`

एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह

काठमाडौं – नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटीएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले एटीएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ ।

एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ ।

बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ ।  एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ ।

महेश बाबुलाई लिएर दुई भागमा फिल्म बनाउदै राजामौली

एजेन्सी । ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीले अभिनेता महेश बाबुसँग नयाँ फिल्ममा सहकार्य गर्ने घोषणा गरेका छन् । ‘आरआरआर’को बम्पर सफलतापछि निर्देशक राजामौली नयाँ फिल्मको तयारीमा जुटिसकेका छन् । नयाँ फिल्म एडभेञ्चर्स एक्सन ड्रामाको हुनेछ ।

फिल्मको कथा राजामौलीका पिता तथा ‘बाहुबली’, ‘आरआरआर’ लेखक केवी विजेन्द्रप्रसाद लेखिरहेका छन् । राजामौलीले यो फिल्मलाई दुई भागमा निर्माण गर्नेछन् । यो कुराको पुष्टि लेखक विजेन्द्रप्रसादले गरिसकेका छन् ।

‘हो यो फिल्मको सिक्वेल पनि आउनेछ । सिक्वेलमा प्रमुख कलाकार पहिलो भागकै हुनेछन् । हामी अहिले स्क्रिप्ट फाइनलको तयारीमा जुटिरहेका छौं’, उनले भनेका छन् । नयाँ फिल्म सत्यघटनामा आधारित हुनेछ ।

पाकिस्तानी प्रधानमन्त्रीले गरे चीनको खुलेर प्रशंसा

इस्लामावाद, सिन्ह्वा – पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले पाकिस्तानलाई चीनले आर्थिक सहयोग दिएकामा प्रशंसा गर्नुभएको छ ।पाकिस्तानमा गत वर्ष गएको बाढी पहिरोका कारण क्षति भएको र त्यस क्रममा चीनले पाकिस्तानलाई सहयोग उपलब्ध गराएको थियो ।

चीनले पाकिस्तानलाई उपलब्ध गराएको खाद्यान्न हस्तान्तरणका लागि इस्लामावादमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । चीनले पाकिस्तानका बाढी प्रभावित नागरिकलाई सहयोग उपलब्ध गराउँदै आएको छ । सो क्षेत्रका नागरिकलाई चीनले खाद्यान्न, लत्ताकपडा आदि उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष आएको बाढीले पाकिस्तानमा ठूलो क्षति पुगेको थियो । बाढीका कारण हजारौँ नागरिक विस्थापित भएका थिए ।अहिले पनि ती नागरिकलाई सहयाताको खाँचो रहेको पाकिस्तानले जनाएको छ । चीनले पाकिस्तानलाई गतवर्षदेखि नै सहयोग गर्दै आएको छ ।

प्रि-ओपन सेसनमा नेप्से उकालो

काठमाडौं । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ५ अंकले उकालो लागेको छ । यससँगै सूचक २१४८.९३ विन्दुमा आएको छ ।

३५ कम्पनीको कुल १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको र ७३ लाख १६ हजार ७३६ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल २९ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै एक कम्पनी स्थिर छ ।

यता, १३ उपसूचकहरू मध्ये ७ कम्पनीमा वृद्धि भएको छ । दुई कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराएको छ – प्रमुख आयुक्त थपलिया

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समीक्षाका आधारमा आगामी दिनमा निर्वाचनलाई कसरी थप व्यवस्थित गराउन सकिन्छ भन्ने मार्गदर्शन गर्ने बताएका छन् ।

आइतबार गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको बागमती प्रदेशको दोलखामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताए ।

उनले भने – ‘मतदाता नामावलीलाई शुद्ध बनाउन गाउँपालिकासम्म परामर्श गरी सुझाव लिइएको थियो । मृत्यु भएका र बसाइँ सरेकाहरूको नामावली अद्यावधिक गराइदिन आग्रह गरिएको थियो । हाम्रो विश्वास मतदाता नामावली शुद्ध छ भन्ने हो’

उनले थपे – ‘तर गलत नामावली छ भने त्यसप्रति यहाँहरू नै जिम्मेवार हुनुहुन्छ । मरेका मान्छेलाई मतदान गराएर दोलखाले बदनामी कमाएको म विश्वास गर्दिनँ । छ भने कसरी हुन गयो यहाँ राखिदिनुहोला’

आइतबार १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको भाऊ कति ?

काठमाडौं, २७ पुस । सुनको मूल्यमा एकैदिन आइतबार एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३००  रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ८००  रुपैयाँ निर्धारण भएको छ । शुक्रबार, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर बढेको छ । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

बर्दिबासमा लालपुर्जा वितरण प्रक्रियामा ब्रेक, प्रमाणीकरण गर्न नापीको अस्वीकार

महोत्तरी, २४ पुस । महोत्तरीकै सबैभन्दा बढी भूमिहीन र अव्यवस्थित बसोबासी रहेको बर्दिबासको लालपुर्जाको विषय विवादित बनेको छ ।  स्थानीय सरकारले नापजाँचलाई प्रमाणीकरण  गरेको  प्रतिवेदन नापी कार्यालयलाई बुझाउन नसक्दा नापजाँच भएको नापनक्सासमेत विवादित बनेको हो ।

नापी कार्यालयले यसअघि भएका नापनक्सामा त्रुटि भएको जिकीर गर्दै  नगरपालिकाले नापी कार्यालयका कर्मचारी संग्लन गराएर पुनः जाँच गर्नुपर्ने अडान राखेको छ ।

नापी कार्यालयका महोत्तरी प्रमुख राकेश यादवका अनुसार अघिल्लो स्थानीय सरकारले नापनक्सा गरेको जग्गा अहिलेको सरकारले प्रतिवेदन बुझाउन सकेको छैन ।

प्रमुख यादवले अघिल्लो स्थानीय सरकार बिदुर कार्कीको समयमा गरिएको नापनक्सामा नापी कार्यालयको संग्लनता नरहेको भन्दै असन्तुष्टि जनाए ।
‘अघिल्लो स्थानीय सरकारले नापनक्सा गर्दा हामीलाइ सहभागी नगराएको  हुनाले आँखा चिम्लेर विश्वास गर्न सकिने अवस्था छैन,’ प्रमुख यादवले भने ।

नापी कार्यालयका कर्मचारी र  स्थानीय सरकारले पुनः चेकजाँच नगरी बनाइएको नापनक्सालाई प्रमाणिकरण गर्न नसक्ने यादवले बताए ।
निर्वाचनमा समेत लालपुर्जा वितरण प्रक्रियालाई मुख्य प्राथमिकतामा राखेका प्रल्हाद क्षेत्री निर्वाचित भएको नौ महिनासम्म पनि प्रक्रिया अगाडि नबढाउनु निक्कै दुःखद भएको स्थानीय रामजी बस्नेतले वताए ।

अहिले नगर क्षेत्रमा ९१३ जना पूर्ण भूमिहीन सुकुम्बासी, ४८९ जना दलित भूमिहीन र आठ हजार १७४ जना अव्यवस्थित बसोबासी छन् । अझै पनि छुटेका फर्महरु आउने क्रम जारी रहेको बर्दिबासस्थित नापी कार्यालयले जनाएको छ ।

यसमध्ये वडा नम्बर ४ का ३१ पूर्ण भूमिहीन परिवारलाई वितरण गर्ने भनिएको लालपुर्जामा समेत त्रुटि देखिएको प्रमुख यादवले जानकारी दिए ।

लालबहादुर विश्वकर्माको न्यायका लागि इटहरीवासी संघर्ष सडकदेखि उच्च अदालतसम्म

विराटनगर – आफ्नै साहुबाट ठगीमा परी कारागार चलान भएका सुनसरी इटहरी-२० तरहराका गोपाल भनिने लालबहादुर विकलाई न्याय माग्दै इटहरी चौकमा स्थानीय र आफन्तले सडक प्रदर्शन गर्दै आएका छन् । लालबहादुर विक निर्दोष रहेको भन्दै जिल्ला अदालतको फैसलाविरुद्ध उनीहरू सडकमा उत्रिएका हुन् । न्याय नपाए अदालत जाने नेपालको कानुनलाई समेत बेवास्ता गरी उनीहरू सडकमा आउन बाध्य थिए । कारण थियो, जुन निकायले न्याय दिने आश गरिएको हुन्छ, त्यही निकायले नै अन्यायमा पारेपछि सडक संर्घषमा उत्रिए ।

