`

निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण,स्थानीयलाई यात्रा सहज

भद्रपुर (झापा) । मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ ।

मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउजाउ गर्न सहज भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले बताए ।

पुल नहुँदा सामान्य स्वास्थ्य सेवा लिन १० किलोमिटर घुम्नुपर्थ्यो भने अहिले डेढ किलोमिटरको यात्रा गरेपछि अस्पतालसम्म सहजै पुग्न सकिन्छ । पुल बनेपछि कृषि उपज हाटबजार पुर्‍याउन तथा त्यहाँबाट दैनिक उपभोगका सामग्री ल्याउन सजिलो भएको स्थानीय भटभटिया राजवंशीले बताए। “पहिले ज्यानलाई नै जोखिममा पारेर नदी तरिहन्थ्यो, अब त्यसबाट मुक्त भएका छौँ”, विगतको पीडा राजवंशीले स्मरण गर्दै उनले भने ।

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९३, आलु रातो प्रतिकिलो रु ९०, आलु सेतो प्रतिकिलो रु ६५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, बन्दा (लोकल) प्रतिकिलो रु ७५, काउली स्थानीय प्रतिकिलो रु १६०, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला (लोकल) प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु १५०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।

यसैगरी, मटर कोसा प्रतिकिलो रु २२०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८५, घिउ सिमी (राजमा) प्रतिकिलो रु २००, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु ८५, परबर (तराई) प्रतिकिलो रु ८५, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौँला प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ८०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, सलगम प्रतिकिलो रु ११०, भिन्डी प्रतिकिलो १००, सखरखण्ड प्रतिकिलो १००, बरेला प्रतिकिलो रु ५० कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकेजी रु २००, चमसुर प्रतिकेजी रु २६०, तोरीको साग प्रतिकिलो रु ९०, मेथीको साग प्रतिकिलो रु २५०, तरुल प्रतिकिलो रु २५०, हरियो प्याज प्रतिकिलो रु २००, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ५५०, निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २३०, चुकुन्दर प्रतिकिलो रु १००, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ३५०, सेलरी प्रतिकिलो रु ४००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २६०, पुदिना प्रतिकिलो रु ४५०, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १३०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १००, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २२०, भूइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, निबुवा प्रतिकिलो रु ६०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु २६०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ७०, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु १८०, हरियो लसुन प्रतिकिलो रु ३५०, हरियो धनियाँ प्रतिकिलो रु ७५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २५०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु ११०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ९०० निर्धारण गरिएको छ ।

१८औं एल.डी.काजी मेमोरियल गोल्ड कप फुटबल २०२५ : नेपालबाट दुई टिमको सहभागिता

काठमाडौं । सिक्किमको सोरेङ जिल्लाको चाकुङमा प्रतिष्ठित १८औं एल.डी. काजी मेमोरियल गोल्ड कप फुटबल प्रतियोगिता २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्षको यो फुटबल महोत्सवमा भारत र नेपालका जम्मा १६ वटा टिमहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपालबाट मकवानपुर एफसी र झापा एक्सएलले यस अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताको फाइनल खेल २०२५÷०९÷०९ मा हुनेछ, जसको विजेताले १० लाख भारतीय रुपैयाँ नगद पुरस्कार जित्नेछ भने उपविजेताले ५ लाख भारतीय रुपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताको संरचना

सहभागी १६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट उत्कृष्ट प्रदर्शन गर्ने टिमहरू ‘ग्रान्ड फिनाले’ तर्फ अगाडि बढ्नेछन्। आयोजकले प्रतियोगितालाई सफल बनाउन र सहभागी टिमहरूलाई उत्कृष्ट प्रतिस्पर्धाको वातावरण प्रदान गर्न तयारी गरिरहेको छ।नेपाली टिमहरूले भारतको सिक्किममा हुने यस प्रतिष्ठित प्रतियोगितामा आफ्नो उत्कृष्ट खेल कौशल प्रदर्शन गर्ने अपेक्षा गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा पुनः बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बिहीबारबाट प्रारम्भ भएको बैठकमा पार्टीका केन्द्रिय सदस्यहरुले आआफ्नो धारणा राख्नेक्रम जारी छ । हिजो बसेको बैठकमा १५ जनाले आआफ्नो धारणा राखेका थिए ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरू— मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुर सिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के।सी।, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि।क।, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापतिहरू— इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

आज विश्व सहरीकरण दिवस मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ ।

सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना गरि यो दिवस मनाइन्छ ।

मजदुरदेखि सफल व्यावसायिक किसानसम्म जयप्रकाशको प्रेरणादायी यात्रा

कञ्चनपुर । विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिन सक्ने सफल व्यावसायिक किसान बनेका छन् ।

दुई दशकदेखि निरन्तर तरकारीखेतीमा संलग्न रानाले नर्सरीमा तरकारीका बिरुवासँगै तरकारी उत्पादन गरी बिक्री गरेर वार्षिक रूपमा रु १५ लाख बढी आम्दानी गर्दै आएका छन् । मेहनत, सीप र आत्मविश्वासको बलमा उनले आफ्नो जीवनमात्र होइन, गाउँको कृषि अभ्यासलाई परिवर्तन गरेका छन् । उनको प्रेरणाले अन्य किसान पनि व्यावसायिक तरकारीखेतीमा संलग्न भएका छन् ।

कडा परिश्रम, आत्मविश्वास र सीपको भरमा तरकारीखेतीलाई जीवनको प्रमुख व्यवसायमा रानाले रूपान्तरण गरेका छन् । उनका प्लास्टिकको टनेलभित्रका हरिया बारी र उन्नत नर्सरीले स्थानीयलाई मात्र होइन, टाढा–टाढाका किसानलाई समेत प्रेरणा दिएको छ ।

सूर्योदय हुनुअघि नै तरकारीको बिरुवा स्याहार्ने कार्यबाट उनको दिनको सुरुआत हुन्छ । राजमार्गसँगै जोडिएको उनको नर्सरीबाट बिरुवा खरिद गर्ने किसानको दिनहुँ भीड लाग्ने गर्दछ । उन्नत बीउका कारण टाढाका गाउँ र नगरका किसान उनकै बारीमा बिरुवा खरिद गर्न आउने गर्दछन् ।

रानाले काउली, गोलभेँडा, ब्रोकाउली, रायो, भण्टा, सिमला मिर्चा, प्याजलगायतका बिरुवा बारीमा उत्पादन गरेका छन् । त्यही नर्सरीका बिरुवाबाट उनले आफ्नो खेतमा व्यावसायिक तरकारी खेती पनि गर्छन् । अतिरिक्त रूपमा धनियाँ, लौका, तीतेकरेला, फर्सी र काँक्रासमेत खेती गर्छन् ।

विसं २०५८ देखि निरन्तर कृषिमा संलग्न राना विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउँथे । “पहिले अरूको खेतमा बेर्ना तयार गर्न र रोप्न माटो तयार गर्थेँ, मल हाल्थेँ, विषादी छर्किन्थेँ, बेर्ना हुर्काउँथेँ, बिरुवा स्याहार्ने कार्य गर्थेँ”, उनले भने, “त्यही क्रममा खेतीका तौरतरिका सिकेँ र आफूले पनि गर्ने हिम्मत गरेँ, व्यावसायिक खेती गर्ने निधो गरी लागेँ ।”

थोरै पुँजी र ठुलो जोसका साथ राजमार्ग नजिकैको खेतमा पहिलोपटक तरकारीका बिरुवाको नर्सरी सुरु गरेको विगत सम्झँदै उनले भने, “सुरुका वर्षमा उत्पादन कम भए पनि सबै बिरुवा बिक्री भएपछि सोचेभन्दा बढी नै आम्दानी भयो । त्यो आम्दानीले तरकारी खेती गर्ने आत्मविश्वास पलायो । त्यसपछि तरकारीका बेर्नाको नर्सरी तयार गरी बिरुवा बेच्न थालेँ, तरकारी खेती गरी तरकारी बेच्न सुरु गरेँ, आम्दानी बढ्दै गयो, त्यसपछि पैसाका लागि अरूसँग हात थाप्नै परेन ।”

एक बिघा र चार बिघा लिजमा लिएर तरकारी खेती हुने गरेको छ । नर्सरीबाट मात्र वार्षिक करिब रु पाँच लाख र तरकारी खेतीबाट करिब रु १० लाख आम्दानी हुने गर्दछ । “पहिले महिनामा तीन हजार जति पारिश्रमिक पाउँथेँ, अहिले खेतीबाट लाखौँको कारोबार हुन्छ,” उनी हाँस्दै भन्छन् ।

उन्नत बीउ, टनेलखेती र विद्युतीय सिँचाइ प्रणालीका कारण उनको तरकारीको उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा सहजै बिक्री हुन्छ । बजारसम्म तरकारी ढुवानी गर्न उनले आफ्नै अटो खरिद गरेका छन् । “पहिले साइकलमा बजारसम्म तरकारी पुर्‍याएर बेच्थेँ, त्यसपछि मोटरसाइकलमा राखेर तरकारी बेच्न थालेँ, अहिले अटोमै तरकारी बेच्न जान्छु,” उनी गर्वका साथ भन्छन्, “कृषि पेसालाई सही तरिकाले गरे जीवन नै बदलिने रहेछ ।”

तरकारीखेतीले उनको जीवनस्तरमा ठुला परिवर्तन ल्याएको छ । पहिले कच्ची टायलको घरमा बस्ने राना अहिले चारकोठे पक्की घरमा परिवारसहित बस्छन् । उनले तरकारीखेतीकै कमाइबाट दुईवटा मोटरसाइकल पनि खरिद गरेका छन् । रानाको नर्सरीका बिरुवा अहिले कञ्चनपुरको दैजी, सिसैया, महेन्द्रनगर र झलारीसम्मका किसानले बारीमै पुगेर खेतमा रोप्नका लागि लैजाने गरेका छन् । “गुणस्तर बीउको प्रयोग गरी बिरुवा तयार हुने भएकाले बजार खोज्न पर्दैन,” उनी भन्छन्, “किसान आफैँ बारीसम्मै नगदमा बिरुवा खरिद गरेर लैजान्छन् ।”

परिवारका सबै सदस्य खेतीमा सघाउँछन् । श्रीमती र छोरा दुवै जनाले तरकारी खेती र नर्सरीको काममा साथ दिन्छन् । “परिवारकै सदस्य मिलेर काम गर्दा खर्च घट्छ र आम्दानी बढ्छ,” उनी भन्छन् ।

