`

सुनको मूल्य एक लाख दुई हजार नौ सय पुग्यो

काठमाडौँ-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले घटेर प्रतितोला रु एक हजार चार सयमा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा यादव

काठमाडौं – मधेस प्रदेशमा नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन्। उनलाई मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा चयन गरेको हो ।

मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले उनको नाम चयन गरेको जनाइएको छ । उनी महोत्तरी क्षेत्र नं ४ (१)बाट निर्वाचित भएका थिए ।

फिल्मका लागि बलिउड कलाकारको महंगो मेकअप

मुम्बई, २० पुस -फिल्ममा चरित्रअनुसार कलाकारको मेकअप गरिन्छ । अभिनयको दुनियाँमा मेकअपको भूमिका महत्वपूर्ण हुन्छ । किनकि मेकअपकै कारण कलाकारले आफूलाई चरित्रमा ढाल्छन् । त्यहीकारण स्क्रिप्टअनुसार नै कहिलेकाँही कलाकारलाई महंगो मेकअप गर्नुपर्ने हुन्छ । यहाँ बलिउडका केही फिल्मका कुरा गरिएका छन्, जुन फिल्मका कलाकारको मेकअप गर्न नै लाखौं देखि करोडौं रुपैंयाँ खर्च गरिएको थियो ।

कपूर एन्ड सन्स
यो फिल्ममा अभिनेता ऋषि कपूरले ९० वर्षको बुजुर्ग व्यक्तिको भूमिका निभाएका थिए । उनको यो लुक्स बनाउनका लागि झन्डै डेढ करोड खर्च गरिएको थियो ।

रोबोट २.०
रजनीकान्त र अक्षय कुमार स्टारर यो फिल्म बक्सअफिसमा ब्लकबस्टर साबित भयो । यो फिल्ममा अक्षय निकै फरक लुक्समा देखिएको थिए । उनको यो लुक्स बनाउनका लागि करोडौ खर्च गरिएको थियो ।

बेल बाटम
फिल्ममा अभिनेत्री लारा दत्ताले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा उनको लुक्स यति सानदार थियो कि उनी लारा नै हुन् भन्ने भेउ कमैले पाए । उनको यो मेकअपका लागि निर्माताले लाखौं रुपैंयाँ खर्च गरेका थिए ।

राब्ता
अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘राब्ता’मा अभिनेता राजकुमार रावको लुक्सले जोकोही चकित भएका थिए । राजकुमारलाई यो फिल्ममा कसैले चिन्न सकेनन् । यो लुक्स बनाउनका लागि निर्माताले झण्डै करोडको हाराहारीमा खर्च गरेका थिए ।

गुलाबो सिताबो
सन् २०२० मा रिलिज आयुष्मान खुराना र अमिताभ बच्चनको यो फिल्ममा अमिताभको लुक्स देखेर जोकोही चकित परेका थिए । अमिताभको लुक्स बनाउनका लागि निर्माताले पानी सरह पैसा खर्च गरेका थिए ।

पा
सन् २००९ मा रिलिज यो फिल्ममा अमिताभ बच्चनले एक बच्चाको भूमिका निर्वाह गरेका थिए । जो व्यक्ति समयअघि नै बुढो देखिन्छ । फिल्ममा अमिताभको लुक्सको निकै सराहना गरिएको थियो । उनको लुक्समा पनि लाखौं खर्च भएको थियो ।

आई
चियान विक्रमको यो फिल्मले दर्शकलाई हैरान बनाएको थियो । फिल्ममा विक्रमको एक जबरदस्त लुक्स थियो । उनको यो लुक्स बनाउनकै लागि लाखौं खर्च गरिएको थियो ।

चाची ४२०
अभिनेता कमल हासनले यो फिल्ममा एक अधबैसे महिलाको भूमिका निर्वाह गरेका थिए । फिल्ममा उनको लुक्स तयार पार्नका लागि लाखौं रुपैंयाँ खर्च गरिएको थियो ।

अमेरिकाले २ लाख ५० हजार ट्विटर अकाउन्ट निलम्बन गर्न खोजेको मस्कको खुलासा

एजेन्सी – ट्विटरका प्रमुख एलोन मस्कले अमेरिकी सरकारले पत्रकार र क्यानाडाली अधिकारीहरू सहित २ लाख ५० हजार ट्विटर अकाउन्ट निलम्बन गर्न माग गरेको खुलासा गरेका छन् । उनले पत्रकार म्याट ताइबीद्वारा सार्वजनिक गरिएको ‘ट्विटर फाइलहरू’ को पछिल्लो चरण सेयर गर्दा सो  खुलासा गरेका हुन् ।

‘अमेरिकी सरकारी एजेन्सीले पत्रकार र क्यानाडाका अधिकारीसहित २ लाख ५० हजार अकाउन्ट खाताहरू निलम्बन गर्न माग ग¥यो’, मस्कले ट्वीट गरे ।

आन्तरिक ट्विटर पत्राचारको नयाँ रिलिजले सोसल मिडिया कम्पनी र सरकारी एजेन्सीबीचको सम्बन्धको विवरण दिन्छ । ताइबीले प्लेटफर्ममा रुसी हस्तक्षेपको खोजी गर्न कांग्रेससँग हात मिलाएर काम गर्न ट्विटरमा अमेरिकी सरकारको बढ्दो र अनन्त दबाबको खुलासा गरेको फक्स न्युजले रिपोर्ट गरेको छ ।

बसबाट ओर्लने क्रममा सोही बसले किच्दा ईन्द्रकलाको मृत्यु, बससहित चालक नियन्त्रणमा

अर्घाखाँची, २० पुस । अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक वद्धाको मृत्यु भएको छ । कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई लडेकी थिइन् । लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले किचेको थियो ।

कपिलवस्तुको पिपरा स्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा मंगलबार राति उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २० पुस-नेपाल राष्ट्र बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा २३ पैसाले वृद्धि भएको छ । यसको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।मंगलबार यसको खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६९ पैसा तोकिएको थियो । युरोपियन युरोमा १ रुपैयाँ ४७ पैसाले ओरालो लागेको छ । युरोपियन युरो एकको खरिद १३९ रुपैयाँ ६३ पैसा र बिक्रीमा १४० रुपैयाँ २६ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददरमा १४१ रुपैयाँ ९ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७३ पैसामा करोबार भएके थियो ।

अष्ट्रेलियन डलरको खरिदमूल्य ८८ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ३० पैसामा कारोबार भैरहेको छ । मंगलबारको तुलनामा बुधबार अष्ट्रेलियन डलरमा ९६ पैसाले ओरालो लागेको हो । साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ २० पैसा र बिक्रीमा ३५ रुपैयाँ ३६ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ३ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १७ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३५ पैसा र बिक्रीमा १० रुपैयाँ ४० पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९३ पैसा र बिक्रीमा १७ रुपैयाँ १ पैसा, कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ५ पैसा र बिक्रीमा ४३४ रुपैयाँ १ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ९६ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५५ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

अन्तर–कोरियाली सैन्य सम्झौतालाई निलम्बन गर्ने दक्षिण कोरियाको चेतावनी

सीउल, २० पुस-दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले उत्तर कोरियाले फेरि आफ्नो हवाई क्षेत्रको उल्लंघन गरेमा सन् २०१८ मा दुई देशबीच गरिएको अन्तर–कोरियाली सैन्य सम्झौतालाई निलम्बन गर्ने चेतावनी दिएका छन् ।उत्तर कोरियाले एकपछि अर्को शृंखलाबद्ध रुपमा आणविक हतियार परिक्षण गरिरहेका बेला राष्ट्रपति सुक–योलको भनाइ सार्वजनिक भएको हो । उत्तरले नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्षको दिन आणविक परिक्षण गरेको थियो । उसले सन् २०२२ मा धेरै आणविक परिक्षण गरेको थियो ।

उत्तर कोरियाले यसै गत वर्ष आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने हाइपरसोनिक मिसाइल समेत प्रहार गरेके छ ।

उत्तरले राष्ट्रसंघको संकल्प प्रस्ताव विपरित वारम्बार आणविक हतियार परीक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले केही उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तरले आणविक परीक्षण गरेको भन्दै अमेरिकाले उसका कदमको विरोध गर्दै आएके छ ।

आजको रातो आलु प्रतिकेजी ४५, नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ

काठमाडौं, २० पुस-कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार हरियो तरकारी तथा फलफूलको मूल्य तोकेको छ । जसअनुसार रातो आलु प्रतिकेजी ४५ रुपैयाँ, नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।

यस्तै कन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २८० रुपैयाँ रहेको छ । ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ३० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ५० रुपैयाँ रहेको छ ।

तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, तिते करेला ९० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, भिण्डी १०० रूपैयाँ, सेतो लोकल मुला १५ रुपैयाँ, लौका ५० रुपैयाँ, घिरौला ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

एकीकृत समाजवादीबाट निर्वाचित भएका सांसदहरूलाई युवा संघले सम्मान गर्ने

काठमाडौं – एकीकृत समाजवादीबाट निर्वाचित भएका सांसदहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्ने भएका छन् । बुधबार ललितपुरको हिमालय होटलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सम्मान गर्न लागेका हुन् ।

कार्यक्रमको आयोजना एकीकृत समाजवादी निकट युवा संघले गर्न लागेको हो । एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् । सो पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिसकेको छैन । आजको कार्यक्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजानेबारे महत्वपूर्ण जानकारी गराउने बुझिएको छ ।

जरायो मारेको आरोपमा पर्सा वन्यजन्तु आरक्षद्वारा प्रदेशसभा सदस्य जयसवालसँग लियो बयान

बारा – पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको आरोप लागेका प्रदेश सभा सदस्य प्रमोद जयसवाल बयानका लागि निकुञ्ज कार्यालयमा हाजिर भएका छन् । उनीसँग निकुञ्जका अनुसन्धान अधिकारीले मंगलबार बयान लिएका छन् ।

सोही घटनाको आरोपमा बयानका लागि पुगेका गाउँपालिका पूर्वअध्यक्ष प्रदीप जयसवालको बयान लिन भने बाँकी रहेको आरक्ष कार्यालय आधाभार बाराका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए ।

प्रमोद ४ मंसिरको चुनावमा पर्सा ३ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निकुञ्जको टोलीले मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको फार्म हाउसमा गाडेको अवस्थामा चित्तलको टाउको, गोलीगठ्ठा, नाइट भिजन बाइनाकुलरलगायत सिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो ।

सिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी प्रयोग भएको निकुञ्ज स्रोतको दाबी छ । जयसवाल इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको नाममा दर्ता छ ।

४ पुस राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित आरक्षको कोर जंगलमा जम्काभेट भएको थियो । सेनाको टोलीलाई देखेपछि भागेका सिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँचजनालाई पक्राउ गरेको र केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए । सिकारी टोलीलाई पछ्याउँदै गएको सेनाको टोलीले फार्म हाउसमा छापा मारेर सिकारमा प्रयोग हुने थप सामग्री बरामद गरेको थियो ।

सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यसदिन सिकारमा संलग्न रहेको आरोपमा पाँचजनासहित दुईवटा गाडी, सिकार खेल्न प्रयोग हुने सामग्री, सिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउकोलगायत सार्वजनिक गरेको थियो ।

अनुसन्धानका लागि काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा कांग्रेस नेता श्याम खड्कालाई पनि निकुञ्जले बोलाएको छ । खड्काको नाममा रहेको बन्दुक शिकारीको टोलीबाट बरामद भएपछि उनलाई पनि अनुसन्धानका लागि बोलाइएको हो ।

काठमाडौं घर भएका खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अकुवनियामा माछापोखरी छ । उनी अझैसम्म पनि बयानका लागि उपस्थित नभएको सूचना अधिकारी खड्काले जानकारी दिए । खड्काले मंगलबार एक विज्ञप्ति जारी गरी सो घटनामा आफ्नो कुनै संलग्नता नभएको जानकारी गराएका छन् । सो घटना हुँदा आफू काठमाडौंमै रहेको र सिकारमा प्रयोग गरेको बन्दुक आफ्नै लाइसेन्स प्राप्त भएको तर त्यो कसरी त्यहाँ पुग्यो भन्ने विषय अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

८९ जना रुसी सेना मारिनुमा मोबाइल फोनको गैरकानुनी प्रयोग

एजेन्सी – रुसी रक्षा मन्त्रालयले बुधबार घातक युक्रेनी मिसाइल आक्रमणको लागि मोबाइल फोनको गैरकानूनी प्रयोगलाई दोष लगाएको छ । युक्रेनी पक्षबाट भएको उक्त हमलामा ८९ रुसी सेनाको ज्यान गएको थियो ।

मस्कोले यसअघि सप्ताहन्तमा भएको आक्रमणमा ६३ रुसी सैनिक मारिएको बताएको थियो । मन्त्रालयको प्रतिक्रिया केही रूसी टिप्पणीकारबीच बढ्दो आक्रोशको बीचमा आयो । यद्यपि आधिकारिक अनुसन्धान सुरु गरिएको छ, तर आक्रमणको मुख्य कारण स्पष्ट रूपमा सेवाकर्मीहरूले मोबाइल फोनको अवैध सामूहिक प्रयोग रहेको मन्त्रालयले जनाएको छ ।

केही रुसी अधिकारीहरु र युक्रेन हमलाको विरोध गर्ने रुसीले उक्त हमलामा मृत्यु हुनेको संख्या १०० पुगेको हुन  सक्ने बताएका छन् ।
उक्त हमला पुटिनका सेनाका लागि अर्को झड्का थियो ।

ट्वीटरले राजनीतिक विज्ञापनमाथिको प्रतिबन्ध खुकुलो बनाउने

एजेन्सी – ट्विटर इंकले सामाजिक मिडिया प्लेटफर्ममा अनुमति दिइने राजनीतिक विज्ञापनहरूको प्रकारहरू विस्तार गर्नेछ, जुन सन् २०१९ मा राजनीतिक विज्ञापनहरूमा विश्वव्यापी रुपमा लगाइएको प्रतिबन्धविपरीत नीति हो । एलोन मस्कको स्वामित्वमा रहेको कम्पनीले राजस्व बढाउन खोजेको छ ।

कम्पनीले संयुक्त राज्य अमेरिकामा “कारणमा आधारित विज्ञापनहरू“ को लागि आफ्नो विज्ञापन नीतिलाई पनि सहज बनाउनेछ र अगाडि बढ्नाले यसको विज्ञापन नीतिलाई ‘टिभी र अन्य मिडिया आउटलेटहरूसँगै’ मिलाउनेछ ।

ट्वीटर र फेसबुकजस्ता अन्य सामाजिक सञ्जाल कम्पनीहरूले आफ्नो सेवाहरूमा चुनावी गलत सूचना फैलाउन अनुमति दिएकोमा व्यापक आलोचनाको सामना गर्नु परेपछि ट्विटरले सन २०१९ मा राजनीतिक विज्ञापनहरू प्रतिबन्ध लगाएको थियो ।

‘हामी विश्वास गर्छौं कि राजनीतिक सन्देशको पहुँच बनाउनुपर्छ  किन्न होइन’, ट्विटरका तत्कालीन प्रमुख कार्यकारी ज्याक डोर्सीले यस कदमको घोषणा गर्दै ट्वीट गरे ।

पाँचथरमा घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु, २ जना घाइते

काठमाडौं – पाँचथरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भउको हो भने २ जना घाइते भएका छन् ।

मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी घाइते हुनेमा मेघबहादुर र विजेन्द्र गुरुङ रहेका छन् । आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने अनुमान लगाइएको छ । आगलागी विद्युत् सर्ट भएर भएर हुन सक्ने अनुमान लगाइएको छ ।

खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङ बनाउने योजनाको विरोध

काठमाडौं । खुलामञ्च, सबैका लागी सधै खुला। चाहे राजतन्त्र होस् या गणतन्त्र। स्वतन्त्रताको विगुल फुक्न होस् या सत्ताको प्रतिकार गर्न होस्। खुलामञ्च सँधै सबैको साझा बन्यो।दुरदराजबाट सपनाको तान बुन्दे राजधानी छिरेको बेरोजगार युवाले सुस्ताउने घर हो खुलामञ्च। हुँदा खानेहरुको भरोषाको केन्द्र पनि हो।सँधै सबैलाई बर्षोदेखि खुला खुलामञ्च अब बन्द गरिँदैछ।

काठमाडौ उपत्यकाको सुन्धारा क्षेत्रमा पाकिङलाई सहज बनाउने भन्दै काठमाडौ महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउण्ड पार्किङ बनाउने निर्णय गरेको छ। गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पूनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो।

करौडौ रुपैयाको लागतमा काठमाडौंको मुख्य क्षेत्र मानिने खुलामञ्चको स्वरुप बिगार्न लागिएको भन्दै सम्पदाविद र अभियन्ता आन्दोलनमा छन्।

काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई अहिलेको अवस्था मै हुनुपर्ने र मास्न नपाइने अभियन्ताको माग छ। प्राचिन हिटी प्रणालीसँग जोडिएको खुलामञ्चको प्राकृतिक रिचार्ज सिष्टम र अन्य नकारात्मक वातावरणीय प्रभाव पर्ने भएकाले खुलामञ्चलाई चलाउन नहुने उनीहरूको तर्क छ।यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

उपरथी शाहीलाई किन सैनिक हिरासतमा राखियो ?

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरी हिरासतमा राखेको छ । जंगी अड्डाले ‘पुस ४ गते मिति २०७९ पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू’ भन्ने बेहोराको पत्र थमाएपछि शाही सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले पुस १३ मा पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकाशमा पठाउने निर्णय कार्यान्वयन नगर्न भनेपछि उनी मंगलबार नियमित कामका लागि जंगी अड्डा पुगेका थिए ।

सर्वोच्चको आदेशअनुसार काममा लगाउनुको साटो सैनिक मुख्यालयले उनलाई नियन्त्रणमा लिएको हो ।पूर्वाग्रहका आधारमा आफूलाई अवकाश पत्र थमाएको भन्दै न्यायका लागि सर्वोच्च पुगेका शाहीमाथि सैनिक मुख्यालयले भने सैनिक अनुशासन र संगठनविपरीत गतिविधि गरेको आरोप लगाएको छ ।

‘उहाँमाथि विगतमा आर्थिक अनुशासनमा नबसेको सन्दर्भका केहीकेही उजुरी परेका थिए,’ नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले भने, ‘त्यसैको छानबिनका लागि नियन्त्रणमा राखिएको छ।’यो समाचार नागरिक दैनिकमा छ ।

पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की

काठमाडौं । यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो ।

प्रतिनिधिसभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

सो समय आधार मान्दा १० पुससम्म सभामुख चयन गरिसक्नुपर्छ । १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले आगामी २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । त्यसलगत्तै सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी सत्ता गठबन्धनको छ । संसद् सचिवालयका अनुसार सभामुख निर्वाचनका लागि कम्तीमा तीन दिन आवश्यक पर्छ ।

पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन सभामुखका लागि उम्मेदवारी दर्ता र तेस्रो दिन निर्वाचन हुनेछ । सोही अनुसार सचिवालयले तयारी गरेको हो ।यो खबर आजको राजधानी दैनिकमा छ ।

विश्व इतिहासमा आजः बर्माको स्वतन्त्रतादेखि अमेरिकी पहिलाे महिला सभामुख

आज सन् २०२३ काे ४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

दुबईको बुर्ज खालिफा सर्वसाधारणका लागि खुला

सन् २०१० मा दुबईको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो । ८२९ दशमलब ८ मिटर  (२७२२ फिट) सो भवन अहिले विश्वकै सबैभन्दा अग्लो भवन हो ।

रुसकाे कृत्रिम स्याटलाइट

सन् १९५८ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको कृत्रिम स्याटलाईट स्पुतनिक १ पृथ्वीमा खसेको थियो । सोभियत युनियन अन्तरिक्षमा कृत्रिम स्याटलाईट पठाउने विश्वकै पहिलो देश हो ।

बर्माको स्वतन्त्रता

सन् १९४८ मा बर्माले बेलायतबाट स्वतन्त्रता पाएको थियो । बर्मा सन् १८८६ को १ जनवरीदेखि बेलायतको अधिनमा थियो ।

अमेरिकाको ४५ औं राज्य

सन् १८९६ मा उताह अमेरिकाको ४५ औं राज्य बनेको थियो ।

अमेरिकाको पहिलो सभामुख

सन् २००७ मा अमेरिकी राजानीतिज्ञ नेन्सी पेलोसी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सभामुख बनेकी थिइन् । नेन्सी अमेरिकी इतिहासमै पहिलो महिला सभामुख हुन् ।

सर आइजेक न्युटनको जन्म

सन् १६४३ को ४ जनवरीमा भौतिकशास्त्री तथा गणितका पिता सर आइजेक न्युटनको लन्डनमा जन्म भएको थियो । उनको सन् १७२७ को ३१ मार्चमा मृत्यु भएको थियो ।

कस्तो छ आजको मौसम ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु लागेको छ ।दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली हुनेछ ।

बिहीबार प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तुलाको काम सफल हुने, अन्य राशिको कस्तो छ आज ?

