`

आफ्नो फेसनले सबैलाई हैरान बनाउने उर्फी जावेदलाई पहिरन कै कारण घर धनिले भाडामा बस्न दिएनन्

मुम्बई, ११ माघ । आफ्नो फेसनले सबैलाई हैरान बनाउने उर्फी जावेद अहिले नयाँ समस्यामा परेकी छन् । उनले आफ्नो ट्वीटर एकाउण्टमा समस्यालाई फ्यानमाझ सार्वजनिक गरेकी छन् । उनले मुम्बई आफ्ना लागि बस्नका लागि घर पाउन कसरी समस्या परिरहेको छ भन्ने कुरा उल्लेख गरेकी छन् ।

उर्फीका अनुसार केही घर मालिक उनको पहिरन सेन्सका कारण उनलाई घर भाडामा दिन मानिरहेका छैनन् । केही भने उनको विवादास्पद छविले घर दिन अस्वीकार गरिरहेका छन् ।‘मुस्लिम घर मालिकहरु मेरो पहिरन शैलीका काaरण घर दिन मानेका छैनन् । त्यस्तै हिन्दु मालिकहरु मलाई मुस्लिम भएको भन्दै घर दिन मानिरहेका छैनन् । केहीले भने मलाई आइरहने राजनीतिक धम्कीका कारण घर दिन मानिरहेका छैनन्’, उनले ट्वीट गरेकी छन् ।

उर्फी प्रायः आफ्नो कपडाका कारण चर्चामा आइरहन्छिन् । अहिले बस्नका लागि घर खोजिरहेकी उर्फीलाई त्यही कपडा समस्या बनेको छ । त्यहीकारण उनलाई मुम्बईमा घर पाउन समस्या भएको छ ।

उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै

काठमाडौं – सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्दैछ । आज कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतका इजलासमा सुनुवाइ हुने भएको हो ।

यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ ।

गृहमन्त्री लामिछानेले भने– आत्मदाहको निर्णय फेर्न सकेनौँ, दोषी छौँ

काठमाडौं, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् । नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन् ।

आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताउँदै उनले आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताएका छन् ।

यसमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ । ‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला,’ सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेखेका छन् । उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि उनले उनको मृत्युमा आफू पनि दोषी रहेको बताएका हुन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले लेखेका छन् :
एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपार्इंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चीरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।

आज यस्ताे रहेकाे छ हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौ, ११ माघ-कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, नेपाली सुन्ताला १२५ रुपैयाँ तोकिएको छ ।

रातो आलु ३० रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि २५० रुपैयाँ, अकबरे खुर्सानी ३५० रुपैयाँ, अदुवा ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, कायम रहेको छ ।

यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।त्यस्तै, लोकल गाजरको न्युनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग र भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ८० र हरियो धनिया १०० रुपैयाँ रहेको छ ।

मेयर बालेनद्वारा प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली व्यक्त – ‘उनको सुरक्षा, उद्दार र उनले भोगेको हरेक चरणमा राज्य असफल’

काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत मेयर बालेनले उनको सुरक्षा, उद्दार र उनले भोगेको हरेक चरणमा राज्य असफल भएको बताएका छन् ।

उनले लेखेका छन् – ‘एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।’

‘नागरिककारुपमा, जनप्रतिनिधीकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ । ‘

‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।’

मंगलबार संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको बुधबार बिहान निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको हो । इलाम घर भएका आचार्यले मंगलबार शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उहाँलाई अस्पताल पुर्‍याएको थियो ।

कर्णालीमा मन्त्रालयको टुंगो लाग्यो : आज मन्त्रिपरिषद विस्तार

सुर्खेत – सत्तारुढ दलको मंगलबार बसेको बैठकले भाग वण्डा टुंगो लगाएको छ । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो  । यी मन्त्रालयमा जाने मन्त्रीको सपथ बुधबार हुने मल्लले जानकारी दिए । मन्त्रालयको संख्या घटाएसँगै कर्णालीमा मन्त्रीमण्डलले पूर्णता पाएको हो ।

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुने

काठमाडौं – बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार आज हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नयाँ मन्त्री नियुक्त गर्ने भएका हुन् । मन्त्रिपरिषद्ले पूर्णता दिने वा नदिने बारे टुंगिएको छैन ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आज २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ । मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ ।

नेकपा एमालेले ५ वटा, माओवादीले ४ वटा, राप्रपाले ३ वटा, नेकपा एकीकृत समाजवादीले २ वटा र हाम्रो नेपाली पार्टीले १ वटा मन्त्रालय मागेका छन् ।

तर, मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागवण्डामा तलमाथि हुनेछ ।

कांग्रेस संस्थापन इतर पक्षको भेला किन रोकियो ?

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ । संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो ।

अर्को भेला मंगलवार बिहानका लागि तय गरिएको थियो । भेलाको पहिलो दिन शेखर कोइरालासहितका केही नेताले राखेको भनाइ बंग्याएर सञ्चारमाध्यममा आएको भन्दै तत्कालका लागि भेला स्थगित गर्ने निष्कर्षमा संस्थापन इतर पक्ष पुगेको हो । संस्थापन इतर पक्षले मंगलबारका लागि डाकिएको भेला स्थगित गर्दै अब राष्ट्रपति निर्वाचनपछि मात्र यसलाई निरन्तरता दिने भएको छ ।

‘पहिलो दिनको भेलामा नेता शेखर कोइरालाले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर गल्ती भयो भन्नुभएको थिएन । तर सञ्चारमाध्यममा भने दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर पार्टीले गल्ती गन्यो भन्नुभयो भन्ने कुरा आयो,’ कोइरालानिकट एक नेताले भने, ‘भित्र एउटा कुरा भएको थियो तर बाहिर अर्कै आयो । यसले राम्रो सन्देश नगएकाले राष्ट्रपति चुनावपछि मात्र बस्नेगरी भेला स्थगित गरिएको छ ।’ यो समाचार नागरिक दैनिकमा छ ।

विश्व इतिहासमा आजः पहिलो हिउँदे ओलम्पिकदेखि लीग अफ नेसन्सको स्थापना

आज २५ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

पहिलो सौर्य उर्जाको भट्टी खुला
सन् १९७७ मा विश्वको पहिलो सौर्य उर्जाको भट्टी खुला गरिएको थियो । फ्रान्स्को ओडेइलिोमा स्थापना गरिएको सो भट्टीले पहिलो पटक वैकल्पिक उर्जा दिएको थियो ।

युगान्डमा तानशाह इदी अमिनको उदय
सन् १९७१ मा युगान्डका तानशाह इदी अमिनले शक्ति हत्याएका थिए । सन् १९७१ देखि १९७९ सम्म सत्ता हत्याएका एमिनको शासनकालमा मानवअधिकार उल्लंघन, राजनीतिक दमन र भ्रष्टाचार भएको थियो ।

