`

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

काठमाडौं – नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको पहिलो सुनवाई आज हुने भएको छ ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दिप बिरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथी आज पहिलो सुनुवाइ हुने भएको हो ।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए।

उच्च अदालतको आदेश पछि रिहा भएका सन्दिपलाई पुन: नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात आज शुक्रवार सर्वोच्चमा पहिलो सुनवाई हुन लागेको हो ।

माओवादी स्थायी कमिटी बैठक आज पनि, बिभागको भागबन्डा अझै टुंगिएन

काठमाडौं – नेकपा माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण बुधवार र बिहिवार बिहान स्थगित भएको बैठक पुन: आज बस्ने भएको हो ।

समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखी पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय बिभागको कार्यबिभाजनका लागि बसेको  बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

हिजो अपरान्ह ४ बजे बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसके पछि आज पनि बैठक बोलाईएको हो ।

थाहा पाउनुहोस विश्व इतिहासमा आज

आज सन् २०२२ को ३ फेब्रुवरी । सदा झैं आज पनि इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

पाराग्वेका तानाशाहको शासन समाप्त – सन् १९८९ को ३ फेब्रुवरीमा पाराग्वेका तानाशाह अलफ्रेडो स्ट्रोस्नरको शासन समाप्त भएको थियो । पूर्व सैनिक अधिकारी रहेका अलफ्रेडोले कुमाफर्त सन् १९५४ को १५ अगस्टमा पाराग्वेको सत्ता हत्याएका थिए ।

इतिहासकै डरलाग्दो हिमआँधी – सन् १९७२ मा इरानमा इतिहासकै डरलाग्दो हिमआँधी आएको थियो । एक सातासम्म चलेको सो आँधीका कारण ४ हजार जनाको ज्यान गएको थियो । आँधीले धेरै जसो गाउँ नै पुरेको थियो ।

यासेर अराफत प्यालेस्टाइनको नेता – सन् १९६९ मा यासेर आरफात प्यालेस्टाइन लिबरेसन संगठन (पीएलओ) का नेता बनेका थिए । सन् २०११ मा मृत्युपछि पनि आराफत विवादास्पद पात्र बनेका थिए । अधिकांश अरबेली जनताहरुले उनलाई स्वतन्त्रताको योद्धा मान्छन् भने इजरायलीले अतिवादीको रुपमा व्याख्या गर्छन् ।

अन्तरिक्षमा लुना – सन् १९६६ मा सोभियत अन्तरिक्ष यान लुना ९ चन्द्रमामा पुगेको थियो । लुना चन्द्र्रमामा अवतरण पहिलो मानवरहित अन्तरिक्ष यान हो ।

लोकतन्त्रका विरुद्ध षडयन्त्र भैरहेको छ – अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा लोकतन्त्रका विरुद्ध षडयन्त्र भैरहेको बताएका छन् । बिहिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । लोकतन्त्रका विरुद्ध षडयन्त्र भैरहेकोले त्यसप्रति नेपाली जनता सजग र सचेत हुनुपर्ने उनको भनाई छ ।

लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको उनले बताए । उनले नेकपा एमालेको राष्ट्रपति पदमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान सत्ता समीकरणको उम्मेदवार भएको स्पष्ट पारे ।

रास्वपा तत्काल सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृहमन्त्रीका लागि दुई दिन पर्खिने निर्णय गरेको हो ।

यस्तै बैठकले सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए ।

नेपाल प्रहरीका १६३ डीएसपीको सरुवा [सूचीसहित]

काठमाडौं – प्रहरी प्रधान कार्यालयले १६३ जना डीएसपीको सरुवा गरेको छ ।

प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी १६३ नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको जानकारी गराएको हो । यस्तै, आजै ९५ जना एसपीको पनि सरुवा गरिएको छ ।

कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौं – कैलालीमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको चुरे गाउँपालिका-४ स्थित पनेरुवा शिविरका ४८ वर्षीय जब्बर रोकामगर भरुवा बन्दुकसहित पक्राउ परेको प्रहरीले जनाएको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी समूहले उनको साथबाट भरुवा बन्दुक फेला पारेको छ ।

बिहीबार उनलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

राप्रपाले गठन गर्‍यो १७ सदस्यीय केन्द्रीय निर्देशन समिति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ ।

