`

बारामा एकैदिन पक्राउ परे ३३२ जना फरार प्रतिवादी

बारा, १० माघ । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न आरोपमा दोषी ठहर भई फरार रहेका ३३२ जना फरार प्रतिवादीलाई  एकैदिन पक्राउ गरी अदालतमा पेस गरेको छ ।

जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार सूचीमा रहेका उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत सोमबार मात्रै विभिन्न मुद्दाका ३३२ जना फरार पक्राउ गरिएको प्रहरीले जानएको हो ।

प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला अदालत बारामा आवश्यक कारबाहीको लागि बुझाएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

अदालतबाट कैद तथा जरिवानाको फैसला सजाय भई कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका ठुलो संख्यामा फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये कलैया उपमहानगरपालिका वडा नं.१ बस्ने विजय दासलाई अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय र ७ लाख रुपैँया जरिवानासमेत तोकिएको छ । उनीलाई बैकिङ कसूर मुद्दामा जिल्ला अदालत बाराले आदेश गरेको हो  ।

पचरौता नगरपालिका वडा नं.२ बस्ने एजाजुल हक अन्सारीलाई हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय भएको छ । यो सजाय पाउनेमा जिल्लाको निजगढ नगरपालिका वडा नं. १ बस्ने बासु चौधरी लगयात भएको डिएसपी थापाले जानकारी दिए ।

पक्राउ परेका मध्ये ३६ जनालाई थुनुमा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकीलाई जरिवाना भुक्तान गराई मुक्त गरिएको उनले बताए । प्रतिवादी पक्राउ परी कारबाहीकाे दायरामा आएसँगै फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउने, अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवानाबाट मुक्त हुने छैन भन्ने सन्देश दिएकाे छ ।

आज हरियो तरकारी र फलफूलको मुल्य कति ?

काठमाडौ – आज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार आज मंगलबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ र अमला ६० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, नेपाली सुन्ताला १२५ रुपैयाँ, रातो आलु ३० रुपैया, सेतो आलु २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि २५० रुपैयाँ, अकबरे खुर्सानी ५५० रुपैयाँ कायम रहेको छ ।

यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, कन्य च्याउ  १४० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४१ रुपैयाँ, हरियो प्याज ९० र हरियो धनिया १२० रुपैयाँ रहेको छ ।

फ्रन्टलाइन वर्कर बनिन् ऋचा चड्डा

मुम्बई, ९ माघ । उत्कृष्ट अभिनेत्रीका रुपमा पहिचान बनाएकी अभिनेत्री ऋचा चड्डा जी स्टुडियोको व्यानरमा निर्माण हुन लागेको एक बेनामे फिल्ममा फ्रन्टलाइन वर्करको भूमिकामा अभिनय गर्ने भएकी छन् ।

फिल्ममा कोभिड महामारीको दोस्रो लहरमा फ्रन्टलाइन वर्करले कसरी काम गरे भन्ने विषय देखाइनेछ । जहाँ ऋचा प्रमुख भूमिकामा देखिनेछिन् ।

‘यो त्यो वास्तविक घटनामा आधारित छ, जहाँ हामी सबैले कोभिडको दोस्रो लहरमा देखेका थियौं । जहाँ नोक्सान र निराशा थियो, त्यहाँ आशा पनि थियो । फिल्मले महामारीको दौरान हाम्रो पूरा जीवनमा एक नजर लगाउनेछ । जहाँ हामी मानव हुन डराउँथ्यौं । किनकी हामीले दुरी बढाईरहेका थियौं । यो फिल्मले ती नर्स र डाक्टरको कुरा गर्नेछ, जसले निस्वार्थ भावले आफ्नो काम गरेका थिए । म यस्तै एक नर्सको भूमिकाका लागि सम्मानित महसुस गरिरहेको छु’, उनले भनेकी छन् ।

फिल्मको निर्देशन अभिषेक आचार्यले गरेका छन् । ऋचाले ‘गल्र्स विल बी गर्ल्स’को सुटिङ पनि पुरा गरेकी छन् । यो उनको होम प्रोडक्सनको पहिलो फिल्म हो ।

समानुपातिकमा एकीकृत समाजवादीको सबैभन्दा बढी खर्च

काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर समानुपातिक सिट पाउनबाट वञ्चित नेकपा (एकीकृत समाजवादी)ले सो निर्वाचनमा सबैभन्दा बढी खर्च गरेको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलले गरेको खर्च विवरण बुझाउन माघ ३ गतेसम्मको समयसीमा तोकेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका ४७ वटै दलले खर्च विवरण बुझाएको बताउनुभयो । स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवारलाई आयोगले कारबाहीको दायरामा ल्याएपछि राजनीतिक दलले समयसीमाभित्रै खर्च विवरण बुझाएका हुन् ।

आयोगमा बुझाइएको विवरणअनुसार नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फको निर्वाचन प्रचार प्रसारमा एक करोड ९० लाख ८९ हजार पाँच सय रुपियाँ खर्च गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीमा एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ । त्यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ कम्तीमा एक सिट प्राप्त गर्न बन्दसूची पेस गरेका दलले ३ प्रतिशत मत पाएको हुनुपर्छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

विद्यालयमा विद्यार्थीले लगाएको ताला खोलियो

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिमा विद्यार्थीले लगाएको ताला खोलिएको छ । गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादव सहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र÷छात्राले पुस ५ गते लगाएको ताला सोमबार खोलिएको हो ।

नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्र कुमार राई, शिक्षा शाखा प्रमुख पदम कार्की, वडाध्यक्ष अनिश कार्की, व्यवस्थापन समिति, शिक्षक अभिभाबक संघ, अभिभाबक लगायतको छलफलबाट सहमती जुटाएर विद्यालयको ताला खोलिएको हो । ताखा खोलिएपछि विद्यालयको पठनपाठन नियमित रुपमा सुचारु भएको वडाध्यक्ष कार्कीले बताए ।

हिउँदे बिदा सकिएर बिद्यालय खुल्दासम्म पनि उपस्थित नहुने प्रअ यादव, शिक्षक रञ्जन नेपाल, अम्बिरलाल ठाकुर, जिबछ यादब र बदन हास्दालाई वडा शिक्षा समितिले तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको वडाध्यक्ष कार्कीले बताए । पटक–पटक विद्यालयमा लापरबाही गरेकाले प्रधानाध्यापक यादबलाई भने कारबाहीका लागि सिफारिस गरिएको छ । कसैलाई जानकारी नगराइ र लिखित रुपमा निमित्त प्रधानाध्यापक नदिइ विद्यालयबाट पटक–पटक बेखबर बनेकाले यादवमाथि कारबाहीको लागि सिफारिस गरिएको हो ।

