`

विश्वकप लिग–२ : आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ ।

लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ ।दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।

बैतडीमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते

बैतडी । बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए । अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

मिथिलामा आज कुष्माण्ड नवमी पर्व मनाइँदै

महोत्तरी । मधेस प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ । अक्षय नवमी, धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्परा छ । यसैअनुसार यो पर्व सामूहिक भोजन गर्दै रमाइलो चाडबाडमा रूपमा मनाउने गरिन्छ ।

यस पर्वमा अमला (धातृ) को रूखको फेदमा खाना खाने मैथिल परम्परा छ । यसका लागि एक दिन पहिलेदेखि नै यहाँ सामूहिक भोजनको तयारी हुन्छ । यो पर्वमा घर नजिकै, बगैँचा वा वनक्षेत्रमा नै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ । घर नजिक आँगन वरपर नै अमलाको रूख हुनेहरू दिनभरि विभिन्न परिकार पकाएर रात परेपछि सपरिवार खान्छन् । खाना पकाउँदा वा खाने समयमा अमलाका पात खानेकुरामा पर्दा राम्रो हुने जनविश्वास छ ।

पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउन सबैलाई उत्प्रेरित गर्न यो पर्व परम्परा चलेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्र दास वैष्णव बताउँछन्।

“धातृ (अमला) अत्यन्त गुणकारी फल मानिन्छ, जाडोयाममा यसको सेवनले कैयौँ रोगसँग जुध्ने क्षमता बढाउँछ,” उनी भन्छन्, “यही हितकारी सन्देशका लागि पूर्वजहरूले यो पर्व परम्परा चलाएका हुन् ।”

यस अवसरमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिने गरेका छन् । सांस्कृतिक तथा पारम्परिक चाडबाडमा पछिल्लो पुस्ताको सहभागिता बढ्नु यसको संरक्षणका लागि महत्त्वपूर्ण हुने धेरैको बुझाइ छ । यसरी किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउने जलेश्वर–५ पतैलीका संस्कृतिविद् ध्रुव रायको भनाइ छ । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि पनि सहयोगी भएको बर्दिबास–१२ बिजलपुराका बासिन्दा वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले बताए।

यस पर्वसँग जोडेर मिथिलामा द्वापर युगकालीन कथा पनि प्रचलनमा छ । कात्तिक शुक्ल नवमीका दिन भगवान् श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंश बध गर्नपूर्व मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेको विश्वास गरिन्छ । यसैले यस दिनलाई कुष्माण्ड नवमी भनिएको संस्कृतिविद् रायको भनाइ छ ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रूखमा बस्ने हिन्दु मैथिल जनविश्वास छ । यस दिन भगवान् विष्णुको आराधनाले कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने हिन्दु मैथिल मान्यता छ । यसैले यो दिनलाई अक्षय नवमी भनिन्छ । यसैगरी, श्रीविष्णुको आराधनाले इच्छित कामना पूरा हुनेहुँदा इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउँछन्। अमला स्वस्थ खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेको उनको भनाइ छ ।

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको प्रभाव, कहाँ-कहाँ हुँदैछ वर्षा?

काठमाडौँ । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू-भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू-भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ । वर्षा र हिमपातको सम्भावना रहेका स्थानको यात्रा गर्ने तथा ती भेगका किसानलाई महाशाखाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

राष्ट्रियसभाबाट उन्नाइस जना सांसद काे काे बिदा हुँदैछन् ?

काठमाडौँ, १२ कात्तिक : राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनदेखि सकिँदैछ । जसमा एमालेका आठ, नेकपा (माओवादी केन्द्र)का सात, एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी नेपालका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसद रहेका कार्यकाल सकिँदैछ । रिक्त हुन लागेकामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् ।

कार्यकाल सकिएर बिदा हुन लागेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा विसीको कार्यकाल पनि सकिँदैछ ।एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि कार्यकाल सकिएर बिदा हुँदैछन् ।

सरकारले २०८२ कात्तिक १२ गते आगामी २०८२ माघ ११ गते आइतबारलाई राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको छ ।राष्ट्रियसभाका ५९ सदस्यीयमध्ये राष्ट्रियसभामा १८ जना सदस्यका लागि निर्वाचन हुनेछ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १३ कात्तिकः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १२ पैसा र बिक्रीदर १८ रुपैयाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६० रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’

भोजपुर, १३ कात्तिक । यहाँको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो ।

स्थानीय बासिन्दाले वर्षौंदेखि साक्षात् देवीका रूपमा यहाँ पूजाआजा गर्दै आएका छन् । विशेषत गरी यहाँ साउन महिनाबाहेक वर्षभरि हरेक सोमबार पञ्चबलि पूजा हुने गरेको स्थानीय राजकुमार राईले बताए।

“यो जिल्लाको प्रसिद्ध धार्मिकस्थल हो । देशका विभिन्न ठाउँबाट भक्तजन पञ्चबलि पूजा गर्न आउँछन्, तर यसको प्रचार–प्रसार हुन सकेको छैन । ओझेलमा छ”, उनले भने ।

मन्दिरका पुजारी कुलबहादुर नाछिरिङ राईका अनुसार सरकारी जागिर पाउने, विदेश जाने वा कुनै ठूलो काम सफल होस् भन्ने भाकलका साथ धेरैले यहाँ पूजा गर्ने गरेका छन् । सोमबारको दिन यहाँ भक्तजनको भीड लाग्ने गरेको बताए।

जीर्ण अवस्थामा पुगेको मन्दिरलाई स्थानीयको सक्रियतामा संरक्षण गरिएको सत्यदेवी मन्दिर संरक्षण समितिले जनाएको छ । पुरातत्व विभागबाट रु सात लाख र प्रदेश सरकारबाट रु १० लाख विनियोजन भई मन्दिर संरक्षणसँगै धारा, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

भक्तजनको सुविधाका लागि स्थानीयले छवटा पाटीपौवा निर्माण गरेका छन् । धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण यस देवस्थल क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ ।कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ ।

आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ । नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।

यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।

यसबीचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो ।

चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुईजना पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१७ नयाँबजार बस्ने २३ वर्षीय समिर श्रेष्ठ तथा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० खोपासी घर भई काठमाडौँ महानगरपालिका–१६ एलेक्स नेपाली रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँको इचङ्गुनारायण मन्दिर एरियामा हतियार देखाइ सर्वसाधारणमा आतङ्क सिर्जना गरेको भन्ने विशेष सूचनाको आधारमा हाम्रो टोलीले काठमाडौँ ढल्कूबाट पक्राउ गरेको हो ।”

पक्राउ परेकाहरुको साथबाट प्रहरीले मोडेल ५४ कल ७.६२–२५ एमएम ५०००००९८ पोलि टेक्नोलोजीज इंक चीन लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको खाली म्याग्जिन एक थान तथा ३११–२३ लेखिएको गोली १२ राउण्ड बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

