`

सुदूरपश्चिमको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित

धनगढी – सुदूरपश्चिम प्रदेशको उपसभामुख पदमा एमाले सांसद कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् । चौधरीको पक्षमा सत्तारुढ गठबन्धन माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले मतदान गरेका थिए ।

चौधरीसँग एकीकृत समाजवादीकी सांसद माया पन्त प्रतिस्पर्धामा थिइन् । पन्तलाई भने कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिलाई भागबण्डा गरेको सत्ता गठबन्धनले उपसभामुख पद नागरिक उन्मुक्तिले लिन नमानेपछि एमालेले चौधरीलाई उम्मेदवार बनाएको थियो । पद नलिए पनि नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई सघाइरहेको छ । उसले सरकारमा पनि नजाने बताएको छ ।

प्रदेश उपसभामुखमै उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी माया पन्तले भने २४ मतमात्रै प्राप्त गरेकी थिइन् । प्रदेश सभाको तत्कालीन कायम रहेका सदस्य संख्याको बहुमत अर्थात २७ सदस्यको समर्थन नपाएपछि सभामुख भण्डारीले उनको उम्मेदवारी अस्वीकृत गरेका हुन् । प्रदेश सभाको अर्को बैठक माघ ११ गते दिउसो २ गते बस्ने छ ।

हात्ती आक्रमणबाट सुनसरीमा ६५ वर्षीय वृद्धको मृत्यु

सुनसरी – हात्तीको आक्रमणबाट मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनका एक वृद्धको ज्यान गएको छ । जंगलमा घाँस काट्न गएको बेला बराहक्षेत्र–५ सिमरवन बस्ने ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामझोडास्थित जनजागृती सामुदायिक वनको पोखरी छेउमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट उनको मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । जंगलमा ५ वटा हात्ती घुमफिर गरिरहेको स्थानीय बासिन्दाले बताए ।

बराह क्षेत्रमा एक महिनादेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ । एक महिना अघिमात्र सोही क्षेत्रमा एक हात्ती मृत फेला परेको थियो ।

नगरपालिकामा सिटामोललगायत आधा दर्जन औषधि अभाव

मुगु – मुगुमा रहेका चार वटा स्थानीय तहहरू मध्ये एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा पछिल्लो समय सिटामोललगायत करिव आधा दर्जन औषधि अभाव भएको छ ।

छायानाथ रारा नगरपालिकामा रहेका १९ वटा स्वास्थ्य संस्थामा सामान्य सिटामोलदेखि आधा दर्जन औषधि अभावको सिर्जना भएको हो ।

हरेक वर्ष स्वास्थ्य क्षेत्रमा स्थानीय पालिका र संघीय सरकारबाट लाखौको बजेट विनियोनज गरे पनि छायानाथ रारा नगरपालिकामा रहेका आधारभूत स्वास्थ्य सस्थादेखि स्वाथ्यचौकी सम्म सिटामोललगायत अन्य औषधीको अभाव भएको हो ।

सामान्य रुघाखोकी, टाउको दुख्ने, पेट दुख्ने, ज्वरो आउने शरीर दुख्ने जस्ता बिरामी स्वास्थ्य संस्था गएपछि सिटामोल, ब्रोफिन, कोटियम, अक्सोटेसिन, सर्जिकल ग्लोब्स, बेडलगायत अन्य बिरामी पर्दा उपचारका लागि पालिकाभित्र रहेका १ देखि १४ वडाका नागरिकहरू उपचार गर्नका लागि हिजो आज चर्काे मूल्य तिरेर निजी मेडिकल र गमगढी बजार पुगेर औषधी उपचार गर्न बाध्य छन् ।

उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका नागरीकलाई स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधी छैन भने पछि रित्तो हात घर फर्कने र जिल्ला अस्पतालमा गए पनि चेकजाँच गरिसकेपछि बजारमा रहेका निजी मेडिकलमा औषधि उपभोग गर्न बाध्य भएको छायानाथ रारा नगरपालिका वडा नम्बर १२ का तारादेवि ऐडीले बताइन् । बजारको निजी मेडिकलमा चर्को मूल्य हालेर औषधि जोहो गर्नुपर्ने र आर्थिक समस्या पनि उस्तै हुने ऐडीले बताइन् ।

नगरपालिकामा रहेका स्वास्थ्य चौकिमा विगत एक महिनादेखि औषधि अभाव देखिएको छ । स्वास्थ्य संस्थामा सामान्य सिटामोल देखि वर्थिङ सेन्टरमा प्रयोग हुने सर्जिकल ग्लोब्सलगायत धेरै स्वास्थ्य सामग्री अभाव देखिँदा उपचारमा आएका बिरामीलाई स्वास्थ्य परामर्श प्रदान गरिने बाहेक अन्य कुनै पनि अवस्था नहुने र औषधि विनानै घर फर्काउने गरेको नगरपालिकाको स्वास्थ्य शाखामा औषधि माग गर्दा औषधि नभएको जानकारी दिने गरेको ढुंगेधारा स्वास्थ्य संस्थाका सिनियर अहेब मानसिंह ऐडीले बताए ।