गत बिहीबार सडकमा उनीहरूले लालबहादुर निर्दोष हुन्, पीडितलाई न्याय देऊ लगायतका नारा लगाए । प्रदर्शनमा पीडित लालबहादुरका ७० वर्षीय बुबा आमा, उनकी श्रीमती समेत सहभागी थिए ।  पीडित लालबहादुरका बुबा हर्कबहादुर विश्वकर्माले छोरामाथिको अन्यायले आफू मर्नु न बाँच्नु भएको पीडा सुनाए । उनले जसरी भए पनि आफ्नो छोरालाई कारागारबाट छुटाउन अनुरोध गरे ।

‘घरमा हातमुख जोर्न समेत नसक्ने अवस्था छ । कहाँबाट ल्याँउ त्यत्रो तीन करोड ?’ हर्क बहादुरले भने, ‘सबैले अन्याय भएको जान्दाजान्दै आफ्नो निर्दोष छोरा जेल गएको छ । छुटाइदिनु होला ।’

सहभागी सामाजिक अभियन्ता गोमा तामाङले लालबहादुरको फैसला उच्च अदालत विराटनगरले उल्टाउनुपर्ने तर्क राखिन् । उनले न्यायालयले पीडितलाई न्याय दिनुको सट्टा अन्याय गरेको टिप्पणी गरिन् ।

‘कारागारमा रहेका विश्वकर्मालाई न्याय उच्च अदालतले दिनपर्छ,’ उनले भनिन्, ‘उजुरीवालाले समेत निर्दोष भएको दाबी गरिरहँदा न्यायाधीशले पीडितको उठिबास हुने गरी फैसला गरेको छ । अब न्याय माग्न कहाँ जाने ? ‘  प्रदर्शनमा सहभागी धेरैले अदालतले गरेको फैसला उच्च अदालत विराटनगरले उल्टाउनुपर्ने माग राखेका थिए ।

विश्वकर्मालाई सवा तीन करोडको बिगो

गोपाल भनिने लालबहादुर विश्वकर्मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० ब्रह्मपुरमा बस्छन् । गरिब परिवारका लालबहादुर १० वर्ष अघि खाडी मुलुक दुबई बसेर नेपाल आएका थिए । आएलगत्तै विवाह गरे । उनले विदेश नजाने भन्दै चिनेजानेकै पसलमा काम गर्न थाले । लालबहादुरको घर र उनले काम गर्ने पसल करिब ३ किलोमिटर दूरीमा पर्छ । मासिक साढे २० हजार पारिश्रमिक लिएर काम गरे ।

उनले काम गर्ने सुन पसलका सञ्चालक हुन्, इटहरीका दीपक विश्वकर्मा गजमेर । दीपककाे सिंहदेवी ज्वेलर्सबाहेक मनी ट्रान्सफर, सपिङ सेन्टर पनि थियो । तर, योबाहेक पनि दीपकको अर्को ठुलो आर्थिक अवैध धन्दा थियो । उनले पसलमा आउने धेरैलाई तथा अन्य मानिसहरूलाई राम्रो ब्याज दिने भन्दै पैसा उठाउने गर्थे । उनले पास बुक नै बनाएर बचतका नाममा करोडौँ रकम उठाएका थिए ।

दीपकले सञ्चालन गरेको सुन पसलमा उनका बुबा कृष्ण, भाइ कमल, दिदी सीता पनि काम गर्थिन् । दीपकले उनीहरू सबैलाई त्यसै गरी पास बुक बनाएर पैसा उठाउने कार्यमा संलग्न गराएका थिए । दीपकका बाबु कृष्ण विश्वकर्मा पढ्न लेख्न जान्दैनथे । पसलमा छोराछोरी नभएको समयमा कृष्णले पैसा बुझ्ने र पास बुकमा लेख्ने काम लालबहादुरलाई लगाउने गर्थे ।

समय बित्दै गयो । यसैगरी दीपकले करोडौँ रकम उठाए । तर, ब्याजको आशले पैसा दिएकाहरूले ब्याज त परको कुरा सावाँ पनि फिर्ता पाएनन् । जति रकम जम्मा गरे पनि आजसम्म जम्मा गरेका व्यक्तिले कुनै रकम पाएका छैनन् ।

आफ्नो पैसा नउठ्ने संकेत पाएपछि पीडितहरू प्रहरी गुहार्न पुगे । पीडितहरूको जाहेरीपछि प्रहरीले कृष्ण विश्वकर्मा, दीपक विश्वकर्मा, सीता विश्वकर्मालाई पक्राउ गर्‍यो । सोही क्रममा लालबहादुर पनि पक्राउ परे । आरोपीमध्ये कमल विश्वकर्मा भने अहिले पनि फरार छन् । कमल दीपकका भाइ हुन् ।

पक्राउ पर्दासम्म लालबहादुरले आफूमाथि के भइरहेको छ भन्ने सामान्य थाहा पनि थिएन । त्यसपछि पक्राउ परेका चारै जना विरुद्ध इजाजत बिना वित्तीय कारोबार गरेको मुद्दा चल्यो । उनीहरू विरुद्ध जाहेरी दिएका २२१ जना र प्रहरी प्रतिवेदनमा उल्लेख भएका ५४ जना गरी जम्मा २७५ जनाको रकम हिनामिना गरेको आरोप लागेको थियो । ३० दिन हिरासतमा बसेपछि अदालतले लालबहादुरलाई सामान्य तारिखमा छाड्न आदेश दिएको थियो । उनलाई लागेको थियो कि आफूले गल्ती गरेको छैन र सजाए पनि भोग्न पर्दैन ।

तर, उनले सोचेजस्तो भएन । एक वर्षअघि गत २०७८ सालमा पुसमा उक्त मुद्दाको फैसला आयो । जसले उनको सातो उडायो । परिवारसमेत आलाप विलाप गर्न थाले । अदालतले उनलाई पनि दोषी करार गर्दै ३ करोड १४ लाख ११ हजार रुपैयाँ जरिवाना र डेढ वर्षको कैद सजाय सुनायो ।
उक्त फैसलामा दीपक विश्वकर्माले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १०३ को उपदफा १ को ‘क’ सम्बन्धी कसुर अर्थात् इजाजत नलिई बैंक तथा वित्तीय कारोबार गरेको आरोपमा सोही ऐनको दफा १०४ को उपदफा १ को देहाय ‘क’ बमोजिम तीन वर्ष कैद र १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रुपैयाँ जरिवाना सुनाइयो । त्यसको आधा रकम मुख्य दोषी ठहरिएका दीपकलाई पर्‍याे ।

त्यस्तै अन्य प्रतिवादी सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा गजमेर, र गोपाल भनिने लालबहादुर विश्वकर्मालाई सोही दफा अनुसार जनही १ वर्ष ६ महिना कैद र नौ करोड ४२ लाख ३३ हजार ४ सय ४४ रुपैयाँ दामासाहीले जरिबानाको सजाय गर्नु भन्ने फैसला भयो । उक्त रकम तीन जनामा भाग लगाउँदा ३ करोड १४ लाख ११ हजार रुपैयाँ पर्न आउँछ ।

तर, उनी विरुद्ध जाहेरी दिनेहरूले लालबहादुरको यसमा संलग्नता नरहेको र आफूहरूको पैसा उनले हिनामिना नगरेको बकपत्र गरेका छन् । त्यस्तै सञ्चालकहरूले समेत लालबहादुरको यसमा संलग्नता नरहेको बयान दिएका छन् । जाहेरी दिने र मुख्य आरोपीले समेत लालबहादुरको संलग्नता नरहेको बताएका छन् ।

