`

कर्णालीमा सङ्गठन संरचना प्रतिवेदन कार्यान्वयन गर्न चार सदस्यीय समिति गठन

कर्णाली, २४ असार : कर्णाली प्रदेश सरकारले सङ्गठन संरचना प्रतिवेदन कार्यान्वयन एवं सहजीकरण गर्नका लागि चार सदस्यीय समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्ले बैठकले कर्णाली प्रदेश सरकारद्वारा गठित सङ्गठन संरचना अध्ययन उच्चस्तरीय समितिले प्रदेश सरकारलाई बुझाएको सुझाव प्रतिवेदन कार्यान्वयन एवं सहजीकरण गर्न समिति गठन गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शासकीय सुधार महाशाखाका सचिव लक्ष्मीकुमार विकको संयोजकत्वमा उक्त समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

प्रवक्ता शाहका अनुसार समितिको सदस्यहरूमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव वीरेन्द्र केसी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्मा रहनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विधाप्रसाद उपाध्याय सदस्य सचिव रहेको जनाइएको छ ।

व्यास नगरपालिकाको एक अर्ब ८१ करोडको बजेट पारित

दमौली (तनहुँ), २४ असार : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको छ । नगरपालिकाको आज आयोजित ४३ औँ नगरसभाले आगामी आवका लागि रु एक अर्ब ८१ करोड ७६ लाख १९ हजारको आयव्यय बजेट सर्वसम्मत पारित गरेको हो ।

नगरपालिकाले गत असार १० गते आगामी आवका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । प्रस्तावित बजेटमध्ये चालुतर्फ ५५ दशमलव ८५ प्रतिशत र पुँजीगततर्फ ४४ दशमलव १५ प्रतिशत रहेको जनाइएको छ ।

नगरसभामा आव ०८२/८३ को प्रस्तावित बजेट, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२ र विभिन्न समिति र कार्यालय प्रमुख एवं शाखा प्रमुखहरूको प्रस्तावउपर दलबहादुर दुरा, चेतबहादुर दरै, मणिजङ्ग बस्नेत, दधिराज घिमिरे, सरोज भण्डारी, दुर्गाबहादुर आले, हरिशचन्द्र पन्थ, ढालप्रसाद घिमिरे, सुन्दर वाग्ले, रामप्रसाद मिश्र, विज्ञान कैनी, कमला विक, हर्कबहादुर कार्की, सरस्वती सुनार, राधा विक, गौकुमारी न्यौपानेले छलफलमा भाग लिनुभएको थियो ।

नगरसभामा न्यायिक समिति संयोजक इन्दिरा दरै, सामाजिक विकास समिति संयोजक चन्द्रमाया परियार, पूर्वाधार विकास समिति सुरेश थापा, आर्थिक विकास समिति संयोजक खेमराज पोख्रेल, विधायन समितिका संयोजक रमेशचन्द्र हड्खले, लेखा समिति संयोजक विष्णुकुमार श्रेष्ठ, सुशासन समिति संयोजक दलबहादुर दरै, वन वातावरण समिति संयोजक रनसिं नेपालीले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नगरसभाले नगरसभा सदस्य गौकुमारी न्यौपानेको संयोजकत्वमा दधिराज घिमिरे, हर्कबहादुर कार्की सदस्य रहने गरी लेखा समिति पुर्नगठन गर्ने निर्णय गरेको छ । त्यस्तै यज्ञ शर्माको संयोजकत्वमा रफत साना मियाँ र गोकुल दुरा सदस्य रहने अनुशासन समिति गठन गर्ने निर्णय गरिएको छ ।

नगरसभाले व्यास नगरपालिका स्वास्थ्य सङ्गठन संरचना प्रतिवेदन र प्रशासनिक सङ्गठन संरचना संशोधन प्रतिवेदन, घर नक्सा मापदण्ड, मानुङकोट जग्गा विकाससम्बन्धी मापदण्ड संशोधन सहित पारित गरेको प्रवक्ता सुरेश थापाले जानकारी दिनुभयो ।

पहिरोमा परी मोटरसाइकलमा सवार चालकको मृत्यु

तानसेन (पाल्पा), २४ असार : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका दुईमध्ये एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पा आउँदै गरेको लु५१प ६६३३ नम्बरको मोटरसाइकल पहिरोमा परी घाइते हुँदा चालक पाल्पाको रामपुर नगरपालिका–५ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

उहाँको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पु¥याएपछि डाक्टरले मृत घोषणा गरेका हुन् । मोटरसाइकलमा पछाडि सवार उहाँको श्रीमती कल्पना चापागाई भने सामान्य घाइते हुनुभएको छ । उहाँको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

एक्कासि माथि भिरबाट पहिरो आएर लाग्दा चालक सडकबाट केही तल खस्न पुगेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्डमाका विभिन्न ठाउँमा ढुङ्गा खस्ने र पहिरोको जोखिम रहेकाले अहिले बर्तुङ र सिद्धाबाबा क्षेत्रबाट सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

रसुवा बाढीको सम्भावित कारण पत्ता लगाउन अध्ययन सुरू

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवा (भोटेकोशी)मा आएको बाढीको कारण पत्ता लगाउन अध्ययन सुरूगरिएको जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले भोटेकोशी जलाधारको तिब्बती क्षेत्रमा थुप्रै हिमताल रहेको उल्लेख गर्दै सोमबार राति आएको बाढीको सम्भावित कारण पत्ता लगाउन र नदी किनारमा कस्तो असर गरेको छ भनेर पत्ता लगाउन भूउपग्रहका तस्बिरको अध्ययन प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

उनले जल ताथा मौसम केन्द्रहरूले दिएको विवरण र प्रारम्भिक अवलोकनका आधारमा भोटेकोशीको बाढी ठूलो पानी परेका कारण आएको भन्ने नदेखिने दाबी गरेका छन् ।

उनले भने, ‘नेपालका चीन नजिकै रहेको क्यान्जिङ मौसम केन्द्र र धुन्चेमा भएको केन्द्रले त्यहाँ फाटफुुट पानी परेको देखाएको छ । पाल्पामा रहेको मौसमी राडारले रसुवाको सीमावर्ती क्षेत्रमा पानी परेको दखोएको छैन । विश्व मौसम सङ्गठनको गाइडेन्स सिष्टमको भूउपग्रहमा आधारित वर्षा अनुमानका अनुसार पनि भोटेकोसी लजाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा पानी नपरेकोलगायत कारणले वर्षाका कारण बाढी आएको भन्ने देखिँदैन ।’

आज बिहान ३ बजेतिर तिब्बतबाट भोटेकोशी नदीमा एक्कासि बाढी पसेको थियो । पानीको सतह रसुवाको टिमुरेमा साढे तीन मिटर बढेको देखिएको पनि उनले बताए ।

रसुवामा भोटेकोशी र त्रिशूली नदी किनारमा ठूलो प्रभाव परेको, नुवाकोटमा मध्यम र धादिङको बेनीघाटसम्म सामान्य प्रभाव परेको पनि उनले जानकारी दिए । बाढी घट्दो क्रममा रहे पनि सावधानी अपनाउन उनले सबैमा अनुरोध गरे ।

बाढीका कारण हालसम्म मालवाहक गाडीसहित ६४ वटा सवारीसाधन बगाएको छ । ५५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सात जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता रहेका छन् ।

स्कर्पियो र बलेरो एकापसमा ठोक्किँदा १० घाइते

नवलपुर (नवलपरासी), २४ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा स्कर्पियो र बलेरो ठोक्किँदा १० जना घाइते भएका छन् ।

नारायाणघाटतर्फ जाँदै गरेको लु प्र ०१–००१ च ०९४८ नं को स्कर्पियो र बुटवलतर्फ जाँदै गरेको बा प्र ०३–००१ च १४७४ नं को पिकअप बलेरो आज पूर्व–पश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी–१ को गुम्बाचोकमा एकआपसमा ठाक्किँएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र भरतपुरमा उपचार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पिकअप बलेरोमा चालक मात्रै रहेका थिए । चालक स्थानीय ४५ वर्षीय ओमनारायण महतो सामान्य घाइते भएका छन् । अन्य घाइतेमा स्कर्पियोमा सवार नौ जना रहेका छन् ।

विनयी त्रिवेणी–२ का ३१ वर्षीय स्कर्पियो चालक रेशमबहादुर सारु मगर, सोही ठाउँका १४ वर्षीय किरण फाल मगर, ३६ वर्षीया दानुमाया आले, ५५ वर्षीया सीता श्रेष्ठ, ४८ वर्षीय विष्णुबहादुर श्रेष्ठ, ८४ वर्षीया रूपामाया श्रेष्ठ, ३६ वर्षीय हरिबहादुर लामिछाने, ५७ वर्षीया यनिसरा लामिछाने तथा ५२ वर्षीय कुलबहादुर कुमाल घाइते भएका प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो ।

घाइतेमध्ये सात जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छभने यनिसरा लामिछाने र कुलबहादुर कुमाललाई थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

म्याग्दी, २४ असार: मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ नाम्दोकको छुकार खोलामा आएको बाढीका कारण जोखिममा रहेका म्याग्दीस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आज साँझ एक विज्ञप्ति जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

छुकार कालीगण्डकी नदीको सहायक खोला हो । यहाँको अन्नपूर्ण गाउँपालिकाको गोप्चेपानी टितर, दाना घरा, सुकेबगर, गुइँठे भुरुङ, तातोपानी, पोखरेबगर, ठूलोबगर, महभिर, तिप्ल्याङ, बैसरी, घुमाउने ताल, तिलकेनी र बेनीको कालीपुल क्षेत्र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका बस्ती हुन् ।

