`

उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौं, २७ पुस । नेपाल टी २० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलबाटै उच्च लयमा देखिएको लुम्बिनीलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजे सुरु हुनेछ ।

लुम्बिनीले समूह चरणका १० मध्ये आठ खेल जित्दै शीर्ष टोलीको रुपमा क्वालिफायरमा स्थान बनाएको थियो । क्वालिफायरमा लुम्बिनीले जनकपुर रोयल्सलाई हराएको थियो ।

समूह चरणमा यी दुई टोलीबीच भएको दुई भेटमा लुम्बिनीले जित निकालेको छ । पहिलो भेटमा लुम्बिनीले विराटनगरमाथि तीन रनको रोमाञ्चक जित निकालेको थियो । दोस्रो खेलमा पनि लुम्बिनीले विराटनगरलाई १२ रनले पराजित गरेको हो ।

लिग चरणमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा छनोट भएको विराटनगरले मंगलबार जनकपुरलाई हराउदै लुम्बिनीसँगको भेट पक्का गरेको हो । विराटनगरका लागि कप्तान रोहित पौडेल र हुसेन टलट उत्कृष्ट लयमा रहेका छन ।

यता लुम्बिनीका श्रीलंकन लाहेरु मिलान्था पनि उत्कृष्ट लयमा रहेका छन् । उनले ३ सय ८ रन जोडेका छन । कप्तान दिपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन पनि लुम्बिनीको उपाधि लक्ष्यमा महत्वपूर्ण बन्न सक्छ ।

काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ टोलीको सहभागी प्रतियोगितामा थियो ।

विजेताले ५५ लाख पाउने छ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यसैगरी तेस्रो हुनेले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

यस्तै, प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् ।

सामुदायिक विद्यालय भवन निर्माणमा व्यापक अनियमितता

सिरहा – सिरहाकाे एक सामुदायिक विद्यालयको भवन निर्माणमा व्यापक अनियमितता भएको पाइएको छ । गोलबजार नगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयकाे चारकोठे भवन बनाउँदा व्यापक अनियमितता गरिएको पाइएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअर्तगत चार कोठे पक्की भवन निर्माणमा प्रधानाध्यापक सुरेन्द्र सिंहले प्राविधिकको स्टिमेटभन्दा बढीको काम विद्यालयको आन्तरिक कोषको रकम निकासा गरी अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् ।

गत आव ०७७-७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माणमा रकम अपुग भएको भन्दै सिंहले विद्यालयको निजीकोषमा रहेको रकम मनोमानी निकालेर अनियमिता गरेको स्थानीय अभिभावकहरुको आरोप छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त जनसहभागितासहित ३९ लाख ६० हजार रकमले भवन निर्माण सम्पन्न गर्न अपुग भएको भन्दै प्रधानाध्यापक सिंहले विद्यालयको निजी खातामा रहेको १३ लाख रकम विना निर्णय चलाएको नाम नबताउने सर्तमा स्थानीय एक अभिभावकले बताए ।

भवन निर्माण कार्यका लागि विद्यालयले अभिभावक भेला गराई निर्माण समिति गठन गरी काम भने आफैले गरेको निमार्ण समितिका सदस्य सन्तोष सिंहले बताए । प्रधानाध्यापक सिंहले मनोमानी ढंगले काम गरेको निर्माण समितिका सदस्यसमेत रहेका उनकाे भनाइ छ । ‘निर्माण समिति गठन भए पनि काम सुरु गरेदेखि अहिलेसम्म कुनै खोजतलास गरेको छैन, सिंहले आफ्नो ढंगले काम गराइरहेका छन्र,’ उनले भने । सन्तोषले प्रधानाध्याप सिंहले व्यक्तिगत स्वार्थका कारण विद्यालयको कोषको रकम निर्णयविनै चलाएकोले अनियमितता भएको आशंका व्यक्त गरे।

प्रधानाध्यापक सुरेन्द्र सिंहले सबैकाे सहमतिमै भवन निर्माण भएको दाबी गरे । ‘सबैको सहमतिमा थप कामसहित भवन निर्माण भएको छ, मैले साथीहरुको विश्वासमा काम गरें, अहिले आएर विमति देखिएको छ,’ उनले भने, ‘मैले लिखित गर्नुपर्ने थियो। तर, साथीहरुको विश्वासमा काम गरें । अहिले समस्या देखिएको छ । प्राविधिक मूल्यांकन भएको छैन, मूल्यांकनले तलमाथि देखाए साथीहरुसँग सल्लाह गरेर मिलाउनु पर्छ।’

विद्यालयले गरेको अघिल्लो कामको फरफारक नभए पनि विद्यालयमा थप चारकोठे भवन निर्माणका लागि ४५ लाख रकम परेको छ। चालू ०७९-८० मा पालिकाले नगरभित्रका १३ वटा विद्यालयको २-४ कोठे भवन निर्माणका लागि सिफारिस गरेको जसमध्ये चारवटा विद्यालयमा भवन र तीनवटा विद्यालयमा आइसिटी कार्यक्रम परेको शिक्षा शाखा अधिकृत सुवोध लामाले बताए । ‘हामीले सिफारिस गर्ने हो, विभागले विद्यालयको नाम कोड गरेरै पठाउने गरिन्छ,। विल भरपाई फर्छ्याैट नगरेकै विद्यालयलाई कार्यक्रम पुनः कसरी परेको विषयमा शिक्षा शाखा अधिकृत लामा ‘आफूसँग पहिलाको कुनै अभिलेख नरहेको भन्दै पन्छिन खोजे । गत आव ०७७-७८ मा जनसमूह आधारभूत विद्यालय गुरुधाम,आ.वि. धर्मपुर,दलित आ.वि.मुक्सारलाई २ कोठे भवन र जनता मावि चन्द्रोदयपुर लाई चार कोठे भवन परेको थियो।

कर्णाली प्रदेशमा आज मुख्यमन्त्रीको दाबी गरिदै

सुर्खेत , २७ पुस । कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि दाबी पेश गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समयसीमा बुधबार बेलुका ५ बजे सकिनै लाग्दा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीच अहिले फेरि छलफल सुरु भएको छ ।

माओवादीका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार अहिले दुई दल बीचमा छलफल सुरु भएको छ । छलफल मन्त्रालय बाँडफाँटको विषयमा केन्द्रीत छ । शीर्ष नेताहरुको बीचमा कर्णाली प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने सहमतिअनुसार नै छलफल भएको छ । एमालेको तर्फबाट वार्ता तथा छलफल गर्नका लागि दलका नेता यमलाल कंडेललाई मंगलबार नै जिम्मेवारी दिइएको थियो ।

माओवादी स्रोतका अनुसार ४ बजेभित्र नै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न गइसक्ने कार्ययोजना छ । माओवादी र एमालेका गरी २३ जना प्रदेशसभा सदस्यहरू छन् । सरकार बनाउनका लागि २१ जना प्रदेशसभा सदस्य भए पुग्ने अंकगणित  छ ।  एमालले कर्णालीमा आफूलाई आधा कार्यकाल चाहिने माग समेत गरेको छ । माओवादीबाट मुख्यमन्त्रीको उम्मेदवार राजकुमार शर्मा छन्  । उनी माओवादीबाट संसदीय दलको नेता हुन् । एमालेबाट कंडेल दलको नेता रहेका छन् ।

