`

गृहमन्त्रीले दिएको निर्देशन प्रहरीले मानेन भन्नु अपरिपक्वता

काठमाडौँ । शुक्रबार साँझ गृहमन्त्रालयबाट एक विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्तिमा गृहमन्त्री लामिछानेले पटकपटक मौखिक निर्देशन दिँदा समेत प्रहरीलेलक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्ने उल्लेख छ ।

गृह मन्त्रालयले यस्तो व्यहोराको विज्ञप्ति सार्वजनिक गरेपछि गृहमन्त्री आलोचना झनै लामिछानमाथिको चुलिएको छ।आलोचकहरूले उनको दक्षता र कार्यक्षमतामाथि नै प्रश्नचिह्न उठाइरहेका छन् ।

गृह मन्त्रालय मातहतको सुरक्षा निकायले गृहमन्त्रीको पटकपटकको मौखिक निर्देशन कार्यान्वयन नगरेको ‘भन्ने व्यहोराको विज्ञप्ति आउनै नहुने पूर्वगृहसचिव गोविन्द कुसुमको धारणा छ ।’ ल एन्ड अर्डरको मान्यताअनुसार गृह मन्त्रालय वा गृहमन्त्रीको लिखित र मौखिक वा जस्तोसुकै माध्यमबाट भएको निर्देशन प्रहरीले मान्नुपर्छ । मानिएन भने कारबाही गर्ने अधिकार गृहमन्त्रीलाई हुन्छ,’ पूर्वगृहसचिव कुसुम भन्छन्, ‘यस्तो विकल्प हुँदाहुँदै गृहमन्त्रीले दिएको निर्देशन प्रहरीले मानेन भन्नु अपरिपक्वता नै ठहरिन्छ ।’

गृह मन्त्रालयले सुरक्षा, अपराध निवारण र फरार अभियुक्त पक्राउ सन्दर्भमा प्रहरीलाई निर्देशन दिँदा सार्वजनिक विज्ञप्तिमार्फत गर्न नहुने पनि उनी बताउँछन् ।यो खबर आजको नागरिक दैनिकमा छ ।

बैंकहरूको खराब कर्जा वृद्धि हुँदा नाफासमेत प्रभावित

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमास ९साउन (पुस) सम्ममा बैंकहरूको नाफा प्रभावित भएको छ । कोभिड–१९ महामारी तथा रूस– युक्रेन युद्धका कारण तरलताको दबाब झेलेका बैंकहरूको खराब कर्जा वृद्धि हुँदा नाफासमेत प्रभावित भएको छ ।

शनिबारसम्म लेखापरीक्षण नभएको वित्तीय विवरण प्रकाशित गरेका २० ओटा बैंकले चालू आर्थिक वर्षको पुससम्ममा कुल २९ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ दशमलव ८५ प्रतिशत मात्र बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरूले २९ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा बैंकहरूको नाफा १० प्रतिशतले बढेको थियो ।

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक मर्जर भई बनेको नेपाल इन्भेष्टमेण्ट मेगा र एनसीसीसँग मर्जर गरेको कुमारीले वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ ।यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

थाहा पाउनुहोस विश्व इतिहासमा आज भएका घटनाक्रम

आज जनवरी २२ सन् २०२३ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका घटनाक्रम

आजकै दिन अर्थात सन् १७८८ मा बेलायतका प्रसिद्ध कवि लर्ड बाइरनको जन्म भएको थियो । उनको मृत्यु १८२४ को अप्रिलमा भएको थियो ।सन् २००६मा ायमारा आदिवासी समूहका सदस्य इभो मोरालेस बोलिभियाको राष्ट्रपति भएका थिए ।

सन् १९३२ मा सरकारी सेनाले उत्तरी स्पेनमा कम्युनिस्ट विद्रोहविरुद्ध चरम दमन गरेको थियो । सन् १९७० मा बोइङ ७४७ को  पहिलो निर्धारित उडान सुरु भएको थियो ।  प्यान एम जम्बो जेटले न्यूयोर्कबाट लन्डनका लागि उडेको थियो ।सन् १९७३ मा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनलाई मान्यता दिएको थियो ।

मृत्युसँग डराउँथे सुशान्त

एजेन्सी – अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अढाई वर्ष भइसकेको छ । यद्यपि आज पनि उनका फ्यान सुशान्तलाई सम्झिएर भावुक हुन्छन् । आज शनिवार अर्थात २१ जनवरीमा सुशान्तको ३७ औं जन्मजयन्ती मनाइँदैछ । उनको जन्म २१ फेब्रुअरी १९८६ मा पटनामा भएको थियो ।

सुशान्तले कमै उमेरमा ठूलो सफलता प्राप्त गरेका थिए । उनी जति बौद्धिक थिए, उती नै खुला हृदयका थिए । तर उनी मृत्युसँग सधैं डराउँथे । सुशान्तले व्यापार विश्लेषक कोमल नाहटालाई एक अन्तरवार्ता दिएका थिए । अन्तरवार्तामा कोमलले सुशान्तलाई सबैभन्दा कुन कुरामा डर लाग्छ भनी सोधेका थिए ।

‘मलाई मृत्युसँग सबैभन्दा बढी डर लाग्छ । म यदि तीन घण्टाका लागि सुतेको छु भने मलाई थाहा नै हुँदैन कि म को हुँ र मेरो आसपास के चलिरहेको छ । यस्तो मृत्युमा पनि हुन्छ कि व्यत्तिलाई थाहा हुँदैन कि के चलिरहेको छ । यो निकै डरलाग्दो हुन्छ’, सुशान्तले भनेका थिए ।

१४ जुन सन् २०२० मा अभिनेता सुशान्त मुम्बईको आफ्नो बान्द्रावाला फ्ल्याटमा मृत भेटिएका थिए । कतिपयले उनको मृत्युलाई आत्महत्या भने पनि परिवारले भने हत्याको संज्ञा दिएको थियो । त्यसपछि प्रहरी र सीआईबीले अनुसन्धान गरेको थियो । यद्यपि अहिले पनि जो व्यक्ति मृत्युसँग डराउँथ्यो, त्यो व्यक्तिले कसरी आत्महत्या गर्नसक्छ भनेर चर्चा गरिरहन्छन् ।

चंखेली गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश

सुर्खेत – हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । २०७९ वैशाखमा भएको निर्वाचनमा उनी गठबन्धनलाई पराजित गरेर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

