`

प्रेम आचार्यको आत्मदाहबारे छानबिन गर्न गृहका सचिवको नेतृत्वमा समिति गठन

काठमाडौं, १२ माघ-नयाँबानेश्वरस्थित सडकमा मंगलबार आत्मदाह प्रयास गरी उपचारको क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

आज गठन गरिएको समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहने छन् ।

आत्मदाहप्रयास गर्दा निधन भएका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशिघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न समितिलाई निर्देशन दिइएको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधानका विषयमा छलफल

काठमाडौं, १२ माघ-उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए ।

केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्‍याएरमात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो ।

हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध

मुगु, हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको भारी हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध हुँदा स्थानीयवासीसँगै यातायात व्यवसायीलाई सास्ति भएको छ ।

यही माघ १० गते भएको भारी हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध भएको हो । कर्णाली राजमार्गअन्तर्गत रहेको सो सडक अवरुद्ध भएको आज दुई दिन भएको छ ।

सो सडकको जुम्लादेखि मुगुको घुच्ची पिनासम्म सडकमा झन्डै दुई फिट भन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको हो । मुगु र जुम्ला जोड्ने सीमा क्षेत्र बुलेबुले र घुच्ची लेकमा  बाक्लो हिउँ जमेको छ ।

घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्छ । तत्काल भने सडक खुल्ने सम्भावना देखिएको छैन । सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार पहिले जस्तो हिउँ जमेको छैन । दुई चार दिनमै घाम लाग्यो भने सडक सुचारुमा आउने उनको भनाइ छ ।

जुम्ला हुँदै मुगु राराताल आउने  छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु  पटमारा कार्वा  बुलबुले जोड्ने सडक पनि अवरुद्ध भएको छ ।

उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । माघ १० गते परेको हिमपातले मुगु लगायत कर्णालीका माथिल्ला जिल्लाका उच्च स्थानमा हिमपात भएको थियो ।

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

हेटौंडा – बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ का नेपाललाई आज नियुक्त गरेका हुन् ।

नेपालमा पाँच जना कोरोना संक्रमित थपिए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३१ पीसीआर परीक्षण गर्दा बिहीबार पाँच जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर फरार भएको आरोपमा ३ जना पक्राउ

वीरगञ्ज – वीरगञ्जबाट मनीट्रान्सफर कम्पनीमा काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज वडा नम्बर १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाका अनुसार तीनै जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित माँ दुर्गे मनिट्रान्सफर प्रालिमा कार्यरत कर्मचारी हुन् ।

मनीट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि बिकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर उनीहरू फरार भएको प्रहरीले जनाएको आरोप छ । उनीहरुको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।

प्रदेश १ संसद बैठक माघ २३ गते

काठमाडौं – प्रदेश १ संसदको संसद बैठक माघ २३ गते बस्ने भएको छ । सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाएका छन् ।

पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक माघ २३ गते बस्ने तय भएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले बताए ।
प्रदेश सभाका लागि बिजनेस अभाव भएकाले बैठक बस्न सकेको थिएन ।

सुपर मादी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, १२ माघ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गरेको हो ।

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकहरुको लागि आईपीओ निष्काशन गरेको थियो। कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लागी निष्काशन गरेको हो ।

केपी ओली पुगे बालुवाटार , राष्ट्रपति र उपपराष्ट्रपति चयनका विषयमा छलफल

काठमाडौं, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्रीलाई भेट्न बिहीबार बालुवाटार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच राष्ट्रपति, उपपराष्ट्रपति चयनका विषयमा देखिएका अविश्वासका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री र ओलीबीच अविश्वास पैदा भएको भनिएका बेला बिहीबार भेटवार्ता भएको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाएसँगै बालुवाटार आउजाउ गरिरहेका ओली बिहीबार पुगेर राजनीतिक तथा समसामयिक विषयमा छलफल गरेका हुन् ।

सबैको लघुवित्तद्वारा १८% बोनस वितरण गर्ने घोषणा

काठमाडौं १२ माघ-सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ११ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०=९५ प्रतिशत नगद लाभांश गरि कुल १८=९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

गुजरातको विनाशकारी भूकम्पदेखि भारतमा गणतन्त्र दिवस

आज २६ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

गुजरातको विनाशकारी भूकम्प
आज अर्थात २६ जनवरीमा भारतको गुजरात राज्यमा विनाशकारी भूकम्प गएको थियो । भूकम्पमा २० हजार जनाको ज्यान जानुका साथै एक लाख ६० हजार जना घाईते भएका थिए । भूकम्प जाँदा नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए ।

क्लिन्टन–मोनिका सम्बन्ध
सन् १९९८ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनमाथि आफ्नै कार्यलयकी कर्मचारी मोनिका लेवेन्स्कीले यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । २६ जनवरीमा क्लिन्टनले एक विज्ञप्ति सार्वजनिक गरेर आफूमाथि लगाइएका आरोप निराधार भएको दाबी गरेका थिए । तर, क्लिन्टनको झुटे विवरण लामो समय टिक्न सकेन । सोही वर्षको १७ अगस्टमा क्लिन्टनले मोनिकासँग आफ्नो अनुचित सम्बन्ध रहेको स्वीकारेका थिए ।

भारतमा गणतन्त्र दिवस

विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत सन् १९५० मा गणतन्त्र घोषित  भएको थियो । २६ जनवरीेदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो ।

अफ्रिकामा अहिलेसम्मकै ठूलो डायमन्ड फेला परेको दिन
सन् १९०५ मा विश्वकै सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा फेला परेको थियो । ३१०६ दशमलब ७५ क्यारेटको सो डायमन्डको मूल्य दुई अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको थियो ।

रवि लामिछाने प्रकरणमा सहन्यायाधिवक्ताले गरे अनागरिकले समेत चुनाव लड्न पाउने तर्क

काठमाडौं । नागरिकता ठगीको विषयमा राज्यले अनुसन्धान गरी आफैं मुद्दा लड्नुपर्ने हो। तर, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रकरणमा परिस्थिति ठीक उल्टो छ। उनले विदेशी र स्वदेशी नागरिकता एवं राहदानी एकसाथ प्रयोग गरेर ‘ठीक गरे’ भन्दै राज्य नै बहसमा उत्रिन बाध्य भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संसद् सदस्य अयोग्यतासम्बन्धी रिट निवेदनमा सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रतिरक्षा गरेका छन्। त्यो पनि यति कडा कि, न्यायाधीशहरूसँग सवाल–जवाफ नै भएको छ। उनले अनागरिकले समेत चुनाव लड्न पाउनेसम्म तर्क राखे।

लामिछानेको बचावट गर्न सहन्यायाधिवक्ता रेग्मी इजलासमा उभिनु आफैंमा स्वार्थ बाझिनु हो। रेग्मीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरिएकाले प्रतिरक्षा गर्नुपरेको बताए। ‘हामीले गरेको प्रतिरक्षा उहाँ (गृहमन्त्री लामिछाने)को तर्फबाट हुँदै होइन। उहाँका तर्फबाट बहस गर्ने निजी कानुन व्यवसायीहरू नै हुनुहुन्छ’, उनले भने।

