`

सरकारले देशभरका क्रसर उद्योगको अध्ययन गर्ने

काठमाडौं – सरकारले देशभरका क्रसर उद्योगहरुबारे अध्ययन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकका निर्णयबारे जानकारी दिँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललेले अवैध तथा वैध रुपमा सञ्चालित क्रसरबारे अध्ययन गरेर क्रसर उद्योगहरू खोल्नेबारे निष्कर्षमा पुग्ने निर्णय गरेको बताए ।

अध्ययन गर्ने समितिमा जिल्ला समन्वय अधिकारी, क्रसर व्यवसायी संघका अध्यक्ष, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नापी कार्यालय, सडक डिभिजन कार्यालय, जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय, विद्युत् कार्यालय तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू रहने बताइएको छ ।

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी

काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवारी दिएकी छिन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश  ज्वालाले छन् ।

संसद सचिवालयले भोलि हुने सभामुख चयन प्रक्रियामा आज साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो । यसअघि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइ सकेका छन् ।

सभामुखमा उम्मेदवारी दिन कांग्रेस नेतृ न्यौपाने पुगिन् संसद भवन

काठमाडौं – प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिन कांग्रेस नेर्त ईश्वरी न्यौपाने बानेश्वरस्थित संसद भवनमा पुगेकी छिन् । उनको प्रस्तावकको रुपमा लाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रसमर्थक एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश  ज्वालाले गरेका छन् ।

न्यौपाने सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाध्यक्षता गर्ने अध्यक्ष मण्डलकी सदस्य पनि हुन् । उनी यसअघि कांग्रेसको प्रमुख सचेतक भइसकेकी छिन् ।

९ अंकले घट्यो सेयर बजार

काठमाडौं – सेयर बजारमा बुधबार गिरावट आएकाे छ । आज नेप्से परिसूचकमा ९.०१ अंकले ओरालो लाग्दा २१७३.१० विन्दुमा  रोकिएको छ । साथैै, बुधबार २४८ कम्पनीको कारोबार भएको छ । जसमा १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९२ करोडभन्दा बढीको कारोबार भएको छ ।

आज रिडी पावर कम्पनीकोे सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३५ करोडभन्दा बढीको सेयर बिक्री भएको नेप्सले जनाएकाे छ ।  दोश्रो स्थानमा अपि पावर कम्पनीको १९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर, हिमालय उर्जा विकास र ग्रीन भेन्चर्समा करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ९ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

कुल ८० कम्पनीमा मूल्य उकलो लागेको छ भने १२१ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ । आज १३ उपसुचकमध्ये ३ कम्पनीबाहेका सबै उपसुचकमा ओरालो लागेको छ ।

पर्यटनमन्त्री श्रीपालीले लिइन् सपथ

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले आज सपथ लिएकी छिन् । सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीपालीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

मंगलबार राष्ट्रपति कार्यालयमा भएको सपथमा उनी ढिला पुगेका कारण छुटेकी थिइन ।

ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं, ४ माघ-कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठक पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो  ।

बुधबार बिहान सभापति देउवाले आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर सभामुख निर्वाचनबारे छलफल गरेका थिए। सोही बैठकमा न्यौपानेलाई उम्मेदवार बनाउने आन्तरिक तयारी छलफल भएको थियो । कांग्रेसले सभामुख उम्मेदवार बनाउन लागेकी न्यौपाने कैलालीकी हुन् ।

पदाधिकारी बैठकअघि देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार प्रतिनिधिसभामा सभामुखका लागि मतदान हुनेछ ।

सभामुखमा उम्मेदवारी दर्ता गरेपछि बहिरिए एमालेका देवराज घिमिरे

एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका छन् । उनलाई एमालेका नेता सुवाश नेम्बाङ प्रस्तावक र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

सानिमा मिडिल तमोरको आइपीओ खुला

काठमाडौं – सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ ४ माघदेखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उक्त आइपिओ बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिकित्ता सेयर १०० रुपैयाँ दरका ३३ लाख ३२ हजार ५०० कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो। तीमध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १३ लाख ३३ हजार कित्ता छुट्याएको छ ।

कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका फुङलिङ नगरपालिका वडा नम्बर १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नम्बर १ तथा भिक्वाखोला गाउँपालिका वडा नम्बर १ र २, मेरिङदेन गाउँपालिका वडा नम्बर २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ५ तथा मैवाखोला गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्ने स्थानीय बासिन्दा रहेका छन । कम्पनीले आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका बासिन्दाहरूका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता सेयर निष्कासन गरेको हो ।

साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्ने ४९ लाख ९८ हजार ७५० कित्ताको १० प्रतिशत अर्थात् चार लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

यसैगरी, विदेशमा रहेका नेपालीहरुले उक्त आइपिओमा १८ माघसम्म आवेदन दिन सक्नेछन् । साथै आयोजना प्रभावित स्थानीयले भने ४ फागुनसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी इस्युर’ रेटिङ प्रदान गरेको र वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ ।

स्थानीय बासिन्दाहरूले ताप्लेजुङ जिल्लास्थित सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सानिमा मिडिल तमोरको कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेले गरे उम्मेदवारी दर्ता

काठमाडौं – एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका छन् ।

उनकाे प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।

प्रधानमन्त्री दाहालसँग बेलायतका राजदूत निकोलाको भेट

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

मुग्लिन-नारायणगढ सडक : अब दिउँसाे १२ देखि ४ बजेसम्म बन्द हुने

काठमाडाैं, ४ माघ । नारायणगढ–मुग्लिन सडक विस्तार नसकिएकाले थप एक महिना दिउँसोको समयमा सवारीसाधन रोकेर निर्माण गरिने भएको छ । यस खण्डमा हाल पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत ५ पुसबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आएको थियो । ५ माघबाट भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सरोकारवालाको बैठकले काम नसकिएकाले दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए ।

१० चैत ०७६ मा ३३ महिनाभित्र सम्पन्न गर्ने गरी एक अर्ब २५ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार ९ पुसमा सम्झौताअवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।यो सडकको चौडाई ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।