गाउँपालिका अध्यक्ष शाहीलाई शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शाहीले हुम्लामा कांग्रेस मजबुत रहेको बताउँदै अझ पार्टीलाई सुदृढ गर्दै जानुपर्ने बताए ।

प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताला

खोटाङ – प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिका छात्र/छात्राले विद्यालयमा ताला लगाएका छन् ।

गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादव सहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र/छात्राले ताला लगाएका हुन् ।

हिउँदे विदा सकिए पनि प्रअ र शिक्षक आइनपुगेपछि विद्यार्थीले पुस ५ गते विद्यालयमा ताला लगाएको राजापानीका वडाध्यक्ष अनिस कार्कीले बताए । स्वयं विद्यार्थीले ताला लगाएपछि पठन–पाठन ठप्प बनेको छ ।

माघ २ गतेदेखि खुल्नुपर्ने विद्यालय पोखरामा भएको विमान दुर्घटनाका कारण माघ ३ गतेदेखि खुलेको थियो । विद्यालय खुल्दा पनि विद्यालय नआएका शिक्षकलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको छ ।

शुक्रबार विद्यालयमा उपलव्ध शिक्षकमार्फत पठनपाठन सुचारु गर्न आग्रह गर्दा विद्यार्थीले अस्वीकार गरेको वडाध्यक्ष कार्कीले बताए । ताला हालिएको विद्यालय खुलाउने विषयमा सोमबार छलफलको तयारी गरिएको छ । प्रअ यादवमाथि विद्यालय प्रशासन फितलो तरिकाले सञ्चालन गरेको आरोप छ ।

प्रअ यादवले राष्ट्रिय परिक्षा बोर्डको कार्यालय लाहान पुगेर कक्षा ११ को परिक्षा फर्म र कक्षा १२ को राजस्व बुझाउने काम लिएर घर गएकाले विद्यालय फर्कन ढिलाइ भएको बताए । उनले शिक्षक रामशंकर यादवलाई मौखिक रूपमा प्रअको जिम्मेवारी दिइएको बताए ।

प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी सुदूरपश्चिमलाई

विराटनगर – प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी सुदूरपश्चिमले जितेको छ । इटहरीको जनता क्रिकेट पार्कमा आज सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।

जितका लागि १ सय २ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ बलमा ४ विकेट गुमाउँदै पुरा गर्‍यो । सुदूरकी कविता जोशी २० बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहदा सम्झना खड्का ३३ बलमा २ चौकासहित २७ रनमा अविजित रहिन् ।

डली भट्ट १६ बलमा १ चौका र २ छक्कासहित २२, विन्दु रावल ७, कविता कुवर १२ र रुवि पोदार ८ रनमा आउट भए । प्रदेश एकको लागि सबनम राई, रुविना क्षेत्री, संगिता राई र हिरनमय रायले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय १ रन बनाएको थियो ।

प्रतियोगितामा कविता कुवरले बिधागत पुरस्कारमा वर्चश्व कायम राखिन् । उनले स्कुटरसगै प्रमुख दुई अवार्ड जितिन् । कविताले उदयमान खेलाडीको रूपमा सहआयोजक सुनसरी जिल्ला क्रिकेट संघले प्रदान गरेको २ लाख ७० हजार मूल्यको स्कुटर पाइन् ।

कविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर समेत भइन् । सर्वोत्कृष्ट खेलाडी वापत उनले ३० हजार र ब्याटरको रूपमा २० हजार नगद पुरस्कार पाइन् ।

सुदूरपश्चिमकै मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित हुँदै नगद २० हजार पुरस्कार पाइन् । विजेता सुदूरले पाँच लाख र उपविजेता प्रदेश एकले तीन लाख प्राप्त गरेको छ ।

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गरेका छन् ।शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धि चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ,’ उनले भने, ‘यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ ।’

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाइ दिँदै यो सम्मानले नेपालको शीर उँचो राखेको बताए । ‘यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘मानवीय सेवाका लागि तपाईको योगदानको कदर देशकै कदर हो ।’

प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गरे ।भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए ।

तीन हजार एकसयबाट तीन अर्वको सम्पती

भक्तपुर – भक्तपुरकै सवैभन्दा ठूलो सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको सम्पती २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जनाएको छ । ३१ जनाको तीन हजार एक सय रकमबाट सुरु भएको संस्थाले हाल १६ हजार एक सय २३ जना सदस्यबाट २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी गराइएको हो ।

संस्थाको २९औं स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिको आयोजनामा भएको सीपमूलक तालिम, खेलकुद प्रतियोगिता तथा अनिवार्य शिक्षा शिविरमा बोल्दै अध्यक्ष रुद्रनारायण लाखाले सहकारी, सहकारीता र संस्थाका अवधारणागत पक्षहरुबारे संस्थागत प्रस्तुति दिए ।

सिद्धि गणेश ऐन, कानुन तथा सहकारीका अन्तराष्ट्रिय मान्यता अनुसार सञ्चालन भैरहेको संस्था भएकोले वर्तमान तरलताको समस्याग्रस्त वित्तीय वातावरणमा पनि पूर्णत सुरक्षित रहेको विचार व्यक्त गरे । संस्थाका व्यवस्थापक शिला गोसाईंले संस्थाका सेवा सुविधाबारे संस्थागत प्रस्तुती दिदै अनिवार्य शिक्षा शिविरमा उपस्थित सदस्य मात्रै संस्थाबाट प्रदान गरिने सबैखालका सुविधाका लागि योग्य हुने बताइन् ।

सिद्धि गणेश साकोसले सदैव सदस्यको आर्थिक विकासलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको जानकारी उनले दिइन् । आयोजक उपसमितिका संयोजक एवं सभापति सञ्चालक विष्णुप्रसाद दुमरुले संस्था सदस्यको स्वार्थ अनुकुल भए नभएको जानकारी दिन र सदस्यहरुलाई सहकारी अभियान सम्बन्धि जानकारी दिने उद्देश्यका साथ स्थापनाकालदेखि शिक्षा शिविर सञ्चालन गर्दै आइरहेको बताए ।

तत्कालिन समाजको आर्थिक क्षमता उकास्नका लागि सिद्धि गणेश साकोसको स्थापना गरेको स्मरण गरे । ५५ जना सदस्यको उपस्थिति रहेको शिविरमा आयोजक उपसमितिका सचिव किरण वनमाला, उपसमिति सदस्य रामहरी ताम्राकारले सहकारीको महत्वबारे चर्चा गरे ।

