`

के दाहाल नाम मात्रका प्रधानमन्त्री हुन् ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन् ।प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्ने क्रममा केपी ओलीले आफ्नो पार्टी एमालेको समर्थनमा रहेको दाहाल नेतृत्वको सरकार ढल्छ कि भन्ने आशंका नगरी विश्वासको मत पाउनेमा ढुक्क रहन आग्रह गरे ।

दाहालको समर्थनमा एमाले रहेको जिकिर गर्दै ओलीले आफू नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले नीति बनाउने पनि बताए ।त्यसलाई दाहाल नेतृत्वको सरकारले कार्यान्वयनमा लैजाने ओलीले संसद्को बैठकमा रेकर्ड गराएका छन् । त्यसले के दाहाल नाम मात्रका प्रधानमन्त्री हुन् भन्ने प्रश्न उब्जाएको छ ।

कम्युनिस्ट मुलुकमा जस्तै नीति र कार्यक्रम पार्टीहरूले बनाउने र कार्यान्वयन मात्र सरकारले लैजाने अभ्यास गर्न लागिएको त होइन भन्ने प्रश्न पनि उब्जिएको छ। विनाप्रसंग ओलीले आफू नेतृत्वको समितिलाई संसद्को बैठकमा प्रवेश किन गराउन चाहे रु

प्रमुख दलका शीर्ष नेताहरूको तुलनामा लामो मात्र होइन, सबैतिर छेडछाड गर्न भ्याएका ओलीले अघिल्लो प्रतिनिधिसभा दुईपटक विघटन गर्ने आफ्नो प्रयासलाई नयाँ संसद्को पहिलो बैठकमा पनि पुष्टि गर्ने प्रयास गरेका छन् ।

बेलायतको उदाहारणा दिँदै ओलीले जनतामाझ जानु प्रतिगमन नभएको दाबी गरे । उनले फेरि पनि प्रतिनिधिसभा विघटन हुन सक्ने संकेत गरेको त होइन भन्ने आशंका पनि राजनीतिक वृत्तमा उब्जिएको छ ।

साथै त्यसले संसद् विघटनलाई सबैभन्दा धेरै प्रतिगमन भन्दै आएको दाहाल र उनको नेतृत्वको माओवादी केन्द्रले विगतमा प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको कदमलाई कसरी लिन्छ ? यो समाचार नागरिक दैनिकमा छन् ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक

काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्दैछ । १० पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान बैठक बस्न लागेको हो । त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्दैछ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निश्चित भए पनि प्रमुख प्रतिपक्ष भनिएको कांग्रेस अनिर्णित छ ।

प्रधानमन्त्री प्रचण्ड सोमबार मात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका थिए । भेटमा प्रचण्डले विश्वासको मत माग्दा देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् । देउवाले विश्वासको मत दिने बचन दिए पनि आधिकारिक निर्णय भइसकेको छैन । त्यसका लागि देउवाले आज बिहान संसदीय दलको बैठक बोलाएका हुन् ।

कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ । खासगरी महामन्त्रीद्व गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा छ ।

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका थिए । नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । तर,  विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।

दुई सातापछि तराईको मौसममा आंशिक सुधार

काठमाडौं – तराईको मौसममा केही सुधार आएको छ । दुई सातादेखिको शीतलहर क्रमशः कम हुँदै गएको छ भने धेरैजसो क्षेत्रमा दिउँसोपख हल्का घाम लाग्न थालेको छ । यद्यापि, साँझबिहान भने हुस्सु र कुहिरो कायमै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।

राति उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ ।

यो सरकार स्थायित्वका लागि हो, सरकार बनाउने र गिराउने खेलका लागि होइन – ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिइसकेपछि सरकारका कार्यक्रमले गति लिने बताएका छन् ।

सोमबार सत्ता साझेदार दलले बनाएको सरकारको ‘नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ प्रधानमन्त्री प्रचण्डलाई बुझाउँदै ओलीले यस्तो बताएका हुन् । विश्वासको मत लिने बित्तिकै मन्त्रिपरिषद् विस्तारलगायतको काम तीव्रताका साथ अगाडि बढ्ने उनले बताए ।

“भोलि नै प्रधानमन्त्रीज्यूले विश्वासको मत प्राप्त गर्नु हुनेछ” उनले भने – “विश्वासको मत लिने बित्तिकै मन्त्रिपरिषद् विस्तारलगायतको काम तीव्रताका साथ अगाडि गर्दछाँै ।” उनले जनताका आशा भरोसालाई राखेर अहिलेको सरकार बनेको बताए ।

अहिलेको सरकार कसैले ढाल्न नसक्ने उनको दाबी छ । उनले भने यो सरकार स्थायित्वका लागि हो । सरकार बनाउने र गिराउने खेलका लागि होइन । सरकार प्रभावकारीरूपमा चल्छ

कृष्णपुरका विद्यालय चार दिन बन्द रहने

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने भएका छन् । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण पुस २६ देखि २९ सम्म बिदा दिने जनाएको हो ।

नगरपालिकामा कार्यरत उपसचिव विष्णुदत्त भट्टद्धारा जारी जारी सूचनामा शैक्षिक सत्रको संञ्चित जाडो विदाबाट मिलान हुने गरी पालिका अन्तरगतका सबै विद्यालयहरुमा जाडो बिदा थप गर्ने निर्णय गरिएको उल्लेख छ ।