तर, उनले सरकारको होइन, लामिछानेको ‘बचावट’मा गहकिला तर्क प्रस्तुत गरे। सरकारी निर्णय ठीक सावित गर्नुभन्दा लामिछानेको दोहोरो नागरिकता कानुनसम्मत भन्ने तर्क अघि सारे। सहन्यायाधिवक्ता रेग्मीले दुवै जना रिट निवेदकलाई रिट निवेदन दिने हकदैया नभएको दाबी गरे।यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

एमाले बाहेकको वामपन्थी एकतामा बाधक बने ओली, जसरी असफल बनाउने दाउ !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच एकताको प्रयास भइरहँदा नेकपा एमालेले त्यसलाई असफल बनाउने रणनीति अबलम्बन गरेको चर्चा चुलिएको छ ।पार्टी एकीकरणपूर्व एक अर्काको दस्तावेज अध्ययनमा लागेका दलहरूबीच सरकारमा सहभागिताको विषय उठाएर ओलीले एकता असफल बनाउन खोजेको टिप्पणी गर्दै एकीकृत समाजवादीका एक नेताले बताए ।

एकीकृत समाजवादीका एक नेताले भने– ‘नेकपा एससँग पार्टी एकताका लागि छलफल गरेर दस्तावेज अध्ययनमा लागेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर शनिबार एमाले अध्यक्ष ओलीले सरकारमा सहभागिताका विषयमा किन छलफल गर्नुभयो ?’ एकीकृत समाजवादीसँगको एकता वार्ताकै कारण जसपालाई सरकारमा सहभागी गराउन नसकिएको ओलीको भनाइ रहेको अध्यक्ष यादवले पार्टी नेताहरूलाई जानकारी गराएका थिए ।

‘सरकारमा सहभागी हुने वातावरण हुँदाहुँदै पनि तपाईंहरू आफैंले बिगार्नुभयो’, ओलीले अध्यक्ष यादवलाई भनेको कुरा उद्धृत गर्दै जसपाका एक नेताले भने– ‘एकीकृत समाजवादीसँग एकता वार्ताले तपाईंहरूलाई सरकारमा लाने वातावरण बिथोलियो ।’

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत एकीकृत समाजवादीलाई पनि सरकारमा सँगै लिएर जान चाहेको भए पनि ओलीले त्यसमा आपत्ति जनाएपछि प्रचण्ड पछि हट्नुपरेको माओवादी श्रोतको दाबी छ ।यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

यद्यपि, प्रचण्ड पार्टी एकीकरणलाई राष्ट्रपति निर्वाचनअगावै पूर्णता दिन कसरतमा रहेको र यसैका लागि प्रचण्डले गत आइतबार पनि नेता माधव नेपालसँग एक्लै कुराकानी गरेको माओवादी नेताहरू बताउँछन् ।माओवादीले १२ गते बोलाएको स्थायी कमिटी बैठकले समेत पार्टी एकीकरणका बारेमा छलफल गर्ने बताइएको छ ।

कर्मचारीको तलब बढाउन आयोगलाई सुझाव, कम्तिमा ४० हजार पुर्याउनु पर्ने

काठमाडौं । राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पु–याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ।

दैनिक महँगी बढ्दै गएको र महँगीलाई सम्बोधन गर्न न्यूनतम तलब स्केल त्यति पु–याउन सुझाव आएको हो। कर्मचारीको प्रत्येक श्रेणीमा तलब नौ प्रतिशतले थप्नुपर्ने, तलबको पाँच प्रतिशत ग्रेड दिनुपर्ने, निजामती र अन्य कर्मचारीबीच नमिलेका मर्यादाक्रम मिलाउनुपर्ने, अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीलाई अतिरिक्त समय भनिए पनि पूरा समय काम गर्नुपर्ने भएकाले पूर्ण कालको सेवासुविधा दिनुपर्ने, प्राथमिक शिक्षकभन्दा निमावि शिक्षकको तलब बढी हुनुपर्ने र संवैधानिक आयोगका पदाधिकारीले कानुनमा उल्लेख भएअनुसारकै सेवा सुविधा पाउनुपर्नेलगायतका सुझाव आयोगमा आएको उच्चस्तरीय तलब सुविधा आयोगले जनाएको छ।

आयोगका अध्यक्ष लीलामणि पौड्यालले कर्मचारीको जीविकोपार्जनका लागि पुग्ने गरी न्यूनतम तलब सुविधा दिनुपर्ने गरी सुझाव प्राप्त भएको बताए । आयोगमा अहिलेसम्म सुझाव दिनेमा नेपाल सरकारका सचिव, विभिन्न टे«ड युनियन, वित्त तथा बीमा कम्पनी, विभिन्न मन्त्रालयका अधिकारीलगायत छन्। आयोगले सुझावका लागि सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाएको छ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

गत भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव पौड्यालको अध्यक्षतामा उच्चस्तरीय तलब सुविधा अयोग गठन गरेको थियो। सरकारले गत मङ्सिर ७ गतेदेखि आयोगको कार्यालय स्थापना गरी काम प्रारम्भ गर्ने व्यवस्था मिलाएको थियो।

मापदण्डविपरीत चलेका देशैभरका क्रसर तथा खानी उद्योग २२ दिनमै खुले

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले २२ दिन बन्द क्रसर तथा खानी उद्योग खोल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्रचार गर्दै दर्ता बिना र मापदण्डविपरीत चलेका देशैभरका क्रसर तथा खानी उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । तर, हालसम्म कर नतिरी सञ्चालन भइरहेका क्रसर तथा खानी उद्योगलाई आगामी असारसम्म कर तिर्ने सर्तमा मात्र खोल्न एवं सञ्चालन अनुमति दिइएको छ ।

अझै दर्ता नगरी चलाइएका क्रसर उद्योग भने सधैंका लागि बन्द गरिने अडानमा सरकार छ । मन्त्रिपरिषद् बैठकले यसअघि दर्ता नभई चलेका क्रसर तथा खानी उद्योग बन्दको निर्णय भने अझै फुकुवा नगर्ने निर्णय गरेको छ ।यो खबर आजको राजधानी दैनिकमा छ।

हिउँदको अनुकूल धमाधम विकास आयोजना कार्य अघि बढ्नुपर्ने बेला २२ दिनदेखि व्यवसायीले उद्योग बन्द गरेर बस्नुपरेका कारण पुस मसान्तमा बुझाउनुपर्ने कर र बैंक ब्याज तथा किस्तासमेत तिर्न सकेका थिएनन् ।
२०७१ को असार मसान्तदेखि नवीकरण नगरेर कुनै पनि क्रसर व्यवसायीले बैंकबाट आवश्यक ऋणसमेत लिन नपाएको अवस्थाका कारण आफूहरू अत्यन्त मारमा परेको भन्दै व्यवसायीले जतिसक्दो छिटो बन्द उद्योग खोल्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