‘निर्वाचन समीक्षा कार्यदल’ ले अध्यक्ष थापालाई पेस गर्यो प्रतिवेदन

काठमाडौं – गत ४ मंसिरमा सम्पन्न भएको निर्वाचनपछि राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकले गठन गरेको ‘निर्वाचन समीक्षा कार्यदल’ ले आज अध्यक्ष कमल थापासमक्ष पेस गरेको छ । पार्टी उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिवेदन आगामी ९–१० माघमा काठमाडौंमा डाकिएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने छ ।

प्रतिबेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समीक्षा प्रतिवेदन विस्तृत अध्ययन गरेर केन्द्रीय समितिमा छलफलपश्चात् कार्यान्वयन गरिने बताए । प्रतिवेदन यथार्थपरक र ब्यावहारिक बनाउन हरसम्भव प्रयास गरिएको, देशभरिका नेता कार्यकर्ताहरुको भावना समेटिएको तथा कमीकमजोरीका बारेमा समेत यथेष्ट उल्लेख गरिएको कार्यदलका संयोजक भण्डारीले जानकारी दिए ।

कार्यदलमा बसन्तमानसिंह अधिकारी, सुरेश आचार्य, माधव खत्री, नरप्रसाद थापा, यवती कार्की, हिक्मतसिंह भण्डारी, राजाराम बर्तौला, उज्वल पोखरेल छन् ।

चीनमा ६० वर्षमा पहिलो पटक घट्यो जनसंख्या

एजेन्सी – चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ, ।  राष्ट्रिय जन्मदर रेकर्ड  प्रति १ हजार व्यक्तिमा ६ दशमल ७७ जन्म रहेको छ । सन् २०२१ मा देशको जनसंख्या साढे ८ लाख घटेको छ । सन् २०२२ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड थियो ।

जनसंख्यामा देखिएको यो गिरावट देशले अंगीकार गरेको एक सन्तानको नीतिको नतिजा रहेको जनाइएको छ । चीन अहिलेसम्म विश्वमै सबैभन्दा बढी जनसंख्इा भएको देश हो । तर, केही वर्षपछि भारतले उछिन्ने विभिन्ने प्रक्षेपणले देखाएका छन् ।

कमिसनको चक्करमा नौ वटा सिँचाइ आयोजना अलपत्र, एक करोड ३३ लाख स्वाहा

सुर्खेत – जाजरकोट भेरी नगरपालिका–१ को रिम्ना लिफ्ट सिँचाइ आयोजना कागजीरुपमा सम्पन्न भएको भएको पाँच महिना पुग्यो । तर, आयोजना पूर्ण रुपमा निर्माण सम्पन्न भएको छैन । २५ लाख रुपैयाँ खर्चिएको यो आयोजना हाल अलपत्र छ ।

सोलार पाताहरू अलपत्र र तोडफोड गरिएको अवस्था छन् । निर्माण सम्पन्न भएको भन्दै कृषि विकास कार्यालयले आयोजनाको सम्पूर्ण रकम भुक्तानी दिइसकेको छ । आयोजनाका लागि पर्याप्त पाइपसमेत छैन । पाँच सय मिटर पाइप स्टमेट भए पनि आयोजनामा कार्यालयले तीन सय मिटरमात्रै पाइप दिएको छ । सिँचाइ पोखरीसम्म पाइप नपुगेकै कारण आयोजना सञ्चालनमा आउन नसकेको हो । आयोजनाको सम्पूर्ण निर्माण सामग्री कार्यालय आफैले खरिद गरेको थियो ।

त्यस्तै, भेरी नगरपालिका–१३ बारेलास्थित इमिलेचौर लिफ्ट सिँचाइ योजना पनि अलपत्र छ । १५ लाखको यो आयोजााको पाइप र सोलहरू यत्रतत्र छरिएका छन् । आयोजनाको सोलार सिस्टमनै चल्दैन । यो आयोजनाको पनि सम्पूर्ण निर्माण सामग्री कार्यालयले आफैले खरिद गरेको थियो । तर, आयोजनाले स्टेमटअनुसार पाइप पाएन । पाइप अपुग भएकै कारण नदीदेखि पोखरीसम्म पानी पुगेको छैन ।

भेरी नगरपालिका १२ को बिस्नेचौर लिफ्ट सिँचाइ आयोजना पनि अलपत्र छ । १० लाखको यो आयोजनाले न स्टमेटअनुसार पाइप पाएको छ न त पाइप र सोलारको संरक्षण नै गरिएको छ । पाँच सय ८० मिटर पाइप स्टमेट गरिएको आयोजनाले तीन सय मिटरमात्र पाइप पाएको छ ।

यो आयोजनाको त पोखरीसमेत निर्माण नगरिएको छैन । सोही क्षेत्रमा यसअघि निर्माण गरिएको डिप बोरिङको पोखरीमा पानी जम्मा गर्ने भनिएको थियो । तर नदीबाट पोखरीसम्म पुग्ने पाइप आयोजनाले पाएको छैन । आयोजनाको सोलार सिस्टमपनि चल्दैनन् । खानेपानीसमेत सुविधा नभएको त्यहाँका २५ घरधुरी स्थानीयले नदीबाट पानी बोकेर पिउन बाध्य छन् ।

भेरी नगरपालिका–१३ स्थित बिस्नेचौरमा लिफ्ट सिँचाइ योजनाको अवस्था पनि हरिबिजाग छ । १५ लाखको यो आयोजनाबाट ३५ घरधुरी लाभान्वित हुने लक्ष्य थियो । दुर्भाग्य, निर्माण सम्पन्न नभएकै कारण किसानले लाभ पाउन सकेका छैनन् ।