नदीमा बाढीको सतह बढ्दा तटीय क्षेत्रमा कटान हुनसक्ने भएकाले सतर्कता अपनाउन स्थानीयबासीलाई प्रशासनले आग्रह गरेको हो ।

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, २४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपाललाई सतर्क रहन आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले टेक्सासमा बाढी आएकाले बसोबास गर्ने नेपालीलाई सतर्क रहन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले टेक्सासमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको ज्यान गएको र ती ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

“अमेरिकास्थित टेक्सासमा धेरै नेपालीको बसोबास छ । त्यहाँ अहिले बाढीका कारण १०० जना भन्दा बढीको ज्यान गएको खबर आएको छ । टेक्सासको बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु । त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गर्दछु”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु

काठमाडौं । गुरुङ समुदायका महिला तथा विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘मिस एण्ड मिसेस गुरुङ’को चौथो संस्करण (मिस एण्ड मिसेस गुरुङ २०८२) सुरू भएको छ । आयोजकले प्रतियोगिताको आवेदन खुल्ला गर्दै असार २६ गते काठमाडौंको सामाखुसीस्थित विशाल फूटसलमा पहिलो चरणको अडिसन राखेको एक बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
कार्यक्रमको आयोजना गर्दै आएको संस्था ‘एस के इन्टरटेन्मेन्ट’का अनुसार, यो प्रतियोगिता विगतका संस्करणहरूमा प्राप्त सफलता र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राखी यसपटक अझ व्यापक र समावेशी रूपमा आयोजना हुन लागेको छ ।

‘एस के इन्टरटेन्मेन्ट’की अध्यक्ष शान्ता लामा तामाङका अनुसार, प्रतियोगितामा सहभागी हुने महिला तथा विवाहित महिलाहरूका लागि फारम शुल्कदेखि सम्पूर्ण प्रशिक्षण निःशुल्क राखिएको छ । उनले कार्यक्रमलाई कुनै आर्थिक भारबिना प्रतिभा उजागर गर्ने एक प्लेटफर्म बनाएको बताइन् । ‘गुरुङ महिलाहरूमा लुकेका कला, आत्मबल र संस्कृतिक मूल्यलाई मञ्च प्रदान गर्ने हाम्रो उद्देश्य हो’ उनले भनिन् ।

प्रतियोगिताको अडिसनमा सहभागी भएर छनोटमा परेका प्रतियोगीहरूले ३०–३५ दिनसम्म विभिन्न प्रशिक्षणहरू प्राप्त गर्नेछन् । तिनीहरूलाई व्यक्तित्व विकास, फेसन प्रशिक्षण, आत्मविश्वास निर्माण, गुरुङ सांस्कृतिक प्रस्तुति, स्टेज उपस्थिति, फोटोशुट, पब्लिक स्पिकिङ लगायतका क्षेत्रमा दक्ष बनाइनेछ ।
सम्पूर्ण तालिमपश्चात एउटा भव्य ग्रान्ड फिनाले कार्यक्रम आयोजना गरिनेछ, जहाँ निर्णायक मण्डलद्वारा विजेता घोषणा गरिनेछ। विजेताहरूलाई उपाधि, ट्रफी, प्रमाणपत्र, आकर्षक पुरस्कार तथा विभिन्न ब्रान्डहरूसँग आबद्ध हुने अवसर प्राप्त हुनेछ।

यस प्रतियोगिताले गुरुङ जातिको भेषभूषा, परम्परा र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्त्वपूर्ण अभियान बोकिरहेको आयोजक संस्था ‘एस के इन्टरटेन्मेन्ट’को भनाइ छ । इच्छुक सहभागीहरूलाई समयमै सम्पर्क गरी अडिसनमा भाग लिन आयोजकले विशेष आग्रह गरेको छ । थप जानकारी तथा फारमका लागि ‘एस के इन्टरटेन्मेन्ट’को आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ । प्रतियोगीताको डिजिटल पार्टनरको रुपमा जीनोपे जोडिएको छ ।

विपक्षी दलको विरोधका कारण आज तेस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध

जनकपुर, २४ असार: मधेस प्रदेशसभाको बैठक आज तेस्रो दिन पनि विपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्तिलगायतले तीन दिनदेखि बैठक अवरोध गरिरहेका छन् ।

आजको बैठकको सुरुमै राप्रपाकी सांसद कञ्चन बिच्छा, नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, जसपा नेपालकी किरणकुमारी शाह, माओवादी केन्द्रकी शारदा पहाडी, एकीकृत समाजवादीका प्रमोद यादवले शून्य समयमै बजेटमा विचौलिया हाबी भएकाले पुनर्लेखन नभएसम्म सदन चल्न नदिने बताउनुभएको थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले भने बजेटको बहानामा सदनलाई बन्धक बनाउन नहुने बताउनुभयो । सदन चलेपछि मात्र बजेटमा भएको कमजोरीलगायत विषयमा छलफल गर्न सकिने उहाँको भनाइ थियो ।
लगत्तै सभामुख रामचन्द्र मण्डलले विरोधका बीच बैठक बस्न नसक्ने भन्दै स्थगित गर्नुभयो । अर्को बैठक बुधबार दिउँसो १ः०० बजे बस्नेछ ।
सरकारलाई दिएको समर्थन फिर्ता
नागरिक उन्मुक्ति पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज बसेको प्रदेशसभा बैठकमा सो पार्टीका तर्फबाट उर्मिलादेवी सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको भन्दै सदनलाई जानकारी गराउनुभयो । मधेस प्रदेशमा उहाँ सो पार्टीको एक्लो सदस्य हुनुहुन्छ । यसअघि यहाँ जनमत पार्टीका नेता सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्तिले समर्थन गरेको थियो ।

उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

मुस्ताङ, २४ असार : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ । आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।

अहिलेसम्म चुमजुङ लेकबाट आएको भीषण बाढीका कारण लोमान्थाङ गाउँपालिकाभित्रका करिब चार वटाभन्दा बढी अस्थायी पुल र कल्र्भट बगाइसकेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । “यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ, यहाँबाट मुस्ताङको तल्लो क्षेत्रमा कालीगण्डकी तटीय बस्तीलाई फोनबाट सर्तक रहन आग्रह गरेका छौँ ।”

अध्यक्ष गुरुङले उपल्लो मुस्ताङबाट भीषण बाढी आउन सुरू गरेको प्रहरी र प्रशासन सबैलाई जानकारी गराइएको बताउनुभयो । यहाँको बाढीको प्रभावले कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई थप जोखिम हुने देखिएकाले सर्तक रहन हामीले फोनमार्फत सूचना गरेको अध्यक्ष गुरुङको भनाइ छ । उपल्लो मुस्ताङको चुमजुङ गाउँ नेपाल–चीन सीमावर्ती नजिकको गाउँ हो । आज त्यहाँबाट अकल्पनीय रूपमा भीषण बाढी आउन सुरू गरेको छ ।

बाढीबाट भएको थप क्षति विवरण सार्वजनिक ,सवारीसाधन मात्रै ६४ वटा बगायो

रसुवा, २४ असार: गए रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षसितको थप विववरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् ।

यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।

यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ । यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै माथिल्लो त्रिशूली ‘ए’को ६० मेघावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अन्य क्षतिको विवरण प्राप्त भएको छैन ।

यसैबीच नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई सुरक्षित ठाउँमा उद्धार गरेको पनि सहप्रजिअ अधिकारीले बताउनुभयो । “ल्हेन्दे खोलाको मितेरी पुल बताउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ । १० मिटर चौडाइ र १०० मिटर लम्बाइको रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन् । रसुवागढीबाट करिब ८० कोषमाथि छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोले क्षति बनाएको अनुमान छ”, उहाँले भन्नुभयो ।

बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको प्रक्रिया अघि बढाउन मन्त्री दाहालको निर्देशन

काठमाडौँ, २४ असार: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुललगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।

आज यहाँ सडक विभागका अधिकारीलाई उहाँले क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री दाहालले भोटेकोशी नदीले पु¥याएको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्न समेत निर्देशन दिनुभयो । “अझै मनसुन जारी रहनेतर्फ ध्यान दिँदै संरचनाको सुरक्षा र क्षति भएका संरचनाको अस्थायी र स्थायी पुनर्निर्माणको योजना बनाउनुस्”, उहाँले भन्नुभयो,“नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरी जनजीवन र यातायात सहज बनाउन जनशक्ति र स्रोत–साधन परिचालन गर्न पनि लाग्नुुस् ।”

मन्त्री दाहालले बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण थप क्षति हुनसक्ने पक्षलाई मध्यनजर गरी वर्षायामभरि सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि पनि सम्बद्ध निकायसँग समन्वय गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले उक्त सडकबाहेक अन्य सडकतर्फ समेत ध्यान दिई सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी आवश्यक बन्दोबस्त गर्न निर्देशन दिनुभयो ।

विभागका महानिर्देशक डा विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पु¥याएको क्षतिको अध्ययन र गर्नुपर्ने कार्यका लागि विभागको टोली परिचालन भइसकेको छ । यस्तै, गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाबाट क्षतिग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन गरिएको छ ।

“बाढी र वर्षाको अवस्थाअनुसार विभागले तत्काल गर्नुपर्ने काम सुरु गर्दैछ भने अल्पकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यका लागि योजना बनाउँछौँ”, महानिर्देशक जैसीले भन्नुभयो,“सो क्षेत्रमा गर्नुपर्ने संरक्षण, मर्मत र पुनर्निर्माणका लागि विभागको टोलीले अन्य निकायसँग समेत समन्वय गरिरहेको छ ।”

