`

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

पाल्पा – पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेका लागि छुटेको बस दुर्घटनामा परेको पाल्पा प्रहरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा र दानकुमारी खत्रीको मृत्यु भएको हो । १८ जना घाइते भएका छन् ।

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

पोखरा – पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा १६ दीपका १९ वर्षीय श्रम गुरुङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको छतमा गएका बेला हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यु भएको कास्की प्रहरीको भनाइ छ । करेन्टका कारण गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो ।अस्पतालमा उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको हो ।

जसपा नेपालले भोलि मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)नेपालले शुक्रबार मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने भएको छ । बिहिबार बसेको जसपा नेपाल मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको हो ।

पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिले प्रदेशसभाका सदस्यसँग छलफल तथा परामर्श गरिरहेको जनाइएको छ । मधेस प्रदेशमा जसपाका प्रत्यक्ष तथा समानुपातिकतर्फ गरेर १६ प्रदेशसभाका सदस्य रहेका छन् ।

नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन काठमाडौँमा अब ‘समय कार्ड’ लागू

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ । यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनुहुनेछ भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखी सेवा प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको छ । यसले प्रशासनको सेवा प्रवाहलाई चुस्त बनाउने र नागरिकको सेवा प्रवाह प्रभावकारी हुने विश्वास रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।

कार्यालयबाट उपलब्ध हुने विभिन्न १० वटा सेवा प्रवाहका लागि समय तोकिएको र चारवटा सेवामा भने आजैदेखि समय कार्ड लागू भएको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नयाँ नागरिकता, सङ्घसंस्थाको नवीकरण, नाबालाक प्रमाणपत्र प्राप्ति र मुद्दाको पेशी तथा तारिखमा समय कार्ड लागू गरिएको छ ।

उहाँले नागरिकताका लागि एक घण्टा, संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक प्रमाणपत्र प्राप्तिका लागि एक घण्टा र मुद्दाको पेशी र तारिखमा ३० मिनेटभित्र सेवा प्रवाह गर्ने गरी समय कार्य तोकिएको जानकारी दिनुभयो ।

नयाँ नागरिकतामा मात्रै समय कार्ड लागू भएको तर प्रतिलिपि लिनका लागि भने लागू भएको छैन । कसैले आफ्नो नागकिरता बनाउनुप¥यो भने आवश्यक कागजपत्र लिएर प्रशासन गएर बुझाएपछि फाँटका कर्मचारीले हेरेर कागजात पुग्यो भनेको एक घण्टाभित्रमा नागरिकता दिने गरी टाइम कार्ड लागू गरिएको जनाइएको छ ।

तयार भएको राष्ट्रिय परिचयपत्र वितरणमा व्यक्ति सम्बन्धित फाँटमा आएर सम्पर्क गरिसकेपछि ३० मिनेटभित्रमा कार्ड प्राप्त गर्न सक्नेछन् । तयार भएको राहदानी वितरणमा सम्बन्धित फाँटमा पुगेपछि १५ मिनेटभित्रमा दिने गरी समय तोकिएको छ । अन्य सेवामा पनि समय तोकिइसकेको र निकट भविष्यमै लागू गर्दै जाने काठमाडौँ प्रशासनले जनाएको छ ।

मुख्यतः संस्था नवीकरण, नागरिकता प्राप्ति, नाबालिग परिचयपत्र, मुद्दा पेशी तोक्ने, मुद्दाको तारिख, प्रिन्ट भएर आएका राहदानी वितरण, राष्ट्रिय परिचयपत्र कार्ड वितरण, जिल्ला प्रशासनले गर्ने विभिन्न सिफारिसलाई समयबद्ध बनाइएको हो । अनुसन्धान सकिएपछि मुद्दाको अन्तिम किनारा ६० दिनभित्रमा सक्ने गरी टाइम कार्ड बनाइएको छ ।

प्रजिअले गुनासो सुन्ने – प्रशासनबाट प्राप्त हुने यस्ता सेवाहरूमा गुनासो भएमा प्रजिअले शुक्रबारबाहेक अन्य बार ३ देखि ४ बजेसम्म गुनासो सुन्ने गरी आवश्यक व्यवस्थापन पनि गरिएको छ । आएका गुनासोलाई सुन्ने र त्यसलाई सम्बोधन गर्नेगरी प्रजिअलाई नै तोकिएको छ ।

यसका साथै अशक्त, दूधे बच्चासहितको महिलालाई पालो (क्यू)मा नराखी सिधा सेवा दिने तथा ६५ वर्षमाथि उमेर भएकाको हकमा प्रशासन कार्यालयले नै सहयोगी राखेर सेवा दिने व्यवस्था पनि मिलाइएको काठमाडौँका प्रजिअ उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले विगत लामो समयदेखिएको प्रयासमा राष्ट्रिय परिचयपत्र तथा नागरिकताको लाइन लाग्ने अवस्था हटेको जानकारी दिँदै अझै प्र्रभावकारी सेवा वितरण गर्नका लागि आवश्यक सुधार गर्दै लगिने बताउनुभयो । उहाँले परिचयपत्र र राहदानी वितरणमा अझै केही समस्या कायमै रहेको पनि बताउनुभयो ।

यसैबीच आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रशासन कार्यालयको स्थलगत निरीक्षण भ्रमण पनि गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले प्रभावकारी सेवा दिन र नागरिकलाई झन्झट नहुने गरी काम गर्न प्रशासनका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

पछिल्लो समयमा राहदानी वितरणलगायतका जनताका अत्यावश्यक सेवा प्रवाहमा नेपाल सरकारले गम्भीरतापूर्वक चासो दिँदै आवश्यक निर्देशन जारी गरिसकेको छ । गृह मन्त्रालयले बुधबार मात्रै ७७ वटै जिल्लामा परिपत्र गरी अवैध क्रसर उद्योग बन्द गर्न प्रजिअलाई निर्देशन दिइसकेको छ भने सेवा प्रवाह प्रभावकारी बनाउन पनि निर्देश गरिसकेको छ । सोही निर्देशनका आधारमा काठमाडौँ प्रशासनले प्रभावकारी सेवा प्रवाह हुने गरी आवश्यक काम थालेको हो ।रासस

‘ठग’ नटरलाल पक्राउ

धनगढी – विभिन्न बाहना तथा छुट्टाछुट्टै परिचय दिएर करौडैंको ठगि गर्दै आएका नटरलाल उप नामले परिचित दार्चुलाका पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंक तथा वित्तिय संस्थाको प्रमुख रहेको र त्याहा बाट ऋण उपलप्ध गाईदिने बहानामा होस वा अर्काको नामको जग्गा आफ्नो भन्दै वेचेर नक्कली पूर्जा दिने, महिलाको अस्लिल भिडियो बनाई बार्गेनिङ गर्ने जस्ता अपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नटरलालले कैलाली, कञ्चनपुरलाई ठगि गर्ने मुख्य थलो बनाएका थिए । त्यसबाहेक उनले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पनि ठगि गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।दार्चुलोको लेकम गाउँपालिका–१ घर भएका नटरलाललाई धनगढी–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

हाल प्रहरीले नटरलाल माथी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । साथै निज नटरलाल उपनाम गरेका पदमराज भट्टबाट ठगिएका व्यक्तिलाई प्रमाण सहित जिल्ला प्रहरीमा जाहेरी दिन पनि प्रहरीले आग्रह गरेको छ ।

बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु

बुटवल – बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन सुरु भएको छ । नगरसभाको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए ।

उनले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिने बताए । उनले भने, ‘चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका सबै योजनाहरु चालु आर्थिक वर्षभित्रै पूरा गरी आउँदो वर्षमा नयाँ योजना, नयाँ शैली र नयाँ अभियानका साथ अघि बढ्नेछौं ।’

चालु आर्थिक वर्षमा हासिल भएका उपलब्धि र प्रयासहरूको ३५ बुँदे प्रस्तुत गर्दै उनले बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६/१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापना गर्ने काम अघि बढेको बताए । उनले उज्यालो बुटवल अभियानअन्तर्गत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती जडान, संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि बुटवलका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नतीलगायतका कामका लागि नगरले अगुवाई गरिरहेको बताए ।

