`

अस्पातल पुगेर भेटे सभामुख घिमिरेले वर्षमान पुनलाई

काठमाडौं, ६ माघ । सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् ।

जण्डिससम्बन्धी समस्याबाट नेता पुन लामो समयदेखि पीडित छन् । केही समयअघि पुनले चीन पुगेर स्वास्थ्य परीक्षण गराएका थिए ।

कैलालीमा कोटा निर्धारण गरिएको भए पनि धान पाउनै मुस्किल

धनगढी – सरकारले कैलालीबाट हालसम्म ३० हजार क्वीन्टल धान खरिद गरेको छ । कैलालीका लागि ४० हजार क्वीन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको भए पनि धान खरिद गर्ने अनुमति पाएको खाद्य व्यवस्था कम्पनीले बिहीबारसम्म ३० हजार क्वीन्टल धान मात्र खरिद भएको जनाएको छ । कैलालीको मोहनपुर, टीकापुर र भजनीबाट धान खरिद सुरु गरिएको भए पनि सोचेअनुसारको धान भने नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको भनाइ छ ।

‘यसपटक एक दुई सातामै कोटाको धान आउँछ होला भन्ने अनुमान गरिएको थियो,’ धनगढीस्थित मोहनपुर धान खरिद केन्द्रका कर्मचारीले भने, ‘तर सोचेभन्दा धेरै कम मात्रै धान आएको छ, यसको कारण केहो बुझ्न सकिएको छैन ।’

विगतका वर्षहरुमा धान खरिद सुरु भएपछि खरिद केन्द्रमा किसानको लाइन हुने गरेको भए पनि यसपटक भने किसानले लाइन बस्नु नपरेको ती कर्मचारीले बताए । ‘सुरुका एक दुई दिन धान ल्याउने किसानको अली चाप रहेको थियो,’ उनले भने, ‘त्यसपछि फाटफुट मात्रामा मात्रै धान आउने गरेको छ । पछिल्लो समयत दिनमा एक दुई जना किसान मात्रै आउने गरेका छन् ।’

सरकारले ढिलाेगरी धान खरिद गरेका कारण यसपटक सोचेअनुसार धान नआएको हुन सक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीकी प्रमुख इन्जिला बस्नेतले बताइन् । तर, बिक्रीका लागि आउने क्रम भने नरोकिएको उनले बताइन् । ‘टीकापुरमा गोदाम अभावका कारण धान खरिद गर्न रोकेका छौं,’ उनले भनिन्, ‘त्यहाँ केही किसान अझै हामीसँग सम्पर्कमा छन्, धनगढीमा फाटफुट धान आइरहेको छ, त्यसैले कोटाअनुसार धान आउनेमा आशावादी छौं ।’

यसपटक धान खरिद प्रक्रिया अली ढिलो सुरु भएका कारण पनि प्रयाप्त धान नआएको अनुमान गरिएको उनले बताइन् । ‘मंसिरको सुरुमै प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन भएका कारण कात्तिकदेखि नै चुनावको तयारीमा सरकारी निकाय जुट्नुपर्ने भयो,’ उनले भनिन्, ‘जसका कारण धान खरिदमा केही ढिलाइ भएको हो ।’

टीकापुरको गोदाममा रहेको धान पिसानीका लागि बोलपत्र आह्वान भइसकेको उनले बताइन् । ‘धान पिसानीका लागि बिहीबार १५ दिने सूचना निकालेका छौं,’ उनले भनिन्, ‘पिसानको ठेक्का लागेपछि टीकापुरको गोदाम खालि हुनेछ, त्यसपछि पुनः टीकापुरबाट पनि धान खरिद सुरु गरिनेछ ।’
यस वर्ष सरकारले ढिलो गरी धान खरिद प्रक्रियाअघि बढाउँदा किसानले व्यापारीलाई सस्तोमा धान बेचेका थिए । जसकारण अहिले खाद्य संस्थानलाई कोटाको धान पाउन पनि समस्या भइरहेको छ ।

‘गहुँका लागि आवश्यक पर्ने मल खाद, बिउ तथा चाडवाडमा खर्चको जोहो गर्न किसानले कात्तिकमै धान बेच्नु पर्ने हुन्छ,’ धनगढी–१३ का किसान शिवचरण रानाले भने, ‘त्यतिबेला सरकारले कुनै निर्णय गरेन, जब हामीले सस्तो मूल्यमा व्यापारीलाई धान बेचिसक्छौं, अनि मात्रै धान खरिद सुरु भयो, सरकारले ढिलो गरी धान खरिद गर्दा त्यसले किसानलाई नभई व्यापारीलाई फाइदा हुन्छ ।’

कात्तिकमा व्यापारीले किसानबाट सस्तोमा धान किनेर त्यही धान सरकारलाई महंगोमा बेच्ने गरेको उनको भनाइ छ । ‘किसानले व्यापारीलाई बढीमा २० रुपैंयामा धान बेचेका छन्,’ उनले भने, ‘किसानबाट सस्तोमा खरिद गरेको धान व्यापारीले २९ रुपैंयामा सरकारलाई बेच्दछ, व्यापारीलाई फाइदा पुग्ने गरी सरकारले नै ढिलो धान खरिद गर्ने गरेको छ ।’

सरकारले कात्तिक १६ गतेको मोटा धानको न्युनतम मूल्य २ हजार ९६७ र मध्यम धानको मूल्य ३ हजार १२८ कायम गरेको थियो । कात्तिकमा मूल्य निर्धारण गरे पनि सरकारले धान खरिद भने मंसिर २७ गते बाट मात्रै सुरु भएको थियो । ‘सरकारले पुसबाट मात्रै धान गरिद गर्न सुरु गर्‍यो,’ धनगढी–३ का रामदाश रानाले भने, ‘त्यतिसम्म अधिकांश किसानले धान बेचिसकेका थिए, अहिले सरकारले किसानको नभई व्यापारीको धान खरिद गरिरहेको छ ।’

‘दुई वर्षअघि मोटो धानको मूल्य २७ रुपैंया निर्धारण गरेको थियो,’ उनले भने, ‘त्यतिबेला व्यवपारीले पनि राम्रै मूल्य दिएका थिए, गत वर्ष बर्षाले भिजेको भन्दै सरकारले धाननै खरिद नगर्दा व्यापारीलाई सस्तोमा धान बेच्याैँ, यस वर्ष सरकारले समयमा खरिद सुरु नगर्दा व्यापारीलाई नै सस्तोमा बेच्नु पर्‍यो ।’

धान बेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण व्यवपारीलाई सस्तोमा धान बेच्नुपरेको उनले बताए । उनका अनुसार व्यापारीले किसानबाट बढीमा २० रुपैंयामा धान खरिद गरेका थिए ।

‘धान बेचेर आएको पैसाबाट खेत जोत्ने र मलखाद किन्नु पर्दछ,’ कैलालीको भजनी नगरपालिका–८ लालबोझिका किसान दिनेश डगौराले भने, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ला भनेर कुरेर बसिरहँदा गहुँ छर्न ढिलो हुने भएपछि यहाँका किसान सस्तोमा धान बेचेर हिउँदे लगाएका हुन् ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २०७७ मा धानको समर्थन मूल्य मोटो धान प्रतिक्वीन्टल २ हजार ७३५ र मध्यम धानको मूल्य प्रतिक्वीन्टल २ हजार ८८५ तोकेको थियो । सो वर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो ।

गत वर्ष  मोटो धानको मूल्य २ हजार ७५० र मसिनो धानको मूल्य २ हजार ८०० निर्धारण गरिएकामा कात्तिकमा आएको बाढीका कारण धान बिग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनीले धान खरिद नै गरेन । २०७७ मा कैलालीका ४ वटा स्थान (धनगढी, टीकापुर, जोशीपुर र भजनी) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गरेको थियो ।

