`

पोखरा विमान दुर्घटना : आफन्तलाई शव बुझ्न झनै सास्ती

पोखरा – विमान चढेर आइतबार पोखरा उडेकाले ओर्लिएर वा फर्किएर आफन्त त भेट्न पाएन् नै। आफन्तलाई दुर्घटनामा ज्यान गुमाएकाको शव पाउन पनि सोमबार दिनभर निक्कै मुस्किल पर्‍यो। पोखराको अस्पताल परिसरमा सोमबार दिनभर आफन्तको रुवावासी चल्यो भने दुर्घटना स्थलमा हराएका ३ जनाको खोजीकार्य जारी रह्यो।

दुघर्टनास्थल सेती खोंचबाट उद्धार गरी ल्याएका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो। सोमबार दिउँसो काठमाडौंबाट मेडिकल टिम आएपछि पोस्टमार्टमको काम सुरु भएको थियो। सोमबार शव बुझाउने अस्पताल प्रशासनले जानकारी दिएपछि अस्पताल परिसरमा आफन्त र शुभ चिन्तकको भीड थियो। दिनभर आफन्त रुवावासी गर्दै शव पाउने प्रतिक्षामा बसे पनि साँझसम्म शव नपाएपछि निराश र आक्रोशित भएका थिए। साँझ अबेर पोस्टमार्टम सकिएको शव आफन्तलाई बुझाइएको थियो।

दिनभर अस्पतालमा आफन्तको शव बुझ्न रुँदै बसेका आफन्त प्रक्रिया छिटो–छरिटो पूरा गर्नुपर्नेमा ढिला भएको भन्दै आक्रोशित भएका थिए। नाराबाजीसमेत गरेका थिए। ‘आफन्तलाई त गुमायौं। शव बेलैमा नपाउँदा अर्को पीडा भयो,’ एक मृतकका आफन्त सा खलिद मियाँले बताए। उनी भन्दै थिए, ‘परिचय खुलेको छ। अनुहार पनि चिनिने अवस्थामा रहेका शवको छिटो प्रक्रिया पुर्‍याएर दिनुपर्नेमा त्यो हुन नसक्दा पीडित थप पीडामा छौं,’ उनले गुनासो गरे। यति प्रक्रिया पुर्‍याउँदा समय लाग्छ भने बेलैमा सूचना दिनुपर्नेमा त्यसो नहुँदा अस्पताल र घरमा आफन्तको दिनभर रुवावासी भएको र पीडा थपिएको उनको भनाइ थियो। यो समाचार अन्नपूर्णमा छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आशंका उब्जिने खतरा, विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडानबिना नै भएको भन्दै गुनासो

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो । ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा छ ।

यती एयरलाइन्सको ९ एन एएनसी कल साइनको एटिआर ७२( ५०० सिरिजको विमान दुर्घटनामा मुलुकले ५७ जना नागरिक गुमायो भने १५ जना विदेशीको ज्यान गयो ।दुर्घटनाले दुई साताअघि (सन् २०२३ जनवरी १) मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति पनि प्रश्नचिह्न उठ्ने खतरा बढेको सरोकारवालाको चिन्ता छ ।

विमानस्थलका भौतिक पूर्वाधार बेलैमा निर्माण सम्पन्न भए पनि सञ्चालनका बेला गरिएको हतारोले नागरिकप्रति गुनासो थियो । वर्षौंअघि गर्नुपर्ने काम पनि पूरा नगरी अन्तिममा हतारहतार गरिनुले सरकारी निकायप्रति नागरिकले प्रश्न उब्जाएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडानबिना नै भएको भनेर सामाजिक सञ्जालमा सबैभन्दा बढी गुनासो पोखिएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

विमान दुर्घटनाबाट ज्यान गुमाएकाप्रति लुम्बिनी र भैरहवामा श्रद्धाञ्जली (फाेटाेफिचर)

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा प्रर्थना ।

साथै, भैरहवाकाे देवकोटा र बुद्ध  चाेकमा मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन स्थानीय । तस्बिर : माेहम्मद हबिब

मन्त्रालयको भागबण्डा मिल्यो, कुन पार्टीलाई कुन कुन मन्त्रालय ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सोमबार बसेको सत्ता साझेदार दलको बैठकमा मन्त्रालयको भागबण्डा मिलेसँगै प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिँन लागेका हुन् ।

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ वटा मन्त्रालय पाउने भएको छ । उपप्रधान र गृहमन्त्री लामिछानेले पाइसकेका छन् । अब उनको पार्टीले श्रम र शिक्षा मन्त्रालय पाउने भएको छ ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई नै दिएको छ । यस्तै राप्रपालाई उपप्रधान तथा उर्जामन्त्री सहित सहरी विकास मन्त्रालय र खेलकूद मन्त्रालय  दिने बिषयमा छलफल भएको  छ । यस्तै एमालेले रक्षा, परराष्ट्र, स्वास्थ्य, कृषि, भूमि व्यवस्था, महिला बालबालिका र उद्योग मन्त्रालय पाउनेछ भने माओवादलाइृ सञ्चार, भूमि व्यवस्था, स्वास्थ्य, खेलकुद मन्त्रालय पार्ने बारेमा छलफल भएको एक नेताले बताए ।