नगरप्रमुख पाण्डेयले गत वर्षायाममा बुटवलमा बाढीपहिरोबाट क्षति हुनबाट जोगाइएको र आगामी वर्षामा समेत जोखिम न्यूनीकरणका लागि प्रयास भइरहेको बताए ।

नगरप्रमुखले प्रस्तुत गरेको प्रगति विवरणमा बुटवलको ठेला व्यवस्थापन, इरिक्सा व्यवस्थापन गर्ने काम जारी रहेको र छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी प्रक्रिया अघि बढाएको बताए । उनले रोजगारदाता र रोजगारप्राप्त गर्ने व्यक्तिबीच समन्वय र श्रमसम्बन्धि सहजीकरणका लागि श्रम बैंक स्थापनाको काम अघि बढेको बताए ।

बुटवलको बस्तीमाथि रहेको विद्युत प्रशारण लाईन बस्तीक्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाएको, बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने र चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने काम अघि बढेको उनले बताए ।

नगरसभाको बैठकमा स्वास्थ्यसम्बन्धी ऐन पहिलो संशोधनको प्रस्ताव विधायन समितिका संयोजक नरेन्द्र बस्नेतले टेबुल गरे । बस्नेतले प्रस्ताव टेबुल गरेपछि बैठक माघ ११ गतेसम्मका लागि स्थगित भएको छ ।

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला – जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा  दुर्घटना हुदा दुइ जनाको मुत्यु भएको  प्रहरीले जनाएको  छ ।

जुम्ला प्रहरीका अनुसार  जुम्ला बसपार्कबाट रारा लिहितर्फ जादै गरेको क १ स ११ नम्वरको अटो अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी –१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला – ३ का २० वर्षीया आकाश थापा को मृत्यु भएको हो।

त्यस्तै जुम्लाका प्रहरी निरिक्षक याम बहादुर बुढा मगरका अनुसार पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको  थियो ।  आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटना भएको अटो तिला ३ को श्रीवेणी स्थित कर्णाली राजमार्ग बाट १५ मिटर तल नदिमा खसेको छ  ।

को होला कर्णालीमा मुख्यमन्त्री ? केन्द्रलाइ रिजाउन दौडधुप

सुर्खेत – सत्तारुढ दलमा कर्णाली प्रदेशमा पहिलो दल रहेको नेकपा (माओवादी केन्द्र)ले आफूले जसरी पनि मुख्यमन्त्री पाउनुपर्छ भन्दै केन्द्रीय स्तरमा दवाव बढाएको छ । अन्य प्रदेशभन्दा कर्णालीमा माओवादीको अवस्था राम्रो भएको भन्दै कर्णालीमा मुख्यमन्त्रीको दाबी रहेको माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालिबहादुर मल्लले बताए ।

प्रदेशसभामा नेकपा एमालेका १० र माओवादीका १३ सिट रहेका छन् । सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्ने भए पनि दुई दल मिलाउँदा २३ सिट पुग्छ । नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका यमलाल कडेल मुख्यमन्त्रीको दौडमा रहेका छन् ।

नेकपा एमाले कर्णाली प्रदेशको एक कार्यदलले कर्णालीमा मुख्यमन्त्री आफूले पाउनुपर्ने भन्दै केन्द्रको ध्यानाक्रषण गराएको छ । आज मात्र प्रदेश प्रमुख तिलक परियारले २७ गते बेलुकी ५ बजे सम्मा मुख्यमन्त्रीको दावी गर्न आग्रह गरिसकेको छ । मुख्यमन्त्री माओवादीले पाउनु पर्ने त्यसमा पनि रुकुम पश्चिमका राजकुमार शर्मालाइ नै गराउनु पर्ने भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा व्यापक रुपमा लागेका बताइएको छ । राजकुमार शर्माका सन्तानसमेत रहेका छन् ।

कर्णालीमा माओवादीका अर्का पिल्लरका रुपमा रहेका उपमहासचिव शक्तिबहादुर बस्नेतको जिल्ला जाजरकोटमा माओवादीको प्रदेशसभा सदस्य नै नभएका कारण राजकुमारलाइ नै मुख्यमन्त्री बनाउनका लागि दवाव दिइरहेको बताएको छ ।

कर्णालीमा आफ्नो इज्जत र प्रतिष्ठाको विषयमा भएको भन्दै माओवादीले मुख्यमन्त्री दाबी गरेको माओवादी नेताहरू बताउँछन् । यो भन्दा पहिला पनि कर्णालीमा सरकारको पहिलो नेतृत्व माओवादीले नै गरेको थियो । केन्द्रमा सहमती नभइ प्रदेशमा केही नहुने माओवादी कर्णाली इन्चार्ज मल्लले बताए । २७ गते नै फाइनली टुंगो लाग्ने उनले बताए । अहिलेसम्म कुनै पनि सहमती नभएको उनको भनाइ छ ।

मुख्यमन्त्री माओवादीले पाए सभामुख एमाले र उपसभामुख माओवादी पाउने नेताहरुले बताएका छन् । यदी एमालेले मुख्यमन्त्री पाएको खण्डमा सभामुख माओवादीले पाउने छ । यसको लागि केन्द्रमै निर्णय भएर प्रदेशमा आउने नेताहरूले बताएका छन् ।

मकवानपुरबाट अवैध अमेरिकी डलरसहित चार जना पक्राउ

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो हेटौंडा–१७ सालक पार्कबाट सिन्धुपाल्चोक जिल्ला बाहृबिसे-३ का २१ वर्षीय सोम बहादुर बम्जन, सोही ठाउँका ३३ वर्षीय दिवस बम्जन, बाहृबिसे–४ का २८ वर्षीयका कान्छा तामाङ र त्रिपुरासुन्दरी–३ का २८ वर्षीय सुक्र तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

उनीहरूको साथबाट १,७४१ अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ६ हजार २१० नेपाली रुपैयाँ, तीन वटा मोटरसाइकल, ८ बण्डल कागजको नक्कली नोट, मोबाईल ५ थान समेत बरामद गरिएको उनले बताए ।

उनीहरूलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९, २५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ(एक्टर्सन) सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

अमेरिकी क्लव आहा रारा गोल्डकपको फाइनलमा

पोखरा – अमेरिकी क्लब बीवाईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोश्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले हराउँदै अमेरिकी टोली फाइनल प्रवेश गरेको हो ।

बीवाइएससीले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै अग्रता लिएको हो । दोश्रो हाफमा दुवै टीमबाट गोल भएन । अन्ततः बीवाइएससीका रोजिन प्रजापतिको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफमा ३ मिनेट अतिरिक्त समय थपिएकोमा ४६औं मिनेटमा प्रजापतिले गोल गरेका हुन् । खेलको अन्तिममा चर्च ब्वाइजका आशिष चौधरीले रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

अब फाइनलमा बीवाइएससीले संकटालाई पार लगाउनुपर्छ । शनिबार पोखरा रंगशालामा संकटा विरुद्ध उत्रिने छ । संकटाले एपिएफलाई हराएर फाइनल प्रवेश गरेको हो ।

२५ पुसभित्र सरकार बनाउन दाबी पेश गर्न गण्डकी प्रदेश प्रमुखको आह्वान

काठमाडौं, २१ पुस । गण्डकी प्रदेश प्रमुख प्रमुख पृथ्वीमान गुरुङले २५ पुससम्ममा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । गण्डकी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुुईभन्दा बढीहरू मिलेर बहुमत पुर्याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा भनिएको छ, ‘निर्वाचन परिणामबाट नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेश सभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २५ पुस ०७९ अपरान्ह ४:०० बजेभित्र दाबी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान गर्नु भएको व्यहोरा जानकारीको लागी अनुरोध छ ।’

एमाले प्रदेश १ प्रमुख सचेतकमा भण्डारी चयन

विराटनगर, २१ पुस । एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा सर्वसम्मत चयन गरेको हो ।

भण्डारी सुनसरी २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । प्रदेश १ को प्रदेश सभामा एमालेका ४० सांसद् छन् । एमालेले यसअघि हिक्मतकुमार कार्कीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरिसकेको छ ।

भिडभाड हुने स्थान र सार्वजनिक यातायातको साधनमा स्वास्थ्य सतर्कता अपनाउन प्रशासनको अनुरोध

