चार दिनमा ५० हजार बढी भक्तजनद्वारा मुक्तिनाथको दर्शन
काठमाडाैँ । पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो चारदिनयता धार्मिक पर्यटकको आगमन बढेको छ । औसत दैनिक चार हजार दशनार्थी आउने गरेकामा बिहीबारदेखि दैनिक १५ हजारभन्दा बढीले मन्दिर दर्शन गरेका छन् । मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल याम भए पनि विगत वर्षको तुलनामा यसवर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ ।
छिमेकी मुलुक भारतमा गर्मी अत्यधिक बढेकाले शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकको सङ्ख्या बढेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । भारतमा गर्मी बढेसँगै एक महिनासम्म शैक्षिक संस्था बिदा भएकाले यहाँ भारतीय पर्यटकको आगमन बढेको उहाँको भनाइ छ । नेपालमा पनि गत बिहीबारदेखि चार दिन लामो सार्वजनिक बिदा परेकाले मुक्तिनाथमा दर्शनार्थी पर्यटकको सङ्ख्या वृद्धि भएको हुनसक्ने व्यवस्थापक भुसालले बताउनुभयो ।
कार्यालय तथा स्कुल, बलेज बिदा भएकाले आन्तरिक र भारतीय पर्यटकको आगमन बढेको उहाँको भनाइ छ । पछिल्लो चारदिन यता म्याग्दी हुँदै दैनिक १०–१२ हजार पर्यटक मुस्ताङ भित्रिने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको आगमन बढेसँगै प्रहरी तथा सुरक्षाकर्मीले व्यवस्थापनमा सहजीकरण गर्दै आइरहेका उहाँले बताउनुभयो । उहाँका अनुसार भारतीय पर्यटक गर्मी छल्ने बहानामा मुक्तिनाथ दर्शन गर्न आएका भेटिन्छन् ।
मन्दिर क्षेत्रमा हजारौँ दर्शनार्थी भएकाले सहज दर्शनको प्रबन्धसहित आवश्यक सुरक्षा प्रबन्ध व्यवस्थापन चुनौतीपूर्ण बनेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो । सहज रूपमा मुक्तिनाथको दर्शन, अवान्छित क्रियाकलाप नियन्त्रण, चोरी नियन्त्रण तथा समग्र शान्ति सुरक्षा कायम गर्न प्रहरी टोली निरन्तर परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । मुक्तिनाथमा भक्तजनमैत्री दर्शन व्यवस्थामा सहजीकरण गर्न इलाका प्रहरी कार्यालय मुक्तिनाथका १५ जना सुरक्षाकर्मीसहित जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षा बल परिचालन गरिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार पछिल्लो चार दिन यता सडकमार्ग तथा हवाईमार्गबाट बढी पर्यटक आइरहेका छन् । मुक्तिनाथ मन्दिर परिसरको क्षमता ५०० को हाराहारीमा भए पनि एकसाथै हजारौँ दर्शनार्थी उपस्थित हुँदा मन्दिरको व्यवस्थापनमा मुक्तिनाथ विकास समिति र सुरक्षा निकायलाई सास्ती भइरहेको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो । पछिल्लो समय तीन वटा लाइनमार्फत सहज रूपमा दर्शनका लागि सहजीकरण गरिरहेको विकास समितिका व्यवस्थापक भुसालले जानकारी दिनुभयो । उहाँकाअनुसार करिब ७० प्रतिशत भारतीय दर्शनार्थी रहेका छन् ।
मुक्तिनाथ मन्दिर परिसरको क्षमता कम भएकाले आगामी दिनमा क्षमता बढाउने योजनामा समिति प्रयासरत रहेको व्यवस्थापक भुसालले उल्लेख गर्नुभयो । हालै विकास समितिले पूर्वाधार निर्माणका लागि पेस गरेको चार वटा प्रस्ताव पुरातत्व विभागमा स्वीकृत भइसकेको जनाउँदै उहाँले यथाशीघ्र भक्तजनमैत्री पूर्वाधार निर्माण गर्ने योजना कार्यान्वयन गरिने बताउनुभयो । भारतको ४४ डिग्री सेल्सियस तापक्रम छल्न मुक्तिनाथ आइपुगेका भारतीय पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता र अद्वितीय भूगोल नियाल्दा आनन्दितत बनाएको प्रतिक्रिया दिएका छन् ।
भगवान् विष्णुको बासस्थान रहेको पावन भूमीप्रति भारतीयको आस्था रहेकाले उहाँहरू यहाँ आउने मन्दिर व्यवस्थापन समितिका व्यवस्थापक भुसालले बताउनुभयो । काठमाडौँकी डोपा शेर्पाले लगातार चार दिन सरकारी बिदा परेकाले मुक्तिनाथको दर्शन गर्न आइपुगेको बताउनुभयो । दर्शनका लागि एक घण्टा लाइनमा उभिनुपरेको बताउँदै यहाँ पुग्दा आत्मशान्ति महसुस भएको प्रतिक्रिया दिनुभयो ।
मुक्तिनाथस्थित रानीपौवा बसपार्क क्षेत्रमा भक्तजन सवार सवारीसाधनको लस्करले बसपार्क क्षेत्र भरिएको छ । करिब २०० सवारी क्षमता भएको बसपार्कमा अहिले एक हजारभन्दा बढी सवारीसाधन पार्किङ गरिएका छन् । जिल्ला प्रहरी कार्यालयमार्फत ट्राफिक व्यवस्थापन मिलाउन ट्राफिक प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो ।