को हुन् उपसभामुख बनेकी इन्दिरा राना ? अन्य सांसदभन्दा उनको पृष्ठभूमि कसरी भिन्न

सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना बहुमतले निर्वाचित भएकी छन्।शनिवार दिउसो प्रतिनिधिसभामा सांसदहरूबीच भएको मतदानमा उनले १६६ मत प्राप्त गरी नेपाली कांग्रेसकी उम्मेदवार मुक्ताकुमारी यादवलाई पराजित गरेकी हुन्।२७५ सदस्यहरू रहेको प्रतिनिधिसभाको शनिवारको बैठकमा कुल २६४ सांसद उपस्थित थिए।

उनलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा ९७ मत खसेको थियो भने एकजना सांसद्ले मतदान प्रक्रियामा आफूलाई तटस्थ राखेका थिए।रानालाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका सत्ता गठबन्धनका दलहरूले समर्थन गरेका छन्।

नेपालको संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुई पदमा फरक फरक दलका व्यक्तिहरू हुनुपर्ने व्यवस्था गरेको छ।सभामुखमा माघ ५ गते नै नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्।

को हुन् इन्दिरा राना?
वाउन्न वर्षीया इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्।झापामा जन्मिएकी उनी पहिलो पटक सांसद बनेकी हुन्।राजनीतिमा आउनुअघि उनी गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्षका रूपमा परिचित अनुहार हुन्।उक्त संस्थाले जेल सजाय भोगिरहेका महिलाहरूका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको लागि काम गरिरहेको छ।

उक्त योगदानका लागि बीबीसीले रानालाई सन् २०१७ मा बीबीसी १०० विमिन अर्थात् सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरूको सूचीमा राखेको थियो।उपसभामुखका लागि रानाको प्रस्तावक बनेकी उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले उनलाई ‘समाज रूपान्तरणको अथक प्रयासपछि निखारिएर राजनीतिमा आएको’ व्यक्तिको रूपमा परिचित गराएकी थिइन्।

३ दशकदेखि उक्त काममा संलग्न रहेको बताउने रानाले त्यस क्रममा जेलमा बस्नुपर्ने विवशतामा रहेका सयौँ बालबालिकाको उद्धार गरिएको बताउँछिन्।कोभिड महामारीका बेला उनले कैयौँ दिन आम्दानीको अभावमा भोका परेका सयौँ मानिसहरूलाई खानाको व्यवस्था गरेकी थिइन्।

उपसभामुखको भूमिका कस्तो हुन्छ?
सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नुपर्नेछ।नेपालको संविधानका अनुसार सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उठेमा त्यस उपरको छलफलमा त्यसको अध्यक्षता उपसभामुखले गर्नुपर्ने व्यवस्था गरेको छ।

त्यसैगरी प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्‌मा समेत उपसभामुख सदस्य रहने व्यवस्था संविधानले गरेको छ।राजनीतिक दलको उम्मेदवार भए तापनि पदभार ग्रहणपछि सभामुख र उपसभामुख दुवै राजनीतिक रूपमा तटस्थ हैसियतमा हुनेछन्।

हालसम्म को को महिला उपसभामुख र उपाध्यक्ष चुनिए
सांसद निर्वाचित भएको पहिलो कार्यकालमा नै राना उपसभामुख चुनिएकी हुन्।नेपालको संसदीय इतिहासमा एक पटक मात्रै महिलाले सभामुखको भूमिका पाएका छन् भने पटकपटक महिलाहरू विधायीकी निकायको उपसभामुख वा उपाध्यक्ष चुनिएका छन्।यसअघिका दुई उपसभामुख नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फे थिए।

सुरुमा संविधानसभाकी उपाध्यक्ष रहेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती संविधानसभाबाट संविधान जारी भएपछि रूपान्तरित प्रतिनिधिसभाको सभामुख बनेकी थिइन्।संविधानसभाको पहिलो कार्यकालमा माओवादीकी पूर्णकुमारी सुवेदी उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

बहुदलीय व्यवस्था पुनर्बहाली भएपछि पहिलो पटक निर्वाचित प्रतिनिधिसभामा हाल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष रहेका महन्थ ठाकुर पहिलो पटक उपसभामुख बनेका थिए।संसद्को पहिलो महिला उपसभामुख लिलासुब्बा श्रेष्ठ हुन् जो नेकपा एमालेकी सांसद थिइन्।नेपाली काङ्ग्रेसकी नेतृ चित्रलेखा यादवले २०५६ सालदेखि २०६३ सालसम्म उपसभामुखको भूमिका निर्वाह गरेकी थिइन्।

यादव उपसभामुख रहँदै राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए। र दोस्रो जनआन्दोलनपछि पुर्नस्थापित संसद्मा उनको भूमिकाले निरन्तरता पाएको थिए। राष्ट्रिय सभाको उपाध्यक्षमा २०७४ साल चैतदेखि २०७८ साल फाल्गुनसम्म शशिकला दाहाल रहेकी थिइन्।

पहिलो राष्ट्रिय सभाको उपाध्यक्ष पनि महिला रहेको इतिहास छ।विक्रम संवत् २०१६ साल साउनदेखि २०१७ साल पुससम्म कमल राणा राष्ट्रिय सभाको उपाध्यक्ष रहेकी थिइन्। समाचार बीबीसी नेपालीबाट ।

चमेलिया किनारमा महिलाको शव भेटियो

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका-९ चमेलिया नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । शनिबार अपराह्न गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा अन्दाजी २६ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिकाको भवन पछाडि चमेलिया नदी किनारमा महिलाको शव डुबेको अवस्थामा फेला परेको हो ।

अपराहृन ४ बजेतिर चमेलिया नदी किनारमा डुबेको अवस्थामा शव फेला परेको इप्रका गोकुलेश्वका इन्चार्ज वीरेन्द्रसिंह थापाले बताए । शवको पहिचान हुन सकेको छैन ।

बंगलादेशमा भएको म्याराथनमा सल्यानकी पुस्पालाई स्वर्ण पदक

सुर्खेत – बंगलादेशको ढाकामा भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् ।

उनले ४२दशमलव १९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भएकी हुन् । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् ।

पुष्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ कि पनि स्वर्ण पदक विजेता हुन् भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी हुन् ।पुस्पाले १३औँ साग गेममा रजत पदक जितेर पदक जित्ने किर्तिमानीसमेत बनाएकि थिइन् ।

