`

ललितपुरमा स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ – उपत्यकाको ललितपुरस्थित युएन पार्क नजिक आज अपराह्न करिब ४ः०० बजेको समयमा एकै ठाउँमा पाँच वटा सवारीसाधन ठोक्किएर दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा रौतहट जिल्लाको गौर बस्ने ४५ वर्षका राजिव सिन्हाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बा ५१ प ९५६९ नम्बरको स्कुटरका चालक सिन्हाको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको होे ।

स्कुटरसहित कुपण्डोलबाट आउँदै गरेको बा प्र ०१–०२९ च ३८९६ नम्बरको निजी भ्यान, विपरीत दिशाबाट आउँदै गरेको बाप्र ०१–०२२ च ००६१ नम्बरको कार, बा २ ज ४७६० नम्बरको कार र बाप्र ०१–०२९ नम्बरको भ्यानसमेत ठोक्किन पुगेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा

रूसले रातभरि लगभग ३०० यूक्रेनी ड्रोन नष्ट गरेको छ, जुन चार वर्ष लामो युद्धमा कीएभको सबैभन्दा ठूलो आक्रमण प्रयासहरूमध्ये एक मानिन्छ । रक्षा मन्त्रालयका अनुसार, नष्ट गरिएका ड्रोनमध्ये ३२ ड्रोन मस्कोतर्फ उड्दै थिए । यस आक्रमणका कारण मस्कोका चारै विमानस्थल अस्थायी रूपमा बन्द गर्नुपरेको थियो, जसले विमान उडानमा ठूलो ढिलाइ र यात्रुहरूमा असुविधा सिर्जना गर्यो ।

मस्को क्षेत्रकी डाक्टर रैसाले भन्नुभयो, “हामी १२ घण्टा भन्दा बढी विमानस्थलमा पर्खिरहेका छौँ, र हाम्रो उडान ‘एक घण्टा ढिला’ भैरहेको छ ।” हवाई मार्ग बन्द हुँदा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यानको विमान पनि मस्कोमा अवतरण गर्न नसकेर सेंट पिटर्सबर्ग उडे । पछि उहाँ सोही दिन मस्को पुगे ।

यूक्रेनले रूसले रातभरि १५१ ड्रोन र ३ मिसाइल प्रहार गरेको जनाएको छ । पूर्वी पोल्टाभा क्षेत्रीय प्रशासनले स्थानीय ऊर्जा संरचनामा आक्रमण र आगलागी भएको जानकारी दिएको छ । नाफ्टोगाजका प्रमुख सर्जिय कोरेत्स्कीका अनुसार यस वर्षको आक्रमण पहिलेको भन्दा तीव्र र चाँडो सुरु भएको छ, जसले जाडो मौसममा यूक्रेनका लागि चुनौती बढाएको छ ।
विश्लेषकहरूले रूसले पछिल्ला महिनामा यूक्रेनमा रेकर्ड सङ्ख्यामा ड्रोन र मिसाइल प्रहार गरेको जनाएका छन् । यूक्रेन र यसको साझेदार देशहरूले युरोपकै सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेका छन् ।

नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन : बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित पार्न नसक्दा जेनजी आन्दोलनका नाममा देशले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाले आजदेखि आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियागिताको उद्घाटन गर्दै उहाँले जेनजीका नाममा भएको घटनाले देशको प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन र धेरै मन्त्रालयहरु तथा देशभरका सरकारी कार्यालय जलाउनु सही नभएको उल्लेख गर्नुभयो ।

खेलकुदले मित्रता, शिक्षा र संस्कृतिको विकाससँगै शारीरिक एवं मानसिक स्वास्थ्य सुधार गर्नुका साथै अनुशासित नागरिक तयार गर्न, सामाजिक सम्बन्ध मजबुत बनाउने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कार्यक्रमका सभापति सुनील प्रजापतिले आजदेखि पुस १ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल गरी १५ वटा खेलमा प्रतियोगीबीच प्रतिस्पर्धा हुने बताउनुभयो ।

उहाँले प्रतियोगितामा ८० भन्दाबढी विद्यालयको सहभागिता रहने बताउँदै उहाँले भलिबलमा २८८ जना, एथ्लेटिक्समा ४०८ जना, टेबलटेनिसमा १३८ जना, पोर्टबलमा १५३ जना, उसुमा १३९ जना, कबड्डीमा १६० जना, तेक्वान्दोमा ३५० जना, कसिमला पाय्मा २४३ जना, बुद्धिचालमा १७३ जना, बाघचालमा २४७ जना, फुटबलमा २८८ जना, जिम्नाष्टिकमा १०० जना, ब्याडमिन्टनमा १२० जना, कराँतेमा १६० जना र खोखोमा ३२४ जना गरी जम्मा ३ हजार २९१ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो ।

यसअघि आजै दत्तात्रयबाट सुरु भएको समुद्घाटन -याली नगरको विभिन्न ठाउँको परिक्रमा गर्दै सहिद स्मृति खेल मैदानमा पुगेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

प्रधानमन्त्रीद्वारा चेस खेलमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले वल्र्ड चेस च्याम्पियनसिप प्रतियोगितमा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिनुभएको छ ।

झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयाँलसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले शुभकामना दिनुभएको हो । “अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउने गरी खेल्नुहोला, मेरो शुभकामना छ”, उहाँले भन्नुभयो ।

खेलाडीद्वय दाहाल र फुयाँलले छ दशकको इतिहासमा उक्त प्रतियोगितामा नेपालको सहभागिता हुनु नै ठूलो कुरा रहेको बताउँदै सक्दो राम्रो खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

-यापिड र ब्लिट्ज क्याटागोरीमा हुन लागेको चेस च्याम्पियनसिपमा नेपाल पहिलोपटक सहभागी हुन लागेको हो । यही डिसेम्बर २५ देखि ३१ तारिखमा उक्त प्रतियोगिता हुँदैछ ।

देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाइने

चितवन – देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने अभियान सुरु गरिएको छ । यहाँ हुँदै बग्ने नारायणी नदीको देवघाट क्षेत्रमा १५ दशमलव ४ प्रतिशत प्लाष्टिकजन्य फोहर भेटिएपछि प्लाष्टिकमुक्त बनाउन लागिएको हो ।

देवघाट क्षेत्र विकास समितिले आज यहाँ पत्रकारहरुसँग अन्तरक्रिया गर्दै यस क्षेत्रमा हुने प्लाष्टिक प्रयोग नियन्त्रणका लागि तीनवटै स्थानीय तह र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरिने जानकारी दिएको छ ।समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले भन्नुभयो, “अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ, कति सकिन्छ ।”

देवघाट क्षेत्रविकास समितिमातहत पर्ने पाँच हजार ४३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिकमुक्त बनाउने लक्ष्य राखिएको छ । सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा सहयोग गर्न अनुरोध गर्नुभयो । देवघाटनको दाहसंस्करस्थलको फोहर व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उहाँले बताउनुभयो ।

लुम्बिनी लायन्स एनपिएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

काठमाडौँ – लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनायो । एक सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए । यस्तै नरेन भट्टले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रूबेन ट्रम्पलम्यान, अभिषेश गौतम र जेजे स्मिथले दुई दुई विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा लुम्बिनिका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । यस्तै निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे । रुबेल ट्रम्पलम्यानले अविजित ११ रन बनाए ।

बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशित जिसिले समान तीन÷तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । एनपिएलको फाइनल खेल शनिबार हुनेछ ।

एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो

काठमाडौँ – एसिसी पुरुष यु–१९ एसिया कप भोलि शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (युएइ) मा हुँदैछ ।

पहिलो दिन भारत र आयोजक युएई तथा पाकिस्तान र मलेसियाले खेल्ने छन् । उक्त प्रतियोगिताका लागि नेपाली टोली युएइ पुगिसकेको छ । नेपालले पहिलो खेल श्रीलङ्कासँग यही मङ्सिर २७ गते खेल्ने छ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । नेपालले सबै खेल सेभेन्स रङ्गशालामा खेल्नेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । उपाधि भिडन्त पुस ६ गते हुनेछ ।

यस्तो छ नेपाली टोली : अशोक धामी कप्तान, नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री छन् ।

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ – जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।

उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गत असोज ५ गते यो समिति गठन भएको थियो । समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो ।

समितिका अनुसार जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो । यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन् । प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कूल ७७ जनाको ज्यान गएको छ ।

दुई हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन् । १३ देखि २८ वर्षका एक हजार ४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ । समग्र भौतिक क्षति हेर्दा रु ८४ अर्ब ४५ करोड ७७ लाख बराबरको भएको समितिको मूल्याङ्कन छ । जसमध्ये प्रभावित निकाय÷संस्था दुई हजार १६८ छन् । दुई हजार ६७१ भवनमा क्षति पुगेको छ । जसमा क्षतिको मूल्याङ्कन रु ३९ अर्ब ३१ करोड ७५ लाख बराबर रहेको छ ।

१२ हजार ६५९ वटा सवारीसाधनमा क्षति पुग्दा रु १२ अर्ब ९३ लाख ६१ हजार बराबरको नोक्सान हुन पुगेको छ । सरकारी÷सार्वजनिक क्षेत्रको रु ४४ अर्ब ९३ करोड ७३ लाख बराबरको क्षति पुगेको छ ।

निजी क्षेत्रको क्षतिको मूल्याङ्कन रु ३३ अर्ब ५४ करोड ८७ लाख बराबर छ । सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ । समितिले पुनःनिर्माण कार्ययोजना पनि पेस गरेको छ । पुनःनिर्माण गर्न रु ३६ अर्ब ३० करोड २१ लाख बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

‘संविधानलाई ‘ट्रयाक’ मा ल्याउन निर्वाचन अपरिहार्य’ छ – नेता पाण्डे

गोरखा – बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले संविधानलाई ‘ट्रयाक’मा ल्याउन निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी गोरखाले आज सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उहाँले तोकिएको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । ‘‘संविधान अहिले लिकबाट बाहिर पुगेको अवस्था छ, तर चुनाव सम्पन्न भएपछि संविधान पूर्णरुपमा लिकमा फर्किने छ,” उहाँले भन्नुभयो, “संसद् पुनःस्थापनाले देशलार्ई फेरि अर्को द्वन्द्वमा धकेल्ने सम्भावना रहेकाले निर्वाचनमार्फत नै संविधानलाई सही ट्रयाकमा हिँडाउन आवश्यक छ ।’’

उहाँले अहिलेको जटिल राजनीतिक परिस्थितिमा बृहत कम्युनिष्ट एकता अपरिहार्य भएको बताउनुभयो । पार्टी एकताका क्रममा आएका विभिन्न आरोपप्रति प्रतिक्रिया जनाउँदै एमाले फुटाएर माओवादीसँग एकता गर्न खोजिएको वा माओवादीले विचार छाडेको जस्ता टिकाटिप्पणीहरु निराधार रहेको बताउँदै उहाँले पार्टी एकताको मूल आधार माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा आधारित नेपाली मौलिकताको समाजवाद भएको उल्लेख गर्नुभयो ।

भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको बताउनुभएको छ ।

जय मातृभूमि पार्टीको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कार्कीले उक्त दललाई आफ्ना एजेन्डा लिएर चुनावमा जान सुझाव दिनुभयो । राजनीति गर्नेहरुले केबल भाषण गरेर विचार मात्रै पोख्ने गरेकाले अब मुलुकमा उत्पादनलाई केन्द्रमा राखेर काम गर्ने पार्टीको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

“खाली विचार मात्र पोख्ने दल धेरै भए । काम र रोजगारीमा केन्द्रित रहेर काम गर्ने भएनन् । यही कारण मुलुकको आर्थिक अवस्था कमजोर भयो । रोजगारीका अवसर मुलुकमा भएनन् । विदेश पलायन हुनुपर्ने बाध्यता बन्यो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यसको परिणाम स्वरुप युवामा वितृष्णा बढ्यो । आन्दोलन भयो । अब यस्तो आन्दोलन गर्न नपर्ने गरी काम गरौँ ।”

प्रधानमन्त्री कार्कीले राम्रो काम गर्ने र देशको आर्थिक समृद्धि तथा सुशासनका निम्ति प्रतिबद्ध व्यक्तिलाई जिताएर संसद्मा पठाउन आग्रह गर्नुभयो । एक÷एक जनाको राम्रो प्रयासले नै मुलुक सुशासनयुक्त र समृद्ध हुने उहाँको भनाइ थियो ।

प्रतिनिधिमण्डलमा जय मातृभूमि पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत रहनुभएको थियो । पार्टीले निर्वाचनको वातावरण बनाउन जेनजी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारबाही हुनुपर्ने माग राखेको छ ।

पुस १ गतेदेखि बाघ गणना गरिँदै, गैँडा गणना यसवर्ष फरक विधिबाट गर्ने तयारी

चितवन – अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइदै छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंम सेवी, विद्यार्थी र संरक्षणका साझेदार तालिममा सहभागी हुँदैछन् । करिब एक सय ५० जना तालिम लिएर गणनामा खटिने उहाँले बताउनुभयो ।

पुस ३ गते तालिम लिएका गणनाका लागि कार्यक्षेत्रमा परिचालन हुनेछन् । मगरका अनुसार दुई निकुञ्जमा नौ सय ग्रिड बनाइएको छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने छ । गणनाका क्रममा दुई निकुञ्जलाई तीन भागमा बाँडेर गणना गरिने छ । हरेक भागमा २० दिन क्यामेरा राखिने छ । एक भागमा ३०० ग्रिड हुनेछन् । एउटा ग्रिडमा २० दिन एउटा क्यामेरा राखिने छ । ग्रिडहरुकोबीच भागपर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने छन् ।

उनीहरुले भूगोल अनुसार आठदेखि बाह्र सम्मको ग्रिडमा राखिएको क्यामेरा दैनिक अनुगमन गर्ने उहाँले जानकारी दिनुभयो । ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले जानकारी दिनुभयो । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । पहिलो कम्प्लेक्स यो हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा व्लक हुने छन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुने छ । यो एउटै व्लक बनाइने छ ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारी छ । गतवर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो ।

हरेक चार÷चारवर्षमा गैँडा गणना गरिँदै आएको थियो । गतवर्ष गर्न नसकिएको गैँडा गणना यसवर्ष फरक विधिबाट गर्ने तयारी निकुञ्ज विभागको रहेको छ ।

चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै

विश्व बैङ्कले बेइजिङमा बिहीबार सार्वजनिक गरेको नयाँ प्रतिवेदनले चीनको सन् २०२५ को आर्थिक वृद्धि दरलाई ०.४ प्रतिशत अङ्कले बढाएको छ। प्रतिवेदनका अनुसार सरकारी खर्च सहज हुनु, मौद्रिक नीतिहरू लचिलो रहनु र घरेलु उपभोग तथा लगानी बढ्नु चीनको अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य कारण बनेका छन्। विकासोन्मुख मुलुकहरूबाट निर्यातको माग बढ्दै जानु पनि चीनको आर्थिक गतिविधि बलियो हुन मद्दत पुगेको छ।

विश्व बैङ्कका चीन, मङ्गोलिया र कोरियाका विभागीय निर्देशक मारा वारविकले भन्नुभयो,“आउँदा वर्षहरूमा चीनको आर्थिक वृद्धि मुख्यतः भित्री मागबाटै चल्नेछ। छोटो अवधिमा सरकारी प्रोत्साहन, सामाजिक सुरक्षा प्रणालीको सुधार र व्यवसायका लागि भरपर्दो वातावरण निर्माण गर्नाले समग्र अर्थतन्त्रमा विश्वास बढ्नेछ, जसले दीर्घकालीन रूपमा दिगो र स्थिर वृद्धिको आधार तयार पार्नेछ।”

जेनजी आन्दोलनमा आगजनी र तोडफोडमा संलग्न १० जना पक्राउ

सुदूरपश्चिम, २५ मङ्सिर : जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको छ ।

जिल्ला अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको अरोपमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आषिश भण्डारी, बैतडी जिल्ला घर भई हाल धनगढी उपमहानगर–३ बस्ने भरत बम र सोही ठाउँ बस्ने अमन केसी, वडा–७ का २७ वर्षीय एलेक्स चन्द, २१ वर्षीय लक्ष्मणबहादुर विष्ट र वडा–१ बस्ने मनोज विष्टलाई पक्राउ गरिएको हो ।

कैलाली कारागारमा तोडफोड र आगजनी गरेको आरोपमा धनगढी–२ का २८ वर्षीय गोपाल भट्ट, वडा–३ का जेम्स भन्ने सुरज कटुवाल, वडा–९ बस्ने ४० वर्षका वसन्तराज जोशी र १९ वर्षका अङ्कित सक्सेनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले फरकफरक मितिमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकामाथि आपराधिक उपद्रवको मुद्दा चलाइएको छ । जिल्ला अदालतले तोडफोड र आगजनी घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्नका लागि दिइएको जाहेरीका आधारमा प्रहरी टोलीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।

आन्दोलनको क्रममा जिल्ला अदालत आगजनी र तोडफोड हुँदा भवनमा क्षति पुग्नुका साथै विभिन्न मुद्दाका मिसिल, कम्प्युटरलगायत जिन्सी सामानमा क्षति पुगेको थियो ।

कैलाली कारागारमा भएको तोडफोडका क्रममा कारागारको भौतिक संरचनामा क्षति पुग्नुका साथै त्यहाँ रहेका कैदीबन्दी फरार भएका थिए । कैलालीको भजनी नगरपालिका–९ गन्जहुवा गाउँस्थित सरस्वती सामुदायिक वन क्षेत्रको लम्की ताल छेउमा रहेको रुखको टोड्कोमा लुकाइछिपाइ राखिएको अवस्थामा बुधबार एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।

सोलुमा हिउँले ढाकेका भाग घट्दै, पर्यटक र स्थानीय दुवै प्रभावित

सोलुखुम्बु, २५ मङ्सिरः दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ ।

“अर्कै युग सुरु भएको छ जस्तो लाग्छ,” खुम्बुका वृद्ध पासाङ शेर्पाले भन्नुभयोे, “बाल्यकालदेखि सेताम्य हिमाल मात्रै देख्थ्यौँ, तर अहिले त पहाडको आधा भाग कालो चट्टानजस्तो देखिन्छ, हेर्नुस् त हाम्रो आँखैअघि देखिएका यी हिमाल कहाँ हिमालजस्ता छन् र ? कति धेरै फरक भइसक्यो ।”

दुई दशकअघिसम्म जिल्लाको माथिल्लो भाग नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्म हिउँले भरिएको देखिन्थ्यो । तर हालका वर्षमा हिउँ पर्ने समय छोटिएको मात्र होइन, पर्वतको सतहमा टाँसिएको हिउँका कण पनि तीव्रगतिमा पग्लिन थालेको स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो । विगतमा वर्ष भरी नै सेतो हिउँले ढपक्कै ढाकिने सगरमाथा, ल्होत्से, नुप्चे, आमादब्लम, थामसेर्कुजस्ता हिमाल अहिले कालो चट्टान र पर्वतका रङ्ग स्पष्ट देखिनु आजभोलिको सामान्य दृश्य जस्तै बनेको छ । सगमाथा क्षेत्र अवलोकनका लागि आउने पर्यटक उक्त अस्वभाविक दृष्य देखेर अच्चमित हुने गर्छन् भने स्थानीयलाई भने सोही दृष्य अब सामान्य जस्तै लाग्न थालेका छन् ।

“भ्रमणकर्ताहरुको जिज्ञासापछि हामी पनि सोच्न बाध्य हुन्छौँ नत्र अब त हामीलाई सामान्य जस्तै लाग्न थालिसक्यो किन की यो प्रकृया तीव्रगतिमा बढिरहेको छ, सोधौँ हामीले कसलाई सोध्ने ? रोकौँ कसरी रोक्ने ? केही विकल्प नहुँदा हामी चुपचाप बस्न बाध्य छौँ ।” खुम्जुङका फुडोमा शेर्पाले भन्नुभयो । “पृथ्वी तातो हुँदा हिमालको हिउँ हरेक वर्ष पातलो हुँदै गएको हो,” सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्याय भन्नुहुन्छ्, “हिउँले ढाकेका भाग घट्दै गएका छन् ।

हालका वर्षमा मौसमचक्र नै उल्टो भएको स्थानीयको बुझाइ छ । जोरसल्लेका पेमा शेर्पा भन्नुहुन्छ “पहिलेदेखि जाडो कडा हुन्थ्यो तर सहन सकिन्थ्यो । अहिले भने जाडोमा हड्डी नै कटकट दुख्ने गरी चिसो हुन्छ । गर्मीमा त झनै, हिमालकै काखमा बसेर पनि पसिना आउने गरी तातो हुन्छ ।

उच्च हिमाली क्षेत्रमा सन् १९७० पछि तापक्रम करिब १.५ डिग्री सेल्सियसले बढेको बताइएको छ । तापमानले रेखा नाघेपछि हिमालको सतहमा जम्ने हिउँको मात्रा घट्ने, जमिसकेको हिउँ द्रुत पग्लने र पर्वतको चट्टानी भाग खुला देखिनु स्वाभाविक प्रक्रियाजस्तै बन्दै गएको वातावारणविद् राजन थापाको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “हिमालमा कालो रङ देखिनु केवल हिउँ पग्लिनुको कारण होइन । विशेष कारणमध्ये हिमालबाट खसेको ठूलो चट्टान सतह, सुक्खा हिउँ पग्लेर बनेको चट्टानी पट्टी, वायुमण्डलबाट जम्मा हुने ब्ल्याक कार्बन र निकुञ्ज क्षेत्रमा बढ्दो मानवीय गतिविधि–मुख्यरूपमा उल्लेखनीय छन् ।”