म्यान अफ दी गोरखा नेपाली सेनाका गजेन्द्र राईले जिते

पोखरा, २७ पुस । पृथ्वी जयन्तीका दिन आयोजना गरिएको म्यान अफ दी गोरखा नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । दौडेर राजा हुने परम्पराको सम्झतामा पृथ्वी जयन्तीका दिन दौड प्रतियोगिता आयोजना गरिएको हो ।

द्रव्य शाहले दौडेर राजा बनेको पस्लाङको चौतारादेखि गोरखा दरबारसम्म ८ किलोमिटर दौड राईले ३० मिनेट ६ सेकेण्डमा पूरा गरेका हुन् ।
उनलाई द्रव्य शाहको पगरीसहित पुरानो समयकै पोशाक लगाइदिएर सम्मान गरिएको छ । उनलाई झाँकी र र्‍याली सहित नगर परिक्रमा गरिनेछ । दौडमा सेनाकै मोहनदेव जोशीले ३० मिनेट ५७ सेकेण्डमा दौड पूरा गरी दोश्रो भए भने सेनाकै टंक कार्कीले ३१ मिनेट १३ सेकेण्डमा दौड पूरा गरेर तेस्राे भए ।

सशस्त्र प्रहरी क्लवका राजेन्द्र तामाङले ३१ मिनेट ३५ सेकेण्डमा र गोरखा नगरपालिकाका नवराज गुरुङले ३३ मिनेटमा दौड पूरा गरी सान्त्वाना भएका प्रतियोगिता संयोजक चन्दनबाबु खत्रीले जानकारी दिए । दौडमा १६ जना सहभागी थिए ।

म्यान अफ दि गोरखाका विजेतालाई ३० हजार नगद सहित पुरस्कृत गरिनेछ । दोस्राेलाई २० हजार, तेस्राेलाई १० हजार र सान्त्वनालाई ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्रीद्वारा गोरखा महोत्सव उद्घाटन (फोटो फिचर)

काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन् । काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन् । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

गण्डकीका मुख्यमन्त्रीलाई आफ्नै कार्यकर्ताले कालोपट्टी देखाएपछि …

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई आफ्नै कार्यकर्ताले कालाेपट्टी देखाएपछि नगरसभामा तरंग ल्याएकाे छ । उनलाई पहिलो कार्यक्रममै आफ्नै कार्यकर्ताले कालो पट्टी देखाएका हुन् । मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्ट म‌ंगलबार पोखरा महानगरको नगरसभामा सहभागी हुन पुगेका अधिकारीलाई एमाले तर्फकै दलित समुदायका जनप्रतिनिधिहरुले कालोपट्टी देखाएका हुन् । जसले नगरसभाभित्र तरंग ल्याएकाे हाे ।

महागरका एकजना वडाध्यक्षले आफ्नै वडा सदस्यलाई जातीय रुपमा विभेद गरेको आरोप छ । पोखरा २४ का अध्यक्ष भरत अधिकारीलाई जातीय विभेदको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ । सोही मुद्दालाई लिएर दलित जनप्रतिनिधिहरुले नगर सभामा विरोध गरेका हुन् ।

त्यसको मारमा परे, मुख्यमन्त्री अधिकारी । मुख्यमन्त्रीले बोल्ने समयमा दलित समुदायका जनप्रतिनिधिले कालोपट्टी बाँधेर सम्बोधन गरेका हुन् । विरोध स्वरुप उठेका उनीहरुको नेतृत्व गरिरहेका दीपक घिमिरे विश्वकर्मालाई उपमेयर मन्जुदेवी गुरुङले बोल्न समय दिइन् । उनी सीधै रोष्ट्रममा पुगे र ध्यानाकर्षण पत्र बुझाए ।

एक्कासि विरोध प्रदर्शन गरेपछि सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री अधिकारीले सम्वादबाट समस्या समाधान गर्न सकिने भन्दै विरोधलाई खासै वास्ता गरेनन् । उनले आफु पनि न्यायको पक्षमा रहेको प्रतिक्रिया दिए । उद्घाटन समारोह सकिएपछि अदालती प्रक्रियामा प्रवेश भइसकेको विषयमा बखेडा झिकेर प्रमुख अतिथि माथि नै अपमान गरेको भन्दै कांग्रेसका जनप्रतिनिधिहरुले भने उक्त कार्यको विरोध गरेको छ । कार्यसूचीमै नभएको विषय एमालेले झिकेको भन्दै उनीहरु बहिष्कार गरेर सभाबाट बाहिरिएपछि नगर सभा नै अनिश्चित कालका लागि स्थगित भएको छ ।

कांग्रेसका नेता दिवसमान प्रधानांगले कार्यसूचीमा नभएका कुरा निकालेर अनुशासनहिन काम गरेको आरोप लगाए । ‘यसको आफ्नै गरिमा र मर्यादा छ । साथीहरुले सबै बिर्सिनुभयो,’ उनले भने, ‘घटनाबारे मेयर र उपमेयरले जवाफ दिनुपर्छ । जवाफ नदिँदासम्म हामी बहिष्कार गर्छौं ।’ त्यसपछि मेयर धनराज आचार्यले अर्को महिना मात्रै सभा बस्ने भन्दै सभा स्थगित गरिदिए ।

पहिलो एकदिवसीय : श्रीलंकाविरुद्ध भारत विजयी

काठमाडौं, २७ पुस । भारतले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पहिलो खेलमा  ६७ रनको जित निकालेको छ ।भारतले गुहाटीस्थित वर्षापारा क्रिकेट स्टेडियममा मंलबार राति सम्पन्न खेलसँगै भारतले शृंखलामा १–० को अग्रता बनाएको छ । श्रृंखलाको दोस्रो खेल बिहीबार हुनेछ ।

भारतले दिएको ३७४ रनको लक्ष्य पछ्याएको श्रीलंककाले ५० ओभरमा ८ विकेट गुमाएर ३०६ रन मात्रै बनायो ।श्रीलंकाका कप्तान दसुन सानकाले ८८ बलमा  १२ चौका र तीन छक्का मद्दतमा अविजित एक सय आठ रनको इनिङ खेलेका थिए । यसैगरी पाथुम निसन्काले ८० बलमा ११ चौका मद्दतमा ७२, धनन्जय डि सिल्भाले ४७, चरिथ अस्लंकाले२३, वानिन्दु हसरंगाले १६ र चमिका करुणारत्नेले १४ रन बनाए ।

