`

हेर्नुहोस् पौष २३ गते शनिबारको राशिफल

ज्यो.प. सरोज घिमिरे । आज श्री शाके १९४४ बि.स.२०७९ पौष २३ गते शनिबार इश्वी सन २०२३ जनवरी ७ तारीख माघ कृष्ण पक्ष प्रतिपदा तिथी पुनर्वशु नक्षत्र ऐन्द्र योग वालव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा छत्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान) स्थापना तथा अरनिको स्मृति दिवस

मेष राशि – महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर हुनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृष राशि – प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेता पनि यात्रा झन्झट पुर्ण रहन सक्नेछ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ ।

मीथुन राशि –स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

कर्कट राशि – स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

कन्या राशि –दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि –ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि –आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।

काठमाडौँको सामाखुशीमा आगलागी

काठमाडौँ – काठमाडौँको सामाखुशीमा आगलागी भएको छ । शुक्रबार साझँ काठमाडौँको सामाखुशी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्प नजिक आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा दमकल प्रयोग गर्नुका साथै नेपाल प्रहरीको पानीको फोर्सवाला सवारी साधनको समेत प्रयोग गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पुगेको बताइएको छ ।

राजेन्द्र लिङदेनलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छैन, हल्ला मात्र हो – विश्वप्रकाश शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका छन् । शुक्रबार पत्रकारहरसँग कुरा गर्दै महामन्त्री शर्माले संस्थागत रुपमा सभापति वा महामन्त्रीहरुको तहबाट त्यस्तो अफर नगरिएको बताए ।

उनले भने – ‘कांग्रेसले कुनै दलको सभापतिलाई प्रधानमन्त्री प्रस्ताव गरेको भन्ने चर्चा छ। तर कांग्रेस तत्काल नजाने गाउँको बाटो सोध्दैन, सोधीरहेको छैन। यो भ्रम हो ।’ उनले आफ्नो पार्टी तत्काल वर्तमान गठबन्धन भत्काएर नयाँ प्रधानमन्त्री बनाउने पक्षमा नरहेको पनि बताए ।

पोखराको प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट

पोखरा – पोखरामा अन्तराष्ट्रिय विमानस्थल सन्चालनमा आएसँगै पोखराको ब्राण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडान पनि स्थानान्तरण भएको छ । यसअघि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ उडान ५ किलोमिटर पर मान्द्रेढुंगामा सारिएको हो ।

सराङकोटबाट मान्द्रेढुंगामा सारिएको प्याराग्लाइडिङको अहिले परीक्षण उडान चलिरहेको छ । अन्तराष्ट्रिय उडान हुने रुटको वरिपरी उड्न नमिल्ने भएपछि स्थानान्तरण गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले अहिले मान्द्रेढुंगाबाट परीक्षण उडान गरिएको र त्यहाँबाट पनि सम्भव नभए पोखराबाटै हटाउनुपर्ने अवस्था आउने बताए ।

‘जहाजको सुरक्षा पहिलो सर्त हो । उडान नै अप्ठ्यारोमा पर्ने गरी प्याराग्लाइडिङलाई आकाश छोड्न सकिँदैन,’ उनले भने, ‘सकेसम्म पोखराबाट प्याराग्लाइडिङ नहटाऔं भनेर मान्द्रेढुंगा सारेका छौं । परीक्षण गर्दा त्यहाँ पनि राम्रो नभए दुखका साथ हटाउनुपर्छ ।’ यसअघि सराङकोट सहित तोरिपानी र तामागी क्षेत्रबाट पनि उडान हुने गरेको थियो । ति तीनै ठाउँबाट अब उडान गर्न नमिल्ने भएको छ ।

मान्द्रेढुंगाबाट उडेको प्याराग्लाइडिङ फेवातालको सिरान पामेमा अवतरण गरिएको छ । नेपाल हवाई खेलकुद संस्थाका अनुसार प्राधिकरणले ६ हजार फिट भन्दा माथि उड्न नपाउने गरि मापदण्ड तोकिदिएको छ ।

नेपाली कांग्रेस संसदीय दलको बैठक शनिवार, बैठक अघि कांग्रेस पदाधिकारीबीच छलफल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक यही शनिवार बस्ने भएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गरेका छन् । छलफलमा संसदीय दलको बैठक भोलि दिउँसो १ बजे बस्ने निधो गरिएको हो ।

सभापति देउवा निवासमा आज भएको छलफलमा ठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी भएका थिए ।

निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ ।

बुटवल घटना अपडेट : युवतीको विषयमा झडप हुँदा वृद्धको मृत्यु

बुटवल – बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ । शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय युवतीको विषयमा स्थानीयबीचमा झडप भएको र उनको निधन भएको जनाइएको हो । झडपममा घाइते भएका उनलाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उपचारको क्रममा उनको निधन भएको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।

रुपन्देहीमा करेन्ट लागेर मजदुरको ज्यान मृत्यु

बुटवल – रुपन्देहीको कञ्चन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। कञ्चन गाउँपालिका-४ स्थित क्षेत्री टोलमा करेन्ट लागेर कपिलवस्तुको बाणगंगा-१० गोगापुर बस्ने करिव ५५ वर्षका घुराहप्रसाद थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ।

वडाको क्षेत्रीटोल बस्ने भिमकुमार काउचाको घर ढलाईका लागि सटरिङ्ग गर्ने क्रममा फलामको छडले विद्युत्‌को हाइटेन्सन तारमा छुँदा दिउँसो करिब १ बजेको समयमा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ।

बुटवलमा अज्ञात समूहको आक्रमणमा परि बाबुको मृत्यु, दाजुभाइ घाइते

बुटवल – बुटवल उपमहानगरपालिका-१३ बेलबासमा एक परिवारमाथि अज्ञात समूहले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणमा परी नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई छोराहरू दिवस र दिपेश नेपाल घाइते भएका छन् । उनीहरूमाथि कस्ले आक्रमण गरेको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

बैतडीमा स्कारपियोको ठक्करबाट महिला घाइते

धनगढी – बैतडीमा स्कारपियोले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । दोगडाकेदार गाउँपालिका ५ की ६८ वर्षीया धुरी ठगुन्नालाई शुक्रबार दिउँसो १:३० बजेतिर स्कारपियोले ठक्कर दिएको हो ।

दार्चुलाबाट धनगढी आइरहेको भे१च २९५१ नम्बरको स्कारपियोले पैदल यात्री ठगुन्नालाई दोगडाकेदार गाउँपालिका ५ दोलीमा बाटो काट्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते ठगुन्नाको देब्रे खुट्टा भाचिएको र टाउकोमा चोट लागेकाले उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

स्कारपियो चालक दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँका २६ वर्षीय हरिसिंह कार्की र स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

रविको नागरिकता सम्बन्धी मुद्दामा के छ सर्वोच्चको आदेश ?