वडा शिक्षक समितिले गरेका कतिपय निर्णय पालना नगरेको प्रअ यादवमाथि आरोप छ । प्रधानाध्यापक र शिक्षकलाई नगरपालिकाबाट पनि स्पष्टीकरण सोधिने शिक्षा शाखा प्रमुख कार्कीले बताए । प्रअ यादवले राष्ट्रिय परिक्षा बोर्डको कार्यालय लाहान पुगेर कक्षा ११ को परिक्षा फर्म र कक्षा १२ को राजस्व बुझाउने काम लिएर घर गएकाले विद्यालय फर्कन ढिलाइ भएको प्रतिक्रिया दिएका छन् ।

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

आज सन् २०२३ को २४ जनवरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका घटनाक्रम

सन् १९६५ को जनवरी २४ मा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्यु  भएको थियो । सन् १८७४ को नोभेम्बर ३० मा जन्मिएका चर्चिलको मृत्यु ९० वर्षको उमेरमा लन्डनमा भएको थियो ।

सन् १९९० मा जापानले पहिलो पटक अन्तरिक्षमा गहिरो अनुसन्धान गरेको थियो ।  सन् १९७६ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको लुना २४ पछि जापानको पहिलो गहिरो रोबोटिक अनुसन्धान थियो ।

सन् १९४६ मा राष्ट्रसंघको महासभाले पहिलो संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघीय आणविक उर्जा आयोग (यूएनएइसी) स्थापनाबारे राष्ट्रसंघको पहिलो संकल्प प्रस्ताव आएको हो ।

सन् २००४ मा नासाको ६ पाङ्ग्रे रोभर मंगल ग्रहमा उत्रिएको थियो । रोभरले मंगलको चट्टान तथा माटोबारेमा अनुसन्धान गरेर त्यसको तस्विर पृथ्वीमा पठाएको थियो ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षण गर्ने

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षण गर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताको टोलीसँग कुरा गर्दै उहाँले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाको स्थलगत निरीक्षणमा निस्कने बताएका हुन् ।

उनले प्रदेशका मन्त्रालयको सङ्ख्या कम गरेर मितव्ययिता र सुशासन कायम राख्ने पनि बताए । उनले भने, “म छिट्टै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षणमा निस्कँदै छु । यसरी मात्र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ । त्यसका लागि आवश्यक तयारी गर्न‘होला ।”

प्रधानमन्त्रीले अनुगमन गर्न लाग्नुभएका आयोजनामध्ये धेरैको प्रगति सन्तोषजनक छैन । पन्ध्रौँ आयोजना अवधिभित्र राष्ट्रिय गौरवका अधिकांश आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइए पनि त्यसअनुसार आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।

पन्ध्रौँ आयोजनाको अवधि सकिन मात्र डेढ वर्ष बाँकी रहँदा अहिलेसम्म मेलम्ची खानेपानी आयोजना ९अस्थायी रूपमा०, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भैरहवा र पोखरा क्षेत्रीयरअन्तर्राष्ट्रिय विमानस्थल निर्माणबाहेक अन्य राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति अपेक्षाभन्दा न्यून देखिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

२५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगले २५ फागुनकै मितिलाई प्राथमिकतामा राखेको छ । आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदको निर्वाचन २५ माघमा गर्ने र त्यसपछि २५ फागुनमा राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी अघि बढाएको हो ।

आयोगले मितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार छलफलसमेत गरेको छ । प्रमुख आयुक्त दिनेश थपलिया प्रधानमन्त्रीसँग राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सिंहदरबार पुगेका थिए । ‘राष्ट्रपति निर्वाचन २५ फागुनमा गर्नेगरी आयोगले तयारी गरेको रहेछ, प्रधानमन्त्रीले सोही मितिमा निर्वाचन गर्ने गरी तयारी अघि बढाउन सुझाउनुभएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ । सोहीअनुसार आयोगले रिक्त स्थानमा उपनिर्वाचन गरेपछि राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी गरेको हो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २७५ सदस्य, राष्ट्रियसभाका ५९ सदस्य र र प्रदेशसभाका ५ सय ५० सदस्य गरी कूल ८८४ जना मतदाता हुन्छन् ।

आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले ढिलामा २५ फागुनभित्रै आयोगले राष्ट्रपति निर्वाचन गर्नेगरी काम गरिरहेको जानकारी दिए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

१४ महिनाअघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न हेलचेक्रयाइँ

काठमाडौं – १४ महिनाअघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न सरकार तथा सम्बद्ध निकायले हेलचेक्रयाइँ गरेको पाइएको छ । गत वर्षको कात्तिक २५ देखि मंसिर ९ सम्म १५ दिन लगाएर १२ औं राष्ट्रिय जनगणना सम्पन्न गरिएको थियो ।

जनगणना सकिएको दुई महिनामै तत्कालीन केन्द्रीय तथ्यांक विभाग (हाल राष्ट्रिय तथ्यांक कार्यालय) ले यसको प्रारम्भिक नतिजा सार्वजनिक गरेको थियो। जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ ।

विभागले प्रारम्भिक नतिजा सार्वजनिक गर्ने बेलामै ८ देखि ९ महिनाभित्र जनगणनाको अन्तिम नतिजा बाहिर ल्याउने घोषणा गरेको थियो । झन्डै १२ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक नहुँदा अन्योल सिर्जना भएको छ । जनगणना सम्पन्न गर्न राज्यले भन्डै ३ अर्ब रकम खर्चेको थियो भने गणकसहित ५० हजार कर्मचारीलाई कार्यक्षेत्रमा खटाएका थियो ।

देश संघीयतामा प्रवेश गरेपछिको पहिलो र नेपालको राष्ट्रिय जनगणनाको १२ औं शृंखलाअन्तर्गत सम्पन्न जनगणनाको अद्यावधिक नतिजाले तीनै तहका सरकारलाई आफ्ना नीति तथा प्राथमिकता तयार गर्न सघाउ पुग्छ । यो समाचार नागरिक दैनिकमा छ ।

किन कारबाहीमा परे पाँच क्याप्टेन ?