थाहा पाउनुहोस विश्व इतिहासमा आज भएका महत्वपूर्ण घटनाक्रम

आज १७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

जापानको विनाशकारी भूकम्प

सन् १९९५ को १७ जनवरीमा जापानमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले जापानको कोबी सहर प्रभावित भएको थियो । ६ दशमलव ९ म्याग्निच्युडको सो भूकम्पका कारण ६ हजार ४३४ जनाको मृत्यु भएको थियो भने सयौं घाईते भएका थिए । भूकम्पले दुई सय अर्ब डलर क्षति पुगेको थियो ।

सुरक्षा परिषद्को पहिलो बैठक

सन् १९४६ मा राष्ट्रसंघको सुरक्षा परिषद्को पहिलो बैठक बसेको थियो । सुरक्षा परिषद् राष्ट्रसंघको महत्वपूर्ण निकाय हो । परिषद्ले अन्तर्राष्ट्रिय सुरक्षा र शान्ति कायम गर्छ ।

डेनमार्कसँग अमेरिकाले किनेका तीन टापु

सन् १९१७ मा अमेरिकाले डेनमार्कबाट तीन ओटा अलग अलग भूमि किनेको थियो । अमेरिकाले किनेका तीन ओटा भर्जिन टापुहरुमा सेन्ट थोमस, सेन्ट जोन र सेन्ट क्रोइक्स हुन् । यी सबै टापु अमेरिकाले दुई करोड ५० लाख डलरमा किनेको थियो ।

सुदूरपश्चिम सभामुखका लागि आज तेस्रो पटक चुनाव हुँदै

धनगढी – सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मंगलबार तेस्रो पटक चुनाव हुँदैछ । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।

गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । २८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक-एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन ।

३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभा आज फेरि निर्वाचन हुनेछ ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी छन् । सोमबार धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएकी हुन् ।

लुम्बिनी उपसभामुखका लागि आज चुनाव, नागरिक उन्मुक्ति पनि मैदानमा

दाङ – लुम्बिनी प्रदेशको उपसभामुखका लागि आज मंगलबार निर्वाचन हुँदैछ । सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती सोमबार नै निर्विरोध भइसकेका छन् ।

उपसभामुखका लागि आज हुने चुनावका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार उपसभामुखमा राप्रपाबाट मेनुका खाँण केसी, कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी चौधरीको उम्मेदवारी दर्ता भएको छ ।

सत्ता गठबन्धनले उपसभामुखमा राप्रपाका केसीलाई समर्थन गर्ने निर्णय गरे पनि नागरिक उन्मुक्तिले छुट्टै उम्मेदवार सारेको छ । गठबन्धनमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख राप्रपाले लिने गरी सहमति भएको थियो । नागरिक उन्मुक्तिले प्रदेश सरकारमा कम्तीमा दुई मन्त्रालयमा दावी गर्दै आएको छ ।

गठबन्धनमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४ तथा जसपा, लोसपा र जनमतका ३-३ प्रदेश सभा सदस्य छन् । दुई स्वतन्त्र सांसद छन्  । ८७ सदस्यीय प्रदेश सभामा नागरिक उन्मुक्तिबाहेक पनि सत्तापक्षीय गठबन्धनमा ५१ सदस्य छन् ।

थाहा पाउनुहोस् आजको मौसम

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भेमा सामान्य बदली छ, भने तराईमा हुस्सु-कुहिरो रहेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन पनि गरिएको छ ।

राति उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

विमान दुर्घटना : पहिचान नभएका शव भोलि हेलिकप्टरबाट काठमाडौँ लगिने

काठमाडौं – आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि देश नै शोकमा डुबेको छ । विमानमा सवार ७२ जना मध्ये हालसम्म ७० जनाको शव फेला परिसकेको छ । विमान दुर्घटनामा ज्यान गुमाई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भोलि हेलिकप्टरबाट काठमाडोै लगिने भएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट भोलि बिहान ८ बजे काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि लगिने भएको हो ।

मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि लामिछानेलाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बसेको संसदीय दलको बैठक सकिएको छ । बैठकले मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि छामिछानेलाई दिने निर्णय गरेको छ ।

बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्षलाई जिम्मा दिएको हो । सत्ता साझेदार दलहरुसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार उनलाई नै दिइएको पार्टी केन्द्रीय सदस्य सन्तोष परियारले जानकारी दिए ।

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशको दोस्रो जित

विराटनगर – इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेका छन् । पहिलो खेलमा मधेस प्रदेशलाई पराजित गरेको प्रदेश एकले आज दोस्रो जित निकालेको हो । प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको सङ्घर्षपूर्ण जित हात पारेको हो ।

आज भएको खेल बाक्लो हुस्सुका कारण ९ ओभरका झारिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एकले ९ ओभरमा ४ विकेट गुमाउँदै ५९ रन बनाएको थियो । प्रदेश १ का लागि ओपनर द्वय काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए ।

पाचौ ओभरको पाँचौ बलमा पहिलो विकेटका रूपमा कप्तान रुबिना क्षेत्री १३ बलमा ४ चौका प्रहार गर्दै १७ रन बनाउँदै आउट भइन\ । छैटौँ ओभरको अन्तिम बल काजल २१ रन बनाउँदै आउट भइन् । तेस्रो विकेटका रूपमा लकिता राजवंशीलाई सातौँ ओभरको अन्तिम बलमा दुई रन बनाएर आउट भइन् ।

चौथो विकेटको रूपमा अप्सरी बेगम १२ रन बनाउँदै आउट हुँदा सबनम राई १ रनमा र स्मिृती कटुवाल ४ रनमा अविजित रहे । लुम्बिनीका लागि कृतिका मरासिनी, सरस्वती पुन र  विभाषा बिसीले एक एक विकेट लिए । ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमा ७ विकेट गुमाउँदै ५० रन मात्र बनाउन सफल रह्यो । लक्ष्मी चौधरीले ३१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