आज वसन्त पञ्चमी पर्व, माता सरस्वतीको पूजाआराधना गरि मनाइँदै

काठमाडौं, १२ माघ ।  आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, माता सरस्वतीको पूजाआराधना गरि मनाइँदै छ । यसवर्ष माघ १२ गते बिहीबारका दिन मीन राशिमा चन्द्रमा शुभयाेगमा रहेकाे समयमा परेकाले शुभ फलदायी तथा सिद्धियाेगका रुपमा हेरिरहेको छ। यस्ता समयमा मांगलिक कार्यहरु गर्दा कार्य सफलताको याेग सुरु गरिएका कार्य सफल हुने मूहुर्त याेगमा उल्लेख गरिएको छ ।

देवगुरु बृहस्पति ग्रहकाे बार र मीन राशिमा चन्द्रमा बसेकाे अवस्थामा  वसन्त पञ्चमी पर्वकाे संयाेग जुर्नुलाई  अत्याधिक पवित्र दिनका  रुपमा शास्त्रमा ब्याख्या गरिएको छ। विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त पाठ श्रवण गर्नुपर्ने नियम रहिआएको छ। काठमाडौंकाे बसन्तपुरमा राष्ट्र प्रमुखले वसन्त पाठ श्रवणगर्नुपर्ने परम्परा पनि रहेकाे छ । वसन्त पञ्चमीमा ज्ञान, वाणी, बुद्धि तथा विवेककी अधिष्ठात्त्री देवीको रुपमा पूजा तथा आरधना गर्ने शास्त्रीय नियम रहिआएको छ ।

विशेषगरी शुक्लपक्षको पञ्चमी तिथि, पूर्ण तिथि तथा गुप्त नवरात्रको समय चलिरहेकाले विद्या तथा विभिन्न कला साधनाका लागि विशेष फलदायी र पूर्णरुपमा सफल हुने भएकाले आजको दिनलाई विशेष रुपमा व्यख्या गरिएको छ ।
पहिलोपटक विद्या आरम्भ गर्ने बालबालिकाले आजका दिनदेखि अक्षर शुभारम्भ गरेमा विद्या पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ । नाक, कान छेडेर मुन्द्रा, फुली लगाएमा अटल सौभाग्य रहिरहने र सरस्वतीको पूर्ण कृपा रहने शास्त्रमा व्याख्या गरिएको छ ।

बुद्ध परम्परामा पनि यस पर्वलाई विशेष महत्वका साथ मनाउने प्रचलन छ । हिन्दू र बौद्ध परम्परामा रही आएको अहिंसाको सिद्धान्तलाई जीवजन्तु, रुखबिरुवा तथा समष्टिगत जगतसहित  मानव जातिलाई नै ज्ञानकारुपमा धार्मिक पर्वहरुले एक-अर्कामा जाेड्नेकाम गरेकाे छ ।

ज्ञानकारक ग्रह वृहस्पति तथा भगवान विष्णुको अवतारका रुपमा बुद्ध भगवानको पूजा गर्ने शास्त्रीय नियम रहिआएको छ । हाम्रा सबै सनातन पर्व आध्यात्मिक भावनाले ओतप्रोत छन् । व्रत, पर्व र अनुष्ठानहरु, लौकिक र आध्यात्मिक उन्नतिका सशक्त साधन हुन र यिनीहरुबाट आनन्दको उल्लासका साथै उदात्त जीवन जीउने प्रेरणा मिल्दछ । वास्तवमा सम्पूर्ण सृष्टिको उद्भव आनन्दबाट नै हुन्छ । दुःख, भय, शोक, मोह र अखण्ड आनन्दको प्राप्ति नै सबै व्रत–पर्वहरुको परम् लक्ष्य हो ।

देवी भागवत एवं ब्रह्मवैवर्तपुराणमा वर्णित कथाहरुको आधारमा सबैभन्दा पहिले भगवान् नारायणले वाल्मीकिलाई सरस्वतीको मन्त्र बताएको शास्त्रमा उल्लेख छ ।  त्यसैको जपले गर्दा उनमा कवित्व शक्ति आएकोे थियो भन्ने कथन छ । जुन मन्त्र यस प्रकार छ– श्रीं ह्रीं सरस्वत्यै स्वाहा। यस मन्त्रको चार लाख जप गर्नाले मन्त्र सिद्धि हुन्छ ।

महर्षि वाल्मीकि, व्यास, वसिष्ठ, विश्वामित्र, शौनक आदि ऋषिहरु वहाँकै साधनाबाट कृतार्थ भए । व्यासजीको सानो व्रतको प्रभावले प्रसन्न भएर सरस्वतीले भन्नुभयो– व्यास, तिमीले मेरो प्रेरणाद्वारा रचिएको वाल्मीकि रामायण पढ । त्यो मेरो शक्तिले गर्दा सम्पूर्ण काव्यहरुको सनातन बीज बनेको छ । त्यसमा श्रीरामको चरित्रको रुपमा म साक्षात् मूर्तिमती भएर रहेकी छु । आफूले चाहेको वर प्राप्त गर्नका लागि विश्वविजय नामक सरस्वती कवचको पनि विशेष व्याख्या गरिएको छ ।

सरस्वतीको यस अद्भूत विश्वविजय मन्त्र तथा कवचलाई धारण गरेर नै व्यास, ऋष्यशृंग, भरद्वाज, देवल, जैगीषव्य आदि ऋषिहरुले सिद्धि पाएका थिए । यस कवचलाई सर्वप्रथम भगवान् श्रीकृष्णले वृन्दावनमा रासलीलाको समयमा ब्रह्माजीलाई सुनाउनुभएको थियो । त्यसपछि ब्रह्माजीले गन्धमादन पर्वतमा भृगुऋषिलाई उपदेश दिनुभयो । सरस्वतीको उपासना कालीको रुपमा गरेर नै कालिदासले ख्याती पाए । गोस्वामी तुलसीदास भन्नुहुन्छ– पापनाश गर्ने भएकीले गंगा र अज्ञान नाश गर्ने भएकीले सरस्वती दुवै समान रुपमा पवित्रताका कारक हुन् ।

विद्या र सद्बुद्धि प्रदान गर्ने भएकाले सरस्वतीका उपासकहरु यस दिन विद्या प्राप्तिको उद्देश्य लिएर निष्कपट एवं शुद्ध भावनाले दिव्यता र भव्यताका साथ भगवती सरस्वतीको आराधना गर्दछन् । हरेक कार्यहरु गर्दा भावना अर्थात् विचारको ठूलो महत्त्व हुन्छ । यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी अर्थात् जसले जस्तो भावना लिएर कार्य गर्दछ, फल पनि अवश्य नै तदनुरुप मिल्दछ । त्यसैले हामी सबैले सद्बुद्धि प्राप्त होस् भन्ने भावना लिएर सरस्वती पूजा गर्दा अवश्य राम्रो हुन्छ ।
(लेखक सुरेशचन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् )

एमाले पार्टी सत्यसँग कहिल्यै नलड्ने, शक्तिसँग नझुक्ने – ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इमानको बाटोमा कार्यकर्तालाई हिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