नवौं विकेटका लागि सानका र कासुन रजिथाले अविजित एक सय रनको साझेदारी गरेका थिए । कासुन ९ रनमा अविजित रहे । यसैगरी चौथो विकेटका लागि पाथुम र धनन्जयले ७४ रनको साझेदारी गरे ।  भारतका लागि उम्ररन मलिकले तीन, मोहम्मद सिराजले दुई, युजवेन्द्र चाहाल,  हार्दिक पाण्ड्य र मोहम्मद सामीले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ७३ रनको योगफल तयार पारेको थियो ।भारतका लागि विराट कोहलीले ८७ बलमा १२ चौका र एक छक्का मद्दतमा सर्वाधिक एक सय १३ रन जोडे । यसैगरी कप्तान रोहित शर्माले ६७ बलमा ९ चौका र तीन छक्का मद्दतमा ८३, शुभमन गिलले ६० बलमा ११ चौका मद्दतमा ७०, केएल राहुलले ३९, श्रेयस अय्यरले २८ र हार्दिक पाण्ड्यले १४ रन जोडे ।

पहिलो विकेटका लागि रोहित र शुभमनले एक सय ४३ रनको साझेदारी गरेका थिए । यसैगरी विराट र केएल राहुलले चौथो विकेटका लागि ९० रनको साझेदारी गरे । श्रीलंकका लागि कासुन रजिथाले तीन तथा दिलसान मधुसन्का,चमिका करुणारत्ने, दासुन सानका र धनन्जय डि सिल्भाले समान एक विकेट लिए ।

तरकारी तथा फलफूलको मूल्य

काठमाडौं, २७ पुस । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार बुधबार रातो आलु ३८ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो समितिले दिएको न्यूनतम मूल्य हो ।

यसैगरी सुन्तला १०० रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २०० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ ।

कन्य च्याउ प्रतिकेजी १४० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । ब्रोकाउली ६० रुपैयाँ, काउली स्थानिय ४० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ४० रुपैयाँ रहेको छ ।

तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ९०, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, सुकेको प्याज ४४, भिण्डी ९० रूपैयाँ, लौका ६० रुपैयाँ,  गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनिया ८० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

एसियाडलाई लक्षित गरी नियमित प्रशिक्षण माघ दास्रो सातादेखि

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको तयारीलाई लक्षित गरी नियमित प्रशिक्षण माघ दोस्रो सातादेखि सुरु गर्ने भएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित २३ खेलको नियमित प्रशिक्षण ९० दिनको हुने कमिटीका सचिव हिमालराज दाहालले जनाएका छन् । सचिव दाहालका अनुसार करिब ५ सय १४ खेलाडी तथा करिब ६६ प्रशिक्षक नियमित प्रशिक्षणमा सहभागी हुनेछन् । नियमितपछि क्रमशः विशेष, बन्द र वैदेशिक प्रशिक्षण हुनेछ ।

प्रशिक्षण सुरु हुनुअघि माघ २ देखि ४ गते सम्बन्धित खेलका राष्ट्रिय संघ तथा मुख्य प्रशिक्षकलाई छलफलका लागि बोलाइने छ । बैठकमा केहि खेलका लागि विदेशी प्रशिक्षक झिकाउने तथा केहि खेलका प्रतिभावन खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा पनि छलफल भएको थियो ।

यसअघि राखेपले एसियाली खेलकुद सुरु हुन १ वर्ष बाँकी छँदै ४५ दिने प्रशिक्षणको सुरुआत गरिसकेको थियो । त्यत्ति बेला एसियाली खेलकुद २०२२ को सेप्टेम्बर हुने भनिए पनि कोरोना भाइरसका कारण एसियाली खेलकुद १ वर्षलाई स्थगित गरिएको थियो ।

श्री संजय साई बाबाको ३५औं जन्मोत्सव : माघ ६ गते काठमाडौंमा बृहत् कार्यक्रमको आयोजना गरिँदै

लाखौं साई भक्तहरूका आस्थाका प्रतीक श्री संजय साई बाबाको ३५औं शुभ जन्मोत्सबको अवसर पारेर श्री सञ्जय साई सेवा अर्गनाइजेसन नेपालले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । जसमा बुद्धिजीवी समाजसेवी र शिक्षावीद्लगायत देश बिदेशका असंख्य साई भक्तहरूको उपस्थिति थियो ।

कार्यक्रममा संजय साईले दार्शनिक प्रवचन दिँदै स्वधर्म र स्वराज्यबारे प्रकाश पार्नु भएको थियो । केही समयअगाडि विश्व हिन्दू महासंघले आयोजना गरेको धर्म सभामा प्रमुख अतिथिका रूपमा व्यक्त मन्तव्यको स्मरण गराउँदै नेपालमा धर्मयुद्ध होइन अस्तित्वका लागि द्वन्द्व भइरहेको उहाँले बताउनुभयो । मानवले आफ्नो अस्तित्वको रक्षाका लागि अरूको पनि अस्तित्वलाई सम्मान गर्नुपर्छ भन्दै पशु र मानवबीच रहेको फरक र विशेषता बारेमा जानकारी गराउनुभयो । स्वधर्म नजानी स्वराज्य जान्न सकिन्न भन्ने विषयमा उहाँले स्पष्ट पार्नुभयो ।

आत्मचिन्तन, स्वपरिचय, स्वधर्म र स्वराज्यका लागि निरन्तर लागि रहनुपर्ने बताउँदै उहाँले नेपाल आफैंमा जीवित राष्ट्रपुरुष भएको बताउनुभयो । उहाँले सम्पूर्ण सभ्यता र नेपाल बारे चर्चा गर्नु हुँदै स्वधर्मको रक्षा, स्वराज्यको परिकल्पना र सनातन धर्मको रक्षा आफ्नो संकल्प रहेको बताउँदै अवतारसँगै व्यक्तित्व पनि आउने हुँदा भगवान कृष्ण, राम, बुद्धको व्यक्तित्वबाट प्रेरणा लिनुपर्ने बताउनुभयो ।

श्री संजय साई बाबाको ३५औं जन्मोत्सवको अवसरमा यही पुस २ गतेदेखि विविध ३५ दिने सामाजिक अभियान सञ्चालन भइरहेका छन् । उहाँको ३५औं जन्मोत्सवको अवसरमा यही माघ ६ गते काठमाडौंको सानो गौचरनमा बृहत् कार्यक्रमको आयोजना गरिँदै छ । कार्यक्रममा देश तथा विदेशबाट विशिष्ट व्यतित्वहरूको उपस्थिति रहने कुरा संस्थाका अध्यक्ष अम्बिर केसीले जानकारी गराउनुभयो ।

पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भसामग्रीका रूपमा लिन सक्दछौँ – राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिएकी छिन् । शुभकामना सन्देश दिँदै उनले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छिन् ।

शुभकामना सन्देशमा भनेकी छिन् – ‘स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्नसमेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भसामग्रीका रूपमा लिन सक्दछौँ’

तत्कालीन समयमा छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय भएको उनले बताएकी छिन् ।

आज पृथ्वीनारायण शाहको जन्मजयन्ती, सार्वजनिक विदा पनि

काठमाडौं -आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती । प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा पनि दिइएको छ ।

