`

सैनिक ब्यारेकमा आगो लाग्दा पन्ध्र जनाको जलेर मृत्यु

आर्मेनिया -आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी हुँदा हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आगजनीमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

देशको पूर्वी गेघरकुनिक क्षेत्रको एक गाउँमा आगलागी भएको हो । आगजानीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। ।

विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाले पोखरामा भएको विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा बोल्ने सबै सांसदहरुले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे आ–आफ्नो धारणा राखेका छन् ।

सोही क्रममा बैठकमा बिहीबार नै प्रतिनिधिसभाले पोखरा विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने जानकारी गराइएको हो । १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।

पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्छ – सिके राउत

काठमाडौं, ५ माघ । जनमत पार्टी संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्ने बताएका छन् । बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न कुन कानुनले रोकेको भन्दै प्रश्न गरे ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रक्रियामात्र सीमित नरहन सुझाव दिँदै उनले भने, ‘साइकल वा मोटरसाइकल दुर्घटना भयो भने तत्कालै पक्राउ गरेर छानबिन थालिन्छ । तर, पुराना विमान चलाउने, चलाउन अनुमति दिनेलाई किन कारबाही हुँदैन ?’ गत १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनाका विषयमा जारी प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

अमेरिकाकी मोरेरा बन्दैछिन विश्वकै बृद्ध व्यक्ति, गिनिजले मान्यता दिन बाँकी

न्युयोर्क, ५ माघ-संयुक्त राज्य अमेरिकामा जन्मिएकी स्पेनी हजुरआमा सम्भवतः ११५ वर्षको उमेरमा विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बन्न सफल भएको गिनिज वल्र्ड रेकर्ड्सका सल्लाहकारले बिहीबार बताएका छन् । फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा मंगलबार मृत्यु भएपछि मारिया ब्रान्यास मोरेरा विश्वको सबैभन्दा पाको व्यक्ति भएको जेरोन्टोलजीका वरिष्ठ सल्लाहकार रोबर्ट डी यंगले बताए ।

गिनिज वल्र्ड रेकर्ड्सले कागजात जाँच गरिसकेपछि र ब्रान्यास मोरेराको परिवारसँग अन्तर्वार्ता लिएपछि आधिकारिक निर्णय गर्ने जेरोन्टोलोजी रिसर्च ग्रुपको सुपरसेन्टेरियन रिसर्च डाटाबेसका निर्देशक समेत रहेका यंगले थपे।यसैबीच मोरेरा अहिलेसम्म विरामी परेर अस्पताल जानु नपरेको बताइएको छ ।

संसारकै सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा निधन भएको थियो । रान्डनको फ्रान्सको टुलोनमा रहेको उनको नर्सिङ होममा सुतेकै अवस्थामा मृत्यु भएको थियो । सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनले दुई वटा विश्वयुद्ध देखिन् । सन् १९४४ मा भिक्षुणी बनेपछि उनले सिस्टर एन्ड्रे नाम धारण गरेकी थिइन् ।
विश्वका सर्वाधिक वृद्धमा विभिन्न देशका महिलाहरुको बाहुल्यता छ ।

मधेश आन्दोलनमा शहीद भएकाप्रति संसदमा उठेर श्रद्धान्जली व्यक्त

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको जारी बैठकमा मधेश आन्दोलनमा  शहीद भएकाप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।

सभामुख चयन प्रक्रिया अघि बढिरहँदा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले मधेश आन्दोलनमा शहीद भएकाप्रति उठेर श्रद्धान्जली व्यक्त गर्न आग्रह गरे । त्यसपछि सांसदहरुले उठेर शहीदप्रति श्रद्धान्जली व्यक्त गरेका हुन् ।

शहीदप्रति पनि विभेद भएको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका थिए । सरकार गठनका बेलामात्र राष्ट्रिय सहमतिको मात्र कुरा उठ्ने गरेको भन्दै उनले मधेशी, थारुसहितलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने बताए ।

गण्डकी प्रदेश सभाका एक मात्रै पिएचडी सांसद डा. टकराज गुरुङ

लमजुङ – लमजुङबाट निर्वाचित सांसद डा. टकराज गुरुङ गण्डकी प्रदेशसभा सदस्यका पहिलाे र एक मात्रै पिएचडी गर्ने सांसद हुन् ।  प्रदेश सभा सचिवालयबाट सार्वजनिक विवरणअनुसार प्रदेश सभाका ६० सदस्यमध्ये लमजुङ (क) १ बाट निर्वाचित सांसद गुरुङको शैक्षिक योग्यता सबैभन्दा बढी रहेकाे उल्लेख छ ।

डा. गुरुङले पर्यटन अर्थशास्त्रमा पिएचडी गरेका हुन् । संघीयता कार्यान्वयनपश्चात दुई पटक निर्वाचन भएकाे र यसरी निर्वाचित हुनेमध्ये विद्यावारिधी उपाधी अर्थात पिएचडी गर्ने गुरुङ पहिलो हुन् । अघिल्लो कार्यकालमा पनि गण्डकी प्रदेशका सांसदहरूको उच्चतम शैक्षिक योग्यता स्नातकाेत्तर मात्रै थियो ।

राजनीतिमा नीति, नियम, ऐन बनाउनेदेखि प्रदेशको समृद्धिका लागि शैक्षिक योग्यता महत्वपूर्ण हुने सरोकारवालाहरुको बुझाई छ । बदलिदो परिस्थितीलाई समयानुकुल नीति निर्माण, आधुनिक प्रविधिको प्रयोग, विकास र समृद्धिका लागि पनि शैक्षिक योग्यता भएको जनप्रतिनिधि आवश्यक पर्ने सरोकारवालाहरू बताउँछन् ।

काग्रेस लमजुङको सभापति समेत रहेका डा. गुरुङ पर्यटनविद् र कुशल योजनाकार हुन् । पर्यटन क्षेत्रको विकासका सम्भावनाहरू र ग्रामीण पर्यटनको विषयमा डा. गुरुङसँग विशेष विज्ञता छ । ग्रामीण पर्यटनमार्फत अर्थतन्त्रको विकास गर्न सकिने विभिन्न किसिमका योजनाहरू आफूसँग रहेको डा. गुरुङ बताउँछन् ।