बुधबार एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमाले पार्टी सत्य र इमानमा विश्वास गर्ने पार्टी भएकाले अनुशासित ढङ्गले अगाडि बढ्नुपर्ने बताए ।

उनले भने – ‘हामीले सत्यको बाटो लिने हो । छलछामको बाटो लिने होइन । चलाखीको बाटो होइन । इमानको बाटो लिने हो’ उनले थपे ‘हामी अनुशासित ढङ्गले अगाडि बढ्छौँ । एमालेपन भनेको अनुशासित हो ।’

एमाले पार्टी सत्यसँग कहिल्यै नलड्ने, शक्तिसँग नझुक्ने भन्दै उनले सत्यसँग बाझिएको शक्ति छ भने हामी त्यस्तो शक्तिसँग नझुक्ने बताए ।

तीस करोड अमेरिकी डलर सम्पत्ति भएकी पेरिस हिल्टन भइन् छोराकी आमा, कोख भाडामा लिएकी थिइन्

वासिङ्टन – तीस करोडभन्दा अधिक अमेरिकी डलर सम्पत्ति भएकी अमेरिकी सञ्चारकर्मी एवम् हिल्टन होटलकी उत्तराधिकारी पेरिस हिल्टन छोराकी आमा बनेकी छन् । नवजात शिशुले आफ्नो बूढीऔँला समातेको तस्बिर सामाजिक सञ्जाल इन्सटाग्राममार्फत सार्वजनिक गर्दै उनले आफू आमा बनेको घोषणा गरेर प्रशंसकहरूलाई चकित पारेकी छन् । उनले लेखेकी छन्–“म तिमीलाई अथाह माया गर्छु, मेरो स्नेह शब्दमा वर्णन गर्न सकिदैन । ”

अमेरिकी मनोरञ्जन ‘मिडिया’का अनुसार हिल्टनले कोख भाडामा लगाएर सन्तान प्राप्त गरेकी हुन् । टेलिभिजनमा ‘रियालीटी सो’ प्रस्तुत गर्ने पूर्वप्रस्तोता ४१ वर्षिया हिल्टनले गत महिना एउटा अन्तर्वार्तामा कोख भाडामा लिएर सन्तान प्राप्तिको चिकित्सकीय प्रक्रिया (आइभिएफ) प्रारम्भ गरेको जानकारी दिएकी थिइन् ।

उक्त प्रक्रिया कोरोना महामारीको बेला थालिएको खुलासा पनि उनले गरेकी थिइन् । लगानीकर्ता कार्टर रियमसँग उनले सन् २०२१ मा विवाह गरेकी हुन् । आफ्ना साथी किम कार्डासिएनको सल्लाहमा आइभिएफ प्रक्रिया अपनाएको उनले बताएकी छन् । एएफपी

नवजात शिशु फाल्ने अभियुक्त सात वर्षपछि पक्राउ

चितवन – कर्तव्य ज्यान मुद्दामा सात वर्षअघि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ की २७ वर्षीया सीता लामिछाने रहेकी छन् ।

लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माएर चितवनमा साविकको पिठुवा गाजिस–७ माधवपुरस्थित धानखेतको कुलोमा बेवारिसे फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो ।

सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।

पोखरामा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

पोखरा – पोखरामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको  ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६३ वर्षीय नलप्रसाद लामिछानेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा ट्र्याक्टरको पछाडिको भागले लामिछानेलाई च्यापेको थियो ।

दुर्घटनालगत्तै घटनास्थलमा पुगेको प्रहरीले लामिछानेलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

हिमपातलाई मध्य नजर गरी जुम्लामा न्यानो कार्यक्रम

जुम्ला – जुम्लामा हिमपातालाई मध्यनजर गरी न्यानो बितरण कार्यक्रम गरिएको छ ।  मंगलबारदेखि परेको भारी हिमपातले त्यहाँको जनजीवन प्रभावित भएपछि प्रशासन न्यानो वितरण कार्यक्रम गरेको हो ।

जुम्लामा लगातार रुपमा हिपपात भइरहेको छ । चिसोले जनजीवन प्रभावित भइरहेको भन्दै चोक-चोकमा आगो बाल्ने कार्यक्रम गरिएको हो । चिसोले दुई दिनदेखि हवाई यातायात बन्द भएको छ ।

कर्णाली राजमार्ग पनि अवरुद्ध भइरहेको छ । मंगलबारदेखि सुरु भएको हिउँ निरन्तर परेपछि स्थानीय प्रशासनले जुम्ला बजारका मुख्यचोकमा आगोबाल्ने न्यानो कार्यक्रम गरिएको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार जुम्लाको  मुख्य बजार बालमन्दिर, जिल्ला प्रशासन अगाडी, कालेखोली र बसपार्कमा   न्यानो गर्नका लागि  दाउरा फलिएको हो । हिमपातका कारण  डियुटीमा रहेका  सुरक्षाकर्मी र विभिन्न कामले आवतजावत गर्ने  नागरिकको लागि  आगोबाल्ने गरिएको हो ।

न्यानो वितारण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशरीसहित नेपाली सेन नन्दवक्स गणका गणपति रविन थापा, शशस्त्र प्रहरी त्रिपुरा गण ३३ नम्बरका गणपति चित्रांगत दाहाल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्ध, राष्ट्रिय अनुसन्धानका प्रहरी नायव उपरीक्षक राजकुमार न्यौपानेसहितको संयुक्त टिमले  न्यानो कार्यक्रम गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले आफैँले केही दाउरा व्यवस्थापन गरिएको छ ।

त्यस्तै नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतका अनुसार हिउँ परिरहेको समयमा स्थानीय प्रशासनले गरेको काम प्रेरणादायी भएकाले सवै चोकमा दाउरा व्यवस्थापन गरी न्यानो गर्नेमा दिए ।

त्यस्तै हिउँ परेर चिसो बढेपछि जिल्ला प्रशासन कार्यालयले विपन्न नागरिकलाई न्यानो कम्वल वितरणसमेत गरेको छ । स्थानीय प्रशासनले पहिलो दिन ६ जनालाई मात्र वितरण गरिएको जानकारी गरेको छ । करिब ३ सय विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्वल तथा केहीलाई ज्याकेटसमेत वितरण गरिने प्रजिअ केशरीले बताए ।

त्यस्तै जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका सचिव तुलाराम न्यौपानेले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणले केही राहत हुने बताए ।  उनले अन्य आर्थिक कमजोर भएका ज्येष्ठ नागरिक व्यक्तिको नामावली प्रशासनलाई उपलब्ध गराइएको थिए ।

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते

कैलाली – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर काट्न गएकी ५० वर्षीया ललु सार्कीलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

आरक्ष विस्थापित शिविरको ढक्कास्थित बेलडाँडी टोल बस्ने महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।

घाइतेको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।

पञ्चपुरी नगरपालिकाका लेखा अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

सुर्खेत – पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढासहित होटल सञ्चालक र अन्य दुई जना कर्मचारीविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उनीहरूविरुद्ध भ्रष्टाचारको कसुर गरेको ठहर गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

