`

हरियो तरकारी र फलफूलको आजकाे मुल्य

काठमाडौ, २९ माघ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफुल तथा तरकारीकाे मुल्य सावर्जनिक गरेकाे छ ।

जसअनुसार आईतबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ३५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १५० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १८ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भइइरहेकाे समितिले जनाएको छ ।

आईतबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, कन्ये च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १५० रुपैयाँ, तोरी र रायोको साग ३० रुपैयाँ मुठा, जिरा सागको ४० रुपैया, चम्सुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा पाइन्छ ।

यसैगरी छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ८० रुपैयाँ, भारतीय सुकेको प्याज ३८, रुपैयाँ, हरियो प्याज ६० रुपैयाँ, नेपाली सुकेको लसुन ८० र हरियो लसुन ६० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ५०० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ रहेको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३४० रुपैयाँ केजीमा खरिदबिक्री भइरहेको  समितिले जनाएकाे छ ।

मेस्सी र एमबाप्पे मैदानबाहिर रहदाँ मोनाकोसँग पिएसजी ३–१ ले पराजित

काठमाडाै, २९ माघ । पिएसजी लिग वानमा मोनाकोसँग पराजित हुन पुगेको छ । फ्रेन्च लिग वानमा शिर्ष स्थानमा रहे पनि पिएसजीको तेस्रो हार हो ।

चोटका कारण लियोनल मेसी र केलियन एमबाप्पे अनुपस्थित शनिबार राती भएको खेलमा पिएसजी लिग वानमा मोनाकोसँग ३–१ ले पराजित भयो ।
 
खेलको चौथो मिनेटमा एलेक्जेन्डर ग्लोभानीले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो । ७ मिनेटमा अग्रता लिएको मोनाकोकोतर्फतवाट १८औं मिनेटमा बेन यडरले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेन यडरले मोनाकोका लागि तेस्रो गोल गरे ।

क्लब बिश्वकपको उपाधि रियल रियल म्याड्रिडको पोल्टामा

काठमाडौं, २८ माघ । रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ। साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै स्पेनिस क्लब रियल म्याड्रिड पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो।

मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा भएको खेलमा हिलाललाइ हराउँदै पाँचौ पटक बिश्वकप च्याम्पियनको उपाधी उचाल्न सफल भएको हो । 

जसमा रियलको भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २–२ तथा कप्तान करिम बेन्जेमाले एक गोल योगदान गरेका थिए । 

उता, अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल मात्रै गरे पछि उपबिजेतामा सिमित भयो । 

खेलको १३ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाए भने त्यसको ५ मिनेट अर्थात १८ औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रतालाई दुई गोलले दोब्बर पारे। 

२६औं मिनेटमा साउदी क्लबका लागि मोउसा मारेगाले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा पुग्यो तर ५४ औं मिनेटमा पुग्दा रियलका कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा ३–१ ले अग्रता दिलाए ।  ५८ औं मिनेटमा फेडे भाल्भेर्डेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई ४–१ को स्थितिमा पुर्‍याए।

६३ औं मिनेटमा लुसियानो डारियो भिट्टोले गोल गर्दै अल हिलाललाई खेलमा फर्कने संकेत दिए तर ६९औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ खेल गरे खेललाई ५–२ को अवस्था राखिदिए । 

अल हिलाबको तर्फवाट ७९ औं मिनेटमा लुसियानो डारियो भिट्टोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। अन्ततः खेल ५–३ मा टुंगियो । 

पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै क्लब विश्वकपको उपाधि जितेका छन्। उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्वकप जित्ने पहिलो एसियाली टिम बन्ने अवसर पाउँदा पाउँदै पनि चुकेको छ। 

पाँच पटक फाइनल पुगेको रियल पाँचैपटक च्याम्पियन बनेको हो। यसअघि सन् २०१४, २०१६, २०१७  र  २०१८ मा उपाधि जितेको थियो।

गठबन्धन जोगाउने नजोगाउनेमा नेकपा एमाले नै निर्णायक हो : इन्चार्ज साह

महोत्तरी – गठबन्धन जोगाउने, नजोगाउने विषयमा नेकपा एमाले निर्णायक रहेको माओवादी केन्द्रका केन्द्रीय  सदस्य गणेश साहले बताएका छन् ।

राष्ट्रपति निर्वाचनको बिषयमा माओवादी केन्द्रले स्वतन्त्र ब्यक्तीत्व खोजीरहेको बताउँदै नेकपा एमालेले पनि यस्लाइ साथ दिनेमा  उन्ले विश्वास ब्यक्त गरे ।

माओवादी केन्द्रको नामको सम्बन्धमासमेत छलफल भइइरहेको मधेश प्रदेशका इन्चार्जसमेत रहेका साहले जानकारी दिए ।

मधेश प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी हुन आएका नेता साहले विदेशी शक्तिको हस्तक्षेपले नै पछिल्लो समय माओवादी केन्द्र कमजोर बन्दै गएको आरोप लगाए ।

लुम्बिनीका ७ मन्त्रीको आज सपथ

दाङ, २९ माघ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियतको शपथ आज हुने भएको छ । 

प्रदेश प्रमुख सचिवालका अनुसार दिउँसो १ बजेका पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको छ ।

मुख्यमन्त्री लीला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका थिए । जसअनुसार  जोखबहादुर महरा आर्थिक मामिलामन्त्री,  चेतनारायण आचार्य खानेपानी, इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य, कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।

यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।नवनियुक्त मन्त्रीहरुले आज सपथ लिनेछन । 

