`

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद चौधरीको माग

काठमाडौं – प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठ चौधरीले थारु राजबन्दीको बारेमा छानबिन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन् ।

प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले अनाहकमा थुनेको आरोप लगाउँदै पुर्व सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्नसमेत माग गरेकी छिन् ।

‘धेरै निर्दोष थारुहरुलाई फसाइएको छ, निर्दोष थारुहरूले न्याय पाउँछौ भनेर मेरो मन खुसी भएको थियो तर न लाल आयोगको प्रतिवेदन सार्वजनिक भयो, न त अहिलेसम्म रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बन्यो ?’ उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर वा अध्यादेशमार्फत भए पनि पुर्व सांसद चौधरीको रिहाईको माग गरेकी छिन् ।

गणतन्त्रका विषय यही संविधान र संसदले टुंग्याउन सक्छ – ज्ञानेन्द्र शाही

काठमाडौं, १८ माघ । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रचलित संविधानबाट देशमा गणतन्त्रकाबारे निर्णय लिन सकिने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा रघुजी पन्त र शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले अहिलेकै संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई टुंग्याउन सकिने बताएका हुन् ।

नेपालको संविधानले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत सार्वभौमसत्ता प्रतिकुल हुनेगरी संशोधन गर्न नसकिने व्यवस्था गरेको भन्दै उनले गणतन्त्रका विषय यही संविधान र संसदले टुंग्याउन सकिने बताए ।

संविधान बनाउने क्रममा संघीयता र  धर्मनिपेक्षता चाहिने कि नचाहिने भन्दै सांसदबाट संकलन गरिएको राय किन सार्वजनिक नगरिएको भन्दै प्रश्न गरेका उनले यही संसद र संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षता चाहिन्छ या चाहिँदैन भन्ने टुंगो लगाउन सकिने बताए ।

‘जबरजस्ती धर्म परिवर्तन रोक्न अहिलेको कानुन पर्याप्त नभए कानुन बनाएर भए पनि रोक्नुपर्छ’

काठमाडौं, १८ माघ । नेकपा एमालेका सांसद रघुजी पन्तले देशमा जबरजस्ती क्रिश्चियानिटीको घटना बढेको भन्दै रोक्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोलेका पन्तले जबरजस्ती धर्म परिर्वतन गराएर देशलाई क्रिश्चियानिटी बनाउन खोजेकाले यसलाई रोक्नुपर्ने माग गरेका हुन् ।

जबरजस्ती धर्म परिवर्तन रोक्न अहिलेको कानुन पर्याप्त नभए कानुन बनाएर भए पनि रोक्नुपर्ने बताएका उनले कुनै पनि धर्म र जातका विषयमा हुने विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।

साथै सांसद पन्तले संसद बैठकमा प्रधानमन्त्री र प्रमुख मन्त्रीहरुको उपस्थिति हुनुपर्नेमा जोड दिए ।

उनले संसदको बैठकको सुरुमा प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थिति हुनुपर्नेमा बताएका हुन् । सांसदहरुले बैठकमा उठाएका विषयलाई सरकारले सुन्नुपर्ने उनको माग छ ।

लक्की फिल्मी अवार्डको तयारी

काठमाडौं, १८ माघ । लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु भएको छ । फिल्म उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला प्रदान गर्न आयोजना गरिएको अवार्ड वितरण कार्यक्रमको तयारी स्वरुप आयोजकले प्रचारप्रसारको काम थालेका छन् ।

यहीक्रममा फिल्मी अवार्डको प्रचार सामाग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा प्रचार सामाग्री सार्वजनिक गरिएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ सर्जन डा. गंगा सापकोटा, फरेष्ट टेक्निसियनस् एसोसियसन अफ नेपालका अध्यक्ष गोविन्दराज पाण्डे, लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’, कार्यक्रम संयोजक राजेश शर्मा आचार्यले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । फिल्मी अवार्डका लागि तयार भएको स्टिकरलाई देशव्यापी रुपमा टासिने जनाइएको छ ।

अवार्ड प्रचारका लागि छिटै टिसर्ट, फ्लेक्स ब्यानर, अवार्डको अडियो जिंगल पनि छिटै सार्वजनिक गर्ने तयारी रहेको महाप्रबन्धक कार्कीले बताए । उनका अनुसार फिल्मी अवार्ड प्रचारका लागि मोफसुल टुर पनि केही दिनमा सुरु गरिने उनले बताए । नेपालका मुख्य शहरमा फिल्मी अवार्ड बारे जानकारी गराउँदै जाने योजना रहेको बताए ।

लक्की मिडिया हाउसले रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शो, एकल साँझ, विभिन्न सांगीतिक कार्यक्रमहरु, सम्मान कार्यक्रम गर्दै सिने क्षेत्रको प्रवद्र्धनका लागि काम गर्दै आइरहेको छ । मिडिया हाउस अन्तर्गत चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम समेत सञ्चालनमा छन् ।

सेन्ट्रल कन्ट्रयाक्टका लागि खेलाडीको वर्गीकरण

काठमाडौं। नेपाल नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि खेलाडीको वर्गीकरण गरेको छ । पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको क्यानले बलात्कार आरोपमा राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेलाई भने समेटेको छैन ।

क्यानले गरेको पुरुष वर्गीकरणको ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख परेका छन् ।

साथै ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल पर्दा ग्रेड ‘सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउँद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव परेका छन् ।

यस्तै महिलातर्फ ग्रेड ‘ए’मा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन् भने ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्यलाई क्यानले समेटेको छ ।

साथै ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई राखिएको छ।

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु

सुर्खेत, १८ माघ ।  रुकुम पश्चिम मुसीकोट ४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएकाे छ भने  चालक घाइते भएका छन् ।

ट्याक्टर दुर्घटनामा परेर भेरी नगरपालिका –१ जाजरकोटका ३४ वर्षीय हरिबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा घाइते विकको उपचारको क्रममा मंगलबार राति नै जिल्ला अस्पताल सल्लेमा ज्यान गएको हो ।

दुर्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षीय मनबहादुर विक घाइते छन् ।

संसदमा उठ्यो बाँदर आतंक नियन्त्रणको माग

काठमाडौं, १८ माघ । प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजालले दोलखामा बढेको बाँदर आतंक नियन्त्रण गरेर खाद्य सुरक्षा गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले दोलखामा बाँदर आतंक बढ्दा बसाईंसराइको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

बादर आतंक नियन्त्रण गरेर संविधानप्रदत्त खाद्य सुरक्षाको सुनिश्चित गर्न माग गरेका उनले बाली बिमाको कार्यक्रम पनि लागु गर्न सरकारसँग माग गरे ।जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

आत्मदाह घटनाकाे उच्चस्तरीय न्यायिक छानबिन गर्न माग

काठमाडौं, १८ माघ । देशभर आत्मदाह तथा आत्महत्याको घटना बढेको भन्दै उच्चस्तरीय न्यायिकको छानबिनको माग गरिएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद अमरेशकुमार सिंहले देशभर आत्मदाह र आत्महत्याको घटना बढेकाले यसको उच्चस्तरीय न्यायिक छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

प्रेमप्रसाद आचार्यले जस्तै देशभर आत्मदाह र आत्महत्याको घटना बढेको भन्दै उनले किन जनता आत्मदाह र आत्महत्या गर्ने अवस्था पुगे भन्ने विषयमा उच्चस्तरीय न्यायिक छानबिन गर्र्नुपर्ने माग गरेका हुन् । अघिल्लो साताको मंगलबार संघीय संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको भोलिपल्छ बुधबार उपचारका क्रममा निधन भएको थियो ।

नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधरणसभा सुर्खेतमा

पोखरा, १८ माघ-नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक साधारण सभा अर्को महिना सुर्खेतमा गर्ने निर्णय गरेको छ।पोखरामा बसेको क्यानले क्यानको बैठकले वार्षिक साधारण सभा आगामी १४–१५ फागुन सुर्खेतमा गर्ने निर्णय गरेको हो ।

यसैगरी, विभागीय टिम नेपाल पुलिसबाट व्यावसायिक क्रिकेट खेल्दै आएका गुल्शन झालाई यू–१९ को कप्तान पनि नियुक्तसमेत गरेको छ ।

एमालेभित्रको विवादले मधेश प्रदेश सरकारले पूर्णता पाएन

महोत्तरी, १८ माघ । नेकपा एमालेभित्रै विवादले मधेश प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । आफ्नो भागमा परेको मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा एमालेभित्र विवाद हुँदा सरकारले पूर्णता पाउन नसकेको हो । एमालेका भागमा परेका मन्त्रालयहरुमध्ये प्रत्यक्षमा निर्वाचित एक्लो महिला संसद शारदादेवी थापाले पनि दावी गर्दै आएकी छन । तर, उनलाई सरकारमा पठाउने कि नपठाउने भन्ने विषयमा नेताहरुबीच मतभेद देखिएको छ ।

दुईपटक प्रत्यक्षमा निर्वाचित संसद थापाले महिला समावेशिताका आधारमा एमालेको भागमा परेका मन्त्रालयमध्येबाट कुनै पनि मन्त्रालयको नेतृत्व आफूले पाउनुपर्ने अडान लिँदै आएकी छन् ।

‘सबै हिसावले जुनसुकै मन्त्रालयको नेतृत्व लिन संसद थापा योग्य हुनुहुन्छ । तर, महिलालाई नै मन्त्री बनाउन पार्टीमा मतभेद देखिएको छ,’ एमालेका प्रदेश सदस्य सन्त परियारले भने, ‘शारदादेवी थापालाई मन्त्री बनाउनुपर्छ भन्ने हाम्रो पनि माग छ ।’महोत्तरी क्षेत्र न.१ क बाट विजयी भएकी शारदादेवि थापा यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइँन् ।

सांसद थापालाइ मन्त्री बनाउने विषयमा देखिएको एमालेभित्रको विवाद सतहमा नै देखिएको छ । निर्वाचनको समयमा नै थापा पक्षको गुरु भट्टराई पक्षसँग असन्तुष्टि चुलिएपछि दुवै पक्षको आरोपप्रत्यारोप जारी छ । निर्वाचनमा थापा पक्षलाई भट्टराई पक्षले असहयोग गरेको आरोप छ भने भट्टराई पक्षले यसलाई खण्डन गर्दै आएको छ ।गत आइतबार महोत्तरीको रामगोपालपुरमा बसेको बैठकमा क्षेत्रीय इन्चार्ज केदार बस्नेत, गुरु भट्टराई, कुमार भण्डारीलगायतका नेताहरुलाई कारबाही गर्नुपर्ने आवाज उठेको बैठकमा सहभागी एक नेताले बताए ।

यसैको कारण पनि सांसद थापालाई मन्त्री हुनबाट रोक्ने प्रयास भइइरहेको प्रदेश कमिटीका एक जना नेताले बताए । मधेश प्रदेशको सचेतक समेत रहिसकेकी सांसद थापाको योग्यतालाई हेरेर कुनै मन्त्रालयको जिम्मेवारी दिनुपर्ने एकथरी नेताहरुको तर्क छ भने अर्कोथरी नेताहरुले एउटै जिल्लामा दुई जना मन्त्री बनाउन नहुने बताएका छन् ।

मन्त्रिपरिषद् विस्तारमा एमाले बाधक रहेको भन्न आरोपलाई एमाले मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख सोमप्रसाद शर्माले खण्डन गरेका छन् ।
माओवादी केन्द्रका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको आरोप लगाएका उनले भने, ‘एमालेभित्र कुनै विवाद छैन । माओवादीको भागमा एउटा मन्त्रालय परेको थियो । तर, उनीहरुले दुई मन्त्रालयको लागि दाबी गरेका छन् । यसैलाई मिलाउन सकस बनिरहेको छ ।’

उल्टा चश्माका तारक मेहताले पाएनन् पूरा पारिश्रमिक

मुम्बई, १८ माघ । भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘तारक मेहताका उल्टा चश्मा’ कुनै न कुनै कारण चर्चामा आइरहन्छ । केही महिना अघि यसका कलाकारहरु शैलेश लोढा, राज अनादकट र निर्देशक मालव राजदाले शो छोडे । अहिले भने यो शो छोडेका कलाकारको पारिश्रमिक नदिएको विषयले चर्चा पाएको छ ।

शोमा तारक मेहताको भूमिका निभाएर चर्चा पाएका शैलेशको हालसम्म पारिश्रमिक मिलान भइसकेको छैन । शैलेशले यो शोमा करिब १४ वर्ष बिताए । उनले ७ महिना अघि मात्र शो छोडेका थिए । उनको स्थानमा अहिले सचिन श्राफ तारक मेहताको भूमिका निभाइरहेका छन् ।

शोले शैलेशको एक वर्ष बढी समयको पारिश्रमिक दिएको छैन । यो पारिश्रमिक करिब ६ डिजिटको छ । शैलेश एक वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहे पनि निर्माता असित कुमार मोदी शैलेशलाई पारिश्रमिक दिने विषयमा कुनै ध्यान दिइरहेका छैनन् ।

स्रोतका अनुसार शैलेशले शोरनरका साथ विवादका कारण शो छोडेका थिए । उनले आफूलाई अपमानित भएको महशुस गरेपछि विना कुनै जानकारी शो छोडेका थिए । शो छोडेदेखि शैलेश शोको विषयमा मौन छन् ।

कलाकारले शो छोडे पनि पूर्ण पारिश्रमिक नपाएको यो पहिलोपटक होइन । यसअघि अभिनेत्री नेहा मेहताले पनि शो छोडेपछि पूर्ण पारिश्रमिक पाएकी थिइनन् । उनले अभै पनि झण्डै ४० लाखको हाराहारीमा पारिश्रमिक पाउन बाँकी छ । त्यस्तै ‘टप्पू’को भूमिका निभाउने राज अनादकट पनि यस्तै समस्याबाट पीडित थिए ।

६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र

सुर्खेत, १८ माघ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल ६ वर्षदेखि अलपत्र परेको छ ।

तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यका साथ काम थालिएको गाराघाट पक्की पुल ६ वर्षसम्म अलपत्र परेको हो । सडक डिभिजन चौरजहारीले उक्त पुलको ठेक्का खोलेको इन्जिनियर प्रज्वल सुनारले जानकारी दिए ।   फाउन्डेसनको डिजाइन परिवर्तन गरिएपछि काममा ढिला भएको उनले बताए ।  हालसम्म ५० प्रतिशत मात्र कामको प्रगति भएको उनले बताए ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चौरजहारीमार्फत आर्थिक वर्ष २०७२÷७३ मा गाराघाट पुल निर्माणको टेन्डर खोल्दा नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले २०७३ मा पुलको ठेक्का लिएको थियो ।

