राजनीतिक एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा


काठमाडौं । वर्तमान सात दलीय गठबन्धनभित्र राजनीतिक एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा पर्ने देखिएको छ ।संसद्को तेस्रो दल नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गरेको सरकारमा सहभागी दलहरूबीच एकातिर राजनीतिक एजेन्डामा मतभेद र अर्कोतिर गृहमन्त्री र राष्ट्रपति लेनदेनमा कुरा नमिलेपछि गठबन्धन जोगाउन चुनौती बढेको हो ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्ने अधिकांश सांसदहरूले आ–आफ्ना राजनीतिक एजेन्डा स्थापित गराउने तर, अरूका तर्कलाई छेदन गर्ने गरी प्रस्तुत भए ।
एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले मन्त्रिपरिषद्का सदस्यले नै संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै विरोध जनाए ।प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले संविधान कार्यान्वयन गर्ने ठाउँ (सरकार) मा बसेर संविधानकै विरुद्धमा बोल्नु अनुचित भएको बताए ।
सरकारमा बसेर संविधान विरोधी अभिव्यक्ति दिने काम स्वीकार्य नहुने भन्दै उनले भने– ‘मन्त्रिपरिषद्मा बसेर संविधानको बर्खिलाप गर्ने कुरा गलत हो ।संघीयता र धर्मका विषयलाई लिएर सरकारमा बस्नेहरूले नै संविधानमाथि टिप्पणी गर्नु देशलाई विभाजनतर्फ लैजानु हो ।’
संविधानको मार्ग निर्देशनबाट बनेका सरकारका सदस्यले गरेको टिप्पणीलाई सामान्य रूपमा लिन नसकिने पन्तको भनाइ थियो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।