`

अर्जेन्टिनी स्टार एन्जो किन्न चेल्सी तयार

काठमाडौं – कतार विश्वकपका स्टार एन्जो फर्नान्डेजलाई ठूलो रकम खर्च गर्न इंग्लिस प्रिमियर लिग क्लब चेल्सी तयार भएको छ । अर्जेन्टिनाको २१ वर्षीय मिडफिल्डरले कतार विश्वकपमा युवा खेलाडीको अवार्ड प्राप्त गरेका थिए।

एन्जोले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपनि चेल्सी एन्जो लिन तम्सिएको हो ।

चेल्सीले बेन्फिका स्टारलाई भित्राउन एक सय १२ मिलियन पाउन्ड खर्च गर्न तयार भएको बताएको छ ।

क्वारेन्टाइनबाट फरार चिनियाँ यात्रुको खोजीमा दक्षिण कोरिया, १ करोड जरिवाना तिराउने तयारी

एजेन्सी – दक्षिण कोरियामा उत्रिएपछि परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि फरार रहेका एक चिनियाँ नागरिकको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् । मंगलबार अबेर सियोल नजिकको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि परिक्षणका क्रममा कोभिड देखिएका चिनियाँलाई क्वारेन्टाइनमा राख्न नजिकैको होटेलमा सारिएको थियो । तर, उनी त्यहाँबाट वेपत्ता भएका एक स्वास्थ्य अधिकारीले बताएका छन् ।

पहिचान नभएको व्यक्तिलाई वान्टेड सूचीमा राखिएको दक्षिण कोरियाली अधिकारी किम जु–योङले बताए ।  संक्रामक रोग नियन्त्रण तथा रोकथाम ऐन उल्लंघन गरेकोमा दोषी ठहरिएमा उनलाई एक वर्षसम्म कैद वा १ करोड वोन जरिवाना हुन सक्ने बताएका छन् । उनले भने, ‘उनलाई देश निकाला गरिनेछ र निश्चित समयको लागि देश प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ ।

मंगलबार दक्षिण कोरियाले चीनबाट आउने यात्रुहरुलाई अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने जनाएको थियो । कोभिड बढेपछि अहिले भारत, अमेरिका, बेलायतलगायतका देशले चिनियाँ यात्रुको आगमनमा कडाइ गरेका छन् ।

कोभिड प्रतिबन्धविरुद्ध देशभित्र चौतर्फी आलोचना र प्रदर्शन हुन थालेपछि केही दिनअघि चीन सरकारले यसअघि लगाउदै आएका सबै प्रतिबन्ध हटाएको थियो । प्रतिबन्ध हटेसँगै देशका विभिन्न सहरमा कोभिड महामारी फेरि बढेको छ । एउटै सहरमा एकै दिन एक लाखभन्दा बढीलाई संक्रमण देखिएको छ ।

बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – बार्सिलोनाले कोपा डेल रेअन्तर्गत बिहीबार भएको खेलमा सीएफ इन्टरसिटीमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाको जितमा रोनाल्ड अरौजो, औसमाने डेम्बेले, राफिन्हा र अन्स फातिले समान एक गोल गरेका थिए ।

पराजित इन्टरसिटीको तर्फबाट ओरिओल पुइगले ह्याट्रिक गरे । तेस्रो डिभिजन टोलीविरुद्ध बीच बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नपरेको थियो ।

आफ्नै नाममा दर्ता भएको सिमकार्ड हराएमा/बिग्रिएमा स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध

काठमाडौँ – नेपाल टेलिकमले सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ ।

प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैंकिङ कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्री असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम बढ्दै गएको भन्दै टेलिकमले स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको हो ।

त्यस्तो अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिङको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजकि सञ्जालको अनधकिृत प्रयोग भई सुरक्षाको जोखिमलगायत अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको भनाइ छ ।

त्यसका साथै मोबाइल नम्बरका माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्याङ्कदेखि कागजात, बचत तथा अन्य मूल्यवान् र दैनिक प्रयोगमा रहने सामग्री र सूचनामा पहुँच पु¥याउनसक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा पनि स्थापति हुन गएको टेलिकमको भनाइ छ ।

आफूले प्रयोग गरिरहेको/गर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा सम्पूर्ण कार्य सुरक्षित ढङ्गले सम्पन्न गर्न सकिने अवस्था रहेको छ । मोबाइल सेवाको परिकल्पना गरी प्रविधि विकास हुँदा मुख्य उद्देश्य कुराकानी गर्ने वा सन्देश पठाउने मात्र रहेको र आर्थिक कारोबारलगायत संवेदनशील गतिविधि हुने परिकल्पना नगरिएकामा समयक्रमसँगै विकसित प्रविधिका कारण हाल यसको प्रयोग जीवनका सबै पक्षसँग जोडिएको छ ।

टेलिकमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “यस्तो अवस्थामा मुख्यतः मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षति र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड) को मात्र भर नपरी टु फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याइदिन पनि टेलिकमले अनुरोध गरेको छ ।रासस

म्यानमारमा ७ हजार कैदी रिहा

एजेन्सी – म्यानमारको सैन्य सरकारले देशको स्वतन्त्रता दिवस मनाउन आममाफी अन्तर्गत ७ हजार १२ जना कैदीहरूलाई रिहा गर्ने भएको राज्य प्रसारक एमआरटीभीले रिपोर्ट गरेको छ । जुन्ता प्रमुखले आफ्नो राष्ट्रको लागि समर्थन कायम गरेकोमा केही देशहरूको प्रशंसा गरेका छन् ।

प्रजातान्त्रिक ढंगले निर्वाचित सरकालाई करिब दुई वर्षअघिअपदस्थ गरेपछि दक्षिण पूर्वी एसियाली देशलेअन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरेको छ । सरकारलाई अपदस्थ गरेपछि नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकी घरमै नजरबन्दमा छिन् ।

‘म केही अन्तर्राष्ट्रिय र क्षेत्रीय देशहरू र संस्था तथा व्यक्तिहरूलाई धन्यवाद भन्न चाहन्छु जसले हामीलाई सबै दबाब, आलोचना र आक्रमणबीचमा सकारात्मक रूपमा सहयोग गरेको छ’, वरिष्ठ जनरल मिन आङ ह्लिङले म्यान्मारको ७५औँ स्वतन्त्रता दिवस।को सम्झनामा एक भाषणमा भने ।