लमजुङ – कोभिड-१९ संक्रमण जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नेपालमा संक्रमण कम हुँदै गए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायतका केही देशहरूमा संक्रमणको नयाँ स्वरूप देखापरेकाले सतर्क रहन भनिएको छ । नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै समयमै सजग र सूसूचित हुन आवश्यक रहेको कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले सूचना सार्वजनिक गर्दै नागरिकमा सतर्क रहन भनिएको छ ।

बढी भिडभाड हुने स्थान तथा सार्वजनिक यातायातको साधनहरूमा मास्क तथा स्यानीटाइजरको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । एक अर्कामा भौतिक दूरी कायम राख्न, व्यक्तिगत सरसफाइलगायतको आवश्यक स्वास्थ्य प्रोटोकलको पूर्ण पालनाका लागि नागरिकलाई सचेत गराएको छ ।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए पनि राप्रपा सरकारमा जाने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । उसले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । साथै, उसले २७ पुसमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीबारे कुनै निर्णय गरेको छैन । राप्रपाले २७ पुसमा पृथ्वी जयन्तीमा बिदा र उपप्रधानमन्त्रीसहित चार मन्त्री पाउनुपर्ने दाबी गरेको छ । तर, सत्तारुढ गठबन्धनका एमाले र माओवादी केन्द्रले राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरिएको छ ।

रास्वपाले अहिलेसम्म यसबारे केही नबोले पनि राप्रपाले भने उपप्रधानमन्त्रीसहित चार मन्त्री मागेर आफ्नो अडान कायमै राखेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने तयारी छ । गृहमन्त्रीसहित उपप्रधानमन्त्री ताकेका लिङ्देन अब पर्यटन मन्त्रालयतिर सरेको बताइन्छ । राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सरकारमा जाने स्रोतले बतायो । पार्टी अध्यक्ष र महामन्त्री नै सरकारमा सामेल हुने भएपछि असन्तुष्टि बढेकाले राप्रपाले चार मन्त्रालय मागेको बुझिएको छ । यदि चार मन्त्रालय पाएमा राप्रपाले पृथ्वी जयन्तीको दिनको बिदालाई बटमलाइन नबनाउने राप्रपाका एक नेताले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । आफूले राखेका माग पूरा नभए सरकारमा नजाने राप्रपाले संकेत गरेपछि प्रचण्डले एकीकृत समाजवादीलाई विश्वासको मत दिन अध्यक्ष माधवकुमार नेपाललाई भेटेरे आग्रह गरेका थिए । जसअनुसार आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए । यो निर्णय एकीकृत समाजवादीले २६ पुससम्मै बाहिर नल्याउने भएको छ ।

फागुन २ गतेदेखि ६ गतेसम्म भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी हुने

काठमाडौं – नेपाल घरेलु तथा साना उद्योग महासङ्घले १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौैँ प्राङ्गारिक कृषि मेला–२०७९ आगामी फागुन २ देखि शुरु हुने भएको छ ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गरिने भएको हो । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्कमूलुक तथा चीनको सहभागिता रहने जनाइएको छ ।

‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ र मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ नारासहित महासङ्घले तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगको उत्पादनको प्रदर्शनी र व्यापार प्रर्वद्धन गरी मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी प्रदर्शनी सञ्चालन गर्ने महासङ्घले जनाएको छ ।

सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल

काठमाडौं / सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

पृथ्वीजयन्तीमा राप्रपाको जलपान समारोह

काठमाडौं, २१ पुस । राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोह गर्ने भएको छ । ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा राप्रपाले जलमान समारोह गर्न लागेको हो ।

२०६२/०६३को जनआन्दोलनअघि हरेक वर्ष २७ पुसमा सरकारले राष्ट्रियस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेको थियो । तर, जनआन्दोलनयता भने सरकारले मनाउन छाडे पनि निजीस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएका छन् ।

राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा २७ पुसमा सार्वजनिक बिदाको माग गर्दै आएको छ ।

पृथ्जीजयन्तीको अवसरमा गरिने जलपान समारोहको निम्तोमा राप्रपा अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘राष्ट्रनिर्माता श्री ५ बडमहाराजाधिराज पृथ्वीनारायण शाहको ‘३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आयोजित जलपान समारोहमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।’

बागमती प्रदेश : मुख्यमन्त्रीमा दाबी पेस गर्न २५ पुसको समयसीमा

काठमाडौं, २१ पुस । बागमती प्रदेश मुख्यमन्त्री पदमा दाबी पेस गर्न २५ पुसको समयसीमा दिइएको छ ।बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा रहेका दुई वा दुईभन्दा दलको समर्थनमा २५ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।

बिहीबार प्रदेश प्रमुख शर्माले आह्वान गरेअनुसार २५ पुस अपरान्ह ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न भनिएको छ ।

‘माननीय प्रदेश प्रमुख यादवचन्द्र शर्माज्यूसमक्ष निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगको मिति २०७१/८/२९ को निर्णयानुसार मिति २०७९/९/०२ मा पेश हुन आएकोले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नको लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/०९/२५ गते सोमबार १६ः०० बजे भित्र दावी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध छ,’ प्रदेश प्रमुख कार्यालयका प्रवक्ता  प्रकाश चापागाईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

वार्सा–युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । पोल्याण्डको वार्सामा आइतवार १८.९ डिग्री सेल्सियस (६६ एफ) रेकर्ड भएको छ भने  स्पेनको बिलबाओमा २५.१ डिग्री सेल्सियस कायम भएको छ जुन, औसतमा १० डिग्री सेल्सियसभन्दा बढी हो ।

नेदरल्यान्ड्स, लिकटेन्स्टाइन, लिथुआनिया, लाटभिया, चेक गणतन्त्र, पोल्याण्ड, डेनमार्क र बेलारुसको तापक्रमले राष्ट्रिय कीर्तिमान तोडेको छ । त्यस्तै जर्मनी, फ्रान्स र युक्रेनमा पनि तापक्रम बढ्दो छ । केही दिनअघि, बेलायत, आयरल्याण्ड, फ्रान्स र स्पेनले सन् २०२२ लाई रेकर्डमा सबैभन्दा तातो वर्ष घोषणा गरेका थिए ।

उत्तरी अमेरिकाले थप गम्भीर आँधीबेहरीको सामना गरिरहेका बेला युरोपको तापक्रम भने बढ्दो छ । अमेरिकामा केही दिनअघिको घातक हिमपातले ६० भन्दा बढीको मृत्यु भएको थियो ।  उत्तरी मध्यपश्चिमका केही भागहरूमा भारी हिउँ र चिसो वर्षाको पूर्वानुमान गरिएको छ भने टेक्सास, ओक्लाहोमा, अर्कान्सास र लुइसियानामा ठूलो आँधीको सम्भावना देखाइएको छ ।

पूर्वराजा शाहसँग रवीन्द्र मिश्रको डेढ घन्टा लामो कुराकानी

काठमाडौं – राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । पूर्वराजा शाहसँग आफ्नो १५ वर्षपछि भेट भएको उनले खुलाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मिश्रले पूर्वराजासँगको तस्बिर पनि सेयर गरेका छन् । उनले पूर्वराजासँग आफ्नो डेढ घन्टा लामो कुराकानी भएको जानकारी दिए ।

उनले पूर्वराजासँग सौहार्दपूर्ण कुराकानी र छलफल भएको जनाउँदै बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष निकालिएको पनि उल्लेख गरेका छन् । यस्तो छ पूर्वराजा शाहसँग भेटपछि मिश्रले राखेको स्टाटसः

१५ वर्षपछिको प्रेमपूर्ण भेट !

असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था। बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष।

राजाबाट गल्ती भएन भनेर मैले कहिल्यै भनिन। सन्सारमा एक या अर्को प्रकारको गल्ती नगर्ने राजा छँदा पनि छैनन्। परिपक्व राजनीतिकर्मीहरू देशको दूरगामी हितलाई ध्यानमा राखि फाइदा र हानीलाई समग्रतामा मूल्यांकन गरेर मात्र ऐतिहासिक महत्व बोकेका संस्था राख्ने या हटाउने निर्णय गर्छन्।

तर स्वार्थकेन्द्रीत र अपरिपक्व नेपाली राजनीतिकर्मीहरूले एकछिनको आवेगमा राजासँग व्यक्तिगत प्रतिशोध साँध्न देशको दूरगामी हितरअहितका बारे सोच्दै नसोची २४० वर्ष पुरानो संस्था फ्याँकिदिए। त्यो पनि राजतन्त्रको ‘निरंकुशता’को अंश मात्र हटाउने भनि गरिएको १२ बुँदे सहमतिको विपरित गएर।

२०६३ साल बैशाख ४ गते बसेको पुनर्स्थापित संसदको पहिलो बैठकले राजासँग भएको समझदारी अनुरूप राजसंस्थालाई निरन्तरता दिन जेठी छोरी पनि गद्दीको उत्तराधिकारी हुनसक्ने भनि गरिएको निर्णयको विपरित गएर। अनि चुनाव हारेर ‘जनप्रतिनिधि नै नरहेका’ कृष्णप्रसाद सिटौलालाई संविधानसभामा गणतन्त्रको प्रस्ताव फ्लोर गर्न दिएर।

संसद पुनर्स्थापना मार्फत आफ्नो गल्ती सच्याइसकेका राजालाई यसरी षडयन्त्र गरेर, विदेशीको प्रभावमा परेर, ढाँटेररछलेर गद्दीच्युत गरिएको थियो। त्यसपछि दर्जनौ स्वदेशी र विदेशी राजा जन्मिए। पृथ्वीनारायण शाहलाई सरापेर मार्क्स र माओलाई माला लाउन थाले।

अहिलेका अधिकांश राजनीतिकर्मीलाई अन्तर्राष्ट्रिय भूराजनीतिको भूमरीमा पर्न लागेको नेपाल, नेपालभित्र बढ्दै गएको जातीय र धार्मिक संवेदनशीलता तथा नेपाली सेनाबाहेक राजनीतिले बेस्कन गिजोलिएका र लगभग पूर्णत क्षयीकृत भएका नेपालका सबै संस्थाहरूबारे मतलबै छैन।

नेपालजस्तो कमजोर र कुनै पनि बेला ‘असफल राज्य’ मा परिणत हुनसक्ने देशमा संकटको घडीमा अभिवावकीय भूमिका खेल्न सक्ने एउटा संस्था नराख्ने हो भने संकटमा फसिसकेपछि त्यो खोजेर पनि पाइँदैन। ढिलो भइसकेको हुनेछ।

म पत्रकार हुँदा र राजा ‘राजा’ नै हुँदा सन् २००७ मा उनलाई दुईपटक भेटेको थिएँ। त्यसपछिको भेट यही नै हो। राजाको दिर्घायुको तथा देशको हितलाई हेरेर, विचारभन्दा माथि उठेर सबै पक्ष राजसंस्थाको छिटोभन्दा छिटो पुनर्स्थापनामा सहमत होउन् भन्ने कामना गर्दछु । यो नेपालका लागि मात्र नभएर, दक्षिण एशियाकै दिर्घकालीन हितमा हुनेछ।

स्ववियु निर्वाचन ५ चैतमा

काठमाडौं, २१ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ ।

विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको हो । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा त्रिवि आलोचित हुँदै आएको थियो ।

सुदूरपश्चिम : मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश सदस्यलाई आह्वान

धनगढी – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले २७ पुसभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश सदस्यलाई आह्वान गरेका छन् ।एक दलको नेतृत्वमा सरकार बन्ने सम्भावना नभएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको प्रतिनिधित्व गर्दै बहुमत जुटाउन सक्ने सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको आह्वानपछि सुदूरपश्चिममा अबको मुख्यमन्त्री को भन्ने चासाे देखिएकाे छ । केन्द्रमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीसहितको समर्थनमा पुष्पकमल दहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको छ । त्यसका आधारमा सुदूरपश्चिम प्रदेशमा पनि एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी, राप्रपासहितको सरकार बन्ने अनुमान गर्न सकिन्छ ।तर केन्द्रीय भागबन्डा अझै नटुंगिँदा सुदूपश्चिममा तोकेको समयमा सरकार बन्नेमा आशंका उब्जन थालेको छ ।

केन्द्रीय गठबन्धनमा आबद्द रहेका दलहरूमध्ये सुदूरपश्चिममा एमाले, माओवादी नागरिक उन्मुक्ति पर्टीले आ–आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गरिरहेका छन् । जसकारण पनि सरकार निर्माणको विषय अझ पेचिलो बनेको छ । ५३ सदस्यीय सुदुरपश्चिम प्रदेश सभामा कुनै पनि दलको बहुमत छैन । संघीय गठबन्धनका दलहरूको बहुमत पुगेको छ । गठबन्धनमा आबद्ध दल पनि नेतृत्वका लागि केन्द्रकै निर्णयको प्खाईमा छन् ।

माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्जसमेत रहेको संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्रीमा माओवादीको दावी स्वाभाविक रूपमा रहेको बताउँछन् । ‘सुदुरपश्चिममा गठबन्धनको सबैभन्दा ठूलो दलको हैसियतले हाम्रो दावी छ र न्यायोचित पनि हुन्छ,’ भट्टले भने, ‘नेतृत्व यसमा सकारात्मक पनि छ ।’

समग्रमा भने केन्द्रीय भागबण्डाले प्रदेशको नेतृत्व कस्को हुने भन्ने टुंगाे लाग्ने उनले बताए । केन्द्रले प्रदेशमा कसकाे नेतृत्वमा सरकार बनाउने भन्ने टुंगाे लगाएपछि यो विषय एकैछिनमा हल हुने छ,’ उनले भने, ‘किनकि प्रदेशमा सबै दलले संसदीय दलको नेता छनाेट गरिसकेका छन्, त्यसलै जुन पार्टीले नेतृत्व पाउँछ सोही पार्टीको संसदीय दलको नेता स्वाभाविक उम्मेदवार हो, तर केन्द्रमा भागबण्डा नमिल्दा समस्या भएको छ, केन्द्रमा हुने ढिलाइले प्रदेश प्रमुखले दिएको समयावधिमा सरका निर्माण गर्न केही समस्या हुन सक्दछ ।’

एमाले पोलिटब्युरो सदस्य एवं  सुदुरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल प्रदेशको मुख्यमन्त्रीको दाबी आफ्नो दलको रहेको भए पनि केन्द्रीय निर्णय पर्खिरहेको बताउँछन् । ‘प्रदेशमा मुख्यमन्त्रीमा एमालेको दावी स्वाभाविक छ,’ रावलले भने, ‘तर केन्द्रमा बनेको कार्यदलले निर्णय गरेपछि सुदूरपश्चिममा कसको नेतृत्वमा सरकार बन्छ भन्ने तय हुनेछ ।’

प्रदेशमा संघीय गठबन्धनका दलहरुका बीचमा पटकपटक छलफल भए पनि सहमति हुन सकेको छैन । सबै दलहरुले आफ्नो दावी पेस गरेका छन् । नागरिक उन्मुक्ति पार्टी प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरी आफ्नो नेतृत्वमा सरकार बनाउन पहल भइरहेको बताउँछन् । केन्द्रमा नागरिक उन्मुक्ति पार्टीले प्रचण्डको नेतृत्वमा सरकार बनाउन समर्थन मात्रै गरेको, तर गठबन्धनमा आफ्नो दल सहभागी नभएको चौधरीले बताए ।

नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकार निर्माणका लागि निर्णायक पार्टी रहेका कारण पनि नेतृत्वमा दाबी रहेको उनले बताए । ‘जसको सरकार बने पनि नागरिक उन्मुक्ति पार्टी निर्णायक हुन्छ,’ चौधरीले भने, ‘हामी अरुका लागि मात्रै किन समर्थन दिने ? हाम्रो नेतृत्व पनि दलहरले स्वीकार्नु पर्यो नि ।’ जसले नागरिकको सरकार बनाउन सहयोग गर्छ त्यही पार्टीसँग सहकार्य गर्न तयार रहेकाे उनले बताए ।