यता छायानाथ रारा नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार स्वास्थ्य संस्थामा औषधि अभाव भए पनि प्रयाप्त मात्रा नगरपालिकाको स्टोरमा औषधि रहेको छ । आर्थिक बर्ष २०७९/०८० मा नगरपालिका भित्र रहेका १९ वटा स्वास्थ्य संस्थामा एक/एक लाखका दरले १९ लाख बरावरको औषधि खरिद गरिएको भए पनि नगरपालिकाको २६ हजार जनसंख्यालाई हेर्दा यो खरिद औषधि न्यून हो ।

जनसंख्याको आधारमा ६० लाखदेखि एक करोडसम्म वर्षेनी औषधि खरिद गर्नेुपर्ने देखिन्छ । स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिनको लागि सदैव नगरपालिका तत्पर रहेको छायानाथ रारा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पशुपति शाहीले बताए ।

कर्णालीको उपसभामुख बुधबार चयन गरिने

सुर्खेत – कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो। बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन भएको घोषणा गर्नेछ ।


शम्भुनाथका इन्जिनियर घुससहित पक्राउ

काठमाडौं – सप्तरीको शम्भुनाथ नगरपालिका इन्जिनियर रामचन्द्र शाह एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाहलाई सेवाग्राहीसँग घुस लिँदैगर्दा पक्राउ गरेको हो ।

इन्जिनियर साहलाई अख्तियारको टोलीले नगरपालिकाबाटै नियन्त्रणमा लिएको मेयर जितेन्द्र प्रसाद गुप्ताले जानकारी दिए ।इन्जिनियर साहले विद्यालयमा भएको कामको भुक्तानीका लागि घुस लिएका थिए ।

स्वास्थ्यमन्त्री गिरीले गरे कान्ति बाल अस्पतालको अनुगमन

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी कार्यभार सम्हालेलगत्तै सरकारी अस्पतालहरुको सेवा प्रवाह र सर्वसाधारणको समस्या सुन्न अनुगमनमा निस्किएका छन् ।

मंगलबार कार्यभार सम्हालेलगत्तै मन्त्री गिरी बालबालिकाको उपचार गर्ने सरकारी अस्पतालको उपचार सेवाबारे बुझ्न कान्ति बाल अस्पताल पुगेका हुन् ।

मन्त्री गिरीले अस्पतालको इमरजेन्सी, आईसीयू, पीआईसीयू, अंकोलोजीलगायतका वार्डको अवलोकन गरेका छन् । मन्त्री गिरीले बिरामी कुरुवा कक्ष, बिरामी र कुरुवाले प्रयोग गर्ने शौचालयको समेत अनुगमनपछि सरसफाइमा बिरामीका आफन्तको गुनासो आएको भन्दै सुधार्न निर्देशन दिए ।

पोखरा विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला भेटियो

कास्की, ३ माघ-आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । मंगलबार थप एक जनाको शव फेला परेको कास्की प्रहरीले जनाएको छ ।

सोमबारसम्म ७० जनाको शव फेला परेको थियो । आइतबार पोखराको सेती खोँचमा विमान दुर्घटना हुँदा ६८ यात्रु र चार जना चालक दलका सदस्यको मृत्यु भएको थियो । अझैँ एक जना बेपत्ता रहेको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

काठमाडौं, ३ माघ-जिल्ला अदालत तनहुँले बालिका बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।

नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो । पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो । नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिए पनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो ।

बाग्मती प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्।

नेपाल मजदुर किसान पार्टी बाहेक अन्य सबै दलले मत दिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले आजको बैठकवाट अत्याधिक मतसहित विश्वासको मत पाएका हुन । मुख्यमन्त्री जम्कट्टेलले १०५ मतसहित विश्वासको मत लिएका हुन ।बाग्मती प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा आजको बैठकमा १०९ जना उपस्थित रहेका थिए ।

बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएको प्रदेश सभा बैठकमा जानकारी गराए।

मधेस प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित

जनकपुर – आज भएको निर्वाचनवाट मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन भएका छन । मंगलबार बसेको प्रदेशसभाको बैठकमा भएको मत बिभाजनवाट सभामुखमा मण्डल चएन भएका हुन ।

सो मत विभाजनमा मण्डलको पक्षमा ७४ मत परेको थियो भने उनको विपक्षमा २९ मत परेको छ । आज बसेको प्रदेश सभा बैठकमा १ सय ३ सांसद उपस्थित थिए ।

मत बिभाजन सम्पन्न भए पछि जेष्ठ सदस्यका नाताले सभाका अध्यक्षता गरेका सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डल बिजयी भएको घोषणा गरेका हुन् ।

मण्डललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी,  जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरे पछि उनी बिजयी भएका हुन ।मण्डलको बिरुद्धमा नेपाली कांग्रेसका जंगीलाल राय उम्मेदवार थिए पनि आवाश्यक मत नपुग्दा उनी पराजित भए ।

चलचित्र पत्रकार संघ, रुपेन्देहीको अध्यक्षमा न्यौपाने

वुटवल – चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन भएृका छन । रुपेन्देही शाखाको छैटौं साधारण सभा तथा तेस्रो  अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन भएको छ ।