काठमाडौं – आजको पात्रो : २० पुस बुधबार, २०७९ । तद्नुसार जनवरी ४ तारिक २०२३ । पौषशुक्ल त्रयोदशी, कौलव करण, रोहिणी नक्षत्र, शुभ योग, चन्द्रमा वृष राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ६ः५६ र सूर्यास्त ५ः२२ मा हुनेछ । बुधबार घर गृहस्थ सम्बन्धी कार्य गर्नु उत्तम हुनेछ । आजका देवता लक्ष्मी र ग्रहदेव सूर्य हुन् । आर्थिक कारोबार र ऋण लिनका लागि आजको दिन उपयुक्त रहेको छ । यात्राका लागि दिन शुभ रहेको छ । अचल सम्पत्तिका लागि कारोबार नगर्नुहोला । उत्तर दिशा फर्केर यात्रा गर्दा अशुभ हुनेछ ।

आजको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ । आज नयाँ कामको थालनी समेत हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ । घर गृहस्थको बारेमा आफन्तसँग विवाद हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनका काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । नियमित कामबाहेक अन्य काममा चासो नदिनु वेश हुनेछ । मौन रहनु उत्तम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपमान हुनसक्छ । घरपरिवार, मित्रमण्डलीसँग विवाद हुने काम नगर्नु नै वेश हुनेछ । नियमित काम मात्र गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । कामबाट सन्तुष्ट प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले विवाद नगर्नुहोला । कुनै नयाँ काम सुरु गर्न खोज्दा बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला । कुमारी कन्यालाई भोजनको व्यवस्था गरिदिनुहोला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सुुरु गरेको काम सफल हुनेछ । आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । कन्यालाई भोजन र दान दिनुभएकामा उन्नती र प्रगतिको बाटो खुल्नेछन् । देवालयको दर्शनले सकारात्मक सोच आउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । चन्द्रमाको साथ छ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा आफूबसेको स्थान नजिकको मठमन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले तपाईको कामको अबमूल्यन गर्नसक्छ । परिवारमा अनावश्यक विवाद पनि हुनसक्छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । यात्राका लागि अवसर आउनसक्छ । तपाईले सोचअनुसारको काम हुनेछ । व्यापार व्यवसायबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ । तपाईको आज सोचअनुसार काम हुनेछ ।

क्रिकेट प्रतियोगिताका विषयमा छानबिन गर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडौँ – गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले त्यसको आवश्यक छानबिन गर्न प्रहरीलाई भनेको हो ।

टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन्तररुपमा आइरहेकाले सो विषयमा के–कसो भएको हो आवश्यक छानबिन गरी जो–जे गर्नुपर्ने हो, यथाशीघ्र गर्नु गराउनु हुन माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यूको निर्देशानुसार अनुरोध छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यही पुस ९ गतेदेखि त्रिवि मैदानमा उक्त प्रतियोगिता जारी छ । प्राप्त निर्देशनको आधारमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।(रासस)

समता घरेलु र स्वरोजगार लघुवित्त संस्थाबीच मर्जर सम्झौता हुने

काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच प्रारम्भिक समझदारीपत्रमा सोमबार (१८ पुस) हस्ताक्षर गरी आपसमा गाँभिने सम्झौता भएको हो ।

साथै, मर्जज (गाभ्ने/गाँभिने) सम्झौता भएसँगै सम्लग्न दुवै संस्थाको आधारभुत सेयरधनीहरूको सेयर कारोबार रोक्का गर्न र सोको जानकारी गराईदिन नेप्सेलाई अनुरोध पनि गरेका छन् ।


सूर्या ४२ को हिन्दी राइट्स सय करोडमा बिक्री

मुम्बई । ‘सूर्यम’, ‘सिरूथाई’, ‘वीरम’, ‘वेदालम’ र ‘विश्वासम’ जस्ता फिल्म बनाएपछि सिवा पहिलोपटक तमिल सुपरस्टार सूर्यासँग काम गर्दैछन् । ‘सूर्या ४२’ नाम रहेको फिल्मको घोषणा गत सेप्टेम्बरमा भएको थियो । थ्रीडी फर्म्याटमा बनिरहेको फिल्म १० भाषामा रिलिज हुँदैछ । फिल्ममा दिशा पाटनीको पनि अभिनय रहेको छ ।

पुनर्जन्ममा आधारित फिल्म एक्सनपरक छ । यो फिल्मको हिन्दी राइट्स पेन स्टुडियोका मालिक जयन्तीलाल गडाले सय करोडमा खरिद गरेका छन् । तमिल फिल्म उद्योगमा यति महंगो मूल्यमा हिन्दी राइट्स किनिएको यो पहिलो फिल्म हो ।

फिल्मको लागत २ सय करोड छ । फिल्ममा सूर्या पाँचवटा भूमिकामा देखिँदैछन् । फिल्मको कथा आजको समय र एक हजार वर्षअघिको घटना वरपर घुमेको छ ।

यसअघि पेन स्टुडियोले ‘आरआरआर’को हिन्दी राइट्स १ सय ४० करोडमा किनेको थियो । फिल्मले हिन्दी बक्सअफिसमा २ सय ७४ दशमलब ३१ करोड कलेक्सन गरेको थियो ।

छाडा कुकुर घटाउन स्थायी बन्ध्याकरण अभियान

बुटवल । तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक छाडा कुकुरको स्थायी बन्ध्याकरण अभियान सम्पन्न गरिएको छ ।नगरपालिकाको आर्थिक सहयोगमा पक्लिहवा कृषि तथा पशु अध्ययन क्याम्पसका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रीकल्चरको प्राविधिक सहयोगमा तीन दिनमा ८० वटा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो ।

नगरपालिका कार्यालय परिसरमा मंगलबार औपचारिक कार्यक्रम गरी कुकुरको स्थायी बन्ध्याकरण शल्यक्रियामा प्राविधिक सहयोग गर्ने चिकित्सकहरू डा. केशव लम्साल, डा. विरेन्द्र श्रेष्ठ, डा. गंगाप्रसाद यादवसहित सहयोगी संस्थाहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाणले समुदायमा संचालन गरिने विकास निर्माणको कार्यहरूलाई एकीकृत योजना बनाई अघि बढाउनुपर्ने बताए । सामुदायिक छाडा कुकुरको नियन्त्रणको अभियान थालनी गरेको भन्दै यसमा छिमेकी पालिकाहरुको सहकार्य जारी रहने उनले बताए । ‘स्थानीय तहहरू मिलेर साझा मुद्दामा एकताबद्ध भई काम गर्नुपर्छ,’ उनले भने ।

छाडा चौपाया, सामुदायिक कुकुर, फोहोर व्यवस्थापन, वातावरण संरक्षण जस्ता विषयमा एकीकृत योजना बनाएर अघि बढ्न जरुरी रहेको उनले बताए । बजार क्षेत्रमा कुकुरको संख्या बढ्दा नगर अब्यवस्थित हुनुको साथै विभिन्न रोग लाग्ने जाेखिम बढेपछि अभियान चलाएको खाणको भनाइ छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सिमित बजेटमा नमूना काम भएको बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरमा धेरै छाडा पशुको समस्या रहेको बताइन् ।

समुदायबाट कुकुरको व्यवस्थापनको दबाब आइरहेको बेला बन्ध्याकरण राम्रो विकल्प भएको उनले दाबी गरिन् । नगरपालिकाका सबै वडा कार्यालयहरूको समन्वयमा बन्ध्याकरण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाइन् ।

प्रम प्रचण्ड र राष्टियसभाका अध्यक्षबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड र राष्टियसभाका अध्यक्ष तिमिल्सिनाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच समसामयिक राजनीति बिषयमा कुराकानी भएको छ ।

भेटका क्रममा राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पेश भई निष्क्रिय भएका पाँच वटा विधयेकलाई पुनःराष्ट्रियसभा मै दर्ता गरी अगाडि बढाउन अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई आग्रह गरेको जनाइएको छ । राष्ट्रियसभामा उत्पत्ति भई लामो छलफलपछि पारित भएर प्रतिनिधिसभामा गएका विभिन्न पाँच विधयेक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए ।

त्यसरी निष्क्रिय भएका नेपाल मिडिया काउन्सिल विधेयक, नीति अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधयेक रहेका छन् ।

रोहित शेठ्ठीको ‘गोलमाल’ मा यसरी ‘लकी’ बने तुषार कपुर

मुम्बई – अभिनेता तुषार कपूर एक समयका स्टार अभिनेता जितेन्द्र कपूरका छोरा हुन् । सन् २००१ बाट ठूलो पर्दामा पाइला चालेका तुषारले भलै कम फिल्ममा अभिनय गरे, तर उनको चरित्र आज पनि लोकप्रिय छ । रोहित शेट्टीको ‘गोलमाल’ सिरिजमा उनको ‘लकी’ चरित्रलाई जोकोही दर्शकले सम्झन्छन् ।

यो भूमिका निर्वाह गर्न तुषार सुरुमा डराएका थिए, किनकि उनीसँग कुनै संवाद थिएन । तर पनि उनले यो भूमिका निर्वाह गर्ने निर्णय लिए । ‘सुरुवातमा म आशंकित थिएँ । निरज बोहराजीले मलाई सम्पर्क गर्नुभयो, जो अहिले यो संसारमा हुनुहुन्न । त्यो समय केवल तीन चरित्र मात्र थियो किनकि यो एक नाटकबाट प्रेरित थियो । उहाँले ‘हामी चौथो चरित्र बनाउदैछौं’ भन्नुभयो । सुरुमा मैले यसलाई सांकेतिक भाषाको माध्यमबाट गर्छु भन्ने सोचें । तर जब हामीले सुटिङ सुरु गर्यौ, तब मेरो ट्यूटर विकास कदम र रोहितले केही अलग गर्ने निर्णय लिए’, तुषार भन्छन् ।

४६ वर्षे तुषारका अनुसार उनले आफ्नो भूमिकाका लागि वर्कसप गरिएको थियो । जसका लागि चार्ली च्याप्लिनका कैयौं फिल्म हेरिएको थियो । यसबाहेक संवादविहीन फिल्म पनि हेरिएको थियो । ‘त्यसपछि हामीले शारीरिक हाउभाउमा पनि काम गर्यौ । यतिमात्र होइन, उनीहरुले मलाई यो चरित्रका लागि गायकको जस्तै रियाज पनि गराए । अजय देवगणको आवाज लो बेस छ र शरमन तथा अरशदको हाइ पिच छ । त्यसकारण उनीहरु मबाट उनीहरुभन्दा हायर पिचमा आफ्नो प्रतिक्रिया दिउँ भन्ने चाहन्थे । यो प्रक्रियामा म धेरै असुरक्षित थिएँ किनकि त्यो बेला म अर्को फिल्म ‘क्या कुल है हम’मा व्यस्त थिएँ । त्यो फिल्ममा मेरो धेरै संवाद थियो’, तुषार सम्झन्छन् ।

चितवनमा चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि ‘अटो यात्रा’

चितवन, १९ पुस । चितवनमा चलचित्र उद्योगको प्रवर्द्धनका लागि ‘अटो यात्रा’ हुने भएको छ । लक्की मिडिया हाउसले चलचित्र ‘तिम्रो मेरो साथ’को प्रिमियर शोको अवसर पारेर कलाकारहरुको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको हो ।

नेपाली चलचित्र उद्योगको प्रवर्द्धन र प्रचार प्रसारको लागि कलाकारहरुको सहभागितामा ‘अटो यात्रा’ गर्न लागेको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताए ।

साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर चलचित्र ‘तिम्रो मेरो साथ’ को पुस २७ गते साँझ ६ बजे चितवनमा प्रिमियर शो गर्न लागिएको हो ।

चलचित्रको प्रिमियर शोको दिनमा चर्चित कलाकारहरुलाई सम्मान स्वरुप भरतपुर विमानस्थलमा स्वागत गर्दै सिने जगतको प्रवर्द्धनका लागि कलाकारहरुको साथमा भरतपुर नगरभित्र अटो यात्रा गर्न लागेको कार्कीले बताए ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा रहेको फिल्ममा साम्राज्ञी तथा पुष्पको अलवा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन ‘खबपु’ को अभिनय रहेकोछ ।

भारतकी रजनी राईकाे नेपाली नागरिकता प्रकरण : प्रशासनदेखि जनप्रतिनिधिसम्मको प्रयोग गरी मिलाउने प्रयास

बारा, १८ पुस । बाराको निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिन प्रसाशनदेखि जनप्रतिनिधिसम्मको मिलोमताे भएको पाइएको छ । जस कारण गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशन नै मौन देखिएको छ ।

निजगढ नगरपालिका–१२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा गैरनेपालीले नागरिकता पाएको करिब सात महिना बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालय बाराले कारबाही गरेको छैन, प्रसाशनले निजगढ नगरपालिका–१२का वडा अध्यक्ष ज्ञानबहादुर गोले र सर्जमिन गर्ने प्रहरीलाई समेत बचाउने गरी गृहमन्त्रालयमा पत्रचार गरेको खुलेको हो ।

निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ कि रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । उनले ना. प्र. नं. ३३–२–७९–००५१३ को नागरिकताको प्रमाणपत्र लिएकी थिइन । वडा अध्यक्ष गोले र वडा अध्यक्षका आफन्त पर्ने तथा उनकै पार्टी नेपाली कांग्रेसका वडा सभापति समेत रहेका श्यामराज गोलेको मिलोमताेमा उनको नागरिता बनाइएको स्राेतकाे दाबी छ ।

वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) कि छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत जेठ २४ गते सिफारिस पठाएको थियो । यसअघि वडा कार्यालयले जेठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो । तर, यसबीचमा प्रहरी, प्रशासन र जनप्रतिनिधिले कालिङपोङ घर भएकी रजनी राईको घर पुगेर उनको सक्कली नागरितासमेत नेपाल ल्याएका छन् भने नेपाली राहदानी लिएर राई भने अमेरिका पुगिसकेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जिव ओलीले भने, ‘वडा कार्यलयको सिफारिसपछि प्रशासन कार्यालयले सर्जमिनको लागि इलाका प्रहरी कार्यालय निजगढमा पत्र पठाएको भए पनि सो पत्र इलाका प्रहरी कार्यालयमा दर्ता नगरी सिधै मातहतको अस्थायी प्रहरी चौकी रतनपुरीमा पुगेको र चौकीबाट नै सर्जमिन गरिएको पनि खुलेको र प्रहरी चौकीको क्षेत्रमा पर्ने भएको हुँदा उसैले सर्जमिन गर्नुपर्ने भए पनि आफूलाई जानकारी नै नदिइ पत्र आएको तथा चौकीमार्फत नै कागजपत्र तयार पारेर लगिएको थियो । कार्यालयको नाममा आएको पत्र सिधै अस्थायी प्रहरी चौकीमा पुगेको रहेछ उतैबाट कागजपत्र बनाएर नागरिकता बनाएको देखियो ।’

तर, प्रहरी निरिक्षक ओलीले आफूलाई जानकारी नभई मातहतको अस्थायी प्रहरी चौकीमा पत्र पुगेको भनिए पनि पत्याउन नसकिने स्थानिएको भनाई छ । प्रहरीले सर्जमिन गर्ने प्रहरीको सरुवा गरेको छ, तर नाम भने बताएको छैन ।

तत्कालीन इलाका प्रशासन कार्यालय सिमराका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालको समेत यस बीचमा सरुवा गरिएको छ । तत्कालीन प्रमुख अर्यालका अनुसार वडा कार्यालयबाट आएको सिफारिसको आधारमा रजनीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको बताए ।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय युवाहरूले पटक पटक इलाका प्रशासन कार्यालय सिमरालाई अनुरोध गर्दै उजुरीसमेत गरेका थिए । तर, प्रशासन र प्रहरीको मिलेमत्तेमा उजुरीमाथि कारबाही भएको छैन । बरु यसलाई सामसुम गर्न प्रशासन तस्पर देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय बाराका एक अधिकृतले भने, ‘हाललाई यो विषयमा कुनै पनि काम कारबाही नगर्नु भन्ने आदेश निर्वाचनभन्दा अगाडिसम्म गृह मन्त्रालयको थियो, यसबीचमा प्रसाशन कार्यलयले आफूले गर्ने अध्ययन नै नगरी बचाउन गृहमा सिफारिस भएको थियो, त्यसबेला गृहबाट नै थेग्नै नसक्ने दबाब आएपछि यो विषयमा कुनै कारबाही हुन सकेको थिएन । अहिले प्रशासनले नै कारबाही नगरी उटै मिलाउने काम गरेको थाहा हुन आएको हो । गैरनेपालीलाई नागरिकता दिनेलाई कारबाही नहुनु दुखद् हो । प्रमुख जिल्ला अघिकारीले नै दबाब दिएपछि हामी कर्मचारी बाध्य छौँ ।’

प्रशासन र जनप्रतिनिधिको मिलेमताे तथा आर्थिक प्रलोभनमा परेर गैरनेपालीलाई नागरिकता दिएको स्थानीयको आराेप  छ । रजनीले वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) कि छोरी भन्दै राईको वडा कार्यालयले २३ जेठमा युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो भने नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत २४ जेठमा सिफारिस पठाएको थियो ।

रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाडौंबाट राहदानीसमेत बनाएर लिएको बताइएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक सञ्जिव ओलीले नक्कली आमाबुबा बन्नेहरू हाल फरार रहेको र खोजीकार्य भइरहेको बताए ।

वडा कार्यालयको सिफारिसमा सिमरास्थित इलाका प्रशासन कार्यालयले भारत दार्जिलिङ घर भएकी २१ वर्षीया रजनी राईलाई गत १ असारमा ३३–०२–७९–००५१३ नम्बरको नेपाली नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गर्न रजनी हाल फरार रहेकी छिन् ।

वडा अध्यक्ष ज्ञानबहादुर गोलेले नागरिकताको लागि गत २४ जेठमा सिफारिस गरेका थिए । वडा अध्यक्ष गोलेले आर्थिक प्रलोभनमा परेर दार्जिलिङमा रहका आफ्ना नातेदारहरुमार्फत राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहयोग गरेको आरोप लागेको छ ।

पर्यटक आकर्षित गर्न दुबईले घटायो मदिरा बिक्रीमा ३० प्रतिशत कर

एजेन्सी – धनी खाडीका प्रमुख शहरहरूबीच प्रतिस्पर्धा बढ्दै गएपछि पर्यटकहरूलाई लोभ्याउन दुबईले मदिरा बिक्रीमा ३० प्रतिशत कर घटाएको छ ।वितरकहरूद्वारा घोषणा गरिएको तर अधिकारीहरूले पुष्टि नगरेको कटौती विश्वको सबैभन्दा उच्च मूल्यहरू घटाउन तय गरिएको गरिएको देखिन्छ, जहाँ बियरको प्रति पिन्ट १५ डलरभन्दा बढी लाग्छ ।

वितरकहरु एमएमआई एन्ड अफ्रिका एन्ड इन्स्टर्नकाअनुसार २१ वर्षभन्दा माथिका गैर–मुस्लिमहरूलाई उपलब्ध व्यक्तिगत मदिरा इजाजतपत्र अब निःशुल्क हुनेछ । ‘तपाईंलाई  मनपर्ने पेयहरू किन्न  सजिलो र सस्तो भयो’, एमएमआईले एक फेसबुक पोस्टमा कटौती विवरणमा भनेको छ । यसबारेमा दुबईका अधिकारीहरूबाट तत्काल कुनै प्रतिक्रिया आइनसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुबई युनाइटेड अरब इमिरेट्सको आर्थिक, व्यापार र पर्यटन केन्द्र हो । यो प्रमुख तेल निर्यातक मुस्लिम देश हो जसले बिस्तारै मदिरामा लाग्दै आएका बाधाहरू खुकुलो पारेको छ ।

छिमेकी साउदी अरेबियाको विपरीत धेरै जसो युएईले रेस्टुरेन्ट, बार र तोकिएका पसलहरू सहित इजाजतपत्र प्राप्त स्थानहरूमा मदिररा बेचेको छ । यद्यपि यसलाई सार्वजनिक रूपमा उपभोग गर्न सकिँदैन ।

अनिश्चितकालका लागि राहदानी वितरण बन्द

काठमाडौं, १९ पुस । राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो ।

सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्काे सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् ।

पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आई राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण  कार्य अवरुद्ध हुन गएको छ । विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने व्यहोरा सबैमा अनुरोध छ,’ प्रवक्ता सापकोटाले जारी गररेको विज्ञप्तिमा भनिएको छ, ‘आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मको लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ । ’

नियमित रूपमा राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट बुक गरेका सेवाग्राहीहरू बुक गरेको मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागले भनेको छ ।

कोरोनाभाइरस महामारीपछि राहदानी लिनेको भिड बढेको बताउँदै आएको विभागले सेवा प्रवाह अनिश्चितकालका लागि बन्द गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमति पत्र, राष्ट्रिय परिचयपत्रमा देखिएका समस्या समाधान गरी चुस्तदुरुस्त सेवा दिने निर्णय गरेको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेर सेवाग्राही र विभागको अवस्थाबारे जानकारी लिएका थिए ।

तर, विभागले भने सिस्टममा समस्या आएको भन्दै राहदानी वितरण कार्य नै अनिश्चितकालका लागि बन्द गरेको हो । सेवाग्राही सेवा लिन रातिदेखि नै विभागमा लाइनमा बस्ने गरेका छन् । यसरी रातभर लाइन बसेर पालाे नआउने तथा काम नहुने गरेकाे गुनासाेका बीच सेवा प्रवाह नै बन्द गरिएकाे हाे ।

राइनासकोट र लिगलिगकोट जोड्ने पदमार्ग निर्माणकाे सम्भाव्यता अध्ययन हुँदै

लमजुङ – लमजुङको राइनासकोट र गोरखाको लिगलिगकोट जोड्ने पदमार्ग निमार्णका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाबीच भएको अन्तर्पालिका साझेदारी समन्वय बैठकमा दुवै पालिकाको विकास र अन्तरसम्बन्ध मजबुद बनाउन उक्त निर्णय भएको हो ।

