`

देशका यी स्थानमा आजदेखि पानी पर्ने

काठमाडौं – सोमबार रातिदेखि देशका विभिन्न सथानको मौसममा बदली हुने भएको छ । मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडाँै लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै हिमाली भेगमा भोलिपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको जनाइएको छ । यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।

सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शून्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आज हरियो तरकारी र फलफूलको मुल्य कति ?

काठमाडौ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार आज सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७४, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ५० रुपैयाँ छ ।

त्यस्तै, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि २५० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ कायम रहेको छ ।
यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल गोलभेडा १३ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ छ भने  कन्य च्याउ  १३० रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४२ रुपैयाँ, हरियो प्याज ८० र हरियो धनिया १२० रुपैयाँ रहेको छ ।

क्यालिफोर्नियामा गोली चल्दा आक्रमणकारीसहित १० जनाको मृत्यु

क्यालिफोर्निया÷क्यालिफोर्नियाको मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । संदिग्ध आक्रमणकारी पनि मारिएका छन् ।  लस एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष भएको जनाएको छ ।

चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलाका अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला भएका थिए । आक्रमणपछि शहरमा प्रहरीको बाक्लो उपस्थिति थियो । आक्रमणको कारण खुलेको छैन् । सो हमला  चन्द्रमा नयाँ वर्षको उत्सवसँग सम्बन्धित छैन ।

‘मोन्टेरी पार्कमा भएको हमला चन्द्र नयाँ वर्षको उत्सवसँग कुनै सम्बन्ध छैन जस्तो देखिन्छ’, एलए टाइम्सका जेयलन पार्कले बिबीसीसँग भने ,‘ म शनिबार दिउँसो उत्सवमा थिएँ, जहाँ दशौं हजार मनाउन भेला भएका थिए । पर्वसँग सम्बन्धित देखिँदैन ।’

अमेरिकामा सन् २०२२ मा गोली लागेर ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्यासम्बन्धी घटना थिए ।

थाहा पाउनुहोस विश्व इतिहासमा आज

१५५६ मा चीनमा विनाशाकारी भूकम्प गएको थियो । सान्सी प्रान्तको वेई नदी उपत्यकामा केन्द्रविन्दु भएको सो भूकम्पका कारण  ८ लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो ।सन् १९६४ मा अमेरिकी संविधानको चौबीसौं संशोधन भएको थियो ।

सन् १९५० मा इजरायलले जेरुसेलमलाई राजधानी घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय विरोधका बाबजुद विभाजित सहरलाई राजधानी बनाउने प्रस्तावलाई केन्सेटले पारित गरेको थियो ।

५ महिनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात

काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो ५ महिनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ ।अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठुलो मात्रामा हुन्छ । तैपनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा गर्नुपर्ने बाध्यता छ ।

भारतलगायत मुलुकबाट आयात भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को ५ महिना (साउन देखि मङ्सिर) मा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ६९ करोड ८० लाख रुपैयाँ बराबरको ७३ हजार २ सय मेट्रिक टन प्याज आयात गरेको छ ।

आव २०७७–७८ मा अर्ब ९५ करोड ८८ लाख रुपैयाँ बराबरको १ लाख २८ हजार ४ सय ५४ मेट्रिक टन आयात भएको देखिन्छ ।यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रमुख प्रतिपक्षी दल बन्नका लागि संसद् सचिवालसँग कांग्रेसको हारगुहार

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल बन्नका लागि संसद् सचिवालसँग हारगुहार गर्न थालेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएसँगै संसद्को प्रमुख प्रतिपक्षी दल को हुने भन्ने अन्योलका बीच कांग्रेसले आफूलाई विपक्षी दलको दाबी गर्दै हारगुहार गरेको हो ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनी प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवा सुविधा माग गरेको कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडाले बताए ।

उनले भने, ‘संसद्को सबैभन्दा ठूलो दलबाहेकका दलहरूले सरकार बनाइसकेपछि ठूलो दलका हैसियतले कांग्रेस प्रतिपक्षी दल हो, हामी प्रतिपक्षी बेन्चमै बसेका छौं।’

सरकारलाई विश्वासको मत दिए पनि उसको गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने भन्दै खतिवडाले सरकारमा सामेल नहुने संसद्को सबैभन्दा ठूलो दल प्रमुख प्रतिपक्ष हुने दाबी गरे । तर, प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीले विपक्षी दलको मान्यताका लागि सभामुखलाई नै निवेदन दिइसकेको छ ।यो खबर आजेका नेपाल समाचारपत्र दैनिकमा छ ।

न्याय दिने सर्वोच्च आफै अन्यायमा, ११ महिनादेखि कामु प्रधानन्यायाधीशका भरमा

काठमाडौं । सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत ११ महिनादेखि कामु प्रधानन्यायाधीशको भरमा छ ।अरूलाई न्याय दिने सर्वोच्च आफै अन्यायमा परेको देखिएको छ ।

४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जनादेशको आधारमा देशले नयाँ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै सरकारले समेत पूर्णता पाइसकेको छ । तर, न्यायालयमा भने झन्डै एक वर्षसम्म कामु प्रधानन्यायाधीशको भरमा सञ्चालन हुन बाध्य भइरहेको छ ।

संसदीय सुनुवाइ समिति तत्काल बन्ने सम्भावना नभएका कारण अझै आउँदो वैशाखसम्म सर्वोच्चले पूर्ण प्रधानन्यायाधीश नपाउने सङ्केत देखिएको छ ।तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगपछि कामु प्रधानन्यायाधीश दीपक कार्की भएका थिए ।

गत असोजमा कार्की अनिवार्य अवकाशमा गएपछि हाल सर्वोच्चको नेतृत्व हरिकृष्ण कार्कीले कामुका रूपमा सम्हालिरहेका छन् ।यो खबर आजको राजधानी दैनिकमा छ ।

कोइरीलाई पक्राउ गर्न सर्कुलर गरिए पनि राजनीतिक संरक्षणले प्रहरीलाई नै सकस

काठमाडौं । हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई लिखितपत्र पठाएपछि प्रहरीले आफ्ना संयन्त्रलाई सर्कुलर गरेको छ ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कोइरीलाई पक्राउ गर्न लिखितरूपमा पत्राचार गरेपछि प्रहरीप्रधान कार्यालयलेसमेत ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गरेको हो ।प्रहरीले कोइरीलाई पक्राउ गर्न यसअघि एक महिने अवधिमा अनौपचारिकरूपमा ७७ वटै जिल्लाका प्रहरी संयन्त्रलाई दुईपटक सर्कुलर गरिसकेको थियो । तर, राजनीतिक संरक्षणका कारण उनी यहीबीच प्रतिनिधिसभामा नै छिर्न सफल भए ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले गृहको लिखित पत्रपछि देशभरका प्रहरी संयन्त्रलाई कोइरीलाई पक्राउ गर्न सर्कुलर गरिएको जानकारी दिए ।

‘गृह मन्त्रालयबाट लिखितपत्र आएपछि प्रहरीले कोइरीलाई पक्राउ गर्न देशभरका संयन्त्रलाई सर्कुलर गरिसकेको छ, पहिले पनि सर्कुलर गरेका हौं, अहिले पनि सर्कुलर भएको छ, जहाँ भए पनि नियन्त्रणमा लिन्छौं,’ प्रहरी प्रवक्ता राईले भने ।

कोइरी ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद हुन् ।उनले गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएपछि गृह नेतृत्व र प्रहरी संयन्त्रमाथि पक्राउ गर्न दबाब बढ्दै आएको छ ।यो खबर आजको राजधानी दैनिकमा छ ।

