`

रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई

भैरहवा – रोहिणी अध्यक्ष कप २०७९ (क्रिकेट प्रतियोगिता) को उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो ।

टस जितेर रोहिणी–२ ले बलिङ रोज्यो । सुरुमा ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै २१९ रन बनायो । उसका लागि धिरुले ८५, अबरारले ४१ र सम्सादले २६ रनको योगदान गरे । बलिङमा रोहिणी–२ का आकाश, विनायक र सई मोहम्मदले २÷२ विकेट लिए ।

जीतका लागि २२० रनको लक्ष्य पाएको रोहिणी–२ ले १६ ओभरमा ९ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि कमलले ५८, इन्जमामले ४० र पंकजले ३८ रनको योगदान गरे । बलिङमा रोहिणी–१ का धिरुले ३ र अफसरले २ विकेट लिए ।

प्रतियोगिताको म्यान अफ द म्याच धिरु, म्यान द अफ द सिरिज धिरु, बेस्ट ब्याटसम्यान कमलेश र बेस्ट बलर धिरु घोषित भए । प्रतियोगितामा रोहिणी–५ र रोहिणी–६ सेमीफाइनलमा पुगेका थिए ।

नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा गत माघ ३ गतदेखि रोहिणी–३, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको थियो ।

प्रतियोगितामा प्रथम (विजेता) हुने टीमलाई रु.६० हजार र उपविजेता (द्वितीय) हुने टीमलाई रु. ३० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए । त्यस्तै सेमीफाइनलमा पुगेका दुईटा टीमलाई रु. १५÷१५ हजार प्रदान गरिएको कुर्मीले जानकारी दिए । प्रतियोगितामा गाउँपालिकाका ७ वटा वडाका ७ र एउटा कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागीता रहेको उनले बताए ।

विजेता तथा उपविजेता टीमलाई शुक्रबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, प्रवक्ता वीर बहादुर क्षेत्री, वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठान, रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खाँ, गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रा, महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्मा, सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम रेग्मी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष यादवले क्रिकेट खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग गरेको बताए । उनले गाउँपालिकाका विभिन्न वडाबाट राम्रो खेलाडी छनौट गरी विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउने बताए । उनले रोहिणीमा नमूना खेलमैदान निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे । मनोज कुमार यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त र अरशद वारसीले फिल्म ‘मुन्नाभाइ एमबीबीएस’मार्फत दर्शकको मन जिते । फिल्ममा उनीहरूको अभिनयलाई दर्शकले खुबै मन पराए । फिल्ममा सञ्जय ‘मुन्नाभाइ’ र अरशद ‘सर्किट’को भूमिकामा थिए । अब यो जोडी पुनः दर्शकमाझ आउने तयारी गरिरहेको छ ।

सञ्जयले बिहीबार आफ्नो इन्स्टाग्राम एकाउण्टमा नयाँ फिल्मको पोस्टर शेयर गरेका छन् । यो पोस्टरमा सञ्जय र अरशद जेल भित्र छन् । दुवैले कैदीको कपडा लगाएका छन् । ‘हाम्रो पर्खाइ तपाईंहरुको भन्दा धेरै बढी थियो, तर अब त्यो पर्खाइ सकिएको छ । म आफ्नो भाइ अरशदका साथ एकपटक पुनः ठूलो फिल्म लिएर आउँदैछु’, उनले लेखेका छन् ।

सञ्जयका अनुसार सन् २०२३ मा रिलिज हुने फिल्ममा सिद्धान्त सचदेवको निर्देशन छ । फिल्मको निर्माता सञ्जय स्वयम् हुन् । सञ्जय र अरशदले सन् २००३ मा रिलिज फिल्म ‘मुन्नाभाई एमबीबीएस’ र सन् २००६ मा ‘लगे रहो मुन्नाभाइ’मा अभिनय गरेका थिए ।

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरीको संरक्षण गर्दै दोर्दी गाउँपालिका

लमजुङ, १४ माघ-दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आर्थिक श्रोतसँग जोड्न पालिकाको वडा नंं. ४ मा रहेको सो पोखरीको संरक्षण गर्न थालेको हो । समुद्री सतहबाट एक हजार नौ सय ३५ मिटरको उचाईमा रहेको पोखरी संरक्षणको लागि यस आर्थिक वर्षमा २६ लाख रुपैयाँ विनियोजन गरेर मर्मत तथा सम्हार गरिएको गाउँपालिकाले जनाएको छ ।

यतिबेला गाउँपालिकाले सञ्चालन गर्ने प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सो पोखरीको वरिपरी ढुंगा विच्छ्याउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।
पोखरीको वरीपरी छ मिटरदेखि १० मिटरसम्म ढुंगा विच्छ्याउने काम भइरहेको छ । तीब्रताका साथ काम भइरहेको र यतिबेला अन्तिम अन्तिम चरणमा पुगेको उहाँको भनाई छ ।

यस पोखरीको ७३ मिटर लम्बाई र ६४ मिटर चौडाई क्षेत्रफल रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङका अनुसार सो पोखरी नजिकै चार वटा पिक्निक स्थल समेत निर्माण भइरहेको छ ।चार वटै स्थानमा शौचालयको निर्माण कार्य भने पुरा भएको बताइएको छ । यहाँ केही समयअघि नै खानेपानीको धारा रहेपनि व्यवस्थित नभएकाले यसको व्यवस्थित गरिने भएको छ । दाम्राङ पोखरी क्षेत्र भेडीगोठ उपयुक्त क्षेत्रको रुपमा रहेको छ ।

यस क्षेत्रमा आठ वटा भेडीगोठहरू रहेका छन् । यहाँ आउने पर्यटक यस पोखरी तथा क्षेत्रमा रमाउनुका साथै भेँडाहरुसँग समेत रमाउन चाहने पर्यटकको लागि झन् आकर्षणको स्थल हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाई छ । पर्यटकीय गन्तव्यको रुपमा यस ठाउँको विकासलाई आगामी दिनमा पनि निरन्तर दिने भएको छ ।

यहाँ पर्यटकको प्रचुर संम्भावना रहेकाले यसको संरक्षण गर्दै पर्यटक आकर्षित गर्न गाउँपालिका लागिपर्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताए । उनका अनुसार केही वर्ष अघि यस पोखरीलाई सडक सञ्जालमा जोड्नका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत क्षेत्र नं (क) अन्तर्गत दोर्दी गाउँपालिका–४ ठूलाखेत–कामचोक–डाम्राङ–लिपे पर्यटन सडक निर्माण गरेको थियो । तत्कालिन गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत यस क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा विकास गर्नका लागि रु २५ लाखमा चार किलोमिटर आठ मिटर लम्बाइ र छ मिटर चौडाइको सो सडक उक्त पोखरीसम्म निर्माण गरेको थियो ।

त्यस्तै, प्रदेश सरकारकै आर्थिक सहयोगमा पोखरी नजिकै दाम्राङ हरित पार्क निर्माण गरेको छ । प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय लमजुङको रु पाँच लाख बजेटबाट पार्क निर्माण भएको बताइएको छ । यस पार्कभित्र ढुङ्गाको सिंढी निर्माण, २८५ मिटरको कम्पाउन तारजालीले घेर्ने, विभिन्न प्रजातिका बिरुवा ९० वटा वृक्षरोपण गरिएको थियो ।

