`

सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा

काठमाडौँ । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ ।एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो ।

सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ ।विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत नयाँ समीकरण बनाएर सरकार फेरबदल गराउने कोसिसमा रहेका स्रोतको दाबी छ ।

स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रकै केही नेता वर्तमान सत्ता समीकरण भत्काउन लागिपरेका छन् । यद्यपि, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सरकार गठन भएको छोटो समयमै सत्ता गठबन्धन भत्काउँदा सरकारप्रति नै ठूलो अविश्वास बढ्ने भएकाले त्यस्तो गर्न नहुने पक्षमा छन् ।आजको राजधानी दैनिकमा समाचार छ ।

राष्ट्रपति चयन हुन बाँकी रहँदा एमाले र माओवादीबीच राष्ट्रपतिको विषयलाई लिएर विवाद बढाउन शक्तिकेन्द्र दौडधुपमा लागेको बताइएको छ ।

गोदावरीमा आफ्नै खेत बारीमा राना मृत फेला

धनगढी, १५ माघ-कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन् ।गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीका ६३ वर्षीय सन्चा राना मृत फेला परेका हुन् ।

उनी आफ्नै खेत बारीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

लैनसिं बांदेलको बेवारिसे बनेको शालिक पार्कमा राखियो

खोटाङ – खोटाङमा झण्डै ११ वर्षसम्म बेवारिसे बनाइएको कलाकार एवम् साहित्यकार लैनसिं बांदेलको शालिकलाई व्यवस्थित रूपमा पार्कमा राखिएको छ । वर्षौं अलपत्र परेको बांदेलको अर्ध कदको शालिकलाई ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलको शुक्रबारेडाँडा, बेनेसेनमा पार्क बनाएर राखिएको हो ।

राखाबांदेल कलाकार बांदेलको पुर्खौली थलो हो । वडा कार्यालयबाट दुई लाख विनियोजन गरेर घराबारा सहितको लैनसिं बांदेल पार्क निर्माण गरेर बांदेलको शालिकलाई व्यवस्थित रूपमा राखिएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताए ।

जिल्लाको सार्वजनिकस्थलमा राख्नेगरी मोरङ बेलबारीका मुर्तीकार श्याम गौतमले बांदेलको शालिक बनाएर २०६७ सालमा तत्कालिन जिल्ला बिकास समितिलाई हस्तान्तरण गरेका थिए ।

गौतमले बांदेलको शालिक सहित हलेसीमा राख्नेगरी एउटा शिवलिंग र बसाहाको ढुंगेमुर्ती निःशुल्क हस्तान्तरण गरेका थिए । दिक्तेलमा पसल तथा होटलको पेटीमा अपमानित तरिकाले पाँच/छ वर्ष राखिएको बांदेलको शालिकलाई २०७३ सालमा तत्कालिन गाबिसबाट ढुवानी खर्च छुट्याएर ट्याक्टमा बोकेर राखाबांदेल लगिएको थियो ।

दिक्तेलसम्म शालिक पुर्‍याउने क्रममा तत्कालिन जिल्ला बिकास समितिले गौतमलाई ३० हजार भाडा दिएको थियो । त्योबेला जिविस र जिल्लास्थित राजनीतिक दलका नेताले दिक्तेलको रत्नपार्क आसपासमा बांदेलको प्रतिमा राख्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयनमा कसैले चसो नदिँदा बांदेलको शालिक दिक्तेलबजारमा वर्षौसम्म सडक पेटीमा प्लाष्टिकले छोपेर बेवारिसे अवस्थामा राखिएको थियो ।

स्थापनामा चासो नदिइदा दिक्तेलमा बेवारिसे बनेको बांदेलको शालिक स्थापनाका लागि २०७१ सालमा अगमसिं राईको संयोजकत्वमा १५ सदस्यीय लैनसिं बांदेल प्रतिमा स्थापना समिति गठन गरिएको थियो ।

संरक्षणको पर्खाइमा कनकासुन्दरी मन्दिर

मुगु – नेपाली भाषाको उद्गम स्थलको रूपमा चिनिने सिन्जा प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना मानिन्छ । सिन्जाको कनका सुन्दरी बाट नेपाली भाषाको उद्गम थलो रहेको कनका सुन्दरी मन्दिरमा रहेका ताम्रपत्र, स्वर्णपत्र, शिला लेखलगायत प्राचीन, ऐतिहासिक, बहुमूल्य सम्पदा रहेको कनका सुन्दरी पछिल्लो समयमा  संरक्षणको पर्खाइमा रहेको छ ।

झन्डै ३४६१ वर्षअघि अर्थात् इसापूर्व १ मा राजा जालन्दरले यही कनका सुन्दरी मन्दिरमा  सिन्जा राज्य स्थापना गरेका थिए । राजा जालन्दर शिवका भक्त थिए । शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ लाई जोडेर सिन्जा नाम रहन गएको जनश्रुति भेटिन्छ ।

खस राजा नागराज र उनका उत्तराधिकारीले सिन्जा राज्यमा झन्डै ३ सय वर्षसम्म शासन गरेका गरेको इतिहास छ । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटक आक्रमण गरी ‘करत राज्य’ बनाएका थिए भने पश्चिमको कुमाउ, गडवालसम्म सिन्जा राज्यको क्षेत्र भएको इतिहास रहेको पाईन्छ ।

पछिल्ले समयमा संबिधान जारी भै पहिलो दोस्रो पटक  निवाचन भई स्थानीय र प्रदेश सरकारबाट मन्दिर निमाण गर्न लाखै रकम खर्च गरेपनि मन्दिर बाहीरको घेरवार र अन्य सुरक्षाको ब्यावस्था नगर्दा मन्दिर भित्र रहेका बहुमुल्य मुक्तिलगाएतका अन्य बहुमूल्य सम्पतिको असुरक्षा  भएको देखिन्छ ।

यस कनका सुन्दरी मन्दिरमा रहेको बहुमूल्य मुक्ति, गरगहना, सम्पति इलाका प्रहरी कार्यालयको रोहोवरमा केही स्थानमा सुरक्षा गरी राअ‍ेका छौं । तर मन्दिर खासै सुरक्षीत देखी दैनन् मन्दिरको चारैतिर खुल्ल रहेको छ । स्थानिय सरकार संग मन्दिरको संरक्षण मर्मत घेरवारको लागी पहल पटक पटक गरिएको भए पनि खासै चारो नदिएको कनका सुन्दरी ब्यवस्थापन समितीका सचिव तारा चन्द्र हमालले बताए ।

इतिहासीक सास्कृतिक सम्पदा बोकेको कनका सुन्दरी मन्दिर र मन्दिर भित्र रहेको बहुमुल्य गरगहना सुरक्षाको लागी दैनिक एक जना पुजारी र एक जना चैकीदारको सहयोगमा सुरक्षा दिइका छन । खासै मन्दिरको ब्यवस्थापनमा सुरक्षा भएको देखीदैनन् बन्दिरको सबै तिर खुल्ला रहेको प्रहरी पनि कहिले पनि मन्दिरमा नआउर्ने मन्दिरको बाहिरीए भागमा खुल्लाहुँदा पशुचौपाए समेत चराउर्ने गर्ने गरेको कनका सुन्दरी मन्दीरका पुजारी दिप उपाध्यायले जानकारी दिए ।

कनका सुन्दरी मन्दिरभित्र रहेको धार्मिक इतिहासीक क्षेत्र भएको हुदा कनका सुन्दरी मन्दिर  बहुमुल्य मूतिको सुरक्षाको लागी ईलाका प्रहरी चौकी रहेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा संग सहकाय गरेर मन्दीरमा प्रहरी बिट राखेर सुरक्षा दिर्ने तयारी गरी रहेको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय दामोदर प्रसाद आर्चायले बताए ।

प्रमोद खरेलले आफ्नो पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूको उपचारमा खर्च गर्ने

काठमाडौं – गायक प्रमोद खरेलले धनकुटा महोत्सवमा भएको घटनाप्रति दुख व्यक्त गरेका छन् । खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिएका छन् । उनले घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेहरूका उपचारमा खर्च गर्ने बताएका हुन् ।

