`

‘नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा’

काठमाडौँ २८ असारः पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले शुक्रबार एक विज्ञप्ती जारी गरी गत मङ्गलबार विहान लेहेन्दे खोलामा आएको बाढीका कारण पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्री समस्यामा परेको बताउनुभएको हो ।

टानले मितेरी पुल बगाउँदा रसुवागढीबाट सडक मार्ग हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कैलाश मानसरोबर यात्रामा जाने नेपाली तथा विदेशी तीर्थयात्री तथा पर्यटक तिब्बत प्रवेश गर्नबाट वञ्चित हुनुपरेको भन्दै तत्काल चीन सरकासँग कुटनीतिक पहल गरी तातोपानी, कोरोला, हिल्सालगायतका नाकाबाट मानसरोवर जाने वातावरण मिलाउन आग्रह गरेको छ ।

टानका अध्यक्ष सागर पाण्डेले कैलाश मानसरोवर यात्रा गर्ने सिजनको मुखमै चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने तीर्थयात्री तथा पर्यटकलाई सहज रूपमा राहदानी उपलब्ध गराउन गराउनसमेत सरकासँग माग गर्नुभयो ।

उहाँले नेपालस्थित चिनीया राजदूतावासँग कुटनीतिक पहल गरी भिषा प्रकृयालाई छिटो, छरितो र यात्रुमैत्री बनाउन र काठमाडौँमा कुरेर बसेका तीर्थयात्रीलाई छिटोभन्दा छिटो कैलाश यात्रा गर्न पाउने वातावरण बनाउनका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नुभयो ।

टानले बाढीबाट मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै हराएकाको चाँडो खोजी गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तो कायम गरिएको छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २८ असार : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१ पैसा र बिक्रीदर ९० रुपैयाँ ६० पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०६ पैसा र बिक्रीदर १०० रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ २४ पैसा र बिक्रीदर ४५० रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ८४ पैसा र विक्रीदर ३५७ रुपैयाँ ४० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सुशासन, दु्रत आर्थिक विकास र दिगो शान्तिका क्षेत्रमा रुवाण्डा उदाहरणीय : सभामुख घिमिरे

काठमाडौँ, २८ असार : सभामुख देवराज घिमिरेले सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिका लागि अफ्रिकी मुलुक रुवाण्डा विश्वमै एक उदाहरणीय राष्ट्र बन्न सफल भएको बताउनुभएको छ ।

भूपरिवेष्टित एवं अल्पविकसित मुलुक रुवाण्डाको ३१औँ मुक्ति दिवसको उपलक्ष्यमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख घिमिरेले केही वर्षअघि मात्र कूटनीतिक सम्बन्ध कायम भएको रुवाण्डासँग पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि, व्यापारलगायतका क्षेत्रमा सहकार्य गरी लाभान्वित हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।

द्वन्द्वका कारण अपुरणीय धनजनको क्षति व्यहोरेका दुवै देशले राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा उल्लेखनीय योगदान गरेको उल्लेख गर्दै उहाँले अल्पविकसित राष्ट्रका हैसियतले आपसी सहयोग र सहकार्यको नीतिलाई प्राथमिकता दिइ दुवै देशका जनताको जीवनस्तर सुधारका पक्षमा यथासक्य बढी सहकार्य हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

भारत र नेपालका लागि गणतन्त्र रुवाण्डाकी राजदूत मुकाङ्गीरा जाक्लीनले सुशासन, पारदर्शिता, लैङ्गिक समानता, समावेशी सहभागिताजस्ता महत्वपूर्ण एवं आधारभूत पक्षलाई प्राथमिकता दिइ तीव्र आर्थिक वृद्धिदरका साथ रुवाण्डा अहिले विकास र समृद्धिको बाटोमा अघि बढिरहेको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई विश्वासमा लिइ शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल रुवाण्डाबाट समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने सन्दर्भमा पाठ सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

रुवाण्डाको अवैतनिक परिषद्का ‘डिन’ को भूमिकामा रहनुभएका उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालका अनुसार सन् २०१५ मा प्रतिव्यक्ति आय करिब २०० अमेरिकी डलर मात्र भएको रुवाण्डामा कुल ग्राह्स्थ उत्पादन १० प्रतिशतसम्म वृद्धि भइ अहिले प्रतिव्यक्ति आय ८०० अमेरिकी डलर पुगेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले सन् १९९४ मा हत्याहिंसा र द्वन्द्वको चपेटाबाट मुक्त भएको रुवाण्डाले आन्तरिक तथा वाह्यदेशको समेत लगानी आकर्षित गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा अतुलनीय प्रगति गरेको बताउनुभयो ।

सो कार्यक्रमको आयोजक समेत रहनुभएका नेपालका लागि रुवाण्डाका अवैतनिक दूत प्रज्वलजङ्ग पाण्डेले नेपाल र रुवाण्डाबीचको व्यापारव्यवसाय प्रबद्र्धन, दिगो शान्ति र समृद्धि तथा कूटनीतिक सम्बन्ध विस्तारका पक्षमा आफूले सक्दो प्रयास गरिरहेको बताउनुभयो । उहाँले लगानीका हिसावले सहकार्यका क्षेत्रहरूको पहिचान गरी दुवै देशका जनतालाई लाभान्वित तुल्याउन आवश्यक सहकार्य गरौँ भन्नुभयो ।