जसअनुसार उपाध्यक्षमा दिनेश कुमार श्रेष्ठ, सचिव विकास गौतम, सहसचिव कल्पना डुम्रे, कोषाध्यक्ष राजिव भुषाल र सदस्यहरुमा बिकास पराजुली, डिबि सुस्लिंग, रमेश पराजुली र सन्तकुमार चयन भएका छन् ।

बिप्लव नेतृत्वको केन्द्रिय समिति बैठक सुरु

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको छ ।

कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष चन्दले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

बैठक ६ माघसम्म चल्ने सो पार्टीका नेता असल क्षेत्रीले जानकारी दिए ।

नवनियुक्त परराष्ट्रमन्त्री पौड्यालले गरिन् पदभार ग्रहण – मन्त्रालयबाट जनतालाई हुने सेवा प्रवाह सहज बनाउछु

काठमाडौं – नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले पदभार ग्रहण गरेकी छिन् । मंगलबार शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेकी उनले केही महत्वपूर्ण निर्णयहरु गरेकी छिन् । उनले जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताइन्।

उनले भनिन् “मेरो पहिलो प्राथमिकता भनेको मन्त्रालयबाट जनतालाई हुने सेवा प्रवाह सहज बनाउने हो ।” नेपालस्थित विदेशी कूटनीतिक नियोगसँग कसरी समन्वयमा काम गर्ने र आफ्नो राष्ट्रिय स्वार्थमा सम्झौता नगरी कसरी बढी लाभ लिन सकिन्छ भनेर द्विपक्षीय सम्बन्ध सृदृढ बनाउने विषय पनि प्राथमिकतामा रहेको उनले बताइन् ।

उनले विदेशमा रहेका नेपाली नियोगमा नेपालीलाई सहज पहुँच बनाई कुनैपनि व्यक्ति दूतावास जाँदा घरमा आएको अनुभव हुने गरी पहुँच र सहजता प्रदान गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस्तै उनले सीमा विवाद समाधानसम्बन्धी सञ्चारकर्मीको जिज्ञासामा उनले सबैसँग अध्ययन र छलफल गरेर सो विषयमा अघि बढ्नेबताइन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरूलाई सपथग्रहण गराउँदै आज मन्त्रीपरिषद् विस्तार भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरकी हुन् ।


 

विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो (फोटो फिचर)

१ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाको शब आज काठमाडौं ल्याइएको छ । उनीहरूको शबलाई हेलिकोप्टरमार्फल काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।


नेता पुनलाई भेट्न अस्पताल पुगे प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुमेरु अस्पताल पुगेका छन् । मंगलबार पार्टीका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।

चुनावपछि रोल्पा पुगेका पुनलाई स्वास्थ्यमा समस्या देखिएपछिगत पुस ३० गते हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उनी वंशाणुगत जण्डिसबाट पीडित छन् ।

प्रतिनिधिसभाको सभामुख निर्वाचन तालिका सार्वजनिक

काठमाडौं – संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार सूची प्रकाशन गर्ने र ५ माघ ११ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ताक्रमानुसार निर्णायार्थ प्रस्तुत गर्ने रहेको छ ।

क्यालिफोर्नियामा आँधी र हिमपातले जनजीवन कष्टकर

एजेन्सी-अमेरिकाको क्यालिफोर्निया राज्यमा आँधी र हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । एक सातादेखि जारी आँधी र आँधीपछिको वर्षाका कारण अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ । मंगलबार थप वर्षा हुँदा जनजीवन कष्टकर बनेको हो ।

आँधीले ठूलो भौतिक क्षति गरेको छ । निरन्तरको आँधीले उद्धार कार्य प्रभावित भएको छ । त्यस्तै विजुली अबरुद्ध हुँदा हजारौ घर प्रभावित छन् ।

मेक्सिकोमा सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्धमा थप कडाइ, पसलभित्र चुरोट देखाउन नपाइने

एजेन्सी – मेक्सिकोले सार्वजनिक स्थानमा धुम्रपानमा पूर्ण प्रतिबन्ध लगाएर विश्वको सबैभन्दा कडा सूर्तिजन्य पदार्थ विरोधी कानून लागू गरेको छ। सन् २०२१ मा पहिलो पटक स्वीकृत भएको यो कानुनमा  सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध पनि समावेश छ। धेरै अन्य ल्याटिन अमेरिकी देशहरूले पनि धुम्रपान मुक्त सार्वजनिक स्थानहरू सिर्जना गर्न कानून पारित गरेका छन् ।

मेक्सिकोको कानूनलाई उत्तरी अमेरिकामा सबैभन्दा बलियो र व्यापक मानिन्छ । यो संसारमा सबैभन्दा कडा धुम्रपान विरोधी कानूनहरू मध्ये एक हो।
मेक्सिकोको २००८ को विद्यमान कानुनले बार, रेस्टुरेन्ट र कार्यस्थलहरूमा धुमपान–मुक्त ठाउँहरू घोषणा गरेको थियो । अब सबै सार्वजनिक स्थानहरूमा यो प्रतिबन्धमा विस्तार गरिएको छ । पार्क, बीच, होटल, कार्यलय र रेस्टुरेन्टहरुमा पनि यस्तो प्रतिबन्ध लाग्नेछ ।

सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा पनि पूर्ण प्रतिबन्ध लगाइने छ । अर्थात् पसलभित्र चुरोट देखाउन पाइने छैन ।

कुन पार्टीबाट को को बने मन्त्री ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषद् २१ दिनपछि विस्तार भएको छ । मंगलबार नियुक्त भएका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । यस्तै, एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, डा. विमला राई पौडेल परराष्ट्र मन्त्री, राजेन्द्र राई भूमिसुधार मन्त्री, पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री, भगवती चौधरी महिला बालबालिका मन्त्री, हरि उप्रेती रक्षामन्त्री र ज्वाला साह कृषि तथा सहकारी मन्त्रीका रुपमा सपथ लिएका छन् ।

माओवादी केन्द्रबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनेका छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिखिर खनाल शिक्षामन्त्री, तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । पार्टी अध्यक्ष रवि लामिछाने यसअघि नै गृहमन्त्री भइसकेका छन्  ।

राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री, ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्रीका रुपमा सपथ लिएका छन् ।

प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या पाँच पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री बनेका हुन् ।

वर्तमान सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एकजना उपप्रधानमन्त्री नियुक्त भएका हुन् । एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, माओवादीबाट उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपाबाट उपप्रधानसहित गृहमन्त्री रवि लामिछाने र राप्रपाबाट उपप्रधानसहित ऊर्जामन्त्री राजेन्द्र लिङदेन छन् ।

अझै जनता समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व हुन बाँकी छ । यदि जसपा पनि सरकारमा गए थप एक उपप्रधानमन्त्री बनाउनुपर्ने अवस्था छ ।

गृहमन्त्री रवि लामिछानेले विगतमा आफू सञ्चारकर्मी हुँदा टेलिभिजनमा ठूल्ठूलो स्वरमा धेरै उपप्रधानमन्त्री बनाएर मजाक गरेको भन्दै आपत्ति जनाएका थिए । तर, अहिले उनी आफैं एमाले र माओवादी नेताहरुलाई घुर्की लगाएर उपप्रधानमन्त्री बन्न सफल भएका छन् । विगतमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्रीको संख्या सात बनाइएको थियो ।

मध्यान्ह १२ बजेदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध

काठमाडौं – नेपाल टेलिकमको मोबाइल सेवा मंगलबार अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवाअन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन आज मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।

उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको हो । साथै, टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस संसदीय दललाई निर्देशन

हेटौंडा – कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा हेटौंडामा मंगलबार बिहान बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय भएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए ।

बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागिको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिँदै गुण र दोषको आधारमा शसक्त प्रतिपक्षीको भूमिकामा रहन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

एक सय १० सदस्य रहेको बागमती प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिन्छ । सत्ता साझेदार दलसँग बहुमत रहेको छ।

बैठकले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतामा निर्वाचित बहादुरसिं लामालाई बधाई दिने निर्णय गरेको छ ।

त्यस्तै, १ माघमा पोखरामा भएको यति एयरलाइन्सको प्लेन दुर्घटनामा मृत्यु भएकालाई श्रद्धाञ्जली अर्पण गर्दै पीडितलाई तत्काल राहात उपलब्ध गराउँदै नेपालको हवाई क्षेत्रमा हुने गरेका दुर्घटना न्युनिकरण गरि शुन्यमा झार्ने ब्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय गरिएको प्रवक्ता रुवालीले जानकारी दिए।

विक्रम पाण्डे अब सहरी विकासमन्त्री

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ७ पुसमा सांसदको शपथ खाँदा ‘भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह’ हुने भन्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए । शपथको भाषामै आमाको रगत शब्द राखेपछि उनी निकै विवादमा तानिए । तर, अहिले उनले ठेकेदार पृष्ठभूमिका सांसदलाई मन्त्री बनाएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । राप्रपा पार्टी अध्यक्ष लिङ्देनकै नेतृत्वमा सरकारमा जान लागेको हो । लिङ्देन उपप्रधानमन्त्री र ऊर्जामन्त्री, कानुन मन्त्री ध्रुवबहादुर प्रधान र सहरी विकासमन्त्री विक्रम पाण्डे बन्दैछन् ।

चितवन ३ बाट निर्वाचित पाण्डे भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेता हुन् । कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेले भौतिक पूर्वाधार मन्त्रीमा दाबी गरेका थिए । तर सत्तागठबन्धनमा उनले सहरी विकास मन्त्रालय पाएका छन् । सहरी विकास मन्त्रालय पनि विकासे मन्त्रालय हो । पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लामा सहरी विकास मन्त्रालयअन्तर्गतको विकासे योजना हात पारेको छ । अब मन्त्री र ठेक्का दुवै एकै व्यक्ति हुने अवस्था आएको छ । उनीमाथि विभिन्न सडक आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । लामिछाने नागरिक र राहदानी विवादमा तानिएका छन् । आफूविरुद्ध परेको मुद्दा प्रभावित गर्नकै लागि लामिछाने गृहमन्त्री बनेको आरोप लागेको छ । पाण्डे पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी सहरी विकास मन्त्री बन्न लागेका छन् ।

