`

आफूलाई समर्थन गरेका सबै सांसदबाट विश्वासको मत पाउने विश्वासमा प्रचण्ड

Nepal One HD २५ पुष २०७९ ८:०३
राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ ।उनी माओवादी केन्द्र, एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । आफूलाई समर्थन गरेका सबै सांसदबाट विश्वासको मत पाउने विश्वासमा दाहाल छन् ।

तर सत्ता गठबन्धनबाहिर रहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सक्ने स्रोतले बताएको छ । यसबारे कांग्रेस र नेकपा एसले कुनै निर्णय गरिसकेका छैनन् ।

राष्ट्रपति र सभामुख पाउने सर्तमा यी दुई दल प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षी बेन्चमा बस्न सक्ने स्रोतको दावी छ । तर राष्ट्रपति र सभामुख एमालेलाई नै दिने माओवादी केन्द्रको निर्णय भए कांग्रेस र नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेछैनन् ।अहिले राष्ट्रिय सहमतीय सरकारको कुरा राष्ट्रपति र सभामुख हात पार्ने खेलअन्तर्गत उठाइएको सत्तापक्षका एक नेताले बताए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखिसकेका छन् ।नेपाल समाजवादी पार्टी (नेसपा) का नेता बाबुराम भट्टराईले पनि सामाजिक सञ्जालमा वर्तमान निर्वाचन प्रणाली रहुन्जेल कुनै दलको बहुमत नआउने र देश सधैं अस्थिरतामा फसिरहनेु लेखेका छन् ।

यसको अर्थ राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने हुन सक्छ। राजनीतिक वृत्तमा पनि कांग्रेसलाई राष्ट्रपति र नेकपा एसलाई सभामुख दिएर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने चर्चा भइरहेको छ ।यो खबर आजको नागरिक दैनिकमा छ ।


प्रतिक्रिया