सुकीलाई नेपितावको जेलमा राखिएको छ र सेनाले उनमाथि स्वतन्त्र अदालतबाट उचित सुनुवाई गरेको दाबी गरेको छ।

चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता

काठमाडौं – मुलुकमा वैदेशिक लगानी आउने क्रम घटिरहेको बेला १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी फिर्ता भएको छ । यो आँकडा चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ४ महीनाको हो । यसपालि ४ महीनामा फिर्ता गएको विदेशी लगानी अघिल्ला २ आवको वार्षिक फिर्ताभन्दा बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०७७/७८ मा ३९ करोड ६७ लाख र आव २०७८/७९ मा ६५ करोड ८७ लाख रुपैयाँ विदेशी लगानी फिर्ता भएको थियो । आर्थिक अवस्था असहज भएका बेला ठूलो परिमाणमा विदेशी लगानी फिर्ता जाँदा सम्भावित लगानीकर्तामाझ नकारात्मक सन्देश प्रवाह हुने विज्ञहरू बताउँछन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

अति विशिष्ट पदाधिकारीलाई साबुन, ब्रस, मिनरल वाटर जस्ता स-साना सामग्रीमै ६ करोड भन्दा बढी खर्च

काठमाडौं – अति विशिष्ट पदाधिकारीलाई साबुन, ब्रस, दन्तमन्जन, टिस्यु पेपर स्प्रे, बेगन, सरफ, मिनरल वाटर, डोरम्याटजस्ता स-साना सामग्रीसमेत सरकारले उपलब्ध गराउँदै आएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राज्यले उपलब्ध गराउने त्यस्ता सामग्रीमा मात्र हरेक वर्ष ६ करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ ।

सरकारले विनामापदण्ड र बिनाकार्यविधि विशिष्ट पदाधिकारीलाई यस्ता सानातिना सामग्री उपलब्ध गराउँदै आएको छ भने उनीहरूले लिने अन्य सुविधाको त लेखाजोखा नै छैन । विशिष्ट पदाधिकारीले मागेजति सामान सहरी विकास मन्त्रालयमातहत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले उपलब्ध गराउँदै आएको छ।

मागअनुसारका सामग्री प्रयोग भएरनभएको अनुगमनसमेत कसैले गर्दैन । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका स्टोरकिपर पशुपति पोखरेलले विशिष्ट पदाधिकारीको माग र आवश्यकताअनुसार कार्यालयले सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए ।

२०५६ सालमा मन्त्रिपरिषद्ले विशिष्ट पदाधिकारी तथा मन्त्री विनाश पुल्चोकका लागि दैनिक आवश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो । तर कुन पदाधिकारीलाई केके सामग्री उपलब्ध गराउने भन्ने विषयमा मापदण्ड र कार्यविधि बनेको छैन । यो समाचार नागरिक दैनिकमा छ ।

सरकारलाई सर्वेच्चको प्रश्न – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न किन नपाउने ?

काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजलासले मन्त्रिपरिषद्को निर्णय ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न किन नपाउने भन्ने विषयमा लिखित जवाफ पेस गर्न भनेको छ । जुरी नेपालका तर्फबाट राजु चापागाईंसमेतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको इजलासले ‘नीतिगत निर्णय’ भन्दै ‘भ्रष्टाचारजस्ता विषयमा छानबिनका लागि उन्मुक्ति हुन सक्छ कि सक्दैन भन्ने प्रश्नसहित लिखित जवाफ पेस गर्न भनेको छ । ‘ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरण’मा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा।बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको ‘नीतिगत निर्णयमा भ्रष्टाचार मुद्दामा उन्मुक्ति दिएको र ठूला भ्रष्टाचार मुद्दामा मन्त्रिपरिषद्का निर्णयबाट उन्मुक्ति दिने गरेको’ भन्दै चापागाईंले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यद्यपि, ‘ललिता निवास जग्गा प्रकरण’ विषयमा दुई प्रधानमन्त्रीलाई छानबिन गर्नुपर्ने माग राख्दै दायर रिट अहिले पनि सर्वोच्चमा विचाराधीन छ । सो प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वयबाहेक मन्त्री र सचिवसहित १ सय ७५ जनालाई विपक्षी बनाएर अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । प्रधानमन्त्रीहरूको हकमा मन्त्रिपरिषद्को नीतिगत निर्णयमा अख्तियारले छानबिन गर्न नपाउने भएपछि मुद्दा दर्ता नगरिएको आयोगले जनाएको थियो ।

मन्त्रिपरिषद्ले गरेका सबै निर्णय ‘नीतिगत’ मानिने र त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार नपर्ने व्यवस्थाले भ्रष्टाचारमा बढोत्तरी भएको भन्दै यसको अन्त्य हुनुपर्ने मागदाबी चापागाईले दायर गरेको रिटमा उल्लेख छ । यस्तो व्यवस्थाले नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिँदै आएकाले अख्तियारको ऐनको सो प्रावधान खारेज हुनुपर्ने जिकिर पनि रिटमा छ ।

चापागाईंले दायर गरेको रिट जारी भए मन्त्रिपरिषद्ले गर्ने निर्णयमा पनि अख्तियारले छानबिन गर्ने बाटो खुला हुनेछ । रिट जारी भएको खण्डमा ललिता निवास जग्गा प्रकरणमा यसअघि सर्वोच्चमा विचाराधीन मुद्दामा समेत अख्तियारलाई छानबिन गर्ने बाटो खुला हुनेछ । नेपालका ठूल्ठूला भ्रष्टाचारका काण्डमाथि ‘नीतिगत निर्णय’को आवरणले गर्दा छानबिन हुन नसकेको रिटमा उल्लेख छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

घनश्याम भुसाललाई पार्टीमा भित्राउने माधव नेपालको तयारी, गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ। एमाले परित्याग गरेका भुसाललाई अध्यक्ष नेपालले आफ्नो पार्टीमा आबद्ध हुन आग्रह गरेका छन्। बुधबार कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपालले भुसाललाई आफूहरूसँगै अगाडि बढ्न प्रस्ताव गरेको स्रोतले बतायो। पार्टीमा राम्रो पोर्टफोलियोमा बसेर काम गर्न नेता भुसाललाई अध्यक्ष नेपालले प्रस्ताव गरेको स्रोतको भनाइ छ।

मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले पार्टी परित्याग गर्दै रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार बनेका थिए। स्वतन्त्र उम्मेदवार भुसाललाई कांग्रेस नेतृत्वको गठबन्धनले समर्थन गरे पनि एमालेका छबिलाल विश्वकर्मासँग पराजित भएका थिए।

भुसालले एमालेभित्र फरक मत राख्दै आएका थिए। माधव नेपाल एमालेबाट अलग भएपछि भुसाललगायत नेताहरू नेपालसँगै आउने कुरा भए पनि अन्तिम समयमा भुसाल एमालेमै बसेका थिए। त्यस्तै नेता भुसाललाई अध्यक्ष नेपालले पार्टी एकीकरणका विषयमा पनि जानकारी गराएका थिए। उनले पार्टी एकीकरणमा गए पनि एकताबाट बन्ने नयाँ पार्टीमा आबद्ध भएर काम गर्न भुसाललाई आग्रह गरेका थिए।

माधव नेपाल नेतृत्वको पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी एकीकरण गर्ने विषयमा अन्तिम तयारी गरेका छन्। संसदमा चौथो ठूलो दल बन्नका लागि दुई पार्टी मर्जरको तयारीमा रहेको स्रोत बताउँछ। त्यसका लागि दुवै पार्टीले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरण गर्न सकिने निर्णयसमेत गरेको थियो। एकीकृत समाजवादीको दुई दिन चलेको पोलिटव्युरो बैठकले विचार मिल्ने पार्टीसँग एकता गर्न सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

यी हुन् विश्व इतिहासमा आज भएका महत्वपूर्ण घटनाक्रम

आज ५ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

सौर्य मन्डलको सानो ग्रह

सन् २००५ मा सौर्य मन्डलमा सबैभन्दा सानो ग्रह पत्ता लागेको थियो । पत्ता लगाएको नयाँ ग्रहको नाम इरिस दिइएको छ । अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयु) का अनुसार इरिसको आकार यसअघि सौर्यमन्डको सबैभन्दा सानो मानिएको प्लुटोको आकार समान छ ।

पाराग्वेको आन्दोलन

सन् १९६८ मा पाराग्वेमा आन्दोलन सुरु भएको थियो । अलेक्जेन्डर दुबसेक देशको नेता बनेपछि पाराग्वेमा आन्दोलन सुरु भएको थियो ।

गोल्डेन गेट निर्माण सुरु

आजकै दिन अर्थात सन् १९३३ को ५ जनवरीमा अमेरिकाको सान फ्रान्सिस्कोमा गोल्डेन गेट पुल बनाउन सुरु भएको थियो । यो पुललाई अमेरिकाकै एउटा प्रसिद्ध प्रतिक मानिन्छ ।

वेटिङ फर गोडोटको पहिलो मन्चन

आयरल्यान्डका प्रख्यात लेखक स्यामुअल बेकेटले लेखको विश्व प्रसिद्ध नाटक वेटिङ फर गोडोटलाई पहिलो पटक सन् १९५३ को ५ फेब्रुवरीमा फ्रान्सको राजधानी पेरिसमा मन्चन गरिएको थियो ।

न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ ।

दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहनेछ ।शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ ।

कुम्भको मनमा खुसियाली छाउने, अन्य राशिको कस्तो छ आज ?

काठमाडौं, २१ पुस, आजको पात्रो : २१ पुस २०७९, बिहीबार । तद्नुसार जनवरी ५ तारिक २०२३ । पौषशुक्ल पक्ष चतुर्दशी, गर करण, मृराशिरा नक्षत्र, शुक्ल योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः५६ मा हुनेछ भने सूर्यास्त ५ः२२ मा हुनेछ । आजका देवता पार्वती र ग्रहदेव चन्द्र हुन् ।

बिहीबार अध्ययन अध्यापन, लेखन र अनुसन्धानको काम गर्दा शुभ हुनेछ । आज ११ः४८ देखि १२ः२९ सम्म रहेको छ । बिहीबार व्रत गर्दा अध्ययन अध्यापन गर्ने व्यक्तिका लागि शुभ हुनेछ । आजको दिन कसैसँग विवाद नगर्नुहोला ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि सामाजिक र धार्मिक कार्यबाट मानसम्मान मिल्नेछ । तपाईको स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको अर्थ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट फाइदा हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन कुनै देवालय र शिवालयको यात्रा फलदायी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
तपाईको मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम  गर्नु पर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकका लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । तपाईको सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको फाइदा हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले हरेक बिहीबार सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन यात्राका लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनबाट समेत सहयोग हुनेछ । कुनै शिवालय वा देवालयमा गएर अशक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आजको दिन सुुरु गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नै वेश हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
परिवार तथा आफन्तजनको सहयोगले कार्ययोजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्न सक्नुहनेछ । चन्द्रमाको साथ रहेकाले आफ्नो कर्मयात्रामा सफलता मिल्नेछ । मनमा निकै हर्ष छाइरहने छ । बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आज मनमा खुसी छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापार व्यवसायबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र तपाईले गरेको कामबाट आफैमा खुसीयाली छाउने छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । मीन राशिका व्यक्तिका लागि बिहीबार विशेष दिन हो ।

नवाजुद्दिन भन्छन्- २५ करोड पारिश्रमिक दिए पनि सानो भूमिका गर्दिनँ

मुम्बई । बलिउडमा प्रतिभावान कलाकारको नाम लिँदा अभिनेता नवाजुद्दिन सिद्दीकी छुट्दैनन् । सानोतिनो सहायक चरित्रबाट फिल्मी करियर सुरुवात गरेका उनले हलिउड फिल्म ‘लक्ष्मण लोपेज’मा देखिँदैछन् । उनले हलिउड फिल्ममा सानो भूमिका कहिल्यै नगर्ने खुलाएका छन् ।