निजहरु दुबै जनालाई हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।

ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भने-“संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण”

एयर फोर्स वन (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्टरूपमा बताउनुभएको छ ।

संविधानअनुसार अमेरिकी राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालसम्म मात्र शासन गर्न सकिने प्रावधान छ । यही सीमालाई स्वीकार गर्दै ट्रम्पले भन्नुभयो, “मसँग इतिहासकै सबैभन्दा उच्च जनमत छ, तर मैले पढेको आधारमा मलाई तेस्रो पटक चुनाव लड्न अनुमति छैन । यो साँच्चै निकै नराम्रो कुरा हो ।”

७९ वर्षीय राष्ट्रपति ट्रम्प र उहाँका समर्थकबिच सन् २०२८ को चुनावमा पुनः उम्मेदवारीबारे चर्चाले अमेरिकामा लामो समयदेखि ध्यान आकर्षित गरिरहेको छ । उहाँका विरोधीले यसलाई चिन्ताको रूपमा लिँदा समर्थकले भने जयजयकार गर्दै उहाँलाई निरन्तर शासनको आग्रह गर्दै आएका छन् ।

सन् २०१७ देखि सन् २०२१ सम्म पहिलो कार्यकाल पूरा गर्नु भएका ट्रम्पले हालै जनवरीमा दोस्रो कार्यकाल सुरु गर्नु भएको हो । संवैधानिक प्रतिबन्ध हुँदाहुँदै पनि उहाँका केही कट्टर समर्थकले उहाँलाई हालको कार्यकालपछि पनि शासनमा रहिरहन आग्रह गर्दै आएका छन् । पूर्व रियालिटी टेलिभिजन स्टार ट्रम्पले केही समयअघि ओभल अफिसको डेस्कमा ‘ट्रम्प २०२८’ लेखिएको रातो टोपी प्रदर्शन गर्नु भएको थियो, जसले पुनः तेस्रो कार्यकालको चर्चा चुल्याएको थियो ।

उहाँका समर्थक माझ एउटा लोकप्रिय धारणा छ कि उपराष्ट्रपति जेडी भान्स सन् २०२८ मा ट्रम्पसँगै राष्ट्रपति पदका लागि संयुक्त टिकटमा उम्मेदवार बन्न सक्नुहुन्छ । तर ट्रम्पले यस विचारलाई अस्वीकार गर्दै बुधबार पुनः भन्नुभयो, “म पुनः चुनाव लड्न नसक्ने कुरा अत्यन्त स्पष्ट छ, तर हाम्रो देशमा धेरै महान व्यक्ति छन् ।”

यसैबिच, अमेरिकी सदनका सभामुख माइक जोनसनले पनि क्यापिटलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पसँगको वार्ताको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “मैले राष्ट्रपतिसँग तेस्रो कार्यकालबारे कुरा गरेको छु तर त्यसका लागि कुनै वैधानिक बाटो देखिँदैन ।” जोनसनले संविधानको २२औँ संशोधनको व्याख्या गर्दै भन्नुभयो, “संविधान स्पष्ट छ-राष्ट्रपतिले दुई कार्यकालभन्दा बढी शासन गर्न सक्दैन । संविधान संशोधन गर्न प्रयास गरे पनि त्यो प्रक्रिया निकै लामो हुन्छ; यसका लागि कङ्ग्रेसको दुई तिहाइ र राज्यहरूको तीन चौथाइ अनुमोदन आवश्यक पर्छ, जुन अहिले असम्भव जस्तै देखिन्छ ।”

ट्रम्पका पूर्व सल्लाहकार तथा ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनका प्रमुख रणनीतिज्ञ स्टिभ बेननले गत हप्ता द इकोनोमिस्टसँगको अन्तर्वार्तामा ‘ट्रम्प फेरि ह्वाइट हाउसमा फर्कनुहुनेछ, उहाँ सन् २०२८ मा पनि राष्ट्रपति हुने हुने छ र मानिसले त्यसको तयारी गर्नुपर्छ’ भन्नुभएपछि तेस्रो कार्यकालबारे चर्चा फेरि तीव्र बनेको हो ।

२२ औँ संशोधनका सन्दर्भमा सोधिएको प्रश्नमा बेननले भन्नुभएको थियो, “यसका धेरै विकल्प छन् । उचित समयमा हामी हाम्रो योजना के हो भनेर जनतालाई बताउने छौँ ।” यससँगै, ट्रम्पले संविधानको सीमा स्वीकार गर्दै तेस्रो कार्यकालमा उम्मेदवारी नदिने अठोट सार्वजनिक रूपले प्रष्ट पार्नु भएको छ तर अमेरिकी राजनीतिको केन्द्रमा उहाँको प्रभाव अझै उतिकै बलियो देखिन्छ ।

सरकार, राजनीतिक दल र जेन–जी समूहहरूबीच निरन्तर छलफल हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेन–जी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्ने बताएकी छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै नेपाली मिलेर सामना गर्नुपर्ने भएकाले आपसमा पर्याप्त छलफल गर्न सहभागीलाई आग्रह गरिन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले संवादको सुरुआतमा भनिन्, ‘सबै विचारको आदानप्रदान गरौँ । मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन । एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुआत गरेका छौँ र यसलाई निरन्तरता दिऔँ ।’ निर्वाचनको माहोल बनाउन यस प्रकारको पहिलो र महत्त्वपूर्ण छलफल प्रधानमन्त्री कार्कीले राखेकी हुन् ।

छलफलमा सहभागी जेन–जी समूहका प्रतिनिधिले चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र नहुने तर्क गर्दै आन्दोलनको मुख्य माग सुशासन भएकाले भ्रष्टाचारविरुद्धको कारबाहीको काममा सरकारले उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिएका थिए । छलफल उठेका विषयवस्तु र निचोडबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रेस ब्रिफिङ गरेका छन् ।

बैठकमा सरकारकोतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा। महावीर पुन र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल, दलका नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह, प्रकाशशरण महत र जेनजीको तर्फबाट मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, अमीत खनाल र राजन रानामगरको सहभागिता रहेको थियो ।

एक साताका लागि रोकियो मनाङ पदयात्रा

मनाङ । जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाएको छ ।हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो । हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरू फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।

“सोमबार रातिदेखिको हिमपातले अवरुद्ध सडक डोजर लगाएर हिउँ पन्छ्याएपछि खुलेको छ । खाङसारसम्मकै बाटो खुलेको छ । पदयात्रा भने अझै खुलेको छैन,” उनले भने, “हिउँ र पानी पर्न बन्द भए पनि पदयात्रा अहिल्यै सम्भव छैन ।”

करिब एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटकको मंगलबार उद्धार गरिएको थियो । त्यसमध्ये करिब २०० विदेशी पर्यटक रहेका थिए । हिमपातका कारण तिलिचो आधारशिविरमा रोकिएका करिब ४०० पर्यटक त्यसतर्फ जान नसकेपछि फर्केका थिए ।