विश्वमै कफी उत्पादन तथा निर्यातमा महत्वपूर्ण योगदान रहेको रुवाण्डाले दिगो शान्ति, द्वन्द्वरत पक्षबीचको मेलमिलाप, पुनःनिर्माणसहित विश्वशान्तिका पक्षमा मौलिक तथा उदाहरणीय काम गरेको सो अवसरमा बताइयो ।

महाकाली नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

दोधारा चाँदनी (कञ्चनपुर), २८ असारः जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले महाकाली नदीमा जलसतह बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । विभागले सूचना अजारी गर्दै महाकाली नदीको जलसतह बढ्ने जनाउँदै आइतबार बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।

त्यसैगरि धौलीगङ्गा पावर स्टेशन एनएचपीसीले पनि एक सूचना जारी गर्दै शुक्रबारदेखि बाँधका ढोका खोल्ने जनाएको छ । पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सल्ट सरसफाइका लागि आकस्मिक रूपमा बाँध खोल्नुपरेको एनएचपीसीले जनाएको छ ।

स्वर्गीय सीताको निष्ठा र आदर्शले जनताको पक्षमा सङ्घर्ष गर्न प्रेरित गरिरहेको छ : अध्यक्ष दाहाल

काठमाडौँ, २७ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मपत्नी स्वर्गीय सीता दाहालको निष्ठा र आदर्शले जनताको पक्षमा सङ्घर्ष गर्न प्रेरित गरिरहेको बताउनुभएको छ ।

आज स्वर्गीय दाहालको दोस्रो स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले भन्नुभएको छ, “सीताले परिवर्तन र जनताको पक्षमा निरन्तर सङ्घर्ष गरिरहिन् । उनको निष्ठा र आदर्शले हामी सबैलाई जनताको पक्षमा सङ्घर्ष गर्न प्रेरित गरिरहने छ ! आज उनको स्मृतिमा हाम्रो परिवार र पार्टीलाई सद्भाव व्यक्त गर्नुहुने सम्पूर्णप्रति आभारसहित धन्यवाद व्यक्त गर्दछु ।”

अध्यक्ष दाहालले थप्नुभएको छ, “मेरो जीवनसाथी तथा नेकपा (माओवादी केन्द्र)की सल्लाहकार स्व सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा म कमरेड सीताप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।”

यसैबीच अध्यक्ष दाहालले आजै उहाँको सम्झनामा मानवसेवा आश्रममा पुगेर आश्रितहरूलाई भोजन सेवा गर्नुभएको छ । सो क्रममा अध्यक्ष दाहालले राज्यले गर्नुपर्ने काम आश्रमले गरिरहेको उल्लेख गर्दै आफ्नो तर्फबाट सधैँ साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने

काठमाडौँ, २७ असारः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने बताउनुभएको छ ।
आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) को १४औँ वार्षिकोत्सव समारोहमा उहाँले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना तथा मझौला जलविद्युत् आयोजनाका समस्या एचआइडिसीएलले हेर्नुपर्नेमा जोड दिँदै सरकारले आवश्यक सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।
“सरकार मातहतको कम्पनी एचआइडिसीएलले विभिन्न आयोजना निर्माणका क्रममा वित्तीय अभावका कारण समस्या परेका साना आयोजनालाई पुँजी अभाव हुन दिनुहुँदैन । २५ मेगावाट भन्दा कम क्षमताका आयोजनामा लगानी नगर्ने भनिएकामा त्यसलाई तत्काल परिमार्जन गर्नुपर्छ । साना, ठूला वित्तीय समस्यामा परेका आयोजनालाई लगानी गर्ने सरकारको दायित्व हो”, खड्काले भन्नुभयो । साना र मझौला आयोजनाले पनि ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका उहाँको भनाइ छ ।
मन्त्री खड्काले ठूला आयोजना र लगानीकर्तालाई आकर्षित गर्न एचआइडिसीएलले सहजीकरणको भूमिका मजबुत बनाउँदै आवश्यक परे ऋण र इक्विटीका माध्यमबाट वित्तीय अभाव समाधान गर्नुपर्नेमा जोड दिनुभयो । सबैलाई सहज हुने किसिमका नीति अवलम्बन गर्दै जानुपर्ने उहाँको भनाइ छ ।
ऊर्जामन्त्री खड्काले मुलुकको ऊर्जा आत्मनिर्भरता र निर्यातको सम्भावनालाई साकार बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । “आजको आवश्यकताअनुसार नयाँ सोच र प्रविधिसँगै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले जलस्रोत मुलुकको प्राकृतिक सम्पत्ति भएकाले यसको वैज्ञानिक र दिगो उपयोगमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । जलविद्युत् परियोजनाहरूको निर्धारित समयमा सम्पन्नता, गुणस्तरीय निर्माण र लगानीमैत्री वातावरण सिर्जनामा नीतिगत सुधारलाई मन्त्रालयले अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो ।
ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रमा थप लगानी भित्र्याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा राख्नुभयो । “प्राकृतिक स्रोत र खनिजको सदुपयोग गरेर मात्रै देशलाई समृद्धिको बाटोमा ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो । एचआइडिसीएल ऊर्जा क्षेत्रको बैंकको पनि बैंक बन्न सक्ने उहाँको भनाइ छ ।
एचआइडिसीएलका अध्यक्षसमेत रहनुभएका मन्त्रालयका सचिव सुरेश आचार्यले कम्पनीको १४ वर्षे यात्रामा निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि एचआइडिसीएलले सकारात्मक भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो ।
विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले लगानीकर्तालाई लगानीको वातावरण सुरक्षित गर्ने मार्गमा एचआइडिसीएल लाग्नुपर्ने बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले छोटो समयमा नेपालको उर्जा क्षेत्रको विकासमा एचआइडिसीएलले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले उत्पादनसँगै प्रसारण लाइनको क्षेत्रमा एचआइडिसीएल लाग्नुपर्नेमा जोड दिनुभयो ।
एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले जलविद्युत् र सौर्य ऊर्जासँगै नवीकरणीय ऊर्जाको क्षेत्रमा यसले काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले सरकारले राखेको ऊर्जा विकासको मार्गचित्रलाई कार्यान्वयन गर्न आफू र आफ्नो कम्पनी लाग्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