‘मैले उद्योगमा कयौं सानो भूमिका निभाएको छु । मैले आफ्नो मिहेनत र लगनले यो सफलता पाएको छु । आजको समयमा यदी कोही विदेशी फिल्म मलाई सानो भूमिकाका लागि प्रस्ताव गर्छन् भने म त्यसमा काम गर्दिनँ । चाहे निर्माताले मलाई २५ करोड रुपैयाँ नै दिए पनि म त्यो सानो भूमिका गर्दिनँ । मलाई लाग्छ आफ्नो कामलाई राम्रो बनाउनुपर्छ । यदी तपाईं राम्रो काम गर्नुहुन्छ भने अवसर तपाईंलाई खोज्दै आउनेछ’, नवाजुद्दिन भन्छन् ।

‘लक्ष्मण लोपेज’को निर्देशन प्रख्यात निर्देशक रिबर्टो जिराल्टले गर्दैछन् । नवाजुद्दिन फिल्म ‘हड्डी’मा देखिँदैछन् । जसमा उनले एक किन्नरको भूमिका निर्वाह गरेका छन् ।

झापामा कबड्डी खेल्नेक्रममा विद्यार्थीको मृत्यु

दमक – कबड्डी खेल्नेक्रममा झापाको दमक नगरपालिकामा एक विद्यार्थीको मृत्यु भएको छ । संखुवासभा भोटेखोला गाउँपालिका-४ घर भई दमक-४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत १८ वर्षीय लाप्टुक भोटेको मृत्यु भएको हो ।

विद्यालयले बुधबार दिउँसो आयोजना गरेको खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल्नेक्रममा भोटे अचानक बेहोस भएर मैदानमा लडेका थिए । उनको उपचारका लागि बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।प्रहरीका अनुसार भोटे संखुवासभा जिल्लास्तरीय कबड्डी खेलाडी हुन् ।

जुम्लामा रुखबाट लडेर २५ वर्षीया रोकायाको ज्यान गयो

जुम्ला – जुम्लामा जङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएकी एक महिलाको मृत्यु गएको छ । तिला गाउँपालिका–६ घोडेगाउँकी २५ वर्षीया रामपुरा रोकायाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले मंगलबार दिउँसो जंगलमा दाउरा सङ्कलन गर्न जाँदा रुखबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा ज्यान गएको हो ।

मंगलबार दिउँसो १ बजे रुखबाट लडेर घाइते हुनुभएकी रोकायालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि ल्याइएको थियो । उनको उपचारको क्रममा आज मृत्यु भएको हो ।

चिसो अत्यधिक बढेपछि कालिकोट ,डोल्पा, हुम्ला, मुगुका विद्यालय बन्द

सुर्खेत – चिसो अत्यधिक बढेपछि कालिकोट ,डोल्पा, हुम्ला, मुगुका विद्यालय बन्द गरिएको छ ।  कर्णालीका हिमाली जिल्लामा मङ्सिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको छ ।

अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी संकलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको कमीजस्ता कारणले यो समयमा विद्यालय बन्द हुने गरेका छन् ।

हुम्ला जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलकप्रसाद भट्टराईले प्रतिकूल मौसमका कारण बालबालिकाले पुरै समय अध्ययन गर्न नपाउने गरेको बताए । मौसम सुहाउँदो विपत् प्रतिकार्य योजना बनाई घुम्ती विद्यालय सञ्चालन नगरे सम्मा चिसो मौसममा विद्यालयमा पढाइ हुने सम्भावना कम रहेको उनले बताए ।

उच्च हिमपातका कारण माथिल्लो डोल्पामा छ महिना विद्यालय पूर्ण रूपमा बन्द हुन्छन्। सञ्चारको पहुँच नहुँदा वैकल्पिक शिक्षा शिक्षणको सम्भावना छैन। भौगोलिक कठिनाइका कारण बालबालिका तीन घण्टा पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ। हिमाली जिल्लाको भौगोलिक अवस्था अध्ययन गरेर विपत् पूर्वतयारी योजना बनाउनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर बस्नेतको बताए ।

दक्ष जनशक्ति अभाव हुँदा गुणस्तरीय शिक्षा हासिल गर्न बालबालिकाले पाएका छैनन्। स्थानीय तहले शिक्षालाई प्राथमिकतामा नराख्नु, अत्यधिक हिउँ परेर चिसो हुनु, भौतिक संरचना कमजोर, सबै विद्यालयमा खानेपानीको असुविधा, पातलो बस्ती, स्थानीय शिक्षा योजना निर्माण नहुनु, स्थानीय पाठ्यक्रम निर्माण नहुनु, सूचना तथा सञ्चारको अभावजस्ता समस्याले गर्दा डोल्पामा विद्यालय चिसो मौसममा बन्द भएका हुन् ।

त्यस्तै कालिकोटको तिलागुफा नगरपालिका भित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गरिएको छ । जिल्लाभरि एक शैक्षिकसत्र अर्थात् वर्षातको समयमा मात्र बिदा गर्ने पालिकाहरूले निर्णय गरे पनि चिसोका कारणले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको बताएको छ । नगरपालिका शिक्षा शाखामा विद्यालय निरीक्षक नवीन हमालले जुम्लासँग सीमा जोडिएको र यो समयमा बग्ने पानी समेत जम्न थालेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको बताए।

कालीकोटमा तापक्रम माइनस ५ रहेको छ । अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालयले समेत सचेत हुन सार्वजनिक सूचना गरेको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले चिसो देशभरि बढिरहेकाले सूचनाअनुसार जिल्लामा पनि सचेत हुन सूचना जारी गरिएको बताए । हिमाली जिल्ला डोल्पामा समेत बिद्यालय बन्द गरिएको छ । चिसोका कारण त्यहाँका विद्यालय बन्द गर्नु परेको बताएको छ ।

त्यस्तै मध्यपश्चिम विश्वविद्यालय समेत आज एक सूचना प्रकाशित गरेर माघ ११ गते सम्माको लागि जाडो विदा दिएको बताएको छ । विश्वविद्यालय भित्र रहेको सबै क्याम्पसले सो जाडो विदा लागू गर्न निर्देशन समेत दिएको छ । अत्यधिक चिसो बढेको भन्दै २१ दिन विदा दिने निर्णय गरिएको रजिस्टा«र प्रा डाक्टर नारायणप्रसाद पौडेलले जानकारी दिए ।

सत्ता साझेदार दलको बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने बिषयमा छलफल