पृथ्वीनारायण शाह विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्मिएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित भएको थियो । राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेका थिए । शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

गहुँ आयातमा ढिलासुस्ती

काठमाडौं – चार महीनाअघि नै ५० हजार मेट्रिक टन गहुँ भारतबाट आइसक्नुपर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूको ढिलासुस्ती र कृषि मन्त्रालयको गलत तथ्यांकका कारण अहिलेसम्म आयात हुन सकेको छैन । यसबाट देशभर सञ्चालनमा रहेका ४० मैदा मिलको उत्पादन बन्द भएको छ । मैदा र आँटासँग जोडिएका अन्य उद्योगको उत्पादनसमेत घटेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले नयाँ मन्त्री नआएसम्म फाइल अघि नबढ्ने बताए । १२ दिनअघि भारत सरकारबाट नेपालका लागि ५० हजार टन गहुँ निर्यातको स्वीकृति आए पनि मन्त्रालयबाट कुन उद्योगलाई कति टन दिने भन्ने चिठी भारतको सम्बद्ध मन्त्रालयमा नपुगेका कारण स्वीकृत कोटाको गहुँसमेत आयात हुन नसकेको हो ।

भर्खरै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर आएका सचिव मधुकुमार मरासिनीले आफू भर्खरै हाजीर भएकाले कुन शाखामा के भइरहेको छ भन्ने अध्ययन गरिरहेको र अहिले नै सबै कुरा भन्न नसक्ने बताए ।

नेपाल फ्लोर मिल एशोसिएशनका अध्यक्ष कुमुद दुगडले सरकारले ४ महीनाअघि नै कोटा पठाएको भए अहिले दोस्रो खेप गहुँ भारतबाट आइसक्ने बेला भएको उल्लेख गरे । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

कांग्रेसको मतले सत्ता गठबन्धनमा सशंय

पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय शासन व्यवस्थामा बहुमतको सरकार र अल्पमतको संसद् हुने बताउँदै आएका छन्। तर नेपालको संसदीय शासन व्यवस्थामा यो मान्यता स्थापित भएको देखिँदैन । २०५१ सालको मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभामा ठूलो दल बनेको एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वमा सरकार बन्यो । अधिकारी नेतृत्वको सरकारलाई २०५१ पुस ७ गते दोस्रो ठूलो दल कांग्रेसले विश्वासको मत दियो। विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बस्यो ।

त्यसको २८ वर्षपछि फेरि प्रतिनिधिसभाको ठूलो दल कांग्रेसले दोस्रो ठुलो दल एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर विपक्षमा बस्ने निर्णय गरेको छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले सत्ता साझेदार दलहरूबीच अविश्वास बढाउने काम गरेको छ ।

पार्टीभित्रको आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा २०५१ सालमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनमा गएको कांग्रेस चुनावमा दोस्रो दल बन्न पुग्यो भारी बहुमतसहित नयाँ सरकारको नेतृत्व गर्ने आकांक्षासहित निर्वाचनमा होमिएको कांग्रेसले नयाँ सरकार गठन गर्ने अवस्थासमेत आएन । संसद्को पहिलो दलको हैसियतमा तत्कालीन एमाले अध्यक्ष अधिकारी नेतृत्वमा सरकार बन्यो । यो समाचार नागरिक दैनिकमा छ ।

इटहरीमा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र

इटहरी – इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस २९ देखि माघ ४ गतेसम्म इटहरीस्थित जनता क्रिकेट पार्कको मैदानमा प्रतियोगिता हुँदैछ ।

आयोजले सुनसरी र क्रिकेटको महत्वलाई झल्कने गरी निर्माण गरिएको प्रतियोगिताको लोगो पनि सार्वजनिक गरेको छ ।

नेपालमा महिला क्रिकेट प्रतियोगिताहरु कम भइरहेको अवस्थामा यो प्रतियोगिताले नयाँ तथा पुराना खेलाडीलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने प्रतियोगिता संयोजक बिप्लभ घोषले बताए ।

प्रतियोगितामा साविक विजेता विभागीय टोली एपीएफ क्लबसहित सात प्रदेश टोलीले सहभागिता जनाउने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए । अहिले मैदान र पिच निर्माणको काम अन्तिम चरणमा पुगेको र सबै ८ वटा टिमको सहभागिता बारे टुंगो लागिसकेको उनले बताए ।

विजेताले ५ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले २०, २० हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचले तीन हजार प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब ८८ लाख ७८ हजार खर्च हुने अनुमान गरिएको छ । सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहमा शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

मनमोहनपछिकै ऐतिहासिक मत ‘प्रचण्ड’लाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा अत्यधिक समर्थनसाथ विश्वासको मत पाएका छन् ।२७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत पाउनुभयो । प्रधानमन्त्रीको विपक्षमा दुई साना दलका तर्फबाट दुई मत मात्र प–यो ।

‘प्रचण्ड’लाई सदनको दोस्रो ऐतिहासिक समर्थन हो । यसअघि नेकपा (एमाले)का तर्फबाट तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सदनमा रहेको उपस्थितिको शतप्रतिशत मत पाएका थिए ।

अधिकारीले २०५१ पुस ७ गते प्रतिनिधि सभामा भएको मतदानमा १९८ मत पाएका थिए । २०५ सदस्यीय तत्कालीन प्रतिनिधि सभामा मतदानमा उपस्थित सबै सदस्यको मत अधिकारीले पाएका थिए । सभाध्यक्षबाहेक उक्त मतदानका क्रममा छ सदस्य अनुपस्थित भएको प्रतिनिधि सभाद्वारा प्रकाशित संसदीय विवरण पुस्तिकामा उल्लेख छ ।

२०५१ सालको राजनीतिक कालखण्डपछि उक्त ऐतिहासिक मत कुनै पनि प्रधानमन्त्रीले पाएका छैनन् । २८ वर्षपछि प्रधानमन्त्री प्रचण्डले सदनमा उपस्थित दुई जनाबाहेक सबैको मत पाएका थिए । ‘

प्रचण्ड’लाई आफ्नो दल नेकपा (माओवादी केन्द्र)बाहेक सदनका सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी दलले विश्वासको मत दिएका छन् ।

यस्तै प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, योगेन्द्र मण्डल, लालवीर चौधरी र प्रभु साहले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका छन् ।

प्रतिनिधि सभामा कांग्रेसका ८९, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका छ, लोसपाका चार र नागरिक उन्मुक्तिका तीन सदस्य छन् ।

जसमध्ये कांग्रेसबाहेकका अन्य दलका सबै सदस्य उपस्थित थिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विपक्षमा मत दिए कांग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले भने प्रधानमन्त्रीको समर्थनमा विश्वासको मत दिए पनि सरकारमा सामेल नहुने संसद्बाटै घोषणा गरेका छन् ।

यसअघि पनि केही साना दलले संसद्बाट प्रधानमन्त्री चुन्ने क्रममा पक्षमा मत दिए पनि सरकारमा सहभागी भएका थिएनन् ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम

आज ११ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

पेरुमा विध्वशंकारी पहिरो
सन् १९६२ मा पेरुमा गएको ठूलो पहिरोमा परेर चार हजार जनाको मृत्यु भएको थियो । ढुंगा र हिउँले भरिएको १२ मिटर अग्लो पर्खाल भत्किँदा रियो सान्ता उपत्यकामा नौ ओटा गाउँ पुरिएका थिए ।

डायबिटिजविरुद्ध इन्सुलिनको पहिलो प्रयोग
डायबिटिज अर्थात चिनी रोगको उपचारका लागि सन् १९२२ मा पहिलो पटक इन्सुलिन प्रयोग भएको थियो ।१४ वर्षीय लियोनार्ड थोम्पसनको टाइप १ डायबिटिजविरुद्ध पहिलो पटक इन्सुलिन प्रयोग भएको थियो ।

एडमन्ड हिलारीको निधन
नेपालका तेन्जिङ नोर्गे शेर्पासँगै सगरमाथामा पहिलो पटक पाइला टेक्ने न्युजिल्यान्डका प्रख्यात पर्वतारोही एडमन्ड हिलारीको सन् २००८ को १० जनवरीमा निधन भएको थियो । हिलारीको ८८ वर्षको उमेरमा निधन भएको हो ।

तराईमा हुस्सु, पहाडमा बदली

काठमाडौं – देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सुरकुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

इन्द्रेणी कम्प्लेक्समा बम राख्ने खत्री ११ वर्षपछि पक्राउ

काठमाडौं – ११ वर्षअघि इन्द्रेणी कम्प्लेक्समा बम राख्ने ललितपुर चापागाउँ निवासी महेश खत्री पक्राउ परेका छन् ।

खत्रीले २०६८ वैशाख १३ गते नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा बम राखेको प्रहरीको भनाई छ । उनको समूहले कम्प्लेक्सका मालिकलाई फोन गर्दै पाँच करोड रुपैयाँ माग गरेका थिए ।

पैसा नदिए घर बमले उडाइदिने भन्दै खत्रीका समूहले धम्कीसमेत दिएको प्रहरीको दाबी छ । पाँच करोड रुपैयाँ नदिए कम्प्लेक्स र घरसमेत बमले उडाइदिने धम्की दिइएको थियो ।

तर इन्द्रेणी कम्प्लेक्सका मालिकले पैसा दिन अस्वीकार गरेपछि खत्रीको समूहले इन्द्रेणी कम्प्लेक्समा २०६८ वैशाख १३ गते बम राखेको थियो ।

गण्डकीका नवनियुक्त मुख्यमन्त्री भन्छन्- प्रदेश त माइलो छोरो जस्तो भयो

पोखरा – गण्डकीका नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा निरन्तर अन्तराष्ट्रिय उडान गर्न प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको भोलिपल्टै उनी काठमाडौं उडेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेतासँग भेट गर्न उनी काठमाडौं गएका हुन् ।

त्यसअघि पोखराको १२औं नगरसभालाई सम्बोधन गर्दै अधिकारीले अन्तराष्ट्रिय उडानका लागि प्रधानमन्त्रीसँग कुरा राख्ने बताएका हुन् । ‘अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको अनुमति लिन पहल गर्छौं । कनेक्टिभिटीका लागि यो अत्यावश्यक छ’, उनले भने, ‘बडो उल्लासका साथ विमानस्थलको उद्घाटन गर्‍यौं । अब नियमित सञ्चालनको सुनिश्चितता गर्नुपर्छ ।’

पर्यटन, जलश्रोत र शिक्षालाई विकास गर्न प्रदेशले सुझाव चाहेको अधिकारीले बताए । संघ सरकारले तल्ला सरकारलाई अधिकार दिने कुरामा आनाकानी गरिरहेको उनको तर्क छ । ‘प्रदेश त माइलो छोरो भयो । कान्छो छोरो स्थानीय तह, जेठो छोरो माथि छँदै छ । पितृ उद्धार कार्य गर्दा माइलो छोरोलाई खासै ठूलो भार पारिँदैन,’ उनले भने, ‘त्यही मनोविज्ञान पनि हुन सक्छ । केन्द्रमा रहँदा केन्द्रकै कुरा ठूलो हुन्छ । अधिकार तल जाने कुरामा खासै उदार छैन ।’

उनले केही कानून केन्द्रले नबनाएका कारण प्रदेश सन्चालनमा समस्या भएको बताएका छन् । निजामति कर्मचारी ऐन नबनेका कारण प्रदेशमा कर्मचारी समायोजन हुन नसकेको उनले बताए ।

अधिकारीले स्थानीय तहसँग सम्बन्धित कानून निर्माणका लागि प्रदेश सरकार तत्पर रहेको र अनिवार्य ऐन निर्माणका लागि सुझाव मागेका छन् । शिक्षा र स्वास्थ्यको धेरै दायित्व स्थानीय तहसँग भएकोले जिम्मेवार भएर काम गर्न सरकारलाई आग्रह गरे ।

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम – धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले भारतको बिहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहवी महिनाथपुर बस्ने ४२ वर्षीय राजेश कुमार साहलाई १६ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरीले स्कुटरको डिक्कीभित्र कालो प्लाष्टिकमा राखेको १ हजार दरको नोट ७४८ वटा, ५ सय दरको नोट १ हजार ६४४ वटा, एक सय दरको नोट २६० वटा, ५० दरको नोट ८० वटा गरी १६ लाख बरामद गरेको जनाएको छ ।

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

सप्तरी – सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएपछि यस वर्ष अहिलेसम्म चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको हो । मृत्युु  हुनेमा स्थानीय अन्दाजी ६५ बर्षीय कपलेश्वर सदा रहेका छन् ।

बिगत केही दिन यता तराईमा बढेको अत्यधिक चिसोको कारण अस्वस्थ रहेको सदाको सोमबार साँझ ७ बजे कठयांग्रिएर मृत्यु भएको स्थानीय बताएका छन् ।चिसोका कारण बिरामी परेका सदा महुली उपचार गरि घर फर्केर घरैमा सुतेको अवस्थामा ज्यान गएको स्थानीय ललकु सदाले जानकारी दिएका छन् ।

मृतक परिवारलाई खान लगाउनसमेत समस्या हुँदै आएको थियो । कपडाको अभावमा उनको कठयांग्रिएर मृत्यु भएको उनले बताए ।बिगत केही समय यता सप्तरीसहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर भएको स्थानीय विजय देवले जानकारी दिए ।

चिसो बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालयसमेत बन्द गरेका छन् ।जिल्ला प्रशासन कार्यालय सप्तरीले चोक तथा सार्वजनिक स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ ।यशअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय देवु सदाको चिसोले कठ्याग्रिएर मृत्यु भएको थियोे ।

ट्याक्टर दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु

दाङ – ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ । दङ्गीशरण गाउँपालिका वडा-१ बाँकीका ५२ वर्षीय रुद्रबहादुर भण्डारीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