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताए।अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा र परिवर्तनको नेतृत्व नेकपा (एमाले) ले गर्ने बताए।

उनले भने, “आजको अवस्था सामान्य छैन। संविधानमाथि आक्रमण भइरहेको छ। यसको बचाउ र देशको स्थायित्वको जिम्मा एमालेले लिनुपर्छ।”उनले पार्टी केन्द्रको निर्देशन पर्खिनु नपर्ने बताउँदै सिर्जनात्मकरुपमा जनताबीच पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

गृहमन्त्री अर्याल र अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री अर्यालले पछिल्लो समय मुलुकको अवस्थामा दिनप्रतिदिन सुधार हुँदै आएको उल्लेख गर्नुभएको थियो । यसका लागि सबै पक्षसँग सहकार्य भएको तथा सर्वसाधारण र सुरक्षा संयन्त्रबीच विश्वासको वातावरण बनेको उहाँको भनाइ थियो ।

राजदूत थम्प्सनले पछिल्लो समय मुलुकमा उत्पन्न परिस्थितिपछि शान्ति कायम गर्न र सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

राजदूत थम्प्सनले पछिल्लो समय एमसिसी परियोजनाका विरुद्धमा भइरहेको बयानबाजी र एमसिए नेपालले केही स्थानमा भोगिरहेको अप्ठ्याराका विषयमा चासो व्यक्त गर्नुभएको थियो । सो सम्बन्धमा मन्त्री अर्यालले वर्तमान सरकार अघिल्लो सरकार, संसद्ले गरेका प्रतिबद्धता पूरा गर्नका लागि तयार रहेको बताउनुभएको थियो ।

त्यस अवसरमा राजदूत थम्पसनले नेपालमा रहेका शरणार्थीसम्बन्धी चासो राख्नुभएको र मन्त्री अर्यालले नेपालले सबै प्रकारका मानवअधिकारको सम्मान गर्ने बताउनुभएको थियो । साथै गृहमन्त्रालयले निर्वाचन आयोगसँग सुरक्षाका विषयमा परामर्श गरिरहेको मन्त्री अर्यालको भनाइ थियो ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सातदिनभित्र लिखित जवाफ माग

काठमाडौँ – सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र उहाँको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

निवेदकले अन्तरिम आदेश माग गरेको विषयवस्तुसमेत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा विचार गर्नुपर्ने प्रकृतिको देखिँदा हाल निवेदनको माग दाबीबमोजिम अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेशमा भनिएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधानमल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले त्यस्तो आदेश दिएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सातदिनभित्र लिखित जवाफ मागसमेत गरिएको छ ।

आदेशमा भनिएको छ, “आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक ७ (सात) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यर्थीका नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा लिखित जवाफ पर्ने अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु ।”

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । अन्तरिम सरकारका प्रधानमन्त्रीको नियुक्ति बदर, संसद् विघटन बदर एवं संसद् पुनःस्थापना गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा १६ वटा रिट निवेदन दायर भएको थियो ।

रिट निवेदन पेस गर्नेमा अधिवक्ता डा प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलसमेत, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, अधिवक्ता दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाल, अधिवक्ता आभास पोखरेल, ओमप्रकाश जङ्ग शाह, अधिवक्ता विमल पोखरेल, अधिवक्ता डा पुण्यप्रसाद खतिवडा र अधिवक्ता शेरबहादुर रोकाया रहनुभएको थियो ।

आज रिट निवेदनका तर्फबाट बहस भएको थियो । रिट निवेदक डा प्रेमराज सिलवाल, आयुष बडाल, वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष गोपलाकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, टीकाराम भट्टराई, डा सुरेन्द्र केसी, अधिवक्ताहरु खम्मबहादुर खाती, कृतिनाथ भट्टराई, शिव यादव, विकास भट्टराई, अनन्तराज लुइँटेललगायत बहस गर्नुभएको थियो ।

गत भदौ २४ गते सर्वोच्च अदालतको मूल भवन आगजनीका कारण पूर्ण रुपमा नष्ट भएपछि आजदेखि एनेक्स भवनको संवैधानिक इजलासमा उक्त रिट निवेदनको सुनुवाइ भएको हो ।

चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले उपत्यकाका विभिन्न स्थानमा सुनका सिक्री चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पाँच जनाविरुद्ध आठ दिनको म्याद थप गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नियन्त्रणमा लिई जिल्ला अदालतमा उपस्थित गराएको थियो । म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार उक्त प्रकरणमा सिन्धुली, हरिहरगढी गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ स्थित तिनधारेमा डेरा गरी बस्ने २८ वर्षीय राज लामा, उदयपुर, ताप्ली गाउँपालिका–४ घर भई भक्तपुर, बस्ने २० वर्षीय विशाल भन्ने दुर्गबहादुर मगर, रामेछाप, लिखु तामाकोसी गाउँपालिका–६ घर भई भक्तपुर, चाँगुनारायण नगरपालिका–२ सल्लाघारीमा श्रीलक्ष्मी ज्वेलर्स सञ्चालन गर्ने ३२ वर्षीय दिलबहादुर विक, बागलुङ, गल्कोट नगरपालिका–२ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ सरस्वतीनगर स्थित बागलुङ कालिका ज्वेलर्सका सञ्चालक ४० वर्षीय गोविन्द सुनार, कैलाली लम्कीचुहा नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–२२ बस्ने २२ वर्षीय दिपेश रसाइली छन् ।

मैत्रीपूर्ण खेलमा भारतलाई नेपालले हरायो

काठमाडौं । मैत्रिपूर्ण खेलमा भारतलाई नेपालले हराएको छ । आज सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालामा भएको खेलमा नेपालले भारतलाई ३ का विरुद्ध ० गोल अन्तरले हराएको हो ।

टाइब्रेकरमा गोलकिपर अन्जना राना मगरले २ वटा पेनाल्टी रोकेकी थिइन् । खेलमा कप्तान अनिता बस्नेतबाहेक ३ खेलाडीले गोल गरे । उक्त खेलमा सविता राना मगर, रश्मिकुमारी घिसिङ र अन्तिममा निशा थोकर गोल गरेका हुन् ।

त्यसअघि खेल १–१ ले बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुबै टोलीले गोल गरेनन् र बराबरीमा सकिएको थियो ।

पौडी खेल्ने क्रममा कालीगण्डकीमा एक बेपत्ता, एकको उद्धार

पाल्पा। पाल्पा र स्याङ्जाको सिमानामा पर्ने राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् भने एकको उद्धार गरिएको छ ।आज पौडी खेल्दै गर्दा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १५ वर्षीय बखन शाही बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो ।

शाहीसँगै पौडी खेल्न जानुभएका १६ वर्षीय विराज न्यौपानेलाई प्रहरी र स्थानीयले भने सकुशल उद्धार गरेका छन् । बेपत्ता शाहीको खोजतलास भइरहेको प्रहरी निरीक्षक प्रधानले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘नेपालमा बर्सेनि ५० हजार बढीलाई मस्तिष्कघात’

