`

दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु

एजेन्सी-सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रपति म्याकी सालले आइतबार उक्त जानकारी दिएका हुन् ।

दुर्घटनापछि रगतले लतपतिएका सिट, व्यक्तिगत सामानहरू र  जुत्ता तथा चप्पल यत्रतत्र छरिएका बताइएको छ ।  सेनेगलमा सडक दुर्घटनाहरू सामान्य छन ।  मुख्यतया चालकको त्रुटि, खराब सडक र जीर्ण सवारी साधनहरूको कारणले बारम्बार दुर्घटना हुने गरेका विज्ञहरू बताउँछन् । तर पछिल्लो एउटै घटनामा धेरै मानिसको ज्यान गुमेको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम

सुर्खेत – डाेल्पाको ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम भएको छ ।  आइतबार सर्वोच्च अदालतले दुनै पक्षबाट परेको रिट खारेज गर्दै नगरपालिकाको केन्द्र जुफाल कायम भएको फैसला गरेको हो ।

सदरमुकाम दुनै रहेको नगरपालिकाको केन्द्र तत्कालीन नगर प्रमुख गणेश शाहीले जालसाजी गरेर जुफाल सारेको भन्दै २०७४ साल चैत्र ५ गते सर्वोच्च अदालमा तत्कालीन उपप्रमुख योगेन्द्र बहादुर शाहीसहित तीन जनाले रिट दायर गरेका थिए  ।

अदालतले नगरपालिकाको केन्द्र जुफाल कायम गरेपछि जुफालका जनप्रतिनिधि तथा स्थानीयले ऐतिहासिक दिन भन्दै खुशीयालीसमेत मनाएका छन्।  पहिलो कार्यकालभरीनै ठुलिभेरी नगरपालिका केन्द्र विवादमा अल्झिएको थियो।

सङ्घीय संसद्को अधिवेशन आजदेखि शुरु

काठमाडौं – सङ्घीय संसद्को अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजे हुनेछ ।

सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । छुट्टाछुट्टै बस्ने बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइने सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। यस्तै प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने पनि कार्यसूची रहेको छ । प्रतिनिधिसभाको बैठकमा १२ दलका नेताले सम्बोधन गर्नेछन् ।

प्रतिशोधात्मक हमलामा ६०० युक्रेनी सेना मारिएः रुस

एजेन्सी – रुसले पूर्वी युक्रेनमा आफ्ना सेनामाथि हालै भएको घातक हमलाको बदला लिन विनाशकारी ‘प्रतिशोधात्मक हमला’ गरेको दाबी गरेको छ, जसलाई किभले तुरुन्तै अस्वीकार ग¥यो ।

क्रामाटोर्स्कमा ब्यारेकको रूपमा प्रयोग हुने दुईवटा भवनहरूमा तैनाथ सेनाहरूमा मिसाइल आक्रमणमा ६०० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

पूर्वी युक्रेनी सहर माकिभकामा युक्रेनले नयाँ वर्षको पूर्वसन्ध्यामा मिसाइल साल्भो प्रहार गरेपछि रुसले आक्रमणलाई ‘प्रतिशोधात्मक हमला’ भनेर वर्णन गरेको छ, जसमा मस्कोले आफ्ना ८९ सैनिक मारिएको जनाएको छ ।

पूर्वी युक्रेनी सहर माकिभकामा युक्रेनले नयाँ वर्षको पूर्वसन्ध्यामा मिसाइल प्रहार गर्दा ८९ रुसी सेनाको ज्यान गएको थियो ।

निमित्त प्रशासकीय र लेखापालले गाउँपालिकामा पाइला नै नटेकी पाँच महिनाको तलब खाए

सुर्खेत – गाउँपालिकामा पाँच महिनासम्म पाइला नै नटेकी हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापाले सुर्खेतबाट पाँच महिनाको तलब भत्ता खाएका छन् ।

शाही र थापा गत साउन ३१ पछि गत बिहीबार मात्र कार्यालय उपस्थित भएका थिए । कार्यालय नआई तलब–भत्ता बुझेको द्वयले झन्डै पाँच महिनापछि हाजिर लगाउन पुगेका थिए ।तर,गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाय र केही वडाध्यक्षले हाजिरी लगाउन नदिएको बताएका छन् ।  उनीसँगै नयाँ नियुक्ति लिएका चार स्थायी कर्मचारीले समेत हाजिरी लगाउन नपाएको गाउँपालिकाका उपाध्यक्ष रोकायले बताए ।

साउन महिनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकदत्त प्याकुरेलमाथि भ्रष्टाचार अभियोग लागेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट मेगनाथ शाहीलाई साउन २ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाएका थिए । साउन २९ मा गाउँपालिकाका उपाध्यक्ष रोकायको अध्यक्षता बसेको कार्यपालिका बैठकले गाउँपालिकाको कामकाजमा बाधा परेको भन्दै रोकायानिकट स्वास्थ्य संयोजक हंश महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष सिंहले नियुक्ति दिलाएर ल्याएका शाहीले अध्यक्ष सिंहसँग सुर्खेत बसेर करोडौँ रकम हिनामिना गरेको गाउँपालिका उपाध्यक्ष रोकायले आरोप लगाउदै सुर्खेत स्थित अक्तियारमा उजुरी समेत दिएका छन् । पालिका नै  अपहरण परेको भन्दै उपाध्यक्ष रोकायले अख्तियारमा उजुरी दिएपछि  निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापा बिहीबार अदानचुली गाउँपालिका पुगेका थिए । तर, उपाध्यक्ष रोकाया पक्षले उनीहरूलाई हाजिरी लगाउन नदिएपछि विवाद भारी चलिएको छ ।

गाउँपालिका अध्यक्ष सिंह नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष रोकाय माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।

गोरखाका पाँच जनासहित १९ जना नेपाली कामदार मलेसियामा बन्धक

काठमाडौं – गोरखाका पाँच जनासहित १९ जना नेपाली कामदार मलेसिलयामा बन्धक बनाइएका छन्। रोजगारीका क्रममा गत भदौ २३ गते मलेसिलया पुगेका उनीहरू ८ दिनदेखि बन्धक अवस्थामा छन्।

बन्धक हुनेमा गोरखाको सहिदलखन गाउँपालिका–६ का ठाकुर रेग्मी, ७ का कमल श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–७ का विष्णुप्रसाद ढकाल, टिकाराम गोतामे र सुजन गोतामे छन्। उनीहरूबाहेक उदयपुरका १, सप्तरीका १, मकवानपुरका ७, रौतहटका ३, भोजपुरका १ र बैतडीका १ जना छन्।