गत वर्षको साउन ३२ गते शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले खुम्बु क्षेत्रमा वितण्डा मच्चियो । स्थानीयहरू अझै पनि त्यो क्षण सम्झँदा डराउँछन् । यसले २० भन्दा बढी घरमा क्षति पु¥यायो । विद्यालय, स्वास्थ्यचौकीसहित सरकारी संरचनादेखि पर्यटक पदमार्ग तथा स्थानीयको घर खेत, कामचलाउ संरचना, पशुका गोठ, जलविद्यत आयोजनासमेत बगाएर लग्यो । थामेको बाढी तल झर्दै आइपुग्दा फाक्दिङ–नाम्चे जाने मुख्य पर्यटकीय पदमार्ग नै कटान गरियो ।

खुम्बु क्षेत्रको पर्यटनलाई नेपालको सम्पूर्ण पर्यटन आयको मेरुदण्ड मानिन्छ । त्यही मेरुदण्ड जलवायु सङ्कटका कारण हरेक वर्ष कम्जोर हुँदै गएको छ । फेरिचे, इम्जा र खुम्बु क्षेत्रमा हिमतालको विस्तार तीव्र गतिमा बढेको छ । इम्जा ताल २० वर्षमा ६५ प्रतिशतले ठूलो भएको तथ्यले खुम्बु क्षेत्रमा जलवायु परिवर्तन कति तेज छ भन्ने स्पष्ट सङ्केत दिएको छ ।

इम्जा, थामसेर्कु बेसिन, खुम्बु बेसिनजस्ता क्षेत्र अहिले उच्च जोखिम सूचीमा रहेका बताइएको छ । खुम्बुका पशी लामा भन्नुहुन्छ, “पहिला हामी हिमताल फुट्ने कथा सुन्थ्यौँ, अब त्यसैको डर लिएर दिन बित्छ । हिउँ पग्लिएर ताल ठूलो हुँदै गएपछि यहाँका गाउँ, पुल, बाटो, बस्ती सबै जोखिममा छन् ।”

यहाँको पहिचान यहाँको जीवनशैली हिमालसँग गाँसिएको छ । पहिलादेखि सधैँ हिउँले भरिएको चिसो मौसममा गोठमा पशु राख्ने, पानी हिउँबाट पगालेर प्रयोग गर्ने, खेतीपाती तय गर्ने परम्परा पनि बदलिन थालेको छ । हिउँ कम परेपछि खोला नालामा पानी घटेको छ । दुधकोशी, इम्जा खोला, खोलाजस्ता स्रोत वर्षायामपछि मात्र बढ्छन्, तर हिउँ पग्लिने गति अनिश्चित भएकोले सुक्खा मौसममा पानी अभाव देखिन थालेको छ ।

जलवायु परिवर्तनसँगै ट्रेकिङ मार्गमा पहिरो, हिउँपहिरो र चट्टान खस्ने जोखिम बढेको उहाँको तर्क छ । स्थानीय गाइड बल दर्नाल भन्नुहुन्छ, “पहिला जसरी योजना बनाइन्थ्यो, अहिले मौसम अनिश्चित भएकाले पर्यटकका लागि जोखिमको हिसाबले धेरै सावधानी आवश्यक हुन्छ ।” यहाँको पहिचान जोखिममा पर्न सक्ने आरोही स्पीडकाजी शेर्पाको चिन्ता छ ।

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, २५ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालका लागि उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन र क्युवाका राजदूत हुवान कार्लोस मार्सान अगुइलेराले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।

दोस्रो हप्तामा ‘अभिमन्यु’ : शो खोज्दै दर्शक

काठमाडौं । फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो ।

दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन । तर, पाएका शोमा भने दर्शकको अकुपेन्सी राम्रो रहेको छ । त्यसैले ठाउँठाउँबाट दर्शकले निर्माण टिमका सदस्यलाई सिनेमा हेर्न पाइएन, शो छैन, शो चाहियो भन्दै सामाजिक सञ्जालमा मेन्सन गरिरहेका छन् ।

पब्लिक रिभ्यू र समीक्षक दुवैको रिभ्यु राम्रो आएपछि सिनेमा दर्शकले हेर्न खोजिरहेको तर नपाएपछि सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन् ।निर्माणपक्षले रिभ्यु राम्रो आउँदा र चलचित्र राम्रो छ भनेर सबैले भन्दा पनि अपेक्षा अनुसार शो नहुनु र धेरै दर्शक नहुनुले नयाँ काम र चुनौती किन मोल्ने भन्ने प्रश्न उब्जाएको बताएको छ ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।

‘अभिमन्यु ः च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।

एनआरएनएमा ऐतिहासिक एकता पछि संस्थागत रूपान्तरण आवश्यकः महासचिव लामा

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि विद्यमान विभाजनलाई चिर्दै अन्ततः ऐतिहासिक एकता हासिल भएको घोषणाले विश्वभर छरिएका नेपाली समुदायमा नयाँ उत्साह सञ्चार गरेको महासचिव तथा स्टेरिङ कमिटीका सदस्य बाबुराम लामाले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार आफ्ना धारणा सार्वजनिक गर्दै लामाले भनेका छन् ‘अहिले भएको यो एकता केवल सङ्गठनात्मक निर्णय मात्र नभएर, विश्वभरका नेपालीहरूको साझा सपना, विश्वास र मातृभूमिप्रतिको गहिरो प्रेमको विजय हो ।’साथै उनले एकतालाई दिगो, मजबुत र परिणाममुखी बनाउनु नै अबको सबैभन्दा ठूलो चुनौती रहेको पनि उल्लेख गरे । उनले भनेका छन् ‘बृहत् एकताको लक्ष्यलाई साकार पार्न एनआरएनएको संस्थागत संरचनामा क्रान्तिकारी परिवर्तन ल्याउनका लागि विशेष ध्यान दिनु पर्छ ।’

लामाले पारदर्शितालाई एनआरएनएको मूल मन्त्र बनाउँदै हरेक निर्णय प्रक्रियालाई पूर्णतः खुला बनाउनुपर्नेमा जोड दिएका छन् ।केन्द्रीय नेतृत्व (आइसिसी) लाई विश्वभरका राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) प्रति पूर्ण जबाफदेही बनाउनुपर्ने उनको धारणा छ । ‘यसका लागि विधि र विधानलाई सर्वोपरि मानेर संस्थालाई व्यक्तिगत स्वार्थबाट मुक्त राख्नुपर्ने अनिवार्य आवश्यकता र पहिलो सर्त पनि हो ।’ लामाले भने ।
उनले एनसीसीलाई संघको निकायको रूपमा नभई संयुक्त राष्ट्रसङ्घको मोडल अनुसार एक स्वतन्त्र र स्वायत्त साझेदार संस्थाको रूपमा अगाडि बढाउनुपर्नेमा जोड पनि दिए ।

यसैगरी उनले निर्वाचन प्रणालीमा आमूल परिवर्तन गरी प्रतिनिधि प्रणाली (डेलिगेट्स सिस्टम)बाट नभई प्रत्यक्ष प्रणालीबाट अधिवेशन र निर्वाचन गरिनुपर्ने प्रस्ताव गरेका छन् । हाल विद्यमान केन्द्रीकृत सदस्यता पञ्जी करण व्यवस्था खारेज गरी सबै एनसीसीहरूलाई आफ्नै पोर्टलबाट सदस्यता बनाउने स्वायत्तता दिइने र केन्द्रीय प्रणाली सहयोगी संयन्त्रको रूपमा मात्र रहने गरी विकेन्द्रीकरणको योजना पनि अगाडि सारे ।