काठमाडौँ। नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातका कारण ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेको पाइएको छ । नेपाल पक्षघात सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने गरेका हुन् ।

नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष एवम् ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा राजु पौडेल नेपालमा प्रत्येक १० मिनेटमा एकजनामा मस्तिष्कघात हुने गरेको बताउनुहुन्छ ।

“एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ ।

यसलाई नै मस्तिष्कघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ,” डा पौडेल भन्नुहुन्छ ।

नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल पक्षघात सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम गरिँदै आइरहेको छ । डा पौडेल मस्तिष्कघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तरराष्ट्रिय मापदण्ड तय गर्दै आएको बताउनुहुन्छ ।

उक्त सङ्घले भर्खरै विश्वका एक दर्जन बढी मुलुकका ५०० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थितिमा ‘हिमालय अन्तरराष्ट्रिय मस्तिष्कघात सम्मेलन’समेत आयोजना गरेको थियो । उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलबर्गको सहयोगमा नेपाल पक्षघात परियोजनासँग सहकार्य गरी काम गर्दै आएको छ ।

यस्तै, जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको मस्तिष्कघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गरेको डा पौडेल बताउनुहुन्छ ।

सङ्घले मस्तिष्कघातसम्बन्धी निर्देशिका निर्माण गरी सरकारलाई बुझाइसकेको छ । यस्तै, देशभरका अस्पतालको मस्तिष्कघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका कामसमेत सङ्घले गरेको छ । डा पौडेल मस्तिष्कघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

“विश्वमा हरेक चारजनामा एक जनालाई र तीन सेकेन्डमा एकजनालाई पक्षाघातको सम्भावना हुन्छ, यसबाट सजग हुनुपर्छ”, उहाँ भन्नुहुन्छ ।

विश्वभर प्रत्येक वर्ष मस्तिष्कघातका कारण एक करोड २० लाख मानिस प्रभावित हुँदै आएका छन् । प्रभावितमध्ये ५० प्रतिशतको मस्तिष्कघातका कारण मृत्यु हुने गरेको डा पौडेल बताउनुहुन्छ । विश्वभर मस्तिष्कघात भएकामध्ये १० करोडभन्दा बढीले पुनर्जीवन पाएका छन् ।

नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा मस्तिष्कघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ छ । नेपालमा अहिले मस्तिष्कघात भएकामध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क रहेको डा पौडेल बताउनुहुन्छ ।

उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए चार घण्टाभित्रै अस्पताल पुग्न सके उपचार सम्भव रहेको डा पौडेल बताउनुहुन्छ ।

मस्तिष्कघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अतिरिक्त बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ । नेपालमा भौगोलिक विकटता, सीमित स्रोतसाधन र दक्षजनशक्तिको अभावका कारण पक्षाघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव रहेको डा पौडेल बताउनुहुन्छ ।

अक्टोबर २९ अर्थात् आज विश्वभर विश्व पक्षघात (मस्तिष्कघात) दिवस मनाइएको छ । ‘प्रत्येक मिनेट गणना’ भन्ने मूल नाराका साथ आज ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मस्तिष्कघातसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।

अवरुद्ध चामे–खाङ्सार सडक सञ्चालन

मनाङ। सोमबारदेखि परेको हिमपातका कारण अवरुद्ध चामे–खाङ्सर सडक सञ्चालनमा आएको छ । दुई दिनको निरन्तर प्रयासपछि सडक सञ्चालन गर्न सकिएको हो ।

सडक खुलाउन सुरक्षाकर्मी, स्थानीय तह तथा सम्बन्धित निकायको समन्वयमा गरिएको प्रयास खुलाउन सफल भएको हो । सडकमा रहेको हिउँ फालिएपछि आजदेखि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “३० किलोमिटर चामे–खाङ्सार सडक खुलाएर सहज बनाइएको छ । मनाङका विभिन्न स्थानमा हिउँले सडक अवरुद्ध भएकामा हटाउन सकिएको छ ।” बाटोमा फसेका पर्यटकको उद्धार गर्दै सडक सञ्चालन गर्न सफल भएको उहाँले बताउनुभयो ।

तीन वटा एस्काभेटरका साथै सुरक्षाकर्मीको सहयोगमा हिउँ फालेर सडक सञ्चालनमा आएसँगै मनाङ आउने–जाने स्थानीय र पर्यटकलाई सहज भएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिनुभयो । जिल्ला प्रशासनले यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

‘समय नमिलेका कारण’ किमसँग भेट सम्भव भएन-ट्रम्प

ग्योङ्ग्जु (दक्षिण कोरिया) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट सम्भव नभएको बताउनुभएको छ ।

उहाँका अनुसार, ‘समयले साथ नदिँदा’ दुवै नेताको भेटको तालिका मिल्न सकेन । ट्रम्पले यसअघि आफ्नो एसिया भ्रमणकै क्रममा किमलाई ‘भेट्न चाहने’ इच्छा व्यक्त गर्नु भएको थियो । यो ह्वाइट हाउसमा आफ्नो अघिल्लो कार्यकालपछि हुने सम्भावित पहिलो भेट हुने थियो । यद्यपि उत्तर कोरियाले सो निमन्त्रणालाई सार्वजनिक रूपमा पुष्टि गरेको छैन ।

दक्षिण कोरियामा ट्रम्पको आगमन हुनुअघि नै प्योङयाङले पश्चिमी तटबाट क्रुज मिसाइल परीक्षण गरेको घोषणा गरेको थियो । उत्तर कोरियाले यसलाई आफ्ना ‘शत्रुलाई चेतावनी दिने सन्देश’ का रूपमा प्रस्तुत गरेको थियो । “म किम जोङ उनलाई राम्ररी चिन्छु हामीले केवल समय मिलाउन सकेनौँ”, ट्रम्पले सञ्चारकर्मीसँग भन्नुभयो । उहाँले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँगको भेटमा कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्ने लक्ष्य राखिएको पनि बताउनुभयो ।

राष्ट्रपति लीले ट्रम्पको पहलको प्रशंसा गर्दै भन्नुभयो, “किम जोङ उनलाई पठाइएको निमन्त्रणाले कोरियाली प्रायद्वीपमा न्यानो र शान्तिको वातावरण सिर्जना गरेको छ ।” दक्षिण कोरिया अझै प्राविधिक रूपमा उत्तर कोरियासँग युद्धको अवस्थामै रहेको छ । ट्रम्पले यसअघि नै ‘निकट भविष्यमा’ किमसँग भेट्ने अपेक्षा व्यक्त गर्नु भएको थियो । उहाँले एयर फोर्स वनमा सञ्चारकर्मीसँग भन्नुभएको थियो, “कुनै समय, हामी उत्तर कोरियासँग संलग्न हुने छौँ । मलाई लाग्छ, उनीहरू पनि चाहन्छन्, म पनि चाहन्छु ।”