लेखा अधिकृत बुढाले होटल सञ्चालकसँग खाली बिल लिई प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरसमेत किर्ते गरी दुई लाख ६२ हजार ५०२ रुपैयाँ भुक्तानी दिएका थिए ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल राम्जाली, नगरपालिकाका अधिकृत छैठौं लालबहादुर सुवेदी, शिक्षा शाखा अधिकृत तुलसी केसीले लेखा अधिकृतलाई किर्ते बिल बनाउन सहयोग गरेका थिए । उनिहरुविरुद्ध दुई लाख ६२ हजार ५०२ रुपैयाँ विगोदावीसहित जरिवाना र कैद सजायको मागदावी गरिएको छ ।

भक्तपुरमा रोजगारीको सुनिश्चिततासहित निःशुल्क तालिम हुने

भक्तपुर – भक्तपुरमा रोजगारीको सुनिश्चितसहितको निःशुल्क तालिम हुने भएको छ । इको प्यानल जडान सम्वन्धी दुईदिने तालिम सञ्चालन हुन लागेको हो । तालिम माघ १९ र २० गते हुने जनाइएको छ ।

नेपाल इको प्यानल प्रालिले तालिम सञ्चालन गर्न लागेको हो । निःशुल्क तालिमपश्चात् रोजगारीको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

इको प्यानल नेपाल प्रालिका जनरल म्यानेजर विक्रम गोसाईले इको प्यानल जडान सम्वन्धी तालिम हुन लागेको जनाए । दुई दिनको तालिमपछि नै इको प्यानल जडान गर्न सकिने उनले जनाए । जडान गर्न जानिएपछि रोजगारीको सुनिश्चिता रहेको उनले सुनाए ।

छिटो, छरिटो र गुणस्तीयर निर्माणका लागि इको प्यानलको प्रयोग गरिन्छ । इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वाल निर्माणमा प्रयोग हुन्छ । तालिम लिन इच्छुकले कम्पनीको कर्पाेरेट कार्यालय सल्लाघारी भक्तपुरस्थित (डा इवामुरा अस्पालको अपोजिट) मा सम्पर्क गर्न सूचित गरेको छ ।

कर्णालीमा समावेशी मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए शपथ

सुर्खेत – समावेशीताको सवाललाई धज्जी उडाउँदै कर्णाली प्रदेशमा आज चार जना मन्त्रीको सपथ पद तथा गोपनीयता शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मन्त्रीमण्डलमा नेकपा एमालेका तर्फबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री टेकराज पछाई र जीतबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिए ।

यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश शर्माले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा योजना मन्त्री मन्त्रीको शपथ लिए ।

यस्तै पुस २८ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका एमालेबाट विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । यो मन्त्री मण्डलमा दलित , महिला कुनै पनि सहभागी गराएको छैन ।  पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले बुधबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।

प्रेम आचार्यको आत्मदाहबारे गगनको टिप्पणी- सिस्टम चलाउनेको असफलता हो

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले मंगलबार बानेश्वरमा आत्मदाह प्रयास गरेका प्रेम आचार्यको आत्मदाह सिस्टम चलाउनेको असफलता रहेको टिप्पणी गरेका छन् ।

महामन्त्री थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन् पटक पटक घोचिरहेको छ ।’

उनले अगाडि लेखेका छन्, ‘यसो सोच्छु उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि? फेरि सोच्छु यो कुनै व्यक्तिको असफलता मात्रै होइन । यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिस्टम चलाउनेको असफलता हो । कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिस्टम ठीक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ ।’

यस्तै, थापाले आचार्यले उठाएको विषयलाई सम्बोधन गर्न निरन्तर लाग्ने पनि उल्लेख गरेका छन् । ‘अब आरोप प्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भने मात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला,’ थापाले लेखेका छन् ।

फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

सुर्खेत, ११ माघ । पारसबहादुर शाही पहिलो पटक तीन वर्षअघि अर्थात् २०७६ साल कात्तिक २२ गते डोल्पाको फोक्सुण्डो स्वास्थ्य चौकीमा पुगेका थिए । उनी पुग्दा दुई कोठे तापिरिचा माध्यमिक विद्यालय भवनको एउटा कोठामा सञ्चालनमा रहेको थियो, स्वास्थ्य चौकी ।

सहर बजारको ठूला स्वास्थ्य संस्था देखेका शाही विद्यालयको एक कोठामा सञ्चालनमा रहेका स्वास्थ्य चौकी देख्दा छक्क परेका थिए । त्यहाँ शाही पुग्दा स्वास्थ्य चौकीमा कार्यरत पासाङ रोकाय सानो घरको भान्सा कोठामा काम गर्दै थिइन् । पारस पनि सोही कोठामा रोकायसँग गएको सुनाए । कोठामा एउटा कुर्सीमा बसेकी रोकायलाई पारसले फोक्सुण्डो स्वास्थ्य चौकीको इन्चार्ज भएर आएको खबर सुनाएपछि कुर्सीमा बस्न आग्रह गरेकी थिइन् ।   कुर्सीमा पारस नबसी टेबुलमै बसेको उनी बताउँछन् । रोकायले पारसलाई स्वास्थ्य संस्थाको विजोग अवस्थाबारे जानकारी गराइन् ।

रोकायले सुरुमै आवश्यक औषधि, कर्मचारी बस्ने कुर्सी र खाना बस्नको अभावसहिको समस्याको लामो कथा सुनाइन् । उनले कर्मचारीले आफू आएको वा नआएको जानकारी दिने हाजिरी किताबसम्म स्वास्थ्य संस्थामा नभएकोसमेत पारसलाई जानकारी गराइन् ।

यसपछि पारस वडाध्यक्ष निमा लामाको घरमा पुगे । तर, घरमा वडाध्यक्षलाई भेट्नन् । वडा अध्यक्ष लामा रहेको फोक्सुण्डो ताल नजिकै रहेको हिमालय होटलमा पुगेर पारसले आफूहरुलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह गरे ।

अध्यक्ष लामाले बजेट नभएको भन्दै समस्या रहेको सुनाएपछि शाहीले प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीलाई फोन गरेर समस्या समाधान गर्न आग्रह गरेको बताउँछन् ।

अधिकारीले ताल नजिकै रहेको रिग्मो गाउँबाट स्वास्थ्य सेवा दिने गरी हिमालय होटलको दुई कोठा गाउँपालिकाले भाडा तिर्ने गरी व्यवस्थापन गर्ने बताए । तर, भाडाको एक कोठामा भान्सा र अर्कोमा स्वास्थ्य कसरी चलोस्, पारसको मनले मानेन ।

स्वास्थ्य चौकी तीन घण्टाको दूरीमा रहेको र सबैको पाएक पर्ने ठाउँमा रहेकोले रिग्मो गाउँमा पारसको मनले बस्न मानेन । चार घण्टा टाढाको दूरीमा रहेको ठाउँमा निकै मिहेनत गरेर नयाँ भवनमा निर्माण भएको, तर निर्माण व्यसासायीसँग आग्रह गर्दा पनि हस्तान्तरण गर्न नमानेपछि कार्यकारीसँग समन्वय गरेर ३ वैशाख २०७७ मा नयाँ भवनमा सनर्ने काम गरेको उनले सुनाए । नयाँ भवनमा सारेपछि मात्र काम वातावरण निर्माण भएको पारसले जानकारी दिए ।