बैठकले पार्टीको विधान बमोजिम पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी र सरकारबीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गरेको छ ।आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गरिने निर्णयसमेत बैठकले गरेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार रहेका पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ भुवन बहादुर माझी पक्राउ परेका छन् । सिन्धुली कमलामाई नगरपालिका १७ घर भई काठमाडौं महानगरपालिका ३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रूपैयाँ विगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।

मिस नेपालका लागि आवेदन खुला

काठमाडौं – द हिडेन ट्रेजर मिस नेपालले– २०२३ को आवेदन खुलाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्राका लागि आवेदन खुला भएको जानकारी दिए ।

उनले मिस नेपाल २०२३ को फाइनल प्रतियोगिता दुई हजार आठ सय दर्शकको क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज कन्भेसन सेन्टरमा हुने बताए ।

यस्तै, निर्देशक प्रमोद कंशाकारले यस कार्यक्रमअन्तर्गत प्रत्यक्ष एवम् अप्रत्यक्षरुपमा जोडिएका विभिन्न व्यावसायिक तथा प्राविधिक साझेदार संस्थाबारे जानकारी गराउनु हुँदै न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिनसक्नु हुने बताए ।

इच्छुक आवेदकसँग नेपाली नागरिकतासहित नेपाली राहदानी हुनुपर्ने प्रावधान पनि राखिएको छ । कार्यक्रममा यसअघि ‘मिस नेपाल इन्टरनेशनल २०२२’ को उपाधि जित्नु भएकी न्यान्सी खड्का, ‘मिस नेपाल अर्थ २०२२’ को उपाधि जित्नुभएका डा. सरिशा श्रेष्ठ र ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जित्नुभएका प्रियङ्का रानी जोशी गरी तीन जनाले मिस नेपालमा सहभागी हुँदाको अनुभव सुनाएका थिए ।

नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ‍ । प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार प्रहरी उपरीक्षक सरुवा भएको हो ।

माघ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागले जनाएको छ ।

स्वतन्त्र पार्टीले समर्थन फिर्ता नलिनेमा प्रधानमन्त्री विश्वस्त

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् ।

स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए ।
जवाफमा छोटो पत्रिक्रिया दिदै भने, ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’

सरकारमा बस्ने या नबस्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको बैठक चलिरहदाँ प्रधानमन्त्री प्रचण्डको यस्तो पत्रिक्रिया आएको हो ।

‘मुद्दा सिद्धिएको छैन, रास्वपाले अझै धैर्यता राख्नुपर्छ’ : उपाध्यक्ष महरा

काठमाडौं – माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता राख्नुपर्ने बताएका छन् । स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी गराउँने क्रममा प्रवक्ता कृष्णबहादुर महराले मुद्दाको विषय बाँकी भएकाले धैर्यता राख्नुपर्ने बताएका हुन् ।

महराले भने, हाम्रो धारणा हिजो नै भनिसके रास्वपाले अझै धैर्यता राख्नुपर्छ । उसको मुद्दाकोको पूर्णपाठ आएको छैन । मुद्दा सिद्धिएको पनि छैन । मन्त्रीमण्डलमा के गर्ने भन्ने निर्णय गर्न बाँकी नै छ । त्यसकारण त्यो बिषय हाम्रोलाई चर्चाको होइन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ तरमाओवादीले यसअघि नै रवि लामिछानेको मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नभएसम्म गृहमन्त्रालयबारे कुनै निर्णय नगर्ने बताइसकेको छ । रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ र उसको बिहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसिरहेको छ ।

कोहलपुरबाट सांसद अरुणकुमार चौधरी पक्राउ

बाँके, १९ माघ । प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट उनी निर्वाचित भएका हुन् ।

जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल सहभागी

काठमाडौं, १९ माघ । एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी भएका छन् ।आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा भुसाल पनि सहभागी भएका हुन् । एमाले त्यागेपछि भुसाल एकीकृत समाजवादीको बैठकमा पहिलोपटक सहभागी भएका हुन् ।

उनलाई एकीकृत समाजवादीले महासचिव बनाउने सर्त छ । सोही सर्तअनुसार बिहीबार सचिवालय बैठकमा भुसाल सहभागी भएका हुन् । जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । विशेषगरी बैठकमा राष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन केन्द्रित छलफल भइरहेको छ ।

सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय पाउँछ : केपी ओली

मोरङ, १९ माघ । प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वदलीय सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयको जिम्मेवारी पाउने बताएका छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए । तर, उनको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए । त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन् । 

गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब सृजना गरिरहेका बेला अध्यक्ष ओलीको उक्त धारणा सार्वजनिक भएको हो । यद्यपि, उनले लामिछानेलाई गृहमन्त्रीमा शपथ गराउन प्रधानमन्त्रीसँग आग्रह पनि गरेका थिए । ओली र लामिछाने दुवैको आग्रहलाई प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन् । 

यही पेरिफेरिमा बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले रास्वपाबाटै गृहमन्त्री हुने बताएका हुन् । 

रास्वपाले गृहमन्त्रीमा लामिछानेलाई पठाएमा अरुले आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको बताएका ओलीले भावी राष्ट्रपति एमालेबाटै हुने दाबी गरे ।

करार कर्मचारीको म्याद थप गर्ने विषयले विवाद बढ्दा अनिश्चितकालका लागि अस्पताल बन्द

बारा । करार सेवाका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निकाल्न सिम्रौनगढ नगरपालिकाले नगर अस्पतालको ओपिडी बाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द गराएपछि कर्मचारीले गरेको ताबन्दीका कारण अस्पतालको सबै सेवा बन्द भएको छ ।

नगरपालिकामा रहेको एउटामात्र सुविधासम्पन्न अस्पतालको सेवा ठप्प बनेपछि स्थानीय सेवाग्राही प्रभावित बनेका छन् । नगरपालिका स्वास्थ्य शाखाको आदेशमा अस्पतालको ओपिडिबाहेक अन्य सेवा अनिश्चितकालको लागि बन्द रहने सूचना गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले सोमबार सूचना निकालेर आदेशअनुसार ओपीडी (बहिरंग) बाहेकका सबै सेवा अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिए ।

आन्दोलनरत करारका कर्मचारीले स्वास्थ्य शाखाको निर्णय विरुद्ध ओपीडि संचालनमा पनि रोक लगाएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । करार कर्मचारीको अवधि थप गर्ने विषयमा लामो समयदेखि विवाद झेल्दै आएको नगरपालिकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई निकाल्न अस्पतालको सेवा नै बन्द गरेको कर्मचारीहरुले बताएका छन् ।

उनीहरुले आफूहरुलाई निकाल्न भएको षडयन्त्रको विरोधमा ओपिडी सेवा पनि बन्द गर्नुपरेको बताएका छन् । स्वास्थ्यकर्मी र कर्मचारीसमेत गरी कुल २८ जना कार्यरत अस्पतालबाट नगरपालिकाले ३ जनाको मात्रै करार अवधि थप गर्ने निर्णय गत असोजमा नै गरेको थियो । कर्मचारीहरु काममा आउन नछोडेपछि अस्पताल नै बन्द गरेर कर्मचारीहरुलाई निकाल्न खोजिएको करार सेवाका अहेब अयुब अन्सारीले बताए । उनका अनुसार करारका अधिकांश कर्मचारीहरु कार्यरत इमरजेन्सी सेवा बन्द गरेर नगरपालिकाले जागिरबाट हटाउने जाल रचेको हो । आन्दोलनरत कर्मचारीहरुले सोमवार साझँबाट ओपीडी (बहिरंग) सेवा पनि बन्द गराएपछि नगरअस्पतालको सेवा पूर्णरुपमा ठप्प बनेको छ ।

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज

काठमाडौं, १९ माघ -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

९ किलो सुनसहित प्रक्राउ परेको गौशाला प्रहरी बृतमा

काठमाडौं – ९ किलो अबैध सुनसहित पक्राउ परेका क्यानेडियन नागरिकलाई गौशाला प्रहरी बृतमा राखिएको छ ।

फलाई दुबईको बिमानवाट राती १ बजे नेपाल झरेका उक्त क्यानेडियन नागरिक माथी थप छानबिन गर्न गौशाला प्रहरी बृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, भन्सार शाखाले जिम्मा दिएको हो । प्रहरीले उनी माथी थप अनुसन्धान गरिरहेको छ ।

त्रिवेणीमा १५ करोडको पुल अलपत्र

सुर्खेत, १९ माघ-जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुमको बीचमा रहेको त्रिबेणी स्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे दुइ वर्ष देखि अलपत्र परेको छ । क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । भेरी करिडोरको बीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडक समेत निर्माण हुन मुस्क्लि भएको छ । भेरी नदीमा एक सय मिटर लामो पक्की पुल साढे दुई वर्षदेखि काम नगर्दा समस्य हुँदै आएको छ ।