काठमाडौं – सत्ता साझेदार दलको बैठकमा सङ्घीय सरकारलाई पूर्णता दिने र प्रदेश सरकार गठन गर्ने बिषयमा छलफल भएको छ । बुधबार साझँ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय पनि गरेको छ ।

बैठकले विशेष गरेर आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्बाट विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिए ।

काठमाडौंका विभिन्न नाकाबाट ठूलो परिमाणको लागूऔषधसहित १० पक्राउ

काठमाडौं – अवैधरुपमा लागूऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौंको सीमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट चार हजार पाँच सय ट्याब्लेट र एक सय ५५ दशमलव ५ ग्राम चरेस बरामद गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। उनका अनुसार उनीहरुको साथबाट नुफ्रिन एक हजार एम्पुल, डाइजेपाम एक हजार एम्पुल र फेनारगन पनि एक हजार एम्पुल बरामद गरिएको छ ।

पछिल्लो केही दिनदेखि लागूऔषध कारोबार तथा तस्करी नियन्त्रण र अनुसन्धानमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न नाकामा खोजी अभियान चलाउँदा लागूऔषधसहित पक्राउ परेका उनीहरूलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको खड्काले बताए ।

प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ लालीगुराँस टोल बस्ने सुजन कार्कीको साथबाट तीन सय मिलीग्राम र डेराबाट ६७ दशमलव ७ ग्राम गरी जम्मा ६८ ग्राम खैरो हेरोइनसहित दुई थान तराजु बरामद गरिएको थियो । अनुसन्धानका क्रममा उनलाई प्रदीप राइले लागूऔषध बिक्री गर्न पठाएको खुलेको थियो । उनी झापामा रहेको थापा पाएपछि ब्यूरोको काँकडभिट्टा शाखाले पुस १८ गते पक्राउ गरी काठमाडौं पठाएको हो ।

सोही दिन साँझ विशेष सूचनाका आधारमा ब्यूरोको अर्को टोलीले काठमाडौं महानगरपालिका–९ शम्भु मार्गमा खोजी अभियान चलाउँदा धनुषाका रेश्मा देवीको साथबाट छ ग्राम खैरो हेरोइन बरामद गरी उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

सोही दिन ठूलो परिमाणको लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पर्यटकलाई पिछा गर्दै गर्दा ‘टुर गाइड’मा काम गर्ने गोरखाका ओमनारायण श्रेष्ठ, मसाज सेन्टरमा काम गर्ने सुरेन्द्र नेपाली र विकास परियारलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

त्यस्तै लुकाइछिपाइ लागूऔषध ओसारपसार गरेको चाल पाएको नेपाल प्रहरीको संयुक्त टोलीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना६ख ७०३६ बसमाथि खानतलासी गर्दा वीरगञ्जका ५० वर्षीय सविना खातुन, सहनाज खातुन र शेष अमिरलाई पक्राउ गरेको थियो । उनीहरू प्रहरीले खानतलासी थालेपछि नागढुङ्गाबाट भाग्दै गर्दा पक्राउ गरेका हुन् ।

उता काठमाडौंको गोकर्णेश्वरबाट रोशन श्रेष्ठ र मनोज लामालाई पनि लागुऔषध कोडिनसहति पक्राउ गरिएको र उनीहरुको सन्दर्भमा प्रहरीवृत्त बौद्धले अनुसन्धान गरिरहेको जनाइएको छ ।

क्यानडाले सन् २०२२ मा ४ लाख ३७ हजार विदेशीलाई स्थायी बसोबास दियो

एजेन्सी – क्यानाडाले गत वर्ष ४ लाख ३७ हजारभन्दा बढी विदेशीहरूलाई स्थायी बसोबास दिएर अध्यागमन रेकर्ड स्थापित गरेको सरकारले जनाएको छ । क्यानडाले कडा श्रम बजारसँग लड्न अध्यागमनलाई बढावा दिइरहेको छ ।

सरकारले सन् २०२२ मा ४ लाख ३१ हजार ६४५ नयाँ स्थायी बासिन्दाहरूलाई स्वागत गर्ने लक्ष्य राखेको थियो र अध्यागमन मन्त्रालयले क्यानाडाको इतिहासमा मानिसहरूको सबैभन्दा ठूलो वार्षिक प्रवेश गर्ने लक्ष्यमा पुगेको बताएको छ ।

गत वर्षको संख्या सन् २०२१ भन्दा लगभग ९ प्रतिशत बढी छ जतिबेला क्यानाडाले सन् १९१३ मा तय गरेको अघिल्लो रेकर्डलाई पार गरेको थियो  र क्यानाडाले सन् २०२५ सम्म १ दशमलब ४५ मिलियन नयाँ स्थायी बासिन्दाहरू भित्रयाउन खोजेको छ ।

क्यानाडाले तीव्र श्रम बजार अभावलाई सम्बोधन गर्नमा ध्यान केन्द्रित गरेकोले अध्यागमन समाधानको मुख्य भाग भएको मन्त्रालयले प्रष्ट पारेको छ ।

मन्त्रालय फुटाउने पक्षमा सरकार छैन – गृहमन्त्री लामिछाने

काठमाडौं – सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकमा सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

आजको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको उनले बताए । उनले मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा

काठमाडौं – संघीय संसद सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।

संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो ।

सत्तारुढ दलको बैठक बालुवाटारमा

काठमाडौं, २० पुस । सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो ।

बैठकमा सरकारले ल्याउने साझा न्यूनतम कार्यक्रमका विषयमा पनि छलफल हुनेछ । यसैगरी बैठकमा २६ पुुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मतको विषयमा छलफल हुनेछ ।

साथै मन्त्रिपरिषद् विस्तारदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद बाँडफाँटका विषय पनि बैठकको छलफलको एजेण्डा रहेको छ ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं, २० पुस । सेयर बजारमा  बुधबार एक दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।  सेयर बजार बढेर २१०० विन्दुभन्दा माथि पुगेको छ। यस दिन नेप्से ६४.८७ अंक बढेर २१२५.९४ विन्दुमा पुगेको छ ।

करिब ५ महिनापछि नेप्से सूचक पुनः २१ सय विन्दुमाथि उक्लिन सफल भएको हो ।  साल्ट ट्रेडिङ, हिमालयन डिस्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