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टीका पदाधिकारीहरूसँग छलफलपछि सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका हुन् ।

देउवालाई भेट्न नेपाल धुम्बाराहीस्थित देउवा निवास पुगेका थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको थियो ।शुक्रबार बिहान एकीकृत समाजवादीका सांसदहरुले पनि देउवालाई भेटेका थिए ।

एउटै पालिकाबाट ६ जना संसद, देशकै नमुना पालिका बन्ने अपेक्षा 

महोत्तरी – महोत्तरीको मनरा शिसवा नगरपालिकाको यतिबेला निकै चर्चामा छ । पालिकाबाट ६ जना संसद निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको हो । पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकबाट ६ जना सांसदमा निर्वाचित भएपछि मनरा शिसवा चर्चामा रहेको हो ।

निर्वाचित हुनेहरुमा ४ जना महिला र दुई पुरुष छन । एउटै पालिकाबाट ६ जना सासंद निर्वाचित भएपछि पालिकाकै विकास र समृद्धि हुने जनताको अपेक्षा र विश्वास बढेको छ । ६ जना सांसद पाएको मनरा शिसवा नमुना नगरपालिका हुने धेरैले आशा राखेका छन् ।

‘मनरा सिशवाका जनताको सर्वाङ्गीण विकाशमा हाम्रा ६ जना सांसदले अविस्मरणीय,  उदाहरणीय प्रतिनिधित्व गर्नु हुनेमा हामी विश्वस्त छौँ,’ नगरप्रमुख मोहन पाण्डेले भने, ‘६ संसदका कारण हाम्रो पालिका देशकै नमुना पालिका बन्नेमा ढुक्क पनि छु ।’

मनरा शिसवा–८ सहसरामकी लोसपा कि नेतृ रानी कुमारी तिवारी र वडा नं ७ सरपल्लोका जसपाका नेता सरोजकुमार सिंह प्रत्यक्षतबाट निर्वाचित भएका थिए  ।

लोसपाबाट समानुपातिकमा एक जना सांसद थपिएका छन् छ भने सिके राउतले नेतृत्व गरेको जनमत पाटी र नेपाली कांग्रेसले समेत यसै पालिकाबाट समानुपातिक सासंद दिएका छन् ।

पालिकाको  वडा नं ६ सरपल्लोकी रमिता प्रधान,  वडा नं ६ सरपल्लोकै अनिता साह,  वडा नं ८ सहसरामका चन्दन सिंह र सहसरामबाटै अञ्जना पण्डितलाई पार्टीले समानुपातिकमा निर्वाचित गरेको हो ।

प्रत्यक्ष र समानुपातिक गरी महोत्तरीमा प्रदेशसभामा मात्र १३ जना सासंद छन । संघको प्रतिनिधिसभामा ६ जना सासंद छन । मोहत्तरीबाट चारजना प्रत्यक्षतर्फ र दुई जना समानुपातिक गरि ६ जना प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका हुन् । उनीहरु सबै मनरा शिसवाका हुन् ।

प्रत्यक्ष तर्फ नेकपा एमालेबाट निर्वाचित क्षेत्र न.१ मा लक्ष्मी महतो कोइरी, क्षेत्र न.२ मा लोसपाबाट शरदसिंह भण्डारी, क्षेत्र न.३ बाट कांग्रेसका महेन्द्र राय यादव र क्षेत्र न.४ बाट लोसपाका महन्थ ठाकुर छन् भने समानुपातिक तर्फ जनमतबाट गोमा लाभ सापकोटा, कांग्रेसबाट संगीता मण्डल धानुक छन ।
योसँगै प्रदेश र प्रतिनिधिसभामा महोत्तरीबाट १९ जनाले सांसदले प्रतिनिधित्व जनाउने भएका छन् ।

सभामुखको ७ माघ र उपसभामुखको ९ माघमा निर्वाचन गर्ने प्रस्ताव

काठमाडौं, २२ पुस । सर्वदलीय बैठकमा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचनको मिति प्रस्ताव गरिएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको आह्वानमा शुक्रबार बसेको सर्वदलीय बैठकमा आउँदो ७ माघमा सभामुख र ९ माघमा उपसभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो । उक्त मितिप्रति दलहरु सकारात्मक देखिएका बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।

संघीय संसदको अधिवेशन २५ पुसबाट सुरु हुँदै छ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सप्तरीमा चिसोले कठ्यांग्रिएर देवुको मृत्यु, ६ छोराछोरीको बिचल्ली

सप्तरी २२ पुस । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी ४ मुसहरी टोलका देवु सदा रहेका छन् ।बिहीबार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए ।

खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ ।

नेपालगन्जमा दादुराको प्रकोप फैलिएपछि स्वास्थ्यकर्मीले गुहारे स्थानीय सरकार

बुटवल, २२ पुस । बाँकेको नेपालगन्जमा दादुराको प्रकोप फैलिएपछि नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले स्थानीय सरकारलाई गुहारेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा दादुरा रोग प्रकोपको रूपमा फैलिएपनि आवश्यक रणनीति बनाउन बसेको स्वास्थ्यकर्मीहरुको बैठकले नियन्त्रणका लागि स्थानीय सरकारलाई आग्रह गरेको हो ।

स्वास्थ्यकर्मीहरूले उपचारका लागि चाहिने सहयोग जुुुटाउन स्थानीय सरकारलाई पत्राचार समेत गरेका छन् । प्रकोपबाट नेपालगन्जमा साढे दुई वर्षका बालकको मृत्यु भएको छ । अहिलेसम्म ३० जनाभन्दा बढी यस रोगका बिरामी पत्ता लागेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले एक सातादेखि दादुरा फैलिन थालेको जनाएको छ । यसको संक्रमणले प्रकोपको रूप लिएपछि उपचार तथा नियन्त्रणका लागि प्रयास थालेको कार्यालयले जनाएको छ ।