आफू गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएसँगै लमजुङसहित प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका पर्यटकीय श्रोत र सम्भाव्यताको पहिचान, प्रवर्द्धन र विकास गरी अर्थतन्त्र सुदृढिकरणका लागि ज्ञान क्षमताको सदुपयोग गर्ने डा. गुरुङले बताए । ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा विज्ञतालाई प्रयोग गरी पर्यटकीय क्षेत्रको विकासमा फड्को मार्न सकिने डा. गुरुङको विश्वास छ ।

गण्डकी प्रदेश सभामा लमजुङबाट निर्वाचित डा. गुरुङ बाहेक नौ जना सांसद स्नातकोत्तर उत्तिर्ण छन् भने १६ जनाले स्नातक हासिल गरेका छन् । यसैगरी प्रमाणपत्र तह र एसएलसी उत्तीर्णमा १६/१६ जना रहेका छन् । दुई सांसद साक्षर छन् ।

प्रदेशसभा सचिवालयका अनुसार एमालेका ६, कांग्रेसका दुई र माओवादी केन्द्रका एकजनाले स्नातकोत्तर गरेका छन् । स्नातकोत्तर गर्नेमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, एमालेकै लिलबहादुर थापामगर, सुधिरकुमार पौडेल, सीताकुमारी सुन्दास, गोविन्दबहादुर नेपाली, देवका पहारी त्रिपाठी रहेका छन् । यसैगरी कांग्रेसका डिल्लीराम सुवेदी, जीतबहादुर शेरचन र माओवादी केन्द्रका फणीन्द्र देवकोटाले पनि स्नातकोत्तर गरेका छन् ।

स्नातक तह उतिर्ण गर्ने सांसदमा कांग्रेसका नौ र एमालेका सात जना छन् । प्लस टु वा प्रमाणपत्र तह उत्तीर्ण गर्नेमा कांग्रेसका नौ, एमालेका पाँच र माओवादी केन्द्रका दुईजना सांसद छन् भने एसएलसी उत्तिर्ण सांसदमा कांग्रेस र माओवादीका पाँच-पाँच जना, एमालेका चार र राप्रपाका दुई जना रहेका छन् ।

प्रदेशसभा सचिवालयले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधिबमोजिम प्रदेशसभा सदस्यको व्यक्तिगत विवरण फाराम भर्ने क्रममा सांसदहरूले आफ्नो शैक्षिक योग्यता खुलाएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभामा सबैभन्दा बढी कांग्रेसका २७, एमाले २२, माओवादी केन्द्र ८, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् । ०७४ को निर्वाचनमा भने आठ जना स्नातकोत्तर र २१ जना स्नातक उत्तीर्ण थिए । १७ जना प्लस टु तथा प्रमाणपत्र तह र सातजना प्रदेशसभा सदस्य एसएलसी उत्तीर्ण थिए । एसएलसीभन्दा कम पढेकामा सातजना थिए ।

एमालेका नेम्वाङले प्रस्ताव गरे घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव

काठमाडौं, ५ माघ । एमाले सांसद सुवासचन्द्र नेम्वाङले पार्टीका सांसद देवराज घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका छन् ।लामो राजनीतिक इतिहास भएका घिमिरेले प्रतिनिधिसभालाई राम्रोसँग सञ्चालन गर्नसक्ने भन्दै सबैलाई सहयोग गरी निर्वाचित गराउन आग्रह गरेका छन् । नेम्वाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका छन् । घिमिरे सत्तागठबन्धनबाट साझा उम्मेदवार हुन् ।

घिमिरेका समर्थक माओवादीका सांसद हितराज पाण्डेले सम्बोधन गरिरहेका छन् । उनले प्रतिनिधिसभाको सभामुखमा घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्दै नेम्वाङले गरेको प्रस्तावको समर्थन गरे ।

सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको माग

काठमाडौं, ५ माघ । कांग्रेसले सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरेको छ ।बिहीबार बिहान सुरु भएको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएकोप्रति आपत्ति जनाउँदै रुलिङको माग गरेका हुन् । उनले आजको कार्यसूची स्थगित गरेर भए पनि सरकारले जहाज दुर्घटनाबारे जानकारी गराउन माग गरे ।

आजको प्रतिनिधिसभाको बैठकमा सभामुखका लागि निर्वाचन हुने कार्यसूची छ । कांग्रेसको यस्तो मागपछि सभाध्यक्ष पशुपतिशमशेर राणाले सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई जवाफ दिन समय दिएका थिए । नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपालाई प्रतिपक्षी दल घोषणा गर्न माग गरेका छन् । प्रतिनिधिसभामा नेमकिपाबाट एकजना सांसद छन्। उनले संसद बैठक स्थगित गरेर भए पनि विपक्षी दल नेता तोक्न माग गरेका छन्। ने

प्रधानमन्त्रीले टिचिङ पुगेर विमान दुर्घटनामा परेर ज्यान गुमाएका परिवारलाई भेटे

काठमाडौं, ५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् ।बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे। सो क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटघाट गरेका थिए ।परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी गराए ।

विमान दुर्घटनाबारे संसदलाई जानकारी

काठमाडौं, ५ पुस । संस्कृति पर्यटन तथा नागरिक पर्यटनमन्त्री सुदन किराँतीले १ माघमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको जानकारी दिएका छन् ।बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रमेश लेखकले विमान दुर्घटनाबारे संसदलाई जानकारी नदिएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

यसपछि सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले विमान दुर्घटनाबारे जानकारी गराउन मन्त्री किराँतीलाई समय उपलब्ध गराएका थिए । यसपछि मन्त्री किराँतीले विमान दुर्घटनामा परेर ज्यान गुमाएकाको शवको पोष्टमार्टम पोखरा मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा भएको जानकारी दिए । पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउने कार्य भइरहेको पनि उनले बताए । दुर्घटनापछि उद्धारमा सरकारले सक्दो काम गरेको र मृतकका आफन्तलाई बिमाबापतको रकम भुक्तानीको विषयमा पनि सरकारले चासो राखेको उनले बताए ।