साफ यू-२० महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौँ, २७ असारः पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आज भएको खेलमा नेपालले भुटानमाथि ६-१ गोलको जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

नेपालको जितमा पूर्णिमाले चार गोल गरिन् भने सेनु परियारले दुई गोल गरिन् । यो जितसँगै नेपालले तीन अङ्क बटुलेको छ । यता भुटानका लागि केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन् । खेलको नवौँ मिनेटमा सेनुले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन हुन् । खेलको १८औँ मिनेटमा पूर्णिमाले नेपालको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलको ४५औँ मिनेटमा सेनुले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् ।

त्योसँगै नेपालले खेलको पहिलो हाफमा ३-० को अग्रता लिएको थियो । त्यसैगरी खेलको ५४औँ मिनेटमा भुटानले एक गोल फर्कायो । भुटानका लागि केल्देनले गोल गरिन् । खेलको ६३औँ मिनेटमा पूर्णिमाले गोल गर्दै नेपालको अग्रता ४-० मा पुर्‍याइन् । खेलको ८४औँ मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन् ।

त्यसपछि खेलको ८८औँ मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६-१ को अवस्थामा ल्याइन् । त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथी ६-१ को जित निकाल्यो । सोही प्रतियोगिताअन्तर्गत आजै भएको उद्घाटन खेलमा घरेलु टोली बङ्गलादेशले श्रीलङ्कालाई ९-० को फराकिलो अन्तरले हराउँदै विजयी भएको थियो ।

पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

पाकिस्तानमा निरन्तर परेको भारी मनसुन वर्षा र त्यससँगै आएको आकस्मिक बाढीका कारण असार १२ देखि हालसम्म ९८ जनाको ज्यान गएको छ भने कम्तीमा १८५ जना घाइते भएका छन्। यो जानकारी शुक्रबार राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले दिएको हो।

पछिल्लो २४ घण्टामा मात्र वर्षासम्बन्धी घटनामा अाठ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

पञ्जाब प्रान्तमा सबैभन्दा बढी ३७ जनाको मृत्यु भएको छ, जसमध्ये २० जना बालबालिका रहेका छन्। त्यसपछि खैबर पख्तुनख्वा प्रान्तमा ३० जनाले ज्यान गुमाएका छन्।

प्रशासनले आगामी दिनहरूमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी तल्लो भू-भाग र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

देशका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको प्राधिकरणले जनाएको छ।

सशस्त्र प्रहरीद्वारा नौ लाख ४७ हजार मूल्य पर्ने कपडा बरामद

वीरगञ्ज (पर्सा), २७ असार : सशस्त्र प्रहरी बल पर्साले आज भन्सार छली गरेर ल्याएको नौ लाख ४७ हजार छ सय २५ मूल्य पर्ने लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले वीरगञ्ज महानगर–१० स्थित टाउनहलबाट बिकेएस इम्पेक्समा भारतबाट अवैध रूपमा ल्याएर भण्डारण गरेको कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरीबल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले टाउनहलस्थित विकेस इम्पेक्सको गोदामबाट भन्सार छली गरेर ल्याएको रु छ लाख ५९ हजार ७०० मूल्यका कपडा बरामद गरेर भन्सार कार्यालयमा बुझाएको जानकारी दिनुभयो ।

त्यसैगरी सशस्त्र प्रहरीले आजै आर्दशनगर र छप्कैयाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख ७९ हजार १०५ मूल्यका कपडा र किरानाका सामान बरामद गरेको भन्सार कार्यालयमा बुझाएको छ ।

‘पञ्चशीलका सिद्धान्तमा आधारित हाम्रो सम्बन्ध अतुलनीय छ’ – प्रधानसेनापति

काठमाडौँ, २७ असार : प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध पनि उत्तिकै सुमधुर रहेको बताउनुभएको छ ।

जनमुक्ति सेना स्थापनाको ९८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँस्थित चिनियाँ दूतावासका सैनिक सहचारी ल्यु चङजङले आयोजना गर्नुभएको स्वागत समारोहमा उहाँले कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा जनमुक्ति सेनाले गरेको सहयोग नेपाली सेनाले सदैव सम्झने बताउनुभयो । विपद् व्यवस्थापन र उद्धारमा जनमुक्ति सेनाका माध्यमबाट चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानसेनापति सिग्देलले जनमुक्ति सेना र नेपाली सेनाबीच संयुक्त सैन्यअभ्यासका साथै अन्य पारस्परिक हित र चासोका साझा विषयमा सधैँ सहकार्य भइरहेको बताउनुभयो ।

नेपालका लागि चीनका राजदूत छन सङले जनमुक्ति सेना प्रभुत्ववादविरुद्ध रहेको चर्चा गर्दै शान्ति र साझा भविष्य निर्माणलाई नै मूल मन्त्र मानेर आफ्नो देशको फौजले काम गरिरहेको बताउनुभयो ।