तीन जिल्लाको संगम स्थल रहेको त्रिवेणीमा अहिले ठेक्का खरिद गरेको रेट्रो ट्रेक कन्ट्रक्सनले समेत काम नगर्दा पुल निर्माण कार्य पछि धकेलिएको छ । १५ करोड रुपैयाँमा उक्त पुल निर्माण गर्ने भन्दै कम्पनीले साढे दुइ वर्ष अघि ठेक्का खोलेको थियो । क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेपछि दैनिक समस्य देखिएको छ । निर्माणको जिम्मा पाएका कन्ट्रक्सनहरूले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यसमेत मा समेत बाधा पुग्ने देखिएको छ । हाइड्रोपावरसँग मुआब्जाका विषयमा बारम्बार कुरा गर्दा पनि नपाएको गुनासो जग्गाधनीहरूको छ। हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामाग्रीहरू आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेन्डर खुलाएको थियो।

यता रेट्रो ट्रेक कन्ट्रक्सनका प्रोपराइटर बादल बुढाले पुलको बेस बनाउने तथा सामाग्रीहरू जम्मा गर्ने काम सुरु भए पनि जग्गा विवादले समस्या आइरहेको बताए।
टेन्डर हात पारेको केही समयमै प्रोपराइटर चन्द्र थकालीले तत्काल काम सुरु गर्ने भन्दै आयोजनाबाट ७२ लाख पेस्की रकमसमेत लिइसकेका छन्। पुल समयमै नबन्दा आयोजनाको निर्माण कार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्।
जगदुल्ला हाइड्रोपावर कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरे कारबाही गर्ने चेतावनी दिएको तीन वर्ष पुग्न लाग्दा पनि कुनै कारबाही गरेको छैन। यता जगदुल्ला हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख सञ्जय सापकोटाले भने पुल निर्माणमा तदारुकता नदेखाए कारबाही गर्ने बताए।
ठाउँ , ठाउँमा ठेक्का लिदै अलपत्र पार्दै आएका थकालीले यो पुलको काम समेत अर्कोलाई बिक्री गरेर समस्यामा पारेका छन् । भेरी करिडोरका अधिकांश कामहरु लिएका थकाली सधै शक्ति केन्द्र धाउने र काम नगर्ने निर्माण व्यवसायीमा पर्दछन् । उनको नेकपा ९ एकीकृत समाजबादी ० र नेकपा ९माओवादी केन्द्र० का केन्द्रीय स्तरका नेतासँग हिमचिम राम्रो रहेको छ । ठेक्काको म्याद थप्दा पनि शक्ति केन्द्रसँग गएर धनसुनले काम हुने गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा समेत उनले कर्णालीका केन्द्रीय नेतालाई आधा करोड चन्दा दिएका थिए ।

विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी, अडानी इन्टरप्राइजेजको सेयर विक्री बन्द

नयाँ दिल्ली, १९ माघ-बुधबार शेयरको मूल्यमा गिरावट आएपछि भारतको अडानी इन्टरप्राइजेजले सेयर बिक्री बन्द गरेको छ । अडानी समूहको प्रमुख कम्पनीले बिक्रीबाट उठाएको २.५ बिलियन डलर शेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गरिने पुष्टि गरेको छ ।

अमेरिकी लगानी फर्मले धोखाधडीको दाबी गरेपछि समूहका कम्पनीहरूले ९० बिलियन डलर भन्दा बढी आफ्नो मूल्य गुमाएको छ । अडानीले आरोप अस्वीकार गर्दै आएका छन् । संस्थापक गौतम अडानी विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिएका छन् ।

फोब्र्सको अर्बपतिहरुको सूची अनुसार अडानी अहिले विश्वको १५औँ धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति ७४ दशमलब ७ अर्ब डलर छ । गत हप्ता उनी सूचीको तेस्रो स्थानमा थिए ।

अर्बपतिले भारतको सबैभन्दा ठूलो कम्पनी अडानी समूह चलाउँछन्। प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजले कमोडिटी ट्रेडिङ, एयरपोर्ट, युटिलिटी र नवीकरणीय ऊर्जालगायतका उद्योगहरू सञ्चालन गरिरहेको छ।

लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौं डलर गुमाएको थियो ।

अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत साता एक प्रतिवेदन सार्वजनिक गर्दै अडानी समूह ‘दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजी’मा संलग्न रहेको आरोप लगाएको थियो । तर, समूहले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएको थियो ।

ब्लुमबर्गका अनुसार तीन दिनको अवधिमा कम्पनीले बजार मूल्यमा करिब ७१ अर्ब डलर गुमाएको थियो । गत साता पनि अडानी समूहका फर्महरुले करिब ५० अर्ब डलर गुमाएका थिए ।

हेलिकप्टरबाटै सुटिङस्थल पुग्छन् कमल हासन

एजेन्सी  साउथ र हिन्दी फिल्मका प्रख्यात अभिनेता कमल हासन हालका दिनमा सफल यात्राको उत्सव मनाइरहेका छन् । उनको फिल्म ‘विक्रम’ले बक्सअफिसमा ४ सय करोड रुपैंयाँको व्यापार गरेपछि उनको हाउभाउमा निकै परिवर्तन आउन थालेको छ । यी अभिनेताले अहिले पुरानै शैली अपनाउन थालेका छन् ।

यसको उदाहरण हालैको घटनालाई सम्भिए पुग्छ । फिल्म ‘इण्डियन २’को सुटिङका लागि उनी हेलिकप्टरबाटै सुटिङस्थलमा पुगेका थिए । उनी तिरुपतिबाट गडिकोटा हेलिकप्टर चढेरै पुगेका थिए । कमल निकट स्रोतका अनुसार उनी अहिले दैनिक रुपमा हेलिकप्टरबाटै सुटिङस्थल पुग्छन् ।

कमलले ‘इण्डियन २’को सुटिङका लागि हेलिकप्टर लिएर पुगेको तस्वीर आफ्नो इन्स्टाग्राममा राखेका छन् । ‘मेरो लोकेसन थाहा पाउनु निकै सजिलो छ’, उनले लेखेका छन् । तस्वीरमा हेलिप्याडको अगाडि कमल उभिएका छन् ।

‘विक्रम’को उत्कृष्ट सफलतापछि कमल जसै एकपटक पुनः खुलेर मैदानमा आएका छन् । उनी न त सरकारविरुद्ध एक राजनीतिक पार्टीलाई समर्थन गर्न हिचकिचाउछन् । न त आफ्नो बिलासी जीवनलाई सार्वजनिक रुपमा देखाउन पछि हट्छन् । हेलिकप्टरलाई पनि आम गाडीकै जस्तो गरेर प्रयोग गर्न थालेपछि कमलको शैलीबाट सबै चकित परेका छन् ।

सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दुई दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद, मन्त्रीसहितका पद गुमाएका लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता कायम रहेको प्रमाणपत्र लिएपछि उनलाई फेरि पुरानै मन्त्रालय दिएर सरकारमा फर्काउन सत्ता साझेदार दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री दाहालमाथि दबाब बढाइरहेका छन्।

संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेकेर एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामिछानेलाई पुरानै जिम्मेवारी उपप्रधान तथा गृहमन्त्रीमा फर्काउनुपर्ने पक्षमा उभिएका छन्।ओलीले बुधबार पनि प्रधानमन्त्री दाहाललाई भेटेर लामिछानेलाई पुरानै जिम्मेवारी दिएर सरकारमा ल्याउन दबाबमूलक आग्रह गरे।

राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले पनि बुधबार प्रधानमन्त्री दाहाललाई भेटेर लामिछानेलाई गृहमन्त्रीसहित फेरि सरकारमा ल्याउन आग्रह गरे।उनले ओलीभन्दा अगाडि दाहाललाई भेटेर यस्तो आग्रह गरेका हुन्। रास्वपाका नेताले पनि लामिछानेलाई पुरानै जिम्मेवारीमा सरकारमा सहभागी नगराए समर्थन फिर्ता लिने अवस्था आउन सक्ने बताउँदै आएका छन्।

एकपछि अर्को गर्दै सत्ता साझेदार दलहरूबाट प्रधानमन्त्री दाहालमािथ दबाब सिर्जना गर्ने प्रयास भइरहेको जानकारी दिँदै निकट स्रोतले भन्यो, ‘यसले प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रलाई थप झस्काउने काम गरेको छ।’यो समाचार नागरिक दैनिकमा छ ।

यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार नयाँ मूल्य तोकेको छ । समितिका अनुसार बिहीबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १४० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको यो न्यूनताम मूल्य हो ।

नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २९ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम रहेको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा र मंगुरी २६० रुपैयाँ र रहु माछा ३६० रुपैयाँ केजीमा पाइन्छ ।  त्यस्तै, बिहीबार  लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ  ११० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ११० रुपैयाँ, पुदीना ४०० रुपैयाँ र हरियो धनिया ७० रुपैयाँ रहेको छ ।

अमेरिकी डलर स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार  अमेरिकी डलरको मूल्य स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि यसको खरिद बिक्री सोही मूल्य कायम थियो।

युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ४३ पैसा र बिक्रीमा १४३ रूपैयाँ ८ पैसा कायम गरिएको छ। यसअघि बुधबार युरोपियन युरोको खरिददर १४१ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४२ रूपैयाँ १९ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६१ रूपैयाँ १६ पैसा र बिक्रीदर १६१ रूपैयाँ ९० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रूपैयाँ ५७ पैसा र बिक्रीमा ९३ रूपैयाँ तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य ९१ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९१ रूपैयाँ ८३ पैसामा कारोबार भएको थियो । क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ २३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा तोकिएको छ।

बिहीबार कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ७० पैसा र बिक्रीमा ३५ रूपैयाँ ७७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रूपैयाँ एक पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७७ पैसामा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३० रूपैयाँ ४० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ५१ पैसा तोकिएको छ

संघीयता पक्षधर र संघीयता विरोधी सांसदहरूबीच जुहारी

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयता विरोधी सांसदहरूबीच जुहारी नै चलेको छ ।केही दिनयता सरकारमा बसेका मन्त्रीहरूकै अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा आउँदै गर्दा बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समेत सो विषयमा सत्ता पक्षकै सांसदको विभाजित मानसिकता छरपष्ट देखिएको हो ।

केही दिनअघि सत्तारूढ दलमध्येकै एक राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत रहेका कानुनमन्त्री ध्रुवबहादुर प्रधानले संघीयताविरोधी अभिव्यक्ति दिएका थिए ।त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता’दयगत मन्त्रीहरूले जथाभावी बोल्न नपाउने भन्दै बोल्दा ध्यान दिन चेतावनी दिए ।

सो विषयमा प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारूढ नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाका सांसदहरूबीच जुहारी नै चलेको हो ।बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री तथा मन्त्रीहरूको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विषयमा देखिएको फरक बोलीले राम्रो संकेत नगरेको भन्दै असन्तुष्टि पोखेका थिए ।

सोक्रममा उनले संविधानको धारा ७५ मा कार्यकारिणी अधिकार नेपालको संविधान र कानुनअनुसार मन्त्रिपरिषद्मा निहित हुने भनिएको स्मरणसमेत गराएका थिए ।एमाले सांसदको असन्तुष्टिपछि माओवादी केन्द्रका सांसदहरूले समेत राप्रपाका नेताहरूको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।यो खबर आजको राजधानी दैनिकमा छ ।

राजनीतिक एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा

काठमाडौं । वर्तमान सात दलीय गठबन्धनभित्र राजनीतिक एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा पर्ने देखिएको छ ।संसद्को तेस्रो दल नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गरेको सरकारमा सहभागी दलहरूबीच एकातिर राजनीतिक एजेन्डामा मतभेद र अर्कोतिर गृहमन्त्री र राष्ट्रपति लेनदेनमा कुरा नमिलेपछि गठबन्धन जोगाउन चुनौती बढेको हो ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले आ–आफ्ना राजनीतिक एजेन्डा स्थापित गराउने तर, अरूका तर्कलाई छेदन गर्ने गरी प्रस्तुत भए ।

एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले मन्त्रिपरिषद्का सदस्यले नै संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै विरोध जनाए ।प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले संविधान कार्यान्वयन गर्ने ठाउँ (सरकार) मा बसेर संविधानकै विरुद्धमा बोल्नु अनुचित भएको बताए ।

सरकारमा बसेर संविधान विरोधी अभिव्यक्ति दिने काम स्वीकार्य नहुने भन्दै उनले भने– ‘मन्त्रिपरिषद्मा बसेर संविधानको बर्खिलाप गर्ने कुरा गलत हो ।संघीयता र धर्मका विषयलाई लिएर सरकारमा बस्नेहरूले नै संविधानमाथि टिप्पणी गर्नु देशलाई विभाजनतर्फ लैजानु हो ।’