उल्लेखित आयोजना मात्रै होइन । गत आर्थिक वर्षमा कृषि विकास कार्यालयबाट सञ्चालन भएका नौ वटा सिँचाइ आयोजनाहरू अहिले पनि अलपत्र परेका छन् । आयोजना कागजमा सम्पन्न भएपनि सञ्चालनमा ल्याउन सकिएको छैन । तर, सबै आयोजनको रकम भुक्तानी भइसकेको छ । कमिसनको चक्करले कुनै पनि आयोजनाको पूर्ण निर्माण सम्पन्न भएनन् । सबै आयोजनाले स्टमेटअनुसार पाइप पाएका छैनन् । आयोजना सञ्चालनमा आउन नसकेपछि पाइप, सोलार र पानी तान्ने मोटरहरू अलपत्र छन् । तर, लिफ्ट सिँचाइ आयोजनाको नाममा एक करोड ३५ लाख रकम स्वाहा भइसकेको छ । आर्थिक वर्ष २०७८/०७९ मा दशवटा सिँचाइ योजनाहरू निर्माण थालिएका हुन् । कागजी रुपमा निर्माण सम्पन्न गराएर कार्यालयले एक करोड ३३ लाख रकम भुक्तानी दिइसकेको छ ।

यी हुन् अलपत्र आयोजनाहरू
गत आर्थिक वर्षमा कृषि विकास कार्यालयले सञ्चालन गरेका नौ वटा सिँचाइ आयोजनारु अलपत्र परेका छन् । छेडागाड–१३ को मनघाट लिफ्ट सिँचाइ योजना, भेरी १० को तल्लोचौर लिफ्ट सिँचाइ योजना, भेरी १२ को बिस्नेचौर लिफ्ट सिँचाइ योजना, भेरी १३ को इमिलेचौर लिफ्ट सिँचाइ योजना अलपत्र छन् ।

त्यस्तै, भेरी १२ को बारेला लिफ्ट सिँचाइ योजना, भेरी ११ को थापाचौर लिफ्ट सिँचाइ योजना, भेरी नगरपालिका–१ को रिम्ना लिफ्ट सिँचाइ योजना नलगाड- ७ को चामाखेत लिफ्ट सिँचाइ योजना र नलगाड- ८ को मनमइ लिफ्ट सिँचाइ योजना पनि अलपत्र छन् ।

आयोजनामध्ये मनघाट आठ लाख, तल्लोचौर दश लाख, बिस्नेचौर १५ लाख, इमिलेचौर १० लाख, बारेला १० लाख, थापाचौर १५ लाख, रिम्ना, २५ लाख, चामाखेत १० लाख र मन्मइ १५ लाखको सिँचाइ आयोजनाहरू हुन् ।

कसले खायो कमिसन ?
कमिसन खाने प्रवृतिका कारण लिफ्ट सिँचाइ आयोजना अलपत्र परेका छन् । तर कमिसन कसले खायो भन्ने विषयमा भने उपभोक्ता र कार्यालयले एकले अर्कालाई दोष दिएका छन् । कार्यालयले कमिसन खाएकै कारण सिँचाइ आयोजना अलपत्र परेको उपभोक्ताहरू आरोप लगाउँछन् । ‘कमिसन खानकै लागि आयोजनाका सम्पूर्ण सामग्रीहरू कार्यालय आफैले खरिद ग¥यो’ इमिलेचौर लिफ्ट सिँचाइ योजनाका अध्यक्ष रामे कामीले भने, ‘कमिसन खाएकै कारण कार्यालयले स्टमेट अनुसार पाइप दिएन, दिएका सामान पनि गुणस्तर छैनन् ।’ भेरी नगरपालिका–१३ का धरमबहादुर बस्नेतले पनि कृषि विकास कार्यालयले कमिसन खाएकै कारण आयोजना लपत्र परेको आरोप लगाए ।

‘कमिसनका लागि उपभोक्तालाई थाहानै नदिइ कार्यालयले सामग्री खरिद गर्यो’ उनले भने, ‘उपभोक्ताको खातामा रकम हाल्यो, चेकमा सही गराएर पैसा लिएर गयो ।’ उपभोक्ता समितिलाई थाहा नदिए बोलपत्र आह्वान गरेको, उपभोक्ताको नामबाट कागज मिलार सामग्रीहरू खरिद गरेको जस्ता आरोप लगाएका छन् । कमिसनकै लागि कार्यालयले सोलार, पाइप, जाली, सिमेन्ट लगायतका सामग्री खरिद गरेको उपभोक्ताहरूको आरोप छ ।

तर, कार्यालयले कमिसन नपाएपछि उपभोक्ताहरूले अनावश्यक आरोप लगाएको दाबी गरेको छ । ‘आयोजनाहरूका सामान खरिदमा कार्यालयको कुनै संलग्नता छैन, उपभोक्ता समिति आफैले सामान खरिद गरिएका हुन्’ कृषि विकास कार्यालयका प्रमुख रविन धितालले भने, ‘तर सामान खरिद गरेको कम्पनीबाट कमिसन नपाएपछि उपभोक्ताले कार्यालयलाई अनावश्यक आरोप लगाएका हुन् ।’ बरु सामान खरिदका उपभोक्ताहरूको नम्बर दिएर आफूले सहजीकरण मात्रै गरेको उनको जिकिर छ । आयोजना सम्पन्न गराउन उपभोक्ताहरूले श्रमदाननै नगरेको, सामान खरिद गरिएको कम्पनीबाट हरेक सदस्यले कमिसन मागेको उनको आरोप छ ।

पासविक यातनामा फर्कियो तालिबान, चोरी गरेको भन्दै हात काटियो

एजेन्सी – तालिबानले मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा डकैती र अश्लित कार्यमा  दोषी ठहरिएका ९ जनालाई सार्वजनिक रूपमा कोर्रा लगाएका छन् । ‘मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा नौ जनालाई डकैती र अश्लिलताको आरोपमा सजाय दिइएको थियो’, टोलो न्यूजले ट्वीट ग–यो ।

प्रहारको क्रममा स्थानीय अधिकारी र कान्दाहारका बासिन्दाहरू उपस्थित थिए । प्रान्तीय गभर्नरका प्रवक्ता हाजी जैदले दोषीहरूलाई ३५–३९ पटक कुटपिट गरिएको बताए । यसैबीच, अफगान पुनर्वास मन्त्री र बेलायतमा शरणार्थी मन्त्रीका पूर्व नीति सल्लाहकार शबनम नसिमीले तालिबानले कान्दाहारको एक फुटबल स्टेडियममा चार जनाको हात काटेको बताएका छन् ।