नेपालगन्ज–५ स्थित एउटै परिवारका चार बालबालिकामा दादुरा संक्रमण भएको स्वास्थ्यकर्मीले फेला पारेका थिए । अभिभावकले दादुराका बिरामी बालबालिकालाई लुकाएकाले उपचार तथा रोगको निदानमा ढिलाई भएको कार्यालयले जनाएको छ । उपमहानरका विभिन्न क्षेत्रमा संक्रमण फैलिएकाले जोखिम बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज–५, ७, ८, ९, १०, ११, १४, १५ र २२ नम्बर वडामा बिरामी पत्ता लागेका छन् ।

‘सक्रमित सबैजसो बिरामीलाई घरमै राखेर उपचार गरिँदै छ,’ स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेलले भनिन्, ‘स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदै एक जना बालकको मृत्यु भएको हो । अब अरू बिरामीको खोजी गर्दै दादुराविरुद्धको खोप लगाउने तयारीमा छौं ।’

दादुराविरुद्धको चार हजार ५०० डोज खोप आइपुगेको र जनशक्ति जुटाएर लगाउने थाल्ने उनले बताइन् । स्वास्थ्य कार्यालयले गत शनिबार पाँचजना बिरामीको नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाएको थियो । जसमध्ये चार जनामा दादुरा पुष्टि भएको थियो । ती सबै चार जना एकै घरका थिए ।

सहरमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, युनिसेफ, स्वास्थ्य कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको टोली निगरानीमा खटिँदै आएका छन् । यहाँ ९ महिनादेखि १५ वर्ष उमेर समूहमा दादुराको प्रकोप देखिएको छ ।

ऐन मिच्दै लुम्बिनी विकास कोषले थाल्यो पक्की संरचना निर्माण

बुटवल, २२ पुस । लुम्बिनी विकास कोषले ऐनविपरीत कपिलवस्तुमा भौतिक संरचना निर्माण थालेको छ । कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित् निकायको अनुमतिबिना पक्की संरचना निर्माण थालिएको हो । कुनै पनि ऐतिहासिक एवं पुरातात्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो ।

कोषले गोहिटवास्थित अशोक स्तम्भको पूर्वपट्टि स्थायी संरचना पक्की शौचालय निर्माण अघि बढाएको छ । डेढ साता अघिदेखि संरचना निर्माण भइरहेको छ । शौचालयका लागि ठूलो खाल्डो खनेर पक्की ट्याङ्की निर्माण गरिएको छ । प्राचीन स्मारक तथा पुरातात्विक स्थल संरक्षण गर्न बनाइएको प्राचीन स्मारक संरक्षण ऐनविपरीत सो निर्माण कार्य भएको छ । कुनै पनि पुरातात्विक स्थलमा विभागको अनुमति वा स्वीकृतिबिना स्थायी संरचना निर्माण गर्न नपाइने पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।

आफूहरूलाई गोटिहवामा निर्माण सुरु गरिएको संरचनाबारे केही थाहा नभएको उनले बताए । गोटिहवामा आउने पर्यटकलाई लक्षित गरी त्यहाँ शौचालय निर्माण गर्न लागिएको कोषका योजना प्रमुख सरोज भट्टराईले बताए । उनले भने, ‘कोषको पुरातत्व शाखाले जियोफिजिक्स सर्वे गरेर पुरातात्विक वस्तु नभएका ठाउँमा शौचालय निर्माण अघि बढाइएको छ ।’  जानीजानी आफ्नो सम्पदा नष्ट नगर्ने उनको भनाइ छ । गोटिहवालाई क्रकुछन्द बुद्धको जन्मथलोका रूपमा मानिँदै आएको छ ।

यस क्षेत्रमा ईसापूर्व चौथो शताब्दीसम्म मानव बस्ती रहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन गरिएका अवशेषबाट प्रमाणित भएको पुरातत्वविद्हरू बताउँछन् । प्राचीन स्मारक संरक्षण ऐन–२०१३ को (१२) सजाय (ग) ले कुनै पनि पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनाधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानि नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगोबमोजिमको रकम असुल उपर गरी पाँच हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

मधेश प्रदेश : २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुरधाम, २२ पुस । मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुमा आह्वान गरेका छन् ।

प्रमुख मिश्रले २८ पुस बिहीबार अपरान्ह ४ बजेभित्र बहुमत जुटाएर मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

‘मुख्यमन्त्री नियुक्ति गर्नको लागि नेपालको संविधान धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधान धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८९/९/२८ बिहीबार बेलुका ४ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान भएको छ,’ प्रदेश प्रमुख कार्यालयका सचिव राजेन्द्र पराजुलीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मधेश प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दाबी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रधानमन्त्री प्रचण्डप्रति सकारात्मक छौं – माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आफूहरु सकरात्मक रहेको बताएका छन् । शुक्रबार नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकपछि कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने या नदिने बारेमा निर्णय भइनसकेको बताए ।

उनले भने – ‘प्रचण्डप्रति सकारात्मक धारणा छ, सरकार कुन ढंगले अघि बढ्छ, सोहीअनुसार निर्णय लिन्छौँ। ‘ उनले विचार, नीति र विधि मिल्नेहरुसँग एकता गर्ने पनि बताए ।

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं – प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ । पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गर्नुभएको सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय गरेको हो ।

पहिलो बैठकमा प्रतिनिधिसभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको छ । प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते दिउँसो १ बजे बस्ने कार्यसूची छ ।यस्तै, पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ । सो कार्यसूचीलाई पनि पुरानै नियमावलीअनुसार नै विश्वासको मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने भन्ने व्यवस्थाअनुसार आगामी माघ ७ गतेका लागिसहमति जुटेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकमा गरिएको प्रस्तावअनुसार माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचन हुनेछ । ज्येष्ठ सदस्य राणाले आयोजना गर्नुभएको बैठकमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेसका मुख्य सचेतक लेखक, नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, जसपा नेपालका नेता प्रदीप यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालालगायतको सहभागिता थियो ।रासस

विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा

न्युयोर्क, एपी – विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ ।

विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिने छ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् ।

तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः छ । सम्म सन् २१०० सम्ममा विश्वका आधाभन्दा कम हिमनदी हराउने सोही अध्ययनका लेखकहरूले जनाएका छन् । अध्ययनअनुसार प्रायः साना तर प्रख्यात हिमनदी लोप हुँदै गएका छन् ।

सबैभन्दा विषम स्थितिमा विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको बिहीकार सार्वजनिक भएको ‘साइन्स जर्नल’मा उल्लेख छ । ग्रिनल्याण्ड र अन्टार्कटिका बाहेक भूमिमा आधारित विश्वका दुई लाख १५हजार हिमनदीमाथि विगतकोभन्दा गहन ढङ्गले गरिएको अध्ययनले ती नदी लोपको सँघारमा पुगेका देखाएको हो । हिमनदी पग्लिएसँगै समुद्रको सतहमा पनि वृद्धि हुनेछ ।

बालिका बलात्कार आराेपमा युवक पक्राउ

दाङ, २२ पुस । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आराेपमा लमही नगरपालिका-९ बस्ने २२  वर्षीय अनोवर कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती बालिकालाई सोही नगरपालिका-९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरुवा बन्दुकसहित एक जना पक्राउ

मकवानपुर । गढी गाउँपालिका-७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

संवैधानिक इजलासमा बहस : रवि लामिछानेको सांसद पद स्वत : खारेज भागी छ

काठमाडौं /  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका विषयमा शुक्रबबार सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा बहस भइरहेको हो ।

प्रारम्भमा रिट निवेदकको तर्फबाट बहस भएको छ । बहसका क्रममा रिट निवेदकका कानुन व्यवसायीहरुले रवि लामिछानेको सांसद पद खारेज भागी रहेको जिकीर गरेका छन् ।

बहस गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, रमण कर्णसहितका कानुन व्यवसायीले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद स्वतः खारेज हुने जिकीर गरेका हुन् ।

अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको र स्वतः खारेज भएको नेपाली नागरिकता बुझाएर प्रनिधिसभा सदस्य निर्वाचनमा भाग लिएकाले लामिछानेको सांसद खारेज हुनुपर्ने उनीहरुले माग गरेका छन् ।

नेपाली नागरिकले मात्र निर्वाचनमा भाग लिन पाउने रिट निवेदकतर्फका कानुन व्यवसायीले लामिछानेको उम्मेदवारी अवैध घोषित गरेर सांसद पद स्वतः खारेज हुनुपर्ने तर्क गरेका हुन् ।

गरगहना चोरेकाे आराेपमा एक जना पक्राउ

सर्लाही, २२ पुस । चाँदीका गरहरना चाेरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।  ब्रहम्पुरी गाउँपालिका-३ भेल्ही चोकस्थित सोही गाउँपालिका-२ बस्ने रामचन्द्र साह सोनारको सुनचाँदी पसलबाट चाँदीका विभिन्न ९ थान गरगहना चोरी गरेको आराेपमा चन्द्रनगर गाउँपालिका-२ बस्ने १९ वर्षीय राजबाबु चन्द्रवंशीलाई प्रहरीले पक्राउ गरेको हाे ।

चन्द्रवंशीले चाँदीका गरगहना चोरी गरी भाग्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट बिआर ३० बि ८०१० नम्बरको मोटरसाइकल तथा सोही मोटरसाइकलको ट्याङकी मुनी लुकाई राखेको नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उप्रधानमन्त्री पौडेल

काठमाडौं, २२ पुस । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको जानकारी दिएका हुन् ।

१० पुसमा प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डले २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।२५ पुसबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ । यसको भोलिपल्ट बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् । यसर्थ २६ पुसपछि मात्रै सरकारले पूर्णता पाउने भएको छ ।

नेपाल टी–२० : जनकपुरले हरायो शीर्ष स्थानको लुम्बिनीलाई

काठमाडौं, २२ पुस । काठमाडौंमा जारी नेपाल टी–२० लिगको  शुक्रबार भएको खेलमा जनकपुर रोयल्सले शीर्ष स्थानको लुम्बिनी अल स्टारलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनी २३ रनले पराजित भएको हो । लुम्बिनीले निर्धारित १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र जोडेको थियो ।

लुम्बिनीका अनिल साहले ३५, लहिरु मिलन्थाले ३२, सुनील धमलाले २७ र गुल्सन झाले १० रन जोडे भने जनकपुरका ट्रिभोन ग्रिफिथले ३, समिउल्लाह सिन्वारीले २ र ललित राजवंशीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो ।जनकपुरका लागि ग्रिफिथले ४७, सरफुद्दिन अस्रफले ३४, खड्क बोहराले २२, समिउल्लाह सिन्वारीले २० र दिलीप नाथले १० रन जोडे ।

लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले समान २ र इसान पाण्डे र प्याट ब्रोनले एक÷एक विकेट लिए ।जनकपुरसँग पराजित भए पनि लुम्बिनी लिगको शीर्ष स्थानमै छ ।

आकर्षक रोजगारीको प्रलोभनमा परी दक्षिण अफ्रिका नजान अनुरोध

काठमाडौँ-दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ जान अनुरोध गरेको छ ।दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारमा लिने कानुनी व्यवस्था छ ।त्यस्ता पदहरुमा वैदेशिक रोजगारमा दक्षिण अफ्रिका जाँदा नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जान दूतावासले अनुरोध गरेको छ ।

दक्षिण अफ्रिकामा आकर्षक तलब, सुविधासहितको पदमा काम लगाइदिने एवं त्यहाँबाट युरोप, अमेरिका जान सहज हुने भ्रममा पारी नेपाली नागरिकहरुबाट लाखौँ रुपैयाँ लिने गरिएकोप्रति दूतावासले ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता नेपाली नागरिकहरुलाई भारतको विभिन्न सहरहरु (नयाँ दिल्ली, मुम्बई), संयुक्त अरब इमिरेट्स, कतार तथा तान्जानिया, मोजाम्बिक, केन्या, मलवी, मौरिसस, रुवाण्डा, कङ्गोलगायत मुलुक हुँदै दक्षिण अफ्रिकामा ल्याई अलपत्र पारी छोड्ने घटना भइरहेका छन् । कतिपय अवस्थामा ती ट्रान्जिट मुलुकहरुमा नै विषम परिस्थितिमा छोडिदिने घटनाहरु बढ्दै गएको दूतावासले जनाएको छ ।