सन् २०२२ बेलायतको सर्वाधिक गर्मी रेकर्ड गरिएको वर्ष

लन्डन-बेलायतको मौसम कार्यालयले मानव–प्रेरित जलवायु परिवर्तनले देशको मौसम ढाँचामा कसरी प्रभाव पारेको छ भन्ने प्रकाश पार्दै सन् २०२२ संयुक्त अधिराज्यका लागि रेकर्डमा सबैभन्दा तातो वर्ष भएको जनाएको छ । यस वर्ष बेलायतको वार्षिक औसत तापक्रमले सन् २०१४ मा निर्धारण गरेको अघिल्लो रेकर्ड उछिनेको छ जतिबेला ९ दशमलब ८८ डिग्री सेल्सियस थियो ।

हरितगृह ग्यास उत्सर्जन सुरु भएपछि सन् १८८४ देखि रेकर्ड राख्ने काम भएको हो । सन् २००२ देखि हरेक १० वर्षमा सबैभन्दा बढी वार्षिक तापक्रम भएको मौसम विभागले जनाएको छ । बेलायतले पहिलो पटक जुलाईमा लिंकनशायरको कोनिङस्बीमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरेको थियो ।

अर्जेन्टिनामा शक्तिशाली भूकम्प

एजेन्सी – अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ ।  अर्जेन्टिनाको कार्डोबाबाट ५१७ किलोमिटर उत्तरमा ६.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प अर्जेन्टिनाको सान्टियागो डेल एस्टेरो प्रान्तको मोन्टे क्वेमाडोबाट १०४ किलोमिटर टाढा थियो ।पाराग्वे र अर्जेन्टिनामा भूकम्पको धक्का महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक भएको छैन् ।

अफगानिस्तानमा कठ्यांग्रिएर २५ जनाको मृत्यु

काबुल-बढ्दो चिसोसँगै निरन्तर हिमपातपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुलप्रान्तमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । जाज्जानप्रान्तको खमाब, खानका र आक्चा जिल्लामा विगत दुई दिनदेखि भारी हिमपातहुँदा कठ्यांग्रिएर चार बालबालिकासहित १८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी चिसोसँगै हिमपातले सारी पुलप्रान्तमा बालबालिका र महिलासहित सात जनाको मृत्यु भएको छ । तालिबानले सत्ता कब्जा गरेपछि दातृ निकायले अफगानिस्तानलाई प्रदान गर्दै आएको सहयोग रोक्का गरेका छन, जसका कारण अधिकांश अफगानी मानवीय संकटको चपेटामा परेका छन् ।

सप्तरीमा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट

सप्तरी – सप्तरीको तिरुहुत गाउँपालिका ४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएपछि १० लाख बराबरको क्षति भएको छ । स्थानीय नारायण यादव, ओम नारायण यादव र गुगली भन्ने हरेराम यादवको घरमा आगलागी हुँदा १० लाख बराबरको धनमाल जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

गुगली भने हरेराम यादवको गोठघर छेउमा राखेको खरानीको ढिस्कोबाट आगो सल्किदा उनको गोठघरमा आगलागी भएपछि टाँसिएको छिमेकी तेज नारायण र ओम नारायणको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रबक्ता सिंहले जानकारी दिएका छन्।

आगलागीमा कंचनरुप नगरपालिका,राजविराज नगरपालिका हनुमाननगर कंकालिनी नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी र स्थानीयबासीहरुले झण्डै दुई घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको प्रवक्ता सिंहले  जानकारी दिएको छ ।

आगलागीमा मानवीय क्षति नभएपनि चौपाया, अन्नपात, लत्ता कपडा, भाँडाकुडा र फर्निचरका सामानहरु पूर्ण रुपले जलेर  नष्ट भएको प्रहरी प्रबक्ता सिंहको भनाइ रहेको  छ ।
आगलागीमा गुगली भने हरेराम यादवको गोठ घरभित्र बाँधि राखेको बाख्रा–१, खसी–२, भैंसीको पाडी–२ जलि मरेको र भैंसी–१ घाइते भएको हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको चौपायाक‍ो ज्यान गएको हो ।

यसैगरी तेज नारायण यादवको वाल र जस्ताको छानो भएको बस्ने घरमा आगो लागी काठको बकस थान–२, चामल १० मन, पंखा ५ थान, एलसिडी टिभी ३२ ईन्चको १ थान, रेडमी मोबाईल–१ थान, सुन चाँदीको गहना र फर्निचरको सामान गरी अन्दाजी ४ लाख बराबरको क्षति भएको छ ।

यस्तै ओम नारायण यादवको बाँसको टाटी बेरा जस्ता पत्ताको छानो भएको घरमा आगो लागी नगद ५४ हजार, चामल १० मन, धान १० मन, भाँडाकुडा लत्ताकपडा र फर्निचरको सामान गरी अन्दाजी ४ लाख बराबरको क्षति गरि ९ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ

मोटरसाइकल दुर्घटनामा यादवको मृत्युु

सप्तरी – पूर्व–पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका १२ डेडेवा पोखरीमा बिहीबार राती भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ बिष्णुपुर टोल बस्ने किशोरी प्रसाद यादवको छोरा अन्दाजी बर्ष ४७ को मात्रिका प्रसाद यादव रहेका छन् ।

प्रदेश नं.२–०१–००२ प ५०५२ नम्बरको मोटरसाइकल अचानक  दुर्घटना भई बाटोको उत्तर पट्टि साईडमा मोटरसाइकल चालक यादव फेला परेको प्रहरीले जनाएको छ ।राती ९ बजे भेटिएका उनलाई तत्कालै उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।मृतकको पोष्ट मार्टम गरि शव परिवारलाई बुझाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

असारदेखि पाएनन् जुनीचाँदेका सुत्केरी महिलाले भत्ता

सुर्खेत – गत साउनमा जाजकोट जुनीचाँदे गाउँपालिका ५ की मनिषा गिरी सुत्केरी भइन् । प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा शिशुलाई जन्म दिइन् । स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्किइन् । स्वास्थ्य संस्थाले उनलाई सुत्केरी र गर्भवती जाँच तथा पोषण रकम गरेवापत भत्ता नदिएरै विदा ग¥यो । भत्ता लिनका लागि उनी तीन पटक स्वास्थ्य केन्द्रमा पुगिन् । तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै रित्तो हात फर्किन बाध्य भइन् । उनले अहिलेसम्म पनि सुत्केरी भत्ता पाएकी छैनन् ।