यस्तो छ आजको तरकारीको तथा फलफूलको मूल्य

काठमाडौं, ५ माघ-कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज बुधबाररातो आलु ३४ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँप्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतममूल्य हो । यसैगरी सुन्तला १२० रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २५० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ ।

यस्तै कन्य च्याउ प्रतिकेजी ११०रुपैयाँरहेको छ भने डल्ले च्याउ३०० रुपैयाँ रहेको छ ।यता, ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानिय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ५०, तोरी साग ४०रुपैयाँ,रातो मुला ७० रुपैयाँ रहेको छ ।यस्तैगरी, तामा ९० रुपैयाँ,लोकल गाजर ४० रुपैयाँ, खु्र्सानी सुकेको ४४० रुपैया, हरियो खु्र्सानी ६० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ७० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।

यसैगरी, राजमा घिउ सिमी ८०,तिते करेला १२० रुपैयाँ, प्याज हरियो ८० रुपैयाँ, सुकेको प्याज ४२, भिण्डी १०० रूपैयाँ, लौका ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन८० रुपैयाँ, हरियो धनिया र कागती १२० रुपैयाँ प्रतिकेजी रहेको छ ।

अमेरिकी डलरको मूल्य घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ माघ-नेपाल राष्ट्र बैंकले बिहीबार लागि अमेरिकी डलरको मूल्य खरिददर खरिददर १२९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३० रुपैयाँ २९ पैसा कायम गरेको छ। अघिल्लो दिनको तुलनामा यसको मूल्य ८३ पैसा घटेको हो। बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५२ पैसा र बिक्रीदर १३१ रुपैयाँ १२ पैसाथियो ।

बिहीबार युरोपियन युरोको भाउ पनि घटेको छ। युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ ८८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५३ पैसामा कारोबार भइरहेको छ । यसअघि, बुधबार युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा थियो।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १० पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद मूल्य भने ९७ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ५३ पैसा मा कारोबार भइरहेको छ । साथै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ २६ पैसा र बिक्रीदर १६१ रुपैयाँ १ पैसा तोकिएको छ।

कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा रहेको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४७ पैसा तोकेको छ । बिहीबार मलेसियन रिंगिट एकको खरिददर ३० रुपैयाँ ७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा रहेको छ।बिहीबार कुवेती दिनार एकको खरिद मूल्य ४२४ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ४२६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ३ पैसा र बिक्रीदर ३४५ रुपैयाँ ६२ पैसा तोकिएको छ।

संसद बैठकमा हवाइ दुर्घटनाबारे जानकारी नदिएको भन्दै कांग्रेसंको आपत्ति

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसले पोखरामा भएको हवाइ जहाज दुर्घटनाबारे जानकारी दिन सरकारको ध्यानाकर्षण गराएको छ ।बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रमेश लेखकले १ माघमा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाबारे जानकारी संसदमा गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले विमान दुर्घटनाबारे संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे ।

विमान दुर्घटनाबारे सरकारले जानकारी गराउने बिहीबारको बैठकको कार्यसूचीमा समावेश हुने आफूले अपेक्षा गरेको भए पनि त्यस्तो नभएको भन्दै आपत्ति जनाएका लेखकले तत्काल कार्यसूचीमा समावेश गरेर विमान दुर्घटना के कारणले भएको हो, घाइतेहरुको उद्धारलगायतका विषयमा जानकारी गराउन सरकारको नाममा रुलिङ गर्न सभामुखसँग आग्रह गरे । जारी बैठकमा सा‌ंसदहरुले समसामयिक विषयमा सरकारकाे ध्यानाकर्षण गराइरहेका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको निर्वाचन हुँदै छ ।

रहिनन् संसारकै बृद्ध व्यक्ति

पेरिस÷संसारकै सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा निधन भएको छ । रान्डनको फ्रान्सको टुलोनमा रहेको उनको नर्सिङ होममा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनले दुई वटा विश्वयुद्ध देखिन् । सन् १९४४ मा भिक्षुणी बनेपछि उनले सिस्टर एन्ड्रे नाम धारण गरेकी थिइन् ।
दृष्टिविहीन र ह्वीलचेयरमा निर्भर रहे पनि सिस्टर एन्ड्रेले अरू वृद्ध मानिसहरूको हेरचाह गरेकी थिइन् । गत अप्रिलमा एक अन्तर्वार्तामा सिस्टर एन्ड्रेले  आफ्नो कामले आफूलाई दीर्धायु जीवन बाँच्न सहयोग गरेको बताएकी थिइन् ।

यस्तो छ आज संसदको कार्यसूची

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाले बिहीबार नयाँ सभामुख पाउँदैछ । त्यसका लागि बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले प्रतिनिधिसभाको बिहीबारको बैठकको कार्यसूची सार्वजनिक गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावलाई प्रतिनिधिसभा सदस्यहरू हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछानेले समर्थन गर्नेछन्।

त्यसपछि सभामुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । शर्माको प्रस्तावलाई प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची छ।

‘पठान’ बाट छवि बदल्न चाहन्छन् शाहरुख

मुम्बई, ५ माघ । अभिनेता शाहरुख खानलाई भलै बलिउडमा ‘रोमान्सको बादशाह’ भनिन्छ, तर यी अभिनेताको बलिउड यात्राको चाहना भने अलग थियो ।

३२ वर्षअघि पहिलोपटक हिन्दी फिल्ममा पाइला चाल्दा उनी एक्सन हिरो बन्न चाहन्थे । यहीकारण उनले रिलिजको तयारीमा रहेको फिल्म ‘पठान’मा जासुसको भूमिका निभाएका छन् । र, यो उनका लागि एउटा सपना पूरा हुन लागेजस्तै हो ।