यहाँ दाम्राङ पोखरीबाहेक यस क्षेत्रमा कुनै पानीको स्रोत नभएकाले यस जङ्गलका सबै जनावारहरुले यसै पोखरीमा पानी खानका लागि आउने गर्दछन् । यस दाम्राङ पोखरी हुँदै एतिहासिक तथा पर्यटकीयस्थल लिपे, दूधपोखरी हुँदै गोरखासमेत निस्कनसक्ने स्थानीयको भनाई छ ।

संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको यस क्षेत्रका लागि विस्तारै सरकारको ध्यान केन्द्रित हुन थालेपछि पर्यटक आगमन हुने स्थानीयले अपेक्षा गरेका छन् । उहिल्यै यस पोखरीमा ‘दामे’ भन्ने गोठाले डुबेर ‘रा’ पोखरीमा मरेको हुँदा दामेरा भन्दा भन्दै अपभ्रम्स भई दाम्राङ पोखरी भएको भन्ने किंबदन्ती रहेको छ ।

गुरुङ भाषामा पोखरीलाई ‘रा’ भनिन्छ । यस पोखरी क्षेत्रबाट बौद्ध हिमाल, हर्क पिक, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल चुली, मनाश्लु लगायतको हिमालहरु देख्न सकिन्छ ।

गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार उक्त पोखरीदेखि १५ मिनेटको दुरीमा रहेको एउटा ८०/८२ मिटर लम्बाई भएको गुफा पनि हेर्न सकिन्छ । विगतका राजाहरूले बनाएका ऐतिहासिक गढीहरू घले गढी, पाण्डे गढी, खोलाल गढी समेत हेर्न सकिने गाउँपालिका अध्यक्षले बताउनुभयो । यस वडाकै धौथलीदेखि लिपेसम्म एक हजार ५०० मिटर पदमार्ग समेत निर्माण भइसकेको छ ।

यस चक्रिय पदमार्ग २३ किलोमिटर रहेको र हालसम्म १५ किलोमिटर पदमार्ग निर्माण भइसकेको बताइएको छ । प्रदेश सरकारले यस पदमार्ग निर्माणका लागि हालसम्म रु ९० लाख बजेट खर्च गरिसकेको छ । यस्ता पर्यटकीय र ऐतिहासिक स्थल एवं क्षेत्रहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटक भित्याउने लक्ष्यका साथ गाउँपालिका अघि बढेको छ ।

प्रहरी हुँ भन्दै ठगी गर्ने घनपोखराका एक जना पक्राउ

लमजुङ – प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मस्र्याङदी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो ।

आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु मिलाईदिने भनी ठगि गर्दै हिडेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोली यहि माघ १० गते पोखराबाट पक्राउ गरेको हो ।

बेसीशहरमा डेरा गरि वस्ने गुरुङ विभिन्न महिलाहरुसंग रु ७ लाख १७ हजार पाच सय रुपैया लिएर सम्पर्क विहिन भएका थिए । उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने र म प्रहरी हु प्रहरीमा भएको केशहरु समेत मिलाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेका थिए । गुरुङ विरुद्ध प्रहरीमा उजुरी परेपछि लमजुङको प्रहरी टोलीले पोखरामा लुकिछिपि बसेको अवस्थामा प्रक्राउ गरेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले वताए ।

निज गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी सम्वन्धी कसुरमा  पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरक्षक जगदिश रेग्मीले जानकारी दिए ।

आधाले घट्यो खाद्यान्न आयात

काठमाडौँ। चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस) सम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपियाँको चामल आयात भएको छ ।

गत वर्ष सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख एक हजार रुपियाँको चामल आयात भएको थियो ।भारतले गत भदौ महिनामा चामलको निर्यातमा लगाएको कर, विदेशी मुद्रा बचत गर्न आयातमा गरिएको प्रतिबन्ध र नेपाल राष्ट्र बैङ्कले एलसी ९प्रतीतपत्र०मा नगद मार्जिनको व्यवस्था गरेका कारण चामलसँगै अन्य खाद्यान्नको आयातमा कमी आएको हो ।

आन्तरिक आपूर्तिलाई बलियो बनाउनका लागि भन्दै भारतले गत भदौ महिनामा चामल निर्यातमा २० प्रतिशत कर लगाएको थियो । त्यसको प्रभावले आयातमा कमी आएको छ ।

यो वर्ष धानको उत्पादन बढेकाले पनि आयातमा कमी देखिएको हो । छिमेकी मुलुक भारतबाट ठूलो परिणाममा चामल आयात हुने गर्छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । रास्वपाको शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो ।

रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रबार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई सो जिम्मेवारी दिइएको प्रवक्ता ढकालले बताउनुभयो । “कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ”, प्रवक्ता डा ढकालले भन्नुभयो ।

यस्तै, सो पार्टीको शुक्रबारै बसेको संसदीय दलको बैठकले सर्वाेच्च अदालतको फैसलाले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोले रिक्त सो पदमा अर्याललाई चयन गर्ने निर्णय गरेको छ । उक्त पार्टीले यस चुनौतीपूर्ण घडीमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमित रही विधिको र कानुनको सम्मान गर्न अनुरोध गरेको छ ।

दुई सातामा काठमाडौँका सडकमा रहेका खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत

काठमाडौँ । पछिल्लो दुई सातामा काठमाडौँका सडकमा रहेका खाल्टाखुल्टी ६५ प्रतिशत मर्मत भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार सडकसँग सम्बन्धित आठ निकायको संयुक्त बैठकमा सो जानकारी गराइएको हो। बैठकमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सडकसम्बन्धी निकायहरूले एकीकृत स्वरूपमा समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याए। कुनै पनि ठाउँमा समस्या देखिँदा सम्बन्धित निकायले नागरिकप्रतिको आआफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने बताउँदै उनले एकले अर्कोलाई दोष दिएरभन्दा जनताले राम्रो सेवा पाउने गरी काम गर्न नै यस प्रकारको बैठकको आयोजना गरिएको बताए। विकास निर्माणका काम गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह , ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्य, नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुखहरू सहभागी रहेको सो बैठकमा मन्त्री श्रेष्ठले एउटै ठाउँमा काम गर्ने निकायहरूले एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए। उनले सडकसँग सम्बन्धित निकायले आआफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नुपर्छ भने।

प्राधिकरणले बत्ती बालेर जनता खुसी भए पनि उसका संरचनाका कारण सडकमा समस्या आएको भनी गुनासो आइरहेको मन्त्री श्रेष्ठले बताए । काठमाडौँ उपत्यकाका सडकमा संरचना रहेका निकायबीच समन्वय गरी सडक सुधार गर्न सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका इन्जिनियर डा। विजय जैसीको संयोजकत्वमा आठ सदस्यीय स्थायी संयन्त्र गठन गरिएको छ।

सो संयन्त्रमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल टेलिकम, मेलम्ची खानेपानी आयोजना, नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड रहेका छन्।त्यसैगरी बैठकले तिनकुनेस्थित बाग्मती पुल र बिजुली बजारस्थित धोबीखोलाको पुलमुनिबाट कोरिडोर सञ्चालन गर्ने निर्णय गरेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

चितवन – २ मा उपनिर्वाचन हुने

काठमाडौँ – सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं. २ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुनेछ ।

निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वाेच्चले फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुने बताउनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ अन्तर्गत उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थामा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारीका लागि नेपालको नागरिक हुनुपर्नेछ । यस्तै उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्थामा दफा १२ बमोजिमको योग्यता नभएको व्यक्ति उम्मेदवार हुन नपाउने सोही ऐनमा उल्लेख छ ।

लामिछानेले आफ्नै नेतृत्वमा २०७९ असार ७ गते निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निवेदन दिनुभएको थियो । असार १७ गते आयोगले दल दर्ता गरेको थियो तर निर्वाचन अधिकृतको कार्यालय, चितवन–२ मा कात्तिक २९ गते लामिछानेको उम्मेदवारी खारेजको मागसहित उजुरी परेको थियो । निर्वाचन आयोगले समयमै निर्णय दिन सकेन । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभयो । अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पदसमेत स्वतः रिक्त हुनेछ ।

पुस ७ गते प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गर्नुभएका लामिछाने पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुनुभएको थियो । प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ सात सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फ चौथो सबैभन्दा बढी मत पाएको हो । समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत पाएर सो दलले १३ सिट पाएको हो ।

भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

भक्तपुर – प्रहरीले एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई शुक्रबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नम्बर ३ ठकुरी गाउँं झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् ।

उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएमभित्र प्रवेश गरी मेशिन फुटाउन खोजेको र ९:२५ मिनेटमा असफल भई छाडी आएको देखिएकोले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए ।

हाल मुक्तिनाथ विकास बैंकको गार्ड उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धम्बाराहीका रहेको जनाइएको छ । उनी २०६१ सालमा भर्ना भएका सशश्त्र प्रहरीको पूर्वकर्मचारीसमेत रहेको जनाइएको छ ।

रवि मेरो आशाको केन्द्र हुनुहुन्थ्यो – सिके राउत

काठमाडौं, १३ माघ-जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछाने आफ्नो लागि आशाको केन्द्र रहेको टिप्पणी गरेका छन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले लामिछानेको मन्त्रीसहित सांसद र पार्टीको अध्यक्ष पद गुमेको छ ।

अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’

रवि लामिछानेले सरकारी निवास छाडे

काठमाडौं – निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् । उनी यतिबेला निजी निवास गएका छन् ।

लामिछाने राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आफ्नो निजी गाडीमा गएका थिए ।

रविले दिए पदबाट राजीनामा

काठमाडौं – रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृह मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्न्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नरहेको फैसला गरेपछि उनको सांसद, उपप्रधानमन्त्री, मन्त्री र पार्टी सभापति पद गुमेको छ ।

कैलालीमा बस र कार ठोक्कियो

धनगढी – कैलालीमा कारसँग बस ठोक्किएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शुक्रवार साँझ कारसँग बस ठोक्किएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार ना८अ ६३६१ नम्बरको बस प्रदेश ३–०१–०२४ च १३१ नम्बरको कारसँग ठोक्किएको छ । बस तथा कारमा सवार यात्रुलाई चोटपटक भने लागेको छैन । कार र बसमा भौतिक क्षति भएको छ ।

लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे

लमजुङ । सुन्दरबजार नगरपालिकाको धुसेनीस्थित एक विद्यालयका बालबालिकाहरुले आफैंले उत्पादन गरेको च्याउबाट बिहानको तरकारी पुर्‍याउने गरेका छन् । सुन्दरबजार-१०, धुसेनीस्थित सौभाग्य सदन माध्यमिक विद्यालयका कक्षा ७ र ८ का विद्यार्थीहरुले पेशा व्यवसाय तथा प्रविधि शिक्षाअन्तर्गत सिकेको सीपलाई व्यवहारमा उतार्दै विद्यालयमा विहानी कक्षामा पढ्ने विद्यार्थीहरुलाई तरकारी पुर्‍याएका हुन् ।

विद्यालयले गुणस्तर अभिवृद्धिको लागि कक्षा १० का विद्यार्थीलाई बिहान अतिरिक्त कक्षा सञ्चालन गरी बिहानको खानासमेत विद्यालयमै खुवाउने गरेको छ । पेसा व्यवसाय तथा प्रविधि शिक्षा अध्यापन गराउने शिक्षक अमृतबहादुर अधिकारीले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनको लागि च्याउ खेती गर्न सिकाएको बताए ।

‘उनीहरुले घरमा पनि एक दुई पोका च्याउ उत्पादन गरेर घरमा चखाएका छन्,’ अधिकारीले भने, ‘उनीहरुले उत्पादन गरेको च्याउ विद्यालयमा खाजाको लागि समेत प्रयोग हुने गरेको छ ।’

विद्यालयले हाल १० कक्षासम्मका सबै विद्यार्थीलाई विद्यालयमा खाजा दिFदै आएको छ । सौभाग्य सदन माध्यमिक विद्यालयका शिक्षक तीर्थ ढकालका अनुसार गाउँका सबै बसाईं सरेका कारण विद्यालयमा विद्यार्थीको संख्या न्यून छ ।

भएका विद्यार्थीलाई सोही विद्यालयमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष दीपकराज ढकाल पनि विद्यालयको शैक्षिक स्तर उकास्न अहाेरात्र खटिएका छन् ।

वडाभरका विद्यार्थीलाई परिचयपत्र र विद्यालय पोशाक वडाबाट सहयोग गरिएको अध्यक्ष ढकालले बताए । नगरपालिकामा कृषि विषय अध्यापन गराउने विद्यालयमा समेत प्रयोगात्मक कार्य बिरलै हुने गरेको छ ।

‘तर, हामीले यो काम सुरु गर्‍याैँ, उत्साहित पनि छौं,’ च्याउ खेतीमा संलग्न विद्यार्थीहरुले भने । उनीहरुले अहिले सानो संख्यामा उत्पादन गरेका छन् । सफल भएपछि उत्साहित भएका विद्यार्थीहरु अर्कोपटक उत्पादनलाई बेचेर कापीकलम किन्ने पैसा जुटाउने सुरमा छन् ।

बालुवाटार जाँदै रवि, पदबाट राजीनामा दिने

काठमाडौं – अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेर नेपाली नागरिकका रुपमा सबै सेवा लिइरहेका रवि लामिछानेको उपप्रधान एवम् गृहमन्त्री तथा सांसद पद खारेज भएको छ ।

पद खारेज भएसँगै लामिछाने राजीनामा दिन बालुवाटार जाने भएका छन् । उनका स्वकीय सचिव प्रकाश सिग्देलले लामिछाने पदबाट राजीनामा दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै गरेको बताए ।

संवैधानिक इजलासको फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।

लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए ।

रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

काठमाडौं – रवि लामिछानेले अदालतको फैसलालाई स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषि ठहर गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले अदालतको फैसला स्वीकार्य हुने बताए ।

अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अदालतको फैसलाअनुससर म अनागरिक छु । मसँग कुनै प्रश्नको जवाफ नै छैन ।’

उनले आजै उपप्रधानदहित गृह मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् ।

रविको विपक्षमा फैसला आएपछि सर्वोच्च परिसरमा नाराबाजी

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषि ठहर गरेसँगै सर्वोच्च परिसरमा उनको पक्षमा नाराबाजी गरिएको छ ।