पहिलो हिउँदे ओलम्पिक
सन् १९२४ मा पहिलो हिउँदे ओलम्पिक सुरु भएको थियो । पहिलो हिउँदे ओलम्पिक फ्रान्सको च्यामोनिक्समा २५ जनवरीमा सुरु भएको थियो ।

लीग अफ नेसन्सको स्थापना
सन् १९१९ मा लीग अफ नेसन स्थापना भएको थियो । लीग अफ नेसन्स राष्ट्रसंघ स्थापना हुनुअघिको अन्तराष्ट्रिय संगठन हो । विश्वमा शान्ति र सद्भाव कायम गर्ने उदेश्यले लीग अफ नेसन्स स्थपना भएको थियो । पछि लीग अफ नेसन्सको जगमा अडेर राष्ट्रसंघ स्थापना भएको थियो ।

काठमाडौंको एक गेष्ट हाउसमा सेनाका जवान मृत फेला

काठमाडौं – नेपाली सेनाका जवान काठमाडौंको एक गेष्ट हाउसमा मृत फेला परेका छन् । रणभैरव गणमा कार्यरत नेपाली सेनाका जवान विनय कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा मंगलबार बिहान मृत भेटिएका हुन् ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार उनी गणबाट सोमबार हिँडेका थिए । मंगलबार बिहान गेष्ट हाउसको कोठा नम्बर १०२ मा उनी पासो लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको घर पाल्पा रैनादेवी छहरा  हो । उनको ह-त्या हो या आ-त्मह-त्या अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ ।

साउनयता उपत्यकामा ६० वटा आगलागीका घटना

काठमाडौं । साउनयता उपत्यकामा ६० वटा आगलागीका घटना भएका छन् । दमकल कार्यालय काठमाडौंले दिएको जानकारीअनुसार यो महिना सबैभन्दा बढी आगलागीका घटना भएका छन् ।फायर कमान्डर नरेशराज कुँवरका अनुसार यो महिनाको १० गतेसम्म ५ वटा आगलागीका घटना भएका छन् ।

तीमध्ये सबैभन्दा ठूलो सोमबार राती ललितपुर महानगरपालिका–३ स्थित सिहिटीमा भएको थियो । राती करिब साढे ९ बजे कृष्ण अधिकारीलगायतले सञ्चालन गरेको डाइपर गोदाममा आगलागी हुँदा करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको थियोे ।

आगलागीलगत्तै ललितपुर महानगरपालिकाको दमकल पुगेको थियो । सो दमकलले आगलागी नियन्त्रण गर्न नसकेपछि कामपाको दमकल पनि पुगेको थियो ।साढे ९ बजेबाट लागेको आगो मंगलबार बिहान साढे ४ बजे नियन्त्रणमा आएको कामपा दमकल प्रमुख प्रकाश पण्डितले भने ।

उनका अनुसार शुरूमा कवाड कारखानामा आगलागी भएको थियो । त्यहाँको आगलागी नियन्त्रण भएको अनुमान गर्दागर्दै डाइपर गोदममा आगलागी भयो ।सो आगलागीबाट करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको दमकल प्रमुख पण्डितको भनाइ थियो । त्यसअघि विद्युत् सर्ट भएर ३ र अन्य दुईवटा आगलागीका घटना भएको कुँवरको भनाइ छ ।

यो महिनामा मैतीदेवी, बालाजु, चावहिल र धोवीघाटमा आगलागी भएको थियो । साउनमा ३५, भदौमा र असोजमा २०–२०, कार्तिकमा २४, मंसिरमा २१ र पुसमा २३ वटा आगलागीका घटना भएका छन् । तीमध्ये विद्युत् सर्ट भएर ५५, ग्यास लिक भएर ८ र अन्य २६ आगलागीका घटना भएका छन् । फायर कमान्डर कुवँरले अघिल्लो वर्ष विद्युत् सर्ट भएर ३ सय ५५ र ग्यास लिक भएर १ सय ८१ र अन्य ७३ वटा घटना भएको जानकारी दिए ।यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

एकीकृत समाजवादीलाई सुविधा दिन किन मानेन संसद सचिवालयले ?

काठमाडौं । सङ्घीय संसद् सचिवालयले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ ।दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो ।

सांसद सुविधा व्यवस्थापन शाखाले प्रचलित कानुनअनुसार एकीकृत समाजवादीलाई सुविधा दिन नमिल्ने जवाफ पठाएको हो ।शाखाका उपसचिव रामहरि थापाले कानुनअनुसार सचेतकलाई सुविधा उपलब्ध गराउन नमिल्ने जवाफ पठाइएको बताए ।

समाजवादीले सङ्घीय संसद्का पदाधिकारी तथा सुविधासम्बन्धी ऐनअनुसार सुविधा दाबी गरेको थियो तर सचिवालयले सुविधा दिन नमिल्ने जवाफ पठाएको छ ।१० सांसद रहेको एकीकृत समाजवादीले ऐनको परिभाषा खण्ड ९ञ० अनुसार सुविधा माग गरेको थियो ।

१० भन्दा बढी सांसद भएको दलको प्रमुख सचेतकले पदाधिकारीको सुविधा पाउने ऐनमा व्यवस्था छ । सचिवालयले दलको सिट सङ्ख्या १० रहेको र १० भन्दा बढीको अर्थ कम्तीमा ११ सदस्य हुनुपर्ने भन्दै सुविधा दिन नमिल्ने जवाफ पठाएको हो ।

सुविधा शाखामा संसदीय दल गठनका अन्य पत्र पनि प्राप्त भएका छन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले पनि सो विवरण पठाएका छन् ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

दिपकराजले ‘अब रवि बालेनहरू आएका छन् , काम गर्न दिउँ’ भन्दा बालेनले उल्टै सोधे यस्तो प्रश्न

काठमाडौं । चर्चित हास्यकलाकार दिपकराज गिरी र काठमाडौंका मेयर बालेन्द्र साहबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ । कलाकार गिरीले मेयर साहको समर्थन गर्दै फेसबुकमा लेखेको स्टाटसमा मेयर शाहले उल्टै दीपकलाई प्रतिप्रश्न गरेका छन् ।

कलाकार गिरीले ले लेखेका छन् – ‘राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादीलाई वर्षौ विश्वास गर्यौ, अब रवि बालेनहरू आएका छन् । उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’ यो स्टाटसमा बालेनले प्रति प्रश्न गर्दै लेखेका छन् ‘बालेनहरु भनेको कतिजना हो रु बालेन जस्तै अरु पनि छन् रु छन भने किन ५ वर्ष कुर्नु ? ’