झापाकै घिमिरेलाई सभामुखमा अघि सार्दै ओली, पृथ्वी सुब्बा पछि परे

काठमाडौं – संघीय संसद् सचिवालयले बिहीबार नयाँ सभामुखका लागि निर्वाचन गर्ने भएको छ । त्यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । सत्तागठबन्धनमा सभामुख एमालेले पाउने सहमति भइसकेको छ । त्यसैले एमालेबाट को सभामुखको उम्मेदवार होला भन्ने चासो बढेको छ ।

एमालेबाट सभामुखका लागि अहिलेसम्म तीनजना मुख्य दाबेदार देखिएका छन् । जसमा झापाका देवराज घिमिरे, रुपन्देहीका छविलाल विश्वकर्मा र लमजुङका पृथ्वी सुब्बा गुरुङ छन् । गुरुङ पार्टी उपमहासचिवसमेत हुन् । विश्वकर्मा सचिव हुन् । तर, एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभाको सभामुखमा घिमिरेलाई उम्मेदवार बनाउने भएको स्रोतले बतायो । झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका घिमिरेलाई ओलीको विश्वासपात्र मानिन्छ।

एमाले प्रदेश–१ इञ्चार्जसमेत रहेका घिमिरे पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी २०५६ सालमै राष्ट्रियसभा सदस्य बनेका थिए। एमालेमा सुरुदेखि नै गुरुङलाई सभामुख बनाउन दबाब पर्दै गए पनि पछिल्लो समय उनी दौडमा पछि परेका छन् ।

नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने बताए पनि कसलाई उठाउने भन्ने निर्णय गरेको छैन । सत्ता गठबन्धनमा निर्वाचित गर्नसक्ने मत भएकाले पनि कांग्रेसले आफ्नो उम्मेदवारको नाम बुधबार मात्र तय गर्ने बताइएको छ ।

सर्लाहीका हरि उप्रेती रक्षामन्त्री बन्दै

काठमाडौं, ३ माघ -एमालेले आफ्नो भागमा परेका मन्त्रीहरूको नाम टुंगो लगाएको छ । सत्तागठबन्धनमा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाएको छ । यसअघि नै एमालेबाट चारजना मन्त्री नियुक्त भइसकेका छन् ।
एमाले अध्यक्ष केपी ओलीले विमला राई पौडेललाई परराष्ट्रमन्त्री, पदम गिरीलाई स्वास्थ्यमन्त्री र भगवती चौधरीलाई महिला, बालबालिकामन्त्री तथा सर्लाहीका हरिप्रसाद उप्रेतीलाई रक्षामन्त्री बनाउने भएका छन् ।

उप्रेती संविधानसभा सदस्यसमेत भइसकेका छन् । उनी एमाले अध्यक्ष ओलीका विश्वास पात्र हुन् । रक्षा मन्त्रालय निकै संवेदनशील भएकाले ओलीले उप्रेतीलाई सो मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । यसअघि एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री नियुक्त भइसकेका छन् ।

राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री, सहरी विकासमा विक्रम पाण्डे र कानुनमन्त्री ध्रुवबहादुर प्रधान बन्ने भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, डा.तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएका छन् ।

सुदूरपश्चिम प्रदेश सभामुखमा माओबादीका भण्डारी निर्वाचित

डोटी, ३ माघ-सुदूरपश्चिम प्रदशको सभामुखमा नेकपा आमोबादी केन्द्रबाट निर्वाचिन प्रदेश सभा सदस्य भीम भण्डारी निर्वाचित भएका छन् ।
मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा तेश्रो पटक भएको मतदानमा भण्डारीलाई २९ प्रदेश सभा सदस्यले मत दिएका थिए । बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्ने सुदूरपश्चिम प्रदेशमा भण्डारीले २९ मत पाएपछि जेष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले निर्वाचित भएको घोषणा गरेका हुन् ।

आज बसेको प्रदेश सभा बैठकमा ५२ जना प्रदेश सभा सदस्य उपस्थित रहेकोमा भण्डारीको विपक्षमा २३ प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।
भण्डारी नेकपा माओबादी केन्द्रका ११, नेकपा एमोका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना प्रदेश सभा सदस्यको समर्थनमा सभामुख बनेका हुन् ।

प्रदेश सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य मान बहादुर रावलले भने २३ मत मात्रै पाएका थिए । उक्त मत प्रदेश सभामा तत्काल कायम रहेको प्रदेश सभा सदस्य संख्याको बहुमत नपुगेको भन्दै जेष्ठ प्रदेश सभा सदस्य भट्टले अस्वीकृत गरेका थिए ।
रावललाई नेपाली कांग्रेसका १९ र नेकपा एकिकृत समाजबादी पार्टीका ४ प्रदेश सभा सदस्यले समर्थन दिएका थिए । प्रदेश सभाको अर्को बैठक बुधबार ९भोली० दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

बाग्मतीका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिदैँ

हेटौडा, ३ माघ -बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिंदैछन् ।प्रदेश सभा सचिवालयका अनुसार आज अपराह्न बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

गत २६ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।बाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा एकीकृत समाजवादीका ७, नेककिपाका ३ र हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन ।