कक्षा १२ मा पढ्ने अविनाशले बनाए ‘इ–स्कुटर’

लमजुङ – मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित ईशानेश्वर मावि कक्षा १२ मा पढ्ने अविनाश गुरुङले स्कुटर बनाएका छन् । उनी अहिले १७ वर्षका भए ।

मध्यनेपाल–८ डडुवामा कक्षा ८ पास गरेपछि ईशानेश्वर माविमा भर्ना भएका उनले प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषय रोजे । तर उनको मन भने इन्जिनियरिङ विषयमा मोडियो । त्यतिबेला नै डोजर बनाएर सबैलाई चकित पारेका अविनाशले यसपटक ‘इलेक्ट्रिक स्कुटर’ बनाएका हुन् ।

अविनाशले ‘इलेक्ट्रिक स्कुटर’ लाई मेला महोत्सवतिर पनि प्रदर्शन गर्ने गरेका छन्  । यसमा इलेक्ट्रिक भेइकलको मोटर जडान गरिएको छ । अगाडि र पछाडिको पांग्रा सानोखाले साइकलको हो । दुवै पांग्रामा ब्रेक छ । उनले अँध्यारोमा गुडाउन मिल्ने गरी लाइट पनि राखेका छन् । टिन र ग्रिल उद्योगमा पाइने फलामे सामग्रीबाट यो ‘इलेक्ट्रिक स्कुटर’ बनाउन एक महिना लागेको उनले बताए ।

‘दिउँसो त स्कुल जानुपर्‍यो । साँझबिहानको समयमा बनाएको हुँ,’ उनले भने । उनले यसको अध्ययन भने इन्टरनेटको माध्यमबाट गरेको बताए ।

आफ्नै ज्ञान र खर्चमा सामग्री संकलन गरी करिब ५५ हजार रुपैयाँको लागतमा बनाइएको स्कुटरलाई उनले विद्यालय आउजाउ गर्न प्रयोग गर्छन् । स्कुटर एकपटक चार्ज गरेपछि तीनदेखि चार किलोमिटरसम्म गुड्ने उनी बताउँछन् । ‘अहिले स्कुल जान–आउन यही स्कुटर प्रयोग गर्छु । हिँडेर १५ मिनेट लाग्ने स्कुल अहिले ५–६ मिनेटमा पुगिन्छ,’ उनले भने । स्कुटरमा उनले २४ भोल्ट दुई सय ५० वाटको मोटर प्रयोग गरेका छन् ।

शिक्षक रमेशचन्द्र घिमिरेका अनुसार अविनाशले राम्रो कोरियोग्राफी गर्छन् । नाटकमा पनि अभिनय गर्छन् । चित्र र कलात्मक पेन्टिङसमेत गर्छन् । सबैभन्दा बढी विज्ञान सामग्री अध्ययन र निर्माणमा उनको समय जान्छ । अविनाशले गत वर्ष विद्युतीय रोबोटसमेत तयार पारे । रकेट पनि बनाएका थिए ।

प्रचण्डले मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजारवटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।

‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु,’ उनले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने उद्देश्यले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’

राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षमा एक हजारभन्दा बढी मिर्गौला प्रत्यारोपण गरिसकेको छ । अहिले दैनिक केन्द्रमा चारदेखि आठजनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । यस्तै, दैनिक डेढ सयभन्दा बढी डायलाइसिस हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

सभामुख घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग

काठमाडौं, ६ माघ । नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

घिमिरेले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन् । उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए । घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत थिए । उनले आजै पद तथा गोपनीयताको शपथपछि पदभार सम्हाल्ने कार्यक्रम छ ।

मधेस प्रदेशमा होटल व्यवस्थापकलाई एक दिने तालिम

महोत्तरी – होटल तथा पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको संयोजकत्वमा मधेस प्रदेशका होटल व्यवसायीहरुलाई तालिम  दिइएको छ ।

पर्यटन प्रवर्द्धन र होटल व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले प्रदेशभरिका होटल व्यवस्थापकलाई एक दिने व्यवस्थापन र अतिथि सत्कार तालिम दिइएको हो । होटल व्यवस्थापन क्षेत्रमा लामो समयदेखि काम गरेका न्याथम कलेजमै अध्ययन गरेका दक्ष प्रशिक्षकहरुले दिएको तालिममा प्रदेशभरिका झन्डै तीन सयजना सहभागी भएका थिए ।

२८ माघदेखि वीरगन्जको होटल भिस्वाबाट शुभारम्भ भएको उक्त तालिम आठ दिनपछि बर्दिबासको गौतम होटलमा आएर समापन गरिएको छ ।

निरज सुवेदी, सतिश मिश्र, श्याम थापामगर, निसाल पोखरेल र टासी शेर्पाले दिएको उक्त प्रशिक्षण होटल व्यवसायी र व्यवस्थापकका लागि निक्कै उपयोगी सावित भएको प्रशिक्षार्थीहरुले बताए । काठमाडौं विश्वविद्यालयबाट सञ्चालित न्याथम कलेज मधेस प्रदेशमै पहिलोपटक बर्दिबासमा स्थपना भएको हो ।

होटल तथा पर्यटनसम्बन्धी तालिम र एकेडेमिक कक्षाहरु सञ्चालन गरी रोजगारीको समेत सुनिश्चित गर्दै आएको न्याथम राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित कलेज मानिन्छ । न्याथमको सहकार्यमा मधेस प्रदेशमा यस्ता तालिम सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले बताए। बिहीबार भएको समापन कार्यक्रममा न्याथम कलेजका शिक्षक, होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरी र मधेस प्रदेशका पदाधिकारीलगायतको उपस्थिति थियो ।

राष्ट्र बैंकले हटायो आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था

काठमाडाै‌ – नेपाल राष्ट्र बैंकले एक वर्षपछि आयातको क्रममा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ।

मुलुकको विदेशी मुद्राको सञ्चितिमा ह्रास आएसँगै राष्ट्र बैंकले गत वर्षदेखि आयातमा लगाउँदै आएको अनिवार्य नगद मार्जिनको व्यवस्था हटाएको छ । एक वर्षदेखि आयातको प्रतिपत्रमा ५० देखि ७० प्रतिशतसम्मको रकम व्यवसायीले आफैंले हाल्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो । बिहीबार परिपत्र जारी गर्दै बैंकले यस्तो व्यवस्था ल्याइको हो ।

राष्ट्र बैंकले २०७८ पुस र माघमा दुईपटक गरेर ४८ समूहका हार्मोनी कोडका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो । तर, अझै पनि राष्ट्र बैंकले कतिपय वस्तुहरुमा आयातमा नगद मार्जिनको व्यवस्था कायमै राखेको छ ।

किम कार्दासियनले किनिन् डायनाको नेकलेस

लसएन्जल्स – अमेरिकी टिभी रियालिटी स्टार र मोडल किम कार्दासियनले बेलायती राजकुमारी डायनाको एउटा नेकलेस किनेकी छन् । उनले यो नेकलेस लिलामीमा किनेकी हुन् । अक्सन हाउस सोथबीका अनुसार यो नेकलेसलाई सन् १९२० मा ब्रिटिस ज्वेलर गेरार्डले बनाएको थियो ।

यसलाई लन्डनमा एक लाख ६२ हजार ८ सय डलरमा बेच्नुपर्ने थियो । लिलामीमा चार बिडरले बोली लगाएका थिए, तर अन्तिम पाँच मिनेटमा किमले सर्वाधिक बढी बोली लगाएर किनेकी हुन् । यो नेकलेसलाई दिवंगत राजकुमारी डायनाले लगाएकी थिइन् ।