निर्माणका लागि नौ करोड ६१ लाख रुपैयाँमा पुल निर्माण गर्ने सम्झौता गरिएको थियो ।  नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडका प्रतिनिधि पतिराम केसीले असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिएको बताए । तीन वर्षभित्र सबै काम सक्ने पहिलो सम्झौता गरिएको भए पनि विभिन्न समस्याले गर्दा ढिलाइ भएको केसीको भनाइ छ ।

पुल निर्माणको काम लामो समयसम्म सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ । विशेष गरेर वर्षायाममा सर्वसाधारणलाई आउजाउ र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ।

क्षेत्राधिकार मिचेर धनगढीमाई नगरप्रमुख शिवशंकर महतोको सिफारिस, आर्थिक चलखेलको आशंका

सिरहा, १८ माघ । सिरहा धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले क्षेत्राधिकार मिचेर पदीय मर्याताविपरीत वडाले दिने सिफारिसमा आफैंले हस्ताक्षर गरेको पाइएको छ । नगर प्रमुख महतोले क्षेत्राधिकारको ख्याल नै नगरी वडा अध्यक्षले गरिने जग्गाको घरबाटो सिफारिसमा आफैले हस्ताक्षर गरेको पाइएको हो । प्रमुख महतोले धनगढीमाई– ३ का सुनैर देवी तेलिनको नाउँमा दर्ता कायम रहेको साविक भवानीपुर प्रध गाविस ८ ‘क’ कित्ता नम्वर ८० र ४४६ को ९ कठ्ठा ७ धुर जमिनको घरबाटो सिफारिस गरेको सार्वजनिक भएको छ ।

जग्गा धनीले बाटो नै नभएको जग्गाको कृषि सडक रहेको भनि सिफारिस माग गरेपछि वडा अध्यक्षले आलटाल गरको भन्दै जग्गा धनीले पैसा र शक्तिको भरमा नगर प्रमुखबाटै सिफारिस लिन सफल भएको वडा अध्यक्षहरु बताउँछन्।

वडा अध्यक्षहरुले नगर प्रमुखले क्षेत्राधिकारको ख्यालै नगरी वडा आफूहरुको अधिकारसमेत हनन् हुनेगरी सिफारिस दिएको आरोप लगाएका छन् । यस विषयमा वडा अध्यक्षहरुले गत पुस २९ गते भएको हिउँदे नगरसभामा समेत कुरा उठाएका थिए । त्यसबेला नगरप्रमुखले गल्ती भएको भन्दै माफी मागेको एक वडा अध्यक्षले बताए ।

वडा नम्बर ३ का वडा अध्यक्ष वीरेन्द्र साहले विवादित बाटो भएकोले साँधमा रहेका अर्को पक्षलाई पनि बोलाउन अनुरोध गरेपछि जग्गा धनीले ‘पावर’ र पैसाको बलमा मेयरबाटै सिफारिस लिएको बताए । उनले भने, ‘जग्गा धनीकै परीवारका एक सदस्य अघिल्लो वडा अध्यक्ष हुनुहुन्थ्यो । वहाँले त्यसबेला पनि बल प्रयोग गरेर अरुको जमिनमा बाटो बनाउनु भएको थियो । अहिले पनि त्यो विवाद कायमै रहेकोले मैले दुवैजना आउनुस् भनेको मात्र थिएँ । तर, उहाँ पावर देखाउन मेयरकोमा पुगेर सिफारिस लिएछन् ।’

यता नगरप्रमुख शिवशंकर महतोले आफू कार्यालयबाट बाहिर निस्कने क्रममा गाडीमै कर्मचारीले ल्याएर हस्ताक्षर गराएकोले कागज हेर्न नपाउँदा यस्तो हुनु पुगेको बताए । आफूले हस्ताक्षर गरेको स्वीकार्दै राम्रोसँग कागज हेर्न नपाउँदा त्यस्तो पर्न गएको उनको भनाइ छ ।

गत माघ १४ गते धनगढीमाई नगरपािलकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया’ मा पनि यस विषयमा वडाअध्यक्षहरुले कुरा उठाएका थिए । आयोगका बर्दिवास प्रमुख गोपाल अधिकारीसमेतको उपस्थिति रहेको कार्यक्रममा वडाअध्यक्षहरुले यस विषयमा कुरा उठाए पनि बिनासुनुवाइ कार्यक्रम समापन गरिएको सहभागीहरु बताउँछन् ।

उनीहरुले भने, ‘बाटो नभएको जग्गामा कृषि सडक भएको सिफारिस दिनु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख समेत रहेको कार्यक्रममा राजस्व छली समेत देखिए पनि यस्ता गम्भीर विषयउपर कसैले कुनै किसिमको चासो नलिनुले स्थानीयस्तरमा विभिन्न किसिमका शंका उपशंकाहरु उब्जिन थालेका छन् ।’ उनीहरुले आर्थिक चलखेलको आशंका पनि गरेका छन् ।

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं, १८ माघ । प्रि-ओपन सेसनमा बुधबार सेयर बजार सामान्य अंकले घटेकाे छ । यो सेसनमा नेप्से परिसुचक ०.२५ अंकले घटेर २१११.४३ विन्दुमा आएको छ ।यससँगै १६ कम्पनीको ४७ सय ६ कित्ता सेयर खरिदबिक्री हुँदा १९ लाख भन्दाबढी रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ । १ कम्पनी भने स्थिर छ ।यता, १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

ओली र लिङ्देनसँग प्रचण्डको भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । प्रमुख सत्तासाझेदार दलबीच गृहमन्त्री कसलाई बनाउने भन्ने विषय पेचिलो बनेको छ । मंगलबार बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाउने जानकारी गराए ।

उनले नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताए । यसको भोलिपल्ट बुधबार बिहान प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् । लामिछानेले पुनः नेपाली नागरिकता प्रमाणपत्र लिएसँगै उनलाई गृहमन्त्री बनाउनुपर्ने बताउँदै आएका ओली बुधबार बिहानै प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगेका हुन् ।

ओलीसँगै राप्रपा अध्यक्ष तथा उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन पनि प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन् । गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र ऊर्जामन्त्री लिङ्देनबीच समसामयिक राजनीतिकसहितका विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई मंगलबार भेटेर रास्वपा सभापति लामिछानेले गृहमन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको भोलिपल्ट प्रचण्ड, ओली र लिङ्देनबीच छलफल भएको हो । साथै उनीहरुबीचको भेटवार्तामा राष्ट्रपति पदको उम्मेदवारको विषयमा पनि कुराकानी भएको छ ।

इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम

मुम्बई, १८ माघ । गायन, नृत्य अथवा अभिनयको रियालिटी शो नै किन नहोस् । ती शोका विजेताहरु सीमित समयवाधिका लागि मात्र चर्चामा रहन्छन् । जब अर्को विजेताको घोषणा हुन्छ, पूर्व विजेताको विस्तारै हराउदै गएका उदाहरण धेरै छन् । उनीहरु कहाँ के गरिरहेका छन् भन्ने भेउ फ्यानले पनि पाउँदैनन् ।

भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ विजेताको सूची हेर्ने हो भने यस्तै अवस्था छ । यहाँ पहिलो ‘इण्डियन आइडल’ अभिजित सावन्तदेखि पछिल्लो संस्करणका विजेता पवनदिप राजन के गरिरहेका छन् भन्ने कुरा प्रस्तुत गरिएको छ ।

अभिजित सावन्त
अभिजित सावन्तले पहिलो ‘इण्डियन आइडल’को ट्रफी जितेका थिए । अहिले उनी संगीत उद्योगदेखि गायब नै छन् ।