प्रहरीले अनुसन्धानको क्रममा पसलमा रहेका बेला पास बुकमा लेख्नेबाहेक लालबहादुरको अन्य संलग्नता पुष्टि गर्न सकेको छैन । तर, जिल्ला अदालत सुनसरीका न्यायाधीश निर्मला योङयाले गरेको फैसलामा लालबहादुरले करिब सवा तीन करोड रुपैयाँ तिर्नुपर्ने उल्लेख छ ।

यसले लालबहादुरको परिवारमा ठुलो बज्रपात पारेको छ । उनी एक महिनादेखि जिल्ला कारागार कार्यालय झुम्कामा कैद भुक्तान गरिरहेका छन् । उनले आफू अन्यायमा परेको भन्दै जिल्ला अदालतविरुद्ध उच्च अदालत विराटनगरमा रिट निवेदन दिएका छन् । उक्त रिट निवेदन २६ पुसमा  पेसी चढ्दै छ ।

भक्तपुरमा धारामा लडेर एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा घर बाहिरको बराण्डामा रहेको धारामा लडेर  एकजनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे निलबाराही बस्ने सुमिता पोख्रेलको ३ तले घरको भुई तलामा डेराकोठा गरी बस्ने ललितपुर गोदावरी नगरपालिका वडा नं. १४ बाँडेगाँउ घर भएका वर्ष ३६ की सृजना महर्जनको मृत्यु भएको हो ।

घर बाहिरको बराण्डामा रहेको धारामा लडेर घाइते भएपश्चात अस्पताल पुर्‍याइएकी उनको दिउँंसो मृत्यु भएको हो । लडेपछि  उनलाई उपचारको लागि कोरियन अस्पताल ठिमी लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यू भएको भक्तपुर प्रहरी परिसले जनाएको छ ।

यस्ताे छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २७ पुस । नेपाल राष्ट्र बैँकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

रोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीमा १३९ रुपैयाँ ४७ पैसा तोकिएको छ । अष्ट्रेलियन डलरको खरिदमूल्य ८९रुपैयाँ २ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४३ पैसामा कारोबार भइरहेको छ ।

साउदी अरेवियन रियल एकको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १३ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३७ पैसा र बिक्रीमा १० रुपैयाँ ४२ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९१ पैसा र बिक्रीमा १६ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ २० पैसा र बिक्रीमा ४३२ रुपैयाँ १६ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ २९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८८ पैसा रहेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

गायक तथा संगीतकार तुला पर्वतको अर्को सशक्त प्रस्तुती बजारमा, तुलानको निर्देशनमा बाहिरियो तिम्रो मेरो मायाको

काठमाडौँ । तिम्रो मेरो मायाको बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायिका रजनी सुन्दासको समधुर स्वरमा रहेको गीतका शब्द इन्दिरा चोङ्बाङका हुन् । षडज लिम्बूको संगीत रहेको गीतको भिडियोमा कुशल गुरुङ् र नयन गुरुङ्को अभिनय देख्न सकिन्छ ।

भिडियोले एक प्रेमील जोडीकोि रोमाञ्चक प्रेम कहानीलार्य देखाएको छ । आँफुलाई भन्दा बढी माया गर्ने मायालुले आफ्नो प्रेमीको लागि सर्मपण गरेको मायाको भावलाई भिडियोमा कलात्मक शैलीमा निर्देशक तुला पर्बतले देखाएका छन् ।

मकाउका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियो गायक तथा संगीतका समेत रहेका निर्देशक तुलाकै सम्पादन रहेको छ । जसमा छायांकन पनि उनले नै गरेका हुन् ।

साधना म्यूजिक इज लाइफ नाकम च्यानलबाट सार्वजनिक गरिउको भिडियोको प्रमुख उत्पादक कुशल गुरुङ ह्न् भने उत्पादक साधना परिवार हो । हेर्नुस् प्रेम र रोमान्सले भरिएको भिडियो

जिससका प्रमुख र उपप्रमुख भन्छन्ः ‘राष्ट्रिय सभाको सांसदलाई भोट हाल्ने अधिकार चाहियो’

पोखरा, २४ पुस-जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुले राष्ट्रिय सभाको सांसद निर्वाचनमा मतदानको अधिकार मागेका छन् । पोखरामा भएको राष्ट्रिय भेलाको घोषणापत्र सार्वजनिक गर्दै उनीहरुले मतदानको अधिकार मागेका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मात्रै मतदान गर्दै आएका छन् । जिससले मतदानको अधिकार पाएको छैन ।

यस्तै, उनीहरुले स्पष्ट कानून र श्रोत उपलब्ध नहुँदा जिससले राम्रोसँग काम गर्न नपाएको गुनासो सहित कानून निर्माणका लागि संघ र प्रदेश सरकारसँग आग्रह गरेका छन् । ‘जिल्ला समन्वय समितिले अनुगमन गरिदिएन र समन्वय गरिदिएन भनेर प्रश्न आइरहेको हुन्छ । हाम्रा कामहरु धेरै छन् । कल्पना गर्नुस् तः घोडा दिने, दाना नदिने, पानी नदिने अनि त्यो घोडाले काम गर्न सक्छ कि सक्दैन ?,’ महासंघका अध्यक्ष नवराज गेलालले भने, ‘हामीले सांसदले प्रयोग गर्ने अधिकार मागेका छैनौं । हामीले गाउँपालिका र नगरपालिकाले प्रयोग गरेको अधिकार मागेका छैनौं । केवल संविधानले दिएका कुराहरू कानून बनाएर क्रियाशील बनाइदिनु भनेका हौं ।’

महासंघले जिसस सन्चालनको छुट्टै ऐन बनाउन संघ सकारसँग माग गरेको छ । संविधानको धारा २२० अनुसार काम गर्नका लागि संघ सरकारले जिल्ला सभा व्यवस्थापन र समन्वय समिति सन्चालन ऐन तत्कालै जारी गर्नुपर्ने माग महासंघको छ । यस्तै, प्रदेशबाट पनि तत्कालै जिल्ला समन्वय समिति सन्चालन ऐन जारी गर्न उनीहरुले माग राखेका छन् । यसअघि प्रदेशले जिससलाई अधिकार तथा श्रोत साधन दिन नसकेका कारण जिससको कार्य सम्पादन कमजोर भएको निष्कर्ष जिससका नेताहरुको छ ।

जिल्ला सभा कोषमा जिससको आन्तरिक आम्दानी जम्मा भएपनि कोष सन्चालन गर्न नपाएको भन्दै कार्यविधि बनाएर कोष सन्चालन सँगै खर्च गर्ने अधिकार दिन माग गरिएको छ । सरकारले जारी गरेको समन्वय ऐन कार्यान्वयनका लागि अविलम्ब नियमावली जारी गरि जिससको समन्वयलाई प्रभावकारी बनाउन, नेपाल सरकारको अनुगमन र मूल्यांकन ऐनमा जिससको भुमिका प्रष्ट पार्न तथा जिल्ला स्तरका विकास, समन्वय, सहजिकरण सम्बन्धि निर्देशन सहयोग समिति, व्यवस्थापन समिति जस्ता समिति जिससको अध्यक्षता संयोजनमा रहने व्यवस्था गर्न पनि माग गरेका छन् । जिल्ला समन्वय समितिसँग श्रोत नभएका कारण अनुगमन प्रभावकारी नभएको गुनासो सहभागीहरुले गरेका थिए ।

स्पेनिस ला लिगा : रियल मड्रिड पराजित

काठमाडौं – स्पेनिस ला लिगाको साविकको विजेता रियल मड्रिड भिल्लारियलसँग शनिबार राति २–१ ले पराजित भएको छ । जेरार्ड मोरेनोले विजयी गोल गरेपछि रियलले सिजनको दोस्रो हार बेहोरेको हो ।

यससँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिने अवसर गुमायो ।  शीर्ष स्थानको बार्सिलोनाको १५ खेलमा ३८ अंक छ । एक खेल बढी खेल्दै दोस्रो स्थानमा बसेको रियलको ३८ अंक छ । भिल्लारियल १६ खेलमा २७ अंकसहित पाँचौ स्थानमा छ ।

खेलको ४७औं मिनेटमा यर्मे पिनोले गोल गरेपछि भिल्लारियलले अग्रता लिएको थियो । ६०औं मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलमा रियल खेलमा फर्कियो ।

त्यसको तीन मिनेटपछि नै मोरेनोको विजयी गोल गरेका थिए । आइतबार हुने खेलमा बार्सिलोनाले एट्लेटिकोलाई हराएमा रियाल तीन अंकले पछि पर्नेछ ।

रोकियो लिभरपुल

काठमाडौं – लिभरपुल र उल्भ्सले एफए कपको तेस्रो चरणमा शनिबार राति २–२ गोलको बराबरी खेलेका छन ।लिभरपुलको घरेलु मैदान एनफिल्डमा उल्भ्सले सुरुवाती अग्रता लिएको थियो । २६औं मिनेटमा गोन्जालो ग्युडेसले गोल गरे । ४५औं मिनेटमा डार्विन नुनेजको गोलमा लिभरपुल खेलमा फर्कियो ।

५२औं मिनेटमा मोहम्मद सलाहले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । तर ६६औं मिनेटमा हाङ हि चानले गरेको गोलमा वुल्भ्स खेलमा फर्किएको हो । यस बराबरीसँगै यी दुई टोली बीच पुनः भिडन्त हुनेछ ।

एफ ए कपको तेस्रो चरणमा न्युक्यासल युनाइटेट पराजित भयो । सेफिल्ड वेन्स्डेसँग २–१ ले पराजित भयो । वेस्ट हम भने ब्रेन्टफोर्डलाई १–० ले निराश पार्दै चौथो चरणमा प्रवेश गर्याे ।

ट्वीटरले थप कर्मचारी कटौती गर्‍यो

एजेन्सी – ट्वीटर इंकले विश्व सामग्रीको मध्यस्थता र घृणायुक्त भाषण र उत्पीडन सम्बन्धी इकाईमा विश्वास र सुरक्षा टोलीमा थप कर्मचारी कटौती गरेको छ । ब्लुमबर्ग समाचारका अनुसार ट्वीटरको एक दर्जन थप कटौतीले कम्पनीको डब्लिन र सिंगापुर कार्यालयका कामदारहरूलाई असर गरेको छ ।

एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्ममा हटाइएकाहरूमा एशिया–प्रशान्त क्षेत्रका लागि साइट अखण्डता प्रमुखको रूपमा हालसालै नियुक्त भएका नुर अजहर बिन अयोब र ट्विटरका राजस्व नीतिका वरिष्ठ निर्देशक एनालुइसा डोमिन्गेजसमेत छन् ।

प्लेटफर्ममा गलत सूचना, विश्वव्यापी अपील र राज्य मिडियामा नीति ह्यान्डल गर्ने टोलीका कामदारहरूलाई पनि हटाइएको छ ।

नेपाल आउने गरेका विदेशी चरा कम बास बस्न थाले

काठमाडौँ । हिउँदमा आउने विदेशी चरा नेपालमा बस्न अनिच्छुक देखिएका छन् । विशेषगरी हिउँद लागेपछि उत्तरी गोलार्द्धको चिसो छल्न नेपाल आउने गरेका चरा यहाँ बस्न अनिच्छा देखाउन थालेका हुन् ।

नेपालमा हिउँदे आगन्तुक पानी चराको गणना सुरु भएको छ । सिमसारयुक्त केही विशेष स्थलबाहेक अन्यत्र विदेशी चरा कम बास बस्न थालेको गणनाक्रममा फेलापरेको छ। शनिबार काठमाडौँको बागमती नदी र टौदहमा आएका पानी चराको गणना भयो । यहाँ खटिनुभएका गणना संयोजक टेकबहादुर घर्तीले यस क्षेत्रमा हरेक वर्षजसो विदेशी पानी चराको आमगन कम हुँदै जान थालेको पाइएको बताए ।

टोलीले बिहानैदेखि बागमती नदीकिनार र टौदहको सेरोफेरोमा चरा गणना सुरु गरेको थियो । उनले शनिबार अपराह्न गणना सक्दा जम्मा तीन प्रजातिका आगन्तुक चरामात्र फेलापरेको जानकारी दिए । उनका अनुसार उत्तरी गोलार्द्धका मङ्गोलिया र साइबेरियाबाट आएका खडखडे हाँस करिब २६ वटा, बिजुला गैरी ३६ वटा र जलेवा करिब २० वटा फेलापरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने

काठमाडौं – विद्युतीय राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सबाट प्राविधिक टोली आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली भोलि सोमबारसम्म आइपुग्ने राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले जानकारी दिए ।

नेपालमा १५ मंसिर २०७८ बाट सुरु विद्युतीय राहदानीको सम्पूर्ण प्राविधिक जिम्मेवारी सो टोलीले पाएको छ । राहदानी सर्भरमा स्टोरेज’ समस्या देखिएको छ । विभागका महानिर्देशक यादवका अनुसार कुनैपनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि प्राविधिक टोली बोलाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले राहदानी विभागमा लागेको लाइन एक महिनाभित्र हटाउन’ निर्देशन दिएकै दिनदेखि विभागले काम ढिलाइमा प्राविधिक समस्या देखिएको’ भन्दै वितरण रोकेको थियो । विभागकी प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले सूचना जारी गर्दै विभागको सिस्टममा समस्या आई राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध हुन गएको उल्लेख गरेकी थिइन् ।

विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकले मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउनुहुन अनुरोध गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

ठूला आयोजना छनोटमै कडाइ

काठमाडौं – विगतमा ठूला आयोजना निर्धारण गर्दा ‘चलखेल’ गरिएको र स्रोतविनै तय गरिँदा कार्यान्वयनमा समस्या भएपछि सरकारले यस्ता आयोजना छनोटमै कडाइ गरेको छ । विनाअध्ययन र नेता, मन्त्रीलगायत पहुँचवालाको दबाबमा आयोजना छनोट गर्ने प्रवृत्ति निरुत्साहित गर्न राष्ट्रिय योजना आयोगले ठूला आयोजनासम्बन्धी मापदण्ड तयार गरेर कार्यान्वयनमा ल्याएको हो ।

‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड–२०७९’ अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना हुन न्यूनतम मापदण्ड तय गरिएको छ । त्यसमा विस्तृत आयोजना प्रतिवेदन तयार भएको, स्रोत सुनिश्चितताको प्रमाण भएको, चालू आवधिक योजनाले राष्ट्रिय प्राथमिकता निर्धारण गरेको क्षेत्रभित्र परेको, आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएको पत्र र सम्बन्धित मन्त्रालयको सचिवस्तरीय निर्णय भएको हुनुपर्नेछ ।

राष्ट्रिय योजना आयोगले हरेक वर्ष स्वीकृत गर्ने मध्यमकालीन खर्च संरचना तथा वार्षिक विकास कार्यक्रममा पहिलो प्राथमिकता र दोस्रो प्राथमिकताका आयोजना ‘राष्ट्रिय प्राथमिकता प्राप्त’ आयोजना रहेको बेहोरा वन तथा वातावरण मन्त्रालयसहित सम्बन्धित मन्त्रालयहरूलाई जानकारी गराउनुपर्ने छ ।

वार्षिक विकास कार्यक्रममा उल्लिखित पहिलो प्राथमिकता र दोस्रो प्राथमिकताका आयोजनाबाहेक राष्ट्रिय आयोजना बैंकमा सूचीकृत भई विश्लेषण भएका आयोजनाका हकमा विषय क्षेत्र हेर्ने राष्ट्रिय योजना आयोगका सदस्यको सिफारिशमा आयोगले आवश्यकताका आधारमा राष्ट्रिय प्राथमिकता भएरनभएको निर्धारण गर्नेछ ।