अमेरिकाको २० भन्दा बढी सहरमा ‘सोलफुल यु.एस.ए यात्रा’ गर्दै महेश र अस्मिता

गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा भएको छ। उक्त साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना हुनेछ । मङ्गलवार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो ।

‘ओनेस्ट रियल इस्टेट’ द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’ द्वारा व्यवस्थापन गरिएको यो यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एशबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायतका २० भन्दा बढी अमेरिकी सहरहरूसम्म पुग्नेछ । महेश र अस्मिताको अमेरिकाको विभिन्न सहरहरूमा राम्रो डिमान्ड भएकाले पनि यो साङ्गीतिक यात्राको आयोजना गरिएको थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीले जानकारी गराए ।

यता महेश र अस्मिताले पनि आफुहरु यो साङ्गीतिक टुरको लागी निकै नै उत्साहित रहेको बताए । अमेरिकामा रहेका नेपाली समुदायहरु माझ नजिक पुगेर गीत सुनाउने मौका रहेको भन्दै खुसी व्यक्त गरे । महेश र अस्मिताको ‘लजावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू हिट छन्।

थ्री ई इन्टरटेन्मेन्टले धेरै ठुला कन्सर्ट, टुर र सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै आएको छ। थ्री.ईले यस अघि आनी छोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, काली प्रसाद बाँस्कोटा , इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्त जस्ता चर्चित नेपाली कलाकारहरूको अमेरिका टुर गराई सकेको छ। साथै १९७४ एडीको लाइभ कन्सर्टसहित थुप्रै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पनि आयोजना गरेको छ। थ्री ईले सन् २०२२ देखि भर्जिनियामा “डिटिफेस्ट – दसैँ तिहार फेस्ट” नामक बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै, सन् २०१२, २०१३ र २०१७ मा “ग्लोबल नेपाल फेस्ट” आयोजना गरेर नेपाली संस्कृति, पर्यटन र व्यापारलाई अमेरिकामा चिनाउने ऐतिहासिक पहल गरिएको थियो।

एनआरएनए जापानको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा समाजसेवी सिद्धार्थ श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन्।

उनले यही जुलाई १२ (शनिबार) का दिन टोकियोको Solmari Hall, Shin-Okubo मा उम्मेदवारी घोषणा सभा आयोजना गर्न लागेका छन्। श्रेष्ठ विगत १७ वर्षदेखि जापानमा बसोबास गर्दै सामाजिक सेवामा क्रियाशील रहँदै आएका छन्।

एनआरएनए जापानमा मानार्थ सदस्यदेखि सल्लाहकार, प्रवक्ता, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी वहन गरिरहेका श्रेष्ठले पारदर्शी, उत्तरदायी र समावेशी नेतृत्वद्वारा संस्थालाई अघि बढाउने अठोट व्यक्त गरेका छन्। उनी भन्छन्, “संस्थालाई स्वच्छ र उत्तरदायी बनाउने मेरो प्रयास निरन्तर रहँदै आएको छ।

म कुनै प्रतिस्पर्धामा छु भन्ने हैन, निर्वाचन भनेको एक सुन्दर लोकतान्त्रिक अभ्यास हो, र म समुदायको हितमा अझ प्रभावकारी रूपमा योगदान दिन अध्यक्षको भूमिकामा उभिन लागेको हुँ।” श्रेष्ठको नारा — “नेपालीका दुःखमा पहिलो सहारा!” — ले उनको अभियानको मूल भाव प्रतिबिम्बित गर्छ। जापानमा रहेका नेपालीहरूका समस्यामा सधैं अग्रसर हुने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

नेपालमा रहँदा विभिन्न जिल्लादेखि राष्ट्रियस्तरसम्मका तेक्वान्डो प्रतियोगिताहरूमा सहभागी भइसकेका श्रेष्ठले नेतृत्व र समर्पणको मूल्य खेलकुदबाट सिकेको बताउँछन्। यही नेतृत्व भावना लिएर जापानमा समेत विभिन्न सामाजिक अभियानहरूमा उनी अग्रपङ्क्तिमा रहँदै आएका छन्। एनआरएनए जापानमा हाल अधिवेशनको सरगर्मी बढ्दै जाँदा श्रेष्ठको उम्मेदवारीले निर्वाचनलाई थप चासोको विषय बनाएको छ। पारदर्शिता, जवाफदेहिता र सामूहिक हितमा आधारित नेतृत्वको आशामा श्रेष्ठले समर्थनको अपिल समेत गरेका छन्।

सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त

काठमाडौँ, २४ असार : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा शिक्षामन्त्री पन्तले निजी क्षेत्रका विद्यालयलाई सरकारीकरण गर्न नसकिने र विद्यार्थीहरूलाई सरकारी विद्यालयमा मात्रै पढ्नुपर्ने बाध्यकारी व्यवस्था गर्न नसक्ने अवस्थामा सरकारी विद्यालयको गुणस्तर निजीसरह र अझ त्यो भन्दा राम्रो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

“आफ्ना छोराछोरीकहाँ पठाउने भन्नेकुरा बाबुआमाको अधिकारको कुरा हो । व्यक्तिको लोकतान्त्रिक अधिकारसँग सम्बन्धित भएकाले कानुन बनाएर सरकारी विद्यालयमै पढाउनु भनेर बाध्यकारी बनाउन सकिँदैन”, शिक्षामन्त्री पन्तले भन्नुभयो, “सरकारी विद्यालयको गुणस्तरलाई पनि निजीस्तरका विद्यालयकै हाराहारीमा पु¥याउनतर्फ लाग्नपर्छ । बोर्डिङमा उपलब्ध हुनेजत्तिकै वा अझ त्यो भन्दा राम्रो शिक्षा सामुदायिक विद्यालयमा उपलब्ध गराउनका लागि सरकारले आवश्यक सबै साधनस्रोत प्रयोग गर्ने प्रतिबद्धता जनाउँदछु ।”

सरकारले तीन खम्बे अर्थनीति बनाएको र शिक्षा क्षेत्रमा पनि निजी क्षेत्रले लगानी गरेको उल्लेख गर्दै पन्तले नयाँ विद्यालय शिक्षा विधेयकले निजी क्षेत्रका शिक्षालयलाई फरक तरिकाले व्यवस्थापन गर्न खोजेको बताउनुभयो । “निजी क्षेत्रका विद्यालयको नियमन कडाइका साथ गरिनुपर्ने कुरा सरकारले बोध गरेको छ । निजी क्षेत्रका विद्यालयलाई सहकारी वा गुठीको अवधारणामा ल्याउन सकिने प्रावधान नयाँ शिक्षा विधेयकमा राखिएको छ”, उहाँले भन्नुभयो ।

मदरसाजस्ता परम्परागत शिक्षा प्रणालीलाई राष्ट्रिय प्रणालीसँग आवद्ध गरी प्रभावकारी रूपमा सञ्चालन तथा नियमन गर्न र ती शिक्षण संस्थालाई प्रदान गरिने अनुदानलाई प्रभावकारी बनाई परम्परागत शैक्षिक प्रणालीको संरक्षण गर्न मापदण्ड कार्यान्वयनमा रहेको उहाँले उल्लेख गर्नुभयो । मदरसाजस्ता परम्परागत शिक्षालयमा दिवा खाजा, निःशुल्क पाठ्यपुस्तकलगायतका सुविधा एकमुष्ठ रूपमा उपलब्ध गराइएको उहाँको भनाइ छ ।

यस्ता शिक्षालयहरूको पाठ्यक्रम समय र परिस्थितिअनुसार परिवर्तन गरिँदै लगिने शिक्षामन्त्री पन्तको भनाइ छ । संसद्को यसै अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गरेर कार्यान्वयनमा ल्याउने गरी प्रयास भइरहेको पन्तले उल्लेख गर्नुभयो । त्यस्तै, उच्च शिक्षालाई पनि समयानुकूल बनाउने र युवा विदेशिनबाट रोक्नका लागि प्रयास थालिने उहाँको भनाइ छ ।

राष्ट्रियसभाको आजको बैठकमा ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिसमेत छलफल भएको छ । उक्त छलफलका क्रममा उठेका विषयहरूमाथि जवाफ पेस गर्नुहुँदै शिक्षामन्त्री पन्तले विश्वविद्यालय तथा आङ्गिक क्याम्पसमा राज्यको हस्तक्षेप हुन नहुने अवस्था सिर्जना गर्नु अपरिहार्य बनिसकेको बताउनुभयो । अध्ययन अनुसन्धान र विचार चिन्तनको थलोका रूपमा विश्वविद्यालयलाई स्थापित गरिनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठकमार्फत् त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनले दिएका सुझाव तत्काल प्राथमिताका आधारमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

त्यस्तै, मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी, राहत तथा उद्धारका काममा जिम्मेवार भएर लाग्न सरकारलाई राष्ट्रियसभाले निर्देशन दिएको छ । “वर्षायाम सुरू भएसँगै यसबाट सिर्जित विपद् र भएको धनजनको क्षतिका घटनाका विवरणहरू आउन थालेका छन् । आज मात्रै रसुवा जिल्लालगायत उत्तरी सीमा क्षेत्रमा आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको विवरण र समाचार आइरहेका छन् । यसले हामी सबैलाई दुःखी र गम्भीर बनाएको छ”, राष्ट्रियसभा अध्यक्ष दाहालले भन्नुभयो, “घटना प्रभावित क्षेत्रमा राज्यका सम्बद्ध निकाय र जिम्मेवार पक्षले तत्काल उपस्थिति जनाई बेपत्ता व्यक्तिको खोजी गर्न, उद्धार कार्यमा तीव्रता दिन, राहत, पुनःस्थापना, पुनःनिर्माण र क्षतिपूर्तिको तत्काल कार्ययोजना बनाइ कार्य गर्न विशेष आग्रह गर्दछ ।”