संविधानको मार्ग निर्देशनबाट बनेका सरकारका सदस्यले गरेको टिप्पणीलाई सामान्य रूपमा लिन नसकिने पन्तको भनाइ थियो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

नेकपा माओवादीको स्थगित बैठक पुन: आज

काठमाडौं – नेकपा माओवादी केन्द्रले बुधवार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरे पछि पुन: आज बोलाईएको छ ।

स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाड गर्ने अजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो ।

स्थगित बैठडक आजवाट सुरु हुनेछ ।  जस अनुसार केन्द्रिय बिभागहरुको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने विश्वास लिईएको छ ।

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष चयन गर्दै

काठमाडौं – कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ ।राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहिवार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।

आजको मौसम: कर्णाली र लुम्बिनीको आंशिक फेरबदल हुने

काठमाडौं – देशैभरी आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

तर, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

महाशाखाको अनुसार बिहिवार राती भने प्रदेश नं. १, मधेश प्रदेश, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ।

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म.२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महात्मा चौधरीको मृत्यु भएको हो ।

बेलौरी नगरपालिका–५ का ५० वर्षीय चौधरीलाई सोमबार मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीलाई पुनर्वास पोलिक्लिनिक अस्पतालमा पुर्‍याइएको थियो ।

तर त्यहाँ उपचार संभव नभएपछि मायामेट्रो अस्पताल धनगढीमा भर्ना गरिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीको आज (बुधबार) दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बेलौरी बजादेखि हात्तीबोझ जाँदै गरेको मोटरसाइकलमा सवार २१ वर्षीय आकाश बोहरा लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बेलौरी नगरपालिका–६ का बोहराको से ७ प १४३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा शून्य दशमलव १५ मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइन फेला परेपछि प्रहरीले मोटरसाइकलसहित बोहरालाई नियन्त्रणमा लिएको हो ।

बोहरालाई इकाका प्रहरी कार्यालय बेलौरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाकलसहित बोहरालाई नियन्त्रणमा लिएको थियो ।

पर्यटन प्रवर्द्धन गर्न माघ २४ र २५ गते पसगाउँ महोत्सव

लमजुङ – लमजुङको क्व्होलासोंथार गाउँपालिका ६, पसगाउँमा माघ २४ र २५ गते १३ औं महोत्सव हुने भएको छ ।

गुरुङ जातिको कला संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र संवर्द्धन गर्दै निम्नस्तर आय भएका जनताको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको पसगाउँ सामुदायिक होमस्टेका अध्यक्ष  बलराम गुरुङले बताए । उनका अनुसार वि.सं. २०६० साल वैशाख १६ र १७ गते प्रथम पसगाउँ महोत्सव आयोजना गरिएको थियो ।

ग्रामीण पर्यटनको विस्तार गर्ने, लोक संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्ने, स्थानीय हस्तकला प्रर्दशनी गर्ने, पसगाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।

हाल २१ घरमा होमस्टे संचालनमा रहेको गाउँमा भूपू सैनिकहरुको अगुवाइमा क्व्होम्रेडाँडामा पिकनिक स्पटको निर्माण गरिएको छ । खानेपानी तथा विजुली बत्तीको पनि व्यवस्था रहेको उनले बताए ।

कृष्णचरित्र नृत्य, झयाउरे नाच, सारंगी नृत्य, घाँटु जस्ता लोपोन्मुख नृत्यहरुको लागि पसगाउँ परिचित छ ।

प्रधानमन्त्रीद्वारा अति विशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन

काठमडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अति विशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गरेका छन् ।

बुधबार अपरान्ह नारायणहिटीमा रहेको श्री अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय परिसरमा नेपाली सेनाद्वारा आयोजित प्रदर्शनीको अवलोकन गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्रीले विशिष्ट व्यक्तिहरुको सुरक्षामा अपनाइने सुरक्षा व्यवस्था, सामग्री र सुरक्षामा अपनाइने अन्य तरिकाको अवलोकन गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा  मुद्दा दायर गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्माण योजनामा अधिकृत उपाध्यायसहित सवइन्जिनियर मनोज धामी र जगत बहादुर मल्लले गलत नापी किताब तयार गरी सो नापी किताब स्वीकृत एवम् फिल्डमा नभएरनगरेको कामको मूल्याङ्कनसहित उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ भुक्तानी गरेको अख्तियारको ठहर छ ।