उनीहरू स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयले उद्धारका लागि पहल गरिदिए सहज हुने आशामा छन्। बन्धक भएका युवाहरूले तत्काल रिहाइको माग गर्दै सामाजिक सञ्जालमा हारगुहार गरिरहेका छन्।

उनीहरू सबै सानेपाको खोजी रिक्वायरमेन्ट म्यानपावरबाट सप्लायर्स कम्पनीमा गत ५ महिनाअघि मलेसिया गएका थिए। काम गर्ने क्रममा कम्पनीका मालिकले कुटपिट गर्ने, चरम शारीरिक यातना दिने गरेका विषयमा गुनासो गरेपछि कम्पनीबाट निकालिएको बन्धकमा रहेकामध्ये गोरखा बुङकोटका ठाकुर रेग्मीले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

विश्वासको मत फकाउन एकीकृत समाजवादी र जसपासँग पार्टी एकताको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत फकाउनका लागि नेकपा एकीकृत समजवादी र जसपासँग पार्टी एकताको प्रस्ताव अघि सारेका छन् ।संसद्को पहिलो दलबाहेकका सात दलसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिनुअघि नै पार्टी एकताको प्रस्ताव अघि सारेका हुन् ।

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग यस्तो प्रस्ताव राखेको नेताहरूले बताएका छन् ।प्रचण्डको उक्त प्रस्तावपछि आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाल र यादव सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्रीले मंगलबार विश्वासको मत लिने भएपछि उनले बृहत् वामपन्थी एकताको नारा दिएर विश्वासको मत लिने प्रयासमा रहेको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए । ‘पार्टी एकता जादुको छडीजस्तो छिनमै हुने कुरा हैन,’ उनले भने । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

आफूलाई समर्थन गरेका सबै सांसदबाट विश्वासको मत पाउने विश्वासमा प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।उनी माओवादी केन्द्र, एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । आफूलाई समर्थन गरेका सबै सांसदबाट विश्वासको मत पाउने विश्वासमा दाहाल छन् ।

तर सत्ता गठबन्धनबाहिर रहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सक्ने स्रोतले बताएको छ । यसबारे कांग्रेस र नेकपा एसले कुनै निर्णय गरिसकेका छैनन् ।

राष्ट्रपति र सभामुख पाउने सर्तमा यी दुई दल प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षी बेन्चमा बस्न सक्ने स्रोतको दावी छ । तर राष्ट्रपति र सभामुख एमालेलाई नै दिने माओवादी केन्द्रको निर्णय भए कांग्रेस र नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेछैनन् ।अहिले राष्ट्रिय सहमतीय सरकारको कुरा राष्ट्रपति र सभामुख हात पार्ने खेलअन्तर्गत उठाइएको सत्तापक्षका एक नेताले बताए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखिसकेका छन् ।नेपाल समाजवादी पार्टी (नेसपा) का नेता बाबुराम भट्टराईले पनि सामाजिक सञ्जालमा वर्तमान निर्वाचन प्रणाली रहुन्जेल कुनै दलको बहुमत नआउने र देश सधैं अस्थिरतामा फसिरहनेु लेखेका छन् ।

यसको अर्थ राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने हुन सक्छ। राजनीतिक वृत्तमा पनि कांग्रेसलाई राष्ट्रपति र नेकपा एसलाई सभामुख दिएर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने चर्चा भइरहेको छ ।यो खबर आजको नागरिक दैनिकमा छ ।

विश्व इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्रदेखि अमेरिकाको तेस्रो राज्य

आज ९ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

दक्षिणी सुडान स्वतन्त्र
सन् २००५ को ९ जनवरीमा सुडानको दोस्रो युद्ध समाप्त भएको थियो । युद्धको परिणामस्वरुप दक्षिणी सुडान स्वायत्त बनेको थियो । सन् २०११ मा दक्षिणी सुडान स्वतन्त्र देश बनेको थियो ।

डचेज अफ क्याम्ब्रिजको जन्म
सन् १९८२ को जनवरीमा बेलायतको राजगद्दीको उत्तराधिकारीको वरियतामा रहेका राजकुमार विलियमकी पत्नी क्याथरिन मिडल्टनको जन्म भएको थियो । विलियम र क्याथरिनबीच सन् २०११ मा विवाह भएको थियो । विवाहपछि उनलाई डचेज अफ क्याम्ब्रिज भनिन्छ ।

अमेरिकाको तेस्रो राज्य
सन् १८६१ मा मिसिसिपी अमेरिकाको दोस्रो राज्य बनेको थियो ।

तराईमा हुस्सु र कुहिरो, पहाडमा बदली

काठमाडौं – तराईमा हुस्सु र कुहिरो लागेको छ । मध्य तराईमा शीतलहर पनि चलिरहेको छ । पहाडी क्षेत्रमा बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसारपश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

भानुआटुको तटमा ७ म्याग्निच्युडको भूकम्प

एजेन्सी – प्यासिफिक टापु राष्ट्र भानुआटुको तटमा आइतवार अबेर राति ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि डराएका गाउँले सुनामीको डरले अग्लो ठाउँमा भागेका थिए ।  भूकम्पको केन्द्रबिन्दु राजधानी पोर्ट भिलाबाट करिब ४०० किलोमिटर उत्तरमा रहेको टापु एस्पिरिटु सान्तोको समुद्रमा थियो ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । एस्पिरिटु सान्तोको होग हार्बर गाउँका २२ वर्षीय विद्यार्थी केसन पोरेले पृथ्वी हल्लिएपछि केही साथीहरूसँग समुद्र तटमा गंगटा खोजिरहेको बताए । भानुआटुको तटमा केही महिनाअघि पनि शक्तिशाली भूकम्प गएको थियो

सबै राजनीतिक दलहरूसँग विश्वासको मत माग्ने सत्ता साझेदार दलको बैठकको निर्णय

काठमाडौं – आइतबार बसेको सत्ता साझेदार दलको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले संसदमा रहेका सबै राजनीतिक दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको छ ।

बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निणर्य पनि गरेको छ । यस्तै आजको बैठकमा सातवटै प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरु बाँडफाँटका बिषयमा कुनै निर्णय हुन सकेन ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतको सहभागीता रहेको थियो ।