राष्ट्रपति सी चीनफिङको सबल नेतृत्वमा जनमुक्ति सेनाले विश्वशान्ति र विकासका खातिर अन्तरराष्ट्रिय क्षेत्रमा पनि पूर्णप्रतिबद्धताका साथ काम गरिरहेको बताउँदै उहाँले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ तुल्याउन आफू क्रियाशील रहेको दोहोर्‍याउनुभयो ।

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको सन्दर्भमा यो वर्ष दुवै देशका शीर्ष नेतृत्वको अगुवाइमा सहकार्य, साझेदारी र सहयोग आदानप्रदानका कार्यक्रम कार्यान्वयन भइरहेका चिनियाँ राजदूतले बताउनुभयो ।

सैनिक सहचारी ल्युले संयुक्त राष्ट्रसङ्घको आह्वानमा जनमुक्ति सेनाले द्वन्द्वग्रस्त विश्वका विभिन्न मुलुकमा काम गरिरहेको बताउँदै अन्तरराष्ट्रिय सुरक्षा र मानवीय सहयोगलाई पनि सेनाले समान प्राथमिकता दिएको जानकारी दिनुभयो ।

राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

काठमाडौँ, २७ असार: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शम्शेर जबराको ८४औँ जन्मोत्सवका अवसरमा जनसम्मान गरिएको छ ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा राप्रपासहित विभिन्न ८४ वटा सङ्घसंस्थाका तर्फबाट उहाँलाई सम्मान गरिएको हो ।

सो अवसरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले नेपाली समाज, राजनीति र पूर्वाधार विकासमा पुराना राजनीतिज्ञ जबराले खेल्नुभएको भूमिकाबारे चर्चा गर्नुभयो । राप्रपाका पूर्वअध्यक्षसमेत रहनुभएका जबराको जन्म विसं १९९८ वैशाख २५ गते विजयशम्शेर जबरा र सरलादेवी राणाको सुपुत्रका रूपमा भएको थियो ।

तत्कालीन गृह पञ्चायत मन्त्रालयको सहसचिवबाट जागिरे जीवन प्रारम्भ गर्नुभएका जबरासँग राष्ट्र बैंकको निर्देशक, राष्ट्रिय पञ्चायत र प्रतिनिधिसभा सदस्य तथा मुलुकको यातायात, पर्यटन, स्थानीय विकास, अर्थ, परराष्ट्र, जलस्रोत, शिक्षालगायत महत्वपूर्ण मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको अनुभव छ । उहाँ हालको प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पनि हुनुहुन्छ ।

कमला नदीमा दुई लाख माछाका भुरा छोडियो

सिराहा, २७ असारः जिल्लाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा स्थानीयको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले करिब दुई लाख माछाका भुरा छोडिएको छ ।

कर्जन्हा–१ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेलका अनुसार रहु र नैनी प्रजातिका माछाका भुरा वडा कार्यालयको सहजीकरण र लहानस्थित मत्स्य विकास केन्द्रको समन्वयमा नदीमा छाडिएको हो । भुरा छाड्ने कार्यक्रममा जनप्रतिनिधि, मत्स्य विकास केन्द्रका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो ।

“सिराहा, धनुषा र उदयपुरको सङ्गमस्थल उत्तरबाहिनी क्षेत्र पवित्र धार्मिक महत्त्व बोकेको स्थान हो । यहाँका स्थानीय परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् । भुरा हुर्किएपछि स्थानीयकको आम्दानीमा वृद्धि हुनेछ”, वडाध्यक्ष पोखरेलले भन्नुभयो ।

उहाँका अनुसार नदीमा रैथाने प्रजातिका माछा पहिलेदेखि पाइँदै आए पनि अहिले छोडिएका उन्नत प्रजातिका भुरा प्राकृतिक रूपमा हुर्किन सक्ने भएकाले यो दीर्घकालीन रूपमा लाभदायक हुने विश्वास गरिएको छ ।

मत्स्य विकास केन्द्र लहानका प्रमुख प्रियङ्का यादवले सार्वजनिक जलासयहरूमा जैविक विविधता संरक्षण र स्थानीय समुदायको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले भुरा छाडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी दररेटअनुसार प्रतिगोटा ७५ पैसाका दरले रु एक लाख ५० हजार बराबरको भुरा चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत कमला नदीमा छाडिएको हो ।”

उहाँले आगामी आर्थिक वर्षमा पनि यस्तो कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । भुरा छाड्ने अभियानले जैविक संरक्षणका साथै माछामार समुदायको आर्थिक अवस्था सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, २७ असार : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युत्को उत्पादन वृद्धि गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज)द्वारा आज आयोजित कार्यक्रममा उहाँले विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुने बताउँदै उत्पादनको वृद्धि सँगै खपपत गर्ने क्षमतालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । जलविद्युत्को विकासमा निजी क्षेत्रको लगानी सुरक्षित गर्न अनुकूल नीतिहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाले त्यस क्षेत्रमा गर्ने लगानीलाई डुब्न नदिन लचिलो नीतिको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।

करको दायरा तथा दर दुवै वृद्धि गर्नुपर्ने बताउँदै उहाँले सरकारस्थिर कर नीतिको पक्षमा रहेको प्रष्ट पार्नुभयो । सरकारले अवलम्बन गर्ने करका नीतिले देशको समग्र विकासमा प्रभाव पार्ने उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले मूलतः एउटा कर नीति र करका दरहरूमा सापेक्षित स्थिरताका लागि सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