आजै सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले पनि लगातार दोस्रो जित निकालेको छ । इटहरीको जनता क्रिकेट पार्कमा सम्पन्न दोस्रो खेलमा गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको हो ।

गण्डकीले प्रस्तुत गरेको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो । सुदूरपश्चिमका लागि  कप्तान विन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रन बनाइन् । यसै गरी शोभा रोकाय आठ रनका अविजित खेलिन । गण्डकीका लागि एक मात्र विकेट निरुता जिटीले लिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ६० रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि सिमान केसीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

प्रतियोगिता अन्तर्गत मङ्गलवार पहिलो खेलमा कर्णाली र प्रदेश एक बिच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा सुदूरपश्चिम र नेपाल एपीएफबिच खेल हुनेछ ।

गृहमन्त्रीको निर्देशनसँगै रुपन्देहीमा धमाधम नियन्त्रणमा आउँदै अवैध मासुजन्य बस्तु

भैरहवा – अवैध रुपमा कुखुरा, चल्ला र मासुजन्य वस्तुको आयातमा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन गरेसँगै रूपन्देहीका सिमाबाट अवैध रुपमा धमाधम ती वस्तु पक्राउ परिरहेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै यसै साता मात्रै अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका थिए । पछिल्लो समय भारतबाट विभिन्न नका हुँदै अण्डा, चल्ला र कुखुराको मासु भित्रिएपछि आत्मनिर्भर बनेको यो व्यवसायमा सङ्कट उत्पन्न भएपछि नेपाली व्यवसायीले गृहमन्त्रीलाई अनुरोध गरेका थिए ।

पूर्ण रुपमा तस्करी न्यूनिकरण अभियानमा लागेको सुरक्षानिकायले तस्करको सम्भावित क्षेत्रको पहिचान गरी सीमा विन्दुमै कडाई गरेकोे छ । राजश्व संक्लनमा पनि कमी आएको भन्दै सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सिमा विन्दुमै सक्रियता बढाएको हो । समग्र जिल्लाको सीमा सुरक्षाको पहिलो जिम्मेवारी सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटर अन्तर्गत नै रहेकोले जनशक्तिको अधिकतम प्रयोग गरी अवैध गतिविधीलाई सून्य बनाउनमा प्रयासरत रहेको सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बताए ।

सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रण गर्दै आएको सशस्त्र प्रहरीले नियमित कार्य र निर्देशन अनुरुप नै सिमा विन्दुमा सक्रियता बढाएको छ । पछिल्लो एक महिनामा झण्डै १ करोड बढी मूल्य बराबरको अवैध चोरी पैठारीका चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किराना लगायतका सामान नियन्त्रणमा लिई सम्बन्धित कार्यालय बुझाएको छ ।

गणअन्तर्गत दर्जन बढी शसस्त्र प्रहरी बलको युनिट रहेका छन ती युनिट मध्ये सोमबार मात्रै बुची विओपी र सशस्त्र प्रहरी बल हेड क्वाटरले झण्डै ४ क्विन्टल ब्रोइलर कुखुरा र मासु नियन्त्रणमा लिई नष्ट गरेको छ । गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक मोहनराज विष्टका अनुसार बरामद ती कुखुरा र मासु पशुक्वारेन्टीन कार्यालय, संचारकर्मी, सुरक्षा निकाय र स्थानीयको  रोहबरमा नष्ट गरिएको बताए ।

बरामद कुखुरा केही जिउँदो आए पनि कतिपय तयारी अवस्थामा मासु नै आउने गरेको छ । खुला सीमा चुनौती नै छ । ‘चुनौतीका बाबजुद हामीले पछिल्लो एक महिनामा मात्रै ९ क्विन्टल बढी कुखुरा र मासु, केही जिउँदो पाडा, भैसी  र माछाहरू पनि नियन्त्रणमा लिई आवश्यक कारबाही गरेका छौं । सिमा विन्दुमै रहेको ह्याचरी फर्महरू नै यस्ता अवैध गतिविधिमा संलग्न हुने गरेको पाइएको छ.’ सशस्त्र प्रहरी नायब उपरीक्षक विष्टले भने ।

नेपाली पोल्ट्री व्यवसायीहरुले भारतीय मासु तथा चल्लाहरूको अवैध आयात, दानाको कच्चा पदार्थको मूल्यवृद्धि र लागत अनुसारको मूल्य पाउन नसकेको कारण पलायन हुनुपर्ने अवस्था आएको बताए । नेपाल कुखुरा आत्मनिर्भर भएपनि नेपालमा भन्दा भारतमा उत्पादन लागत कम हुने भएकाले भारतमा कुखुराको चल्ला, मासु र अण्डा सस्तो पर्ने गर्छ, सस्तोको कारण नै भारतिय कुखुरा तथा कुखुराजन्य वस्तुहरू नेपाल भित्रिने गरेको छ ।

सीमा क्षेत्रमा हुने कुखुरा तस्करीले व्यवसायी मारमा पर्ने गरेका छन् । दुवै देशका व्यापारी र भरियाहरुको संलग्नतामा मोटरसाइकल र साइकलमा कुखुरा आउने गरेको छ, भारतिय कुखुरा ल्याएर सस्तोमा बिक्री गर्न थालेपछि स्थानीय कुखुरा बिक्री मूल्य पनि घट्ने गरेको छ ।