शनिवार राति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा धेरै मानिसहर घाइते भएका थिए । घाइते भएका ३० जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ ।

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

काठमाडौं – डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन भएका छन् ।प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रभु ग्रुपका प्रमुख भट्टचनलाई डिसहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो ।

यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए । व्यवसायी भट्टचन हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण

काठमाडौं – नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको छ । काउन्सिलमा चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तिर्ण भएका छन् ।

माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी थिए ।

प्रमोसन अभियानमा फूलबारी

काठमाडौं । आगामी फागुन ५ गतेबाट रिलिज हुने फिल्म ‘फूलबारी’ले ५ सहरमा प्रमोसन अभियान सुरु गरेको छ । फिल्मले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम सुरु गरेको हो ।

फिल्म प्रमोसन कार्यक्रमको आयोजक तथा व्यस्थापक पीभीइ नेटवर्कका अनुसार गत शुक्रबारदेखि बुटवलबाट सुरु प्रमोसन माघ २१ गतेसम्म चल्नेछ । यो समयावधिमा फिल्म युनिट पोखरा, चितवन, इटहरी र बिर्तामोडसम्म पुग्नेछन् । टिममा प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटालगायत छन् ।

गत शुक्रबार फिल्म युनिटले बुटवलको मणि मुकुन्द कलेज, सिद्धार्थ गौतम कलेज, न्यू होराइजोन र कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलमा फिल्मको प्रमोसन गरेको थियो । कलाकारलाई कलेजका विद्यार्थीलाई फिल्मका गीतका तथा गायक कालीप्रसाद बासकोटाले गाएको फिल्मको गीत ‘माया रहेछ र’ गाएर स्वागत गरेका थिए ।

बुटवलकै गोलपार्कमा फिल्मकै थिममा आधारित रहेर तयार पारिएको स्टेजबाट कलाकारले दर्शकसँग अन्तरक्रिया गरेका थिए । कार्यक्रमको सुरुवातमा कालीले ‘पारी त्यो डाँडा’, ‘जैले रिसाउने’ र फिल्मको गीत ‘माया रहेछ र’ सुनाएका थिए ।

कलेज र सार्वजनिक स्थानमा कार्यक्रमको कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थित थियो । मिट एण्ड ग्रिट चाहिँ द कन्सेप्ट बारमा गरिएको थियो । लामो समयपछि यो बार दर्शकले भरिएको थियो । फिल्म युनिटले आइतबार पोखरा, मंगलबार चितवन, बिहीबार इटहरी र शुक्रबार बिर्तामोडमा कार्यक्रम गर्दैछ ।

फिल्मका निर्माता मनीष ढकालका अनुसार निश्चित सहरको उच्च जनसंख्याका आधारमा कलेज गन्तव्य चयन गरिनेछ । ‘नेपाली फिल्मको इतिहासमा पहिलोपटक ठूलो संख्यामा कलाकारलाई प्रचारप्रसार अभियानमा सहभागी गराउँदै प्रमोसनलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्नेछौं । फिल्मले पब्लिक इभेन्ट अन्तर्गत मुख्य बजारको सडक छेउमा दैनिक रुपमा मानिसहरुको भीड हुने स्थानमा कार्यक्रम गरिनेछ’, निर्माता ढकाले भने, ‘त्यहाँ स्टेज निर्माण गरी फिल्मसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिनेछ । यो कार्यक्रममा क्षेत्रीय प्रवद्र्धक र विभिन्न सरोकारवाला निकायको सहभागिता हुनेछ । सार्वजनिक कार्यक्रमको सुरुवात सोलो एकस्टिकबाट गरिनेछ । त्यसपछि फिल्मका कलाकारको स्वागत, फोटो सेसन र जीवन तथा फिल्मसँग सम्बन्धित प्रेरक कुराकानी हुनेछन् ।’

व्यवस्थापक पीभीइले दैनिक जीवनमा देखिरहेका कार्यक्रमभन्दा मिट एण्ड ग्रिटमा ‘फूलबारी’ टिम फरक रुपमा प्रस्तुत भई नेपाली फिल्म उद्योगका लागि नयाँ मानक स्थापित गर्ने दाबी गरेको छ । यसमा कलाकारले दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, मनीष ढकाल र शिल्पा मास्केलगायतको अभिनय छ । फिल्मले कसरी पुस्ता अन्तरले परिवारका सदस्यबीच समस्या सिर्जना गर्छ भन्ने देखाएको छ ।

बैतडीबाट लागूऔषधसहित एक जना पक्राउ

बैतडी – बैतडीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दशरथ नगरपालिका-८ त्रिपुरा पुजारीगाउँबाट अवैध लागूऔषधसहित ५० वर्षीय नारायणसिंह थापालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

लागूऔषध चरेश २ सय ८० ग्रामसहित थापालाई प्रहरी प्रक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले नारायण सिंहको खुद्रा पसल, घर र शरीर खानतलासी गर्ने क्रममा चरेश फेला परेपछि उनी पक्राउ परेका थिए । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

राजश्व अनुसन्धान विभागका शाखा अधिकृत अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर

काठमाडौं – राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल अकुत सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतको पूर्ण इजलासले आज उनलाई दोषी ठहर गरेको हो ।

रिजाललाई दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको र उनको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ फागुन ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

रिजालले २०७५ वैशाख १५ गते राजस्व अनुसन्धान विभागबाट शाखा अधिकृतबाट अनिवार्य अवकाश पाएका थिए । त्यसअघि उनी खानेपानी, ढल निकास विभाग तथा भूमि सुधार तथा व्यवस्था मन्त्रालयमा समेत कार्यरत थिए ।

रिजालले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती स्वस्थानी रिजालसमेतको नाममा राखेको दाबी अख्तियारको थियो । विशेष अदालतले उनलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा दोषी ठहर गरेको हो ।

भक्तपुरस्थित राप्रपा नेपालको पार्टी कार्यालयमा चोरी

भक्तपुर – भक्तपुरको सल्लाघारीस्थित राष्टिय प्रजातन्त्र पार्टी नेपाल भक्तपुर जिल्ला पार्टी कार्यालयबाट शनिबार राति चोरी भएको छ । पार्टी कार्यालयबाट सीजी कम्पनीको ३२ इन्चको टिभी एक थान (अन्दाजी मूल्य रु ३६ हजार) बराबरको चोरी भएको भक्तपुर प्रहरीले जनाएको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी कटुञ्जे चोकस्थित बलराम थापाको तीनतल्ले घरको दोश्रो तल्लामा रहेका तीन वटा कोठाको ताला फोडेर चोरी भएको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए । उनका अनुसार रातको समयमा मूल ढोका खुल्ला रहेको थियो ।

उक्त स्थानमा महानगरीय प्रहरी बृत जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा टोली खटिइ अनुसन्धान भएको जनाइएको छ । चोरी गर्ने व्यक्ति हालसम्म फरार छन् । घटनास्थल बृत जगातीबाट दुई किलोमिटर पश्चिममा पर्छ ।

२२ वर्षीया युवतीलाई जबरजस्ती गर्ने २७ वर्षीय जनक पक्राउ

रुकुमपश्चिम, १५ माघ-एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा रुकुमपश्चिमबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जबरजस्ती करणीको आरोपमा धादिङका २७ वर्षीय जनक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले मुसिकोट नगरपालिका-१ निवासी २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको बताए । युवती माघ ११ गते राति बलात्कारमा परेकी थिइन् । अभियुक्त श्रेष्ठलाई रुकुमपश्चिम जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय

काठमाडौं, १५ माघ-राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ ।आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो ।

रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए ।गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।

सुन्दरवजार नगरपालिकाद्धारा ६ महिनाको अवधिमा ५० लाख वढी राजश्व संकलन

लमजुङ, १५ माघ-लमजुङको सुन्दरवजार नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा ५० लाखभन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि पुस मसान्तसम्म नगरपालिकाको आन्तरिक आयतर्फ विभिन्न शिर्षकमा ५० लाख ३१ हजार ४ सय ३६ रुपैयाँ राजश्व संकलन भएको हो ।जसमध्ये सम्पत्ति कर १७ लाख ६१ हजार ५ सय ७६ रुपैयाँ र नक्सापास दस्तुर बापत १० लाख ५७ हजार २ सय २५ रुपैयाँ संकलन भएको छ ।