राष्ट्रपतिको निजी निवासमा खानतलास, गोप्य दस्तावेज बरामद

वासिङ्टन एपी – सङ्घीय अनुसन्धान व्युरो (एफबिआई)ले राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजविनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उहाँका हस्तलिखित टिपोट एफबिआई आफ्नो स्वामित्वमा लिएको राष्ट्रपतिका वकिलले बताएका छन् राष्ट्रपति बाइडेनले स्वैच्छिकरूपमा एफबिआईको टोलीलाई खानतलासको अनुमति दिनुभएको थियो । यद्यपि उक्त टोलीले खानतलासीको पूर्जी प्रस्तुत नगरे पनि विशिष्ट प्रकृतिको खानतलासीमा कुनै समस्या नभए पनि यसले राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेको छ ।

गत पुस १२ गते राष्ट्रपतिका वकिलहरूले मध्यावधि निर्वाचनको केही समयअघि वासिङ्टनको पेन बिडेन केन्द्रको पूर्वकार्यालयमा केही गोप्य दस्तावेज फेला पारेको खुलासा गरेपछि अनुसन्धान गर्न एफबिआई टोली राष्ट्रपतिको निजी निवासमा पुगेको हो । बाइडेन उपराष्ट्रपति रहेका बेलाका छ वटा गोप्य दस्तावेज विल्मिङटन निवासको पुस्तकालयबाट टोलीले फेला पारेको छ । राष्ट्रपतिले पुस्तकालयलगायत स्थानमा केही नभएको अनुसन्धान टोलीलाई बताउनुभएको थियो । आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पको अशान्तिपूर्ण बहिर्गमनपछि अमेरिकी जनतामाझ आफ्नो सत्चरित्रयुक्त छवि रहेको चित्रण गर्ने प्रयासमा राष्ट्रपति बाइडेनलाई ठेस लागेको छ ।

तेह्रघण्टा लामो खोजविनका क्रममा गोप्य लेखिएका छ वटा दस्तावेज अनुसन्धान टोलीले आफ्नो नियन्त्रणमा लिएको राष्ट्रपतिका निजी कानुन व्यवसायी बब बउरले बताउनुभएको छ । बाइडेन सिनेटर र उपराष्ट्रपति रहेका बेलाका दस्तावेज टोलीले नियन्त्रणमा लिएको जानकारी पनि उहाँले दिनुभयो । टोलीले लिएका दस्तावेज कति गोप्य हुन् भन्ने स्पष्ट भएको छैन । अनुसन्धान टोलीले लिएका दस्तावेज कानुन मन्त्रालयले समीक्षा गर्नेछ ।

कैलालीका तीन पालिकामा दादुरा देखियो

धनगढी – कैलालीका तीन वटा पालिकामा दादुरा देखिएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन जना बालकमा दादुरा देखिएको हो ।जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ ।

‘तीन जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘अन्य केही बालबालिकामा पनि दादुरा भएको आशंका गरिएको छ, उनिहरुको नमूना परिक्षण भइरहको छ ।’धामीका अनुसार धनगढी उप महानगरपालिका–१, गोदावरी नगरपालिका–३ भैसीहारका पाँच वर्ष १० महिनाका एक बालक र गौरीगङ्गा नगरपालिका–६ का १८ महिने बालकमा शुक्रबार दादुरा पुष्टि भएको हो ।

उनका अनुसार दुवै बालकले दादुराविरुद्धको पुर्ण खोप लगाएका  थिए । गौरीगंगाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको हो । यस्तै, गरेर धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका दुई बालकमा पनि दादुराको लक्षण देखिएपछि उपचार भइरहेको  छ । उनीहरूको नमुना सङ्कलन गरेर ल्याबमा पठाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताए ।

उनका अनुसार धनगढीका साढे तीन वर्षका एक बालकले आधा खोप लगाएका र अका एक पाँच वर्षीय खोप नलगाएका बालकमा पनि दादुराको लक्षण देखिएको छ ।  खोप नलगाएका बालकमा भारत गएर फर्किएपछि दादुरा देखिएको हो । उनीहरूका अभिभावकहरू बच्चा सहित रोजगारीका लागि भारत आउने जाने गर्नाले खोप छुटेको हुनसक्ने स्वास्थ्य कार्यालयले अनुमान गरेको छ । बालबालिकाले जन्मेदेखि १५ महिना भित्रमा १३ वटा खोप लगाउनुपर्छ । केही गरेर ती खोप छुटेमा पाँच वर्षभित्र लगाउनु पर्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामलिे बताए ।

जनकपुरका युवकको हत्या आरोपमा दुई जना पक्राउ

महोत्तरी – जनकपुरका युवकलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका-२ ईटहर्वाका २४ वर्षीय किसनकुमार पण्डित र मुकेश पासवान रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-८ का रोहित साह र वडा नम्बर १३ का विष्णु साहको हत्यामा उनीहरू संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रदीप नेपाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं – नवनिर्वाचित सभामुख देवराज घिमिरेले र पुराना नेता प्रदीप नेपालबीच भेटवार्ता भएको छ । बिहीबार सभामुखमा चयन भएका घिमिरे आइतबार नेता नेपाललाई भेट्न उनको गोठाटारस्थित निवास पुगेका थिए ।

भेटमा एमाले सांसद सूर्य थापा पनि सहभागी थिए । नेपाल पार्टीका अग्रज नेता र सभामुखका नातेदार पनि भएकाले उनीहरूबीच भेटवार्ता भएको थापाले बताए । घिमिरे नाताले नेपालका भाञ्जा पर्छन् ।

पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका डाक्टर परिवारको सामूहिक दाहसंस्कार

काठमाडौं – पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ । आइतबार पोखरा सेती नदीस्थित तुल्सी घाटमा डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको हो ।

दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि उनीहरुको दाहसंस्कार गरिएको छ । दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा सुशील श्रेष्ठ, उहाँकी श्रीमती डा सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो ।

काठमाडाँैबाट पोखरा आउने क्रममा यति एयरको विमान पोखराको सेती खोँचमा दुर्घटना भएको थियो । सो दुर्घटनाग्रस्त विमानमा ७२ जना सवार रहेका थिए ।

अर्घाखाँची महोत्सवविरुद्ध अदालत पुगे गैरै

अर्घाखाँची – शनिबार बिहान सामाजिक सन्जालमा एउटा भिडियो सार्वजनिक भयो । जुन भिडियोमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिवसमेत रहेका व्यवसायी विनोद गैरैले आफूले उच्च अदालतमा अर्घाखाँची महोत्सव रोक्नको लागि गुहारेको बताए ।

आफ्नै फेसवुकबाट भिडियो सार्वजनिक गरेका गैरेले विद्यालय नजिकै मेला लगाउन खोजिएको र मेलाका कारण विद्यार्थीको अधिकार खोसिएको भन्दै अदालतको सहारा लिनुपरेको दाबी गरिरहेका छन् । अर्घाखाँचीमा बाल अधिकारकर्मी छन् की छैनन् भन्दै अदालत गुहारेका गैरेले अदालतले न्याय दिने विस्वास व्यक्त गरेका छन् ।

यता मेलाको आधिकारीक स्वीकृती दिने सन्धिखर्क नगरपालिकाले भने विद्यालयसँग समन्वय भइसकेको जनाएको छ । आज नै सन्धिखर्कमा सम्पन्न सर्वपक्षीय बैठकमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले सवै पक्षको अध्ययन गरेर स्वीकृती दिएको भए पनि केही व्यक्तिले बार्गेनिङ्ग नमिलेपछि अदालत गुहारेको बताए ।

