`

बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु

काठमाडौँ – नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले स्थलगत रुपमै अध्ययन सुरु गरेको छ । समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरुसहितको टोली आज बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको हो ।

छानबिन समितिको सहयोगमा आज मृतक अञ्जु थारुकी सात वर्षीया छोरी अनिताको जन्म दर्ता र आमा अञ्जुको मृत्यु दर्ता सम्पन्न भएको छ । समिति सदस्य कुलशेखर अर्यालका अनुसार टोलीले घटनास्थलमा आएर पीडित परिवारलाई सहजीकरण र घटनाका बारेमा छानबिन थालेको छ । “बाँकी समस्या बुझेर प्रतिवेदनमा उल्लेख गर्नेछौँ”, उहाँले भन्नुभयो ।

घटनापछि अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता भएको छ । उनलाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भइसकेको छ । सो घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको छ ।

सो घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले यही मङ्सिर २१ गते सहसचिव पन्थीको संयोजकत्वमा, उपसचिव अर्याल र बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सदस्य रहेको समिति गठन गरेको थियो । समितिलाई पाँच दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ ।

बर्दियाको बढैयाताल–४ की २२ बर्सिया अन्जु थारुले गाउँकै अनिल थारुसँग बिहे गर्नुभएको थियो । अञ्जुले श्रीमान विरुद्ध अंश मुद्दा दर्ता गरेकामा अदालतले अंश दिने फैसला गरे पनि नागरिकता नभएका कारण अंश पाउन सक्नुभएन । नागरिकता नहुँदा उहाँकी छोरीको जन्मदर्ता हुन सकेन । अंश दिने न्यायिक प्रक्रिया समेत अवरुद्ध भयो ।

अदालतले अंश दिन आदेश गरे पनि वडा कार्यालयले नागरिकताको सिफारिस गरेन । आमाको नामबाट सन्तानको जन्मदर्ता हुनसक्ने कानुनी व्यवस्था भए पनि अञ्जुले सात वर्षकी छोरीको जन्म दर्ता गर्न सक्नुभएन । वडाले ‘बुबाको नागरिकता चाहिन्छ’ भन्दै जन्मदर्ता बनाइदिएन ।

माइतीबाट नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासनले रोक्यो । स्थानीय तह र प्रशासनबाट निरन्तर असहयोग भएपछि अञ्जुले माइतीमै गत कात्तिक २२ आत्महत्या गर्नुभएको थियो । अञ्जुले आत्महत्या गरेको चार दिनमै छोरीको मृत्युको शोकमा रहनुभएका ६१ वर्षीय बाबु कान्छा थारुले पनि आत्महत्या गर्नुभएको थियो ।

एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

काठमाडौँ – लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौँ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान गरे ।काठमाडौँका सन्तोष यादवले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो । काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए । उनले १७ बलमा एक छक्काको सहयोगमा २३ रन जोडेका हुन् ।

त्यसैगरी, जोन सिमसन र मोहमद आदिल आलमले समान १८/१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए । कप्तान करण केसी नौ रनमा आउट भए ।

काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट लिए । यस्तै ट्रम्पलम्यानले दुई विकेट लिए भने अभिशेष गौतमले एक विकेट झारे । लुम्बिनीले अब विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

अवसरबाट वञ्चित भएकाहरूलाई राज्यले प्राथमिकता दिनुपर्छ : उपसभामुख चापागाईं

बागमती – बागमती प्रदेशका उपसभामुख अप्सारा चापागाईंले अवसरबाट वञ्चित भएका नागरिकलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

विश्व मानव अधिकार दिवसका अवसरमा आज हेटौँडामा आयोजित ‘‘मानव अधिकार र आम निर्वाचन’ विषयक अन्तरपुस्ता संवाद कार्यक्रममा उपसभामुख चापागाईंले मावअधिकारको बहसलाई ठूला र पहुँचवालाहरूको घेराबाट बाहिर निकालेर पीडित र अवसरबाट वञ्चित उत्पीडित सीमान्तकृत समुदायसम्म पुर्‍याउनुपर्ने बताउनुभयो ।

“अहिलेसम्म मानव अधिकारको बहस टाठाबाठा र पहुँचवालाहरूको घेरामा मात्र सीमित हुँदै आएको छ”, उपसभामुख चापागाईंले भन्नुभयो, “अब त्यो बहसलाई गरिब, दलित र अवसरबाट वञ्चित समुदायका लागि केन्द्रित गर्नुपर्छ ।” मानवअधिकारको बहसलाई सरकारको तीनवटै अङ्गका विषयहरूसँगै प्राकृतिक स्रोतसाधनको विषयलाई पनि समेट्नुपर्नेमा जोड दिनुहुँदै उहाँले जल, जङ्गल र जमिनभित्रको मानव अधिकारको विषयलाई पनि उठाउनुपर्ने बताउनुभयो ।

प्रदेशसभाले हालसम्म ९१ वटा कानुन निर्माण गरिसकेको र सो कानुन कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले कानुनमा युवापुस्ताका सवालहरूलाई समेट्न आवश्यक परे संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा युवापुस्ताका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिहरूले मानव अधिकारको सवालमा आ–आफ्ना धारणा राख्नुभयो ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौँ, – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहका तर्फबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताउनुभएको छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७–२९ गतेसम्म काठमाडौँमा हुन गइरहेको सन्दर्भमा आज सम्पादकहरूसँग अन्तरसंवाद गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताउनुभयो ।

उहाँले नेतृत्व पुस्तान्तरण र हस्तान्तरणसहित विधि र प्रक्रियाका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्दछ भन्ने आम नेता तथा कार्यकर्ताको भावनलाई सम्मान गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको स्पष्ट गनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावी प्रतिस्पर्धामा जितहारको अवस्थालाई स्वाभाविक रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै निर्वाचनको परिणाम जेजस्तो आए पनि आफूहरू पार्टीका पक्षमा दृढताका साथ उभिने स्पष्ट गर्नुभयो ।

एक प्रश्नको जिज्ञासामा वरिष्ठ उपाध्यक्ष पोखरेलले राज्यको संविधान, पार्टीको विधान, अन्तरराष्ट्रिय असल अभ्यास र सम्बन्धित व्यक्तिको चाहना भए जो कोहीलाई राजनीतिमा आउन दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसैगरी प्रतिनिधि सभाको पुनःस्थापनासम्बन्धी विषय हाल अदालतमा विचाराधीन रहेकाले अनावश्यक टीकाटिप्पणी गर्न नहुने बताउँदै उहाँले लोकतन्त्र र निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले एमालेले आगामी निर्वाचनमा भाग लिने स्पष्ट गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकका वामपन्थी शक्तिहरूबीच एकता हुनुपर्ने पक्षमा आफूहरू रहेको बताउनुभयो ।

प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरसंवाद कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताको उपस्थिति थियो ।

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ

सिरहा – यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।मङ्गलबार मध्याह्न १२ः०० बजेको समयमा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ आइरहेको भारतीय नम्बर प्लेट भएको बिआर ३२ एडब्लु –८३७७ नम्बरको स्कुटी जाँच गर्ने क्रममा स्कुटीको डिकीभित्र लुकाइछिपाइ राखिएको सात लाख रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक शर्माका अनुसार उक्त स्कुटी चलाइरहेका बरियारपट्टी गाउँपालिका–३ का ४६ वर्षीय दिनेश महतोलाई घटनास्थलमै नियन्त्रणमा लिइएको छ । उहाँका अनुसार, बरियारपट्टी क्षेत्रमा केही दिनदेखि निगरानी बढाइएपछि जाँच कडा पारिएको थियो ।

सोही क्रममा महतोलाई रोकिएको र डिकी खोल्दा ठूलो परिमाणको नगद भेटिएको हो । पक्राउ परेका महतोमाथि नगदको स्रोत, प्रयोजन तथा सम्भावित अवैध कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यसैसँगै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

धरान (सुनसरी), २४ मङ्सिरः धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् ।

आज बिहान करिब ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुलको बसले विपरीत दिशाबाट आउँदै गरेको को१ह ८७७४ नम्बरको अटोलार्ई ठक्कर दिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक धरान उपमहानगरपालिका–१९, एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता खड्काले बताउनुभयो ।

उक्त अटोमा सवार धरान–१९ का ४८ वर्षीय टिकाराम लिम्बू घाइते हुनुभएको छ । उहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।अटोलाई ठक्कर दिने बस चालक धरान उपमहानगरपालिका–१४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ ।

काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक, २४ मङ्सिरः यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् ।

समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कुल दुई हजार २०९ विद्यार्थी यसपटक दीक्षित भएका छन् । दीक्षितमध्ये पिएचडी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका एक हजार ७२८ जना रहेका छन् ।

दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भूटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका र भियतनामका १९६ विदेशी विद्यार्थी रहेको विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्लेले जानकारी दिनुभयो ।