विभिन्न विपद्जन्य घटनाका सम्भावित क्षेत्रको पहिचान गर्ने, पूर्व तयारीका कार्य गर्ने, घटना हुन नदिने, घटनापश्चात् राहत, उद्धार र क्षतिपूर्ति, पुनःस्थापना र पुनःनिर्माणका कार्यलाई चुस्त बनाइ नागरिकको जीउधनको संरक्षण गर्ने पहिलो दायित्व सरकारको भएकोबारे पनि अध्यक्ष दाहालले सरकार र मातहतका सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा र संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार २७ गते शुक्रबार अपरान्ह १२ बजेर १५ मिनेट बस्नेछ ।

र्‍यापर मनोज ओलीको कथा आज सुनाउँदैछुको चर्चा

काठमाडौँ । र्‍यापर मनोज ओलीले नयाँ र्‍याप गीत कथा आज सुनाउँदैछुको भिडियो सार्वजनिक गरेका छन् । र्‍यापमा विद्यमान नेपाली समाजको हुबहु चित्रण छ । जुनसुकै ‘तन्त्र’ र ‘वाद’ आए पनि धनी झन धनी हुँदै गएको र गरिबका दुःख झन बढ्दै गएको यथार्थ चित्रण छ । गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्नेहरू पनि सत्तामा पुगेपछि केही परिवर्तन नभएको नेपालको वास्तविकता र्‍यापमा सुन्न सकिन्छ ।

राजनीतिक दलले देखाउन नछोडेको आश्वासन र व्यवस्था फेरिए पनि नफेरिएको अवस्थालाई र्‍यापले जीवन्त रूपमा चित्रण गरेको छ ।अन्ततः गरिब जनतालाई ढाल बनाएर गरिएको क्रान्तिपछिको परिवर्तनले एक छाक खान र न्यूनतम शिक्षा र स्वास्थ्यबाट पनि बञ्चित हुनु परिरहेको विद्यमान अवस्थालाई र्‍यापले चित्रण गरेको छ । भिडयोमा मुकुन भुसाललगायत कलाकारको अभिनय छ । भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।

हेर्नुहोस् प्रशान एलुङ राईको घर हाम्रो सोलुखुम्बुको भिडियो

काठमाडौँ । गीतकार तथा निर्देशक प्रशान एलुङ राईको ‘घर हाम्रो सोलुखुम्बु’ सार्वजनिक गरिएको छ । प्रशानको शब्द, अनिल कोयी राईको पूर्वेली लयमा तयार भएको सोलुखुम्बुको परिचय बोल्ने गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर रेकर्ड छ । गीतको भिडियोमा कलाकार हरि निरौला ‘कक्रोच’, बबिन राई ‘गल्फने बाजे’, क्रिसला तामाङ, तथा भिमफेदी गाइजका निर्मल लामा र उनको टिमको आकर्षक प्रस्तुति देख्न पाइन्छ । १७ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका राईले यसअघि ‘दिलैको दरबार’ र ‘साइँली’मा आफ्नो कलात्मक खुबी देखाइसकेका छन् । गीत निर्माणमा १५ लाख बढी लगानी भएको निर्माण पक्षको दाबी छ ।

गीतको सोमबार काठमाण्डौंको सिटी सेन्टरस्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो । नेपाल सरकार रक्षा मन्त्री मानवीर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, पूर्व सांसद उत्तम बस्नेत, कांग्रेसका नेता प्रकाश सिंह कार्की लगायत काठमाडौँमा बसोबास गर्दै आएका दुई सय बढी सोलुखुम्बुलेको उपस्थिति रहेको थियो । गीतमा सोलुखुम्बुको साबिकको ३४ वटै गाविस र हालका ८ स्थानीय तहको नामसँग प्रेमलाई जोडिएको छ । सगरमाथा सहितका हिमालहरू समीपमै देख्न सकिने जिल्ला भएकाले पनि ‘हितैको सोल्टिनी हिमाल हेर्न जाँउ’शब्दले जोडिएको छ । जिल्ला भित्रको प्राकृतिक सुन्दरता, पर्यटन, संस्कृति, रहनसहन र हिमाली तथा गाउँले जनजीवनलाई गीतको भावमा भेटिन्छ ।

रक्षा मन्त्री राईले सोलुखुम्बुमा कलाकार जन्माउने सल्लेरीमा रहेको अरनिको हललाई स्मरण गर्दै परदेशमा बसेर आफ्नो गाउँ र जिल्लालाई चिनाउने कोसिसको प्रशंसा गरे । उनले भने, ‘साबिकको सोलुखुम्बु जिल्ला र तत्कालीन ३४ गाउँ विकास समितिलाई भावी पुस्तालाई समेत चिनाउने गरी गरिएको कामले म अत्यन्तै खुसी छु, गीतकार तथा निर्देशक प्रशान एलुङ राईलाई धेरै धन्यवाद ।’

गीतकार तथा निर्देशक राईले माटोको सुगन्ध छर्ने गीत सार्वजनिक गर्न पाउँदा प्रफुल्ल रहेको प्रतिक्रिया दिए । ‘गीत सुनेका, हेरेकाले स्याबास भन्नुभएको छ, अब हेर्नेले पनि सायद स्याबासी नै दिनुहुन्छ होला । त्यो नै एउटा सर्जकको सम्पत्ति हो । गाउँको, मेरो जन्मभूमिको गाथा कहन पाउनु पनि आफ्नो अहोभाग्य हो ।’ उनले भने । रोचक के छ भने भिडियोमा काम गरेका गीतकार तथा निर्देशक प्रशान एलुङ राई, कलाकार द्वय हरि निरौला ‘कक्रोच’ र बबिन राई ‘गल्फने बाजे’सोलुखुम्बुको नेचासल्यानका हुन् ।

ल्हेन्दे खोला बाढी : नौजनाको सकुशल उद्धार, १५ जना सम्पर्कविहीन

रसुवा, २४ असार : नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ । सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेकोे अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ दु्रवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ ।

सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ, २४ असार : नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका कारण त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए । अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।

अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह

काठमाडौँ, २४ असारः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन अनुरोध गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत उहाँले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्दै बाढीले भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु ।”

अध्यक्ष दाहालले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन पनि दिनुभएको छ । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको पनि उहाँले औँल्याउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “म सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, सङ्घसंस्था र नागरिकहरूलाई यो सङ्कटको घडीमा एकजुट भएर कार्य गर्न अपिल गर्दछ ।”

ल्हेन्दे खोलाको बढी :आठवटा सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

काठमाडौँ, २४ असार : नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ ।सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ ।

बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको जानकारी दिइएको छ । खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

भोटेकोशीको बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ । प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएकोे छ ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण गरिएको हो ।

थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४६, आलु रातो प्रतिकिलो रु ४२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, आलु रातो (मुडे) प्रतिकिलो रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु ७०, गाजर (तराई ) रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली तराई प्रतिकिलो रु ४०, रातो मूला प्रतिकेजी रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ३० र मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, घिउ सिमी (राजमा)रु ८०, टाटे सिमी मूल्य प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३०, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ३५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिण्डी प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ७०, पिँडालु प्रतिकिलो रु ६०, स्कूस प्रतिकिलो रु ४०, रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो साग प्रतिकिलो रु १५०, तोरीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु १९०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु २००, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६०, सजिवन प्रतिकिलो रु १५०, रातो बन्दा प्रतिकिलो रु १६०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु ८००, पुदिना प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १०० र गुन्दु्रक प्रतिकिलो रु ३०० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फुजी) प्रतिकिलो रु २८०, केरा (दर्जन) रु १३५, कागती प्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ३००, आँप (माल्द) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु ९०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १०, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (भारतीय) प्रतिकिलो रु ८५ निर्धारण गरिएको छ ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

रसुवा, २४ असार : नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताउनुभयो ।

हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्याङ्क सङ्कलन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।

जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्ययोजना तयार गरिंदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समितिहरू गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।

साथै, यी समितिहरूको अधिवेशन २०८२ पौष मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका संयोजक किरणराज शर्मा पौडेलले यो जानकारी दिएका हुन् ।

कांग्रेसले प्रवासमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्न र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा जनसम्पर्क समितिहरू गठन गर्ने निर्णय गरेको छ । यो कदमले विश्वभर छरिएर रहेका नेपालीहरूबीच पार्टीको सङ्गठनात्मक संरचनालाई बलियो बनाउने र उनीहरूको आवाजलाई पार्टीको नीति निर्माणमा समावेश गर्ने उद्देश्य राखिएको छ ।

नेपाली जनसम्पर्क समितिहरू विभिन्न देश र क्षेत्रमा नेपाली कांग्रेसको विचारधारा र सिद्धान्तलाई प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । यी समितिहरूले प्रवासमा रहेका नेपालीहरूको हकहितका लागि वकालत गर्नुका साथै नेपालको लोकतान्त्रिक आन्दोलनमा समेत योगदान पु¥याउँदै आएका छन् । नयाँ गठन हुने समितिहरूले यी गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

बैठकले नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन २०८२ पौष मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । यो अधिवेशनले समितिहरूको नेतृत्व चयन गर्नुका साथै प्रवासमा रहेका नेपालीहरूको समसामयिक मुद्दाहरूलाई सम्बोधन गर्न रणनीति तय गर्नेछ। संयोजक किरण पौडेलका अनुसार अधिवेशनको तयारीका लागि विस्तृत कार्ययोजना चाँडै तयार गरिनेछ ।
‘हामी प्रवासमा रहेका नेपालीहरूको उत्साह र सक्रियतालाई पार्टीको मूल प्रवाहमा जोड्न चाहन्छौँ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै समितिहरूलाई थप गतिशील र प्रभावकारी बनाउनेछ।’ पौडेलले भने ।