किमले हीराजडित निलम अट्टाल्लाह क्रस नेकलेस करिब एक लाख ९७ हजार चार सय ५३ डलरमा किनेकी हुन् । सोथबी लन्डनका ज्वेलरी प्रमुख क्रिस्टियन स्पोफोर्थले दिवंगत डायनाले लगाएको यो नेकलेस निकै कमैमात्र बजारमा आउने गरेको बताए । ‘अट्टालाह क्रस जस्तो एक थान, जो निकै रङ्गीन, बोल्ड र विशेष छ’, उनले भनेका छन् ।

डायनाले पेडेन्टलाई सन् १९८७ मा एक च्यारिटी गालामा लगाएकी थिइन् । नेकलेस यसको वास्तविक मूल्यभन्दा दुई गुणा बढीले बिक्री भएको हो । किम यस्तो ऐतिहासिक वस्तु किन्न सोखिन छिन् । उनले मर्लिन मुनरीको एक लुगा पनि लिलामीमा किनेकी थिइन् । त्यो लुगालाई उनले मेट गालामा लगाएकी थिइन् । मर्लिनको यो ड्रेस विशेष हुने कारण यो होकि उनले सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको जन्मदिनमा लगाएकी थिइन् ।

सभामुख घिमिरेले बिहान ११ बजे शपथ लिने, दिउँसो पदभार सम्हाल्ने

काठमाडौं, ६ माघ । सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । शुक्रबार बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिने कार्यतालिका छ ।

शपथ लिएलगत्तै उनी लैनचौरमा रहेको सहिल स्तम्भमा माल्र्यापण गर्न जाने भएका छन् । त्यसपछि साढे १२ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उनले पदभार सम्हाल्ने कार्यक्रम छ ।

घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित भएका थिए । दुई सय ६८ सांसद उपस्थित भएकामा उनले एक सय ६७ मत प्राप्त गरेका थिए । उनको विपक्षमा एक सय मत परेको थियो ।

वितरणतर्फको विद्युत चुहावट ७.४९ प्रतिशतमा झरेको प्राधिकरणको दाबी

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारेको छ ।
नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष १.७४ प्रतिशत विन्दुले घटाइएको छ । गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत चुहावट ९.२३ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८÷७९मा वितरणतर्फको समग्र विद्युत चुहावट १०.८६ प्रतिशत थियो ।

चालू आवको मंसिरसम्ममा वितरण प्रणालीमा ४ अर्ब १४ करोड ७५ लाख युनिट विद्युत प्राप्त भएकोमा ३ अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत बिक्री भएको छ । ३१ करोड ७ लाख ७९ हजार युनिट विद्युत चुहावट भएको छ ।

मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट ४.५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मंसिरसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १२.०५ प्रतिशत छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १५.३८ प्रतिशत थियो ।

प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकोमा अहिले घटाएर ७.४९ प्रतिशतमा झार्न सफल हुुनु ठूलो उपलब्धि भएको बताउनुभयो । प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको  कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

‘यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ हुँदा  चुहावट घटेको हो’, घिसिङले भने, ‘हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसन, र फिडर लाइनहरूको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काममा गरिएको ठूलो लगानीको नतिजा हो ।’

जाडोमा पहाडी  र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्न सक्ने उल्लेख गर्दै घिसिङले यसलाई ध्यान दिंदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको बताए ।

सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ ।

सबैभन्दा बढी विद्युत चुहावट मधेस प्रदेशमा

प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको  छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरूको मंसिरसम्ममा समग्र विद्युत चुहावट १२.८० प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा १२.९७ प्रतिशत थियो । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४४.८३ प्रतिशत विद्युत चुहावट रहेको छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत चुहावट ४३.८२ प्रतिशत थियो ।

रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत चुहावट ४०.५५ प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट ७.२२ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट ३७.८२ प्रतिशत छ । गत वर्ष त्यस केन्द्रको चुहावट ३९.८० प्रतिशत थियो । महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ३७.६१ प्रतिशत रहेकोमा यस वर्ष ३४.५१ प्रतिशत रहेको छ ।

प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रको मंसिरसम्मको समग्र विद्युत चुहावट ७.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा चुहावट ९.९४ प्रतिशत थियो । प्रादेशिक कार्यालय अन्तर्गत सबैभन्दा बढी विद्युत चुहावट मोरङको रङगेली वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत चुहावट २०.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १५.६० प्रतिशत थियो ।

बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौडा मातहतका ६ वटा वितरण केन्द्रहरूको  अघिल्लो वर्षको मंसिरसम्ममा ४ प्रतिशत रहेको समग्र विद्युत चुहावट यस वर्ष सोही अवधिमा ४.५३ प्रतिशत रहेको छ । डिभिजन कार्यालय अन्तर्गत सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २४.६४ प्रतिशत विद्युत चुहावट रहेको छ । गत त्यस केन्द्रको ३०.१४ प्रतिशत चुहावट थियो ।

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रहरको समग्र विद्युत चुहावट ५.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७.४७ प्रतिशत थियो । प्रादेशिक कार्यालय काठमाडौं मातहत सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २१.३७ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको ३१.९३ प्रतिशत चुहावट थियो ।

गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १२ वटा वितरण केन्द्रहरूको गत वर्षको मंसिरसम्मको समग्र विद्युत चुहावट ७.९१ प्रतिशत रहेकोमा यस वर्ष ६.४३ प्रतिशत रहेको छ । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट म्याग्दीको तातोपानी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष ५.७१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४१.७८ प्रतिशत पुगेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रहरूको समग्र विद्युत चुहावट  ६.०२ प्रतिशत रहेको छ । गत वर्ष ९.४८ प्रतिशत थियो । कार्यालय अन्तर्गत  सबैभन्दा बढी चुहावट गुल्मी वितरण केन्द्रको १९.७९ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १९.९९ प्रतिशत थियो ।

लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका ९ वटा वितरण केन्द्रहरूको गत वर्षको मंसिरसम्ममा ७.८० प्रतिशत रहेकोमा यस वर्ष ३.९७ प्रतिशत रहेको छ । कार्यालय अन्तर्गत सबैभन्दा बढी विद्युत चुहावट रोल्पा वितरण केन्द्रको १४.९० प्रतिशत रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट १९.२९ प्रतिशत थियो ।

कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ७ वटा वितरण केन्द्रहरूको समग्र विद्युत चुहावट १०.५८ प्रतिशत रहेको छ । गत वर्ष १३.३२ प्रतिशत थियो । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष २७.१३ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३६.६५ प्रतिशत पुगेको छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत १२ वटा वितरण केन्द्रहरूको मंसिरसम्मको समग्र विद्युत चुहावट ५.९८ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा चुहावट ५.७६ प्रतिशत थियो । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट बझाङ वितरण केन्द्रको रहेको छ । गत वर्ष १९.७७ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २१.९१ प्रतिशत पुगेको छ ।

शाहरुखको ‘पठान’ सुपरहिट हुनसक्ने यी पाँच कारण

मुम्बई – अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ । जब यो फिल्मको टिजर रिलिज भयो, त्यो समयदेखि नै फ्यानका लागि फिल्म प्रतिक्षाको विषय बनेको छ ।

फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा ल्यायो । गीतले अश्लीलतालाई प्राथमिकता दिएकोसम्म आरोप लाग्यो । यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । यहाँ फिल्मका पाँच किस्सा प्रस्तुत छ, जसलाई फिल्म सुपरहिट हुने आधार मानिएको छ ।

शाहरुख खानको लुक्स

फिल्ममा शाहरुखको लुक्स निकै अलग रूपमा देखाइएको छ । उनी लामो कपालमा निकै ‘कुल’ देखिएका छन् । यो फिल्मकै लागि शाहरुखले कैयौं महिनासम्म कपाल नै काटेका थिएनन् ।