थारुको पहिचान, टीकापुर घटनाको राजनीतिक रूपमा समाधान गर्न र जेलमा रहेका नेता कार्यकर्तालाई रिहाइका लागि पनि नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकार बन्नु आवश्यक रहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेश सभामा प्रचण्ड नेतृत्वमा सरकार बनाउन बनेको गठबन्धनमा सहभागी माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको बहुमत पुग्छ । प्रदेश सभामा माओवादीका ११, एमालेका १०, उन्मुक्तिका सात र राप्रपाका एक गरी गठबन्धनसँग सुदूरपश्चिम प्रदेश सभामा २९ सदस्य छन् ।

गठबन्धन बाहिर नेपाली कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एक स्वतन्त्र प्रदेश सांसद छन् । केन्द्रमा निर्णय हुन ढिलाइ भएको खण्डमा २७ पुसपछि प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार निर्माणका लागि प्रदेश प्रमुखले आह्वान गर्न सक्छन् । सोधारा लागू भएको अवस्थामा प्रदेशको सबैभन्दा ठूलो दलले मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्दछ । त्यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा अल्प मतको सरकार बन्न सक्छ ।

सभामुखमा पनि अन्याेल

सत्तारुढ दलहरुबीच केन्द्रीय भागबण्डामा सहमति हुन नसक्दा सुदूरपश्चिममा सभामुख र उपसभामुख चयनको प्रक्रिया पनि अन्यौलमा परेको छ । १८ पुसमा बसेको प्रदेश सभाको पहिलो बैठकमा अध्यक्षता गरेका जेष्ट प्रदेश सभा सदस्य मानबहादुर रावलले २८ पुसमा समाभुख चयनका लागि प्रक्रिया अघि बढाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

त्यसअनुसार २८ पुसभित्र दलहरूले कसलाई समामुख बनाउने भन्ने टुङ्ग्याई सक्नु पर्ने छ । तर केन्द्रीय भागबण्डाका कारण सो विषय पनि अन्याेलमा परेको छ । ‘केन्द्रमा सत्तारुढ दलबीच प्याकेजमा सहमतिका लागि छलफल भइरहेको छ,’ एमालेका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले भने, ‘केन्द्रमा जति छिटो सहमति हुन्छ, त्यसले प्रदेशमा काम गर्न सजिलो हुने छ ।’ हालसम्म निर्णय भएको जानकारी प्राप्त नभएको उनले बताए । सुदूरपश्चिममा सभामुखका लागि हालसम्म कुनै पनि पार्टीबाट आकांक्षी देखिएका छैनन् ।

नेपाल प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनमा माइक खोसाखोस

सुर्खेत, २१ पुस । नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको क्रममा विवाद भएको छ। अधिवेशनमा संस्थापन र संस्थापन इतर पक्षको पार्षदको विषयलाई लिएर विवाद गरेका हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुस्थित होटेलमा बिहीबार आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषय लिएर दुई पक्षबीच लफडा भएको हो । संस्थापन इत्तर पक्षधरका पार्षदहरू धेरै भएको र संस्थापन पक्षधर पार्षदहरूको नाम काटिएको भन्दै संस्थापन पक्षधरले विरोध गरेका हुन् ।

अधिवेशनमा सहभागी एक व्यक्तिले दुई पक्षधरबीच माईक खोसाखोसको स्थिति सृजना भएको बताए । उनले भने, ‘हुम्लाका एक प्रतिनिधिले माइकनै चुडाई दिएका छन् ।’

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा‍. मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानीलगायतको सहभागीता छ । उनीहरूको अगाडि दुई पक्षबीच धकेला धकेल भएकाे थियाे ।

स्याङ्जाको भीरकोटले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने

पोखरा – स्याङ्जाको भीरकोट नगरपालिकाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बि दिने भएको छ । पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्दै नगरपालिकाले बिदा दिने मेयर गोविन्द कर्माचार्यले जानकारी दिए ।

विश्व हिन्दु युवा महासंघले सार्वजनिक बिदाको माग सहित ज्ञापनपत्र बुझाएको थियो । अघिल्लो वर्ष पनि स्याङ्जाका सात पालिकाले सार्वजनिक बिदा दिएका थिए । गोरखा नगरपालिकाले पनि हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

गोरखाबाट पृथ्वी जयन्तीकै अवसरमा एकीकरण यात्रा सुरु भएको छ । बिहीबारदेखि रिपुमर्दन गणले एकीकरण यात्रा सुरु गरेको हो । उक्त टोली धादिङ, नुवाकोट हुँदै काठमाडौं पुग्नेछ ।

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सिट रिक्त रहेको थियो ।

चार वर्ष बित्दा पनि सुध्रिएन कर्णाली प्रदेश यातायात कार्यालय

सुर्खेत, २१ पुस-स्थापनाको चार वर्ष पुरा हुँनै लाग्दा यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशकाे गन्जागोल अवस्थामा सुधार हुन सकेकाे छैन । भौतिक पूर्वाधारदेखि जनशक्ति अभावसम्म, ट्रायल सेन्टर अभाव देखि भिडभाड कुनै पनि प्रक्रियामा सुधार हुन सकेकाे छैन ।

सेवाग्राहीको चाप बढे पनि यहाँ काम गर्ने तरिका नमिल्दा सेवाग्राही दैनिक निराश भएर फर्कने गरेका छन् । जुम्लामा रहेको उक्त चार वर्षअघि कार्यालय सुर्खेतमा सारिएको थियो । जनशक्ति र पूर्वाधारको अभावले सेवा प्रवाहमा असहज भइरहेको कार्यालयका निमित्त प्रमुख आनन्द चपाईंको गुनासो छ । अहिले करारमा कर्मचारी राखेर काम चलाए पनि दक्ष जनशक्ति नभएकाले काम गर्न मुस्किल भएको उनको भनाइ छ ।

देश संघीयतामा गएपछि ०७५ मा प्रदेश सरकार मातहत सञ्चालन हुनेगरी यातायात व्यवस्था कार्यालय बनाइएको थियो । प्रदेश कार्यालय भए पनि यहाँ काम गर्ने दरबन्दी भने पुरानै छ । कार्यालयले हाल १२ प्रकारका सेवा दिने गरेको छ । लाइसेन्स वितरण, लाइसेन्स नवीकरण, सवारी साधन जाँच, रूट परमिट, भाडा निर्धारणलगायतका सेवा दिने गरिएको छ ।

यातायात कार्यालयमा कम्तिमा पनि २५ जनाको दरबन्दी हुनुपर्ने भए पनि १५ जना कर्मचारीको स्थायी दरबन्दी रहेको कार्यालयमा आठ जना कर्मचारीको भरमा काम हुँदै आएको छ । बाँकी सात जना स्थायी कर्मचारीको दरबन्दी खाली रहेको छ । कार्यालय प्रमुख समेत उपसचिव हुनुपर्ने व्यवस्था भए पनि वर्षाैंदेखि निमित्तको भरमा कार्यालय सञ्चालन हुँदै आएको छ ।

सेवालाई गुणस्तरिय गराउन प्रविधिमैत्री हुने भनिए पनि कर्मचारीहरूलाई आवश्यक तालिम र उपकरणको व्यवस्थासमेत नहुँदा काममा समस्य पर्दै आएको छ । निमित्त प्रमुख चपागाईंले बिचौलियाको बढ्दो हस्तक्षेपले कार्यसम्पादन प्रक्रियामा नै असहज बनेको बताए । उनले कार्यालयमा तीन किसिमका बिचौलियाको प्रभाव देखिने गरेको बताए । उनले भने, ‘यहाँ तीन प्रकारका दलालहरूको बिगबिगी छ, बिचौलियाको प्रवेश रोक्न थुप्रै प्रयास गरियो, तर सफल हुन सकिएको छैन ।’

लाइसेन्सको प्रयोगात्मक परीक्षा लिन निजी कम्पनीको ट्रायल सेन्टर भाडामा लिएर काम गरिएको छ । आफ्नो कुनै सरकारी संरचना नहुँदा निजी क्षेत्रसँग सम्झौता गरेर प्रयोगात्मक परीक्षा सञ्चालनको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । माघ ०७६ देखि सुर्खेतबाटै लाइसेन्स वितरणको काम सुरु गरिए पनि कार्यालयसँग लिखित परीक्षा सञ्चालन गर्ने हल नहुँदा परीक्षर्थीले लिखित परीक्षा खुलाचौरमा बसेर दिने गरेका छन् ।