विदेशमा रहेका लाखौं नेपालीको मन जित्ने गरी काम गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई सरकारले सच्याउँदै आएको बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय सङ्घका प्रतिनिधिसँगको छलफलमा प्रचण्डले सो कुरा गरेका हुन् । उनले विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी समस्या समाधान गर्न आफू लागिपर्ने बताए ।

उनले विदेशमा रहेका लाखाँै नेपालीको मन जित्ने गरी काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। उनले भने – ‘विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो कार्यकाल विदेशमा बस्ने बहुसङ्ख्यक नेपालीको मन जित्छु ।’

नेपालका कतिपय परम्परागत ऐन कानून छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको भन्दै उनले त्यस्ता खालका पर्खाललाई भत्काउने बताए । विदेशमा रहेका नेपालीले नेपाल र नेपालीको पहिचान विश्वमाझ पु¥याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैरआवासीय नेपालीप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गरे ।

लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम निर्बिरोध, उपसभामुखमा ३ जना उम्मेदवार

बुटवल – लुम्बिनी प्रदेशको सभामुखमा एक र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सुरुमा सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएको छ ।  नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ । उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भइसकेको छ ।

सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको उम्मेदवारी परेको छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन । कांग्रेसका पाठकको प्रतावकमा प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन् । यस्तै, उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ । प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् ।

कपिलवस्तुमा हाइड्रोजन ग्यास पड्किँदा एक जनाको मृत्यु

बुटवल – बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको मृत्यु भएको छ ।

भलवाडको कपिलधाममा संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखियाको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

गृहमन्त्रीको निर्देशन दिए पनि पक्राउ परेनन् फरार सांसद, आँखा नै अगाडी हिड्डुल गरेर दिए चुनौती

महोत्तरी – गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाधरुपमा नियमित काम गरिरहेका छन् ।

संसद महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडी हिड्डुल गरेर चुनौती दिइरहेका छन् । सपथग्रहणदेखि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदासम्म महतो पक्राउ पर्न सकेका छैनन् ।

मधेश आन्दोलनको समयमा लखेटी-लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको उनीमाथि आरोप छ ।

उच्च अदालत जनपुरले २०७७ मा महतोलाइ पक्राउ गरी पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २०७७ देखि फरार रहेका महतो २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेवाट टिकट लिएर संघको निर्वाचनमा होमिएका थिए ।

बारेसमार्फत मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा होमिएका महतो माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेललाई पराजित गर्दै विजयी बनेका हुन् ।

निर्वाचन आयोगबाट हस्तान्तरण गर्ने प्रमाणपत्र समेत वारेसमार्फत नै बुझेका महतो प्रहरीको आँखा छल्दै सपथग्रहण लिनसमेत सफल भए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी हेडक्वाटरले कांग्रेसबाट निर्वाचित संसद टेकबहादुर गुरुङ्ग र महतोलाई संसदीय गतिविधिमा सग्लन नगराउन पत्राचार गरे पनि  कोइरीलाई भने निरन्तर सग्लन गराउँदै आइएको छ ।

विमान दुर्घटना परी ज्यान गुमाउनेको नाममा महोत्तरीमा दीप प्रज्वलन

महोत्तरी – विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको नाममा महोत्तरीको बर्दिबासमा दीप प्रज्वलन गरिएको छ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक सेती खोचमा दुर्घटनामा परी ज्यान गुमाउने ६८ जना मृतकहरुको नाममा ६८ वटै दीप प्रज्वलन गरिएको हो ।

बर्दिबास उधोग वाणिज्य संघले आयोजना गरेको दीप प्रज्वलनमा दिवंगत आत्माको चिरसान्तीको कामना गर्दै गहिरो दु:ख ब्यक्त गरिएको छ ।कार्यक्रममा उद्योग बाणिज्य संघले विमान दुर्घटना हुनुमा सरकारको गैरजिम्मेवारमाथीसमेत प्रश्न उठाएको छ ।

उद्योग बाणिज्य संघकी सदस्य उषा ढकालले विमान दुर्घटना परेर ज्यान गुमाउनेहरूको परिवारप्रति धैर्यधारण गर्ने सक्ती प्रदान गरुन भन्दै ज्यान गुमाउनुमा सरकार पक्षलाई आरोप लगाउँदै आक्रोश ब्यक्त गरिन् ।

त्यसैगरी उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले अल्पायुमा नै दुर्घटनामा परी ज्यान गुमाउनेप्रति गहिरो संवेदना प्रकट गर्दै श्रद्धाञ्जली ब्यक्त गरे ।

आइतबार भएको जहाज दुर्घटनामा चालक दलका सदस्य सहित ७२ जना यात्रु मध्य ६८ जनाको मृत्यु भएको र बाँकी ४ जनाको खोजी भैरहेको बताइएको छ ।

अध्यक्ष र उपाध्यक्षको विवादबीच अदानचुलीले पायो नयाँ हाकिम

सुर्खेत – हुम्लाको अदानचुली गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । पालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदा यहाँ दुई जना प्रमुख प्रशासकीय अधिकृत रहेका थिए ।

विवादकै बीचमा नयाँ प्रशासकीय अधिकृत आएपछि समस्य हल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला निर्वाचन कार्यालय सल्यानमा कार्यरत नायब सुब्बा नवराज गिरीलाई नियुक्त गरी पठाएको छ। गिरीले पुस २९ गते आर्थिक अधिकारसहित जिम्मेवारी पाएका हुन् ।

गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकायाका आआफ्नै अडानका कारण गाउँपालिकाको कामकाज लामो समयदेखि प्रभावित बनेको थियो । स्थानीय तहमा एकजना प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि अदानचुलीमा दुई प्रशासकीय अधिकृत थिए । अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेपछि गाउँपालिकाको काम प्रभावित भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत टक्कबहादुर प्याकुरेललाई गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएसँगै निलम्बित छन् । रिक्त पदमा गाउँपालिका अध्यक्ष सिंहले आफूनिकट मेगनाथ शाही र उपाध्यक्ष रोकायाले हंस महतारालाई निमित्त प्रशासकीय अधिकृत तोकेका थिए ।

अध्यक्ष र उपाध्यक्षको टकरावका कारण गाउँपालिकाको काम प्रभावित भएका समाचारहरू न्युज कारखानाबाट लगातार प्रकाशित भएपछि मन्त्रालयले नयाँ कार्यकारी नियुक्त गरी पठाएको हो ।

सत्ता साझेदारको बैठक वालुवाटारमा सुरु

काठमाडौं – मन्त्रिमण्डल विस्तार तथा भागबन्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृह मन्त्री रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत उपस्थित रहेका छन । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच भएको भेटवार्ता पछि सत्ता साझेदारको बैठक बोलाईएको हो ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीविच मन्त्रिपरिषद विस्तार गर्ने सहमति भइसकेको छ भने आज राष्ट्रिय शोक दिवस भएकाले सम्भवः नभएकाले भोली मंगलवार नयाँ मन्त्रीहरुको सपथ गराउने पनि अनौपचारिक सहमति भएको छ । स्रोतका अनुसार स्वतन्त्रलाई ३, राप्रपालाई तीन मन्त्रालय दिने सहमति भएपनि मन्त्रालय भने टुंगो भईसकेको छैन । जनता समाजवादी पार्टीले भने सर्तसहित सरकारमा सहभागी हुने जनाइरहेको छ । सो पार्टीले उपराष्ट्रपति माग गर्दै आएको छ ।

सल्यानमा ऐलानी जग्गामा बनाइएका घरटहरामा डोजर चल्यो

सुर्खेत, २ माघ-सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घर टहरामा डोजर चलेको छ । आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका १ श्रीनगरस्थित बसपार्क क्षेत्रका घरटहरामा सोमबार नगरपालिकाले डोजगर चलाएको हो ।

श्रीनगर बजार नजिक रहेका सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका झन्डै १ सय ५० बढी घरहटरा हटाइएको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा ३५ रोपनी क्षेत्रफलमा बनाइएको घरटहरामा डोजर चलेको नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए । मंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा बनेको घरटहरा हटाउने निर्णयअनुसार ३५ दिने सूचना जारी गरी घरटहरा हटाइएको उनको भनाई छ । ३५ दिने सूचनाजारी गर्दा पनि नहटाउने घरटहरामा डोजर चलेको भण्डारीले बताए ।

कानुनको परिधिभित्र रहेर विकास निर्माणको कामगर्न आफूलाई कसैले अवरोध गर्न नसक्ने उनको भनाई छ । स्थानीय घर र जग्गाधनीहरुले भने बसपार्क क्षेत्रमामात्रभन्दा पनि ऐलानीजग्गामाबनेका सम्पूर्ण घरटहरा भत्काउनु पर्ने बताएका छन् । घरटहरा भत्काउनेमाआफूहरुको विरोध नरहेको भन्दै उनीहरुले अन्य स्थानमा ऐलानी जमिनमा बनेका संरचना पनि भत्काउनु पर्छ भन्ने माग रहेको उनीहरुको भनाई छ ।

गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी थापा निर्वाचित

पोखरा – गण्डकी प्रदेशसभाको उपसभामुखको दोस्रो कार्याकालका लागि नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन् ।

प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको मत बिभाजनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने विपक्षमा २६ मत प्राप्त झरेको थियो  । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले पक्षमा मत दिएका थिए ।

लमजुङबाट कांग्रेस सांसद पार्वती तामाङले उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् । उनी पराजित भईन् ।नवनिर्वाचित सभामुख कृष्ण धितालका अनुसार प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी रहेका थिए ।

लुम्बिनी प्रदेशसभा: सभामुख र उपसभामुखमा उम्मेदवारी दर्ता

बुटवल – लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनको कार्यकक्षमा दुबैजनाले मनोनयन दर्ता गरेका हुन् ।

सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन् भने उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ता रहेका प्रदेश सभा सचिवालयका सचिव पुनले जानकारी दिए। नेपाली कांग्रेसले भने दिउसो ३ बजेसम्म दुबै पदमा उम्मेदवारी दिएको छैन । सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते निर्वाचन गर्ने कार्यतालिका छ ।

मनाङमा १३५ मेगावाटको जलविद्युत आयोजनाको निर्माण कार्य सुरु

लमजुङ – मनाङ जिल्लामा १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । सन् २०२० देखि कोरोना महामारीका कारण रोकिएको आयोजनाको काम सुरु गरिएको हो ।

आयोजनाको विकासका लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच २०७९ पुस ३ गते सम्झौता भएकाे थियो । पिकिङ रन अफ दी रिभर प्रकृतिको आयोजनाको  काम  ४ वर्षमा पुरा हुने जनाइएको छ। जसबाट वार्षिक ७६६.५९३ गिगावाट आवरमा विद्युत् उत्पादन हुनेछ ।

आयोजनामा नेपाली साझेदार बीपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्तामा क्यूवाईसी इन्टरनेसनलले संयुक्त रुपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको जनाएको छ।

आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब एक अर्ब ३३ करोड रुपैयाँ स्वपूँजी लगानी गर्नेछ। आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ। सम्भाव्यता अध्ययनका अनुसार यस आयोजनाको ग्रस हेड चार सय ३० दशमलव २० मिटर र हेडरेस टनेल छ दशमलव शून्य ७५ किलोमिटर रहेको छ ।

आयोजनाको कूल लागत ३३ अर्ब ३८ करोड रुपैयाँमध्ये २० प्रतिशत स्वपूँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजना विकास सम्झौता भएसँगै चिनियाँ साझेदारले चिनियाँ बैंकबाट ऋण ल्याउने तयारी थालेको बुटवल पावर कम्पनीका कोअर्डिनेटर प्रतीक महर्जनले बताए।

के हाे विमान दुर्घटनापछि खाेजिने ब्ल्याक बक्स ?

काठमाडौं– ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ । विमान दुर्घटनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो ? नामअनुसार यो किन कालो हुँदैन् ? प्रस्तुत छ ब्ल्याक बक्सबारे केही रोचक तथ्यः

१. आधिकारिक रूपमा यो ब्ल्याक बक्स होइन
हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर  (एफडीए) हो । यसले वास्तवमै तथ्यांकको रेकर्ड राख्छ । दुर्घटनापछि अनुसन्धानलाई सहज बनाउन, इन्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झर्ने दरलगायतका उडानसँग सम्बन्धित तथ्यांकको यसले रेकर्ड राख्छ । यसलाई ब्ल्याक बक्सभन्दा रेकर्डर भन्नु बढी उपर्युक्त हुन्छ । पहिला यो एउटा बक्सको आकारमा हुने भए पनि अहिले यसको आकार हल्का सिलिन्डर जस्तो हुन्छ ।

२.सामान्यतया दुई ओटा बक्स हुन्छन्
फ्लाइट डाटा रेकर्डरको नजिकै ककपिट भोइस रेकर्डर ९सीभीआर० हुन्छ । ककपिट भोइस रेकर्डर एउटा उडान रेकर्डर हो, जुन ककपिटको अडियो वातावरण रेकर्ड गर्न प्रयोग गरिन्छ । उदाहरणको लागि विमान दुर्घटनापछिको अनुसन्धानमा एयर ट्राफिक कन्ट्रोलसँग भएका सञ्चारलाई आधार मानिन्छ । कहिलेकाही एफडीआर र सीभीआरलाई  जोडेर एउटा बक्स बनाइन्छ । सीभीआरले ककपिटको दुई घन्टासम्मको आवाज रेकर्ड गर्छ ।

३. वास्तवमा यो कालो नभएर सुन्तला रंगको हुन्छ
ब्ल्याक बक्स आगो प्रतिरोधी सामग्रीबाट बनेको हुन्छ जुन उज्यालो सुन्तला रंगको हुन्छ । यसलाई ओरेन्ज बक्स नभनी किन ब्ल्याक बक्स भनियो भन्ने बारेमा केही प्रष्ट छैन् । दुर्घटनापछि यो प्रायः कालो हुन्छ । यो हल्का गुलाफी र रातो रंगको पनि हुन्छ । अस्ट्रेलियाका वैज्ञानिक डेभिड वारेनले सन् १९५७ मा ब्ल्याक बक्सको आविश्कार गरेका थिए ।

४. यसलाई ककपिटमा राखिदैन्
तथ्यांक र आवाज ककपिटबाटै रेकर्ड गरिने भए पनि ब्ल्याक बक्सलाई ककपिटभित्र भने राखिदैन । सामान्यतया तिनीहरू विमानको अगाडि वा पछाडि हुन्छ, जहाँ विमानको संरचनाले तिनीहरूलाई दुर्घटनाको अवस्थामा सबैभन्दा राम्रो सुरक्षा गर्दछ । ब्ल्याक बक्स टाइटेनियम धातुबाट बनेको हुन्छ। यसले बिना बिजुली ३० दिनसम्म काम गर्न सक्छ । यसले ११००० डिग्री सेल्सियसको तापक्रम सहन सक्छ । पानीभित्र डुब्दा पनि यसमा खासै असर हुँदैन् । ब्ल्याक बक्समा रेकर्ड भएको आवाजलाई अनुसन्धानकर्ताहरूले टाढाबाट पनि पहिचान गर्न सक्छन् । ब्ल्याक बक्सले विमान दुर्घटनाको स्पष्ट तस्विर प्रतिबिम्बित गर्दैन तर विमान दुर्घटनाको अनुसन्धानमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।

मन्त्रिपरिषदलाई पुर्णता दिन सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं – सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे पछि सत्ता साझेदार दलको बैठक आब्हान गरिएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई आजै पुर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको वालुवाटार स्रोतले जानकारी दियो ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सत्ता साझेदार दलहरुको बैठकले मन्त्रिमण्डलको पुर्णता वारे निष्कर्ष निकाल्नेछ ।

मेला हेरेर फर्केका दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु

बारा – गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो ।

बारा प्रहरीका अनुसार सिम्रोनगढ नगरपालिका– १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारीको मृत्यु भएको हो । सो दुर्घटनामा  परेर बैरियाकै २२ वर्षीय गुड्डु अन्सारी सामान्य घाइते भएका छन् ।

बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार स्थानिय तहमा लागेको मेला हेरेर घर फर्किदै गरेका उनीहरु सवार मोटरसाइकल राति ९ बजे अनियन्त्रित भइ थलहि पुलमुनि खस्न पुगेको थियो । मृतक दुवैजनाको शव थलही खोलामा फेला परेको थियो ।

प्रधानमन्त्री भन्छन, मन्त्रिपरिषदले आजै पुर्णता पाउँछ

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले आजै पुर्णता पाउने बताएका छन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सो मन्त्रीपरिषदले आजै पुर्णता पाउने बताएका हुन ।

मन्त्रपरिषद विस्तार, राष्ट्रपति र सभामुख चयनका बारेमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली विच वालकोटमा वार्ता भएको थियो ।

उनका अनुसार विश्वासका मत दिएका कारण नेपाली कांग्रेससँग पनि छलफल गर्नेछन् । प्रधानमन्त्री दाहालले मंगलवार कांग्रेससहित सर्वदलीय बैठक बोलाएका छन् ।

युनाइटेड मोदी हइड्रोपावरले लाभांश वितरण गर्ने

काठमाडौं – युनाइटेड मोदी हइड्रोपावरले ७.३६८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ०.३६८५ नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्ताव गरिएकाे  बोनस सेयर तथा नगद लाभांश विद्युत नियमन आयोग र युनाइटेड मोदीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश् सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

खोटाङमा विद्यालयबाट घर फर्कदै गरेकी बालिका मृत फेला

खोटाङ – खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता बालिका मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् । आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

बालिका महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनरत थिईन् । ३ पुसदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिईन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिईन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका घरभन्दा करिब दुई सयमिटर टाढा मृत फेला परेकी हुन् । घट्नास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको वडाध्यक्ष गिरीले बताए ।

घटनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफै झुण्डिएको’ विषय खुल्ने डिएसपी मुकारुङले बताए ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको हत्या भएको पाँच वर्ष बित्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । ज्ञानीमायाँ घर नजिकै २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला परेकी थिईन् ।

विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति यती एयरलाइन्स स्तब्ध

काठमाडौँ – विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति यती एयरलाइन्स स्तब्ध बनेको छ । सोमबार बिहान जारी सूचनामा एयरलाइन्सले माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा  दिवङ्गतभएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतक आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

जारी सूचनामा दुःखद् घडीमा एयरलाइन्सले शोकाकुल परिवार, इष्टमित्रमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामनासमेत गरेको छ ।

सपोर्ट लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण गर्दै

काठमाडौं – सपोर्ट लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ११.५७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले ११% बोनस सेयर र ०.५७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसैगरी, प्रस्ताव गरिएकाे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त बोनस वितरण हुनेछ ।

गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने

पोखरा – गण्डकी प्रदेशको उपसभामुख निर्वाचनअघि शोक प्रस्ताव पारित गरिने भएको छ । संसद सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार पोखरामा आइतबार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका सम्झनामा शोक प्रस्ताव पारित गर्न लागिएको हो ।

शोक प्रस्ताव पारित भएपछि उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ । उपसभामुखका लागि नेकपा एमालेवाट बाग्लुङकी बिनाकुमार थापा तथा कांग्रेसबाट लम्जुङकी पार्वती तामाङले उम्मेदवारी दर्ता गराएका छन ।

सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा एमालेको २२, माओवादीको ८ राप्रपाको २ मत छ भने कांग्रेसको २७ मत रहेको छ । उता, एकीकृत समाजवादीको १ मत रहेको प्रदेश सभाले आजै उपसभामुख चयन गर्नेछ । गठबन्धनको मत बढी भएकाले एमालेकी थापा चयन हुने लगभग निश्चित छ । यसअघि नै माओवादीका कृष्ण धिताल सभामुख चयन भईसकेका छन । सभामुखको हैसियतमा उनले मत भने हाल्ने छैनन् ।

पोखरा विमान दुर्घटनामा सरकारले राष्ट्रिय शोक घोषणा गरेपछि मधेस प्रदेश र सुदुरपश्चिम प्रदेशको सभा स्थगित भएको थियो । तर, उपसभामुख चयन गर्नुपर्ने समयसीमाकाे संबैधानिक बाध्यताका कारण गण्डकीमा उपसभामुख चयन हुन लागेको हो ।

पोखरामा विमान दुर्घटनामा परि ज्यान गुमाएका चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

काठमाडौं – आइतबार बिहान पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाएका विमान चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने भएको छ । चालक
दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिने बताइएको छ ।

दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । हालसम्म ६८ शव फेला परिसकेको छ ।

सगरमाथा इन्स्युरेन्सको लाभांशको दरमा थोरै संशोधन

काठमाडौं – सगरमाथा इन्स्युरेन्सको केही मात्रामा लाभांश संशोधन भएको छ । नेपाल बिमा प्राधिकरण समितिको निर्देशनअनुसार कम्पनीले लाभांशको दरमा थोरै संशोधन गरेको हो ।

कम्पनीको ३० पुसमा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो । अब लगानीकर्ताले संशोधित भएको लाभांशअनुसार १२.४०% बोनस सेयर तथा बोनसमा लाग्ने कर चुक्ता पुँजीको ०.६५२६ प्रतिशत नगद लाभांश पाउने कम्पनीले जनाएको छ ।

यो लाभांश नियामक बिमा समिति र आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरीने छ ।

एकतर्फी खुलेको नाकामा आम्दानीभन्दा खर्च बढी

सुर्खेत – केही समयअघि मात्र एकतर्फी खुलेको हुम्लाको यारी भन्सार कार्यालयमा आम्दानीभन्दा बढी खर्च हुने गरेको छ । राजश्व असुलीभन्दा खर्च बढी हुने गरेको हो ।