यता नेपाल पत्रकार महासंघ अर्घाखाँचीले भने आफूहरू संस्थागत रुपमै मेलाको पक्षमा रहेको जनाएको छ । अर्घाखाँचीमा क्रियाशिल राजनीतिक दल, जिल्लामा रहेका संघ संस्था तथा आम जिल्लावासी नै मेलाको पक्षमा हुँदाहुदै केही व्यक्ति गलत मानसिकताका साथ विरोधमा लागेको अर्घाखाँची चेम्वर अफ कमर्सका अध्यक्ष हरिप्रसाद भुसालले बताए ।

अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची महोत्सव संचालन हुँदैछ । अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा सन्धिखर्क नगरपालिकाको संरक्षकत्वमा हुने महोत्सवमा नेपाल पत्रकार महासंघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, लोक तथा दोहोरीगित प्रष्ठिान, अर्घाखाँची युवा परिषद लगायतका स्थानीय संस्था सह आयोजक रहेका छन् ।

यही माघ ११ गतेदेखी २४ गतेसम्म सदरमुकाम सन्धिखर्कको कुडुले फाँटमा संचालन हुने मेलाको प्रभानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेगरी तयारी भएको स्रोतले बताएको छ ।

गृह जिल्ला पुगेर ऊर्जामन्त्री लिङ्देनले भने – विकासको युग सुरु भयो,काम गरेरै देखाउँछु

झापा – उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले आफूले काम गरेरै देखाउँने बताएका छन् । आइतबार २८५९औँ सोनाम ल्होछारको अवसरमा झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा गरेका हुन् ।

झापामा विकासको युग सुरु भएको भन्दै उनले काम गरेरै देखाइने बताए । “अब यस क्षेत्रमा विकास निर्माणको युग सुरु हुन्छ”, उनले भने “चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु ।”

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

धनगढी – कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय श्याम शर्मालाई पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट २०७१ बैशाखमा २ वर्ष कैद र ५ सय जरिवाना सजाय पाएका शर्मा फरार रहेका थिए । शर्मालाई घरबाटै पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

चितवनमा थप एक गैडा मृत फेला

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको हो ।

गैंडाको बच्चा प्राकृतिक कारणले मरेको उनले बताए । बच्चा गैंडा के कारणले मरेको हो भनेर पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने तिवारीको भनाइ छ ।

कर्णालीमा जलस्रोत र खानेपानीको मन्त्रालयलाई यस कारण लगानी बढाउन पर्ने

सुर्खेत – जलस्रोतको हिसावले अन्य प्रदेश भन्दा कर्णाली प्रदेश धनि मान्निछ । तर, कर्णालीकै सबै जनसंख्याले विद्युत सेवा उपभोग गर्न नपाउदा सबैलाई खल्लो हुँदै आएको छ । यहाँ ठूला, ठूला प्रोजेक्टहररू निर्माणको चरणमा पनि रहेका छन् ।

केही संम्भाव्यता अध्ययनदेखि निर्माण चरणमा पुगेको कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताए । १० जिल्ला रहेको कर्णालीमा सबै ठाउँमा विद्युत उत्पादन गर्नका लागि प्रशस्त मात्रामा पानीका स्रोतहरु रहेका छन् ।

हिमाली जिल्ला डोल्पामा जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट निर्माणको चरणमा जाँदै छ ।
सोही ठाउँमा ८२.३ मेगावाटको अर्को जगदुल्ला ए को पनि सम्भाव्यता अध्ययन जारी रहेको छ । त्यस्तै जाजरकोटको नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट डिपिआर अन्तिम चरणमा पुगेको आयोजना प्रमुख कार्यकारी अधिकृत सुनिल पौडेलले बताए ।

त्यस्तै जाजरकोटमा रहेको ताक्सुगाड जलविद्युत आयोजना समेत डिपिआर करिव करिव सकिने अवस्थामा पुगेको छ ।  डोल्पा, हुम्ला र मुगुमा अहिले पनि राष्ट्रिय प्रशारण लाइन जोडिन सकेको छैन ।

अन्य जिल्लामा समेत कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयको सक्रियातमा नै अधिकांश योजनाहरु निर्माण गर्न पहल जारी रहेको छ । कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट रहेको बिभिन्न तथ्यांकहरु बेला बेलामा सार्वजानिक हुने गरेका छन् ।

अहिले सम्मा १० मेगावाट मात्र उत्पादन भएको पाइन्छ ।  कर्णाली प्रदेशमा कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भए पनि हाल उत्पादन १०.७० मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आव २०७७ /७८ मा आधारित ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’ अध्ययनअनुसार हाल १०.७० मेगावाट विद्युत् उत्पादन भएको देखाएको छ ।

कर्णाली, तिला र भेरी नदीमा गरिएको सम्भाव्यता अध्ययनअनुसार यस प्रदेशको कुल जलविद्युत् उत्पादन क्षमता करिब १८ हजार मेगावाट रहे तापनि नेपाल विद्युत् प्राधिकरणको वार्षिक प्रतिवेदन २०७७÷७८ अनुसार कर्णाली प्रदेशमा हालसम्म जम्मा १०.७० मेगावाट विद्युत उत्पादन भएको छ। जसमध्ये सबैभन्दा धेरै ८.५५ मेगावाट विद्युत उत्पादन दैलेख जिल्लाबाट भएको छ भने सबैभन्दा कम डोल्पा र जुम्ला जिल्लाबाट समान ०.२० मेगावाट विद्युत उत्पादन भएको छ। दैलेख जिल्लामा रहेका पदम खोला र द्वारी खोला साना जलविद्युत आयोजनाबाट क्रमशः ४.८ मेगावाट र ३.७५ मेगावाट विद्युत उत्पादन भइरहेको छ। त्यसैगरी, हुम्लाबाट ०.५० मेगावाट, मुगु र कालिकोटबाट समान ०.४० मेगावाट र रुकुम पश्चिमबाट ०.३५ मेगावाट विद्युत उत्पादन भएको देखिन्छ। हुम्लाको सिमिकोट र मुगुको गमगढीबाट समान ५० किलोवाट बराबरको सौर्य ऊर्जा उत्पादन भइरहेको छ। सुर्खेतमा रहेको ३४५ किलोवाट क्षमताको झुप्रा विद्युतगृह भने हाल सञ्चालनमा नै छैन ।