यता, कालीका पवर, आरएसडीसी लघुवित्त, बाराही हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर कम्पनी, हिमालयन हाइड्रोपावर, आशा लघुवित्तको मूल्य, सबैको लघुवित्त वित्तिय संस्था, निर्धन उत्थान लघुवित्त वित्तिय संस्था, सेन्ट्रल फाइनान्स, इस्टर्न हाइड्रोपावर, समता घरेलु लघुवित्त, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर, प्रभु इन्सुरेन्स, नयाँ सारथी लघुवित्त, बलेफी हाइड्रोपावर, स्वरोजगार लघुबित्त विकास, सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड, माहालक्ष्मी बिकास बैंक र तेह्रथुम पावर कम्पनीको ९ देखि १० प्रतिशतसम्म मूल्य बढेको छ ।

राष्ट्र बैंकले गर्यो चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन,अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने (पूर्णपाठसहित)

काठमाडौं  । नेपाल नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो ।

चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको माग राखेर व्यवासायीहरु आन्दोलित भएका बेला राष्ट्र बैंकले विशेषगरी पाँचवटा बुँदामा संशोधन गरेको बैंकका प्रवक्ता गुणकार भट्टले जानकारी दिए ।

संशोधित कर्जा मार्गदर्शनअनुसार अब सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्ने प्रवक्ता भट्टले जानकारी दिए । संशोधित मार्गदर्शन दुई करोडभन्दा माथिका कर्जाको हकमा लागू हुनेछ ।

साउथ फिल्मको यी चर्चित ब्रेकअप

मुम्बई, २० पुस । सेलिब्रेटीहरू प्रायःजसाे आफ्नो सम्बन्धलाई लिएर चर्चामा आउँछन् । चाहे त्यो सम्बन्धको सुरुवात होस् या अन्त्य । फ्यानहरू जहिल्यै आफ्नो प्रिय स्टारको निजी जीवनसँग जोडिएका कुुरा जान्न चाहन्छन् । यहाँ साउथ फिल्म उद्योगका केही यस्ता जोडीको चर्चा गरिएको छ, जो आफ्नो प्रेमका कारण जति चर्चामा थिए, ब्रेकअपका कारण पनि उत्तिकै चर्चा पाए ।

नागा चैतन्य र सामन्था रुथ प्रभु

टलिउडमा नागा चैतन्य र सामन्था रुथ प्रभु लोकप्रिय जोडीका रुपमा चिनिन्थे । दुवैको प्रेम उनीहरू अभिनित ब्लकबस्टर फिल्म ‘ये माया चेसावे’ को सेटबाट अंकुराएको थियो । उनीहरुले कैयौं वर्षसम्म डेट गरेर सन् २०१७ मा विवाह गरे । तर, चार वर्षपछि उनीहरू अलग्गिए । नागा र सामन्थाले अक्टोबर २०२१ मा अलग्गिने निर्णय लिए ।

रक्षित शेट्टी र रश्मिका मन्दाना

रश्मिका मन्दाना र रक्षित शेट्टीको भेट सन् २०१६ को कन्नड फिल्म ‘किरिक पार्टी’को सेटमा भएको थियो । यो भेटपछि उनीहरूले डेटिङ सुरु गरेका थिए । एक वर्षपछि उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सन् २०१७ मा गृहनगर विराजपेट, कर्नाटकमा तामझामका साथ इन्गेजमेन्ट गरे । तर, एक वर्षपछि सन् २०१८ मा उनीहरुले इन्गेजमेन्ट तोडे । उनीहरुले प्रतिकुल मुद्दाका कारण सम्बन्ध तोडेको चर्चा चलेको थियो ।

नयनतारा र प्रभु देवा

विग्नेश शिवनका साथ सम्बन्धमा आउनुअघि नयनतारा ब्रेकअपका कारण चर्चामा थिइन् । विग्नेशअघि उनको सम्बन्ध निर्देशक तथा कोरियोग्राफर प्रभु देवासँग थियो । सन् २००९ मा उनी प्रभु देवासँग प्रेममा थिइन् । यद्यपि प्रभु विवाहित भएकाले उनीहरूको सम्बन्ध लामो समय रहेन । सन् २०१० मा प्रभुले आफू दुई वर्षदेखि नयनतारासँग प्रेममा रहेको खुलासा गरेपछि प्रभु देवा र उनकी पत्नी लताले सम्बन्धविच्छेद गरे । लतासँग सम्बन्धविच्छेद गरे पनि नयनतारासँग प्रभुको सम्बन्ध लामो समय टिक्न सकेन ।

अमला पल र भविन्दर सिंह

एएल विजयसँग सम्बन्धविच्छेद भएपछि अमला पल पुडुचरी गइन् । सन् २०१० मा उनी गायक भविन्दर सिंहसँग प्रेममा रहेर विवाह गरेकी थिइन् । विवाहका केही तस्वीर भाइरल भएको थियो । तर अभिनेत्रीले भने त्यो विवाह नभई फोटोसुट भएको दाबी गरिन् । तर भविन्दरले भने आफूले अमलासँग विवाह गरेको प्रमाण पेश गरेका थिए । तर, सन् २०२० मा अमलाले भविन्दरविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि उनीहरूको सम्बन्धमा ब्रेक लागेको थियो । यो मुद्दा अहिले अदालतमा विचाराधिन छ ।

राणा दग्गुबाती र तृषा कृष्णन

राणा दग्गुबाती र तृषा कृष्णन साउथको लोकप्रिय जोडीमध्ये एक थिए । उनीहरू प्रायः सार्वजनिक कार्यक्रम, अवार्ड, पार्टीमा एकसाथ देखिन्थे । यद्यपि उनीहरुले आफ्नो सम्बन्धलाई कहिल्यै खुले स्वीकारेनन् । उनीहरुले १० वर्ष डेट गरे पनि त्यसले पूर्णता पाएन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनको प्रधानमन्त्री दाहालद्वारा अवलोकन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनको अवलोकन गरेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गरेका हुन् ।

उनले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचाँै तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरेका थिए । उनले भवनबाट सिंहदरबास्थित अन्य भवन तथा संरचनाकोसमेत अवलोकन गरेका थिए ।

गठबन्धन सरकारलाई हेरिरहेका छाैं : कांग्रेस प्रवक्ता

काठमाडौ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् ।बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएकाे बताउँदैअहिलेकाे गठबन्धन स्वाभाविक नभएको दाबी गरे ।

आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेकाे उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेकाे उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए ।

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमलबहादुर शाह

काठमाडौं – नेपाली कांग्रेस सुदूपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन भएका छन्। दलको नेताको लागि भएको निर्वाचनबाट संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएका हुन् ।

शाह कैलाली निर्वाचन क्षेत्र नं २ को ९१० बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । उनको प्रस्तावकमा बहादुरसिंह थापा र समर्थकमा प्रकाश देउवा हुथिए ।

सात पटक म्याद थप, अझै बनेन सडक, ठेकेदार बेपत्ता

सुर्खेत, २० पुस । पाँच वर्ष पहिला निर्माण सुरू गरिएको रुकुम पश्चिम मुसीकोट नगरपालिकामा रहेको शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्डको म्याद सात पटक थप गरिएपनि ठेकेदार सम्पर्कविहिन भएका छन् ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सञ्चालित उक्त सडकखण्ड निर्माणका लागि पि.एच./एस.एम.एन.एस. जेभीले जिम्मा लिएको थियो । ०७४ सालमा निर्माण सुरू गरिएको उक्त सडकखण्डको काम ठेकेदार कम्पनीको कारण बेलैमा हुन नसकेको आयोजना कार्यान्वयन इकाई रुकुमपश्चिमका व्यवस्थापक टंकप्रसाद खनालले जानकारी दिए ।

जम्मा १८ किलोमिटर लामो सडकखण्ड दुई वर्षमा निर्माणसम्पन्न गर्नका सुरुमा निर्माण कम्पनीसँग ०७४ सालमा सम्झौता भएको थियो । समयमै काम सम्पन्न हुन नसकेपछि शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागले आगामी जेठ ११ गतेसम्म अन्तिम म्याद राखेर सातौ पटक म्याद थप गरेको आयोजना प्रमुख खनालले जानकारी दिए । निर्माण कम्पनीका प्रमुख हेमराज गुभाजुसँग बारम्बार सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको उनले बताए । ठेकेदारलाई सम्पर्कमा आउन र समयमै काम सम्पन्न गर्न आयोजना कार्यालयले सार्वजनिक रुपमै सूचना प्रकाशन गरेको समेत जनाईएको छ ।

आयोजना कार्यालयका अनुसार निर्माण कम्पनीले भ्याट सहित ८९ करोड ८० लाखको लागतमा शीतलपोखरी–झुल्खेत–चुन्वाङ र बालुवा–नयगाड जामाबगर–त्रिवेणी सडकखण्ड निर्माणका लागि सम्झौता गरेको थियो । हालसम्म सम्झौताको ६७ प्रतिशत भौतिक र करिब ४६ प्रतिशत वित्तिय प्रगति भएको आयोजना व्यवस्थापक खनालले उल्लेख गरे  । शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्डको १८ किलोमिटर सडकमध्य १५.५ किलोमिटर भूभागमा ट्रयाक खोलेर गाडि समेत सञ्चालन हुने गरेका छन् । जंगल र भिरको भूगागमा ट्रयाक खोल्न बाँकि रहेको छ । ठेकेदार कम्पनीले हालसम्म उक्त सडकखण्डको ६ किलोमिटरसम्म बेस कालोपत्रे र १३ किलोमिटर सडकको बेस र नाली निर्माणसम्पन्न गरिसक्नुपर्ने भएतापनि काम नै सुरु भएको छैन ।

गत असारमा सकिएको म्याद पुनः थप गरेपछि ठेकेदार कम्पनी निर्माणस्थलमा  नआएको  मुसीकोट नगरपालिका–१० का वडा अध्यक्ष धनबहादुर खड्काले बताए ।  तिब्र गतिमा हुनुपर्ने काममा ठेकेदारको लापरबाही भएको उनले बताए । सडकको ट्रयाक खोलिएको गलमपाटी गाउँसम्म सदरमुकामबाट वर्षायाम बाहेक नियमित गाडि आउजाउ हुने गरेको वडा अध्यक्ष खड्काले जानकारी दिए । वर्षाको अवधिभर सडकखण्डको विभिन्न भागमा आएको पहिरोले बाटो अवरुद्ध भएको र वडा कार्यालयले आफ्नो खर्चमा बाटो सुचारु गर्नुपरेको उनले उल्लेख गरे । निर्माणको कामगर्ने बेलामा सडकखण्डमा मुख्य ठेकेदारको उपस्थिति नभएको उनले जनाए ।

बाटोको ट्रयाक मात्र खोलेर गाडि चल्दा पनि स्थानीयवासी हर्षित भएका छन् । गाउँको उत्पादन बजारीकरण, बजारमा आउजाउ, खाद्यन्न ढुवानी लगायतका काममा सडक बनेपछि सहज भएको वडा नम्वर १० का पूर्व अध्यक्ष गोपेश्वर केसीले जानकारी दिए । उनका अनुसार उदेश्य र लक्ष्यअनुसार समयमै सडक निर्माण भएमा यसले जनताको जीवनस्तर उकास्न मदत मिल्नेछ ।

प्रधानमन्त्री प्रचण्ड र युरोपेली सङ्घका राजदूतबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उनीहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै आज नै प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गरेका छन् ।

निर्देशक भट्टराईको नयाँ फिल्ममा आर्यन सिग्देल अनुबन्धित

काठमाडौं – निर्देशक मधुसुदन भट्टराईको निर्देशन रहने नयाँ चलचित्रमा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । निर्माण पक्षले बुधबार आर्यनलाई अनुबन्ध गरेको हो ।

लक्ष्मण सुवेदी लेखक रहेको चलचित्रमा यसअघि अभिनेत्री गरिमा शर्मा फाइनल भइसकेकी छन् । चलचित्रको छायांकन फागुन पहिलो साताबाट हुने सुवेदीले बताए ।
नाम नराखिएको चलचित्रमा केही दिनअघि कलाकार मुकुन भुसाल अनुबन्धित भइसकेका छन् । चलचित्र पारिवारिक र प्रेमकथामा बन्ने बताइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गर्‍यो एकीकृत समाजवादीले

काठमाडौं, २० पुस । एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ ।

युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो । एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् । सो पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिसकेको छैन ।