यसैगरी सोही फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाही, सचिव धर्म बहादुर मल्ल र कोषाध्यक्ष धनदेवि छत्याल (शाही)ले गाउँपालिकासँग गरेको सम्झौता विपरीत फिल्डमा नभएको कार्यसमेत नापी किताबमा चढाएको र तत्कालीन वडा अध्यक्ष मन प्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागी सिफारिस गरेको आरोपमा निजहरुविरुद्ध पनि रिट दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन स्वीकार गर्दै यस्तो बताएका हुन् ।

सो अवसरमा प्रधानमन्त्रीले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाका हक बारे केही महत्वपूर्ण योगदान गरेको स्मरण पनि गरे । उनले भने, ‘शासन प्रणालीमा जनताको नियन्त्रण निगरानी र हस्तक्षेप  बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको छ । जतिधेरै जनताका सूसुचित हुन्छन् र पारदर्शिता अपनाइन्छ त्यति नै विकृति र विसंगतिलाई रोकथाम गर्न सकिन्छ ।’

उनले जनताको सूचनाको हक स्थापित र प्रवद्र्धन गरेर नै समाजमा अव्यवस्था, अराजकता र अनुशासनहिनता हटाउन सकिने उल्लेख गर्दै त्यसतर्फ गम्भीर र जिम्मेवार हुनैपर्ने बताए । ‘जतिधेरै सूचना सम्प्रेशण गर्ने र सूचनाको हक जनतालाई दिलाउन सक्यो त्यतिधेरै सुशासन कायम हुन्छ र त्यसले एउटा देश विकासको वातावरण बन्छ, ’ उनको भनाई थियो ।

रवि लामिछानेको सांसद पद खारेज भएको प्रतिनिधिसभालाई जानकारी गराइयो

काठमाडौं । प्रतिनिधिसभालाई रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी गराइएको छ ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेको सांसद पद खारेज भएको जानकारी गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दर्ता गर्नेक्रममा बुझाएको नागरिकता प्रमाणपत्र अवैधानिक रहेको सर्वाेच्च अदालतकोे संवैधानिक इजलासले ठहर गरेपछि उनको सांसदसँगै उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता र सभापतिबाट पदमुक्त भएका थिए ।

प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतको उत्प्रेषणको लामिछानेको उम्मेदवार बनेको, निर्वाचित भएको र प्रमाणपत्र पाएको लगायतका काम बदर गरेको पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।

लमजुङमा ६ महिनामा ५ हजार सवारीसाधन कारबाहीमा

लमजुङ १८ माघ  ।  ट्राफिक प्रहरी कार्यलय लमजुङले ६ महिनाको अवधिमा सवारी नियम उल्लघंन गर्ने ४ हजार ९५० सवारीसाधन कारवाही गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा भएका कारबाहीबाट ३३ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

पछिल्लो समय ट्राफिक नियम उल्लघंन गरि सवारी चलाउनेको संख्या बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । दैनिकजसो चेकजाँच गरिएको र नियम उल्लघंन गरि सवारी चलाउनेलाई कारवाही स्वरुप जरिवाना गर्ने गरिएको छ।

सवारी दुर्घटनालाई न्युनिकरण गर्न र ट्राफिक नियम पालना गरेर मात्रै सवारी चलाउन शंन्देश दिने लक्ष्यका साथ दैनिक चेकजाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लमजुङले जनाएको छ ।

सवारी कारबाहीबाट ६ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लघंन गर्नेमा सबैभन्दा बढी २ हजार २ सय २२ मोटरसाइकल रहेको छ । १ हजार ३०५ कारजीप, ६२५ ट्रक टिप्पर, २९४ बस, ३१२ ट्याक्टर र अन्य १९२ गरि ४ हजार ९५० सवारी कारबाही गरिएको हो ।

जाजरकोटमा भिरबाट लडेर एकजनाको मृत्यु

सुर्खेत, १८ माघ ।  जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए ।

पछिल्ला २४ घन्टामा ३ जनामा कोरोना संक्रमण

काठमाडौं – पछिल्ला २४ घन्टामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका २ हजार ३५१ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७४ र एन्टिजेनबाट १ हजार ७७८जनाको परीक्षण गर्दा तीनजनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा तीन जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ।