`

गण्डकीमा पनि कांग्रेसले मुख्यमन्त्रीलाइ विश्वासको मत दिन्छ ?

पोखरा – मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए । अप्रत्यासित रुपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत उनको पक्षमा मतदान गर्‍यो । ८९ मध्ये ८६ सांसदले विश्वासको मत दिए । ३ सांसद संसदमै उपस्थित भएका थिएनन् । निर्वाचनको बेला कांग्रेससँगको गठबन्धन भएपनि सरकार बन्दा कांग्रेसको गठबन्धन तोडेर एमालेसँग गठबन्धन भयो ।

माओवादीले साथ छोडेका कारण केन्द्रदेखि सातवटै प्रदेशबाट कांग्रेस सत्ताबाट बाहिर परेको छ । तैपनि कांग्रेसले केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुमा राजनीतिक लाभ हुन सक्ने आँकलन गरिएको छ । केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रदेशमा के हुने भन्ने चर्चा सुरु भएको छ ।

यहाँ मुख्यमन्त्री खगराज अधिकारीले २९ गते विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेस बाहेक ३३ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले विश्वासको मत लिन लागेका हुन् । संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

मुख्यमन्त्री अधिकारीले कांग्रेससँग समेत विश्वासको मत माग्ने बताएका छन् । ‘प्रदेशमा सहमतिको सरकार बनाउन प्रयास गर्छु । कांग्रेससँग पनि आग्रह गर्छु,’ उनले भने, ‘सबै मिलेर मात्रै प्रदेशको विकास हुन सक्छ ।’ कांग्रेसले भने शुक्रबार नै विश्वासको मत दिने वा नदिने निर्णय गर्ने छ । संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले विहान बैठक बसेर निर्णयमा पुग्ने बताए ।

‘त्यसै दिन विहान ९ बजे दलको बैठक छ । बैठकमा साथीहरुको समेत राय लिएर मत दिने वा नदिने निर्णयमा पुग्छौं,’ उनले भने, ‘यो व्यक्तिको भन्दा पनि पोलिटिकल इस्यू हो । दलले गर्ने निर्णय हो ।’ कांग्रेसका केही सांसदहरुले भने कुनै हालतमा विश्वासको मत दिन नहुने तर्क गरेका छन् ।

हेर्नुहोस् यस्तो छ आजको विनिमयदर

काठमाडौं, २८ पुस, नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा आज पनि ओरालो लागेको छ । अमेरिकी डलरमा १ रुपैयाँ ३३ पैसाले ओरालो लागेको हो । बिहीबार यसको खरिददर १३० रुपैयाँ २३ पैसा र बिक्रीदर १३० रुपैयाँ ८३ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिदमा १३० रुपैयाँ ५६ पैसा र बिक्रीमा १३२ रुपैयाँ १६ पैसाले कारोबार भएको थियो ।

रोपियन युरो ३२ पैसाले घटेको छ । यसकोे खरिददर १३९ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४० रुपैयाँ ५६ पैसा तोकिएको छ । अघिल्लोदिन युरोको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीदर १४० रुपैयाँ ८८ पैसामा भएको थियो ।

अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन भएको छ । यसको खरिदमूल्य ९० रुपैयाँ १ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ४२ पैसामा कारोबार भइरहेको छ । त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८४ पैसा तोकिएको छ ।अघिल्लो दिन यसको खरिदमा ३४ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।यता, कतारी रियालको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७३ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९३ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४५ पैसा र बिक्रीमा १० रुपैयाँ ५० पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४२५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ६७ पैसा र बहराइन दिनार एकको खरिदमा ३४५ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ७ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

तरकारी तथा फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार रातो आलु ३८ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।

यसैगरी सुन्तला १०० रूपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २५० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ ।

यस्तै कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २८० रुपैयाँ रहेको छ । यता, ब्रोकाउली ६० रुपैयाँ, काउली स्थानीय ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ ।

यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ८०, तिते करेला १३० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, सुकेको प्याज ४४, भिण्डी ९० रूपैयाँ, लौका ६० रुपैयाँ,  गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

रियल मड्रिड फाइनलमा

काठमाडौं – रियल मड्रिड क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल उपाधि नजिक पुगेको हो । पछिल्लो पाँच सिजनमा रियलले तीनपटक सुपर कपको उपाधि जितेको छ ।

निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा टुंगिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो ।

३९औं मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलमा रियलले अग्रता लिएको थियो । ४१औं मिनेटमा स्यामियोल लिनोले भ्यालेन्सिया खेलमा फर्काएका थिए ।

पेनाल्टी सुटआउटमा रियलका बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुज र मार्को एसेन्सियोले गोल गरे  । भ्यालेन्सियाका इडसन काभानी, ह्युगो गुइलामोन र मोरिबाले मात्र गोल गरे ।

फाइनलमा रियलले स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलाना र रियल बेटिसको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

अमेरिकाभरका ५४ सय उडान प्रभावित

एजेन्सी – एउटा अभूतपूर्व अवरोधमा कम्प्युटर प्रणालीमा प्राविधिक गडबडीका कारण बुधबार अमेरिकाभरका उडानहरू प्रभावित भए । नोटिस टु एयर मिसन प्रणाली (नोटाम) मा समस्या आएपछि ५४ सयभन्दा बढी उडान प्रभावित भएका हुन् । नोटामले उडान टोलीलाई खतरा, विमानस्थल सुविधाहरूमा परिवर्तन र अन्य आवश्यक जानकारी प्रदान गर्दछ ।

देशभरि सामान्य हवाई यातायात सञ्चालन बिस्तारै सुचारु भएको अमेरिकी संघीय उड्यन प्रशासन (एफएए)ले जनाएको छ । ‘सामान्य हवाई ट्राफिक अपरेसनहरू बिस्तारै अमेरिकाभरि सुचारु हुँदैछन्’, एफएएले ट्विटरमा भन्यो, ‘ग्राउन्ड स्टप हटाइएको छ। हामी प्रारम्भिक समस्याको कारण खोज्न जारी राख्छौं ।’

लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

बुटवल – लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद सदस्यसहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो ।

गौतमबुद्धको अस्तु धातु रहेको रामग्राम बुद्धमार्गीहरुका लागि पत्रिव स्थल रहेकाले यहाँको विकास गर्ने गरी स्थलगत अवलोकन गरिएको उपाध्यक्ष त्रिपाठीले बताए । उनले बुद्धको जीवनसँग जोडिएको महत्वपूर्ण स्थल रामग्राम भएकाले तत्कालीन र दीर्घकालीन रुपमा रामग्रामको विकास गरिने बताए ।

उपाध्यक्ष त्रिपाठीले रामग्राममा तत्तकाल कोषको कार्यालय सञ्चालन गर्न, जग्गाको संरक्षणका लागि तारबार, पर्यटकका लागि खानेपानी, शौचालय र सूचना बोर्डहरु राख्न निर्देशन दिए । उनले लुम्बिनी पछिको महत्वपूर्ण बुद्धस्थलका रुपमा रामग्रामको विकास गर्नुपर्ने बताए ।

नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ७ झरही नदीको किनारमा रहेको रामग्रामलाई विश्वका बौद्धमार्गीहरुले पवित्रस्थलका रुपमा पुज्छन् ।  भगवान् बुद्धको अस्तुधातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र रामग्राम स्तुपा हो । बौद्धग्रन्थमा  सम्राट अशोकले अन्यत्रबाट झैं रामग्राममा पनि अस्तु झिकी चौरासी हजार स्तुप बनाउन चाहेको तर, त्यसो नगरेको उल्लेख छ ।
यसैगरी लुम्बिनी विकास कोषको टोलीले रामग्राम नगरपालिका १८ स्थित बौद्धक्षेत्र पण्डितपुरको पनि अवलोकन गरेको छ । पुरातत्व विभागले बौद्धकालीन अवशेषहरु पत्ता लगाएपछि यो क्षेत्रलाई पुरातात्विक स्थलको रुपमा संरक्षण गर्दै आएको छ ।

कोलिय गणराज्यको राजधानी तथा बुद्धको मावली स्थलका रुपमा पण्डितपुर हुनसक्ने भएकाले यसको पुरातात्विक महत्व उजागर गर्नका लागि लुम्बिनी विकास कोषले यो क्षेत्रको अवलोकन गरेको कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले पुरातत्व विभागले उत्खनन गर्दा बुद्धकालीन अवशेषहरु प्रशस्त देखिएकाले यसलाई बुद्धस्थलका रुपमा लुम्बिनी विकास कोषले संरक्षण र विकास गर्ने बताए । हाल पण्डितपुर क्षेत्र अतिक्रमित हुँदै गएकाले यसको संरक्षणमा कोषले चासो देखाएको हो ।

रामग्राममा तत्काल केही निर्माणहरु गर्नुपर्ने र कार्यालय समेत सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसको तयारीमा लाग्ने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । रामग्राम स्तुपाको गुरुयोजना समेत बनेको र तत्काल केही आवश्यक पूर्वाधार निर्माण थाल्ने गरी निर्देशन आएको योजना प्रमुख सरोज भट्टराईले बताए । अवलोकनमा कोषका बोर्ड सदस्य विश्व पौडेल, परिषद सदस्य सरोज भट्टराई, अर्का परिषद सदस्य धनराज कंडेल लगायतको सहभागिता रहेको थियो ।

टोलीले सुनवल -७ तरगौली स्थित देवदह मध्यमार्गी बौद्ध गुम्बा एवं विहारको समेत अवलोकन गरेको छ । उक्त अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवे, सुनवल वडा नं. ७ का वडाअध्यक्ष नारायण प्रसाद आचार्यले लुम्बिनीसँग जोडेर क्षेत्रको विकास गर्न आग्रह गरेका थिए ।

ओजोन तहको अवस्था सुधारको बाटोमा फर्कियो

काठमाडौँ । ह्रास हुँदै गएको ओजोन तहको अवस्था सुधारको बाटोमा फर्किएको छ । जलवायु परिवर्तन र मौसमसँग आबद्ध वरिष्ठ वैज्ञानिकहरूले लामो अनुसन्धानपछि अबको चार दशकभित्र ओजोन तह पहिलेकै अवस्था र आकारमा फर्किने दाबी गरेका छन् । ्ओजोन तहको विनाशका कारक रहेको औद्योगिक रसायनको प्रयोगको कमीका कारण ओजोन फेरि साबिककै अवस्थामा फर्कने लयमा अग्रसर बनेको उनीहरूको निष्कर्ष छ ।

नेसनल एरोनिक्स तथा स्पेस एडमिनिस्ट्रेसन (नासा) र युरोपेली आयोग, विश्व मौसम विज्ञान, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम, राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनलगायतमा आबद्ध वैज्ञानिकले यसबारे अनुसन्धान गरेका थिए ।

अमेरिकी मौसम विज्ञान समाजको मङ्गलबार सम्पन्न १०३औँ वार्षिक बैठकमा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनमा जिओइन्जिनियरिङजस्तो नयाँ प्रविधिको प्रयोग गरी ओजोन तहको वर्तमान अवस्थाबारे अध्ययन गरिएको उल्लेख छ ।

प्रत्येक चार वर्षमा प्रकाशित हुने अध्ययन प्रतिवेदनको यस वर्षको संस्करणले ओजोन तहमा अझै पनि अनपेक्षित प्रभाव बढ्दो रहेको भन्दै वैश्विक समुदायलाई चेतावनी दिइएको छ ।जलवायु परिवर्तनसम्बन्धी मोन्ट्रियल अनुबन्धमा आधारित रहेर भएको अध्ययनले ओजोन तहलाई क्षयीकरण गर्ने पदार्थमध्ये ९९ प्रतिशत त्यस्ता पदार्थ न्यूनीकरण गर्दै ओजोन तहको सुरक्षा गर्न सफल बनेको छ ।

त्यसले पनि उल्लेखनीय रूपमा ओजोन तहको सुधार भएको दाबी गर्न सकिने आधार बनेको तथ्य प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।ओजोन तहमा प्वाल परेर यसको तह विनाश हुँदा सूर्यबाट आउने हानिकारक परावैजनी किरण सीधै पृथ्वीमा आउँदा मानव अस्तित्वमा नै सङ्कट निम्तिएको थियो ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने

काठमाडैं । आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ ।वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैङ्करहरू पुगेसँगै यस्तो निर्णय आएको हो । एसोसिएसनका अनुसार नियामक नेपाल राष्ट्र बैङ्कको निर्देशिकाअनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको हो ।

राष्ट्र बैङ्कको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । सोहीअनुसार माघदेखि ब्याजदर घट्ने भएको हो ।निक्षेपको ब्याज घटेसँगै बैङ्कहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ ।

एसोसिएसनले निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने भद्र सहमति गरेसँगै बैङ्किङको पाँच हजार ३११ अर्बको कुल निक्षेप मा एक हजार ३७१ अर्ब (२५.८१ प्रतिशत) बचत निक्षेपको ब्याजदर १.१ प्रतिशतले तत्कालै घट्छ, यसले १२५ करोड रुपियाँ मासिक ब्याज खर्च घट्छ भने कुल निक्षेपमा ३३२ अर्ब (६.२६ प्रतिशत) मा ०.५५ प्रतिशतले ब्याजदर गर्दा तत्कालै १५ करोड मासिक ब्याज खर्च घट्छ । यसरी १४० करोड ब्याज खर्च मासिक रूपमा तत्काल घट्ने भएको छ ।

मुद्दती निक्षेपको ब्याजदर बिस्तारै घट्दै जाँदा यसले गर्दा बैङ्किङको आधार दर घट्न गई औसत कर्जाको ब्याजदर १२.६३ प्रतिशतबाट घट्ने भएको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

सरकारलाई पूर्णता दिने विषयमा गृहकार्य सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारलाई पूर्णता दिने विषयमा गृहकार्य सुरु भएको छ । गत १० पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन भए पनि चारजना मन्त्रीले जिम्मेवारी पाउन नसक्दा उनीहरू कामविहीन हुँदैआएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्नासाथ मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति सत्तारूढ दलबीचमा भएको थियो ।

सरकार गठन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा सरकारका महत्वपूर्ण कामकारबाही प्रभावित हुँदैआएका छन् । सरकारको कामकारबाही प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य सुरु गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य थालेका हुन् । सोही गृहकार्यअनुसार प्रचण्डले बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।यो खबर आजको राजधानी दैनिकमा छ ।

एकीकृत समाजवादीसँग पनि पार्टी एकता लागि सम्बाद गर्दै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले वाम एकता अभियानअन्तर्गत बाबुराम भट्टराईसँगै माधव कुमार नेपालसँग पनि सम्बाद गर्ने भएको छ।वाम एकता अपरिहार्य रहेको भन्दै माओवादीले नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता लागि सम्बाद गर्ने भएको हो।

माओवादीका उपमहासचिव एवं कार्यदल सदस्य गिरिराजमणि पोखरेलले माधव नेपालसँग अनौपचारिक छलफल सुरु भएको बताए। उनले माओवादी र एकीकृत समाजवादीका नेताहरूबीच अनौपचारिक सम्बाद भइरहेको पुष्टि गरे।

‘पार्टीले कार्यदल बनाए पनि सत्ता समीकरणको व्यस्तताले कार्यदलको बैठक बस्न सकेको छैन। तर कार्यदलका भएका साथीहरूले बाबुराम भट्टराई र माधव कुमार नेपालसँग अनौपचारिक सम्बाद गरिरहनु भएको छ,’ पोखरेलले भने।

उनले चुनावअघि वाम शक्तिहरूबीच ध्रुवीकरण भएको भन्दै स्थायित्वका निम्ति वाम एकता अपरिहार्य रहेको बताए। ‘वाम एकताका लागि एउटा प्रयोग सुरु गरिसकेका छौं। वाम शक्तिहरू एकअर्कासँग नमिलिकन अगाडि बढ्ने स्थिति छैन,’ उनले भने।

उनले नेकपा एमालेसँग भने तत्काल पार्टी एकता सम्बन्धमा सम्बाद नहुने प्रस्ट पारे। सम्बादका लागि नेकपा विभाजन र विगतका राजनीतिक घटनाहरूबारे गम्भीर छलफल हुनुपर्ने उनले बताए।‘सबैसँग गर्ने भनिए पनि एमाले तयार नभइकन सम्बाद र छलफल गर्दैनौं। नेकपा विभाजको समीक्षा र विगतका राजनीतिक घटनाका विषयमा छलफल नगरी एमालेसँग एकता प्रारम्भ हुँदैन,’ उनले भने।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

तीव्र गतिमा काठमाडौं, तराई मधेस फाष्टट्रयाक बनाउँदै नेपाली सेना

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं, तराई मधेस फाष्टट्रयाक अथवा द्रुतमार्गको जिम्मेवारी लिएको नेपाली सेनाले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ ।

बाराको निजगढबाट काठमाडौंको खोकना जोड्ने ७२ दशमलभ ०६ किलोमिटरको यो बाटो निर्माणको जिम्मा भने नेपाली सेनालाई २०७४ सालमा दिइएको हो ।

२०७४ सालमा सेनाले जिम्मा लिएको भए पनि काम भने २०७५ सालबाट मात्रै शुरु भएको नेपाली सेनाको द्रुतमार्ग निर्माण आयोजना समितिले जनाएको छ । मकवानपुर जिल्लाको लेनडाँडासहित विभिन्न्न स्थानमा अस्थायी क्याम्प नै खडा गरेर सेनाले यो बाटो बनाइ रहेको हो ।

सेनाले हालसम्म २१ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । लेनडाँडा अस्थायी क्याम्पका प्रमुख सेनानी रामसागर यादवले यो मार्ग निर्माणका लागि बिभिन्न तीन स्थानमा सुरुंग बनाउनुपर्ने भएकाले यसै अनुसार काम भइरहेको जानकारी दिए ।

उहाँले २०८१ मंसिर सम्ममा सेनाले यो मार्ग सम्पन्न गराउने लक्ष्य लिएको र त्यसै अनुसार अहिले काम भइरहेको बताए । यो मार्ग निर्माणका लागि आवश्यक पर्ने र जटिल कार्य सुरुंग मार्ग निर्माणको काम चिनियाँ प्राबिधिकहरुको सहयोगमा तीव्र रूपमा काम अगाडि बढाइएका कारण निकै प्रगति भएको जानकारी दिए ।यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

अफगानिस्तानको विदेश मन्त्रालयबाहिर आत्मघाती हमला, २० जना हताहत

एजेन्सी – अफगानिस्तानको काबुलस्थित विदेश मन्त्रालय बाहिर आत्मघाती बम हमला हुँदा कम्तीमा २० जनाको हताहति भएको छ । आक्रमण स्थलनजिक टर्की र चीनलगायत धेरै देशका दूतावास छन् ।

इस्लामिक स्टेट समूहको स्थानीय शाखा इस्लामिक स्टेट– खोरासान प्रान्त (आईएस–के) ले टेलिग्राममा एक पोस्टमा आक्रमण गरेको दाबी गरेको छ ।

प्रहरीले कम्तिमा पाँच सर्वसाधारणको मृत्यु भएको बताएको छ तर तालिबानका अर्का एक अधिकारीले २० जनाको ज्यान गएको बताएका छन् । आक्रमणबारे तालिबान अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन् ।

आक्रमणको समयमा चिनियाँ प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयको भवनभित्र अफगान अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम थियो । आक्रमणमा कम्तीमा ४० जना घाइते भएका प्राप्त विवरणहरुमा जनाइएको छ ।

सशस्त्रको प्रस्ताव : असईमा भर्ना नलिने, १६ वर्षमा एसपी हुनैपर्ने

काठमाडौं -सशस्त्र प्रहरी बलले प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना नलिने र प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्षमा प्रहरी उपरीक्षक (एसपी) बढुवा हुनैपर्ने प्रावधान अघि सारेको छ ।सशस्त्र वृत्ति विकासमा सुस्तता आएको र कुनै पनि कार्यक्रम नभएको भन्दै आकर्षण कम भएपछि वृत्ति विकासका विभिन्न कार्यक्रमसँगै सो प्रावधान अघि सारेको हो ।

जवानमा भर्ना भएपछि वरिष्ठ हवल्दारभन्दा माथि जाने अवस्था बनेको तथा प्रहरी निरीक्षकमा भर्ना भएको १८ वर्षसम्म पनि बढुवा हुने अवस्था नबनेको भन्दै संगठनभित्र निराशा उत्पन्न भएकाले प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले प्रहरी नियमावली संशोधन गर्न सो प्रावधान अघि सारेका हुन् ।

सशस्त्र प्रहरीका आइजिपी अर्यालले संगठनलाई प्रविधिमैत्री बनाउने तथा सीमा सुरक्षाका लागि जनशक्ति बढाउन सरकारसँग माग गर्दै आएका बेला प्रहरी नियमावली पनि संशोधनको प्रस्ताव गरेका हुन् ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दै

बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन् । प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ ।

एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ती, लोसपा र स्वतन्त्रबाट निर्वाचित ५८ सांसदको समर्थन छ ।

सपथग्रहणपछि सानो आकारको मन्त्रिपरिषद गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ । लुम्बिनी प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद बनाउने एमाले र माओवादी केन्द्रबीच समझदारी छ । अघिल्लो मन्त्रिपरिषद १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउन लागिएको छ ।

यद्यपि ९ सदस्यीयमा झार्ने तयारी गरिएको भएपनि सत्तारुढ सबै दललाई भाग पु¥याउनका लागि मन्त्रिपरिषद ११ सदस्यीय बनाउन लागिएको हो । लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दल रहेकोमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी बाहेकका दलहरुको समर्थन गिरीले पाएका छन् ।

विश्व इतिहासमा आजः दुई लाख मानिसको मृत्यु भएको हेईटीको त्यो विनाशकारी भूकम्प

आज १२ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

हेईटीको विनाशकारी भूकम्प
सन् २०१० मा हेईटीमा विनाशकारी भूकम्प गएको थियो । ७ दशमलव म्याग्निच्युडको सो भूकम्पका कारण राजधानी पोर्ट अउ प्रिन्स ध्वस्त भएको थियो । भूकम्पका कारण दुई लाख जनाको मृत्यु हुनुका साथै १० लाख मानिस विस्थापित भएका थिए । भूकम्पपछि भत्किएका संरचना निर्माणका लागि हेईटीले दातृ राष्ट्रलाई करोडौं डलर सहयोग गरेका थिए ।

इराकविरुद्ध अमेरिकी युद्ध
सन् १९९१ मा इराकविरुद्ध युद्ध गर्ने विषयमा अमेरिकामा बहमुत सदस्यले मतदान गरेका थिए । कुवेतबाट इराकी सेनलाई खेद्न र सैन्य फौज तैनाथ गर्न तत्कालिन राष्ट्रपति जर्ज डब्लू बुसलाई संसदले विशेष अधिकार दिइएको थियो ।

इफेल टावरबाट रेडियो प्रसारण
आजकै दिन अर्थात सन् १९०८ को १२ जनवरीमा पेरिसको इफेल टावरबाट पहिलो पटक लामो दूरीको रेडियो सन्देश प्रसारण भएको थियो । वैज्ञानिक ली डी फरेस्टले गरेको सो प्रसारणलाई ५० भन्दाबढी श्रोताले सुनेका थिए ।

जेफ बेजोसको जन्म  दिन
विद्युतीय कारोवार गर्ने प्रसिद्ध कम्पनी अमेजन डटकमका मालिक, अमेरिकी उद्यमी तथा विश्वकै धनाढ्य जेफ बेजोसको जन्म पनि आज अर्थात सन् १९६४ को १२ जनवरीमा परेको छ ।

आज सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार एजेण्डा

काठमाडौं – सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् ।

तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ ।प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए । प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए ।

थाहा पाउनुहोस् आजको मौसम

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईमा हुस्सु लागेको अवस्था छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको प्रक्षेपण छ ।

शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हेर्नुहोस् पौष २८ गते बिहिबारको राशिफल

मेष राशि – प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

बृष राशि – अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मीथुन राशि – सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

सिंह राशि – मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

तुला राशि – प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि – मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि – पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि – आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि – बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

मिन राशि – ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।ज्यो.प. सरोज घिमिरे

क्यानाडामा ध्रुवीय भालुको जनसंख्या डरलाग्दो दरमा घट्दैः अध्ययन

एजेन्सी – क्यानाडा सरकारले गरेको नयाँ सर्वेक्षणले देशको वेस्टर्न हडसन खाडीमा रहेका ध्रुवीय भालुहरू डरलाग्दो दरमा मरिरहेका दर्शाएको छ । अन्वेषकहरूले गरेको अनुसन्धानमा त्यहाँ हाल ६१८ भालु रहेका छन् । ‘विश्वको भालुको राजधानी’ भनेर चिनिने उक्त क्षेत्रमा अघिल्लो वर्ष ८४२ भालु थिए ।

सर्वेक्षणले सन् २०११ देखि सन् २०२१ को बीचमा वयस्क भालु र भालुका छाउराहरूको संख्यामा उल्लेख्य गिरावट आएको उल्लेख गरेको छ । जलवायु परिवर्तनले भालुको संख्यामा गिरावट अएको सर्वेक्षणमा उल्लेख छ ।

‘अवलोकन गरिएको गिरावट ध्रुवीय भालुहरूमा जलवायु परिवर्तनको जनसांख्यिकीय प्रभावहरूको सम्बन्धमा लामो समयदेखि गरिएको भविष्यवाणीसँग मेल खान्छ’, अनुसन्धानकर्ताहरूले भनेका छन्  ।

यस क्षेत्रमा भालुको संख्यामा गिरावट दशकौंदेखि जारी छ । सन् १९८०देखि  ध्रुवीय भालुको जनसंख्या झन्डै ५० प्रतिशतले घटेको छ, जुन त्यतिबेला लगभग १२०० थियो ।

सर्वेक्षणले छिमेकी क्षेत्रहरूमा भालुको शिकार र विस्थापन संख्या घट्नुको मुख्य कारकको रूपमा उल्लेख गरेको छ । यद्यपि, ध्रुवीय भालुको जनसंख्यामा तीव्र गिरावटको सबैभन्दा ठूलो कारण सुदूर उत्तरमा बरफ पग्लनु रहेको बताइन्छ ।

फलफुलको राजा मेवा खानुका आश्चर्यजनक फाइदा

काठमाडौं – मेवालाई फलफुलको राजा मानिने गरिन्छ । वाको रुखको प्रत्येक भागमा पनि कुनै न कुनै औषधिय गुण हुन्छ । त्यसैले मेवालाई फलको राजा भनिएको बताइएको छ ।

मेवाको सेवनले हाम्रो स्वास्थ्यको लागि धेरै नै फाइदा गर्छ। यसमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता लवणका साथै कार्बोहाइड्रेट, भिटामिन र फाइबर प्रशस्त पाइन्छ । मेवामा फाइबर, भिटामिन र एन्टी आक्सीडेन्टको प्रचुर मात्रा रहेको हुन्छ, जसले रक्त शिरामा कोलेस्ट्रोल बन्न दिदैँन ।

महिनावारी अनियमित हुने महिलाहरुका लगी मेवा निकै राम्रो हुन्छ । हरेक दिन २ सय ५० ग्राम मेवा खानाले महिनावारि नियमित हुन थाल्छ।मेवाको रसमा टमाटरको रस मिसाएर पिउनाले कब्जियत समस्या हट्छ ।

मेवाको सेवनले यौनक्षमतामा समेत वृद्धि गर्छ । वाको लेदो बनाएर अनुहारमा दल्नाले मुखको चाउरीपन पनि हट्छ । आफ्नो तौल घटाउन मन छ भने पनि मेवा खानु राम्रो हुन्छ । मधुमेह भएका बिरामीले मेवा खानु धेरै राम्रो हुन्छ ।

मधुमेह भएका बिरामीले चिनी छोड्न पर्ने भएकाहरुलाई मेवा अत्यन्त महत्वपूर्ण हुनसक्छ ।प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ ।

साउथ फिल्मका यी महँगा अभिनेता, ब्राण्ड प्रवर्द्धनमा लिन्छन् यति धेरै पारिश्रमिक

मुम्बई । साउथ स्टारको लोकप्रियता हालका दिनमा तीब्र गतिमा बढिरहेको छ । महेश बाबुदेखि लिएर अल्लू अर्जुनसम्मका साउथ स्टारलाई हिन्दी भाषी दर्शकले मन पराउने क्रम उल्लेख्य छ । यही कारण उनीहरूलाई ठूला ठूला ब्राण्डले प्रवद्र्धनका लागि प्रस्ताव गरिरहेका छन् । उनीहरूले ब्राण्डको प्रवद्र्धन गर्न मोटो रकम लिने गरेका छन् ।

प्रभास
यो सूचीमा प्रभास शीर्ष स्थानमा छन् । ‘बाहुबली’ पछि लोकप्रियताको उचाइमा पुगेका उनले एक विज्ञापनका लागि १८ करोड पारिश्रमिक लिन्छन् ।

महेश बाबू
‘टलिउड प्रिन्स’ महेशले हालसम्म हिन्दी बक्स अफिसमा पाइला चालेका छैनन । यसबाहेक पनि उनको उनको लोकप्रियता बढ्दो छ । एक विज्ञापनका लागि उनी १२ करोड रुपैंयाँ पारिश्रमिक बुझ्छन् ।

अल्लू अर्जुन
अल्लू अर्जुन फिल्म ‘पुष्पा’ पछि घर घरमा लोकप्रिय छन् । उनी एक विज्ञापनबापत साढे सात करोड पारिश्रमिक लिन्छन् ।

राम चरण
‘आरआरआर’ स्टार राम चरण पनि ब्राण्ड कम्पनीको प्रिय बनेका छन् । उनी एक विज्ञापनका लागि ६ देखि ७ करोडसम्म पारिश्रमिक बुझ्छन् ।

नागार्जुन
नागार्जुन साउथको ठूला स्टार हुन् । उनी एक विज्ञापनका लागि दुई करोड रुपैंयाँ पारिश्रमिक लिन्छन् ।

नागा चैतन्य
अभिनेत्री सामन्था रुथ प्रभुका पूर्वपति नागा चैतन्यको हातमा पनि थुप्रै विज्ञापन छन् । उनी एक विज्ञापनका लागि डेढ करोड पारिश्रमिक थाप्छन् ।

विजय देवरकोंडा
ब्राण्ड प्रवद्र्धनको मामलामा विजय देवरकोण्डा पनि कम छैनन् । उनी एक विज्ञापनका लागि १ करोड रुपैंयाँ पारिश्रमिक लिन्छन् ।

‘निर्मलाको जस्तो केस यहाँ पनि रहेछ’

खोटाङ – राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले खोटाङका तीन महिलाको हत्यारा पत्ता लगाउनका लागि गृहमन्त्रालयलाई परिपत्र गर्ने प्रतिवद्धता जनाएकी छन् ।

संयुक्त राष्ट्र संघीय महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सन्धिजनित समितिबाट नेपालको छैठौं आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयनको अवस्था सम्वन्धी राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगले बुधबार खोटाङको शुभद्रा–मदन फाउण्डेसनमा आयोजना गरेको छलफल कार्यक्रममा कार्यबाहक अध्यक्ष पौडेलले जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेकी ३७ वर्षीय देबी बिक, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको हत्यामा संलग्न दोषी पत्ता लगाउनका लागि तत्काल गृह–मन्त्रालयमा पत्राचार गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

कार्यक्रममा सहभागीले तीन महिलाको हत्या भएको पाँच वर्ष वित्दा समेत दोषी पहिचान नभएको गुनासो गरेपछि कार्यबाहक अध्यक्ष पौडेलले निर्मला पन्तको घटनासँग मिल्दोजुल्दो भएको भन्दै दोषी पत्ता लगाउनका लागि पहल गर्ने आश्वसन दिएकी हुन् । ‘यस बारेमा महिला आयोगबाट गृहमन्त्रालयलाई परिपत्र हुन्छ ।

गृहमन्त्रालयले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्छ, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले तत्काल छानविन समिति बनाएर तथ्य बाहिर ल्याउनुपर्छ,’ पौडेलले भनिन्, ‘निर्मलाको जस्तो केस यहाँ पनि रहेछ । आजसम्म दोषी कहाँ बस्यो ? कसले लुकायो ? राजनीतिक दलको संरक्षण कस्तो छ ? या छैन ? सत्यतथ्य बाहिर आउनेमा विश्वस्त छु ।’

जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माईती पुगेर २०७४ साउन ४ गते घर फर्कनेक्रममा सम्पर्क विहीन बनेकी देबी दोश्रो दिन २०७४ साउन ५ गते जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगग बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको हो ।

यस्तै, रिता २०७३ माघ २६ गते र ज्ञानीमायाँ २०७४ जेठ १६ गते विभत्स अवस्थामा मृत फेला परेकी थिइन् । छ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घट्ना प्रकृति पनि उस्तै–उस्तै देखिन्छ । तर, तीन जना महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन । जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पीडित परिवार त्रसित छन् ।

कमल थापाको प्रस्ताव- नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर राखौं

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग गरेका छन् ।

राप्रपा नेपालले ३०१औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचारभन्दा माथि रहेको भन्दै नेपाल एकीकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभइ नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको बताए ।

उनले राज्यले शाहलाई सम्मानमा दिन कन्जुस्याइँ गर्न नहुने बताए । ७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै ओपचारिक रुपमा पृथ्वी जयन्ती मनाइएको स्मरण गर्दै यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएको प्रति रोश प्रकट गरे ।

लोकतन्त्रको एकमात्र पर्याय नेपाली कांग्रेसको लोगो थुत्ने प्रयास हुदैछ : नेता महर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकका लागि जनताको हितमा सधैँ काम गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताएका छन् ।

नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता महरले मुलुकमा सधैँ अप्ठ्यारो पर्दा कांग्रेसले नै निकास दिने भएकाले कांग्रेस नै जनताको पार्टी र लोकतन्त्रको पर्यायवाची भएको बताए ।

‘गठबन्धन गरेर चुनावमा जानु प्रतिउत्पादक हुन्छ भनेर मलगायत केही नेताले भनेका थियौं । तर, तीनै तहको निर्वाचन सम्पन्न गरेर संविधानको सफल कार्यान्वयन र संघीयताको रक्षा गर्नै पर्ने बाध्यता कांग्रेससामू थियो । त्यसैले हामीले प्रतिउत्पादक हुन्छ भन्ने जान्दाजान्दै पनि गठबन्धन गर्‍यौं । यो मुलुकको हितका लागि थियो,’ उनले भने । त्यसपछि सिर्जित अवस्थाका बारेमा कांग्रेस केन्द्रीय समिति बैठकमा गहन छलफल हुने उनले प्रस्ट पारे ।

उनले नेपालमा लोकतन्त्रको एकमात्र पर्यायवाची कांग्रेसमात्रै हो भन्ने लोको र स्लोगनलाई थुत्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले अब रुपान्तरित र समय सापेक्ष पार्टी आवश्यक रहेको बताउँदै आगामी दिनमा पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा पनि केन्द्रीय समिति बैठकमा छलफल भइ गति निर्धारण हुने बताए ।