स्नातकोत्तर तहमा सबैभन्दा बढी चार सिजिपिए प्राप्त गर्ने मास्टर्स अफ आर्टस इन ट्रान्सलेसन, टेक्सुअल इन्टरप्रिटेसन एन्ड फिलोलोजी अध्यनरत स्पेनकी माइते कास्टेलानो मेन्चाकालाई चान्सलर स्वर्णपदक, स्नातक तहमा सबैभन्दा बढी ८५ दशमलव ४५ प्रतिशत अङ्क प्राप्त गर्ने एमबिबिएसतर्फ नोबेल मेडिकल कलेज विराटनगरका गौरव सिंह साउदलाई भाइस चान्सलर स्वर्ण पदक, एमबिए तहमा सबैभन्दा बढी सिजिपिए तीन दशमलव ९४ ल्याउने स्कुल अफ म्यानेजमेन्टका अरुणा बुढाथोकीलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्णपदक तीन दशमलव ९४ सजिपिए ल्याउने स्कुल अफ मेनेजमेन्टका सौगात दङ्गाललाई प्रदान गरिएको छ ।

प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजित समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन तथा नयाँ दिल्लीस्थित जवाहरलाल–नेहरू विश्वविद्यालयका उपकुलपति प्राध्यापक शान्तिश्री धुलिपुडी पण्डितको सहभागिता रहेको थियो । ३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षितको हुनेको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये पाँच हजार ८६० विदेशी विद्यार्थी अर्थात् करिब १२ प्रतिशत रहेका छन् ।

एनपिएल क्रिकेट : काठमाडौँ एक सय ११ रनमा ‘अलआउट’

काठमाडौँ, २४ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटरमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि ११२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो ।

काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए । उनले १७ बलमा एक छक्काको सहयोगमा २३ रन जोडेका हुन् । त्यसैगरी, जोन सिमसन र मोहमद आदिल आलमले समान १८/१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए । कप्तान करण केसी नौ रनमा आउट भए ।

यता काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट लिए । यस्तै ट्रम्पलम्यानले दुई विकेट लिए भने अभिशेष गौतमले एक विकेट झारे । यस खेलको विजेता टोलीले भोलि विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी

काठमाडौँ, २४ मङ्सिर : नेपाल सरकारले मौरिसससँग सन् १९९९ अगस्त ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णयको औपचारिक जानकारी कूटनीतिक माध्यमबाट पठाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले नेपालका तर्फबाट तोकिएका सक्षम अधिकारीको हैसियतमा सम्झौताको धारा २९, उपधारा १ बमोजिम खारेजीको सूचना औपचारिक पत्रमार्फत मौरिसस सरकारलाई प्रेषण गरेका हुन् ।

विभागद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार यो कदम हालको घरेलु कर कानुन तथा विश्वव्यापी कर शासन व्यवस्थामा आएका महत्त्वपूर्ण परिवर्तनहरूसँग नेपाललाई मिलाएर लैजान आवश्यक भएकाले चालिएको रणनीतिक निर्णय हो ।

नेपालले आयकर ऐन, २०५८ ले कर प्रणालीमा व्यापक सुधार गरेको र ऐनमा कर दुरुपयोग नियन्त्रणसम्बन्धी आधुनिक प्रावधानहरू समावेश हुँदा विद्यमान दोहोरो करमुक्ति सम्झौताका केही धारासँग मेल नखाने अवस्था उत्पन्न भएको विभागले जनाएको छ ।

विशेषगरी, ऐनको दफा ७३(५) मा समावेश सीमित लाभको प्रावधानले सन्धि कार्यान्वयनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरिएको छ । नेपालले पुरानो सन्धि खारेज गरेर समकालीन आवश्यकताका अनुरूप नयाँ कर सम्झौताका लागि मार्ग प्रशस्त गर्न खोजेको सरकारको भनाइ छ ।

नेपालले मौरिसससँग आर्थिक तथा कर सहयोगका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारका अनुसार दुवै पक्षबीच नयाँ तथा आधुनिक दोहोरो करमुक्ति सम्झौता र द्विपक्षीय लगानी संरक्षण सम्झौता मा वार्ता गर्ने सम्भावना खुला छ ।

आगामी कुनै पनि सम्झौता पारस्परिक हित, पारदर्शिता र वर्तमान विश्वव्यापी आर्थिक परिवेशसँग मेल खाने आधारमा गर्नुपर्नेमा सरकार दृढ रहेको विज्ञप्तिमा उल्लेख छ । दोहोरो करमुक्ति सम्झौताको खारेजीको प्रभाव नेपालका लागि आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि लागू हुनेछ । यो मिति सम्झौतामा उल्लिखित समाप्ति प्रावधानअनुसार निर्धारण गरिएको हो ।

सहमति नभए स्वच्छ प्रतिस्पार्धाबाट नेतृत्व चयन हुन्छः सचिव अर्याल

काठमाडौँ, २४ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले महाधिवेशनमा अध्यक्षलगायत पदमा आकाङ्क्षीहरू हुनु सुखद पक्ष भएको उल्लेख गर्दै ती आकाङ्क्षीलाई महाधिवेशनका प्रतिनिधिले विधिसम्मत प्रक्रियाबाट हल गर्ने बताउनुभयो ।

सचिव अर्यालले पार्टीभित्र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको शैली चल्दै आएको बताउँदै निर्णय हुनुपूर्व छलफल हुने र निर्णय भएपछि त्यसको पालना हुनुपर्ने स्पष्ट गर्नुभयो । गत भदौ २०–२२ मा सम्पन्न दोस्रो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनलगायत दस्तावेजमा छलफल भइसकेकाले अहिलेको राष्ट्रिय महाधिवेशनमा दस्तावेजमाथि छलफल नहुने उहाँले उल्लेख गर्नुभयो । बन्दसत्रको सञ्चालन अध्यक्ष मण्डलको विधिबाट हुने उहाँको भनाइ छ । एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ ।

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २४ मङ्सिर : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल र कतारबीचको आपसी सम्बन्ध, बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य, श्रम, आप्रवासन, व्यापार लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र कतारबीचको सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रही उत्कृष्ट रूपमा विकसित भएकामा सन्तोष व्यक्त गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घ तथा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका रूपमा नेपाल र कतारले विभिन्न बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा निरन्तर सहकार्य प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले हालैका वर्षहरूमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदानले दुई देशबीचको सम्बन्ध अझ घनिष्ट बनेको बताउनुभयो । कतारमा करिब तीन लाख ६५ हजार नेपाली श्रमिक कार्यरत रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले रोजगारीको अवसर प्रदान गरेकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो । “नेपाली श्रमिकहरूले कतारको अर्थतन्त्रमा पुर्‍याएको योगदान र नेपालमा रहेका परिवारलाई सहयोग गर्दै नेपालको अर्थतन्त्रलाई सुदृढ बनाएकामा खुसी व्यक्त गर्दछु,” उहाँले भन्नुभयो, “नेपाल सरकार सुरक्षित तथा सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित गर्न प्रतिबद्ध छ ।”

उपराष्ट्रपति यादवले सन् २०२५ को रमादान तथा ईदका अवसरमा नेपाली बन्दीहरूलाई ‘अमीरि क्षमादान’ प्रदान गरेकामा कतारका अमिरप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । साथै, नेपाल २०२६ मा अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति गर्ने र २०३० सम्म मध्यम आय भएको देश बन्ने लक्ष्य राखेको सन्दर्भमा कतारसहितका मित्रराष्ट्रहरूबाट थप लगानी तथा सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाल र कतारबीचको प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले काठमाडौँ र दोहा प्रत्यक्ष उडानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा नेपाली जनताको आतिथ्यभाव कतारी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने बताउनुभयो ।

कतारको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति यादवले राजदूतमार्फत कतारका अमिर हिज हाइनेस शेख तमिम बिन हमाद अल–थानी तथा कतारका जनतालाई हार्दिक बधाई दिँदै अमिरको सुस्वास्थ्य, खुसी तथा कतार जनताको शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभयो ।

कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीले नेपाल र कतारबीच धेरै पुरानो तथा बलियो सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल सरकारको अनुरोधमा कतारले ३० जना नेपालीलाई कतारको कारागारबाट रिहा गरेको बताउनुभयो ।

रुपन्देही–३ः कांग्रेसबाट बालकृष्ण खाणसहित छ जना सिफारिस

देवदह (रुपन्देही), २४ मङ्सिरः नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले राससलाई जानकारी दिनुभयो ।यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उहाँले बताउनुभयो ।

उदयपुरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

उदयपुर (गाईघाट), २४ मङ्सिरः चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै, यात्रु सङ्ख्या र आम्दानी दुवैमा उल्लेखनीय वृद्धि

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर्ब २० करोड यात्रु ढुवानी गर्ने अनुमान गरिएको छ, जसले नयाँ कीर्तिमान स्थापित गर्नेछ ।

सङ्गठनले सन् २०२५ मा विमान कम्पनीहरूले तीन हजार नौ सय ५० करोड रुपैयाँ बराबरको आम्दानी गर्ने प्रक्षेपण गरेको छ, र सन् २०२६ मा पनि करिब चार हजार १०० करोड रुपैयाँ बराबरको मुनाफा रहने अपेक्षा राखिएको छ ।