बैठकमा जिल्लाकै एतिहासिक पर्यटकीयस्थलको रुपमा रहेको राइनास नगरपालिकामा पर्ने राइनासकोट र पालुङटार नगरपालिकामा पर्ने लिगलिगकोट जोड्ने पदमार्ग निर्माण र चेपे करिडोर विकासको सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको हो ।

बैठकमा दुवै पालिकाको अन्तरसम्बन्ध रहेका र साझेदारी गर्न सक्ने साझा विकासका विविध आयाम तथा सम्भावनाहरूमा छलफल गरी विभिन्न निर्णयसहित हस्ताक्षर गरिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुर्लले बताए ।

छलफलका क्रममा दुई पालिकाको सिमानाको रुपमा रहेको चेपे नदीको संरक्षण गरी जलिय जैविक विविधता संरक्षण गर्नेको लागि नदीमा हुने अप्राकृतिक रुपमा विद्युतीय करेन्ट तथा विष प्रयोग गरी माछालगायत जलचर मास्ने गतिविधिको नियन्त्रण गर्न आवश्यक उपाय ‘अवलम्बन गर्ने निर्णय भएको छ ।

चेपे नदीमा ड्याम निर्माण गरी बहुउदेश्यीय बृहत जलासयका लागि सम्भाव्यता अध्ययन गर्ने तथा साेको लागि सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको राइनासका प्रशासकीय अधिकृत सुयलले वताए ।

लुम्बिनी विकास कोषले गर्‍यो कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटको अवलोकन

बुटवल, १९ पुस । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई सहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो ।

त्यस अवसरमा विश्वसम्पदा सूूचीकृतको तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एंव सगरहवालाई बौद्धकालीन पार्कका रुपमा विकास गर्न राष्ट्रिय कार्यशालामा जुट्न पदाधिकारीहरुले निर्देशन दिएका छन् ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बौद्धकालीन सभ्यताका प्रशस्त अवशेषहरु कपिलवस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमशः काम गर्दै अघि बढ्ने बताए । उनले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारीका लागि आवश्यक सम्पूूर्ण प्रक्रिया पूूरा भएको बताए ।

अवलोकनका क्रममा कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जगदीशपुर ताल नजिकै रहेको शाक्यहरुको बध भएको स्थल सगरहवामा प्रस्तर राष्ट्रिय कार्यशाला गर्ने तयारी स्वरुप स्थलगत अवलोकन गरिएको बताए ।

सगरहवा ताललाई स्थानीय तह, स्थानीय बासिन्दाको समेत अपनत्व हुने गरी बौद्धकालीन सभ्यतालाई प्रस्तरमा उतारेर पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार कार्यशाला गर्ने परिषदले निर्णय गरिसकेको उनले बताए ।

अवलोकनपछि तिलौराकोट, सगरहवा र सिसहनिया क्षेत्रको संरक्षणका लागि पहिलो चरणमा तत्तकाल पर्खाल निर्माण शुरु गर्नुपर्ने आवश्यकता देखिएकाले सुरु गर्ने सदस्य सचिव सानुराजा शाक्यले बताए ।

अनुुगमनमा योजना प्रमुख सरोज भट्टराई, कोषका बोर्ड सदस्य विश्वराज पौडेल, अर्का बोर्ड सदस्य रामनरेश कोहांर, परिषद सदस्य गोपी कृष्ण शर्मा, कोषका पुरातत्व विभागका प्रमुख हिमाल उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

भक्तपुरलाई सुरक्षित बनाउन दैनिक रुपमा गस्ती गरिरहेका छाैँ – प्रहरी

भक्तपुर, १९ पुस । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले सुरक्षित भक्तपुरका लागि दैनिक गस्ती टोली खटाइरहेकाे बताएका छन् । परिसरले मंगलबार परिसरमा आयोजना गरेको पत्रकार भेटघाटमा भक्तपुरलाई सुरक्षित सहरको रुपमा स्थापित गर्न दैनिक गस्ती टोली खटाएकाे बताए ।

परिसरका एसपी केसीले भक्तपुरलाई सुरक्षित स्थानको रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको बताए । परिणामस्वरु अहिले भक्तपुरमा लुटपाटको घटनामा कमी आएको दाबी गरे । पहिला रातको समयमा बाटोमा हिड्दा मोबाइल, पैसा लुटिने घटना धेरै आउँथे । अब त्यस्ता घटना निकै कम छन् ।’

विशेष गरेर रातको समयमा ठाउँठाउँमा गस्ती प्रहरी टोली खटाएको उनको भनाइ छ ।  टोलीलाई प्रभावकारी रुपमा काम गराउन टोली प्रमुखले निगरानी गर्ने गरिरहेको उनले जनाए ।

कार्यक्रममा परिसरका सूचना अधिकृत राजु पाण्डेले भक्तपुरमा लागुऔषध दुर्व्यसनकर्ता पक्राउको संख्यामा पनि कमी आएको बताए । लागूऔषध प्रयोगकर्ता बस्ने क्षेत्रमा निगरानी गरी त्यहाँं उनीहरूलाई बस्नै नदिएकोले यस्तो घटनामा कमी आएको उनले बताए । विशेष गरेर हनुमानघाट, राममन्दिरलगायतका स्थान तथा रातको समयमा अलि सुनसान र अध्यारो हुने सार्वजनिक पाटीमा विशेष निगरानी गरेर त्यस्ता क्षेत्रमा मानिसको जमघट नै नगराइराखएको उनले जनाए ।

कार्यदलले गुहमन्त्रीलाई बुझायो मिटरब्याजी समस्या समाधानसम्बन्धी सुझाव समेटिएको प्रतिवेदन

काठमाडौं – मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न गठित कार्यदलले मंगलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।

सहसचिव डा. भीष्मकुमार भुसाल नेतृत्वको कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्यामप्रसाद दाहाल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा र सिआइवीका प्रहरी नायब उपरीक्षक रोशन खड्का सदस्य थिए।

प्रतिवेदनमा यसअघि २७ भदौ २०७९ मा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले दिएको प्रतिवेदनको कार्यान्वयनका लागि भएका प्रयास, २०७९ असोज १ गते मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदूर संंघर्ष समितिसँग भएको सहमतिमा उल्लेखित विषय कार्यान्वयनका लागि आवश्यक कानुन संशोधन, नयाँ कानुन निर्माण तथा कार्यविधिगत् सुधारको आवश्यकता औँल्याइएको छ । सरकारले देशभरका मिटरब्याजबाट पीडितहरूलाई सबै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आह्वान गरेको थियो । जसअनुसार १८ सय भन्दा बढी उजुरी परेको थियो ।

विकास खर्च बढाउन उपप्रधानमन्त्री श्रेष्ठलाई नेपाल उद्योग परिसंघको आग्रह

काठमाडौं – नेपाल उद्योग परिसंघ टोलीले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै विकास खर्च बढाउन आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरे । पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको उनले बताए । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनले बताए । अध्यक्ष अग्रवालले निर्माण व्यवसायीहरुलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन एवं बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिए ।

उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको Rebooting Nepalese Economy अवधारणा उपप्रधानमन्त्री श्रेष्ठसमक्ष पेस गरेका थिए । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ ।

उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्वपूर्ण रहेको बताए । उनले समस्याहरुको समाधान गर्दै अगाडि बढ्ने उल्लेख गरे । ‘जहाँ समस्या छन्, समाधान गर्ने । जहाँ कमजोरी छन् त्यसलाई सच्चाउने, जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रियामा अगाडि बढ्नेछौं,’ उनले भने । उपप्रधानमन्त्री श्रेष्ठसँगको भेटवार्तामा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टरका अध्यक्ष सुशीलकुमार श्रेष्ठ सहभागी थिए ।

चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर्न माग गर्दै प्रदर्शन

बारा, १९ पुस । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ खारेज गर्नुपर्ने माग राख्दै निजगढ नगरपालिकामा मंगलबार उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उद्योगी तथा व्यवसायीआवद्ध संघ निजगढ नगर उद्योग वाणिज्य संघले मार्गदर्शन खारेजीको मागसहित विरोध प्रदर्शन गरेका हुन् ।

निजगढ नगर उद्योग वाणिज्य संघले व्यवसायिक वातावरण नबनेको भन्दै मार्गदर्शन खारेजीको माग गरेका थिए । विरोध र्‍याली नाराबाजीसहित नगरको बजारमा रहेको बुद्ध चोक परिक्रमा गरी पुन: शहीद चोकमा पुगेर सम्पन्न गरिएको थियो ।

व्यवसायीले ‘करदाताको रक्षा गर’, ‘गरिखान देउ’ लगायतको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । व्यवसायीले कर्जा ब्याजदर घटाउनसमेत माग गरेका छन् ।

सहभागी उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ज्यादती रोक, उद्योग व्यवसाय गर्ने वातावरण कायम गर, पर्यटन व्यवसाय विस्थापित होइन स्थापित गर, ब्याजदर एकल बिन्दुमा कायम गर, प्रिमियम दर बढीमा २ प्रतिशत गर, उद्योग व्यवसाय नीति कायम गर, चालू पुंजी कर्जा निर्देशिका २०७९ खारेज गर, सावा र ब्याज भुक्तानी अवधि बढाउने माग गरेक थिए ।

उद्योगी व्यवसायीहरुले राखेका माग पूरा नगरेका कारण आन्दोलनमा उत्रिन बाध्य भएको, कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी चर्को बैंक ब्याजदरले थप समस्यामा परेको व्यवसायी युवराज लामाले बताए । उनले चर्को बैंक ब्याजदर घटाउन सरकारसंग माग समेत गरे ।

निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बैंकले उद्योगी व्यवसायीलाई मानसिक यातना दिइ घरघरमा आतंक सिर्जना गरेको बताउँदै बैंकले आतंक सिर्जना गर्ने कार्य नरोके बैंकमा तालाबन्दी गर्न बाध्य हुने चेतावनी दिए । उनले उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न र बजारलाई चलायमान गराउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गर्नुकासाथै उद्योगी व्यवसायीले गरेको आन्दोलनमा आम नागरिकले पनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

बैंकको ब्याजदर एकल अंक कायम गर्नुपर्ने, चालू पूँजी कर्जाको नीति संशोधन गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको ज्यादती रोक्नुपर्ने लगायतका माग राखेर उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी चालु पुँजी कर्जा मार्गदर्शन २०७९ जारी गरेको थियो । उक्त मार्गदर्शनले बैंक तथा वित्तीय संस्थालाई चालुपुँजी कर्जामा नयाँ व्यवस्था लागु गरेको छ ।

उद्योगी व्यवसायीले भने उक्त व्यवस्थाका कारण व्यापार व्यवसाय झन् धरासायी बन्ने र मुलुकको अर्थतन्त्र गम्भीर स्थितिमा पुग्ने बताउँदै आएका छन् । मुलुकको अर्थतन्त्र उकास्न र उद्योग तथा व्यवसाय धरासायी हुन नदिन मार्गदर्शन तत्कालका लागि भए पनि खारेज गर्नुपर्ने माग राखेका छन् ।