अन्तर्राष्ट्रिय निन्दाको बाबजुद तालिबानले कट्टरपन्थी सर्वोच्च नेताको आदेशपछि कोर्रा लगाउने र अपराधीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन सुरु गरेको छ ।

सभामुखबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी

काठमाडौं – सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसेको हो ।

बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ । संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ । सभामुखको उम्मेदवार कसलाई उठाउने भन्नेबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बसेको हो।

कांग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन । पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्नेबारेमा छलफल हुनेछ । कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन् । यदि कांग्रेसले उम्मेदवारी नदिएमा एकीकृत समाजवादीले उठाउने उम्मेदवारलाई समर्थन गर्ने बुझिएको छ । एकीकृत समाजवादीमा राजेन्द्र पाण्डे र भानुभक्त जोशी सभामुखका आकांक्षी छन् ।

कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा मात्र ध्यानदृष्टि दिएको छ । मंगलबार बसेको सर्वदलीय बैठकमा पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने स्पष्ट पारिसकेको छ ।

ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतकमा नियुक्त

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र बहादुर शाही नियु्क्त भएका छन ।

राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी बनेका थिए । तत्कालीन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई झण्डै ११ हजार मतले हराएका शाही प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्ने पनि चर्चा थियो । तर, अध्यक्ष लिङ्देनले मन्त्रीमा पाका अनुहारलाई रोजेर शाहीलाई संसदीय जिम्मेवारी सुम्पिएका हुन् ।

शाहरुखको लामो हेयर स्टाइलको चर्चा

मुम्बई – बलिउडका मेगा सुपरस्टार शाहरुख खान हालका दिनमा फिल्म ‘पठान’का कारण चर्चामा छन् । यो फिल्ममा शाहरुखको लामो कपाल र सोलिड फिजिकको लुक्स लिएर दर्शकमाझ आउँदैछन् ।

अहिले शाहरुखको लामो हेयर स्टाइलको चर्चा बढी छ । तर कमैलाई थाहा होला कि शाहरुखको लामो हेयरस्टाइल उनका लागि भाग्यशाली सावित हुँदै आएको छ । फिल्म ‘पठान’ अघि पनि उनको लामो हेयर स्टाइल लुक्स सुपरहिट सावित भइसकेको छ ।

डन २

शाहरुख खानको फिल्म ‘डन’को सिक्वेल अर्थात् ‘डन २’ मा उनलाई लामो हेयर लुक्समा प्रस्तुत गरिएको थियो । सन् २०११ मा रिलिज ‘डन २’मा शाहरुखको लामो हेयर लुक्सको तारिफ गरिएको थियो । यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो । फिल्मले बक्स अफिसमा एक सय ६ करोड बढी कलेक्सन गरेको थियो ।

ह्याप्पी न्यू इयर

सन् २०१४ मा रिलिज शाहरुखको फिल्म ‘ह्याप्पी न्यू इयर’ पनि यही सूचीमा सामेल छ । यो फिल्ममा शाहरुखले पौनी टेल हेयर स्टाइल बनाएका थिए । लामो कपालको यो लुक्स निकै भाइरल भएको थियो । उनको यो शैलीलाई फ्यानले कपि पनि गरेका थिए । यो फिल्म बक्सअफिसमा हिट साबित भएको थियो । फिल्मले बक्सअफिसमा २ सय ३ करोडको कमाई गरेको थियो ।

‘डन २’ र ‘ह्याप्पी न्यू ईयर’मा शाहरुखको लामो कपालले आफूलाई भाग्यशाली बनाए जस्तै ‘पठान’ पनि भाग्यशाली हुने दाबी उनका फ्यानको छ । फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । फिल्ममा जोन अब्राहम र दीपिका पादुकोणको पनि अभिनय छ ।

कर्णालीको उपसभामुखका लागि उम्मेदवारी दर्ता

सुर्खेत – कर्णाली प्रदेश सभाका उपसभामुखका पदमा लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनले आ-आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।प्रदेश सभा सचिवालयमा कांग्रेसबाट इन्द्राकुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्तारुढ दलबाट माओवादी केन्द्रका यशोदा न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् । उपसभामुखको निर्वाचन बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ। गठबन्धनको भागबन्डामा उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ।

आज विदेशी मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?

काठमाडौं – नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५२ पैसा र बिक्रीदर १३१ रुपैयाँ १२ पैसा तोकिएको छ । मंगलबार यसको खरिददर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ८९ पैसा तोकिएको थियो ।

आज रोपियन युरो खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीमा १४१ रुपैयाँ ८२ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिद १४१ रुपैयाँ ३ पैसा र बिक्री १४१ रुपैयाँ ६८ पैसामा भएको थियो ।

अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ८ पैसामा कारोबार भइरहेको छ । साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

कतारी रियालको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ १७ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३१ पैसा रहेको छ ।

दक्षिण कोरियन यन १०० को खरिदमा १० रुपैयाँ ५४ पैसा र बिक्रीमा १० रुपैयाँ ५९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६९ पैसा र बिक्रीमा १६ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर ४२७ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३५ पैसा र बहराइन दिनार एकको खरिदमा ३४६ रुपैयाँ २८ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ८७ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

चलचित्रकर्मी कल्याण कोषमा उदित-दीपाको पाँच लाख सहयोग

काठमाडौं – गायक उदितनारायण झा र गायिका दीपानारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा पाँच लाख एक सय एघार रुपैयाँ प्रदान गरेका छन् ।