कर्णाली प्रदेश क्षेत्रफलको हिसाबले अन्य प्रदेशभन्दा ठूलो भएकाले यहाँका हरेक घर तथा बस्तीमा बिजुलीको सुविधा पु–याउनु आफैँमा चुनौतीपूर्ण छ। प्राधिकरणको अर्धवार्षिक समीक्षा २०७७–७८ मा तीन हजार ९९० किमि रहेको विद्युत प्रसारण लाइन २०७७÷७८ को असार मसान्तसम्म पाँच हजार ६३६.४४ किमि पुगेको थियो ।  कर्णाली प्रदेशमा हालसम्म कुनै पनि ठूला जलविद्युत आयोजना सञ्चालनमा छैनन्। दैलेखमा हाल २.१५ मेगावाट क्षमताको माथिल्लो पराजुली खोला, ४.२ मेगावाट क्षमताको लोहोरे खोला र चार मेगावाट क्षमताको माथिल्लो लोहोरे खोला आयोजना निर्माणाधीन अवस्थामा रहेका राष्ट्र बैंकले प्रकाशन गरेका तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, कालिकोटमा १२ मेगावाट क्षमताको रुरुबन्चु खोला–२ जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ। यीबाहेक कर्णाली प्रदेशमा ८२.३ मेगावाट क्षमताको जगदुल्ला ’ए’, १९२ मेगावाट क्षमताको मुगु–कर्णाली, १३५ मेगावाट क्षमताको चेरा–१, ४८० मेगावाट क्षमताको फुकोट–कर्णालीलगायतका अन्य जलविद्युत परियोजना अध्ययनको क्रममा रहेका छन् ।  भारी मात्रामा सम्भाव्यता अध्ययनको काम जारी रहेको समयमा कर्णाली प्रदेशमा जलस्रोत तथा उर्जा विकास मन्त्रालयले आफ््नो खाका समेत निर्माण गर्ने चरणमा पुगेको छ । सबै भन्दा कान्छो मन्त्रालयको रुपमा रहेको यो मन्त्रालयले उर्जा , खानेपानी , सिँचाइ र सरसफाइका क्षेत्रमा समेत भारी काम गर्ने योजनामा साथ ठोस योजना बनाउन लागेको छ ।

अहिले निर्माण भइरहेको प्रदेश सरकारले मन्त्रालय गाभ्ने योजना ल्याएसँगै निर्माण भइरहेका खाकाहरु समेत अलपत्र पर्ने हुन कि भन्दै चिन्ता समेत व्यक्त गर्न थालिएको छ । कर्णाली प्रदेशको राजनीति तथा भुगोल देखि बिभिन्न कारणले पनि जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई थप बलियो बनाएर लैजानुपर्ने माग पटक पटक उठ्दै आएको छ । संघीय सरकारले मात्र यहाँ कर्णालीमा ध्यान नदिने भएको प्रदेशमा समेत आवश्यकता पुर्तीका साथ मजबुत बनाएर लिनुपर्ने सवाल समेत उढेको छ । जगदुल्ला, रारा मेसिन , लगाएतका आधा दर्जन अयोजना समेत जलस्रोत मन्त्रालयले शेर लगानी तथा निगरानी गर्दै आएको छ ।

खानेपानीको हिसावले २.५ प्रतिशत मात्र शुद्ध खानेपानी पिउन पाएको कर्णाली प्रदेशले जलस्रोत तथा उर्जा विकास मन्त्रालय मार्फत लगानी बढाइ थप व्यवस्थित बनाएर एक घर , एक धाराको कार्यक्रम समेत सफल हुने देखिन्छ । सबैलाई आधारभुत सेवा पुर्याउने पञ्च बर्षीया योजना समेत सफल बनाउन यो मन्त्रालयबाट सहयोग पुग्ने देखिन्छ ।
अहिले पनि ४० प्रतिशत पुराना योजनाहरु पुरा गर्ने उदेश्य सहित काम गरिरहेको यो मन्त्रालयले नयाँ ६० प्रतिशत योजनाहरुको बस्तुगत रुपमा काम गरिरहेको छ । ५ सय भन्दा बढी योजनाको सम्भाव्यता

अध्ययनको काम चलिरहेको छ । केही दिन अघि मात्र माओवादी र एमालेको बीचमा सात मन्त्रालय बनाउने भनि गरिएको सहमतिले अहिले बन्दै गरेका कामहरुमा बाधा पुग्ने आकलन गरिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा मात्र जलस्रोत तथा उर्जा विकास मन्त्रालय छुट्याएको थियो । फेरी यो मन्त्रालय जोडेर लिएमा अहिले बनाएका योजना, खाकाहरु अलपत्र पर्ने सम्भावना बढेको पुर्व जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले बताए ।

१० दिनको सुटिङलाई कार्तिकले लिए २० करोड पारिश्रमिक

मुम्बई । अभिनेता कार्तिक आर्यन बलिउडमा सर्वाधिक कमाउने अभिनेतामध्ये एक हुन् । उनले पहिलो फिल्म ‘प्यारका पन्चनामा’का लागि १ दशमलब २५ लाख रुपैंयाँ पारिश्रमिक लिएका थिए ।

उनले कोभिड–१९ को बेला निर्माण गरिएको एक फिल्मका लागि २० करोड पारिश्रमिक लिए । हालै एक अन्तर्वार्तामा आफू बलिउडको शाहजादा भएकाले त्यो पारिश्रमिकको आफू हकदार भएको दाबी गरे ।

कार्तिकले सन् २०२१ मा रिलिज फिल्म ‘धमाका’मा १० दिनको सुटिङ गरेवापत निर्माता राम माधवानीबाट २० करोड पारिश्रमिक लिएका थिए । यद्यपि त्यो समयमा उनले यो कुराको पुष्टि गरेका थिएनन् । हालै उनले त्यो पारिश्रमिक लिएको स्वीकार्दै निर्माताले आफूलाई त्यतिधेरै पारिश्रमिक किन दिए भन्ने कुरा पनि खुलाएका छन् ।

‘मैले यो फिल्मको सुटिङ कोरोनाको समयमा गरेको थिएँ । त्यो फिल्ममा केवल १० दिनको मात्र सुट थियो । त्यो मेरो मेहनतको पैसा थियो । म आफ्नो निर्मातालाई १० दिन त के २० दिनमा पैसा दोब्बर गरिदिन्छु’, उनले भनेका छन् ।

कार्तिकका अनुसार सन् २०२२ मा रिलिज फिल्म ‘भूल भूलैया २’को सफलतापछि उनी आफूलाई हिरो नम्बर वान सम्झन्छन् । ‘मैले आफूलाई जहिल्यै एक नम्बरकै रुपमा हेरें । मानिसहरुले विस्तारै विस्तारै यो कुरालाई महशुस गर्न थाले र मलाई त्यही नजरमा हेर्न थाले । यो मानिसहरुको प्रेम हो । म फ्यानको प्रेमबाट उत्साहित छु र जहिल्यै हिट फिल्म दिन चाहन्छु । बलिउडमा म केवल एक राजकुमार हुँ’, कार्तिकको भनाई छ ।

कार्तिकको आउन लागेको फिल्म ‘आशिकी ३’ हो । जसको निर्देशक अनुराग बसुले गरेका छन् । यसबाहेक उनी कृति सेननका साथ फिल्म ‘शहजादा’मा पनि देखिँदैछन् ।

ब्रासिलियामा हुलदंगाः लुलाले हटाए सेनाप्रमुख

एजेन्सी – ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यस महिनाको सुरुमा पूर्व नेता जैर बोल्सोनारोका समर्थकहरूले गरेको दंगाका कारण देशका सेना प्रमुख जुलियो सेजर डे अरुडालाई बर्खास्त गरेका छन ।

अर्रुडाले बोल्सोनारोको जनादेश समाप्त हुनुभन्दा दुई दिन अघि डिसेम्बर ३० मा मात्र पदभार ग्रहण गरेका थिए र जनवरीको सुरुमा लुलाको प्रशासनले सेना प्रमुखमा नियुक्त भएको पुष्टि गरेको थियो। उनको स्थानमा दक्षिणपूर्वी सेनाका कमाण्डर टोमस रिबेरो पाइभा हुनेछन्, ग्लोबोन्युजले रिपोर्ट गरेको छ ।

अरुडाले शुक्रबार लुलाको सैन्य शीर्ष अधिकारीसँगको पहिलो बैठकमा भाग लिएका थिए। ती छलफलको समापनमा  उनले कुनै मन्तव्य दिएनन् ।लुलाले केही दिनअघि राजधानीमा दंगापछि आफ्नो सुरक्षा विवरणबाट दर्जनौं सैनिकहरूलाई हटाएपछि पछिल्लो कदम चालेका हुन् ।