सप्तरीमा सवारी दुर्घटना : दुई जनाको मृत्युु, दुई घाइते

सप्तरी – सप्तरीको हुलाकी राजमार्ग खडक नगरपालिकामा बिग्रर राखिएको टिपरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बिग्रेर राखिएको स.१ ख ९२८ नम्बरको टिपरमा बोदे बर्साइनबाट राजविराजतर्फ आउँदै गरेका बा.८९प ३२१५ र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परL दुई जनाको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

बा ८९ प ३२१५ नम्बरको मोटरसाइकलका चालक खडक नगपालिका ११ बनौली बस्ने २० kर्षीय बैजु भनिने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको कोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका १० बस्ने २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलको पछाडी सवार डाक्नेश्वरी १० बस्ने २२ वर्षीय सुमन चौधरी र बा ८९ प ३२१५ नम्बरको कोटरसाइकलको पछाडि सवार खडक नगरपालिका ११ बनौली बस्ने २२ वर्षीय बुधन चौधरी घाईते भएका छन् । उनीहरूको उपचार भइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीइसपी नरेश कुमार सिंहले जानकारी दिए ।

टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पार्टी दर्ता भएको एक वर्ष पुरा नहुँदै नागरिक उन्मुक्ति पार्टीमा विवाद, अध्यक्ष र बरिष्ट नेताबीच सामाजिक सञ्जालमै दोहोरी

धनगढी – पार्टी दर्ता भएको एक वर्ष पुरा नहुँदै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा विवाद हुन थालेको छ ।पार्टीको विवाद नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र सो पार्टीका वरिष्ट नेता लक्ष्मण चौधरीबीच सामाजिक सञ्जालमै भएको दोहोरीले छर्लङ्ग पारेको छ ।

आइतबार नागरिक उन्मुक्ति पार्टीका वरिष्ट नेता लक्ष्मण चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टिकापुर राजवन्दि मा. रेशमलाई गल्ति गर्ने छुट छैन ।’

समाजिक सञ्जालनमा लक्ष्मण चौधरीले उक्त अभिव्यक्ति पोष्ट गरेको केही समयमै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सोही पोष्टमा प्रतिक्रिया दिएकी छन् । उनले लक्ष्मण चौधरीलाई चेतावनिको शैलीमा लेखेकी छन्, ‘दुई/चार लाखमा बिकी हाल्ने जस्तो सोच्नू भयो ? आफ्नो पहिचानको लागी लडाई लडेर जेल पर्नु भएको माननीय ज्यू अहिले पनी कारागार मै हुनु हुन्छ लक्ष्मण जी स्मरण रहोस ।’

सामाजिक सञ्जालमा नागरिक उन्मुक्तिका जिम्मेवार नेता आरोप प्रत्यारोपमा उत्रेपछि पार्टीभित्र विवाद रहेको भन्दै कार्यकर्ता तथा शुभेच्छुकले भने पार्टीको विवाद आन्तरिक रुपमै सुल्झाउनु पर्ने सुझाव दिएका छन् । दुई नेताबीच आरोप प्रत्यारोप चलेपछि लक्ष्मण चौधरीको पोष्टमा प्रतिक्रिया जनाउँदै बिरेन्द्र चौधरीले लेखेका छन, ‘५ सीटमा भाड भैलो ।’

कतिपय शुभेच्छुकले भने आन्तरिक विवाद बाहिर नल्याउन सुझाव दिएका छन् । लक्ष्मणकै पोष्ट मा सूर्य चौधरीले लेखेका छन्, ‘दाजु  समाजिक सन्जालमा यसरी पोष्ट गर्नु कतिको जायज हो ?? हामी थारुमा यहित कमजोरी छ पहाडीको तलुवा चाट्न खोज्छौ आफ्नो अनि आफ्नो घरझगडा अरु सामु सम्पुन्छौ ।’

नागरिक उन्मुक्ति पार्टीमा सरकारमा जाने वा नजाने भन्ने विषयमा आन्तरिक विवाद चुलिएको पाइएको छ । लक्ष्मण चौधरीले सोही विवादलाई सामाजिक सञ्जालमा पोखेका हुन् । नागरिक उन्मुक्ति पार्टीमा एक जनामात्रै निर्णायक रहेको र निर्णय गर्दा अरुसँग छलफलनै नगर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति पुग्यो ?

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति  १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ घटाएको छ ।

निगमद्वारा जारी विज्ञप्तिमा अब पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो ।

त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा भाउ कम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको भने मूल्य यथावत एक हजार ८ सय रूपैयाँ छ ।

सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा अध्यक्ष कारागार चलान

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडा अध्यक्ष रहमान मियाँ कारागार चलान भएका छन् । सामाजिक सुरक्षा वितरण र नागारिकता किर्ते गरेको आरोपमा पूर्पक्षका लागि अध्यक्ष मियाँलाई आइतबार कारागार चलान गरिएको हो ।वडा अध्यक्ष मियाँको मिलोमतोमा २१ जनाले ८३ लाख ४१ हजार १ सय ८ रुपैया सामाजिक सुरक्षाभत्ता हिनामिना भएको आरोप छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ बस्ने करिमान मियाँका वडा अध्यक्षसमेत रहेका ६३ वर्षीय छोरा  रहमान मियाँसहित २१ जनाले मिलेमतो एक अर्कालाई फाइदा पुर्‍याउने उद्देश्यले राज्यकोषबाट लक्षित वर्गका लागि सुविधा पुर्‍याउने उद्देश्यले दिँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरेको प्रहरीले जनाएको छ ।

एउटै ब्यक्तिको नाममा दुई वटा नागरिकता प्रचलनमा ल्याई सामाजिक सुरक्षा भत्ता निकासा गरी सरकारी रकम ८३ लाख ४१ हजार १ सय आठ बराबरको रकम हिनामिना गरी सरकारी कागज किर्ते तथा नागरिकता किर्ते गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सरकारी कागत तथा नागारिकता किर्ते मुद्दामा फरार रहेका वडा अध्यक्ष मियाँलाई मिति २०७९ पुस २१ गतेका दिन जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा नम्बर ८ स्थितमा घुमिर रहेको अवस्थामा प्रहरीले पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराई आइतबार पुर्पक्षको लागि कारागार चलान गरेको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि शुरु, १२ दलका नेताले सम्बोधन गर्ने

काठमाडौं – सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजे हुनेछ ।

सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । छुट्टाछुट्टै बस्ने बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।

यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइने सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। यस्तै प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने पनि कार्यसूची रहेको छ । प्रतिनिधिसभाको बैठकमा १२ दलका नेताले सम्बोधन गर्नेछन् ।

किन अलग हुने निर्णयमा पुगे अभिनेत्री तारा र प्रेमी आदर ?