सूचनामा बिदा अवधिमा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव नपर्ने अवस्था रहेमा विद्यालयहरुले अतिरिक्त कक्षा तथा अतिरिक्त क्रियाकलाप संचालन गर्न सकिने उल्लेख छ ।

वीरगञ्जबाट एक जना हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज – हुण्डी कारोबार गरेको आरोपमा वीरगञ्ज प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज–१७ अलौ बस्ने १९ बर्षिय राजन कुमार साहलाई १२ लाख २० हजार रकमसहित पक्राउ गरेको हो ।

वीरगञ्ज–२५ सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ ए ई ३५५६ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका साहले लगाएको हेल्मेटभित्रबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँ बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

चितवनको अमलटारीमा गैँडा मृत फेला

चितवन – चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एक गैँडा मृत फेला परेको छ । कुजौली रेन्जपोष्ट नजिक पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार अन्दाजी १८ वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।

गैँडा बूढो भएर मरेको हुनसक्ने उनले बताए । चालु आर्थिक वर्षमा सातवटा गैँडा मरेको निकुञ्जले जनाएको छ ।

सिद्धार्थनगरमा उपप्रमुखकाे सुरक्षित मातृशिशु कोशेली भेट

भैरहवा – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरक्षेत्रका सुत्केरीहरुका लागि उपप्रमुख सुरक्षित मातृशिशु कोशेली भेट कार्यक्रम सुरु गरेको छ । जनचेतना बढाई मातृ मृत्यु दर र बाल मृत्यु दर न्यूनिकरण गर्न नगरपालिकाले नगरपालिकले सुत्केरी आमाहरुसँग शुभकामना सन्देश सहित नगर उप प्रमुखको कोशेली भेट कार्यक्रम ल्याइएको हो । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई शुभकामना सन्देश सहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।

सोमबार नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहिया स्थित घर घरमा पुगेर सुत्केरी आमाहरुसगँ कोसेली भेट गरेकी छिन् । कोसेली झोला सहित घर घरमा पुगेर आमाहरुलाई कोसेली दिदै उपप्रमुख अधिकारीले सुत्केरी भएको अवस्थामा उनीहरुको स्वास्थयका साथै नगरवासीको मुहारमा खुशी ल्याउनका लागि कोसेली भेट गरेको बताइन् । सुत्केरी आमा तथा शिशुको पोषण समबन्धि सचेतना अभिबृद्धि गरी आमा तथा बच्चाको पोषण स्थिती तथा स्वास्थ्यलाई प्रवद्र्धन गर्न सुत्केरी कोशेली भेट कार्यक्रमलाइ निरन्तरता दिइएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले बताइन ।

कोशेली भेटमा करिब ३ हजार मुल्य बराबरका झुल, सेनेटरी प्याड, म्याक्सी, घयु मह ज्वानो, बच्चा र आमाको लागि नुहाउने साबुन, लुगा धुने पाउडर, बच्चाको तेल, डिटोल साबुन, कोशेली झोला सहित सन्देश मुलक शुभकामना कार्ड वितरण गरिने उममेयरको सचिवालयले जानकारी दिएको छ ।  नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, विवाह दर्ताको प्रमाण, न्युनतम ४ पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपी हुनुपर्ने नगरालिकाले प्रावधान बनाएको छ ।

‘यसले समयमै जन्मदर्ता गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने बानीको समेत विकास गर्नेछ’, उपप्रमुख अधिकारीले भनिन् । सुत्केरी अवस्थामा के खाने ?, कति दिन आरामा गर्ने ? कस्ता खानेकुरा खाएमा शरीरलाई फाइदा गर्छ ? जस्ता सन्देश लेखिएको पम्पलेट समेत कोसेली भेटमा उपलब्ध गराइएको छ । ‘यसले आमा र बच्चाको मृत्युदरलाई घटाउन पनि टेवा पुग्ने विश्वास लिएका छौँ’, अधिकारीले भनिन् ।

नगरप्रमुख इस्तियाक अहमद खानले सुत्केरीको लागि महत्वपूर्ण कार्यक्रम रहेकोले नगरवासीले सेवा लिन आग्रह गरका छन । हुनेखानेका लागि सुविधा भएपनि गरिबीरेखा मुनिको लागि महत्वपूर्ण ठानेर यो कार्यक्रम ल्याइएको छ । मापदण्डमा नआएकाहरुको लागि पनि व्यक्तिगत खर्चको व्यवस्थापनमा भएपनि सबै नागरवासीका सुत्केरीहरुले पाउने व्यवस्था मिलाउने बताए ।

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।उनीहरूबीच धुम्बाराहीमा भेटवार्ता भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेटेका हुन् ।

लागूऔषध चरेशसहित रुकुमका शाही पक्राउ

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध चरेशसहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाँउपालिका वडा नम्बर १२ घर भएका वर्ष ३५ का विरेन शाही रहेका छन् ।

यहि पुस २२ गते साँझ ६:३० बजे पोखराको पृथ्वीचोकबाट उनी पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शंका लागेर उनको खानतलासी गर्दा चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