काठमाडौं – नेपाल वायुसेवा निगमका पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन नियम अवज्ञा गरेको आरोपमा एकै पटक पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेको पहिलो पटक हो।

गत पुस ३० गते काठमाडौँ–हङकङ उडानमा रहेको निगमको जहाज हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा उचाइ व्यवस्थापन नगरी जोखिमपूर्ण अवतरण गराएपछि त्यहाँको एटीसीको निर्देशन अवज्ञा गरेको हङकङ सिभिल एभिएसनले नेपाललाई जानकारी गराएअनुसार पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा निलम्बनमा परेका हुन् ।

त्यस्तै काठमाडौँबाट जापान उड्नेक्रममा मानक उडान प्रक्रिया पालना नगरेपछि यामप्रसाद (वाईपी) ज्वारचन र प्रसन्नशमशेर जबरा निलम्बनमा परेको प्राधिकरणले जनाएको छ।

जबर्जस्ती जहाज टेकअफ गर्ने क्याप्टेन ज्वारचन र प्रसन्नशमशेर जबरा वाइडबडी जहाज ए ३३०–२०० का क्याप्टेन हुन् भने एटीसीको निर्देशनको अवज्ञा गर्दै जहाज अवतरण गर्ने न्यारोबडी जहाज ए ३२०–२०० का क्याप्टेनहरू रहेका छन्। शनिबारदेखि ती क्याप्टेनलाई ग्राउन्डेड गरेर जाँचबुझ अघि बढाइएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

कांग्रेस राष्ट्रपति चुनावतर्फ केन्द्रित

काठमाडौं – सत्ताबाट बाहिर हुत्तिएको कांग्रेस यतिबेला राष्ट्रपतिको भाग पाउने आशामा लागिपरेको छ। अर्कोतिर कांग्रेसले राष्ट्रपति निर्वाचन जुनसुकै हालतमा समयमै हुनुपर्ने पनि माग गरेको छ। यसै सन्दर्भमा सोमबार बसेको कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन समयमै गरिनुपर्ने निष्कर्ष निकालेको छ।

सत्तासाझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रपतिको विषयमा कसैले आश नगर्न भन्दै संसद्बाटै झस्काइसकेका छन्। ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका तर सरकारमा सहभागी नभएमा दलहरूलाई इंगीत गर्दै भनेका थिए, ‘विश्वासको मत दिएकै आधारमा कुनै पदको बार्गेनिङ खोज्नुभएको हो भने। त्यो आस मात्र हुनेछ।’

कांग्रेसले भने सरकार र निर्वाचन आयोगलाई राष्ट्रपतिको निर्वाचन अघिल्लो समयमै गर्न ध्यानाकर्षण गराउने भएको छ। पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘कुनै पनि कारणले राष्ट्रपति निर्वाचन पछि सार्न हुन्न भन्ने हामीले निर्णय गरेका छौं। कानुन र ऐनमा समस्या छन् भने सरकारले त्यसलाई संशोधन गर्दै लैजानुपर्छ।’

त्यसो त कांग्रेसले सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएको थियो। दुवै पदमा सत्तासाझेदार दलहरूले जितिसकेका छन्। पदाधिकारीको बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि अरू दलको सहयोग लिएर उम्मेदवारी दिने विषयमा कांग्रेस अघि बढेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाबीच भएको वार्ताका क्रममा राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने आन्तरिक सहमति नेताहरूबीच भएको स्रोतको दाबी छ। कांग्रेसका एक पदाधिकारीले भने ‘राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई माओवादी केन्द्रले साथ दिने कुरामा हामी ढुक्क छौं। माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफलमा छौं।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

सशस्त्र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउनमा सरकार गम्भीर – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले सशस्त्र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउनमा सरकार गम्भीर रहेको बतार्एका छन् । सोमबार बाइसौँ सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले मुलुकको राजनीतिक सङ्क्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

प्राकृतिक एवं मानव सिर्जित विपद्मा सशस्त्र प्रहरीले कर्तव्यनिष्ट भएर काम गरेकोमा मुक्तकण्ठले प्रशंसा गरे । उनले अपराधलाई निरुत्साहित गर्दै नेपाल सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय रणनीतिक लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दारी र प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

सशस्त्र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउनमा सरकार गम्भीर रहेको भन्दै उनले भने तपार्इँहरूलाई स्रोत र सधानको अभाव छ, भन्ने कुरा हामी सबैलाई जानकरी छ, हातहतियार, गोलीगट्टा, आवास एवं लजिष्टिकका सामान, विपद् व्यवस्थापनका सामान, सवारी तथा भौतिक पूर्वाधार र आवश्यक उपकरण एवं जनशक्तिका लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने विश्वास व्यक्त गर्दछु ।”

सूचना र प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्रै पारेको नभइ अपराधको चरित्रमा बहुआयामिक फेरबदल ल्याएको उनले बताए ।
।

कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद

कञ्चनपुर – कञ्चनपुरका ६ घरबाट अवैध काठ बरामद गरिएको छ । जिल्लाको लालझाडीमा घरमा लुकाएको अवैध काठ वरामद गरिएको हो । सव डिभिजन वन कार्यालय लालझाडीले लालझाडी गाँउपालिका वडा नम्बर ५ देखतभूलीका ६ घरबाट अवैध काठ बरामद गरेको बताएको छ ।

सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नायारायण यादवले चिरान गरेर राखेको र गोलियासहित दुई सय ११ दशमलव १७ क्युफिट काठ बरामद भएको जानकारी गराए ।

सुविता रानाको घरबाट ६ दशमलव ८७ क्युफिट काठ चिरान, ३८ दशमलव २८ क्युफिट काठ गोलिया, मोति रानाको घरबाट १५ दशमलव १८ क्युफिट काठ चिरान, ३८ दशमलम शून्य १ क्युफिट काठ गोलिया, मोलो रानाको घरबाट ३३ दशमलव ७४ क्युफिट काठ चिरान, काली रानाको घरबाट १९ दशमलव शून्य १ क्युफिट काठ चिरान, विक्रम रानाको घरबाट २७ दशमलव १४ क्युफिट काठ र भङगी रानाको घरबाट ३२ दशमलव ९४ क्युफिट गोलिया बरामद गरिएको हो ।

लगानी डुवाउने सहकारीविरुद्ध विरोध र्‍याली

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले बचत रकम फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । बचत अपचलनका कारण संकटमा फसेको सहकारीका बचतकर्ताले डुबेको लगानी फिर्ताको माग गर्दै आइतबार दिक्तेलबजारमा विरोध र्‍याली निकालेका गरेका हुन् ।

सहकारीका तत्कालिन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता प्रदर्शनमा उत्रिएका हुन् । डुबेको साँवा र व्याज फिर्ता गर्नका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा संघर्ष समिति बनाएर आन्दोलन सुरु गरेका हुन् ।