आज देखी रग्बी लिग सुरु, ४ टिमले सहभागी जनाउने

काठमाडौं, २९ माघ । नेपाल रग्बी संघको आयोजनामा तेश्रो फिफ्टिन्स रग्बी लिग आजवाट सुरु हुदैँछ । रग्बी संघका अध्यक्ष दीपक देवकोटाका अनुसार लिगमा ४ टिमको सहभागिता रहनेछन् । 

जसअनुसार आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिंगल राउन्ड रोविन पद्धतिमा प्रतिस्पर्धा गर्दैछन । 

उक्त खेलमा ४ जना बिदेश खेलाडीले पनि सहभागीता जनाउने छन । जसअनुसार हिमालयन टाइगरमा २, गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका १–१ बिदेशी खेलाडी छन् भने बाँकी २ टिममा विदेशी खेलाडी छैनन्।

२९ माघमा,  ३ फागुन ३ गत र ६ फागुनमा समान २–२ खेल हुनेछ। लिगमा शीर्ष स्थान हात पार्ने टोलीले उपाधि जित्नेछ।

धमाधम जंगल बाँड्दै सरकार

काठमाडौं – सरकारले पछिल्लो ६ महिनामै ३०० हेक्टरभन्दा बढी जंगल (वन क्षेत्र) २१ निजी कम्पनीलाई भोगाधिकार प्रयोग गर्न अनुमति दिएको छ। केबलकार तथा सिमेन्ट उद्योगलाई समेत वन क्षेत्र बाँडिएको छ। वन मन्त्रालयमा लामो समय काम गरेका र यसै क्षेत्रमा विद्यावारिधि गरेका एक उच्च कर्मचारीले ६ महिनामै ३१३ भन्दा बढी हेक्टर वन क्षेत्र निजी कम्पनीलाई भोगाधिकार दिनु अत्यन्त गम्भीर विषय भएको बताए।

‘यसबाट संयुक्त राष्ट्रसंघ पक्षीय राष्ट्रहरूको जलवायु परिवर्तनसम्बन्धी महासन्धिमा नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन नेट जिरो (उत्सर्जन र सोस्ने प्रक्रिया बराबर) गर्न र वन क्षेत्र ४५ प्रतिशत कायम राख्न गरेमने प्रतिबद्धता कार्यान्वयन सम्भावना निकै कमजोर बन्छ,’ उनले भने।

यही गतिमा सरकारले वन क्षेत्र बाँड्दै जाने हो भने देशमा अत्यन्त भयावह स्थिति निम्तिने उनको भनाइ छ। ‘यसमा रोक लगाउनैपर्छ। अब भोगाधिकारका लागि वन क्षेत्र दिने निर्णय रोक्नैपर्छ,’ उनले भने।

वन मन्त्रालयका अनुसार २०७९ साउन १ बाट २०७९ पुस ३ सम्म करिब ६ महिनाको अवधिमा २१ वटा आयोजनालाई ३१३ भन्दा बढी हेक्टर जग्गा विभिन्न निकाय तथा निजी कम्पनीलाई भोगाधिकार प्रयोग गर्न अनुमति दिइएको छ।

सरकारले सुरुदेखि हालसम्म १९ हजार ९०७ हेक्टर वन क्षेत्र विभिन्न संस्था तथा कम्पनीलाई भोगाधिकारका लागि अनुमति दिइसकेको मन्त्रालयको भनाइ छ। सरकारले पछिल्लो ६ महिनामा केबलकार तथा सिमेन्ट उद्योगलाई समेत भोगाधिकारका लागि जग्गा उपलब्ध गराएको छ।

मन्त्रालय स्रोतका अनुसार अरू ५० वटा आयोजना तथा निजी कम्पनीले भोगाधिकारका लागि जग्गा उपलब्ध गराउन मन्त्रालयमा निवेदन दिएका छन्। तीमध्ये केही कम्पनीका लागि प्रक्रियासमेत सुरु गरिएको मन्त्रालय स्रोतको दाबी छ। यो समाचार नागरिक दैनिकमा छ ।

मल कारखानाको योजना एक दशकदेखि बहसमै सीमित

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापनाको चर्चा चलेको दशकभन्दा बढी समय बितिसक्दा पनि उक्त योजना बहसबाट माथि उठ्न सकेको छैन । रासायनिक मल अभावको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने एक्लो उपायका रूपमा सांसददेखि राष्ट्रपतिसम्मले संसद्मा पटकपटक बहसका रूपमा उठाएको मुद्दाको कार्यान्वयन पक्ष भने हालसम्म ओझेलमै रहेको छ ।

राष्ट्रपति भण्डारीले संघीय संसद्को शुक्रवार बसेको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपालमै आगामी ५ वर्षभित्र विद्यादेवी गुणस्तरीय रासायनिक मल उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने गरी समयबद्ध शुरुआत गर्न सुझाव दिइन् ।

सरकारले मल कारखाना स्थापना गर्ने कार्यक्रम सधैँ बनाइरहने तर यसले सार्थकता कहिल्यै नपाएको गुनासो गर्दै यस्तो स्थितिको तत्काल अन्त्य हुनुपर्ने उनले बताइन्। यसअघि पनि संघीय संसद्मा सांसदहरूले अनेकौं पटक मल कारखानाको विषयमा बहस गरिसके पनि कार्यान्वयनतर्फ काम भएको छैन । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

सम्पति शुद्धिकरण बिद्येयक संसदको चालु अधिवेसनमा दर्ता हुने पहिलो बिद्येयक

काठमाडौं, २९ माघ  । सम्पति शुद्धीकरण (मनी लाउन्डरिङं) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ संसद सचिवालयमा दर्ता भएको छ । 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले दर्ता गराएको उक्त विधेयक चालु अधिवेशनमा दर्ता भएको यो पहिलो विधेयक हो ।