आफूसमेत नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको संस्थापक अध्यक्ष रहेको स्मरण गर्दै महरले भने, ‘रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, कान्तिपुरलगायत थुप्रै स्थानीय पत्रपत्रिकामा पनि आफैँ सम्पादक भएर मैले काम गरे । हामी रातभर पत्रिका प्रकाशन गर्थ्यौ । दोस्रो, तेस्रो दिन लगायर पत्रिका डडेल्धुराबाट महेन्द्रनगर पुग्दा खबर बासी भइसकेको हुन्थ्यो । त्यो समय अहिले परिवर्तन भएको छ । अहिले आफ्नो प्रभावकारिता देखाउन अब्बल साथीहरू तयार भइसक्नुभएको छ । यसमा धेरै खुसी लागेको छ ।’ पार्टी र संगठनभित्र असामञ्जस्यता हुने भए पनि त्यसको व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने महरले धारणा राखे।

उनले कांग्रेसलाई कसरी सशसक्त बनाउने भनेर प्रेस युनियनलगायत सबै भ्रातृ संस्थाहरू आ-आफ्नै दायीत्व हुने बताए । ‘सरकार जहिले पनि जनताप्रति अनुत्तरदायी र निरंकुस हुने प्रयास गर्छ । त्यो समयमा लोकतन्त्रमा विश्वास राख्ने पत्रकारको कलमले निरंकुस सत्तालाई नियन्त्रणमा राख्ने प्रयास गर्छ । र, सत्ता समाजको रुपान्तरणतर्फ लाग्छ,’ महरले भने।

समाजभित्र उठेका थुप्रै विषयलाई जस्ताको त्यस्तै पस्केर पत्रकारले समाज परिवर्तन चाहिरहेको नजीरलाई भुल्न नहुने उनको तर्क छ। महरले कम्युनिस्टहरूलाई प्रजातान्त्रिकीकरण गर्ने दायित्व पनि पत्रकार र प्रेस युनियनकर्मीहरूको बढी रहेको बताए । नेपाली राजनीतिमा सत्ताश्वार्थमा कमुनिस्टहरू बढी रम्ने आरोप लगाउँदै महरले उनीहरूको कम्युनिस्ट मुकुन्डो उघ्रिने क्रममा रहेको बताए ।

पत्रकारको अधिकारको लागि कानुन बन्ने क्रममा रहेको बताउँदै महरले यतिबेला पत्रकारमैत्री अधिकार निर्माणका लागि पत्रकारहरूको पनि सहभागीता रहनुपर्ने बताए ।

एकता दिवस मनाउँदा कसैले हिनताबोध गर्न पर्दैन, पृथ्वी थिए, त्यसैले नेपाल भन्ने राष्ट्र छ, नेपाल छ – अध्यक्ष लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले एकता दिवस मनाउँदा कसैले हिनताबोध गर्न नपर्ने बताएका छन् । बुधबार ३०१औँँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा लिङदेनले यस्तो कुरा गरेका हुन् ।

उनले भने एकता दिवस मनाउँदा कसैले हिनताबोध गर्न पर्दैन, पृथ्वी थिए, त्यसैले नेपाल भन्ने राष्ट्र छ, नेपाल छ । त्यसै कारण पद र प्रतिष्ठा पाएका छौँ, उपेक्षामा परेको यो दिनलाई नयाँ सरकारले सार्वजनिक बिदा दिएर सुकार्यको काम गरेको छ ।

उनले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रले उत्सवका रूपमा मनाउनुपर्ने बताए । उनले पृथ्वीजयन्ती कुनै राजनीतिक दल र विचार विशेषको मात्र नभई नेपाली जनताको गौरव, इतिहास र पहिचानसँग सम्बन्धित जयन्ती रहेको बताए ।

पृथ्वीनारायणको योगदानका विषयमा कुनै विवाद छैन – माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पृथ्वीनारायणको योगदानका विषयमा कुनै विवाद नै नरहेको बताएका छन् । बुधबार ३०१औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आयोजना गरेको चियापान कार्यक्रममाम बोल्दै अध्यक्ष नेपालले सो कुरा गरेका हुन् ।

उनले ‘पृथ्वीनारायणको शालिक तोडफोड हुँदा त्यस बेला विरोध गर्ने आफू नै भएको पनि बताए । उनले भने “आफूले पहिलेदेखि भन्दै आएको विषय हो, नयाँ मान्यता बोकिएको होइन, राष्ट्रका विभूतिमध्ये उहाँ एक हुनुहुन्छ । जसले विदेशीसँग लडेर आफनो भूमि रक्षा ग¥यो, आधुनिक नेपाल निर्माणमा भूमिका खेल्यो, त्यसको योगदान बिर्सने कुरै आउन्न, उहाँको शालिक तोडफोड हुँदा त्यस बेला विरोध गर्ने मै हुँ ।”

राष्ट्रिय एकता दिवसलाई राज्यले उपेक्षा गरेकाे राजनितिक दलहरुकाे गुनासाे

अर्घाखाँची – राष्ट्रिय एकता दिवसलाई विशेष महत्वका साथ मनाउनुपर्नेमा राज्यले उपेक्षा गरेकाे अर्घाखाँचीमा क्रियाशिल राजनीतिक दलका नेताहरुले गुनासाे गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले आयाेजना गरेकाे एकता दिवस समाराेहमा अर्घाखाँचीमा क्रियाशिल राजनितिक दलका नेताहरुले जिल्लामा विशेष महत्वका मनाइनुपर्नेमा राज्यस्तरबाट कन्जुस्याई गरिएकाे गुनासाे गरेका हुन् ।

नेपाल बचाउने व्यक्तिलाई राज्यले सम्झिएकाे र सार्वजनिक बिदा दिएकाेमा आभार व्यक्त गर्दै दलहरुले राज्यस्तरबाट कार्यक्रम आयाेजना नगरिएकाे र एउटा पार्टीले आयाेजना गरेकाे कार्यक्रममा निमन्त्रणा गर्दागर्दै पनि सरकारी निकायकाे सहभागिता नहुनु चिन्ताकाे विषय भएकाे उल्लेख गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पशुपति पाण्डे, नेपालि कांग्रेसका नेता बिष्णु क्षत्री, नेकपा एमालेका नेता श्रीकृष्ण भुसाल, नेकपा माओवादी केन्द्रका नेता काजिमान रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरिप्रसाद भुसाल, राष्ट्रिय जनमाेर्चाका नेता भिमलाल आचार्य, पत्रकार महासंघका अध्यक्ष अशाेक कुमार श्रेष्ठसहितले मन्तव्य राख्दै डेडदशककाे निरन्तरतालाई क्रमभंगता गर्दै सार्वजनिक विदा दिएकाेमा नेपाल सरकारलाई धन्यवाद दिएका थिए ।कार्यक्रममा जिल्लामा रहेका सरकारि कार्यालयका प्रमुखहरु तथा जनप्रतिनिधि भने सहभाथी भएनन् ।

निस्सासिएर पर्सामा दुई भारतीय मजदुरको मृत्यु

काठमाडौं – पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीले बताए ।

मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव छन् ।

पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुवै जनाको अक्सिजन कमी हुँदा निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

कर्णालीमा मन्त्रालयको संख्या घटाउने सत्तारुढ दलको निर्णय

सुर्खेत – कर्णाली प्रदेशमा पुरै कार्यकाल मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) लाई दिने शीर्ष नेताले गरेको निर्णय कर्णालीमा उल्टीएको छ । आधा, आधा कार्यकाल माओवादी र नेकपा एमालेले लिने गरी पहिलो चरणमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री बनाएसँगै मन्त्रालय समेत घटाउने सहमति भएको छ ।

मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको कर्णालीमा अब स्थापना कालमा रहेका सात मन्त्रालयलाई नै कायम गर्ने निर्णय सहमतीसमेत गरिएको छ । कर्णालीमा प्रदेश सरकार गठन र सञ्चालनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चारे बुँदे सहमति भएको छ ।

बुधबार नेकपा एमाले र माओवादी केन्द्र कर्णाली प्रदेशको नेतृत्वबीच चार बुँदे सहमतिमा हस्ताक्षर गरेर सहमति भएको हो । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कँडेल र माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा कर्णाली इन्चार्ज कालीबहादुर मल्लको नेतृत्वमा बसेको बैठकले चार बुँदे सहमति गरेको हो।

पार्टी केन्द्रले मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा गर्दा कर्णालीको मुख्यमन्त्री पाँचै वर्ष माओवादीलाई दिने निर्णय गरेको थियो। तर त्यसलाई लिएर एमाले कर्णालीले तीव्र असुन्तष्टि जनाएको थियो । त्यसपछि एमालेले माओवादीसँग प्रदेशको नेतृत्व आधा–आधा कार्यकाल गर्न पाउनु पर्ने अडान राखेको थियो ।  एमाले कर्णाली संसदीय दलको मंगलबार बसेको बैठकले सरकारमा सहभागी हुने–नहुने निर्णय गर्ने जिम्मा दलका नेता यामलाल कँडेललाई दिएको थियो ।

उक्त निर्णयपछि कँडेलले मुख्यमन्त्री आधा–आधा कार्याकाल गर्नुपर्ने आडान राखेका थिए। उक्त कुरा माओवादीले नमानेपछि एमालेले कांग्रेससँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउने चेतावनी दिएको थियो । त्यसपछि माओवादी र एमालेबीच आलोपालो कार्याकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।  जसका लागि बुधबार लामो समय बसेको एमाले–माओवादी दलको बैठकले पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा काम गर्ने छन् । त्यसपछि एमाले संसदीय दलका नेता कँडेल सरकारको नेतृत्वमा जाने लिखित सहमति भएको छ ।

यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ८ मन्त्रालय रहेको कर्णाली प्रदेशमा एक मन्त्रालय घटाएर ७ वटा बनाउने सहमति भएको छ। एमालेबाट तीन र माओवादीबाट तीनसहित ६ जना मन्त्री बनाउने बैठकमा निर्णय भएको छ ।

यस सहमतिसँगै बुधबारै माओवादी दलका नेता राजकुमार शर्माले मुख्यमन्त्रीमा नियुक्ति लिएका छन् । उनी कर्णालीका तेस्रो मुख्यमन्त्री हुन् । कर्णालीमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय पछि थपिएको मन्त्रालय हो । तत्कालिन समयमा भागबण्डा मिलाउनका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट फोडिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालकोटमा भेटवार्ता, के के भए कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड आफैँ ओलीको निवास बालकोट पुगेका हुन् ।

उनीहरुबीचको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार संसद्बाट विश्वासको मत पाएपछि आज अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।

विश्वासको मत पाएछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भइसकेको छ ।

लैंगिक समानता र निर्वाचित महिला जनप्रतिनिधिको राजनीतिक सहभागिता अभिवृद्धिसम्वन्धी अन्तरक्रीया

खोटाङ – खोटाङको दिक्तेलमा लैंगिक समानता र निर्वाचित महिला जनप्रतिनिधिको राजनीतिक सहभागिता अभिवृद्धिसम्वन्धी अन्तरक्रिया गरिएको छ । विशेषगरी स्थानीय तहमा निर्वाचित महिला तथा दलित महिला जनप्रतिनिधिको क्षमता अभिवृद्धिका लागि दलित महिला केन्द्र नेपालले शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत एक दिने अन्तरक्रिया गरेको हो ।

परियोजनाले होटल थ्रि–ब्रदर्शमा मंगलबार स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, महिला जनप्रतिनिधि, दलित महिला जनप्रतिनिधि, दलका नेता, कर्मचारी, पत्रकारलगायतलाई सहभागी गराएर राजनीतिक सहभागीता अभिवृद्धिसम्वन्धी अन्तरक्रीया गरेको हो ।

सहभागीलाई लैंगिक समानता तथा लैंगिक समानताको कार्यान्वयनको अवस्था, त्यसका चुनौती र भावी योजनालगायतका बारेमा जानकारी गराइएको छ । दलित महिला केन्द्र नेपालका अध्यक्ष दुलारी हरिजन, परियोजनाका दिल विश्वकर्मालगायतको उपस्थिति रहेको कार्यक्रममा ‘शी लिड्स’ परियोजनाका प्रशिक्षक दुर्गाजयन्ती राई र लक्ष्मीकुमार राईले सहजीकरण गरेका थिए । निर्वाचित महिलका वडा सदस्य एवं दलित महिला वडा सदस्यको क्षमता अभिवृद्धि गर्दै प्रभावकारी ढंगले भूमीका निर्वाह गर्न/गराउन सक्षम बनाउने लक्ष्यका परियोजनाले नेतृत्व विकाससँग सम्वन्धित आठवटा विषयवस्तुमा सहजीकरण गर्दैआएको छ ।

स्वीस सरकार विकास नियोग र अस्ट्रेलियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालले आईएफईएसको साझेदारीमा जिल्लाका आठ स्थानीय तहमा शी लिड्स महिला नेतृत्व कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकामा शी लिड्स महिला नेतृत्व कार्यक्रम सञ्चालन भइरहेको छ ।

आलोपालो भागबण्डामा मुख्यमन्त्री : पहिलो चरणमा शर्मा र दोस्रोमा कंडेल

सुर्खेत – प्रदेश प्रमुख सामु मुख्यमन्त्रीमा दाबी पेश गर्न  एक घण्टा मात्रै बाँकी रहेको समयमा  माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएको छ । केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णालीमा उक्त सहमति उल्टिएको हो ।

अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मासाढे दुइ वर्षका लागि मुख्यमन्त्री बन्नेछन भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् । अन्ततः झण्डै सात वर्ष पछि नेता कंडेलको मुख्यमन्त्री बन्ने सपना पुरा हुने निश्चित भएको हो । यो सहमति सँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् । आजको केही समय भित्र  प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्ने छन् ।

सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी

धनगढी – सुदूरपश्चिम प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ ।

माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने  कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

सभामुख चयनका लाथि भोलि बिहीबार निर्वाचन हुँदैछ ।

‘अर्थतन्त्रलाई गति दिन सार्वजनिक र निजी क्षेत्रको सहकार्य अनिवार्य छ’: प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजी क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिए ।

उनले आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभुति, सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसदमा समेत प्रतिबद्धता व्यक्त गरेको स्मरण गरे ।

गोरखाका जनताले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्दै प्रचण्डले चुनावी प्रतिबद्धताअनुरूप विकासका लागि प्रतिबद्ध रहने समेत बताए ।

कृषिको आधुनिकीकरण, भौतिक पूर्वाधारको विकास, पर्यटन, कला संस्कृतिको संरक्षण, साना घरेलु उद्योगको प्रवद्र्धन र ठूला उद्योग निर्माण र बुढीगण्डकी जलविद्युत आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक, पालुङटार विमानस्थललगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखा जिल्लालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न लागि पर्ने उनको भनाइ थियो ।