मुम्बई । बलिउड अभिनेता तारा सुतारिया र उनका प्रेमी आदर जेनको ब्रेकअप भएको छ । तारा र आदरले आफ्नो सम्बन्धका बारेमा कहिल्यै मुख खोलेनन्, तर पनि दुवैजना कयौं कार्यक्रममा सँगै देखिन्थे ।

सामाजिक सञ्जालमा पनि एकअर्काको तस्बिर आइरहँदा अहिले भने दुवै अलग्गिएको खबर सार्वजनिक भएको छ । समाचारअनुसार दुवैले आपसी सहमतिमा अलग हुने निर्णय लिएका हुन् ।

ब्रेकअपपछि एक मिल्ने साथीका रुपमा भने सम्बन्ध कायमै राखेका छन् । यसपटक कपूर परिवारले आयोजना गरेको क्रिसमस पार्टीमा तारा नदेखिएपछि आदरसँगको सम्बन्धका बारेमा अड्कलबाजी गरिएको थियो । किनकि यसअघिका हरेक कपूर परिवारका कार्यक्रममा उनको उपस्थिति अनिवार्य झैं हुन्थ्यो ।

रणवीर कपुरको कजिन आदरको तारासँग पहिलो भेट सन् २०१८ मा दिवाली पार्टीमा भएको थियो । यो भेटपछि उनीहरुको सम्बन्ध प्रगाढ हुँदै गयो । प्रायः सामाजिक सञ्जालमा उनीहरू सँगैको तस्बिर शेयर गरिरहन्थे । तर, अब भने उनीहरुको सम्बन्धमा ब्रेक लागेको छ ।

पर्सामा कक्षामा सधैँ प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण

काठमाडौं – पर्सामा आफ्नै साथीलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जना बालकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले उनको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिसका कारण अपहरण गरी बन्धक बनाएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बालकलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमतिसमेत दिएको छ । उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

गण्डकीमा अब ९ वटा मात्रै मन्त्रालय

पोखरा – ७ बाट ११ हुँदै १२ मन्त्रालय बनाइएको गण्डकीमा अबको नेतृत्वलाई मन्त्रालय घटाउनै पर्ने दवाव छ । सरकारको कामको हिसावमा मन्त्रालयको संख्या अस्वभाविक देखिएपछि प्रदेश संरचनामाथी नै प्रश्न उठेको छ ।

अब बन्ने सरकारले मन्त्रालयको संख्यालाई प्रमुख प्राथमिकता दिनैपर्ने बाध्यता छ । पहिलो दल कांग्रेस प्रतिपक्षमा रहने पक्का भएसँगै एमाले, माओवादी र राप्रपाको गठजोडबाट गण्डकीमा सरकार गठन हुँदै छ । सम्भवतः एमाले नेता खगराज अधिकारी गण्डकीको तेश्रो (व्यक्तिका हिसावले) मुख्यमन्त्री बन्ने छन् । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २ पटक र कृष्णचन्द्र नेपाली पोखरेल एक पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

नयाँ सत्ताको गठबन्धन भित्र मन्त्रालय मर्ज गर्ने विषयमा प्रमुखताका साथ छलफल चलिरहेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । ‘९ मन्त्रालय बनाएर जाने कुरामा छलफल भैरहेको छ,’ उनले भने, ‘कुरा टुंगिएको छैन । मन्त्रालय घटाउन सबै सहमत हुनुहुन्छ ।’

एमाले सांसद रोशन गाहा थापा पनि मन्त्रालय धेरै नबनाउन सुझाव दिएको बताउँछन् । ‘मैले पनि सरकारलाई सफल बनाउन मन्त्रालय कम गर्नुपर्छ भनेको छु । साथीहरुले पनि सोही सुझाव दिनुभएको छ,’ उनले भने, ‘सम्भवतः ९ वटा मात्रै मन्त्रालय रहन्छ होला ।’ यद्यपी गठबन्धन भित्र भागबण्डा नमिल्दा १० वटासम्म हुन सक्ने बताइएको छ ।

सुरुमा ७ मन्त्रालय रहेको गण्डकीमा तत्कालीन मुख्यमन्त्री पिएसले नै फुटाएर ११ पुर्‍याएका हुन् । मन्त्रालय संख्या बढाएपनि उनको कार्यकालमा ८ मात्रै मन्त्री नियुक्त गरिएका थिए । पछि पोखरेल सरकार आएपछि मन्त्रालय अझै फुटाएर १२ पु¥याइएको हो । संविधान अनुसार गण्डकीमा १२ जना मन्त्री बन्न पाउँछन् ।

बुटवल बेलबासमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने

बुटवल – बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्यास गरिएको छ ।

आइतबार बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे । भवनको शिलान्यास गर्दै उनले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताए ।

उनले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिन सक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताए । ‘तिनाउभन्दा पश्चिमको बुटवल र तिनाउ पूर्वको बुटवललाई समान हैसियतमा पु¥याउनुपर्ने छ’, उनले भने ।

नगरप्रमुख पाण्डेयले स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताए ।

निर्माण व्यवसायीले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख पाण्डेयले साउनदेखि अस्पतालका रुपमा सञ्चालन गर्ने बताए । बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा १ करोड ५७ लाख लागत अनुमान गरिएको बताए ।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गत मंसिर ९ मा टेण्डर स्वीकृत भएको निर्माण पक्षले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । तीन कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने उनले बताए ।

बुटवल १३ का अध्यक्ष नारायण पुनले स्वास्थ्य केन्द्र निर्माणले तिनाउ नदी पश्चिमको भेगमा सहज सुविधा उपलब्ध हुने बताए । उनले अस्पतालको विस्तार तथा क्षमता वृद्धिका लागि पनि आवश्यक जग्गा व्यवस्थापन गरेको बताए ।

अवैध लागूऔषध गाँजासहित पक्राउ

भक्तपुर – भक्तपुर नगरपालिका–१ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजा (एक किलो)सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा३१प ३९८०, बा८७प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

चेपे जलबिद्युत आयोजना विरुद्ध राईनासटार सिँचाई आयोजनाका उपभोक्ता प्रर्दशनमा

लमजुङ – गोरखा सिमानामा निर्माणाधिन चेपे ए जलविद्युत आयोजना र राईनासटार सिँचाई आयोजना उपभोक्ता विचको विवाद चर्किदै गएको छ । जलविद्युत आयोजनाविरुद्ध आन्दोलनमा उत्रिएका उपभोक्ताहरु मध्ये आठजनालाई पक्राउ गर्न खोजेको भन्दै उपभोक्ता थप आक्रोशित बनेका हुन् ।