ढुंगा गिट्टी, बालुवा शिर्षकमा मात्र चालु वर्ष २० लाखको राजश्व संकलनको लक्ष्य लिइएको नगरपालिकाले ६ महिनाको अवधिमा २ लाख १७ हजार आम्दानी गरेको छ ।

यसैगरी सिफारिस दस्तुर ८ लाख ७६ हजार ३ सय, घरवहाल कर ७ लाख ८६ हजार ४ सय ९३, व्यवसाय कर तथा रजिष्ट्रेसन दस्तुर ६४ हजार ९ सय, व्यक्तिगत घटना दर्ता दस्तुर ९७ हजार ८ सय ७० रुपैयाँ संकलन भएको छ । सो वाहेक परीक्षा शुल्क ४५ हजार ५ सय अन्य प्रशासनिक सेवा शुल्कतर्फ ६ हजार ३ सय, दण्ड/जरिवाना र जफत शिर्षकमा १० हजार राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

विभिन्न १२ शिर्षकलाई आम्दानीको मुख्य श्रोत मानेको नगरपालिकाले चालु वर्षमा १ करोड ५० लाख राजश्व संकलनको अनुमानित लक्ष्य लिएको छ ।चालु वर्षको आधाआधी समयमा करिव ३४ प्रतिशत राजश्व संकलन भएकाले बाँकी समयमा नगरपालिकाले आफ्नो लक्ष्य भेट्ने संभावना भने न्युन देखिएको छ ।

राजश्व संकलनमा अनुमानित लक्ष्य प्राप्तीको लागि व्यवसाय कर, घरवहाल कर एवम् दहत्तर बहत्तरबाट उठ्ने राजश्व संकलनमा जोड दिइने नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए ।नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा १ करोड १० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १ करोड २३ लाख ६४ हजार २१ रुपैयाँ २३ पैसा राजश्व संकलन गरेको थियो ।

बैतडी र दार्चुलामा शनिबारदेखि अवरुद्ध फोन र इन्टरनेट सेवा सुचारु

बैतडी, १५ माघ । बैतडीमा एन्टिफाइबर लाइन विस्तार गरिएको तारमाथिबाट रुख ढलाएपछि शनिबारदेखि अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सुचारु भएको छ । सेवा सुचारु गर्न कैलालीबाट प्राविधिक बैतडी पुगेका थिए । प्राविधिक टोलीले समस्या पत्ता लगाइ मर्मत गरेपछि आइतबार दिउँसो सञ्चार सेवा सुचारु भएको नेपाल टेलिकम कार्यालय बैतडीका प्रमुख बिक्रम राम टमाटाले बताए । उनले स्थानीयवासीले रुख काटेका कारण ३० मिटर लाइन नै परिवर्तन गर्नुपरेको बताए ।

जिल्लाको पाटन नगरपालिका–६ को पोखरी नजिकै स्थानीयले सल्लाको रुख ढालेपछि फाइबर तार चुडिएका थियो । पाटनमा फाइबर तार चुडिएपछि बैतडी र दार्चुलाको फोन तथा इन्टरनेट सेवा अबरुद्ध बनेको टमाटाले जानकारी दिए ।

‘पाटनमा सल्लाको रुख ढालिदिएको रहेछ, फाइबर तार चुडिएपछि, सेवा प्रभावित बनेको हो, अत्तरियाबाट प्राविधिक टोली आएर मर्मत गरेको छ,’ टेलिकम कार्यालय बैतडीका प्रमुख टमाटाले भने ।

फोन र इन्टरनेट सेवा अवरुद्ध भएपछि सूचना आदान प्रदान गर्न समस्या भएको थियो भने सञ्चारमाध्यमहरुलाई खबर सम्प्रेशण गर्न समस्या भएको थियो । शनिबारदेखि अबरुद्ध फोन र इन्टरनेट सेवा आइतबार दिउँसोदेखि सुचारु भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताइन् ।

कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म

नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ ।

पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले आज जनाएको छ ।

आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको सम्झनामा खोटाङमा र्‍याली

खोटाङ, १५ माघ । स‌ंघीय  संसद भवन नजिकै आत्मदाहको प्रयासका क्रममा ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्य र आत्महत्या गरेका सप्तरीका रामदेव मरिकको सम्झना र सम्मानमा खोटाङमा शान्तिपूर्ण र्‍याली निकालिएकाे छ । वर्तमान राज्यको गलत व्यवस्थाको कारण आचार्य र मरिकलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै स्वतन्त्र खोटाङ्गे प्रगतिशील एवं उद्यमी युवाहरूले आइतबार दिक्तेलबजारमा शान्तिपूर्ण र्‍याली निकालेकाे हो ।

दिक्तेलको किरातचोक रत्नपार्कदेखि त्रिवेणीचोक हुँदै भवनगैरासम्म र्‍याली निकालिएकाे थियाे । देशलाई बस्न लायक, आत्मनिर्भर र उत्पालनशील बनाउँदै ‘स्वदेशमै केही गर्छु’ भन्ने युवाका लागि अनुकुल वातावरण निर्माणको माग गर्दै र्‍याली निकालिएकाे र्‍यालीकाे नेतृत्व गरेका पारस बिराटले बताए ।

‘नेपाली समाजमा प्रेमप्रसाद र रामदेवजस्ता कैयौं पात्रहरु छन् भन्ने हेक्का राज्यलाई छ कि छैन ? एउटा युवा देशको विधायीका निर्माण गर्ने ठाउँमा नागरिक जल्दैगर्दा यो व्यवस्थालाई किन पोल्दैन ? स्वरोजगार, स्वावलम्बी र आर्थिक विकासमा सरकारले पहल गर्नु पर्दैन ?,’ उनले भने, ‘समग्र युवालाई रोजगारीको सुनिश्चितता होस् । युवापंक्तिको पलायन मानसिकता अन्त्या गरी सरकारले आफ्नो कार्यसम्पादन गरोस् भन्ने अपेक्षा छ ।’

स्वतन्त्र खोटाङ्गे प्रगतिशील एवं उद्यमी युवाको शान्तिपूर्ण प्रदर्शन जिल्ला समन्वय समितिको प्रांगणमा पुगेर कोणसभा गर्दै टुंग्याइएको थियो । कोणसभाका क्रममा आचार्य र मरिकको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको थियो ।

यसैबीच, प्रेमप्रसाद आचार्यको २५ बुँदे माग कार्यान्वयनको माग गर्दै स्वतन्त्र खोटाङ्गे प्रगतिशील एव‌ उद्यमी युवाले सरकारलाई ज्ञापन–पत्र पठाएका छन् । शान्तिपूर्ण प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमक्ष ज्ञापनपत्र पठाउँदै उनीहरुले देशलाई बस्नलायक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म

काठमाडौँ / नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ ।

पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले आज जनाएको छ ।

नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार

काठमाडौं, १५ माघ। अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन सूचक उल्लेख छ ।

नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि राजस्व संकलनमा प्रभावकारिता ल्याउने, राजस्व प्रणालीलाई थप प्रगतिशिल बनाउने, राजस्वको दरहरु हेरफेर गर्दा व्यवसायिक तटस्थता कायम गर्ने, राजस्व चुहावटलाई नियन्त्रण गर्ने उल्लेख छ ।

यस्तै देशको आर्थिक वृद्धि र आर्थिक स्थायित्व कायम हुने गरी वित्त नीति र मौद्रिक नीति तर्जुमा गर्ने, खर्च कटौती सम्बन्धी आवश्यक निर्णय गर्ने, अत्यावशक बाहेकका संरचना निर्माणका लागि संगठन र व्यवस्थापन सर्वेक्षणमा सहमति प्रदान गर्ने उल्लेख छ ।