सुदूरपश्चिममा सभामुखका लागि मनोनयन हुँदै

धनगढी, २७ पुस । सुदूरपश्चिम प्रदेश सभामुखका लागि नेकपा माओबादी केन्द्रमा तीन जना आकांक्षी देखिएका छन् ।भोलि (बिहीबार) १ बजे बस्ने प्रदेश सभा बैठकले सभामुख चयन गर्ने कार्य तालिका छ ।

त्यसका लागि आज मनोनयन दर्ता गर्ने तालिका  छ । प्रदेश सभा सचिवालयका अनुसार आज बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म मनोनय गर्ने समय तोकिएको छ ।

दिउँसो २ बजेदेखि ५ बजेसम्म दावी बिरोध र उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।प्रदेश सभा सचिवालयले आज साढे पाँच बजे सभामुखका लागि उम्मेदरावको अन्तिम सूचि प्रकाशित गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवरज जोशीले बताए ।

सत्ता गठबन्धनको भागबण्डाअनुसार सुदूरपश्चिममा मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रले पाएको छ ।
नेकपा माओवादी केन्द्रबाट सभामुखका लागि अछाम क्षेत्र नम्बर–२ को प्रदेश सभा क बाट निर्वाचित अक्कल रावल, डोटी प्रदेश सभा ख बाट निर्वाचित शिवसिंह ओली र दार्चुला प्रदेश सभा ख बाट निर्वाचित मानबहादुर धामी आकांक्षी रहेका छन् ।
‘सभामुखका लागि दुई तीन जनाले आकांक्षा देखाएका छन्,’ नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरी चौधरी (उत्सव) ले भने, ’छलफल गरिरहेका छौं, सहमतिमै एक जनाको नाम टुङ्गो लगाइनेछ ।’

प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पुस १८ गते बसेको प्रदेश सभा बैठकले पुस २८ गते सभाुमखकको चयन गर्ने निर्णय गरेको थियो । जसअनुसार बिहीबार दिउसो १ बजे बस्ने प्रदेश सभा बैठकमा सभामुख चयनका लागि निर्वाचन हुने छ ।

प्रदेशमा उपसभामुख पद भने नागरिक उन्मुक्ति पार्टीलाई दिने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । तर, नागरिक उन्मुक्ति पार्टीले अझै पनि सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने टुङ्गो लगाउन सकेको छैन । सभामुखका लागि अहिलेसम्म बसैको उम्मेदवारी नपरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्न नागरिक उन्मुक्तिले माग्यो लिखित सहमति

धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा समर्थनका लागि नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी सहितका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने लिखित सहमति माग गरेको छ ।
सत्ता साझेदार दल माओवादी र एमालेका अध्यक्ष सामु रेशम चौधरीलगायत टिकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेता कार्यकर्ता रिहाई गर्ने लिखित प्रतिबद्धता मागेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ ।

‘सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि हामी निर्णायक शक्ति बनेका छौं,’ नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले भने, ‘सरकारमा समर्थनका लागि टिकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका पार्टीका संरक्षक रेशम चौधरीलगायत नेता कार्यकर्ताको रिहाइ गर्ने लिखित सम्झौता आए मात्रै सत्तारुढ गठबन्धनलाई हामी समर्थन गर्नेछौं, अन्यथा कांग्रेससँग मिलेर पनि सरकार बनाउन सकिन्छ ।’

लिखित सम्झौताका लागि रेशम चौधरीलेनै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेको प्रमुख सचेतक चौधरीले बताए ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका आज ५ बजेसम्म दाबी पेश गरिसक्नु पर्नेछ । सत्ता गठबन्धनलाई सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी विना सरकार बनाउन सहज छैन । त्यसैले पनि नागरिक उन्मुक्ति पार्टीले अडान राखेको बुझिएको छ ।

सुदूरपश्चिम प्रदेशको नेतृत्वका लागि पहिलो चरणमा एमालले दाबी पेश गर्ने सत्तारुढ दलबीच सहमति भएको थियो । त्यसअनुसार नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएमा एमालेबाट सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावलले आजै प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने छन् ।

एमालेका प्रदेश कमिटी सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले भने नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकार निर्माणमा सहयोग गर्नेमा आफूहरू आशावादी रहेको बताएका छन् । ‘मुख्यमन्त्रीका लागि हाम्रो दलबाट संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेश गर्ने निश्चित छ,’ उनले भने, ‘उहाँलाई नागरिक उन्मुक्ति पार्टीले पनि सघाउने छ ।’

सुदूरपश्चिम प्रदेशमा शत्तारुढ गठबन्धनमा आबद्ध रहेका सबै दलले समर्थन दिए मात्रै मुख्यमन्त्रीमा दाबी पेश गर्न आवश्यक पर्ने बहुमत पुग्ने छ । नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थमा माओवादी केन्द्र, एमाले र राप्रपासँग २२ जना प्रदेशसभा सदस्य मात्रै रहेको छन् । प्रदेशमा बहुमत जुटाउन २७ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने छन् ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्ने छ । प्रदेशमा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

दुई दिनअघि नै हाजिरी गरेर बिदामा बसे मेडिकल अधिकृत चपाई

सुर्खेत, २७ पुस । जाजरकोटको बारेकोट गाउँपालिकाको लिम्सास्थित स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृत सन्तोष चपाई दुई दिनअघि हाजिरी गरेर बिदामा बसेको खुलासा भएको छ ।

२५ पुसमा लिम्साबाट बिदामा गएका डाक्टर चपाई २६ र २७ गतेका हाजिरसमेत लगाएर गएको पाइएपछि हाजिरी नै काटिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले बताए । अनुगमनका क्रम्मा उक्त कुरा फेला परेको उनले बताए । यस विषयमा जिज्ञासा राख्दा चपाई सम्पर्कमा आउन चाहेनन्र । २७ गते सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकाे छ ।

गोरखा महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर त्यसतर्फ लागेका छन् । बुधबार माओवादी केन्द्र निकट वाईसीएलको भेलालाई सम्बोधन गरिसकेपछि प्रधानमन्त्री प्रचण्ड माओवादी, कांग्रेससहितका सांसदहरूसहित गोरखा गएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत गएका छन् ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

जनकपुरधाम, २७ पुस । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । यसअघि यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी गरेका थिए ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादवले दाबी गर्ने

जनकपुरधाम, २७ पुस । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवले दाबी गर्ने भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी गर्ने भएका हुन् । आजै यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

सातदलीय गठबन्धनमा मधेस प्रदेशमा पहिलो कार्यकाल जसपा र दोस्रो कार्यकाल जनमत पार्टीबाट मुख्यमन्त्री बन्ने सहमति छ । तर, मधेस प्रदेशमा जसपाको नेतृत्वमा गठन हुने सरकारलाई कांग्रेस, लोसपा र एकीकृत समाजवादीले पनि समर्थन गर्ने सम्भावना रहेको बताइन्छ ।

केही दिनअघि जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारलाई समर्थन गरिदिन प्रस्ताव गरिसकेका छन् ।

मधेस प्रदेशमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र जसपा तेस्रो ठूलो दल छन् ।