उपकरण आपूर्ति शृङ्खलामा देखिएका अवरोध, विश्वव्यापी राजनीतिक तनाव, सुस्त हुँदै गएको व्यापार र राष्ट्रहरूले थपेका कडा नियमजस्ता चुनौतीका बीच पनि राम्रो सुधार देखिएको महासचिव विलि वाल्शले बताउनुभयो । उहाँले विशेषतः हवाई मालसामान ढुवानीको सुधरिएको अवस्थाले विमान सेवाको समग्र आर्जनमा ठुलो योगदान पु¥याएको उल्लेख गर्नुभयो । साथै, क्षेत्रगत आम्दानी फरक–फरक रहेको बताइएको छ ।

यस वर्ष यात्रु सङ्ख्या पनि उच्च रहने अपेक्षा गरिएको छ, जुन सन् २०२५ मा करिब चार अर्ब ९८ करोड पुग्नेछ, र यो २०२४ को चार अर्ब ७७ करोड यात्रुको अघिल्लो कीर्तिमानभन्दा धेरै हो ।

साइबर अपराध र अनलाइन ठगी रोक्न अष्ट्रेलियाको नयाँ नीति

अष्ट्रेलियामा अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन् । प्रधानमन्त्री एन्टोनी अल्बानीजले यो कदमले बालबालिकालाई सुरक्षित र स्वस्थ वातावरणमा हुर्किन मद्दत गर्ने बताउनुभयो ।

यो नियम बुधबारदेखि लागू हुँदैछ । सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न नदिने व्यवस्था गर्न भनेको छ ।

हाल फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट जस्ता १० वटा सञ्जालमा यो नियम लागू हुनेछ ।

प्रधानमन्त्रीले भन्नुभयो,“आजका बालबालिका मोबाइल र सामाजिक सञ्जालका धेरै प्रभावमा हुने भएकाले उनीहरूलाई केही राहत दिने उद्देश्यले यो निर्णय गरिएको हो ।”

यदि नियम तोडियो भने बालबालिका वा अभिभावकले कुनै सजाय पाउने छैनन् । जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीकै हुनेछ । नियम बारम्बार नमान्ने कम्पनीलाई ठूलो जरिवाना लाग्नेछ ।सरकारले उमेर पत्ता लगाउने प्रविधि पूर्ण रूपमा काम गर्न केही समय लाग्न सक्ने बताएको छ ।

जेनजी आन्दोलनको क्षतिमा ४ अर्ब ३८ करोड ४८ लाख बीमा दावी भुक्तानी

काठमाडौं । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिव २३ अर्ब ४४ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब १ करोड रुपैयाँ मध्ये करिव ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ र मोटर बीमातर्फ २ हजार ३०८ वटा बीमा दाबीको दाबी रकम करिव ३ अर्ब ४८ करोड रुपैयाँ मध्ये करिव १ अर्ब ९ करोड रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिव ५५ करोड ५५ लाख रुपैयाँ दाबी रकममध्ये करिव ६ करोड ८१ लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव ६६ लाख रुपैयाँ र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिव ४९ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।बीमकहरूलाई करिव २ अर्ब ५६ करोड रुपैयाँ अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ५६ करोड रुपैयाँ अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६१ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८१ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।

सङ्घीय सरकारको आधारभूत अस्पताल बनाउने योजना महत्वाकाङ्क्षी, कार्यान्वयन सुस्त

वीरगञ्ज (पर्सा), २४ मङ्सिरः सङ्घीय सरकारले २०७७ सालमा पहिलो चरणमा पर्साका चार पालिकासहित मुलुकभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सा¥यो । योजनामा पालिकाको क्षमताअनुसार क्रमशः पाँच, १० र १५ श्यया क्षमताका आधारभूत अस्पताल दुई वर्षभित्रै सम्पन्न हुने गरी बनाउने घोषणा गरिएको थियो ।

घोषणाअनुसार पर्सा जिल्लामा चार आधारभूत अस्पताल निर्माण हुनुपर्नेमा अहिलेसम्म भने एउटा अस्पताल मात्रै सञ्चालनमा आएको छ । बाँकी तीन आधारभूत अस्पतालको निर्माण कहिले सकिने अझैसम्म पनि टुङ्गो लागेको छैन ।

पटेर्वा सुगौली गाउँपालिकामा १० श्ययाको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छ भने यहाँको ठोरी गाउँपालिकामा निर्माणाधीन १५ श्ययाको अस्पताल निर्माण अझैसम्म पूरा भएको छैन । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पालिकामा निर्माण गर्ने १५ श्ययाको अस्पतालको काम पूरा नभएको बताउनुभयो ।

“आधारभूत अस्पतालको भवन मात्रै ठडिएको छ”, उहाँले भन्नुभयो, ‘‘झ्याल÷ढोका, खानेपानीका पाइपलगायतका काम तथा अत्यावश्यक पूर्वाधारका संरचना अझैसम्म पनि तयार भएका छैनन”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले बजेट अभाव देखाउँदै बाँकी रहेको काम सम्पन्न गर्ने तदरुपता देखाइरहेको छैन ।” आफूहरुले आधारभूत अस्पतालको भवन सम्पन्न गराउनको लागि पटकपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पहलकदमी गरे पनि अहिलेसम्म उपलब्धि नभएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले अस्पताल भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीविरुद्ध कालोसूचीमा राख्नका लागि सिफारिस गर्ने चरणमा पुगेको बताउनुभयो । “आधारभूत अस्पताल भवन सम्पन्न गर्न अझै पनि दुई करोडभन्दा धेरै खर्च लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठले आधारभूत अस्पताल भवन तत्कालै निर्माण सम्पन्न भए सेवाग्राही लाभान्वित हुने बताउनुभयो । ठोरीको मात्रै नभएर यहाँका अन्य दुई पालिकामा पनि आधारभूत अस्पतालको प्रगति उत्साहजनक छैन । धोबिनी गाउँपालिकामा निर्माणाधीन १५ श्ययाको आधारभूत अस्पताल निर्माणमा ढिलासुस्ती भएको छ । सो अस्पतालको प्रगति २५ प्रतिशत मात्रै छ ।

त्यस्तै, जिराभवानीमा निर्माणाधीन १० श्ययाको अस्पतालको पनि प्रगति २० प्रतिशतभन्दा अघि बढ्न सकेको छैन । सङ्घीय सरकारले अघि सारेको आधारभूत अस्पतालमध्ये पर्साको पटेर्वासुगौली गाउँपालिकामा भने १० शै्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले आफूहरुको निरन्तरको पहलकदमीका कारणले आधारभूत अस्पताल सम्पन्न गरेर सेवा प्रवाह गर्न सकेको बताउनुहुन्छ ।

“हाम्रो पालिकामा पनि १० श्ययाको आधारभूत अस्पताल सम्पन्न गराउन विभिन्न खालका बाधा अड्चन त आएका थिए । हाम्रो निरन्तर पहलकदमी र समन्वयकै कारणले अस्पतालको भवन निर्माण सम्पन्न गराएर अहिले नियमित रुपमा स्वास्थ्य सेवा उपलब्ध हुँदै आइरहेको छ ।”

अहिले पटेर्वासुगौलीको आधारभूत अस्पतालमा एक एमबिबिएस उत्तीर्ण गरेका चिकित्सकसहितको स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । अध्यक्ष चौधरीले पालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्य सरकारी निकायसँग समन्वय तथा सहकार्य गरेर अस्पतालमा विभिन्न स्वास्थ्य उपकरणसहितको भरपर्दाे स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको दाबी गर्नुभयो ।

“पालिकाले अब आन्तरिक स्रोतबाटै एक चिकित्सकलाई राख्ने तयारीमा जुटिरहेका छौँ”, उहाँले भन्नुभयो, “दुई जना चिकित्सक भएको खण्डमा स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुनेछ ।”

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर १५ गते पहिलो चरणमा मुलुकभरका ३९६ पालिकामा पाँचदेखि १५ श्ययाको अस्पताल निर्माणको एकसाथ शिलान्यास गर्नुभएको थियो । त्यसबेला ३९६ अस्पताल दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने बताइएको थियो । सङ्घीय सरकारले पहिलो र दोस्रो चरणमा गरेर मुलुकभरमा रहेका ७५३ पालिकामध्ये ६५७ वटा पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले सङ्घीय सरकारले दुई चरणमा गरेर मुलुकभरका ६५७ पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने योजनामध्ये अहिलेसम्म ८७ वटा आधारभूत अस्पताल निर्माणको काम सम्पन्न भइसकेको बताउनुभयो ।

“छ सय ५७ आधारभूत अस्पतालमध्ये हालसम्म चार ४२७ वटा अस्पतालको ठेक्का सम्झौता भइसकेको छ”, उहाँले भन्नुभयो, “बाँकी रहेका २३० वटा अस्पतालको अहिलेसम्म पनि ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन ।”

प्रमुख पौडलका अनुसार २३० पालिकामा आधारभूत अस्पताल निर्माणका लागि जग्गाप्राप्ति र अस्पताल कहाँ निर्माण गर्ने भन्ने ठाउँ विवादले ठेक्का व्यवस्थापनको काम अघि बढ्न नसकेको बताउनुभयो । “दुई चरणका आधारभूत अस्पताल निर्माणका लागि गरेर ९२ अर्ब लाग्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “हालसम्म करिब रु ३२ अर्बभन्दा धेरै रकम खर्च भइसकेको छ ।”