नेकपा माओवादीको ११ गते स्थायी र १५ गते केन्द्रिय समिति बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रिय समिति बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलार्ईएको हो ।

सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ ।  दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रिय समितिवाट अनुमोदन गरिनेछ ।

जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन् ।

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली छ : प्रधानमन्त्री

काठमाडौं, ८ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् ।  २८५९ औँ साेनाम ल्होसारको अवसरमा काठमाडौंको टुंडिखेलमा आयोजित  समारोहलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने, ‘आजबाट सुरू भएको तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योई/तावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’

उनले नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल भएकाे बताए । ‘यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दाबढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँ बसोबास गर्ने सबै जाति÷जातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’

प्रधानमन्त्रीले थपे, ‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो। यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो। मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो। यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ। कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होछार पनि भन्दछन्।’

प्रधानमन्त्री प्रचण्डले ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष रहेकाे र यो परम्परामा विभिन्न बाह्र वटा पशुपंछीको नामबाट १२ ल्होको नाम राखिएको बताए । उनले भने, ‘बाह्र बर्षको चक्र बनाइन्छ । बाह्र ल्हो मध्ये प्रत्येक बर्ष एक–एकवटा ल्हो फेरिन्छ। ल्हा (बर्ष) सँग खाम (पाँच तत्व) हरू — आगो, पानी, माटो, फलाम, काठ, सँग जोडिएका हुन्छन्। यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन्। तामाङहरुले मान्ने ल्होछार (नयाँ वर्ष) तामाङ मत्तजुश्री पात्रोको पहिलो महिनाको पहिलो दिन हो। हिजो ताक् ल्हो (बाघ बर्ष) लाई विदा गरियो। आजबाट ह्योई (खरायो बर्ष) ल्हो शुरु भयो। यसैले यो तामाङ सभ्यताले मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन पनि हो। यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ । तामाङ जीवन र संस्कृतिको यही ल्हो परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ भन्ने मैले बुझेको छु।’

नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, भियतनाम, लाओस, थाइल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल-चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइने जानकारी दिएका उनले कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघ/संस्थाहरुले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका बताए ।

तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ। यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्ने  प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ ।  उनले भने, ‘ल्होछार पर्व केबल तामाङको मात्र पर्व होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो। नेपालमा यस्ता ऐतिहासिक एबम् बैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन्। तर विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरु लोप भएर जादैँछन्। मानव सभ्यता मर्दैछ। अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ। यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’

सुजन पौडेल प्रदेशस्तरीय युवा प्रतिभामा छनोट

भैरहवा, ८ माघ । रुपन्देही जिल्लास्तरीय युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम अन्तरगत भएको कार्यक्रममा सियारी-७ अमुवाका सुजन पौडेल प्रदेशस्तरीय कार्यक्रमका लागि छनौट भएका छन् ।  सियारी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा प्रथम हुँदै प्रदेशस्तरीय कार्यक्रमका लागि छनौट भएका हुन् । प्रतियोगितामा सियारी- ३ का निरङकर भुज द्वितीय भए भने सियारी ५ का सञ्जय मुराउ तृत्तीय भए ।

कार्यक्रममा सहभागिताका लागि रुपन्देहीका सबै स्थानीय पालिका, क्याम्पस, स्कुल तथा १६ देखि ४० बर्ष उमेर समुहका युवायुवतीले भाग लिन सक्ने गरी सियारी गाउँपालिकाले सूचना जारी गरी युवाहरुको नयाँ नयाँ प्रतिभाको खोजी गरेको थियो । युवाहरुको प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सियारी, शुद्धोधन र बुटवलका ७ जना युवा, युवतीले भाग लिएका थिए । कार्यक्रममा भाग लिएका युवायुवतीले आफूले तयार गरेको नवप्रवर्तनात्मक विचार,  प्रविधिको प्रदर्शनी तथा प्रस्तुतीकरण गरेका थिए ।

प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका प्रतियोगिले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए । सियारीमा भएको युवा प्रतिभाहरुको खोजी कार्यक्रमले युवायुवतिको प्रतिभाले सियारीको विकासमा थप टेवा पुर्याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले सियारी भित्रका युवाहरूले आविस्कार गरेका प्रविधिको विकास, विस्तार र प्रचार प्रसारमा पालिकाले हालेमालो गर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले युवाहरुलाई प्रतिभावान बन्न आग्रह गर्दै प्रतिभा भएका व्यक्ति अवसरबाट बञ्चित हुन नपर्ने बताए । उनले सियारीले आयोजना गरेको उक्त कार्यक्रमले युवाहरुको प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरुलाई परिमार्जन र सुधार गर्दै जान्छौं – अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनु भएको छ । प्रवासी नेपाली मञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको रेमिट्यान्स एन्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै उनले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताएका हुन् ।

‘रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेका छैनौं । लिगल च्यानलबाट देशभित्र भित्राउनका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरु अघि सार्न सरकार तयार छ,’ उनले भने । रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरुलाई परिमार्जन र सुधार गर्दै जाने उल्लेख गरे ।

गैरआवासीय नेपालीले उठाएको नागरिकतासम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै पौडेलले भने, ‘गैरआवासीय नेपालीहरुको आर्थिक तथा सामाजिक अधिकारसहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौं, त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौं । त्यसबाट सहज ढंगले नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेछ ।’

वैदेशिक लगानी तथा प्रविधिसम्बन्धी ऐेनले गैरआवासीय नेपालीहरुलाई विदेशी नागरिकसरह लिएको विषयप्रति गैरआवासीय नेपालीहरुले ध्यानाकर्षण गराएको जानकारी दिँदै उनले त्यस विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । गैरआवासीय नेपालीहरुले नेपालमा आउँदा भिसा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै पौडेलले गैरआवासीय नेपालीहरुको नागिरकतासम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गरे ।

सत्तामा रहेका ठुला दलहरुले पटक–पटक जालझेल गरे, अडान छाड्दैनौं – नागरिक उन्मुक्ति

धनगढी – सुदूरपशिचम प्रदेशमा मुख्यमन्त्री, सभामुख र उप सभामुख चयन गर्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने आफ्नो अडान यथावत् राखेको छ ।

टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका सो पार्टीका संरक्षक रेशम चौधरीसहित नेता कार्याकर्ता रिहाई गर्न सरकारले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको मत नदिने घोषणा गरेको हो । शनिबारसम्म नागरिक उन्मुक्ति पार्टीले आफ्नो अडान कायमै रहेको जनाएको छ ।

‘सत्तामा रहेका ठुला दलहरुले हामीमाथि पटक–पटक जालझेल गरेको छ,’ नागरिक उन्मुक्ति पार्टीका संघिय संसद तथा प्रमुख सचेत गंगाराम चौधरीले भने, ‘अब हामी उधारो सहमतिमा विश्वास गर्न सक्दैनौं, हाम्रा माग पूरा भए मात्रै सुदूरपश्चिममा मुख्यमन्त्री बनेका राजेन्द्र रावललाई विश्वासको मत दिन सकिन्छ ।’
उनले विश्वासको मत पाउनका लागि लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, टीकापुर घटनामा संलग्न रहेको भन्दै जेल चलान गरिएका लक्ष्मण चौधरीसहितका नेता कार्यकर्ताको रिहाई गरिनुपर्नेलगायत थोरै माग मात्रै आफ्नो पार्टीले अघि सारेको बताए ।

‘हामीले सरकारसामु धेरै र गर्न नसकिने माग पनि राखेका छैनौं,’ उनले भने, ‘न त कुनै पद मागेका छौं, जायज र सरल माग मात्रै राखेका छौं, सजिला माग पूरा गर्न पनि अहिलेको सरकारले आनाकानी गरेपछि हामीले किन सरकारलाई सहयोग गरिरहने ?’

