिएको अवस्था छ। 

कम उमेरकी महिला प्रधानमन्त्रीका रुपमा चर्चित सना मरिनको पार्टी  १९. ९ %  भोटमा सिमित हुदाँ तेस्रो स्थानमा खुम्चिएकाे हो । बिपक्षी दक्षिणपन्थी नेता पेटेरी ओर्पो ओर्पोले नेतृत्व गरेको कन्जरभेटिभ पार्टीले २०.८ % मत प्राप्त गरेर पहिलो भएको छ भने सरकार गठनको मान्यता सो पार्टीले पाएको छ । प्रधानमन्त्री सना मरिनको पार्टी भन्दा अघि अर्को दक्षिणपन्थी पपुलिस्ट फिन्स पार्टीले २०.१ % प्रतिशत मत हासिल गरेर दोस्रो स्थानमा छ ।

सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

काठमाडौं। सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् । 

गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि  छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हाे । कार्यदलले तयार पारे अनुसार ९ वटा बिषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

पधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साे बारेमा पार्टी पदाधिकारी बैठकमा जानकारी दिए अनुसार गठबन्धनकाे बैठक बसेर अन्तिमम रुप दिइनेछ ।  आज बस्ने गठबन्धनकाे बैठकले अनुमाेदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।

तत्कालिन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको बिषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी अजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाईएको बुझिएकाे छ । 

कृत्रिम खुट्टाको भरमा सगरमाथा यात्रामा हरि

काठमाडौं । कृत्रिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्यसाथ भूतपूर्व गोरखा सैनिक हरि बुढामगर लुक्ला पुगेका छन् । शारीरिक रूपमा अशक्त बुढामगर बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुक्ला पुगेका हुन् ।

घुडामुनिको खुट्टा नभएका उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा पहिले मीरा पिक आरोहण गरेर आउँदो वैशाखको मध्यसम्ममा आरोहणका लागि सगरमाथा बेस क्याम्प पुग्ने कार्यतालिका छ ।उनले कृत्रिम खुट्टाको सहायतामा यसअघि सगरमाथाको आधार शिविर पुगेर ‘स्काई ड्राइभिङ’ गरिसकेका छन् ।

आरोहणका लागि लुक्ला उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोटो प्रतिक्रिया दिँदै उनले आरोहणको तयारीअनुसार आफूलाई विभिन्न चरण पार गर्न पाँच वर्ष लागेको बताए ।

उनले भने, “शारीरिक रूपमा अशक्त भएका व्यक्ति कोहीभन्दा कमजोर हुँदैनन् भन्ने सबैमा आत्मविश्वास जगाउनका लागि सगरमाथाको सफल आरोहण गर्न लागेको हुँ । विभिन्न हिमाल आरोहण गरिसकेकाले उक्त अनुभवलाई सगरमाथा आरोहणमा प्रयोग गरेर आरोहण पूरा गरेरै फर्किन्छु ।”

हिमालयन स्कीमार्फत आरोहण गर्न लागेका उनीको साथमा एक जना आरोहीसहित आठ जना शेर्पा सहयोगीका रूपमा रहने छन् । हिमाली वातावरणमा घुममिल हुन करिब १५ दिन मीरा पिक आरोहणमा खर्चिने बताउँदै उनले सगरमाथा आरोहण पूरा गर्न दुई महिना लाग्ने बताए ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।