‘३२ वर्षअघि म फिल्म उद्योगमा एक एक्सन हिरो बन्नका लागि आएको थिएँ । तर म यसमा चुकें किनकि बलिउडले मलाई रोमान्टिक हिरो बनाइदियो । म केवल एक्सन हिरो बन्न चाहन्थें’, शाहरुख भन्छन्,‘मेरो अर्थ हो कि ‘दिलवाले दुल्हनिया ले जाएँगे’ मनपर्छ र म राहुल र राज र यी सबै केटा (फिल्मका चरित्र) सँग प्रेम गर्छु । तर मलाई जहिल्यै लाग्थ्यो कि म एक एक्सन हिरो हुँ, त्यसकारण मेरा लागि यो सपना साँचो हुनुजस्तै हो ।’

सन् २०२२ मा बलिउडको निराशाजनक प्रदर्शनपछि सन् २०२३ मा सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ बलिउडको रिलिज हुन लागेको पहिलो फिल्म हो । यसअघि शाहरुखले फिल्म ‘जीरो’मा पनि मुख्य भूमिका निर्वाह गरेका थिए । ‘पठान’मा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया र आशुतोष राणाको पनि अभिनय छ ।

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, ५ माघ । सभामुखको निर्वाचनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको पौडेलको सचिवालय स्रोतले दिएको जानकारी दिएको छ । प्रतिनिधिसभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो। सभामुख निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने कांग्रेसको अपेक्षा थियो । तर माओवादीको समर्थनमा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार उठाएपछि कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

बुधबार कांग्रेसको पदाधिकारी बैठक चलिरहेका बेला प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सभामुखको उम्मेदवारी दिँदा छलफल गर्ने बताएका थिए । तर प्रचण्डले फोन नगरेपछि कांग्रेसले आफ्नै उम्मेदवार उठाएको हो ।

बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकले सभामुखका दुई उम्मेदवार घिमिरे र न्यौपानेमध्ये एकलाई सभामुख निर्वाचित गर्दैछ । गत २६ पुसमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। कांग्रेसले राष्ट्रपति पद आफूले लिनका लागि कुराकानी गर्दै आएको छ।

डा.रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन् । बहराइन सरकारले प्रदान गर्ने १० लाख अमेरिकी डलरको पुरस्कार राशिको इसा अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्रीले रुइतलाई बिहीबार बधाई दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मानव कल्याणको क्षेत्रमा डा.रुइतले गरेको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन् । पुरस्कार प्राप्त गरेपछि रुइतले सरकारसँग राखेका अपेक्षाका बारेमा पनि आफू गम्भीर रहेको प्रचण्डले बताएका छन् ।

‘वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ,’ प्रधानमन्त्रीले ट्विटरमार्फत भनेका छन् । नेपाल र विदेशका गरी लाखौं मानिसको आँखा उपचार गरेर उज्यालो जीवन दिएको भन्दै डा.रुइतलाई १३ करोड नेपाली रुपैयाँ बराबरको इसा अवार्ड प्रदान गरिएको हो ।

हेलिकप्टर दुर्घटनापछि डाभोस फोरमलाई सम्बोधन गर्दै के भने जेलेन्स्कीले ?

एजेन्सी – राजधानी किभमा भएको हेलिकप्टर दुर्घटनामा १४ जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको समयमा कुनै दुर्घटना नभएको  बताएका छन् ।

युक्रेनले रुसी संलग्नता दाबी गरेको छैन तर जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई यो त्रासदी युद्धको परिणाम भएको बताए।

युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको थियो  । दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि थिए  ।

घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको थियो । यसैबीच, जेलेन्स्कीले सहयोगीहरूलाई नयाँ रूसी आक्रमण अघि थप हतियारहरू पठाउन आग्रह गरे ।

एमाले मधेस प्रदेश : प्रदेश र महोत्तरी जिल्ला अधिवेशनको गृहकार्य सुरु

महोत्तरी – एमाले मधेस प्रदेशले प्रदेश र महोत्तरी जिल्ला अधिवेशनको गृहकार्य सुरु गरेको छ । आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन चैत मसान्तभित्र टुंग्याउने प्रदेश सचिवालयले जनाएको छ ।

निर्वाचनपछि विवादित जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारीसँगै पुनः अधिवेशनको चर्चाले एमालेभित्र रस्साकस्सी सुरु भएको हो । लामो विवादका कारण ७७ वटै जिल्लामा अधिवेशन सकिसक्दा पनि महोत्तरी र मधेस प्रदेशमा अधिवेशन हुन सकेको छैन ।

मधेस प्रदेशबाट १५ चैतभित्र महोत्तरीको अधिवेशन सक्न निर्देशन दिने निर्णय भएको प्रदेश सचिवालय सदस्य सोमप्रसाद शर्माले जानकारी दिए ।

त्यस्तै, प्रदेशको अधिवेशन पनि चैत मसान्तभित्र सम्पन्न गर्ने गरी एमालेले गृहकार्य सुरु गरेको छ । ‘पहिले जस्तो विवाद नभएकाले निर्धारित समयमै अधिवेशन सम्पन्न हुनेमा हामी विश्वस्त छौं,’ सचिवालय सदस्य शर्माले भने ।

बुधबार बर्दिबासमा भएको एमाले मधेस प्रदेश सचिवालयको बैठकले विभिन्न चार विषयलाई प्राथमिकतामा राखेको छ । महोत्तरीको अधिवेशन १५ चैतमा र प्रदेशको अधिवेशन मसान्तसम्म सकाउने, १० माघसम्म सवै जिल्लाको पूर्ण बैठक सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।

आसन्न स्ववियु निर्वाचनको लागि पनि एमालेले आफ्ना विद्यार्थी संगठनलाई सक्रिय बनाउने भएको छ । विद्यार्थी संगठनहरुलाई गतिशील बनाई मधेस प्रदेशका क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि गहन गृहकार्य गर्ने निर्णय भएको प्रदेश सचिवालयले जनाएको छ ।

मधेस प्रदेशका इन्चार्ज रघुवीर महासेठको अध्यक्षतामा भएको बैठकले मधेस प्रदेशको सरकारको विषयमा समेत छलफल गरेको छ । यसअघि सभामुख र भौतिक पूर्वाधार मन्त्रालय पाइसकेको एमालेले थप सामाजिक विकास मन्त्रालय र वन मन्त्रालय दाबी गर्दै आएको छ ।