मापदण्डअनुसार प्रादेशिक प्राथमिकतामा रहेका आयोजनालाई राष्ट्रिय प्राथमिकता भएकोरनभएको निर्धारण गर्न सम्बन्धित प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको निर्णयसहित सिफारिश भएमा राष्ट्रिय योजना आयोगको सम्बद्ध क्षेत्र हेर्ने सदस्यको समेत सिफारिश आवश्यक पर्नेछ । त्यसपछि मात्र आयोगले राष्ट्रिय प्राथमिकता भएरनभएको निर्धारण गर्नेछ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन् । पुरानो ऋण र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तिर्नुपर्ने बक्यौता देखाउँदै निगमले पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य नघटाउँदा उपभोक्ता महँगोमा इन्धन प्रयोग गर्न बाध्य छन् ।

निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा ९९ रुपैयाँ ५३ पैसा र आन्तरिकतर्फ ४८ रुपैयाँ ८१ पैसा नाफा राखेर बिक्री गरिरहेको छ । त्यसै गरी निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६६ पैसा र डिजेलमा ७ रुपैयाँ १८ पैसा नाफा छ । उपभोक्ताको ढाड सेक्ने गरी धेरै नाफा राखेर निगमले इन्धन बिक्री गरिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए ।

‘निगमले विगतको ऋण देखाएर अहिले सस्तोमा इन्धन खरिद गर्दा पनि महँगोमा बिक्री गरिरहेको छ,’ उनले भने, ‘तुरुन्त मूल्य घटाउनुपर्छ ।’ निगमलाई १५ दिनमा करिब ९९ करोड रुपैयाँ नाफा भएको छ । निगमले पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रचण्ड र डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा (प्रचण्ड) र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र डा. भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा हुने तयारीमा जुटेका हुन् ।

शनिवार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच बालुवाटारमा भेट भएको थियो । त्यो भेटमा दुई पार्टीको एकता छिटो टुंग्याउने र समाजवादी कार्यक्रम मान्ने पार्टीहरू सहकार्य गर्न लुज फोरम बनाउने सहमति भएको छलफलमा सहभागी नेताहरूले बताएका छन्।

यो भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको छ । पाँच सदस्यीय वार्ता टोलीमा महासचिव देव गुरुङ र उपमहासचिवहरू गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन्।

नेसपाले भने भोलि राजनीतिक समितिको बैठक बोलाएको छ । यो बैठकले पार्टी एकतासम्बन्धी वार्ताका लागि टोली बनाउनेछ । नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले भने, ‘दुवै पार्टीको वार्ता टोलीले पार्टी एकताका सबै विषयमा छलफल गरेर टुंगो लगाउँछ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु

काठमाडौं – उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पुर्‍याएको आरोप मेलम्ची खानेपानी आयोजनाको छ ।

विभागले चाहिँ गुणस्तरहीन वितरण प्रणालीका कारण पानी चुहिन गई सयौँ ठाउँमा सडकमा क्षति पुर्‍याई खाल्टाखुल्टीरहित सडक अभियानलाई अवरोध पुर्‍याएको आरोप सडक विभागको छ । पाइप परीक्षण वा पानी वितरणक्रममा तीनकुने, लाजिम्पाटलगायत उपत्यकाका विभिन्न स्थान जलमग्न भएको थियो । मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्रप्रसाद सापकोटाले आयोजनाको पाइप फुटाउँदा पानी वितरणमै समस्या आउन सक्ने बताए । उनले सडकमुनि खानेपानीको पाइप छ भन्ने कुरा मनन गरी सावधानी अपनाएर काम गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

उनले बिहीबार काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले वनस्थली क्षेत्रमा ढल निर्माणक्रममा मेलम्चीको पाइपमा क्षति पुग्दा कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको खानेपानी आपूर्ति अवरुद्ध भएको बताए । सो क्षेत्रमा मेलम्चीको सात सय एमएमको पाइपमा क्षति पुगेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने

काठमाडौं – अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ । मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आज श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो ।

वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रुपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढी विस्तार गरेको थियो । यससँगै भोतिक रुपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइन मार्फत लिन सकिनेछ ।

विश्व इतिहासमा आजः रसियाली वैज्ञानिकको अन्तरिक्षमा रेकर्डदेखि प्रसिद्ध वैज्ञानिक स्टेफिन हकिङको जन्म

आज ८ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

रसियाली अन्तरिक्ष यात्रीको अन्तरिक्षमा रेकर्ड
सन् १९९४ को ८ जनवरीमा रसियाली अन्तरिक्षयात्री भालेरी पोल्याकोभले रेकर्ड सम्पन्न गरेका थिए । पोल्याकोभ मिर स्पेस स्टेसनमा ४३७ दिन १८ घन्टासम्म अन्तरिक्षमा बसेका थिए ।

फ्रान्समा नयाँ राष्ट्रपति
आजकै दिन अर्थात सन् १९५९ को ८ जनवरीमा चाल्स डी गाउँली फ्रान्स्को राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको दक्षिणपन्थी राजनीतिक आदर्श गाउँलिज्मले अझै पनि फ्रान्सको राजनीतिमा प्रभाव पारेको छ ।

मन्डेलाको पार्टी स्थापना
सन् १९१२ मा अफ्रिकन नेसनल कंग्रेसको स्थापना भएको थियो । पार्टीका तत्कालीन नेता नेल्सन मन्डेलाले रंगभेदविरुद्धको लडाइँमा ठूलो संघर्ष गरेका थिए । एएनसी अहिले पनि सत्तामा छ ।

स्टेफिन हकिङको जन्म
आज अर्थात सन् १९४२ को ८ जनवरीमा विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री तथा लेखक स्टेफिन हकिङको जन्म भएको थियो । बेलायतको अक्सफोर्डमा जन्मिएका उनी पढाइमा अब्बल थिए । उनले भौतिक विज्ञान र ब्रह्मण्डविज्ञानमा उल्लेखनीय काम गरेका छन् ।२१ वर्षको उमेरमा उनी अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस नामक रोगबाट पीडित थिए । डाक्टरहरूले उनलाई  २ वर्षभन्दा बढी बाँच्दैनन् भनेका थिए ।तर, उनको रोग डाक्टरहरूले भनेअनुरूप बढेन तर,े स्नायु प्रणालीलाई भने कमजोर बनाउँदै गयो। उनको दिमागबाहेक शरीरका कुनै पनि भाग चल्दैनथ्यो । उनी ‘भ्वाइस सिन्थोसाइजर’को सहाराले मात्र बोल्न सक्दथे ।

तराईको मौसममा अझै सुधार भएन

काठमाडौं – डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहर अझै कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ ।

जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ । पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक रुपमा सुधार गएपनि मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको छ । पहाडी भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।  राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिक बदली हुनसक्ने ठानिएको छ ।

सोमबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हेर्नुहोस् पौष २४ गते आइतबारको राशिफल

मेष राशि – पारीवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य प्रतिको लगनसिलताको कदर हुने समय रहेकोछ । भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्नेछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । मानसम्मान प्राप्तीको समेत योग रहेकोछ ।

बृष राशि –मित्रजनहरुको अधिक सामिप्यता कष्टकर साबित रहनेछ । सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नुपर्नेछ । यात्रामा पनि साबधानि पूर्वक अधिबढ्नुहोला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ ।

मीथुन राशि – वाणी मधुरता छाउनेछ । कलाकौशलको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्नेछ । पारीवारिक साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा भने समय त्यति उत्तम रहेकोछैन । नयाँ लगानिमा भने सजग रहनु होला ।

कर्कट राशि – आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।

सिंह राशि –अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ ।तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कन्या राशि –दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।

बृश्चिक राशि –ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । आय आर्जनका निम्ती अधिक श्रम गर्नु पर्ने समय रहेकोछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।