पुस २२ गते जुनीचाँदे गाउँपालिका ४ कि विमला बिष्टपनि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट सुत्केरी भइन् । उनले पनि सुत्केरी र पोषण भत्ता पाइनन् । स्वास्थ्य केन्द्रले उनलाई पनि गाउँपालिकाले भत्ता नपठाएको भन्दै रित्तै फर्काइदियो ।

मनिषा र विमला मात्रै होइन् । गत असारदेखि जुनीचाँदेका कुनैपनि सुत्केरीले भत्ता पाउन सकेका छैनन् । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी भएका हरेक आमाले दुई हजार प्रोत्साहन भत्ता, दुई हजार पोषण भत्ता र आठ पटकसम्म गर्भ चेकजाँच गराएमा प्रतिपटक एक सयका दरले आठ सय भत्ता पाउने व्यस्था छ । कुल चार हजार आठ सय रुपैयाँ सुत्केरी भएकै समयमा दिनुपर्ने व्यवस्था छ । तर जुनीचाँदेका आमाहरूले भने असारदेखि सुत्केरी भत्ता पाउन सकेका छैनन् । गाउँपालिकाले समयमै रकम निकासा नगर्दा सुत्केरीले भत्ता पाउन नसकेका हुन् ।

आर्थिक विपन्नता र अभावमा गुज्रिएका आमाहरूलाई सुत्केरी अवस्थामा पोषिलो खानका लागि सहयोग मिलोस् भन्ने उद्देश्यले सरकारले सुत्केरी र पोषण भत्ता दिँदै आएको छ । तर जुनीचाँदे गाउँपालिकाका ९८ जना सुत्केरीले भने समयै सुत्केरी भत्ता पाउन सकेका छैनन् ।

सुत्केरी भत्ता नपाएपछि विपन्न वर्गका आमाहरूले पोषिलो खानेकुरा खान पाएका छैनन् । सुत्केरी भत्तासँगै सरकारले गर्भवतीको सुरक्षाका लागि स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँच गरेवापत भत्ता दिने व्यवस्था गरेको छ ।

राज्यबाट गर्भवतीलाई प्रसुती गृहमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहनस्वरुप विभिन्न भत्ताको व्यवस्था गरेको हो । तर जनताको घरआँगनको सरकारको ढिलासुस्तीका कारण जुनीचाँदेका आमाहरूले समयमै सुत्केरी भत्ता पाउन नसक्ने वातावरण बनेको छ ।

सुत्केरी भएको सयममा पोषणयुक्त खानाका लागि भत्ता दिने नीति लिएको गाउँपालिकाले निर्धारित कार्यक्रम अनुसारको सुत्केरी र पोषण भत्ता वितरण गर्न सकेको छैन ।

सुत्केरी भएको समयमा भत्ता नपाएपछि पटक–पटक स्वास्थ्य संस्था जान बाध्य भएका छन् । ‘अहिलेसम्म त आइपुग्यो होला भनेर स्वास्थ्य चौकीमा जान्छौँ तर जहिले गएपनि भत्ता नआएको भन्दै फर्कादिन्छन्’ जुनीचाँदे ५ शन्तोसी गिरीले भनिन्, ‘घरआँगनको सरकार भएर के गर्नु गाउँपालिकाले हाम्रो पीडा बुझेन् ।’

असारमै सबै कागजात पेश गर्दापनि अहिलेसम्म भत्ता नपाएको सुत्केरीहरूको गुनासो छ । समयमै सुत्केरी भत्ता नआएका आमाहरूले फिल्ड गएका स्वास्थ्यकर्मीसँग पनि भत्ताको विषयमा सोधिखोजी गर्ने गरेका छन् । कतिपयले पटक–पटक फोन गरेर भत्ताका लागि बुझ्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

रकम निकासामा भएको ढिलाइका कारण समयमै सुत्केरी भत्ता वितरण गर्न नसकेको जुनीचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चालु २०७९/८० मा कसैलाई पनि सुत्केरी तथा पोषण दिन नसकेको स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले बताए ।

भत्ताका लागि पालिकामा ९८ जना आमाहरूको फाइल आइपुगेका छन् । कार्यालयमा आएका कागजात जाँचबुझ गरेर तत्काल रकम निकाशा लागि प्रक्रिया अगाडी बढाएको शाहीले बताए ।

राष्ट्रपतिको निर्वाचनको तयारी, बाझियो ऐन र संविधान

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुनको तेस्रो साता गर्ने आन्तरिक तयारी गरेको छ ।नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गतेसम्म रहनेछ । आयोगका सचिव गोकर्णमणि दुवाडीले पदाधिकारी बैठकले निर्णय गरेको मितिमा राष्ट्रपतिको निर्वाचन हुने बताए ।

उनले राष्ट्रपतिको निर्वाचनको मिति घोषणाका लागि पदाधिकारी बैठक कहिले बस्ने छ भन्ने सम्बन्धमा भने खुलाएनन् ।राष्ट्रपतिको निर्वाचनलाई लिएर ऐन र संविधान बाझिएको छ । राष्ट्रपतिको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ तर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम पदावधि सकिनुभन्दा एक महिना अगावै दुवै पदको निर्वाचन हुनुपर्ने उल्लेख छ।

ऐनअनुसार यही माघ २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने र त्यसका लागि पुस महिनाभित्रै निर्वाचनको मिति घोषणा गरेर आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गर्नुपर्ने थियो । तर माघ पहिलो साता बित्दा पनि आयोगले निर्वाचनको मिति घोषणा गरेको छैन ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “संविधान र ऐनमा असामञ्जस्यता छ । सुरक्षित अवतरणका लागि आयोग छलफलमा छ । छिट्टै निर्णय हुनेछ ।”आयोगले सरकारसँगको परामर्शमा राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ। यो खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

पोखरा विमान दुर्घटना : पोस्टमार्टम सकियो, दुईवटा शवको पहिचान बाँकी

काठमाडौं । गत आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकमध्ये काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि शवहरुको पहिचान भने हुन सकेको छैन । त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले शुक्रबार रातिसम्ममा सबै शवको पोस्टमार्टम सकिएको जानकारी दिए ।

उनले त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक विज्ञहरूको टोलीले मात्र पोस्टमार्टम गर्न असम्भव भएपछि पाटन, भरतपुर, भक्तपुरलगायतका अस्पतालबाट फरेन्सिक विज्ञको टोली ल्याएर पोस्टमार्टम सकिएको जानकारी दिए ।