सर्वोच्च परिसरमा शुक्रबार साँझ भेला भएका समर्थकले रविको पक्षमा नाराबाजी गरेका हुन् । सो क्रममा सात जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कामु प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित अधिकारी (प्रमुख जिल्ला अधिकारी) लाई नदिएको अदालतले ठहर गरेको छ ।

नागरिकता मुद्दामा लामिछाने दोषी, के छ सर्वोच्चले दिएको आदेशमा ? (पूर्णपाठसहित)

काठमाडौं – सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ । यस्तो फैसलासँगै उनको उप्रधान एवं गृहमन्त्री र सांसद पद पुमेको छ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसलासँगै उनको पद पुगेको हो ।

मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको थियो ।इजलासमा कामु प्रधानन्यायाधीश कार्की तथा न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा थिए ।

चोरीको चुरोट किन्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

वीरगञ्ज – बाराको कलैया उपमहानगरपालिका-३ का वडा अध्यक्ष मोहन साह कानु प्रहरी नियन्त्रणमा परेका छन् । चोरीको चुरोट बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको वयान दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गुम्यो रविको उप्रधान एवं गृहमन्त्री र सांसद पद

काठमाडौं – सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेसँगै उनको उप्रधान एवं गृहमन्त्री र सांसद पद पुमेको छ ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसलासँगै उनको पद पुगेको हो ।

मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको थियो ।

इजलासमा कामु प्रधानन्यायाधीश कार्की तथा न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा थिए ।मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधान तथा गृहमन्त्री बनेका हुन् ।

रवि लामिछानेविरुद्ध मुद्दाको फैसला आजै हुने

काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दाको फैसला सुनाउने तयारीसँगै सर्वाेच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाउँदै दायर रिटमाथि शुक्रबार सुनुवाइ सकिएसँगै सर्वाेच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा बुधबार र शुक्रबार अन्तिम सुनुवाइ भएको छ । सुनुवाइ सकिएसँगै न्यायाधीशहरु फैसलाको तयारीमा जुटेपछि अदालतमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।

पठानले राखेका यी १० रेकर्ड

मुम्बई, १३ माघ । फिल्म ‘पठान’मार्फत अभिनेता शाहरुख खानको चार वर्षपछिको कमव्याक बलिउड बक्सअफिसका लागि धमाकेदार बनेको छ ।फिल्मले रिलिजको पहिलो दिन नै बलिउड ‘सकिएको’ मान्ने ट्रोलर्सको होस नै उडाइदिएको छ । फिल्मले पहिलो दिनमै भारतमा करिब ५४ करोडको व्यापार गरेको छ । हिन्दी फिल्मको इतिहासमा फिल्म रिलिजको दिन नै यति बम्बर ओपनिङ सायदै कमैलेमात्र चाख्न पाएका छन् ।

यो फिल्मले कमाईसँगै अन्य कैयौं रेकर्ड ब्रेक गरिसकेको छ । फिल्मले विश्वव्यापी रुपमा नै सय करोड बढीको व्यापार गरिसकेको छ । रोचक कुरा के छ भने फिल्मले नयाँ १० रेकर्ड पनि कायम गरेको छ । यी हुन् ‘पठान’का १० रेकर्ड
१. भारतमा हालसम्म सर्वाधिक बढी स्क्रिनमा रिलिज हुने पहिलो फिल्म ।

२. पहिलो दिन बक्सअफिसमा सर्वाधिक कमाई गर्ने हिन्दी फिल्म ।

३. बिना कुनै सार्वजनिक विदाको दिन रिलिज यस्तो पहिलो फिल्म, जसले ओपनिङ डेमै रेकर्डयुक्त कमाई गर्‍याे ।

४. यशराज ब्यानरको तेस्रो फिल्म जसले ‘वार’(५३ दशमलब ३५ करोड) र ‘ठग्स अफ हिन्दुस्तान’ (५२ दशमलब २५) पछि पहिलो दिन बक्सअफिसमा नेट ५० करोड भन्दा व्यापार गर्ने फिल्म

५. तेस्रो यशराज स्पाय युनिभर्स फिल्म जसले ‘एक था टाइगर’ र ‘वार’ पछि रेकर्ड कायम गरेको छ ।

६. पहिलो दिन झण्डा गाड्ने शाहरुखको करियरकै पहिलो हाइएस्ट ग्रसिङ फिल्म

७. दीपिका पादुकोणको करियरको लागि पनि ‘पठान’ पहिलो फिल्म हो, जसले ओपनिङ डेमा रेकर्डब्रेक कमाई गर्यो ।

८. पहिलो दिन जोन अब्राहमको करियरको पनि पहिलो हाइएस्ट ग्रसिङ फिल्म ।

९. यशराज फिल्मसको पनि पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने पहिलो फिल्म ।

१० निर्देशक सिद्धार्थ आनन्दको करियरको पहिलो दिन कमाइ गर्ने पहिलो फिल्म ।

ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू

काठमाडौं, १३ माघ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएर गुन्जी भारतको नभएको बताएको छ ।

मोर्चाले प्रधानमन्त्री मोदीलाई ५ बुँदे ज्ञापनपत्र पठाएर गुन्जी  नेपालको रहेकाले दाबी नगर्न आग्रह गरिएको मोर्चाका मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जानकारी दिए ।

भारतले नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने भन्दै उनले यसबारे भारतीय प्रधानमन्त्री मोदीलाई ध्यानाकर्षण गराउँदै गुन्जी क्षेत्रमा हुने भारतीय गतिविधि अन्त्य गर्न माग गरिएको उनले जानकारी दिए ।

‘क्षेत्रफलका हिसाबले  सानो र सैनिक संख्या कम भएको भन्दैमा नेपालको भन्दा भारतको सार्वभौमसत्तालाई ठूलो मान्न सकिँदैन र यो सार्वभौमसत्ताको अन्तर्राष्ट्रिय परिभाषा पनि होइन । अतः गुन्जीलाई भारतको भाइब्रेन्ट भिलेज प्रोजेक्टमा समावेश गर्ने योजना रद्द गरी गुन्जीमाथिको नेपालको सार्वभौमसत्ताको उच्च सम्मान गरियोस्,’ भारतीय प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको अध्यक्ष नेपालले जानकारी दिए । .
नेपालका प्रधानमन्त्रीसहित पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान , अफगानिस्तान र माल्दिभ्सका साथै सार्क सचिवालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा मोर्चाले भनेको छ, ‘नेपाल र भारतका प्रधानमन्त्रीहरूले यी दुई देशका बीचको सम्बन्धलाई अद्वितीय भने पनि व्यवहारमा त्यस्तो बिलकुलै देखिँदैन र अद्वितीय भन्ने लवज केवल एउटा भावुक पदावली बनेर रहेको छ ।’

२०२२ को भारतको बजेटमा गुन्जी गाउँमा २ अर्ब भारतीय रुपैयाँ खर्च गर्ने भनेको र यसबारे नेपाल सरकार मौन रहँदै आएको उनले बताए ।

नेपालको जमिन कब्जा गरी त्यहाँ सेना तैनाथ गरेर भारतले आफ्नो गणतन्त्र दिवस मनाउँदा नेपालीहरूले यसलाई साधारण रूपमा लिन्छन् भन्ने सोच्नु भारतको भूल रहेको भन्दै उनले मोर्चाले भारतको ७४औँ  गणतन्त्र दिवसका अवसरमा ५ बुँदे ज्ञापनपत्र पठाएको जानकारी दिए ।
भारतले हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवस मनाउने गरेको छ ।

माओवादी स्थायी समिति बैठक जारी

काठमाडौं, १३ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिकाे बैठक बसिरहेको छ । कोटेश्व पेरिसडाँडास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ । साथै बिहीबार प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा भएको छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउने छन् ।माओवादी स्थायी समितिको बैठक बिहीबारबट सुरु भएको हो ।

शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन

काठमाडौं, १३ माघ । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालको पुत्लादहन गरिएको छ । एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले शिक्षामन्त्री खनालको पुत्लादहन गरेका हुन् ।

विद्यार्थीहरुले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेको भन्दै मन्त्री खनालको पुत्लादहन गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग ?