स्मरणीय छ, ट्रम्प र किमबिच अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालमा तीन पटक उच्चस्तरीय शिखर बैठक भएका थिए । सन् २०१९ मा दुई देशबिचको सीमारेखा डिमिलिट्राइज्ड जोन (डिएमजेड) स्थित पान्मुन्जोममा भएको अन्तिम भेट सर्वाधिक ऐतिहासिक मानिन्छ । त्यो भेटअघि ट्रम्पले ट्विटरमार्फत अचानक निमन्त्रणाको घोषणा गर्नु भएको थियो । त्यसपछि दुवै नेताले उत्तर र दक्षिणलाई विभाजन गर्ने कन्क्रिट स्ल्याबमाथि हात मिलाउनुभएको थियो ।

सो क्रममा ट्रम्प केही कदम प्योङयाङतर्फ अघि बढ्दै उत्तर कोरियाको भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नुभएको थियो । तर उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमको कति भाग त्याग्ने र त्यसको सट्टामा पाउने राहतका विषयमा सहमति हुन नसकेपछि ती वार्ता अन्ततः असफल भए ।

त्यसपछि प्योङयाङले आफूलाई ‘अपरिवर्तनीय आणविक शक्ति सम्पन्न राष्ट्र’ घोषणा गरेको थियो । ट्रम्प र किमबिचको पुनः सम्भावित भेटबारे कूटनीतिक वृत्तमा चासो बढिरहेको भए पनि हालको राजनीतिक र सुरक्षागत परिस्थिति अझै अनुकुल नभएको विश्लेषकहरूले जनाएका छन् ।

बालुवाटारमा त्रिपक्षीय बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजी युवासहितको त्रिपक्षीय बैठक जारी छ ।प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि वार्ता र छलफल गरिरहेको सरकार पहिलो पटक राजनीतिक दल र जेनजी युवासँग वार्तामा रहेको हो ।

यसअघि यहि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबै पक्ष सकारात्मक भएका थिए ।यसैबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए ।

दोस्रो पथरी शनिश्चरे गोल्डकपको तयारी पूरा

पथरी (मोरङ), कात्तिक १२ –दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको खेलमा ‘ए’ डिभिजनसहितका आठ समूहको सहभागिता रहनेछ । आयोजक इन्ट्रा पथरी–११ फुटबल क्लबले यहाँ पत्रकार सम्मेलनमार्फत टाइसिट तथा ट्रफी सार्वजनिक गर्दै खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा सङ्कटा र न्यूरोड टिम (एनआरटी)सहित बिग्रेड ब्वाइज, सिराहाको सलहेस युवा क्लब, झापा–११ फुटबल क्लब, पाँचथर फुटबल क्लब, भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लब भारत र आयोजक इन्ट्रा पथरी–११ फुटबल क्लबले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष सुमन विकले जानकारी दिनुभयो ।

गोल्डकपको विजेताले रु पाँच लाख नगद र ट्रफी प्राप्त गर्ने छन्भने उपविजेताले रु दुई लाख ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचले नगद रु पाँच हजार पाउनेछन् । त्यस्तै, विधागत रूपमा सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरर्वड र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १०–१० हजारका दरले पुरस्कृत गरिने अध्यक्ष विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरस्कार राशि गत वर्षको तुलनामा वृद्धि गरिएको हो । प्रथम गोल्डकपको विजेताले रु तीन लाख र उपविजेताले रु दुई लाख प्राप्त गरेका थिए । आयोजक क्लबले ‘स्थानीय खेलाडीको संरक्षण गर्दै देशलाई राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग’ गर्ने उद्देश्यका साथ विसं २०८१ देखि गोल्डकप आयोजना गर्न थालेको हो । फुटबलको उर्वरभूमि मानिएको मोरङको पथरी शनिश्चरेबाट उत्पादन भएका खेलाडीले राष्ट्रिय टोली, महिला राष्ट्रिय टिम र ए डिभिजन क्लबमा वर्चस्व राख्दै आएका छन् ।

चलचित्र ‘होस्टेल-३’ भारतमा पनि लोकप्रिय

काठमाडौँ, १२ कात्तिक । नेपाली चलचित्र होस्टेल-३ ले भारतमा ५१ दिन पूरा गरेको छ । नेपालमा सुरु भएको ‘होस्टेल’ को तेस्रो शृङ्खलाले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबीच पनि लोकप्रियता विस्तार गर्न सफल भएको हो ।

गत भदौ २० गतेदेखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिङ्क मलमा निरन्तर प्रदर्शन भइरहेको उक्त चलचित्रले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका वितरक सुरज खड्काले जानकारी दिए ।

भारतमा ‘होस्टेल-३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन् । चलचित्र सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दाबढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो ।

चलचित्रका निर्देशक सशान कँडेलले भारतमा पनि फिल्मले सफलता प्राप्त गरेकामा खुसी व्यक्त गरे । उनले भने, “सर्वप्रथम, यति ठूलो शृङ्खलालाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्स्लाई धेरै धन्यवाद दिन चाहन्छु । निर्माण, वितरण र प्रचारप्रसारमा सहभागी सबैलाई हार्दिक आभार व्यक्त गर्दछु ।”

‘होस्टेल-३’ ले क्याम्पस जीवनका उतार चढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा चित्रण गर्दै युवापुस्तामाझ विशेष चर्चा पाएको छ । चलचित्रमा पारसबम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुषलगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सहनिर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिसराज क्षेत्री रहेका छन् ।

सञ्चारमन्त्री खरेलद्वारा दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट

काठमाडौँ, कात्तिक १२ –सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरी पीडित पक्षको न्यायका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार रजककी धर्मपत्नी सुजन रजकसहित परिवारका सदस्यहरूसँग छलफल गर्दै सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाउनुभयो ।

सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको धर्मपप्नी सुजन रजकलाई रोजगारीका निम्ति समन्वय गर्ने तथा निजको उच्च शिक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । सो अवसरमा रजककी धर्मपप्ती सुजन रजकले सुरेशको न्यायका लागि पहल गरिदिन सञ्चारमन्त्री समक्ष आग्रह गर्नुभएको थियो ।

विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको आगजनीमा परेर पत्रकार सुरेशको मृत्यु भएको थियो । घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।

पाल्पामा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

तानसेन– यहाँको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ज ००९१ नं को विद्युतीय गाडी आज दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा चालक छहरा अमलावासका ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा– १ सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र छहरा–४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल पाल्पा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । गाडीमा तीन जना मात्र सवार रहेको प्रधानले बताए। सो गाडी सडकदेखि निकै तल खोल्सामा खसेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, एपीईसी शिखर सम्मेलन अगाडि उच्चस्तरीय बैठकको तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार दक्षिण कोरिया पुगेका छन् । दक्षिणपूर्वी सहर ग्योंग्जुमा आयोजना भइरहेको एशिया–प्रशान्त आर्थिक सहकार्य (एपीईसी) शिखर सम्मेलनका अवसरमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युंगसँग उच्चस्तरीय वार्ता गर्ने तयारी गरेका छन् ।