सरकारले चालु आर्थिक वर्षसम्म १०६ आधारभूत अस्पताल निर्माण सम्पन्न हुने लक्ष्य राखेको छ । चालु आवमा आधारभूत अस्पताल निर्माणका लागि रु ६ अर्ब बजेट विनियोजन गरिएको छ । महाशाखा प्रमुख पौडेलले ठेक्का सम्झौता भएर काम सुरुआत भएका आधारभूत अस्पताल निर्माण गर्ने काम भइरहेको बताउनुभयो । ठेक्का व्यवस्थापन नभएका आधारभूत अस्पतालको प्रक्रिया अघि बढ्न नसकिरहेको उहाँले बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत प्रकाश पन्थीले आधारभूत अस्पताल निर्माणको भौतिक प्रगति र सञ्चालन भएका अस्पतालको विवरणलाई व्यवस्थित गर्न ‘सिस्टम डिजाइन’को काम अघि बढिरहेको जानकारी दिनुभयो । विसं २०८२ वैशाख ८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीस्तरको निर्णयबाट आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ समेत स्वीकृत भइसकेको छ ।

सो मापदण्डमा स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ । सङ्घीय सरकारले निर्माण सम्पन्न भएका अस्पतालको संलग्न नमुना दरबन्दी तेरिजका आधारमा जनशक्ति व्यवस्थापनको लागि छात्रवृत्ति करारका चिकित्सक र स्वास्थ्यकर्मी मन्त्रालय र विभागले प्रदेशमार्फत खटाउने र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने जिम्मेवारी तोकिएको छ ।

प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि खटिएका जनशक्तिको ज्ञान, सीप र दक्षता अभिवृद्धि र आवधिक सुपरीवेक्षण गर्ने दायित्व तोकिएको छ । अस्पताल सञ्चालनको पूर्ण स्वामित्व एवं जिम्मेवारी भने स्थानीय सरकारको हुने मापदण्डमा तोकिएको छ । सम्बन्धित स्थानीय तहले निःशुल्क आधारभूत सेवाको सुनिश्चितताका लागि २४सै घण्टा सामान्य आकस्मिक सेवा, बाहिरङ्ग सेवा, फार्मेसी सेवा, प्रयोगशाला, एक्स–रे सेवालगायत उपलब्ध गराउनुपर्ने मापदण्डमा उल्लेख छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २४ मङ्सिरः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु सेतो प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ५५, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिवल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ५०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९०,मकै बोडी प्रतिकिलो रु ७५ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १२५, तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ९०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु ११०, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो १००, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु १२०, चमसुर प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु १६०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु ५५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ६५, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु २५० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु ९०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु २८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ५० निर्धारण गरिएको छ ।

यस्तो रहने छ आजको मौसम, काठमाडौँको तापक्रम बिहान ६ डिग्री

काठमाडौँ, २४ मङ्सिरः जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ ।

काठमाडौँ उपत्यका आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ, २४ मङ्सिरः त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी छः उपराष्ट्रपति यादव

काठमाडौँ, २४ मङ्सिरः उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि मानव अधिकारको सुनिश्चितता अझै अपूर्ण रहेको तथ्यलाई उजागर गरेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “युवापुस्ताको असन्तोष नातावाद र भ्रष्टाचारविरुद्धको विद्रोहका सन्दर्भमा अन्तरराष्ट्रिय मानव अधिकार दिवसले नेपाललाई समानता, न्याय, वाक् स्वतन्त्रता र गरिमामय जीवन सुनिश्चित गर्न थप जिम्मेवार र संवेदनशील बन्न प्रेरित गरेको छ ।”

नयाँ पुस्ताको सक्रिय सहभागिताले मुलुकमा समान अवसर, पारदर्शिता र सुशासनको अपरिहार्यता स्पष्ट पारेको र सामाजिक न्यायप्रतिको आकाङ्क्षा र नेपाली जनचाहनालाई सम्बोधन गर्न आवश्यक रहेको उपराष्ट्रपति यादवको भनाइ छ । शुभकामना सन्देशमा भनिएको छ, “नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहित सामाजिक न्याय र मानव अधिकारका पक्षमा निरन्तर अग्रसर छ ।

राजनीतिक, आर्थिक र सामाजिक विकासको यात्रामा अझै केही वर्ग वा समुदायले अधिकार संरक्षणमा अपूर्णता महसुस गरिरहेका छन्, त्यसको पहिचान र सम्बोधन गर्नु हाम्रो साझा जिम्मेवारी हो, अधिकार सम्पन्न नागरिक नै राष्ट्रको समृद्धि र विकासका आधारस्तम्भ हुन् ।”

मानव अधिकार प्रत्येक व्यक्तिको सम्मान, गरिमा र स्वतन्त्रताको मूल आधार र दिवसले समानता, न्याय र मानव गरिमाको आदर्शलाई पुनःस्मरण गराउँदै अधिकारको प्रवद्र्धनमा दृढ प्रतिबद्ध रहन उत्प्रेरित गर्ने उपराष्ट्रपति यादवको विश्वास छ । उहाँले विभेद, अन्याय र अत्याचारको अन्त्यका लागि सामूहिक प्रयास अपरिहार्य छ, किनकी मानव अधिकारको उल्लङ्घन कुनै पनि रूपले स्वीकार्य हुन नसक्ने पनि बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “शिक्षा, रोजगारी, स्वास्थ्य सेवाजस्ता आधारभूत अधिकारमा सबै वर्ग, समुदाय र भूगोलको समान पहुँच सुनिश्चित गर्नु अपरिहार्य छ । साथै, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, मधेसी, शिल्पी समुदाय तथा अल्पसङ्ख्यक समूहका अधिकारलाई ठोस कदममार्फत सुदृढ बनाउनु आजको आवश्यकता हो, अन्तरराष्ट्रिय मानव अधिकार दिवसले संविधान प्रदत्त अधिकारहरूको प्रभावकारी कार्यान्वयनतर्फ नेपाललाई निरन्तर प्रेरित गरिरहेको छ ।”

सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर) को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ । उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । नेपालमा यस दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दछ ।

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकताः संयोजक दाहाल

काठमाडौँ, २४ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनलाई सबैको साझा सङ्कल्प बनाउनु आजको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ ।

७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रिक बन्न नसक्ने पनि उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “द्वन्द्वकालका पीडितहरूले न्याय, सत्यको खोजी र परिपूरण पाउनु मानव अधिकारको अविभाज्य विषय हो । सङ्क्रमणकालीन न्यायलाई चाँडोभन्दा चाँडो टुङ्गोमा पु¥याएर पीडितको घाउमा मलम लगाउने कामलाई हामी कुनै पनि हालतमा पछि सार्न सक्दैनौँ । यो हाम्रो राजनीतिक र नैतिक दुवै दायित्व हो ।” पूर्वप्रधानमन्त्री दाहालले मानव अधिकारको साँचो अर्थ आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने हरेक व्यक्तिको जन्मसिद्ध अधिकारको प्रत्याभूति भएको उल्लेख गर्दै भन्नुभएको छ, “तर विडम्बना, हाम्रो समाजको ठूलो हिस्सा (दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, थारू, पिछडिएका क्षेत्र तथा सम्पूर्ण उत्पीडित–उपेक्षित समुदाय) लामो समयदेखि राज्यसत्ताबाटै संरक्षित विभेद र उत्पीडनको सिकार बन्दै आएका छन् ।”

नागरिकले समानतापूर्वक बाँच्न पाउने वातावरण, जातीय, लैङ्गिक, क्षेत्रीय, धार्मिक तथा सांस्कृतिकसहित सबैखाले विभेदको अन्त्य र राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारूलगायत समुदायको अर्थपूर्ण सहभागिताबिना समावेशी लोकतन्त्र अधुरो रहन्छ र मानव अधिकारको सार्थक प्रत्याभूति सम्भव नहुने उहाँको भनाइ छ ।

सन्देशमा भनिएको छ, “ऐतिहासिक विभेद र उत्पीडनविरुद्धको महान् जनयुद्ध, १९ दिने जनआन्दोलन तथा विभिन्न अधिकारमुखी आन्दोलनको बलमा प्राप्त भएको हाम्रो संविधानले यी अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ, तर अधिकार कागजमा मात्र सीमित हुनुहुँदैन, ती अधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती र दायित्व हो ।”

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ, २४ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “युवापुस्ताको आन्दोलनपश्चात् देशमा विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तरराष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको छ, देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान सरकार, राजनीतिक दल, नागरिक समाज, युवापुस्ताका अभियन्ता र सर्वसाधारण नागरिक सबैको संयोजनकारी र सकारात्मक भूमिका हुनुपर्छ ।”

७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दैै विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेका सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अझ बढी अग्रसरता लिनुपर्ने उल्लेख गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “मानवले मानवजस्तो भएर बाँच्न पाउने जीवनको आधार मानव अधिकार भएकाले आज विश्वमा मानव अधिकार दिवसलाई उच्च महत्वका साथ मनाइँदैछ, मानव अधिकार जन्मसिद्ध हक भएकाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका विषय नेपालको संविधानले अवलम्बन गर्दै स्वतन्त्रता, समानता र न्यायलाई मजबुत बनाउन योगदान पु¥याएको छ ।”