बजार विस्तारसँगै उनले खेती आधुनिक बनाउन तालिमहरू पनि लिएका छन् । कृषि ज्ञान केन्द्र र बेदकोट नगरपालिकाले आयोजना गरेको तालिमबाट उनले बीउ छनोट, माटो सन्तुलन, रोग–कीरा नियन्त्रण र आधुनिक खेती प्रविधि सिकेका छन् । “तालिमले मलाई नयाँ सोच दियो, अहिले म अरू किसानलाई पनि सिकाउन सक्छु,” उनी भन्छन् । रानाको तरकारीखेतीप्रतिको लगाव देखेर कृषि ज्ञान केन्द्र र नगरपालिकाका तर्फबाट कृषि औजार र यन्त्रहरूमा अनुदान पनि पाएका छन् ।

भविष्यमा थप जग्गामा तरकारी खेती विस्तार गर्ने योजना बनाएका रानाले युवालाई कृषिप्रति आकर्षित हुन आग्रह गरेका छन् । “युवाले वैदेशिक रोजगारी होइन, कृषि रोजे देश आत्मनिर्भर बन्छ,” उनी भन्छन्, “मजदुर भएर काम गरेँ, अब म आफैँ रोजगार दिने किसान बनेको छु ।”

भोलिदेखि मौसममा क्रमिक रुपमा सुधार हुने, आज देशभर वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने देखिन्छ । ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे निजी क्षेत्रसँग छलफल गर्न जिसुसलाई अनुरोध

काठमाडौँ। गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको हानि नोक्सानीबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समितिलाई अनुरोध गरेको छ ।

मन्त्रालयको बिहिबारको सचिवस्तरीय निर्णयानुसार आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रसमेतमा सम्पत्तिको हानि नोक्सानी भएका सम्बन्धमा अनुकूल व्यावसायिक वातावरण तयार गर्न र त्यहाँ जिल्ला सुरक्षा समितिका पदाधिकारी समेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य सङ्घलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न अनुरोध गरिएको हो ।

मन्त्रालयले भनेको छ, “गत भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको विदितै छ, जिल्ला सुरक्षा समितिका पदाधिकारीसमेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य सङ्घलगायत व्यवसायीको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न/गराउनु अनुरोध छ ।

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ ।

बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन नसकेको हो । तर पछिल्ला केही वर्षयता आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्तरोन्नति गरेयता भने कामले तीव्रता पाएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिडीई राजेशभक्त पोखरेलले जानकारी दिनुभयो ।

“राष्ट्रिय गौरवको आयोजनामा समाहित हुनुअघि मूल नहर निर्माणको प्रगति कम थियो”, सिडीई पोखरेलले भन्नुभयो, “अहिले कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चारवटा प्याकेजमा भइरहेको छ ।” चार प्याकेजको मूल नहर निर्माणका लागि रु एक अर्ब ९७ करोडको ठेक्का सम्झौता गरिएको छ । करिब दुई वर्षअघि गरिएको ठेक्का सम्झौता समयमा नसकिने भएपछि चारवटै प्याकेजमा पहिलोपटक केही समयअघि म्याद थपसमेत गरिएको छ ।

आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य तीन वर्षभित्र पूरा गर्ने लक्ष्य सरकारको छ । आव २०६३र६४ देखि महाकाली सिँचाइ तेस्रो चरणको आयोजना सुरु भएको हो भने आव २०७६र७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश सरकारले गरेको थियो । हालसम्म मूल नहरअन्तर्गत ब्रह्मदेव ९जिरो प्वाइन्ट०देखि यहाँको शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८।८ किलोमिटर मूल नहर निर्माण भइसकेको सिडीई पोखरेलले जानकारी दिनुभयो ।

भारतीय पक्षले पनि टनकपुरदेखि नेपाल–भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ । दशकौँ समय पर्खेर भारतीय पक्षबाट सिमानासम्म नहर र हेडरेगुलेटरलगायतका संचना तयार गरिए पनि निर्माण सम्पन्न भएको क्षेत्रसम्म पानी दिन भारतीय पक्ष सकरात्मक देखिएको छैन ।

“मूल नहर तयार भएको फुलेलीसम्म पानी बगाउन कुनै समस्या छैन, पाँच–सातवटा शाखा नहरसमेत निर्माण गरिएको छ”, पोखरेलले भन्नुभयो, “पानीका लागि पटकपटक ताकेता पनि भएको छ ।” उहाँले हालसम्म आयोजनाको प्रगति २७ प्रतिशत पुगेको बताउँदै हालसम्म आयोजनामा रु नौ अर्ब लगानी भइसकेको जानकारी दिनुभयो ।

करिब दुई वर्षअघि मालाखेतीसम्म चारवटा प्याकेजमा मूल नहर निर्माण भइरहेको छ । “मुआब्जा निर्धारणमा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र रुख कटानको अल्झनलगायतका कारणले कामले गति धेरै लिन सकेन”, उहाँले भन्नुभयो, “पछिल्लो समय आयोजनाका लागि बजेट अभावको समस्या भने छैन ।” आयोजनाअन्तर्गत महाकाली नदीमा पानी सिँचाइका लागि कैलालीको मालाखेती, कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनबस्ती, गुलरिया र दोधारा चादँनी पुर्याइनेछ । त्यसका लागि कुल एक सय ५१ किलोमिटर नहर निर्माण गर्नुपर्ने हुन्छ ।

आयोजना कार्यालयले आगामी २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको जनाएको छ । कञ्चनपुरमा मात्रै कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर छ । त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुन्छ । यहाँ २९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध छभने यहाँ किसानले अकासे पानीका भरमा पनि खेती गनुपर्ने बाध्यता विद्यमान छ ।

महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिचाँइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिकाका साथै दक्षिण क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिकासम्म सिचाँइ सुविधा पुगेको थियो ।

गौरबाट काठमाडौं आउँदै गरेको बस चितवनमा दुर्घटना, ३३ जना घाइते

चितवन । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्‍याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेरअघिदेखि सञ्चालनमा आएको छ ।

‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

कर्णाली । विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजना’ निर्माण गर्न थालिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना र स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको समन्वयमा उक्त प्रतिकार्य योजना निर्माण गर्न थालिएको हो । यसका लागि सुर्खेत वीरेन्द्रनगरमा तीन दिनसम्म हुने ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजनासम्बन्धी कार्यशाला’ बिहीबारदेखि सञ्चालन भएको छ ।

कार्यशाला उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विपद्का लागि जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि जनशक्ति र स्रोत आवश्यकता औँल्याए। कर्णालीको भूगोलअनुकूल विपद् प्रतिकार्यका लागि तत्काल खर्च गर्ने स्रोत जुटाउन कठिन हुने गरेको उनको भनाइ थियो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय तालिमप्राप्त जनशक्तिहरू सङ्ख्यामा धेरै भए पनि प्रतिकार्यमा फिल्ड खटिने सङ्ख्या कम भएको टिप्पणी गर्दै मन्त्री भण्डारीले कार्यान्वयन हुने योजनाहरूको निर्माण र त्यसको रूपरेखा तयार कार्यशालाबाट सहयोग पुग्ने बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव दिवस आचार्यले विपद् तथा प्रतिकार्यका लागि बनाइएको योजनालाई प्रदेशको मौलिकतामा अन्तिम रूप दिन विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागितामा कार्यशालाको आयोजना गरिएको बताए। डा अमृत पोखरेलले सातै प्रदेशको आफ्नो हावापानी र माटो सुहाउँदो प्रतिकार्य योजना तयारी गरी अन्तमा राष्ट्रियस्तरको योजना निर्माण कार्यान्वयनमा लैजाने बताए ।

कार्यशालामा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य अधिकृत एवं विपद् सम्पर्क व्यक्ति किरण शर्माले कर्णालीमा भूकम्प, पहिरो, आगलागी, चट्याङलगायतका २१ विशिष्टीकृत विपद् र त्यसबाट उत्पन्न हुने खतराको नियन्त्रण, रोकथाम र प्रतिकार्य कसरी गर्ने भन्ने विषय समेटिएको आफ्नो प्रस्तुति राखे । उक्त प्रस्तुतिसँगै उनले विपद्जन्य घटनालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने दस्ताबेज तयार गरी त्यसलाई अन्तिम स्वरूप दिन छलफल गरिएको जनाए ।

कार्यशालामा कर्णालीको विपद् जोखिम अवस्था, त्यसको न्यूनीकरण र प्रतिकार्य कसरी गर्ने भन्ने विषयमा समूह कार्य गरिएको थियो । जसमा सिङ्गो कर्णाली प्रदेशको परिचयका विषयमा डा रत्नवीर सुनार, प्रादेशिक सन्दर्भका बारेमा रितिजा रावल, संस्थागत स्वास्थ्य प्रणाली बारेमा जनस्वास्थ्य अधिकृत उमा डिसी र प्रादेशिक विपद् जोखिम विवरण डा जीवन परियारले प्रस्तुति राखे ।

उक्त कार्यशालामा दशवटै जिल्लाका जनस्वास्थ्य तथा आयुर्वेद कार्यालयका प्रमुख, स्वास्थ्यसँग सम्बन्ध निकायका प्रमुख, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरीलगायतका प्रमुख एवं प्रतिनिधिसहित सबै सरोकारवालाको सहभागिता रहेको थियो ।

झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

मकवानपुर । बिहानको झिसमिसे उज्यालोमा बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू बेल्चा र कोदालो बोकेर अगाडि बढिरहेका हुन्छन् । केहीको हातमा कोदालो, कोही ढुङ्गा उठाउँदै छन् र कोही हाँस्यौली अनुहारले एकअर्कालाई ‘शुभबिहानी’ भन्दै स्वागत गर्दैछन् । गाउँपालिका अध्यक्ष सर्केश घलानले सात वर्ष अगाडिदेखि चलाएको श्रमदानको अभ्यासलाई आत्मसात् गर्दै त्यसै भीडभित्र हिलोले छ्यापिएको जुत्ता र मुस्कानले झल्किएको अनुहारसहित देखिन्छन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी ।

नेपालका अधिकांश सरकारी अधिकृतहरू कार्यालयको कुर्सीमा सीमित देखिन्छन्, तर दर्जी भने फरक ढङ्गले चिनिएका छन् । हुन त बागमती गाउँपालिकाका अध्यक्ष आफ्नै चाडबाड बिदामात्र होइन बिहान ५ः०० बजेदेखि रातको १२ः०० बजेसम्म कि त पालिका या त कार्यस्थलमा भेटिनु विगत सात वर्षदेखिको दैनिकी नै भइसकेको छ, तर यहाँ प्रशासकीय अधिकृत भएर आएका दर्जीलाई पनि यही काममा भेट्दा भने स्थानीयको हौसला थप मजबुत भएको छ ।

बिदा, बिहान र साँझ जुनसुकै समय होस्, दर्जी गाउँको विकासका हरेक काममा आफ्नै हातले घामपानी साटेर सहभागी बन्ने गरेका छन् । गाउँका बूढाबूढीदेखि विद्यालयका बालबालिकासम्मले उनलाई अब ‘श्रमिक अधिकृत’ भनेर चिन्न थालेका छन् । मकवानपुरको बागमती गाउँपालिकामा अहिले मापदण्डअनुसारको खेलमैदान, पक्की सडक र साना पुल बनेका छन् । यी संरचना सरकारी ठेक्काले होइन, श्रमदानले बनेका हुन् ।

गाउँपालिकाका अध्यक्षदेखि स्थानीय युवासम्म हरेक शनिबार बिहान बेल्चा बोकेर उपस्थित हुन्छन् । दर्जी र गाउँपालिकाका अध्यक्ष दुवै जनाले सामाजिक सञ्जालमा बिहानै ‘शुभबिहानी, आज पनि श्रमदानमा भेटौँ’ भन्ने सन्देश पठाउन्छन, सन्देशले श्रमदानमा स्थानीयलाई जुटाइरहेको छ । त्यो सन्देश पढ्ने बित्तिकै गाउँका युवादेखि महिला समूहसम्म काममा जुट्ने गरेको दर्जीको भनाइ छ । “श्रमदानले पैसाको भन्दा मनको एकता ल्याउँछ”, दर्जीले भने, “यो विकासभन्दा पनि सामाजिक भावना निर्माणको अभ्यास हो ।”

अधिकृत दर्जीका अनुसार कार्यालयमा कागजमा मात्रै हस्ताक्षर गरेर विकास हुँदैन, गाउँको माटोमा पसिना बगाउँदामात्र विकासको स्वाद आउँछ । “म आफ्नो पदको होइन, आफ्नो कामको जिम्मेवारीमा बाँधिएको छु”, उनले भने, “बागमतीको माटोमा पसिना बगाउन पाउनु नै मेरो पुरस्कार हो ।”

स्थानीय मुक्ति लामाले भने, “पहिले सरकारी कर्मचारी भनेपछि डर लाग्थ्यो, अब दर्जी सर आएपछि लाग्छ– कर्मचारी पनि हाम्रै साथी हुन्, हाम्रै गाउँको माटोमा पसिना बगाउने साथी ।” उनका अनुसार श्रमदान अभियानले गाउँपालिकाको स्वरुप नै फेरिदिएको छ । पहिले धुलो र हिलोमात्र देखिने बाटो अहिले कालोपत्र भएको छ । खेतका छेउमा खेलमैदान, खोलामा पुल र सामुदायिक भवन निर्माण भएका छन् । लामाका अनुसार दर्जीको हरेक कुरा, हरेक शब्दमा अनुभव, जिम्मेवारी र सेवाको भावना मिसिएको महसुस हुन्छ ।

सुनापतिबाट सुरु भएको यात्रा

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको दुर्गम सानो गाउँमा जन्मेर हुर्किएका ओमबहादुर दर्जीको जीवनयात्रा पनि गाउँको बाटोझै धुलाम्मे तर दृढ छ । परिवारलाई वर्षमा पाँच–छपटक मात्र भेट्ने उनको अधिकांश समय कार्यालय र श्रमदानमा नै बित्ने गरेको छ । विसं २०६९ फागुन २० गते उनले लोकसेवा आयोगको परिक्षा पार गर्दै नारायणी अञ्चल कार्यालय हेटौँडाबाट खरिदार पदमा सरकारी सेवा सुरु गरका थिए।

बाराको इनर्वासिरा र तेतरिया गाविसमा सचिवका रूपमा काम गर्दा उनले गाउँगाउँका समस्या नजिकबाट देखे । विसं २०७२ पुस १ गतेदेखि उनले सर्वोच्च अदालतमा नायबसुब्बाको जिम्मेवारी पाए । तर कार्यालयको चमकदार कुर्सीभन्दा पनि उनलाई गाउँको माटो मन पर्यो, त्यसैले २०७४ साल मङ्सिर २५ गते शाखा अधिकृत बनेपछि उनले प्रशासनलाई व्यवहारसँग जोड्ने प्रण गरे। विसं २०७५ साल साउन ८ गतेदेखि ओखलढुङ्गाको लिखु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालेको उनले बताए ।

ओखलढुङ्गामा उनले सामुदायिक विद्यालयमा छात्रवृत्ति पारदर्शी बनाउनेदेखि गाउँकै युवासँग सडक निर्माणमा सहभागिता बढाउने अभियान चलाउँदा आनन्द मिलेको बताए । त्यसपछि चिसङ्खुगढी गाउँपालिकामा काम गर्दा स्थानीय बासिन्दासँगै पहिलोपटक ‘श्रमदानले सडक बन्छ’ भन्ने अवधारणा व्यवहारमा उतारेको उनी सम्झन्छन्। विसं २०७८ मङ्सिर ५ गते सिन्धुलीको मरिण गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर त्यहाँ पनि श्रमदानको परम्परा स्थापित गरेको उनको भनाइ छ ।

उनले भने, “श्रमदानमा रमाउने मलाई श्रमदानबाटै धेरै विकास निर्माण भइरहेको पालिकामा काम गर्न पाउँदा थप हौसला र जोश मिलेको छ ।” विसं २०८१ असोज ४ गतेदेखि मकवानपुरको बागमती गाउँपालिकामा आएपछि यो अभियानमा जुटेको उनको भनाई छ ।

‘सेवाग्राही हाम्रा भगवान् हुन्’

दर्जी कार्यालयमा पनि उत्तिकै व्यवस्थित र अनुशासित रहने पालिका अध्यक्ष घलानको भनाइ छ । उनका अनुसार दर्जीको टेबलमा सधैँ एउटा नोट लेखिएको हुन्छ– ‘सेवाग्राही हाम्रा भगवान् हुन् ।’

दर्जीका अनुसार प्रशासन भनेको जनता र सरकारबीचको पुल हो, जसलाई पारदर्शिता, संवेदना र उत्तरदायित्वले मात्र मजबुत बनाउन सकिन्छ । “सेवा लिन आउने नागरिक हाम्रा मालिक हुन् । सकेसम्म हरेक सेवाग्राहीलाई काम लिएर खुसीसाथ फर्काउन पाए सन्तोष मिल्छ”, उनले भने ।
दर्जीले सेवाग्राहीसँग सधैँ आत्मीय व्यवहार गर्ने सेवाग्राहीहरूको भनाइ छ । बागमती गाउँपालिकामा नागरिकता, जग्गा दर्ता, कर तिर्ने प्रक्रिया सजिलो भएको स्थानीय बताउँछन् । अन्य कर्मचारीहरू पनि उहाँसँगै बिहान सबेरै कार्यालय पुग्छन् । “हाम्रो हाकिमले बिदामा पनि काम गर्नुहुन्छ भने हामी किन पछि पर्नु रु”, एक कर्मचारीले हाँस्दै भने ।

जनताको सरकार, जनताको हातबाट

दर्जी र गाउँपालिकाका अध्यक्षको सहकार्यले अहिले बागमती गाउँपालिकामा ‘जनताको सरकार’ भन्ने वाक्यांश अर्थपूर्ण बनेको छ । गाउँपालिकाले स्थानीय स्रोत परिचालन गरेरमात्र होइन, जनताको श्रम र सहभागिताबाट काम सम्पन्न गर्ने अभ्यास सुरु गरेको छ ।

साना पुल, खानेपानीका पाइप लाइन, पर्खाल र विद्यालयको शौचालय निर्माण सबै श्रमदानकै बलमा सम्भव भएका छन् । स्थानीय युवा विवेक सिन्तानले भने, “दर्जी सर हामीसँगै कोदालो चलाउनुहुन्छ, उहाँ हाकिम होइन, साथी हो, जब उहाँ हामीसँगै पसिना बगाउनुहुन्छ, तब हामी पनि काम गर्न उत्साहित हुन्छौँ ।”

सिन्तानका अनुसार कार्यालयमा हाकिम नियमित र सबेरै आएमा अन्य कर्मचारी पनि उत्तिकै जिम्मेवार बन्ने रहेछ भनेर थाहा पाउन बागमती गाउँपालिका हेरे पुग्छ । श्रमदानले गाउँको एकता बलियो बनाएको सिन्तानको भनाइ छ । पहिला जात, समुदाय र विचारमा विभाजित गाउँ अहिले एउटै उद्देश्यमा जोडिएको बताउँदै उनले गाउँ आफैँ बनाउने अभियानमा लागेका कारण जेनजी आन्दोलनमा पनि पालिकाका संरचना सुरक्षित भएको हो ।

श्रम र सेवामा समर्पण

बागमतीका गाउँमा पसिना बगाउने किसानमात्रै देखिन्थे, अहिले त्यही माटोमा सरकारी अधिकृतदेखि जनप्रतिनिधिसम्म उभिएका देखिन्छन् । त्यो दृश्य हेर्दा लाग्छ– विकासको असली बाटो यन्त्र होइन, मानवको श्रम र भावना हो । दर्जीले देखाएको उदाहरणले अहिले अन्य गाउँपालिकाका कर्मचारी पनि प्रेरित भएका छन् । कसैले सडकमा झार उखेलेर सुरु गर्छन्, कसैले विद्यालयमा रङरोगन गर्छन् । श्रमदान अब सरकारी आदेश होइन, स्थानीय गौरव बन्न थालेको छ ।

नेपालजस्तो देशमा जहाँ स्रोत सीमित छन्, त्यहाँ ओमबहादुर दर्जीजस्ता अधिकृतहरू नै असली राष्ट्रसेवक हुन् । बागमती गाउँपालिकाले प्रमाणित गरेको छ– “देश विकासका लागि ठूलो बजेट होइन, साँचो निष्ठा र लगन चाहिन्छ ।” बागमती गाउँपालिकामा रङ्गशाला, कुलो, सडक, पुललगायत थुप्रै भौतिक पूर्वाधारसँग सम्बन्धित संरचनादेखि लिएर वृक्षारोपणलगायत कार्यहरू श्रमदानबाट निर्माण भएको बताइएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०१ पैसा र बिक्रीदर २२ रुपैयाँ ११ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४६४ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २७ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ३८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध अदालतमा आरोपपत्र दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीविरुद्ध बिहिबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग रु एक लाख घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले भन्नुभयो, “कार्कीले डुङ्गेश्वर गाउँपालिका वडा नं १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै गाउँपालिका सडक योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएका थिए ।”

कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

मुस्ताङमा निरन्तर वर्षा, जोमसोम-कोरला सडक अवरुद्ध

मुस्ताङ । मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।

यसअघि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रलगायत स्थानमा भारी हिमपात भएको थियो । तर, तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिका उच्चलेकमा हिमपात भए पनि बस्तीमा हिमपात भएको थिएन । यो वर्ष यहाँ कात्तिकमा नै हिमपात भएको छ ।