कलाकारलाई तालिम

फिल्मका लागि बलिउड कलाकारलाई निकै कडा तालिम दिइएको थियो । फिल्मका लागि उनीहरूले हिउँमा बाइक चलाउने र कुदिरहेको रेलमाथि हिँड्ने जस्ता तालिम दिइएको थियो । उनीहरुले कडा मेहनत गरेर लिएको तालिमलाई सुटिङमा पनि त्यसरी नै पूरा गरेका थिए ।

दीपिका पादुकोणको एक्सन

फिल्ममा दर्शकले अभिनेत्री दीपिका पादुकोणको दमदार एक्सन हेर्न पाउँछन् । फिल्ममा शाहरुखको भन्दा बढी एक्सन दीपिकाको रहेको बताइएको छ ।

प्रि–प्रोडक्सन

फिल्मको प्रि–प्रोडक्सनमा निकै समय लागेको थियो । अर्थात झन्डै दुई वर्ष निर्माण युनिटले प्री प्रोडक्सनमै समय बितायो । यसका लागि उनीहरूले विश्वभरका विभिन्न स्थानको चक्कर काटे ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडाै‌ – नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १३० रुपैयाँ ४८ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ ४० पैसा र बिक्रीमा ८९ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५७ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९८ रुपैयाँ र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसा रहेको छ ।

यसैगरी जापानी येन १० एकको खरिदमा १० रुपैयाँ १२ पैसा र बिक्रीमा १० रुपैयाँ १६ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैइाँ ७९ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ ।

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए। शर्माले दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ।

आज बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची सार्वजनिक गरिने कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपानेले जानकारी दिइन्।

हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका आठवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। यद्यपि दुईजना विना विभागीय मन्त्रीको रूपमा विनोदकुमार शाह र मंगल शाही नियुक्त भएका छन्।

यस्तो छ आजको फलफुल तथा तरकारीको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि हरियो तरकारी र फलफुलको मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज कालीमाटीमा साढे १५ रुपैयाँदेखि ५०० रुपैयाँसम्मको तरकारी र फलफूल पाइने भएको छ । सबैभन्दा सस्तो सानो लोकल गोलभेडा न्यूनतम मूल्य प्रतिकेजी १५ रुपैयाँ र सबैभन्दा महँगो अकबरे हरीयो खुर्सानी प्रतिकेजी ५०० रुपैयाँ रहेको छ ।

अनार प्रतिकेजी ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु २६ रुपैयाँ, सेतो आलु २५ रुपैयाँ, उखु प्रतिवटा ८० रुपैयाँ, स्थानीय काउली ५०, र लोकल बन्दा २० रुपैयाँ, लोकल काक्रो ७० रुपैयाँ, कागती १२० रुपैयाँ, किवी २५० रुपैयाँ, सुकेको खुर्सानी ४४० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ र नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ रहेको छ ।

यसैगरी, चमसुरको साग ११० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, जिरीको साग ४० रुपैयाँ, तरुल ६० रुपैयाँ, छडी ताजा माछा २४० रुपैयाँ  र रहु माछा ३६० रुपैयाँ, तितो करेला १३० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, पालूगो साग ११० रुपैयाँ, पुदीना ३५० रुपैयाँ, बकुला ६० रुपैयाँ, तने बोडी ९० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, भिण्डी १२० रुपैयाँ, मटरकोसा ५० रुपैयाँ, मेथीको साग ११० रुपैया र रायोको साग ५० रुपैयाँ रहेको छ ।

यस्तै, हरियो लसुन १२० रुपैयाँ, लौका ६० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, सलगम ५० रुपैयाँ, नेपाली सुन्तला १२० रुपैयाँ, सेलरी २०० रुपैयाँ, सौफको साग ११० रुपैयाँ, ज्यापु काउली ६० रुपैयाँ, फूजी स्याउ २५० रुपैयाँ र हरियो धनिया १०० रुपैयाँ रहेको छ ।

निराकारको शव आज राति नेपाल आइपुग्ने

काठमाडौं – कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज राति नेपाल आइपुग्ने भएको छ । गत पुस १५ गते बिहान कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल आगलागी भएको थियो । सोही आगलागीमा पाण्डे पनि परेका थिए ।

आगलागी भएपछि ज्यान जोगाउन उनी होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट हामफालेका थिए । र उनको ज्यान गएको थियो ।

कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलो भएको थियो । तर शवको प्रक्रियाको लागि नेपालबाट कागजात पठाएपछि आज थाइल्याण्ड हुँदै नेपाल ल्याइने भएको हो ।

ट्रस टर्मिनल भवन नहुँदा मुगुको ताल्चा विमानस्थल दैनिक समस्या

सुर्खेत । हवाइ सेवाको मेरूदण्डको रुपमा रहेको ट्रस टर्मिनल भवन ताल्चा मुगुमा निर्माण नहुँदा सेवा प्रवाहमा समस्य हुँदै आएको छ । सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण हुनुपर्ने भएपनि हाल सम्मा निर्माणको सुरसारै नभएको सरोकारवाला बताउँछन् ।  ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनले समयमै काम नगर्दा ट्रस टर्मिनल भवन अलपत्र परेको हो ।  २०६० साल देखि काठको टहरा र कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको रारा विमानस्थलमा २०७२ सालमा ५ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्गमा  कालोपत्र गरेपनि मुख्य संवेदनशील टावर र टर्मिनल भवन नबन्दा समस्या भएको छ ।

ओमबद्धले आधुनिक ट्रस टर्मिनल भवन निर्माण गर्नलाई २०७६ साल असोज १६ मा ३० महिना भित्र आठ करोड ६५ लाख नौं हजार ९९४ रुपैयाँको लागतमा काम सम्पन्न गर्छु भन्दै काममा हात हालेको थियो । नागरिक उड्डयन प्राधिकरण एरोड्म  इन्जिनियरिङ विभागका इन्जिनियर महेश नेपालीले दिएको जानकारीअनुसार भारी काकेता गरिए पनि  आयोजनाको ६० प्रतिशत मात्र काम भएको छ ।

रारा नागरिक उड्यान कार्यालय ताल्चाका प्रमुख रामोन भट्टराईले सेवा प्रवाहमा समस्य भएको बताए । ताल्चामा अहिले  पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर काम सेवा प्रवाह गरिरहनु परेको बताए । सामान्य हावाहुरी तथा अन्य कारणले सेवा प्रवाहमा दैनिक समस्य बनाएको उनले बताए ।

ओमबुद्ध इन्टरनेस्नल कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्का भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम ढिला भएको बताए  ।

हुम्लामा विहानै देखि हिमपात सुरु

सुर्खेत – हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् ।

हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाई छ । तस्बिरः हेमन्त केसी

नेपालका विमानस्थल सञ्चालनका लागि भारतसँग पहल

काठमाडौँ । नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्वाध सञ्चालनका लागि सहज वातावरण बनाउन नेपालले भारतसँग पहल थालेको छ । त्यस क्रममा भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्माले भारतको नागरिक उड्डयन तथा स्टिलमन्त्री ज्योतिरादित्य सिन्दियासँग नयाँ दिल्लीमा कुरा गर्नुभएको हो ।

बुधबार भएको भेटमा आफूले ‘महेन्द्रनगर, भैरहवा, सिमराबाट हुने अन्तर्राष्ट्रिय उडानका प्रवेश मार्गबारे सबै कुरा बुझ्ने गरी कुरा राखेको’ राजदूत डा. शर्माले बताउनुभयो तर राजदूतको पहलबाट मात्र समस्या समाधान हुन सक्ने सम्भावना भने छैन ।