मकर राशि –साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

मिन राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ ।ज्यो.प. सरोज घिमिरे

पत्नि प्रभा बस्नेतको जन्मदिनमा गीतकार सुरजले क्यानडाबाट ल्याए ‘एक झल्को’को भिडियो

काठमाडौँ । चर्चित गायिका एलिना चौहानको ‘एक झल्को’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत रहेको छ । भिडियोले गहिरो प्रेममा रहेकी प्रेमीकाले आफ्नो प्रेमीको सम्झना गर्दै उनी बिना बाँच्नै नसक्ने भाव ब्यक्त गर्छिन् ।

सँगै रुने, सँगै हाँस्ने र सँगैसँगै बाँच्ने र सँगै मर्ने साथीको साथको वर्णन गरिएको गीतको भिडियोमा गायिका एलिना चौहान नै फिचर छिन् । गाढा आकाशे रंगको पोशाकमा सजिएकी एलिना मज्जैले खुलेकी छिन् । जसमा उनले आफ्नो मायालु बिना एक पल पनि बाँच्न नसक्ने कुरालाई जोड दिएकी छिन् । खासमा यो गीत गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेका हुन् । जोसँग उनले पछि विबाह गरे । जुन गीत सुरजले प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन् ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन लक्ष्मन चौहानले गरेका हुन् भने छायांकन जनक वलीले गरेका हुन् । भिडियो गीतकार सुरजकै अफिसियल च्यानल सुरज प्रभा (एसपी) प्रोडक्सनबाट बजारमा आएको हो । पेशाले सिभिल इञ्जिनियर हुन् गीतकार सुरज । परिवारसहित क्यानडामा रहेका सुरजले यसअघि ए माया जूनकीरी बोलको गीतको भिडियो निर्माण गरिसकेका छन् । जसमा उनकै छोरी अनुसा अधिकारीको अभिनय रहेको छ ।

जर्मनीद्वारा चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न नागरिकलाई निर्देशन

बर्लिन-जर्मनीले शनिबार विश्वको सबैभन्दा बढी जनङ्ख्या भएको देश चीनमा अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको छ ।“हामी अहिले चीनमा गैर–आवश्यक यात्राहरू निरुत्साहित गर्दछौं । यसको कारण कोभिड सङ्क्रमणको चरम उत्कर्ष र अस्तव्यस्त स्वास्थ्य प्रणाली हो,” जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ ।

कोभिडको सङ्क्रमण दर बढेको हल्लासँगै एक दर्जनभन्दा बढी देशले चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन् ।युरोपेली सङ्घका विज्ञहरूले यसै हप्ता समूहका २७ सदस्य राष्ट्रहरूलाई चीनबाट आउने उडानमा रहेका व्यक्तिहरूबाट कोभिड परीक्षणको माग गर्न र आगमनमा छड्के परीक्षण गर्न सुझाब दिएका छन् ।

जर्मनी, फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायत युरोपेली सङ्घका अन्य धेरै राष्ट्रले एशियाली मुलुकबाट आउने यात्रुको कोभिड परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन् ।गैर–युरोपेली देशहरूमध्ये संयुक्त राज्य अमेरिका र जापानले पनि यस्तै उपायहरू अवलम्बन गरेका छन् ।

चिनियाँ अधिकारीहरूले हालैका दिनहरूमा बेइजिङ र तियानजिनलगायत शहरहरूमा सङ्क्रमणको पहिलो लहर चरम बिन्दुमा पुगेको बताएका छन् ।तर जाडो याम र चिनियाँ नयाँ बर्षको शुरूमा शहरका कामदारहरू आफ्नो ग्रामीण गृहनगर फर्कने क्रममा आगामी हप्ताहरूमा अत्यधिक प्रकोपको चेतावनी चिनियाँ अधिकारीहरूले दिएका छन् । (रासस÷एएफपी)

बृहत् वाम एकताका लागि महराको संयोजकत्वमा माओवादीको पाँच सदस्यीय कार्यदल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

बैठकले पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यतालिका रहेकाले त्यसका लागि प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई पार्टीका तर्फबाट आह्वान गर्ने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए।

सरकारको निर्णय पर्खदै नागरिक उन्मुक्ति

धनगढी – पुस १० गते माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउन समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिने भन्ने बारेमा छलफल अघि बढाएको छ ।

टिकापुर घटनाका विषयमा छानविन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, देविराम शर्मा समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, टिकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका रेशम चौधरी सहति नेता कार्यकर्ताको रिहाईको प्रक्रिया अघि बढाए मात्रै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने नागरिकको अडान छ ।

तर हाल सम्म नागरिक उन्मुक्ति पार्टीले अघि सारेका मागका विषयमा हाल कायम रहेको शत्तारुढ गठबन्धनमा भने खास्सै छलफल नभएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ ।

‘प्रधानमन्त्री बनेपछि टिकापुर घटनाका विषयमा प्रचण्डाको ध्यानाकषर्ण गराएका थियौं,’ नागरिक उन्मुक्ति पार्टीका बरिष्ट नेता लक्ष्मण चौधरीले भने, ‘तर हाल सम्म त्यस विषयमा प्रधानमन्त्रीको कुनै आधिकारिक धारणा आएको छैन, नत गठबन्धनका विचमा यो विषय उठेको छ, यो विषय सम्बोधन नभई हामी विश्वासको मत दिन सक्दैनौं ।’

चुनाव अघि कैलाली आएर प्रचण्डले टिकापुर घटनामा थारु निर्दोष रहेको भन्दै भाषण गरेको स्मरण गर्दै चौधरीले भने, ‘तर उहाँ प्रधानमन्त्री भएपछि टिकापुर घटनालाई राजीतिक रुपमा समाधान गर्न र जेलमा रहेका हाम्रा नेता कार्यकर्तालाई रिहाई गर्ने विषयमा सकारात्मक देखिएका छैन, २५ गते सम्म कुनै सहमति नभएको खण्डमा हामी विश्वासको मत दिने छैनौं ।’

उनले प्रदेश सरकार निर्माणका विषयमा पनि २५ गते पछि के गर्ने भन्ने टुङ्गो लाग्ने बताए । ‘हाम्रा मुद्धालाई सम्बोधन गर्ने लिखित सम्झौता भएको खण्डमा हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने छौं,’ उनले भने, ‘केन्द्रमा समर्थन दिएपछि प्रदेशमा पनि त्यसै अनुसार अघि बढ्न सक्छौं, तर केन्द्रमा विश्वासको मत दिने वातावरण नबनेको खण्डमा भने प्रदेशमा पनि हामी नयाँ तरिकाले अघि बढ्ने छौं ।’

सरुवा, बढुवा, कमाण्ड लगायतका विभिन्न अवसरहरूलाई न्यायसङ्गत वितरणको प्रक्रिया थालनी गरिएको छ – राजु अर्याल

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाइ राज्यप्रदत्त जिम्मेवारी प्रभावकारीरूपमा निर्वाह गर्दै आइरहेको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सशस्त्र प्रहरी नागरिकको सेवा, सुरक्षा, सहयोग र विपद्मा परेकाहरूको उद्वार तथा सिमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको उल्लेख गरे ।

आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतिमा सङ्गठनलाई चल्ने अवस्था सिर्जनाका लागि पारदर्शिता र जवाफदेहितासहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, युएन मिसन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरूलाई न्यायसङ्गत वितरणको प्रक्रिया थालनी गरिएको पनि उनले बताए ।

पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने नगरको तयारी

खोटाङ – पाठेघर खसेका महिलाको उपचारका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको छ । पाठे घर खस्ने समस्याका कारण दर्दनाक दिनचर्य विताइरहेका महिलाको पहिचान गर्दै उपचारका लागि नगरपालिकाले घर–घरमा स्वास्थ्यकर्मी पठाउने तयारी गरेको हो ।

पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिबिरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले आगामी माघ १ गतेदेखि माघ ९ गतेसम्म घर–घरसम्मै स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरेको हो । घर–घरमा पुगेर पाठेघर खसेका समस्याको पहिचानका लागि नगरपालिकाले ११ वटै वडाका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई सुनौलो परिवार नेपालबाट प्रशिक्षक ल्याएर तालिम दिइएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका र आमा समुहमार्फत पाठेघर खसेका महिलाको पहिचान गर्ने र उपचार प्रवन्ध गर्ने तयारी गरिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए । पाठेघर झरेर पहिलो र दोश्रो स्टेजमा पुगेका महिलाको उपचारका लागि रिङप्रेसरी राख्ने र घाउ उपचारका लागि औषधि प्रदान गरिने छ । तेश्रो र चौथो स्टेजमा पाठेघर खसेका महिलाको तथ्यांक संकलन गरेर जिल्ला अस्पतालसँग समन्वय गरेर शल्यक्रीयाको प्रवन्ध मिलाइने स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए ।

जिल्ला अस्पतालसँग पाठेघर खसेका महिलाको शल्यक्रीया गर्ने अवस्था नभए जिल्ला बाहिरका स्वास्थ्य संस्थामा लगेर भए पनि उपचार व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । पाठेघरको समस्या लुकाउँदै आएका महिलालाई काउन्सिलिङको व्यवस्था गरिने छ । ‘पहिलो र दोश्रो स्टेजमा पुगेका पाठेघरको उपचारका लागि रिङप्रेसरी राखिदिन्छौँ । घाउ भएको रहेछ भने औषधि दिन्छौँ,’ घिमिरेले भने, ‘तेश्रो र चौथो स्टेजमा पुगेका पाठेघरको शल्यक्रीयाको व्यवस्था गर्छौँ । शल्यक्रीयाको लागि जिल्ला अस्पतालसँग समन्वय गर्छौँ । जिल्ला अस्पतालमा जनशक्ती ल्याएर उपचार गर्ने अवस्था भएन भने अन्यत्र लगेर भए पनि पाठघेरको उपचार गरिदिने छौँ ।’

अघिल्लो वर्ष पनि नगरपालिकाले बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खस्ने समस्याको उपचार शिबिर सञ्चालन गरेको थियो । तर शिबिरमा पाठेघर खसेका महिलाको अपेक्षित उपस्थिति नरहेपछि नगरपालिकाले घर–घरमा सहयोगी सहितको स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको मेयर बिमला राईले बताईन् । गत शिबिरमा स्वास्थ्यकर्मीले खिचेको आङ सिरिङ पार्ने पाठेघर खसेको तस्विर देखेपछि स्वयं मेयर राईले पाठेघर खसेका महिलाको उपचारका लागि घर–घरमा स्वास्थ्यकर्मी पठाउने निर्णय गराएकी हुन् ।

मुलुकको समृद्धिका लागि कर्मचारी र राजनीतिज्ञबीच समन्वय आवश्यक : भट्ट

काठमाडौं – सेती प्रादेशीक अस्पतालका सदस्य डिल्लीराज भट्टले नेताहरू र कर्मचारीबीचको कुसल समन्वयलेमात्रै मुलुकले समृद्धि हासिल गर्ने धारणा राखेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति डडेलधुराको पाँचौं अधिवेशनको सफलताको शुभकामना दिँदै विशिष्ट अतिथि रहेका भट्टले मुलुकमा नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा राष्ट्रसेवक कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने बताए ।

‘राजनीति र कर्मचारीबीच नङ मासुको जस्तो सम्बन्ध हुनुपर्छ। राजनीति गर्ने व्यक्तिहरूले नीति तथा कार्यक्रम बनाउँदा त्यसको सफल कार्यान्वयन गर्ने भनेको स्थायी सरकारका रूपमा रहेका कर्मचारीले नै हो। त्यसैले नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा कर्मचारीको उच्च भूमिका हुन्छ,’ भट्टले भने। यसका साथै कर्मचारीले नेताहरू र नेताहरूले कर्मचारीलाई सहयोग गर्नुपर्ने बताए ।

पछिल्लो समय नेपाली राजनीतिमा युवा उपस्थिति राम्रो रहेको बताउँदै उनले त्यो सकारात्मक कुरा भएको बताए । ‘अहिलेका युवा प्रविधिमैत्री छन्। खुला स्वभावका छन्। उनीहरूलाई कर्मचारीले पनि सहयोग गर्नुपर्छ,’ उनले भने ।

सरकारले कर्मचारीहरूको मनोभाव बुझेर उनीहरूलाई प्रेरित हुने खालका कार्यक्रम ल्याउनुपर्ने धारणासमेत उनले राखेका छन् । उनले सेती प्रादेशीक अस्पतालमा सदस्यका हैसियतले आफूले काम गर्दा कर्मचारीसँगको समन्वयका काम गर्दा प्रभावकारी हुनेगरेको पाएको अनुभव सुनाए ।

संगठनका केन्द्रीय कोषाध्यक्ष एवम् प्रदेश इन्चार्ज बलदेव कापडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डडेलधुरा अध्यक्षा महावीर साकीर, सल्लाहकार देवराज जोशीले पनि आफ्नो धारणा राखेका थिए ।

अमेरिकी विद्यालयमा ६ वर्षीय बालकले शिक्षकलाई गोली हाने, प्रहरी भन्छन् ‘आकस्मिक थिएन’

एजेन्सी – अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा गोली चलाउँदा एक शिक्षकलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । रिचनेक प्राथमिक विद्यालयमा भएको घटनामा कुनै पनि विद्यार्थीलाई चोटपटक लागेको छैन ।

‘व्यक्ति एक ६ वर्षीय विद्यार्थी हुन । उनी अहिले प्रहरी हिरासतमा छन्’, स्थानीय प्रहरी प्रमुख स्टीव ड्र्यूले एक पत्रकार सम्मेलनमा भने, ‘यो आकस्मिक गोलीबारी थिएन ।’

पीडित महिला ३० वर्षकी शिक्षिका रहेको र उनको ज्यान जोखिममा रहेको प्रहरीले जनाएको छ । ‘म स्तब्ध छु, र म निराश छु’, सहरका विद्यालय निरीक्षक जर्ज पार्करले भने ।

नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे ध्यानाकर्षण गराइएको छ । शुक्रबार इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो ।

ज्ञापनपत्रमा आफ्नै पुर्खाको देशमा शरणार्थी जीवन बिताउनु पर्दा अत्यन्त पीडा हुने भन्दै नेपाली भाषी भुटानीलाई ससम्मान भुटान फर्काउन, नेपालकै नागरिकता दिलाउन वा पुनर्वासका लागि तेस्रो मुलुक पठाउनका लागि पहल गरिदिन आग्रह गरिएको छ ।

‘आफ्नै समुदायका व्यक्तिहरु अझै पनि नेपालको झापा र मोरङका शिविरमा कष्टकररुपमा शरणार्थी जीवन बिताउन बाध्य छन् । यसले हामी पुनर्वासमा गएर ती देशमा आफ्नो पहिचानसहित काम गरिरहेकालाई पनि पीडा दिएको छ ।’ – ध्यानाकर्षण पत्रमा भनिएको छ

युक्रेनसँग वार्ता गर्न पुटिनको यस्तो शर्त

एजेन्सी – राष्ट्रपति भ्लादिमिर पुटिनले किभले मस्कोले कब्जा गरेको क्षेत्रलाई रुसीको रूपमा स्वीकार गर्छ भने आफू युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । टर्कीका नेता रेसेप तैयप एर्दोगानलाई पुटिनले यस्तो शर्त राखेका क्रेमलिनले बिहीबार एक विज्ञप्तिमा भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पुटिनले किभ अधिकारीहरूले नयाँ क्षेत्रीय वास्तविकताहरूलाई ध्यानमा राखेर परिचित र बारम्बार आवाज उठाएका आवश्यकताहरू पूरा गर्ने शर्तमा गम्भीर वार्ताका लागि रुसी खुलापन पुनः पुष्टि गरे । ’