उनको साथमा रहको झोलाबाट लागूऔषध चरेश ३ केजी ३०० ग्राम र मोवाईल थान एक थान बरामद भएको बताइन्छ ।पक्राउ परेका शाहीलाई कास्की जिल्ला अदालतबाट सात दिन म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।

देउवालाई भेट्न धुम्बाराही जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् ।सोमबार साँझ ७ बजे भेटवार्ताका लागि उनी धुम्बाराही आउँदै गरेको देउवाको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेट्ने भएका हुन् ।

के छ सरकारको २१ बुँदे न्यूनतम कार्यक्रममा

काठमाडौं, २५ पुस-सात दलीय सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो ।

सरकारले पुस २७ मा सार्वजनिक बिदा दिने

काठमाडौं, २५ पुस- सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । उक्त न्यूनतम साझा कार्यक्रमलाई पनि सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच विग्रहको बिजारोपण देखे – गगन थापा

काठमाडौं, २५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच विग्रहको बिजारोपण देखेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा महामन्त्री थापाले बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विग्रहको संकेत देखेको बताएका हुन् ।

बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन सही रहेको र संसद विघटन हुँदा प्रतिगामीको आरोप लगाउने नै प्रतिगामी रहेका बताइरहँदा देखिएको प्रचण्डको हाउभाउले उनीहरुबीच विग्रहको संकेत देखेको बताए ।

प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष ओलीको संसद विघटन सही रहेको र प्रतिगामी भन्नेहरु नै प्रतिगामी रहेका अभिव्यक्ति दिइरहँदा प्रधानमन्त्री प्रचण्ड टेबल ठोकौँ कि नठोकौँ भनेर अलमल्लिएको विषयलाई आफूले सामान्य रुपमा नलिएको महामन्त्री थापाको भनाइ छ ।

प्रदेशको नामाकरण उच्च प्राथमिकतामा – मुख्यमन्त्री कार्की

विराटनगर – प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण उच्च प्राथमिकतामा रहेको बताएका छन् । सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको नामाकरणलाई सरकारले गम्भीर रुपमा लिएका बताएका हुन् ।

उनले प्रदेश सरकारमाथि जनताले आलोचना गरिरहेको बेला प्रदेश सरकारको औचित्य हुनेगरी जनतालाई छुने काम गर्ने बताए । माओवादी केन्द्रले सरकारमा नजाने गरी गरेको निर्णयमाथि पनि छलफल हुने बताए ।

उनले भने, ‘केही दिनमा बसेर समस्या समाधान गछौं ।’  साथै विना विभागिय मन्त्रिपरिषद् विस्तार गरेको विषयमा एक दुई दिन भित्रका तीनै जना मन्त्रीलाई जिम्मेवारी दिने मुख्यमन्त्री कार्कीले प्रतिक्रिया दिए ।

संघीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो – चित्रहादुर केसी

काठमाडौं, २५ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो लागेको बताएका छन् ।  प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भएका कारखाना बन्द गरेर मन्त्री र सांसदहरूको संख्या बढेपछि देशको अर्थतन्त्र बिग्रिएको बताए ।

‘संघीय लोकतान्त्रिक व्यवस्थापछि देश स्वीटजरल्याण्ड हुन्छ भनेर संविधान बनाउँदाको बखत पानी खाँदै वकालत गरेको सुनेको थिए । भयो त त्यस्तो ?,’ उनले भने, ‘ देशमा उद्योग कलकारखाना खोल्नु नपर्ने, भएका उद्योग कलकारखाना निजीकरण गर्ने, कारखाना संघीय प्रणालीअनुसार खोलिएको भनेको मन्त्री र सांसदहरूको ।’

देशमा मन्त्री र सांसदहरू धेरै हुँदा अर्थतन्त्रले नधान्ने भन्दै उनले अब संघीयता नटिक्ने दाबी गरे । घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकार जस्तो भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र र संसदीय व्यवस्थाप्रति जनताको निराश बढेको बताए । गणतन्त्रप्रति जोखिम गणतन्त्रका लागि लडेका नेताहरूबाट हुने उनको भनाइ छ ।

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

पोखरा – एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुरूले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको  दाबी गरेका थिए ।

अधिकारीले आजै मुख्यमन्त्री पदकाे सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रदेश १ का मुख्यमन्त्री कार्कीले गठन गरे तीन सदस्यीय मन्त्रिपरिषद्

विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बूलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

एमालेका मेन्याङ्बो ताप्लेजुङको प्रदेशसभा १ बाट र सिटौला झापा क्षेत्र नम्बर ४ को प्रदेश (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । लिम्बू भने जसपाकी समानुपातिक संसद हुन् ।

एमाले, कांग्रेस, माओवादीकाे कार्यकर्ता नभएकै कारण रेशम चौधरीलाई झुठा मुद्दा लगाइयो : रञ्जिता श्रेष्ठ

काठमाडौं, २५ पुस । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई कांग्रेस, एमाले र माओवादीजस्ता ठूला पार्टीका कार्यकर्ता नभएकै कारण झुठा मुद्दा लगाएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन उनले आफ्नो अधिकार मागेर हिँडका चौधरीसहित राजबन्दीलाई थारूको छोरा भएकै कारण जेलमा हालेको बताएकी छन् ।