नेपाल मानव अधिकारसम्बन्धी विभिन्न अन्तरराष्ट्रिय सन्धि सम्झौताको पक्षराष्ट्रसमेत भएकाले मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन र परिपूर्तिसम्बन्धी दायित्वप्रति सदैव प्रतिबद्ध एवं संवेदनशील रहिआएको उल्लेख गर्दै सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सामाजिक सङ्घ, संस्था, सञ्चारमाध्यम तथा निजीक्षेत्रको सक्रियताले कमजोर तथा जोखिममा रहेका समूहको हकअधिकार, स्वतन्त्रता र न्यायको अनुभूति गराउन आवश्यक थप काम गर्नसकेमा मानव अधिकार दिवसले थप सार्थकता पाउने विश्वास पनि व्यक्त गर्नुभएको छ । व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानव अधिकारको महत्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको राष्ट्रपति पौडेलको भनाइ छ ।

ब्याटिङ नचल्दा पराजित भयौँः निर्देशक चौधरी

काठमाडौँ, २४ मङ्सिरः सुदूरपश्चिम रोयल्स राजधानीमा जारी दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । आज सम्पन्न पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन पनि उपाधि नजिक पुगेको हो । पराजित विराटनगरले भने दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।

आजको खेलपछि विराटनगरका निर्देशक दीपेन्द्र चौधरीले ब्याटिङ नचल्दा पराजित हुनुपरेको बताउनुभयो । अस्ती हाम्रो दिन थियो, आज सुदूरको दिन रह्यो । उहाँले भन्नुभयो, “ब्याटिङमा हामी चल्न सकेनौँ, त्यसको नतिजा सुदूरपश्चिमको पक्षमा प¥यो ।” आजको खेलमा भएका कमीकमजोरी सुधार गरेर अर्काे खेलमा सुधार गर्ने बताउनुभयो ।

यता सुदूरपश्चिमका विदेशी खेलाडी स्कट कुगेलेइनले भने यसपटकको उपाधि आफूहरूले जित्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लगातार दोस्रो पटक फाइनल पुगे पनि यसपल्ट उपाधि सुदूरपश्चिमले जित्ने हो ।”

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २४ मङ्सिरः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ६९ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३१ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २२ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आज ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ, २४ मङ्सिरः मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।

अन्तरराष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलले शुभकामना सन्देश दिनुभएको छ । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर) को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ ।

उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । नेपालमा यस दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दै आएको छ ।

मङ्गलबार मात्रै मानव अधिकार रक्षकहरुको अन्तरराष्ट्रिय दिवस मनाइएको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८, नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी, १९६६ मा प्रत्येक व्यक्तिको आफ्नो अधिकारका साथै अरुको अधिकारको लागि वकालत गर्न पाउने अधिकारको सुनिश्चितता गरिएको छ ।

नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्रतापूर्वक भेला हुन पाउने स्वतन्त्रता र सङ्गठन खोल्न पाउने स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको छ । नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेश, २०७७ समेत जारी गरेको छ । यसै सन्दर्भमा सो दिवस मनाइएको हो ।

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ, २४ मङ्सिरः समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ ।

यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन् । प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ । आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ । सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ । उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज, दुई हजार २०९ विद्यार्थी दीक्षित हुँदै

काभ्रेपलाञ्चोक, २४ मङ्सिरः काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ ।

समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत सहभागी हुनेुहुने कार्यक्रम रहेको छ । समारोहमा नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डितले प्रमुख आतिथ्यतासहित दीक्षान्त मन्तव्य दिनुहुने कार्यक्रम, तय भएको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्लेले जानकारी दिनुभयो ।

समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टस्का ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इञ्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कूल दुई हजार २०९ विद्यार्थी यसपटक दीक्षित हुने छन् । दीक्षितमध्ये विद्यावारिधी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका एक हजार ७२८ जना रहेका छन् ।

दीक्षितमध्ये हुनेमा अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्वीडेन, संयुक्तराज्य अमेरिका र भियतनामका १९६ विदेशी विद्यार्थी रहेका छन् । समारोहमा विभिन्न पदकसमेत प्रदान गरिने जनाइएको छ । ३१औँ दीक्षान्तको पहिलो चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षितको हुनेको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये पाँच हजार ८६० विदेशी विद्यार्थी अर्थात् करिब १२ प्रतिशत रहेका छन् । दीक्षित विदेशी विद्यार्थीमध्ये सबैभन्दा बढी भारतका हुन् । यस अवधीमा भारतका चार हजार ९७६ विद्यार्थी दीक्षित भएका हुन् ।

त्यस्तै, श्रीलङ्काबाट ३९९, अमेरिकाबाट ८५, माल्दिभ्स ७५, जर्मनी ३३, बङ्गलादेश २५, बेलायत २१, क्यानाडा २१, भुटान २०, चीन १९, जाम्बिया १८, दक्षिण अफ्रिका १४, पाकिस्तान १३, अष्ट्रेलिया १०, रुस १० जना छन् । हालसम्म विविध विधामा कूल ५८ देशका विद्यार्थी दीक्षित भएको अच्युत वाग्लेले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी), २४ मङ्सिरः पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालयहुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख काटिने आदेश प्राप्त भएको हो ।

प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको बताउनुभयो । सोअन्तर्गत सर्लाहीमा तीन हजार ६७४ र धनुषामा एक हजार ८७६ रुख कटान गर्ने आदेश भएको प्रमुख दासले बताउनुभयो । उहाँका अनुसार सडक विस्तारका क्रममा सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर चौडाइ र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइ कायम गरिने भएको छ ।

सडक विस्तारका लागि सबैभन्दा बढी सालका रुख कटान गरिने भएका छन् । सडक विस्तारमा बिजुलीका खम्बा सार्ने र खानेपानीको पाइप बिछ्याउने कामसमेत चुनौतीका रुपमा रहेको आयोजना प्रमुख दासले बताउनुभयो । धनुषा र सर्लाहीमा रुख कटानको काम सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै उक्त कार्य आरम्भ हुने उहाँले बताउनुभयो ।

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ, २४ मङ्सिरः निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ ।आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ ।

आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मङ्सिर २६ गतेसम्म चल्नेछ ।

नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ ।मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालयमा गई वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन अनुरोध गरिएको छ ।

दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ – दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर केहीबेर अघि ९ः२४ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि हिजो साँझ बाजुरा जिल्लाको मार्तडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर स साना भूकम्प जाने क्रम जारी रहेको छ ।

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।

सिरहाका चारवटै क्षेत्रमा कांग्रेसको उम्मेदवार सिफारिस

सिरहा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस सिरहाले जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस प्रक्रिया पूरा गरेको छ ।

जिल्लाभरका क्षेत्रीय समितिहरूबाट प्राप्त प्रस्तावलाई समेट्दै कांग्रेसले अनुभवी नेता, पूर्वमन्त्रीदेखि नयाँ पुस्ताका प्रतिनिधिसम्मको नाम सिफारिस गरेको जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिनुभयो ।

सिरहा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ पूर्वमन्त्री पद्यनारायण चौधरी र रामसुन्दर चौधरी सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ उषा राउत, सूर्यनारायण यादव, परमेश्वर साह, श्रीचन पासमान र श्रमिला पोखरेलका नाम प्रस्तावित गरिएको छ ।

क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादव सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ पूर्वमन्त्री तथा अष्ट्रेलियाका राजदूत चित्रलेखा यादवको नाम अग्रस्थानमा राखिएको छ । राष्ट्रियसभा सदस्यका लागि अमियकुमार यादवको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ पूर्वमन्त्री तथा कांग्रेसकी पूर्वकोषाध्यक्ष सीतादेवी यादव र उहाँको छोरा डा सुभाषचन्द्र यादव सिफारिस हुनुभएको छ । समानुपातिक सूचीमा अमर रेग्मी, जिवछ गुप्ता र जगतारैन कामतीको नाम समावेश गरिएको क्षेत्रीय सभापति सञ्जय प्रकाश यादवले जानकारी दिनुभयो ।

त्यस्तै, क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ हज समितिका अध्यक्ष मोहम्मद मुक्तार अहमद, मन्जु खाँड (पूर्वगृहमन्त्री बालकृष्ण खाँडकी श्रीमती) र डा गणेश मण्डल सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ अरुणकुमार सिंह, रामएकवाल यादव, नागेश्वर भुडेर र रमेश न्यौपानेका नाम प्रस्तावित छन् । चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरूको नाम आधिकारिक रूपमा सिफारिस भइसकेको कांग्रेस सिरहाले जनाएको हो ।

मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल

सुदूरपश्चिम, २३ मङ्सिरः सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि रासायनिक मल र धान खरिदका लागि कोटा बढाउन पहल गरेको छ ।

गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा रहेकाले किसानले समस्या भोग्नुपरेको भन्दै समाधानका लागि पहल थालेको हो ।

किसानको मागअनुसार सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिदका लागि प्रयास गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मात्रै सङ्घीय सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग धनगढीमा छलफल गरेर मल आपूर्ति र सरकारले तोकेको मूल्यमा धान खरिदको व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