आफ्नो कार्यक्रमको सिलसिलामा नेपाल आएका बेला गायिका झाले मंगलबार उक्त रकम नेपाली चलचित्रकर्मीको हितमा काम गर्ने कोषमा हस्तान्तरण गरेकी हुन् ।
झासँगै अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही एक लाख एक सय एघार, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार एक सय एघार र चलचित्रकर्मी महिला सशक्तिकरण समितिकी संयोजक गीता नेपालले ११ हजार एक सय एघार रुपैयाँ कोषमा प्रदान गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रुपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना भएको थियो । कोषमा हालसम्म पाँच करोड रकम जम्मा भएको कोषकी संयोजक बसुन्धरा भुसालले बताइन् । यसको लक्ष्य १० करोडको रहेको उनको भनाइ छ ।

मंगलबार चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्ने चलचित्रकर्मीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहयोग प्रदान गर्ने दीपा झा, दीपकराज गिरी, दीपाश्री निरौला र गीता नेपालको उपस्थिती थियो । साथै, चलचित्र विकास बोर्डका पूर्वअध्यक्षहरु शम्भुजीत बास्कोटा, कृष्ण मल्ल, राजकुमार राईसहित नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष  पुस्कर लामा,  बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, चलचित्रकर्मी माधव राज खरेल, गोपाल ढकाल छन्देलगायत उपस्थित थिए ।

गायिका झाले आफ्नो जीवनकालको महत्वपूर्ण समय दिएको क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । आफूले नेपाली चलचित्रका गीतहरुबाटै उचाई प्राप्त गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरिन्।

सभामुखको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिँदै

काठमाडौं – संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार बुधबार १ देखि ४ बजेसम्म दलहरूले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।

नयाँबानेश्वरस्थित संसद् भवनको लोत्से हलमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ (२) बमोजिम दलले कुनै सांसदलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गराउनुपर्ने कार्यतालिका छ । प्रस्तावक र समर्थकसहित उम्मेदवारको प्रस्ताव दर्ता भएपछि ४ः१५ बजे संसद् सचिवालयले सबै उम्मेदवारको दर्ता क्रमानुसार सूची प्रकाशित गर्ने कार्यक्रम छ ।

सातदलीय सत्तागठबन्धनको भागबन्डामा सभामुख पाएको एमालेले झापा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुखमा एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि आकांक्षी थिए । कांग्रेसले भने अहिलेसम्म उम्मेदवारी दिने कि नदिने भन्ने निर्णय गरेको छैन । सभामुखको निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठकले पार्टीकै उम्मेदवार बनाउने कि एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गर्नेछ । कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन् ।

बिहीबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उम्मेदवारको प्रस्तावकले सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्नुपर्नेछ । त्यसपछि उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुनेछ । छलफलपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दर्ता क्रमानुसार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।  एउटा मात्रै मनोनयन परेमा निर्विरोध तथा दुई वा दुईभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुने अवस्थामा हरेक सदस्यको मतविभाजनबाट निर्णय लिइन्छ पक्ष, विपक्ष र तटस्थ गरी तीनवटा विकल्प दिएर छुट्टाछुट्टै लबीमा सांसदहरूले दस्तखत गरेर आफ्नो मत राख्छन् ।

सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्छ । बिहीबार सभामुख निर्वाचित गरेर सोही दिन शनिबारलाई उपसभामुखको निर्वाचन मिति तोक्ने तयारी प्रतिनिधिसभाको छ । शुक्रबार उपसभामुखको मनोनयन दर्ता र शनिबार निर्वाचन गर्ने तयारी रहेको संसद् सचिवालयका अधिकारी बताउँछन् ।

लन्डनमा नेपाली फिल्म फेस्टिभल

काठमाडौं – विश्व बजारमा नेपाली फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बेलायतको राजधानी लन्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना हुने भएको छ । थर्ड आईले आगामी १८ देखि २५ फेब्रुअरीसम्म फेस्टिभल आयोजना गर्न लागेको हो ।

फेस्टिभलमा एक दर्जन हाराहारी नेपाली फिल्म देखाइनेछ । हलमा रिलिज भएका तर युट्युबमा नआइसकेका फिल्महरूलाई छनोट गरी फेस्टिभलमा देखाइने थर्ड आईका निर्देशक विकास देवकोटाले बताए ।

विकासका अनुसार ‘जीवन काँडाकी फूल’, ‘प्रकाश’, ‘झिंगेदाउ’, ‘प्रेमगीत ३’ लगायत फिल्म फेस्टिभलका लागि छनोट भइसकेका छन् । ‘नेपालीमा के–कस्ता फिल्म बनिरहेका छन् भन्नेबारेमा प्रवासी दर्शकलाई थाहा दिन जरुरी छ । त्यसैले नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म छनोट गरेका छौँ’, विकासले भने ।

फेस्टिभलका लागि नेपालबाट एक दर्जनभन्दा बढी कलाकार लन्डन पुग्नेछन् । जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मालगायत रहेका छन् ।

डा.सन्दुक रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव

काठमाडौं – चर्चित कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेका बेला कलाकार आचार्यले रुइतलाई सर्वसम्मत रूपमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले डा.रुइतलाई राष्ट्रपति बनाउन सके नेपालको प्रतिष्ठा नै बढ्ने बताएका छन् । रुइतले नेपालीको मात्र होइन, संसारकै ज्योतिविहीनहरूको आँखाको उज्यालो छरेकाले उनलाई राष्ट्रपति बनाउनुपर्ने जिकिर गरेका हुन् ।

‘मनमा कुरा घुमिरहन्छ। यो देशको अबको रास्ट्रपति नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला । जसले नेपालीको मात्र नभई संसारकै ज्योतिविहीनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्रज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोग सिद्ध सावित गर्नुभयो । त्यसको मूल्यांकन गरी उहाँलाई संसारले नै सम्मान गरिरहेको छ । यसैअन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको (इसा अवार्ड) बाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्षित भएको छ,’ आचार्यले लेखेका छन् ।

उपराष्ट्रपतिले भेटे वर्षमान पुनलाई

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

जण्डिसमा समस्या देखिएपछि नेता पुनलाई केही दिनअघि सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ।

यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट केसीको शालिक निर्माण गरिने

काठमाडौं – आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले पायलट केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने भएको हो ।