चौधरीकी पत्नीसमेत रहेकी उनले चौधरीलाई राज्यले विभिन्न चरणमा सम्मान गरेको स्मरण गराइन् । टीकापुरमात्र होइन अन्य स्थानमा भएका हत्याहिंसाको पक्षमा आफूहरू पनि नरहेको भन्दै उनले न्यायका नाम ज्यादती गर्न नपाइने बताए ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले अदालतको आदेश नमानेको पनि उनले आरोप लगाइन् । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, गगन थापा, रवि लामिछानेले समेत रेशम चौधरी निर्दाेष रहेको बताएको स्मरण गराउँदै उनले उनको न्यायका लागि सहयोग गर्न आग्रह गरिन् ।

जनताका अपेक्षा निराशामा नबदलिउन् : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पाँच वर्षको कार्यकालमा देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् । आज सुरु भएको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको भावना अनुरुप काम गर्न अनुरोध पनि गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाइ दिँदै उनले उनले भने, ‘नव नियुक्त प्रधानमन्त्री माननीय प्रचण्ड जीलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना । नव नियुक्त मन्त्रीहरुलाई पनि बधाई ।’ 

उनले १८ महिनाअघि आफू प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्न, स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गर्न प्रधामन्त्री बनेको पनि सम्झिए । साथै, देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु तत्कालिन सरकारको प्राथमिक जिम्मेवारी रहेको बताए । यस कार्यमा चुनौति र कठिनाइहरूबीच पनि सफल भएको बताए ।

उनले आवाधिक निर्वाचनबाट चयन भएर आएका संसादहरूलारुलाइ विषेश आग्रह पनि गरे । उनले भने, ‘यो प्रतिनिधि सभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्। हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो।संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता हो ।

यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप कार्यान्वयन अनिवार्य शर्त हो । संविधानको कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्न बाँकी रहेकाे उनले बताए ।
 

परिवर्तनको अनुभूति गर्नेगरी काम गर्न प्रधानमन्त्री प्रचण्डलाई माधव नेपालको सुझाव

काठमाडौं, २५ पुस । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति गर्नेगरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संविधानको पालना गर्दै परिवर्तनको अनुभूति हुनेगरी काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।

छिनछिनमा हुने सरकार परिवर्तनको पक्षमा आफूहरू नरहेको भन्दै उनले समाजवादको मूल्य मान्यतामा रहेर देशको समृद्धिको बाटोमा हिँड्नुपर्ने बताए ।

भ्रष्टाचार, अनियमितता, अराजकता, दण्डहिनतालाई चिर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै  अध्यक्ष नेपालले सुशासनको प्रत्याभूति गराएर सबै क्षेत्रमा रहेका विचौलियाहरू, सेटिङ गर्ने सिस्टम भत्काउने काम गर्न सरकारलाई सुझाव दिए ।

देशको अर्थतन्त्र संकटग्रत रहेकाले यसप्रति सबैको ध्यान जानुपर्ने भन्दै उनले चर्काे ब्याजले सबै व्यवसाय धरासयीमा परेको बताए । संकटग्रस्त अर्थतन्त्रलाई सुधार्ने, कृषिक्षेत्रको विकास गर्नेलगायतका विषयमा सरकारको ध्यान जानुपर्ने नेता नेपालको भनाइ छ ।

मिटरब्याजी समस्याले जनताको जीवन नरकतुल्य बनाएको भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराए । मलखाद तथा किसानको समस्या समाधान गर्न आग्रह गर्दै उनले प्रत्येक वर्ष व्यहोर्नुपर्ने शीतलहर, हिमपात, बाढीपहिरोको दिगो समाधानमा काम गर्न पनि सरकारलाई सुझाव दिए ।

आवश्यक कानुन नबन्दा प्रदेश सरकारले चाहेअनुसार काम गर्न सक्दैनन् – रामसहायप्रसाद यादव

काठमाडौं, २५ पुस । जसपाका रामसहायप्रसाद यादवले आवश्यक कानुन नबन्दा प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसकेको बताएका छन् ।

आज बसेकाे संघीय संसदको हिउँदे अधिवेशनकाे जारी बैठकलाई सम्बोधन गर्दै उनले आवश्यक कानुन नहुँदा प्रदेश सरकारको निर्देशन कर्मचारी र प्रहरीले नमान्ने गरेको बताए ।

प्रदेश सरकारलाई काम गर्न सक्नेगरी कानुन बनाउनुपर्नेमा उनले जोड दिए । साथै, नागरिकताको समस्या समाधान गर्न तत्काल नागरिकता विधेयक पारित गर्नुपर्ने उनले बताए ।

निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं, २५ पुस । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताएका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्वीकार्नुपर्ने बताए ।

जनमतले कुनै पनि एक दलमात्र अघि बढ्न सक्ने म्यान्डेट नदिएकाले वर्तमान सरकारलाई राप्रपाले समर्थन गरेको उनको भनाइ छ । देशलाई शीरमा राखेर मुलुकको सबै समस्या समाधान गर्नुपर्ने बताउँदै उनले यसमा राप्रपा तयार रहेको र सरकारलाई सहयोग गर्ने बताए ।

सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिन्छ : केपी ओली

काठमाडौं, २५ पुस । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिने दाबी गरेका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताको निम्ति अहिलेको गठबन्धन र सरकार उभिने दाबी गरेका हुन् ।

जनताको दुःख कष्ट हेर्नका लागि प्रचण्ड नेतृत्वको सरकार बनेको भन्दै उनले शीतलहरबाट जनताको ज्यान गइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

‘प्रतिपक्षी दलले अड्काउने होइन सघाउने काम गरोस्’ : रवि लामिछाने

काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतलाई निराशाको मतको रुपमा अर्थ्याएको भन्दै खण्डन गरेका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेतत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गरे ।

उनले संसदमा प्रतिपक्ष दलले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन् । उनले भने संसद प्रतिपक्षले रचनात्मक रुपमा सुझाव सल्लाह दिन सकेको खण्डमा त्यो खबरदारीलाई आत्मसाथ गर्दै जनताको चाहना अनुरुप काम गर्न सक्छन् । म अपेक्षा गर्छु। प्रतिपक्षी दलले अड्काउने होइन, सघाउने काम गरोस् भन्ने चाहन्छु ।’

‘हामीमाथि आरोप छ । हामीले पाएको मतलाई निराशाको मत भनिएको छ । तर, होइन हामीले पाएको मत आशाको हो,’ उनले बैठकमा भने । जनताको जीविकाको पक्षमा बलियो आवाज आफूहरुले उठाउने जानकारी दिँदै उनले जनताको चाहनाअनुरुपको काम गर्ने र सोहीअनुसारको भूमिका खाेलिदिन विपक्षी दलसँग आग्रह गरे ।

भ्रष्टाचारका फाइल खोल्र्नु पर्ने र निर्मम भएर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानको पक्षमा उभिन सबै दल र सांसदहरुलाई  आग्रह गरे । भ्रष्टाचारीलाई छुटाउन वा कारबाही गर्नबाट रोक्न कुनै पनि वाधा नपुर्याउन सबैलाई आग्रह गर्दै उनले आफू र आफ्ना सांसदहरुले अनियमिता र कुनै पनि काण्डमा नमुछिने वाचा गरे ।

साे क्रममा उनले आफ्नाे दलले जनअपेक्षा अनुरुप काम नगरे वा गर्न नसके सरकार र सत्ता टाँसिएर नबस्ने पनि बताएका छन् । आफ्ना दलका कुनै पनि नेताले गलत काम गरेमा उनीहरूलाई स‌ंरक्षण पनि नगर्ने उनकाे भनाइ छ ।

चिसोले अभिभावक गुमाएका १० वर्षीय बालकलाई बाबुको काजकिरियाको चिन्ता

सप्तरी, २५ पुस-तिलाठी कोइलाडी गाउँपालिका-४ का १० वर्षीय सकलदेव सदा चिसाेले ज्यान गुमाएका ४५ वर्षीय बाबु देबु सदाको किरियामा बसेका छन् । देबुकाे पाँच दिनअघि राति सुतेकै बेला कठ्याग्रिएर मृत्यु भएक‍‍‍ो थियोे ।६ वर्षअघि उनकी आमाकाे पनि कठ्याग्रिएर ज्यान गएकाे थियाे । उनले भने, ´विपन्ता र चिसोले मलाई अनाथ बनायो । दुई छाक टार्नुभन्दा पनि अहिले बाबुको काजकिरिया कसरी उकास्ने भनेने चिन्ता छ।’

उनलाई सहयोग गर्नेहरू पनि अग्रसर भएका छन् । देबु सदाको परिवारलाई गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडा नम्बर ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, वडा नम्बर ५ का वडा अध्यक्ष ललनप्रसाद राउतले राहत सामग्री हस्तान्तरण गरेका छन् ।

गाउँपालिकाको कार्यालयबाट आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाई किलो खाने तेल, दुई थान ब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाका विपद् व्यस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।उक्त अवसरमा जनस्वास्थ्य निरीक्षक दिपक मण्डल, कांग्रेसका नेता शम्भूलाल देवसहितको सहभागिता रहेको थियो ।

गण्डकीमा सरकार गठनमा एकीकृत समाजवादीका मनाङेले एमालेलाई समर्थन गर्ने

पोखरा, २५ पुस-एकीकृत समाजवादीमा प्रवेश गरेका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले एमाले नेतृत्वको गण्डकी सरकारलाई समर्थन दिने भएका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीले केहिबेररमा मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउने छन् ।

केन्द्रमा एकीकृत समाजवादी प्रतिपक्षमा रहने सम्भावना अधिक छ । तर, गण्डकीमा भने मनाङे सरकारमा जान खोजिरहेका छन् । सरकारमा दाबी पेश गर्न आफू पनि जाने मनाङेले बताए ।उनले अहिलेको आवश्यक्ता कम्युनिष्ट सरकार भएको भन्दै वामपन्थीहरू एकैठाउँमा रहनुपर्ने पनि बताए । ‘केन्द्रमा के हुन्छ मलाई मतलब भएन । यहाँ म खगराजलाई भोट हाल्छु,’ उनले भने, ‘अहिले राप्रपाले सहयोग गरे पनि उ निस्किन सक्छ । हामी कम्युनिष्ट मिले आफ्नै सरकार बन्छ ।’ राप्रपाले जुनसुकै बेला धोका दिनसक्ने उनको भनाइ छ ।