उहाँले अर्थमन्त्री खनालसमक्ष अनुदानित रासायनिक मल र व्यापार कम्पनीले खरिद गर्ने धानको कोटा बढाइदिन अनुरोध गर्नुभएको थियो । मुख्यमन्त्रीले रासससँग भन्नुभयो, “अर्थमन्त्रीसमक्ष थप ५० हजार क्विन्टल धान खरिद र अनुदानित मलखादको कोटा बढाइदिन आग्रह गरेको छु । उहाँले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”

सुदूरपश्चिम प्रदेशका १३ प्रतिशत रासायनिक मलको कोटा हुनुपर्नेमा हाल छ प्रतिशत मात्र आपूर्ति हुन सकेकाले मलको अभाव भइरहेको छ । हाल किसानले गहुँ बालीका लागि प्रयोग गर्नुपर्ने युरिया मलको अभाव भइरहेको गुनासा गरिरहेका छन् ।

व्यापार कम्पनी प्रादेशिक कार्यालय धनगढीले गत वर्ष ५५ हजार क्विन्टल धान खरिदको कोटा पाएकामा यस वर्ष गत वर्षभन्दा कम ३५ हजार क्विन्टलको मात्र कोटा पाएको छ । कोटा घट्दा किसानले सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइरहेका छैनन् ।

धनगढी उपमहानगरपालिका किसान वीरबहादुर चौधरीले भन्नुभयो, “कम्पनीले धान खरिद गर्न रोकेपछि हामीलाई समस्या भएको छ, निजी क्षेत्रका व्यापारीलाई बिक्री गर्दा उचित मूल्य पाइरहेका छैनौँ ।”

कम्पनीको प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले किसानबाट कोटा बढाएर धान खरिद गर्नुपर्ने आग्रह गरिरहेको बताउनुभयो । केन्द्रबाट कोटा नबढेसम्म खरिद गर्नसक्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

प्रमुख थापाले कार्यालयको तर्फबाट यस वर्ष थप ५० हजार धान खरिदको कोटा बढाउन सकिएमा किसानलाई राहत हुनेबारे केन्द्रमा कुरा राखेको बताउनुभयो ।

महाधिवेशनबाट संवैधानिक सङ्कटको सामना गर्न सक्ने क्षमतावान नेतृत्व स्थापित गर्नुपर्छ : उपाध्यक्ष शाक्य

काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमालेको आसन्न महाधिवेशनले मुलुकमा विद्यमान राजनीतिक तथा संवैधानिक सङ्कटको सामना गर्नसक्ने क्षमतावान नेतालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । पार्टीको आसन्न ११औँ महाधिवेशनका सन्दर्भमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले देशभरका प्रतिनिधिले जेनजी आन्दोलनको भावनालाई समेटेर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।

तत्कालीन सरकारले जेनजी युवाको भावना बुझ्न नसक्दा देशमा उत्पन्न भएको गम्भीर अवस्थालाई दृष्टिगत गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउँदै उपाध्यक्ष शाक्यले उक्त नेतृत्वले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्ने र देशलाई समृद्धिको बाटोमा लैजानसक्ने विचार व्यक्त गर्नुभयो ।

कम्युनिष्ट आन्दोलनको मूलधार एमाले भएको बताउँदै उहाँले एमाले कमजोर हुँदा राष्ट्रियता कमजोर हुन जाने र देशको अस्तित्व सङ्कटमा पर्ने उल्लेख गर्नुभयो । उपाध्यक्ष शाक्यले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न नसक्ने नेतृत्वले मुलुकको नेतृत्व गर्न नहुने र नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

केन्द्रीय सदस्य वृन्दा पाण्डेले पार्टीमा सामूहिक पद्धतिको अन्त्य भएसँगै विधि, नीति, प्रक्रिया तथा पद्धति कमजोर हुँदा आन्तरिक विवाद सिर्जना भएको बताउँदै जनताको बहुदलीय जनवादका नाममा पार्टीभित्र नेतृत्व अराजक भएर प्रस्तुत भएकाले विकल्प खोज्नुपर्ने प्रष्ट पार्नुभयो ।

पार्टी केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले कम्युनिष्ट पार्टीमा नेतृत्व हस्तान्तरणको खाँचो औँल्याउँदै जिम्मेवार र जवाफदेही नेतृत्व, सामूहिकता र सबैसँग सहकार्य गर्न सक्ने नेतृत्व अहिले आवश्यक रहेको बताउनुभयो । केन्द्रीय सदस्य शर्मिला कार्कीले गणतन्त्र संस्थागत गर्नका लागि अन्तर्पार्टी अभ्यास लोकतान्त्रिक हुन जरुरी रहेको बताउँदै नेताहरूको जीवनशैली पारदर्शी हुनुपर्ने बताउनुभयो ।

पार्टी नेतृ सरिता न्यौपानेले नेतृत्वले अधिक्तम दुई वर्षको कार्यकाल पूरा गरेपछि पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने व्यवस्था वैज्ञानिक रहेको उल्लेख गर्नुभयो । अर्का नेत्री रचना खड्काले पार्टी नेतृत्व र जनताबीचको कुरा मिलेको छ कि छैन भनेर बुझेको व्यक्तिले मात्र पार्टीलाई सही दिशा निर्देश गर्नसक्ने बताउँदै पार्टीको अन्तिम निर्णय गर्ने अधिकार पार्टी सदस्यको हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण

चीनले मङ्गलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो रकेट चीनको उत्तर–पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११ः४१ बजे (बेइजिङ समय) उडान भरेको थियो र उपग्रहले निर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको छ ।

याओगान–४७ उपग्रह मुख्यतः राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली उत्पादन अनुमान, वातावरण व्यवस्थापन र विपद् पूर्वतयारी तथा न्यूनीकरणका काममा प्रयोग हुने बताइएको छ । याओगान–४७ले निर्धारित कक्षामा प्रवेश गरेर चीनको अवलोकन र डेटा सङ्कलन क्षमतामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

यो प्रक्षेपण लङ–मार्च शृङ्खलाको ६१४औँ मिशन हो ।

र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

बेलायत – चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् ।

बेलायतको महानगरीय प्रहरी लन्डनले, दुर्घटनामा संलग्न भएका गेट्स नामले चर्चित कलाकार स्यामुयलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो ।

आफ्नो आधिकारिक वेभसाइटमार्फत प्रहरीले भनेको छ,“३० माइल प्रतिघण्टा गति निर्धारण गरिएको सडकमा ४१ वर्षीय स्यामुयलले ६० माइलप्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका युविन तामाङलाई ठक्कर दिएका थिए ।”

प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन लामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए । ठक्कर दिएको दुई दिनपछि उपचारका क्रममा तामाङको मृत्यु भएको थियो । गतवर्ष सेप्टेम्बरमा बेलायत आउनु भएका उहाँ युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बिएस्सी विजनेश म्यानेजमेन्ट’ दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्थ्यो ।

दुर्घटनाको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी इनिस्पेक्टर मार्क ब्रथवेटले भन्नुभयो, “हाम्रो समवेदना युविनको परिवारको साथ छ, यो क्षतिको कुनै पनि हालतमा भरपाई हुनसक्दैन, तर अपराधमा संलग्नता स्वीकार न्याय प्राप्तिको बाटोमा एक महत्त्वपूर्ण कदम हो । यसले युविनको परिवारलाई केही राहत मिल्ने हाम्रो विश्वास छ ।”

बेलायतस्थित कार्यवाहक नेपाली राजदूत विपिन दुवाडिले घटनामा संलग्न व्यक्तिले स्वीकार गर्नु पीडित परिवारको न्यायका लागि सकारात्मक पाटो भएको बताउनुभयो । तामाङको निधनपछि न्यायका लागि दूतावासले सक्रिय भूमिका खेलिरहेको पनि उहाँले बताउनुभयो ।

दुर्घटनापछि भागेका स्यामुयलको वुडफोर्डस्थित घरमा खोजतलास गर्दा प्रहरीले भोलिपल्ट बिहानै उनको नाममा दर्ता र बिमा गरिएको कार क्षतिग्रस्त अवस्थामा फेला परेको थियो ।

यसैबीच यहाँको अदालतले स्यामुयललाई आगामी माघ २९ गते (फेब्रुअरी १२)मा सजाय सुनाउने जनाइएको छ ।

गृहमन्त्री अर्यालले भने – ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व हो

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै सरकारको प्रमुख कार्यभार रहेको बताउनुभएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा आज साँझ नयाँ बानेश्वरमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उहाँले सहिदका सपनालाई साकार पार्नु सरकारको चुनावपछिको प्रमुख जिम्मेवारी र दायित्व रहेको बताउनुभयो ।

मन्त्री अर्यालले सरकारले सहिद तथा घाइते परिवारलाई राज्यले सकेको सबै सुविधा र सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा सहभागी सहिद परिवारका सदस्यसँग कुराकानी गर्दै उहाँहरूका गुनासा र चासोबारे जानकारी लिनुभएको थियो ।