बाँकीबाट गोल्टाकुरीतर्फ जाँदै गरेको भे१त ४०६६ नम्बरको ट्याक्टरबाट भण्डारी खसेका थिए । उनलाई ट्याक्टरले किचेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतक भण्डारीको शव पोर्टमाटमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको र ट्याक्टर तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।

कंडेललाई कर्णाली सरकारमा सहभागी हुने नहुने जिम्मा

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश सभाको संसदीय दलको आज बसेको बैठकले सरकारमा सहभागि हुने वा नहुने भन्ने बारेमा नेकपा माओवादी केन्द्रसँग वार्ता, छलफल र सहभागिता बारे निर्णय गर्ने अधिकार दलका नेता यामलाल कंडेललाई दिएको छ ।

एमाले सांसद टेकराज पछाईका अनुसार झण्डै तीन घण्टाभन्दा लामो सयम चलेको उक्त वैठकले सो अधिकार दलका नेतालाई हस्तान्तरण गरेको हो । सत्तारुढ गठबन्धनसँग वार्ता गर्ने, छलफल गर्ने र सरकारमा सहभागिता बारेमा निर्णय गर्ने एकल जिम्मेवारी दलका नेतालाई दिने निर्णय भएको हो ।

विश्वासको मत पाइसकेपछि प्रधानमन्त्रीले भने – प्रतिवद्धता भुल्दिन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै प्रतिवद्धता नभुल्ने  बताएका छन् ।२७५ सदस्य रहेको प्रतिनिधिसभाको बैठकमा २७० जना सांसद उपस्थित भएकोमा प्रचण्डले २६८ मत पाएका छन् । उनको विपक्षमा २ मत परेको छ ।

२७५ सदस्यीय संसद्मा कांग्रेसका एकजना सांसद निलम्बनमा परेका छन् भने मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत अनुपस्थित भएका थिए । भने जेष्ठ सदस्य पशुपतिशमशेर जबरा सभामुखको भूमिकामा थिए ।प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।

कांग्रेस प्रमुख प्रतिपक्षकै भूमिकामा रहन्छ : उपसभापति खड्का

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अहिलेको परिस्थितिको मूल्याङ्कन गरेर कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापित खड्काले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्याङ्कन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि कांग्रेस प्रमुख प्रतिपक्षमा रहेको उनले स्मरण गरे । त्यसबेला पनि त्यसबेलाको परिस्थितिलाई ध्यानमा राखेर कांग्रेसले विश्वासको मत दिएको उनको भनाइ थियो ।

ओखलढुंगाको दूधकोशी किनारमा अपरिचित युवकको शव फेला

ओखलढुंगा, २६ पुस-जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-३ स्थित पशुबगरनजिकै दूधकोशी नदी किनारमा एक युवाको शब फेला परेको छ । अन्दाजी ३५/४० वर्षीको पहिचान नखुलेको युवाको शव फेला परेको हो ।

आज दिउँसो युवाको शब फेला परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली त्यसतर्फ पुगेर प्रारम्भिक अनुसन्धान गर्दा ती युवाको ३/४ दिन अघि मृत्यु भएको हुनसक्ने जनाएको छ ।

मृतकको अनुहार कालो भएर सड्न लागेको र हातहरु चुँडिन लागेको अवस्थामा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

गण्डकीका मन्त्रीले किन पाएनन् मन्त्रालय ? कहिले हुन्छ भागबण्डा ?

पोखरा, २६ पुस -गण्डकी प्रदेशमा सोमबार नयाँ सरकार गठनसँगै ३ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीसँगै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता कुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले विना विभागीय मन्त्रालयको सपथ लिए । धेरैको चासो मन्त्रीलाई किन जिम्मेवारी दिइएन भन्नेमा छ । शपथपछि पहिलो मन्त्रीपरिषद् बैठक बसेपछि मन्त्रीहरु घरतिर गए । मन्त्रालयको जिम्मेवारी नपाएका कारण उनीहरु मुख्यमन्त्री कार्यालयमै बस्नुपर्ने भएको छ ।

सत्ता गठबन्धन भित्रको भागबण्डा नमिलेका कारण मन्त्रालयको विभाजन नभएको माओवादी संसदीय दलका नेता तथा मन्त्री हरिबहादुर चुमानले बताए । ‘मन्त्रालयको संख्या कति बनाउने र कुन पार्टीलाई कति मन्त्रालय भन्ने टुंगिएको छैन,’ उनले भने, ‘बण्डा नमिलेकै कारण जिम्मेवारी नदिईएको हो ।’ श्रोतका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रालयको विभाजन टुंग्याउने छन् । ‘थप मन्त्रीहरु पनि विश्वासको मत पछि नियुक्त गरिनेछ । अहिले नियुक्त भएका मन्त्रीको कार्य जिम्मेवारी पनि त्यसपछि मात्रै टुंगो लाग्छ,’ एक नेताले भने, ‘३३ सांसदको समर्थन छ । सबैलाई मिलाउनुपर्ने छ । त्यसैले केही ढिलो हुन सक्छ ।’

यसैका लागि मुख्यमन्त्री खगराज अधिकारी र मन्त्री हरिबहादुर चुमान सहितको टोली काठमाडौं जाने तयारीमा छ । राप्रपाका मन्त्री पञ्चराम गुरुङ भने समय अभावका कारण कार्य जिम्मेवारी बाँडफाँट नभएको बताउँछन् । ‘हिजो ढिलो भयो । समय पुगेन । हतारमा सपथ खानुप-यो,’ उनले भने, ‘केही दिनभित्रै जिम्मेवारी दिने कुरा छ ।’ नव गठित सरकारको मन्त्रीपरिषद् बैठक आज पनि बस्दै छ । सरकारमा पहिलो चरणमा मुख्यमन्त्री सहित एमालेका २, माओवादीका १ र राप्रपाका १ जना मन्त्री बनेका छन्

। हाल १२ मन्त्रालय रहेको गण्डकीमा संख्या घटाएर ९ मा झार्ने तयारी छ । ९ मन्त्रालय भए माओवादीले ४ वटामा दावी गरेको छ । एमालेले ५ वटा मन्त्रालय खोजेको छ । एकीकृत समाजवादीका सांसदको समेत समर्थन भएकोले दीपक मनाङेलाई सरकारमा लैजाने विषयमा छलफल चलिरहेको छ । मन्त्रालय ९ मै हुँदा एमाले ४, माओवादी ३, राप्रपा १ र स्वतन्त्र (पछि एस प्रवेश) १ मन्त्री बन्ने सम्भावना देखिन्छ । संविधान अनुसार १ महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । संविधानको धारा १७६ (२) अनुसार अहिलेको सरकार गठन भएको हो ।

घट्यो सुनको मूल्य

काठमाडौं, २६ पुस-सुनको मूल्य मंगलबार तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो ।मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २५ पुस । नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३२ रुपैयाँ ६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