आक्रोशित सिचाई उपभोक्ताले शुक्रबार राइनासको तिनपिप्लेमा जलविद्युत आयोजनाविरुद्ध नाराबाजीसहित विरोध गरेका छन् । केही साताअघि जलविद्युत आयोजनामा भएको तोडफोडका विषयलाई लिएर आठजना उपभोक्ताविरुद्ध उजुरी परेको र प्रहरी प्रशासन लगाएर पक्राउ गर्न लागेको भन्दै उपभोक्ता थप आन्दोलित भएको संघर्ष समिति संयोजक श्रीकृष्ण पौडेलले जानकारी दिए ।

सिँचाई आयोजना प्रभावित हुनेगरी जलविद्युत आयोजना निर्माण गर्ने र उल्टै उपभोक्ताविरुद्ध मुद्धा दायर गरी आक्रोशित बनाएको उपभोक्ताको आरोप छ । सिँचाई प्रभावित हुनेगरी कुनै पनि हालतमा जलविद्युत आयोजना बन्न नदिने अडान लिएका स्थानिय उपभोक्ताले विरोध प्रदर्शनका क्रममा झुठा मुद्दा खारेज गर, धरपक्कड बन्द गर, जल माफिया होसियार, किसान ओन्दालन जारी छ, सिंचाईको सुनिश्चित गर, आम राइनासबासी एक छौं जस्ता नारा लगाएका थिए । उपभोक्ताहरुले  प्रदर्शन साँकेतिक भएको भन्दै सशक्त विरोधमा उत्रने चेतावनी दिएका छन् ।

चम्पावती हाईड्रोले राईनासटार सिँचाई आयोजना प्रभावित हुनेगरी जलविद्युत आयोजना निर्माण गरेको भन्दै राईनासबासी विगत एक महिनादेखि विरोधमा उत्रिएका छन् । पटक–पटक वार्ताको माध्यामबाट समास्या समाधान गर्न चाहेपनि हाइड्रोतर्फबाट वार्ताको कुनै संकेत नदेखिएपछि आक्रोशित उपभोक्ताहरु आयोजनाको निर्माणाधिन पावरहाउस घेराउ गर्न पुगेका थिए । सोहि समयमा आयोजनाको केही सवारीमा आगजनी सहित पावर हाउस संचनामा तोडफोड समेत भएको थियो ।

आक्रोशित भिडको बीचमा आयोजनाकै मान्छेहरुले तोडफोड गरी आँफूहरूलाई आरोप लगाएको उपभोक्ताको आरोप छ भने जलविद्युत आयोजनाले भने उपभोक्ता मध्येका आठजना विरुद्ध जिल्ला प्रशासन कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ । जलविद्युत आयोजनाका तर्फबाट दिइएको जाहेरीमा किटान आठजनालाई गोरखा प्रशासनबाट हाजिर हुन पत्रचार गरेको संकेत पाएसँगै उपभोक्ता थप आन्दोलित भएका हुन् । उनीहरूले स्थानीय सरकारदेखि सम्वन्धीत विभाग हुँदै केन्द्र सरकारसम्म पुगेर पनि सिचाईको प्रत्याभुति नहुँदा सम्म जलविदुत आयोजना बन्न नदिने अडान लिएका छन् ।

चम्पावती हाईड्रोद्धारा निर्माणाधिन सात मेगावाट चेपे ए जलबिद्युत आयोजना र राईनासका स्थानीयबीच भएको विवादका बारेमा जिल्लाका सांसद एवं राजनीतिक दल, स्थानिय सरकार एवं सरोकारवालाले स्थानीयको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । जलबिद्युत आयोजनाको कारण राइनासटार सिँचाई आयोजना प्रभावित हुन नहुने भन्दै समयमै सच्चिन विज्ञप्ती मार्फत सरोकारवालाहरुले यसअघिनै आग्रह गरेका छन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

विराटनगर – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४:२० मा दावी पेश गरेका थिए ।

बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री कार्कीको सपथ ग्रहण सोमबार बजे हुने छ । मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने छन् ।

सिरहाको एक निजी विद्यालयको लापरबाहीका कारण छात्राको मृत्यु, दर्जनौँ राउण्ड हवाइ फायर

सिरहा – सिरहाको एक निजी विद्यालयको लापरबाहीका कारण छात्राको मृत्यु भएको छ । महिनावारीका कारण पेट दुखेपछि छात्राले औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट खाँदा छात्राको ज्यान गएको प्रहरीले जनाएको छ ।  खानेपानीको बोतलमा रहेको स्प्रीट पिउँदा छात्राको मृत्यु भएको हो ।

मिर्चैयास्थित सगरमाथा हायर सेकेन्ड्री स्कूलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरका धर्मेन्द्र महराको १६ वर्षीया छोरी सृजना कुमारी महराको मृत्यु भएको हो । पेट दुखेपछि औषधि  सेवन गर्नेक्रममा स्प्रिट खाएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिनावारीका कारण पेट दुखेपछि सृजनाले शुक्रबार स्कूलकै एक शिक्षिकाले दिएको औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट र्पिएकी हुन् । तर, पानी भनेर स्प्रिट पिएकी उनलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा विद्यालयका संस्थापक तथा प्रिन्सिपल प्रदिप तिवारी केही भएको छैन भन्दै घर पु¥याइदिएको पीडित परिवारको आरोप छ ।

‘सृजनाले पानीको सट्ट थोरै स्प्रिट खाएकोले नसा लागेको छ, केहीबेर सुतेपछि ठिक भइहाल्छ’ भन्दै सृजनालाई घरमा छाडिदिएर  प्रिन्सिपल तिवारी फर्किएको लेसृजनाका बुबा धर्मेन्द्र महराले बताए। उनले भने, ‘तिवारी सरले थोरै स्प्रिट खाएको भनेपछि हामीले पनि विश्वास गर्‍यौँ । विस्तारै अवस्था असहज बन्दै गएपछि अस्पताल पु¥यायौँ । तर, अस्पताल लैजाँदा ढिलो भइसकेको रहेछ । शिक्षकको विश्वासमा पर्दा छोरी गुमाउनु पर्‍यो ।’