केसी रुपा गाउँपालिका–३ पोल्याङका हुन् । उनलाई सोही गाउँपालिकाले २०७८ सालमा रुपारत्न सम्मानबाट समेत गरेको थियो । अमेरिकाबाट पाइलट कोर्स पढेर आएका केसी ले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुवात गरेका थिए ।

पेरुमा सरकारविरोधी प्रदर्शन थप चर्कियो, दर्जनौँ प्रदर्शनकारी मारिए

एजेन्सी – पेरुमा राष्ट्रपति डिना बोलुआर्टेको राजीनामा र नयाँ  निर्वाचनको मिति तोक्न माग गर्दै विगत केही सातादेखि भएको सरकारविरोधी प्रदर्शनका क्रममा ४२ जनाको मृत्यु भएको छ । प्रदर्शनमा दर्जनौँ घाइते भएका छन् ।

प्रदर्शन चर्किएपछि सरकारले राजधानी लिमा र अन्य तीन क्षेत्रमा संकटकाल घोषणा गरेको छ । लिमा, कुस्को, कालाओ क्षेत्रमा ३० दिनका लागि संकटकाल लगाइएको हो ।हप्तौंदेखि जारी प्रदर्शन तत्काल मत्थर हुने कुनै संकेत नदेखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रदर्शनका क्रममा सरकार र विद्रोहीबीचको झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको पेरुका मानव अधिकार आयुक्तले पुष्टि गरेका छन् । प्रदर्शनका क्रममा देशका विभिन्न क्षेत्रको सडक अवरुद्ध भएका छन् ।

डिसेम्बरको पहिलो हप्ता पूर्वराष्ट्रपति क्यास्टिलोलाई महाभियोगबाट पदच्युत गरी पक्राउ गरेपछि बोलुआर्टेले पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार सम्हालेकी थिइन् ।
ग्रामीण विद्यालयका पूर्व शिक्षक तथा युनियनका नेता क्यास्टिलोले आफ्नो १८ महिनाको कार्यकालमा धेरै नै विवादस्पद काम गरेका थिए । उनले संसदमा विरोधको सामना गर्नुपरेको थियो । उनीविरुद्ध  भ्रष्टाचार आरोपबारे थुप्रै आपराधिक अनुसन्धानहरू सुरु भएका छन् ।

रिलिज छेकोमा सरी ममको अफर

काठमाडौं – लागुऔषध दुर्व्यसनीविरुद्धको कथामा तयार भएको फिल्म ‘सरी मम’ बिहीबारबाट उपत्यकाभित्र प्रदर्शनमा आउँदैछ । रिलिजको पुर्वसन्ध्यामा निर्माण टिमले फिल्म हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ ।

निर्माण कम्पनी एनएफआई क्रियशनले आमा र छोराको प्रेमलाई बोलेको फिल्मसँग सम्बन्धित हुने गरी टिकटक बनाउँदा दर्शकलाई ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । आमासँगको तबिस्र अथवा भिडियो टिकटकमा सेयर गरेर ह्यासट्यागसरीमम र ह्यासट्यागएनएफ आइक्रिएसनसहित टिकटक बनाउँदा धेरै लाइक पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार पुरस्कार दिने घोषणा निर्माण टिमले गरेको छ । निर्माता विनोद लामाले यो अफर माघ महिनाभरलाई ल्याइएको बताए ।

फिल्मको २ टिकट किन्दा दर्शकले एक टिकट सित्तैमा पाउने पनि निर्माण टिमले बताएको छ । फिल्म प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा यो योजना ल्याइएको निर्देशन नविन बोगटी बताउँछन् । उता बसुन्धरामा रहेको चिरायू अस्पतालले फिल्म हेरिसकेर टिकटको कपी लिएर अस्पताल पुग्ने दर्शकलाई सबै स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । निर्माण टिम र अस्पतालबीच यस्तो सम्झौता भएको हो ।

नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

वर्षा नहुँदा बढ्यो प्रदूषण

काठमाडौं – माघ पहिलो साता, काठमाडौंको तापक्रम घटदो छ। र, पनि हिउँदे वर्षा हुन सकेको छैन। वर्षा नहुँदा मुलुकमा अत्यधिक प्रदूषण र सुक्खा बढेको छ। काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा निकै बढेको विज्ञहरूको भनाइ छ।

अर्को सातादेखि भने हिउँदे झरी पर्ने प्रवल सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। मौसम पूर्वानुमानअनुसार पश्चिम नेपालमा सोमबारदेखि वर्षा सुरु हुनेछ। काठमाडौंमा मंगलबारदेखि वर्षा हुनेछ। काठमाडौंमा मंगलबारदेखि बिहीबारसम्म लगातार वर्षा हुने अनुमान गरिएको छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार करिब साढे तीन महिनादेखि पानी पर्न सकेको छैन। जसका कारण उपत्यकामा प्रदूषणको मात्रा अध्यधिक बढेको छ।

तर, सोमबारबाट पश्चिम नेपालमा र मंगलबारबाट काठमाडौंमा पानी पर्ने सम्भावना एकदमै धेरै छ। पोखरेलका अनुसार दुईवटा विश्वव्यापी मौसम पूर्वानुमान मोडलले हिउँदे वर्षा हुने देखाएको हो।

‘युरोपियन मोडल (ईसीएमडब्लूएफ) र अमेरिकन मोडल (जीएफएस) बाट हेरिएको हो। दुवै विश्वव्यापी मोडल हुन’ पोखरेलले भने ‘यी मोडलहरू मौसम पूर्वानुमानमा विश्वासनीय मानिन्छ। तीन दिन लगातार पानी पर्ने देखिन्छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

महोत्तरीमा नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ

महोत्तरी – नक्कली प्रहरी वनेर लुटपाट गर्ने ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ । वर्दिबास नगरपालिका वडा नं। ०४ स्थित  पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि  चेरु माईस्थान जंगलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाइ लुटपाट गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिबास(१४  बस्ने  २२ वर्षीय  निरज साह सोनार,  वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दिप लामा,  २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका  शैलेन्द्र राउत र  धनुषा जनकपुर उप(महानगरपालिका ७ जिरोमाईल बस्ने  १९ वर्षीय दिपक राउत छन  ।

पिडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जंगलमा पुर्‍याएर सिआइडीको वहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको छ ।’मलाइ उनिहरुले हात(हातमा लठ्ठी लिएर चारैतिरवाट घेरा हाले’, पिडित महतोले भने, ‘उनिहरुले त्यसपछि मोबाइल, नगद र क्यामरा लिए ।’

आफूसँग भएको डिएसएलआर क्यामरा चोरी गरेको स्विकार्नु पर्ने नत्र बर्सिबास बजार क्षेत्रवाट चोरी भएका मोटरसाइकलको मुद्दा  समेत लगाउने त्रास समेत देखाएको पिडित महतोले वताएका छन ।

चोरी भएका मोटरसाइकल बिषयमा माथी खवर नगरी छाडने र त्यस्को वदलामा २२ हजार ५ सय थप दिनुपर्ने उनिहरुले बताएपछि पैसा लिन घर पठाएको र फर्केर आउदा उनिहरु फरार भएको पिडित महतोले प्रहरीलाइ बयान दिएका छन । उनिहरुले महतोको साथवाट मोबाइल ३ थान, क्यामरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको प्रहरीलाइ उजुरी दिएको प्रहरीले जनाएको छ ।

उजुरीको आधारमा नै आरोपित उक्त ६ जनालाइ बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँवाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।

आरोपित ६ जनालाइ नै जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरि हिरासतमा नै राखेर अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । बर्सिबास नगर क्षेत्रमा चोरी, मोटरसाइकल चोरी जस्ता क्रियाकलापमा समेत सोही गिरोह हुन सक्ने प्रहरीको अनुमान छ ।

मन्त्री पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दामा पुनरावेदन गर्ने अख्तियारको तयारी

काठमाडौं – राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा दायर मुद्दामा सफाइ पाएका ठेकेदार विक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन् । उनले मंगलबार पद तथा गोपनीयताको सपथसँगै पदभार समालेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतबाट पाण्डेका पक्षमा भएको फैसलाप्रति असन्तुष्ट अख्तियार पुनरावेदनमा जाने तयारी गरिरहेकै बेला ठेकेदार कम्पनीका मालिकसमेत रहेका पाण्डे सहरी विकासमन्त्री भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीको टिकटमा चितवन निर्वाचन क्षेत्र ३ बाट निर्वाचित पाण्डे कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख तथा ‘क’ वर्गका ठेकेदार हुन् । गत असार ६ गते विशेष अदालतले पूर्ववनमन्त्रीसमेत रहेका पाण्डेसहित २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

तत्कालीन प्रमुखसहित प्रहरीका डीएसपी र इन्सपेक्टरलाई जेल सजाय

काठमाडौं – विशेष अदालतले यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखदेखि नेपाल प्रहरीका डीएसपी र इन्सपेक्टरलाई लाइसेन्स घोटाला प्रकरणमा जेल सजाय सुनाएको छ । सवारी चालक अनुमतिपत्रका लागि परीक्षामा फेल भएका १ हजार २ सय ८४ जनालाई पास गराएको अभियोग पुष्टि भएपछि तत्कालीन प्रमुखसहित सातजनालाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले मुद्दा चलाइएका मध्ये सात जनालाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेहरूमा एकान्तकुनाका तत्कालीन प्रमुख आनन्दकेशरी पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज थापा, इन्सपेक्टर मुरारी मिश्र, अवकाश प्राप्त शाखा अधिकृत राममणि पोखरेल, अवकाश प्राप्त इन्जिनियर वासुदेव पोखरेल, शाखा अधिकृतहरू शम्भूप्रसाद थपलिया र ईश्वरराज रेग्मी रहेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

राजस्व चुहावटर गरेर भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका तत्कालीन कार्यालय प्रमुख पोखेरललाई आठ महिना कैद र ९ हजार जरिमानाको फैसला सुनाइएको छ । डीएसपी थापा र इन्सपेक्टर मिश्रलाई ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । अवकाश भइसकेका इन्जिनियर पोखरेललाई पनि ६ महिना कैद र ८ हजार रुपैयाँ जरिमानाको फैसला सुनाइएको छ । शाखा अधिकृतहरू पोखरेल, थपलिया र रेग्मीलाई समान चार महिना कैद र ६ हजार रुपैयाँ जरिमानाको फैसला सुनाइएको छ । बाँकी ३१ जनाले भने सफाइ पाएका छन् । यो समाचार राजधानी दैनिकामा छ ।

घट्यो ट्रेजरी बिल्सको ब्याजदर

काठमाडौं । मंगलबार ट्रेजरी बिल्सको ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल गरेको ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा १० दशमलव ५८ प्रतिशत ब्याजदर कायम भएको छ ।

९१ दिन अवधिको ट्रेजरी बिल्समा यो हालसम्मकै न्यून ब्याजदर हो । यसअघि जारी भएको ९१ दिने ट्रेजरीमा १० दशमलव ६० प्रतिशत ब्याजदर कायम भएको थियो ।

बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर घटिरहेको छ । गत बिहीबारसम्ममा बैंक, वित्तीय संस्थाको निक्षेप ५३ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा १२ अर्ब निक्षेप वृद्धि हुँदा कर्जा प्रवाह पनि ६ अर्ब वृद्धि भई ४७ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।निक्षेप वृद्धिसँगै बैंकहरुको निक्षेप–कर्जाको अनुपात ९सीडी रेसियो० पनि ८६ दशमलव ५७ प्रतिशतबाट घटेर ८६ दशमलव ४७ प्रतिशत कायम भएको छ ।अन्तरबैंक ब्याजदर पनि घटेर ५ दशमलव ९५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।आर्थिक अभियान दैनिक

एथलेटिक्स टोली आज ढाका जाँदै

काठमाडौं – बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली आज बुधबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ ।

जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र पार्की र सन्तोषनाथ योगी तथा महिलामा सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र रेखा विष्टले खेल्ने छन् । प्रशिक्षक तथा अफिसियलमा विमला राना मगर छिन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

विश्व इतिहासमा आजःसेरालियोनको एक दशक लामो युद्ध समाप्तदेखि पेरिस शान्ति सम्मेलन

आज १८जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

सेरालियोनको युद्ध समाप्त

विश्व इतिहासमा आज सियरा लियोनको गृह युद्ध अन्त्य भएको थियो । सन् २००२ को १८ जनवरीमा ११ वर्ष लामो युद्ध अन्त्य भएको थियो । एक दशकभन्दा लामो सो युद्धका कारण ५० हजारको मृत्यु भएको भएको थियो भने लाखौं विस्थापित भएका थिए ।

पेरिस शान्ति सम्मेलन

सन् १९१९ को १८ जनवरीमा पेरिस शान्ति सम्मेलन सुरु भएको थियो । पहिलो विश्वयुद्धपछि उत्पन्न अस्थिरता र द्वन्द्वको आलो घाउबीच  फ्रान्सको राजधानी पेरिसमा सम्मेलन भएको थियो । सम्मेलनपछि भर्सेल्स सन्धीमा हस्ताक्षर भएको थियो ।

उत्तरी धुव्रमा हिड्ने नर्वेका अन्वेषक

सन् १९९७ मा नर्वेका धुवीय अन्वेषक बोर्ग आउसल्यान्ड कसैको सहयोगबिना एक्लै अन्टार्कटिकामा हिडेका थिए । बोर्गले पृथ्वीकै सबैभन्दा उत्तरी महादेशमा तीन हजार किलोमिटर हिँडेर रेकर्ड कायम गरेका थिए ।

मार्टिन लुथर किङ दिवस

सन् १९८६ को १८ जनवरीदेखि अमेरिकामा मार्टिन लुथर किङ दिवस मनाउन सुरु भएको थियो । यस दिन सार्वजनिक बिदा दिइन्छ ।

पहाडमा बदली, तराईमा हुस्सु

काठमाडौं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको छ । पहाडी भेगमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु लागेको छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ भने सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको प्रक्षेपण छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

माघ ९ र १० गते पर्सामा बालबालिकालाई फाइजर खोप दिइने

वीरगञ्ज – पर्साका १४ वटै पालिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ ।जिल्ला खोप समन्वय समिति पर्साले माघ ९ र १० गते फाइजर खोप लगाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । फाइजर खोप लगाएका बालबालिकामा कोभिड–१९ को संक्रमणबाट हुने जटिलता कम देखिएको चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्य कार्यालय पर्साले खोप अभियान सञ्चालनका लागि सबै पालिकाहरुमा समन्वय गर्ने, खोप अभियान सञ्चालनका लागि जिल्ला स्थित शिक्षक महासंघ रेडक्रस, प्याब्सन, एनप्याब्सन, अभिभावकसँगसँग समन्वय गर्ने निर्णय गरेको छ ।

पालिकाका विद्यालयहरुमा खोप केन्द्र राखी खोप अभियान सञ्चालन गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

जसपा संसदीय दलको बैठक बुधबार पनि बस्ने

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बुधबार पनि बस्ने भएको छ । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो ।

संसदीय दलको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सप्तरीमा चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या तीन पुग्यो

सप्तरी – यसपालि चिसोले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक–एक जना गरी तीन जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।

पछिल्लोपटक विष्णुपुर गाउँपालिका-२ जमुनी टोलका ४७ बर्षीय प्रेम यादवको जाडोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैगरी अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय कप्लेश्वर सदाको पुस २५ गते जाडोले कठ्यांग्रिएर मृत्यु भएको थियो ।

आफ्नै घरमा साँझमा सुतेको समयमा जाडोले कट्यांग्रिएर मृत्यु भएको स्थानीय ललकु सदाले बताए । उनको न्यानो ओढ्ने लुगाको अभावमा जाडोले कठ्यांग्रिएर मृत्यु भएको उनले जानकारी दिए ।

यसअघि शितलहर बढेसँगै चिसोले गत पुस २१ गते राती तिलाठी कोइलाडी गाउँपालिका ४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको थियो । साँझको खाना खाएर सुतेका बुवाको राती जाडोले कठ्यांग्रिएर मृत्यु भएको स्वर्गीय देवुको छोरा सकलदेव सदाले बताए ।

जाडोले कठ्यांग्रिएर तीन जनाको ज्यान गएपनि प्रहरीले १ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । विष्णुपुर गाउँपालिका २ का यादवको जाडोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसवर्ष जाडोले ज्यान गएको तथ्यांकमा एक जना मात्र रहेको सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले बताए । जाडोले कठ्यांग्रिएर अन्य ठाउँमा ज्यान गुमाएको हुन सक्ने भन्दै एसपी काफ्लेले प्रहरीमा मृत्युको कारणको आधार र निवेदन कतैबाट नआएकोको बताए । सप्तरीमा प्रत्येक वर्ष चिसोले कठ्यांग्रिएर सर्वसाधारणको मृत्यु भएको छ ।

सर्वदलीय बैठकमा सम्पूर्ण राजनीतिक विषयमा पनि सहमति र सहकार्य जारी राख्ने सहमति

काठमाडौं – मंगलबार साझँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको उक्त बैठकमा आगामी दिनमा सहमति र सहकार्य जारी राख्ने सहमति भएaको छ ।

बैठकमा आफूलाई विश्वासको मत दिने सबैदललाई धन्यवाद दिदै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक विषयमा पनि सहमति र सहकार्य भइरहने बताए । उनको भनाइप्रति राजनीतिक दलका नेताहरूले पनि सहमति जनाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकपछि जानकारी दिइन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गरेको र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताए । सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मन्त्रिपरिषद्ले पूर्णताः पाएको बताएको मन्त्री शर्माले बताइन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेकपा ९एकीकृत समाजवादी०लगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरूको सहभागीता रहेको थियो ।