सो बिधेयकमार्फत सम्पत्ति शुद्धीकरणसँग जोडिएका २० वटा कानुन एकै पटक संशोधन गर्न लागिएको छ । सम्पत्ति शुद्धीकरणसँग जोडिएका २० वटा कानुन संशोधन गर्न लागिएको छ । जसअनुसार सो विधेयकमार्फत निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का) नियन्त्रण र जफत ऐन २०७० मा संशोधनजस्ता बिद्येयक संसोधन हुन लागेको हो ।

आज आकस्मिकबाहेक सवै स्वास्थ्य संस्था बन्द हुने

काठमाडौं, २९ माघ । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । 

शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सक माथी प्रहरीले गरेको हातपातको बिरोधमा आज आकास्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो । 

‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न २८ गते बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको निर्णयानुसार मिति २०७९ माघ २९ गते आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ’ बिज्ञप्तिमा भनिएको छ । 

सो घटनामा दोषी भन्दै बरिष्ठ प्रहरी हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरिसकेको छ ।  

प्रतिनिधिसभाको बैठक ३ बजे

काठमाडौं, २९ माघ । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह ३ बजे उक्त बैठक बस्दैछ । 

गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्वोधन गरे पछि स्थगित भएको बैठक आजवाट प्रारम्भ हुन लागेको हो । 

आजको मौसमः चार प्रदेशका पहाडी तथा हिमाली भेगमा हिमपात हुने

काठमाडौं, २८ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने देशका  पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

उता राती भने प्रदेश नं. १ को पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू्–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

विमानस्थलबाट ३५ किलो चरेससहित चार जना थाई नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी मात्रामा लागूऔषधसहित चार जना थाई नागरिक पक्राउ परेका छन् । थाईलाइन एयरको उडान नं २२१ बाट बैंकक जान लागेका चार जना थाई नागरिक ३५ किलो चरेससहित पक्राउ परेका हुन् ।

विमानस्थल प्रहरी स्रोतका अनुसार शनिबार साँझ उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ परेका हुन् । उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागुऔषध चरेस लुकाइछिपाइ लैजान लागेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । 

पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन्। त्यसमध्ये तीन जना महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ । 

उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘अनअराइभल भिसा’ लिएको अध्यागमन कार्यालयले जनाएको छ । थप अनुसन्धानका लागि उनीहरूलाई लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरमा पठाइएको छ ।

रेडियो नेपाल कर्मचारी संघको अध्यक्षमा चेतनारायण पौडेल निर्वाचित

काठमाडौं, २८ माघ रेडियो नेपाल कर्मचारी संघको १०औं केन्दीय अधिवेशनबाट चेतनारायण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । आज सर्वसम्मत रूपमा २९ सदस्यीय कार्यसमिति गठन भएको हो ।

समितिको सह-अध्यक्षमा पाराग पोखरेल, वरिष्ठ उपाध्यक्षमा शंकर भण्डारी र मुकुन्द भण्डारी, उपाध्यक्षमा भगवती ज्ञवाली, भीम घिमिरे र मनोज कुमार गुप्ता, महासचिवमा बद्री ढकाल, उपमहासचिवमा विदूरप्रसाद अधिकारी, सचिवमा अशोक मिश्र, कोषाध्यक्षमा तुलसी राम पौडेल र सहकोषाध्यक्षमा बलराम कोइराला चयन भएका छन्।

सदस्यमा टिकाराम भन्तना, रुकमणी पोखरेल, यान बहादुर थापा, मो अश्लीम अञ्सारी, टेकबहादुर गुरुङ, विमल अधिकारी, चुणामणी पाण्डे र देव यादव चयन भएका छन्। 

यस्तै बागमती प्रदेश संयोकमा नविन चौधरी, प्रदेश १ संयोजकमा नेमनारायण चौधरी, मधेश प्रदेसमा संयोजक जानकी रमण शाह, गण्डकी संयोजकमा प्रमिला सुवेदी, लुम्बिनी संयोजकमा प्रमेश्वर शुक्ला, कर्णाली संयोजकमा कृष्ण शर्मा, सुदूरपश्चिम संयोजकमा चक्रसिंह कठायत र पदेन सदस्यमा केन्द्रिय इकाइ अध्यक्ष उत्तम पाण्डेय चयन भएका छन्।

अधिवेशनमा सातै प्रदेशका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो ।
 

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिव बनिन् दर्शना

काठमाडौं – विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बाँस्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शनालाई चयन भएकी छन् ।

पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए । 

उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् । सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् ।  कोषाध्यक्षमा दामोदर नेपाललाई चयन भएका छन् ।

पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने र सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको परीयारले बताए ।

पोखराको लेकसाइडमा आगलागी

काठमाडौं – पोखराको लेकसाइडमा आगलागी भएको छ । शनिवार पोखरा महानगरपालिका–६ लेकसाइडको हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा आगलागी भएको हो ।

सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आज ४ः३५ बजेदेखि आगो लागेको थियो । आगलागी नियन्त्रणको लागि पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र घटनास्थलमा पुगेका छन् ।

आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैंङ्कको शाखासहित विभिन्न बैँक तथा वित्तिय संस्थाका एटिएम मेसिनसमेत रहेको छ ।

मधेस प्रदेशसभा बैठक २ फागुनमा

जनकपुरधाम, २८ माघ, मधेस प्रदेशको प्रदेशसभा बैठक आगामी फागुन २ गतेका लागि आह्वान गरिएको छ ।

सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

तनहुँको वनमा मानव कंकाल फेला

तनहुँ – तनहुँमा बेवारिसे मानव कंकाल फेला परेको छ । व्यास नगरपालिका-११ को निर्वु सामुदायिक वनमा शनिबार बिहान कंकाल फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा गएको टोलीले घटनास्थलको अध्ययन अनुसन्धान गरेको र मृतकको नामथर, वतन र लिङ्ग पहिचान हुन नसकेको बताइएको छ ।

अनुसन्धानमा खटिएको टोलीले घटनास्थल सुरक्षित गरी घटनास्थलमा देखिए अनुसारको विवरणसहित घटनास्थल तथा शवजाँच मुचुल्का गरी उक्त कंकाल पोष्टमार्टम तथा सनाखत प्रयोजनार्थ दमौली अस्पतालको शव गृहमा राखेर थप अनुसन्धान अगाडि बढाइको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको अध्यक्षमा निमनथा

काठमाडौं नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनबाट निमनथा फुयालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

काठमाडौंमा शुक्रबार राति सकिएको अधिवेशनले फुयालको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका थिए । 

कार्यसमितिमा निवर्तमान अध्यक्ष हरिप्रसाद भण्डारी पदेन सदस्य रहेका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा विजेन्द्र विक्रम शाह, प्रथम उपाध्यक्षमा मेख बहादुर अधिकारी, द्वितीय उपाध्यक्षमा केशवराज खनाल रहेका छन् ।

यसैगरी महासचिवमा प्रकाश श्रेष्ठ पुनः दोहोरिएका छन् । उपमहासचिवमा गोपाल खेतान रहेका छन् भने सचिवमा गंगाबहादुर अधिकारी रहँदा कोषाध्यक्षमा गणेश प्रसाद अधिकारी र सह कोषाध्यक्षमा शुरेश कुमार भट्टराई सर्वसम्मत चयन भए । 

यस्तै, सदस्यहरुमा प्रदीप कुमार घिमिरे, राजेन्द्र महर्जन, राकेश मेहता, उपेन्द्र अधिकारी, पंकज अग्रवाल, आशिष राज श्रेष्ठ, कमल नेपाल, दिलिप कुमार गुप्ता, कृष्णराज ढुंगाना, रंञ्जितकुमार अग्रवाल, पुरुषोत्तम अधिकारी र शिबराज लामिछाने रहेका छन् ।

२०४७ सालमा स्थापना भएको नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत संघ अन्तर्गत रहेको संस्था हो ।

नव निर्वाचित अध्यक्ष फुयालले अहिले पनि सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको बताउँदै आफू नेतृत्वको कार्यसमितिले सरकारसँग मसलन्द उद्योगहरुबाट उत्पादित सामग्रीहरु नै प्रयोग गर्नका लागि नीतिगत पहल गर्ने प्रतिवद्धता जनाए । यसैगरी महासचिव श्रेष्ठले संस्थाले सरकारले भन्दै आएको आर्थिक समृद्धिको नारालाई सार्थक तुल्याउन सरकारसँग सहकार्य र सँगसँगै आफूहरुका माग पुरा गराउन दवाव पनि दिने बताए ।

काश्मिरमा भेटियो संसारकै तेस्रो ठुलो लिथियम भण्डार

काठमाडौं, । भारतको जम्मु काश्मिरमा लिथियमको बिशाल भण्डार पत्ता लागेको  छ । कुल क्षमता ५९ लाख टन भएको लिथियमको भण्डारी भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । 

काश्मिरमा लिथियमको बिशाल भण्डार पत्ता लागेसँगै भारत चिलि, अष्ट्रेलिया पछि संसारकै तेस्रो भण्डारण भएको देशमा गनिएको छ । लिथियमा लागि भारत दोस्रो देशमा निर्भर रहदैँ आएको थियो, यो भण्डार पत्ता लागेसँगै भारतको अर्थतन्त्रमा नयाँ कायापलट हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

लिथिएम एक नान फेरस मेटल हो, जसको प्रयोग मोबाइल, ल्यापटप, बिद्युतीय सवारीसहित धेरै इलोक्ट्रोनिक समानहरुमा प्रयोग हुनेछ, जो चार्जेबल बेटरी बनाउन अत्याधिक मात्रामा प्रयोग गरिदै आएको छ । 

भारतले यसका आयातका लागि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । भारतले २०२०–२१ मा मात्रै लिथियम आयन बेटरी आयातका ८,८९४ करोड खर्च गरेको थियो भने २०२१–२२ मा मात्रै भारतले १३,८३८ करोड खर्च गरेर आयात गर्नु परेको थियो, जसमध्ये ८० प्रतिशत चिनवाट आयात गरिएको थियो । 

काश्मिरमा लिथियमको भण्डार भेटिए पछि आयात प्रतिस्थापनका साथै निर्यात पनि हुने भएकाले भारतीय अर्थतन्त्रमा यसको महत्वपुर्ण योगदान रहने भारतीय अर्थशाष्त्रीहरुले जनाएका छन् ।

मिस नेपालको अडिसन इटहरीवाट सुरु

इटहरी, २८ माघ । मिस नेपाल–२०२३ को अडिसनको सुनसरीको इटहरीबाट सुरु भएको छ । 

दि हिडन ट्रेजरका अनुसार २८माघबाट इटहरीवाट अडिसन सुरु भएको हो ।  इटहरीपछि वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा र अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी रहेको उक्त ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिए । 

यसअघिको संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन हिडन ट्रेजरले क्षेत्रीय अडिसनको पनि थालनी सुरु गरेको हो । मिस नेपाल–२०२३ को फाइनल भने आगामी १३ जेठमा ललितपुरको गोदावरीमा  हुनेछ । जसले मिस नेपाल २०२३ उपाधी घोषणा गरिनेछ । 
 