मृतकको परिवारले संस्थापकसहित चार जनाविरुद्ध किटानी उजुरी दिएपछि  प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । सागरमाथा हायर सेकेन्डरी बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल प्रदिप तिवारी र सोही विद्यालयमा कार्यरत शिक्षिका अम्बिका लम्साललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यता आक्रोशित विद्यार्थीले बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम गरिरहेको छन् । जाम खुलाउने क्रममा भएको झडपमा इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरिबहादुर ओलीसहित सात जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी असई सुरेन्द्र यादवको थप उपचारको लागि काठमाडौं लागिएको र बाँकी समान्य घाइते भएकाले उनीहरुको स्थानीय मङ्गलम अस्पतालमा उपचार भइरहेकोे डीएसपी ओलीले जानकारी दिए।

प्रहरीले आन्दोलनमा विद्यार्थीभन्दा अन्यको घुसपैठ भएको आरोप लगाएको छ। उनीहरुले आन्दोलनलाई उत्तेजित बनाउने काम गरिरहेको र पेट्रोल बमसहित ढुङ्गामुडा गरेको प्रहरीको भनाइ छ।

सडक जाम खुलाउन प्रहरीले दर्जनाैँ राउण्ड हवाइ फायर र आशुग्यास प्रहार गरेको छ ।

प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीकाे दाबी पेस

विराटनगर, २४ पुस ।  प्रदेश १ मा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कुमार कार्कीले प्रदेश १ काे मुख्यमन्त्री पदमा दाबी पेस गरेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले चारवटा पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्।

कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना सांसदले समर्थन गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका थिए । प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीलाई ६० जना सांसदको समर्थन छ ।

प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसदको प्रतिनिधित्व छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार अध्यक्ष ठाकुरलाई

काठमाडौं, २४ पुस । लोकतान्त्रिक समाजवादी पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो ।

साथै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन  गरेको छ भने संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय पनि गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी

काठमाडौं, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय सचिवालय बैठक बसिरहेको छ ।

संघीय संसदको अधिवेशनको पूर्वसन्ध्यामा जारी बैठकमा संसदमा निर्वाह गर्नुपर्ने भूमिका, सरकारलाई दिने विश्वासको मत तथा समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ ।

रवि लामिछाने नेतृत्वको सो पार्टीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन जनाएको छ । सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

जारी बैठकमा पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी हुने नेताको विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

प्रेमीको जन्मदिनमा पुजा शर्माको भाबुक स्टाटस

काठमाडौं । अभिनेत्री पूजा शर्मा युद्ध बानियाँसँग प्रेम समबन्धमा छिन् । पछिल्लो समय पुजाले आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर कुरा गर्न थलेकी छन् । आज उनै पूजाका प्रेमी युद्धको जन्म दिन परेको छ । सामाजिक संजालमा स्टाटस लेख्दै जन्म दिनको शुभकामना दिएकी छन् ।

उनले लेखेकी छन् ‘जन्मदिनको शुभकामना । तिमी मेरो सबैभन्दा राम्रो उपहार हौ, जसलाई भगवानले मलाई दिनुभएको छ । म तिमीलाई सधैंभरि माया गर्छु । तिमी मेरो जीवनमा त्यतिबेला आयौ जब म पूरै टुटेको थिएँ । तिमी नै मेरो मुहारको मुस्कान, मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुसीको कारण हौ ।’

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढ्यो : परिसंघ

काठमाडौं – नृपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, ०७९ मा लचकता देखाउँदै संशोधन गर्दा निजी क्षेत्रको मनोबल उकास्न सकारात्मक सञ्चार प्रवाह गरेको जनाएको छ ।

उद्योगी व्यवसायीहरू कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन ०७९ दुई वर्ष पर सार्नुपर्ने परिसंघको सुझाव संसोधनले आंशिक रुपमा सम्बोधन भएको जनाएको छ ।

परिसंघले संशोधित मार्गदर्शनबाट यसअघिको ५० लाखसम्म चालु पुँजी कर्जाको सीमा नलाग्ने रकम बढाएर एक करोडसम्म पुर्याउनुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । यसले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई समेत राहत पुग्ने परिसंघको भनाइ छ ।

पुराना चालु पुँजी कर्जाहरूको हकमा कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह भएको देखिए असारमसान्त ०८२ सम्ममा कर्जा सीमाभित्र ल्याउने समय उपलब्ध गराइनु पनि सकारात्मक भएको परिसंघको भनाइ छ । तर, यस्तो कर्जा अर्धवार्षिक किस्तामा भुक्तानीको अनिर्वाय व्यवस्था गर्नुभन्दा अधिक समय दिइ कर्जा मिलान गर्ने सुविधा उपलब्ध गराउँदा उद्योगी तथा व्यवसायीहरुलाई सहज हुने भनाइ छ ।

सेयर बजारमा २०.५५ अंककाे वृद्धि

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा रोकिएको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेकोे हो ।

बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो । पाँच अर्बभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो । साथै, बिहीबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भइरहेको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा शिभव् सिमेन्टका र तेश्रोमा रिडी पावर कम्पनीको बढीको सेयर बिक्री भएको छ ।

यता, खप्तड लघुवित्त र बाराही हाइड्रोपावर १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  न्यादी ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आइएमइ समुन्नत योजना कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

कुल १३३ कम्पनीकाे सेयरमा वृद्धि भएकाे छ भने ७१ कम्पनीमा ओरालो लागेको छ । नाै कम्पनी भने स्थिर रहेको छ ।

आज १३ उपसुचकहरू तीन कम्पनीबाहेक सबै उपसुचकमा हरियाली छाएको छ

धर्ना र आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

काठमाडौँ गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी)ले विशेष टोली परिचालनगरी छानबिन गरिरहेको बताएका छन् ।

आइतबार लामिछानेले काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर । सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको बताए। उनले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गरेका हुन्।

जनमत पार्टी र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच कार्यगत एकता गर्नेगरी सहमति भएको छ । आइतबार आयोजित कार्यक्रममा राउत र श्रेष्ठले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन
।
उक्त सहमति पत्रमा उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको रिहाइ पहलदेखि नागरिकता विधेयक पास गर्न दबाब दिनेसम्म रहेको छ । साथै, सर्वोच्च अदालतले सार्वजनिक गर्न आदेश दिएको उच्चस्तरीय लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागिता भएका उन्मुक्ति पार्टी र जनमत पार्टीका आस्थाका बन्दीहरूलाई लगाइएको झुट्टा मुद्दा फिर्ता लिन सरकारलाई दबाब दिने लगायत सहमति भएको छ ।