राज्यका नियमनकारी निकायको भूमिका सशक्त बनाउँदा व्यवसायीको गुनासो आउने गरेको बताउँदै उहाँले अनियमित गर्ने व्यवसायीलाई कानुनी कारबाही गर्न सरकार दृढ रहेको बताउनुभयो । करको दायरा भने बढाउने योजनासहित आगामी आर्थिक वर्षको बजेट ल्याएको उहाँको भनाइ थियो । सो अवसरमा आर्थिक क्षेत्रको विकासका लागि समाचार लेखेका विभिन्न सञ्चार गृहका सञ्चारकर्मीलाई पुरस्कृत गरिएको थियो ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्था परिवर्तन गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकमा समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले आफूहरू विकासलाई केन्द्रित गरेर अगाडि बढे पनि सोचेजति कामले गति लिन नसक्नुका समस्याहरू पहिचान गरी स्पष्ट कार्ययोजनाका साथ लाग्न निर्देशन दिनुभएको हो । उहाँले सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ बने पनि बाँकी कामको ठेक्का समयमा लाग्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । यस्तो प्रवृत्तिबाट समयमा परिणाम र उत्पादन दिन नसकिने उहाँको भनाइ छ ।

“जनतालाई मलमा अनुदान दिने नीति छ तर मलचाहिँ समयमा पाइँदैन । यस खालको जनता अलमल्याउने कुरा नगरौँ । बरु अनुदान घटाऔँ, आपूर्ति बढाऔँ”, प्रधानमन्त्री ओलीको प्रश्न थियो, “हामीले देशको दू्रततर गतिमा विकास गर्नुछ । लागत अनुमान रु १२ अर्ब लागतबाट थालनी गरिएको कुनै आयोजना रु ५२ अर्बसम्म लाग्ने स्थिति पनि देखिएको छ । यो स्थिति कसरी आयो ? यस्तो अति लापर्वाह गर्नेलाई कारबाही गर्ने कि नगर्ने ?”

प्रधानमन्त्री ओलीले सम्झौता गरिएको ठेकेदार वा ढाँचाबाट काम नभए अर्काे बाटो लिनुपर्नेमा जोड दिँदै यस खालको गतिले विकासमा अघि बढ्न नसकिने भएकाले कामको तरिकामा क्रान्तिकारी परिवर्तन गरी चुस्तदुरुस्त रूपमा गर्ने शैलीमा लाग्न आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्रीहरू, मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरू, मुख्यसचिव र सचिवहरू सहभागी बैठकमा विभिन्न मन्न्त्रालयसँग सम्बन्धित विकास समस्याहरूको कारण र समाधानका उपायबारे चार घण्टा बढी छलफल भएको थियो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले समष्टिगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, सामाजिक तथा पूर्वाधार विकासको अद्यावधिक अवस्था, दिगो विकासको लक्ष्य र विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अद्यावधिक स्थिति, समितिका यसअघिका बैठकका निर्णयहरूको कार्यान्वयन स्थितिबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

थाँती फाइलहरू असार मसान्तसम्म टुङ्ग्याउन मन्त्री भण्डारीको निर्देशन

काठमाडौँ, २७ असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कम्पनी दर्ता, नवीकरणलगायतका कामका लागि केही समयदेखि थन्किएका (थाँती रहेका) फाइल असार मसान्तसम्म टुङ्ग्याउन निर्देशन दिनुभएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयबारे अनियमितताका प्रश्न उठेसँगै मन्त्री भण्डारी सो निर्देशन दिनुभएको हो । कर्मचारीले सेवाग्राहीबाट आर्थिक लाभका आधारमा काम गरिरहेको र सफ्टवेयर डाउनसम्मको क्रियाकलाप भएको विषय सञ्चारमाध्यममा आएको थियो ।

त्यसैगरी, मन्त्री भण्डारीले कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्रत्यक्ष निगरानीमा राख्न, त्यहाँ सञ्चालित अनलाइन प्रणाली र सिसीटिभीको प्रत्यक्ष अनुगमन गर्न सम्बन्धित महाशाखालाई निर्देशन दिनुभएको छ ।

मन्त्री भण्डारीको निर्देशनपश्चात औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुख जितेन्द्र बस्नेत नेतृत्वको टोली कम्पनी रजिस्ट्रारको कार्यालय पुगेको थियो । उक्त टोलीसँग कर्मचारीहरूले काम गर्ने क्रममा केही कानुनी र प्राविधिक समस्या रहेका कारण काममा ढिलाइ भइरहेको समस्या दर्शाउनुभएको थियो ।

हाल सञ्चालनमा रहेका दुईवटा अनलाइन प्रणालीका कारण केही समस्या आइरहेको कर्मचारीको गुनासो छ । पूर्ण अनलाइन प्रणालीमा गइसकेको कम्पनी रजिस्ट्रारको कार्यालयमा अझै लाइन बस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । महाशाखा प्रमुख बस्नेतले समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने बताउनुहुँदै असार मसान्तभित्र दिनरात खटेर हालसम्मका थाँती फाइलहरूको काम सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

बस्नेतले कार्यालयका जोकोही कर्मचारीबाट पनि आर्थिक अनियमितता भएको भए कारबाही गर्ने बताउँदै आर्थिक अनियमिततामा विषयमा शून्य सहनशीलता अपनाउन निर्देशन दिनुभयो ।