तनहुँ बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

तनहुँ – बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । शनिबार पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिकाचोक, आँबुखैरैनी बजारमा ठक्कर दिँदा सोही ठाउँ बस्ने ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग १ ख ६३०७ नं. को बसले ठक्कर दिँदा विकको मृत्यु भएको बताए ।

शनिबार बिहान पैदल हिँडिरहेका विकलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

विकको  उपचारको क्रममा चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । घटनापछि बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।
 

माओवादी नेतृत्व नै सर्वमान्य नेतृत्वः प्रधानमन्त्री प्रचण्ड

नेपाल दलित मुक्ति माेचाकाे बैठकलाइ सम्वाेधन गदैर् प्रधानमन्त्री प्रचण्डले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताएका छन।

‘पस २६ को प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो, त्यो इतिहासकै अभूतपूर्व रह्यो। त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ, यसको नेतृत्वप्रति न्याय भएको छ। त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो। यसले उत्पीडित वर्त, जाति, क्षेत्र, लिंगप्रति पनि न्याय भएको मैले महसुस गरेको छु’ प्रचण्डले भने, “संसदमा झण्डै शतप्रतिशत मत प्राप्त गर्नु सामान्य कुरा होइन। यसको ऐतिहासिक महत्व छ। भोलि कसरी जान्छ अहिल्यै भन्न सकिँदैन। तर, एउटा इतिहास त लेखियो। यसलाई कसैले मेट्न वा उल्टाउन सक्दैन। त्यसले के प्रमाणित गरेको छ भने माओवादी नेतृत्वले मात्र देशलाई एकतावद्ध गर्नसक्छ, सबै दलहरूलाई मिलाएर लैजान सक्छ। माओवादी नेतृत्वले मात्र राष्ट्रिय सहमति कायम गर्न सक्छ। त्यसैले हाम्रो आन्दोलन र नेतृत्व देशको सर्वमान्य भएको छ।”

उत्पीडितहरू नजागी कसैले दयाले अधिकार नदिने बताउँदै प्रचण्डले आफ्नो अधिकार प्राप्तिका लागि उत्पीडितहरू नै अग्रसर हुनुपर्ने बताए ।

“हिजो ठूलो आन्दोलन र बलिदानी गर्‍यौँ। त्यसको बलमा धेरै अधिकार प्राप्त भएका छन्। त्यो पर्याप्त छैन, तर ती केही पनि होइनन् भन्ने होइन। अहिले फेरि परिवर्तनविरोधी शक्तिहरू जनताका अधिकार कुण्ठित गर्न लागिरहेका छन्। उत्पीडितहरू आफै नजागी, आफै अग्रसर नभइकन दयाले कसैले अधिकार दिँदैन, दलित समुदायको संघर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव थिएन। नेपालको क्रान्तिकारी आन्दोलनमा दलितहरूको महत्वपूर्ण छ” प्रधानमन्त्रीले भने “शान्ति प्रक्रियामा आएपछि हाम्रो विचार र संस्कृतिमा स्खलन, हिजोका क्रान्तिकारी निर्णय र संस्कारबाट हामी पछाडि फर्केजस्तो अनुभूति हुन्छ। प्रगतिशील संस्कारहरू मिचिएका छन्। सामन्ती पितृसत्तात्मक सोंच ब्यूतिन खोज्दैछ, पूरानो वर्ग र सत्ता आफू फेरि हावी हुन कोशिस गरिरहेको छ। यसलाई रोक्न उत्पीडितहरू जागरूक हुनैपर्छ। आफ्नो अधिकार प्राप्तिका लागि योगदान गर्ने पार्टी, नीति र नेतृत्वको पक्षमा उभिनुपर्छ।”

बैठकमा प्रधानमन्त्रीले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दा सम्वोधन गर्न सरकारले उच्च प्राथमिकता दिनेसमेत बताउनुभयो।

आइतबार आकस्मिकबाहेक देशभरका स्वास्थ्य सेवा बन्द

काठमाडौं – नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । 

राष्ट्रपतिको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले माघ २९ गते सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक  सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो । 

‘सुरक्षाको नाममा भिभिआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न आज मिति २०७९ माघ २८ गते बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकलेगरेको निर्णय अनुसार मिति २०७९ माघ २९ गते आईतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा आम सर्वसाधारणहरुको भावना र मर्म अनुसार सकारात्मक परिवर्तनको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै संघले लोकतान्त्रिक गणतन्त्रमा समेत नागरिक स्वयंलाई नै यो वा त्यो बाहानामा दुःख, सास्ती र अस्वभनीय कार्य सदाका लागि बन्द गर्न पनि माग गरेको छ । 

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइदैँ

काठमाडौं, २८ माघ । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ । संयुक्त राष्ट्रसंघद्वारा प्रत्येक वर्ष ११ फेब्रुअरीमा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको छ।  नेपालसहित संसारभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाउदै आएको छ ।

अहिलेको युग विज्ञान र प्रविधिको युग हो । अहिले दिनप्रतिदिन विज्ञानको महत्व अत्यन्त बढेको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्न यो दिवस मनाइनुको खास उद्देश्य हो ।  जबसम्म विज्ञानमा महिलाको समान पहुँच र उत्साहजनक सहभागिता हुँदैन, तबसम्म महिला–पुरुषबीचको असमानताको अन्तरलाई घटाउन सकिँदैन भन्नेमा नारीवादीहरू सहमत छन ।  
 