लामाले एनसीसीहरूसँग नियमित संवाद र समन्वयलाई प्राथमिकतामा राख्दै महासचिव लामाले एनआरएनका सदस्यहरूको ज्ञान, सीप र पुँजीलाई एकीकृत गर्न विशेष संयन्त्रहरूको निर्माण अपरिहार्य रहेको जोड पनि दिए । यस प्रक्रियामा युवा र महिलाहरूको सहभागितालाई केवल औपचारिकतामा सीमित नराखी अर्थपूर्ण र अनिवार्य बनाउनु संस्थाको दायित्व भएको उनले प्रस्ट पारेका छन् । ‘स्पष्ट भिजन र परिणाममुखी कार्य योजनाका साथ अगाडि बढ्नु पर्ने भएको छ ।’ उनको भनाई छ ।

लामाका अनुसार एनआरएनको मूल उद्देश्य ‘नेपाली नागरिकताको निरन्तरता र मातृभूमिको समृद्धि’ नै हो । यसलाई पूर्ण रूपमा साकार पार्न अब सबै एकजुट भएर लाग्नु पर्नेमा जोड पनि दिए । यसैगरी हालै भएको एकतालाई एनआरएनको पुनर्जागरणको सुरुवातको रूपमा चित्रण गर्दै, यो अवसरको सदुपयोग गरी संस्थालाई विश्वकै सबैभन्दा सशक्त र उदाहरणीय डायस्पोरा सङ्गठन बनाउन सबैलाई आह्वान पनि गरे ।
औपचारिक रूपमा २ समूहमा रहेको एनआरएनएबिच मङ्सिर १५ गते प्रधानमन्त्रीको उपस्थितिमा एकता घोषणा भएको थियो ।

डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस पुलबाट खस्यो, २२ यात्री घाइते

दाङ, २५ मङ्सिरः डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन् ।

लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आज बिहान पुलबाट खोलामा बस खसेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पु¥याइएको छ । बसमा ३८ जना यात्री थिए ।

नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बिहान ८ : ३० बजेदेखि बस्दैछ ।बिहिबार पार्टी कार्यालय च्यासलमा बस्न लागेको बैठकमा महाधिवेशन नजिकिँदै गर्दा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा छलफल हुनेछ ।

मूल समितिको संयोजक महासचवि शंकर पोखरेल हुन् भने सचिव उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुन् ।आज १४ वटै समितिका संयोजकहरुले आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् भने बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको विषयमा पनि जानकारी गराइने छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २५ मङ्सिरः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु सेतो प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिवल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ५०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ६०, काउली तराई प्रतिकिलो रु ४५, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३८, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु १००, तने बोडी प्रतिकिलो रु १७०, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १४५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १४०, तिते करेला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ८५, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५५, सलगम प्रतिकिलो १००, भिन्डी प्रतिकिलो १६०, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु १२०, चमसुर प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १६०, हरियो प्याज प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु ५५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु ११०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी भुइँऐँसेलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु २५० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ६०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु २२०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु ३५०, रूख टमाटर प्रतिकिलो रु १५०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ९०० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ६० निर्धारण गरिएको छ ।

आजको मौसम : देशभरको मौसम मुख्यतया सफा

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ ।जसका कारण आज देशभरको मौसम मुख्यतया सफा नै रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ ।आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

२३औँ विश्व पर्वत दिवसमा संयोजक दाहालको शुभकामना

काठमाडौँ, २५ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३औँ विश्व पर्वत दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गरेर पर्वतहरू प्रकृतिका अमूल्य धरोहर भएकाले तिनको संरक्षण आवश्यक भएकामा जोड दिनुभएको छ ।

“पर्वतले जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनलाई आधार प्रदान गर्छन् । तर जलवायु परिवर्तनका कारण हिमशृङ्खलाहरू तीव्र गतिमा पग्लिरहेका छन्, पहाड–पर्वतहरूको पारिस्थितिक प्रणाली असन्तुलित बन्दै गएको छ । यसको प्रत्यक्ष असर नेपालजस्ता अल्पविकसित राष्ट्रहरूमा बाढी, खडेरी, माटो क्षयीकरण र खाद्य असुरक्षाको रूपमा देखा परेको छ”, सन्देशमा उहाँले भन्नुभएको छ ।

असी प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको र हिमालयको काखमा अवस्थित हाम्रो देश जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै संयोजक दाहालले हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवन जोखिममा पर्नु, अल्पविकसित राष्ट्रहरूले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम भएको बताउनुभएको ।

जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राख्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।

शहरी विकास मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको   बैठकमा उहाँले भन्नुभयो, “भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको निर्माण र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुहोला ।”

मन्त्री घिसिङले वर्षौंदेखि ठेक्का लिएर रुग्ण बनाइएका आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “अनावश्यक विवाद नगरौँ, निर्माण व्यवसायी सम्पर्कमा आएको भन्दै नबसौँ, काम गर्ने सुनिश्चितता खोजौँ, हाम्रो तर्फबाट गर्नुपर्ने निर्णय नगर्ने अनि निर्माण व्यवसायीले काम गरेन भनेर बस्ने छुट कसैलाई छैन ।”

मन्त्रालयका सचिव गोपाल सिग्देलले रुग्ण ठेक्काका निर्माण व्यवसायी काममा फर्किएको बताइए पनि निर्माणस्थलमा काम भए/नभएको नियमित अनुगमन गर्न अनुरोध गर्नुभयो । बैठकमा शहरी विकास मातहत रहेका दुई विभाग र पाँच निकायका चालु आवको चार महिनामा बजेट कार्यान्वयनको अवस्था, समस्यालगायतका विषयमा समीक्षा गरिएको थियो ।

प्रभु बैंकका विप्रेषण विभागका प्रमुख शाक्य पक्राउ

काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्यूरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंकलाई रु एक अर्बभन्दा बढी हानि नोक्सानी पुर्याएको आरोपमा बैंकका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई ललितपुर महानगरपालिका–११ ईखांछेबाट पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैंकलाई हानि र आफ्नो स्वार्थ समूहअन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाइदा हुनेगरी बैंकिङ कसुर गरेको ब्यूरोको आरोप छ ।

रेमिटबापतको ‘प्रिफण्डिङ’ दिन सक्ने कानुनी व्यवस्थाको दुरुपयोग गरी गराई त्यसका नाममा नियमविपरीत अर्बौ रकम दिई त्यसबापत नियमानुसार ब्याजसमेत नलिई बैंकलाई रु एक अर्बभन्दा बढी रकम नोक्सानी पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

ब्यूरोले नियमविपरीत ‘सुपर एजेन्ट’ बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रालिलाई एड्भान्स रकम दिई उक्त कम्पनीसँग रेमिट कारोबार स्थगित भए पनि स्वार्थ समूहलाई सो रकम प्रयोग गर्न दिएको आरोपमा यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित उच्च पदस्थ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

‘कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता’