यसअघि मन्त्रालयले बिहानै कम्पनी रजिस्ट्रारको कार्यालयलाई निर्देशनात्मक पत्र पठाएको छ । उक्त पत्रमा लेखिएको छ, “कम्पनी रजिस्ट्रार कार्यालयले सञ्चालनमा ल्याएको ‘सिएएमआइएस’ प्रणालीमा लामो समयदेखिका निवेदनहरू थाँती रहेका र अनलाइन प्रणाली अवलम्बन गर्दा पनि कार्यालय परिसरमा सेवाग्राही उपस्थित नभई काम नहुने र कार्यालयमा असम्बन्धित मान्छेहरूको समेत चहलपहल भई भीडभाडको अवस्था रहेको जनगुनासो आएको सन्दर्भमा मन्त्रालयबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन÷निरीक्षण समिति गठन गरी खटाइएको छ ।”

उक्त पत्रमा कम्पनीहरूको अद्यावधिक विवरण छुट, सहुलियतका लागि निवेदन र अन्य प्रकारका कम्पनीसम्बन्धी सेवा लिन ठूलो सङ्ख्यामा आर्थिक वर्षको अन्त्यतिर अनलाइन प्रणालीमा आवेदन प्राप्त भएको र सो कार्य तत्काल सम्पन्न गरी छिटोछरितो सेवा उपलब्ध गराउन कार्यालयले नियमित कार्यालय समयबाहेक बिहानबेलुका र बिदाको दिन पनि निर्वाध रूपमा कार्यालय सञ्चालन गर्ने सम्बोधन गर्दै अगामी दिनमा गुनासोरहित सेवा व्यवस्था मिलाई सेवा प्रवाह समयमै गरी जनगुनासा समाधान गर्न निर्देशन दिएको छ ।

डेढ बर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसङ्घद्वारा पुष्टि

म्यानमारको मुस्लिम बहुल अल्पसङ्ख्यक समुदायको सामूहिक पलायनपछि पछिल्लो १८ महिनामा बङ्गलादेशमा सबैभन्दा ठूलो सङ्ख्यामा रोहिङ्ग्या शरणार्थीको आगमन भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका अनुसार सन् २०२४ को सुरुदेखि हालसम्म करिब एक लाख ५० हजार रोहिङ्ग्या बङ्गलादेशको कक्स बजार शरणार्थी शिविरमा पुगेका छन् ।

यूएनएचसीआरका प्रवक्ता बाबर बलोचले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “राखिन राज्यमा लक्षित हिंसा र उत्पीडन र म्यान्मारमा जारी द्वन्द्वले हजारौं रोहिङ्ग्यालाई बङ्गलादेशमा सुरक्षा खोज्न बाध्य बनाएको छ ।

उहाँले भन्नुभयो, “सन् २०१७ मा महिनौंसम्म फैलिएको रोहिङ्ग्या शरणार्थीको सबैभन्दा ठूलो आन्दोलन करिब सात लाख ५० हजारले आफ्नो जन्मथलो राखिन राज्यमा भएको हिंसाबाट भागेपछि म्यानमारबाट महिनौँसम्म फैलिएको रोहिङ्ग्या शरणार्थीको यो सबैभन्दा ठूलो आन्दोलन हो ।

बलोचले पुस्तौँदेखि रोहिङ्ग्या शरणार्थीलाई उदारतापूर्वक आश्रय दिएकोमा बङ्गलादेशको प्रशंसा गर्नुभयो ।

सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीबाट भागेर आएका रोहिङ्ग्या समुदायका करिब १० लाख सदस्य बङ्गलादेशमा राहत शिविरमा बस्दै आएका थिए ।

बलोचका अनुसार २४ वर्ग किलोमिटर (नौ वर्ग माइल) मा फैलिएको ती शिविरहरू ‘विश्वको सबैभन्दा घना बस्ती भएको ठाउँहरूमध्ये एक’ बनेका छन्।

स्पेनमा अत्यधिक गर्मी र डढेलोको जोखिम बढ्दो

स्पेनमा गर्मीको लहर, डढेलो, आँधी र बाढीजस्ता चरम मौसम घटनाहरू बारम्बार र उग्र रूपमा देखापर्न थालेका छन्। यसले जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने भन्दै एक जलवायु विज्ञले सबैलाई सतर्क रहन आग्रह गरेका छन्।

बार्सिलोना विश्वविद्यालयका भौतिक भूगोलका प्राध्यापक खाभिए मार्टिन–भिदेले भन्नुभयो, “स्पेनी जनताले अहिलेको बिग्रँदो मौसम अवस्थासँग जुध्न मनोबल र तयारी दुवै आवश्यक छ।“

जुन महिनाको अन्त्य र जुलाईको सुरुमा स्पेनका धेरै स्थानहरूमा तापक्रम ४२ डिग्रीसम्म पुगेको थियो। यसै साता स्पेनको मौसम विभागले केही भागहरूमा भारी वर्षा, हावाहुरी र डुबानको चेतावनी दिएको छ।

प्राध्यापक मार्टिन–भिदेले बताएअनुसार यस्ता अत्यधिक तापक्रमले डढेलोको खतरा निकै बढाउँछ। यसै साता उत्तरपूर्वी कातालोनिया क्षेत्रमा मात्रै तीन हजार तीन सय हेक्टर जमिन जलेको छ। केही दिनअघिमात्रै सोही क्षेत्रमा ६ हजार हेक्टर जमिन, जसमा धेरैजसो खेतीयोग्य जमिन थियो, आगोले नष्ट गरेको थियो।