नेपाली कांग्रेसले प्रवासमा रहेका नेपालीहरूलाई सङ्गठित गर्न लामो समयदेखि जनसम्पर्क समितिहरू गठन गर्दै आएको छ । हाल विश्वका विभिन्न देशहरूमा यस्ता समितिहरू सक्रिय छन् । यी समितिहरूले स्थानीय स्तरमा नेपाली समुदायसँग समन्वय गरी पार्टीको सन्देश प्रवाह गर्नुका साथै नेपालमा हुने निर्वाचन र अन्य राजनीतिक गतिविधिमा सहयोग पु¥याउँदै आएका छन् ।

पाहुना बोलाउन लाज मान्ने बस्तीमा पक्की सडकले ल्याएको खुसी

सिरहा, २४ असार : सिरहा नगरपालिका–६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग सङ्घर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको छ । हालसालै निर्माण गरिएको आरसिसी ढलानको पक्की सडकले कच्ची बस्तीको स्वरुप नै बदलिदिएको छ । बस्तीका अधिकांश घर बाँसको टाटी र माटाले बनेका छन् ।

झण्डै डेढ सय घरपरिवार रहेका यो बस्तीमा टाढैबाट चम्किने पक्की सडक बनेको छ, जसले समुदायमा आशा र उल्लासको नयाँ सन्देश दिएको छ । वर्षौँको प्रतीक्षा र सङ्घर्षपछि स्थानीय बासिन्दालाई ‘हिलो मुक्त गाउँ’ को सपना पूरा भएको अनुभूति भएको छ ।

मधेस प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २५ लाखको बजेटमा करिब पाँच सय मिटर लामो सडक निर्माण भएको हो । वडाध्यक्ष इन्द्रजित यादवले सडक बनाउन समन्वय गर्नुभएको थियो । यो परियोजनाले बस्तीमा नयाँ आशा र खुसी ल्याएको छ ।

उहाँ भन्नुहुन्छ, “हामीले चुनावअघि वाचा गरेका थियौँ कि यो बस्तीलाई हिलोमुक्त बनाउनेछौँ । आज त्यो सपना साकार भएको छ । यसमा यस क्षेत्रका प्रदेशसभा सदस्य प्रमोद यादवको पनि उत्तिकै साथ रहेको छ ।” उहाँका अनुसार सडक बन्नुअघि सानो पानी पर्यो भने बस्ती हिलोमै डुब्थ्यो, धुलोका कारण बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मको स्वास्थ्यमा असर पथ्र्यो । अहिले भने टाढैबाट टल्किने पक्की सडकले बस्तीको मुहारै फेरिएको छ ।

स्थानीय सोनु यादव भन्नुहुन्छ, “पहिले हाम्रो बस्ती हेर्ने मान्छेहरू नाक खुम्च्याउँथे, ज्यान जोगाउँदै हिँड्थे । हामी आफैँ लाज मान्थ्यौँ पाहुना बोलाउन पनि । अहिले त यसको स्वरुप नै परिवर्तन भएको छ । अब त हाम्रो टोलमा बच्चा पनि खुसी छन्, स्कुल जाँदा लुगा फोहर हुने डर छैन, बुढाबुढी पनि सजिलै हिँडडुल गर्न सक्छन् ।”

वडाध्यक्ष यादवका अनुसार भुस्कुलिया टोलमा प्रायः निम्नवर्गीय परिवारको बसोबास छ । झण्डै डेढ सय घरमध्ये पाँचवटा मात्र पक्की छन् भने बाँकी अधिकांश घर कच्ची संरचनामा बनेका छन् । “यो बस्तीमा आर्थिक अवस्था कमजोर भएकाले धेरै वर्षसम्म सडक, नाला, खानेपानीजस्ता आधारभूत सुविधा पर्खिरहनुपर्यो”, उहाँले भन्नुभयो, “हामीले बस्तीको अवस्थालाई बुझेर प्राथमिकताअनुसार सडक निर्माण अघि बढाएका हौँ । अहिले सडक बनेपछि यहाँको जीवनशैलीमै सकारात्मक परिवर्तन आएको छ ।”

पूर्वाधार विकास कार्यालय सिरहाका प्राविधिक राजु यादवका अनुसार, ग्रामीण क्षेत्रमा निर्माण गरिने शाखा सडकका लागि कालोपत्र सडकको सट्टा आरसिसी ढलान प्रविधि अधिक उपयुक्त हुने देखिएको छ । उहाँले भन्नुभयो, “गाउँघरका शाखा सडकमा आरसिसी ढलान उपयुक्त हुन्छ । यसले सडकको दिगोपना ल्याउँछ र लामो समयसम्म टिकाउ रहन्छ ।”

उहाँका अनुसार ग्रामीण क्षेत्रका सडकमा दैनिक सवारीसाधनको चाप कम भएता पनि स्थानीयले गाईवस्तु सडमै बाँध्ने तथा त्यसको दिसापिसाब, पानीको बहाव, हिलो, धुलो र उचित नाली व्यवस्थाको अभावका कारण कालोपत्र सडक चाँडै बिग्रने गरेका छन् । यस्ता सडक हरेक वर्ष मर्मत गर्नुपर्ने अवस्था आउँछ, जसले समय, श्रम र लागत दुवै बढाउँछ । यस्तो संरचना विशेषगरी पानीको सतह नहट्ने, हिलाम्मे वा उबडखाबड भूभागमा बढी प्रभावकारी हुन्छ ।

अबको आशाः घर पनि पक्की बनाउने सपना

भुस्कुलियाका घर अझै पनि कच्ची छन्, तर सडकले विकासको ढोका खोलेको छ । अब यहाँका बासिन्दाको नयाँ सपना भनेको पक्की सडकसँगै पक्की घर निर्माण गर्नु हो । वडाध्यक्ष यादव भन्नुहुन्छ, “अब हाम्रो ध्यान बस्तीको समग्र विकासमा छ । शिक्षा, स्वास्थ्य र आवास सुधारमा पनि योजना बनाइरहेका छौँ ।”

वर्षौँसम्म धुलो र हिलोसँग जुध्दै आएको यो कच्ची बस्तीले बाँसको टाटी, माटो र जस्ताले बनाइएका घरको विकल्प खोजिरहेको छ । वर्षायाममा हुने डुबानले हैरान छन् स्थानीय । बहत्तरु वर्षीय वृद्ध लक्ष्मी साह भन्नुहुन्छ, “पानी पर्यो भने घरभित्रै बाल्टिन राखेर हिलो बटुल्नुपथ्र्यो । अहिले त कम्तीमा बाहिर हिँड्न सजिलो छ । अबचाहिँ सरकारले केही सहायता गरोस्, हामी पनि घर बलियो बनाउन सकेको प्रयास गर्छौैँ ।”

आवास कार्यक्रमअन्तर्गत सहयोगको पहल गरिरहेको वडाध्यक्ष यादवको भनाइ छ । उहाँका अनुसार बस्तीमा सामुदायिक भवन, पिउने पानीको पहुँच र साना व्यावसायिक सीप विकासका योजना पनि क्रमशः अगाडि ल्याइँदै छन् । वास्तवमा, भुस्कुलियाको सडक केवल ढलानमात्र होइन, त्यो सपना, सम्भावना र सम्मानको बाटो हो । आज सडक पक्की भएको छ, भोलि घर पक्की हुने विश्वासमा बस्तीका मान्छे जीउन थालेका छन् ।

मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा

मोरङ, २४ असारः मोरङलाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो ।

जिल्लामा १५९ वटा वडामा आर्थिक वर्ष २०८१/८२ मा जन्मेदेखि १५ महिनाभित्रका १६ हजार ५५१ शिशु र १६ देखि ५९ महिनासम्मका ४४ हजार ३४ शिशुलाई खोप लगाएर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले पूर्णखोप सुनिश्चितताका लागि निरन्तर अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो । समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईं, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले पूर्णखोप सुनिश्चितता तथा दिगोपना निर्देशिकाबमोजिम आवश्यक मापदण्ड पूरा भएको बताउँदै आगामी दिनमा खोप अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

वर्षा सुरु भएसँगै म्याग्दीका पर्यटकीयस्थल सुनसान,घटे पर्यटक

म्याग्दी, २४ असारः वर्षा सुरु भएसँगै यहाँका पर्यटकीयस्थल सुनसान हुन थालेका छन् । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिङ्गा र भुरुङ, तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनालगायत क्षेत्रमा वर्षा सुरु भएसँगै घुम्न आउने पर्यटक घटेका हुन् ।

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले प्रतिकूल मौसमका कारण पछिल्लो समय पर्यटकको आगमन घटेको बताउनुभयो ।

विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घोडेपानीमा दैनिक एक हजार क्षमताका २५ वटा सुविधायुक्त होटल रहेका जनाउँदै ती होटलहरू आजभोलि सुनसान रहेका उहाँले उल्लेख गर्नुभयो ।

“जेठदेखि भदौसम्म झरी लाग्ने, सडक तथा पदमार्ग अवरुद्ध हुने हुँदा पर्यटन व्यवसायका हिसाबले बेमौसमी मानिन्छ”, पुनले भन्नुभयो, “पहाडी क्षेत्रमा बादल लागेर हिमाल छोपिने हुँदा पर्यटक आगमन नभएको हो ।”