शर्माले आफूले ‘राम्रोसँग व्याख्या गरेको’ र मन्त्री सिन्दियाले पनि ‘सकारात्मक रूपमा हेर्छु’ भन्नुभएको भए पनि आफूभन्दा माथिल्लो तहबाट पनि राम्ररी व्याख्या गरी बुझाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले उल्लेख गर्नुभएको आफूभन्दा माथिल्लो तह भनेको कूटनीतिकभन्दा पनि राजनीतिक तहबाट नै समाधानमा पहल थाल्नुपर्ने विषय हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो विदेश भ्रमण भारतबाट हुने बताउनुभएको सन्दर्भमा कूटनीतिक स्तरबाट भएको यो पहलले सकारात्मक नतिजा दिनसक्छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

बढी पैसा असुल्नेमा मन्त्री अर्याल संलग्न म्यानपावर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रममन्त्री बनाइएका आफ्ना नेता डोलप्रसाद अर्याल वैदेशिक रोजगार व्यवसायी नरहेको जिकिर गरेका छन्। ‘त्यस्तो पाए कारबाही गर्ने’ अभिव्यक्तिसमेत दिएका छन्।

तर, बिहीबारसम्म श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिको वेबसाइटमा अर्यालको नाम अन्तर्राष्ट्रिय बजार निर्देशकका रूपमा थियो। म्यानपावर व्यवसायीलाई मन्त्री बनाएको र यसमा स्वार्थ बाझिने कुरा व्यापक भएपछि उक्त साइट दिउँसो बन्द गरियो। त्यहाँ भएका अर्यालका नाम र तस्बिर हटाइयो। पुनः खुलाइयो।

यसलाई मन्त्री अर्यालले ‘त्यहाँका साथीहरूले सल्लाहकारका रूपमा राखिदिएको’ प्रस्टीकरण दिएका छन्। तर, त्यही कम्पनीका एक सञ्चालकले अन्नपूर्ण पोस्ट्सँग उनले अन्तर्राष्ट्रिय बजार निर्देशकका हैसियतमा थुप्रै देशमा डिल गर्दै आएको जानकारी दिए।

जापान बसेर फर्किएको, भाषा र सम्पर्कसमेत भएको कारण उनले मुख्यतः जापानको रोजगारी ‘ह्यान्डिल’ गरेका थिए। ती सञ्चालकका अनुसार अर्यालले जापानबाट ‘जिट्को’ मार्फत श्रमिक विदेश लैजान एजेन्टसँग सम्पर्क र समन्वय गर्थे। तर, सृष्टिबाट कामदार लिने जापानको कम्पनीले बढी शुल्क उठाएको भन्दै जापान सरकारले कामदार लैजान प्रतिबन्ध लगाएपछि सृष्टिले जिट्कोअन्तर्गत कामदार पठाउन बन्द भएको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

जापान पठाउने लोभ देखाउदै ठगी, मुख्य योजनाकार को ?

काठमाडौं – चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्थे । उनीहरूसँगको सम्पर्कमा थिए धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र कर्णकुमार दवाडी ।

यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवालाई लोभ्याए । जसमध्ये सुनवर्षीका अजयलाई जापान जाने युवा खोजेर पैसा सङ्कलन गर्ने जिम्मा दिइयो । अजयले आफन्तहरूमा यसको जानकारी गराएपछि सबैले धमाधम पैसा बुझाए ।

यो प्रलोभनमा जापान जान तयार भएका ४१ जनामध्ये मोरङका मात्रै ४० जना युवाको पैसा डुबेको छ । यसरी पैसा डुब्ने र ठगिनेमा अजयको सम्पर्कमा आएका मोरङका ४० जना युवा एउटै राजवंशी समुदायका छन् । जापानको हल्ला गत चैतदेखि सुरु भएको थियो । वैशाखदेखि पैसा खोज्न र जम्मा गर्न थालिएको थियो ।

राजेन्द्रले सामान्य जापानी भाषा जान्नेहरूलाई लैजान सकिने भनेपछि पैसा बुझाएका युवाले विराटनगरको इडुमार्कमा अध्ययन गरे । उनीहरूमध्ये अजयकी बहिनी विद्या, भाइ रञ्जित र रञ्जितकी श्रीमती अनुराधा पनि रहेको पीडित युवक हरि राजवंशीले बताए । जापान जाने भनेपछि अनुराधा र रञ्जित विवाह बन्धनमा बाँधिएका थिए ।

राजेन्द्रले युवालाई ठग्ने नियत राखेपछि जापान जान तयार भएका युवाले जम्मा गर्ने पैसा अजयका भाइ रञ्जित, बुहारी अनुराधा र बहिनी विद्याको नाममा जम्मा गर्न लगाए । सुरुसुरुमा राजेन्द्रको नाममा समेत पैसा जम्मा गर्न लगाइएको थियो ।

मुख्य योजनाकार भनिएका राजेन्द्र र अजयले उठेको रकम लिएर पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाइबुहारी रञ्जित–अनुराधा र बहिनी विद्या फरार छन् । उनीहरूले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्रविरुद्ध उजुरी दिएका छन्। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचार गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

उखुको समर्थन मूल्य लागतभन्दा थोरै तोकेको भन्दै उखु उत्पादक किसान असन्तुष्ट

काठमाडौं – सरकारले यस वर्ष उखुको समर्थन मूल्य लागतभन्दा थोरै तोकेको भन्दै उखु उत्पादक किसान असन्तुष्ट बनेका छन् । ढुवानी खर्च र मजदूरको ज्याला समेत बढेको अवस्थामा उखुको खरीद मूल्य भने कम तोकिएकाले लागत समेत नउठ्ने गुनासो किसानको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको छ । यो मूल्यमा उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफा जोडिएको सरकारले बताएको छ । साथै सरकारले दिने ७० रुपैयाँ अनुदानसमेत जोडेर कुल खरीद मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ तोकिएको छ ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्य गतवर्षको भन्दा २० रुपैयाँ मात्र बढी छ । तर यसबीचमा ढुवानी भाडा दुई गुणा पुगेको किसानको भनाइ छ । उखु किसान संघर्ष समिति सर्लाहीका संयोजक राकेश मिश्रले एक वर्षमा उखु ढुवानीको भाडा र मजदूर खर्च दुई गुणा पुगिसकेको बताए । उनका अनुसार अहिले उखुको लागत नै प्रतिक्विन्टल ५५० रुपैयाँभन्दा बढी छ । यस हिसाबले किसानलाई उखुबाट प्रतिक्विन्टल ६० रुपैयाँ मात्र नाफा छ ।

‘एक क्विन्टल उखु उत्पादन गर्न वर्षभरि हाम्रो कति मेहनत लाग्छ रु सरकारले हाम्रो मेहनतको मूल्य किन जोड्दैन रु’ उनले भने, ‘वर्षभरि मेहनत गरेर ६० रुपैयाँ मात्र नाफा हुने हो भने किसानले किन उखुखेती गर्नुपर्‍यो रु’

किसानलाई हतोत्साहित बनाएर स्वदेशी चिनी उद्योग तथा उत्पादन धराशयी बनाउने सरकारको नियत रहेको उनले आरोप लगाए । ‘किसानलाई थाहै नदिई उद्योगी र सरकारको मिलेमतोमा सिंहदरबारको कोठाभित्र मूल्य तोकिने परम्पराको अन्त्य नभएसम्म किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँदैनन्,’ उनले भने ।

सरकारले मूल्य निर्धारण गर्नुअघि नै उखु उत्पादक संघले कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरूसँगको बैठकमा उखुको खरीद मूल्य कम्तीमा ७०५ रुपैयाँ तोकिनुपर्ने सुझाव दिए पनि त्यसको सुुनुवाइ नभएको उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रमुख राजनीतिक दलहरूको ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित

काठमाडौं – प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ । सत्ता गठबन्धनको प्रमुख घटक एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने दाबी गरेको छ । एमालेले उठाउने उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने दाबी पार्टी अध्यक्ष केपी ओलीले गरेका छन् ।

सभामुखको निर्वाचनपछि संसद् भवनबाट बाहिरिने क्रममा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना टरेको बताए । राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ उनले भने – ‘त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ । त्यस्तो हुन सक्छ ।’ तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि नयाँ राष्ट्रपति आफूअनुकूल बनाउने दाउमा छ। सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पार्टीले उठाएका उम्मेदवारको पक्षमा पार्ने कांग्रेस रणनीति छ ।

सोही रणनीतिअनुसार पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेस निर्वाचनअघिको गठबन्धन ब्युँताउने प्रयासमा छ । कांग्रेस र माओवादी शीर्ष नेताहरूबीच राष्ट्रपति निर्वाचनमा मिलेर अघि बढ्ने र प्रधानमन्त्रीमा दाहाललाईकांग्रेसले विश्वासको मत दिने समझदारी बनेको निटस्थहरुको दाबी छ । यो समाचार नागरिक दैनिकमा छ ।

मेसी र रोनाल्डो दुबैको गोल

काठमडौं – विश्वफुटबलको स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५–४ ले हराएको छ ।

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए । रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे ।

खेलको पहिलोे हाफमै जुआन बर्नाटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सिमित बनेको थियो । फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ । टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो ।

अमेरिकामा पहिलो अश्वेत राष्ट्रपतिदेखि इरान बन्धक अन्त्य

आज २० जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

अमेरिकामा पहिलो अश्वेत राष्ट्रपति
सन् २००९ मा अमेरिकामा बाराक ओबामाले राष्ट्रपतिको सपथ लिएका थिए । अमेरिकी इतिहासमा पहिलो पटक अश्वेत समुदायबाट राष्ट्रपति बन्ने ओबामा पहिलो व्यक्ति हुन् ।

इरान बन्धक अन्त्य
इरानले बन्धक बनाएर राखेका दर्जनौं अमेरिकी नागरिकलाई महिनौंपछि सन् १९८१ को २० जनवरीमा रिहा गरिएको थियो । मुस्लिमहरुको समूहले बन्धक बनाएका ५२ अमेरिकीलाई ४४४ दिनपछि रिहा गरिएको थियो ।

बंगलादेश स्वतन्त्र युद्धको बिजारोपण
सन् १९६९ मा एक पाकिस्ताका एक विद्यार्थी कार्यकर्ताको हत्या पूर्वीपाकिस्तानको विभाजनको कारक र सार्वभौमसत्ता तथा स्वतन्त्र बंगलादेश स्थापनाको मुख्य आधार बनेको थियो । २० जनवरीमा पूर्वी पाकिस्तानमा आन्दोलनरत एक विद्यार्थीको हत्या भएको थियो ।

अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति
सन् २०२१ को २० जनवरीमा कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी थिइन् । डेमोक्रयाटिक पार्टीकी राजनीतिज्ञ ह्यारिस भारतीय मूलकी महिला हुन् ।
५६ वर्षीय ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए ।उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी थिइन् ।

कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएका निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने

काठमाडौं – कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ । गत पुस १५ गते बिहान कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल आगलागी भएको थियो । सोही आगलागीमा पाण्डे पनि परेका थिए ।

आगलागी भएपछि ज्यान जोगाउन उनी होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट हामफालेका थिए । र उनको ज्यान गएको थियो ।

कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलो भएको थियो । तर शवको प्रक्रियाको लागि नेपालबाट कागजात पठाएपछि शुक्रबार थाइल्याण्ड हुँदै नेपाल ल्याइने भएको हो ।

सल्यानमा एक ट्रक रासायनिक मल सहित एक जना पक्राउ

सुर्खेत – सल्यान प्रहरीले एक ट्रक रासायनिक मल सहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो जिल्लाको बागचौर नगरपालिका ११ पानीखोलाबाट रासायनिक मल सहित एक जनालाई प्रक्राउ गरेको हो ।

बागचौर नगरपालिका ११ पानीखोलाका शेर बहादुर खड्का र दिनेश ओलीले रा १ क १३६३ नम्बरको मिनि ट्रकमा कृषि सामाग्री कम्पनी लिमिटेड तुलसीपुर दाङ शाखाबाट ल्याई अवैधानिक रुपमा बिक्री गर्न लगेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शेरबहादुर खड्काको घरमा गोदाम गरी राखेको डिएपि पोटास ३० बोरा, युरिया ७९ बोरा र पोटास ५० बोरा बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल प्रसाद श्रेष्ठले जानकारी दिए।

उनले रासायनिक मल ल्याउने मध्येका एक दिनेश ओलीलाई नियन्त्रणमा लिएको उनको भनाई छ ।

गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा सबैभन्दा पुरानो दौत्यसम्बन्ध रहेको नेपाल र बेलायतबीच सधैँ सुमधुर सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि द्विपक्षीय हित अभिवृद्धि गर्दै अघि बढ्ने विषयमा छलफल भएको सचिवालयको भनाइ छ ।

स्याङ्जामा खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण भएपछि विवाद, पाइलटमाथि हातपात

काठमाडौं – स्याङ्जामा खेल भइरहेको मैदानमा हेलिकप्टर अवतरण भएपछि विवाद भएको छ । बिहीबार दिउँसो पोखराबाट साइटसिनका लागि भन्दै स्याङ्जा पुगेको प्रभु एयरको हेलिकप्टर फुटबल खेल भइरहेको वालिङ नगरपालिकास्थित मैदानमा अवतरण गरेको थियो ।

खेल भइरहदा मैदानमा हेलिकप्टर अवतरण गराइएको भन्दै हेलिकप्टरका एक पाइलटमाथि हातपात पनि भएको छ ।

हेलिकप्टर अवतरण भएपति त्यहाँका केही व्यक्तिले पाइलट रमेश डंगोलमाथि हातपात गरेका हुन् । विवादपछि हेलिकप्टर पोखरा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चन्द्रागिरिमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको चन्द्रागिरिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा ना६ख ६६१५ नंको ट्रकले प्रदेश३–०२–०१प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिबेँसी नगरपालिका–९ घर भई हाल चन्द्रागिरि –१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको आज दिउँसो मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार एक र पैदलयात्री एक जना गरी दुई जनाको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिए पनि ट्रक चालक भने फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताए ।

आगो ताप्ने क्रममा विराटनगरमा जलेर ८० वर्षीया वृद्धाको मृत्यु

विराटनगर – जाडो छल्न आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक वृद्धाको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका–१० लालिगुराँस चोकमा बिहीबार बिहान आगो ताल्ने क्रममा जलेर स्थानीय ८० वर्षीया देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका अनुसार बिहीबार घरभित्रको फलामको मकलमा आगो ताप्ने क्रममा बिहान साढे ७ बजे अचानक लुगामा आगो सल्किँदा वृद्धाको जलेर मृत्यु भएको हो ।

छोरा धीरेन्द्र बिहान दूध लिन गएका र आफन्तहरू घरभित्रै भएको अवस्थामा बाहिर आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएको थियो ।

एनआरएनए आईसीसी सदस्य एनबी क्षेत्री मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त

काठमाडौं – लामो समयदेखी गैर आवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एवं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री ‘नेत्र’ मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडरमा  नियुक्त भएका छन् ।

नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहँदै आएका क्षेत्रीले पर्यटन बिधामा खेलेको अहम भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले  चार बर्षका लागि मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको छ । क्षेत्रीलाई नेपाल सरकार मन्त्रीस्तरिय निर्णय अनुसार सरकारले यो निर्णय गरेको हो । क्षेत्रीलाई  पर्यटन मन्त्रालयले नियुक्ति पत्र मलेसिया नै पठाएको छ ।

नियुक्ति पत्र बितरणपछी पर्यटन सचिब सुरेश अधिकारीले लामो समयदेखी पर्यटन क्षेत्रमा लागि पर्दै आएका क्षेत्री लगाएतलाई नेपाल सरकारले टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको बताए । सचिब सुरेश अधिकारीले यो क्षेत्र  झनै बिस्तार र बलियो हुने बिश्वाष ब्यक्त गरेर नै मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा क्षेत्रीलाई नियुक्त गरेको बताएका छन् ।

नियुक्ती पत्र प्राप्त गरेपछी क्षेत्रीले राज्यले आफू माथि बिस्वास गरेर दिएको जिम्मेवारीलाई मूलुकको हित र प्रबासी  नेपालीहरूको साथ लिंदै सजकताका साथ निभाउने प्रतिबद्धता ब्यक्त गरे । उनले नेपाल सरकारलाई आफुलाई उक्त जिम्मेवारी दिएकोमा धन्यवाद ब्यक्त गर्दै आफुले बर्षौदेखी मलेसियामा रहेर पर्यटन क्षेत्रमा सँगालेको अनुभवलाई प्रयोग गर्ने बताए ।

सन २००५  देखी देखी हालसम्म मलेसियामा रहेका क्षेत्री ट्राभल्स,टुर्स लगाएतका ब्यावसायमा आवद्द रहेका छन् । हाल क्षेत्रीले मलेसियामा एनएचएस भ्याकेसन ट्राभल्स एन्ड टुर्स एसडिएन बिएचडि,नाफ्टर प्रेस्टो क्याफे, नाफ्टर ग्लोवल रिसोर्सेज एसडिएन बिएचडिलगाएत ब्यावसाय संचालन गरिरहेका छन । एनआरएनए पर्यटन प्रबद्दन कमिटीको सदस्य समेत रहेका क्षेत्री टुरिजम क्षेत्रमा बिशेष दखल राख्ने र यो बिधामा पोख्त प्रबासी नेपालीको पहिचान बनाएका ब्यक्तिका रुपमा मलेसियामा चिनिन्छन् ।

महाभूकम्प र कोभिडका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई लयमा ल्याउन बिश्वमा धेरै पर्यटक आउने देश मलेसिया लगायतका मूलुकमा एनआरएनएको साथमा क्षेत्रीले गरेका कामको यतिबेला नेपाल सरकार र सम्बन्धित निकायले खुलेर प्रंशसा गर्ने गरेका छन् । बिदेशमा रहेर पनि बिभिन्न क्याम्पेन गरेर नेपालको टुरिजम क्षेत्रलाई प्रचार प्रसार गर्ने मामिलामा अहोरात्र खटिएका क्षेत्रीलाई यसपटक नेपाल सरकार र पर्यटन मन्त्रालयले उचित सम्मान दिएको छ ।

क्षेत्रीले नेपालको टुरिजम क्षेत्रलाई दिएको योगदानको कदर गर्दै नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई  मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त गरेको जनाइएको छ । क्षेत्रीले आफुले छिट्टै मलेसियाली नागरिकलाई नेपाल भर्मणमा पठाउँनको लागी बिभिन्न कार्यक्रम शुरु गर्ने बताए । आफ्नो अभियानमा साथ दिन क्षेत्रीले मलेसियामा रहेको नेपाली दुतावास,एनआरएनए मलेसिया,समस्त नेपाली संघ सँस्था र नेपालीलाई अनुरोध समेट गरेका छन् ।

खोटाङमा चोरीमा संलग्न तीन पक्राउ

खोटाङ – खोटाङमा चोरीमा संलग्न तीन पक्राउ परेका छन् । दुई घरबाट नगद, सुन, चाँदी, पुरानो सिक्का लगायतका धनमाल चोरीमा संलग्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १९ वर्षीय कृष्ण बिक, ३९ वर्षीय पर्शुराम बिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २२ वर्षीय इन्द्रबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्तहरुमाथि गत मंसिर १३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका देवराज घिमिरेको नगद, सुन, पुराना पैसा, लत्ता कपडा लगायत पाँच लाख ७१ हजार बराबरको धनमाल तथा मंसिर २० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको शान्ता राईको सुन, चाँदी, पुराना सिक्का गरी तीन लाख ७२ हजार बराबरको धनमाल चोरी गरेको अभियोग छ ।

घिमिरे र राईको घरमा चोरी भएपछि दोषीको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका अधारमा अनुसन्धान गर्दा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  खोटाङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक पर्शुराम राईले जानकारी दिए ।

शंकित मानिएका कृष्णलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि क्रमशः इन्द्र र पर्शुरामको संलग्नता खुलेको हो । गत पुस २९ गते इन्द्रको घर खानतलासी गर्दा चोरी भएकामध्ये सिक्का, लत्ताकपडा, चाँदीका चुरा लगायतका नगद र सामान बरामद भएको थियो । अभियुक्त विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएको छ ।

राज्यका निकायलाई निरीह बनाइएकाले मैले गरेका कामको प्रतिफल आउन समय लाग्छ – गृहमन्त्री लामिछाने

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागिरहेको र आफूले देखेको पनि सभामुखको रुलिङ नभएका कारण नसमातेको बताए । उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने दाबी गरे ।

उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । मैले भनिसकेको छु, राज्यका निकायहरुलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानुहोला, नतिजा आउने छ । गलत काम गरेका मानिसहरु कोही पनि बाँकी रहँदैन । केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’

म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाएको भन्ने आरोप लगाइएको छ भन्ने प्रश्नमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन पनि आग्रह गरे ।

चोभारमा भएको कार दुर्घटनामा बेपत्ता युवकको शव फेला

काठमाडौं – काठमाडौंको चोभारमा कार दुर्घटनाका क्रममा बेपत्ता भएका एक जनाको शव प्रहरीले दुई दिनपछि फेला पारेको छ ।

कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खस्दा राजकुमार खत्री बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले बिहीबार खत्रीको शव फेला पारेको प्रहरीले जनाएको छ ।

माघ २ गते बा ५ च ५६५४ को कार नदी किनारमा दुर्घटना हुँदा ४० वर्षका खत्री बेपत्ता भएका थिए भने ४० वर्षकी अम्बिका लामिछाने घाइते भएकी थिइन् । बेपत्ता खत्रीलाई खोज्न सशस्त्र प्रहरी बलको निलबाराही गणं, विपद् उद्धार गणको गोताखोरसहितको टोली खटिएको थियो ।

एएसबिसी यु-२२ बक्सिङ च्याम्पियनसिप : सुस्मा र हेमाको जित

काठमाडौं – थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु-२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् ।

महिला ४८ केजीतौलसमूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५-० अंकको आधारमा जितिन् भने ५७ केजी तौलसमूहमा हेमा राईले सिङ्गापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा जित हासिल गरिन् ।

पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग जनवरी २० तारिखमा क्वाटरफाइनल खेल खेल्नेछन् । ५७ केजीमा नेपालका ईन्द्रबहादुर सुनारले प्रिक्वाटरफाइनलमा लाओसका खेलाडीसंग ५-० अंकको आधारमा जित हासिल गर्दै क्वाटर फाईनल प्रवेश गरेका छन् । उनले क्वाटरफाइनलमा मङ्गोलियनका गन्तुमार लुण्डासँग भिड्ने छन् ।