“यस्ता डढेलो अत्यधिक गर्मीमा सजिलै फैलिन सक्छन्,” उहाँले भन्नुभयो, “हामीले पहिले नै कातालोनियामा ठूलो आगलागी देखिसकेका छौं र यो गर्मीभरि यस्ता भयावह दृश्य दोहोरिन सक्ने सम्भावना छ।”

उहाँलाई थप्नुभयो, “अत्यधिक तापक्रमपछि डढेलो, डुबान, आँधी र हावाहुरीजस्ता घटनाहरू अब प्रत्येक वर्ष झनै सामान्य जस्तै हुनेछन्।”

प्राध्यापकले जलवायु सम्बन्धी अध्ययनबाट थाहा पाइएको भन्दै भन्नुभयो, “आउँदा वर्षहरूमा तापक्रम अझै बढ्नेछ। यसले गर्दा गर्मीका यस्ता लहरहरू अझ चाँडै सुरु हुने, बढी दिनसम्म चल्ने र अझ तीव्र हुने छन्।”

उहाँ विशेष गरी वृद्ध व्यक्तिहरूका लागि गर्मीको असर खतरनाक हुने बताउँछन्। स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार, गएको गर्मीमा गर्मीसम्बन्धी समस्याका कारण दुई हजार २० जनाको ज्यान गएको थियो, जसमा ९० प्रतिशत ७५ वर्षभन्दा माथिका थिए।

स्पेनमा बढ्दो तापक्रमका कारण डढेलो, आँधी, बाढी र अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएको छ। यस्ता चरम मौसम घटनाहरू वर्षेनी झनै सामान्य बन्ने संकेत देखिन्छ। त्यसैले सर्वसाधारणदेखि राज्य निकायसम्म सबैले जलवायुको जोखिमप्रति सजग भई समयमै पूर्वतयारी गर्न विज्ञहरूले सुझाव दिएका छन्।

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

गलकोट (बागलुङ), २७ असारः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताउनुभएको छ ।

बागलुङको बिहुँ निवासी प्रतिनिधिसभाका पूर्वसदस्य एवं कांग्रेसका निष्ठावान नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३औँ दिनको पुण्यतिथिमा आज कांगे्रसले यहाँ आयोजना गरेको श्रद्धाञ्जलीसभामा उहाँले कँडेल बिपीको पथमा हिँड्ने निष्ठावान र इमान्दार नेताका रूपमा रहनुभएको उल्लेख गर्नुभयो ।

“उहाँ संसाद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन, सधैँ जनताको पक्षमा वकालत गर्दै हिँड्नुभयो उहाँको निष्ठा बिपीसँग मिल्छ”, देउवाले भन्नुभयो, “देश र राष्ट्रका लागि उहाँको योगदान अतुलनीय छ, नेपाली राजनीतिमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिने छ, उहाँको मार्गलाई अन्य कांग्रेसका नेता तथा कार्यकर्ताले पछ्याउन आवश्यक छ ।” उहाँले राजनीतिमा इमान र प्रतिष्ठा कमाउनुभएका कँडेलको निधनले कांग्रेसलाई ठूलो क्षति पु¥याएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाका पूर्वसदस्य कँडेलको यही असार १५ गते आइतबार निधन भएको थियो । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाने तयारीमा रहनुभएका उहाँको निधन भएको थियो ।

विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट विजयी कँडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रूपमा परिचित हुनुहुन्थ्यो ।

बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्वसभापति हुनुहुन्थ्यो । विसं २०४६ आन्दोलनका क्रममा जेल पर्नुभएका उहाँ बहुदलपछि जिल्ला सभापति र सांसद बन्नुभएको थियो । उहाँ विसं १९९५ पुस १० गते काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोटमा जन्मनुभएको थियो ।

डेविस कपमा नेपालले भाग लिने

काठमाडौँ, २७ असार : डेविस कपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली आइतबार मलेसियाको क्वालालम्पुर जाने भएको छ ।

जुलाइ १६ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुशमान हजुर घलेले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा जितेन्द्र परियार तथा व्यवस्थापकमा जयजीव हाडा रहेका छन् । समूह ४ को यो प्रतिस्पर्धामा नेपालसहित कुवेत, कीर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स गरी आठ राष्ट्र दुई समूहमा बाँडिएर खेल्ने छन् ।

टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल टेनिस सङ्घ, तदर्थ समितिका संयोजक मनोहरदास मूललगायतले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामनासहित बिदाइ गर्नुभयो ।

सुई नपाउँदा छटपटिन्छन्, ‘हेमोफिलिया’का बिरामी

तुलसीपुर (दाङ), २७ असार : यहाँको तुलसीपुर उपमहानगरपालिका–७ स्थित रामबहादुर दहित लामो समयदेखि हेमोफिलियाका बिरामी हुनुहुन्छ । उहाँसँगै उहाँका तीन दाजुभाइ यो रोगबाट ग्रसित हुनुहुन्छ । तर, समयमा औषधि नपाउँदा वंशानुगत यो रोगबाट उहाँहरू छटिपटिनुपर्ने अवस्था छ । यो रोगको उपचारका लागि बुटवल वा काठमाडौँ जानुपर्ने अवस्था छ । “हामीले नजिकमा औषधि पाउँदैनौँ”, उहाँले भन्नुभयो, “यसका लागि काठमाडौँ वा बुटवल जानुपर्छ ।”