मुम्बई, १३ माघ । प्रख्यात फिल्म निर्देशक अनुराग कश्यपको फिल्म ‘ग्याङ्स अफ वासेपुर’ कल्ट क्लासिक फिल्मको सूचीमा पर्छ । दुई भागमा बनेको यो फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो । फिल्मको कथा, कलाकारको अभिनय र गीतलाई दर्शकले निकै मनपराए । आज पनि यो फिल्मका कलाकारलाई दर्शकले उत्तिकै सम्झन्छन् ।

तर, निर्देशक अनुराग भने यो फिल्मलाई सम्झन चाहँदैनन् । ‘म यो फिल्मलाई बिर्सन चाहन्छु । म जहाँ पनि जान्छु, मलाई मानिसहरूले ग्याङ्स अफ वासेपुर जस्तो फिल्म कहिले बनाउने भनेर सोध्छन् । यो खुशीको कुरा हो कि मानिसले अझै यो फिल्म सम्झिरहेका छन् । तर, उनीहरूले अर्को फिल्मलाई पनि सम्झनुपर्छ,’ उनी भन्छन् ।

‘ग्याङ्स अफ वासेपुर’मा मनोज वाजपेयी, पंकज त्रिपाठी, हुमा कुरैशी, ऋचा चड्डाजस्ता कलाकारको अभिनय थियो । दुवै भागको फिल्म सन् २०१२ मा रिलिज भएको थियो ।कामको कुरा गर्दा निर्देशक अनुराग नयाँ फिल्म ‘अलमस्ट प्यार विद डिजे मोहब्बत’का कारण चर्चामा छन् । यो फिल्म यसै वर्षको फेब्रुअरी ३ मा रिलिज हुँदै छ ।

अमेरिकी डलरकाे भाउ स्थिर, कुन देशको विनिमय दर कति?

काठमाडौ, १३ माघ । शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यसअघि बिहिबार पनि अमेरिकी डलरको खरिदबिक्री सोहि मूल्यमा भएको थियो ।युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६१ पैसा पाइन्छ। अघिल्लोदिन यसको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसामा भएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ११ पैसा तोकिएको छ। यसअघि यसको खरिदमूल्य १६० रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ६ पैसामा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर ९३ रुपैयाँ नाघेको छ । यसको खरिददर ९२ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९३ रुपैयाँ २ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७१ पैसा कायम रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर शुक्रबार ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा तोकेको छ।युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६३ पैसा तोकीएको छ । मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३० रुपैयाँ ८२ पैसामा पाइन्छ।

यसैगरी, शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८२ पैसामा कारोबार भैरहेको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ६ पैसा तोकिएको राष्ट्र बैंकको विवरणमा उल्लेख गरीएको छ।

यस्तो छ आजकाे हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौ, १३ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, नेपाली सुन्ताला १३० रुपैयाँ तोकिएको छ ।

रातो आलु २५ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवी २५० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, अदुवा ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ कायम रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।

चमसुरको साग ८० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, तामा ९० रुपैयाँ, तोरीको साग र भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज १२० रुपैयाँ र हरियो धनिया ८० रुपैयाँ रहेको छ ।

ताजा रहुको माछा ३५० रुपैयाँ, छडीको माछा २५० रुपैयाँ, बचुवा र मंगुरी माछा २६० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।

थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने

सोलुखुम्बु-सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबिबीएस पढाउनुहुने भएको छ । उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले उक्त निर्णय गर्नुभएको हो । उहाँले यही माघ १२ गते सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गर्नुभएको छ । अध्यक्ष राईले गाउँपालिका भित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गर्नुभएको छ ।रासस

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

पर्वत-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिनुभयो ।

स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टाँै लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिनुभयो । “ऐन, नियम र कानुनको परिधिभित्र रही कार्यालयको काम गर्नुस्, दबाब र प्रभावमा परेर होइन्”, उहाँले भन्नुभयो । जिल्लामा सञ्चालित विकास निर्माणका काम समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालय र आयोजना प्रमुखलाई मन्त्री गिरीले निर्देशन दिनुभयो ।

“स्थानीयस्तरमै समाधान गर्न सकिने समस्या तत्काल समाधान गर्र्नुपर्छ । उल्झन देखिएमा मलाई जानकारी गराउनु होला”, उहाँले भन्न्ुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले कानुनी जटिलताका कारण कतिपय आयोजनाको काममा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै कानुन संशोधन गरेर पूर्वाधार निर्माण तीव्ररुपमा गर्नुपर्ने धारणा राख्नुभयो ।रासस

टरिगाउँ विमानस्थलमा आजदेखि सीता एयरले उडान भर्दै

दाङ-दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमान कम्पनी सीता एयरले उडान भर्ने भएको छ । त्यसका लागि सीता एयरले आज परीक्षण उडान गर्दैछ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एयरको विमानले परीक्षण उडान भर्ने तय भएको छ । “निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । हाल नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइबार, मङ्गलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ । टरिगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ । हाल दाङबाट काठमाडौँको न्यूनतम भाडा रु आठ हजार आठ सय १० तथा काठमाडौँबाट दाङको भाडा न्यूनतम रु नौ हजार र अधिकतम रु १२ हजार रहेको छ । हाल कायम रहेको सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्र्ने योजना छ ।रासस

कामपाबाट खड्गी समुदायका गुठीले पाए ४७ लाख

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले खड्गी समुदायका गुठीलाई ४७ लाख अनुदान रकम दिएको छ । कामपाले आयोजना गरेको अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि नेपाल खड्गी सेवा समितिअन्र्तगत ४७ गुठी तथा खललाई रु एक लाखका दरले रकम उपलब्ध गराइएको हो । कार्यक्रममा मेयर बालेन्द्र शाहले अहिलेको पुस्ताले सम्पदा बचाउन सकेन भने काठमाडौँको सांस्कृतिक पहिचान नै धरापमा पर्नसक्ने भन्दै मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न अहिले नै लाग्नुपर्ने बताए ।

कामपाबाट रकम पाउनेमा गुठीमा चन्द्र लखु अजिमा गुठी, इन्द्रायणी गुठी, रुद्र विनायकनायखिं गणेद्य खलः, पचली भैरव चिधं गुठी, शान्ति सुरक्षा गुठी, रामनाम गुठी, कंगअजिमातःगुठी, शान्तनायः खिं बाजं खलः, नायः खिं बाजं खलः, कंगअजिमानायः खिं, सिपाइँनायःगुठी, पुन हिटी गुठी, योमरीपुन्ही गुठी, दफ्तर नायः खिं बाजं खलः, ईन्द्रायणी गुठी, ईन्द्रायणी सना गुठी, ईन्द्रायणी गुठी समाज, भद्रकाली गुठी, ईन्द्रायणी गुठी, भद्रकाली गुठी खलः, भद्रकालीनायोखिंं बाजँखलः समिति रहेका छन् ।