सरकारमा सहभागिताबारे एकीकृत समाजवादी निष्कर्षविहीन, निर्णयको जिम्मा सचिवालयलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने बारेको निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले आज बसेको बैठकले दुई वटा निर्णय गरेको पनि बताए । पहिलो वामपन्थी मतहरूलाई एक ठाउँमा ल्याउने, मोर्चा बन्दी गर्ने, त्यसको केन्द्र भागमा रहेर काम गर्ने विषयमा सधैँभरी कटिबद्ध रहेर काम गर्ने र दोस्रो सरकारमा जाने विषयको निर्णय पनि केन्द्रीय सचिवालयले गर्ने उल्लेख छ ।केन्द्रीय सचिवालयमा पार्टीका पदाधिकारीहरू छन् ।

प्रदेश सरकारको नेतृत्व लिन एमाले र माओवादी केन्द्रबीच हानथाप सुरु

बुटवल, १९ पुस । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन सुरु भएसँगै अव प्रदेश सरकारको नेतृत्व लिन एमाले र माओवादी केन्द्रबीच हानथाप सुरु भएको छ ।  दुवै दलले संसदीय दलको नेता चयन गरेसँगै मुख्यमन्त्री आफूले पाउनुपर्ने दावी गर्न थालेका छन् ।

यद्यपि दुई दिनअघि मात्रै एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको राजधानी दाङ आएका बेला यहाँको सरकारको नेतृत्व एमालेले लिने बताएका थिए । तर, अहिले भने दुवै पार्टीका संसदीय दलका नेता मुख्यमन्त्रीका लागि केन्द्रका नेतासँग लविङ गरिरहेका छन् ।

प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेले पोलिटब्यूरो सदस्य एवं प्रदेशका सह–इन्चार्ज लिला गिरीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले डिल्लीबहादुर चौधरी र माओवादीले जोखबहादुर महरालाई संसदीय दलको नेता बनाएको छ ।

एमाले महासचिव पोखरेलले भने अनुसार नै भयो भने एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्नेछन् । गत साता माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रदेश सरकार गठनका विषयमा छलफल भएको थियो ।

जसमा प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा एमाले, लुम्बिनी र सुदूरपश्चिममा माओवादी र मधेश प्रदेशमा जनता समाजवादी पार्टीलाई नेतृत्व दिने विषयमा कुराकानी भएको बताइएको छ ।

लुम्बिनी माओवादीको भागमा प-यो भने संसदीय दलका नेता महरा मुख्यमन्त्री हुनेछन् । प्रदेशका एमाले नेताहरू भने ठूलो दलको हैसियतले आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएका छन् ।  चुनावअघि एमाले केन्द्रले मुख्यमन्त्रीको आश्वासन दिएकाले गिरी प्रदेश सभामा आएका थिए ।

माओवादी संसदीय दलका नेता महरा पनि आफू मुख्यमन्त्रीकै लागि प्रदेशमा उठेको बताउँदै आएका छन् । अध्यक्ष दाहालले पनि आफूलाई मुख्यमन्त्रीको आश्वासन दिएकाले ढुक्क रहेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सभामा तीन स्वतन्त्र सहित १० दलका ८७ सांसद छन् । जसमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका चार–चार, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तीन–तीन तथा नेकपा (एकीकृत समाजवादी) का एक सांसद छन् ।

सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । संघीय सरकारलाई समर्थन जनाएका एमाले, माओवादी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमत पार्टी जोड्दा ५२ सांसद पुग्छन् ।

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातारवरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किंदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् ।

व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले राखेपछि व्यापक रुपमा विरोध भएसँगै प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल यो समस्या समाधान गर्न निर्देशन दिएको हो ।

रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवहरूलाई ३० बुँदे लिखित निर्देशन दिए प्रधानमन्त्री प्रचण्डले

काठमाडौं, १९ पुस, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरुलाई लिखित निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा आयोजित छलफलमा प्रचण्डले सचिवहरूलाई ३० बुँदे लिखित निर्देशन दिएका हुन् ।

सरकारी सेवा सुधार र सहजता बनाउने विषयमा प्रधानमन्त्री प्रचण्डले सरकार सबै सचिवहरूसँग दुई दिने छलफल कार्यक्रम राखेका थिए । पहिलो दिन सोमबार २० सचिवले प्रधानमन्त्रीलाई मन्त्रालयगत रिपोर्टिङ गरेका थिए । बाँकी सचिवहरूले आज आफ्ना धारणा राखेका थिए । सबै सचिवहरूको धारणा सुनेपछि प्रचण्डले आज लिखित सम्बोधन गरेका छन् ।

‘नेपालको संविधान जारी भएपछि दोस्रोपटक तपाईहरुसमक्ष उपस्थित भएको छु । मलाई यसअघि प्रधानमन्त्रीको रुपमा कार्यरत रहँदा निजामती प्रशासन र सरकारी संयन्त्रबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु र यसपटक पनि तपाईहरुबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु,’ प्रचण्डले भनेका छन् ।