विरोध र्‍यालीका क्रममा सहकारी पीडित बचतकर्ताले केहीबेर लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय घेराउ गरेका छन् । बचतकर्ताले र्‍यालीपछि जिल्ला प्रशासन कार्यालय र नगरपालिका पुगेर न्याय माग गरेका छन् । १२ प्रतिशतका दरले व्याज दिने भनेर राखेको चार लाख पटक–पटक फिर्ता गर्न माग गर्दा नपाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी कल्पान बस्नेतले बताइन् ।

वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ १० मंसिर २०७२ देखि कारोबार सुरु गरेको सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ । एकैजना लगानीकर्ताले ४५ लाखसम्म बचत गरेका छन् । तर, सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते निधन भएपछि मात्र खुलेको हो ।

जोशीको निधनपछि सहकारीको आर्थिक कारोबार ठप्प छ । सहकारीका ऋणीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । बचतकर्तालाई सावाव्याज सहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाव छ । ऋण असुल गर्दै बचतकर्तालाई बचत फिर्ता दिने पहल भइरहेको सहकारी सञ्चालक समितिका सदस्य तुलसीराम आचार्यले बताए ।

समाजवादको विचारसहित जनताका पिरमर्का बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन अध्यक्ष नेपालको निर्देशन

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःख सुखको साथी बन्नुपर्ने बताएका छन् । सोमबार पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका पिरमर्का तथा समस्या बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिए । उनले नेपालमा रहेका मुस्लिम समुदायका बस्तीबस्तीमा पुगेर समुदायका आवश्यकता पहिचान गरी समाधानका लागि पार्टीमा सुझाव पेस गर्नसमेत सुझाव दिएका छन् ।

कोदो खेती गर्नेलाई राइनास नगरपालिकाको अनुदान

लमजुङ – लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ । व्यावसायिक रुपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको हो ।

सम्भाव्यताको आधारमा कृषिलाई प्राथमिकता दिएको नगरपालिकाले उत्पादित कोदोको परिणाम अनुसार न्यूनतम बजार मूल्यमा २५ प्रतिशत नगद अनुदान दिएको हो ।

नगरपालिकाको मूल्य निर्धारण समितिले बजार मूल्यलाई मध्यनजर गरी तोकेको मूल्यअनुसार नै किसानलाई अनुदान रकम वितरण गरिएको राइनास नगरपालिका प्रमुख खड्गबहादुर गुरुङले बताए ।

नगरपालिकाले प्रतिकेजी कोदोमा ११ रुपैयाँ नगद अनुदान दिएको नगरप्रमुख गुरुङले बताए । नगद अनुदानको साथमा नगरपालिकाले किसानलाई कोदो संकलनका लागि बोरासमेत उपलब्ध गराएको जनाएको छ ।

चालु आर्थिक वर्षबाट कार्यन्वयनमा ल्याएको अनुदान कार्यक्रमअन्तरगत हालसम्म तीन लाख २८ हजार अनुदान वितरण गरिसकेको कृषि प्राविधिक सन्तोस जोशीले बताए । यस वर्ष राइनास नगरपालिकामा मात्रै करिब ७० हजार केजी कोदो उत्पादन भएको नगपालिकाको प्रारम्भिक तथ्यांक छ ।

किसानलाई कोदो खेतीतर्फ अर्कषित गर्न ल्याएको कोदो संरक्षण गर्न नीति तथा अनुदानको कार्यक्रमले रैथाने बाली कोदोको संरक्षण तथा उत्पादनमा वृद्धिसँगै कोदो खेतीतर्फ किसानको आर्कषण बढ्ने अपेक्षा लिइएको छ ।

कोदोमा अनुदानको लागि नगरपालिकाले चालु आर्थिक वर्ष १० लाख बजेट विनियोजन गरेको छ । राइनासमा विशेष गरी वडा नं. ९ स्थित कुवापानी र राम्चे तथा वडा नं. १० अन्तरगतको क्षेत्रमा धेरै कोदो उत्पादन हुने गरेको छ । कोदो उत्पादन हुने स्थानमा अन्य खेती गर्दा कोदोको उत्पादन कम हुने तथा जग्गा बाझै हुन थालेपछि किसानलाई कोदो खेतीतर्फ प्रोत्साहन गर्न अनुदानको कार्यक्रम ल्याएको राइनास नगरपालिकाले जनाएको छ ।

म सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर हुँदैन – उपप्रधानमन्त्री लिङ्देन

काठमाडौं – उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुने बताएका छन् । सोमबार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री लिङ्देनले यस्तो बताएका हुन् । उनले आफू सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बताए ।

“सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन झन बलियो हुन्छ”, उनले भन्, “हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु ।” उनले नेपालमा हिन्दू राष्ट्र हुनुपर्छ भनेर विनास्वार्थ उभिएको बताए । उनले आफूले भ्रष्टाचार नगर्ने र मुलुकमा सुशासन कायम गर्ने कुरामा आफू प्रतिबद्ध भएको बताए ।

सुख्खा पहिरोले उदिपुर सडक असुरक्षित

लमजुङ – डुम्रे–बेंसीसहर सडकको उदिपुर देउराली डाँडामा सुख्खा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि सवारी आवागमन असुरक्षित बनेको छ ।बर्खायाममा पहिरो खसेर बन्द भएपछि गत कार्तिकमा खुलाइएको सडकमा फेरि माथिबाट पहिरो खस्न थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीका अनुसार बिहान खसेको पहिरो दिनभरी प्रायः चलिरहेको बताए ।

बेंसीसहर नगरपालिका १, उदिपुरको देउराली डाँडाको सडक गतवर्ष भदौ ११ गते पहिरोले बगाएको थियो । तीन दिन अवरुद्ध भएको सडक खुलाएकोमा पुनः गत असार ४ गते सडक पहिरोले बगाएपछि चिप्लेटीस्थित मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको माथिल्लो गेटबाट ड्यामसाइट हुँदै नेपाली सेनाको चण्डीप्रसाद गणको बीच भएर रिट्ठेबगरको सडकमा निस्केर उदिपुर उक्लिने बाटो संचालनमा ल्याइएको थियो ।

चुनावको बेला नेपाली सेनाको चण्डिप्रसाद गणबाट सवारी आवागमन बन्द भएपछि बेंसीसहर नगरपालिकाको इन्धन सहयोग, मध्यमस्र्याङ्दी जलविद्युतको फलामे पोल तथा डुम्रे–बेंसीसहर–चामे सडक योजनाको प्राविधिक तथा मेसिनरी सामाग्री सहयोगबाट उक्त सडक खुलाइएको थियो ।

त्यसपछि पुनः १ साता बन्द गरेर सडक फराकिलो बनाएकोमा अहिले त्यहस् सडकमा पहिरो खस्ने समस्या देखिएको स्थानीयले बताएका छन् ।

डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तले सडकको माथिल्लो क्षेत्रबाट पहिरो खसेकोले केही अवरुद्ध भएको सडक खुलेको बताए । स्थानीयले भने सडक खुल्ने र बन्द हुने गरेको बताएका छन् । उनीहरूले सडकको माथिबाट सुख्खा पहिरो खस्दा असुरक्षा बढेको बताएका छन् ।

कर्णाली प्रदेशमा एमाले माओवादीबीच सहमति, ऊर्जा मन्त्रालय भौतिकमा गाभियो

सुर्खेत – कर्णाली प्रदेशको कान्छो मन्त्रालयको रूपमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने सहमति भएको छ ।

नेकपा एमाले र माओवादीबीच भएको छलफलबाट यो टुंगो लागेको हो । मुख्यमन्त्री राजकुमार शर्माले गाभ्ने प्रक्रियाका विषयमा प्रक्रियागत कुरा भएकाले त्यो काम अगाडी बढाउने सहमति भएको बताए ।

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका प्रबन्धक चुँडाल अख्तियारको नियन्त्रणमा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई नियन्त्रणमा लिएको छ । घुस रकम लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका एक अधिकृतकाअनुसार विज्ञप्ती जारी गरेर चुँडाललाई सार्वजनिक गर्ने तयारी थालिएको छ ।

उपसभामुख रानाले गरिन् पदबहाली

काठमाडौँ – नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले आज पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गरेकी हुन् ।

उनलाई संसद् सचिवलयका महासचिव डा भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत अभिवादन गरेका थिए।उनी माघ ७ गते उपसभामुखमा चयन भउकी थिइन् ।

एडभान्स बुकिङमा बाहुबली-२ अगाडि

मुम्बई, ९ माघ । अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ । यो फिल्म रिलिज अघि नै भारतमा करिब ३ लाख टिकट एडभान्स बुकिङ भइसकेको छ । शाहरुखले अभिनय गरेका फिल्ममध्ये यो फिल्मको सर्वाधिक एडभान्स टिकट बुकिङ भएको हो । तर यसअघिका फिल्मको बुकिङ तथ्यांकलाई हेर्ने हो भने ‘बाहुबली’ पहिलो नम्बरमा छ ।

बाहुबली- २

प्रभास अभिनित फिल्म ‘बाहुबली २’ एडभान्स बुकिङमा पहिलो नम्बरमा छ । यो फिल्मको एडभान्स बुकिङमा ६ दशमलब ५० लाख टिकट बिक्री भएको थियो ।

केजीएफ-२

साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफ-२’ सूचीमा दोस्रो नम्बरमा छ । यो फिल्मको रिलिजअघि करिब ५ दशमलब ११ लाख टिकट बिक्री भएको थियो ।

वार

ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ले रिलिजअघि नै एडभान्स बुकिङमा आफूलाई अब्बल साबित गरेको थियो । फिल्मको रिलिजअघि करिब ४ दशमलब ५ लाख टिकट बिक्री भएको थियो ।

प्रेम रतन धन पायो

सलमान खान र सोनम कपूरको फिल्म ‘प्रेम रतन धन पायो’ को एडभान्स बुकिङमा ३ दशमलब ४० लाख टिकट बिक्री भएको थियो ।

ठग्स अफ हिन्दोस्तान

बक्सअफिसमा फ्लप भएको आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले एडभान्स बुकिङमा तहल्का मच्चाएको थियो । यो फिल्म रिलिजअघि नै करिब ३ दशमलब ३० लाख टिकट बिक्री भएको थियो ।

भारत

सलमान खानको फिल्म ‘भारत’को एडभान्स बुकिङमार्फत ३ दशमलब १६ लाख टिकट बिक्री भएको थियो ।

सुल्तान

सलमान खानकै अर्को फिल्म ‘सुल्तान’को रिलिज हुनुअघि ३ दशलमब १० लाख टिकट बिक्री भएको थियो ।

ब्रह्मास्त्र र दंगल

अभिनेता रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’ र आमिर खानको फिल्म ‘दंगल’को रिलिजअघि ३ दशमलब ५ लाख टिकट बिक्री भएको थियो ।

सञ्जू

अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’को रिलिजअघि नै २ दशमलब ९४ लाख टिकट बिक्री भएको थियो ।

झापाबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा – जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध ब्राउनसुगर तीन जनालाई पक्राउ गरेको छ ।

चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति-३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एक जना रहेका छन् । तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एक जना अटोमा सवार थिए ।

सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं – सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावरले माघ ९ गते सोमबारदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो। सो मध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि बाडफाडर गरेको छ। कम्पनीले १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागी र ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिसकेको छ भने यसैगरी बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लगानीकर्ताहरुले आवेदन दिनसक्नेछ ।

यस कम्पनीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउनेछन् भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्कासन गरेको कम्पनीमा आईपीओ निष्कासन गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी आइआर डबल बी रेटिङ प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत पनि गर्दछ ।

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।सो आईपीओमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा माघ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

उक्त आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृित प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सी–आस्बा प्रणालीबाट आवेदन दिन सकिन्छ।

कांग्रेसलाई प्रचण्डकै भर

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

‘कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ । त्यसका लागि अन्य दलसँग छलफल सुरु गर्छौ,’ उनले भने ।

नेपाली कांग्रेसले पार्टीकै उम्मेदवार उठाउने निर्णय गरे पनि त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्णायक मानेको छ । कांग्रेसले विश्वासको मत दिएका बेला राष्ट्रपतिमा सघाउने विषयमा सहमति भए नभएको नखुले पनि संविधान जोगाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेसले उनीसँग धेरै अपेक्षा गरेको महतको भनाइ छ । तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा केही बोलेका छैनन् । उनले प्रतिपक्षी दलसँगको सहमतिमा मात्र राष्ट्रपतिको उम्मेदवार तय हुने बताएका छन् ।

कांग्रेसले २९ फागुनअघि नै राष्ट्रपतिको निर्वाचन गर्न दबाब दिने निर्णय पनि गरेको छ । वर्तमान सत्तागठबन्धनले फागुनपछि राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेपछि कांग्रेसले दबाब दिने रणनीति बनाएको हो ।

सेयर बजार १३.७१ अंकले घट्यो

काठमाडौं – सेयर बजार सोमबार घटेको छ । नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकीएको छ । साथैै, सोमबार २५७ कम्पनीको कारोबार भएको छ । आज १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच भएको छ । यसैगरी ३ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार पनि भएको छ ।