यस्तै पंचकुमारी सिं गुठी, मैतीअजिमानायः खिं बाजं खल, पचली भैरव तःधं गुठी, पचली भैरव सेवा गुठी, पचली भैरव नायोपाचो तधं गुठी, ईन्द्रायणी तःधं गुठी, ईन्द्रायणी शान्ती गुठी, ईन्द्रायणी सेवा गुठी, ईन्द्रायणी आजाःअजु सना गुठी, भद्रकाली छ्वास गुठी, बालाच¥हे सेवा गुठी खलः, पचली भैरव चिधं गुठी क्वःने, बागबजार नेवाबाजं खलः, भद्रकाली धर्म गुठी, ईन्द्रायणी गुठी, अजिमा सेवागुठी, ईन्द्रायणी गुठी समाज, नरसिंह माइला गुठी, बैकुण्ठ गुठी, भुरुङ् खेल मेहर सिं गुठी, चल्खु अजिमा गुठी, गुहेश्वरी द्यः पालाः खड्गी समुह, पञ्चकुमारी खड्गी सेवा गुठी, बलराम गुठी, शान्त गुठी, ईन्द्रायणी सना गुठी द्यः बु ले रकम पाएका छन् ।

कमिसनको खेलले ९ आयोजना अलपत्र

काठमाडौँ – भेरी नगरपालिका–१ स्थित रिम्ना लिफ्ट सिँचाइ आयोजना कागजी रूपमा ‘सम्पन्न’ भएको पाँच महिना पुग्यो। काम भने अधुरै छ।२५ लाख रुपैयाँ खर्चिएको यो आयोजना अलपत्र छ।तर, निर्माण सम्पन्न भएको भन्दै कृषि विकास कार्यालयले सम्पूर्ण रकम भुक्तानी दिइसकेको छ।

सोलारका पाता अलपत्र र तोडफोड गरिएका छन्।पाइप अपुग छ।५ सय मिटर अनुमान गरिए पनि कार्यालयले तीन सय मिटर मात्रै दिएको छ।सिँचाइ पोखरीसम्म पाइप नपुगेकै कारण आयोजना सञ्चालनमा आउन नसकेको हो।सम्पूर्ण निर्माण सामग्री कार्यालय आफैंले खरिद गरेको थियो।

भेरी–१३ बारेलास्थित इमिलेचौर लिफ्ट सिँचाइ योजना पनि अलपत्र छ।१५ लाख लागतको आयोजनाको पाइप र सोलार पाता यत्रतत्र छरिएका छन्।सोलार सिस्टम चल्दैन।यसका लागि पनि सम्पूर्ण निर्माण सामग्री कार्यालयले नै खरिद गरेको थियो।तर, स्टिमेटअनुसार पाइप पाएन।जसकारण हालसम्म नदीदेखि पोखरीसम्म पानी पुगेको छैन।

भेरी–१२ को बिस्नेचौर लिफ्ट सिँचाइ आयोजना पनि अलपत्र छ।१० लाख लागतको आयोजनाले न स्टिमेटअनुसार पाइप पाएको छ न त पाइप र सोलारको संरक्षण नै गरिएको छ । ५ सय ८० मिटर पाइप स्टिमेट गरिएकामा ३ सय मिटर मात्र आएको छ।

यसको पोखरीसमेत बनाइएको छैन।सोही क्षेत्रमा यसअघि निर्माण गरिएको डिप बोरिङको पोखरीमा पानी जम्मा गर्ने भनिएको थियो। तर, नदीबाट पोखरीसम्म पुग्ने पाइप आयोजनाले पाएको छैन। सोलार सिस्टम पनि चल्दैन।खानेपानीसमेत सुविधा नभएको त्यहाँका २५ घरधुरी स्थानीयले नदीबाट पानी बोकेर पिउन बाध्य छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज

काठमाडौँ । सर्वोच्च अदालतले होटल–रेस्टुरेन्टलगायतले लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्न परमादेश जारी गरेको छ। कर निर्धारण र असुलीको मान्यताविपरीत रहेको भन्दै अदालतले उपभोक्तामा थपिएको अतिरिक्त आर्थिक बोझ खारेजीको आदेश गरेको हो तर लामो समयदेखि सेवा प्रदायकले खारेजीको माग गरिरहेको दूरसञ्चार सेवा शुल्क र विद्युत् महसुलमा लगाइँदै आएको इनर्जी शुल्क भने अझै उपभोक्तामाथि भार बनाइएको छ।

उपभोक्ताले वार्षिक रूपमा आर्थिक ऐनको व्यवस्थाबमोजिम दूरसञ्चार सेवा शुल्क तिर्दै आएका छन्। सेवा प्रदायकले यस्तो शुल्क कम्तीमा १ प्रतिशत मात्र लगाउन वा शून्य बनाउन माग गर्दै आएका छन्। होटललगायतको शुल्क हटाउन आदेश भए पनि करमाथि कररशुल्क थपिने दूरसञ्चार शुल्क र विद्युत्को इनर्जी शुल्क भने राज्यले घटाउनसमेत चाहेको छैन।

नेपाल विद्युत् प्राधिकरणले त विनियमावलीका आधारमा विद्युत् महसुलमा इनर्जी शुल्क थपेर कर निर्धारण गरी उपभोक्ताबाट असुल गर्दछ। त्यसका लागि अनुमति भने विद्युत् नियमन आयोगले दिएको हुन्छ। कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले श्रम ऐनको उक्त व्यवस्था संविधानको धारा ४४ र धारा ११५ को मर्मविपरीत रहेको भन्दै २०७९ माघ ११ गतेदेखि लागू हुने गरी बदर गरेको हो। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

सय वस्तुको गुणस्तर मापदण्ड तयार

काठमाडौं । वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन नेपाल गुणस्तर तथा नापतौल विभागले करिब सय वस्तुको गुणस्तर मापदण्ड तयार गरेरको छ। विभागको प्राविधिक समितिले मापदण्ड पास गरेर नेपाल गुणस्तर परिषद्मा पेश गरेको छ।

बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आएपछि विभागले विभिन्न वस्तुको मापदण्ड तयार गरेको हो।विभागले तयार गरेको मापदण्ड नेपाल गुणस्तर परिषद्ले पारित गरेपछि कार्यान्वयन हुन्छ। परिषद्को अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहने व्यवस्था छ।

आम उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन गुणस्तर मापदण्ड तयार गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्रले बताए। ‘९८ वटा वस्तुको गुणस्तर मापदण्ड तयार गरेर प्राविधिक समितिले पास गरिसकेको छ,’ महानिर्देशक मिश्रले भने, ‘परिषद् बैठकको पर्खाइमा छौं।’

परिषद् बैठकबाट पारित गर्ने विभागको तयारी छ। नयाँ मन्त्री आएकाले छिट्टै बैठक बस्न अनुरोध गर्ने विभागले जनाएको छ ।विभागका अनुसार ऊर्जा व्यवस्थापन प्रणाली, रेफ्रिजेनेटर, शैक्षिक संस्था, पानीको गुणस्तर, चिया, टेक्सटाइल, विभिन्न तेल, खेलौना, मल, फुटवेयर, रबर लगायतका वस्तुको मापदण्ड तयार गरिएको छ।