नेपाल सरकारका मुख्यसचिव र सचिव लगायत उपस्थित सबै कर्मचारी मित्रहरु
१.   म  प्रमुख कार्यकारीको भूमिकामा तेश्रोपटक र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोश्रोपटक तपाईहरुसमक्ष उपस्थित भएको छु । मलाई यसअघि प्रधानमन्त्रीको रुपमा कार्यरत रहँदा निजामती प्रशासन र सरकारी संयन्त्रबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु र यसपटक पनि तपाईहरुबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।
२.    अहिले संघीय संसद र प्रदेशसभाको निर्वाचन पश्चात संघीय सरकार गठन भएको छ । प्रदेश स्तरमा सरकार गठनका प्रकृया अघि बढिरहेका छन् । अहिले मन्त्रिपरिषद पूर्ण नभइसकेको अवस्थामा अधिकांश मन्त्रालयको कार्यभार मेरो जिम्मामा छ । त्यसैले, अहिले मन्त्रीहरुले मन्त्रालय नसम्हालुन्जेल तपाईहरुकै भरमा मैले धेरै मन्त्रालयका कामहरु गर्नुपर्ने भएको छ र तपाईहरुमा पनि जिम्मेवारी थपिएको छ । यो जिम्मेवारी तपाईहरुबाट पूरा हुने विश्वास लिएको छु ।
३.   आज म तपाईहरुसमक्ष ठूला नीतिगत र दीर्घकालीन विषयहरुभन्दा पनि तत्कालिन नागरिकका दैनिक आवश्यकताका सार्वजनिक सेवा प्रवाहका विषयहरु र विकास निर्माण र आयोजना संचालनका विषयहरुमा केन्द्रित हुनेछु । मन्त्रीमण्डलले पूर्णता पाएपछि म फेरि मन्त्रीहरूसमेत तपार्इहरूसँग विस्तृतरूपमा छलफल गर्न आउने छु।
४.   तपाईहरु राज्यको स्थायी सरकार भएकोले तपाईहरुसँग प्रशस्त अनुभव छ । यो सरकार तपाईहरुको अनुभव, योग्यता र क्षमताको पूर्णरुपमा प्रयोग गर्न चाहन्छ ।  तपाईहरुले जुन जिम्मेवारी पाउनुभएको छ, त्यो जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
५.   हिजो र आज दुईदिन सबै मन्त्रालय र निकायका तर्फबाट तपाईहरुका प्रस्तुति सुनें । तपाईहरुले यहाँ प्रस्तुत गर्दा सबै कुरा ठीकै जस्तो गरी विषयवस्तुहरु प्रस्तुत गर्नुभयो ।  ठयाक्कै तपाईहरुले भने जस्तो सामान्य अवस्था रहेको भए त राम्रो हो । तर यथार्थ त्योभन्दा फरक छ भन्ने मैले बुझेको छु । तपाईहरुसँग उपलव्ध तथ्यांकहरु राम्ररी केलाउनुभयो र आम नागरिकका गुनासाहरुलाई विश्लेषण गर्नुभयो भने तपाईहरु पनि यथार्थको नजिक पुग्न सक्नुहुन्छ । त्यसैले समस्या नै राम्ररी पहिचान गर्न  आग्रह गर्दछु ।
६.    आर्थिक वर्षको करिव आधाआधी समय व्यतित भइसक्दा पौष १५ सम्म राजस्व वार्षिक लक्ष्यको करिव २५ प्रतिशत मात्र संकलन भएको छ र अनुदानसहितको श्रोत करिव २७ प्रतिशत संकलन भएको र यो अवधिमा कुल खर्च करिव २८ प्रतिशत मात्र भएकोले संकलित आयश्रोतभन्दा बढी खर्च भएको देखियो । चालु खर्च करीव ३३ प्रतिशत र पूँजीगत खर्च  निराशाजनक ढंगको करिव ११ प्रतिशत मात्र भएको मेरो जानकारीमा आएको छ । बैदेशिक अनुदान रु ५५ अर्व प्राप्त हुने वार्षिक लक्ष्य रहेकोमा पौष १५ सम्म रु ३ अर्व ४२ करोड मात्र ९करिव ६ प्रतिशत० मात्र प्राप्त भएको छ ।
७.     राजश्र्व कम उठ्नुमा आर्थिक मन्दी, आयातमा कमी यस्तै केही कारण पनि होलान् । तर आयकरसमेत लक्ष्यबमोजिम उठेको छैन । अरू त के कुरा मासिक कर बुझाउन जाँदा पनि अनेक झन्झट र लामो लाइन बस्नुपर्ने अवस्थाले हाम्रो सेवा प्रवाहको स्तर जनाउँछ ।
८.    विकास खर्च आर्थिक वर्षको आधाआधी भइसक्दा जम्मा ११ प्रतिशत मात्र भएको छ। विकास खर्च हुन नसक्नाका कारण के हुन् रु को जिम्मेवार हो रु यसको कारण खोजी गरी निराकरण अब पनि नगरे कहिले गर्ने रु नीतिगत तहमा समस्या भए तथ्यमा आधारित सुधारका प्रस्ताव ल्याउनुहोस्। तर कार्यान्वयनमा देखिएका कमजोरी अब कसैलाई पन्छ्याएर उम्किन मिल्दैन । एकातर्फ लक्ष्यअनुसार राजस्व नउठ्ने, पूँजीगत खर्च नहुने, अर्कोतर्फ भएको खर्च पनि बेरुजु पर्ने र फछर्यौट नहुने भनेको वित्तीय प्रशासनको पूरा चक्र नै समस्याग्रस्त रहेको देखियो । यसमा संवेदनशील हुन जरुरी छ ।
९.    ठूला आयोजनामा विनियोजन भएको बजेट र हालसम्मको खर्च तथा भौतिक प्रगति र बिकास आयोजनामा गति तीव्र गर्ने उपायहरुसहितको योजना राष्ट्रिय योजना आयोगले तत्काल तयार गर्नुहोस् । विकास आयोजनामा विनियोजन गरेको रकम खर्च गर्न नसकेमा अन्यत्र खर्च गर्नसक्ने परियोजनाहरुमा सारिन्छ र जिम्मेवारी लिने तर लक्ष्यअनुसार राजस्व असुली र विकासका काम गर्न नसक्ने पदाधिकारीहरुको कामलाई कार्यसम्पादन मूल्यांकनसँग जोडिने व्यवस्था पनि मिलाउनुहोस् ।
१०. नयाँ संविधान २०७२ जारी भएपछि राज्य संघीयतामा प्रवेश गरेको र तीनै तहका निर्वाचन सम्पन्न गर्दै एक कार्यकाल पूरा भर्इ दोस्रो आम निर्वाचनबाट यो सरकार गठन भएको छ । संघीयता लागू भएपछि जनताले घरदैलोमा सहज सेवा पाउने छन्, विकास निर्माणमा स्थानीय जनताको सहभागिता हुनेछ, विकासका योजना वस्तुपरक बन्ने छन्, गुणस्तरीय विकासनिर्माण भई जनताले विकासको फल छिटो प्राप्त गर्नेछन् भन्ने अपेक्षा गरिएको थियो । तर, विगत ५ वर्षको हाम्रो कार्यसम्पादन सन्तोषजनक भएन । अहिले तपाइँ हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान दुर्इ बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ । राष्ट्रिय परिचय पत्र लिने सास्ती उत्तिकै छ । त्यो परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर हामीसँग छैन । अहिलेकै गतिमा राष्ट्रिय परिचयपत्रको काम हुने हो भने तीन करोड नेपालीको हातमा परिचयपत्र पुग्न दशकौ लाग्छ भने एक जना सरकारी अधिकारीले मलाई हिजो मात्र सुनाउनुभएको थियो । सवारी चालक अनुमति पत्र लिन पनि वर्षौं कुर्नुपर्ने अवस्था छ ।
११. संघीयतासँग आधारभूत तहको शिक्षा र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। तर सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो र यसको निराकरण के हो भन्ने खोजी गर्नैपर्छ । मौजुदा स्रोतसाधन र क्षमताको इमानदारीपूर्वक कार्यान्वयनबाट पनि राम्रो नतिजा ल्याउन सकिन्छ भन्ने उदाहरण चितवन र बुटवल लगायतका उत्कृष्ट नतिजा ल्याउने दर्जनौं सामुदायिक विद्यालयहरू छन् । तिनको सिको अन्य विद्यालयले गर्न नसक्ने कारण के हुन् रु नीतिगत असहजता हो भने सुधारका उपायसहितको प्रस्ताव ल्याउनुहोस्। तर यो विसङ्गति हटाउनैपर्छ ।
१२. सीमान्तकृत, श्रमजीवी र समाजको तल्लो वर्गलाई आधारभूत स्वास्थ्य सेवामा राहत दिने उद्देश्यले ल्याइएको रु १ लाख रुपैयाँको स्वास्थ्य बिमा र विपन्नलाई कडा रोग लागेमा रु १ लाखसम्म निःशुल्क उपचार गराउँदा प्रक्रियागत झन्झटले बिरामीले सहुलियत उपभोग गर्न नपार्इ रकमको अभावमा ज्यानसमेत जाने गरेको गुनासो छ । विपन्न नागरिकलाई सरल ढंगले उक्त सहुलियत दिने जिम्मेवारी तपाइँहरूको हो। तर किन अस्पतालमा नाम दर्ता गराउन र बिमा सुविधा लिनका लागि लाइनमै बिरामीका दिन जान्छ । प्रविधिको यति धेरै विकास भइसक्दा सरकारी अस्पतालमा नामदर्ता गर्नसमेत मान्छेहरूको घण्टौं लाग्छ र सरकारी अस्पतालमा सामान्य शल्यचिकित्सा गराउन ३(४ महिना कुर्नुपर्ने हुन्छ रु अस्पतालका प्रयोगशाला र परीक्षण गर्ने मेसिन उपकरण पटकपटक बिग्रिन्छन् र बिग्रेपछि महिनौं बन्दैनन् । अनुदानमा दिएका सामग्री स्टोरमा महिनौं थन्किन्छन् र चलनचल्तीमा भएका सामग्री पनि छिट्टै बिग्रिन्छन् । यसको खोजी गरी हटाउने जिम्मेवारी तपाईहामीले लिनुपर्छ ।
१३. मन्त्रालय र विभागमा काम विनाका कर्मचारीहरू थुप्रो लाग्ने तर जनतालाई आधारभूत सेवा दिने पालिका तहमा जनशक्तिको अभाव भई जनता सेवाबाट वञ्चित हुने अहिलेको अवस्थाको अन्त्य हुनैपर्छ । प्रदेश तथा स्थानीय तहहरुमा करीव एकतिहाई कर्मचारी दरबन्दी रिक्त रहेकाले जनशक्ति अभाव भई सेवाप्रवाह र विकास निर्माणमा असर परेको हुँदा प्रदेश तथा स्थानीय तहमा तत्काल कर्मचारी व्यवस्थाको लागि संघीय सरकारी निकायका अनावश्यक दरवन्दी कटौती गरी प्रदेश र स्थानीय तहमा जनशक्ति आपूर्ति गर्ने व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनुहोस् । संघीय निजामती ऐन आगामी संसदमा पेश गर्नेगरी तयारी गर्नुहोस् ।
१४. शिक्षा, स्वस्थ्य, यातायात जस्ता आधारभूत सेवा, राहादानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्नुहोस् । विकास आयोजना वर्षौंसम्म सम्पन्न नभई अलपत्र परिरहने र बनाएका संरचना सञ्चालनमा नआई मर्मत गर्नुपर्ने अवस्था आउँदा हामी उत्तरदायी हुने कि नहुने भन्ने अहम् प्रश्न छ । सर्वसाधारण जनाताका यस्ता प्रश्र्नको उत्तर आज एकले अर्कोलाई पन्छाएर पाइनेछैन । हामी अब जिम्मेवार बन्नैपर्छ । त्यसको विकल्प छैन।
१५. सेवा प्रवाहलार्इ सुलभ र सरल बनाउने तथा विकास निर्माणका कामलाई तीव्रता दिने काममा समस्या नीतिगत हो वा संस्थागत हो अथवा समस्या कार्यान्वयनमा हो वा प्रक्रियामा हो पहिल्याउनैपर्छ। अथवा समस्या प्रवृत्तिमा हो वा व्यवस्थापनमा हो हामीले खुट्याउनैपर्छ । अब सेवा प्रवाहलाई सहज बनाउन र विकासको गतिलाई तीब्र बनाउन नयाँ कानुन बनाउने वा कार्यकारी आदेश वा कानुन संशोधन के गर्नुपर्ने हो अथवा प्रकृयामा सुधार हो वा प्रवृत्तिमा तथ्यहरूमा टेकेर सुधारका लागि तत्काल काम थाल्नुहोस् । नीतिगत समस्या समाधानको जिम्मा म लिन्छु । तर नतिजामुखी कार्यसम्पादन भने तपार्इहरूले गर्नुपर्नेछ । अब कार्यतालिका बनाएर कार्य सम्पादन सूचकसहित नतिजामुखी कार्य फर्छ्यौटमा जुट्नुहोस् । काम भएन भने कोही न कोही त जिम्मेवार बन्नैपर्छ ।
१६. अब सरकार गठनको एक महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने ूनो अब्जेक्सन सर्टिफिकेटू, सरकारी अस्पतालमा विरामकोउपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ। म कसैलाई दण्डित गर्न चाहन्नँ । तर हामीसँग सीमित विकल्प छन् । त्यो भनेको नतिजा देखिने कार्यसम्पादन हो र नभएका जिम्मेवार पदाधिकारी दण्डको भागी हुने हो । कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर तपाइहरू पन्छिन पाउनुहुन्न। तिनै तहमा तपाईहरुले खटाएका कर्मचारीले काम गरिरहेका छन् । र उनीहरूको कार्यसम्पादनमा मूल्यांकन गर्ने अधिकार तपाइहरूले लिएर बस्नुभएकै छ । त्यसैले त्यहाँका जनताका दुख र कठिनाइसँग तल्ला तहका सरकारको काम हो भनेर तपार्इहामी पन्छिन मिल्दैन ।
१७.   धेरै सर्वसाधारणले प्रयोग गर्ने गरेका सार्वजनिक यातायात बाट प्राप्त हुने सेवा स्तरीय छैन । सवारी दुर्घटना बढिरहका छन् । सार्वजनिक यातायात असुरक्षित हुँदा सबैभन्दा बढी मारमा समाजको तल्लो वर्ग पर्छ । सवारी दुर्घटनाकै कारण बिगत पाँच वर्षमा प्रतिवर्ष झण्डै २२०० देखि २७०० जनाले ज्यान गुमाइरहेका छन् भने हजारौं मानिसहरु अङ्गभङ्ग भएका छन् । यसमा राम्ररी नियमन गर्नुहोस् । नियमन राम्रोसँग गरेर पनि सवारी दुर्घटाना कम गर्न सकिन्छ ।
१८. समबन्धित ४२ प्रतिशत उजुरीहरु मुद्दाहरु फर्छयौट समयमै नहुँदा मन्त्रालयमा थन्किएर बसेका छन् । यसले अपराध प्रवृत्तिलाई प्रोत्साहन गर्छ । यस्ता मुद्दाहरुको कार्ययोजना बनाई समयमै फर्छ्यौट गर्नु जरुरी छ। मिटरब्याजीका हजारौं उजुरी थन्किएका छन् भन्ने समाचार सार्वजनिक भएको छ । श्रमिक तथा गरिव किसानहरूको बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँच नपुग्नाका कारण मिटरब्याजीसँग ऋण लिनुपरेको र मिटरब्याजी विरुद्ध उजुरी गर्दा पनि प्रभावकारी सम्बव्धन नभएको हुँदा मिटर ब्याजका नाममा अपराधिक लाभ लिने क्रम रोकिएको छैन । यसबाट सीमान्तकृत ब्यक्तिहरु पीडित भएको सन्दर्भमा यस्ता ब्यक्तिहरुलाई कडाइका साथ कानूनी दायरामा ल्याई नियन्त्रण गर्नुहोस् । ट्रक ढुवानीमा पहिला गैरकानुनी करारगरी खारेज गरेको सिण्डिकेट फेरि लागू भएको समाचार हिजो प्रकाशित भएको थियो। यो सबै के हो रु यो सिण्डिकेट हटाउन तत्काल पहल गर्नुहोस् । अबको तीन महिनाभित्र सवारी दुर्घटना घटेको, अपराधसँग सम्बन्धित मुद्दा फर्छ्योटको र मिटरब्याजीको मुद्दा नतिजा देखिने गरी सम्बोधन भए नभएको आधारमा तपाईहरुको कार्यसम्पादन मूल्यांकन हुनेछ ।
१९.   भ्रष्टाचार नियन्त्रण र निवारण यो सरकारको प्राथमिक काम हो । भ्रष्टाचार हुने सम्भावित निकायहरु र त्यस्ता व्यक्तिहरुको बारेमा निगरानी राख्नोस्, मातहत कार्यालयमा भएका अनियमितताप्रति जिम्मेवार बन्नुहोस् । डिजिटल सेवा, फेसलेस सेवा, विचौलिया हटाउने, गुनासो सुन्ने र फर्छोट व्यवस्था, जनताको बढी भीड हुने मालपोत, लाइसेन्स, जस्ता निकायहरुमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र राख्नोस् ।
२०.     हाल कोभिड १९ को संक्रमण पुनः क्रमशः बढ्न लागेको प्रकाशमा आएको  । जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरु गर्ने । बुष्टर डोज खोपको लागि कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला ।
२१.   चिसो मौसमका कारण तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवनमा पर्ने असरलाई ध्यानमा राखी आवश्यक प्रवन्ध मिलाउनुहोला ।
२२.      दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कमी आउन नदिने । उपभोग्य वस्तुहरुको गुणस्तर सुनिश्चित गर्न र नाफाखोरी, कालोबजारी, कृत्रिम अभाव सिर्जना जस्ता कुराहरु अन्त गर्न सम्वन्धित मन्त्रालयहरुले नियमित रुपमा बजार अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाउनुहोला ।
२३.          कार्यालय समयमा, कार्यालयको काम छोडेर अनावश्यक सभा सम्मेलन, गोष्ठी, सेमिनारमा, प्रशिक्षण दिने, जस्ता कार्यमा जान बन्द गर्नुहोस् ।  सहभागी नभई नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रममा मन्त्रालयको सम्वन्धित विषयको एक जनामात्र सहभागी हुने, मन्त्रालयको आधिकारिक धारणा लिएर जाने र फर्केपछि प्रतिवेदन लिनेरदिने व्यवस्था मिलाउनुहोस् । कार्यालयको समय पालना र कर्मचारी उपस्थिति, सेवाप्रवाह र सेवाग्राहीप्रतिको ब्यवहार लगायतका कार्यालय संचालन र व्यवस्थापनको अनुगमन र निरीक्षण गर्नुहोस् ।
२४.    आर्थिक क्षेत्रमा रहेका समस्याको स्थायी समाधान गर्न निजीक्षेत्रलाई विश्वासमा लिई उद्योग, व्यापार पेशा व्यवसायमा लगानी र संचालन गर्न सहज र सरल वातावरणको सिर्जना गर्नुहोस्। आधारभूत वस्तुहरुको उत्पादन बृद्धि गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्धनका लागि आवश्यक योजना तयार गरी कार्यान्वयनमा ल्याउनुहोस् ।
२५.     विकास आयोजनाहरुको बारेमा म दोश्रोपटक प्रधानमन्त्री भएका बेला २०७३।०७४ मा मध्यपहाडी लोकमार्ग, तामाकोशी जलविद्युत आयोजना, मेलाम्ची खानेपानी आयोजना, कुलेखानी जलविद्युत आयोजना, चमेलिया जलविद्युत आयोजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, रानीजमरा सिंचाई आयोजना,  अस्पतालहरु, काठमाण्डौका सकडका खाल्डाखुल्डी, ढल निकास, पानी लगायतका  दर्जनौ आयोजना र कार्यक्रमको मैले प्रत्यक्ष अवलोकन र अनुगमन गरेको थिएँ। ।
२६.    यसपटक पनि आवश्यकताअनुसार म आफै पनि अनुगमनमा जाने कार्यतालिका बनाउने सोचमा छु। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट नियमित अनुगमन हुन्छ । तपाईहरु आफनो काममा चुस्त तरिकाले सम्पादन गर्नुहोला ।
२७.   यो सरकारले छिमेकी लगायत सबै मित्रराष्ट्रहरुसँग असंलग्नताको सिद्धान्तमा रहेर सन्तुलित र  सुमधुर सम्बन्ध  राख्ने छ।  हाम्रो सम्बन्ध सबैसँग मित्रता कसैसँग छैन शत्रुता नै हो । यही नीति अनुसरण र अवलम्वन गर्दै आर्थिक कुटनीति र अन्तराष्ट्रिय समुदायको सहयोगमा द्धिपक्षीय र बहुपक्षीय विकास सहायता परिचालन गर्नुहोस् ।
२८.              नेपालका सरकारी पदाधिकारीहरुले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कुटनीतिक भेटघाट गर्ने र परराष्ट्र मन्त्रालयले यस सम्वन्धि आचारसंहिता तयार गर्नुहोला ।
२९.      दिनहुँजसो वैदेशिक रोजगारमा गएका नेपालीहरुले कतिपय समस्या भोगिरहेको गुनासो पोख्दै आएका छन्। अर्थतन्त्रको ठूलो हिस्सा धानेको रेमिट्यान्समा योगदान पुर्याइरहेका विदेशमा रहेका नेपालीहरुका समस्या समाधान गर्न सरकारी तवरबाट अहिले चालिएका प्रयासहरुले पुगेको देखिँदैन। त्यसैले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका समस्या समाधान गर्न तत्काल संरचनात्मक, नीतिगत वा के कस्तो कदम चाल्नुपर्ने हो, यस विषयमा तत्काल नै ध्यान दिएर कार्यान्वयनमा जोड दिनुस् ।
३०.      तपाईका कुनै पीरमर्का वा गुनासा भए मलाई सिधै राख्न सक्नुहुनेछ। कसैको डर, दवाव, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारीलार्इ इमान्दारी, निष्ठा तथा कुशलतापूर्वक निभाउने विश्वास लिएको छु । धन्यवाद ।