निरन्तर वर्षा भइरहेकाले जनजीवन प्रभावित भएको छ । पढ्ने बालबालिकालाई सास्ती भएको छ । धेरैजसो विद्यार्थी घरबाटै विद्यालय आउजाउ गर्ने भएकाले वर्षाले असर पु¥याएको धौलागिरि आवासीय माध्यमिक विद्यालयका शिक्षक आदित्यचन्द्र थकालीले जानकारी दिए । वर्षा भइरहे पनि सबै विद्यालयमा पठनपाठन भने भइरहेको छ ।

मुक्तिनाथ क्षेत्रमा निरन्तर वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिए । कर्मचारी सुवेदीले हिमपात र वर्षा भइरहे पनि भक्तजनका लागि मुक्तिनाथ मन्दिर खुल्लै रहेको बताए । यसैबीच वर्षाका कारण राष्ट्रिय गौरवको जोमसोम—कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । जोमसोम–कागबेनी र कागबेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बुधबार साँझ जोमसोम–कागबेनी सडक खण्डअन्तर्गत यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित एक्लेभट्टी नजिक पहिरो भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। कागबेनी–कोरला सडकखण्डअन्तर्गत वारागुङ मुक्तिक्षेत्र–३ ताङ्वे सडकमा पनि पहिरो गएको छ । पहिरोले सवारी आवागमन ठप्प भएको छ ।मनसुन सक्रिय भई हिमपात र वर्षाको जोखिम कायमै रहेकाले रातिको समयमा यात्रा नगर्न समेत स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
बिहीबार निर्वाचन आयोग पुगेका चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् ।

४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित रहेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष भने जेनजी पुस्ताका कबीर सोप रहेका छन् । साथै, वरिष्ठ उपाध्यक्ष जनमत पार्टी छाडेका अब्दुल खान, महासचिवमा उमाशंकर चौधरी छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले भने, ‘हामीले नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्षको रुपमा जेनजी पुस्ताकै कबीर सोपलाई बनाएका छौ ।

उहाँ पढेँलेखेको, देश विदेशको भ्रमण गरेको र नागरिकको आम व्यथा बुझ्ने, चौधरी परिवारको चेलीवेटीका पुत्र, दलितको पुत्र टिकापुरकै हुनुहुन्छ, टिकापुरको घटना आफ्नै आँखाले देख्नुभयो । टिकापुरको विभेद र दमनको पराकाष्ट र सिंगो समुदायप्रतिको ज्यादती आफ्नै आँखाले देख्नुभएको छ ।’

‘जेनजीहरुको माग पुरा गर्न महाधिवेशनभन्दा अधिवेशन आवश्यक’

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले जेनजीहरुको माग पुरा गर्न उनीहरुलाई पार्टीमा समावेश गर्नुपर्ने र त्यसका लागि विशेष महाधिवेशन भन्दा अधिवेशनको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले विशेष महाधिवेशन भन्दा अधिवेशनको आवश्यकता रहेको बताए । उनले भने, ‘जेनजीहरुको आन्दोलनपछि जेनजीहरुको माग पुरा गर्न उनीहरुलाई पनि पार्टीमा समावेश गर्ने हो भने विशेष महाधिवेशन भन्दा अधिवेशनको आवश्यकता छ ।

विशेष महाधिवेशन गर्न केन्द्रका लागि उहाँहरुले बुझाउनु भएको छ । केन्द्रको सभापतिको वा उपसभापतिको महामन्त्रीको केन्द्रिय सदस्यहरुको मात्र गर्ने हो की स्थानिय तहको वडादेखि पालिका हुँदै जिल्ला हुँदै अरुको पनि गर्ने हो त्यो स्पष्ट छैन ।’

उनले विशेष महाधिवेशनको लागि स्पष्ट नभएकाले केन्द्रिय समितिको बैठकमा छलफल जारी राखेको पनि जानकारी दिए । नेता खतिवडाले नेपाली कांग्रेसको विधानबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधि र केन्द्रिय सदस्यहरुको अवधि यही मंसिर २९ गतेसम्म मात्र रहेको बताए । उनले विधानुसार एक वर्षको म्याद थप्न सकिने व्यवस्था भएपनि अधिवेशन भयो भने सबैको पदावधि थप्नु नपर्ने समेत बताए ।

‘हामी सामान्यतया चार वर्षका लागि विधानबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधि र केन्द्रिय सदस्य हौँ । विधानले एक वर्ष थप्ने समय दिएको छ । जुन केन्द्रिय समितिले निर्णय गरेपछि मात्र थपिन्छ । अब हाम्रो अवधि विधानतया नथपिने अवधि हाम्रो पनि यही मंसिर २९ गतेसम्म मात्र हो’ उनले भने, ‘२९ गतेसम्म अधिवेशन भयो भने हामी सबैको पदावधि थप्नु परेन । नत्र केन्द्रिय कार्यवाहक सभापति देखि महामन्त्री, उपसभापतिदेखि केन्द्रिय सदस्यहरुको थप गर्नुपर्छ । हैन भने कसैको पनि पदावधि रहदैन ।’

वर्तमान सरकारले निर्वाचनको लागि सहज वातावरण बनाउनु पर्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय समितिको बैठक निर्वाचन कसरी शान्तिपूर्ण बनाउने भन्ने कुरामा केन्द्रीत रहेको बताएका छन् । बिहिबार नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठकपश्चात उनले देशलाई कसरी माथि उठाउने र सरकारले प्रस्तावित गरेको चुनावलाई कसरी शान्तिपूर्ण बनाउने भन्ने विषयमा बैठक केन्द्रीत रहेको बताए ।

उनले भने, ‘देशमा एउटा संकटको अवस्था छ यसबाट माथि कसरी उठ्ने भन्ने विषयमा साथिहरुले चिन्ता प्रकट गर्नु भएको छ त्यसैगरि सरकारले प्रस्तावित गरेको आउदो चुनावलाई कसरी शान्तिपूर्ण बनाउने, शान्तिपूर्ण हुन्छ कि हुदैँन्, अझै पनि गाँउ गाँउमा सुरक्षाको प्रत्याभूति छैन् । यसबारेमा पनि साथिहरुले कुरा उठाउनु भएको छ ।’यस्तै, उनले समग्रमा निर्वाचनको अवस्था बन्यो भने निर्वाचनमा जानुपर्ने सबैको धारणा रहेको भन्दै यो निर्वाचन राष्ट्रिय निर्वाचन भएको हुनाले यसलाई बढि प्राथमिकता दिने बताए ।

उनले भने, ‘समग्रमा निर्वाचनको अवस्था बन्यो भने निर्वाचनमा जानु पर्छ भन्ने कुरा आएको छ । साथै पार्टीमा अधिवेशनको कुरा जुन आएको छ, धेरै जसो साथिहरुले यो नियमित अधिवेशनमा जानु पर्ने कुरा गर्नु भएको छ । यो निर्वाचन राष्ट्रिय निर्वाचन भएको हुनाले राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिने कुरा गर्नु भएको छ । त्यसपछि अधिवेशनमा जाने कुरा त जानै पर्छ ।’साथै, उनले वर्तमान सरकार सुशासनसँगै आउदो निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रयासमा लाग्नु पर्ने भन्दै त्यसको लागि बाहिर गएको हतियार र कैदीलाई नियन्त्रणमा लिनुपर्ने बताए ।

उनले भने, ‘सुशासनको कुरामा सरकारले गर्नुपर्ने काम पनि गरोस र सँगसँगै मुख्य ध्यान निर्वाचन तर्फ पनि लानु पर्छ । त्यसको आधार र वातावरण सिर्जना गर्नुपर्छ । बाहिर गएको हतियारलाई नियन्त्रणमा लिनुपर्यो र कैदीहरुलाई पुन पक्राउ गर्नुपर्यो । समग्र रुपमा जनताको बीचमा जाने वातावरण बनाउनु पर्छ ।’सुशासन सुनिश्चित गर्ने कुरामा सबै प्रतिबद्ध रहेको भन्दै यसमा सरकारसँग विमति हुनुपर्ने कुनै कुरा नभएको पनि उनको भनाई छ ।

उनले भने, ‘सुशासन सुनिश्चित गर्ने कुरामा हामी सबै प्रतिबद्ध छौ । हिजो भएको त्रिपक्षिय बैठकमा सहभागि दलहरुले पनि त्यही कुरा गर्नु भएको थियो । जेनजीका प्रतिनिधिहरुले पनि त्यही कुरा गरेका थिए । यसमा विमति हुनुपर्ने कुनै कुरा छैन् ।

हामीले आफैले पनि यो सरकारको कार्यभार भनेको निर्वाचन हो समय पनि धेरै छैन्, तपाईहरु निर्वाचनमा गम्भिर हुनुहुन्छ भने त्यो किसिमको परिस्थिती निर्माण गर्नु, आग्रह, पूर्वाग्रह राख्ने काम नगर्नु भनेका छौ । तर जसले कानून तोडेको छ र सत्ताको दुरुपयोग गरेको छ त्यसको छानबिन गर्नको लागि राज्य संरचना छ त्यसमा हामी कसैले पनि छानबिन गर्नु हुदैँन् भनेर भनेका छैनौ । तर बिना प्रमाण र आधार गर्नु हुदैँन् भन्ने मात्र कुरा हो ।’

कास्की प्रशासनको सतर्कता : रातिमा सवारीसाधन नचलाउनदेखि पदयात्राका लागि ननिस्किन आग्रह

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले बाढीजन्य प्रकोपमा सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागबाट आज जारी मौसम पूर्वानुमानबमोजिम गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना प्रक्षेपण गरिएको उल्लेख गरेको छ ।

विभागको पूर्वानुमानका आधारमा उत्पन्न हुनसक्ने बढी, डुबान, पहिरो, भूक्षय, हिमपातलगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावनासमेतलाई मध्यनजर गरी सतर्कता अपनाउनुहुन अनुरोध गरेको हो ।

वर्षात्का समयमा अत्यन्त जरुरी काम नभई घरदेखि टाढा र रातको समयमा यात्रा नगर्न आग्रह गर्दै कार्यालयले यात्रा गर्नुपर्दा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न गराउन अनुरोध गरेको छ ।

बाढीपहिरोको उच्च जोखिम रहेका स्थानमा उच्च सतर्कता अपनाउन र उपयुक्त र सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहबाट आवश्यक समन्वय गर्न अनुरोध गरिएको छ ।

वर्षात्को समयमा राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडकमा चल्ने सवारीसाधनलाई संयमतापूर्वक सञ्चालन गर्न, क्षमताभन्दा बढी यात्रु नचढाउनलगायत सुरक्षित यात्राका लागि सतर्कता अपनाउन यातायात व्यवसायीले आफू मातहतका सवारी चालक एवं सहचालकलाई सचेत गराउन आग्रह गरिएको छ ।

कास्कीको वीरेठाँटीदेखि घान्द्रुक, वीरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ/सिक्लेस सडकखण्डमा आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारीसाधन नचलाउन आग्रह गरिएको छ ।