वैदेशिक रोजगारमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने कार्यमा संलग्न हुने कार्य कानुनबमोजिम दण्डनीय भएकाले यसखाले गैरकानुनी कार्यहरु नगर्न÷नगराउन र यसतर्फ सचेत रहन दूतावासले अनुरोध गरेको छ । भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा सो भिसाका आधारमा यहाँ रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन ।

पर्यटक भिसामा आएर कुनै पनि किसिमको रोजगारीमा संलग्न हुने कार्य गैरकानुनी भएकाले त्यस्तो कार्यमा संलग्न व्यक्तिहरुलाई सम्बन्धित दक्षिण अफ्रिकी निकायले पक्राउ गरी कानुनबमोजिम दण्ड, जरिवाना गराई देश निकाला गर्ने गरेको छ ।कुनै पनि मुलुक जानका लागि सम्बन्धित मुलुकको भिसा आवश्यक पर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका देशहरुमा जान सजिलो हुने विषय भ्रामक र मिथ्या भएकाले भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती मुलुकहरु हेर्ने विदेशस्थित नेपाली नियोगहरुमा सम्पर्क गरी आधिकारिक जानकारी लिन उपयुक्त हुने दूतावासले जनाएको छ ।रासस

उपप्रधानमन्त्री श्रेष्ठलाई भेटे अमेरिकी राजदूतले

काठमाडौं, २२ पुस । उपप्रधान तथा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

शुक्रबार भएको भेटमा राजदूत थम्पसनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् । साथै भेटमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको छ ।

एक साताअघि राजदूत थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

गायक आशिष सचिनले जन्मदिन मनाए अनाथ बालबालिकासँग

काठमाडौं, २२ पुस । युट्युवमा करिब १० करोड पटक हेरिएको नेपाली गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावर‘का गायक आशिष सचिनले  ‘अनाथ असाहाय बालसुधार समाज’ मा पुगेर जन्म दिन मनाएका छन् ।

गायक, अभिनय सँगसँगै समाजसेवामा पनि सक्रिय गायक आशिष सचिनले काठमाडौंको बुढानिलकण्ठ ५ डाँडा गाउँमा रहेको ‘अनाथ असाहाय बालसुधार समाज’ मा पुगेर अनाथ बालबालिकासँग आफ्नो जन्मदिन मनाएका हुन् ।

जन्म दिन मनाउने क्रममा गायक सचिनले आफ्ना केही चर्चित गीतहरु  अनाथालयमा   रहेका बालबालिकालाई सुनाए । उनका केही हिट गीत सुन्दै त्यहाँका बालबालिका उनीसँगै रमेका थिए ।

कार्यक्रममा आफ्नो जन्म दिनको केक काटेर गायक आशिष सचिनले त्यहाँका बालबालिकालाई खुवाए । सो आश्रममा रहेका ३३ जना बालबालिकालाई खाना खुवाउँदै उनले जन्म दिन मनाए । उनीहरुलाई केही आर्थिक सहयोग र खाद्यान्न सहयोग पनि प्रदान गरे ।

अनाथालयमा रहेका बालबालिकाहरु नर्सरी देखि कलेजसम्म अध्ययन गरिरहेको सँस्थाका कोषाध्यक्ष सुदिप केसीले बताए । २१ जना बालक र १२ बालिकाहरु रहेका सो आश्रममा यी गायकले आफ्नो जन्म दिन मनाएर केही क्षण भएपनि बालबालिकालाई खुसी तुल्याएका उनले बताए । आशिषका ‘दारी फुल्यो बैंसैमा’सँगै ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् ।

रणवीर र दीपिकाको सम्बन्ध संकटमा !

मुम्बई, २२ पुस । बलिउडमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको जोडी फ्यान तथा फिल्मकर्मीमाझ रुचाइएको जोडीमा पर्दछन् । एक दशकदेखिको प्रेमलाई विवाहमा पूर्णता दिएका यो जोडीको पछिल्लो समय सम्बन्ध बिग्रँदै गएको चर्चा पनि नचलेको होइन । भलै उनीहरूले सार्वजनिक रुपमा सम्बन्धको बारेमा मुख नखोले पनि सामाजिक सञ्जालमा भने खण्डन गरिरहे ।

तर, अहिले भने पुनः उनीहरूको सम्बन्ध बिग्रँदै गएको खबर बाहिर आएको छ । सामाजिक सञ्जालमार्फत् आफ्नो सम्बन्ध सुमधुर रहेको दाबी गर्ने यो जोडीको सामाजिक सञ्जाल गतिविधि हेर्दा फ्यान र फिल्मकर्मीले यही अनुमान लगाएका छन् ।

दीपिका र रणवीरको डिभोर्सको हल्ला चलिरहँदा यो जोडी कैयौं सार्वजनिक कार्यक्रममा हात समातेर उपस्थित भएका थिए । क्यामराको अगाडि उनीहरूको पोज हेर्न लायक थियो । तर, अहिले भने उनीहरुको यो सबै गतिविधि केवल मिडियाबाजी मात्र रहेको आरोप उनीहरुका फ्यानले सामाजिक सञ्जालमार्फत नै लगाउन थालेका छन् । भित्री रुपमा सम्बन्ध बिग्रिए पनि सामाजिक सञ्जाल र मिडियामाझ राम्रो देखिनका लागि मात्र सम्बन्ध सुधारेको उनीहरुको बुझाइ छ ।

सामाजिक सञ्जालमा सक्रिय रहने यो जोडीले पछिल्लो समयमा कमै मात्र सँगै रहेको तस्बिर राख्ने गरेका छन् । दिवालीदेखि ठूला चाडपर्वमा अधिकांश जोडीले जोडी तस्वीर राखे पनि दीपिका र रणवीरले भने एकअर्काको तस्वीर राखेका छैनन् । आफ्नो वैवाहिक वार्षिकोत्सवमा पनि यो जोडीले सामाजिक सञ्जालमा तस्वीर राखेनन् । नयाँ वर्षमा पनि उनीहरुको तस्वीर देखिएन । कतिसम्म भने दीपिका पादुकोणको जन्मदिनमा समेत रणवीरले केही पोस्ट गरेनन् ।