बेनी–जोमसोम सडक भएर मुस्ताङ जानेआउने पर्यटकहरूका लागि थकान मेटाउने थलोका रूपमा रहेको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ तातोपानी र प्राकृतिक उपचारस्थलका रूपमा बेनी–४ स्थित सिङ्गा तातोपानी कुण्ड पनि सुनसान बनेको छ ।

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्वअध्यक्ष वीरेन्द्रमान शाक्यले पर्यटकीय याममा दैनिक एक हजारको हाराहारीमा स्नान गर्ने धार्मिक पर्यटक तातोपानी कुण्डमा स्नान गर्न आउनेमा अहिले दैनिक ५० जना पनि नपुग्ने गरेको बताउनुभयो ।

म्याग्दीमा पदयात्रा, हिमाल आरोहण, हिमशृङ्खला, सूर्योदय, झरना, गल्छी, ग्रामीण जनजीवन र विभिन्न जातजातिको संस्कृतिको अवलोकनका लागि पर्यटक आउने गर्छन् । असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना पर्यटकीय यामका रूपमा मानिन्छ ।

जेठ, असार, साउन र भदौ महिना पर्यटक आगमन शून्य जस्तै हुने गरेको छ । पर्यटक आगमन बघेसँगै होटल तथा पर्यटन व्यवसायीहरू फुर्सदिला भएका छन्, पदमार्गमा चहलपहल छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार म्याग्दीमा वार्षिक ३० हजारको हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, २४ असारः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १० पैसा र बिक्रीदर ८९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५४ पैसा र बिक्रीदर २१ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५० रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ तीन पैसा र विक्रीदर ३५७ रुपैयाँ ५८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २४ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ, २४ असारः हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति गरिएको छ । सामाजिक विकास कार्यालय मुस्ताङको चालु आर्थिक वर्षको विनियोजित रु नौ लाख बजेटबाट मन्दिर परिसर स्तरोन्नति गरिएको हो ।

मुक्तिनाथ मन्दिर परिसरको साविकको संरचना नखल्बलिने गरी सामाजिक विकास कार्यालयमार्फत छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न भएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । मुक्तिनाथ परिसरमा छप्पनी ढुङ्गा बिछ्याउनका लागि कोटेशन ठेक्का लगाइएको थियो । मन्दिर परिसर, कुण्ड र १०८ धारातर्फ छप्पनी ढुङ्गा बिछ्याउन खिङ्गा कन्स्ट्रक्सनले जिम्मा पाएको थियो ।

कार्यालयको सीमित बजेट भएकाले पूर्ण रूपमा परिसर वरिपरि छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न हुन नसकेको प्रालिका प्रतिनिधि लाक्पाटसी गुरुङले बताउनुभयो । उहाँका अनुसार सामाजिक विकास कार्यालयमार्फत तीन हजार १४० स्क्वायर फिट छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न भएको छ ।

छप्पनी ढुङ्गा बिछ्याएर स्तरोन्नति गरिएपछि मुक्तिनाथ आउने दर्शनार्थीलाई सहज भएको मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले उल्लेख गर्नुभयो । “मुक्तिनाथ मन्दिर अगाडि र पछाडिको १०८ धारातर्फको परिसरको असहज थियो, पुराना ढुङ्गा उप्किएका थिए”, उहाँले भन्नुभयो, “अहिले परिसरको एउटै लेबल मिलाएर नयाँ छप्पनी ढुङ्गा बिछ्याएको छ ।”

समितिले मुक्तिनाथमा दर्शन गर्न आउने दर्शनार्थीको सुविधाका लागि २०० लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था गरेको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको पहलमा समितिले बाह्रै महिना तातोपानी पिउने व्यवस्था गरेको सुवेदीले जानकारी दिनुभयो । यसले मुक्तिनाथको उच्च स्थानमा दर्शन गर्न आउने भक्तजनलाई लेक लाग्ने सम्भावनालाई न्यूनीकरण गर्ने उहाँको भनाइ छ ।

कर्मचारी सुवेदीले भन्नुभयो, “यस्तै, १०८ धारामा स्नान गर्ने दर्शनार्थीलाई दुर्घटनाको जोखिमबाट सुरक्षित राख्न रेलिङ निर्माण गरिएको छ । मुक्तिनाथ मन्दिर दर्शनका लागि बर्सेनि सात लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । मन्दिर परिसरमा तातोपानी पिउन व्यवस्था भएसँगै भक्तजनलाई सहज भएको छ । पर्यटकीय याममा पनि दर्शनार्थीलाई तातोपानीको सुविधा भएको छ ।”

संविधान संशोधन गर्न कार्यदल गठन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ, २४ असारः नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन कार्यदल गठन गर्ने भएको छ । उक्त कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल गर्नेछ ।

कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकार भएका नागरिक समाजसँग संवाद गर्ने कांग्रेसले निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको यही असार १६ देखि सुरु भई सोमबार सम्पन्न बैठकले उक्त निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सोमबारको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकले आफ्नै नेतृत्वमा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायित्व र जिम्मेवारी आफ्नै भएको स्पष्ट पार्दै गणतन्त्र रक्षाका लागि पूर्णप्रतिबद्ध रहेको जनाएको छ ।

संविधान कार्यान्वयनको एक दशकमा देखिएका चुनौती र जटिलताको समीक्षा गर्दै यसको गतिशील कार्यान्वयनका लागि समयानुकूल संशोधन गर्नुपर्छ भन्ने निष्कर्षका साथ कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सातबुँदे सहमति भएको थियो ।

उक्त सहमतिमा ‘संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षाका साथै राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ भन्ने विषय उल्लेख गरिएको थियो ।

सत्ता गठबन्धन निरन्तर, थप जनमुखी काम गर्न आग्रह

बैठकले वर्तमान सरकार गठन सम्बन्धमा भएको सातबुँदे सहमतिप्रति प्रतिबद्ध रहँदै सरकारको स्थायित्वका लागि जनभावनाअनुसार विकास, सुशासन एवं समुन्नतिका लागि प्रभावकारिताका साथ काम गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

कृषि उत्पादन वृद्धिगरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन, अत्यावश्यक पर्ने मलखाद र बीउबिजनको अभाव हुन नदिन, कृषि उत्पादनमा प्रयोग गरिँदै आइएको अधिकतम विषादीका कारण जनस्वास्थ्यमा पर्न गएको नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

मुख्यसचिव पौडेलका अनुसार बैठकले उद्योग, वाणिज्य र आपूर्तिका क्षेत्रमा विद्यमान समस्या समाधान गर्दैै लगानीमैत्री वातावरण बनाउन, स्वदेशमै उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न, सुन बिक्री प्रक्रियामा कायम रहेको कोटा र वितरण प्रणालीको एकाधिकार पनि उचित नभएकाले तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

विपद्का कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न नागरिकलाई पूर्वसूचना दिनुपर्ने, विपद् उद्धारमा पूर्वतयारी तथा प्रभावकारी प्रतिकार्यका लागि जनशक्तिसहित आवश्य सामग्रीको व्यवस्था मिलाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । विपद्बाट पीडित नागरिकको जीवन सहज बनाउन तत्कालै उद्धार, राहत र पुनःस्थापनाको व्यवस्थासहित उपयुक्त कदम चाल्न सरकारसँग आग्रह गरिएको मुख्यसचिव पौडेलले बताउनुभयो ।

बैठकले २०८१ सालको एसइई परीक्षामा उतीर्ण सबैको उज्ज्वल भविष्यको कामनासहित शिक्षालाई व्यावहारिक र रोजगारमूलक बनाउन प्रभावकारी नीति लिनुपर्ने ठहर गरेको मुख्यसचिव पौडेलले बताउनुभयो । त्यस्तै, आन्दोलनरत चिकित्सकसँग अविलम्ब वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग माग गरिएको छ ।

यसैगरी, बैठकले तराई–मधेसमा सुक्खाका कारण कृषि क्षेत्रमा परेको असरलाई उचित रणनीतिका साथ सम्बोधन गर्न, ऊखु किसानले पाउदै आएको अनुदानलाई निरन्तरता दिन, कतिपय सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताको बचत सुरक्षित गर्दै बचतकर्तालाई रु पाँच लाखसम्मको रकम यथाशीघ्र फिर्ता दिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

संसद्लाई मर्यादित, व्यवस्थित र गरिमामय बनाउन आग्रह

केन्द्रीय कार्यसमितिको बैठकले संसद्लाई मर्यादित, व्यवस्थित र गरिमामय बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य एवं संसदीय दललाई निर्देशित गरेको छ । हालसम्म पनि बजेट प्रस्तुत गर्न नसकेका पालिकाले समयमै बजेट, कार्यक्रम तथा योजना प्रस्तुत गरी जनप्रतिनिधि र स्थानीय सरकारप्रति जनताको विश्वास कायम गर्न बैठकले आग्रह गरेको उहाँले बताउनुभयो ।

कांग्रेस र एमालेलगायत दलहरूको समीकरणमा बनेको वर्तमान सरकारले निजी क्षेत्रलाई चलायमान बनाउन संसद्बाट पारित गरेको पाँच ऐनहरू, नागरिकता ऐन, भ्रष्टाचार निवारण ऐनजस्ता महत्त्वपूर्ण ऐन पास गरी सुशासनका क्षेत्रमा केही सुधारका कदम अगाडि बढाएको छ । यसले नागरिकमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको कांग्रेसको विश्वास छ ।