उच्च हिमाली क्षेत्रमा हिमपातकोसमेत सम्भावना भएकाले जिउज्यानको सुरक्षालाई दृष्टिगत गरी अन्नपूर्ण बेसक्याम्प, मर्दीहिमाल, खुमैडाँडा, कोरीलगायत स्थानमा मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्किन प्रशासनले अनुरोध गरेको छ । सबै स्थानीय तह, निजीक्षेत्र, पर्यटन व्यवसायी, होटल व्यवसायी, यातायात व्यवसायी, ट्रेकिङ एजेन्सीहरु, नागरिक समाज तथा सरोकारवाला निकायले मौसम पूर्वानुमानबमोजिम आवश्यक भूमिका निर्वाहगरी विपद्जन्य घटनाबाट हुनसक्ने क्षति न्यूनीकरणमा खट्न आग्रह गर्दै कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासनमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ ।

कञ्चनपुर पुगेर जाँचबुझ आयोगद्वारा क्षतिको विवरण सङ्कलन

कञ्चनपुर। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कञ्चनपुरमा भएको क्षतिको जाँचबुझ आयोगले विवरण सङ्कलन थालेको छ । आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीले कञ्चनपुरमा आगजानी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गर्नुभएको हो ।

आयोगका सदस्य भण्डारी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुले जेनजी आन्दोलनका क्रममा भएका घटनाको विवरण सङ्कलन गर्नुभएको हो ।

सो क्रममा आयोगका सदस्य भण्डारीले आन्दोलनमा क्षतिग्रस्त महेन्द्रनगरस्थित निवर्तमान गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता निरुदेवी पाल र भीमदत्त नगरपालिकाका पूर्वप्रमुख सुरेन्द्र विष्टको क्षतिग्रस्त घरको निरीक्षण पनि गर्नुभयो । आयोगका सदस्य भण्डारीले जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, पालिकाका प्रमुख एवं आन्दोलनका क्रममा पीडितहरुसँग अन्तक्रिया गर्नुभयो ।

अन्तरक्रियामा यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले आन्दोलनमा व्याक्तिका घर र सम्पत्ति आगजनी र लुटपाट भएको बताउँदै उक्त घटनाको छानबिन हुनुपर्ने बताउनुभयो ।

“कुनै व्याक्ति भ्रष्टाचारमा संलग्न छ भने उसलाई कारबाहीको दायरामा ल्याउने हो तर यहाँ निजी सम्पत्तिमा आगजनी र लुटपाट भएको छ,” उहाँले भन्नुभयो, “उक्त घटनाको छानबिन गरी दोषीलाई सरकारले कारबाही गर्नुपर्छ ।”

उहाँले आफ्नो घरमा आगजनी र लुटपाटबाट रु ६२ लाख बराबरको क्षति भएको बताउनुभयो । छलफलमा सहभागी अन्य पालिकाका प्रमुखहरुले समेत उक्त घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्नुभएको थियो ।

सदस्य भण्डारीले आयोगले आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गरेर सरकारलाई सिफारिस गर्ने बताउनुभयो । “आन्दोलनमा भएको क्षतिको कति क्षतिपूर्ति दिनसक्छ त्यो राज्यले गर्ला,” उहाँले भन्नुभयो, “आयोगले राज्यलाई घटनामा भएको क्षति विवरण सङ्कलन गरेर सिफारिस गर्छ ।” अन्तरक्रिया कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, आन्दोलनका क्रममा पीडित भएका परिवारका सदस्यहरु सहभागी थिए ।

कोशी प्रदेश प्रमुख खापुङसमक्ष अख्तियार वार्षिक प्रतिवेदन हस्तान्तरण

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५आँै वार्षिक प्रतिवेदन आज बुझाइएको छ ।

प्रदेश प्रमुख खापुङलाई आयोगको इटहरी कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै आमनेपालीको चाहना मुलुकमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास निर्माणले गति लिइ समृद्धि कायम र स्वदेशमा रोजगारी उपलब्ध हुनुपर्ने रहेको बताउनुभयो । उहाँले आयोगलाई बलियो बनाई अनुसन्धानको काम कारबाही अझ सक्षम, प्रबल र प्रभावकारी बनाउन जनताको सहयोग र राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रदेश प्रमुख खापुङले आयोगलाई भ्रष्टाचार नियन्त्रण गर्ने काममा संवैधानिक व्यवस्थाले मार्गनिर्देशन गरेको विचार राख्नुभयो ।

सो अवसरमा आयोगका इटहरी कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले आयोगका कार्यालयमा सो आर्थिक वर्षमा दर्ता भएका एवं जिम्मेवारी सरेका गरी दुई हजार ३३६ उजुरी रहेकामा एक हजार ९३५ फछ्र्यौट भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशगत रुपमा कोशी प्रदेशअन्तर्गत सङ्घीय कार्यालयका ९०१, प्रदेश सरकारका ४८९ र स्थानीय तहका एक हजार ९०४ गरी कूल तीन हजार २९४ वटा उजरी रहेका छन् । प्रदेशमा वन तथा वातावरण क्षेत्रका उजुरी अन्यको तुलनामा धेरै २४ दशमलव ४९ प्रतिशत रहेको बताउनुभयो ।

मकालु आधार शिविरमा इटालियन नागरिक अलपत्र

किमाथाङ्का। मकालु गाउँपालिका–२ स्थित मकालु हिमाल आधार शिविर पुगेका एक इटालियन नागरिक खराब मौसम र हिमपातका कारण अलपत्र परेका छन्।

मकालु आधार शिविरभन्दा केही माथि पुगेपछि इटालियन नागरिक जेसस मार्टिनेज नोभास अलपत्र परेका हुन्।

लगातारको वर्षा र हिमपातका कारण करिब पाँच हजार ७०० मिटरको उचाइमा रहेका इटालियन नागरिक नोभासको मङ्गलबारदेखि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। उनको उद्धारको पहल भइरहेको उनले बताए।

सङ्खुवासभाको उच्च हिमाली भेगमा मङ्गलबारदेखि निरन्तर वर्षा र हिमपात भइरहेको छ। ‘उद्धारका लागि हेलिकप्टर माग गरेका छौँ, प्रतिकूल मौसमका कठिनाइ भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक मैनालीले भने।

लगातारको वर्षा र उच्च हिमाली भेगमा भइरहेको हिमपातका कारण चार हजार मिटरभन्दा माथिको क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।

त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल युएईसँग पराजित

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ ।

दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग पाँच विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य पछ्याएको युएईले ४३ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो ।

युएईका लागि आर्यन्श शर्माले ९८ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९८ रन बनाए । त्यसैगरी अलिसान सराफुले ४५, मोहम्मद वासिमले २६, ध्रुव परासरले अविजित १६, कप्तान राहुल चोपाराले १५, हर्षित कौशिकले १३ र जाहिद अलीले अविजित ११ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ तथा करण केसीले १३ रन बनाए ।

युएईका लागि जाहिद अलीले चार विकेट लिए भने जुनैद सिद्धिकीले तीन तथा मोहम्मद रोहिद र हैदर अलीले समान एक÷एक विकेट लिए ।

जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।

यस हारसँगै १८ खेलमा १२ अङ्क जोडेको नेपाल सातौँ स्थानमा छ । त्यस्तै यस जितसँगै युएई समान खेलबाट आठ अङ्कका साथ अन्तिम स्थानमा छ ।

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम: भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ संस्थाले उद्धार गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरुका अभिभावकको जिम्मा लगाएको हो ।

उद्धार गरिएकामा महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका रहेका छन् । उनीहरूको उमेर ९ देखि २२ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद् मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिनुभयो ।

यस्तै दुई बालिकालाई पनि ‘किन इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाममार्फत अभिभावकको जिम्मा लगाएको छ ।

चितवनमा रगतको चरम अभाव: रक्तदान गर्न आह्वान

चितवन । चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत् मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ ।

चितवनमा दैनिक १०० देखि १५० यूनिट रगतको माग हुने गरेको जनाइएको छ । यो सङ्ख्या सङघीय राजधानी काठमाडौ पछिको दोस्रो रगतको माग हुने जिल्ला हो । रगतको अभाव भएपछि भरतपुर महानगरपालिका वडा नम्बर २ मा आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा भरतपुर महानगरपालिका –२ र १० का वडाध्यक्ष क्रमशः मनोज रानाभाट र परमेश्वर खनाल सहित १०५ जनाले रक्तदान गर्नुभयो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको आग्रहमा नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणगढद्वारा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले रगतको अभाव भएपछि केन्द्रको आग्रहमा आकस्मिक रक्तदानको आयोजना गरिएको बताउनुभयो । अभियानमा जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरुसंगै आम रक्तदाताहरुलाई रक्तदान गर्न आव्हान गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले रगतको अभाव भएपछि रक्तदान गर्न सबैमा आव्हान गरिएको बताउनुभयो । उहाँका अनुसार आज नेपाल रेडक्रस सोसाईटी उपशाखा गीतानगरले पनि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार लायन्स क्लबहरुले रक्तदानको कार्यक्रम आयोजना गर्दै छन् । यसबाट क्रमशः रगतको अभाव घट्दै जाने अपेक्षा गरिएको छ ।

रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चाडपर्व, राजनीतिक गतिविधि, संघ संस्थाका गतिबिधिमा कमी, विद्यालय कलेज बिदा, खेतीपाती भित्र्याउने समय लगायतका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । दैनिक बिरामीले खोजेका रक्तदाता र स्वस्फूर्त आउनेहरु ५० हाराहारी हुने भएपनि यसले धान्न नसेको उहाँले बताउनुभयो । यहाँ रहेका क्यान्सर अस्पतालका बिरामीहरुलाई धेरै रगत आबश्यक पर्दछ । त्यसै गरी दुर्घटना, प्रसुती, शल्यक्रिया लगायतमा रगतको अभाव हुने गर्दछ । केन्द्रले चितवन सहित छिमेकी जिल्लामा पुगेर रगत सङकलन गर्ने गरेको छ ।

गाजामा प्रवेश गर्न इजरायली स्वीकृतिको प्रतीक्षामा टर्कीका उद्धारकर्ता : स्रोत

अन्कारा(टर्की), कात्तिक १३ गते । खोज र उद्धार कार्यमा सहयोग गर्न प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न इजरायली स्वीकृतिको प्रतिक्षामा टर्कीको विपद् प्रतिक्रिया टोली अझै पनि गाजाको सीमामा पर्खिरहेको रक्षा मन्त्रालयको स्रोतले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार एएफएडी विपद् व्यवस्थापनको ८१ सदस्यीय टोली जीवीत व्यक्ती पत्ता लगाउने उपकरण र प्रशिक्षित खोजी कुकुरसहित विशेष खोजी र उद्धार उपकरण लिएर एक हप्ता अघि गाजाका लागि प्रस्थान गरेको थियो । तर उनीहरूलाई गाजामा प्रवेश गर्न इजरायलले स्वीकृति प्राप्त नभएकाले एएफएडी अझै पनि सीमामा पर्खिरहेको र इजरायलले अझै पनि टोलीलाई प्रवेश गर्न कुनै अनुमति जारी नगरेको स्रोतले जनाएको छ ।