ट्वीटरले थप कर्मचारी कटौती गर्ने

एजेन्सी – ट्विटर इंकले आगामी हप्ताहरूमा सोशल मिडिया साइटको उत्पादन डिभिजनमा ५० जना कामदारहरूलाई हटाउने योजना बनाएको छ । समाचार साइट इनसाइडरले कम्पनीसँग परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै उक्त जानकारी दिएको छ ।

एलोन मस्कले थप कर्मचारीहरू कटौती नगर्ने प्रतिबद्धता जनाएको ६ सातापछि आएको हो । कटौतीले कम्पनीको हेडकाउन्ट २,००० भन्दा कममा घटाउन सक्ने रिपोर्टमा जनाइएको छ ।एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि उनले ट्वीटरमा धेरै उथलपुथल गरेका छन् । उनले ब्लु टिक भेरिफिकेसनका लागि शुल्क लिनेलगायत अन्य विवादास्पद निर्णय गरेका छन् ।

ट्वीटरका कतिपय निर्णयविरुद्ध कर्मचारीहरु अदालतसम्म पुगेका छन् । केहीसमय अघिभएको अनलाइन सर्वेक्षणमा मस्कले सीइओबाट राजीनामा दिनुपर्ने बताएका थिए । मस्कले यसअघि सर्वेक्षण मत स्वीकार्ने बताए पनि कुनै निर्णय गरेका छैनन् ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने

एजेन्सी-न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बिहीबार अर्को महिना राजीनामा दिने घोषणा गरेकी छन् । ‘मेरो लागि यो राजीनामाको समय हो’, उनले आफ्नो लेबर पार्टीका सदस्यहरूको बैठकमा भनिन् ।

सन् २०१७ मा आर्डेनले गठबन्धन सरकारको नेतृत्व गरेकी थिइन् । त्यसपछि उनको केन्द्र–वामपन्थी लेबर पार्टीको नेतृत्वमा तीन वर्षपछिको चुनावमा व्यापक विजय हासिल गरेको थियो  । हालैको चुनावमा उनको पार्टी र व्यक्तिगत लोकप्रियता घटेको देखेको छ ।आर्डेनले अर्को आम चुनाव अक्टोबर १४ मा हुने र त्यतिन्जेलसम्म उनी निर्वाचक सांसदको रूपमा जारी रहने बताइन् ।

बेलायतका नर्स हडतालमा

एजेन्सी – तलबको विषयलाई लिएर बेलायतका नर्सहरूले हडताल सुरु गरेका छन् । मूल्यवृद्धिको आधारमा तलब बृद्धिको माग गर्दै नर्सहरुले बुधबारदेखि हड्ताल सुरु गरेका हुन् । नर्सको हड्तालका कारण स्वास्थ्य सेवा प्रभावित भएका छन् ।

नर्सहरुको संस्था नर्सिङ युनियनले सरकारले चालू आर्थिक वर्षका लागि आफ्नो तलब सम्झौता सुधारमा पहल नगरेको आरोप लगाएको छ । वेलायतको स्वास्थ्य सेवामा नर्सहरूको माग भइरहेको समयमा  हडताल भएको छ । कोभिडलगायतका समस्याका कारण सेवाग्राहीको भीड बढिरहेका बेला हडतालले प्रशासनलाई थप दबाब सिर्जना गरेको छ ।

फेरि रिलिज हुँदै द कश्मीर फाइल्स

एजेन्सी – सन् २०२२ मा सर्वाधिक चर्चा बटुल्न सफल फिल्म ‘द कश्मीर फाइल्स’ पुनः रिलिज हुने भएको छ । फिल्म शुक्रबारबाट रिलिज हुन लागेको हो ।११ मार्च, २०२२ मा रिलिज यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । व्यापारसँगै फिल्म सन् २०२२ को सर्वाधिक हिट फिल्मको सूचीमा परेको थियो ।

फिल्मका निर्देशक विवेक रन्जन अग्निहोत्रीले ट्वीटर हेण्डलमा फिल्मको रि–रिलिज गर्ने घोषणा गरेका छन् । ‘द कश्मीर फाइल्स १९ जनवरीमा कश्मीरी हिन्दु नरसंहार दिवसमा पुनः रिलिज हुँदैछ । बलिउडमा एक वर्षमा कुनै फिल्म दुई पटक रिलिज भएको सम्भवत यो नै पहिलो हुनसक्छ’, उनले ट्वीट गरेका छन् ।

फिल्मका अभिनेता अनुपम खेरले पनि रि–रिलिजको पुष्टि गरेका छन् । ‘सायद पहिलोपटक यस्तो हुँदैछ कि कुनै फिल्म एकै वर्षभित्र दोस्रो पटक रिलिज हुन लागेको छ । फिल्म ‘द कश्मीर फाइल्स’ एकपटक पुनः रिलिज हुँदैछ । कश्मीरमा भएको कश्मीरी पण्डितको नरसंहारलाई समर्पण गर्नका लागि फिल्म हेरिदिनुहोला’, अनुपमले ट्वीट गरेका छन् ।

माइक्रोसफ्टले ५ प्रतिशत कर्मचारी कटौती गर्ने

एजेन्सी – माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई कामबाट हटाउने भएको छ । सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति  अर्थात् करिब ११ हजार कर्मचारी कटौती गर्ने भएको हो ।

कटौतीबाट मानव संशाधन र इञ्जिनियरिङ शाखामा कार्यरत कर्मचारी प्रभावित हुनेछन् । पछिल्लो समयमा ट्वीटर, अमेजन, गुगल, माइक्रोसफ्टले धमाधम कर्मचारी कटौती गरेका छन् । अधिकांश कम्पनीले कटौती हुनुमा कम्पनीको घाटालाई उल्लेख गरेका छन् ।