पछिल्लो समय बालेन आफ्ना अभिव्यक्ति र डोजर प्रकरणका कारण विबादमा तानिइरहेका बेला केही दिन अघि मात्रै निर्देशक विशाल भण्डारीविरुद्ध खनिएका थिए ।

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भोलि हुने

काठमाडौं – बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भोली हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नयाँ मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रिपरिषद्ले पूर्णता दिने वा नदिने बारे टुंगिएको छैन ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा भोलि २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको छ । मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको छ ।

नेकपा एमालेले ५ वटा, माओवादीले ४ वटा, राप्रपाले ३ वटा, नेकपा एकीकृत समाजवादीले २ वटा र हाम्रो नेपाली पार्टीले १ वटा मन्त्रालय मागेका छन् । तर, मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागवण्डामा तलमाथि हुनेछ ।

१५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

बागलुङ – बागलुङमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले गत असोज ४ गते श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले सोमबार (माघ ९ गते) दिएको उजुरीका आधारमा बुबालाई पक्राउ गरिएको बताए ।

बागबण्डा टुंग्याएर गण्डकीमा थप तीन मन्त्रीले लिए सपथ

पोखरा – गण्डकी प्रदेशमा मन्त्रीहरूको भागबण्डा टुंगिएको छ । सात सदस्यीय मन्त्रालय रहेको गण्डकीमा सत्तागठबन्धनको एमालेले चार, माओवादी केन्द्रले दुई र राप्रपाले एक मन्त्री पाएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगरलाई आन्तरिक तथा कानुन मन्त्रालय, एमालेकै सीता सुन्दासलाई आर्थिक मामिलाको जिम्मा दिएका छन् । सुन्दास सरकारका प्रवक्ता समेत हुन् । एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।

माओवादी केन्द्रका हरिबहादुर चुमानले भौतिक पूर्वाधार मन्त्रालय र रेशम जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका छन् । उनीहरूलाई सोमबार साँझ नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

मनोज पाण्डे मानव बेचबिखन तथा बाल यौन दुर्व्यवहारमा दोषी ठहर

काठमाडौं – जिल्ला अदालत काठमाडौंले सौन्दर्य प्रतियोगितामा सहभागी बालिकामाथि मानव बेचबिखन र यौन दुराचार गरेको आरोपमा ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई अदालतले दोषी ठहर गरेको छ ।

मंगलबार जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मनोज पाण्डेविरूद्ध सरकारी वकिलले लगाएको अभियोग दाबी पुग्ने भन्दै फैसला गरेका हुन् ।
पाण्डेलाई बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना सुनाएको छ ।

मानव बेचबिचन कसुरमा भने दोषी ठहर गरेको छ । उनलाई सजाय निर्धारण गर्न माघ २३ गतेलाई पेशी तोकेको छ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुने गर्छ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो ।

पाण्डेमाथि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न लगाएको भन्दै सरकारी वकिलले मानव बेचबिखन र बाल यौन दुराचार  मुद्दा लगाएको थियो ।

हेलिकप्टर पाइलटसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ

कास्की – हेलिकप्टर पाइलट रानेश डंगोलसँग अभद्र व्यवहार गरेको आरोपमा स्याङ्जा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यामबहादुर गुरुङ, सुरेश श्रेष्ठलगायत ६ जना रहेका छन् । उनीहरूलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माघ ५ गते खेल भइरहेको समयमा वालिङकै स्थानीय विनोद गैह्रे, उज्वल थापा, सुशील गिरी र खिमबहादुर रानाले खेलमैदानमा नै प्रभुको हेलिकप्टर अवतरण गर्न लगाएका थिए । हेलिकप्टर ल्यान्ड गरेपछि स्थानीय युवाले पाइलटमाथि हातपात गरेका थिए । सोही विषयलाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ ।

भूकम्पमा परी बझाङमा एक जनाको हात भाँच्चियो

धनगढी – बझाङको जय पृथ्वी नगरपालिकामा भूकम्पमा परी एक जनाको हात भाँचिएको छ । भूकम्प आएपछि घरबाहिर निस्कन खोज्दा जयपृथ्वी नगरपालिका–११ का ५२ वर्षीय हरिकृष्ण जोशीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

भूकम्पका कारण बझाङमा मंगलबार बेलुकासम्म ३३ घरमा क्षति पुगेको विवरण प्राप्त भएको उनले बताए । सुरक्षाकर्मीका भवन, स्वास्थ्य चौकी, विद्यालय भवन, तथा निजी घरमा आंशिक क्षति भएको विवरण आएको प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए ।

उनका अनुसार बझाङको उत्तर, पूर्वी क्षत्रमा पर्ने पालिका जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, सूर्मा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भूकम्पले क्षेति गरेको छ ।

सोमबार रातिदेखि आएको वर्षा र हिमपातका कारण टेलिफोन टारवमा भएको समस्याका कारण केही स्थानमा भने टेलिफोन सेवा अवरुद्ध बनेको र त्यसले सूचना संकलनमा समस्या भइरहेको उनले बताए ।

कर्णालीमा मन्त्रालयको टुंगो लाग्यो : भोली मन्त्रिपरिषद विस्तार

सुर्खेत – सत्तारुढ दलको आज बसेको बैठकले भाग वण्डा टुंगो लगाएको छ । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो  । यी मन्त्रालयमा जाने मन्त्रीको सपथ भोली हुने मल्लले जानकारी दिए । मन्त्रालयको संख्या घटाएसँगै कर्णालीमा भोली मन्त्रीमण्डलले पूर्णता पाएको हो ।

फास्ट ट्र्याकको स्थलगत अनुगमन गर्न रक्षामन्त्री उप्रेतीसहितको टोली बारा आउँदै

बारा – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार काठमाडौं–निजगढ द्रूतमार्गको स्थलगत अनुगमन गर्ने भएका छन् । बारा १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको विशेष अनुरोधमा रक्षामन्त्री उप्रेतीसहितको टोलीले बुधबार द्रूतमार्गको स्थलगत अनुगमन गर्ने तय गरेको हो ।

रक्षामन्त्री उप्रेतीसहितको टोलिमा नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मा, फास्ट ट्र्याक आयोजना टोली लगायत मन्त्रालयका विशिस्ट कर्मचारीले फास्ट ट्र्याकको स्थलगत अनुगमन गर्ने कार्यक्रम भएका छन् । टोलीले फास्ट ट्र्याकको स्थलगत अनुमगन गरेर कार्यप्रगतिबारे जानकारी लिने बताइएको छ ।