सन् २०२३ अक्टोबर मा गाजा युद्ध सुरु भएदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा टर्कीको उपस्थितिको कडा विरोध गरेपछि टर्कीसँगको इजरायलको सम्बन्ध बिग्रिएको छ । अन्काराले हालैको गाजा युद्धविरामको सहजकर्ताको रुपमा आफ्नो भूमिकाले यसलाई केही लाभ दिने र हाल सँगै राखिएको अन्तर्राष्ट्रिय शान्ति मिसनमा भाग लिन अनुमति दिने आशा गरिरहेको जनाइएको छ ।

“टर्की युद्धविरामको साझदार मध्ये एक भएको र सम्झौतामा हस्ताक्षर गरेको बताउदै स्वीकृतीका लागि अझै पर्खिरहेको स्रोतले बताएको छ । यस हप्ताको सुरुमा, इजरायली विदेश मन्त्री गिडियोन सारले इजरायलका विरुद्ध “शत्रुतापूर्ण बयान” र “कूटनीतिक र आर्थिक उपाय”मा टर्कीको सहभागितालाई अस्वीकार गर्दै इजरायलप्रति निष्पक्ष” भएका देशहरूले मात्र गाजालाई सुरक्षित गर्न सेना पठाउन सक्ने बताउनु भएको थियो । उहाँले टर्कीको सशस्त्र सेनालाई गाजा पट्टीमा प्रवेश गर्न दिनु उचित नभएको र यसमा आफु सहमत नभएको बताउनु भएको छ ।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते, यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक १२ गते बसेको बैठकले सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन् । साथै, बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपुर्तिका लागि २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको पनि उनले बताए ।

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरु
१) सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने। (पदाधिकारी तथा सदस्यको सचिबालयको दरबन्दी घटाइएको)

२) २०८२ मसिर ९ देखि १३ गतेसम्म पेरुको लिमामा आयोजना हुने International Treaty on Plant Genetic Resources for Food and Agriculture को Governing Body को एघारौं अधिवेशनमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति दिने,
३) २०८२ मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३ औं INTERPOL महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिने,
४) राष्ट्रिय सभा सदस्यको रिक्त पद पुर्तिका लागि २०८२ माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने,
५) देहायका क्षेत्र÷प्रणालीहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको यकिन गरी विद्युतीय प्रणाली मार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी क्षेत्र तोक्ने,
क) वैदेशिक रोजगार सेवासम्बन्धी,
ख) अदालतका मुद्धा व्यवस्थापनसम्बन्धी,
ग) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति सेवासम्बन्धी,
घ) स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद व्यवस्थापनसम्बन्धी,
ङ) अध्यागमन सेवासम्बन्धी,
च) बन्दीको पहिचान, प्रमाणीकरण विवरणसम्बन्धी तथा बन्दीहरूको
६) समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने,
७) बेल्जियमको ब्रसेल्समा आयोजना हुने नेपाल–यूरोपेली संघबिचको संयुक्त आयोगको सोह्रौँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डलको मिति २०८२ मङ्सिर ९ देखि १५ गतेसम्मको भ्रमण स्वीकृत गर्ने,
८) कतारको दोहामा आयोजना हुने Second World Summit for Social Development lवषयक कार्यक्रममा २०८२ कात्तिक १७ देखि २० गतेसम्म सहभागी हुन सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको औपचारिक भ्रमण स्वीकृत गर्ने,
९) नेपाली सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानीमा र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्ने,
१०) २०८२ मङसिर १ देखि ३ गतेसम्म थाइल्याण्डको वैङ्ककमा आयोजना हुने Sixth Session of the Tokyo Convention Committee and the Nineteenth Session of the Bangkok envention Committee को कार्यक्रममा सचिव (शिक्षा) श्री चुडामणि पौडेललाई सहभागी हुन स्वीकृति दिने,
११) छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने ।

स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

काठमाडौँ, १३ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो जग्गामा ‘प्रिफ्याब’ भवन अस्थायी रुपमा बनाइँदै गरेको जानकारी दिए । उनले भने, “नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि त्यहाँ रहेको खाली जग्गामा ६ वटा प्रिफ्याब भवन बन्दैछ । बाँकी खाली रहेको भवनमा रङ लगाएर कार्पेटिङ गरेर बस्ने योजना छ ।”

प्रवक्ता बुढाथोकीले दुई हप्ताभित्र संरचना तयार गरी स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने तयारी भइरहेको र मङ्सिर १ गतदेखि सम्भवतः सरिसक्ने बताए । “सिंहदरबारभित्र रहेको नयाँ संसद् भवन बनेपछि अहिलेको संसद् सचिवालयको भवन स्वास्थ्य मन्त्रालयको स्थायी संरचनाको रूपमा पायौँ भने त्यहाँ सर्छौै । त्यसका लागि पनि छलफल भइरहेको छ,” उनले भने ।

भदौ २४ गते जेनजी आन्दोलनको आगलागीका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो । हाल मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ ।

पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’

जुम्ला, १३ कात्तिक । जुम्लाको गुठिचौर गाउँपालिका-१ स्थित आकासे ताल पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बन्दै गएको छ । यहाँको प्राकृतिक सौन्दर्यका आन्तरिक तथा बाह्य पर्यटक यसतर्फ आकर्षित बनेका हुन् ।

समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित आकासे बाट मनमोहक दृश्यावलोकनका साथै हिमालको फेदमा बसी प्रकृतिको काखमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको गुठिचौर गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष अर्जुनकुमार महताराले बताए । उनका अनुसार यो ताल विसं २०७६ मा चौँरी गोठालाले पत्ता लगाएका हुन् ।

पत्ता लगेपछि सृजना सिज्जुसहितको टोलीले पहिलो पटक अवलोकन गरेर उक्त तालको श्रव्यदृश्य सार्वजनिक गरेपछि यहाँ पर्यटकको आगमन हुन थालेको वडाध्यक्ष महताराले बताए । उनले भने, “यस वर्षको दसैँतिहारमा दैनिक ५० जना भन्दाबढी आन्तरिक पर्यटकको आगमन भएको थियो । यहाँ पर्यटकीय पूर्वाधार विकास गर्न सके पर्यटन प्रवर्द्धनका साथै स्थानीयको आयस्तर बढे्ने अपेक्षा गरेका छौँ ।”

तालको प्रवर्द्धनका लागि पर्यटन बोर्डसँग समन्वय भइरहेको वडाध्यक्ष महताराले जानकारी दिए । उनका अनुसार अहिले तालसम्म पुग्नका लागि गुठिचौर-१ मौरेसम्म ५० लाखको लागतमा सडक निर्माण गरिएको छ । उनले सडक पुगेको ठाउँबाट तालसम्म पुग्न करिब तीन किलोमिटर लामो पदमार्ग निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

तालको सही नापजाँचको कामलाई पालिकाले अघि बढाएको छ । यो वर्षको हिउँदे गाउँसभाबाट आकासे तालको पर्यटन प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरिने वडाध्यक्ष महताराले जानकारी दिए । तालसम्म पुगेका पर्यटनलाई बस्नका लागि धर्मशालाको निर्माण गरिएको छ ।

अहिले तालको अवलोकन, घुमघाम गर्ने, श्रव्यदृश्य तथा वृत्तचित्र बनेउनेलगायत प्रयोजनका लागि दैनिक तीनदखि पाँच समूहमा आन्तरिका तथा बाह्य पर्यटक पुग्ने गरेका वडाध्यक्ष महताराले उल्लेख गरे । आगामी आर्थिक वर्षदेखि तालसम्म पुग्ने पर्यटनको यकिन तथ्याङ्क राखिने उनले बताए ।

पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा ताल पर्न थालेपछि पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइएको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्ने सबैलाई आकर्षित गर्दछ ।

हिमालको फेदमा चिटिक्क परेको आकासे तालको मनमोहक दृश्यले पर्यटनको मन लोभ्याउने गरेको स्थानीय अजित थापाले बताए । “केहीदिन अगाडि समूहमा तालसम्म पुगेका थियौँ । रारा तालसम्म पुगेका पर्यटनलाई यहाँसम्म ल्याउन सके स्थानीयको आर्थिकस्तर सुधार हुनुका साथै रोजगारीका अवसर सृजना हुने थियो”, उनले भने ।

आकासे तालको प्रचारप्रसार गर्न गर्नुका साथै पूर्वाधार विकासमा जोड दिुनपर्ने थापाको भनाइ छ । तीनवटै सरकारको समन्वयमा तालको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने उनले उल्लेख गरे ।

तालको अवलोकन गरेर फर्किएका तातोपानी गाउँपालिका-४ का स्थानीय भरत नेपालीले यहाँ पुग्ने पर्यटक हिमालको फेदीमा अवस्थित आकासे निलो रङको पानीले भरिएको तालको अवलोकन गर्दा मोहित हुने धारणा राखे । यहाँको सुन्दर र मनमोहक दृश्यले आफूलाई आकर्षित गराएको उनले बताए । कर्णाली प्रदेशको जुम्लामा पर्ने यस तालको प्रचारप्रसार गरी पर्यटकीय गतिविधि बढाउन सकिने उनको भनाइ छ ।

“विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा आकासे ताल जस्ता कतिपय सुन्दर ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्त्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजागर गरी पर्यटन प्रवर्द्धनका माध्यमबाट मनग्य गर्न सकिन्छ”, नेपालीले भने ।

चीनको खनिज प्रभुत्वविरुद्ध जी–७ ऊर्जा मन्त्रीहरूको क्यानाडामा रणनीतिक बैठक

टोरन्टो, १३ कात्तिक । चीनको महत्त्वपूर्ण खनिज बजारमा बढ्दो प्रभुत्वलाई सन्तुलनमा ल्याउने उद्देश्यसहित ग्रुप अफ सेभेन (जी–७) का ऊर्जा मन्त्रीहरू बिहीबार टोरन्टोमा भेला भएका छन् ।