चलचित्र पत्रकारलाई सामाजिक सुरक्षाभत्ता दिँदै संघ

काठमाडौं, २२ पुस । चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने भएको छ ।

संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म कार्यसमिति बैठकले ६० वर्ष उमेर पुगेका वा त्योभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षाभत्ताबापत ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

‘यसले विधागत रुपमा पत्रकारिता गरिरहेकालाई उर्जा मिल्ने विश्वास लिएका छौं। विधागत पत्रकारितामा उहाँले दिनुभएको योगदानको कदर सङ्घले गरेको हो । हामीले कल्याणकारी कोषमार्फत सङ्घका सदस्यहरूको समस्यालाई न्यूनीकरण गर्ने लक्ष्य लिएका छौं’, अध्यक्ष सिटौलाले भने । उनले यस किसिमको सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नविकरण शुल्क मिनाहा गरिने जानकारी समेत दिए ।

साथै, बैठकले माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारहरुका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरेको छ । यसका साथै चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन फागुन १७ गते काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ ।

अधिवेशन प्रायोजनका लागि संघका सदस्यहरुले माघ १५ गतेसम्म अनामनगरस्थित संघको कार्यालयमा आफैं उपस्थित भई सदस्यता नविकरण गर्नुपर्ने निर्णय समेत गरेको छ । साथै संघले २४ जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गरेको छ ।

प्रधानमन्त्रीद्वारा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं, २२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

६ जनाको मृत्यु र १८ जना घाइते हुने गरी बिहीबार राति पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मधुवनमा बिहीबार राति बस दुर्घटना भएको थियो । उक्त बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गरेका प्रधानमन्त्री प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जला ट्वीटरमार्फत् प्रधानमन्त्री प्रचण्डले मृतकलाई श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक यातायात सुरक्षित र मर्यादित बनाउन भूमिका खेल्न सबैमा अपिल पनि गरेका छन् ।

‘गएराति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपील गर्दछु,’ प्रधानमन्त्रीको ट्वीटमा उल्लेख छ ।

ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्रमा सुरु गर्‍यो ‘टाइम कार्ड’

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ । प्रशासनले १९ पुसदेखि राष्ट्रिय परिचयपत्र वितरणमा टोकनसहित टाइमकार्ड प्रणाली लागू गरेको हो ।

प्रशासनका अनुसार हरेक दिन बिहान गेटमा टोकन वितरण हुन्छ भने  बिहान १० देखि ११ बजेसम्म नागरिकता रुजु हुन्छ । त्यसपछि राष्ट्रिय परिचयपत्रको काम हुन्छ । प्रशासनका अनुसार अशक्त, अपांगता भएका र जेष्ठ नागरिकका लागि नागरिकताको रुजु र बायोमेट्रिकका लागि लाइन बस्नुपर्दैन ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कागजात र प्रक्रिया पूरा गरिसकेकालाई १० मिनेटभित्रै परिचयपत्र वितरण भइरहेको बबताए । ‘टाइम कार्ड’को व्यवस्था अन्य सेवामा पनि विस्तार गरिने उनले बताए ।

स्याङ्जा प्रहरी कार्यालयबाट भागेका थुनुवा पक्राउ

काठमाडौं – स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका थुनुवा दुई दिनपछि पक्राउ परेका छन् ।

नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा वालिङ नगरपालिका ७ का २३ वर्षीय रमेश क्षेत्री पुस १० गते पक्राउ परेका थिए । पुस १८ गते दोस्रो पटक म्याद थपका लागि अदालत लगेर हिरासतमा राख्ने क्रममा उनी हतकडी फुत्काएर भागेका थिए ।

प्रहरी कार्यालयको बार नाघेर भागेका उनलाई लखेट्ने क्रममा प्रहरी हवल्दार हिरा सुनार घाइते भएका थिए ।

६ वटा प्रदेशका प्रमुखले गरे सरकार गठनका लागि आह्वान, छैन कुनै पनि दलको एकल बहुमत

मधेश प्रदेशबाहेक अन्य छवटा प्रदेशका प्रमुखले प्रदेशमा सरकार गठनका लागि आह्वान गरेका छन्। सातवटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन। कुनै पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन्।

सङ्घीय सरकार गठन भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुभएपछि मात्रै प्रदेशमा सत्ता साझेदार दलहरूबीच सहमति कायम गरेर मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारी गरेकका छन् । तर तीनवटा प्रदेशका प्रमुखले प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा अघि नै प्रदेशमा मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखले पुस २७ गते बुधबार ४ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरे । सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख छन् ।

प्रदेश १ का प्रमुख परशुराम खापुङले पुस २४ गते ५ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरे । उनले पुस १७ गते नै मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो। बाँकीका पाँचवटा प्रदेशका प्रमुखको कार्यालयले भने बिहीबार मात्रै चारदेखि सात दिनसम्मको समयसीमा राखेर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

बागमती र गण्डकी प्रदेश प्रमुखको कार्यालयले पुस २५ गते ४ बजेभित्र दाबी पेस गर्न सूचना जारी गरेको हो। बागमतीमा यादवचन्द्र शर्मा र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख छन्। मधेश प्रदेशस्थित प्रदेश प्रमुखले भने एकरदुई दिनभित्रै मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले भने, “निर्वाचन परिणाम सार्वजनिक भएपछि एक महिनाको समय हुन्छ, हतार छैन, एकरदुई दिनभित्रै दाबी पेस गर्न आह्वान गर्नेछौँ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

कहाँ पुग्यो पूर्वक्रिकेटर सन्दीप लामिछानेको मुद्दा ?