अधुरा र  विगतमा देखिने अलपत्र परेका आयोजनाको पहिचान गरी सोको सञ्चालनका लागि आवश्यक योजनासहित सम्बन्धित निकायबाट प्रस्ताव पेश आएमा आवश्यकता र औचित्वका आधारमा स्रोतको व्यवस्था गर्ने, वैदेशिक लगानीमा आउने उचारचढाव व्यवस्थापन गर्ने हेजिङ सेवाको प्रकृया सुरु गर्ने उल्लेख छ ।

कार्ययोजनामा विदेशी विनिमय, राजस्व नीति, सरकारी अनुदान, बैंक कर्जा नीतिमा परिमार्जन नगर्ने, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलाप वित्तिय लगानी निवारण सम्बन्धमा भएको स्वमूल्यांकन प्रतिवेदन एवं अन्य प्रतिवेदनबाट प्राप्त सुझावका आधारमा मन्त्रालयका निकायमा आवश्यक सुधार गर्ने व्यवस्था राखिएको छ ।

आगामी पाँच वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिको आधार तयार गर्ने, तीन तहका सरकारबीच नीतिगत समन्वय कायम गर्ने, भन्सार दरमा पुनरावलोकन गर्ने, बन्द सरकारी संस्थान गर्ने सम्बन्धमा अध्ययन गरी पुनःसञ्चालनमा ल्याउने व्यवस्था अघि बढाउने उल्लेख छ ।

यस्तै बीमा क्षेत्रमा नीतिगत, संरचनागत प्रकृयागत सुधार गर्ने, धितोपत्र सम्बन्धी कानुनमा सुधार गर्ने, धितोपत्र दोस्रो बजार तथा यस सम्बन्धी संरचनालाई थप पारदर्शी एवं प्रतिष्पर्धी  बनाउने उल्लेख छ ।

वस्तु विनिमय बजार र यसका पूर्वाधारहरु सञ्चालनमा ल्याउने, साना तथा मझौला कम्पनीहरुलाई आवश्यक हुने पूँजी परिचालनमा सहयोग गर्ने, वित्तीय क्षेत्रमा सुधार गर्ने लगायत पनि नीति तथा कार्यक्रम कार्यान्वयन योजनामा व्यवस्था गरिएको छ ।

त्यस अतिरिक्त सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजनाको अतिरिक्त अर्थमन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत १९ पुसमा सरकारका सचिवहरुलाई दिएको निर्देशन अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित बुँदाहरुको कार्यन्वयन कार्ययोजना पनि तयार पारी कार्यान्वयनमा ल्याएको छ ।

कार्ययोजनामा रुपान्तरणकारी र राष्ट्रिय योजनाका लागि विनियोजित बजेट अभाव हुन नदिने, रुपान्तरणकारी र राष्ट्रिय गौरवका आयोजनामा विनियोजित रकमबाट अन्य कार्यक्रममा रकामान्तर तथा कार्यक्रम संशोधन नगर्ने उल्लेख छ ।

आन्तरिक राजस्व विभाग र भन्सार विभागले लक्ष्य अनुसार राजस्व परिचालन गर्ने, लक्ष्य अनुसार राजस्व परिचालनका लागि नीतिगत सुधार गर्ने पनि उल्लेख छ ।

यस्तै निजी क्षेत्रलाई विश्वासमा लिने गरी अर्थतन्त्रमा वर्तमानमा देखिएका समस्याहरुको समाधान गर्ने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने गरी योजना तयार गरी कार्यान्वयन गर्ने, अर्थमन्त्रालयको कार्यक्षेत्र भित्रका विषयमा सेवा प्रवाहमा देखा परेका मन्त्रालय स्तरबाट समस्या समाधान  गर्ने र नीतिगत रुपमा सम्बोधन  गर्नुपर्ने विषयमा नेपाल सरकारमा प्रस्ताव पेश गर्ने लगायतका गतिविधि गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लले दुवै कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुका साथै आवधिक रुपमा समीक्षा गर्दै अघि बढ्ने बताए । ४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयलाई कार्ययोजना तयार पार्न समय दिएको थियो ।

उच्चस्तरीय राजनीतिक संयन्त्रले २०७९ पुस २५ गते सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेको थियो । जसमा नेपालको समग्र औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च व्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावटलगायतका समस्यालाई औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने थिए  ।

यसका लागि राजस्व प्रशासनलाई थप चुस्त, दुरुस्त तथा करदातामैत्री बनाउने । कर छली, आयातमा न्युनविजकीकरण, चोरी पैठारी, तस्करी तथा हुण्डी कारोबारजस्ता गतिविधिको अन्त्य गर्ने, कर प्रणालीलाई थप प्रगतिशील तथा व्यवसायमैत्री बनाउने, करका दरहरू हेरफेर गर्दा व्यवसायिक तटस्थता कायम गर्ने उल्लेख थियो ।

यस्तै सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, यस आर्थिक वर्षका लागि सवारी साधन खरिदलगायत कार्यालय सञ्चालन खर्च कटौती गर्ने, पूर्वाधारको क्षेत्रमा सञ्चालित अधुरा आयोजना कार्यान्वयनमा तीब्रता दिने लगायत उल्लेख थियो ।

विज्ञहरु भन्छन्- निजगढ विमानस्थलको विकल्प छैन, के छ यसको विशेषता ?

काठमाडौँ – हवाई यात्रुको बढ्दो चाप व्यवस्थापनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ एवं सरोकारवालाहरुले औँल्याएका छन् । हाल काठमाडौँ, भैरहवा र पोखरामा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि निजगढ विमानस्थलको विकल्प नभएको उनीहरुको जिकिर छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतम मुलुकमा हवाई यात्रुको सङ्ख्या निरन्तर बढिरहेका सन्दर्भमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिलेको हवाई ‘ट्राफिक ग्रोथ’ हेर्ने हो भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कुनै विकल्प छैन । निजगढ छिटोभन्दा छिटो बन्नैपर्छ ।”

गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको थियो । उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको स्पष्ट पार्नुभएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही माघ ३ मा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेञ्जर’ परियोजना भएकाले निजगढमा विमानस्थल बन्नेमा विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्ररुपमा अघि बढाइने उद्घोष पनि गर्नुभयो ।

सरकारले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरिसकेको छ । वातावरणको विषयले निर्माणमा विलम्ब भएको उक्त आयोजना पुनःचर्चाको विषय बनेको हो ।क्यानका पूर्वमहानिर्देशक गौतमका अनुसार प्रत्येक वर्ष १० प्रतिशतले हवाई यात्रु बढिरहेका छन् । एक करोड यात्रु क्षमताको काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष नै ७३ लाख यात्रु पुगेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक १० लाख यात्रु क्षमता हो । भैरहवाको सबै सुविधा भएमा लगभग वार्षिक एक करोड यात्रु व्यवस्थापन गर्न सकिन्छ ।

“यही दरमा ट्राफिक ग्रोथ हुने हो भने हामीलाई निजगढ विमानस्थल निर्माण नगरी सुखै छैन”, उहाँले भन्नुभयो । निजगढ विमानस्थल बनेको भए पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने अवस्था नआउने उहाँको भनाइ छ । दुई विमानस्थलमा लगानी भएको खर्चले निजगढ विमानस्थल बन्ने उहाँको बुझाइ छ ।

पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतम पनि देशभित्र पूर्ण सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ विमानस्थल नै उत्तम विकल्प भएको बताउनुहुन्छ । “नेपालमा अहिलेसम्म ‘फुल फ्लेज इन्टरनेश्नल एयरपोर्ट’ छैन । ‘प्यारालल रनवे’सहितको पूर्ण क्षमताको विमानस्थलमा आफ्नै ‘एयर स्पेस’ मा उडान र अवतरण गर्नसक्ने विमानस्थल छैन, त्यसैले निजगढ विमानस्थल आवश्यकता हो”, उहाँले भन्नुभयो ।