विदेशी मुद्राका संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा – ओली

काठमाडौं, २५ पुस । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले धेरै वर्षापछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए ।

आर्थिक अवस्था गम्भीर रहेका बेला देशमा निर्वाचित भएर आएका जनप्रतिनिधिले राष्ट्रहितको अवस्थामा उभिनु पर्ने जोड दिए ।

जात र विविधताको मात्र होइन अब राष्ट्रिय संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ : केपी ओली

काठमाडौं, २५ पुस । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जात र विविधताको मात्र नभएर समग्र राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले जातको मात्र कुरा गरेर हुनेवाला छैन । हामीले विविधताको मात्र कुरा गरेर हुनेवाला छैन । हामीले राष्ट्रिय संस्कृतिको समग्रतामा रक्षा, सम्वर्द्धन, हजारौँ वर्ष लगाएर हाम्रा पूर्वजहरूले विकास र स्थापित गरेको सामाजिक उन्नत संस्कृतिको रक्षा, त्यसको सम्वर्द्धन गर्नुपर्छ ।’

संस्कृति र सामाजिक मूल्य मान्यता बिर्सिए समाज समाज नरहने उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकार पाँच वर्षमा ६७ ऐन बनायाे तर ३७ वटा दराजमै थन्किए

धनगढी – १८ भदाै ०७७ मा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको प्रदेश रेडियो, एफएम. र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि प्रदेश सरकारले अझै कार्यान्वयन गर्न सकेको छैन ।

कार्यविधि बनेको लामो समयसम्म प्रदेश सरकारले सो कार्यविधिले निर्दिष्ट गरेअनुसार आवश्यक कानुन निर्माण गर्न सकेको छैन । प्रदेशमा रहेका एफएम, रेडियो, पत्रपत्रिकाको व्यवस्थापन, नियमन गर्ने र लोक कल्याणकारी विज्ञापन वितरण कार्यविधिको प्रारम्भिक बुँदामा उल्लेख छ ।

तर, तीन वर्ष पुग्न लाग्दा पनि कार्यविधिअनुसार सरकारले काम गर्न सकेन । कार्यविधि कार्यान्वयन गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने केही बुँदा शंसोधन गर्नुपर्ने भएका कारण कार्यान्वयनमा ढिलाई भएको जनाएको छ ।

कार्यविधिका केही बुँदा सामान्य शंसोधन गर्नुपर्ने देखिएका छन्,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानून अधिकृत लक्ष्मीराज जोशीले भने, ‘नयाँ सरकार आएपछि शंसोधन सहित कार्यान्वयन गर्ने प्रक्रियामा लैजाने छौं ।’

७ वैशाख ०७७ मा प्रदेश प्रमुखले प्रमाणीकरण गरेको प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । ऐन बनेपछि त्यसलाई कार्यान्वयनका लागि सरकारले आवश्यक निर्देशिका बनाएको छैन । ऐन बनेपछि त्यसमा टेकेर सामान्य काम गरिएको भए पनि आवश्यक कानुन नबनेका कारण पूर्ण कार्यान्वयनमा समस्या रहेको प्रदेश सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार बताउँछन् ।

‘ऐनले बाल अधिकार समिति बनाउने अवधारणा ल्याएको छ,’ उनले भने, ‘समिति गठन राजनीतिक नियुक्तिका आधारमा हुनुपर्ने व्यवस्था छ, तर हालसम्म समितिका पदाधिकारी नियुक्त भएका छैनन्, आवश्यक कानुन पनि बनेका छैनन् जसका कारण ऐन कार्यान्वयनमा समस्या आएको हो ।’

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाबाट पारित सुदूरपश्चिम प्रदेश दुग्ध विकास बाेर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश प्रमुखबाट ७ वैशाख ०७८ मा प्रमाणिकरण भएको थियो । सो ऐन १३ वैशाख ०७९ मा शंसोधनसहित प्रदेश प्रमुख कार्यालयबाट पुनः प्रमाणिकरण भएको थियो ।

तर, सो ऐन पनि कार्यान्वयनमा आएको छैन । प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड गठन गर्ने ऐनमा उल्लेख गरिएको छ । तर अहिलेसम्म त्यसका लागि कानुन नै बनेका छैनन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदनसिंह धामीका अनुसार दुग्ध विकास बोर्ड गठनका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा फाइल पेश गरिएको छ । ६ महिना अघि नै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा फाइल पेश गरिएको भए पनि हालसम्म बोर्ड गठनमा मन्त्री परिषद्ले चासो देखाएको छैन ।

माथिमा केही उदाहरणले प्रदेश सरकारकाे कानुन निर्माण र कार्यान्वयन प्रक्रियालाई प्रष्ट पार्छ । सुदूरपश्चिम प्रदेश सरकारले जनसरोकारसँग जोडिएका थुप्रै ऐन तथा कार्यविधि बनाए पनि अधिकांस दरजमा थन्किएका छन् ।