राजेन्द्र लिङ्देनले भने- धेरै असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगें

काठमाडौं, ३ माघ-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पंक्तिको असहम असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेंको बताएका छन् ।
मंगलबार उपप्रधानसहित ऊर्जामन्त्री नियुक्त हुन लागेका लिङ्देनले आफ्नो लागि यो अग्निपरीक्षा ढिलोचाँडो अनिवार्य रहेकोसमेत बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले असम्भव जस्तो लागे पनि आफू खरो उत्रिने र त्यसका लागि धैर्यता र सहयोगका लागि अपिल गरेका छन् ।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ, जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो। प्रियजनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु । धैर्यता र सहयोगका लागि अपिल गर्दछु,’ उनले लेखेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनले मंगलबार राष्ट्रपतिबाट उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिंचाइ, विक्रम पाण्डेले सहरी विकास, ध्रुवबहादुर प्रधानले कानुन मन्त्रीको र दिपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्री पदको शपथ लिने तय भएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ३ माघ-नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।मंगलबार अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ८९ पैसा तोकिएको छ । सोमबार यसको खरिद मूल्य १२९ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ४३ पैसामा कारोबार भएको थियो । यस्तै, आज युरोपियन युरो खरिददर १४१ रुपैयाँ ३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ६८ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिद रद १४० रुपैयाँ ६१ पैसा र बिक्रीमा १४१ रुपैयाँ २६ पैसामा भएको थियो ।

यता, आज अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ७३ पैसा र बिक्री मूल्य ९१ रुपैयाँ १५ पैसामा कारोबार भैरहेको छ ।त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्री ३४ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३३ पैसा रहेको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५४ पैसा र बिक्रीमा १० रुपैयाँ ५९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६८ पैसा र बिक्रीमा १६ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४२६ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६६ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३४७ रुपैयाँ २३ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो मन्त्री हुनेको नाम, खनाल शिक्षा र अर्याल श्रममन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा जानेको नाम टुंगो लगाएको छ । रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ ।यसअघि पार्टी अध्यक्ष उपप्रधानसहित गृहमन्त्री भइसकेका छन् । रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ ।

रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने भएको छ । सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन् ।

रास्वपाले यसअघि स्वास्थ्यमन्त्री दाबी गरिरहेको थियो । तर एमालेको भागमा स्वास्थ्य मन्त्रालय परेपछि रास्वपाले इज्जतकै लागि भए पनि डा.कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको हो । रास्वपाले सत्तागठबन्धनमा उपसभामुख पाउने भएको छ । उसले सोविता उप्रेती वा चन्दा कार्कीमध्ये एकलाई उपसभामुख बनाउने भएको छ ।

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं, ३ माघ-कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि हरियो तरकारी र फलफूलको मूल्य तोकेको छ । जसअनुसार आज रातो आलु ३४ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

सुन्तला १२० रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवी २५० प्रतिकेजी र केरा एक दर्जनको १२० रुपैयाँ रहेको छ ।

कन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानिय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ६० रुपैयाँ रहेको छ ।

तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ८०, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ९० रुपैयाँ, सुकेको प्याज ४२, भिण्डी ८० रूपैयाँ, लौका ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनिया १२० रुपैयाँ र कागती १२० रुपैयाँ प्रतिकेजी रहेको छ ।

सुर्खेतमा इजाजतविनै क्रसर उद्योग सञ्चालनमा

सुर्खेत – सुर्खेतमा इजाजत विनानै क्र्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ । पटक , पटक बन्द गर्न आग्रह गर्दा पनि अटेरी गरेको पालिकाले जनाएका छन् । लेकवेशी नगरपालिका १, ८ र ९ मा तीन वटा क्रसर उद्योग अवैध रूपमा सञ्चालन गरिएको पाइएको छ । अनुमगनपछि मापदण्डविपरीत सञ्चालन भएका तथ्य सार्वजानिक भएको हो  । वडा नं १ मा सञ्चालित भेरी बालुवा प्रशोधन उद्योग , वडा नं ८ मा रहेको पञ्चकोशी बालुवा प्रशोधन उद्योग  र  वडा नं ९ मा रहेको देउती बालुवा प्रशोधन उद्योगको अनुमगनपछि अबैध भएको तथ्य सार्वजानिक भएको जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले बताए   ।

उद्योगहरूलाई अघिल्लो पटक पनि अनुगमन गरी बन्द गर्न भनिएको भएपनि अटेर गर्दै आएको उनले बताए  । सुर्खेतमा ११ वटा इजाजत विनै सञ्चालनमा आएका उद्योगहरू रहेको पाइएको छ  । अघिल्ला वर्षहरूमा कारबाहीको सिफारिसमा परेका र दर्ता भएका उद्योगहरूको विवरणको खोजीमा समन्वय समिति लागेको सुनारले जनाए ।