कर्णाली, २५ मङ्सिरः कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच बुँदे प्रतिबद्धता गरेका छन् ।कर्णाली प्रदेश योजना आयोगद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली विकासमा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रममा पाँच बुँदे प्रतिबद्धता जनाइएको हो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले आयोगले बनाएको दोस्रो पञ्चवर्षीय योजनाले तोकेको लक्ष्यभन्दा माथि पुग्ने तयारीका साथ सरकार अगाडि बढेको र यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार विकास आयोजनामा हुने दोहोरोपन हटाउन विकास साझेदारबाट सम्पादन गरिने कार्यक्रमको विवरण सम्बन्धित मन्त्रालयमा प्रदेश सरकारको बजेट तर्जुमा गर्नुपूर्व नै जानकारी गराउने, विकास आयोजनामा सुशासन, इमान्दारिता, जवाफदेही र वातावरणमैत्री अभ्यासलाई उच्च प्राथमिकता दिने, प्राकृतिक स्रोत साधनको दिगो उपयोग, सामाजिक उत्तरदायित्व तथा समुदायको हितमा केन्द्रित गर्दै सहकार्यमूलक ढङ्गले कार्य गर्ने प्रतिबद्धता गरिएको छ ।

यसका लागि कर्णाली प्रदेश सरकार र विकास साझेदारबीच समन्वयका लागि प्रादेशिक ढाँचा निर्माण गर्ने, बहुआयमिक आर्थिक विकासका लागि प्राविधिक प्राविधिक सीप, तालिम, उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिने र कर्णालीका युवालाई प्रदेशभित्र टिकाउन, रोजगारी र व्यवसायका अवसर विस्तार गर्न संयुक्त प्रयास गर्ने प्रतिबद्धता गरिएको उपाध्यक्ष योगीले बताउनुभयो ।

यसैगरी, कर्णाली प्रदेशको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रको विकासका लागि लगानी विस्तार गर्दै सम्भाव्य पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सञ्चारमाध्यम, सामाजिक सञ्जाल र विविध माध्यमबाट सूचना सम्पे्रषण गर्ने, सार्वजनिक सेवा प्रवाहलाई जनमुखी, निष्पक्ष, पारदर्शी र जवाफदेही बनाउनका लागि सबै क्षेत्रबाट रचनात्मक भूमिका निर्वाह गर्ने र यसमा मिडियाको भूमिका महत्त्वपूर्ण हुने पनि प्रतिबद्धता जनाइएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २५ मङ्सिर: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०४ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ८२ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ३४ पैसा र बिक्रीदर २० रुपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा कायम भएको छ । यसैगरी स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

आज विश्व पर्वत दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै

काठमाडौँ, २५ मङ्सिरः हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछन् ।

राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् । पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छन् । द्रुत गतिमा हिमनदी पग्लिएका छन् । विश्व तापक्रम बढ्ने क्रम जारी रहे अरु हिमनदी हराउने छन् ।

यसैगरी विश्वको एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदीहरूको पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिमका कारण अत्यधिक संवेदनशील अवस्थामा छन् । यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ ।

एनपीएल: फाइनल प्रवेशका लागि लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ, २५ मङ्सिरः त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो ।

आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ, २५ मङ्सिर: सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति भएको छ । त्यसका लागि प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिने सहमति भएको छ ।

प्रधानमन्त्री सुशीला कार्की र जेनजी सहिद परिवारका तर्फबाट   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सहमतिमा योग्य नेपाली नागरिक मतदाताका रूपमा नाम दर्ता गर्ने अभियानलाई सहज र प्रभावकारी बनाइनेसमेत उल्लेख छ ।

बेजिल्ला तथा अन्तरनिर्वाचन क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने मतदातालाई निजहरू रहेकै जिल्लाबाट आसन्न निर्वाचनमा नै मतदान गर्ने व्यवस्था गरिने पनि सहमतिपत्रमा उल्लेख छ । संसारका विभिन्न देशमा औपचारिक तथा अनौपचारिक रूपमा श्रम गर्ने प्रवासी नेपाली नागरिक, पेसा व्यवसायमा रहेका र प्रवासी नेपाली विद्यार्थीको मताधिकार सुनिश्चित गर्न नीतिगत, कानुनी तथा संस्थागत पूर्वाधार विकासको प्रक्रिया अगाडि बढाइने पनि सहमति भएको छ ।

यस्तै, निर्वाचनमा मनोनयन दर्ता गर्दाकै बखत उम्मेदवारले आफ्नो सम्पत्ति विवरणसमेत बुझाउनुपर्नेलगायत राजनीतिक दल र उम्मेदवारको खर्च पारदर्शी बनाउन कानुनमा संशोधन गरिने छ । सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सोउपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषीउपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिने पनि सहमति भएको छ ।

निर्वाचन प्रणाली सुधारका लागि प्रचलित कानुनमा तत्काल संशोधन गरिने, मतपत्रमा ‘माथिका कसैलाई मतदान गर्दिनँ’ विकल्प राखिने सम्झौतामा उल्लेख छ । राजनीतिक दलभित्र अनिवार्य रूपमा प्राथमिक प्रतिस्पर्धा (प्राइमरी इलेक्सन) गरी छनोट भएको व्यक्तिमात्र निर्वाचनका लागि उम्मेदवार हुन पाउने कानुनी व्यवस्था गरिने पनि सम्झौता भएको छ ।

निर्वाचन आयोगद्वारा तयार गरिने मतपत्रमा दल÷उम्मेदवारको क्रमाङ्क गोला प्रथाबाट निर्धारण गरिनेछ । राजनीतिक दलमा अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकालका लागि मात्र हुनसक्ने प्रबन्ध गरिने भएको छ । निर्वाचन प्रयोजनका लागि मात्र हुने अस्वस्थ गठबन्धन नियन्त्रणका लागि कानुनी प्रबन्ध गरिने जनाइएको छ ।आगामी निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीमा समेत उम्मेदवार चयन गर्दा समानुपातिक समावेशी सिद्धान्तको पालना गर्न कानुनी प्रबन्ध गरिने सम्झौतामा जनाइएको छ ।

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी

काठमाडौँ – राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ । आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको जानकारी दिनुभएको हो ।

सचिव कँडेलका अनुसार पछिल्लो ६ वर्षमा सात हजार ३४४ वटा विभिन्न किसिमका हिंसाका घटना दर्ता भएकामा जसमा ८८ प्रतिशत घरेलु हिंसाका र १२ प्रतिशत महिला हिंसाका घटना दर्ता भएको छ । सचिव कँडेलकै अनुसार हिंसामा पर्ने महिलाको उमेर समूह भने २६ देखि ४० वर्षका रहेका छन् ।

निरक्षर र साधारण लेखपढ गर्न जानेकै महिलाहरु बढी हिंसामा पर्ने गरेको पनि आयोगको भनाइ छ ।गत आर्थिक वर्षमा पनि घरेलु हिंसा परामर्श सेवा र महिला अधिकार प्रयोग गर्नबाट वञ्चित गरेको सम्बन्धमा उजुरी परी एक हजार दुई सय दुई महिला हिंसाका उजुरी दर्ता भएको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले विगत झैँ आगामी दिनमा पनि महिला अधिकारका क्षेत्रमा सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, २४ मङ्सिर : प्रधानमन्त्री सुशीला कार्कीले युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने आफूहरूको इच्छा भएको बताउनुभएको छ ।

सरकार र जेनजी समूहबीच आज सिंहदरबारमा भएको सम्झौतापछि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले एउटै दस्तावेजबाट सबैका इच्छा भने पूरा नहुने पनि स्पष्ट गर्नुभयो ।

