अदानचुलीका दुई बस्ती पहिरोको उच्च जोखिममा
हुम्ला। जिल्लाको अदानचुली गाउँपालिका-२ का दुई बस्ती पहिराको उच्च जोखिममा छन् । वर्षाको समयमा अदानचुली-२ को खलसेरा बस्ती र थपाली बस्ती पहिराको उच्च जोखिममा पर्ने गरेका हुन् ।
करिब ५४ परिवार रहेको खलसेरा बस्तीको तलको भाग कटान भएको छ भने माथिल्लो भागसँगैको क्षेत्रको माटो फुस्रो भएकाले वर्षा लाग्ने वित्तिकै बस्ती बगाउँ छ की भन्ने त्रास हुने गरेको स्थानीय सुरेन्द्र बुढाले बताउनुभयो । उहाँका अनुसार अरु समयमा बस्न योग्य भएको भए पनि वर्षाया सुरु हुने वित्तिकै कतिबेला घरसहित जमिन बगाउने हो भन्ने चिन्ताले सिँगो गाउँ त्रासमा बस्ने गरेको छ ।
गाउँ तलको जमिन बर्सेनि पहिरो गएर छेउसम्म आइपुगेको छ । बर्खामा पानी बढी पर्दा पहिरोको डरले यहाँका मानिस गाउँ छोडेर अन्यत्र जानुपर्ने बाध्यता छ । बर्खाको समयमा रातभरि डराएर जाग्राम बस्ने गरिएको बुढाले दुःखेसो व्यक्त गर्नुभयो । उहाँका अनुसार पहिले वर्षायाममा मात्र बस्ने नसक्ने अवस्था रहेकामा करिब छ वर्षयतादेखि बाह्रै महिना स्थानीय त्रासमा बस्न बाध्य छन् ।
सोही वडाअन्तर्गत थपाली बस्तीमा ३५ परिवार बसोबास गर्दै आएका छन् । यो गाउँ पनि पहिरोको उच्च जोखिममा छ । सो बस्तीको माथि भीर र बस्तीका बीच भागमा श्रीनगरबाट भलपानीसहितको पहिरो जाने भएकाले बस्ती जोखिममा परेको स्थानीय बताउँछन् । बस्ती जोखिम हुँदाहुँदै पनि अन्यत्र जाने उपयुक्त स्थान नभएकाले त्रासमा बस्नुपरेको स्थानीयको भनाइ छ ।
बलौटे माटो खसिरहने भएकाले कुनै पनि समयमा पहिरो जान सक्ने स्थानीय बुढाले अनुमान गर्नुभयो । “उक्त बस्तीसँग गल्फागाड श्रीनगर सडक जोडिएकाले बजारीकरण हुने आशमा स्थानीयले बस्ती छोड्न मानेका छैनन् । गल्फागाड खोलाले सो बस्तीको केही भाग काट्दै आएको छ”, उहाँले भन्नुभयो ।
अदानचुली-२ को वडा कार्यालयले यस बस्तीलाई पहिरोको अतिउच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरेको छ । सो बस्ती विस्तारका लागि पटकपटक गाउँपालिका विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिमा सूचीकृत गराउँदा पनि प्रदेशसम्म पुग्न नसकेको वडाध्यक्ष नन्द महताराले बताउनुभयो । उहाँका अनुसार यी दुई बस्ती विस्तारका लागि आफूले धेरै पटक प्रदेशमा गएर जानकारी गराए पनि हालसम्म सुनुवाइ नभएको बताउनुभयो ।
दुवै बस्तीका सबै घर परम्परागत ढुङ्गा र माटोसँगै जस्ता पाताले छाइएका छन् । वडाध्यक्ष महताराले भन्नुभयो, “बस्तीमाथि भिरालो र ढुङ्गा खसिरहने भिर छ । तल बलौटे माटो भएकाले यो ठाउँ पहिराको उच्च जोखिममा छ ।” स्थानीयको उपयुक्त स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।