कान्छीमाया तामाङ फाउन्डेसनमार्फत् उपकरण र आर्थिक सहयोगमा काम सुरु गर्ने वातावरण समेत तयार भयो । ग्रामीण ठाउँमा काम गर्न सकिने अल्ट्रासाउन्ड स्वास्थ्य चौकीमा लिएर उनले आफ्नो जिम्मेवारी वहनलाई अघि बढाए । बिरामीलाई भर्ना गरेर निशुल्क सेवा दिन मिल्ने गरी पाँच शय्या स्थापना गरियो । स्वास्थ्य चौकीमा बत्ती नभएका कारण आफ्नो ब्यक्तिगत खर्च गरी वैकल्पिक ऊर्जामा करिब ३ किलोवाट सौर्य विद्युत उपलब्ध गराइदिन निवेदन दिएको शाहीले पीडा सुनाए । अहिले वैकल्पिक ऊर्जाले केही महिनामा सौर्य बत्ती हस्तान्तरण गर्ने जानकारी गरायो ।

यसरी जनताको स्वास्थ्य सेवामा उनी खटिरहे । उनी करिब तीन वर्षको फोक्सुण्डो स्वास्थ्य चौकीमा रहँदा शे–फोक्सुण्डो गाउँपालिकाको–८ र ९ पूर्ण खोप वडा घोषणा भइसकेको छ । उपल्लो डोल्पाका तीन स्थानीय तहमध्ये  फोक्सुण्डो स्वास्थ्य चौकीले मात्रै पुर्ण खोप वडा घोषणा गर्न सफल भएको  छ ।  फोक्सुण्डो स्वास्थ्य चौकीले कोभिड भ्याक्सिन पनि पहिलो, दोस्रो र बुस्टर डोज शतप्रतिशत  लगाउने स्वास्थ्य संस्थामा पर्छ । विगत तीन वर्षदेखि स्वास्थ्य चौकीले वर्थिङ सेवा दिँदै आएको छ । साल अड्किएर समस्यामा परेकी पुग्मो र बच्चा जन्माउन नसकेकी रिग्मो गाउँबाट १ जनालाई आवश्यक सहजीकरण गरी निःशुल्क दुईजना सुत्केरी महिलाको हवाइ उद्धार गरेको छ।

आर्थिक वर्ष २०७८÷७९ मा फोक्सुण्डो स्वास्थ्य चौकीले स्वास्थ्य चौकीअन्तर्गत न्यूनतम सेवा मापदण्डमा ६८  प्रतिशत अंकसहित अपर डोल्पाको तीनवटा स्थानीय तहमध्ये फोक्सुण्डो स्वास्थ्य संस्था पहिलो स्वास्थ्य संस्था बन्न सफल भएको छ । स्वास्थ्य चौकीले दिने न्युनतम सेवा मापदण्डअनुसार सेवा दिने अब्बल स्वास्थ्य संस्थाभित्र पर्न सफल भएको छ।

स्थानीय बासिन्दा र तापिरिचा माध्यामिक विद्यालय परिवार, अन्य सेवाग्राही स्वास्थ्य संस्थाले दिने सेवाप्रति सन्तुष्ट रहेको र स्वास्थ्य चौकी प्रमुख पारसबहादुर शाही आएपछि स्वास्थ चौकीले पुनर्जीवन पाएको सर्वसाधारणले बताउने गर्छन् । उक्त स्वास्थ्य संस्थाबाट दैनिक तापिरिचा माध्यमिक विद्यालय र वडा न ८ र ९ का बासिन्दा र फोक्सुण्डो ताल घुम्न आउने पर्यटकहरु लगायत ३० जना बिरामीहरुले सेवा लिने गर्छन् ।

चिसो समयमा भने बस्ती तातो ठाउँमा सर्ने भएकाले करिब ३ महिना खोप कार्यक्रमबाहेक ओपिडिसेवा लिनेहरु  छिटफुट मात्रै आउने गर्छन् ।

बिग ब्रदर युकेमा अब्दु

मुम्बई, ११ माघ । हिन्दीमा भनाई छ–ऊपर वाला जब देता है तो छप्परफाड कर देता हे । आफ्नो क्युट हँसाइ र प्रफुल्लताले करोडौं मानिसको मन जितेका अब्दु रोजिकले गरिबीमा जीवन बिताए । सडकमा गीत गाएर पैसा उठाए । तर, उनको प्रतिभा नै थियो र भाग्य बदलियो । आफ्नो मिहेनतका कारण उनी इन्टरनेसनल स्टार बने ।

तजाकिस्तानका अब्दु ‘बिग बोस १६’को हिस्सा बने र आम मानिसको रोजाइमा परे । उनको लोकप्रियताको सिलसिला अझै रोकिएको छैन । उनलाई ‘बिग ब्रदर युके’बाट सहभागिताका लागि प्रस्ताव आएको छ ।

उनलाई यो शोको नयाँ सिजनका लागि अफर आएको हो । उनले त्यो प्रस्तावलाई स्वीकारेका छन् । उनी जुन या जुलाईसम्म यो शोको हिस्सा हुनका लागि जानेछन् । यसपटक ‘बिग ब्रदर युके’ पाँच वर्षपछि रिबूट सिक्वेन्सका साथ फर्कँदै छ ।

अब्दू अहिले ‘बिग बोस’को हिस्सा छैनन् । उनको ‘बिग बोस’ यात्रा पुरा भइसकेको छ । साजिद खान, एमसी स्टेन, सुम्बुल तौकिर खान, निम्रत र आहलुवालिया, शिव ठाकरेसँग अब्दूको बण्डिङ निकै रुचाइयो ।

लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं, ११ माघ । लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने ३४ वर्षीय किरण मगर र पर्सा वीरगञ्ज महानगरपालिका–३२ चोर्नी बस्ने २५ वर्षीय मुन्ना महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको  हो ।

प्रहरीले मगरलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध लुपिजेसिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन १२ एम्पुल र महतोलाई सिरहा, नरहा गाउँपालिका–३ चोहर्वाबाट नाईट्राभेट १२६ ट्याब्लेट र कोरेक्स १०० एमएलको १ बोतलसहित पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो रानी विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मगरलाई पक्राउ गरेको हो । महतोलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन

काठमाडौं, ११ माघ । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । आचार्यले उठाएका २५ बुँदे माग पूरा गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसँग प्रदर्शनकारीले माग गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीले ‘यो देश हो कि बधशाला ?, अर्काे जल्दो शरीर मेरो नहोस्’, ‘उद्यमशील नेपाल नारा मात्रै हो सरकार ?, ठूला व्यापारी कसको आश्रयमा, प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, यो आत्महत्या होइन हत्या हो’ जस्ता नारासहितको पम्लेट बोकेका थिए ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि मंगलबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।