बारा १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले २०६६ सालमा शिलान्यास भएको द्रूतमार्ग १२ वर्षसम्म पनि सम्पन्न हुन नसकेको हुँदा निर्धारित समयमा तराईलाई राजधानी काठमाडौंसँग जोड्ने ७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माण छिटो भन्दा छिटो निर्माण सम्पन्न गराउने उदेश्यले स्थलगत अनुमगन गर्न वातावरण मिलाएको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीका स्वकीय सचिव दमोदर मैनलीले बताए ।

सेनाका अधिकारीहरुले विक्रम संवत् २०८१ मंसिर सम्ममा निर्माण सम्पन्न गर्ने बताएको भएतापनि २०६६ सालमा शिलान्यास भएको द्रूतमार्ग १२ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।

पठानका कारण बंगाली फिल्मको शो कटौती

मुम्बई, १० माघ । अभिनेता शाहरुख खान आफ्नो स्पाइ थ्रिलर फिल्म ‘पठान’लिएर चार वर्षपछि दर्शकमाझ आउँदैछन् । शाहरुखलाई पुनः पर्दामा हेर्न उनका फ्यान लालयित छन् । रिलिजअघि नै एडभान्स बुकिङले गर्दा यसले २१ करोड बढी व्यापार गरिसकेको छ । ‘पठान’लाई लिएर एकातर्फ राम्रो प्रतिक्रिया मिलिरहँदा अर्कोतर्फ भने केही बंगाली फिल्मकर्मीहरु ‘पठान’ को सिंगल स्क्रिन रिलिजलाई लिएर गुनासो गरेका छन् ।

कोलकाताको थिएटरमा गत साता तीन ठूला बंगाली फिल्म ‘काबेरी अन्तर्धान’, ‘दिलखुश’ र ‘डाक्टर बक्षी’ रिलिज भएका छन् । यी तीनै फिल्ममा दर्शकको उपस्थिति उल्लेख्य छ । दर्शकको सकारात्मक प्रतिक्रियाको बाबजुद पनि यी बंगाली फिल्मको शोलाई कटौती गर्दै हलले ‘पठान’लाई प्राथमिकता दिएका छन् ।

बंगाली फिल्मका लागि आवाज उठाउने र टलिउड फिल्मको हितका बारेमा बोल्ने सरोकारवाला निकाय पनि ‘पठान’ का लागि बंगाली फिल्मप्रति थिएटरले गरेको व्यवहार देखेर दुःखी छन् ।

राष्ट्रिय अवार्ड विजेता अभिनेता तथा निर्देशक कौशिक गांगुलीले थिएटरवालाले ‘पठान’ रिलिजको समयमा अन्य फिल्म नलगाउने नीति अपनाएको आरोप लगाएका छन् । ‘यदी कुनै बंगाली फिल्म ५० दिनदेखि राम्रो व्यापार गरिरहेको छ र त्यो फिल्मलाई अचानक हलबाट उतारिन्छ भने यो हाम्रा लागि अस्वीकार्य हो’, उनले भनेका छन् ।

उनले सबैजना एकजुट भएर वितरण प्रणालीको अन्त्य गर्नुपर्ने बताए । ‘यदि आवश्यक पर्यो भने सरकारले यसमा हस्तक्षेप गर्नुपर्छ । बंगाली फिल्मलाई कमसेकम ५० प्रतिशत प्राइमटाइम शो दिनुपर्छ’, उनले भने ।

एकीकृत समाजवादीमा आउन वामदेव गौतमलाई माधव नेपालको प्रस्ताव

काठमाडौं, १० माघ । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् । अध्यक्ष नेपालको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै चाँडै निर्णय गर्न गौतमले जवाफ दिएका छन् ।

भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई अध्ययनका लागि   एकीकृत समाजवादीका दस्तावेज प्रदान गरेका छन् । दस्तावेजको अध्ययनपछि मात्र एकीकृत समाववादीमा आउने या नआउने विषयमा गौतमले निर्णय लिने भएका छन् ।

सोे भेटमा एकीकृत समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधर पनि सहभागी थिए ।

बारामा अवैध रुपमा भित्र्याएकाे भारतीय मल छ्याप्छ्याप्ती

बारा, १० माघ । सरकारी अनुदानको रासायनिक मलको अभाव भएपछि बारामा चोरी निकासी भई आएको भारतीय युरिया मल बजारमा छ्याप्छ्याप्ती भएको छ । सरकारले प्रयाप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा बाली लगाउने बेलामा भारतीय गुणस्तरहिन अवैध मल किन्न किसान बाध्य बनेका छन् ।

सीमामा खटिएका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई मोटो रकम बुझाउँदै भित्रिने भारतीय मल सदरमुकाम कलैयामा छ्याप्छ्याप्ती भएको हो । महँगो र गुणस्तरहिन भएपनि नेपाली मलको अभावमा भारतीय मल किन्नु परेको किसानहरु बताउँछन् ।

नेपाली युरिया मल ८००देखि ९०० सम्म पर्छ । तर पाइँदैन । स्थानीय सहकारी संस्थाले मल ल्याउन नपाएको धेरै दिन भएको छ । मकै बालीलाई मल अत्यावश्यक भइसेकाले बाध्यताले भारतीय मल किन्नु परेको बारा कलैया उपमहानगरपालिका १६ उत्तरझिट्कैंयाका किसान राजु पटेलले बताए ।

भारतबाट चोरबाटो हुँदै धामाधम मल आएकै छ । सिमामा प्रहरीलाई नमिलाई ल्याउन गाह्रो छ । प्रहरीसँगको मिलेमत्तोम मल तस्करहरुले दैनिक पचासौं मोटरसाइकलमा ५ बोरासम्म लोड गरेर मल आउने गरेको कलैयाका एकजना व्यापारीले बताए ।

यसरी भित्रिएका रासायनिक मल यूरिया १ हजार ३ सय देखी १ हजार ३५० रुपैयाँसम्म विक्री भइरहेको छ । खुद्रा व्यापारीले भारतबाट मल ल्याउने मत तस्करहरूसँग एक हजार २०० सम्म किन्ने गरेको उनले बताए ।

‘सरकारले प्रयाप्त दिन सक्दैन । किसानको जीवन त चोरी पैठारीबाट आउने मलले नै चलाएको छ । सिजनका सरकारको भरपर्ने अवस्था छैन । सरकारी अनुदानको मल अभावमा मंहगो मुल्यमा भारतीय मल किन्न बाध्य छौं,’ अर्का किसान सीमा यादवले बताइन् ।

राप्रपा नेपालको महाधिवेशन फागुनमा

काठमाडौं, १० माघ । राप्रपा नेपालको महाधिवेशन आउँदो फागुनमा हुने भएको छ । काठमाडौंमा सोमबार र मंगलबार दुईदिन बसेको केन्द्रीय समिति बैठकले आउँदो फागुन ७, ८ र ९ मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । फागुने काठमाण्डौमा आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकले ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पका साथ १३ वटा निर्णय गरेको छ ।