ट्रम्प बुधबार बिहान टोकियोबाट एयर फोर्स वनमार्फत उडेर दक्षिण कोरियाको बुसानस्थित गिमहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनका संचार सल्लाहकार तथा राष्ट्रपति विशेष सहायक मार्गो मार्टिनले सामाजिक सञ्जाल ‘एक्स’ मा साझा भिडियोमार्फत एयर फोर्स वनलाई दुई अमेरिकी र दुई कोरियाली एफ–१६ लडाकु विमानहरूले दक्षिण कोरियाको आकाशमा स्वागत गरेको दृश्य सार्वजनिक गरेकी छन् ।

राष्ट्रपति ट्रम्पको यो दोस्रो कार्यकालको पहिलो एशिया भ्रमण हो, जसमा अमेरिकाले व्यापार र लगानीका ठूला सम्झौताहरूमा केन्द्रित हुने बताइएको छ । दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार ट्रम्पले बुधबार नै राष्ट्रपति ली जे–म्युंगसँग ग्योंग्जुमा भेटवार्ता गर्नेछन् । यो दुई महिनाभित्र उनीहरूबीचको दोस्रो शिखर बैठक हुनेछ । सबैको नजर जुलाईमा प्रारम्भिक सहमति गरिएको व्यापार सम्झौतामा छ, जसको अन्तिम रूप यस भ्रमणमा टुंग्याइने अपेक्षा गरिएको छ ।

उक्त फ्रेमवर्क सम्झौता अनुसार दक्षिण कोरियाले अमेरिका भित्र करिब ३५० अर्ब अमेरिकी डलर लगानी गर्नेछ । त्यसको बदलामा वासिङटनले ‘पारस्परिक’ रुपमा लागू गरिएको २५ प्रतिशत कर घटाएर १५ प्रतिशतमा झार्ने सहमति भएको थियो । तर, लगानी प्याकेजका विवरणमा मतभेदका कारण सम्झौता अझै लागू हुन सकेको छैन ।

ट्रम्पको दक्षिण कोरिया भ्रमणको अर्को महत्वपूर्ण पाटो भनेको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बिहीबार हुने बहुप्रतीक्षित भेट हो । सन् २०१९ पछि यी दुई नेताबीच हुने यो पहिलो प्रत्यक्ष वार्ता हुनेछ ।

यसैबीच, उत्तर कोरियाले अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणअघि मंगलबार पहेँलो समुद्रमा समुद्र–देखि–सतहमा प्रहार गर्न सक्ने रणनीतिक क्रूज मिसाइल परीक्षण गरेको दाबी गरेको छ । योन्हापका अनुसार उत्तर कोरियाले यसलाई “सामरिक प्रतिरोध क्षमताको प्रदर्शन”का रूपमा व्याख्या गरेको छ ।

ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग पुनः वार्ता गर्न खुला मनस्थिती देखाए पनि प्योङयाङले हालसम्म कुनै प्रतिक्रिया नदिएको पनि समाचारमा उल्लेख छ । यद्यपी, यसैबिच उत्तर कोरीयाले ट्रम्प दक्षिण कोरीया पुग्नु अघि क्षेप्यास्त्र परिक्षण गरेको खबरहरु बाहिरिएका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे मिराकल पार्टी प्यालेस, सुकेधारामा बस्न लागेको हो ।

बैठकमा पार्टी पार्टी एकताको विषय, वर्तमान परिस्थिति दायित्व राजनीतिक समसायायिक विषयबस्तुको छलफल गरिने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
बैठक आगामी शुक्रबारसम्म बस्ने छ ।

सोलुखुम्बुमा हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटना

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ। यात्रु लिन जाँदा आज बिहान ७ः५० बजे खुम्बु पासाङल्हामु गाउँपालिका-५ लोबुचेमा अल्टिच्युड एयरको एन-एमएस हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको जनाइएको छ ।

उक्त हेलिकप्टरमा यात्रु थिएनन् । पाइलट विवेक खड्काको सकुशल उद्धार गरिएको जनाइएको छ । पाइलट खड्का भक्तपुरका स्थानिय बासिन्दा हुन् ।

खानेपानीका स्थानीय योजनामा बजेट अभाव

काठमाडौँ, १२ कात्तिकः पाँचथर जिल्लामा पालिका तथा वडास्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका योजनामा बजेट अभाव भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ यादवका अनुसार १३ वटा खानेपानी योजनामा बजेट अभाव भएको हो । सङ्घीय सशर्त अनुदानमा निर्माण तथा मर्मत भइरहेका फिदिम, लुम्फाबुङ, लुङरुपा, पौवासारताप, खाल्डेखोल्सी, दुर्दिम्बा, सूर्यधन, इम्बुङ, रानीटार, रवि बजार, माङ्जाबुङ, फाक्तेपलगायत खानेपानी योजनामा बजेट अपुग भएको हो ।

आर्थिक वर्ष २०८२÷०८३ मा यी योजनालाई बजेट नभएपछि कार्यालयले प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयलाई पत्राचार गरिएको छ । बाढीपहिरोका कारण खानेपानीका केही योजनामा क्षति भएको छ । गत आवमा विपद्बाट क्षतिग्रस्त मुख्य १५ वटा योजनाको सोही वर्षभित्र मर्मतका लागि रु १० करोड बजेट माग गरिएको थियो तर मन्त्रालयले रु एक करोड बजेट मात्र निकासा गरेको उहाँले बताउनुभयो ।

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १२ कात्तिक : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ६६, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ६०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३९ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६५, काउली स्थानीय प्रतिकिलो रु ९०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ६५, तने बोडी प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।

यसैगरी, मटर कोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६५, घिउ सिमी (राजमा) प्रतिकिलो रु १८०, टाटे घिउ सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु ९०, तीतो करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ६०, घिरौँला प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो रु ९०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ४० कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकेजी रु १३०, चमसुर प्रतिकेजी रु १६०, तोरीको साग प्रतिकिलो रु ८०, मेथीको साग प्रतिकिलो रु २००, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ५५०, निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १७०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु २४०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु ५००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १३०, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ११०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, निबुवा प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भातरीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु ११० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु २६०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ७०, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १२०, भेडे खुर्सानी प्रतिकिलो रु १६०, हरियो लसुन प्रतिकिलो रु २८०, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १५०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २२०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु ११०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० निर्धारण गरिएको छ ।

इलामका बाढी प्रभावितलाई ६३ लाख ९६ हजारका सहायता सामग्री प्रदान गर्ने जर्मनीको प्रतिबद्धता

काठमाडौँ । संघीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु. ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग सामग्री परिचालन गर्न उक्त संस्थाका देशीय निर्देशक सकेब नवीसँग मंगलवार सम्झौता गरेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