बैठकले संविधान कार्यान्वयनका सम्बन्धमा बनाउनुपर्ने अन्य आवश्यक कानुन अविलम्ब संसदीय प्रक्रियामा लगी पारित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदनमा देखिएका गडबडी र कमीकमजोरीलाई संसदीय प्रक्रियाबाटै समाधान गरी संसद्को गरिमा र विश्वसनीयतालाई कायम राख्नुपर्ने निष्कर्ष निकालको छ ।

साथै, संसद्को गरिमामा आँच पुग्नेगरी गरिएका यस्ता गल्ती कमजोरीको सत्यतथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न बैठक माग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रदेश सरकार सञ्चालन सम्बन्धमा भएका गतिविधि र बजेट निर्माणमा देखिएका असमझदारीलगायत सन्दर्भमा सातै प्रदेशमा प्रदेश कार्यसमिति तथा प्रदेश संसदीय दलसँग बैठक बसी पार्टीकोतर्फबाट आवश्यक छलफल, सहजीकरण गर्न केन्द्रीय कार्यसमितिको तर्फबाट प्रतिनिधि खटाइने निर्णय गरेको छ । प्रतिनिधिले एक महिनाभित्रमा केन्द्रीय कार्यसमितिलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

यसैगरी बैठकले विद्यालय शिक्षा विधेयकलाई शिक्षक आन्दोलनको भावना र शिक्षक महासङ्घसँगको सम्झौताबमोजिम अविलम्ब टुङ्गोमा पु¥याउन सरकार, संसदीय समिति र संसद्को ध्यानाकर्षण गराएको छ । कांग्रेसले हिमाली क्षेत्रको पदयात्रा र हिमाल आरोहणका क्षेत्रमा श्रम गरिरहेका व्यावसायिक आरोहीहरूलाई २० वर्षको अवधि कार्य गरेपश्चात् पेन्सनको प्रबन्ध गर्नका लागि प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

क्रियाशील सदस्यता विवरण केन्द्रमा पेश गर्ने अवधि असोजसम्म

बैठकले क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेस गर्ने समयावधि आगामी असोज मसान्तसम्मका लागि तोकेको छ । सो अवधिभित्र पेस नभएका नवीकरणसम्बन्धी नामावली १५औँ महाधिवेशनका लागि अद्यावधिक (सूचीकृत) नगरिने बैठकको निर्णय छ ।

त्यस्तै, बैठकले २०८१ मसान्तभित्र महाधिवेशन गर्नैपर्ने र गर्न नसकेमा स्वतःपदावधी समाप्त हुने भनी अन्तिम समय दिइएकामा यस बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका भ्रातृ सङ्घकोे हकमा कार्यतालिकामा तोकिएको मितिसम्म समयावधि थप गर्ने निर्णय गरेको छ ।

सबै तदर्थ समितिले २०८१ चैत मसान्तपछि गरेका सबै निर्णय खारेज गर्ने र कार्यतालिका प्रस्तुत गर्न नसकेको नेपाल दलित सङ्घका सम्बन्धमा केन्द्रीय महाधिवेशन निर्देशन समिति र सङ्घका अध्यक्षबीच छलफल गरी यथाशीघ्र महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न कांग्रेस बैठकले निर्देश गरेको छ ।

जनसम्पर्क समितिलाई ‘स्वर्ण महोत्सव’ मनाउन निर्देशन

बैठकले पार्टीका नेपाली जनसम्पर्क समितिको सदस्यता वितरण र अधिवेशनका सन्दर्भमा आगामी साउन १ गतेदेखि असोज मसान्तसम्म जनसम्पर्क समिति सदस्यता र क्रियाशील सदस्यता नयाँ वितरण र नवीकरण गरी स्वीकृतिका लागि केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको छ । समयावधि समाप्त भएका जनसम्पर्क समितिहरुको हकमा आगामी पुसमसान्तसम्ममा अधिवेशन सम्पन्न गर्ने समय निर्धारण गरेको छ ।

त्यस्तै, नेपाली जनसम्पर्क समितिको हाल राष्ट्रिय समिति मात्र रहेकामा अब अन्तरराष्ट्रिय र क्षेत्रीय समितिसमेत गठनगरी सङ्गठन विस्तार गरिने छ । बैठकले जननायक बिपी कोइरालाले ५० वर्षअघि सर्वप्रथम भारतमा नेपाली जनसम्पर्क समिति स्थापना गरी प्रारम्भ गर्नुभएको उल्लेख गर्दै हाल विश्वव्यापी रूपमा फैलिएको नेपाली जनसम्पर्क समितिहरूले यसैलाई आधार मानी सम्पूर्ण जनसम्पर्क समितिलाई ‘स्वर्ण महोत्सव’ मनाउन निर्देश गरेको छ ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, २४ असारः आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुुहुनेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

यसैगरी, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम, २३ असार: बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कीर्ते र जालसाजी गरेको अभियोगमा प्रहरी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीले परिषद्का कार्यकारी निर्देशक वैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी चार जना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको अभियोगमा साहलाई आज नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक पासवानले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा यससम्बन्धी उजुरी दिनुभएको थियो । त्यसपछि कीर्ते हस्ताक्षर सम्बन्धमा विधि विज्ञान प्रयोगशालाबाट परीक्षण प्रतिवेदन प्राप्त भएपछि वैशाख २५ मा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएकामा त्यसयता साह परार रहेका प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

साहलाई आजै थप अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराएको प्रहरीले जनाएको छ । यसअघि कार्यकारी निर्देशकको हस्ताक्षर गरेर बृहत्तरका प्रशासकीय अधिकृत जीतेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासु मदन चौधरी र सञ्जय मण्डललाई बर्खास्त गर्नुभएको थियो ।

तीन लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

भैरहवा (रुपन्देही), २३ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेयलाई पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग्ने गर्नुभएको थियो । सोही क्रममा विपिनकुमार पाण्डेयमार्फत रु तीन लाख लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको पौडेलले बताउनुभयो । दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौँ, २३ असार : टोखा–छहरे खोला सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी–रसुवागढी सडक सुधारमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरोकार भएका निकायबीच छलफल भएको छ ।

नयाँ आर्थिक वर्षको सुरुआतसँगै सडक पूर्वाधार निर्माणमा तीव्रता दिन र आउँदो दसँै–तिहारलक्षित सवारी व्यवस्थापन सरल हुने गरी पूर्वाधार निर्माण र सुधारमा अहिलेदेखि गृहकार्य गर्न छलफल गरिएको हो । टोखा–छहरेखोला सुरुङमार्गको वातावरणीय अध्ययन प्रतिवेदन निर्माण र स्वीकृतिका सम्बन्धमा देखापरेका समस्या र परियोजनाको सम्भाव्यताका सम्बन्धमा चिनियाँ पक्षले गर्नुपर्ने कार्य र उत्पन्न असमझदारी हल गर्न वन मन्त्रालय तथा अन्य निकायले गर्नसक्ने आवश्यक सहजीकरणका निर्देशन दिइएको प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुवँरले जानकारी दिनुुभयो ।

नागढुङ्गा सुरुङमार्ग सञ्चालनका लागि भौतिक प्रगति ९२ प्रतिशत पुगिसकेको र निर्माण सम्पन्नपश्चात् सञ्चालन गर्नुपर्ने हुनाले सञ्चालनको कानुनी प्रबन्ध, ढाँचा र त्यसमा देखिएका समस्याका विषयमा छलफल गरिएको छ । यो विषय नेपालकै पहिलो अभ्यास हुन लागेका कारण यसको विस्तृत तयारी गर्न जोड दिइएको थियो ।

चीन सरकारको अनुदानमा निर्माण भइरहेको स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिमा कूल लम्बाइ ८२ किमीमध्ये हालसम्म ३८ किमी कालोपत्र सम्पन्न भएको तथा नयाँ आर्थिक वर्षमा ठेक्का लगाउन बाँकी १९ किमी पनि ठेक्का लगाउने प्रबन्ध मन्त्रालयले गरिरहेको छलफलमा अवगत गराइएको छ । कुनै सहजीकरण आवश्यक भएमा प्रधानमन्त्री कार्यालयले गर्ने जनाएको छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलगायतको सहभागिता थियो ।

पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने

लिस्बन (पोर्चुगल), २३ असार : युरोपेली मुलुक पोर्चुगलमा सर्वाधिक धनराशिको ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने भएको छ ।धरान फुटबल क्लब (धरान एफसी) पोर्चुगलको आयोजनामा यही जुलाई १३ तारिखका दिनदेखि दोस्रो बुढासुब्बा कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली क्लब तथा खेलाडीहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

खेलकुदको माध्यमबाट युरोपका नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका संयोजक अरुण राईले राससलाई जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले मेडल, प्रमाणपत्र र उपाधिसहित नगद पाँच हजार युरो हात पार्नेछन् भने उपविजेताले दुई हजार ५०० युरोसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी विधागततर्फका उत्कृष्ट खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ ।

लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने उक्त प्रतियोगितामा युरोपका विभिन्न मुलुकबाट गरी २० टिमको सहभागिता रहने संयोजक राईले बताउनुभयो ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि….