सन्दिप आचार्य
सन्दिप ‘इण्डियन आइडल २’ का विजेता हुन् । उनको सन् २०१३ मा निधन भइसकेको छ ।

प्रशान्त तामाङ
प्रशान्त ‘इण्डियन आइडल ३’ का विजेता हुन् । उनी लाइभ शो गर्छन् र क्षेत्रीय भाषामा गीत गाउँछन् । यतिमात्र नभई उनी नेपाली फिल्ममा पनि सक्रिय छन् ।

सौरभी देवबर्मा
सौरभी ‘इण्डियन आइडल ४’ कि विजेता हुन् । उनी आजकल लाइभ शोमै गीत गाउँछिन् ।

श्रीराम चन्द्र मयनमपति
श्रीराम ‘इण्डियन आइडल ५’का विजेता हुन् । आजकल उनी संगीत उद्योगमै सक्रिय छन् ।

विपुल मेहता
विपुल ‘इण्डियन आइडल ६’ का विजेता हुन् । उनी अहिले उद्योगबाट गुमनाम छन् ।

अन्जना पद्यनाभन
अन्जना ‘इण्डियन आइडल ७’ की विजेता हुन् । उनी पनि अहिले उद्योगबाट गायब छिन् ।

अनन्या श्रीतम नन्दा
अनन्या ‘इण्डियन आइडल ८’ कि विजेता हुन् । उनी अहिले पनि गायनमै सक्रिय छिन् ।

एलवी रेवन्त
एलवी ‘इण्डियन आइडल ९’का विजेता हुन् । उनी संगीतमा सक्रिय छन् ।

सलमान अली

सलमान ‘इण्डियन आइडल १०’का विजेता हुन् । उनी रियालिटी शो र लाइभ शोमा व्यस्त छन् ।

सनी हिन्दुस्तानी
सनी ‘इण्डियन आइडल ११’का विजेता हुन् । उनी लाइभ शो गरिरहेका छन् ।

पवनदिप राजन
पवनदिप ‘इण्डियन आइडल १२’का विजेता हुन् । उनी लगातार गायन रियालिटी शोमा आफ्नो उपस्थिति जनाउदै आएका छन् ।

अर्कैको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

भक्तपुर, १८ माघ । प्रहरीले भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट एकजना नक्कली परीक्षार्थी पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउँपालिका–५ का २५ वर्षीय युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने दोलखा गौरीशंकर– ५ कै २३ वर्षीय देवबहादुर श्रेष्ठलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

प्रहरी सहायक हवल्दार भुपेन्द्र कार्कीको टोलीले नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए । सोही घटनाको वास्तविक परीक्षार्थी युवराज खड्कालाई कार्यालयमा झिकाई थप अनुसन्धानको लागि कार्यालयको हिरासतमा राखिएको प्रहरीको भनाइ छ ।

दूध उत्पादनको सिजनमै बजारमा अभाव, तर गाउँमा बिक्दैन

काठमाडौँ । दूध उत्पादनको सिजनमै बजारमा अभाव देखिन थालेको छ । बजारमा माग बढ्दै गए पनि सोअनुसार उत्पादन नहुँदा सहर बजार क्षेत्रमा दूधको अभाव भएको हो ।

कोभिड–१९ का बेला बिक्री नभएर खेर गएपछि उत्पादन घटेकाले अहिले दूधको अभाव हुन थालेको हो । उत्पादनमा कमी आउनुका साथै ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध उच्च माग भएको सहरसम्म ल्याउन नसक्दा अभाव देखिएको हो ।

राष्ट्रिय डेरी एसोसिएनका अध्यक्ष प्रह्लाद दाहालले बजारमा हाल दैनिक पाँच लाख लिटर दूधको अभाव रहेको जानकारी दिनुभयो । सामान्य अवस्थामा बजारमा दैनिक ३६ लाख लिटर दूधको आपूर्ति हुने गरेकामा अहिले ३१ लाख लिटर मात्रै वितरण हुने गरेको उहाँले जानकारी दिनुभयो ।

खपत बढ्दै गएपछि सो अनुपातमा उत्पादन बढ्न नसक्दा दूधको अभाव भएको उहाँको दाबी छ । बस्ती विस्तार हुँदा खपत बढ्दै गएको र गाउँमा उत्पादन भएको दूध बजारमा आउन नसकेकाले पनि सहरी क्षेत्रमा दूधको अभाव भएको उहाँले बताउनुभयो ।

कोभिड–१९ महामारीअघि खपत नभएको दूधबाट धूलो दूध उत्पादन गरेर भण्डारण गर्ने गरिएको थियो तर अहिले दूधकै उत्पादन कम भएकाले दुग्ध उद्योग पूर्ण रूपमा सञ्चालनमा नआएको व्यवसायीले बताउनुभयो ।

दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झाले असोजदेखि फागुनसम्म धेरै दूध उत्पादन हुने समय भए पनि अहिले अभाव रहेको बताउनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

यस्तो छ आजको हरियो तरकारी र फलफूलको मुल्य

काठमाडौ, १८ माघ-कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बुधबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ तोकेको छ।उता, हरियो अंगुर १५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु २९ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती १२० रुपैयाँ, किवि ३०० रुपैयाँ र अकबरे खुर्सानी २०० रुपैयाँ कायम रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार लोकल गाजरको औसत मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल सानो गोलभेडा १० रुपैयाँ , राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ११० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ७० रुपैयाँ रहेको छ ।
यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा र मंगुरी २६० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा पाइन्छ ।

रवि लामिछानेले पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ।राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ।लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले यही माघ १२ गते विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिएको फैसला सुनाएपछि उनको सांसद पद बदर भएको थियो।

सांसदसँगै उनको उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापति र संसदीय दलको नेताको पद पनि गुमेको थियो।त्यसपछि १४ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता प्रमाणपत्र पुनः प्राप्त गरेका लामिछाने सोही दिन रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किएका थिए।लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरे पनि उनको अमेरिकी नागरिकताबारेको आशंका हटेको छैन।

लामिछानेको अमेरिकी नागरिकता सम्बन्धमा सरकारी निकायले अमेरिकी सरकारसँग मागेको जवाफ नआइसकेकाले शंका गर्ने ठाउँ रहेको हो।
‘उहाँ (लामिछाने) ले अझैसम्म अमेरिकी नागरिकता त्यागेरनत्यागेको विषयमा आधिकारिक प्रमाण आएको छैन,’ युवराज पौडेल (सफल) भन्छन्, ‘नेपाल सरकारका निकायले अमेरिकी सरकारसँग मागेको जवाफ नआइसक्दै विश्वास गरिहाल्नुपर्ने अवस्था छैन ।’
यो खबर आजको नागरिक दैनिकमा छ ।

लामिछानेले नेपाली नागरिकता नलिएको भन्दै यिनै पौडेलले सर्वोच्चमा रिट निवेदन दिएका थिए।लामिछानेको नागरिकता छानबिनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंले उनको अमेरिकी नागरिकता त्याग प्रक्रिया पूरा भएरनभएको विषयमा काठमाडौंस्थित अमेरिकी राजदूतावाससँग जानकारी मागेको थियो। यसबारे दूतावासले अहिलेसम्म कुनै जवाफ दिइनसकेको प्रहरी स्रोतले बतायो।