आगामी दुई महिनाभित्रमा बाढी प्रभावितलाई स्थानीय समुदायसँगको सहकार्यमा सहायता सामग्री प्रदान गरिने दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विपन्न वर्गलाई प्राथमिकतामा राखेर सहायता सामग्री प्रदान गरिने छ । गत वर्ष पनि सर्लाही र रौतहटका बाढीपीडितलाई जर्मनीले रु. एक करोड ६४ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो ।

दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

झापा । दमक नगरपालिका-२ पांगिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए ।

 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।बस चालक मोरङ मिक्लाजुङ-३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न महाधिवेशन आवश्यक छ – नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधनसँगै पार्टीभित्र आम एकता कायम गर्न नियमित महाधिवेशन आवश्यक रहेको बताएका छन् ।

मंगलबार साँझ सामाजिक सन्जालमार्फत एक भिडियो वक्तव्य जारी गर्दै उनले जारी केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरेर नियमित महाधिवेशन गर्न विस्तृत प्रस्ताव प्रस्तुत गरेको बताए ।

‘अहिले उठेका कांग्रेस रुपान्तरण र पुस्तान्तरणसहितका तमाम मुद्दा सम्बोधनसँगै आम कार्यकर्ताहरुको मनोबल उच्च पारेर आम निर्वाचनमा पार्टीलाई अझ प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्यक छ भनेर मैले जारी केन्द्रीय समिति बैठकमा विस्तृत लिखित प्रस्ताव प्रस्तुत गरिसकेको छु,’ उनले भने ।

अहिलेको कार्य समितिको म्याद थप्न लागिएको त होइन भनेर धेरै कार्यकर्ताबाट आशंकासहितको जिज्ञासा आफुले सामना गरिरहेको भन्दै उनले यसमा आफ्नो समर्थन नरहने बताए ।

महासमिति बैठक महाधिवेशन हुने वर्ष नबस्ने व्यवस्थातर्फ संकेत गर्दै केन्द्रीय सदस्य पौडेलले परिवर्तित अवस्थामा जेनजी आन्दोलनको भावना समेट्दै नीतिगत स्पष्टताका लागि महाधिवेशन आवश्यक रहेको बताए ।

वर्तमान कार्य समितिको कार्यकालसमेत सम्पन्न हुन लागेका बेला म्याद थप्ने कुरामा असहमत नेता पौडेलले विशेष महाधिवेशन माग गरेका साथीहरुको चासोसमेत यसले सम्बोधन गर्ने बताए । उनले भने, ‘समयमै अधिवेशन सम्पन्न गर्न हामी सबै लागौं ।’उनले कांग्रेस भित्र एकता कायम हुन आन्तरिक विवाद अन्त्य हुन आवश्यक रहेको भन्दै पार्टीभित्र आम एकता कायम गर्ने पनि महाधिवेशन हुनैपर्ने बताए ।

‘नेपाली कांग्रेस भित्र एकता कायम हुन जरुरी छ, आन्तरिक विवाद अन्त्य हुन जरुरी छ । आन्तरिक विवाद त्यतिवेला अन्त्य हुन्छ जतिवेला विवादहरुको समाधान विधिसंवत ढङगबाट गरिन्छ । त्यसैले विधिसम्बत ढङगबाट आन्तरिक विवाद अन्त्य गर्ने उपाए पनि महाधिवेशन मात्र हो । पार्टीभित्र आम एकता कायम गर्ने पनि महाधिवेशन नै हो,’ उनले भने ।

नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

काठमाडौँ । प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ । मंगलवार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुंगले सो भवनको उद्घाटन गरेका हुन् । साथै उनले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण गरेका छन् ।उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुंगले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीकसमेत भएको उल्लेख गरे ।

नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवा भावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खापुंगले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरी प्रति नागरीहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।सरकारको नियमित बजेटबाट कुल रु. चार करोड ४६ लाख १८ हजार एक सय ९७ को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

यस्तै, गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारबाट करिब पाँच सय ६८ ग्राम तौल बराबरको संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेट पहार दुई थान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकोट खाँडाचक्र नगरपालिका-६ घर भएका २५ वर्षीय रमेशबहादुर शाही र २८ वर्षीय कृष्णबहादुर शाही रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेट पहार सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

साथै गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड तथा हात हतियार लुटपाट गर्ने कार्यमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।कास्कीमा हातहतियार लुटपाट गरी हिँड्ने तथा आगोमा जलाउने कार्यमा संलग्न चार जना, वडा प्रहरी कार्यालय बगर कास्कीमा हतियारको थुप्रो लगाई आगो लगाउने एक जना र प्रहरी चौकी नयाँ पुल कासकीमा आगलागी गर्ने पाँच जना गरी जम्मा १० जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा राजेश मक्रान्ती, नारायण साई, अरुण विक, रुपेश मगर, दीपु साई, लङबहादुर नेपाली, अरविन विक, ग्रीस क्षेत्री, थमबहादुर सार्की, पूर्णबहादुर नेपाली छन् ।

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङमा सो अवधिमा बेनी–जोमसोम सडक मार्ग हुँदै बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिइन् ।

कात्तिक १० गते म्याग्दी हुँदै मुस्ताङ भित्रिएका चार हजार ५९८ पर्यटकमध्ये कतिपयको मुक्तिनाथ दर्शन यात्रा हिमपातका कारण असहज बनाइदिएको छ । सोमबार रातिदेखिनै मुस्ताङमा वर्षा र हिमपात भएसँगै यहाँका आएका पर्यटक समस्यामा परेका हुन् ।कागबेनी–मुक्तिनाथ सडकखण्ड र मुक्तिनाथ बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिमपात भएका कारण यहाँ आएका तीर्थालुहरू समस्यामा परेका मुक्तिनाथ मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले बताए ।

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएकाले चिसो अत्यधिक बढेको छ । मुक्तिनाथ स्नानकुण्ड र १०८ धारा जमेका कारण भक्तजनलाई धार्मिक कार्यमा बाधा पुगेको सुवेदीको भनाइ छ । चालु वर्षको साउनदेखि कात्तिक १० गतेसम्ममा एक लाख ५९ हजार ४६७ जना पर्यटक बेनी–जोमसोम सडक मार्ग हुँदै मुस्ताङ भित्रिएका छन् ।

यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या

काठमाडौँ । सरकारले सार्वजनिक संस्थानको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी प्रभावकारिता र कार्यकुशलता अभिवृद्धि गर्नु जस्ता विषयलाई प्रमुख चुनौतीका रूपमा चित्रण गर्दै सुधारको मार्गचित्र सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ मा वित्तीय सुधार र अनुशासन कायम गर्नु, सरकारी लगानीको उचित प्रतिफल सुनिश्चित गर्नुलाई चुनौतीका रूपमा चित्रण गरिएको छ ।