यी हुन् निर्णयहरु

१)   बैठकले पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष डा. बिष्णु भण्डारीद्वारा प्रस्तुत निर्वाचन समिक्षा प्रतिवेदन, महामन्त्री भास्कर भद्राद्वारा प्रस्तुत सचिवालयको प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठद्वारा प्रस्तुत प्रशिक्षण सम्बन्धि कार्ययोजना, महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन सुदृढिकरण कार्यक्रम र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।

२)      बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाण्डौमा आयोजना गर्ने निर्णय गरेको छ ।

३)      बैठकले महाधिवेशन प्रतिनिधि सम्बन्धि विधानको दफा ३९ मा संशोधन गरेको छ ।

४)      निर्वाचनमा पराजयका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको दर्शन, विचार र एजेण्डाको औचित्य र महत्व अझ टड्कारो रहेको हुँदा आगामि दिनमा राप्रपा नेपाल कसैसँग आत्मसमर्पण गर्ने वा कसैमा विलयमा हुनेवारे सोच्न पनि सकिँदैन भन्ने बैठकले ठहर गरेको छ । आगामि दिनमा राप्रपा नेपाल नेपाली राजनीतिमा अलग पहिचान र सुस्पष्ट विचार बोकेको दलको रुपमा अघि बढ्ने छ ।

५)      बैठकले कोरा साम्यवाद, समाजवाद वा पुँजिवाद जस्ता बिचारहरु विश्वव्यापीरुपमा नै असफल हुँदै गएको तथा नेपालमा समेत सात दशकको अभ्यास र अनुभवबाट यी मान्यताहरुले सामाजिक र आर्थिक क्षेत्रमा सुधार गर्न नसकेको यथार्थलाई दृष्टिगत गर्दै राष्ट्रियता, लोकतन्त्र, सनातन हिन्दुराष्ट्र र उदार अर्थतन्त्रको मान्यतामा आधारित ’सम्बर्द्धनवाद’लाई राष्ट्रिय राजनीतिको मुल बैचारिक धारमा स्थापित गर्न राप्रपा नेपाल प्रतिवद्ध रहनेछ ।

६)       बैठकले गत आमचुनावमा अपेक्षाकृत परिणाम प्राप्त हुन नसक्नुमा तुलनात्मकरुपमा नयाँ र कमजोर पार्टी संगठन, साधनश्रोतको अभाव, चुनावको पुर्वसन्ध्यामा पार्टी अध्यक्ष ’सूर्य’ चिन्हबाट लड्नुपर्ने वाध्यता, चुनाव चिन्हको अन्यौल र प्रभावकारी चुनावी अभियानको कमि मुख्य कारणहरु रहेको ठहर गरेको छ । आगामि दिनमा विगतका त्रुटि कमिकमजोरीहरु सच्याएर सशक्तढंगबाट अघि बढ्ने र राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी, प्रजातान्त्रिक शक्ति बनाउन मन वचन र कर्मले प्रतिवद्ध रहने बैठकले संकल्प गरेको छ ।

७)      धर्मपरिवर्तनको डढेलोमा नेपालको राष्ट्रिय पहिचान र एकताको आधारको रुपमा रहेको सनातन धर्म संस्कृति र परम्परा कमजोर बन्दै गैरहेको प्रति बैठकले गंभीर चिन्ता व्यक्त गरेको छ । तिव्रगतिमा समाजको ईशाईकरण हुने देशहरुमा नेपाल अहिले विश्वमा पहिलो स्थानमा रहेको छ । अहिले नै नेपालको तेस्रो ठूलो धार्मिक समुदाय किराँत अल्पमतमा परिसकेको छ, केही वर्षमा ईसाईहरुले दोस्रो ठूलो बौद्ध धार्मिक समुदायलाई उछिन्ने छ र त्यसपछि लखेटिने पालो हिन्दुहरुको आउने खतरा बढ्दै गएको छ । यसरी धर्म संस्कृति र परम्परा माथिको संगठित र योजनावद्ध हमला रोक्न सरकार, राजनीतिक दलहरु एवं सम्बद्ध सबैमा बैठकले आह्वान गरेको छ । संविधान र कानुनले निषेध गरेको धर्मपरिवर्तन र गौ हत्या नियन्त्रण गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।

८)      अर्थतन्त्र धराशयी हुन सक्ने खतरा प्रति बैठकले सरकारको ध्यान आकर्षित गरेको छ । विगतका सरकारका अकर्मण्यता, गलत नीति, स्वार्थी प्रवृत्ति, रुस र युक्रेन बिचको युद्ध, कोभिड महामारी र विश्वव्यापि आर्थिक मन्दीको परिणामस्वरुप नेपाली अर्थतन्त्र धरापमा पर्ने खतरा बढेको छ । वजारमा तरलताको अभाव, न्युन कर्जा प्रवाह, मुद्रास्फिति, बढदो व्यापार घाटा, विकराल बेरोजगारी, विदेशी मुद्रा संचितिमा बढेको दवाव र व्यापक भ्रष्टाचार जस्ता समस्याहरु समाधानको निम्ति तत्काल प्रभावकारी र ठोस कदम चाल्न बैठक सरकारसँग माग गर्दछ ।

९)      बैठकले आगामि फागुन र चैत महिनामा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनर्स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारको विरुद्धमा देशव्यापि जनसंघर्ष कार्यक्रम संचालन गर्नेछ ।

१०) बैठकले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्न, संगठित धर्म परिवर्तन रोक्न, सनातन धर्म संस्कृतिमा रहेको विकृति र विसंगतिको अन्त्य गर्न तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनर्स्थापनाको निम्ति जनमत तयार गर्न राप्रपा नेपाल आवद्ध नेपाल सनातन धार्मिक महासंघको ईकाई देशको सम्पूर्ण पालिकाका वडाहरुमा गठन गर्ने बैठकले निर्णय गरेको छ । सनातन धर्ममा आस्था राख्ने सबैलाई उक्त ईकाईमा रहेर काम गर्न बैठकले आह्वान समेत गरेको छ ।

११)  समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्री द्वय इन्द्र चित्रकार, राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको छ ।

१२)  युवा केन्द्रित स्मार्ट पार्टीको अवधारणा र विस्तृत कार्यक्रम तयार गर्न पार्टीका महामन्त्री केशवराज श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु राजाराम बर्तौला चुनेली, सुशान्त प्रसाद भद्रा, आशा बिष्ट र भरत ढकाल  रहेको कार्यदल गठन गरेको छ ।

१३)  बैठकले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको अध्यक्षमा उज्वल पोखरेललाइ नियुक्त गरेको छ ।