सरकार सञ्चालन, मन्त्री तथा कर्मचारीको सेवा सुविधाका लागि निर्माण गरिएका ऐन कानून भने भटाभट कार्यान्वयन भइसकेका छन् । सेवा सुविधामुखी ऐन निर्माणपछि सरकारले आवश्यक पर्ने कानून पनि बनाएको छ । तर, नागरिकको हक हितका विषयमा निर्माण गरेका ऐन भने प्रदेश सभाबाट पारित गरेर मन्त्रालयको दराजमा थन्किने गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले पाँच बर्षको कार्यकालमा निर्माण गरेका विधेयकमध्ये ६७ विधेयक तथा कार्यविधि प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भइसकेका छन् । ती मध्य ३० भन्दा बढी विधेयक (ऐन) प्रदेश सरकार सञ्चालन तथा सेवा सुविधा र अन्य आन्तरिक परियोजनका लागि निर्माण गरिएका छन् । प्रदेश सरकारले निर्माण गरेका ६७ मध्ये ३७ ऐन जनसरोकारका विषयसँग जोडिएका छन् । तीमध्ये अधिकांस ऐन बनेपछि ऐन कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन प्रदेश सरकारले बनाएको छैन ।

प्रदेश प्रहरी ऐन, दलित सशक्तिकरण ऐन, पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा बनेको ऐन, प्रदेश बिउबिजजन व्यवस्थापन सम्बन्धमा बनेको ऐन, सुदूरपश्चिम प्रदेश पर्यटन सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, सुदूरपश्चिम प्रदेश वातावरण संरक्षण अध्यादेश ०७७ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, सुदूरपश्चिम प्रदेश तथा स्थानीय तह बीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको ऐन, सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, लगायत थुप्रै जनसरोकार संग सम्बन्धी ऐन बनेको लामो समय भइसकेको छ । तर सरकारले ती ऐन कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन तथा कार्यविधि निर्माण गरेको छैन ।

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रवक्ता नवराज ओझाले भने ऐन निर्माण भएपनि धेरै ऐन शंसोधन गर्नुपर्ने देखिएका कारण कार्यान्वयनमा समस्या भइरहेको बताए । ‘केही ऐन कार्यान्वयन भइसकेका छन्,’ प्रवक्ता ओझाले भने, ‘केही कार्यान्वयनको चरणमा रहेका छन् तर केही ऐन बनेपछि संशोधन नगरी कार्यान्वयन गर्न नसकिने देखिएका कारण रोकिएका छन् । नयाँ सरकार बनेपछि प्रदेश सभामा संशोधनका लागि पठाउने तयारी गरिएको छ ।’

उनले संघीय सरकारका कारण पनि ऐन कार्यान्वयनमा समस्या भएको बताए । ‘संघीय सरकारले ऐन संशोधन गर्दा प्रदेश सरकारले निर्माण गरेको ऐनको बुँदासँग बाँझिन पुग्छन्,’ उनले भने, ‘संघीय कानुनसँग बाँझिएको ऐनका बुँदा स्वतः खारेज हुने व्यवस्था छ, जसका कारण प्रदेश सरकारलाई काम गर्न समस्या छ ।’

प्रदेश सरकारले निर्माण गरेका केही ऐन भने संख्या बढाउनका लागि मात्रै आएका जस्ता देखिएकाे उनले बताए । ‘केही ऐन तत्कालिन अवश्यकताका आधारमा निर्माण भएका पनि हुन सक्दछन्,’ प्रवक्ता ओझाले भने, ‘तर वर्तमान अवस्थामा आउँदा केही ऐनको औचित्यनै पुष्टि हुन सक्दैन, ती ऐनले संख्या मात्रै बढाइरहेका छन् ।’

जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई देउवाको आग्रह

काठमाडौं, २५ पुस । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले नवनिर्वाचन सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेका हुन् ।

लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक रहेकाले आफू नेतृत्वको सरकारले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष रुपमा गरेको बताउँदै देउवाले पुष्पकमल दाहाल नेतृत्वको सरकारको सफल कार्यकालको शुभकामना पनि दिए ।

विशेष परिस्थितिमा १८ महिनाअघि आफूले सरकारको नेतृत्व सम्हालेको स्मरण गराउँदै उनले प्रचण्ड नेतृत्वको सरकार र सांसदहरूलाई जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गरे ।

संसदमा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभूताको जित हो : प्रधानमन्त्री

काठमाडौं, २५ पुस । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका छन् ।

संघीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा नयाँ राजनीतिक दल र नयाँ अनुहारको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका हुन् ।

उनीहरुमा देश र जनताको हितमा काम गर्न हुटहुटी रहेको  प्रचण्डको भनाइ छ ।

प्रभु इन्सुरेन्सकाे लाभांश घाेषणा

काठमाडौं – प्रभु इन्सुरेन्सले ७.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको पुस २४ गते आइतबार बसेको सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ६.७०% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हाे ।  साथै, कर प्रयोजनको लागि ०.३५% नगद लाभांश पनि वितरण गर्ने भएको होे ।

नेपाल बीमा प्राधिकरण स्वीकृति तथा आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदलाई रवि लामिछानेको निर्देशन

काठमाडौं, २५ पुस । संघीय संसदको अधिवेशन सोमबारबाट सुरु हुँदै छ । संसदको अधिवेशन सुरु हुने भएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउँदै आवश्यक निर्देशनसमेत दिएका छन् ।

सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राजनीतिमा लागेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि यसपटक संसदमा सहभागी भएको छ ।