वीरेन्द्रनगर–५ स्थित गणेशचोकमा ट्रायल सेन्टर निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ । अहिले निजी कम्पनीले सम्झौताअनुसार प्रतिस्कुटर तथा मोटरसाइकलको दुई सय र गाडीको पाँच सय इन्ट्रि शुल्क लिँदै काम गरिरहेको छ ।

भैरहवा भन्सारमा हुँदैन खाद्यन्नकाे गुणस्तर परीक्षण, उपभोक्ताकाे स्वास्थ्यमाथि खेलबाड

भैरहवा – भैरहवा भन्सार हुँदै भित्र्ने खाद्यन्नको ल्याब परीक्षण नै नभई भित्रिने गरेको छ । उपभोक्ताले सिधैँ प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफुल (काजु, बदाम)लगायतका वस्तुको खाद्य परीक्षण नै नभई नेपाल भित्रिने गरेको हो ।

भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिदा खानयोग्य छ कि छैन भनि परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पुरा भए भन्सार कार्यालयमार्फत भित्रिने हुन्छ । तर, भैरहवा भन्सार हुँदै आयात भएका यस्ता खाद्यवस्तुको क्वारेन्टिन जाँच मात्रै हुने गरेको छ ।

सरकारले खानयोग्य वस्तु मात्रै भित्रि्योस् भन्ने उद्देश्यले खाद्य गुणस्तरका लागि प्रमाणीकरण कार्यालय स्थापना गरेको छ । भैरहवा भन्सारनजिकै रहेको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाले ती वस्तुको ल्याबटेस्ट गर्ने भनिए पनि त्यस्ता वस्तु त्यहाँ जाँच नभई सिँधै उपभोक्तको भान्सामा पुग्ने गरेको छ ।

कुनै पनि खाद्य वस्तु खानयोग्य छ कि छैन भनि गुणस्तर जाँच हुन्छ । खानयोग्य मापदण्डमा भए मात्रै भित्रिन्छ । अन्य तयारी खाद्यवस्तु चाउचाउ, चकलेट, बिस्कुटलगायत परीक्षण भए पनि खाद्यन्नको गुणस्तर परीक्षण नै नभई भित्रिने गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा हालसम्म चार हजार नाै सय २९ वटा तयारी खाद्य वस्तु परीक्षण गरेकोमा दुई वटा खान अयोग्य भई भन्सारबाट फिर्ता पठाइएको छ ।परीक्षणबाट खानयोग्य भएपछि  करिब ११ हजार मेट्रिक टन खाद्यवस्तु भैरहवा भन्सार हुँदै भित्रिएको छ । भित्रिएका ती वस्तुमध्ये कृषिजन्य खाद्य वस्तु नभई तयारी वस्तु मात्रै रहेको छ ।

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा मात्रै करोडौं मूल्य बराबरको खाद्यान्न भन्सार जाँचपास गरी नेपाल पठाएको छ तर पठाएका ती वस्तुमध्ये कुनैको खाद्य गुणस्तर परीक्षण भएको छैन ।

भन्सार विभागले जारी गरेको एकद्वार प्रणलीअन्तर्गतको सिस्टममा अनलाइनमार्फत के कस्तो वस्तु हो त्यसको अवस्था हेरेर परीक्षणका लागि पठाउने गरेको छ । तयारी खाद्यवस्तु खाद्य प्रमाणीकरण कार्यालय, पशुजन्य खाद्य वस्तु पशु क्वारेन्टिन कार्यालय र कृषिजन्य खाद्यवस्तु प्लान्ट क्वारेन्टिन कार्यालयबाट परीक्षण भई स्वीकृति गरेमा मात्रै भन्सार जाँचपासको प्रक्रिया अगाडि बढ्छ तर उपभोक्ताले सिधैँ प्रयोग गने केही वस्तु चामल, दाल, गेडागुडी, मकै, तोरी, चियालगायतका वस्तु खाद्य गुणस्तरका लागि स्थापना भएको कार्यालयमा परिक्षण नै नभई भन्सार कार्यालयले जाँचपास गर्ने गरेको छ ।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाका प्रमुख रविन्द्र झाका अनुसार कार्यालयमा हालसम्म कुनै खाद्यान्नको नमुना परीक्षण नगरेको बताए । उनले भने, ‘हामीले तयारी खाद्यवस्तुको परीक्षण चालु आवमा करिब पाँच हजारको गरे पनि खाद्यन्नको परीक्षण गरेका छैनौँ । खाद्यान्न पनि भैरहवा भन्सार नाकाबाट आयात भइरहेका छन् । तर भन्सारले नमुना विश्लेष्णका लागि नपठाएकोले हालसम्म कुनै खाद्यान्नको परीक्षण भएको छैन ।’

यस भन्सारबाट आउने खाद्यन्नको गुणस्तर परीक्षण नहुने भएकोले तस्करी र खुला सीमाबाट आउने खाद्यन्न सरह हुने गरेका छन् । गुणस्तरहीन खाद्यन्न पनि सहजै नेपाल भित्रिएर उपभोक्ताले प्रयोग गरिरहेका छन् । जसले उपभाेक्ताकाे स्वास्थ्यमा गम्भीर असर परिरहेकाे छ ।

भन्सार जाँचपास अनलाइनबाट हुने भन्सार प्रमुखकाे दाबी

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भैरहवा भन्सार कार्यालयले अनलाइन प्रणालीमार्फत भन्सार जाँचपास गर्ने गरेको बताए । भन्सारको एकीकृत प्रणालीमा खाद्य गुणस्तर परीक्षणको अनलाइन प्रणाली समाविष्ट भएअनुसार नाकाबाट भित्रिएने खाद्यवस्तुको प्लान्ट र विषादी परीक्षण हुने गरेको बताए । परीक्षणविना भन्सार जाँचपासको प्रक्रिया सुरु नहुने उनकाे दाबी छ ।

कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रमाणिकरण कार्यालय र प्लान्ट क्वारेन्टिनको कार्यविभाजनका कारण परीक्षणमा केही समस्या आएको छ । कृषि मन्त्रालयले भन्सार विभागलाई अफलाइनबाट परीक्षण गर्न भने विभागको परिपत्रअनुसार खाद्यन्नको गुणस्तर पनि परिक्षण गर्ने उनले बताए । उनले भने, ‘सिस्टममा त्यो व्यवस्था नभएकोले कृषि मन्त्रालयको विवाद हामीमाथि दोषारोपण गर्न खोजियाे । ‘

प्लान्ट क्वारेन्टिन तथा कीटनाशक व्यवस्थापन केन्द्र भैरहवाका प्रमुख कुलदीप घिमिरेले रोग किरा र झारपात जस्ता क्वारेन्टिन परीक्षण मात्रै गर्ने गरेको बताए । खाद्य वस्तुको गुणस्तर हेर्ने काम आफ्नाे नभएको र गुणस्तर हेर्न पनि नभनिएको उनले बताए । खाद्यान्नमा विष, छ  वा रंग मिसाइएको छ छैन भनेर हेर्न विशेषज्ञ नहुने उनकाे भनाइ छ ।

चिसोमा सुरक्षित रहन मनाङ प्रशासनको आग्रह

लमजुङ २१ पुस । मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ । चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको हो।

जाडो याममा चिसोबाट जोगिन न्यानो कपडा लगाउन, हिमपात तथा अत्यधिक चिसोको समयमा घरबाहिर लामो समय नबस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताइन् । उनका अनुसार हिमपातको समयमा न्यानो कपडा, सिरक, कम्बलजस्ता कपडाको प्रयोग गर्न अनुरोध गरिएको छ ।

हिमपातको समयमा चिसो बढ्ने तथा अत्यधिक हुरी/बतास चल्ने भएकाले न्यानो भएर बस्न सुझाव दिइएको उनले बताए। हिमपातपश्चात् हिम पहिरा जान सक्ने भएकाले त्यस्ता सम्भावित जोखिमयुक्त क्षेत्रतर्फ नजान अनुरोध गरिएको छ ।

चिसोमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ध्यान राख्न र हिमपातको समयमा घरेलु पशुपन्छीलाई सकेसम्म बाहिर खुला नछाड्न सूचित गरिएको छ । पशुपन्छीलाई गोठ तथा टहरामा राखेर घाँस, पराल तथा दाना दिने व्यवस्था गर्न भनिएको छ ।