कर्णाली र सुदूरपश्चिममा प्रदेशमा भूकम्प, सात घरमा क्षति

मुगु – कर्णाली प्रदेशलगायत पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार दिउँसो हिमपातसँगै २ः४३ बजे भूकम्पको धक्का महसुस गरिएको हो।

सुदूरपश्चिमका विभिन्न जिल्लामा समेत भूकम्पको धक्का महसुस भएको छ।भुकम्पका कारण बाजुराकाे बडिमालिकामा सात घरमा क्षति पुगेको छ  । विस्तृत विवरण आउन बाँकी छ।

‘संघीयता विरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिने छ’ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् सदस्यले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिन नपाइने बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नैतिकताको आधारमा पनि नपाइने बताएका हुन् ।

‘मेरो क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भन्नुभयो भनेर यहाँ सुनाउनेभयो माननीय सदस्यले,’ बैठकमा प्रधानमन्त्रीले भने, ‘मेरो ध्यानाकर्षण भएको छ । मन्त्रिमण्डल बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सबै राजनीतिक दललाई हुन्छ । तर, मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिक रुपले र कानुनी रुपले पनि हुन सक्दैन ।’

संघीयता खारेजीसम्बन्धी अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिने प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता जनाएका छन् ।

राज्यको संयन्त्रलाई कमजोर बनाइएको गृहमन्त्रीको आरोप

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको शुक्रबार बैठकलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारले काम नै गर्न नसक्नेगरी राज्यसंयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका हुन् ।

काम गर्नलाई कानुन पालनाभन्दा पनि आदेश पालना गर्ने अवस्था सृजना गरिएको भन्दै उनले  राज्यको संयन्त्रलाई कमजोर बनाइएको आरोप लगाएका हुन् । यिनै संयन्त्रलाई बलियो र काम गर्न सक्नेगरी बनाउन थालिएको उनले जानकारी दिए ।

नेपाली जनतालाई निराश नबनाउने गरी आफूले काम गर्न उनको प्रतिबद्धता जनाएका छन् । अदालतबाट पक्राउ पुर्जी जारी भएका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न दिएको पटक पटक आदेशलाई प्रहरीले बेवास्ता गरेको भन्दै गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

उक्त विज्ञप्तिले गृहमन्त्रीको आदेश प्रहरीले नमाने स्पष्ट भएको र सुरक्षा संवेदनशीलतालाई ध्यान नदिई विज्ञप्ति जारी भएको भन्दै गृहमन्त्री लामिछानेको आलोचना भएको थियो ।

देशमा राष्ट्रिय सहमतिको आवश्यक – रामचन्द्र पौडेल

काठमाडौं, १० माघ । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको भन्दै आह्वान गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सहमतिका लागि विशेषगरी तीन कारण रहेको बताए ।

विशेषगरी देशको कमसल आर्थिक अवस्थालाई अन्त्य गर्न, भूराजनीतिक दबाबको सामना गर्न र शान्तिप्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले राष्ट्रिय सहमतिको आह्वानलार्ई आफ्नो व्यक्तिगत स्वार्थसँग नहेरिदिन पनि आग्रह गरे ।

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएकोले यसको सामना गर्न राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले देशमा राष्ट्रिय नेतृत्व र आत्मविश्वासको समेत अभाव रहेको आफूले महसुस गरेको बताए ।

सत्ता केन्द्रित राजनीतिले देशमा संकट देखापरेको भन्दै उनले अब राष्ट्रिय सहमतिमात्र नेतृत्वले विश्वास आर्जन गर्दैै समस्या समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गरी देशको विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्ने उनको भनाइ छ ।

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको छ : रामचन्द्र पौडेल

काठमाडौं, १० माघ । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन् ।

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै उनले यसको सामना गर्न सर्वदलीय सहमतिअनुसार अघि बढ्नुपर्ने बताए ।

विमानस्थलबाट भारतीय रुपैयाँसहित इटालियन नागरिक पक्राउ

काठमाडौं, १० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक इटालियन नागरिक भारतीय रुपैयाँसहित पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँसहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार पक्राउ गरेको प्रहरीले मंगलबार जानकारी दिएको छ ।

ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको २ लाख १४ हजार भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

अर्काको नाममा ट्रायल दिने तथा दिन लगाउने व्यक्ति पक्राउ

विराटनगर, १० माघ । मोरङ सुन्दरहरैचा नगरपालिका–५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने र ट्रायल दिन लगाउने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सुनसरी भोग्राहा गाउँपालिका–७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेका प्रहरीले जनाएको छ ।

षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरुलाई प्र.१–०२–०४५ प ९४३ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

१७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद

बारा – २०२५ सालबाट बसोबास गर्दै आएका १७ परिवारको घरबास भएको जमिनमा अर्कैले दाबी गरेपछि विवाद बढेको छ । जितपुरसिमरा उपमहानगरपालिका– १८माथ्लो बडहर्वाका १७ परिवार विवादमा परेका हुन् । माथ्लो बडहर्वाका रामबहादुर कार्कीसहित का १७ परिवार २०२५ सालबाटै ऐलानी जमिन खनजोत गर्दै घरबास गर्दैआएका थिए । हाल आएर सोही पालिका वडा नं. १६ का स्वर्गीय सीताराम बराल र डम्बरकुमारी बरालका छोरा राजकुमार बरालले आफ्नो दाबबी गर्दै आएका हुन् ।

उनले गाविस भोडहाकाे कित्ता नं. १८७, ८०, ७९ र १३५ को क्षेत्रफल क्रमश ०–१–१०, ०–९–०–५, ०–६–० र ०–१–१५ जमिन मेरो भन्दै दाबी गरेका हुन् । जबकी यी जमिनमा रामबहादुर कार्कीसहित पूर्णबहादुर खड्का, गीता भण्डारी, चेतकुमारी राना, विनीता गौतम, अमृता जर्गा लगायत १७ परिवार बसोबास गर्दै आएका छन् ।

बरालले आफ्नो बाबु सीताराम बरालको नामबाट आमा डम्बरकुमारीका नाममा लगिएको दाबी गरे पनि उक्त जमिन नेपाल सरकारको ऐलानी भएको स्थानीयले बताए । ‘आफुहरू बस्दै आएको जमिनको कीर्ते कागजात बनाएर हामीलाई दुःख दिने काम भएको छ । तत्काल बदर हुनुपर्छ । भूमिसुधार तथा मालपोत कार्यालयमा निवेदन दिएका स्थानीय राम बहादुर कार्कीले भने, ‘मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा कीर्ते मोठ खडा भएको देखियो ।’