यस्तै,आज कुमारी बैंककोे सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको २७ करोडभन्दा बढीको सेयर बिक्री भएको छ र एनआइसिएसिया बैंकको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, आदर्श लघुवित्त बित्तीय संस्था, सानिमा जिआईसी बिमा, कुमारी बैंक,  स्ट्यान्डर्ड चार्टर्ड बैंक, समृद्धि फाइनान्स कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यस्तै, कुल ४१ कम्पनीमा उकलो लागेको छ भने १६६ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी भने स्थीर रहेको छ । आज १३ उप सुचकहरु मध्ये बैंकीङ र म्युचुअल फण्ड बाहेक सबै कम्पनीमा ओरालो लागेको छ ।

कालिका लघुवित्तको लाभांश घोषणा

काठमाडौं, ९ माघ । कालिका लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै, उक्त बोनस सेयरको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र कालिकाको आगामी वार्षिक साधारणबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

रोल्पा चलचित्र छायांकनका लागि ‘भर्जिन ल्याण्ड’

रोल्पा, ९ माघ । चलचित्र छायांकनका लागि रोल्पाले थुप्रै सम्भावना बोकेको चलचित्रकर्मीहरुले बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा सांस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र छायांकनका लागि रोजाइमा पार्न सकिने उनीहरुले बताएका हुन् ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको डाँडागाउँमा आयोजना गरेको ‘बृहत चलचित्र बहस’ मा चलचित्र निर्देशक ऋषिराज आचार्यले रोल्पा चलचित्र छायाँकनका लागि उपयुक्त ठाउँ भएको बताए ।

उनले भौगोलिक हिसावले टाढा हुँदा आर्थिक लगानी बढी लगाउनुपर्ने हुँदा रोल्पा चलचित्र छायांकनस्थल बन्न नसकेको जानकारी गराए ।‘जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पामा छायांकनस्थल निकै सुन्दर छन्,’ उनले भने, ‘फिल्म सुटिङका लागि दूरीका हिसावले टाढा भएकाले पनि अहिलेसम्म चलचित्रकर्मीको नजरमा नपरेको होला ।’

सरकारले चलचित्र छायांकनका लागि केही लगानी गर्न सकेपछि निर्माता निर्देशक पनि रोल्पाका लागि लगानी गर्न तयारी रहेको उनले बताए ।
चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय पूर्वअध्यक्ष शान्ति प्रियले चलचित्रका निर्माता निर्देशकले फिल्मको कथावस्तु अनुसार छायांकनस्थल छनौट गर्न नसकेको बताए ।

‘फिल्मको कथावस्तु अनुसारका छायांकनस्थल पर्न सकेको छैन्,’ उनले भने, ‘रोल्पाजस्तो सुन्दर ठाउँ अब फिल्मकर्मीको नजरमा पर्नुपर्छ, यसका लागि फिल्मकर्मी र सरकार दुवैको ध्यान पुग्न आवश्यक छ ।’

नायक रमित ढुंगानाले रोल्पा चलचित्र छायांकनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताए । एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका ढुंगानाले  अहिलेसम्म चलचित्रको कथावस्तु अनुसार छायांकनस्थल पर्न नसकेको अनुभूति भएको बताए ।

परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगरले रोल्पा चलचित्रको पर्दामा समेटीन नसक्नुमा समन्वयको अभाव खट्किएको बताए । उनले अब चलचित्र छायांकनस्थलको रुपमा रोल्पालाई गराउन सकेपछि स्थानीय नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने बताए ।

चलचित्रकर्मीको नजरमा रोल्पा पर्न सकेपछि पालिकालाई पनि आर्थिकरुपमा सवल बनाउन सकिने बताए । उनले चलचित्रको छायांकनका लागि रोल्पामा आउन चाहने निर्माता निर्देशकलाई जिल्लाका सबै पालिकाको समन्वयमा आवश्यक बजेटको व्यवस्थापन पालिकाले गर्ने पनि बताए ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा फिल्मर्कीले रोल्पा चलचित्र छायांकनका लागि भर्जिन ल्याण्ड रहेको बताएका छन् । १० वर्षे माओवादी युद्धको क्रममा तत्कालीन मुख्य कमाण्डर तथा गणतन्त्र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विशेष सुरक्षासहित सेल्टर लिएको ठाउँ ‘युद्ध पर्यटन केन्द्र डाँडागाउँ’ अहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न आवश्यक रहेको समेत उनीहरुले बताए ।

नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती

काठमाडौं, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको निरीक्षण गरेका छन् । निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशिघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए ।

साथै एक महिनाभित्र  इटिकेटिङ प्रणाली लागू गर्न, त्रिभुवन विमानस्थलमा हुने चोरी रोक्न र ग्राउण्ड हेन्डेलिङ गुणस्तर वृद्धि गर्न मन्त्री किरातीले निर्देशन दिए । साथै समयमै जहाज उडाउने कार्य गर्न पनि उनले निर्देशन दिएका छन् ।

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?

इस्लामाबाद, ९ माघ-पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको छ । ‘प्रारम्भिक जानकारी अनुसार सोमबार बिहान स्थानीय समयअनुसार साढे ७ बजे राष्ट्रिय ग्रिडले फ्रिक्वेन्सी गुमाएको अनुभव गर्यो, जसले गर्दा ठूलो समस्या भयो । प्रणालीलाई पुनर्जीवित गर्न द्रुत कार्य भइरहेको छ’, मन्त्रालयले एक विज्ञप्तिमा भन्यो ।

कराँची, इस्लामावाद, लाहोर र पेशावरलगायत सबै प्रमुख सहरमा विद्युत् बन्द भएको थियो ।सोमबार बिहान प्रणालीहरू सक्रिय हुँदा जामशोरो र दादु शहरहरू बीचको देशको दक्षिणी भागमा फ्रिक्वेन्सी भिन्नता रिपोर्ट गरिएको ऊर्जा मन्त्री खुरुम दस्तगिरले जियो टिभी च्यानललाई भने ।

दस्तगीरले भने, ‘भोल्टेजमा उतारचढाव थियो र एक एक गरेर प्रणालीहरू बन्द हुँदै गयो । यो ठूलो संकट होइन’, दस्तगीरले भने ।
देशका केही ग्रिडहरू पहिले नै पुनस्र्थापित भइसकेका छन्, मन्त्री दस्तगिरले थपे ।

चिलीमा डाइनोसरका चार प्रजाति फेला

एजेन्सी – वैज्ञानिकहरूले चिलीको पाटागोनियाको एक दुर्गम उपत्यकामा चार प्रजातिका डाइनोसरका अवशेषहरू फेला पारेको जनाएका छन् ।  युनिभर्सिटी अफ चिलि र युनिभर्सिटी अफ टेक्साससँगको सहकार्यमा चिलियन अन्टार्टिक इन्स्टिच्युट (इनाच)ले एक खोजका क्रममा ती अवशेषहरू फेला पारेका हुन् ।  सन् २०२१ मा फेला परेका र प्रयोगशालामा पठाइएका जीवाश्महरू यस क्षेत्रमा पहिले पहिचान नभएका प्रजाति भएको बताइएको छ ।