रोपियन युरो एक रुपैयाँ ३६ पैसाले घटेको छ । यसकोे खरिददर १४० रुपैयाँ ३० पैसा र बिक्रीमा १४० रुपैयाँ ९४ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिद १४० रुपैयाँ ५८ पैसा र बिक्री १४१ रुपैयाँ ३ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलरमा ९० रुपैयाँ नाघेको छ । यसको खरिदमूल्य ९० रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २५ पैसामा कारोबार भैरहेको छ । यसअघि, सोमबार खरिदमूल्य ९० रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २२ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३५ रुपैयाँ १५ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो ।

यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ५ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १९ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५५ पैसा र बिक्रीमा १० रुपैयाँ ६० पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८४ पैसा र बिक्रीमा १६ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४२९ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिदमा ३४८ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३५० रुपैयाँ ३७ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

बोल्सोनारो अस्पताल भर्ना

एजेन्सी – ब्राजिलका अति दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई पेटको दुखाइका कारण अस्पतालमा भर्ना गरिएको छ ।  उनका समर्थकहरूले ब्रासिलियामा राज्यका महत्वपूर्ण अंगमा आक्रमण गरेको एक दिनपछि उनी फ्लोरिडाको अस्पतालमा उपचार गराइरहेको उनकी श्रीमतीले जानकारी दिइन ।

ब्राजिलको ओ ग्लोबो अखबारका अनुसार ६७ वर्षीय बोल्सोनारोलाई फ्लोरिडा बाहिर एडभेन्टहेल्थ सेलिब्रेसन एक्यूट केयर अस्पतालमा भर्ना गरिएको छ,, जहाँ पूर्व राष्ट्रपतिले डिसेम्बर ३१ मा आफ्नो कार्यकाल समाप्त हुनु दुई दिन अघि यात्रा गरेका थिए ।

सन् २०१८ र्मा राष्ट्रपतिमा निर्वाचित भएपछि आयोजित विजयी ह्यालीमा उनको पेटमा चक्कु प्रहार भएको थियो । त्यसपछि उनी नियमित परीक्षणमा छन् ।आइतबार झण्डाको हरियो र पहेंलो लुगा लगाएका उनका समर्थकहरुले राज्यका तीन वटै शक्तिमा पुगेर हमला गरेका थिए । उक्त घटनालाई सन् २०२१ को ६ जनवरीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी क्यापिटल भवनमा गरेको आक्रमणसँग तुलना गरिएको थियो ।

दक्षिणपूर्वी शहर अराराक्वारामा गम्भीर बाढीले प्रभावित क्षेत्रको भ्रमण गरेका लुलाले ब्राजिलियामा संघीय हस्तक्षेप घोषणा गर्दै आफ्नो सरकारलाई राजधानीमा कानून र व्यवस्था पुनर्स्थापना गर्न विशेष अधिकार दिएका थिए ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं। प्रतिनिधिसभाको बैठक सरेको छ ।मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।

प्रधानमन्त्री प्रचण्डलाई सशर्त विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, २६ पुस  । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिने निर्णय गरेको छ ।मंगलबार बसेको सचिवालय बैठकले आफूहरुको एजेण्डा कार्यान्वयन गर्ने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

आफूहरुको एजेण्डा कार्यान्वयन नगरे समर्थन फिर्ता लिन मिल्ने गरी प्रतिपक्षी दलको भूमिकामा रहने बैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि पार्टी भने प्रतिपक्षमै बस्ने  सो उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । एकीकृत समाजवादीका १० सांसद छन् ।

केन्द्रलाई गाली गर्दै गण्डकीको मुख्यमन्त्रीबाट बिदा भए पोखरेल

पोखरा – सोमबार गण्डकीमा चौंथो सरकार गठन भयो । दुई पटक एमालेका नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको सरकार पछिल्लो पटक कांग्रेस नेता कृष्ण चन्द्र नेपाली पोखरेलले नेतृत्व गरे । राजनीतिक समिकरण फेरिएका कारण १५ सीटको कांग्रेस सत्ताको नेतृत्वमा पुगेको हो । माओवादीको सहयोगले सत्तामा पुगेको कांग्रेस अहिले माओवादीकै असहयोगले सत्ताच्युत भएको छ ।

पोखरेलले कार्यकालको अन्तिम दिन पत्रकार सम्मेलन गरेर केन्द्र उदार नभएका कारण प्रदेशले सोचेजति काम गर्न नसकेको बताए । जग्गाको स्वामित्व, कर्मचारी समायोजन, प्रहरी समायोजन, वन लगायत विषयमा संघले अधिकार नदिएकै कारण सरकारलाई सकस परेको उनले सुनाए । ‘राजनीतिक रुपमा संघीयता आए पनि वित्तिय र अन्य क्षेत्रमा केन्द्र नै हावी भयो,’ उनले भने, ‘यी कुराहरु जबसम्म केन्द्र सरकारले हामीलाई सहयोग गर्दैन, तबसम्म अगाडि बढ्न गाह्रो हुन्छ ।’

उनले आफ्नो नेतृत्वको सरकारले अघिल्लो सरकारले ल्याएका योजनालाई नै प्राथमिकतामा राखेर काम गरेको बताए । ‘यो डेढ वर्षमा हामीले हिजोको सरकारले सुरु गरेका ठूला योजनालाई नै प्राथमिकता दियौं । केही नयाँ योजना नि ल्यायौं,’ उनले भने, ‘कोरोना हाम्रा लागि सबैभन्दा जटिल थियो । त्यसबाट पार पाउन सबैले सहयोग गर्नुभयो र आज प्रदेशको आर्थिक अवस्था खासै विग्रिन पाएन ।’

पोखरेलको नेतृत्वमा बनेको सरकारले डेढ वर्षमा १ सय ८ किमी सडक कालोपत्रे, ढलान र १ सय २६ किमी सडक ग्राभेल गरेको तथ्यांक छ । उनले उर्जा, खानेपानी र जलश्रोतको क्षेत्रमा उच्चतम काम गरेको दावी गरे । गण्डकी प्रदेश सरकार बन्दा २०७४ को फागुन ४ गते नै ५ वर्षभित्र सबै घरमा खानेपानीको पहुँच पु¥याउने घोषणा गरिएको थियो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बाहिरिंदै ९३.१० प्रतिशत घरमा पानी पुगेको थियो भने अहिले ९३.७४ प्रतिशत मात्रै छ । पोखरेल २०७८ जेठ २९ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

चौथो चरणमा म्यानचेस्टर सिटी र आर्सनल भिड्ने

काठमाडौं – आर्सनलले एफए कपको चौथो चरणमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको छ । सोमबार राति अक्सफोर्डमाथि ३–० को सहज जितसहित आर्सनल चौथो चरणमा प्रवेश गरेको हो ।

सिटीले आइतबार चेल्सीमाथि ४–० को जितसहित चौथो चरणमा स्थान बनाएको थियो । आर्सनल प्रिमियर लिगको पछिल्लो खेलमा न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । प्रिमियर लिगमा आर्सनलले शीर्ष स्थानमा साबिकको विजेता सिटीलाई पाँच अंकले पछि पारेको छ ।