खेर जाने अवस्थामा कोरोनाविरुद्धको ४० लाख बुस्टर ‘डोज’ खोप

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज (बुस्टर) खोप ल्याउने तयारी गर्दै गर्दा भण्डार गरी राखिएको ४० लाख डोज खोप भने खेर जाने अवस्थामा पुगेको छ ।पहिलो, दोस्रो र तेस्रो डोज खोप लगाइसकेका नागरिकलाई चौथो डोज दिनेगरी सरकारले पहिलो र दोस्रो चरणमा गरी ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गर्दै गर्दा पहिल्यै ल्याइएका ४० लाख डोज साइनोभ्याक खेर जाने अवस्थामा पुगेको हो ।

त्यस्तै, ३ लाखभन्दा बढी डोज भेरोसिल खोपसमेत स्टक छ । देशका सातै प्रदेशसहित विभागको कोल्डस्टोरमा ४३ लाख ८८ हजार ६ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागको तथ्यांक छ ।

त्यसमध्ये साइनोभ्याक मात्रै ४० लाख डोज छ । त्यसबाहेक अन्य भेरोसिल खोप मौज्दात छ ।स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले ४० लाख डोज साइनोभ्याक र बाँकी भेरोसिल खोप विभागको कोल्ड स्टोरहरूमा स्टक रहेको जानकारी दिए ।यो खबर आजको राजधानी दैनिकमा छ ।

विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा प्रयोग गर्न अनुमति दिएको छैन । तर, भेरोसिल भने पहिलो र दोस्रो डोज लगाउन केही जनसंख्या बाँकी रहेकाले लगाउन मिल्ने विभागको बुझाइ छ ।साइनोभ्याक खोप भने स्वास्थ्य मन्त्रालयले विशेष निर्णय नगरे खेर जान सक्छ ।

नौ वर्षअघि चोरी मुद्धामा अदालतबाट दोषी ठहर भएका अभियुक्त पक्राउ

खोटाङ, १७ माघ -खोटाङमा चोरी मुद्धामा अदालतबाट दोषी ठहर अभियुक्त पक्राउ परेका छन् । जबरजस्ती चोरी मुद्धामा जिल्ला अदालत खोटाङबाट नौ वर्षअघि कैंद सजाय तोकिएका केपिलासगढी गाउँपालिका–७ सुंदेल घर भइ धरान मंगलबारे बस्ने ३२ वर्षीय धनिराम भन्ने धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

हालसम्म फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । चोरी मुद्धामा राईलाई जिल्ला अदालतले २०७२ असोज २४ गते चार वर्ष एक ना १५ दिन कैंद सजाय तोकेको थियो । राईमाथि ओखलढुंगामा चोरी गरेको मुद्धा परेको थियो । अभियुक्तको ठेगाना खोटाङ भएकाले कारबाहीका लागि ओखलढुंगा प्रहरीले २०७२ सालमा खोटाङमा रेकर्ड पठाएको थियो ।

यस्तै, हलेसी मन्दिरको दान पेटिकाबाट नगद चोरी गरेको अभियोगमा इलाम साक्फारा नगरपालिका–७ कालापानीका २५ वर्षीय रुपेश राई पक्राउ परेका छन् । पक्राउ गरेर चेकजाँच गर्दा राईको साथबाट चार हजार ६९० रुपैयाँ र भारु एक हजार ८४५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । माघ १५ गते राती चोरीको अभियोग लागेका राई विरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रवि लामिछाने बिरुद्धको उजुरी दर्ता भएन, सर्वोच्चको पुर्ण पाठ पछि निर्णय हुने

काठमाडौं, १८ माघ-सर्वोच्च अदालतको आदेशवाट मन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलो दोहारो राहदानीबिरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परे पनि दर्ता भने हुन सकेको छैन ।

सिन्धुली जिल्लाका युवराज पौडेल सफलले मंगलबार काठमाडौँ प्रहरी कार्यालयमा अमेरिका र नेपालको दोहोरो राहादानी लिएको आरोपमा अनुसन्धान गर्न उजुरी दिए पनि प्रहरीले उनी बिरुद्धको उजुरी भने हाललाई दर्ता गरेको छैन ।

काठमाडौं प्रमुख दानबहादुर कार्कीका अनुसार नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएकोह हो । निवेदनमा पौडेलले खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका थिए ।

अमेरिकी डलर बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच

काठमाडौ, १८ माघ -नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।बुधबार अमेरिकी डलरको मूल्यमा ६८ पैसाले वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको खरिददर १३० रूपैयाँ १० पैसा र बिक्रीदर १३० रूपैयाँ ७० पैसामा कारोबार भएको थियो।

आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रूपैयाँ १९ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिदमा १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ । आज यसको खरिददर १६१ रूपैयाँ ५ पैसा र बिक्रीदर १६१ रूपैयाँ ७९ पैसा तोकिएको छ। यसअघि मंगलबार यसको खरिददर १६१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १६२ रूपैयाँ २५ पैसा तोकीएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको भाउ ८९ पैसाले घटेको छ । बुधबार यसको खरिद मूल्य ९१ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ८३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य ९२ रूपैयाँ २९ पैसा र बिक्रीमा ९२ रूपैयाँ ७२ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा भने ९ पैसा घटेर यसको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रूपैयाँ १३ पैसामा पाइन्छ।

बुधबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रूपैयाँ तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८३ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ३० रूपैयाँ ८० पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ १३ पैसा र बिक्रीमा ४३० रूपैयाँ ९ पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ४८ पैसा तोकिएको छ

सन्दिप माथी निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने वाटो खुल्ला

काठमाडौं – बलात्कारको आरोपमा थुनामा परेका नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेको छ ।

मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बैठकले पुर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अघि मात्र उच्च अदालत पाटनको सर्तसहित धरौटीमा रिहा भएको केही समय पछि क्यानले उनी माथीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै लामिछानेलाई पुनः क्रिकेट मैदानमा फर्कने वाटो खुलेको छ ।

गत भदौ २३ मा क्यानले किशोरी बलात्कारको आरोप लागेपछि लामिछानेलाई निलम्बन गरेको थियो ।

माओवादी केन्द्रको स्थायी समिति आज पनि, बिभागहरुले पुर्णता पाउने

काठमाडौं – सत्तारुढ माओवादी केन्द्रको स्थायी कमिटिको बैठक आज पनि जारी रहने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकवाट ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतका पुर्ण पाठ नपाएसम्म रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नहुने’ म्यान्डेट पाईरहेको बेला सो बैठक बस्न लागेको हो ।

माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी बिभागलाई पुर्णता दिने बारेमा बुधवार देखी छलफल हुने बुझिएको छ । सोही अनुसार स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई बिभिन्न बिभागको जिम्मेवारी दिईदैछ ।

आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीमा हिमपात हुन सक्ने

काठमाडौं – देशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती पनि  प्रदेश नं. १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

माइकलको बायोपिकमा माइकल ज्याक्सन बन्दै जाफर

लसएञ्जल्स, १७ माघ । आफ्नो गीतले विश्वलाई नचाउने प्रख्यात पप गायक माइकल ज्याक्सनलाई कुनै पनि परिचयको आवश्यकता छैन । नृत्य र गायनमा अब्बल ज्याक्सनलाई उनको गुणका कारण विश्वले सम्झन्छन् । अहिले यिनै ‘किङ अफ पप’को बायोपिक ‘माइकल’ बनाउने तयारी भइरहेको छ ।

फिल्ममा उनका २६ वर्षे भतिजा जाफर ज्याक्सनले काका माइकलको भूमिकामा अभिनय गर्नेछन् । एन्टोनी फुक्वाको निर्देशन रहने फिल्मका लागि लायन्स गेटले सोमबार कास्टिङ फाइनल गरेको छ । फिल्मको निर्माण ग्राहम किङले गर्नेछन् ।

