एफबीआइले बाइडेनको निजी निवासमा किन गर्यो खानतलास ?

न्युयोर्क÷संघीय अनुसन्धान व्युरो (एफबिआई)ले डेलावार राज्यको विल्मिंगटनस्थित अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा खानतलास गरेको छ । खानतलासका क्रममा एफबिआईले ‘गोप्य’ लेखिएका केही दस्तावेज र अन्य केही कागजात आफ्नो स्वामित्वमा लिएको बाइडेनका वकिलले बताएका छन् ।केही दिनअघि राष्ट्रपतिका वकिलहरूले मध्यावधि निर्वाचनको केही समयअघि वासिंगटनको पेन बिडेन केन्द्रको पूर्वकार्यालयमा केही गोप्य दस्तावेज फेला पारेको बताएपछि अनुसन्धान गर्न एफबिआई टोली राष्ट्रपतिको निजी निवासमा पुगेको हो ।
बाइडेनले एफबिआईको टोलीलाई स्वैच्छिक रूपमा खानतलासको अनुमति दिएका थिए । विशिष्ट प्रकृतिको खानतलासीमा कुनै समस्या नभए पनि यसले राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेको छ ।
बाइडेन उपराष्ट्रपति रहेका बेलाका ६ वटा गोप्य दस्तावेज विल्मिङटन निवासको पुस्तकालयबाट टोलीले फेला पारेको छ । राष्ट्रपतिले पुस्तकालयलगायत स्थानमा केही नभएको अनुसन्धान टोलीलाई बताएका थिए ।यसैबीच, घन्टौँ लामो खानतलासीका क्रममा गोप्य लेखिएका ६ वटा दस्तावेज एफबिआइले आफ्नो नियन्त्रणमा लिएको राष्ट्रपतिका निजी कानुन व्यवसायी बब बउरले जानकारी दिए ।