विश्वव्यापी मानवीय आवश्यकतामा तीव्र वृद्धि , राहतको लागि ३३ अर्ब डलर माग

संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन् २०२६ मा एक करोड ३५ लाख मानिसलाई सहयोग पु¥याउन ३३ अर्ब अमेरिकी डलर सङ्कलन गर्ने लक्ष्य राखेको जनाएको छ । यो सहयोग २३ देशमा सञ्चालन हुने कार्यक्रम तथा शरणार्थी र आप्रवासीसम्बन्धी छवटा योजनामार्फत पु¥याइनेछ ।ओचाले आगामी वर्षको मुख्य लक्ष्य ८७ लाख मानिसको ज्यान बचाउन २३ अर्ब डलर जुटाउनुपर्ने बताएको छ ।

संयुक्त राष्ट्र र उसका साझेदारहरूले सन् २०२६ का लागि मानवीय अपिल सार्वजनिक गर्दै युद्ध, जलवायु विपद्, भूकम्प, महामारी र बाली नष्ट हुने घटनाले सबैभन्दा बढी असर पारेका क्षेत्रमा सहयोग केन्द्रित गरिने जानकारी दिएका छन् ।

मानवीय मामिलाका अवर–महासचिव तथा आकस्मिक राहत संयोजक टम फेलेचरका अनुसार यसले ‘ज्यान बचाउने कामलाई पहिलो प्राथमिकतामा राखेको’ छ । उहाँले भन्नुभयो,“२०२६ को प्रतिवेदन सुधार, प्रमाण र कार्यक्षमतामा आधारित छ, र संयुक्त राष्ट्रले स्थानीय संस्थालाई थप अधिकार दिँदै आवश्यक व्यक्तिलाई सहयोग सीधै पु¥याउने दिशामा अघि बढिरहेको छ ।”

‘विश्व मानवीय अवलोकन २०२६’ नामक प्रतिवेदनले विश्वभरका मानवीय आवश्यकता, तिनका कारण तथा सहयोगका लागि कति स्रोत आवश्यक पर्छ भन्ने विस्तृत विवरण प्रस्तुत गर्दछ ।संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टेफान दुजारिकले यो वर्ष देखा परेको गम्भीर वित्तीय सङ्कटले धेरै मानवीय कार्यक्रममा कठिनाइ उत्पन्न गरेको बताउनुभयो ।

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो …

काठमाडौँ – सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका–७ काभ्रेपलाञ्चोकका दिलनारायण तामाङ (४२ वर्ष) र बुद्धिमाया दम्पत्तिले दुई छोराहरुलाई सिठोपिठो ख्वाएरै भएपनि पढाइरहेका थिए ।

दश वर्षअघि गाउँबाट काम खोज्दै तामाङ दम्पत्ति लालाबाला च्यापेर ललितपुरको च्यासल आइपुगेका थिए । जसको मुख्य उद्देश्य आफ्ना दुई सन्तानलाई शिक्षादीक्षा दिलाउनु थियो ।

“जिन्दगी सधैँ एकनास कहाँ हुँदो रहेछ र”, बुद्धिमायाले भदौ २३ गते सम्झँदै भन्नुभयो, “त्यही दिन हाम्रो जीवनमा अन्धकार बनेर आयो । त्यसयता केही सोच्नै सकिरहेकी छुइन ।”

दिलनारायण डकर्मीको रुपमा मजदुरी गर्नुहुन्थ्यो । छोराहरु निशान र सोहन कोठा नजिकैको श्रीशान्ति विद्याश्रममा पढ्थे । गएको वर्षदेखिमात्रै बुद्धिमायाले थापाथलीस्थित एक कम्पनीको कार्यालयमा सहयोगीको काम पाउनुभएको थियो । सानै भएपनि श्रीमतिलाई रोजगारी मिलेपछि दिलनारायणको सपना पनि विस्तारै फूल्दो थियो ।

गत भदौ २३ गतेका दिन दिलनारायणको कतै मजदुरीमा जानुपर्ने थिएन । काम नभएकाले घरमै हुनुहुन्थ्यो । छोरा सोहनको जुत्ता फाटेकाले बिहानै नयाँ किनेर ल्याइदिनुभयो । त्यसपछि बुद्धिमायालाई खाना पकाएर टिफिन बट्टामा हालिदिनुभयो । श्रीमती टिफिन लिएर अफिस हिँडेसँगै उहाँले छोराहरुलाई खाना खुवाएर विद्यालय पु¥याउनुभयो ।

बानेश्वरमा जेनजीले भ्रष्टाचारको विरोध, सुशासन, राजनीतिमा पुस्तान्तरण र निष्क्रिय तुल्याइएको सामाजिक सञ्जाल सञ्चालनको माग राखी विरोध प्रदर्शनी गरिरहेको थियो । आन्दोलनबारे थाहा पाएपछि बुद्धिमायाले फोन गरेर “छोराहरुलाई त्यहाँ जान नदिनु है, आफू पनि नजानु”, भन्नुभयो ।

छोराहरु स्कुलमै रहेकाले जाने कुरै भएन । बरु उल्टै प्रदर्शनीमा सामेल हुन दिलनारायण नयाँ बानेश्वर पुग्नुभयो । ठीक त्यहीबेला प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको थियो । गोली चल्यो । सोही क्रममा दिलनारायणलाई पनि प्रहरीले चलाएको गोली घाँटीमा लाग्यो । जुन गोली उहाँको कुम हुँदै बाहिरियोे । दिलनारायण त्यहीँ ढल्नुभयो ।

एक्कासि मध्यान्ह ३ बजे तिर श्रीमान्कै मोबाइलबाट तुरुन्त अस्पताल आउनु भनेर बुद्धिमायालाई फोन आयो । अनि उहाँ आत्तिँदै अस्पताल पुग्नुभयो । त्यहाँ विनोद महर्जन र योगेन्द्र न्यौपानेसँगै उहाँको पनि शव रहेछ । उहाँले श्रीमान्को शव हेर्न सक्नुभएन । “त्यसपछि म आफैँ बेहोसझैँ भएछु”, उहाँले भन्नुभयो, “मैले जहाँ नजानु भनेको थिएँ, उहाँ त्यहीँ पुग्नुभएछ ।”

मजदुरी गरेपनि दिलनारायण राजनीतिक रुपमा सचेत हुनुहुन्थ्यो । ज्ञानबहादुर र चिनीमायाका जेठा छोरा दिलनारायण सानैदेखि आँटिलो हुनुहुन्थ्यो । तत्कालीन् नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्धमा जनसेनाका रुपमा जनयुद्धमा होमिनुभएका उहाँ विस्तृत शान्ति सम्झौतापश्चात् वैदेशिक रोजगारीमा ओमान जानुभएको थियो ।

बुद्धिमाया पनि भैरहवा–सुनौली हुँदै दिल्लीबाट घरेलु कामदारका रुपमा ओमान पुग्नुभएको थियो । त्यहीँ भेटघाटका क्रममा बुद्धिमायासँग दिलनारायणको चिनजान भयो । त्यही चिनजान प्रेममा परिणत भयो ।

होची कदकी बुद्धिमाया अग्लो, बलियो र साहसिक युवा दिलनारायणप्रति आकर्षित हुनुभयो । अनि झागिँदै गएको प्रेमसम्बन्धलाई उनीहरुले बिहेमा परिणत गर्ने निधो गरे । दुवै जना नेपाल फर्किए । काभ्रेका दिलनारायण र सिन्धुपाल्चोककी बुद्धिमायाबीच विवाह भयो । दुई छोरा जन्मिए ।

गाउँको अन्नपातले वर्षदिन खान लाउन र छोराछोरी पढाउन कठिन भएपछि उनीहरु कामठाडौँ सहर पसेका थिए । तर आफूसँगै बालबच्चाको भविष्य खोज्दै सहर छिरेको एक दशकपछि दिलनारायणले देशका लागि ज्यान गुमाउनुभयो ।

आन्दोलन भनेपछि होमिइहाल्ने स्वभावका तामाङ श्रीमतीले आन्दोलनमा नजानुभन्दा ‘किन डराउने र देशका लागि ज्यान दिनुपर्छ’ भन्ने जवाफ दिनुहुन्थ्यो । देशका राजनीतिक गतिविधि समेटिएका समाचार हेर्ने र सुन्ने सहिद तामाङको स्वभावले खरो र देशभक्ति उँचो थियो ।

बुद्धिमाया भक्कानिँदै भन्नुहुन्छ, “हरेक पलपल उहाँको याद आउँछ । घरायसी कामकाजसँगै खाना पकाउने मात्र होइन, लुगा पनि उहाँले नै धोइदिनुहुन्थ्यो । त्यो दिन पनि लुगा धुनुभएको रहेछ ।”

अब भ्रष्टाचारीलाई कारबाही गर्ने र सुशासन कायम गराउने सन्दर्भमा पुनः यस्तो आन्दोलन गर्न नपरोस् भन्दै उहाँले भन्नुभयो, “देशको भाग्य र भविष्य परिवर्तन होस्, राम्रो होस्, हाम्रा जस्तो दुःख अरूले भोग्न नपरोस् ।” ओमानमा जोडिएको दिलनारायण र बुद्धिमायाको प्रेम बानेश्वरमा चलेको गोलीले सधैँका लागि टुटायो ।

सहिद भएकै दिन नयाँ जुत्ता किनेर ल्याउनुभएका दिलनारायणलाई उहाँका छोरा सोहनले बिर्सने कुरै भएन । “राम्रोसँग पढ, डाक्टर हुनुपर्छ”, भनेर बुवाले भन्नुभएको वाक्य अझै सोहनको कानमा गुन्जिरहेको छ ।