नेपाल टी-२० : लुम्बिनीसँग काठमाडौं १०२ रनले पराजित

काठमाडौं, २० पुस । काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई १०२ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडाैं १५ ओभर ४ बलमा ८१ रन जोडेर अलआउट भयो ।

काठमाडौंलाई पराजित गर्ने क्रममा लुम्बिनीका कुशल भुर्तेल,  इशान पाण्डे र ह्यारी टेक्टरले समान दुई दुई विकेट लिए । काठमाडौंका लागि बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५÷१५ रन जोडेका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

बाराही हाइड्रोपावरको कारोबार सुरू

काठमाडौं – बाराही हाइड्रोपावरको सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘बीएचपीएल’ संकेतमा यसको कारोबार खुला भएको छ ।

नेप्से प्रि-ओपन सेसनमा  यसको पहिलो कारोबार प्रतिकित्ता १९४ रुपैयाँ ३० पैसामा भएको हो । पहिलो कारोबारका लागि  नेप्सेले ओपनिङ रेन्ज न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसा तोकेको थियो ।

सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको छ ।  कम्पनीले २१ देखि २६ मंसिरसम्म कुल पाँच लाख ५४ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।

उप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं, २० पुस । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

सोही क्रममा भारतको सहयोगमा भइरहेका विकास निर्माण कार्यमा चासो राख्दै राजदूत श्रीवास्तवले  नेपालको विकास र समृद्धिका लागि भारतले निरन्तर सहयोग गरिरहने बताए ।

साथै केही आयोजनामा देखिएका समस्या समाधानका विषयमा पनि मन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तोसमेत दिएका छन् ।

लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले ताला लगाइदिए

बुटवल – पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले ताला लगाइदिएका छन् । उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् ।

खरानीसहितको कालो धुँलोको कारण सास्ती खेप्दै आएका स्थानीयले पटकपटक उद्योगलाई प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् ।

उद्योग सञ्चालनका क्रममा ईन्धनको रुपमा प्रयोग गरिने भुसबाट कालो धुलोको कणहरू सुनवल क्षेत्रमा फैलने गरेको छ । धुँलोले बालीनाली र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै बुधबार स्थानीयको एक समूहले उद्योगमा तालाबन्दी गरी समस्या समाधान नभएसम्म उद्योग नचलाउन चेतावनी दिएको स्थानीय जीवन पौडेलले बताए ।

मानव स्वास्थ्यमा मात्रै होइन् धुँलोका कारण कपडा सुकाउन समेत नहुने अवस्था छ । साथै, हिडडुँल गर्न पनि अप्ठ्यारो भएको स्थानीयको भनाइ छ । उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले आफुहरुले प्रदुषण नियन्त्रणका लागि उपकरण खरिद प्रक्रिया सुरु गरेको बताउँदै केही दिनभित्रै समस्या समाधान हुने बताए । उद्योगले केही दिन अगाडिबाट उखु क्रसिङ्ग सुरु गरेपछि प्रदुषण फैलिएको हो ।

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, कहिले बस्दै छ अब ?

काठमाडौं, २० पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ  ।२२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको कांग्रेस मुख्य सचिज कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार २२ पुसका लाथि निर्धारित बैठकको मिति परिवर्तन गरेर २८ पुस दिउँसो १ बजे बस्ने निश्चित गरेको मुख्यसचिव पौडेलले बताए । साथै २३ पुसमा कांग्रेस संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए ।

सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेता आज छान्दै

धनगढी – सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता छान्न नेपाली कांग्रसले निर्वाचन गर्ने भएको छ । १९ मध्ये सातजना प्रदेशसभा सदस्यले संसदीय दलको नेतामा दाबी गरेपछि कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छनौट गर्न आज निर्वाचन गर्ने भएको हाे ।

कांग्रेसमा संसदीय दलको नेता बन्न प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवान सिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र मेघराज खड्का शिवराज भट्ट र मानबहादुर रावले दाबी गरेका छन् ।

निर्वाचनका लागि नेपाली कांग्रेस प्रदेश समितिले पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ । कांग्रेस प्रदेश समितिका उप-सभापति लोकराज अवस्थीको संयोजकत्वमा बनेको निर्वाचन कमिटिमा प्रदेश उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु) तथा कांग्रेस प्रदेश सदस्यहरू सुरत रावत (डोटेली कान्छा) र रामबहादुर देउवा सदस्य छन् ।

सुदूरपश्चिम प्रदेश सभामा १९ सदस्यसहित कांग्रेस सबैभन्दा ठुलो दल हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने बाँकी पाँच दलले भने सहमतिका आधारमा संसदीय दलको नेता छनौट गरि सकेका छन् ।

निर्धन उत्थान लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण  गर्ने निर्णय गरेको हो ।

कम्पनीले बोनश शेयर १९ प्रतिशत र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्न लागेको हो । प्रस्तावित उक्त बोनस सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

उत्सर्जन जारी रहे सन् २५० सम्ममा ६ प्रतिशत बनस्पति र जनावर लोप हुने

एजेन्सी – उत्सर्जन जारी रहे सन् २०५० सम्ममा ६ प्रतिशत वनस्पति र जनावर लोप हुने र शताब्दीको अन्त्यसम्ममा यो संख्या १३ प्रतिशतमा पुग्ने हालै प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताहरूले बताएका छन् । सन् २१०० सम्ममा २७ प्रतिशत वनस्पति र जनावरहरू लोप हुने पनि अनुसन्धानमा उल्लेख छ ।

आइयुसीएनद्वारा अनुगमन गरिएका १ लाख ५० हजार ३८८  प्रजातिहरू मध्ये ४२ हजारभन्दा बढी बोटबिरुवा र जनावरका प्रजातिहरू लोप हुन सक्ने अध्ययनले अनुमान गरेको छ ।
अध्ययनले तापक्रममा वृद्धिले पृथ्वीमा जीवनको सञ्जाललाई असर गर्ने चिन्ताजनक तस्बिर पनि चित्रण गरेको छ । ् खराव अवस्था जारी रहे सन् २१०० सम्ममा २७ प्रतिशत वनस्पति र जनावरहरू लोप हुने अध्ययनमा उल्लेख छ । अध्ययन साइन्स एडभान्स जर्नलमा प्रकाशित छ ।