यी जीवाश्महरू अर्जेन्टिनाको सीमास्थित  दक्षिणी चिलीको लास चिनस उपत्यकाको सेरो गुइडोमा फेला परेका थिए । फेला परेका जीवाश्मलाई अध्ययनका लागि प्रयोगशालामा लगिएको थियो ।

अनुसन्धानकर्ताहरूले दुई चरा प्रजातिका अवशेषहरू पनि फेला पारेका थिए । तीमध्ये  एक इनानटिओरनाइथ र अर्को अर्को ओरनिथुरिनेइ हो ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर 

काठमाडौं, ९ माघ ।  नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सोमबार अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ २५ पैसा तोकिएको छ ।

रोपियन युरो खरिददर १४० रुपैयाँ ६० पैसा र बिक्रीमा १४१ रुपैयाँ २५ पैसा तोकिएको छ ।  अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६४ पैसामा कारोबार भइरहेको छ ।

साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६४ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५२ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३६ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५३ पैसा र बिक्रीमा १० रुपैयाँ ५७ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ५४ पैसा र बिक्रीमा १६ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिद दर ४२४ रुपैयाँ २४ पैसा र बिक्रीमा ४२६ रुपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिदमा ३४३ रुपैयाँ ५० पैसा र बिक्रीमा ३४५ रुपैयाँ ९ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रदेश मन्त्रालय घटाउँदै छौँ, खर्चभार कटौती गर्छौँ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले सो बताएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि। तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ। तर, यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ।’

प्रधानमन्त्रीले थपे, ‘मैले सत्ता साझेदार दलको बैठकमा प्रदेशलाई चुस्त बनाउने र वित्तीय सुशासन कायम गर्ने प्रस्ताव गरेको छु। त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीजी लगायत सबै नेताहरू सहमत हुनुभएको छ। हामीले प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरेका छौँ। सोहीअनुसार केही प्रदेशहरूले मन्त्रालयको संख्या घटाइ पनि सकेका छन्। यसले वित्तीय अनुशासन र सुशासन कायम गर्नेछ, प्रदेशप्रति जनमानसमा देखिएका गुनासोहरू सम्वोधन हुनेछन्।’

प्रधानमन्त्री प्रचण्डले प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले भने, ‘हामीकहाँ अथाह साधनस्रोत र सम्भावना छ। तर, प्रदेशहरू केन्द्रप्रति निर्भर हुनेजस्तो अवस्था अन्त्य गर्नुपर्छ। त्यसका लागि प्रदेशहरू नीतिगत प्रबन्ध, सुशासन, चुस्त व्यवस्थापन र स्थानीय साधनस्रोतको अधिकतम उपयोग र परिचालन गर्न प्रतिस्पर्धा गर्नुपर्छ। प्रदेशहरूमा राम्रो गरेपछि केन्द्रीय तहमा नेतृत्व गर्ने संस्कृतिका लागि हामी गम्भीर हुनुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले आफू छिटै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने बताए । उनले भने, ‘म छिटै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा निस्किँदैछु। यसरी मात्र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ। त्यसका लागि आवश्यक तयारी गर्नुहोला।’

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, ९ माघ । राप्रपा नेपालको केन्द्रिय समितिको बैठक सोमबारबाट सुरु हुँदै छ ।काठमाडौंमा सोमबार र मंगलबार दुई दिन चल्न बस्न लागेको बैठकमा निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा , भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र , सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ , संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता बसन्तमानसिंह अधिकारिले बताए ।

पूर्वप्रधानमन्त्री ओलीबाट गायिका पूर्णिमा लामा सम्मानित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गायिका पूर्णिमा लामा एपिक संगीत रत्न सम्मान सम्मानित भएकी हुन् । गत शनिबार सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ विशेष समाहरोहमा पूर्वप्रधानमन्त्री ओलीबाट गायिका लामालाई एपिक संगीत रत्न सम्मानपत्र प्रदान गरेर सम्मानित गरिएको हो । उनलाई एपिक संगीत रत्न सम्मानपत्रसहित ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नयरपालिका वडा नं ४ को सहकार्यमा आयोजन गरिएको उक्त चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ समारोहमा सयौँ गीतमा स्वर भरेकी गायिका लामासहित विभिन्न कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।

एपिक संगीत रत्न सम्मानबबाट सम्मानित गायिका लामाले ‘मुटु जली खरानी भो, फूल भनौँ जिन्दगीलाई, आगो, तिमीलाई जती माया’लगायत दर्जनौँ लोकप्रिय गीतहरु नेपाली गीतसंगीत क्षेत्रमा योगदान दिएकी छन् ।

पछिल्लो समय व्यस्त रहेकी उनी देश विदेशमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुनलाई भ्याइनभ्याइ छ । उनी हङकङ, कोरिया, दुबई, मलेसियामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएकी छन् ।

उनले पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड (२०७३ सर्वोत्कृष्ठ नवगायिका), पहिलो नेपाल म्युजिक अवार्ड (२०७५ सर्वोत्कृष्ठ नवगायिका), ११औँ बिन्दबासिनी म्युजिक अवार्ड २०७७ (सर्वोत्कृष्ठ गायिका सुगम संगीत), नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८ (सर्वोत्कृष्ठ गायिका सुगम संगीत) लगायत दर्जनौँ अवार्डहरु हात पारिसकेकी छन् ।

प्रधानमन्त्री दाहाल र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेट

काठमाडौं, ९ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले भने, ‘‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि। तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ। तर, यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ।’

आफूले सत्ता साझेदार दलको बैठक प्रदेशलाई चुस्त बनाउने र वित्तीय सुशासन कायम गर्ने प्रस्ताव गरेको उनले सुनाए । ‘त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीजी लगायत सबै नेताहरू सहमत हुनुभएको छ। हामीले प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरेका छौँ। सोहीअनुसार केही प्रदेशहरूले मन्त्रालयको संख्या घटाइ पनि सकेका छन्। यसले वित्तीय अनुशासन र सुशासन कायम गर्नेछ, प्रदेशप्रति जनमानसमा देखिएका गुनासोहरू सम्वोधन हुनेछन्,’ प्रचण्डले भने ।

प्रधानमन्त्रीले प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । ‘हामीकहाँ अथाह साधनस्रोत र सम्भावना छ। तर, प्रदेशहरू केन्द्रप्रति निर्भर हुनेजस्तो अवस्था अन्त्य गर्नुपर्छ। त्यसका लागि प्रदेशहरू नीतिगत प्रबन्ध, सुशासन, चुस्त व्यवस्थापन र स्थानीय साधनस्रोतको अधिकतम उपयोग र परिचालन गर्न प्रतिस्पर्धा गर्नुपर्छ। प्रदेशहरूमा राम्रो गरेपछि केन्द्रीय तहमा नेतृत्व गर्ने संस्कृतिका लागि हामी गम्भीर हुनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीले आफू छिटै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने बताए। ‘म छिटै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा निस्किँदैछु। यसरी मात्र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ। त्यसका लागि आवश्यक तयारी गर्नुहोला,’ उनले भने ।

एफबीआइले बाइडेनको निजी निवासमा किन गर्‍यो खानतलास ?