अब सीडीओ बन्न कार्यसम्पादन राम्रो भएको र ९० प्रतिशत अंक काटेको हुनुपर्ने

काठमाडौं – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवासम्बन्धी कार्यविधि जारी गर्दै व्यवस्थित र वैज्ञानिक मापदण्ड बनाएको छ । अब सीडीओ बन्न कार्यसम्पादन राम्रो भएको र ९० प्रतिशत अंक काटेको हुनुपर्ने छ ।

मापदण्डअनुसार आइन्दा कार्यसम्पादनमा ९० प्रतिशतभन्दा कम अंक ल्याउने कर्मचारी सीडीओ हुन पाउने छैन । यसअघि पहुँच र भनसुनका आधारमा जोसुकै कर्मचारी ‘सीडीओ’ बन्ने अवस्था थियो । अब त्यस्तो गलत पद्धति अन्त्य गर्नेगरी कार्यविधि जारी गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने गृहमन्त्रीका रूपमा आएपछि गृह प्रशासनमा सुधार अभियानस्वरूप कार्यविधि जारी गरिएको हो । कार्यविधि जारी भएसँगै ‘पहुँच र सोर्सफोर्स’का आधारमा सीडीओ सरुवा गरिने ‘गलत परम्परा’ अन्त्य हुने विश्वास गरिएको छ ।

‘प्रमुख जिल्ला अधिकारी पदस्थापन, सरुवा वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९’अनुसार कार्यसम्पादन सम्झौतामा ९० प्रतिशत कम अंक ल्याएर अन्तिम ३ मा रहेका तीन सीडीओलाई अर्को जिल्लाको जिम्मेवारी नदिने व्यवस्था गरिएको छ ।

यसैगरी, उपसचिव सीडीओ हुनका लागि आफ्नो पदमा न्यूनतम पाँच वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ । एउटा प्रदेशमा एक वर्ष काम गरेकालाई पुनः सोही प्रदेशमा नखटाउने व्यवस्था कार्यविधिमा गरिएको छ । काठमाडौं जिल्लाको सीडीओ भने ‘ख’ र ‘ग’ जिल्ला चलाएकाले मात्रै पाउने भएका छन् । यो प्रावधानसँगै उच्च ‘सोर्सफोर्स’का आधारमा एकैपटक काठमाडौंमा सीडीओ हुने प्रवृत्ति अन्त्य भएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गतेको आसपासमा हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गतेको आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने हिसाबले तयारी अघि बढाएको छ । सरकारसँग अबका छलफल क्रममा आयोगले राष्ट्रपति निर्वाचनका लागि सोही मिति प्रस्तावित गर्ने मनस्थिति बनाएको आयुक्त रामप्रसाद भण्डारीले बताए ।

आयुक्त भण्डारीले भने, ‘आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन गराउने हिसाबले तयारी थालेका छौं। यद्यपि, निर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग एक चरणको छलफल भइसकेको छ। अब फेरि छलफल गर्नुपर्ने देखिएको छ । दुई, तीन चरण सरकारसँग छलफल गरेपछि बल्ल निर्वाचनको मिति तोकिने छ ।’

वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने प्रावधान रहेको छ ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

कांग्रेस रणनीति : माओवादी केन्द्रलाई फकाउने र एमालेलाई चिढ्याउने रणनीति

काठमाडौं । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ।एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि कांग्रेस संघ र प्रदेशका महत्वपूर्ण राजकीय पदबाट वञ्चित बनेको छ।

पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघिको सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास सुरु गरेको छ।कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताको फरक मतका बीच दाहाललाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा कांग्रेसले माओवादी समर्थन खोजेको छ।

माओवादी केन्द्रबाट राष्ट्रपति निर्वाचनमा साथ पाउने आश्वासन पाएको कांग्रेसले वाग्मतीसहितका केही प्रदेशका मुख्यमन्त्री (माओवादीका) लाई पनि विश्वासको मत दिएको छ। मधेस प्रदेशमा पनि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनका सबै पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्।

माओवादी केन्द्रलाई आफूनिकट राख्ने प्रयासमा सक्रिय कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदका लागि बुधबार उम्मेदवारी दिएको छ।नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहित प्रतिनिधिसभामा विपक्षी बेन्चमा बसेका दलको समर्थनमा कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको छ।

झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद देवराज घिमिरेले माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थनमा सभामुखमा उम्मेदवारी दिएका छन्।सत्ता गठबन्धन स्पष्ट बहुमतमा रहे पनि कांग्रेसले एमालेविरुद्ध सभामुखमा उम्मेदवारी दिएको हो।सभामुख चयनका लागि बिहीबार निर्वाचन हुने कार्यक्रम छ।नागरिक दैनिकमा खबर छ ।

यू-२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टनरफाइनलमा इन्द्र सुनार

काठमाडौं – थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी तौल समूहमा  नेपाली खेलाडी इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् ।

प्रीक्वाटर खेलमध्ये ५७ केजी तौल समूहमा सुनारले लाओसका खेलाडी सोक्साखुनलाई (यूनानिमस) ५ः० अंकको आधारमा हराएका हुन् । जितसँगै सुनार क्वाटर फाइनलमा प्रवेश गरेका छन् । सुनारले क्वाटरफाइनल खेल मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासँग खेल्नेछन् ।

नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी)  र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । उनीहरूले क्रमशः मोसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन् ।

सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने भिड्दै

काठमाडौं – प्रतिनिधिसभाका सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् ।

आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ ।

सुदूरपश्चिम र कर्णालीका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागका आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।राति सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ ।

शुक्रबार पनि सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसँगै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

मोडर्न मास्टर्समा एसएस राजामौली

मुम्बई – अप्लोज इन्टरटेनमेन्ट र फिल्म क्याम्पियनले एक विशिष्ट डकु–सिरिज मोडर्न मास्टर्सको घोषणा गरेको छ । यो सिरिज भारतीय सिनेमाको पथ प्रदर्शक मास्टर्सको जीवनमा आधारित हुनेछ । यसमा उनीहरूको तरिका, प्रेरणा र रचनात्मक यात्राको खोजी गरिनेछ ।