कतिपय वस्तुको मापदण्ड छ भने केहीको परीक्षण गर्ने विधि, प्रक्रियाको पनि मापदण्ड तयार गरिएको छ। उपभोक्ताले प्रयोग गर्ने वस्तु र परीक्षण गर्ने विधि गुणस्तरीय हुन भनेर स्ट्याण्डर्ड तयार गरेको हो।यो खबर आजको नागरिक दैनिकमा छ ।

राष्ट्रपति एमालेलाई नदिने प्रधानमन्त्री प्रचण्डको संकेत

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ।माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्।

माओवादी केन्द्र स्थायी कमिटीको बिहीबार बसेको बैठकमा दाहालले अहिले सभामुख र राष्ट्रपति एमालेलाई दिने, भोलि प्रधानमन्त्री पनि एमालेकै बन्ने अवस्थामा राज्यका सबै संयन्त्र उसकै हातमा जाने भएकाले यसबारे सोच्नु जरुरी रहेको बताए।

‘भोलिको त्यो अवस्थाबारे अहिले नै सोच्न जरुरी छ,’ दाहाललाई उद्धृृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘सभामुख गइसक्यो, राष्ट्रपति पनि एमालेको हुने र दुई वर्षपछि प्रधानमन्त्री पनि ओली (केपी ओली) जी नै हुने। त्यसपछि के होला ? त्यसैले हामीले अहिल्यै गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले बैठकमा भोलिको शक्ति सन्तुलनबारे कुरा उठाएको स्थायी कमिटीका अर्का सदस्य राम कार्कीले बताए।

कार्कीले भने, ‘बैठकमा विगतको गठबन्धन टुट्नुका कारण, वर्तमान गठबन्धन बन्नुका कारण र भविष्यको राजनीतिक सम्भावनाबारे अध्यक्ष कमरेडले कुरा राख्नुभयो।’ कांग्रेसले सहमति पालन नगर्दा पुरानो गठबन्धन टुटाएर नयाँ बनाउनुपरेको कुरा दाहालले बैठकमा राखेका थिए।
यो खबर आजको नागरिक दैनिकमा छ ।

नयाँ गठबन्धन पनि सहज नभएको दाहालले बताएका थिए। ‘नयाँ गठबन्धन पनि स्वाभाविक रूपमा दसतिर फर्किएका दलहरूको छ। खँदिलो भइसकेको छैन। यसमा चुनौतीसँगै अवसर पनि छन् भन्ने कुरा अध्यक्षले राख्नुभयो,’ कार्कीले भने, ‘लोकतन्त्रका सबैजसो पिलर सभामुख, प्रधानमन्त्री, राष्ट्रपति र न्यायालयमा एकै पार्टीको उपस्थितिभन्दा पनि सबैको शक्ति सन्तुलन हुनुपर्नेतर्फ उहाँको विशेष चासो र चिन्ता छ।’

राष्ट्रपतिमा एमालेले अघि सार्ने उम्मेदवारलाई रोक्न माओवादी केन्द्रले ‘राष्ट्रिय सहमति’लाई जोड दिएको छ। प्रधानमन्त्री दाहालले पार्टी स्थायी कमिटी बैठकमा यही कुरामा बढी जोड दिए।स्थायी कमिटी सदस्य कार्कीका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा अहिले सबै पार्टीले आफूलाई विश्वासको मत दिएकाले सोहीअनुसार राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने दायित्व रहेको बताएका थिए।

क्यानडा अध्ययनका लागि काठमाडौँमा शैक्षिक मेला हुने

काठमाडौँ, १२ माघ । क्यानडा अध्ययनका लागि लक्षित गर्दे काठमाडौँमा शैक्षिक मेलाको आयोजना हुने भएको छ । फेब्रुअरी १० मा आयोजना हुने मेलालाई क्यानडाको जर्जिएन कलेजका प्रतिनिधिहरूमध्ये अन्तर्राष्ट्रिय शिक्षा र विकास निर्देशक मिस स्टेफनी ब्यारी, दक्षिण एशिएन देशका प्रतिनिधि रोहन रावतले सम्बोधन गर्दैछन् ।

यी दुई परामर्शदाताबाट  जर्जियन कलेजमा थप अध्ययनहरू सञ्चालन गर्ने सन्दर्भमा विभिन्न प्रकारका जिज्ञासाहरुलाई पनि सम्बोधन गर्ने बताइएको छ । मेलामा जर्जियन एट आइल्याक कलेजका क्षेत्रिय रिक्रुट्मेन्ट  प्रबन्धक सौरभ पटेल र अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार रितिका मेहरोत्रा पनि उपस्थित हुनेछन् ।

क्यानडा अध्ययन जानकारीको सन्दर्भमा  नेपालका तीन विश्वसनिय शैक्षिक परामर्श संस्थाहरु गोरेटो कन्सल्टेन्सी, इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर र पपुलर कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरुलाई वन-स्टप शोलुसनु दिने उद्देश्य लिई क्यानडा स्थित जर्जियन कलेजसंग सहकार्य गरि मेलाको आयोजना गर्न लागिएको हो ।

जसमा क्यानाडाका शैक्षिक संस्थाहरूमा भविष्यमा हुने शैक्षिक कार्यक्रमहरुको सन्दर्भमा सबैभन्दा बढी खोजिने र अन्योलमा पार्ने विषयहरु, नेपाली विद्यार्थीहरुले क्यानडा अध्ययनको सिलसिलामा जानु पूर्व नेपालमा गर्नुपर्ने तयारी, उपयुक्त विषय छनोट, को-अप, पीआरको अवसर साथै पछिल्लो समय पि.टि.ईको बारेमा चलेको भ्रमको यथार्थ बिष्लेषणकोलागि पनि छुट्टै शत्र राखिनेछ ।

मेला कान्तिपथमा अवस्थित एल्लो प्यागोडा होटलमा बिहान ११ बजेदेखि ३ बजेसम्म चल्लेछ । जसमा तीन शैक्षिक परामर्शदाता संस्थाहरुका प्रतिनिधिहरु राम खड्का, धिरज कँडेल,  सतिस भट्ट, अमित श्रेष्ठ, दीपेन्द्र रसाइली, र सरु आचार्यले विद्यार्थीहरुलाई शैक्षिक कार्यक्रम लगायतका विषयमा जानकारी दिनेछन् । सो अवसरमा क्यानडाली अध्यागमन परामर्शदाता आइसी आर सीका रजिष्टर्ड कानुनी सल्लाहाकार कृति खड्काले पनि क्यानाडा स्थाई बसोबास सम्वन्धित उठेका प्रश्नहरुलाई सम्बोधन गर्नेछिन् ।

१० कर्मचारीलाई उमेर दह नलगाई सात दिनभित्र दरखास्त भर्न समय दिइयो

काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका १० जना कर्मचारीलाई उमेर हद नलगाई सात दिनभित्र फाराम भर्न भनेको छ ।

आयोगले बिहीबार एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई शाखा अधिकृत वा सो सरहको पदका लागि भएको विज्ञापनमा उमेर दह नलगाई सात दिनभित्र आयोगको अनलाइन दरखास्त प्रणालीबाट फाराम भर्न समयावधि दिएको हो ।