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने संकेत गरेपछि शत्तारुढ दल भने पुनः नागरिक उन्मुक्ति पार्टीलाई फकाउन लागेको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री रावलसहतिको टोली नागरिक उन्मुक्ति पार्टीलाई सहमतिमा ल्याउन काठमाडौं गएका छन् । काठमाडौंमा उनीहरुले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग प्रत्यक्ष कुरासमेत गरेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ ।

‘पहिलो भेटमा रेशम चौधरीले माग पूरा गर्ने वातावरण बनाउन मुख्यमन्त्री रावलसहितको टोलीललाई आग्रह गर्नु भएको छ,’ नागरिक उन्मुक्ति पार्टीका एक सांसदले भने, ‘त्यसपछि खास्सै कुरा भएको छैन, सायद उहाँहरु आन्तरिक सल्लाह गर्दै हुनुहुन्छ होला ।’ मुख्यमन्त्री रावलले रेशमसमक्ष मागेको मन्त्रालय दिन सकिने जनाए पनि रेशमले आफ्नो पार्टीले मन्त्रालय नलग्ने स्पष्ट पारेका छन् ।

‘हामीले संघ प्रदेशमा कुनै मन्त्री मागेका छैनौं,’ रेशमको भनाइ उद्धृत गर्दै नागरिक उन्मुक्तिका संघीय सांसदले भने, ‘हाम्रा माग पूरा गरे पुग्छ, माग पूरा हुनेवित्तिकै विना सर्त प्रदेशमा विश्वासको मत दिन सकिन्छ ।’

पहिलो चरणमा मुख्यमन्त्री चयन र सभामुख तथा उप सभामुख चयनमा सहयोग गरेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई छुटाउने सहमति भए पनि केन्द्र सरकारले सो सहमति कार्यान्वयन नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतका बारेमा पनि सोच्नुपर्ने अवस्था आएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीले पुस मसान्त वा माघको दुई÷तीन गतेसम्म रेशमलाई रिहाइ गर्न आवश्यक प्रक्रिया अघि बढाने आस्वासन दिए पनि सो सहमति कार्यान्वयन गर्न नसकेको नागरिक उन्मुक्ति पार्टीको आरोप छ । पहिला संघदेखि प्रदेशमा बन्ने सरकारलाई समर्थन गरौं अनि टिकापुर घटनाको आरोपमा जेलमा रहेका रेशम चौधरीलगायत नेता कार्यकर्ता छुटाउन पहल गर्नेछौं भन्ने आस्वासन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले दिएको प्रमुख सचेतक चौधरीले बताए । सोहीअनुसार नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख र उप सभामुख चयन गर्न समर्थन गरेको उनले बताए ।

‘२ माघसम्म रेशम चौधरीसहित जेलमा रहेका नेता कार्यकर्तालाई छुटाउनले आस्वासन प्रधानमन्त्रीले दिएका थिए,’संसदीय दलका प्रमुख गंगाराम चौधरीले भने, ‘तर अहिलेसम्म पनि प्रधानमन्त्रीले त्यसबारेमा कुनै चासो देखाउनु भएको छैन, हाम्रो माग पूरा नभए प्रदेशमा मुख्यमन्त्री बनेका राजेन्द्र रावललाई विश्वासको मत दिन सकिँदैन ।’

सभामुख निर्वाचनमै दुईपटक मत नहालेको उन्मुक्तिले फेरि रेशम चौधरीलगायत टिकापुर घटनाका राजबन्दी रिहाइको माग अघि सारेपछि रावललाई विश्वासको मत लिन चुनौती देखिएको हो । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चोधरीले प्रधानमन्त्रीलेनै थारुहरुको महान पर्व माघीको अवसरमा उपहार दिनेगरी रेशमसहित राजबन्दी रिहाइको प्रक्रिया थाल्ने बताएपनि त्यो माग पूरा नभएकै कारण सभामुखलाई मतदान नगरेको बताए । ‘पहिलो दिन हाम्रो केही प्रदेशसभा सदस्यहरुले मत हाल्नुभयो र पुगेन,’ उनले भने, ‘दोस्रोपटक हामी तठस्थ बसेका थियौँ, त्यसपछि केन्द्रीय तहमा नेताहरुबीच सहमती भएपछि हामीले सभामुख र उपसभामुखमा सत्ता गठबन्धनलाई सघाएका हौँ ।’

सत्तारुढ दलहरु पनि नागरिक उन्मुक्ति पार्टीले अघी सारेका माग सम्बोधन गराउनेतर्फ केन्द्रित भएका छन् । पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्दै संघ सरकारमार्फत ती मुद्दा सक्दो चाँडो सम्बोधन गराउनेतर्फ प्रदेशका नेताहरु पनि केन्द्रित छन् । मुख्यमन्त्रीले बिश्वासको मत लिनुअघि नै मुद्दा सम्बोधनको प्रक्रियामा लैजानुपर्नेमा उनीहरुको जोड छ ।

मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपामा

काठमाडौं – जनता समाजवादी पार्टीले मधेस प्रदेशका दुई स्वतन्त्र सांसदलाई आफनो पार्टीमा प्रवेश गराएको छ ।महोतरी ज़िल्ला क्षेत्र न:२ को ख बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह र पर्सा निर्वाचन क्षेत्र न:३ को क बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जैसवाल जनतालाई जसपाले प्रवेश गराएको हो ।

सांसद प्रदिप यादवका अनुसार नव प्रबेशीहरूलाई खादा टिका लगाई पार्टी अध्यक्ष उपेन्द्र यादव ले पार्टी प्रबेश गराएका हुन ।

हिमालयनमा विलय हुन लागेको सिभिल बैंकको नाफा २६.३९% ले बढ्याे

काठमाडौ – हिमालयन बैंकसँग विलय हुन लागेको सिभिल बैंक लिमिटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा आइपुग्दा यसको नाफा २६।३९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिभिल बैंकले ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, चालू आर्थिक वर्षमा बैंकको सो नाफामा २ दशमलब ।३९ प्रतिशतले वृद्धि हुँदै ६३ करोड ७० लाख रुपैयाँ आर्जन गरेको हो । खुद ब्याज आम्दानी पनि ५३ दशमलब ९० प्रतिशतले बढेर २ अर्ब २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४६ करोड ७४ लाख ४९ हजार रुपैयाँले बढेको छ भने कुल सञ्चालन आम्दानीमा पनि २३ दशमलब ।५८ प्रतिशतले बढेर ९० करोड ४९ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३८ पैसाले बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ९६ पैसा रहेको छ । निष्क्रिय कर्जा अनुपात ०।९४ प्रतिशतबाट बढेर २।४१ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख ५७ हजार रुपैयाँ छ । सिभिललाई हिमालयन बैंकले एक्वायर गर्ने तयारी गरेको छ ।

एमाले लमजुङमा अधिवेशन भएको एक वर्षपछि जिम्मेवारी बाँडफाँट

लमजुङ ८ माघ । नेकपा एमाले लमजुङले जिल्ला अधिवेशन सम्पन्न भएको करिब एक वर्षपछि जिम्मेवारी बाँडफाँट र कार्य विभाजन गरेको छ । एमालेको छैटाैँ पूर्ण बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी गठन गर्नुको साथै जिम्मेवारी बाँडफाँड र कार्य विभाजन गरेको हो ।