पीडित पक्षबाट मालपोतमा जमिनको कीर्ते श्रेस्ता बदरका लागि निवेदन दिएकोमा माघ ४ गतेका लागि दुईपक्षलाई बोलाईएको थियो । उक्त दिन दुबै पक्ष सहभागी भए पनि मालपोतले पुन: १३ माघका लागि तारिख दिएको कार्कीले बताए ।

जिल्ला प्रशासन कार्यालय बाराले पीडितका पक्षबाट श्रेस्ता बदरका लागि जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ले गरेको सिफारिस संलग्न राखी मालपोत बारालाई यस विषयमा छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत अनुश आर्चायले गत मंसिर २८ गते लेखेकाे पत्रको जवाफ प्रशासन कार्यालय बाराले अझै पाएको पाएको छैन ।

घरबास भएको जमिन नै अर्काले मेरो भन्दै पूर्जा लिएर आएपछि यहाँका स्थानीय तनावमा देखिएका छन् । उनीहरूले मालपोतमा गई समस्या दर्ज गरेका थिए । मालपोत कार्यालय बारा कलैयाले जग्गाको वास्तविकता बुझ्ने प्रक्रिया अपनाउँदै जग्गा दाबीकर्ता बराललाई १५ दिनभित्र सम्पूर्ण प्रमाण लिई आउनु भनि पत्र पठाएको थियो । जुन पत्रको म्याद माघ ४ मा ग्रुजेको छ ।

पत्रको जवाफमा जमिन दाबीकर्ता बरालले जमिन आफ्नै भएको दावी गर्दै बदरको निवेदनको तुक नभएको उल्टै पीडित भनिएकाहरूले आफ्नो जमिन खनजोत गर्दै आएको बताएका छन् । उनले २०३५ साल २ महिना १२ गतेको निर्णयबाट नेपाल सरकारको नामबाट खारेज भई आमा डम्बर कुमारीको नाममा आएको उल्लेख गरेका छन् ।

यता पीडित पक्षले भने ऐलानी जमिनलाई कीर्ते गरी आफ्नो दाबी गर्ने काम भएको बताएका छन् । यति मात्रै नभई १३५ नं. कित्ता स्थानीय गोपाल सुहालको नम्बरी जमिन १ बिघा १५ कठ्ठा रहेकोलाई कीर्तेगरी १ कठ्ठा १५ धुरको दोहोरो पूर्जा बनाएर दाबी भइरहेको  स्थानीय पूर्णबहादुर खड्काले बताए ।

‘एउटै क्षेत्रमा कसरी एउटै कित्ताका दुई फरक पूर्जा हुन्छ । यो हुनै नसक्ने विषय आयो । मालपोतको लापरबाहीका कारण नेपाल सरकारको जमिन भू-माफियाले आफ्नो बनाउन खोजे,’ उनले भने, ‘तर, कदापि हुन दिइनेछैन । २०३५ सालभन्दा अगाडिबाट हामीले घरबाससहित भोग गर्दै आएका हौं । यतिका दिनसम्म कसैले केही भनेको थिएन । अहिले आएर मेरो भन्नेको कुनै आधार छैन । उनका प्रमाण कीर्ते र नक्कली हुन् । हामीलाई दुःख दिने मात्रै काम भयो ।’

बालविवाह गरिदिनेजस्ता प्रवृत्तिले मधेश प्रदेशका गाउँहरु अझै आक्रान्त

महोत्तरी – दाइजो प्रथाको विकराल समस्या यथावत रहँदा छोरीहरुलाई विद्यालय नपठाउने, बालविवाह गरिदिनेजस्ता प्रवृत्तिले मधेश प्रदेशका गाउँहरु अझै आक्रान्त छन् । तर, पछिल्लो समय महोत्तरीमा कैद गरिएको एक तस्बिरले भने छोरीप्रतिकोे जिम्मेवारीलाई अभिभावकहरुले महसुस गरेको देखिन्छ ।

पत्रकार राजकरण महतोले खिचेको एनसीसी तालिममा सहभागी विद्यालय पढने छोरीहरुको तस्बिर नेपाल आर्मीको नोमिनेसनमा परेपछि मधेशमा छोरीप्रतिको दृष्टिकोणमा नै परिवर्तन विश्लेषण हुन थालेको छ ।

तस्बिरमा अधिकाशं छोरीहरुले सैन्य पोसाक पहिरिएका छन् । विद्यालयमा कक्षा लिइरहेका छात्राहरुको यो तस्बिर झट्ट हेर्दा नेपाल आर्मीको जस्तै लाग्छ । अनुशासित, सौम्य, उत्सुकता, प्रतिबद्धता व्यक्त गरेको जस्तो देखिने तस्बिरले सबैको ध्यान तानेको छ ।

तस्बिर खिच्ने पत्रकार राजकरण महतोले लेखेका छन्, ‘महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुल्लामा खिचेको तस्बिरले छोरीहरुमा राष्ट्रिय भावना मात्रै जगाएको छैन, घरभित्रको अँध्यारो जीवनबाट निस्किएर उज्यालो संसारमा आउन उक्साएको छ ।’

तस्बिरवाट प्राप्त पुरस्कारकोे हकदार मधेशका सबै अभिभावक र छाेरीहरु भएको भन्दै खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘विद्यालय ज्ञानको मन्दिर मात्रै होइन, राष्ट्र भावना विकास गर्ने पुञ्ज पनि हो । त्यसैले हरेक छोरी विद्यालय जानैपर्छ ।’

मधेशमा छोरीहरु  दाइजो र घरेलु हिंसाको चरम शिकार हुनुपरेको छ । पछिल्लो महोत्तरीकै नेहा चौधरीको घटनाले देशकै ध्यान खिचेको थियो ।
शिक्षित छोरीले आफुमाथि भएको दमनलाई प्रतिकार गरेको घटना बाहिरिए पनि लुकेका र लुकाइएका कयाँै घटनाहरुले छोरीहरु अहिले पनि दिनहुँ प्रताडित बनिरहेका छन् ।

आजदेखि शहीद सप्ताह सुरु

काठमाडौं, १० माघ । मंगलबारबाट शहीद सप्ताह सुरु भएकाे छ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष १०-१६ माघसम्म शहीद सप्ताह मनाउने गरिएकाे छ ।

१० माघदेखि विभिन्न कार्यक्रम गरेर शहीद सप्ताहलाई मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै आएको छ ।

शहीद शक्रराज शास्त्रीलाई १० माघ १९९७ का दिन पचलीमा मृत्युदण्ड दिइएको थियो । साेही दिनकाे सम्झनामा हरेक वर्ष १० माघबाट शहीद सप्ताह मनाउन थालिएकाे हाे । साथै  शहीद धर्मभक्त माथेमालाई १३ माघमा फाँसी दिइएको थियो भने १५ माघमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली प्रहार गरेर हत्या गरिएकाे थियो । चारैजनाको सम्झनामा शहीद दिवस मनाउने गरिएको छ।