औद्योगिक प्रजातन्त्रहरूले भविष्यका प्रविधिहरू — सौर्य प्यानलदेखि विद्युतीय सवारीसाधन र सटीक मिसाइलसम्म — का लागि आवश्यक कच्चा पदार्थहरूमा भरपर्दो पहुँच सुनिश्चित गर्न यो बैठकलाई अत्यन्तै महत्त्वपूर्ण मानिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसमेत सहभागी रहेको जी–७ समूहले चीनले दुर्लभ पृथ्वी तत्वहरू तथा अन्य खनिजहरूको आपूर्तिमा देखाएको कडाइप्रति चेतावनी दिंदै वैकल्पिक स्रोत र साझेदारीको खोजीमा जोड दिएको छ । ट्रम्पले हालै दक्षिण कोरियामा राष्ट्रपति सी जिनपिङसँगको भेटपछि चीनसँग दुर्लभ पृथ्वीको अस्थायी एक वर्षे सम्झौता गरिएको र हरेक वर्ष यसबारे पुनःवार्ता हुने स्पष्ट पारेका थिए ।

यसअघि जुन महिनामा पश्चिमी क्यानाडामा भएको शिखर सम्मेलनमा जी–७ नेताहरूले ‘महत्त्वपूर्ण खनिज कार्य योजना’ घोषणा गरेका थिए, जसले ‘साझा राष्ट्रिय र आर्थिक सुरक्षाका हित’ का लागि विविध आपूर्ति शृङ्खलाको निर्माणमा जोड दिन्छ ।

टोरन्टोमा सुरु भएको दुई दिने बैठकले त्यस कार्य योजनालाई व्यवहारमा उतार्ने ‘महत्त्वपूर्ण अवसर’ प्रदान गर्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) का महत्त्वपूर्ण खनिज विभागका प्रमुख ताए–युन किमले बताए । उनले भने, “एक देशमा खनिज प्रशोधनको अत्यधिक निर्भरता आर्थिक र राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण छ । जी–७ ले अब बजार सन्तुलन परिवर्तन गर्न ठोस कदम चाल्नुपर्छ ।”

किमले सन् १९७० को दशकको तेल सङ्कटको उदाहरण दिँदै भने, “त्यस समयमा जस्तै आपूर्ति आघातबाट बच्न हामीले अहिले नै दीर्घकालीन रणनीति बनाउनु जरुरी छ ।”

चीनप्रति पश्चिमी राष्ट्रहरूको मुख्य गुनासो भनेको त्यसले बजार सिद्धान्तको पालना नगर्ने हो । धेरै देशसँग पर्याप्त खनिज भण्डार हुँदाहुँदै पनि चीनको वास्तविक शक्ति प्रशोधन र शोधन क्षमतामा केन्द्रित छ — विशेषतः दुर्लभ पृथ्वीहरूको क्षेत्रमा । यी तत्वहरू उच्च प्रविधियुक्त उपकरण र विशेष चुम्बक उत्पादनका लागि अपरिहार्य छन् ।

बेइजिङले आफ्नो नियन्त्रणमा रहेका व्यवसायहरूमार्फत विश्व आपूर्ति सञ्जालमा प्रभुत्व जमाउँदै आएको छ । यसले उसलाई भण्डारण र बजार मूल्य नियन्त्रण गर्ने सामथ्र्य दिएको छ । यही कारण क्यानाडाको ऊर्जा मन्त्रालयले टोरन्टो बैठकमा विश्वव्यापी खनिज बजारमा चीनको प्रभाव घटाउने घोषणाहरू समावेश गर्नुपर्ने बताएको छ ।

वासिङ्टनस्थित सेन्टर फर क्रिटिकल मिनरल्स स्ट्राटेजीकी कार्यकारी निर्देशक एबिगेल हन्टरका अनुसार दशकौँदेखि चीनले औद्योगिक अनुदान र कृत्रिम क्षमता विस्तारमार्फत स्वतन्त्र बजार प्रणालीलाई विकृत बनाउँदै निष्पक्ष प्रतिस्पर्धा कमजोर पार्दै आएको छ ।

क्यानाडाका ऊर्जामन्त्री टिम होजसनका प्रवक्ता ग्रेगरी फ्रेमले भने, “यो बैठक निर्णायक मोडमा आएको छ ।” उनका अनुसार क्यानाडाले यस बैठकमा नयाँ गठबन्धन अन्तर्गत पहिलो वितरण परियोजनाहरू घोषणा गर्नेछ, जसले भविष्यका उद्योगहरूका लागि आवश्यक खनिजहरू साझा मूल्य र पारदर्शिता भएका देशहरूले उत्पादन गर्न सक्ने सुनिश्चितता दिलाउनेछ ।

हन्टरका अनुसार जी–७ भित्र पनि बेलायत, फ्रान्स, जर्मनी, इटाली, जापान, क्यानाडा र संयुक्त राज्य अमेरिकाबीच ऊर्जा नीतिहरूमा फरक प्राथमिकताहरू छन् । विशेष गरी ट्रम्प प्रशासन स्वच्छ ऊर्जातर्फको सङ्क्रमणबारे कम उत्साहित देखिएको छ । साथै उनको संरक्षणवादी व्यापार नीतिले जी–७ को आन्तरिक एकतालाई कमजोर पार्ने सम्भावना पनि रहेको हन्टरको टिप्पणी छ ।

तर ती सबै फरक दृष्टिकोणबीच पनि जी–७ सदस्यहरू आपूर्तिको सुरक्षाबारे एकमत छन् । चीनले हालै दुर्लभ पृथ्वी निर्यातमा थप प्रतिबन्ध लगाएकोले ‘विश्वव्यापी स्थायित्वका लागि वैकल्पिक आपूर्तिको सुरक्षा अपरिहार्य’ भएको हन्टरले बताए ।

उनका अनुसार टोरन्टो बैठकमा ट्रेसिबिलिटी — अर्थात् खननदेखि परिशोधनसम्म कच्चा पदार्थको मार्ग पहिचान र निगरानी — सम्बन्धी ठोस कार्ययोजना अघि बढाइनेछ । यसले आपूर्तिकर्ताहरूले अन्तर्राष्ट्रिय बजारका पारदर्शी मापदण्डहरू पालना गर्नुपर्ने सुनिश्चितता दिलाउनेछ ।

“चीनको प्रभावमा रहेका अपारदर्शी कम्पनीहरूले आपूर्ति शृङ्खलामा नियन्त्रण जमाइरहेका छन् । जी–७ ले पारदर्शिता र ट्रेसिबिलिटी बढाउने नयाँ नीतिहरू ल्याएर यस्ता कम्पनीहरूलाई बजारबाट बाहिर निकाल्नुपर्छ”, हन्टरले भने, “हामीसँग यस समस्यालाई समाधान गर्ने अवसरको झ्याल अझै खुला छ, तर त्यो सानो हुँदै गइरहेको छ । अब निर्णायक कदम चाल्न जरुरी छ ।”

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

काठमाडौँ, १३ कात्तिक । बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ तयार गरिएको छ । गायक दर्जीलाई सडकबाट उद्दार गरेर गायनसम्ममा साथ दिएका सङगीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशन गरेको चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ ।

गायक बुढाथोकीले गायक दर्जीको बाल्यकालका घटनाक्रम, आफूमाथी लागेका केही आरोपको यर्थाथतालाई समेटेर चलचित्रको कथा तयार गरिएको बताए ।

उनले भने,“सडकमा गीत गाउँदै हिँड्ने गायक दर्जीको जीवन परिवर्तन गरेको कथा चलचित्रमा ल्याएको छु । यो पूर्णतया उहाँकै जीवनी होइन, यसलाई हामीले चलचित्रकै रुपमा तयार गरेका छौँ तर मूलभूत घटनाक्रम उहाँकै जीवनको लिइएको छ । यो चलचित्रले गायक दर्जीको जीवनीसँग परिचित गराउँदै मनोरन्जन पनि दिन्छ ।”

गायक दर्जी हाल कक्षा नौ मा अध्ययनरत रहेकाले चलचित्रका रुपमा यो उमेरका लागि यही पहिलो र अन्तिम हुने उनले बताए । उक्त चलचित्रमा गायक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, भोला सापकोटा, बुद्धी तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए।आर। बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झालगायतका कलाकारले अभिनय गरेका छन् ।

गायक दर्जीले गायक बुढाथोकीकै कारण आफूले शिक्षा र साङ्गीतिक वातावरण पाएको बताए ।

उनले भने,“मलाई सडकबाट ल्याएर गायक बनाइदिनुभयो । म यसरी चिनिनु गायक बुढाथोकी कै देन हो । यो कथाले मेरो सङ्घर्ष देखाएर प्रेरणा पनि दिन्छ । म जस्ता सडक बालकलाई सपना देखाउन र गन्तव्यमा पुर्याउन सायद अन्य कसैलाई प्रेरित गर्यो भने त्यो ठूलो उपलब्धी हुनेछ । सडकमा हिड्ने बालकलाई आफ्नै परिवारको सदस्य बनाउनुभएका गायक बुढाथोकी बारे म शब्दले केही भन्न सक्दिन ।”

गायक बुढाथोकीको निर्देशनसँगै कथा लेखन रहेको चलचित्र ‘मन विनाको धन’ मा पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन् । चलचित्र यही कात्तिक २१ देखि नेपालसँगै विदेशका केही स्थानमा प्रदर्शन हुने वितरक करण श्रेष्ठले जानकारी दिए ।

सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १३ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य, वर्तमान अवस्थाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनालगायत विभिन्न कालखण्डमा नेपालको सामाजिक तथा राजनीतिक विकासमा भारतबाट सहयोग एवम् सद्भावको सराहना गरे । मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिका बारेमा उल्लेख गर्दै स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन नै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले तोकिएको मितिमा नै निर्वाचन गराउनका लागि सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग संवाद अगाडि बढाएको उल्लेख गरे । बुधबार मात्रै सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच पहिलोपटक औपचारिक रुपमा त्रिपक्षीय बैठक भएको र सबै निर्वाचनका लागि सकारात्मक रहेको उनको भनाइ थियो ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले सञ्चारमन्त्री खरेललाई बधाई ज्ञापन गर्दै असल छिमेकीको नाताले भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । भारत सरकार नेपालको आर्थिक रुपान्तरण एवम् समृद्धिका लागि नेपालको प्राथमिकताका क्षेत्रमा वित्तीय र प्राविधिक सहयोग अभिवृद्धि गर्न तयार रहेको बताउ । भेटवार्तामा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो ।

पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसले दिए राजीनामा

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच भएको सम्झौताको अवधि सकिनुअघि नै अस्ट्रेलियाली प्रशिक्षक रसले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले एएफसी एसियन कप २०२७ को छनोट लगायतका महत्वपूर्ण खेलहरू खेलेको थियो ।

यसै वर्षको फागुन १८ गतेमा एक वर्षको सम्झौतासहित नेपाली टोलीको मुख्य प्रशिक्षकमा उनी नियुक्त भएका थिए ।