यस्तै, संघीय संघदेखि प्रदेशसम्मको सरकार गठन हुँदा सहमति भएका बुँदालाई कार्यान्वयनका लागि एक भएर जाने पनि सहमति पत्रमा उल्लेख छन् ।

गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

काठमाडौं, २४ पुस-टोखा नगरपालिका–९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय पुष्पबहादुर खड्का लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई तीन लाख ७० हजार रुपैयाँ र चार गड्डी ताससहित पक्राउ गरेको हो ।

अमेरिकामा मौरीका लागि विश्वको पहिलो खोप प्रयोग गर्न अनुमति

एजेन्सी – अमेरिकाले मह उत्पादन गर्ने मौरीका लागि विश्वको पहिलो खोप प्रयोग गर्न स्वीकृति दिएको छ । खोप अमेरिकी फाउलब्रड रोगबाट हुने मृत्युलाई रोक्नको लागि विकसित गरिएको हो । खोपको विकास गरिरहेको बायोटेक कम्पनीका अनुसार अमेरिकाको कृषि मन्त्रालयले यस हप्ता खोपको लागि सशर्त इजाजतपत्र स्वीकृत गरेको छ । परागकणहरूको रूपमा माहुरीहरूले इकोसिस्टमका धेरै पक्षहरूमा महत्वपूर्ण भूमिका खेल्छन् ।

दालन एनिमल हेल्थका सीईओ एनेट क्लेजरले एक विज्ञप्तिमा भनिन्, ‘खोपले मौरीको सुरक्षामा एउटा सफलताको रूपमा काम गर्न सक्छ ।’

मन्त्रालयका अनुसार सन् २००६ देखि अमेरिकाले मह बनाउने मौरीको संख्यामा कमी देखेको छ । परजीवी, कीट, रोगलगायतले मौरीको स्वास्थ्यलाई खतरामा पार्छ ।

संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठनका अनुसारमाहुरी, चराचुरुङ्गी र चमेरो जस्ता परागकणहरू विश्वको एक तिहाइ बाली उत्पादनका लागि जिम्मेवार छन् ।
अमेरिकी फउलब्रड रोग माहुरीपालकहरूका लागि चुनौती खडा गरेको छ किनकि यो अत्यधिक संक्रामक छ र यसको कुनै उपचार छैन ।

निर्मला कुर्मीको न्याय माग्दै डा. केसी

निर्मल कुर्मीको न्यायका लगि आइतबार माईतीघर मण्डलमा आयोजित धर्ना र प्रर्दशन । सो अवसरमा सत्याग्रही डाक्टर गोविन्द केसी, सामाजिक अभियन्ताहरू विमल अर्याल, निर्ग नवीनलगायतको उपस्थिति थियो ।

उनीहरूले कुर्मीको न्यायका लागि लाल्टिन बाल्दै प्रदर्शन गरेका छन् । बाँकेकी निर्मला कुर्मीको सम्पत्ति हडपेर बेपत्ता पारेकाे आराेप छ ।

सुशासन प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रत्याभूतिका लागि सरकार गम्भीर रहेकाे बताएका छन् । सिंहदरबारमा आइतबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित हुने प्रतिबद्धता पनि जनाएका थिए ।

उनले सरकारका सचिवहरूसँगको छलफलमा पनि सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित हुने बताएका थिए । उनले भने, ‘जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन् । अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित काम गर्नुछ । त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ ।’

सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएको उनले बताए । सुशासनको कुरा राज्यको आमजिम्मेवारी भएको र यसमा सरकार गम्भीर रहेको बताए । उनले भने, ‘भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न सक्दैन । यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि हो । आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहन्छ । भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ । त्यसप्रति म पूरै गम्भीर जिम्मेवार छु ।’

छलफलका क्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले उत्साहित भएको बताएका थिए । आयोगले संसदमा विचारधीन ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउन, आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र विस्तारका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ ।

बाढी पहिराेले भत्किएकाे कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

जुम्ला, २४ पुस-जुम्ला हुँदै सुर्खेत जाने कर्णाली राजमार्ग गत असोजमा आएको बाढीपहिरोले क्षतविक्षत बनेपछि ०६३ सालकै स्वरुपमा फर्किएको छ । ०६३ मा राजमार्गको ट्रयाक खुल्दा जस्ताे थियाे अहिले त्यही स्वरुपमा पुगेकाे छ । सुर्खेतदेखि जुम्लासम्मको २३५ किलोमिटरको राजमार्ग यसपटकको बाढी पहिरोले तत्काल सञ्चालन हुन नसक्ने अवस्थामा छ । कर्णालीवासीको जीवनरेखाको रुपमा रहेको कर्णाली राजमार्ग विशेषगरी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र नाग्म गमगढी हुँदै मुगुसम्म यातायात सञ्चालन हुँदा स्थानीय उत्पादन र वस्तु विनियमयमा निकै सहज भएकाे थियाे ।

तर चार महिनादेखि राजमार्ग सञ्चालनमा समस्या भएपछि यात्रुहरूले पीडादायी यात्रा गरिरहेका छन् । विपदबाट राजमार्गका दर्जनौँ स्थान क्षतबिच्छेद भएकाे छ भने भत्किदा सडक बनाउँदा र पहिरो पन्छयाउन लाखाैँ खर्च भइरहेकाे छ । अहिले राजमार्ग कामचलाउ हिसाबले सञ्चालन भइरहेकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ । कालोपत्रे भएका सडक समेत अहिले कच्ची सडकमा परिणत भएका छन् । राजमार्ग ०६३ काे कच्ची बाटाेमा परिणत भएकाे नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए । उनले भने, ‘राजमार्गमा विशेष प्याकेजको आयोजना र बजेट आवश्यक छ । यसमा सरकार र कर्णालीका जनप्रतिनिधिले जोड दिनुपर्छ ।’

सडक डिभिजन कार्यालय जुम्ला निरन्तर मर्मत सम्भारमा खटिए पनि धेरै क्षेत्रमा बाढीपहिरोले भत्काएपछि थेग्न नसकिने भएको छ । सबैभन्दा बढी जुम्ला र कालिकोट खण्ड र त्यसपछि दैलेख खण्डका भत्किएको छ ।
कर्णाली राजमार्गबाट यात्रा गर्दा यात्रुका फरक फरक पीडा छन् । जुम्लाका मनऋषि धिताल भन्छन्, ‘कर्णाली र नाग्म गमगढी राजमार्गमा बाढीपहिरोले माथिबाट पहिरो आउनलाई ठिक्क तयारी भए जस्तो धेरै स्थानमा छन् । यसपटक पहिरोले धुँलो अत्याधिक बढेको छ । यो क्षेत्रमा बर्खामा हिलो झन बढ्ने देखिन्छ ।’