प्रधानसेनापति खुला दौड प्रतियोगिता शुरु, प्रथम हुनेलाई तीनलाख

काठमाडौं, २८ माघ । सेना दिवसका अवसरमा नेपाली सेनाद्धारा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता आज शुरु भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट शुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन ।  साे खेल २०७२ साल देखि स्थापना दिवसका अवसरमा अायाेजना गरिदै आएको छ ।

प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर,  पेप्सीकोला,  गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन हुनेछ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ । प्रतियोगितामा तीन सय धावक सहभागी छन् । 

मासिक पारिश्रमिक बिद्यालयलाई दिने एमाले सांसद सुर्य थापाको घोषणा

काठमाडौं, २८ माघ । प्रतिनिधिसभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्यूठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिएका छन ।

मल्लरानी गाउँपालिका– २ चुँजा, प्युठानमा अवस्थित अमर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि सो पारिश्रमिक दिएको सांसद थापाले घोषणा गरेका हुन् । बिद्यालयको स्वर्ण महोत्सव सहभागी सांसद थापाले सो घोषणा गरेका हुन् । 

थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि बचेको पारिश्रमिक विद्यालयलाई उपलव्ध गराउने बताए । विद्यालयले उक्त रकमबाट आवश्यकता अनुसारको अक्षयकोष स्थापना गरेर सदुपयोग गर्न थापाले आग्रह गरे ।

फिफा बर्ष खेलाडीका लागि मेस्सीसहित तीन मनोनयन, रोनाल्डो परेनन्

काठमाडौं, २८ माघ । लियोनल मेस्सी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् । 

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिममा तीन जनाको नाम तय भएको हो ।

सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गरिएको हो ।  
 

सन २०१८ वाट सुरु भएको यो अवार्डका लागि मेस्सी अन्तिम तीनमा पर्न एक पटक मात्र असफल भएका खेलाडी हुन । यी तीन मध्ये सन् २०१९ मा अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितिेसकेका छन् । मेस्सी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए भने पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका छन । 

तर, यस बर्षको उत्कृष्ट खेलाडी मनोनयनमा रोनाल्डो भने मनोनयनमा परेनन । यसअघि उनी प्रायः पर्दै आएका थिए । 

अख्तियारको ३२ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाईदैँ 

काठमाडौं, २७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औँ स्थापना दिवस मनाउँदै छ। 

मिलेर फालौं भ्रष्टचारको जालो, सुशाषन प्रवर्दनमा गरौं हातोमालो’ भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाईरहेको हो ।

आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालयले बिभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाईरहेका छन ।

आशिष सचिन, मेलिना र वर्षाको ‘पिरिम नलाउने’ गीतको १० करोड भ्युज, केक काटेर खुशियाली

काठमाडौं, २८ माघ । गायक आशिष सचिन र गायिका मेलिना  राईको स्वर रहेको ‘पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड  भ्युज पाएकोमा खुशियाली मनाइएको छ । पिरिम नलाउने टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्यूज पाएकोमा खुशीयाली मनाएको हो ।

सो अवसरमा बोल्दै वरिष्ठ संगीतकार बास्कोटाले निर्माण युनिटको खुलेर तारिफ गर्दै मनमुटुमा बस्न सफल गीत नेपाली दर्शकलाई दिनु प्रशंसाको विषय भएको बताए । उनले गायक आशिष र संगीतकार दीपक शर्माको जमेको जोडीको पनि प्रशंसा गर्न छुटाएनन् । कार्यक्रममा बोल्दै गायक आशिषले १० करोड क्लब तथा नेपालको सबैभन्दा बढी हेरिनेमा चौथो स्थानमा आफ्नो गीत पर्दा खुशीको सिमाना नरहेको बताए । उनले  ‘पिरिम नलाउने’  को सफलताले अझै राम्रो गीत दिनुपर्ने जिम्मेवारी थपेको बताए ।

त्यस्तै संगीतकार शर्माले आफ्नो सृजना पिरिम नलगाउने सबैको प्रिय बन्दा आँफु पनि सबैको मन मनमा जोडिन पाएकोमा खुशी ब्यक्त गरे । भिडियोका निर्देशक सुब्रतराज आचार्यले आफूलाई फेरि पनि यस्तै काम गर्न मन लागेको भन्दै ५ वर्षअघि भिडियो छायांकन गरिएको फर्पिङको डाँडाको नाम नै पिरिम नलाउने डाँडो राखिएको रोचक किस्सा सुनाए । गायक हिमाल सागर, वरिष्ठ फिल्म सम्पादन नरेन्द्र खड्का लगायतको उपस्थिति रहेको कार्यक्रममा  गीतसँग सम्बन्धित सबै पक्षलाई मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो ।

ओएसआर डिजिटलबाट रिलिज गरिएको पिरिम नलाउनेमा नायिका वर्षा राउतसँगै गायक आषिशको अभिनय रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज, उत्सब दाहालको छायांकन, नबिन निरौलाको सम्पादन रहेको छ । जसमा गम्भिर विष्टको कोरियोग्राफी रहेको छ ।

कोरोनावाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु

काठमाडौं, २८ माघ । कोरोना भाईरस संक्रमणवाट  अहिलेसम्म नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पिसिआर परिक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजा ५ सय ७६ जनाको गरिएको छ । 

अस्पतालमा आएका मध्ये ९८  लाख ९ हजार ८७ जना उपचार निको भाई घर फर्केका छन ।खोप अभियान सुरु भए देखी अहिलेसम्म ५ करोड ३५ लाख ६ हजार २ सय ७ खोप लगाईसकिएको छ ।  

उता, हिजो मात्र देशभर तीनजना कोरोनाका संक्रमित थपिएका थिए । एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एकजना संक्रमणमुक्तसमेत भएका छन् । 

देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गुलाफको फूल आयातमा कडाइ

काठमाडौँ । गुलाफको फूल आयातमा कडाइ गरिएको छ । सरकारले रोग–कीरारहित भएको पुष्टि गर्ने आधिकारिक प्रमाणबिना गुलाफको फूल आयात गर्न अनुमति नदिन परिपत्र गरेको छ । भारत र चीनका खुला नाकाबाट जथाभाबी रूपमा गुलाफको फूल भित्रिन थालेपछि कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले आयातमा केही मापदण्ड तोकेर कडाइ गरेको हो ।

केन्द्रले शुक्रबार विज्ञप्ति जारी गर्दै गुलाफको फूल आयात गर्दा रोग–कीरा नभएको पुष्टि गर्ने आधिकारिक प्रमाणपत्र पेस गर्ने आयातकर्तालाई मात्रै आयातको अनुमति दिन पत्राचार गरेको हो । केन्द्रका प्रमुख सावित्री बरालले जथाभाबी रूपमा गुलाफको फूल आयात गर्दा हाम्रा बोटबिरुवामा रोग–कीराको जोखिम बढ्न सक्ने हुनाले सचेत गराइएको जानकारी दिइन् । आयात रोक्न नसकिने भन्दै उनले रोग–कीराको जोखिम नहोस् भनेर आयातमा रोग–कीराको मापदण्ड अपनाउन नाकाका कार्यालय सतर्क गराएको बताइन्। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सत्ता गठबन्धनमा विश्वासको सङ्कट

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति साझा पद भएको भन्दै राष्ट्रिय सहमतिका लागि प्रयास गर्नुपर्ने धारणा गठबन्धन बैठकमा दोहो-याएका छन् । राष्ट्रिय सहमति कायम भए धेरै राम्रो हुने भन्दै त्यसका लागि प्रयास गर्नुपर्ने प्रस्ताव दाहालले गरेका थिए ।

तर एमाले अध्यक्ष ओलीले पुस १० गते नै राष्ट्रपतिसहितका विषयमा सहमति भइसकेको जनाउँदै आफ्नै पुरानो कुरा दोहोर्‍याएका थिए । पूर्वसहमतिविपरीत दलहरू प्रस्तुत हुँदा एमाले नेतृत्वमा गठन भएको सुदूरपश्चिम सरकार ढलेको भन्दै विश्वासको सङ्कट बढेको धारणा राखेका थिए । प्रतिनिधिसभाको बैठकपछि एमाले अध्यक्ष ओलीले गठबन्धन सरकारबारे संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हेर्दै जाऊँ ।’

पूर्वसहमतिअनुसार माओवादी एमाले उम्मेदवारलाई सहयोग गर्ने पक्षमा नरहेको बुझेका ओलीले शुक्रबार नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग कुरा गरेका छन् । ठाकुरलाई माओवादी केन्द्रसहितका दलले राष्ट्रपतिमा अघि सार्न सक्ने बुझेका ओलीले सोहीअर्न्तगत कुरा गरेको स्रोतको दाबी छ । यद्यपि राष्ट्रपतिमा एमालेका तर्फबाट संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केशव बडाल, अष्टलक्ष्मी शाक्यसहितका नेताका नाम चर्चामा छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिमा रंगरोगन शुरु (फोटो फिचर)

काठमाडौं, २८ माघ । महाशिवरात्री–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुदैँछ ।

महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो । महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्री ६ फागुनमा परेको छ ।

तस्विरहरु:


प्रचण्ड र ओलीबीचमा ‘भनाभन’

काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनको विषय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा ‘भनाभन’ भएको छ ।बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने आवश्यकताबारे बोल्दै गर्दा एमाले अध्यक्ष ओलीले प्रतिवाद गरेका छन् ।

‘प्रधानमन्त्री प्रचण्डको चाहना राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा साझा व्यक्तिलाई ल्याउनुपर्नेमा छलफल गर्नु थियो’ ती नेताले भने, ‘तर एमाले अध्यक्ष ओलीले यसबारे अब सल्लाह गर्नुपर्ने विषय नै के छ र ? यसबारे त पहिल्यै टुंगो लागिसकेकाले थप छलफलको आवश्यकता नै छैन ।’माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने निर्णय गरिसकेको छ ।

तर, सोभन्दा अघि सत्तारूढ दलबीच सरकार गठनअघि नै राष्ट्रपति एमालेको भागमा परेको र त्यसबारेमा सहमति भइसकेको छ । तर, माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति दलका कार्यकर्ता राष्ट्रपति हुँदा विगतमा दुःख पाएको टिप्पणी गर्दै साझा व्यक्तिको खोजी गर्दै राष्ट्रिय सहमतिमै चयन गर्नुपर्नेमा जोड दिएका थिए ।यो खबर आजको नागरिक दैनिकमा छ ।

माओवादीको पार्टीको नाम र चुनाव चिह्न फेर्न सुझाव माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको नाम र चुनाव चिह्न फेर्न मातहतका समितिसँग सुझाव माग गरेको छ ।कम्युनिस्ट पार्टीहरूको बृहत् एकताको प्रसङ्गमा सुझाव मागिएको हो ।

माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सङ्गठन विभागले प्रस्ताव गरेपछि सुझाव माग गरिएको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकले निर्माण गरेको महासचिव देवप्रसाद गुरुङको संयोजकत्वको कार्यदलले पनि पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव दिएको छ । तर सुझाव र छलफलका क्रममा नाम र चुनाव चिह्न परिवर्तनको कुरा उठे पनि निर्णय भई नसकेको पार्टी कार्यालय सचिव उपाध्यायको भनाइ छ ।सङ्गठन विभागको लिखित प्रस्तावमा नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव छ ।