दाउने सडकमा जामको समस्या अझै टरेन, सास्ती भोग्दै यात्रु

‎काठमाडौं । दाउने खण्डको सडकमा जामको समस्या लामो समयदेखि निरन्तर रहँदै आएको छ । दैनिक सयौं सवारी साधन आवागमन हुने यो मुख्य राजमार्गमा ट्राफिक व्यवस्थापन कमजोर र सडक मर्मतको ढिलाइका कारण यात्रुहरूले ठूलो सास्ती भोग्दै आएका छन् ।

‎धनगढीबाट काठमाडौंतर्फ यात्रा गरिरहेका कमल बोहराका अनुसार यहाँबाट गाडी समयमा छुटे पनि दाउने पुग्नेबित्तिकै घण्टौंसम्म जाममा बस्नुपर्छ । कहिलेकाहीँ ४ देखि ५ घण्टासम्म सवारी अड्किन्छन् । उनका अनुसार यात्रुहरूलाई समयमै गन्तव्यमा पुग्न कठिन भइरहेको छ ।

‎सरकारले यो सडक खण्डमा ध्यान नदिँदा समस्या झन् गम्भीर बन्दै गएको उनको गुनासो छ । बोहराले भने, ‘सायद नेताहरूले पनि यो बाटो हिँड्ने गरेका भए सडक छिट्टै बनिसक्थ्यो होला, तर उनीहरू नहिँड्ने भएकै कारण निर्माण कार्य ढिलो र सुस्त भएको हो ।’

‎दाउने सडक अहिले पनि असमान, धुलाम्मे र संकुचित रहेको कारण सवारी जाम बढ्ने गरेको स्थानीयहरूको भनाइ छ । विशेषगरी मालबाहक ट्रकहरूको अत्यधिक चापले पनि आवागमन अवरुद्ध हुने गरेको छ ।

‎स्थानीयले पटक पटक सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि ठोस पहल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यात्रु र स्थानीय दुवैले सम्बन्धित निकायले तत्काल सडक मर्मत र ट्राफिक व्यवस्थापन सुधारका लागि कदम चाल्न माग गरेका छन् ।

२२ गते विश्वासको मत लिने मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको तयारी

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले अब आउने २२ गत्ते शनिबार विश्वासको मत लिने भएका छन् ।हिजो मुख्यमन्त्री सोनलको निवासमा बसेको सात दलीय गठबन्धनको बैठकबाट विश्वासको मत लिने निर्णय भएको जनाइएको छ ।

मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नेभएका छन् । मन्त्रालयहरुको संख्यागत टुंगो लागिसके पनि मन्त्रालयको नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ । जसपा नेपालले भौतिक विकास मन्त्रालय समेत ४ र जनमत पार्टीले अर्थ सहित ३ मन्त्रालय भागवण्डा हुने निश्चित देखिएको छ ।

यता, माओवादी केन्द्रले उर्जा, सिँचाइ तथा खानेपानी सहित दुई मन्त्रालय र नेकपा एकीकृत समाजवादीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय पाउने चर्चा चलिरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले पनि एक मन्त्रालय पाउने निश्चित छ ।

मधेश प्रदेशमा कुल १ सय ७ जना सभासद रहेका छन । मुख्यमन्त्री सोनलले ५७ जना सभासदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । सरकार गठनका लागि कम्तीमा ५४ जना सदस्यको समर्थन चाहिन्छ । विभाजित जनमतका सिंह र साहले सरकारलाई विश्वासको मत नदिएमा १÷१ जना सभासद रहेको दलहरुले साना दलहरुसंग पनि विश्वासको मत लिनका लागि मुख्यमन्त्री सोनलले छलफल गरिरहेका छन् ।

‘जेनजी’ प्रदर्शनका क्रममा नवलपुरमा ५८ करोडको क्षति

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी तोडफोडबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा करिब रु. ५८ करोडको क्षति भएको छ ।

प्रदर्शनका क्रममा जिल्लास्थित सरकारी र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडबाट करिब रु. ५८ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । उनका अनुसार आन्दोलनका क्रममा जिल्लामा ४० वटा सवारीसाधन र ५३ वटा भौतिक संरचनामा क्षति पुगेको थियो ।

जिल्लास्थित सरकारी कार्यालयका एउटा चार पाङ्ग्रे सवारीसाधन र चार वटा मोटरसाइकल, तीन वटा मोटरसाइकलबारे अनुसन्धान भइरहेको, स्थानीय तहका नौ वटा मोटरसाइकल, पाँच वटा चार पाङ्ग्रे सवारीसाधन र सात वटा साइकलसहित २१ वटा सवारीसाधनमा क्षति पुगेको भन्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

उनका अनुसार स्थानीय तहका नौ वटा मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ । यस्तै, दुई वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण तथा तीन वटामा आंशिक रूपमा क्षति पुगेको छ । निजी सवारीसाधनतर्फ १४ वटा सवारीसाधनमा क्षति पुगेको छ ।

जिल्लामा क्षति पुगेका ४० वटा सवारीसाधनमध्ये १७ वटा मोटरसाइकलमा पूर्ण क्षति, पाँच वटा आंशिक तथा चार पाङ्ग्रे सवारीसाधनतर्फ चार/चार वटा सवारीसाधनमा पूर्ण र आंशिक क्षति भएको छ । प्रदर्शनका क्रममा जिल्लामा ५३ वटा भौतिक संरचनामा क्षति पुगेकामा पाँच वटा निजी आवास पूर्ण रूपमा क्षति भएका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । जिल्लामा दुई वटा प्रहरी इकाइ, तीन वटा प्रहरी बिट र गण्डकी प्रदेशअन्तर्गतको एउटा सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । यस्तै, तीन वटा पालिका कार्यालय र छ वटा वडा कार्यालयमा आगजनी भएको उनले बताए ।

आगजनी र तोडफोडबाट जिल्लामा राजनीतिक दल र जनप्रतिनिधिका निजी घर गरी १५ वटामा क्षति पुगेको जनाइएको छ । यसै गरी आइएमई ग्रुपको मौलाकाली केबलकार र बाबुराम सुनचाँदी पसलमासमेत आगजनी र तोडफोड भएको छ । आन्दोलनका क्रममा जिल्लास्थित चार वटा राजनीतिक पार्टीका जिल्ला पार्टी कार्यालय, १२ वटा नगर पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको जनाइएको छ ।

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५२ रुपैयाँ, आलु रातो प्रतिकिलो ७५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, आलु सेतो प्रतिकिलो ६० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ , गाजर (तराई) प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ, तने बोडी प्रतिकिलो ११० रुपैयाँ, मकै बोडी प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ५५ रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १५० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ८० रुपैयाँ, तीतो करेला प्रतिकिलो ८० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, परबर (तराई) प्रतिकिलो ७५ रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६० रुपैयाँ, सलगम प्रतिकिलो १०० रुपैयाँ, भिन्डी प्रतिकिलो ९० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, बरेला प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।
पिँडालु प्रतिकिलो ९० रुपैयाँ, स्कूस प्रतिकिलो १० रुपैयाँ, रायोसाग प्रतिकिलो ४५ रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १२० रुपैयाँ, चमसुर प्रतिकेजी १६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो १८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १९० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १०० रुपैयाँ , जिरीको साग प्रतिकिलो २०० रुपैयाँ, सेलरी प्रतिकिलो २५० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो १८० रुपैयाँ, पुदिना प्रतिकिलो ४५० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ, केरा (दर्जन) ११० रुपैयाँ, कागती प्रतिकिलो १२० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ४० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो १८० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ५० रुपैयाँ, किबी प्रतिकिलो २४० रुपैयाँ निर्धारण गरिएको छ ।

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति तेस्रो पूर्ण बैठक आज पनि जारी छ। बुधबारदेखि काठमाडौंको मिराकल भेन्युमा सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्ट एकता आवश्यक भए पनि स्पष्ट वैचारिक र संगठनात्मक आधार नभई एकता सम्भव नहुने बताएका थिए।
बैठक कात्तिक १४ गतेसम्म चल्नेछ। बैठकमा पार्टीले वैचारिक दृष्टिकोण र सैद्धान्तिक आधार स्पष्ट गर्ने, संगठन पुनर्गठनको कार्ययोजना तय गर्ने छ । त्यस्तै, वर्तमान नेतृत्व पुस्तान्तरणबारे निर्णय गर्ने तयारी पनि रहेको छ ।

जेनजी प्रदर्शनले उठाएका भ्रष्टाचार, आर्थिक अनियमितता र सामाजिक असमानताका मुद्दाबारे बैठकमा विशेष छलफल हुने बताइएको छ।

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न प्रतिभा छनोट (त्बभिलत ज्गलत) कार्यक्रम आयोजना गर्ने भएको छ।

जिल्ला क्रिकेट संघ बाँके, नेपालगन्जको आयोजनामा हुने उक्त कार्यक्रम कार्तिक १३ गते बिहीबार बाँकेस्थित कोहलपुर क्रिकेट रंगशालामा सञ्चालन हुने छ। कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ।

कार्यक्रमबाट तीन जना उत्कृष्ट युवा खेलाडीहरू छनोट गरिनेछन्। तीमध्ये एक जना खेलाडीलाई मुख्य टोली (ःबष्ल त्भबm) मा स्थान दिइनेछ भने दुई जना खेलाडीहरूलाई विकास टोली (म्भखभयिऊभलत क्त्रगबम) मा राखिने लुम्बिनी लायन्सले जनाएको छ। छनोट भएका खेलाडीहरू आगामी मंसिर १ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने अवसर पाउने छन्।

लुम्बिनी लायन्सले यसअघि नै एनपीएलको दोस्रो संस्करणका लागि ६ जना प्रमुख खेलाडीहरूलाई रिटेन गरिसकेको छ।यस ट्यालेन्ट हन्ट कार्यक्रमले नेपाली क्रिकेटमा नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने र देशको क्रिकेटको स्तरलाई अझ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे, क्रिकेट संघ नेपाल (क्यान) का पदाधिकारीहरू तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहनेछ।

प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’को स्याड सङ ‘मायाले रुवायो’ सार्वजनिक

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको चलचित्रको नयाँ गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला चलचित्रको स्याड भर्सनको गीत सार्वजनिक भएको हो । गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ । शब्द तथा संगीत प्रशान्त शिवाकोटीको छ ।

वियोगान्त गीतमा प्रेम जोडीबीचको वियोगको कथा छ । प्रेममा रहेको जोडी एकाकार हुन नसक्दा भएको वियोगको पीडालाई गीतमा समेटिएको छ । वियोगको छटपटी कसैले नबुझ्दाको पीडालाई मर्मस्पर्शी शब्दसहित गीतमा चित्रण गरिएको छ ।

सिनेमाको कथा भन्ने गीतले दर्शकको मन छुन्छ । भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय छ ।यही चलचित्रको अर्को गीत ‘न्यौली बनैमा’ दर्शकले रुचाउँदा एक करोडभन्दा धेरै भ्युज पाइसकेको छ ।

चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।