डा. चौधरीका अनुसार शुक्रबार थप दुईवटा शवको पहिचान भएको छ। ती दुई शव रसियन नागरिक रहेका छन् ।रसियन नागरिकको शव आफन्तले बुझिसकेका छन्। अघिल्लो दिनसम्म २५ जनाको शव पोस्टमार्टम भएको थियो।

तीमध्ये १६ शवको पहिचान भएको थियो। १६ शवमध्ये १२ शव आफन्तले बुझेका थिए। “पोस्टमार्टम सकिएको छ,” फरेन्सिक विभाग प्रमुख डा। चौधरीले भने, “अब शनिबारबाट शव पहिचानमा लाग्नेछौँ।”zयो खबर आजको गोरखापत्र दैनिकमा छ ।

१३ महिनापछि हट्यो आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था

काठमाडौं । निजी क्षेत्रको चर्को विरोध र अन्तर्राष्ट्रिय दबाबपछि १३ महिनापछि नेपाल राष्ट्र बैंकले आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था हटाएको छ ।बिहीबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले एकीकृत परिपत्र जारी गर्दै यसअघि लगाएको नगद मार्जिनलाई हटाएको हो ।

राष्ट्र बैंकले २०७८ पुस ५ र २०७८ माघ २६ गते दुईपटक गरी ४८ समूह हार्मोनी कोडका करिब १४ सय वटा वस्तु आयात गर्न प्रतीतपत्र ९एलसी० खोल्दा अनिवार्य ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले गत मंसिर १७ गते निर्माणसम्बन्धी हार्मोनी कोडका ६८ वटा वस्तु आयातमा भने नगद मार्जिन हटाइसकेको थियो । वस्तु आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिनुका साथै, प्रतीतपत्र खोलेर मात्रै आयात गर्नुपर्ने व्यवस्थालाई समेत सहजीकरण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

तरलता बढ्नुका साथै वैदेशिक मुद्राको सञ्चिति घटेपछि राष्ट्र बैंकले आयातमा कडाइ गर्दै एलसीमा अनिवार्य नगद मार्जिनको व्यवस्था गरेको थियो । तर, सरकारले आयातमा कडाइ गरेको भन्दै अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतले चासो राखेका थिए ।

त्यस्तै, उद्योगी व्यवसायीले हटाउन सकारलाई दबाब दिँदै आएका थिए । अब आयातकर्ताले एलसी, ड्राफ्ट–टीटी, डीडीमार्फत् वस्तु आयात गर्न पाउनेछन् ।राष्ट्र बैंकले यसअघिसम्म एलसी खोल्दा लगाएको सीमासमेत हटाएको छ ।यो खबर आजको नेपालसमाचार पत्र दैनिकमा छ ।

थाहा पाउनुहोस विश्व इतिहासमा आजका घटनाक्रम

आज २१ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

क्युबा भ्रमण गर्ने पहिलो क्रिश्चियन धर्मगुरु
सन् १९९८ को २१ जनवरीमा क्रिश्चियन धर्मगुरु पोप जोन पल द्धितीयले पहिलो पटक क्युबाको भ्रमण गरेका थिए । उनी क्युबा भ्रमण गर्ने पहिलो पोप हुन् ।

अमेरिकामा एतिहासिक महिला प्रदर्शन
लैंगिक समानता, नागरिक अधिकार माग गर्दै सन् २०१७ को २१ जनवरीमा अमेरिकामा देशव्यापी विशाल प्रदर्शन भएका थिए । सो प्रदर्शन अमेरिकी इतिहासमै अहिलेसम्मकै ठूलो बताइएको छ । प्रदर्शनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महिलाका पक्षमा नीतिगत निर्णय गर्न ठूलो दबाब दिएको थियो ।

भियतनाम युद्ध
सन् १९६८ को २१ जनवरीमा भियतनाममा ठूलो युद्ध भएको थियो, जसलाई इतिहासमा खे सान युद्धका नाममा चिनिन्छ । यो भियतनामको इतिहासमै निकै प्रचार गरिएको युद्ध मानिन्छ । युद्धमा ५०० अमेरिकी समुद्री सेनको मृत्यु भएको थियो ।

ट्याक्टरमा लोड गरेर लैजादै गरेको अवैध सालसहित एक जना पक्राउ

महोत्तरी, ७ माघ-प्रहरीले अवैध सालको काठ वरामद गरेको छ । शुक्रबार महोत्तरीको बर्दिबास स्थित वडा न.१४ को भित्री सडकवाट ट्याक्टरमा लोड गरेर लैजादै गरेको ७९.१ क्युफिट सालको काठ वरामद गरेको हो ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको प्रहरीले २-०३-००१ त १११३ नम्बरको ट्याक्टरमा लोड गरेको काठ सहित उक्त ट्याक्टरका चालकलाइ पनो पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वडा न.१४ का नै २३ बर्षिय विशाल मगर छन । उन्लाइ पक्राउ गरि थप अनुसन्धानको लागी सव डिभिजन कार्यालय माइस्थान पठाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ । उनलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो ।

कर्तब्यज्यान मुद्दामा तारेख गुजारी फरार महतोलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । उनी महोत्तरी-१ बाट निर्वाचित सांसद हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई युएई र कतारका राजदूतले भेटे

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त अरब इमिरेट्स (युएई) र कतारका राजदूतले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री दाहाल र युएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूतबीच पनि दुई देशको सम्बन्ध, आसपी हित र चासोका विषयमा कुराकानी भएको थियो ।युएई र कतारका राजदूतले नेपालको प्रधानमन्त्रीमा नियुक्त हुन भएका प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

ठोरी गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

काठमाडौं – पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

तामाङ समुदायले लिखित रूपमै बिदाको माग गरेकोले तीन दिनसम्म बिदा दिने निर्णय भएको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिए ।

कालिगण्डकी साहित्य परिषद्‍द्वारा स्रष्टा सम्मान

काठमाडौं – कालिगण्डकी साहित्य परिषद, कालिका चितवन ले एक समारोहबीच स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ७ जना स्रष्टालाई सम्मान अर्पण गरिएको थियो भने विभिन्न कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए ।