लेकवेशीमा भने नगरपालिकाले पटक–पटक सचेत गर्दासमेत क्रसर उद्योगहरूले अटेरी गरेको नगर प्रमुख उमेशकुमार पौडेल बताए । दिनमा उद्योग बन्द गरेजस्तो गर्ने र रातीमा सञ्चालन गर्ने गरिएको भन्दै पौडेलले प्रशासनलाई यसबारे धेरै पटक जानकारी गराइएको बताए । पालिकासँग अनुगमन तथा नियमनको उचित किसिमको संयन्त्र नहुदा कारबाही प्रक्रिया अघि बढाउनसमेत चुनौती रहेको उनको भनाइ छ ।

लेकवेशीमा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका उद्योगहरूले रातीको समयमा ढुङ्गा, गिट्टीहरूको लुकीछिपी उत्खनन् तथा प्रशोधन गरिरहेको नगरपालिकाले जनाएको छ । बराहताल गाउँपालिका –२ थापाडेरादेखि डोप्कासम्म चार वटा क्रसर उद्योग इजाजत विनै सञ्चालनमा रहेका छन् । अवैध उद्योगको सञ्चालनले कटान क्षेत्र भेरी नदी किनारको बस्ती थप जोखिममा छ । नियमविपरीत सञ्चालनमा आएका उद्योग बन्द गर्न भनिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताए ।

इजाजत नलिएर चलाएका उद्योगलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।  जिल्लाभर अवैध तरिकाले सञ्चालनमा रहेका सबै क्रसर उद्योगको अनुगमन गर्ने र अनुगमनको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ । आधिकारिक उद्योग सञ्चालक अनुगमनको क्रममा नभेटिएकाले सम्पर्कमा ल्याउनका लागि आवश्यक प्रक्रियाको थालनी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । मंगलबार बिस्तार हुने मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् ।

राप्रपाले तीन मन्त्रालय पाएको छ । राप्रपाबाट लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र ध्रुबहादुर प्रधान मन्त्री बन्न लागेका हुन् ।

राप्रपाका एक नेताका अनुसार पाण्डे सहरी विकास र प्रधान कानुन मन्त्री बन्ने भएका छन् । राप्रपामा महामन्त्री धवलशमशेर राणा, दीपक बोहोरा र पशुपतिशमशेर राणा मन्त्री बन्न इच्छुक थिए । तर, तीन मन्त्रालय मात्र भागमा परेकाले उनीहरू मन्त्री सकेनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने गरी तयारी भइरहेको छ ।

विमान दुर्घटना : पहिचान नभएका शव हेलिकप्टरबाट काठमाडौँ लगिदै

काठमाडौं – आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि देश नै शोकमा डुबेको छ । विमानमा सवार ७२ जना मध्ये हालसम्म ७० जनाको शव फेला परिसकेको छ । विमान दुर्घटनामा ज्यान गुमाई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज हेलिकप्टरबाट काठमाडों लगिदैछ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि लगिने भएको हो ।

अमेरिकाका २० भन्दा बढी राज्यमा टिकटक प्रतिबन्ध

वाशिंगटन, ३ माघ-केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरूमा सामेल हुँदै छ ।राज्यका कर्मचारीहरूलाई ‘कानून प्रवर्तन उद्देश्यको लागि बाहेक’ चिनियाँ–स्वामित्वको एप सरकारी डिभाइसमा प्रयोग गर्न रोक्नको लागि आफ्नो कर्मचारी पुस्तिका अद्यावधिक गरेको छ ।

बिहीबार विस्कन्सिन र उत्तरी क्यारोलिनाका गभर्नरहरूले सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए । ओहायो, न्यू जर्सी र अर्कान्सासले पनि यस हप्ताको सुरुमा प्रतिबन्धमा हस्ताक्षर गरेका थिए ।केही राज्यहरू टिकटकलाई लक्षित भन्दा अगाडि बढेका छन्। उदाहरणका लागि न्यु जर्सी र विस्का‘न्सिनले चिनियाँ कम्पनीहरूका विक्रेताहरू, उत्पादनहरू र सेवाहरूमा प्रतिबन्ध लगाएका छन् ।

गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव छ : प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गैरआवासीय नेपालीसँगको सहकार्यले मात्र देशमा समृद्धि सम्भव भएको बताएका छन् ।सोमबार निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको लागि गैरआवासीय नेपालीको भूमिका प्रशंशायोग्य रहेको बताएका हुन् । उनले एनआरएनए देश विकासको सहयात्री भएको समेत उल्लेख गरे ।

‘देशको विकास र समृद्धिमा विदेशमा बस्ने नेपालीको भूमिका मह्त्वपूर्ण छ। यो मैले राम्रोसँग बुझिसकेको छु, एनआरएनएसँग सहकार्य सहकार्य गर्नसक्यो भनेमात्र देशमा समृद्धि सम्भव छ,’ उनले भने, ‘एनआरएनएले उठाउँदै आएका मागमा मेरो विशेष ध्यानआकर्षण भएको छ ।’

देशको अर्थतन्त्र जोगाउन विदेशमा बस्ने नेपालीहरूले पुर्‍याएको योगदानको चर्चा गर्दै उनले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गैरआवासीय नेपालीले उठाएको माग र मुद्दामा आफू पहिलेदेखि नै जानकार रहेको उनले बताए। गैरआवासीय नेपालीका मागका विषयमा आफूले सदनदेखि राज्यका सबै निकायमा सकारात्मक भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