सिरिजको सुरुवात भारतीय फिल्मका उत्कृष्ट निर्माता तथा निर्देशक एसएस राजामौलीबाट हुनेछ । जो होस्ट अनुपमा चोपडाका साथ कुराकानी गर्नेछन् ।

राजामौलीको फिल्मीयात्रा आफैंमा विशेष छ । टेलिभिजनबाट शुभारम्भ भएको उनको करियर एपिक ‘बाहुबली’ फ्रेञ्चाइजी र ‘आरआरआर’का साथ ग्लोबल सफलता देखिसकेको छ । यो सिरिजले स्पेसल सेटदेखि लिएर अफिस, घर र यो यात्राको दौरान उनको गतिशील र विविध महिमालाई क्याप्चर गर्नेछ ।

यो सिरिजमा उद्योगका केही ठूला नामको पनि अन्तर्वार्ता छ, जसले राजामौलीको सफलतामा योगदान दिएका थिए । जसमा अभिनेता र निर्मातासम्म छन् । रिलिजका लागि तयार सिरिज चार महिनामा हैदराबाद, टोकियो, लसएञ्जल्सजस्ता स्थानमा छायांकन गरिएको थियो ।

‘ जिउने चाहना’ मा डाक्टर रमिल अधिकारीसँग केकीको रोमान्स

काठमाडौँ । डाक्टर रमिल अधिकारीको ‘जिउने चाहना’ बोलको गजलको भिडियो रिलिज गरिएको छ । डाक्टर अधिकारीको शब्द शृजना रहेको गजलको भिडियो उनले आफ्नो जन्मदिनको अवसर पारेर बजारमा ल्याएका हुन् । जसमा गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ ।

भिडियोमा गीतकार स्वयम र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ । एक प्रेमील जोडीबिचको प्रेम र विरहको कथालाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले सम्पादन गरेका हुन् ।

गीतकार पोखरेली युवा डाक्टर अधिकारी न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत छन् । न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको
कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजल्याण्डका लागि पर्यटनदुतका रुपमा पनि कार्यरत छन् । सार्वजनिक गीत गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो ।

मधेस प्रदेशले दियो भोली सार्वजनिक बिदा

धनुषा – मधेस प्रदेश सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।

मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

संघीय सरकारमा कर्णालीको सहभागिता शून्य, हेलिकोप्टरमाआएका प्रचण्डले मन्त्री बनाउने सपना मात्र बाँडे

सुर्खेत – चुनावको मुखैमा कर्णालीमा हेलिकोप्टर आएका माओवादी अध्यक्ष प्रचण्डले जुम्ला, कालिकोट र हुम्ला गएर संघीय सरकारको मन्त्री बनाउने सपना बाँडे । उनले भनेका थिए, ‘जितेर आउनु, मन्त्री बनाउने मेरो जिम्मेवारी ? ’ चुनाव सकियो, विभिन्न राजनीतिक उथल पुथलका बीचमा गठबन्धन भत्कियो, नयाँ समिकरणसहित प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा पुगे । तर प्रचण्डले कर्णालीमा आएर बोलेको कुरा उनको मन्त्री मण्डलमा कर्णाली हरायो । सबैलाई लागेको थियो, जाजरकोटका शक्ति बस्नेत, कालिकोटका महेन्द्रबहादुर शाही, हुम्लाको कार्चेन लामा मध्य एक संघीय सरकारका मन्त्री बन्ने छन् । तर जव २३ सदस्यीय मन्त्री मण्डलमा कर्णालीको नाम निसानै हराउने गरी एक जना राज्यमन्त्रीसम्म नपर्दा धेरैले सामाजिक सञ्जालमा प्रचण्ड सरकारले कर्णालीलाई हेप्यो भन्दै टिप्पणी गर्न भ्याएका छन् ।’

हुन न त कर्णालीमा माओवादीले मुख्यमन्त्री पाएको छ । अन्य प्रदेश भन्दा माओवादीको बलियो उपस्थिती जनमतका हिसावले कर्णाली एक नम्वर रहेको छ । माओवादी उपमहासचिव शक्तिबहादुर बस्नेत गृहमन्त्री वन मन्त्रीदेखि स्वास्थ्यमन्त्रीसम्म भइसकेका थिए । पार्टीभित्र  प्रचण्डको विश्वास पात्रमा पर्छन् बस्नेत ।

बाहिर सार्वजानिक रूपमा नबोले पनि भित्र आशय त्यही रहेको उनी निकट स्रोतले बतायो । उनीलाई बाममन्थी शक्तिलाई एकै ठाउँमा ल्याएर अगाडी बढ्नको लागि वार्ता समितिको सदस्यसमेत बनाएकाले पनि मन्त्री बन्न नचाहेको अवस्था एकातिर छदैछ । माओवादी मात्र होइन, एमाले पनि कर्णालीमा मन्त्री बन्ने उचाइ भएको व्यक्ति भेटाएन । राप्रपको पनि सोही व्यवहारले कर्णालीलाई हेरेको छ ।

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्र छन् । त्यस्तै, हरेक प्रदेशबाट राष्ट्रियसभामा आठ जनाको प्रतिनिधित्व छ । यहाँबाट हाल संघीय संसद्को राष्ट्रियसभामा आठ र प्रतिनिधिसभामा २१ गरी २९ सांसद छन् । यो प्रदेशबाट अहिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १२ र समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिएका नौ सांसद रहेका छन् ।

कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने दर्जनौँ सांसद भएपनि प्रचण्डको ‘क्याबिनेट’ मा एक जनाले पनि प्रवेश पाएका छैनन् । प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जनाले पहिलो पटक मन्त्रालयको जिम्मेवारी पाएका छन् । चार जनालाई उपप्रधानमन्त्री, १५ जनालाई मन्त्री र तीन जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

धेरै दलको सहभागिता रहेको ठूलो मन्त्रीमण्डल बनाउँदा पनि सरकारमा कर्णालीको प्रतिनिधित्व नगराइनु दुखद् भएको माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी इन्चार्ज कालिबहादुर मल्लले बताए । माओवादीले प्रदेशको नेतृत्व पाएकाले पनि प्रचण्डले आफ्नो दलबाट संघीय सरकारमा प्रतिनिधित्व नगराएको हुनसक्ने कतिपय माओवादी नेताहरूको बुझाइ छ । माओवादीबाट प्रत्यक्षमा चार र समानुपातिकमा एक गरी पाँच जना सांसदको प्रतिनिधिसभामा प्रतिनिधित्व छ ।