आयोगबाट भएको १६६९२–१६७०५/२०७९–८० शाखा अधिकृतको विज्ञापनमा उमेर हदको विषयलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले ३५ वर्षको उमेर पूरा भएको भन्ने सम्म कारणबाट उम्मेदवार हुन तथा परीक्षामा सामेल हुन दिनबाट नरोक्नु नरोकाउनु भन्ने आदेश भएको भन्दै आयोगले दरखास्त लिने भएको हो ।

मिडिया नेपालको अध्यक्ष भन्दै पैसा बार्गेनिङ

काठमाडौं, १२ माघ-आफूलाई मिडिया नेपालको बाँके जिल्ला अध्यक्ष बताउने आशिष मल्लले स्थानीय तथा साना व्यसायीहरुलाई पैसाको बार्गेनिङ गरेर दुःख दिएको पाइएको छ । तर उनी मिडिया नेपालको कुनै जिम्मेवारीमा नभएको स्वयं राप्रपाका नेताहरुले पनि बताएका छन् ।सूचना विभागको दर्तामा हेर्दा उनले उल्लेख गरेको एबीपी क्राइम न्युजको दर्ता पनि भेटिदैन भने उनले आफूलाई पत्रकार भन्दै सर्वसाधारणलाई ठगी गर्दा नेपालगञ्जका पत्रकारहरुलाई पनि समस्या पर्ने गरेको स्वयं त्यहाँ क्रियाशील पत्रकारहरु बताउँछन् ।

एक जना पत्रकारले भने ‘उनी आफूलाई राप्रपा निकट मिडिया नेपालको नेता भने पनि कुनै पनि संगठनमा नभएको र राप्रपाको नेताको आडभरोसामा गलत काम गरिरहेका छन् ।’ उनले भनेको एबीपी क्रामइन्युज नामको साइट सञ्चालन गरेर उनले गलत धन्दा गरेपछि केही समय पहिला पनि प्रहरी हिरासतमा पुगेका थिए ।पत्रकारको काम समाचार लेख्ने हो । पैसाको वार्गेनिङ गर्ने होइन, पत्रकारिताको मूल्य मान्यताविपरित उनले मल्ल आफैले कुनै सूचना प्राप्त गरे भने टिमसहित पुग्ने गरेको र त्यहाँ उनले पैसाको बार्गेनिङ गरेर असुल्ने गरेको भन्दै केही समय पहिला नेपाल पत्रकार महासंघ बाँकेले पनि विज्ञप्ति मार्फत उनको कर्तुतको भण्डाफोर गरेको थियो ।

अहिले बाँकेबाट संघीय संसदमा निर्वाचित धवल शमसेर राणासँग नजिक भएको भन्दै डरधाक दिएर उनले असुली गर्ने गरेको मध्यपश्चिम पानी उद्योगका प्रोप्राइटर उदीतबाबु रेग्मीले बताए । उद्योगले उत्पादन गरेर बजारमा गइसकेको पानीमा केही दिन अघि कालो पदार्थ (लेउ) देखिएको थियो ।
सोही बोतल लिएर उनी पानी उद्योगमै आएर भिडियो बनाएर बार्गेनिङ गरेको पीडित रेग्मीले बताए । उनले भने ‘केही समय पहिलाको घटना हो, सुरुमा आएर भिडियो खिचे, पछि तपाईंहरुको भिडियो मेटाइदिन्छौं, वार्षिक २ लाख रुपैयाँ दिनुस भनेर भने । आशिश आफूसँगै गएपनि पैसाको बार्गेनिङ गर्न उनले आफ्ना कर्मचारीलाई लगाउने गरेका छन् ।

सोमबार नेपालगञ्जको रोयल क्याफेमा रेग्मीलाई बोलाएर मल्ल र उनका सहयोगीले दाइ मिल्न पर्छ, म हजुरलाई विज्ञापनको प्लान पठाउँछु, त्यसै अनुसार गर्नुभयो भने भिडियो डिलिट गर्छु तपाईले बर्षको २ लाख रुपैयाँ दिनुपर्छ भनेका थिए ।उद्योग सञ्चालक रेग्मीले विज्ञापन गर्न सकिँदैन, अहिले पानीको सिजन पनि होइन, भनेर जवाफ दिएपछि मंगलबार उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए ।

उक्त भिडियोमा पानी उद्योगका सञ्चालक रेग्मीले मानवीय त्रुटीका कारण गल्ती भएको स्वीकार गर्दै कानुनी प्रक्रिया अनुसार जाने जवाफ पनि दिएका छन् । फलस्वरुप नेपालगञ्जबाट आज सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी सहितको टोली पुगेर अनुगमन गरेको छ । अनुगमनका क्रममा केही कुराहरु सुधार गर्नका लागि निर्देशन दिएको र निर्देशन पालना भएपछि उद्योगले उत्पादन सुरु गर्ने रेग्मीले जानकारी दिए ।

उनले आफू कानुन पालनाका सवालमा प्रष्ट रहेको बताउँदै कानुन अनुसार हुने कारबाही भोग्न पनि तयार रहेको बताउँदै काम गर्दा कहिलेकाँही गल्ती हुने स्वीकार गरे । तर, पत्रकारितको नाममा यसरी गुण्डागर्दी गर्नेहरुलाई सरकारी निकायले पनि कानुनी दायरामा ल्याउनका लागि माग गरेका छन् ।पत्रकार भन्दै ठगी गर्ने मल्ल प्रहरीसँग पैसा वार्गेनिङ गरेको अभियोगमा पक्राउ परिसकेका हुन् भने उनका यस्ता कर्तुतबारे बाँके प्रहरी पनि राम्रोसँग जानकार रहेको बताए ।

यता, राप्रपाका सांसद धवल शमसेर राणाले मल्ललाई आफूले चिने पनि उ आफ्नो संगठनको मान्छे नभएको बताएका छन् । उनले भने ‘मल्ल मेरो मान्छे सान्छे कोही होइन, प्रहरीलाई भनेर समात्न लगाए हुन्छ ।’यस्तै, मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलले आशिष मल्ल बाँके जिल्लामा कुनै पनि पदमा नरहेको बताए । उनले यस्ता घटनाले संगठन पनि बद्नाम गर्ने भएकाले यसबारे जिल्लास्तरका नेताहरुसँग बुझ्ने बताए ।

भ्रष्टाचार आरोप लागेका नासुलाई विशेष अदालतले दियो सफाइ

काठमाडौं, १२ माघ-भ्रष्टाचार अभियोग लागेका नायब सुब्बा देवीबहादुर थापालाई विशेष अदालतले सफाइ दिएको छ ।न्यायाधीशत्रय रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनलाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १२ वैशाखमा दायर गरेको मुद्दामा सफाइ दिने फैसला भएको हो ।

भन्सार जाँचपास परीक्षण कार्यालय, तीनकुनेमा नासु पदमा कार्यरत थापाले १ करोड ८७ लाख ४७ हजार रुपैयाँभन्दा बढी गैर कानुनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो ।

अनुसन्धानका क्रममा थापाले उक्त सम्पत्ति आफूसहित बाबु कृष्णबहादुर र आमा चन्द्रमाया थापाका साथै श्रीमती विमसा राउतका नाममा राखेको देखिएपछि जफत प्रयोजनका लागि उनीहरूलाई पनि विपक्षी बनाइएको थियो । तर, उनीहरू सबैले सफाइ पाएका हुन् ।