काठमाडौँ, २३ असार : “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ”, गायिका एलिना चौहानले भन्नुभयो, “गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन् ।”

गायिका चौहानले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भए पछि गाली गर्नेहरूलाई सार्वजनिक गर्न थालेपछि त्यस्ता प्रतिक्रिया दिनेहरुले धमाधम माफी माग्न थालेका हुन् ।

गीतको टिप्पणीमा अपमानजनक गालीगलौज बढ्दै गएपछि गायिका चौहानले यही असार १६ गते नेपाल प्रहरीअन्तर्गतको ‘साइबर ब्युरो’मा उजुरी दिएसँगै माफ माग्नेको सङ्ख्या बढेको हो ।

“डिभोर्सपछि गायिका चौहानले यस्तो गीत गाइन्, उस्तो गरिन् भन्ने र मेरो त नाम नै डिभोर्सजस्तो भयो, फेरि जोडियो सम्बन्ध रे, के के हो के के”, उहाँले भन्नुभयो, “बुबाआमालाई छोरीको ज्यान नै खतरामा पर्छ भन्ने चिन्ता भएपछि न्यायका लागि साइबर ब्युरोमा गएर उजुरी गरेँ, अहिलेसम्म १५ जनाविरुद्ध उजुरी दिएकी छु ।”

सामाजिक सञ्जालमा जे पनि लेख्न नहुने भन्दै उहाँले भन्नुभयो, “सच्चिन जरुरी छ, गाली गर्दा पनि कस्तो शब्द लेख्ने ? के लेख्न पाइन्छ ? के लेख्न पाइँदैन ? भन्ने थाहा हुनुपर्छ । व्यक्तिगत कुरामा तथानाम गाली गर्न त मिल्दैन नि ?, त्यो बुझ्न जरुरी छ ।”

सुझावका लागि टिप्पणी गर्नेले प्रतिभाका बारेमा प्रतिक्रिया दिएको उहाँलाई राम्रो लाग्छ । “तेरो स्वर मन पर्दैन भन्नु म केही भन्दिन, मलाई राम्रो नै भन्नुपर्छ भन्ने हैन”, उहाँले थप्नुभयो, “मैले नपढेको कमेन्ट बाबाले पढ्दा कस्तो नराम्रो लाग्छ, कमेन्ट पढ्नै नमिल्ने खालको हुन्छ, अहिले त डराएर माफ मागिरहेका छन्, गलत कमेन्ट अहिले खोज्नुपर्छ, आलोचना वा विरोध गर्दा पनि पढ्न मिल्ने खालको होस् न ।”

अश्लील गालीगलौजले आफू र परिवारमा ठूलो तनाव सिर्जना भएको उहाँले सुनाउनुभयो । “भ्युज बढाउन र डलरको पछाडि लागेर जे पनि लेख्ने चलनले धेरैको जीवन बर्बाद भएको छ, यस्तो कुराले त्यो व्यक्ति र परिवारमा परेको असरबारे कसैले सोच्दैनन्”, उहाँले आफ्नो पीडादायी अनुभव सुनाउँदै भन्नुभयो, “त्यसैले यो कदम उठाउन बाध्य हुनुप-यो ।” सामाजिक सञ्जाल नै गाली खाने प्लेटफर्म जस्तो भएको र गणतन्त्र भनेको चरित्र हत्या गर्ने वा गाली खानका लागि मात्र नभएको उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमा अपमानजनक शब्द अति भएपछि प्रधानमन्त्रीसँग न्याय माग्न गएको र प्रधानमन्त्रीले यस्तो विषय अपराध हो भनेर हेरिदिएकोप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । सोही सहानुभूतिले यस्तो अभियानमा लाग्न थप आत्मबल बढाएको चौहानको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार १४ गते ‘साहसी छोरीहरु’ भनेर सामाजिक सञ्जाल फेसबुकमा गायिकाहरु चौहान र समीक्षा अधिकारीको तस्बीर राखेर लेख्नुभएको थियो, “आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनुपर्छ, समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डो¥याउन नदिन र विवेकतर्फ फर्काउनु ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो, समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो, राम्रो गर्न खोज्नेले हिम्मत हार्नुहुँदैन ।”

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको सहयोगमा प्रेस चौतारी नेपालले आज आयोजना गरेको ‘सूचना प्रवाहमा सामाजिक सञ्जाल : अवसर र चुनौती’ विषयक छलफलमा गायिका चौहानले कलाकारहरुलाई अमर्यादित र अपमानजनक शब्द प्रयोग नगर्न र गरेमा सार्वजनिक गर्नुका साथै कानुनी प्रक्रियामा लैजाने चेतावनी दिनुभयो ।

सामाजिक सञ्जाल आधुनिक समाजको अङ्ग बन्दै जाँदा त्यसको सदुपयोगले प्रशस्तै अवसर र दुरुपयोगले धेरैको व्यक्तिगत गोपनियता र ज्यान समेत जोखिममा पर्ने गरेको छ ।

“छिनछिनमा सूचना र विचार दिन सकिन्छ, सूचनाको जङ्गलमा सही हो कि गलत हो भनेर छुट्याउन कठिन छ”, सञ्चारविज्ञ भुवन केसीले भन्नुभयो, “सूचना प्रवाह गर्ने प्रत्येक व्यक्ति त्यो सूचनाप्रति जवाफदेही हुनुपर्छ, सूचनाको दुरुपयोग गर्नेलाई निरुत्साहित गरी अधिकतम सदुपयोग गर्र्ने प्रणालीको विकास गर्नुपर्छ ।”

उहाँले सूचना आगोजस्तो भएको उदाहरण दिँदै भन्नुभयो, “सामाजिक सञ्जाल भनेको आगोजस्तै हो, सदुपयोग गरे राम्रो काम गर्छ, नत्र जलाएर खरानी बनाउँछ ।”

नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालमा आएका सबै समाचार नहुने र व्यक्तिगत हो या सार्वजनिक विषय हो भनेर प्रयोगकर्ताले छुट्याउन जरुरी भएको उल्लेख गर्नुभयो । “सूचनाबाट अफबाह फैलाउन हुँदैन”, उहाँले भन्नुभयो ।

जानाजान अमर्यादित शब्दको प्रयोग गरेमा कानुनी कारबाही गर्नुपर्ने र पत्रकारिता गर्ने सबैले पत्रकार आचारसंहितको पालना गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष शर्माले क्यामेरा बोकेर हिँड्ने र ‘कन्टेन्ट क्रिएट’ गर्ने सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले चौतारी सधैँ जिम्मेवार र उत्तरदायी प्रेसको पक्षमा हुनका साथै सही सूचना मात्र प्रवाह गर्न सहयोग पुगोस् भन्ने उद्देश्ले छलफलको आयोजना गरिएको अवगत गराउनुभयो ।

बागमती प्रदेशसभा : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित

बागमती, २३ असार : बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र ‘विनियोजन विधेयक,२०८१’ बहुमतले पारित गरेको हो ।

बैठकले प्रदेश सरकारको बजेटको पुरक प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई विनियोजन विधेयकको अङ्ग बनोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकले बहुमतले स्वीकृत गरेको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले संसद्मा पेस गरेको प्रदेश सरकारको आव २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गरियोस् र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

मन्त्री काफ्लेले पेस गरेको उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गर्नुभएको थियो । सभामुख पाठकले निर्णायार्थ पेस गरिएको उक्त प्रस्तावको पक्षमा रहेर सत्तारुढ दलका सांसदहरुले हुन्छ भनेका थिए भने प्रतिपक्षका सांसदहरूले हुन्न भनेका थिए ।

हुन्छ भन्ने प्रस्तावको पक्षमा बढी सांसद रहेकाले सभामुख पाठकले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

बैठकमा प्रदेशसभाका प्रदेशसभा सदस्यहरु देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाई, सुष्पा भुजेल, उर्मिलाकुमारी लामा र सिर्जना सायजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराउनुभएको थियो ।

त्यसअघि प्रदेशसभामा सरकारको बजेटमाथि सांसदहरूले आइतबार र आज धारणा राख्नुएको थियो भने विभागीयमन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो । बागमती सरकारको आगामी आव २०८२/०८३ को लागि रु ६७ अर्ब ४७ करोड ७३ लाखको बजेट प्रस्ताव गरेको छ ।

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ, २३ असार : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुुख प्रा डा दीपक अर्याल रहनुुभएको छ ।

उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते कुलपति ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुुलपतिको जिम्मेवारी दिनुुभएको थियो ।

कुलपति ओलीले गत जेठ ६ गते शिक्षामन्त्री पन्तको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र शिक्षा मन्त्रालयका सचिव रहेको सिफारिस समिति गठन गर्नुभएको थियो ।

लाओसमा डेङ्गु सङ्क्रमण घट्दै

लाओसले सन् २०२५ को पहिलो छ महिनामा डेंगु ज्वरोका दुई हजार ६१४ वटा घटना दर्ता गरेको छ, जुन सन् २०२४ को सोही अवधिमा दर्ता भएका पाँच हजार १९२ घटनाको तुलनामा उल्लेखनीय रूपमा कम हो ।

त्यसैगरी, सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म डेंगुज्वरसँग सम्बन्धित कुनै मृत्यु नभएको जनाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा तीनजनाको मृत्यु भएको थियो ।
लाओसको स्वास्थ्य मन्त्रालयअन्तर्गतको सूचना तथा स्वास्थ्य शिक्षा केन्द्रद्वारा सोमबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार सबैभन्दा धेरै डेंगुका घटना राजधानी वियनतियानमा दर्ता भएका छन्, जहाँ एक हजार ४९५ वटा घटना रिपोर्ट गरिएको । त्यसपछि ओउडोम्साईमा ३३८ र लुआंग नामथा प्रान्तमा २३६ घटना रिपोर्ट भएका छन् ।

लाओसका स्वास्थ्य अधिकारीहरूले वर्षायामको समयमा डेंगुको जोखिम बढ्ने भएकाले सबै क्षेत्र र नागरिकलाई सावधानी अपनाउन आह्वान गरेका छन्। भारी वर्षा र बाढीका कारण लामखुट्टे उत्पन्न हुने अनुकूल वातावरण बन्ने भएकाले सतर्कता अपनाउन विशेष आग्रह गरिएको छ ।