दिलनारायणलाई सम्झँदै दाजु विद्यासागर भन्नुहुन्छ, “च्यासलमा पछिल्लो समय डकर्मीको काम गथ्र्यो, साहसिलो र निडर स्वभाव भएकाले सङ्कटकालमा माओवादी लडाकु भएर युद्ध लडेको थियो ।”

जेनजी आन्दोलनको बलमा गठित सुशीला कार्की सरकारले दिलनारायणसहित आन्दोलनमा सहादत गर्नुभएका ४५ जनालाई सुशासन योद्धा २०८२ घोषित गरेको छ । सहिद घोषणा गरेपछि परिवारलाई दिइने १५ लाख र काजक्रिया बापतको रकम उहाँले प्राप्त गर्नुभएको छ ।

उक्त रकम मात्र सहिद परिवारका लागि पर्याप्त होइन । सहिदका सपना पुरा गर्दै दिलनारायणजस्तै सहिद परिवारको भविष्यबारे पनि सरकारले सोच्नुपर्ने छ ।

सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’

माझकुभिण्डे (सिन्धुली) – जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री मधुसुदन पौडेल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठलगायतका जनप्रनिधिले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरे ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा जुनारको प्रचारप्रसार र पक्की सडक निर्माणको आवश्यकतालाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा किसानहरुले जुनारबाट निर्मित जुस, स्क्वास, जाम, जेली, क्याण्डीलगायतका खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवका अवसरमा कृषक र विज्ञबीच बगैँचामा जुनार प्रवर्द्धनसम्बन्धी छलफल हुनेछ । उद्घाटन सत्रमा सहभागी जनप्रतिनिधिले किसानका समस्या समाधानमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । नेपालको पहिचानको रुपमा उत्पादन भइरहेको जुनारको बजारसम्म पहुँच विस्तार गर्न केन्द्रीय सरकारसँग उनीहरुको आग्रह छ ।

गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनार–सुन्तलाले पहेँलपुर छ । किसानले जुनार र सुन्तलालाई मुख्य बालीकारुपमा लगाएपछि त्यस क्षेत्रका बगैँचा जुनार–सुन्तलाले ढाकेका हुन् ।

परम्परागत बाली धान, मकै, कोदो, गहुँ र आलुको तुलनामा १० गुणा बढीसम्म आम्दानी भएपछि जुनार खेती सबै किसानको रोजाइमा छ । किसानको उत्पादनको प्रचारप्रसार र विश्व बजारसम्म पहुँच विस्तार गर्न स्थानीय सरकारले पछिल्ला वर्ष ‘जुनार महोत्सव’ गर्दै आएका छन् ।

यसवर्ष जिल्लाको पहिचान र गोलञ्जोरको गौरवका रुपमा रहेको जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन महोत्सव आयोजना गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “जुनारको प्रवर्द्धन, क्षेत्र विस्तार, बजारीकरण, गुणस्तर तथा देश विदेशमा प्रचारप्रसार पु¥याउने यस वर्षको महोत्सवको उद्देश्य हो ।”

जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको गुनासो छ । गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ ।

सरकारी आँकडाअनुसार यहाँबाट गत आर्थिक वर्ष २०८१/८२ मा करिब रु ३४ करोडको जुनार बिक्री भएको छ । किसानले आफ्नै घर आँगनको बगैँचामा प्रतिकिलो रु ५० देखि ६० सम्ममा बिक्री गर्दै आएको जुनार बजरमा प्रतिकिलो रु ८० देखि १०० मा उपभोक्ताले खरिद गर्दै आएका छन् ।

गोलञ्जोर गाउँपालिकाको कृषि विकास शाखा कार्यालयका प्रमुख चन्द्रकान्त चौधरीका अनुसार सो पालिकाबाट अघिल्लो आर्थिक वर्षमा यस पालिकाबाट रु ३४ करोड १९ लाख ९० हजार बराबरको जुनार बिक्री भएको छ । जिल्लाबाट समग्रमा ३६ करोड ६४ लाख १० हजारको कारोबार भएको देखिन्छ ।

जिल्ला जुनार सहकारी सङ्घले भने सरकारी तथ्याङ्क भन्दा दोब्बर अर्थात करिब रु ७५ करोड मूल्य बराबरको वार्षिक कारोबार हुने जनाएको छ । सिन्धुलीमा जुनार खेती निकै पहिलेदेखि हुँदै आइरहेको छ । जिल्लाभरमा एक हजार १०० हेक्टरमा जुनार खेती छ ।

व्यावसायिक जुनार खेती ७५० हेक्टर क्षेत्रफलमा छ । हावापानीका हिसाबले गोलञ्जोरका सात वटै वडामा जुनार उत्पादन हुन्छ । गोलञ्जोरमा मात्रै पनि एक हजार हेक्टरमा जुनार छ । व्यावसायिक खेती भने करिब ७०० हेक्टरमा भइरहेको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

सिन्धुलीका जुनार काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर, सिरहा, पाँचथर, नारायणगढ, विराटनगर, झापा मात्र नभई सीमा क्षेत्रका भारतीय बजारसम्म पुग्ने गरेको छ । ‘सुपरजोन’ कार्यालयमार्फत जुनार÷सुन्तला किसानले तालिम, नर्सरी सुधार, सिँचाइ, बगैँचा विस्तार, यान्त्रीकरणका लागि सहयोग पाइरहेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बाटो र बजारीकरण मुख्य समस्याका रुपमा रहेको बताउनुभयो । “कृषि सडक कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारले सहयोग गर्दैन, पालिकाको बजेटबाट सम्भव भएन । सडकलाई नै केन्द्रित गर्ने गरी प्रचारप्रसार गर्ने महोत्सवको लक्ष्य हो”, उहाँले भन्नुभयो ।

उपाध्यक्ष न्यौपानेले स्थानीय धापचौकीदेखि बाहुनतिल्पुङसम्मको महाभारत क्षेत्रको कृषि सडक करिडोरलाई कालोपत्रे गर्न सहयोगको अपेक्षा गरिएको बताउनुभयो । सिन्धुलीको महाभारत क्षेत्रका युवालाई जुनार÷सुन्तला खेतीले केही हदसम्म रोजगारी प्रदान गरेको छ । एक जना किसानको बगैँचामा एक हजार ७०० सम्म जुनारका बोट छन् । एउटा बोटबाट अधिकतम् रु २१ हजारसम्मको फल बिक्री भएको तथ्याङ्क छ ।

पछिल्लो समय टाढा–टाढाबाट जुनार÷सुन्तला खेती हेर्न र यससम्बन्धी अध्ययन गर्ने आउनेको सङ्ख्या बढेसँगै ग्रामीण पर्यटन प्रवद्र्धनको सम्भावनासमेत बढेको छ । गोलञ्जोरमा उत्पादन भएका जुनारका कारण फलफूल व्यापारी र अन्य व्यवसायीको आर्थिक उन्नति देखिएको छ ।

जुनार गुणस्तरका हिसाबले टिप्ने मौसम मङ्सिर–पुस भए पनि कात्तिकदेखि फागुनसम्म बोटमा रहने फल हो । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विगतमा कम उचाइमा फल्ने यो फलले अग्गो ठाँउतिर सर्दै गएको छ ।

जिल्ला जुनार सहकारी सङ्घका अध्यक्ष निर्मल रम्तेलले यसवर्षको महोत्सव सिन्धुलीको जुनारलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको जानकारी दिनुभयो । जुनार खेती प्ररवर्द्धनका लागि प्रविधि हस्तान्तरण र चिसान केन्द्र निर्माण भइरहेको छ । जुनारबाट जुसलगायत २१ प्रकारका परिकार बन्छ ।

अहिले आठ सयदेखि एक हजार मिटरसम्मको उचाइमा लागेका दाना दसैँतिहारमै खान योग्य हुन्छ भने त्यो भन्दामाथिको मङ्सिर, पुस र माघसम्म रहन्छ । रुखबाट टिपेर चिस्यान केन्द्रमा राखेको जुनार सुन्तला वैशाखसम्मै रहन्छ ।

सिन्धुलीमा नयाँ प्रविधियुक्त करिब १५ वटा चिस्यान केन्द्र छन् । ती सबैमा गरी करिब एक हजार २०० मेट्रिकटन जुनार भण्डारण गरेर राख्न सकिन्छ ।

हाल सिन्धुलीको महाभारत क्षेत्रमा जुनारबारे जानकारी लिन, बगैँचामै पुगेर आफ्नै हातले टिपेर खानेको सङ्ख्या प्रतिदिन बढोत्तरी भएसँगै आन्तरिक ग्रामीण पर्यटन प्रवर्द्धनको सम्भावना बढेको छ । देशकै पहिचान बोकेको महत्वपूर्ण फलका रुपमा जुनारको विकास र विस्तार भइरहेकाले अन्तरराष्ट्रिय बजारमा पु-याउने वातावरण बनाइ दिन सरकारसँग माग गर्दै किसानले जिल्लामै जुनार अनुसन्धान केन्द्र स्थापना गरी रोगकिरा नियन्त्रण र ज्ञान सिकाउने वातावरण बनाउन ध्यानाकर्षण गराउँदै आएका छन् ।