‘म एनआरएनएसँग धेरै घुलमिल भएर काम गरिरहेको छु। गैरआवासीय नेपालीको मुद्दामा लगातार वकालत गर्ने ‘इमेज’ बनाएको छु जस्तो मलाई लागेको छ,’ उनले भने ।

यस्तै, उनले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्यालाई छिट्टै सम्बोधन गर्ने प्रतिबद्धता जनाए । विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेर काम गर्ने योजना रहेको उनले सुनाए ।

प्रवासी नेपालीले विदेशबाटै भोट हाल्नपाउनुपर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै भविष्यमा यो व्यवस्था लागू गर्न सरकारले पहल गर्ने प्रतिवद्धता उनले गरे ।

‘तपाईँहरुको जस्तै संसारभरि रहेका नेपालीले मताधिकार प्रयोग गर्न सकून् भन्ने चाहना मेरो पनि छ। विदेशमा बस्नेलाई पनि यहाँका नेपालीसरह व्यवहार हुन्छ,’ उनले भने।

यस्तै, उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानीको लागि उपयुक्त वातारण सिर्जना गरिने बताए । लगानीमा सुरक्षाको पूर्ण ग्यारेण्टी गरिने बताउँदै गैरआवासीय नेपालीका लागि लगानीको कुनै सीमा नतोक्ने बताए ।

‘विदेशीलाई जस्तो होइन । गैरआवासीय नेपालीलाई पनि नेपालका नेपालीसरह नीति नियम बनाइन्छ । गैरआवासीय नेपालीलाई नेपालमा लगानी ल्याउन लगाइएका ‘ब्यारियर’ भत्काउन चाहान्छु ।’

उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा गैरआवासीय नेपालीका मुद्दामा नजिक भएर काम गरेको उल्लेख गर्दै केही सम्बोधन पनि गरेको बताए। यसपटक अझ बढी काम गरेर गैरआवासीय नेपालीको विश्वास जित्ने योजना उनको छ ।

‘मैले अझ धेरै गैरआवासीय नेपालीका मुद्दामा काम गर्नुपर्नेछ। आउनुस् मिलेर काम गरौं,उनले भने, ‘यसपालि म तपाईँहरुको विश्वास जित्न सक्छु ।’

केही समयअघिको आफ्नो जापान भम्रणको प्रसंग निकाल्दै उनले अहिले विदेशमा बस्ने नेपालीको जीवनस्तर पहिलाकोभन्दा फरक पाएको समेत बताए। विदेशमा बस्ने नेपालीहरुले दक्षता हासिल गरेको र सक्षम भएको उनको भनाइ छ ।

क्यालिफोर्नियामा गोली चल्यो, ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु

एजेन्सी – क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित  ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । टुलारे काउन्टी शेरिफको कार्यालयका शेरिफ माइक बोउडरेउक्सले उक्त आक्रमण गिरोह र लागूऔषध हिंसासँग जोडिएको हुन सक्ने बताए ।

स्थानीय समयअनुसार सोमबार बिहान ३ः३० बजेतिर दुईजना व्यक्तिले घरमा आक्रमण गरेको र धेरै गोली चलाएको प्रहरीले जनाएको छ । छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा घरभित्र र बाहिर मानिहरुको शव भेटिएको थियो ।

प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।संयुक्त राज्य अमेरिकामा सन् २०२१ मा बन्दुकको गोली लागेर ४९ हजार मानिसको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्या थिए ।

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मंगलबार विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ ।

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ७२ जना सांसदको समर्थन छ । ६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

पछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गर्दै प्रदेश प्रमुख मिश्रलाई पत्र पठाएका थिए । मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २२ र नेकपा एसका ७ सांसद छन् ।

नेपाल पाइलटका लागि चुनौती, विमान दुर्घटनापछि उडानको जोखिम बढ्यो

पोखरा – पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२-५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन्। नागरिक उड्डयन प्राधिकरण २०७६ को सुरक्षा प्रतिवेदनअनुसार नेपालका पहाड विमान चालकका लागि ठूलो चुनौतीका विषय हुन् । यस अतिरिक्त मौसम, व्यवस्थापन, यान्त्रिक गडबडी पनि दुर्घटनाका कारण बन्ने गरेका छन् ।

प्राधिकरणको प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल समुद्र सतहभन्दा १ हजार २ सय ३८ मिटर माथि छ । नेपालमा विमानहरूलाई मोड्नका लागि धेरै कम स्थान मिल्छ । नेपालको पूर्वोत्तरस्थित लुक्लाको विमानस्थल विश्वकै सबैभन्दा खतरनाक विमानस्थलमध्ये एक मानिन्छ । यस विमानस्थललाई सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ। विमानस्थलको रनवे पहाडहरूबीचको एक चट्टानलाई काटेर बनाइएको हो ।

लुक्ला हवाई अड्डाको रनवेको एक छेउमा विशालकाय पहाड र अर्कोतिर खाँच रहेको छ । यस्तोमा केवल अल्ट्रा ट्रेन्ड पाइलटहरूले मात्रै विमान अवतरण गर्न सक्छन् र उनीहरूलाई मात्रै विमान चलाउन दिइन्छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।