उहाँले नेपालको आर्थिक विकासका लागि पनि यो विमानस्थल निर्माण अपरिहार्य भएको भन्दै काठमाडौँको विकल्प भैरहवा र पोखरा नभएको बताउनुभयो । यही माघ १३ गते राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा निजगढ विमानस्थल निर्माणबारे विज्ञहरुसँग छलफल भएको थियो । उक्त बैठकमा विज्ञहरुले निजगढ विमानस्थल निर्विकल्प आयोजना रहेकाले तत्काल अघि बढाउनुपर्ने सुझाव दिनुभएको थियो ।

मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (गत जेठ २ गतेदेखि) सञ्चालनमा आएको छ । तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि व्यावसायिक उडान सुरु भइसकेको छ ।

निजगढ विमानस्थलको निर्माण प्रक्रिया पनि विवादरहित छैन । वातावरणको विषयलाई लिएर करिब तीन वर्षदेखि मुद्दा मामिलामा अल्झिएको उक्त आयोजनालाई सर्वोच्च अदालतको आदेशले निर्माण अघि नबढाउन भनेपछि यो विषय थप तरङ्गीत भएको थियो ।

सर्वोच्च अदालतको पूर्ण फैसलामा पनि विकल्प खोज्न भनिएको थियो । विमानस्थल निर्माणलाई लिएर वातावरण कि विकास भन्ने बहस चुलियो । देशको अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निजगढ योजनालाई अघि बढाउने सरकारको योजना छ । पर्यटन मन्त्रालय र मातहतको नियामक क्यानले यो आयोजनालाई अघि बढाउने लक्ष्यसहित छलफल चलाइरहेको छ । सरकारले पनि राष्ट्रिय महत्वको आर्थिक विकासमा दूरगामी असर पार्ने आयोजना भएकाले निजगढ विमानस्थल अघि बढाउने निर्णय गरेको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल निर्माण गरिने उल्लेख छ । सङ्घीय संसद्को संयुक्त बैठकमा यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा बाराको निजगढमा प्रस्तावित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भनिएको छ । बजेटमा विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्डमार्फत् आयोजनाको विकास कार्य अगाडि बढाइने भनिएको छ ।

निजगढ विमानस्थल निर्माणका लागि हालसम्म झण्डै रू तीन अर्ब खर्च भइसकेको छ । वन र वातावरणको विषयलाई लिएर विमानस्थल निर्माणको काम अघि बढ्न सकेको थिएन । यसैबीच संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको गत जेठ १६ गतेको बैठकले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको थियो ।

लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको निजगढ विमानस्थलको निर्माण कार्य रोक्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिने समितिको निष्कर्ष छ । यो विमानस्थलमा प्राधिकरणले रू तीन अर्ब खर्च गरिसकेको र त्यस क्षेत्रमा आठ हजार ५० हेक्टरभन्दा बढी जग्गा विमानस्थलका नाममा आइसकेको छ ।

विमानस्थलको चार किल्ला तोकेर तारबारको काम भएको छ । विमानस्थललाई लक्षित गरेर निर्माणाधीन द्रुतमार्गमा हालसम्म रू दुई खर्ब खर्च भइसकेको छ । विमानस्थलको गुरुयोजना तयार भई, वातावरणीय प्रभाव मूल्याङ्कन पनि बनिसकेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि नबढे दीर्घकालीनरुपमा देशको समग्र अर्थतन्त्रमा घाटा हुने भन्दै निर्विकल्परुपमा निजगढ विमानस्थल आयोजनालाई अघि बढाइनुपर्ने बताउनुभयो ।

पूर्वाधारविद् डा सूर्यराज आचार्यले सबै हिसाबले उपयुक्त निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अवरोध गर्न नहुने भन्दै यो आयोजनालाई सरकारले यथाशक्य कानुनी अड्चन हटाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले हल्ला गरिएको जस्तो वातावरण विनाश नहुने भन्दै विकास र वातावरणको सन्तुलन कायम गरेर कमभन्दा कम क्षति हुनेगरी आयोजना अघि बढाउनुपर्ने खाँचो औँल्याउनुभयो । हवाई नीति २०६३ का छ वटा उद्देश्यमध्ये एउटा सुविधासम्पन्न आधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने उल्लेख छ ।

कार्ययोजनामा पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डअनुसार अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिएको छ । विसं २०५० देखि सुरु गरिएको अभ्यास तीन दशकमा पनि प्रक्रिया अघि नबढ्नु मुलुकका लागि बिडम्वना भएको विज्ञ बताउँछन् ।

के छ निजगढको विशेषता ?

निजगढ विमानस्थल राजधानी काठमाडौँबाट एक घण्टाको दूरीमा पर्छ । नेपालको नक्साको लगभग बीचमा पर्छ । नेपाली तथा विदेशी प्राविधिक विज्ञले उपयुक्त ठह¥याएको निजगढ विमानस्थलमा नेपाली भूमिबाटै २९ हजार फिटमाथिबाट उडान तथा अवतरण गर्न सकिन्छ ।

चुरे र सीमाबाट अवतरण गर्न सकिने तथा शून्य भिजिबिलिटीमा जहाज अवतरण गर्न सकिने र सबै हिसाबले उपयुक्त विमानस्थल भएको प्राधिकरणको भनाइ छ । चार हजार मिटर लामो र फराकिलो धावनमार्ग हुने निजगढ विमानस्थल निर्माणपछि वार्षिक छ करोड यात्रुको चाप थेग्ने विश्वास गरिएको छ । यो विमानस्थल निर्माणका लागि पहिलो चरणमा अनुमानित रू डेढ खर्ब लाग्ने जनाइएको छ ।रासस

आइतबार नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो

काठमाडौं / साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लागेर २१६८.५३ विन्दुमा आएर रोकिएको छ ।

२६७ कम्पनीको कारोबार हुँदा ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ ।

आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १० करोडको सेयर बिक्री भएको छ। साथै, हिमालय ऊर्जा विकास कम्पनीको ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

लुम्बीनी जनरल बिमा, बराही हाइड्रोपावर, इस्टर्न हाइड्रो पावर, आदर्श लघुवित्त बित्तीय संस्था र सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

कुल ४८ कम्पनीमा उकलो लागेको छ भने १६१ कम्पनीमा ओरालो लागेको छ । साथै ४ कम्पनी भने स्थिर छ । आज १३ उपसूचकहरुमध्ये होटल तथा पर्यटन र लाइफ इन्स्योरेन्स बाहेक सबै कम्पनीमा ओरालो लागेको छ ।

क्यानका पदाधिकारीको राजीनामा मागियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीको राजीनामा मागिएको छ । क्यानका सातजना केन्द्रीय सदस्यले आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष चतुरबहादुर चन्दसहित पदाधिकारीको राजीनामा मागेका हुन् ।

उनीहरुले अध्यक्ष चन्दसहित कार्यसम्पादन समितिका सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यहरू दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका हुन् ।

नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको आरोप लगाउँदै केन्द्रीय सदस्यहरू ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पदाधिकारीको राजीनामा मागेका हुन् ।

राजीनामा दिएर नेपाल टी-२० लिगमा भएको फिक्सिङ घटनाको छानबिनमा सघाउन उनीहरुले आग्रह गरेका छन् ।

सिभिल लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौं, १५ माघ । सिभिल लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

सिभिलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कम्पनीले ११ प्रतिशतले हुन आउने रकम तिन करोड १६ लाख ९३ हजार ६३३ रुपैयाँ बराबारको बोनस वितरण गर्न लागेको हो ।

कम्पनीले  बोनस सेयर र कर प्रयोजनका लागि तिर्न ०.५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो

काठमाडौं। प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । यो सेसनमा नेप्से परिसुचक २.२५ अंकले वृद्धि भई २१८५.४५ विन्दुमा आएको  छ । यससँगै ३४ कम्पनीको ५३ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख ६७ हजार ७८४ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने १३ कम्पनीको घटेको छ । ६ कम्पनी भने स्थिर रहेको छ ।यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीको घटेको छ । बाँकी २ कम्पनीमा परिवर्तन आएको छैन ।