चिसो मौसममा कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्न सक्ने हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनिएको छ ।होटल तथा कोठामा आगो, हिटर तथा गिजर प्रयोग गर्नुपर्दा पर्याप्त मात्रामा भेन्टिलेसनको व्यवस्था गर्न सूचनामार्फत जिल्लावासीलाई अनुरोध गरिएको छ । चिसो बढेसँगै हुनसक्ने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी रहन जिल्लावासीमाझ अनुरोध गरिएको हो ।

प्रधानमन्त्रीले भेटे कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबा

काठमाडौं, २१ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत बिहीबार राति कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुबा अग्नि पाण्डेसँग भेट गरेका छन्र्नु ।

प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर पाण्डेसँग भेट गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेका प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्र्नु । प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारणका लागि निराकारका बुबा अग्निलाई आग्रह गरेका छन् ।

सुरक्षीत तरिकाले अध्ययनका लागि क्यानडा उड्ने सबैभन्दा भरपर्दो माध्यम हो गोरेटो

काठमाडौं ।  पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली बिद्यार्थीहरूको चासो बढिरहेको देखिन्छ । गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका विषयमा दुई  विद्यार्थी तथा अभिवाहकहरूका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समयसँगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा  गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरू, कलेज तथा विश्विद्यालयको पढाईको अवस्था, जागिरको अवसर र प्रकार लगायतका विषयमा जानकारी तथा छलफल गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख परामर्शदाता धिरज कँडेलले क्यानाडामा अध्ययन गर्नजाने विद्यार्थीहरूले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानाडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरू र सामना गर्नुपर्ने चुनैतीको बारेमा जानकारी गराएका थिए ।

विद्यार्थीहरूले क्यानाडा गएपछि सुरुवाती दिनहरूमा कामभन्दा पनि अध्ययनलाई बढी प्राथमिकतामा राख्न सुझाव दिँदै पढाइपछि  विद्यार्थीहरूले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरू प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने बताएका थिए ।

सो अवसरमा अर्का परामर्शदाता सतिश भट्टले हरेक आवेदकको पढाई, आर्थिक अवस्था, अनुभव फरक–फरक हुने भएकाले सबै डिपिन्डेटमा जाने विद्यार्थी र उनको जीवनसाथीले भिन्दाभिन्दै आवेदन दिनु प्रभावकारी हुने बताए ।

परामर्शदाता तथा विद्यार्थी संयोजक प्रकाश रेग्मीले विद्यार्थीहरूलाई ढुक्क भएर पीटीई तयारी गरेर राम्रो अंक प्राप्त गरेपछि आवदेन दिन सुझाव दिए । क्यानाडाको अध्ययन भिषामा जान विजनेस, कम्प्युटर प्रोग्रामिङ, हस्पिटालिटी, नर्सिङ, फोटोग्राफ्री, बेकरी तथा पेष्ट्री, प्लम्बिङ्ग, कारपेन्ट्री, कृषि तथा सिभिल इन्जिनियरिङ्ग लगायतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थीहरूले आवेदन  दिन सक्नेछन् ।

प्रि-ओपन सेसनमा नेप्से ९.०३ अंकले उकालो

काठमाडौं, २१ पुस । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ९.०३ अंकले उकालो लागेको छ । यससँगै सूचक २१३४.८७ विन्दुमा आएको छ ।

५४ कम्पनीको कुल १३ हजार ६२६ कित्ता सेयर खरिदबिक्री भएको र ५१ लाख ७ हजार ७५९ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४४ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । साथै ४ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरू मध्ये ३ कम्पनीमा कुनै पनि परिवर्तन आएको छैन । बाँकी सबै कम्पनीहरूमा वृद्धि भएको छ ।

सन्दीप लामिछानेको मुद्दा चौथो नम्बरमा

काठमाडौं, २१ पुस । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुुँदै छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । सोही पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदै छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको छ । उक्त इजलासमा सन्दीपको मुद्दा चौथो नम्बरमा परेको छ ।

यसअघि दुईपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । पहिलो पेसीमा सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। तर, बिहीबार उनको पेसी चौथो नम्बरमा परेको छ ।

हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायका लागि बुधबार क्रिकेटरहरुले आवाज उठाएका थिए ।  एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार उनी १८ कात्तिकमा कारगार चलान भएका थिए ।

घट्याे अमेरिकी डलरकाे मूल्य

काठमाडौं, २१ पुस । नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा १३ पैसाले ओरालो लागेको छ । यसको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा तोकिएको छ । बुधबार यसको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

युरोपियन युरोमा ६४ पैसाले वृद्धि भएको छ । युरोपियन युरो एकको खरिद १४० रुपैयाँ २७ पैसा र बिक्रीमा १४० रुपैयाँ ९० पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर १३९ रुपैयाँ ६३ पैसा र बिक्रीमा १४० रुपैयाँ २६ पैसामा भएको थियो ।

अष्ट्रेलियन डलरको खरिदमूल्य ९० रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २४ पैसामा कारोबार भैरहेको छ । बुधबारको तुलनामा बिहीबार अष्ट्रेलियन डलरमा १ रुपैयाँ ९४ पैसाले उकालो लागेको हो ।

साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३२ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ४ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४० पैसा र बिक्रीमा १० रुपैयाँ ४४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९१ पैसा र बिक्रीमा १६ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५२ रुपैयाँ २० पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

नेपाली दूतावास भियानामाथि मानव तस्करीको आरोप

लन्डन – अष्ट्रियाको भियानामा रहेको नेपाली दूतावास क्रोसियामा नेपाली कामदार पठाउने कागजातसम्बन्धी विवादमा तानिएको छ । क्रोयसियामा कामदार पठाउन रोजगार मागपत्र प्रमाणीकरण गर्ने बहानामा नेपाली राजदूत भरतकुमार रेग्मीलगायतको मिलेमतोमा ठूलो संख्यामा श्रमिकहरु युरोप छिराउन लागेको आरोप लागेपछि दूतावास विवादमा मुछिएको हो ।

गैरआवासीय नेपाली संघ अष्ट्रियका पूर्वअध्यक्ष विनोद चौलागाईले दूतावासको संलग्नतामा गैरकानुनी काम भएको बताए । तर, दूतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ तथा अन्य प्रचलित कानुनबमोजिम तय भएका श्रम गन्तब्य मुलुकहरुमा कामदार पठाउन मात्र पत्र प्रमाणीकरण गर्ने कार्य नेपाली दूतावासको कार्यक्षेत्र रहेको जनाएको छ ।

दूतावासभित्र विचौलियाले अनावश्यक चलखेल गर्न नपाउने र मागपत्र प्रमाणीकरण कार्य पारदर्शी र व्यवस्थित बनाउन सचेत र सजक रहेको दूतावासले दावी गरेको छ । विज्ञप्तिमा सामाजिक सन्जालमा प्रकाशित क्रोयसियामा कामदार पठाउनेसम्बन्धी रोजगार मागपत्र प्रमाणीकरणसँग जोडिएर आएका समाचारहरु भ्रामक रहेको उल्लेख छ ।
दूतावासले प्रचलित कानुनबमोजिम माग पत्र प्रमाणीकरण कार्यलाई व्यवस्थित गर्न विद्यमान व्यवस्थामा रही सुधार गर्नुपर्ने देखिएकाले २०२२ अगष्टदेखि मागपत्र प्रमाणीकरण गर्ने कार्य स्थगित गरिएको जनाएको छ । विज्ञप्तिमा क्रोयसियामा हालै सेन्जेन समूहमा प्रवेश गरेको विषयमा दूतावासपूर्ण रुपमा जानकार रहेको र सो समूहमा प्रवेश भएपछि परिवर्तन हुनसक्ने अध्यागमन तथा श्रमसम्बन्धी कानुनी व्यवस्थाका बारेमा स्पष्ट जानकारी आएपछि मात्र सम्बन्धित मुलुकका कम्पनीहरुबाट प्राप्त हुने माग पत्र प्रमाणीकरण कार्य सुचारु गरिने उल्लेख छ ।