नेपालबाट सहभागी दुई खेलाडी बिजय बाटा (८६ केजी)  र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उनीहरूले क्रमशः इन्डोनेसियाका मोसकिता माईकल र काजिकिस्तानका एरजन गुल्सायसँग खेल्ने छन् ।

होटलबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ

काठमाडौं, ५ माघ । काठमाडाै‌काे एक हाेटेलबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका-३ का ४८ वर्षीय लोक जंग खड्कासहित  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलहरूमा शंकास्पद व्यक्तिहरु रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

यी हुन् सभामुखको निर्वाचनमा अनुपस्थित भएका सांसदहरू

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाले बिहीबार सभामुख चयन गरेको छ । प्रतिनिधिसभाको बैठकमा मतविभाजनको आधारमा सभामुख चयन गरेको हो ।

उक्त प्रक्रियामा पाँचजना सांसद अनुपस्थित रहेका छन् । संघीय संसद सचिवालयका अनुसार सभामुख चयन प्रक्रियामा उपस्थित नभएका सांसदहरुमा वर्षमान पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी छन् ।

प्रतिनिधिसभाले सभामुखमा देवराज घिमिरेलाई निर्वाचित गरेको छ । बैठकमा भएको मतविभाजनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत  र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ । बैठकमा २६८ सांसद उपस्थित थिए ।

१६७ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको ज्येष्ठ सदस्य राणाले जानकारी दिए ।

घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।

घिमिरे निर्वाचित भएसँगै न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु नपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी दिए । न्यौपानेलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा, जनमोर्चाको समर्थन थियो ।

नेमकिपाले सभामुखका दुवै उम्मेदवारलाई मत दिन्न भन्नेमा मत दिएको छ ।

सेयर बजारमा सामान्य वृद्धि, ३ अर्बभन्दा बढीको कारोबार

काठमाडौं – सेयर बजारमा बिहीबार सामान्य वृद्धि भएको छ । नेप्से परिसूचकमा ५.७१ अंकले वृद्धि भई २१७८.८१ विन्दुमा रोकिएको छ । साथैै, बुधबार २४६ कम्पनीको कारोबार भएको नेप्सेले जनाएकाे छ । आज ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा तीन अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै,आज एनआइसिएसिया बैंककोे सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको १८ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा रिडी पावर कम्पनीको १२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

आदर्श लघुवित्त बित्तीय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ ।  कुल ८५ कम्पनीकाे मूल्य उकलो लागेको छ भने १०८ कम्पनीमा ओरालो लागेको छ, १४ कम्पनी भने स्थिर रहेको छ ।

आज १३ उपसुचकमध्ये ७ कम्पनीमा ओरालो लागेको छ ।  बाँकी ६ कम्पनीमा भने सामान्य वृद्धि भएको छ ।

प्रतिनिधिसभाको बैठक शनिबार, उपसभामुख चयन गर्ने

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ ।बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्काे बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन् ।

सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ ।

सभामुखमा निर्वाचित देवराज घिमिरे को हुन् ?

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको सभामुखमा झापा अर्जुनधारा–६ का देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत  र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ ।

१७६ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको ज्येष्ठ सदस्य राणाले जानकारी दिए । घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।

घिमिरे निर्वाचित भएसँगै न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नु नपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी दिए । न्यौपानेलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा, जनमोर्चाको समर्थन थियो ।

नेमकिपाले सभामुखका दुवै उम्मेदवारलाई मत दिन्न भन्नेमा मत दिएको छ ।

को हुन् नवनिर्वाचित सभामुख देवराज घिमिरे ?

नाम : देवराज घिमिरे
ठेगाना : अर्जुनधारा नगरपालिका वडा नम्बर ६, झापा
जन्मस्थान : सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचा, ताप्लेजुङ
जन्ममिति : २०१३ साल जेठ १३ गते
बुवाको नाम : पदमप्रसाद घिमिरे
आमाको नाम : भिमकुमारी घिमिरे
वैवाहिक स्थिति : विवाहित
श्रीमतीको नाम : टिकादेवी बस्नेत (घिमिरे)
शैक्षिक योग्यता : स्नातक

बाल्यकाल र शैक्षिक अवस्था

ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका वडा नं ३ मा बुबा पदम प्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराको रुपमा वि.सं. २०१३ साल जेठ १३ गते देवराज घिमिरेको जन्म भएको थियो । निम्न मध्मम परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट वि.सं.२०२९ सालमा एस.एल.सी उत्तीर्ण गरे । उनले धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई.ए. र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन गरेका छन् ।

राजनीतिमा प्रवेश

वि.सं. २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका हुन् । २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटिएका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे ।

राजनीतिक जिम्मेवारी

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक ीिवनमा पाएका जिम्मेवारीहरू :

–    २०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक,
–    २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख,
–   २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरण पछि सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य,
–   २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज,
–      २०५८ सालमा केन्द्रीय विभाग अन्र्तगत स्वास्थ्य विभागको इन्चार्ज । त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज,
–      २०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष,
–   २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज,

(भूमिगत राजनीतिमा पञ्चायती शासकले उहाँको राजनीतिक गतिविधि नियन्त्रणका लागि पटक पटक पक्राउ पूर्जी जारी गरेको)

मोर्चाको जिम्मेवारी
–   २०५६ सालमा राष्ट्रिय सभा सदस्य,
–   २०७९ मा प्रतिनिधि सभा सदस्य ।

राजनीतिक त्याग र सफलता
–     भूमिगत कालमा २०३५ साल देखि २०४६ साल सम्म संगठन र नेतृत्व गरेका जिल्लाहरु तेह्रथुम, पाँचथर र इलाम आजसम्म कम्युनिष्टको मजबुत संगठन सहितको किल्लाको रुपमा स्थापित भएका छन् ।
–   २०४८ सालमा भएको आम निर्वाचनमा इलाम जिल्लामा आपफू पाएको टिकट अर्को नेतालाई प्रदान गरेर पार्टीको जीत निश्चित गर्न गरेको त्यागको परिणाम आजसम्म पार्टी लगातार विजयी भएको छ ।
–   २०५४ सालमा मेची अञ्चल इन्चार्ज भएको बेला सम्पन्न स्थानीय चुनावमा मेची अञ्चलका सबै जिल्ला विकास समिति र तीन चौथाइ भन्दा बढी स्थानीय तहहरुमा पार्टी जिताउन सफल ।
–   प्रदेश नं एक इन्चार्ज भएको बेला २०७९ सालमा सम्पन्न स्थानीय चुनावमा प्रदेश नं एकमा पाँचदलीय गठवन्धनको घेरा तोड्दै कुल ५८६४ जनप्रतिनिधि मध्ये सबैभन्दा धेरै २६८५ प्रतिनिधिहरु नेकपा एमालेबाट विजयी गराउन सफल ।
–      २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक दुवै चुनावमा प्रदेश नं १ मा नेकपा एमाले पहिलो दल बनाउन सफल
–     २०७९ सालको चुनावमा हाल सम्मको इतिहासमा कहिल्यै नजितेको सोलुखुम्वु जिल्लामा ५ दलीय गठबन्धनलाई हराउँदै नेकपा एमालेलाई विजयी गराउन सफल ।
–      पहिलो पटक झापा क्षेत्र नं २ बाट उम्मेदवार बन्दा पाँचदलीय गठवन्धन स्वतन्त्र लगायत सबैको घेरा तोडेर प्रतिनिधि सभा तथा प्रदेश सभाका दुवै स्थानमा सानदार जीत निकाल्न सफल ।
–      मदन भण्डारी फाउण्डेसनको कार्यालय प्रमुख भएर फाउन्डेसनको विस्तार र विकास