सार्वजनिक संरचनाको सङ्गठनात्मक पुनः संरचना गरी प्रशासनिक खर्च अनावश्यक आर्थिक दायित्व घटाउनु, सञ्चालक समितिको प्रभावकारिता अभिवृद्धि गर्नु, सार्वजनिक संस्थानको व्यावसायिकताका लागि उपयुक्त स्वरूप र सञ्चालन ढाँचा निर्धारण गर्ने काम चुनौतीका रुमपमा लिइएको छ ।

आम नागरिकको अपेक्षाअनुसार वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा सुधार गर्नु र नीतिगत, कानुनी र प्रक्रियागत सुधारमार्फत संस्थान सञ्चालनमा विद्यमान बाह्य हस्तक्षेप न्यूनीकरण गर्नुपर्ने विषयलाई चुनौतीका रूपमा चित्रण गरिएको छ ।

कार्य सञ्चालनको नियमित अनुगमन ता मूल्याङ्कन नियमन गर्ने प्रभावकारी संयन्त्र नहुनु, संस्थानको कार्यकारी प्रमुखमा संस्थाको उद्देश्य एवं कार्यक्षेत्र बमोजिमको योग्य व्यक्ति नहुनलाई समस्याका रूपमा लिइएको छ ।

अधिकांश सार्वजनिक संस्थानमा कर्मचारी व्यवस्थापन कमजोर हुनु, सरकारी लगानीको यर्थाथ आकलन हुन नसक्नु, सरकारको लगानीको प्रतिफल अत्यन्त न्यून हुनु, कोषम व्यवस्था नभएको दायित्व तथा सम्भावित दायित्व निरन्तर बढ्दै जानु समस्याको रूपमा रहेको छ । संस्थानमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुुनु, संस्थानको समग्र कार्य सम्पादनमा पारदर्शिताको अवस्था कमजोर रहनुलाई समस्याका रूपमा लिइएको छ ।

सरकारले संस्थानको व्यावसायिक कार्ययोजना, वार्षिक बजेट र वित्तीय प्रतिवेदन स्वीकृत गरी लागू गराउने, कार्यकारी प्रमुखको कार्य सम्पादन मूल्याङ्कन गर्ने, संस्थानको लेखापरीक्षण, जोखिम व्यवस्थापन, व्यावसायिक सुशासन र पारिश्रमिकसम्बन्धी व्यवस्थालाई पारदर्शी र समयसापेक्ष बनाउने लक्ष्य राखेको छ । यस्तै, सार्वजनिक संस्थानको सङ्गठनात्मक संरचना स्वीकृत गराइ लागू गर्ने गराउने, संस्थानमा वित्तीय अनुशासन सुनिश्चित गर्ने, संस्थान गठन गर्ने कानुन बमोजिम तोकिएका कार्यहरू गर्ने लक्ष्य राखिएको छ ।

सार्वजनिक संस्थान व्यवस्थापनको नेतृत्व तथा सञ्चालक छनोट प्रक्रियामा योग्यता प्रणाली र समावेशिता सुनिश्चित गर्ने, सार्वजनिक संस्थानको सेवा प्रवाहलाई प्रविधिमा आधारित र एकीकृत बनाउने, सार्वजनिक संस्थानमा व्यवसाय प्रक्रिया पुनः निर्धारण गरिनेछ । संस्थानको सञ्चालन र व्यवस्थापन तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्ने, सेवाग्राही तथा ग्राहकप्रति उत्तरदायित्व सुनिश्चित गर्ने रणनीति लिइएको छ ।

नियमित अनुगमन र मूल्याङ्कन प्रणाली विकास गर्ने, पारदर्शी वित्तीय व्यवस्थापन र अनुशासन कायम गरी आर्थिक रूपमा सबल बनाउने, सार्वजनिक संस्थानको लेखा प्रणालीलाई विश्वसनीय समयानुकूल र तुलनायोग्य बनाइनेछ ।

नीतिमा सार्वजनिक संस्थानबाट हुने सम्भावित वित्तीय जोखिम पहिचान नियन्त्रण गर्ने, कार्यसम्पादन मापनलाई व्यवस्थित गरी कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरिने उद्देश्य राखिएको छ ।

सार्वजनिक संस्थानमा कार्यरत जनशक्तिको क्षमता विकास गर्ने र उपयुक्त जनशक्ति भित्र्याउने, सार्वजनिक संस्थानको सङ्गठनलाई संस्थानको उद्देश्य अनुरूप बनाउने, सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्ने विषयलाई नीतिमा प्रस्ट उल्लेख गरिएको छ । संस्थानमा श्रमिकको सीप विकास र आधुनिक प्रविधि उपयोगलाई प्रोत्साहन गर्ने, अनुसन्धान, नवप्रवर्तन र गुणस्तरमा सुधारमा जोड दिइनेछ ।

हाल ४५ सार्वजनिक संस्थान कायम छन् । हाल कायम रहेकामध्ये २० वटा सरकारको पूर्ण स्वामित्व र २५ वटा अधिकांश स्वामित्वमा सञ्चालित छन् । आव २०८०/८१ सम्म सरकारले सार्वजनिक संस्थानमा कूल रु सात खर्ब तीन अर्ब ९३ करोड ८८ लाख लगानी गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०९ रुपैयाँ २९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३४ पैसा र बिक्रीदर चार रुपैयाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८१ पैसा र बिक्रीदर नौ रुपैयाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९९ पैसा र बिक्रीदर २२ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६१ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा , ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वर्षा र हिमपातबाट जोगिन प्राधिकरणको प्रभावित जिल्लासहित सात बुँदे अनुरोध

काठमाडौँ – नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मन्था चक्रवातको असर देखिन लागेपछि विपद् प्राधिकरणले नागरिकका लागि सात बुँदे अनुरोध जारी गरेको छ ।

उक्त चक्रवातका कारण कोशी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशमा वर्षा र हिमपात गराउने जल तथा मौसम विज्ञान विभागबाट विशेष बुलेटिन जारी भएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकहरूमा सचेतनाका लागि सात बुँदे अनुरोध सार्वजनिक गरेको हो ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार उक्त प्रणालीको असर रहुञ्जेल सकेसम्म यात्रा नगर्न र तातो भएर बस्न तथा आवश्यक मौसमी सूचनाबारे जानकारी लिएर कार्य गर्न अनुरोध गर्नुभएको छ ।

यस्तो छ सात बुँदे अनुरोध

– अत्यन्त जरुरी नभइ सकेसम्म यात्रा नगर्ने ।

– डुबान हुनसक्ने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने । आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने ।

– प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्ने । जोखिम देखिए सुरक्षित स्थानमा सर्ने ।

– धान तथा अन्यबाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने ।

– प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकताअनुसार सवारी आवागमनबारे निर्णय गर्ने । सोको पालना गर्ने, गराउने ।

– तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने ।

– पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने ।

प्रभावित जिल्लाहरू

कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी रहेका छन् ।

मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी तथा बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली रहेका छन् ।

उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावनासमेत रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ’मोन्था’का कारण २०८२ कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावित हुनेछ ।

उक्त प्रणालीको प्रभावबाट मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।