उहाँले पार्टीको नाम र चुनाव चिह्न फेर्ने विषय तल्ला समितिसम्म बहस हुने र दुई महिनापछि बस्ने केन्द्रीय समितिको बैठकमा छलफलपछि जरुरी भए निर्णय गर्न पनि सकिने जानकारी दिए ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

बिवेकशीलको महाधिवेसन आज सम्पन हुने

काठमाडौं, २७ माघ । बिवेकशील साझा पार्टीको प्रथम महाधिवेसन काठमाडौंमा आज सम्पनन हुदैँछ ।

लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोवाट सुरु भएको प्रथम महाधिवेसन आज सम्पन्न हुन लागेको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेसनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् ।

नेता मिलन पाण्डको अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ  ।महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरनेछ । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। 

आजको मौसम: कर्णाली र सुदुरपश्चिमका हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौं, २८ माघ ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नम्बर १ र सुदूर पश्चिम प्रदेशका  पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राती भने सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

मोटरसाइकल दुर्घटनामा पूर्वगाविस अध्यक्ष साहको मृत्यु

इन्दिप कोइरालबारा, २७ माघ । सिम्रौनगढमा भएको मोटरसाइकल दुर्घटनामा परेर नेकपा एमालेका कार्यकर्ता एवं साविक देवापुरटेटा गाविसका अध्यक्ष महावीर साह कानुको बिहीबार साँझ मृत्यु भएको छ । साहले चलाएको मोटरसाइकल विपरित दिशाबाट आउदै गरेको अर्को मोटरसाइकसंग ठोक्किँदा उनको साँझ ६ बजे घटनास्थलमा नै मृत्यु भएको हो । 

सिम्राैनगढ बजारबाट ना १ प  ६८८८  नम्बरको मोटरसाइकल चलाएर सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटास्थित घरतर्फ जाने क्रममा गण्डक नहर सडकको कोल्ड स्टोर अगाडि विपरीत दिशाबाट आउँदै गरेको ना १८ प ५१४१ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो । दुर्घटनापछि ७० वर्षीय साहको घटनास्थलमा नै मृत्यु भएको सिम्रौनगढ प्रहरीले जानकारी दिएको छ । 

घटनामा अर्को मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका वडा ४ गंगानगरका २२ बर्षिय वाल्मीकी यादवले समान्य घाइतेसमेत भएका छन । उनको कलैया प्रदेशिक अस्पतालमा उपचार भइरहेकोे ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिएको छ । 

साह ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट देवापुरटेटा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।  
 

तथ्यांक नहुँदा सरकारी सेवाबाट बन्चित हुँदै लैंगिक अल्पसंख्यक

पोखरा, २७ माघ- यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा राज्य गम्भीर नहँुदा समस्या समाधान नभएको सरोकारवालाहरूले बताएका छन। नीलहिरा समाजले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेश सरकारसँग नीतिगत संवाद अन्तरक्रिया कार्यक्रममा सरकारबाट समान व्यवहार तथा पहिचान पाउन नसकिएको बताएका हुन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहि तथ्यांक नहुँदा आरक्षणको अधिकार, राष्ट्रिय बजेट विनियोजनदेखि शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरमा समेटिन नसकेको समाजका कार्यकारी निर्देशक मनिषा ढकालको भनाइ छ। ‘अल्पसंख्यक समुदायमा सुचिकृत हुन सकेमा धेरै सेवा सुविधा प्राप्त गर्न सकिन्थ्यो, उनले भनिन्, गाँस बासकै लागि संर्घष गर्नुपरेको छ, तर अबको संविधानको विचार र मुद्दा फराकिलो हुनुका साथै सामाज पनि परिवर्तन हुन्छ भन्नेमा विश्वश्त छु।’

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको उपस्थिति नै कमजोर भएको र समाजले सहजै स्वीकार्ने अवस्था नरहेको ढकालले बताइन्। संविधान बनेको ८ वर्षभन्दा बढी भइसक्दा पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्दामा राजनीतिक दलहरू सधैँ अनुदार देखिएको उनको गुनासो छ।

समाजका अध्यक्ष भूमिका श्रेष्ठले २०७८ को गणनामा यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्यांक बढ्ने बताउँछिन्। जनगणना फाराममा लिंगको छनोट गर्दा पुरुष र महिला मात्र होइन अन्य पनि उल्लेख गरिएको थियो,’ उनले भनिन् ‘जागरण र चेतनाका हिसाबले हामी १० वर्षअघिको स्थितिबाट धेरै अघि बढिसकेका छांै,’ आफ्नो पहिचानका बारेमा खुलेर बोल्न सक्ने अवस्था छ जसले सहि तथ्यांक आउने छ।’

महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष केशु भुजेलले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका पहुँच स्थानीय तहबाटै भएमा मात्र केन्द्रिय तहमा पुग्न सहज हुने औंल्याएकी थिइन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्दाका बारेमा सोच्नै पर्ने बेला भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी अन्र्तगतको सामाजिक विकास महाशाखाका अधिकृत देवी शर्माले उल्लेख गरिन्। नयाँ कार्ययोजनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका समस्या र आवश्यकता समावेश गर्ने शर्माले प्रतिबद्धता जनाइन्।

कानुनका कमिकमजोरीलाई सुधार गर्न आवश्यक रहेको नीति तथा योजना आयोग गण्डकीका प्रतिनिधि रामप्रसाद वाग्लेले बताए। व्यक्तिगत तथा संस्थागत सहयोग गर्न सधै तत्पर रहने तथा कानुन सच्याउन समेत पहल गर्ने बताए।