विकास र नेतृत्वका हिसाबले कर्णाली अन्य प्रदेशको तुलनामा पछाडि छ । पिछडिएको क्षेत्रबाट मन्त्रिपरिषद्मा एक जनाको पनि प्रतिनिधित्व नहुनु दुःखद रहेको विश्लेषण रहेको छ ।

मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन एवम् नागरिक समाजका अगुवा पीताम्बर ढकालले सत्ता गठबन्धन दरिलो नहँुदा केन्द्रीय नेतृत्वमा कर्णाली अटाउन नसकेको बताए । विगतका सरकारमा पनि कर्णालीबाट संघीय सरकारमा निकै न्यून सहभागिता रहने गरेको थियो । मन्त्रिमण्डलमा सामेल गराए पनि प्रमुख मन्त्रालय नदिने गरिँदै आएको हो ।

सत्ता गठबन्धनको प्रमुख दल एमालेले समेत मन्त्रीमण्डलमा कर्णालीको प्रतिनिधित्वलाई बेवास्ता गरेको छ । यसपटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कर्णालीमा निल बनेको एमालेका समानुपातिक सांसद भने छन् । ती सांसदहरूलाई पनि उक्त पार्टीले सरकारमा नपठाएको हो ।

मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न र आयोजना पनि समयमै सम्पन्न गर्न ऊर्जामन्त्री लिङ्देनको आग्रह

काठमाडौं – उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग भेटवार्ता गरेका छन् ।

बुधबार यी दुवै संस्थाका प्रतिनिधिसँग भेटवार्ता गर्दै उनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न र आयोजना पनि समयमै सम्पन्न गर्न आग्रह गरेका हुन् ।

उनले आयोजना समयमै सम्पन्न गरी देशलाई ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य साथ योगदान पु¥याउन पनि दुवै संस्थाका प्रतिनिधिसँग आग्रह गरेका थिए । भेटमा दुवै संस्थाका प्रतिनिधि लिङ्देन लाई बधाई तथा शुभकामना दिएका थिए ।

नेता पुनको स्वास्थ्यावस्था बुझ्न अस्पताल पुगे माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव वर्षमान पुनलाई भेट गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यावस्थाबारे जानकारी लिन नेपाल आज अस्पताल नै पुगेका हुन् ।

यस्तै पुनलाई भेट्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि पुगेका छन् । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा गत शनिबारदेखि सुमेरु अस्पतालमा भर्ना भएका थिए ।

केपिलासगढीमा गोरु जुधाई प्रतियोगीता

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा गोरु जुधाई प्रतियोगीता आयोजना गरिएको छ । माघे संक्रान्तीका दिन गर्ने भनिएको गोरु जुधाई प्रतियोगीता बुधबार बाक्सिलास्थित पृथ्बी माविको प्रांगणमा आयोजना गरिएको हो ।

प्रतियोगीतामा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क पातेलका तोरण बस्नेतको डुके नामको गोरु प्रथम, केपिलासगढी गाउँपालिका–६ दिप्सुङका रिमल राईको डुके गोरु दोश्रो र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका उमेश बस्नेतको तारे गोरु तेश्रो भएका छन् । प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने गोरुले क्रमशः २० हजार, १० हजार र पाँच हजार जितेका छन् ।

प्रतियोगीतामा केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका नौ गोरुबीचमा प्रतिष्पर्धा गराइएको थियो । गत माघ १ गते माघे संक्रान्तीका दिन केपिलासगढीमा एलम्वर दिवस, त्रिबेणी लगायतका ठाउँमा मेला लाग्ने भएकाले सो दिन गर्ने तयारी गरिएको गोरु जुधाई प्रतियोगीता केही दिनपछि सारिएको हो ।

गोरु जुधाई प्रतियोगीता स्थानीय रामचन्द्र बिक र पासाङ घले गुरुङले आयोजना गरेका हुन् । किसानलाई स्वस्थ गोरु उत्पादनमा प्रोत्साहित गर्दै स्थानीयलाई मनोरञ्जन दिन गोरु जुधाई प्रतियोगीता आयोजना गरिएको हो ।

पहिलोपल्ट आयोजना गरिएको गोरु जुधाउने प्रतियोगीता हेर्नका लागि खेलमैदान आसपासमा स्थानीयको बाक्लो उपस्थिति देखिएको स्थानीय शिब राईले बताए । आगामी वर्षदेखि हरेक माघ २ गते बाक्सिलामा गोरु जुधाई प्रतियोगीता गर्ने आयोजकले जनाएको छ । मेला वा चाडको अवसरमा अन्य केही जिल्लामा गोरु जुधाउने प्रतियोगीता गरेझैं केपिलासगढीमा पनि गोरु जुधाउने प्रतियोगीता सुरु गरेको बिकले बताए ।

बसको ठक्करबाट सप्तरीमा वृद्धको मृत्यु

जनकपुरधाम – सप्तरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा ना५ख ६७२ नम्बरको यात्रु वहक बसको ठक्करबाट करिब ६५ वर्षीय साइकलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बसको ठक्करबाट स्थानीय राजेन्द्र बिस्वासको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।शव पोष्ट मार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको तथा बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौं जिल्लाको प्रमुख पदमा सरुवा भएका थिए ।

प्रहरी प्रधान कार्यालयबाट काठमाडौं जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधबार विहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यालयमा प्रहरी अधिकारीले कार्कीलाई स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उनको भनाइ थियो ।

बुधबारै एसएसपी कार्कीले कार्यालय मातहत वृत्त, प्रभाग प्रमुखहरुलाई शान्ति सुरक्षासम्बन्धी आवश्यक निर्देशनसमेत दिएको एसपी दिनेश मैनालीले जानकारी दिए ।