“हाम्रा जति पनि हाम्रा युवा शक्तिहरू छन्, तिनीहरू देशमै बसुन्, रोजगारी गरुन् । राम्रो राजनीतिज्ञ गरुन् र देश चलाउनन् भन्ने हाम्रो इच्छा छ । एउटै दस्तावेजबाट सबैका इच्छा त पूरा हुँदैन”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले उक्त सहमति नेपाल राजपत्रमा प्रकाशन हुने र यो ऐतिहासिक अभिलेख हुने जनाउनुभयो ।

सम्झौता हस्ताक्षर समारोहमा सहभागी केही जेनजी प्रतिनिधिले भने सम्झौतामा आफूहरूलाई चित्त नबुझेको गुनासो गरेका थिए ।

मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मानव अधिकारको संरक्षणका लागि सहयोग गर्न अनुरोध गर्नुभएको छ । ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मानव अधिकारको संरक्षणका सन्दर्भमा देखिएका कमीकमजोरी सुधार गर्न रचनात्मक सुझाव दिन सरोकारवाला निकायसँग आग्रह गर्नुभएको छ ।

मन्त्री सिन्हाले भन्नुभयो, “मावन अधिकार संरक्षण सरकार एक्लैले गरेर हुँदैन, त्यसका लागि सबैको उत्तिकै भूमिका हुन्छ, सबै उत्तिको सहयोगको आवश्यकता हुन्छ, सरकारले गरिरहेका प्रयासमा सहयोग गर्न सम्पूर्ण मानव अधिकारकर्मीहरू तथा नागरिक समाज र सरोकारवाला सङ्घसंस्थालाई आग्रह गर्दछु ।” उहाँले सरकारले मानव अधिकार आयोगको संस्थागत सुदृढीकरणमा जोड दिँदै मानव आयोग, सत्य तथा निरूपण आयोग र बेपत्ता छानबिन आयोगको प्रतिवेदन वा सिफारिसलाई सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

मानव अधिकारका सार्वभौमिक मूल्य र सिद्धान्तको सम्मानस्वरूप सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडिएचआर) को स्मरणमा हरेक वर्ष आज डिसेम्बर १० मा उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ ।

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ, २४ मङ्सिरः नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ ।कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई आज मनोनयन गर्नुभएको हो ।

समितिको सदस्यमा शिवप्रसाद हुमागाइँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कावा सभापति खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार उक्त समिति गठन गर्नुभएको मुख्यसचिव पौडेलले बताउनुभयो ।

उक्त समितिले ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ बाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यतासम्बन्धी आएका उजुरी उपर छानबिन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को अन्तिम सूची तयार गर्नेछ ।

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

काठमाडौँ, २४ मङ्सिर : नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा खडा रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले भएको सम्झौतापत्र भोलिको परिवर्तनलाई निर्देशन गर्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यसले संविधान बनाउन गाइड गर्छ । भविष्यमा रक्तपातको आन्दोलन र विपद् रोक्न प्रयास गर्छ । हामी एउटै पक्ष छौँ । जेनजी मेरा सन्तान हुन् । हामी सबैको एउटै विचार हो, युवा शक्तिले सत्ता लिओस् । उनीहरूका विचारअनुसार राज्य चलोस् । हामी सन्तानको भविष्य हेर्न चाहन्छौँ ।”

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा सरकारका मन्त्रीहरू, मुख्यसचिवलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन

काठमाडौँ – स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने बताउनुभयो ।

अध्यक्ष थापाले गुणस्तर स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्य बीमाको विकासबाट मात्र सम्भव रहेको बताउनुभयो । उहाँले अहिले एक जना बिरामीले उपचार गरेबापत सयमा ५५ रूपैयाँ आफैँ खर्च गर्ने गरेको उल्लेख गर्दै बीमाबाट उपचारको सबै खर्च व्यवस्था गरेर खर्च कम गर्न सकिने बताउनुभयो ।

बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले १० वर्षमा नेपालका स्वास्थ्य सुधारमा बीमा कार्यक्रमले उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो । उहाँले नेपालका कुल २१ प्रतिशत मानिसलाई बीमामार्फत स्वास्थ्यको पहुँच दिँदै आएको भन्दै नेपालले बीमाबाट स्वास्थ्य सेवामा गरेको प्रगति अन्य देशको तुलनामा धेरै राम्रो रहेको बताउनुभयो ।

उहाँले बीमा आबद्ध भएकामध्ये ४१ प्रतिशतले स्वास्थ्य सेवा लिने गरेको बताउनुभयो । उहाँले बीमा कार्यक्रमले व्यक्तिको उपचारमा लाग्ने खर्च घटाउने भूमिका खेलेको भन्दै सबै अस्पतालमा तोकिएको औषधि उपलब्ध हुने हो भने मानिसको स्वास्थ्य पहुँच अझ बढ्ने बताउनुभयो ।

कार्यक्रममा बोर्ड सदस्य डा मुक्तिराम श्रेष्ठले स्वास्थ्यमा पहुँच पुर्याउन स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था सङ्ख्या बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले बीमामार्फत नै नेपालमा सबैमा स्वास्थ्यको पहुँच पुर्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा ब्रिटिस राजदूतावासका स्वास्थ्य सल्लाहकार डा दीपक कार्कीले बीमा कार्यक्रममार्फत बीमितको सजिलैसँग उपचार हुन सके धेरै मानिस बीमा आबद्ध भई स्वास्थ्यमा पहुँच पुर्याउन सक्ने बताउनुभयो ।

धुलिखेल अस्पतालका प्राडा बलराम मल्लले स्वास्थ्य बीमा कार्यक्रमको प्याकेजमा समस्या देखिएकाले बीमित अझै उपचारबाट वञ्चित हुनुपरेको बताउनुभयो । उहाँले बीमितलाई बीमा कार्यक्रमबाट सहज ढङ्गबाट उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

जर्मनी अन्तरराष्ट्रिय सहयोग संस्था जिआइजेडका स्वास्थ्य सल्लाहकार प्रतिमा राईले स्वास्थ्य बीमा कार्यक्रमले नेपालको स्वास्थ्य सेवाको पहुँचमा बढाएको बताउनुभयो ।

जनस्वास्थ्यविद् चुडामणि भण्डारीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा लगेर नेपालको स्वास्थ्य सेवा पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य बीमा कार्यक्रममाअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानको आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध हुन्छ ।

सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज – नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहमहामन्त्री किशोरसिंह राठौर र पूर्वमन्त्री गजेन्द्र हमालसहित २२ जनाको नाम आज सिफारिस गरेको छ ।

तीन निर्वाचन क्षेत्र रहेको जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र ३ मा प्रतिस्पर्धाका लागि कांगे्रसको क्षेत्रीय समितिले सो नाम सिफारिस गरेको हो । बाँके क्षेत्र नम्बर १ बाट नौ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला सभापति नारायणप्रसाद गौडेल, उपसभापति कृष्ण कार्की, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्री र कांग्रेस लुम्बिनी प्रदेश सल्लाहकार हुर्मत न्यौपाने, मीना सिग्देल, रामबहादुर मल्ल, ज्ञानु केसी, चुडामणि कँडेलको नाम सिफारिस गरिएको कांग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले जानकारी दिनुभयो ।

जिल्लाको क्षेत्र नम्बर २ बाट पनि छ जनाको नाम सिफारिस गरिएको छ । पूर्वजिल्ला सभापति तथा पूर्वमन्त्री गजेन्द्र हमाल, अघिल्लो निर्वाचनका उम्मेदवार सुदीप नरसिंह राना, निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य मो याकुव अन्सारी, जिल्ला सचिव सुधांशु कोइराला र क्षेत्रीय सभापति रमेश गुप्ता र लिलावती यादव नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ बाट सात जनाको नाम सिफारिस गरिएको छ । सहमहामन्त्रीदेखि महाधिवेशन प्रतिनिधिसम्मको सूची रहेको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा विजयी सहमहामन्त्री किशोरसिंह राठौर, निवर्तमान प्रतिनिधिसभा सदस्य आशा विक, महासमिति सदस्यहरू लक्ष्मीनारायण शाह, मेघराज वली, टेकबहादुर खड्का र देवराज खत्री तथा महाधिवेशन प्रतिनिधि कृष्ण विक रसाइलीको नाम सिफारिस गरिएको छ ।

जेनजी प्रदर्शनमा निर्वाचन आयोग जोगाउन सफल सशस्त्र प्रहरी बलको गुल्म सम्मानित

काठमाडौँ – गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा निर्वाचन आयोग जोगाउन सफल सशस्त्र प्रहरी बल, नेपाल नं २४ बाघभैरव गुल्म काठमाडौँलाई आयोगले सम्मान गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मङ्सिर २४ गते तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं २४ बाघभैरव गुल्म तथा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालालाई सम्मान गर्नुभएको हो ।

गत भदौ २४ गते काठमाडौँ महानगरपालिका–२७ कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीलाई अगाडि बढ्न नदिइ मुख्य गेटमै रोकी सम्झाइबुझाइ गरेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिनुभयो ।

त्यति गर्दासमेत भीड थप आक्रोशित भएपश्चात् उक्त टोलीले सामान्य बल प्रयोग गरी भीडलाई तितरवितर पारेर उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिइ आयोगलाई क्षति हुनबाट जोगाएको थियो ।

निर्वाचन आयोग परिसरमा रहेको र हालै गणमा स्तरोन्नति भएको सशस्त्र प्रहरी बल, नेपाल नं १८ बाघभैरव गणले फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई मध्यनजर गर्दै निर्वाचनसम्बन्धी दल दर्ता, दल दर्ता प्रमाणपत्र वितरणलगायत विभिन्न गतिविधि एवं आयोग परिसरको निरन्तर रूपमा सुरक्षा प्रदान गर्दै आइरहेको छ ।

किसानबाट एक करोड ४४ लाख बढीको धान खरिद

दाङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस वर्ष दाङको देउखुरी क्षेत्रका तीन पालिकाका २१२ जना किसानले उत्पादन गरेको पाँच हजार क्विन्टल धान खरिद गरेको छ । कार्यालय प्रमुख तुलमाया लोवाले दिनुभएको जानकारीअनुसार लमही, गढवा र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको धान खरिद गरिएको हो ।

उक्त धान रु एक करोड ४४ लाख ८९ हजार ८०० मा खरिद गरिएको उहाँले जानकारी दिनुभयो । गढवाबाट दुई हजार क्विन्टल, लमही र राप्ती गाउँपालिकाबाट एक हजार ५०० क्विन्टल धान खरिद गर्ने कार्यालय र पालिकाबीच भएको सहमतिअनुसार धान खरिद गरिएको कार्यालयले जनाएको छ ।

सरकारले निर्धारण गरेको धानको मूल्यअनुसार प्रतिक्विन्टल तीन हजार ४६३ रूपैयाँका दरले मोटो धान किसानबाट खरिद गरिएको कार्यालयका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार एक जना कृषकबाट अधिकतम ४० क्विन्टल धान खरिद गर्ने भनिए तापनि धेरै किसानलाई समेट्नेगरी १५ देखि २० क्विन्टल प्रतिकिसानका दरले धान गरिद गरिएको हो ।

गत वर्ष खाद्यले जिल्लाबाट आठ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको थियो । तर गत वर्ष लक्ष्यअनुसार धान खरिद हुन नसक्दा यस वर्ष केन्द्रबाट धान खरिदको कोटा घटेको छ ।

यसैबीच, दाङमा यस वर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।

बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु

काठमाडौँ – नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले स्थलगत रुपमै अध्ययन सुरु गरेको छ । समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरुसहितको टोली आज बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको हो ।

छानबिन समितिको सहयोगमा आज मृतक अञ्जु थारुकी सात वर्षीया छोरी अनिताको जन्म दर्ता र आमा अञ्जुको मृत्यु दर्ता सम्पन्न भएको छ । समिति सदस्य कुलशेखर अर्यालका अनुसार टोलीले घटनास्थलमा आएर पीडित परिवारलाई सहजीकरण र घटनाका बारेमा छानबिन थालेको छ । “बाँकी समस्या बुझेर प्रतिवेदनमा उल्लेख गर्नेछौँ”, उहाँले भन्नुभयो ।

घटनापछि अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता भएको छ । उनलाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भइसकेको छ । सो घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको छ ।

सो घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले यही मङ्सिर २१ गते सहसचिव पन्थीको संयोजकत्वमा, उपसचिव अर्याल र बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सदस्य रहेको समिति गठन गरेको थियो । समितिलाई पाँच दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ ।

बर्दियाको बढैयाताल–४ की २२ बर्सिया अन्जु थारुले गाउँकै अनिल थारुसँग बिहे गर्नुभएको थियो । अञ्जुले श्रीमान विरुद्ध अंश मुद्दा दर्ता गरेकामा अदालतले अंश दिने फैसला गरे पनि नागरिकता नभएका कारण अंश पाउन सक्नुभएन । नागरिकता नहुँदा उहाँकी छोरीको जन्मदर्ता हुन सकेन । अंश दिने न्यायिक प्रक्रिया समेत अवरुद्ध भयो ।

अदालतले अंश दिन आदेश गरे पनि वडा कार्यालयले नागरिकताको सिफारिस गरेन । आमाको नामबाट सन्तानको जन्मदर्ता हुनसक्ने कानुनी व्यवस्था भए पनि अञ्जुले सात वर्षकी छोरीको जन्म दर्ता गर्न सक्नुभएन । वडाले ‘बुबाको नागरिकता चाहिन्छ’ भन्दै जन्मदर्ता बनाइदिएन ।

माइतीबाट नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासनले रोक्यो । स्थानीय तह र प्रशासनबाट निरन्तर असहयोग भएपछि अञ्जुले माइतीमै गत कात्तिक २२ आत्महत्या गर्नुभएको थियो । अञ्जुले आत्महत्या गरेको चार दिनमै छोरीको मृत्युको शोकमा रहनुभएका ६१ वर्षीय बाबु कान्छा थारुले पनि आत्महत्या गर्नुभएको थियो ।

एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

काठमाडौँ – लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौँ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान गरे ।काठमाडौँका सन्तोष यादवले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो । काठमाडौँका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए । उनले १७ बलमा एक छक्काको सहयोगमा २३ रन जोडेका हुन् ।

त्यसैगरी, जोन सिमसन र मोहमद आदिल आलमले समान १८/१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए । कप्तान करण केसी नौ रनमा आउट भए ।

काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट लिए । यस्तै ट्रम्पलम्यानले दुई विकेट लिए भने अभिशेष गौतमले एक विकेट झारे । लुम्बिनीले अब विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।