नागरिकता लिन आज जिल्ला प्रशासन जाँदै रवि लामिछाने

काठमाडौ – रवि लामिछानेले आज नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । उनी नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका हुन् । गत माघ १३ गते सर्वोच्च अदालतले लामिछानेले कानुनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको थियो ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको फैसला सुनाएको थियो । फैसलासँगै लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको थियो । साथै अदालतले उनको नागरिकता मान्य नभएको भन्दै अनागरिक घोषणा गरेको थियो ।

बचत अपचलनमा मुछिएका सहकारीका अध्यक्ष विरुद्ध ठगी कसुरमा कारबाही गर्न निर्देशन

खोटाङ – प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बचत अपचलनमा मुछिएका तत्कालिन अध्यक्ष अनिल जोशी एबं उनका परिवार बिरुद्ध रकम अपचलन र ठगी कसुरमा मुद्धा चलाउने वा असुलउपरको प्रकृया गर्न निर्देशन दिएको छ । सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षणका क्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको आठ करोड ४६ लाख ८९ हजार ६७८ थैलो कायम गरी रकम अपचलन र ठगी कसुरमा मुद्धा चलाउन वा असुलउपरको प्रकृया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो ।

लेखा परिक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको नौ करोड ११ लाख १७ हजार ६७८ रुपैयाँमध्ये सहकारी बैंकले धितो लिलाम गरेर आफ्नो ८० लाख असुलउपर गरेको थियो । यस्तै पछिल्लो हिसावका क्रममा जोशी र उनको परिवारका नाममा थप १५ लाख ७२ हजार रकम भेटिएको सञ्चालक समितिले जनाएको छ । यद्यपी जोशीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । गत पुस २३ गतेदेखि पुस २९ गतेसम्म अनुगमन तथा छानविन गरेको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुलउपर गर्न सबै खालका कारबाहीका प्रकृया अपनाउन सुझाव दिएको छ ।

वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ २०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाव हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । सहकारीका तत्कालिन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन् ।

सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सबै सञ्चालकहरुले साविकमा भएको हिनामिना तथा बेरुजु असुलउपरका लागि कारबाहीका सबै प्रकृया गर्ने, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुलउपर गर्ने वा मालपोत कार्यालयमा रोक्का राख्ने प्रकृया गर्न, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजाने लगायतका १६ बुँदे निर्देशन पठाएको छ । निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गरेको निर्देशनमा ऋण लगानी सुरक्षित गर्न विनाधितो ऋण असुल उपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुलउपरको प्रकृया अघि बढाउन, आवश्यक परे हिनाहिनाको मस्यौटमा दोषी भएकाहरु उपर सम्वन्धित अदालतमा मुद्धा दायरसम्म गर्न, सम्वन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्का गर्न, पुरानो सञ्चालक समिति, लेखा समिति तथा ऋण उपसमितिलाई बोलाई हिनाहिना छानविन र बिनाधितो ऋण लगानी सुरक्षित गर्ने कामका लागि सहजीकरण गर्न, कोपोमिसको पासवर्ड लिइ वित्तीय विवरण अद्यावधिक गर्न लगायतका विषय उल्लेख छ ।

यस्तै, संस्थाका कर्मचारीलाई कार्यालय खोलेर बस्ने वातावरण सिर्जना गर्ने, सुरक्षाको प्रत्याभुतीका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग समेत समन्वयको वातावरण सिर्जना गर्न, आर्थिक वर्ष २०७८/०८९ को लेखा परिक्षण सम्पन्न गरी साधारणसभा वा विशेष भेला बोलाएर हिनाहिना र ऋण असुलीको प्रकृया गर्न, समितिले गरेका प्रगति मासिक रुपमा रजिष्ट्रार कार्यालयलाई र नगरपालिकामा पठाउन, संस्था सुधारको अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजना बनाइ सोको मासिक प्रगती समिक्षा गर्न लगायतका निर्देशन दिइएको छ ।

सहकारीको नाममा खरिद गरिएको जग्गा समेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ । त्यसमध्ये तत्कालिन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सञ्चालक समितिले जनाएको छ ।

इजरायली सेनाको हमलामा १० प्यलेस्टाइनीको मृत्यु

एजेन्सी – वेस्ट बैंकमा इजरायली सेनाले१० प्यालेस्टाइनीको हत्या गरेका उक्त क्षेत्रका अधिकारीहरूले बताएका छन् । उत्तरी सहर जेनिनको भीडभाड शरणार्थी शिविरमा छापा मार्ने क्रममा वेस्ट बैंकमा विस्फोट र आक्रमणमा उनीहरुको मृत्यु भएको हो । विस्फोटपछि  सडकहरूमा बन्दुकको गोली चलेको आवाज सुनिएको थियो ।

९ जनाको मृत्यु आतंकवादविरोधी अभियानका रुपमा गरिएको कारबाहीमा भएको इजरायली सेनाले जनाएको छ ।

यसैबीच, पूर्वी जेरुसेलममा प्रार्थनासभामा भेला भएका व्यक्तिमाथि एक प्यालेष्टिनी बन्दुकधारीले आक्रमण गर्दा सात जना मारिएका छन् भने तीन जना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा भएको हमलामा ७ जना मारिएका प्रहरीले जनाएको छ ।  प्रहरीले सो आक्रमणलाई आतंकवादी भनेको छ ।

राष्ट्रिय विभूति भक्ति थापाको जन्म स्थललाई ऐतिहासिक स्थलको रुपमा विकास गरिने

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्म स्थललाई ऐतिहासिक स्थलको रुपमा विकास गर्ने भएको छ ।मर्स्याङ्दी गाउँपालिकाको वडा नं. ३ ढगैबेसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्ण गरी ऐतिहासिक रुपमा विकास गर्ने भएको हो ।

पर्यटन प्रवद्र्धन सँगै ऐतिहासिक स्थलको संरक्षणमा लागि परेको मर्स्याङदी गाउँपालिकाले नेपाल एकिकरण अभियानका सरदार भक्ति थापाको योगदानलाई सदा सम्मान र कदर गर्दै थापाको विरतालाई आगामी पुस्तामाझ जिवीत राख्न स्मृति केन्द्र तथा पार्क निमार्ण गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

गाउँपालिकाले उक्त स्थलको संरक्षण र विकासका लागि “राष्ट्रिय विभूति भक्ति थापा जन्म स्थल स्मृति केन्द्र” को नयाँ कार्यसमिति गठन गरेको छ ।स्थानीयहरुको भेलाले प्रमेवहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

यसैगरी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ संयोजक रहने गरी सात सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ ।विभिन्न सरंचना सहित भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्णको लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर निमार्ण गरिसकेको छ ।

पालिकाले चालु आर्थिक वर्ष स्मृति केन्द्रको लागि ५ लाख वजेट विनियोजन गरेको जनाएको छ । उक्त बजेटबाट खानेपानी शौचालय निमार्णको योजना रहेको छ ।

स्मृति केन्द्र र पार्क निमार्ण लागि ठूलो रकम चाहिने हुँदा संघ तथा प्रदेश सरकारसँग माग गर्ने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

आलु उत्पादनमा आत्मनिर्भर हुन नेपालमा अझै करीब साढे ३ लाख मेट्रिक टन अपुग

काठमाडौं । आलु उत्पादनमा आत्मनिर्भर हुन नेपालमा अझै करीब साढे ३ लाख मेट्रिक टन अपुग भएको पाइएको छ ।राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार ३ लाख ४२ हजार मेट्रिक टन उत्पादन बढाउन सके नेपाल आलुमा आत्मनिर्भर बन्न सक्छ ।

केन्द्रका अनुसार नेपालमा अहिले १ लाख ९८ हजार ७ सय हेक्टर जमीनमा गरिएको खेतीबाट वार्षिक ३३ लाख २५ हजार २ सय ३१ मेट्रिक टन आलु उत्पादन हुन्छ ।

बजार माग ३६ लाख ६७ हजार २ सय ५६ मेट्रिक टन छ ।यस हिसाबले ३ लाख ४२ हजार टन अपुग देखिन्छ । नपुग आलु भारतलगायत मुलुकबाट आयात भइरहेको छ ।