‘मैले दुई वर्षअघि जाफरलाई भेटेको थिएँ । उनले जसरी माइकलको व्यक्तित्वलाई व्यवस्थित रुपले बताए, त्यही समयदेखि म उनीबाट प्रभावित थिएँ । यो यति शक्तिशाली थियो कि विश्वभर खोजी गर्दा पनि यो प्रष्ट थियो कि यो भूमिका निभाउने व्यक्ति उनी एकमात्र हुनसक्छन्’, ग्राहमले भनेका छन् ।

इन्स्टाग्राममा कास्टको घोषणा गर्दै जाफरको एक श्यामश्वेत तस्बिर पनि साझा गरिएको छ, जसमा उनी आफ्नो भूमिकाका लागि पूर्ण रुपमा डुबेको देख्न सकिन्छ ।

जाफरले पनि आफ्नो ट्वीटर हेण्डलमा काकाको भूमिका निभाउने अवसर दिएकोमा आभार व्यक्त गरेका छन् । ‘म मेरो काका माइकलको जीवनको कथालाई पर्दामा ल्याउनका लागि विनम्र र सम्मानित महशुस गरिरहेको छु । म तपाईंहरुसँग चाँडै भेट्नेछु’, उनले ट्वीटेका छन् ।

सिद्धार्थनगरका २६ जनालाई होटल तथा लज व्यवस्थापन तालिम

भैरहवा – नगर क्षेत्रमा पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गरी होटल व्यवसायलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन १० दिने साना होटल तथा लज व्यवस्थापन तालिम प्रदान गरेको छ ।

सिद्धार्थनगर नगरपालिकाको आयोजना नेपाल पर्यटन  तथा होटल व्यवस्थापन प्रतिस्ष्ठान काठमाडौंको सहकार्यमा होटल कसरी चलाउने सम्पूर्ण प्याकेज कुकिङ, हाउस किपिङ, सर्भिस र फ्रन्ट अफिसलगायतको विषयमा केन्द्रित भई तालिम दिइएको हो ।

नगरभित्रका २६ जना होटल व्यवसायी, कार्यरत कर्मचारी, होटल व्यवसाय गर्न इच्छुक र विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको नगरपालिकाका अधिकृत कमलकान्त खनालले जानकारी दिए । सञ्चालन गरिरहेको होटललाई के कसरी थप व्यवस्थापन गर्ने, रोजगारी सृजना गर्न र क्षमता अभिवृद्धि गरी यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न स्वरोजगार बन्न सहयोग पुगेस भन्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको अधिकृत खनालले बताए ।

माघ ४ गते देखि भैरहवा स्थित पौवा होटलमा साना होटल तथा लज व्यवस्थापन तालिम सुरु गरिएको थियो । कोभिडले शुन्य अवस्थामा पुगेको पर्यटन व्यवसायको मुख्य होटल व्यवसायी नै भएकोले यस व्यवसायलाई पूर्वावस्थामा ल्याउन तालिमले थप सहयोग पुग्ने तालिममा सहभागी होटल व्यवसायीले भने । तालिमबाट हामीलाई समयसापेक्ष ज्ञान तथा सीप प्रदान भएको र यसलाई व्यवहारमा उतारी थप व्यवस्थित रुपमा होटल संचलन गर्न सहयोग पुग्ने उनीहरूले बताए ।

१० दिने तालिममा होटल संचालनका लागि आधारभूत सबै क्षेत्रलाई समेटेर तालिम प्रदान गरिएको सहयोगी संस्था नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठानका तालिम संयोजक अशोक उपाध्यायले बताए । करिब सय वढि चाइनिज, इन्डिियन, कन्टीनेन्टीयल, ब्रेक फास्ट, सुप, डेजर्ट, सलाद, थाली खाना, र खानाका परिकारहरुको तालिम दिएका छौ यसले होटलमा काम गर्नेहरुका लागि र होटल संचालन गर्ने तयारीमा रहनु भएका सबैले प्रत्यक्ष रुपमा लाभ लिएका छन् ।

प्रधान सेनापति र यूएईका राजदूतबीच भेटवार्ता

काठमाडौं – प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला बिन जरवन अल शस्मीबीच भेटवार्ता भएको छ ।

प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा मंगलबार भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

गोविन्दाः हिरो बन्न २४ लाख गायत्री मन्त्र जप

एजेन्सी – बलिउडका ‘राजा बाबू’ अर्थात् गोविन्दाले आफ्नो स्टारडमका कारण बलिउडमा कुनै समय सबैलाई हैरान बनाएका थिए । एक समय यस्तो थियो कि गोविन्दाको नामले नै फिल्म सुपरहिट हुन्थ्यो । ठूला स्टार पनि गोविन्दाको अगाडि आफ्नो फिल्म रिलिज गर्न डराउँथे ।

गोविन्दाले आफ्नो करियरको सुरुवात सन् १९८६ मा रिलिज फिल्म ‘इल्जाम’बाट गरेका थिए । उनको सोही वर्ष  अर्को फिल्म ‘लव डट’ रिलिज भयो । दुवै फिल्म बक्सअफिसमा सुपरहिट भयो । यद्यपि सन् १९९२ मा रिलिज फिल्म ‘शोला और शबनम’ले गोविन्दाले कमेडी किंगको पदक नै पाए । आफ्नो करियरमा १ स्य ६५ भन्दा बढी फिल्ममा अभिनय गरेका गोविन्दाले कम उमेरमै सफलता पाए । उनी जहिल्यै आमालाई यसको श्रेय दिन्छन् ।

गोविन्दाका अनुसार उनले केवल १४ वर्षकै उमेरमा २४ लाख गायत्री मन्त्रको जप गरेका थिए । ‘मैले जे पाएँ, आमा बाबुको आशीर्वादबाट पाएँ । खास रुपमा आमाको नाम यसकाण लिन्छु कि जब म १४ वर्षको थिएँ । त्यो बेला आमाले मलाई गायत्री उपासना गर्नु भन्नुभयो । मैले २४ लाख गायत्री उपासना गरें । म कहिल्यै हिरो देखिन्न थिएँ । तर गायत्री मन्त्र जपेपछि म हिरो देखिन थालें’, उनले भनेका छन् ।

गोविन्दाले मात्र २२ वर्षको उमेरमा एकसाथ ५० फिल्म साइन गरेका थिए । यस्तो घटना मुम्बई फिल्म उद्योगमा कहिल्यै भएन । यति धेरै फिल्म साइन गरेपछि गोविन्दालाई लिएर एक पत्रिकाले कभर स्टोरी गरेको थियो, जसमा उनलाई ‘सुनको अण्डा दिने कुखुरी’ भनिएको थियो ।

मकवानपुरमा १३० विघा क्षेत्रमा लगाइएको अफिमखेती नष्ट

हेटौंडा – मकवानपुरमा १३० विघा अफिम र २८ विघा गाँजा खेती नष्ट गरिएको छ । मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० विघा अफिम र २८ विघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो ।

प्रहरीले लागू पदार्थ उत्पादन न्यूनिकरण अभियान सञ्चालन गरेर माघ १४ गतेदेखि १६ गतेसम्म नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरेको मकवानपुरका प्रहरी प्रवत्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ विघा अफिम र २८ विघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो भने कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ विघामा लगाइएको अफिम नष्ट गरेको हो ।