तत्कालीन शासक पक्षले १९९७ सालमा राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उनीहरूलाई मृत्युदण्ड दिएको थियो ।

सूर्य नेपालएनपिजिएम्याच प्ले मंगलबारदेखि

काठमाडौं, १० माघ – सूर्य नेपाल गल्फ टूर २०२२÷२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।पछिल्लो पूरा सिजन २०२१÷२२ को वरीयताअनुसार शीर्ष १६ गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।शीर्ष १६ मा रहेका चार गल्फर अनुपस्थित रहेकाले यसपटक २०औँ वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्दैछन् ।

मंगलबार पहिलो चरणको खेल तथा बुधबार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । विहीबार अन्तिम दिन फाइनल हुनेछ ।फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ ।प्रतियोगिताको पहिलो चरणमा शीर्ष वरीयताका शुक्रबहादुर राईले २०औं वरीयताका टंकबहादुर कार्कीसँग खेल्नेछन् ।दोस्रो वरीयताका भुवन नगरकोटीले १९ औं वरीयताका सन्जोक मोक्तान खेल्नेछन् ।

पहिलो चरणमा जयराम श्रेष्ठले कृष्णमान राजवाहक, रवि खड्काले प्रदीप कुमार लामा, सञ्जय लामाले रमेश अधिकारी, दीनेश प्रजापतिले सूर्य प्रसाद शर्मा, धनबहादुर थापाले बलभद्र राई तथा रामे मगरले भुवनकुमार रोक्काको सामना गर्नेछन् ।भारतको व्यावसायिक गल्फ प्रतियोगिता पिजिटिआईको छनोट खेल्न भारत प्रस्थान गरेकाले चौथो वरीयताका निरज तामाङ सहभागी छैनन् । त्यस्तै राजेन्द्र थापामगर (१४), पूर्ण शर्मा (१६) र तीर्थ पौडेल (१८) पनि उपस्थित हुने छैनन् ‌।

प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ४२ हजार, तेस्रो स्थानले ३२ हजार तथा चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनल बाहिरिनेले ११ हजार र पहिलो चरणमै निस्कने गल्फरले ६ हजार पाउनेछन् ।

प्रधानमन्त्री दाहालसँग गण्डकीका मुख्यमन्त्री अधिकारीको भेटवार्ता

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेश सरकारको विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । गण्डकी प्रदेश सरकार विस्तारको तयारी भइरहेको बेला प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले भेटवार्ता गर्नुभएको हो ।

त्यसअघि प्रधानमन्त्री दाहालसँग लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल प्रारम्भ गर्नुभएका दाहाललाई प्रदेश प्रमुख शेरचनले बधाई दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर

मुगु, १० माघ -मुगुलगायत कर्णालीका जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै साेमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँकाे जनजीवन प्रभावित भएको छ । लगातारको हिमपातले मुगुको पूर्वी करान भेगका वडा , खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्लालगायत सोरुगाउँपालिकाको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिकाको रारा, ताल्चा विमानस्थल, वाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी, रोवा लगायत क्षेत्रकाे जनजीवन कष्टकर बनेकाे हाे ।

हिमपातको कारण नेपालगञ्ज, सुर्खेतबाट मुगु आउने सवारी साधनहरू रोकिएका छन् । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि निकै समस्यामा परेका छन् ।अघिल्लो हिउँदमा पुस पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिनापछि हिमपात सुरु भएको छ । हिमपातसँगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । चिसोले गर्दा भेडा बाख्रासहित अन्य पशुचौपायालाई समेत समस्या भएको सोरु गाउँपालिकाका पदमबहादुर शाहीले बताए ।

बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यालयको कामकाज प्रभावित भएका छन् ।लगायतको हिमपातले ताल्चा विमानस्थल पनि बन्द भएको छ ।
यो वर्ष एक महिनाअगावै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरू आशावादी छन् । विशेषगरी अहिले खेतबारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ

अमेरिकी डलरसँगै युरोकाे भाउ पनि वृद्धि

काठमाडौं, १० माघ । नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । मंगलबार अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार अमेरिकी डलर २८ पैसाले वृद्धि भएको छ । यसअघि सोमबार यसको खरिदमूल्य १२९ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ २५ पैसा तोकिएको थियो ।

युरोपियन युरो पनि १ रुपैयाँ २२ पैसाले उकालो लागेर यसको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४७ पैसा तोकिएको छ । सोमबार यसको खदिदर १४० रुपैयाँ ६० पैसा र बिक्रीमा १४१ रुपैयाँ २५ पैसामा कारोबार भएको थियो

अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा अष्ट्रेलियन डलरमा ८६ पैसाले वृद्धि भएको हो । सोमबार यसको खरिदमूल्य ९० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६४ पैसा ताकिएको थियो ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६० पैसा र बिक्रीमा ३४ रुपैयाँ ७६ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७० पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ४६ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५९ पैसा र बिक्रीमा १० रुपैयाँ ६४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६० पैसा र बिक्रीमा १६ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ६६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३४६ रुपैयाँ २६ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे विवरणमा उल्लेख छ ।

अमेरिकामा आफ्नो सांगीतिक प्रस्तुति दिँदै गायक लामा

काठमाडौं, १० माघ । गायक विजय लामा सांगीतिक भ्रमणका क्रममा अमेरिकामा छन् । डेढ दशकपछि अमेरिकाका विभिन्न राज्यमा  आफ्नो सांगीतिक प्रस्तुति लिएर गएका गायक लामाले जनवरी २९ मा टेक्सास र फेब्रुअरी ११ मा क्यालिफोर्नियामा आफ्नो प्रस्तुती दिँदै छन् ।

सांगीतिक कार्यक्रमको शिलशिलामा गत हप्ता अमेरिका उडेका गायक लामाले २८५९ औँ सोनाम ल्होछारको अवसरमा तामाङ समाज अमेरिकाद्वारा आयोजित दम्फु साँझमा  अमेरिकाको न्युयोर्क राज्यस्थित कुइन्स शहरमा दम्फु साँझमा दिएको प्रस्तुतिमा ठूलो संख्यामा नेपालीहरुको उपस्थिती थियो ।

सो अवसरमा गायक लामाले तमाङ भाषाको नबोल्ने माया बोलिदेउ, ए कान्छी भोलि फर्की आउँछु आउँदिन, तोङ्बाको तातो पानी, नखानु पानी तोङ्बाको लगायतका गीतहरु गाउँदा दर्शक मज्जैले झुमेका थिए । गायक लामाले केही समयअघि मात्रै नलाउ भन्छु माया बोलको गीत बजारमा ल्याएका थिए ।