एनएसएस कप अन्तर विद्यालय प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं, ११ माघ । नेसनल स्कुल अफ साइन्सेजले उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बुधबार आयोजकले पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ प्रतियोगिता माघ १३ देखि २२ गतेसम्म गर्ने निर्णय गरेको छ । फुटबल सेभेन ए साइड र बास्केटबल फिबाको नियमअनुसार खेलाइने प्रतियोगिताको संयोजक प्रभात रिसालले बताएका छन् ।

प्रतियोगिताको फुटबलतर्फ सेन्ट जेभियर स्कुल,  विद्यासंस्कार इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, बृहस्पती विद्यासदन, एभरेस्ट पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, निस्ट, निसर्ग बाटिका स्कुल, इम्पेरियल वर्ड स्कुल, जन डेवी स्कुल, राजर्शी गुरुकुल स्कुल र त्रियोग हाइ स्कुलगरी १२ टोलीको सहभागीता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

बास्केबलतर्फ सेन्ट जेभियर स्कुल, भ्याली पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, इम्पेलियल वार्ड स्कुल, निस्ट ए, निसर्ग बाटिका स्कुल, त्रियोग हाइ स्कुल, काठमाडौं प्रज्ञाकुञ्च, बुद्ध एकेडेमी, कान्जीरोव नेस्नल स्कुल, निस्ट बी, दिक्षालय फाउन्डेसन, संस्कृति इन्टरनेस्नल स्कुल र विद्यासंस्कार इन्टरनेस्नल स्कुल गरी ११ टोलीको सहभागीता छ ।

स्कुलका सञ्चालक तथा प्रिन्सिपल माधव प्रसाद बरालले विद्यार्थीलाई पढाउनेमात्रै नभएर खेलकुद क्षेत्रमा सहभागी गराउन प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘हामी हरेक वर्ष खेलकुद क्षेत्रमा रहँदै आएका छौं । धेरै  गर्न पाएका छैनौं । तर, केहि न केहिमा हामी संलग्न हुँदै आएका छौं । खेलाडीलाई पढाइमा मात्रै हैन खेलकुदमा पनि सक्रिय गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

कर्णाली प्रदेश माओवादी र एमालले मन्त्रीको नाम टुंगो लगाए

सुर्खेत, ११ माघ । कर्णाली प्रदेश सरकार बुधबार विस्तार हुन लागेको छ । माओवादी र एमालले मन्त्रीको नाम टुंगो लगाएपछि बुधबार साँझ ६ बजे शपथ हुन लागेको हो । नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा मन्त्रीका लागि सिफारिस भएका छन्।  बुधबार पार्टीले सुर्खेतका जिसी र सल्यानका शर्माको नाम मन्त्रीका लागि सिफारिस गरेको हो।

जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (२)बाट र शर्मा सल्यान प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए।  मुगुका मंगल शाहीलाई भौतिक पूर्वाधार  उर्जा था जलस्रोत मन्त्रालय जिम्मेवारी दिइएको छ ।

त्यस्तै नेकपा एमालले दैलेखका विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्रालय,  जुम्लाका टेकराज पछाई सामाजिक विकास मन्त्रालय , जीतबहादुर मल्ललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आत्मदाह गरेका आचार्यका परिवारलाई भेटेर गृहमन्त्री लामिछानेले मागे क्षमा

काठमाडौं, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका छन् । नयाँबानेश्वरस्थित संसद भवनअगाडि मंगलबार आफ्नो शरीरमा आगो लगाएका प्रेमप्रसादको बुधबार निधन भएको छ । उपचारका लागि उनलाई लगिएको कीर्तिपुरस्थित अस्पतालमा पुगेर गृहमन्त्री लामिछानेले मृतक आचार्यको परिवारका सदस्यलाई भेटेर बचाउन नसकेकोमा क्षमा मागेका हुन् ।

उनले मृतक प्रेमप्रसादले उठाएका विषयमाथि छानबिन आश्वासन पनि दिएका छन् । मृतकको आफन्तलाई भेट्नुअघि बुधबार बिहान सामाजिक सञ्जालमार्फत उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका थिए ।

आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसक्नुमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेले भनेका थिए ।तस्बिर : कुशल राई

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं, ११ माघ । क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको आराेपमा एक युवक पक्राउ परेका छन् । मोरङ मिक्लाजुङ गाउँपालिका–९ घर भएका २९ वर्षीय साहिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बस्नेतलाई प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा क्रोएसियाको कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी बस्नेतले फुडप्याकिङको काम लागइदिन्छु भन्दै पीडितहरुबाट रकम ठगी गरेको उनीमाथि आराेप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । बस्नेतले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको खबर वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

मातहतका कार्यालयहरूद्वारा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ

काठमाडौं, ११ माघ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्रीले आफू मातहतका कार्यालयहरूको ब्रिफिङ लिएका हुन् ।  ब्रिफिङमा राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले आ-आफ्नो कार्यालयकाबारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका  थिए ।

ब्रिफिङमा कार्यालय प्रमुखहरूले आफ्नो मातहतका कार्यालयहरूको नीतिगत कार्यादेश, प्रगति अवस्था, गरिएका पहलहरू, कार्यालयका समस्याहरू र आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव प्रस्तुत गरेका हुन् ।

प्रधानमन्त्रीले अर्को दिन बाँकी कार्यालय प्रमुखहरूको ब्रिफिङ सुनिसकेपछि निर्देशनात्मक मन्तव्य राख्ने उनकाे सचिवालयले जानकारी दिएकाे छ  ।

क्रसर उधोग बन्द भएपछि निर्माणको काम प्रभावित

लमजुङ ११ माघ-गृह मन्त्रालयको निर्देशनमा जिल्लामा सञ्चालित क्रसर उद्योगहरू बन्द भएपछि निर्माण व्यवसायी मारमा परेका छन्।सबै क्रसर उद्योगहरू बन्द भएपछि सामग्री अभावमा निर्माण कार्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। उत्पादित पुरानो सामग्री पनि उठाउन नपाउने र नयाँ उत्पादन पनि रोकिएपछि निर्माणका कामहरू अघि बढ्न नसकेको निर्माण व्यवसायी संघ लमजुङका अध्यक्ष सतिश पराजुलीले बताए।

हाल रहेको मापदण्डले जिल्लामा कुनैपनि क्रसर उद्योगहरू सञ्चालन हुन नसक्ने र नयाँ दर्ता गर्न पनि सम्भव नहुने भन्दै ऐन परिमार्जन गर्नुपर्ने उनीहरूको तर्क थियो।

‘अहिलेको मापदण्डले कुनै क्रसर उद्योगपनि सञ्चालन हुन सक्दैनन। जंगल, खोला र सडकले नछोएको ठाउँ पाउनै सकिदैन’, निर्माण व्यवसायी संघ लमजुङका पूर्व अध्यक्ष पूर्णचन्द्र पोख्रेलले भने, ‘वर्तमान ऐन संसोधन गर्नुपर्छ, पहाड र तराईमा एउटै नियमले काम गर्न सकिदैन।’
गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २५ गते जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो।