एर्दोगानले पुटिनसँगको टेलिफोन वार्तामा शान्ति वार्ताका लागि आह्वान गरेको उनको कार्यालयले यसअघि जनाएको थियो । रुसी सेनाले पूर्वी र दक्षिणी युक्रेनको ठूलो भूभाग कब्जा गरेको छ । क्रेमलिनले दोनेत्स्क, लुगान्स्क, जापोरिज्जिया र खेरसन क्षेत्रहरूलाई पूर्ण रूपमा नियन्त्रण नगरेको भए पनि आफ्नो कब्जामा लिएको दाबी गरेको छ । नेताहरूले युक्रेनी अनाज खुला गर्न टर्कीको सहयोगमा संयुक्त राष्ट्रसंघले मध्यस्थता गरेको ऐतिहासिक अन्न सम्झौताको कार्यान्वयनको बारेमा पनि छलफल गरेका थिए ।

मेक्सिकोका कुख्यात लागूऔषध कारोबार नायिक गुजम्यानका छोरा पक्राउ

एजेन्सी – मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नायिके जोआकिन “एल चापो“ गुजम्यानका छोरालाई बिहीबार पक्राउ गरेका छन्   ।

“एल रटन“ (द माउस) उपनामले चिनिने ओभिडियो गुजम्यान लाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सैन्य विमानमा मेक्सिको सिटी लगिएको रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले पत्रकारहरूलाई भने ।

३२ वर्षीय ओभिडियो गुजम्यानको गिरफ्तारी  छ महिनाको खुफिया कार्यको परिणाम रहेको बताइएको छ । अमेरिकाले ओभिडियो गुजम्यानलाई कुख्यात सिनालोआ कार्टेलको प्रमुख खेलाडी भएको आरोप लगाउँदै पक्राउ गर्ने जानकारीको लागि ५० लाख डलर इनाम प्रस्ताव गरेको थियो।

प्रयोग गर्न मिल्ने मोबाइल नै नभेटिएपछि हुन सकेन फाइभजी परीक्षण

काठमाडौं । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ ।यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन ।

यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।टेलिकमका प्रवक्ता सोभन अधिकारीका अनुसार फाइभजी ‘सपोर्ट’ गर्ने मोबाइलको उपलब्धता अध्ययन गरेपछि यसको परीक्षण सुरु हुनेछ ।

“आन्तरिक रूपमा गर्नुपर्ने सबै परीक्षण भइसकेको छ,” उनले भने, ’तर, जब मोबाइलमा यसको परीक्षण सुरु गरियो, मोबाइल सेट नै धेरै कम भएको पाइयो ।’ टेलिकम अहिले भने बजारमा २६ सय मेगाहर्ज ब्यान्ड सपोर्ट गर्ने मोबाइलको उपलब्धताको सर्वेक्षणमा जुटेको छ ।

त्यसका आधारमा अबको केही हप्तामै यसको सार्वजनिक परीक्षण सुरु गरिने प्रवक्ता अधिकारीले जानकारी दिए ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के के छन् न्यूनतम साझा कार्यक्रममा ?

काठमाडौं । सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको घटना उजागर गरी कानुनी कारबाही अगाडि बढाउने भएको छ।सरकारको साझा तथा न्यूनतम कार्यक्रममार्फत भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएको विषयमा छानबिन र अनुसन्धान गरी भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाल समाजमा स्थापित गराउने जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति गरिने सरकारले जनाएको छ।

सरल र सहज सार्वजनिक सेवाको प्रबन्ध गर्न सेवाग्राहीलाई लाइनको सस्तीबाट मुक्त गराउन सबै सरकारी सेवामा टाइम कार्ड प्रणाली लागू गर्ने सरकारको कार्यक्रम छ।

सरकारले पाएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गरिने पनि मस्यौदामा उल्लेख छ।मस्यौदाअनुसार ‘सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने, कोही भौकै पर्दैन, भोकले कोही मर्दैैनको अवधारण लागू गर्न कृषि उत्पादन वृद्धि र आपूर्तिमा व्यापक सुधार गरिनेछ।

महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक १ हजार ५ सय उपलब्ध गराउने पनि मस्यौदामा उल्लेख छ।

पाँच वर्षको अवधिमा श्रमिकको ज्याला न्यूनतम २५ हजार पुर्‍याइने बताइएको छ। ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्ने लक्ष्य सरकारको छ।

श्रमको सम्मान, मर्यादित काम, न्यायोचित ज्याला, सामाजिक सुरक्षा एवं असल औद्योगिक श्रम सम्बन्धलाई श्रम नीतिका आधारभूत मान्यताका रूपमा स्थापित गर्ने सरकारले योजना छ।यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

निर्मला पन्त प्रकरण : डीआईजीको टोलीबाट यसरी हुँदैछ शुक्ष्म अनुसन्धान

काठमाडौं । उप-प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि निर्मला पन्त ह-त्या अनुसन्धानका लागि गठित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोलीले कञ्चनपुरमा सूक्ष्म अनुसन्धान थालेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्मला ह-त्या प्रकरणमा डिआइजी सिंह नेतृत्वको पाँच सदस्यीय टोलीले अनुसन्धान गरिरहेको बताए ।उनका अनुसार यसअघि नियमित रूपमा सिआइबीका एसपीको नेतृत्वमा रहेको टोली र जिल्लाको अनुसन्धान अधिकृतको टोलीले अनुसन्धान जारी राखेको थियो ।

अपराधी पत्ता नलागुन्जेलसम्म जिल्लामा अनुसन्धान अधिकृत सरुवा हुनेबित्तिकै नयाँ अधिकृत तोकेर अनुसन्धान जारी रहने गरेको उनले बताए ।सिआइबी एसपीको नेतृत्वमा टोली भए पनि प्रहरी निरीक्षकको नेतृत्वको टोली जिल्लामा खटिएर अनुसन्धान गरिरहेको उनले बताए ।

अनुसन्धानको नेतृत्वमा रहेका डिआइजी सिंहले यसअघि पनि निर्मला पन्तको ह-त्याको अनुसन्धान कञ्चनपुर पुगेर गरिसकेकी थिइन् ।यो खबर आजको नागरिक दैनिकमा समाचार छ ।

विश्व इतिहासमा आजः फ्रान्सको व्यंग्य पत्रिकाको कार्यलयमा हमलादेखि ग्यालिलियोको आविश्कार

आज ७ जनवरी  । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

अकिहितोको राज्यरोहण
जापानका सम्राट अकिहितोले आज अर्थात सन् १९८९ मा जापानको सम्राटको सपथ खाएका थिए । आफ्ना बाबुको जन्म मृत्यु भएकै दिन सम्राट हिरोहितो राजगद्दीमा बसेका थिए ।

खमेर रुज सरकार ढलेको त्यो दिन
सन् १९७९ को ७ जनवरीमा भियतानमाको फौजले क्याम्बोडियाको राजधानी सहर नोम फेहलाई कब्जा गरेर खमेर रुज सरकार ढालेको थियो ।

ग्यालिलियोको आविस्कार
सन् १६१० मा इटालीका वैज्ञानिक ग्यालिलियो ग्यालिलीले चार ओटा ताराहरु बृहस्पति वरपर घुम्ने नयाँ तथ्य पत्ता लगाएका थिए । नांगो आँखाले भन्दा टेलिस्कोपले अझै बढी तारा देखिएको उनको भनाई थियो ।

फ्रान्सको व्यंग्य पत्रिकाको कार्यलयमा हमला
सन् २०१५ का फ्रान्सको राजधानी पेरिसस्थित चर्चित व्यंग्य पत्रिका चार्ली हेब्दोको कार्यलय पसेर अतिवादीले अन्धाधुन्दा हमला गरी १२ जनाको हत्या गरेका थिए । पत्रिकाले मुस्लिम धर्म गुरु मोहम्मदको अपमान गरेको भन्दै मुस्लिम लडाकुले आक्रमण गरेका थिए । प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको थियो ।