एफए कपअन्तर्गत सोमबार राति खेलको ६३औं मिनेटमा मोहम्मद इल्नेसको गोलमा आर्सनलले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि नै इडी एनकेइटाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए  । ७६औं मिनेटमा एनकेइटाले आर्सनलको अग्रता ३–० मा पुर्याएका थिए ।

मस्कोबाट गोवाका लागि उडेको विमानमा बम राखिएको हल्लापछि गुजरात डाइभर्ट

एजेन्सी – मस्कोबाट गोवाका लागि २२४ यात्रु सवार चार्टर्ड उडान गुजरातको जामनगरमा डाइभर्ट गरिएको छ । गोवा एयर ट्राफिक कन्ट्रोलरले विमानभित्र बमको धम्की पाएपछि विमान डाइभर्ट गरिएको  अधिकारीहरूले बताए ।

‘सबै यात्रु र चालक दलका सदस्य (८) लाई सकुशल बाहिर निकालिएको छ र स्थानीय अधिकारी, प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरिरहेको छ’, प्रहरी महानिरीक्षक अशोककुमार यादवले भने। ।जामनगर विमानस्थलका अधिकारीहरूका अनुसार विमानलाई एकान्तमा अवतरण गरिएको थियो ।

‘मस्कोबाट गोवा जाँदै गरेको अजुर एयरको उडानमा कथित बम राखिएको भन्ने बारेमा भारतीय अधिकारीहरूले दूतावासलाई सचेत गराएको थियो। विमानले जामनगर भारतीय वायुसेना बेसमा आपतकालीन अवतरण गरेको छ। जहाजमा रहेका सबै सुरक्षित छन्।’, रुसी दूतावासले एक विज्ञप्तिमा भनेको छ ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी – इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ । भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

प्रदेश १ सरकारको निर्णय मन्त्रालयबाट घटाएर ९ बनाउने

विराटनगर – प्रदेश १ को नवगठित सरकारले मन्त्रालयको संख्या १३ बाट घटाएर ९ वटा बनाउने निर्णय गरेको छ । सरकार गठनपछि मुख्यमन्त्री हिक्मत कार्की र अन्य तीन बिनाविभागीय  मन्त्रीमन्डलले यस्तो निर्णय गरेको हो ।

बैठकले सार्वजनिक खर्च कटौती गर्दै प्रदेशलाई मितब्ययी बनाउने समेत निर्णय भएको मन्त्री भक्ति प्रसाद सिटौलाले जानकारी दिए । उनले तराईमा शितलहर बढ्दै गएको भन्दै बन मन्त्रालयलाई दाउराको ब्याबस्था गर्न अनुरोध गर्ने साथै आन्तरिक मामिला मन्त्रालयले जिल्ला प्रशासन सगंको सहकार्यमा यसलाई रोकथामका उपाय खोजिने बताए ।

यस्तै सेवा प्रवाह सुधार ल्याउनका लागि प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने समेत निर्णय भएको मन्त्री सिटौलाले जानकारी दिए ।
पहिलो पटक शेरधन राई नेतृत्वको सरकार हुँदा प्रदेश १ मा सात वटा मन्त्रालय थियो । एमालेको सरकार हटेसँगै राजेन्द्र राई नेतृत्वको सरकारमा प्रदेश १ मा मन्त्रालय फुटाएर १३ वटा मन्त्रालय बनाइएको थियो ।

यसअघि सामजिक विकास मन्त्रालयलाई सामाजिक र स्वास्थय मन्त्रालय बानाइएको थियो । यस्तै, उद्योग वन तथा वातावरण मन्त्रालयलाई उद्योग श्रम तथा रोजगार, वन वातावरण तथा भू(सरक्षण मन्त्रालय र पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको थियो ।

सत्ता साझेदार दललाई भाग पुर्याउनका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई फुटाएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कृषि मन्त्रालय बनाइएको थियो । यस्तै, भौतीक पूर्वाधार मन्त्रालयलाई खानेपानी, सिचाईं तथा उर्जा मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय बनाइएको थियो ।

एकीकृत समाजवादी छिरेको दावी गरेका मनाङेले सरकारलाई समर्थन गरेपछि गण्डकीमा कांग्रेस मात्रै प्रतिपक्षी

पोखरा – नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सीटको कांग्रेस प्रतिपक्षमा पुग्यो ।

यसअघि एकीकृत समाजवादी छिरेको दावी गरेका दीपक मनाङेले पनि सरकारलाई समर्थन गरेपछि सत्ताको पक्षमा ३३ सीट पुगेको छ । सुरुमा कांग्रेस नेतृत्वमा सरकार बन्ने लगभग निश्चित थियो । तर राजनीतिक समीकरण फेरिएपछि पहिलो पार्टी कांग्रेस एकाएक सत्ता विमुख भयो ।

मंसिर ४ को निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन बनाएर चुनाव लडेको माओवादीले कांग्रेसको साथ छोडेर एमालेसँग मिलेपछि केन्द्र सहित सातै प्रदेशमा कांग्रेस सत्ताबाट बाहिरिएको हो ।

योसँगै गण्डकीमा डेढ वर्षअघि माओवादीकै कारण सत्ताच्युत भएको एमाले अहिले माओवादीकै साथले सत्तामा पुगेको छ । एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् भने सोमबार नै थप ३ मन्त्रीको सपथ भएको छ ।

विश्व इतिहासमा आजः प्रथम विश्व युद्धको औपचारिक अन्त्यदेखि राष्ट्रसंघको महासभाको पहिलो वैठक

आज १० जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

राष्ट्रसंघको महासभाको पहिलो वैठक
सन् १९४६ को १० जनवरीमा संयुक्त राष्ट्रसंघको महासभाको पहिलो वैठक बसेको थियो । बैठकमा ५१ देशका प्रतिनिधिहरुको उपस्थिति थियो ।

चर्चित हास्य पुस्तक प्रकाशन
सन् १९२९ मा हास्य पुस्तक एडभेन्चर अफ टिनटिन प्रकाशित भएको थियो । सो पुस्तक युरोप र संसारका अन्य भागमा निकै चर्चित बनेको थियो ।

प्रथम विश्व युद्धको औपचारिक अन्त्य
सन् १९२० को १० जनवरीमा ट्रिटी अफ भर्साईल्समा हस्ताक्षर भएको थियो । पहिलो विश्व युद्ध अन्त्यका लागि सन् १९१८ को ११ नोभेम्बरमा युद्धविराम भएको थियो । तर भर्साईल्स सन्धीपछि मात्र सो युद्ध औपचारिक रुपमा अन्त्य भएको थियो ।

लिग अफ नेसन स्थापना
सन् १९२० को १० जनवरीमा लिग अफ नेसन स्थापना भएको थियो । पहिलो विश्वयुद्धमा जितेका गठबन्धन राष्ट्रहरुको पहलमा अन्तर्राष्ट्रिय सहकार्यका लागि लिगको स्थापना भएको हो ।