पार्टी गठन गरेलगत्तै ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट संसदमा चौथो दलको हैसियत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

सो पार्टीको संसदीय दलको सोमबार बसेको बैठकमा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले जनचासो र जनजीविकको विषयलाई प्राथमिकतामा राख्दै प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।

निर्वाचनमार्फत जनताले दिएका जिम्मेवारी, राष्ट्रियहित र स्वाभिमानको विषयमा अडिग रहेर भूमिका खेल्न नेता लामिछानेले निर्देशन दिएका छन् ।
उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन पनि सांसदलाई भनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसदमा चौथो शक्तिको रुपमा रहेको छ ।

अमेरिकी डलर स्थिर रहँदा युरोकाे मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ । साेमबार अमेरिकी डलर स्थिर रहेको छ ।

रोपियन युरो एक रुपैयाँ ८३ पैसाले उकालो लागेको छ । यसकोे खरिददर १४० रुपैयाँ ५८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलरमा एक रुपैयाँ ७९ पैसाले उकालो लागी सोको खरिदमूल्य ९० रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २२ पैसामा कारोबार भैरहेको छ । यसअघि, आइतबार खरिदमूलय ८९ रुपैयाँ २ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४३ पैसामा कारोबार भएको थियो ।

साउदी अरेवियन रियालको कारोबार आज स्थीर रहेको छ ।  यसको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा तोकिएको छ ।
कतारी रियालको खरिदमा ३६ रुपैयाँ ५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १३ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५३ पैसा र बिक्रीमा १० रुपैयाँ ५८ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १६ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ४३ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ३९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ २९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८८ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

ताइवान क्षेत्रमा चीनको सैन्य अभ्यास

एजेन्सी – चीनको सेनाले आइतवार ताइवान वरिपरि सैन्य अभ्यास गरेको बताएको छ । यो एक महिनाभन्दा कमको अवधिमा दोस्रोे अभ्यास हो । सेनाले ताइवान वरपरको समुद्र र हवाई क्षेत्रमा ‘संयुक्त लडाई तयारी गस्ती र वास्तविक लडाई अभ्यास’ आयोजना गरेको जनमुक्ति सेनाकोे पूर्वी थिएटर कमाण्डले आइतवार ढिलो एक विज्ञप्तिमा भनेको छ ।

उक्तअभ्यासको ताइपेयले विरोध जनाएको छ ।  गत वर्ष अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीच विवाद चर्किएको छ । ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश मान्दै आएको छ भने बेइजिङले त्यसलाई आफ्नो महत्वपूर्ण भूमि ठान्छ ।

प्रि ओपन सेसनमा नेप्से ६.८४ अंकले उकालो

काठमाडौं – प्रि ओपन सेसनमा सोमबार नेप्से सूचक ६.८४ अंकले उकालोे लागेको छ । यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ । २१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर खरिदबिक्री हुँदा १४ लाख ५९ हजार ७३१ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ११ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ । साथै ४ कम्पनी स्थिर  छ । यता, १३ उपसुचकहरु मध्ये ६ वटा कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा ओरालो लागेको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

गण्डकीमा आज नयाँ सरकार बन्ने

पोखरा – गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ ।

एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने गाहाले बताए । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको हो ।

गण्डकीमा कांग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्दै छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको उनले बताए । पहिलो दल कांग्रेससँग २७ सीट छ भने स्वतन्त्र जितेर एसमा पसेका राजीव गुरुङ (दीपक मनाङे) पनि प्रतिपक्षमा हुने छन् । मुख्यमन्त्रीमा दावी गर्नुअघि नै मन्त्रालयको समेत बाँडफाँट भैसक्ने बताइएको छ ।

कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने

सुर्खेत – आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकले कर्णालीमा नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकाे छ । निर्णयसँगै कर्णालीकाे मुख्यमन्त्री राजकुमार शर्मा बन्ने निश्चित भएको छ । रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा अब कर्णालीको तेस्रो मुख्यमन्त्री बन्नेछन् ।

पुस १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । १३ सिटसहित दोस्रो स्थानमा रहेको माओवादीले दोस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।

उत्ता मुख्यमन्त्री माओवादीले पाएपछि एमालेले सभामुख पाउने भएको छ । तर, एमालेबाट सभामुखमा कसलाई पठाउछ भन्ने टुंगाे अझैँ हुन सकेको छैन । एमालेको १० सिट कर्णाली प्रदेशसभामा रहेको छ । सरकार बनाउनका लागि २१ सिट भए पुग्छ । माओवादी र कांग्रेस मिलाएर २३ सिट  छ । प्रदेश प्रमुख तिलक परियारले २७ गते बेलुकी ५ बजे सम्मा मुख्यमन्त्रीको दावी प्रस्तुत गर्न समय दिएका छन् ।

सभामुख र उपसभामुख चयनको मिति तोकिने कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक सोमबार (आज) दिउँसो १ बजे बस्दै छ । जेष्ठ सदस्य विनानेद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकले आजलाई बैठक आह्वान गरेको थियो । बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक १ बजे बस्दै छ ।  प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले भने, ‘सभामुख र उपसभामुख चयनको मिति तोक्ने बाहेक अन्य खासै एजेण्डा केही छैनन् ।’