यसअघि गैरआवासीय नेपाली संघ अष्ट्रियका निवर्तमान अध्यक्ष विनोद चौलागाई र सञ्चारकर्मी बाबाराजेश्वरी थापाले अष्ट्रियाका लागि नेपाली राजदूत, कर्मचारीहरु र एनआरएनए अष्ट्रियाको समेत संलग्नतामा मानव तस्करी भएको भन्दै हेलो सरकारमा उजुरी दर्ता गरेका थिए ।

आज कति छ तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार हरियो तरकारी र फलफूलको मूल्य तोकेको छ । जसअनुसार आज रातो आलु ४० रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।

कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ र डल्ले च्याउ २५० रुपैयाँ रहेको छ । ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ३० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ६० रुपैयाँ रहेको छ ।

तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी १०० रुपैयाँ, तिते करेला १०० रुपैयाँ, प्याज हरियो ४० रुपैयाँ, सुकेको प्याज ४२ भिण्डी १०० रूपैयाँ, लौका ५० रुपैयाँ, घिरौला ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ८० रुपैयाँ र कागती १०० रुपैयाँ प्रतिकेजी रहेको छ ।

स्कोरपियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु, दुई महिला घाइते

बारा – स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीका एक पुरुषको मृत्यु भएको छ । दुई महिला घाइते भएका छन् ।

पथलैया–निजगढ सडकखण्डअन्तर्गत पसाहा पुल नजिक बिहीबार बिहान भएको दुर्घटना भएको हो । निजगढबाट पथलैयातर्फ आउँदै गरेको स्कोरपियोले सोही दिशाबाट आइरहेको मोटरसाइकल र साइकललाई एकै ठाउँमा ठक्कर दिँदा टांगिया बस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाइते भएका छन् । उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये आलेमगरको अवस्था गम्भीर छ । घाइते दुवैलाई थप उपचारका लागि वीरगन्ज अस्पताल पठाउने तयारी भइरहेको छ ।

बिहानको समयमा तीव्र गतिमा आएको ग२च ४४१३ नम्बरको स्कोरपियोले पसाहा पुलदेखी पूर्वतर्फ प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाइकल र दुईवटा साइकललाई पछाडिबाट ठक्कर दिएको थियो । स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व नूतन श्रेष्ठले गर्ने

काठमाडौं – ‘मिस्टर नेपाल वल्र्ड’ नूतन श्रेष्ठले ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । श्रेष्ठलाई नेक्स्ट मोडल्स नेपालले प्रतियोगितामा पठाउन लागेको हो ।यो वर्ष ‘मिस्टर वल्र्ड’ आयोजना नहुने भएकाले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’ मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

आगामी २ देखि १२ फेब्रुअरीसम्म थाइल्यान्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपाली कला संस्कृतिसहित सहभागी हुन लागेका हुन् । जसका लागि उनले प्रशिक्षणदेखि विभिन्न तयारीसमेत गरिरहेका छन् । करिब ६० बढी देशका पुरुषहरूको सहभागीता रहने ‘मिस्टर ग्लोवल’ प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिन्छ ।

श्रेष्ठ ‘मिस्टर नेपाल वल्र्ड २०२२’ का विजेता पनि हुन् । ‘मिस्टर नेपाल’ पुरुषहरू सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । २६ वर्षका श्रेष्ठले ३५ प्रतिपस्र्धीलाई पछि पार्दै उपाधि चुमेका थिए ।

‘मिस्टर ग्लोवल’ को उपाधि नेपाल भित्र्याउने लक्ष्यसहित प्रतियोगितामा आफू सहभागी हुन लागेको श्रेष्ठले बताए । ‘उपाधिको अलावा नेपाली कला संस्कृति, पर्यटन प्रवद्र्र्धनसमेत प्रतियोगितामा गर्नेछु,’ उनले थपे ।

‘गोरखा’ बाट अलग्गिए अक्षय कुमार

मुम्बई – अभिनेता अक्षय कुमारले निर्देशक आनन्द एल रायको फिल्म ‘गोरखा’मा अभिनय नगर्ने भएका छन् । यो फिल्म भारतीय सेनाका मेजर जनरल इयान कार्डोजोको बायोपिक थियो । यो फिल्म सन् १९७१ को युद्धमा आधारित थियो ।

मेजर जनरल इयान कार्डोजोले सन् १९७१ को युद्धमा उनको खुट्टा एक लेन्ड लाइनमा परेपछि खुकुरीले आफ्नो खुट्टा काटेका थिए ।निर्देशक रायका अनुसार फिल्मको स्क्रिप्टको काम अन्तिम चरणमा रहेको छ । कथा पूरा भएपछि फिल्मको छायांकन सुरु गर्ने रायको योजना भए पनि अक्षय पछि हटेपछि कसलाई अभिनय गराउने भन्नेमा अन्यौलमा छन् ।

अक्षय फिल्मबाट अलग्गिएको उनका प्रवक्ताले पुष्टि गरेका छन् । तर के कारणले उनी अलग्गिए भन्ने विस्तृत खुलाएका छैनन् ।

सुशान्तसिंह राजपूतको फ्ल्याटले पायो नयाँ मालिक

मुम्बई – अभिनेता सुशान्तसिंह राजपूतको निधन भएको अढाई वर्ष बढी भइसकेको छ । तर उनी बस्ने बान्द्रास्थित वेस्टवाला फ्ल्याट खाली नै थियो । आफ्नै फ्ल्याटमा मृत सुशान्त मृत भेटिएपछि उनी बस्ने फ्ल्याटमा कोही पनि बस्न मानेका थिएनन् ।

तर अब भने उनको फ्ल्याट किन्न एक भाडावाल भेटिएका छन् । मुम्बईमा रहेको रियल स्टेट ब्रोकर रफीक मर्चेन्टका अनुसार एक व्यक्तिले मासिक पाँच लाख रुपैयाँ भाडा तिर्ने सर्तमा फ्ल्याटमा बस्न तयार भएका छन् । पाँच लाखका अलावा भाडावालले ३० लाख रुपैयाँ सुरक्षा पनि जम्मा गर्नुपर्ने हुन्छ ।

‘हामीले एक भाडावाल पाएका छौं । हामी सबै कुरालाई अन्तिम रुप दिन परिवारका साथ कुराकानी गरिरहेका छौं । कुराकानी अन्तिम चरणमा छ’, रफीकले भनेका छन् ।

रफीकले दुई महिनाअघि सामाजिक सञ्जालमा एक भिडियो राख्दै सुशान्तको बान्द्रास्थित वेस्टवाला फ्ल्याट खाली भए पनि कोही त्यो कोठामा बस्न नमानेको बताएका थिए । ‘यो फ्ल्याटको विगत सुन्दा जोकोही डराएका छन् । फ्ल्याटका मालिक फ्ल्याट बिक्री होस् भनेर कुनै कसुर पनि बाँकी राखेका छैनन्’, भिडियोमा उनले भनेका थिए, ‘फ्ल्याट मालिकले यो फ्ल्याट कुनै पनि फिल्मस्टारलाई दिन चाहँदैनन् ।’

सुशान्तले सन् २०२० को जुनमा यही फ्ल्याटमा आत्महत्या गरेका थिए । उनको निधनपछि यो कोठा खाली थियो । समुद्री किनारमा रहेको यो अपार्टमेन्टको फ्ल्याटमा चार कोठा छन् । जसमा एक ठूलो हल र एक चित्र कोठा छ ।

शेखर–गगन समूहको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आगामी २८ पुसमा सारिएको छ । २२ पुसमा बोलाइएको केन्द्रीय समिति बैठक प्रतिनिधिसभा बैठक बस्ने भएको र विश्वासको मतका विषयमा संसदीय दल बैठक बस्नुपर्ने भन्दै कांग्रेसले २८ पुसमा बैठक सारिएको हो ।

नेपाली कांग्रेस सत्ताबाट बाहिरिएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । पार्टी नेतृत्वले समयमै सुझबुझ पुर्याउन नसक्दा सत्ताबाट बाहिरिनुपरेको भन्दै कांग्रेसमा तीव्र असन्तुष्टि बढेको छ । संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई सत्ताबाट बाहिरिनुपरेको आरोप डा.शेखर कोइराला–गगन थापा समूहले लगाउँदै आएको छ । शेखर–गगन समूहको बैठक आज बस्ने भएको छ । इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको हो । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने बुझिएको छ ।

नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।