बैठकले २ वटै क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको गठन गरेको छ । क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ मा उपसचिव जितबहादुर गुरुङलाई संयोजक तोकिएको छ । सहसंयोजकमा युवराज अधिकारी र सचिवमा शिवप्रसाद जोशी रहेका छन् ।

क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर २ मा जिल्ला कमिटीका सचिवालय सदस्य राजेन्द्र बोहरालाई संयोजक तोकिएको छ । सहसंयोजकमा भोजबहादुर रिमाल र सचिवमा मेनबहादुर घलेलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, पालिका इन्चार्ज र सह–ईन्चार्ज समेत तोकेको छ ।  स्थानीय तहतर्फ बेंसीशहर नगरपालिका इन्चार्जमा यसोदा रिमाल, सह–इन्चार्जमा रामकुमार श्रेष्ठ र विष्णुमाया राना, मध्यनेपाल नगरपालिका इन्चार्जमा जनकराज मिश्र, सह–इन्चार्जमा इन्द्रप्रसाद रेग्मी र अमृत तमाङलाई तोकिएको छ । सुन्दरवजार नगरपालिका इन्चार्जमा लोकराज पाण्डे, सह–इन्चार्जमा द्वारिकाप्रसाद मिश्र र प्रेमबहादुर भट्टराईलाई तोकिएको छ ।

क्होलासोथर गाउँपालिका इन्चार्जमा सूर्यप्रसाद गुरुङ, सह–इन्चार्जमा कुमारीमुनी गुरुङ र पेमा गुरुङ, मस्र्याङ्दी गाउँपालिका इन्चार्जमा जितबहादुर गुरुङ, सह–इन्चार्जमा अमृता पोखरेल र महेन्द्र थापालाई जिम्मेवारी तोकिएको छ । दोर्दी गाउँपालिका इन्चार्जमा दिलबहादुर घले, सह–इन्चार्जमा राजेन्द्र अधिकारी र हिमला घिमिर, राइनास नगरपालिका इन्चार्जमा हिरालाल विक, सह–इन्चार्जमा शुभद्रा भुजेल र गोविन्द नेउपाने साथै दूधपोखरी गाउँपालिकामा इन्चार्ज रामचन्द्र दवाडी र सह–इन्चार्जमा सगुन गुरुङलाई जिम्मेवारी तोकिएको छ ।

सुर्खेत जिप दुर्घटनाप्रति प्रधानमन्त्रीको चिन्ता, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले चारजनाको ज्यान जानेगरी सुर्खेतमा भएको जिप दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । आइतबार बिहान छिन्चुदेखि सुर्खेततर्फ जाँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित दुर्घटना भई चारजना यात्रुको निधन भएको खबरले स्तब्ध तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

आइतबार बिहान २ः३० बजे जिप अनियन्त्रित भई सडकदेखि ७०–८० मिटर तल खस्दा  सुर्खेत वीरेन्द्रनगरका २७ वर्षीय सागर शाही, दैलेख डुंगेश्वर गाउँपालिका– ५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ बस्ने वर्ष ३१ को बबिन शाही, दैलेख गुराँस गाउँपालिका– ३ बस्ने वर्ष ३६ को राजेन्द्र विसीको मृत्यु भएको थियो ।

दैलेख भैरवी गाउँपालिका– ५ का वीरेन्द्रराज शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपाङ्गता परिक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न निःशुल्क शारीरिक अपाङ्गता परिक्षण शिविरमा बालबालिका सहित ५३ जनाले सेवा लिएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् ।

शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रबाट खटिएका अनुभवी चिक्तिसकद्धारा परिक्षण गरिएको थियो । ‘शारीरिक अपाङ्गता भएपनि सर्वसाधरणले अनुभवी चिक्तिसद्धारा परिक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भनिन्, ‘शिविर संचालनले सेवा लिएका सर्वसाधरण लाभान्वित भएका छन् ।’

उनले शिविरको क्रममा शारीरिक अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षण पश्चात आवश्यकता अनुसार २० जनालाई अर्थोपेडिक साम्रगी, २ जनालाई व्हीलचेयर, ३ जनालाई वाकर, ४ जना वैशाखी समेत उपलब्ध गराइएको बताइन् ।‘शिविरमा सेवा लिन आएका व्यक्तिहरुको परिक्षण गर्दा दश जनाको अपरेशन गर्नुपर्ने देखिएको छ’ उनले भनिन्, ‘अब उनीहरुको निःशुल्क अपरेशन समेत हुन्छ, जसका लागि नगरपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउँछौँ ।’

उनका अनुसार उक्त शिविरको परिक्षण मार्फत दुई जना व्यक्तिहरुलाई कृत्रिम अंगको आवश्यक देखिएकोले उनीहरुको अंगको नाप लिइएको र कृत्रिम अंगको तयारी पश्चात निःशुल्क उपलब्ध गराइने छ । सम्पन्न शिविर १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरिएपनि शिविरमा सेवा लिन आएका सो उमेर समूहभन्दा माथीका सर्वसाधरणलाई समेत सेवा दिइएको सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन् ।

शिविरमा हात र खुट्टासगँ सम्बन्धित शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरु परिक्षणका लागि बढी आएको अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको रुपन्देहीका समाजिक परिचालक राजाराम चौधरीले बताए ।

कांग्रेसमा कोइराला समूहको भेला अनुपम फुडल्यान्डमा

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसमा डा.शेखर कोइराला समूहको भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको छ । आइतबार बिहानदेखि बसेको भेलामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

संस्थापन इतर समूहको भेलामा कांग्रेसको भूमिका, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको विषय, कांग्रेसको भ्रातृसंगठनलाई पूर्णता दिनेलगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार डा.कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको बताएका थिए । उनले पार्टीले लिएको निर्णयले कांग्रेसलाई नै क्षति भइरहेको उल्लेख गरेका थिए ।

नेता कोइरालाले कार्यसम्पादन समितिको बैठकमा आफूले प्रचण्डलाई विश्वासको मत दिनु नहुने प्रस्ताव गरे पनि बहुमतको निर्णयलाई मान्नुपर्ने बाध्यता रहेको सुनाएका थिए । बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसीलगायत उपस्थित छन् ।

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौ – नेपाल राष्ट्र बैंकले आईतबारको लागि विनिमय दर सार्वजनिक गरेको छ । आइतबार अमेरिकी डलरसँगै सबै विदेशी मुद्राहरुको मूल्य स्थिर छ ।
आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा कायम गरिएको छ। यसअघि शनिबार पनि अमेरिकी डलर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसामा कारोबार भएको थियो ।

युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ २६ पैसा र बिक्रीमा १४० रुपैयाँ ९१ पैसा पाइन्छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ५६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९० रुपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५७ पैसा तोकिएको छ

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ २६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शनिबार ३० रुपैयाँ २२ पैसा र बिक्रीमा ३० रुपैयाँ ३६ पैसा पाइन्छ।

आईतबार कुवेती दिनार एकको खरिदमा ४२३ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ६८ पैसा तोकिएको छ । त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४५ रुपैयाँ १२ पैसा तोकिएको छ।

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार  फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिकाअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७०, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २४ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि २५० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ कायम रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, लोकल गोलभेडा २० रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४२ रुपैयाँ, हरियो प्याज र हरियो धनिया १०० रुपैयाँ रहेको छ ।