बलात्कार अभियोग लागेका पूर्वक्रिकेटर सन्दीप लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामा छन्। उनी हाल केन्द्रीय कारागार सुन्धारामा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले गत कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका लामिछानेले उक्त आदेशविरुद्ध गत मंसिर २९ गते उच्च अदालत पाटनमा निवेदन दिए। उनले ‘बेरीतको आदेश बदर गरी पाऊँ’ भन्दै साधारण तारेखमा बसेर मुद्दाको प्रतिरक्षा गर्न पाउनुपर्ने माग राखेका थिए।

‘जिल्ला अदालतको थुनछेक आदेश मिलेन। बेरीतको भयो भनेर उच्च अदालत पाटनमा निवेदन दिइएको हो’, उनका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाले भने। त्यसको एक सातापछि उक्त मुद्दा पुस ७ गते न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी चढेको थियो। तर, लामिछानेकै कानुन व्यवसायीले स्थगन गराए। ‘बार डे’ परेका कारण कानुन व्यवसायीले स्थगन गराएका कारण सुनुवाइ हुन पाएन।

त्यसपछि पुस १४ गते अर्को पटक पेसी चढ्यो। तर, ‘हेर्न नभ्याइने’मा परेपछि सुनुवाइ हुन पाएन। ‘त्यो मुद्दा पाँच नम्बरमा परेको थियो। चार नम्बरमा रहेका मुद्दाको सुनुवाइ भयो। पाँच नम्बरको मुद्दाको पालै आएन। त्यसकारण हेर्न नभ्याइनेमा परेको हो’, उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले भने।

उक्त दिन न्यायाधीशद्वय सुभास पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो। ‘हेर्न नभ्याइने’मा परेपछि मुद्दाको सुनुवाइ हुन सकेन। रजिस्ट्रार कट्टेलका अनुसार सुनुवाइ नभएकाले सो मुद्दा बिहीबार पनि पेसीमा चढेको छ। ‘पेसी तोकिएको छ। बिहीबार सुनुवाइ हुनेमा आशावादी छौं’, अधिवक्ता सापकोटाले भने। उनका अनुसार थुनामा रहेका लामिछाने मानसिक तनावमा परेकाले मनोपरामर्श दिइएको छ।

मुद्दा गम्भीर भएको र कानुन व्यवसायी धेरै भएका कारण पनि मुद्दाको सुनुवाइमा धेरै समय लाग्ने रजिष्ट्रार कट्टेलको भनाइ छ। ‘यो गम्भीर इस्यू हो। पेसीमा अगाडि नम्बरमा पर्‍यो भने सुनुवाइ होला। हेर्दाहेर्दै राख्ने चलन छैन’, उनले भने, ‘कानुन व्यवसायी धेरै छन्। छिटोछिटो बहस गरे त सकिहाल्थ्यो।’ यो मुद्दामा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, मुरारी सापकोटा, बलराम सुबेदीलगायत कानुन व्यवसायीले बहस गर्ने जनाइएको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

पशुपतिको धर्मशालामा सेवाका नाममा लज चलाइयो

अमालकोट कचहरी र सेवा समितिबीच २०६० जेठ १२ गते विशुद्ध सेवाका लागि धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भए पनि सम्झौताको १९ वर्षपछि पशुपति गौशाला धर्मशाला अघोषित व्यापारिक केन्द्र भएको छ । पशुपतिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सञ्चालित धर्मशालामा लज चलाइएको छ ।

सहुलियतमै लज चलाए पनि सेवा समितिले १९ वटा सटरबाट कार्यविधिबिनै चर्को भाडा असुली गरिरहेको छ । पशुपति गौशाला धर्मशालामा पसल सञ्चालन गर्ने स्याङ्जाका श्रीधर न्यौपानेले ३० हजार रुपियाँभन्दा बढी मासिक भाडा तिर्छन् । उनले भने, “दुई वर्षमा सम्झौता नवीकरण गर्नुपर्छ । मैले १४ वर्षदेखि पसल चलाइरहेको छु । भाडा चर्को छ ।”

धर्मशालामै ट्राभल्सका सञ्चालक अच्युत चापागाईंले पनि कार्यालय चलाएको १० वर्ष भयो । उनले मासिक ३५ हजार रुपियाँ भाडा तिरेका छन । सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले १९ मध्ये १८ वटा सटर भाडामा लगाइएको बताए । उनले धर्मशालाबाट उठ्ने भाडा पारदर्शी रहेको दाबी गरे । उनले भने, “हामीले यत्रो सेवा गरिरहेका छौँ । तपाईं भाडाको कुरा गर्नुहुन्छ ! प्रक्रिया मिलाएको छ, अफिस आउनुस्, देखाउँला ।”यो समाचार गोरखापत्र दैनिकमा छ ।

सेनाले माग्यो १८ वृक्षरोपण हेरालु

काठमाडौं – नेपाली सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको छ । काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो ।

सडक निर्माणको क्रममा रुख काटिएका थिए । त्यसको क्षतिपूर्तिस्वरुप वृक्षरोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले वृक्षरोपण हेरालु राख्न लागिएको हो ।

४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवा रोपाइ एवं हेरचाह गर्न सक्न्े व्यक्तिले ओदन दिन सक्नेछन् । कार्यक्षेत्र बाराको जितपुर, सिमरा तथा निजगढ नगरपालिका रहेको छ । पारिश्रमिक मासिक १८ हजार उपलब्ध हुने जनाइएको छ ।

प्राविधिक शिक्षालयबाट प्रदेश सरकारको काम: विद्यार्थी समस्यामा

बुटवल – लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन् । राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको छ । जसका कारण त्यहाँ अध्ययनरत झण्डै एक हजार प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थी समस्यामा परेका हुन् ।

केही हप्ताअघि प्रदेश सरकारले लालमटियामा रहेको प्राविधिक शिक्षालयको भवनबाटै आफ्नो काम गर्न थालिसकेको छ । गत आइतबार शपथ भएर सोमबारबाट प्रदेश सभा अधिवेशन पनि सुरु भइसकेको छ ।

दुई वर्ष अघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसपछि राप्ती प्राविधिक शिक्षालयमा राजधानीका पूर्वाधार बनाउने निर्णय भयो ।

राजधानीको संरचना रहने भएपछि तीन दशकअघि लालमटियामा स्थापित राप्ती प्राविधिक शिक्षालय गढवा गाउँपालिका ३ मा ल्याइएको हो । गत तिहार र छठपछि शिक्षालयले आफ्नो कक्षा यहीँबाट चलाएको छ ।