न्युयोर्क÷संघीय अनुसन्धान व्युरो (एफबिआई)ले डेलावार राज्यको विल्मिंगटनस्थित अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा खानतलास गरेको छ । खानतलासका क्रममा एफबिआईले ‘गोप्य’ लेखिएका केही दस्तावेज र अन्य केही कागजात आफ्नो स्वामित्वमा लिएको बाइडेनका वकिलले बताएका छन् ।केही दिनअघि राष्ट्रपतिका वकिलहरूले मध्यावधि निर्वाचनको केही समयअघि वासिंगटनको पेन बिडेन केन्द्रको पूर्वकार्यालयमा केही गोप्य दस्तावेज फेला पारेको बताएपछि अनुसन्धान गर्न एफबिआई टोली राष्ट्रपतिको निजी निवासमा पुगेको हो ।

बाइडेनले एफबिआईको टोलीलाई स्वैच्छिक रूपमा खानतलासको अनुमति दिएका थिए । विशिष्ट प्रकृतिको खानतलासीमा कुनै समस्या नभए पनि यसले राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेको छ ।

बाइडेन उपराष्ट्रपति रहेका बेलाका ६ वटा गोप्य दस्तावेज विल्मिङटन निवासको पुस्तकालयबाट टोलीले फेला पारेको छ । राष्ट्रपतिले पुस्तकालयलगायत स्थानमा केही नभएको अनुसन्धान टोलीलाई बताएका थिए ।यसैबीच, घन्टौँ लामो खानतलासीका क्रममा गोप्य लेखिएका ६ वटा दस्तावेज एफबिआइले आफ्नो नियन्त्रणमा लिएको राष्ट्रपतिका निजी कानुन व्यवसायी बब बउरले जानकारी दिए ।

शुक्रबारबाट प्रेमकथाको जीवनसाथी

काठमाडौं – प्रेमकथामा आधारित फिल्म ‘जीवनसाथी’ आगामी शुक्रबार अर्थात माघ १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामा निर्देशित फिल्ममा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिशन बस्नेत, सानिया खानलगायतको अभिनय छ ।

प्रिन्सराज श्रेष्ठ, भरतकुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको फिल्म फायर इन्टरप्राइजेज र सिन्का फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।

भरतकुमार मल्लको प्रस्तुति रहेको फिल्मको मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुनेछ । फिल्मको वितरक आरआर फिल्मस् हो ।

युवा क्रिकेटर थापा मगर यु १९ विश्वकप छनौटमा

अर्घाखाँची – आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर पनि खेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार उत्तम थापा मगर सहित १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । टोलीमा चार जना वैकल्पिक खेलाडी राखिएको छ ।

एसिया डिभिजन एक छनोटमा नेपालले युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलंकामा हुने यु–१९ विश्वकप खेल्न पाउनेछ ।

टिममा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं। ६ खिल्जीका उत्तम थापा मगर सहित देव खनाल, गुलशन झा, दुर्गेश गुप्ता, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी, दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा र दीपक डुम्रे छन्। वैकल्पिक खेलाडीहरूमाा प्रज्वल थापा, तुलबहादुर थापा, राजेश यादव र निर्मल थापा छन्।

सडकमा तीन फिट हिउँ जमेपछियारी–हिल्सा सडक अवरुद्ध

सुर्खेत – लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्रको  हुम्लाको सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा सडक बन्द भएको छ। सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि उक्त खण्डको सडक बन्द भएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले दुई दिन लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको सडक यातायात बन्द भएको बताए ।

गत असोज कात्तिकमा परेको हिउँ सडकमा जम्दा त्यसयता सो क्षेत्रमा सडक बन्द हुँदै आएको थियो। उक्त सडकमा जमेको हिउँ गत पुस १७ र १८ गते नाम्खा गाउँपालिकाले डोजर लगाएर पन्छाएपछि साढे तीन महिनापछि सडक नियमित भएको थियो। उहाँले दुई हप्ताभन्दा बढी समय सञ्चालन भएको यारी–हिल्सा क्षेत्रको सडक यातायात सेवा पुनः बन्द भएको बताए ।

चार हजार छ सय मिटर अग्लो स्थानमा रहेको नारा लेक क्षेत्रको सडक हिउँले सेताम्मे भएपछि यातायात सेवा सञ्चालन हुन नसक्ने भएको हो। चीनले एकतर्फी नाका खुलाएपछि हिल्सामा व्यापारी प्रयोजनका लागि खाद्यान्न, लत्ताकपडा र विकास निर्माणको सामान हिल्सामा आयात भएको थियो। हिमपातले सडक बन्द भएपछि उक्त सामान हिल्सामै रोकिएको छ। सडक बन्द भएपछि सामानका साथै व्यापारी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, यारी नाका भन्सारका कर्मचारी र हिल्साका स्थानीयलाई आउजाउमा समस्या भएको छ। अब सो क्षेत्रको हिमपात डोजरले नपन्छाएसम्म यातायात सेवा सञ्चालन हुने छैन।

सिमकोटमा पहिलो हिमपात

उत्तरी नाम्खा गाउँपालिकामा तेस्रो पटक हिमपात भए पनि सदरमुकाम सिमकोटलगायतका क्षेत्रमा भने पहिलो पटक हिमपात शुक्रबार , शनिबार  पर्दा समस्य भएको छ । सुरुमा परेको हिउँ बिलाउने गरेको भए पनि यतिबेला भने एक फिटभन्दा बढी हिउँ जमिनमा जमेको छ। हिमपातले चिसो अत्यधिक बढेको छ भने दुई दिनदेखि हवाई सेवा बन्द छ। यस वर्षको पहिलो हिमपात भएका कारण स्थानीयमा भने खुसी ल्याएको छ।