हिम पहिरोमा २८ जनाको मृत्यु

बेइजिङ—तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची सहरमा हिमपहिरोमा परी कम्तीमा २८जनाको मृत्यु भएको छ ।  मंगलबार गएको हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनसिप  जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने  यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए ।सरकारले शव निकाल्न र बेपत्ता भएकाहरूको निरीक्षण गर्न एउटा टोली पठाएको थियो ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार  मेनलिंग काउन्टीको पाइ गाउँ र मेडोग काउन्टीको डोक्सोङ ला सुरुङबाट निस्कने सडकको एक खण्डमा हिमपहिरो गएको थियो । हिमपहिरोपछि मानिस र सवारी साधन अलपत्र परेका थिए ।

खोज तथा उद्धार कार्य शुक्रबार साँझ सम्पन्न भएको थियो । उक्त क्षेत्रका सडक कच्ची रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो ।

सिट बेल्ट नलगाएका बेलायती प्रधानमन्त्रीलाई ५० पाउण्ड जरिवाना

एजेन्सी – बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई सिट बेल्ट नलगाई कारमा चढेको भन्दै जरिवाना सुनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्लिपको आधारमा प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

इङ्गल्याण्डको उत्तरमा यात्रा गर्दा उनले सिट बेल्ट नलगाई आफ्नो कारको पछाडिको सिटमा भिडियो खिचेका थिए ।ट्राफिक नियमको उल्लंघन गरेको भन्दै लन्काशायर प्रहरीले उनलाई  ५० पाउण्ड   जरिवाना गरेको हो ।

‘लन्काशायरमा गुडिरहेको कारमा सिट बेल्ट नलगाएका लन्डनका ४२  वर्षीय व्यक्तिलाई  जरिवाना  गरेका छौँ’, लेन्काशायर प्रहरीले ट्वीट गरेको छ । २८ दिनभित्र सम्बन्धित निकायमा सो जरिवाना तिरिसक्नुपर्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।

सामान्यतया सिट बेल्ट नलगाएका यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।  यसैबीच, प्रधानमन्त्री सुनकले माफी मागेका छन् ।

चीनमा ८० प्रतिशत मानिस कोभिडबाट संक्रमित

बेइजिङ÷चीनमा ८० प्रतिशत मानिसहरू कोभिडबाट संक्रमित भइसकेका एक प्रमुख सरकारी वैज्ञानिकले शनिबार बताएका छन् ।

चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख महामारीविद् वु जुनयुले नयाँ वर्षको बिदाको अवधिमा मानिसहरूको ठूलो आवागमनले महामारी फैलाउन सक्ने र केही क्षेत्रमा संक्रमणलाई बढाउने सम्भावना रहेको विबो सामाजिक मिडिया प्लेटफर्ममा बताए ।

लाखौं चिनियाँहरू छुट्टीको पुनर्मिलनका लागि देशभर यात्रा गरिरहेका छन्,जसले ठूलो प्रकोप व्यवस्थापन गर्न कम सुसज्जित ग्रामीण क्षेत्रहरूमा ताजा प्रकोपको त्रास बढाएको छ ।

सरकारी तथ्यांकअनुसार अनुसार चीनले अचानक आफ्नो शून्य कोभिड नीति खारेज गरेको झण्डै एक महिनापछि जनवरी १२ सम्म कोभिड भएका करिब ६० हजार व्यक्तिको अस्पतालमा मृत्यु भएको थियो ।

२० वर्षपछि विवाह गरे सिलिन्डर उपहार दिने निर्णय

बाँके । बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ ।मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं= ५ ले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष गरिवे शेषले बालविवाह रोकथाम गर्न यस्तो उपहारको योजना ल्याएको बताए।

‘हाम्रो वडामा बालविवाह अलि बढी नै छ। त्यसको रोकथामका लागि हामीले सिलिन्डर सेट उपहार योजना ल्याएका छौुं, वडाध्यक्ष शेषले भने- ‘यो योजनाले बालविवाह रोकथाममा सहयोग पुयाउने आशा गरेका छौं ।’

वडाले माघ ३ गतेपछि २० वर्ष उमेर पुगेर विवाह गरेकालाई यस्तो उपहार दिने बताएको छ । उमेर पुगेर विवाह गरेकाले नागरिकता, विवाह हुने प्रमाण, उमेर खुल्ने प्रमाण (दुलाहा दुलही दुवैको) पेस गर्नुपर्नेछ।

यो उपहार योजना वडा नं। ५ का स्थायी बासिन्दाका लागि मात्रै लागू गरिएको छ । बाँकेको मधेसी, मुस्लिम बस्तीमा बालविवाह बढी हुने गरेको छ ।यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्ने भनेको मोनोरेल अनिश्चित, बालेनलाई बालै छैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्ने भनेको मोनोरेल अब सञ्चालनका लागि भौतिक संरचना नबन्ने भएको छ ।महानगरको यसअघिका मेयर विद्यासुन्दर शाक्यले वार्षिक नीति तथा कार्यक्रममा मोनोरेल सञ्चालन गर्ने कुरा समावेश गरे पनि अहिलेका मेयर बालेन्द्र साहले त्यसतर्फ चासो नदिएको बुझिएको छ ।

मेयर साहले चासो नदेखाएपछि मोनोरेलको नबन्ने भएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार अघिल्लो सरकारका पालामा महानगरप्रमुखले मोनोरेल सञ्चालनका विषयमा पहल गरे पनि अहिलेका महानगर प्रमुखले त्यसबारेमा चासो देखाएका छैनन्।

उनले भने, “महानगरका अघिल्लो मेयर विद्यासुन्दर शाक्यले मोनोरेलको परिकल्पना गरेर वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिरहनुभएको थियो ।अहिलेका मेयर साहले भने यस विषयमा कुनै चासो राख्नुभएको छैन । उहाँको प्राथमिकतामा यो विषय समावेश भएन ।” मोनोरेल निर्माणका लागि चिनीयाँ सरकारी कम्पनीले २०७६ सालमा फिजिविलिटी अध्ययन गरेको थियो । जसले मोनोरेल सम्भव हुने प्रतिवेदन दिएको थियो ।

२७.७ किलोमिटर लम्बाइ रहेको चक्रपथमा मोनोरेल सञ्चालन गर्ने योजनाअनुरूप ललितपुर महानगरसँग पनि समन्वय भएको थियो । ललितपुर महानगर पनि यस विषयमा सकारात्मक भएको जनाएको थियो ।

मोनोरेल सञ्चालनका लागि महानगरले कलङ्की–सातदोबाटो–कोटेश्वर–चाबहिल हुँदै पुनः कलङ्कीसम्म पुग्ने रुट बनाउने तयारी गरेको थियो ।एक डेढ किलोमिटरमा सबस्टेशन रहने फिजिविलिटी अध्ययनको प्रतिवेदनमा उल्लेख रहेको छ ।

अघिल्लो सरकारका पालामा महानगरले मोनोरेलको विषयमा बजेट समेत नछुट्याएकाले अहिले कुनै योजना नरहेको मानन्धरको भनाइ छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

सभापति देउवाद्वारा सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होछार (तवार ल्हो)पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको भन्दै उनले यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गरे ।

एमाले अध्यक्ष ओलीद्वारा सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देश दिदै यस पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन् ।

उनले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिकका आधार रहेको उल्लेख गरेका छन् । ओलीले नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक पूँजीको रुपमा रहेको उल्लेख गर्दै एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

उनले भने -‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुुशासनयुक्त, पछौटेपनयुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिलाई अघि बढाउन चाहन्छौँ’