व्यवस्थित संरचनाबाट नयाँ ठाउँमा आउँदा शिक्षालयका विद्यार्थीहरुले असहज मानिरहेका छन् । राप्ती प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुकुमका अनिलकुमार बुढाथोकीले नयाँ ठाउँमा प्राक्टिकल गर्न समस्या रहेको बताए । “झण्डै तीन वर्ष त्यहाँ बसियो । अहिले यता आइएको छ । सबै संरचना बनिसकेको छैन”– उनले भने, “त्यहाँ विषय अनुसारको संरचना सेट भइसकेको थियो । त्यसै आधारमा हामीले प्राक्टिकल गथ्र्यौँ । अब प्राक्टिकल गर्न समस्या छ ।”

लालमटियामा पूर्वपश्चिम राजमार्गसामुन्ने नै प्राविधिक शिक्षालय रहेको थियो । अहिले स्थानान्तरण भएको ठाउँ राजमार्गबाट अलि दक्षिण पर्दछ । लालमटियाबाट राजमार्ग हुँदै पाँच किलोमिटर पश्चिम गएपछि सिसहनिया बजार आउँछ । सिसहनिया बजारबाट राजमार्ग छोडेर दक्षिण लागि सात किलोमिटर दूरीमा शिक्षालय आउँछ ।

यहाँ आउन नेपालकै दोस्रो लामो राप्ती पुल तर्नुपर्दछ । ग्रामीण क्षेत्र भएकाले गढवाका घरहरु व्यवसायिक प्रायोजनमा लगाउने गरी बनाइएका छैनन् ।  राजमार्ग क्षेत्रबाट तुलनात्मक रुपमा पर र ग्रामीण क्षेत्रमा आउँदा कोठाको पनि समस्या रहेको डिप्लोमा इन इन्जिनियरिङ छैटौँ सेमेष्टरकी एलिना पोखरेलले बताइन् ।

“राजमार्गबाट टाढा भएकाले केही गाह्रो भयो । सुरुमा त स्कुल बसमा आउने जाने गथ्र्यौँ, अहिले यतै बस्न थालेका हौं”– उनले भनिन् “उताभन्दा यता बसाइ अलि असजिलो छ । कोठाका साइज उता भन्दा सानो, पानी, बाथरुमको अलि समस्या भयो ।”

लालमटियामा प्रदेश सरकार र सभाले काम सुरु गरिसक्दा यता गढवामा शिक्षालयका सबै सामान सेटअप भइसकेका थिएनन् ।  राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डाँगीले अहिले सामान व्यवस्थापन भइरहेकाले अबको दुई महिनामा संरचना तयार हुने बताए ।

“कक्षाकोठा र कार्यालय सेटिङ भइसकेको छ । केही मिलाउन बाँकी छ । आउनेबित्तिकै प्रयोगात्मकको लागि वर्कशप र क्वार्टर अपुग थियो”– उनले भने, “वर्कशप लगभग बनिसकेको छ । क्वार्टर बन्ने क्रममा छ । व्यवस्थित गर्न समय लाग्ला ।”

डाँगीले पठनपाठनलाई प्रभाव नपर्ने गरी मर्मत र सेटअपको काम भइरहेको बताउनुभयो । २०५० सालमा स्थापित राप्ती प्राविधिक शिक्षालयमा अहिले ७९२ विद्यार्थी अध्ययन गर्न सक्ने क्षमता छ । कोरोनाका कारण बीचमा परीक्षा नियमित नहुँदा हाल एक हजारभन्दा बढी विद्यार्थी छन् ।

शिक्षालयमा कृषि, सिभिल इन्जिनियरिङ र स्वास्थ्यका प्राविधिकतर्फ नौ वटा कार्यक्रम छन् । जसमध्ये ६ वटा डिप्लोमाका र तीनवटा प्री–डिप्लोमाका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको शिक्षालय प्रमुख डाँगीले जानकारी दिए ।

राप्ती प्राविधिक शिक्षालय सिटिइभिटीइको आंगिक शैक्षिक संस्था हो । शिक्षालयको स्थानान्तरका लागि प्रदेश सरकारले खर्च बेहोरेको छ । गढवा गाउँपालिका–३ मा सरस्वती माध्यमिक विद्यालयको नाममा १८ बिघा जग्गा रहेको छ । अहिले सबै जग्गा विद्यालयको नाममा रहेपनि संघीय शिक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट राप्ती प्राविधिक शिक्षालयले १४ विघा जग्गाको भोगाधिकार पाएको छ ।

विद्यालयले चार विघा जग्गा उपयोग गरेको छ । सरस्वती मावि भवन प्रविधिक शिक्षालयले उपयोग गरेपछि गाउँपालिकाले बनाएको अस्थायी भवनमा विद्यालय सञ्चालन भएको छ । स्थायी भवन निर्माण पनि सुरु भएको छ । शिक्षालय प्रमुख शालिकराम डाँगीले नयाँ गुरुयोजना पनि बनेकाले केही वर्षमा गढवामा लालमटियाको भन्दा आधुनिक र व्यवस्थित संरचना बन्ने बताए ।

तराईमा एक हप्तादेखि शीतलहर

काठमाडौं – तराईमा सातादेखिको शीतलहर कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार १७ पुदेखि तराईमा शीतलहर चल्न थालेको हो ।

नेपालगन्जदेखि सिमरा क्षेत्रमा शीतलहर बढ्दै गएको र नेपालगन्जदेखि महेन्द्रनगरमा पनि सुरु भएको महाशाखाले जनाएको छ । सिमराभन्दा पूर्वको तराईमा न्यूनतम तापक्रम घटेर चिसोको लहर बढेको छ ।

महाशाखाले शीतलहरको अवस्था केही दिन कायमै रहने जनाएको छ । पछिल्ला दिनमा तराईमा दिनभर हुस्सु-कुहिरो लाग्दै आएको छ । आज बिहान पनि तराईमा बाक्लो हुस्सु छ ।

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन महाशाखाले गरेको छ । पश्चिम र मध्यतराईका धेरै स्थानमा हुस्सु-कुहिरो लाग्ने सम्भावना छ ।