केन्द्रका प्रमुख वासुदेव काफ्लेका अनुसार अहिले आलुको उत्पादकत्व १६ दशमलव शून्य ५ मेट्रिक टन प्रतिहेक्टर छ । आलुमा आत्मनिर्भर हुन खेती गरिने क्षेत्रफल २० हजार ४ सय हेक्टरले विस्तार गर्नुपर्ने र अहिलेको उत्पादकत्वको अवस्थामा समेत वृद्धि गरी १८ दशमलव ४४ मेट्रिक टन प्रतिहेक्टर पुर्‍याउनुपर्ने उनले बताए ।

सबै भूगोल र सबै मौसममा उत्पादन गर्न सकिने तथा नेपालको प्रमुख तरकारी बालीको रुपमा रहेको आलुले कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलव ९६ प्रतिशत योगदान गरेको छ । नेपालमा वार्षिक प्रतिव्यक्ति आलु उपभोग १ सय ११ दशमलव ८ किलो छ ।

उच्च पहाडमा १८ प्रतिशत, मध्यपहाडमा ४२ प्रतिशत र तराईमा ४० प्रतिशत आलु उत्पादन हुन्छ ।प्रदेशगत हिसाबले प्रदेश नं १ मा सबैभन्दा बढी ३० प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ७ प्रतिशत जमीनमा आलु उत्पादन हुने गरेको सरकारी तथ्यांक छ ।यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

सरकारी सर्भरमा विदेशी ह्याकरको ‘अट्याक’

काठमाडौं । नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन्। शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो।राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश पोखरेलले सरकारी सर्भरमा अट्याक प्रयास भइरहेको बताए। उनले डेटा चोरी गर्ने उद्देश्यले पटक९पटक प्रयास भइरहेको बताए।

‘विदेशी ह्याकरहरूले पटक९पटक अट्याक गरिरहेका छन्। जसका कारण केन्द्रीय सर्भर डाउन भइरहेको छ। हाम्रा प्राविधिक साथीहरूले सर्भर सुरक्षाका लागि निरन्तर खटिरहनुभएको छ,’ उनले भने।

ह्याकरले पहिलोपटक शनिबार १२ बजेतिर अट्याक गरेको राष्ट्रिय सूचना केन्द्रका एक अधिकारीले बताए।झन्डै पाँच घन्टापछि रिकभर भएको सर्भर फेरि साढे ७ बजे ह्याकरको अट्याककै कारण बन्द भएको ती अधिकारीको भनाइ छ।

‘सुरुमा हेर्दा सामान्य प्राविधिक समस्या होला भन्न ठानेका थियौं। तर पटकपटक सर्भरमाथि अट्याक प्रयास भइरहेको छ। डेटा सुरक्षाका लागि भए पनि साथीहरू खटिरहुनभएको छ,’ ती अधिकारीले भने।यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

चितवन – २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ ।सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने स्थिति उत्पन्न भएको हो ।

प्रतिनिधिसभामा कुनै निर्वाचन क्षेत्रबाट निर्वाचित सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन गराउने प्रावधान रहेको छ ।गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

२०५० सालमा नेपाली नागरिकता लिएका लामिछानेले २०७० सालमा लिएको अमेरिकी नागरिकता २०७५ सालमा त्याग गरेका थिए । अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी नेपाली नागरिकताको पुनः प्राप्ति प्रक्रिया लामिछानले नअपनाएको भन्दै अदालतको उत्पे्रषणको आदेशले लामिछानेको उम्मेदवार कायम गर्ने, निर्वाचित भएको घोषणा गर्ने, प्रमाण दिने सबै कार्य बदर भएको छ ।

नेपाली नागरिकता ऐन २०६३ को दफा १० मा आफूखुशी विदेशी नागरिकता लिएमा वा एकैसाथ विदेशी र नेपाली नागरिक हुने स्थितिमा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने स्पष्ट प्रावधान रहेको छ ।

लामिछानेको सांसद पद खारेजीबारे संसद् सचिवालयबाट पत्र प्राप्त भएपछि उपनिर्वाचनका लागि प्रक्रिया अघि बढाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

एसईई यसपटक पनि सरेन प्रदेशमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) यस पटक पनि सङ्घबाटै सञ्चालन गर्ने भएको छ।सरकारले २०७६ सालमा जारी गरेको राष्ट्रिय शिक्षा नीतिअनुसार एसईई प्रदेशस्तरबाटै सञ्चालन गर्नुपर्ने हुन्छ तर शिक्षा ऐनले परीक्षा सञ्चालन गर्ने अधिकार आफूहरूलाई नै दिएको तर्क गर्दै बोर्डले सङ्घबाटै परीक्षा सञ्चालन गर्न लागेको हो।

शिक्षा नीतिले माध्यमिक शिक्षाको समन्वय, अनुगमन तथा नियमन र माध्यमिक शिक्षाको कक्षा १० को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन र प्रमाणीकरणको जिम्मेवारी प्रदेश सरकारको रहने उल्लेख गरेको छ।

२०२८ सालदेखि कार्यान्वयनमा रहेको शिक्षा ऐनमा संशोधन गरी माध्यमिक तहको कक्षा १० र कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन गरिने उल्लेख गरिएको छ।

ऐनको यही व्यवस्थामा टेकेर बोर्डले एसईई सङ्घबाटै सञ्चालन गरिरहेको छ। जब कि २०७७ सालको एसईईका बखत तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सङ्घबाट यो अन्तिम परीक्षा सञ्चालन गर्ने र आगामी वर्षदेखि यसको जिम्मेवारी प्रदेशलाई हस्तान्तरण गर्ने सार्वजनिक रूपमा घोषणा गर्नुभएको थियो।

यस पटक पनि ऐनकै व्यवस्थामा टेकेर बोर्डले परीक्षा तालिका सार्वजनिक गरिसकेको छ। तालिकाअनुसार एसईई आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

एकपछि अर्को गर्दै एमालेसँग दुरी बढाउने माओवादीको संकेत

काठमाडौं । एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ।प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। तर पछिल्लो समय माओवादीले राष्ट्रपति साझा पद भएको बताउँदै त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव अघि सार्दै आएको छ।

प्रधानमन्त्री नियुक्तिदेखि प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान नयाँ राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ।पूर्वसहमतिअनुसार एमालेले उठाउने उम्मेदवारलाई वर्तमान सत्ता साझेदार दलको समर्थन हुनुपर्ने र रहने एमाले अध्यक्ष केपी ओलीले दोहोर्‍याउँदै आएका छन्।

एमालेको समर्थनमा प्रधानमन्त्री बने पनि कांग्रेसको समेत विश्वासको मत पाएका दाहालले परिस्थिति फेरिएको भन्दै दलीय सहमतिको प्रस्तावलाई अघि बढाएका छन्।

माघ ३ गते सर्वदलीय बैठक राखेर राष्ट्रिय सहमतिको प्रस्तावलाई अघि सारेका दाहालले पार्टीको जारी स्थायी कमिटी बैठकमा पनि सोही विषय दोहो¥याएका छन्। एमालेसँग दुरी बढाउने र कांग्रेससँगको सम्बन्ध सुधार्ने रणनीतिमा दाहाल रहेको निकट एक नेताको दाबी छ।

माओवादीको जारी स्थायी कमिटी बैठकले नयाँ राष्ट्रपति निर्वाचनमा पूर्वसमझदारीअनुसार एमाले उम्मेदवारलाई समर्थन गर्ने कि तोडेर अर्को समीकरण बनाउने भन्ने निर्णय गरिसकेको छैन। माओवादी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति बनाउनुपर्छ भन्ने पार्टी नीति रहेको बताए। ‘राष्ट्रपति साझा र राष्ट्रिय एकताको प्रतीक भएकाले यसमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्ने पार्टी नीति छ,’ शुक्रबारको बैठकपछि महराले भने, ‘एमाले वा अर्को उम्मेदवारलाई समर्थन गर्ने भन्ने नभएर सहमति बनाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो।’

गणतन्त्र कार्यान्वयनपछिका दुवै राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको माओवादी बुझाइ छ।पहिलो राष्ट्रपति रामवरण यादवले सेनापति प्रकरणमा दोहोरो शासनको अभ्यास गरेर मन्त्रिपरिषद्को निर्णयलाई नमानेको माओवादीका नेताहरूको बुझाइ छ।