सुदुरपश्चिममा नागरिक उन्मुक्तिकाे मुख्यमन्त्रीमा दाबी, सरकार बनाउन एमाले र माओवादीले नेकपा एस फकाउँदै

धनगढी – सुदुरपश्चिम मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दावी गरेपछि उसलाई बाहिर राखेर सरकार बनाउन  एमाले र माओवदी केन्द्रले आन्तरिक गृहकार्य गर्न थालेका छन् ।

त्यसका लागि सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी र डडेल्धुराबाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्यलाई मनाउने एमाले र माओवादी केन्द्रकै रणनीति रहेको छ । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रसँग ११, नेकपा एमालेसँग १०,  एकीकृत समाजवादीसँग ४, राप्रपासँग एक र स्वतन्त्र एक गरी २७ प्रदेशसभा सदस्य छन् ।

केन्द्र सरकार निर्माणमा एकीकृत समाजवादीसँगको समर्थन नरहेको भए पनि प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको विकल्पमा माओवादी केन्द्र र  एमालले एकीकृत समाजवादीको समर्थन खोजेका हुन् ।

टीकापुर घटनाको समाधान हुनुपर्ने र मुख्यमन्त्री पनि पाउनु पर्ने नागरिक उन्मुक्ति पार्टीको अडानका कारण प्रदेश सरकार निर्माण प्रक्रिया झण्झटिलो बन्न थालेको छ,’ माओवादी केन्द्रका एक प्रदेशसभा सदस्यले भने, ‘टिकापुर घटनाका  विषयमा प्रदेश सरकारले केही निर्णयनै गर्न पाउँदैन, मुख्यमन्त्री दिन सकिने अवस्था पनि छैन, त्यसैले एकीकृत समाजवादीलाई सरकारमा ल्याएर भए पनि सरकार बनाउनु पर्छ भन्ने आन्तरिक गृहकार्य सुरु भएको हो ।’

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई मतपरिणाम बुझाएको ३५ दिनभित्र सरकार बनाई सक्नुपर्ने संवैधानि प्रावधानका कारण पनि नागरिकलाई मात्रै पर्खेर बस्न सकिने स्थिति नरहेको ती प्रदेश सभा सदस्य बताउँछन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम सुदुरपश्चिम संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकार निर्माणका लागि सबैको सहमति जुटाउने प्रयास भइरहेको बताए । कुनै एक दलको मात्रै बुहमत नआएका कारण प्रदेशमा मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको छ,’ भट्टले भने, ‘धेरै दललाई मिलाउँदा सबैका आ–आफ्नै विचार र अडानका कारण केही समस्या हुन सक्छ, तर हामी मिलेर जानुको अर्को विकल्प पनि छैन ।’

नागरिक उन्मुक्तिलाई बारिह राखेर सरकार गठनबारे अहिले नै केही नसोचेको उनको दाबी छ । तर, एकीकृत समाजवादीलाई पनि सकभर सरकारमा ल्याउनु पर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने, ‘त्यसका लागि सबै निकाय छलफलमा छौं ।’

एमाले र माओवादीबीच सुदूरपश्चिममा माओवादी नेतृत्वमा सरकार निर्माण गर्ने सहमति बनेको छ । संघीय सरकामा बाहिरबाट समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम पश्चिम प्रदेशमा आफूले मुख्यमन्त्री पाउनुपर्ने माग गरेको थियो । सुदुरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सांसद छन् ।

तर, नेकपा एमालेका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठक केन्द्रीय गठबन्धनको आधारमा नै प्रदेशमा  सरकार गठन हुनेमा आफू आशावादी रहेको बताउँछन् ।

‘सरकार गठका लागि सबै विकल्पमा छलफल हुनु स्वभाविक हो,’ उनले भने, ‘तर नागरिक उन्मुक्ति पार्टीलाई बाहिर राख्ने विषयमा हामीले सोचेका छैनौं, केन्द्रमा नागरिक उन्मुक्तिको पनि समर्थनज रहेका कारण प्रदेशमा पनि समर्थन जनाउनेमा हामी ढुक्क छौं ।’

सुदुरपश्चिम प्रदेश प्रमुखलाई निर्वाचन आयोगले पुस २ गते प्रतिवेदन बुझाएको थियो । त्यसअनुसार माघ पहिलो हप्ताभित्र सुदूरपश्चिममा सरकार बनाई सक्नुपर्नेछ । सुदूरपश्चिममा पुस २८ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरिएको छ ।

सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान अझै गरिसकेका छैनन् । प्रदेशमा कुनै पनि दलको बहुमत नभएकोले प्रदेश प्रमुखले गठबन्धन गरेर दाबी पेस गर्न आह्वान गर्ने सम्भावना छ ।

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चौधरी सुदूरपश्चिममा सरकारम जाने नजानेबारेमा आफ्नो पार्टीले केही नसोचेको बताउँछन् ।  ‘केन्द्रीय गठबन्धन सुदुरपश्चिममा छैन,’ संसदिय दलका नेता चौधरी भन्छन्,  ‘प्रदेशका हकमा कोसँग जाने भन्ने अहिले निश्चित छैन,  अहिले तटस्थ बस्ने भन्ने हो ।’

प्रदेशमा आफ्ना मागहरु जसले जसले सम्वोधन गर्छ, उसैसँग गठबन्धन हुने चौधरी बताउँछन् । सरकारमा सहभागिताका बारेमा उन्मुक्ति पार्टीको केन्द्रीय समितिले चाँडै निर्णय गर्ने चौधरी बताउँछन् ।