पहिलेको अवस्थामा ल्याउन दुई अर्ब बजेट माग -राजमार्गमा काम गर्ने इन्जिनियरदेखि अन्य कर्मचारी रजमार्ग पहिलाको अवस्थामा फर्काउन कठिन रहेकाे बताउँछन् । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार राजमार्ग विपद् क्षेतबिच्छेद बनाएपछि नियमित बजेट प्रयोग गरेर काम त भइरहेको छ । यसका साथै पूर्ववतअवस्थामा ल्याउन दुई अर्बकाे बजेट चाहिन्छ ।

उनका अनुसार सो बजेटको माग अहिले अर्थ मन्त्रालयमा पुगेको छ । केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो.पञ्छाउन यो बजेट स्वीकृत भएमा सहयोग पुग्नेछ । जिल्ला विप व्यवस्थापन समितिको सिफारिस आवश्यक रहेका बताए । मुगुले निर्णय पठाइसकेको छ भने जुम्ला र कालिकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले बताएको छ ।

डिभिजन सड्क कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर चित्र चौलागाईका अनुसार राजमार्गकाे लामो भागमा पहिरो पञ्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ । सबैभन्दा ठूलो पहिरो नाग्मदेखि रारा खण्ड, धनाडा–राजुली खण्ड, राताडाव खण्ड, एस मोडसहित विभिन्न स्थानमा छ ।

यसका साथै दही खोलादेखि जुम्लामा मात्रै एक सय स्थानमा पहिरो गएको बताए । सेरिगाडमा एक साताअघि ठूलाे सुख्खा पहिरो आएपछि जाली तथा ग्याविन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । यस बर्ष समयमै बजेट प्राप्त भएन भने जतिबेला पनि पहिरो आउने र दुर्घटना हुने डर छ । १९ असोजमा गएको बाढीपहिरोले कर्णाली राजमार्गअन्तर्गत राँचुलीमा मलामी गएका १३ जनाको मृत्यु भएको थियो ।

आविस्कार केन्द्रको सहयोगका लागि राजेश पायल राईको जापानमा सांस्कृतिक कार्यक्रम

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्र नेपालको सहयोगार्थ जापानमा हुने कार्यक्रममा गायक राजेश पायल राईले आफ्नो प्रस्तुति दिने भएका छन् । हाल उनी जापानमा छन् । राष्ट्रिय आविस्कार केन्द्र नेपालको सहयोगार्थ नेपाल आदिवासी जनजाति महासंघ जापानले आयोजना गरेको नेफिन जापान सांस्कृतिक साँझ २०२३ को लागि गायक राईसहितले आ–आफ्नो प्रस्तुति दिइसकेका र केही कार्यक्रममा दिने कार्यक्रम छ ।

गायक राईसहितको टोलीले जापानको फुकुओकामा जनवरी ७ तारिक, नागोयामा जनवरी ८ तारिक, चिबामा जनवरी १४ तारिक, टोकियोमा जनवरी १५ तारिक र ओकिनावामा जनवरी १८ तारिकमा हुने कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ ।

नेपाल आदिवासी जनजाति महासंघ जापानको अध्यक्ष सन्जिव राई, एनआरएन जापानका वरिष्ठ उपाध्यक्ष नविन निउककरे, नेफिन जापानका महासचिव शिशिर लिम्बू, नेफिन जापानको सल्लाहकार हवल चन्द्र लामा, थकाली सेवा समितिको अध्यक्ष बुद्धि गौचन, तमु धी जापानका अध्यक्ष रमेश गुरुङ, किरात याक्थुङ चुम्लुङ जापानको अध्यक्ष सुदिप पालुङवा लिम्बू, शेपा संघ जापानका महासचिव पासाङ शेर्पा, नेपाल मगर संघ, जापानको सहकोषाध्यक्ष सविनबाबु मगरलगायत विभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरू, सामाजिक अभियान्ताहरू नारिता अन्तराष्ट्रिय विमान स्थलमा गायक राईसहित द भ्वाइस सिजन ४ को फस्टरनर गायिका सविना योङहाङ लिम्बू र द भ्वाइस किड्स टप फाइनलिस्ट गायिका समृद्धि परियारलाई स्वागत गर्न पुगेका थिए ।

सांगीतिक कार्यक्रमबाट हुने मुनाफा रकम महावीर पुनले नेपालमा स्थापना गरेको  राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई सहयोग गरिने आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जापान अध्यक्ष सन्जिव राईले जानकारी दिए ।

अमेरिकालाई धेरै हानी पुर्‍याउने जासूस २० वर्षपछि रिहा

एजेन्सी – शीतयुद्ध कालमा सबैभन्दा प्रख्यात जासूसमध्येकी एक एना मोन्टेस २० वर्षको जेल सजायपछि रिहा भएकी छिन् । ६५ वर्षीया मोन्टेसले खुफिया निकायमा  विश्लेषकको रूपमा काम गर्दा क्युबाका लागि जासुसी गर्न करिब दुई दशक बिताएकी थिइन । रिहापछि पनि उनी पाँच वर्ष निगरानीमै रहनेछिन् ।

सन् २००१ मा पक्राउपछि उनले क्युबामा अमेरिकी गुप्तचर कार्यहरू लगभग पूर्ण रूपमा खुलासा गरेको अधिकारीहरुले दाबी गरेका थिए ।

उनी अमेरिकाद्वारा पक्राउ परेका सबैभन्दा हानिकारक जासूसमध्ये एक थिइन । राष्ट्रपति जर्ज डब्लु बुसको नेतृत्वमा काउन्टर–इन्टेलिजेन्सको प्रमुख मिसेल भान क्लीभले सन् २०१२ मा कांग्रेसलाई सम्बोधनका क्रममा मोन्टेसले सबै कुरामा सम्झौता गरेको  बताएकी थिइन् ।

पक्राउपछि मोन्टेसमाथि चार जना गुप्तचरहरूको परिचय र ठूलो परिमाणमा गोप्य सामाग्रीहरू उपलब्ध गराएको आरोप लागेको थियो । उनलाई २५ वर्षको जेल सजाय तोकिएको थियो ।