हिल्सामा रहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले १३ पुसमा चीनबाट आयात भएको व्यापारीको सामान जाँचपास गर्न जाँदा आम्दानीभन्दा बढी खर्च भएको बताए। उनले हिल्सा नाकाबाट भित्रिएको १८ गाडी सामानको भन्सार महसुल ४० हजार रुपैयाँ असुल भएको र आफू हिल्सा जाँदा आउँदा ५० हजार रुपैयाँ यातायात खर्च भएको बताए ।

सिमकोटबाट हिल्सा पुुग्न एक दिन लाग्ने र एक दिनको भाडा जिप सञ्चालकले २५ हजार रुपैयाँ लिने र आउँदा पनि २५ हजार खर्च हुँदा यातायात खर्च ५० हजार रुपैयाँ खर्च भएको बताए । हिल्सा र सिमकोटका व्यापारीको पहलमा १३ पुसमा एक दिन चीनबाट खाद्यान्न, लत्ताकपडा, विकास निर्माणका सामग्री आएको थियो ।

प्रमुख जिल्ला अधिकरी सीता परियारले फाइदा मात्रै भन्दा पनि भन्सार महसुल उठाउने कुरामा राज्यको उपस्थिति महत्त्वपूर्ण भएको बताइन्। उनले कर्मचारी हिल्सा आउजाउ गर्ने खर्च भन्सार कार्यालयसँग नभएका कारण आफ्नो समन्वयमा गाडीको व्यवस्था गर्नुपरेको उनकाे भनाइ छ ।

३१ दिनमा सकियो ‘प्रसाद २’, १ वैशाखमा रिलिज हुने

काठमाडौं – फिल्म ‘प्रसाद २’को इन्डक्ल्याप गरिएको छ । छायांकन सुरुवातको ३१ दिनपछि इन्डक्ल्याप गरिएको हो । सुदर्शन थापा निर्देशित फिल्म कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायांकन गरिएको छ ।

एसजी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा सुदर्शन बस्नेतको लगानी छ । फिल्मका कार्यकारी निर्माता सुवास थापा हुन् ।

फिल्ममा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय छ ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, राजनराज शिवाकोटीको संगीत, उत्तम न्यौपानेको ध्वनि तथा पत्रकार सुशील पौडेलको कथा छ । निर्देशक सुदर्शनका अनुसार फिल्म आगामी १ वैशाखमा रिलिज हुनेछ ।

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौं – आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो ।

साढे १३ लाखको अवैध खसीबोका नियन्त्रणमा

बुटवल -इलाका प्रहरी कार्यालय बर्दघाटले ९० वटा अवैध खसीबोका नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मण रास्कोटीको कमान्डमा खटिएको प्रहरी टोलीले अवैध खसीबोका नियन्त्रणमा लिएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा१ख २९१६ नम्बरको ट्रक रोकी चेकजाँच गर्दा बिनाकागजपत्र ल्याउँदै गरेको अवस्थामा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका–६ टिसिएन चोकमा चेकजाँच गर्दा खसीबोकासम्बन्धी कुनै पनि कागजपत्र नभएकोले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार पशुपंक्षी ओसारपसार गर्दा कुन जिल्ला लैजाने खोल्नुपर्ने र पशु स्वस्थ छ, छैन भन्ने बारे क्वारेन्टाइनमा चेकजाँच गर्नुपर्ने काम नभएकाले खसीबोका नियन्त्रणमा लिएको हो । एउटा बोकाको मूल्य १५ हजारको दरले १३ लाख ५० हजार बराबरको खसीबोका नियन्त्रणमा लिइ भन्सारमा पठाइएको हो ।

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखकाे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

बुटवल – लुम्बिनी प्रदेशको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका तुलाराम घर्ती र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खांण केसी हुने सत्ता साझेदार दलहरूबीच सहमति भइसकेको छ ।

सत्तारुढ दलबाट मुख्यमन्त्री एमालेबाट भएकाले सभामुख माओवादीलाई र उपसभामुख राप्रपालाई दिने सहमति भएको सम्बन्धित दलका नेताहरूले बताएका छन् । सभामुख र उपसभामुख चयनका लागि आज दिउसो उम्मेदवारी दर्ता र भोलि निर्वाचन गर्ने कार्यतालिका छ ।

३ माघमा हुने सभामुख निर्वाचनका लागि माओवादी केन्द्रबाट पाल्पा २ (ख) बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई पठाउने निर्णय गरेको माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

उपसभामुखका लागि राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाँण केसीलाई उम्मेदार बनाउने निर्णय भएको राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले जानकारी दिए । ८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरुको समर्थन रहेको छ ।

एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार-चार, जसपा, जनमत र लोसपाका तीन-तीनजना तथा दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन् । प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, एक सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् । सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले घर्ती र खाँणले जित्ने पक्कापक्की जस्तै छ । नेपाली कांग्रेससँग बहुमत नभएकाले उम्मेदारको टुंगो लगाउन सकेको छैन ।

सभामुख चयन गर्न बस्न लागेको सुदुरपश्चिम बैठक स्थगित

धनगढी, २ माघ – सभामुख चयन गर्नका लागि आब्हान गरिएको बैठक अन्तिममा आएर स्थगित भएको छ ।

पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो । आज बिहान बसेको सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक आज बिहान १० बजे बोलाईएको थियो ।