त्यस्तै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दलविशेष र अझ गुटविशेषको हितमा काम गरेको आरोप लगाउँदै दाहालनिकट एक नेताले भने, ‘एमाले, कांग्रेस वा कुनै दलविशेषले जे भन्यो त्यही मान्ने होइन। विधि र विवेकको प्रयोग गर्ने र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाउनुपर्छ भन्ने हो।’यो खबर आजको नागरिक दैनिकमा छ ।

नवलपरासी पूर्वबाट लागूऔषधसहित एक युवक पक्राउ

नवलपरासी पूर्व, बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेका एक युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार चारमारानजिक चेकका क्रममा शरीरमा लुकाएर ल्याएको लागूऔषधसहित लमजुङको बेसींसहर नगरपालिका वडा नम्बर–९ का सागर गुरुङ पक्राउ परेका हुन् ।

शनिबार दिउँसो ती युवकबाट फेनारागन, डाइजिपाम, एम्पुललगायतका लागुऔषध ५ सय ७९ थान बरामद भएको हो ।

पहिलो फिल्म नै फ्लप बनाउन चाहन्थे सलमान

एजेन्सी – बलिउडमा सलमान खान एक यस्ता अभिनेता हुन्, जसलाई लिएर फिल्म बनाए फिल्म हिट हुने मान्यता छ । तर कमैलाई थाहा होला कि सलमान भने आफ्नो पहिलो फिल्म फ्लप होस् भन्ने चाहन्थे ।

सलमानले आफ्नो पहिलो फिल्मको यात्रा जेके बिहारीको ‘बीवी हो तो ऐसी’ बाट गरेका थिए । यो फिल्ममा उनले रेखाको देवरको भूमिका निर्वाह गरेका थिए । जब निर्देशकले यो फिल्म बनाउने योजना बनाए, त्यो बेला रेखाको देवरका रुपमा कुनै नयाँ अनुहारलाई लिन चाहन्थे ।

उनले अडिसन राख्दा पहिलो दिन कोही आएनन् । अडिसनमा कोही नआएपछि उनले जो पहिलो कलाकार अडिसन दिन आउँछ, उसैलाई त्यो भूमिका दिने निर्णय लिए । यो पहिलो कलाकार सलमान नै थिए ।

सलमान पहिलो फिल्मको अभिनयबाट खुशी थिएनन् । त्यहीकारण उनी फिल्म फ्लप बनाउन चाहन्थे । उनमा आफूले राम्रो काम गर्न नसकेको डर थियो । त्यही डरका कारण उनले निर्देशकले भने अनुसार काम गर्न सकेका थिएनन् ।

चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको छ – ईश्वर पोखरेल

काठमाडों – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी भूमिकामा रहेको बताएका छन् ।

नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा सङ्गठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा उनले सो कुरा गरेकाम हुन् । अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने बताउ ।

राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने भन्दै उनले एमाले राष्ट्रिय राजनीतिको मियो रहेको बताए । “एमाले प्रतिकूलतालाई चिर्दै अघि बढेको छ”, उनले भने– “यो समीकरणलाई टुट्न र भत्कन दिनु हँुदैन ।” उनले सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए ।

हीरा लामाको दलदल सार्वजनिक

काठमाडौं – लेखक हीरा लामाको उपन्यास दलदल सार्वजनिक भएको छ । नारायणी रिसोर्ट गैंडाकोटमा गरिएको कार्यक्रममा कवि भूपिन, अक्षर समूहका अध्यक्ष रमेश प्रभात र समीक्षक सिर्जन अविरलले कृति विमोचन गरेका हुन् ।

कृतिको समीक्षात्मक टिप्पणी सिर्जन अविरलले प्रस्तुत गरे । दलदलमा चितवनको भूगोलको चिनारी प्रशस्त मात्रामा गरिएको समीक्षक अविरलले बताए ।

‘चितवनका स्रस्टाले लेखेको यो पहिलो उपन्यास हो, जसमा चितवनलाई, चितवन प्रसिद्ध भूगोललाई लेखकले सकेसम्म उपन्यासको कथामा समेट्नुभएको छ’, अविरलले भने, ‘भरतपुर कारागारमा कैदीलाई मारिएको घटना यहाँको महत्त्वपूर्ण घटना हो, उपन्यासमा यो घटनालाई प्राथमिकता का साथ प्रस्तुत गरिएको छ ।’

दलदलमा चितवनको अँध्यारो उज्यालो सबै कुरा छ, दलदल युवा आख्यानकारको तन्नेरी कथा भएको पनि अविरलले बताए ।

पुस्तकका बारेमा बोल्दै धनराज गिरीले लेखक लामाले उपन्यासमा बुबाको भूमिकालाई महत्त्वका साथ उतारेको बताए । अर्का टिप्पणीकार निर्दोष जीवनले दलदल पारिवारिक सामाजिक कथाबस्तुको उपन्यास भएको बताए ।

लेखक हिरा लामाले १० वर्षको मेहनतपछि दलदल किताबको रूपमा सार्वजनिक भएको बताए । ‘दलदलमा कुनै रिफ्रेन्स राखिएको छैन, यो पुस्तक पढ्नलाई अरू किताबको खाँचो पनि पर्दैन, पारिवारिक कथामा यो उपन्यासलाई सजाउने कोसिस गरेको छु’, लेखक लामाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि भूपिनले दलदलमा फसेका नेपालीहरूको सामाजिक जीवन पुस्तकमा अटाएको बताए । पारिवारिक दलदल, राजनीतिक दलदल र शैक्षिक दलदलका कथाहरू पनि उपन्यासमा बुनिएको भूपिनले बताए । दलदल समग्र समाजको प्रतिबिम्ब बनेर आएको पनि उनले बताए ।

दलदल लेखक लामाको पहिलो पुस्तक हो । पेशाले शिक्षक रहेका लेखक लामा समसामयिक लेखनमा रुचि राख्छन् । इन्डिगो इन्क काठमाडौंले प्रकाशन गरेको पुस्तकको मूल्य ४४९ रुपैयाँ रहेको छ ।

पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले नागरिक उन्मुक्ति पार्टी रोजे – एलिजा गौतम

काठमाडौं – नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार बुटवलमा एक कार्यक्रमकाबीच नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई पार्टी प्रवेश गराएकी हुन् ।

एलिजाले पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले आफूले नागरिक उन्मुक्ति रोजेको बताइन् । गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज ढंगले अघि बढाउन राजनीतिक पार्टी आवद्ध भएको बताइन् ।

पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ

जनकपुरधाम – धनुषा प्रहरीले पेस्तोलसहित दुई युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो र सोही ठाउँका २६ वर्षीय शंकर महतो छन् ।

पेस्तोल बोकेर हिँडिरहेको सूचनाका आधारमा मिथिला नगरपालिका-२ नक्टाझिझको विश्वकर्मा चोकस्थित रोशनलाई चेकजाँच गर्दा माउजर पेस्तोल र सो पेस्तोलमा लोड गरिएको म्यागेजिन एक थान र म्यागेजिनमा लोड भएको केएफ दशमलव ६५ उल्लेख भएको दुई थान गोली बरामद भएको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए ।

माघ १२ गते रोशन पक्राउ परेको र उनले दिएको बयानका आधारमा पेस्तोल बिक्री गरेका शंकरलाई समेत पक्राउ गरेको एसपी खड्काले बताए ।

शंकरबाट रोशनले शंकरलाई ५० हजार नगद दिएको र पछि २० हजार रुपैयाँ दिने सहमतिमा पेस्तोल खरिद गरेको प्रहरीको भनाइ छ ।

आगोले जलेर ताप्लेजुङमा बालकको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक बालकको मृत्यु भएको छ । साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका–२ तीनबरेका १५ वर्षीय सुनील थुलुङ राईको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबारदेखि लागेको आगो निभाउनलाई स्थानीयसँगै गएका बालक राईको जलेर मृत्यु भएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईकाअनुसार राई आफ्नो मावली घर साँवामा आएका थिए ।