प्युठानबाट चोरीको सामानसहित दुई जना पक्राउ

प्युठान – चोरीका सामग्रीसहित प्यूठानबाट दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार स्वर्गद्वारी नगरपालिका-४ भिंगृमा खटिएको प्रहरीको गस्तीले रोल्पाका दुई युवा पक्राउ परेका हुन् ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ का २८ वर्षीय देव पुन र लुंग्री गाउँपालिका-६ गुम्चालका १८ वर्षीय भिमे परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूसँग खानतलासी गर्दा विभिन्न स्थानबाट चोरी गरेर ल्याइएका भाडाकुडाहरू (तामाको ताउला २, गाग्री २, कसौडी ३, डाडु १ थान) र २ थान मोबाइल सेट फेला परेको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानमा लगिएको छ ।

चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

प्रशासनले एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो ।

सूचनामा नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब तीन हजारको संख्यामा अनलाइन आवेदन खुल्ने व्यवस्था गर्न लागिएको उल्लेख गरिएको छ ।

सुर्खेतमा गाडी दुर्घटना हुँदा १३ जना घाइते

कालीकोट – सुर्खेतबाट कालीकोटतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेखस्थित रामाघाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा  पाँच जना गम्भीर घाइते भएका छन् । अन्य आठ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

११ जना यात्रु र दुई जना चालक गरी १३ जना रहेकोमा सबै जना घाइते भएको प्रहरीको भनाइ छ । घाइतेहरूको पहिचान हुन बाँकी छ ।

पाठेघर खसेका ३२ महिलाको निःशुल्क उपचार गरिदिने हलेसी तुवाचुङको तयारी

खोटाङ, १७ माघ ।   खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरिदिने तयारी गरेको छ । घर–घरमा स्वास्थ्यकर्मी खटाएर गरिएको स्वास्थ्य परिक्षणका क्रममा पहिचान भएका पाठेघर खसेका ३२ जना महिलाको निःशुल्क उपचारको तयारी गरेको हो ।

पाठेघर खसेका महिलाको पहिचानका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाएको नगरपालिकाले पहिचान भएका पाठेघर खसेका महिलालाई बनेपा लगेर उपचार गर्ने प्रवन्ध मिलाइएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए । पाठेघर खसेका महिलाको शल्यक्रिया खर्च र उनीहरुको कुरुवालाई लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने जनाएको छ । पाठेघर खस्ने समस्याका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलाको पहिचान गर्दै उपचार व्यवस्थाका लागि नगरपालिकाले गत माघ १ गतेदेखि माघ ९ गतेसम्म घर–घरमा स्वास्थ्यकर्मी पठाएको थियो ।

घर–घरमा पुगेर २२५ महिलाको पाठेघरको परीक्षण तथा उपचार गर्दा ३२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था पत्ता लागेको हो । नगरपालिकाको ११ वडामध्ये बाहुनीडाँडा, बडहरे, मंगलटार बाहेक अन्य वडामा पाठेघर खस्ने समस्या पहिचान भएको हो । डिकुवामा २ जना, च्यास्मिटारमा ५ जना, दुर्छिममा ९ जना, महादेवस्थानमा ५ जना, धितुङमा २ जना, सल्लेमा २ जना, अर्खौलेमा ४ जना र राजापानीमा ३ जना महिलाको पाठेघरको शल्यक्रीया गर्नुपर्ने देखिएको नगरपालिकाले जनाएको छ ।

परीक्षण गरिएकामध्ये १०६ जनाको पाठेघरमा रिङ प्रेरी राखिएको छ । यस्तै, १०४ जना महिलाको पाठेघर सम्बन्धी संक्रामक रोगको उपचार गरिएको छ । पाठेघरको समस्या सुरु भएका महिलालाई आवश्यकता अनुसार औषधि वितरण र परामर्श प्रदान गरिएको स्वास्थ्य संयोजक घिमिरेले बताए । पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिबिरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले स्वास्थ्यकर्मीलाई घर–घरसम्मै पठाएको थियो । पाठेघर झरेर पहिलो र दोश्रो स्टेजमा पुगेका महिलाको उपचारका लागि रिङप्रेसरी राख्ने, घाउ उपचारका लागि औषधि प्रदान गर्ने र तेश्रो र चौथो स्टेजमा पाठेघर खसेका महिलाको तथ्यांक संकलन गरेर उपचारको प्रवन्ध गर्न लागिएको हो ।

अघिल्लो वर्ष पनि नगरपालिकाले बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खस्ने समस्याको उपचार शिबिर सञ्चालन गरेको थियो । तर शिबिरमा पाठेघर खसेका महिलाको अपेक्षित उपस्थिति नरहेपछि घर–घरमा सहयोगी सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको मेयर बिमला राईले बताईन् । गत शिबिरमा स्वास्थ्यकर्मीले खिचेको आङ सिरिङ पार्ने पाठेघर खसेको तस्विर देखेपछि स्वयं मेयर राईले पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने निर्णय गराएकी थिइन् ।

पठानका कारण सर्‍याे शहजादा

मुम्बई, १७ माघ । बलिउड अभिनेता कार्तिक आर्यन आफ्नो नयाँ फिल्म ‘शहजादा’को प्रमोसनमा व्यस्त छन् । उनी अभिनेत्री कृति सेननका साथ फिल्म प्रमोसनमा व्यस्त भएका हुन् । आगामी फेब्रुअरी १० मा रिलिजको तयारीमा रहेको ‘शहजादा’ अब फेब्रुअरी १७ मा रिलिज हुने भएको छ ।

थिएटरमा अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को कमाई जबरदस्त भइहँदा यो अवस्थामा हल पाउने सम्भावना कम भएपछि निर्माण पक्षले ‘शहजादा’लाई एक हप्तापछि सारेको हो ।

व्यापार विश्लेषक तरुण आदर्शले आफ्नो ट्वीटर हेण्डलमा कार्तिक र कृतिको फिल्म ‘शहजादा’को रिलिज मिति सरेको उल्लेख गरेका छन् । ‘शहजादा १० फेब्रुअरीमा नभई १७ फेब्रुअरीमा रिलिज हुँदैछ । फिल्मको रिलिज मितिलाई एक हप्ता पछाडि सार्नुमा शाहरुखको फिल्म ‘पठान’लाई प्रमुख कारण मानिएको छ’, उनले ट्वीट गरेका छन् ।

फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई गृहमन्त्री बनाउँदिनँ – प्रचण्ड

काठमाडौं, १७ माघ । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकता अवैधानिक रहेको फैसलाको पूर्णपाठ नआएसम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका छन् ।

कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले फैसलाको पूर्णपाठ नआउँदासम्म कसैलाई पनि गृहमन्त्री नबनाउने बताएका बैठकपछि कृष्णबहादुर महराले जानकारी दिए ।

गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले तत्काल गृहमन्त्री नबनाउने भएका हुन् । गत शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता अवैधानिक रहेको ठहर गर्दै उनलाई सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो ।

तर, आइतबार पुन नेपाली नागरिकताको प्रमाणपत्र लिएका लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने उनले नेतृत्वको गरेको राष्ट्रिय स्वतन्त्र पार्टी तथा सत्तासाझेदार केही दलले प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिइरहेका छन् ।

तर, आफ्नो पार्टीको बैठकमा प्रचण्डले फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री कसैलाई पनि नबनाउने स्पष्ट पारेका हुन् । लामिछानेले अमेरिकी नागरिकता र राहदानी हुँदा बखत नै खारेज भएको नेपाली नागरिकता प्रमाणपत्रबाट नेपाली राहदानी लिएको विषय विवादमा रहेकाले उनलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन आनकानी गरेका हुन् ।