संस्थाका अध्यक्ष गणेश शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन अनिता अर्यालले गरेका थिए । रामलाल कुमालले  स्वागत मन्तव्य  व्यक्त गरेको समारोहमा सम्मानित प्रतिभाहरूको जीवनी र व्यक्तित्वमाथि पनि प्रकाश पारिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केशवराज आमोदीले  कालिगण्डकी साहित्य सम्मान (२०७९) बाट   केदारनाथ खनाल, लकाश पौडेल, पूर्णप्रसाद अधिकारी, चिरञ्जीवी दाहाल, गोकर्ण मल्ल र सामना पहाडलाई सम्मान पत्र र उपहार प्रदान गरेका हुन् ।

कार्यक्रममा कविहरू धनराज गिरी, ईश्वरी ओझा, यमुना न्यौपाने, हरिप्रसाद गजुरेल, जगन्नाथ पण्डित, नम्रता, होमनाथ घिमिरे, श्यामजीलगायतका कविहरूले आ-आफ्नो कविता वाचन गरेका थिए ।

नवलपुरमा दुई गैँडा मृत अवस्थामा फेला

काठमाडौं – नवलपुरमा दुई गैँडा मृत फेला परेका छन् । मध्यविन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई गैँडा मृत अवस्थामा फेला परेको हो । शुक्रबार बिहान मृत अवस्थामा भेटिएका दुई गैँडामध्ये एउटाको खाग निकालिएको जनाइएको छ ।

गैडा चोरी शिकारीमा परेको हुन सक्ने आशङ्का गरिएको स्थानीयवासीले बताएका छन् । गैँडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको जनाइएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (अछाम) जिल्ला कार्य समिति गठन

काठमाडौं – नेपाल राष्ट्रिय कर्मचारी संगठन (अछाम) जिल्ला कार्य समिति गठन भएको छ । पाँचौं जिल्ला अधिवेशनबाट झपटबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा दिलाकुमारी साउद, तपेन्द्र साउद र दीपक पाण्डे निर्वाचित भएका छन् । यस्तै सचिवमा धुर्व विक, सहसचिवमा रमेश न्यौपाने, कोषाध्यक्षमा जौला धामी निर्वाचित भएका छन् ।

सदस्यहरूमा भूपेन्द्र बुढा, शंकर थापा, होम साउँद, नरेन्द्र बुढा, भरत शाही, नरेन्द्र वोहरा, दिल्ली रावल र कालु विक निर्वाचित भएका छन् । समितिका निवर्तमान उपाध्यक्ष हर्कबहादुर शाहीको अध्यतामा नयाँ कार्य समिति गठन भएको हो ।

इलामको एक जंगलमा अधवैसे पुरुषको शव फेला

बिर्तामोड – इलामको माई नगरपालिका स्थित मैनाचुली सामुदायिक बनको जंगलमा बेवारिसे अवस्थामा शव फेला परेको छ । दाउरा लिन गएका स्थानीयले बिहीबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खडकाले जानकारी दिए ।

अधवैसे उमेरका ती व्याक्तिको शवको पहिचान भएको छैन । प्रहरी निरीक्षक  खड्काका अनुसार ती व्यक्तिको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को पानी ट्यांकीदेखि २ किलोमिटर उत्तर जंगलको खोल्सामा शब फेला परेको हो ।

गोदावरीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

धनगढी – कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सहचालक कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० का ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो ।

शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । चालक पुनर्वास नगरपालिका वडा नम्बर १० का ४१ वर्षीय सत्तु राना पनि घाइते भएका छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मन्त्री भण्डारी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा रहेका निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सुक्खा बन्दरगाहका विषयमा राजदूत श्रीवास्तवको ध्यानाकर्षण गराएका थिए । उनले नेपालमा लगानी गर्ने उद्योगी व्यवसायीका लागि सरकारले सहज वातावरण बनाउने बताए ।

त्यस्तै राजदूत श्रीवास्तवले मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिँदै दुई देशबीच व्यापार सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले पारवहन सम्झौताका विषयमा अध्ययन गर्नुपर्ने उल्लेख गर्दै नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मालाई विश्वासको मत

सुर्खेत, ६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको १० औं दिनमा उनले विश्वासको मत पाएका हुन् ।

कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा उनले विश्वासको मत पाएका हुन् । ४० सदस्यीय प्रदेश सभामा शर्मालाई २५ प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएको हो ।  बैठकमा मुख्यमन्त्री शर्माले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा  २५ र विपक्षमा १४ मत खसेको हो ।

उनलाई स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले समेत विश्वासको मत दिएका छन् ।  उनले माओवादी केन्द्रको १३, एमालेको ९, एकीकृत समाजवादीको १, राप्रपाको १ मत गरि २५ मत प्राप्त गरेका हुन् ।

नेपाली कांग्रेसका १४ जना प्रदेशसभा सदस्यले भने विपक्षमा मतदान गरेका हुन् ।

कर्णाली प्रदेश सरकारलाई कांग्रेसले जोगाउँछ : पूर्वमुख्यमन्त्री शाही

सुर्खेत, ६ माघ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकार ढल्न लागेमा कांग्रेसले जोगाउने बताएका छन् ।

प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत माग्दै गर्दा त्यसको जवाफमा शाहीले अहिले सहयोग गर्न नसकिने, तर सरकार ढल्न लागेमा सहयोग गरेर जोगाउने प्रतिबद्धता व्यक्त गरे ।

‘अहिले सरकारलाई बहुमत ठिक छ, योभन्दा बढी दिएमा फेरि गिलासबाट पानी पोखिएझैँ होला । त्यसैले हामी पानि पोख्न चाहँदैनौँ , अहिले तपार्इहरुसँग नै गिलास भर्ने पानी ठिक छ,’ शाहीले भने, यदि मुख्यमन्त्रीज्यू अल्पमतमा पर्नुभयो भने त्यतिबेला हामी बहुमत बनाउनका लागि ढाल बनेर सहयोग गर्नेछौँ ।’

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री शर्माले आफूलाई विश्वासको मत दिन आग्रह गर्दै कर्णालीको विकासका बारेमा आफ्ना योजना सुनाएका थिए । ती योजनाहरु सुन्दा आफू  ‘कन्फ्युज’ भएको नेता शाहीले टिप्पणी गरे ।

‘म कन्फ्युज भइरहेको छु । मुख्यमन्त्रीले विश्वासको मत माग्दै हुनुहुन्छ वा कुनै नीति कार्यक्रम योजना पढिराख्नु भएको छ,’ शाहीले भने, ‘हप्ता दिनदेखि दुई जना मन्त्री विनाविभागीय राख्नुभएको छ । मन्त्री नियुक्त गर्ने विषयमा केन्द्रको मुख ताक्ने नेताले कसरी आफ्ना योजनाहरु पूरा गर्लान् ?’