सोहीअनुरूप जिल्लाका सबै क्रसर उद्योग बन्द भएका छन्। लमजुङमा दर्ता भई नवीकरण नभएका ५ वटा र दर्ता नै नभई सञ्चालन भएका दुईवटा गरी सातवटा क्रसर उद्योग सञ्चालनमा थिए।

अहिले सबै उद्योग बन्द भए पनि वैध र अवैध उद्योग प्रमाणितपछि वैधानिक उद्योगलाई सञ्चालन गर्न अनुमति दिइने भएको छ। उद्योगहरूको अनुगमनका लागि समिति पनि गठन गरिएको छ।

संवैधानिक इजलासमा बहस : प्रक्रिया पूरा नगरेकाले रवि लामिछाने नेपाली नागरिक होइनन्

काठमाडौं, ११ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस भइरहेको छ ।

सो क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहसमा सहभागी हुँदै लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि गर्नुपर्ने प्रक्रिया पूरा नगरेकाले उनी नेपाली नागरिक नभएको जिकीर गरेका छन् ।

नागरिकता समाप्ति राज्य र व्यक्तिले निर्णय गर्न सक्ने भए पनि प्राप्तिका लागि भने कानुनसम्मत् प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले  सो प्रक्रिया पूरा नगरेकाले लामिछानेले अहिले नेपाली नागरिक नरहेको बताएका हुन् ।

अमेरिकाको ग्रिनकार्ड लिने बेलामा लामिछानेले अरु कुनै देशको नागरिक नरहेको शपथ लिएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारीले ग्रिनकार्ड त्यागेपछि उनले नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै नथालेको बताए । उनले नजिरको रुपमा किरण गुप्ताको मुद्दाबारे बताएका छन् ।

रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरुले अमेरिकी नागरिकता त्यागेपछि लामिछानेले नेपालको नागरिकता लिन प्रक्रिया सुरु नगरेकाले उनी नेपाली नागरिक नरहेको दाबी गरेका छन् ।

एमालेसँगको सबै आवद्धता त्यागिन् कर्णाली प्रदेश सभामुख नन्दा गुरुङले

काठमाडौं, ११ माघ । कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले नेकपा एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा गरेकी छन् । बुधबार विज्ञप्ति जारी गरेर उनले साझा भूमिकामा रहनुपर्ने सभामुखमा निर्वाचित भएकाले एमालेको सम्पूर्ण जिम्मेवारी र आवद्धताबाट अलग भएको घोषणा गरेकी हुन् ।

साथै सभामुख पदको जिम्मेवारी वहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।

माओवादीका २ जनाले लिए मधेश प्रदेशसभा सदस्यको शपथ

काठमाडौं, ११ माघ । नेकपा माओवादी केन्द्रका दुईजना मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेशसभा सचिवालयमा बुधबार भएको समारोहमा सभामुख रामचन्द्र मण्डलले रजि हैदर र रुवी कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनीहरु समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कर्णालीमा दुई दिनदेखिको हिमपातका कारण यातायातदेखि सञ्चार सेवा प्रभावित

सुर्खेत – भारी दुई दिनदेखिको हिमपातका कारण यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएको हुम्ला ,मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत अवरुद्ध भएकाे छ । सौर्य ऊर्जाबाट सञ्चालन हुने यहाँको फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा फोन सेवा अवरुद्ध भएको हो । यहाँका सर्वसाधारणहरुले के गरिरहेका छन् भन्ने जानकारी लिन मुस्किल भएको छ । कर्णाली प्रदेशको सबैभन्दा ठूलो समस्य पनि यही रहेको छ ।

सदरमुकाममा रहेका टावरहरु सञ्चालनमा रहे पनि गाउँमा रहेका सबै टावर बन्द भएका छन् । भेरी करिडोरअन्तर्गत जाजरकोट –डोल्पा सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ । हुम्लाको यारी, हिल्सा नाका जाने र आउने बाटो अवरुद्ध भएको छ । त्यस्तै लिमी जाने बाटोसमेत हिमपातले अवरुद्ध भएको छ । उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कविच्छेद भएको छ । कर्णाली राजमार्गअन्तर्गत जुम्लादेखि मुगुसम्म सञ्चालन हुने यातायात सेवा समेत प्रभावित भएको छ ।

कर्णाालीका डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्याधिक हिमपात भएको छ । जाजरकोटको उत्तरी क्षेत्र, रुकुम पश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ । लामो समयदेखि काला देखिएका यहाँका हिमालहरु सेताम्य भएका छन् ।

अग्ला ठाउँमा रहेका सबै बस्तीहरु हिमपातका कारण सेताम्य भएको सर्वसाधारणले बताएका छन् । सबैभन्दा बढी हिउँको प्रभाव हिमाली जिल्लामा देखिएको छ । डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाइ सेवा समेत दुई दिनदेखि ठप्प भएको छ । लामो समयदेखि पानी नपरेर अकाशे पानीको भरमा लगाएको खेतीबालीमा भने राहत पुगेको छ । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा हिमपातकै बीचमा लोसार पर्व बनाइने काम जारी रहेको गाउँपालिका उपाध्यक्ष प्रेमा दोर्जेले बताए । हिमाली क्षेत्रमा भारी हिमपात हुँदा पशुचौपायदेखि स्थानीयवासीलाई आवतजावत गर्न, घाँसपात जुटाउनसमेत समस्या परेको छ ।

छार्काताङसुङका निमा गुरुङका अनुसार हिमपातले पानी जमेका कारण जनजीवन मुस्किल हुँदै गएको छ ।   हुम्ला, मुगु र डोल्पाका जनप्रतिनिधिहरु नेपालगन्ज ,सुर्खेत र काठमाडौँमा बसेर चिसो महिना बिताएर दुर्गमको तलबभत्ता बुझ्ने गरेका छन् । जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत र दैलेखमा परेको पानीका कारण यस क्षेत्रमा लगाएको गहुँबालीदेखि बेमौसमी तरकारी बालीमा राहत पुगेको किसानहरुले बताएका छन् ।

विकास निर्माणका कामहरू पानी परेका कारण जमिन खन्न सजिलो हुने भएपछि उपभोक्ता समितिहरू खुसी भएका छन् । हिमाली जिल्लाहरूमा भने चिसो मौसममा पुरै विकास निर्माणका कामहरु ठप्प हुने गर्दछन् । वैशाखदेखि मात्र विकास निर्माणका कामहरु सूचारु हुने त्यहाँका कर्मचारीहरुले बताएका छन् ।

अहिले हिमपात कारण विकासे काम गर्न मुस्किल हुँदै आएको छ । कात्तिकदेखि वैशाखसम्म विकासका कामहरु ठप्प हुने गरेको पाइन्छ । चिसो र हिमपातको कारण देखाउँदै विकास निर्माणको कामहरू रोक्दै आएको पाइन्छ ।  यहाँका विद्यालय समेत बन्द रहेका छन् । अन्य ठाउँमा वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र हिमाली जिल्लामा भने फागुनदेखि सुरु भएर पुस महिनामा विदा हुने गर्दछ ।