पदाधिकारी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई तत्काल कसैलाई गृहमन्त्री नबनाउन नेताहरुले सुझाव पनि दिएका छन् ।

सुर्खेतमा सांसदलाई कारबाही गर्ने सिडियो भक्तपुरमा, भन्छन ‘गलत गर्ने सबै कारवाहीमा’

भक्तपुर – भक्तपुरमा केही दिन अगाडि मात्रै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सिडीओ) खगेन्द्रप्रसाद रिजालले जनताको पक्षमा काम थाल्ने बताएका छन् ।

जिल्लाका सक्रिय पत्रकारहरुसंग सोमबार गरेको परिचयात्मक कार्यक्रममा उनले पहिलो पटक यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुखलाई बोलाई छिटोछरिटो काम गर्ने वातावारण मिलाउने विषयमा छलफल गर्ने बताए । कार्यक्रमको क्रममा पत्रकारहरुसँंग सुझाब लिने क्रममा यातायात व्यवस्था कार्यालय भक्तपुरमा अहिलेसम्म पनि सेवाग्राहीले सास्ती खेप्नुपरेको बताएपछि सिडिओ रिजालले भने, “ल त्यसो भए म आजै कार्यालय प्रमुखलाई बोलाई छलफल गर्छु र यहीबाट मेरो काम सुरु हुन्छ ।” उनले जनताको अन्य समस्यामा पनि आफूले प्रभाबकारी भूमिका खेली सहजता उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

फरक प्रसंगमा उनले सार्वजनिक विदाका दिनहरुमा सरकारी सवारीसाधन दुरुपयोग गरी चलाउनेहरुमाथि कारबाही गर्ने चेतावनी पनि दिए । आफू सुर्खेतको प्रमुख जिल्ला अधिकारी हुँदा माननीयले पनि विदाको दिन सवारीसाधन चलाएपछि कारबाही गरेको स्मरण गर्दै उनले कानुन नियमलाई सवैले पालना गर्नुपर्ने बताए ।

सो अवसरमा प्रजिअ रिजालले आफुले मताहतका सबै कर्मचारीलाई सकिन्छ राम्रो काम गर्न र सकिदैन नराम्रो नर्गन निर्देशन दिएको जनाए । उनले भने, ‘अरुले नगरेको काम सिडियो कार्यालयले गर्ने परिपाटी रहेकाले जनचासो र गुनासोलाई समाधन गर्दै अगाडि बढ्ने छ ।’

कार्यालयमा ओयोजिज कार्यक्रममा भक्तपुरमा सक्रिय पत्रकारहरुले प्रजिअलाई विभिन्न विषयमा सुझाव दिएका थिए । शनिबार र अन्य बिदाको दिन सरकारी सवारीसाधन दुरुपयोग गरेर घुम्न हिड्नेको संख्या धेरै भएकाले सोको नियन्त्रण गर्नुपर्ने पत्रकारहरुले सुझाएका थिए । साथै उनीहरुले जिल्लाका संचालित माटो खानी, बालुवा अवैध उत्खननले गर्दा विनाश निम्त्याएकाले उचित समाधान हुनुपर्ने सुझाए । भक्तपुर –नगरकोट, भक्तपुर–ताथली–नाला सडकलगायत अन्य योजनाहरुको काम समयमा नसक्दा सर्वसाधरणलाई दुःख भएको समेत सो अवसरमा उनीहरुले जानकारी दिए ।

कार्यक्रममा पत्रकार महांसघका अध्यक्ष जगत प्रजापति, सहसचिव हेमराज ढकाल, सदस्यहरु संन्जीव दुलाल, हरिसुन्दर छुँका, रुपक ढुंगाना, पत्रकार पेशल आचार्य, स्वतन्त्र पत्रकार कृष्ण किसी, पूर्णभक्त दुवाल, बाबुकाजी श्रेष्ठ, मदन ढुंगाना, रत्न प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति दलीय कि गैरदलीय ?

राष्ट्रपतिको निर्वाचन मिति तोकिए पनि दलहरूले कसलाई राष्ट्रपति बनाउने विषयमा निष्कर्ष निकाल्न सकेका छैनन्। सत्तारुढ दल नेकपा एमालेले भागबण्डाका आधारमा राष्ट्रपति एमालेले पाउने दाबी गर्दैगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चुनिने बताइरहेका छन्। त्यतिमात्र होइन माओवादी बैठकबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको छ। जसका कारण एमाले संशकित बनेको छ।

यता निर्वाचनबाट ठूलो दल बनेको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गर्दै आएको छ। केहीअघि महामन्त्री विश्वप्रकाश शर्माले सभामुखमा आफूहरू पराजित भए पनि राष्ट्रपति आफूहरूले भनेकै मान्छे हुने दबी गरे। उनको आश्य गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने हो।

२५ पुसमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच पनि यही विषयमा मौखिक सहमति भएको बताइन्छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने र कांग्रेसलगायत दलहरूकै समझदारीमा राष्ट्रपति बनाउने आश्वासन दिएका थिए। प्रचण्डको प्रस्ताव स्वीकारे गरेरै कांग्रेसले २६ पुसमा विश्वासको मत दिएका थिए। त्यसयता भएको सर्वदलीय बैठकमा पनि कांग्रेसलगायत दलहरू सहभागी भएका छन्।

माओवादीका स्थायी समिति सदस्य नारायण दाहालले राष्ट्रपतिमा पार्टीभन्दा माथि उठेर देशको नेतृत्व गर्नसक्ने पात्रको खोजी भइरहेको बताए। ‘हामीले तात्कालिकभन्दा दीर्घकालीनरूपमा राजनीतिक स्थिरता खोजेका छौं। देशलाई निकास दिन, देशलाई स्थिरतामा लैजानका निम्ति त्यस्तो पात्र खोजेका हौं,’ उनले भने।

उनले गैरदलीय भन्न नचाहे पनि सबैलाई स्वीकार्य हुने व्यक्तिको खोजी गरेको बताए। पोल्टिकल चेतनाचाहिँ हुनुपर्छ भनेका छौं। जसले राष्ट्रिय एजेण्डालाई बुझोस्,’ उनले थपे।

कांग्रेसका एक पदाधिकारीले भने ननपोलिटकल भए पनि कांग्रेसकै प्रस्तावमा नयाँ राष्ट्रपति बन्ने दाबी गरे। उनले त्यसका लागि कांग्रेसले गृहकार्य सुरु गरिसकेको बताए। ‘निर्वाचनको परिणामले पनि कांग्रेसले राष्ट्रपतिको कार्यभार सम्हालोस् भन्ने थियो। तर गठबन्धन जेजसरी बने पनि राष्ट्रपति कांग्रेसले भनेकै व्यक्ति हुन्छ। त्यो चाहे पोलिटिकल होस् या ननपोलिटिकल,’ ती पदाधिकारीले कांग्रेससँग भने।

दलीय राष्ट्रपति हुँदा पार्टीको स्वार्थ जोडिने भएकाले गैरदलीय व्यक्तिको विषयमा बहस सिर्जना भएको हुनसक्ने विश्लेषकहरू बताउँछन्। जसको दृष्टान्त नागरिकतालगायत विधेयकहरू भएको उनीहरूको भनाइ छ।तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएका अध्यादेश र दुवै सदनबाट पास भइसकेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।