आफूलार्इ विश्वासको मत दिन चाहना भए पनि संसदको बसाइ व्यवस्थापनका कारणले पनि विश्वासको मतको विपक्षमा मतदान गर्न बाध्य पारिएको शाहीले बताए । ‘मलाइ विश्वासको मत दिन मन छ । तर, म बस्ने सिट अगाडी विपक्षी दल लेखिएको छ,’ शाहीले भने ।

कुराले मात्र कर्णालीकाे विकास हुँदैन – यामलाल कँडेल

सुर्खेत, ६ माघ ।  नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फोटो टाँस्न र समय बिताउनमात्रै खोजिएको हो भने अन्यथा कर्णाली विकास हुन नसक्ने बताएका छन् । मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने सैद्धान्तिक छलफलमा बोल्दै नेता कँडेलले मुख्यमन्त्रीको फोटो टाँस्न र समय बिताउन मात्रै सहज भए पनि विकास गर्न कठिनाइ हुने बताए ।

मुख्यमन्त्री शर्माले विश्वासको मत माग्दा सुनाएका योजनाबारे प्रतिक्रिया दिँदै नेता कँडेलले भने, ‘पढेजस्तै हो भने सबै कुरा देखिए । यी मनचिन्ते झोलाले विकास गर्न सकिँदैन ।’

प्राथमिकता प्रदेश तहको हो वा वडा तहको संरचना हो हेक्का राख्नुपर्ने अवस्था रहेको बताए । ‘यही वा त्यही भन्दिनँ । राजधानी पहिलो पटक तोक्यौं । तोक्नका लागि मात्र तोकिएको होइन । हिजोको संरचना बनेका कारणले गर्दा साइन बोर्ड राख्ने ठाउँ सुर्खेतमा थियो । तर, प्राथमिकता प्रदेश संरचनाअनुसार निर्माण नभएको हिजो तपसिलको विषय बन्यो अब तपाईं के गर्नु हुन्छ ? ’ उनले भने, ‘दानदातव्यबाट कर्णाली बनाउने कुरा गर्‍यौं भने हामी भिखारी बन्नुबाहेक अरु हुँदैन ।’ उनले कर्णाली बनाउने अभिभारा हो भने समय बिताउने कुरा नगर्न उनले आग्रह गरे ।

प्रदेशसभाको अघिल्लो कार्यकाल कर्णाली बनाउने कुरामा होइन आफू बन्ने कुरामै ध्यान केन्द्रीत भएको बताए । ‘अघिल्लो पटक हुने काम गर्‍यौं । नहुने काम पनि गर्‍यौं,’ कँडेलले भने, ‘कतिपयले किन थाहा नपाएको होला भनेर जिज्ञासा राख्ने गरेका छन् । तर, आफुले थाहा पाएर नगरेका कारण अरुले पद प्राप्त गरेकाहर”को हालत देखेको छु ।’

उनले योजना छनोटको विधि र तरिका बारे प्रश्न गरे । ‘निश्चित मान्छेलाई पालन पोषण गर्नेगरि कृषि मन्त्रालयबाट हाइटेक नर्सरी सेटिङमा बनाउने काम भए । त्यसकारण अब योजना छनोट गर्ने तरिका र विधि के हो ?  उनले प्रश्न गर्दै भने ।

कर्णालीमा पर्याप्त स्रोतसाधन चाहिने जति भएको बताए । उनले यहाँको खर्च गर्ने स्रोत बढाउनुपर्ने बारे छलफल चलाउनुपर्ने धारणा व्यक्त गरे । पुँजीगत खर्च बढाउने कुरा कर्णालीका लागि चुनौतीको विषय भएको उनले बताए ।

देउवा सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध सच्याउनुपर्छ : केपी ओली

काठमाडौं, ६ पुस । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध वर्तमान सरकारले सच्याउनुपर्ने बताएका छन् ।

पार्टीको परराष्ट्र विभागले शुक्रबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धनको   उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका ओलीले देउवा सरकारले भताभुंग बनाएको कूटनीतिक सम्बन्धलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले सच्याउनुपर्ने बताएका हुन् ।

प्रचण्ड सरकारले छिमेकसँग सन्तुलित, विश्वसनीय र भरपर्दाे सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिएका ओलीले छिमेकसँग बाहिर एउटा र भित्र अर्को क्रियाकलाप गर्न नहुने बताए ।

नेपालको भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने बताएका उनले छिमेकी मुलुकको चासो र चिन्तालाई नेपालले सम्बोधन गर्नुपर्ने बताए । साथै देशको सार्वभौमसत्ता र स्वाधिनतामा नेपालले सम्झौता नगर्ने अध्यक्ष ओलीको भनाइ छ ।

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ६ माघ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएसँगै उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए । एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उनलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयदेखि जन्डिसजन्य रोगबाट पुन पीडित छन्  ।

शुक्रबार नै सभामुख देवराज घिमिरे अस्पताल पुगेर पुनकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

उपसभामुखमा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता (फोटो फिचर)

काठमाडौं, ६ माघ । सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् ।


विदेशमा रहेका नेपालीको हितका पक्षमा काम गर्छु – प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितका पक्षमा काम गर्ने बताएका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताए ।

उनले भने, “म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ । विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम भएका थिए । यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु ।”

उनले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गरे । उनले भने “अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु । यो व्यवसाय संवेदनशील छ । यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ । यसभित्र थुप्रै विकृति र विसङ्गति छन्, त्यसको अन्त्य गर्नुपर्छ । मेरो विश्वास छ, सरकारको प्रयासमा तपाइँहरूको सा हुनेछ ।”

बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा नेपालकी पुष्पालाई स्वर्ण

काठमाडौं । बंगलादेशको ढाकामा शुक्रबार भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ नेपालकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् ।

उनले ४२.१९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भइन् । श्रीलंकाकी खेलाडी दोस्रो भएकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन सफल भएकी छन् ।

पुस्पा बंगबन्धु शेष मुजिम ढाका म्याराथन  २०२१ कि पनि स्वर्ण पदक विजेता हुन् भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् । पुस्पाले १३औँ सागमा रजत पदक जितेर पदक जित्ने कीर्तिमानीसमेत बनाएकी छन् ।