हप्तामा एकपटक बुटवल गएर ‘फ्याक्टर’ नामक औषधि सुईमार्फत दिनुपर्छ । कुनै कारणले शरीरबाट रगत बगेमा त्यो रोकिँदैन । त्यो रोक्न सुई नै लगाउनु पर्छ । तर, त्यो जिल्लामा नहुँदा बुटवल वा काठमाडौँ जानुपर्ने अवस्था छ । त्यसरी टाढा जाँदा बिरामी बाटोमै मृत्यु हुनसक्ने उहाँको भनाइ छ ।

फ्याक्टर पनि सहजै पाउन सक्ने अवस्था नभएको हेमोफिलिया पीडित शेरबहादुर चौधरीले गुनासो गर्नुभयो । “फ्याक्टर ल्याउन बुटवल जानुपर्छ, तर त्यहीँ पनि पाउन मुस्किल हुन्छ”, उहाँले भन्नुभयो ।

फ्याक्टर नामक सुईको मूल्य महँगो छ । तर, सरकारले अहिले निःशुल्क गरेको छ । लुम्बिनी प्रदेश सरकारले निःशुल्क गरे पनि औषधि आपूर्ति सहज छैन । सरकारले हेमोफिलियाका बिरामीलाई खासै चासो नदिएको उहाँले गुनासो गर्नुभयो ।

हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल बाँकेमा पाइन्छ । दाङको तुलसीपुरमा मात्र छजना हेमोफिलियाका बिरामी हुनुहुन्छ । तुलसीपुर उपमहानगरपालिकाले हेमोफिलियाका बिरामीलाई सुई लगाउन बुटवल जाँदा सहज होस् भनी बर्सेनि आर्थिक सहयोग गर्ने गरेको छ । चालु आर्थिक वर्षमा मात्र पनि प्रतिबिरामी रु १५ हजारका दरले आर्थिक सहयोग गरेको उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले बताउनुभयो ।

के हो हेमोफिलिया ?

हेमोफिलिया रगतसम्बन्धी आनुवंशिक रोग हो । प्रोटिनको कमीबाट हुने यो रोग लागेपछि शरीरमा चोट लाग्दा या छाला काट्दा रगत नजम्ने समस्या हुन्छ । जसका कारण शरीरबाट रगत धैरै बग्छ । यसैले यो रोगबाट बिरामीको मृत्युसमेत हुनसक्ने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन महाशाखा प्रमुख ओमपी न्यौपानेले बताउनुभयो । “यो रोगको पूर्ण उपचार छैन । कुनै ठूलो चोट या दुर्घटनाका कारण हेमोफिलियाका रोगीको रगत बढी बग्ने सम्भावना भएकाले होसियार रहनुपर्छ”, उहाँले भन्नुभयो ।

यो रोग लागेका व्यक्तिको पिसाबमा रगत आउनु, गुदद्वारबाट रगत आउनु, सानो चोट लाग्दा पनि गहिरो घाउ हुनु, बिनाकारण शरीरमा घाउ हुनु, चोट लाग्दा धेरै रगत आउनु, बेलाबेलामा नाकबाट पनि रगत आउनु, जोर्नीमा पीडा हुनु, बच्चामा चिडचिडाहट हुनु, कयौँपटक आँखा धमिलो देखिनुजस्ता लक्षण हुन्छन् ।

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, २७ असारः पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३ गवै का ६८ वर्षीय पदमबहादुर रानामगरको आज मृत्यु भएको हो ।

मृतकसहित तीन जना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि आज बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

अपडेट : रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार

काठमाडौँ, २७ असार : माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् ।

यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी ८६२ जनाको उद्धार गरिएको छ । उनीहरूलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ पठाइएको उहाँले बताउनुभयो । अहिलेसम्म एक जनाको शव सनाखत भएको र अन्य शवहरूको सनाखत हुनसकेको छैन । कतिपयको चिन्न नसक्ने अवस्थाको र कतिपय मानव अङ्गमात्र फेला पारिएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको तर अरुको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन । शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

उक्त बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरूको खोजी अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ ।

उक्त बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । यस्तै २४ वटा कन्टेनर, छवटा ट्रक र ४२ वटा इभी गाडी बगाएको छ । धुन्चेबाट टिमुरे जाने सडकमा ठूलो क्षति पुगेको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ ।

यहाँ माथिलो जथाधार क्षेत्रमा रहेको हिमताल विष्फोटबाट बाढी आएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

काठमाडौँ, २७ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकता हुने भएको छ । पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले आज हस्ताक्षर गर्नुभएको हो ।

दुवै पार्टीका नेताले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा भनिएको छ, “राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी)मा एकताबद्ध हुने सहमति गरिएको हो ।”

आगामी साउन २ गते राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी एकताको घोषणा गर्नेगरी समझदारी भएको एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकताका लागि औपचारिक तथा अनौपचारिक छलफल गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिकाका मेयरको अर्को लोकप्रिय काम, पीसीएल नर्सिङ अध्ययन गर्न चाहने छोरीहरुलाई ५० प्रतिशत छात्रवृत्ति दिने

गोकर्णेश्वर नगरपालिकाले पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति दिने भएको छ । नगर छोरी नर्सिङ शिक्षा कार्यक्रम अन्तर्गत नगरपालिकाले पीसीएल नर्सिङ अध्ययन गर्न चाहने छोरीहरुलाई ५० प्रतिशत छात्रवृत्तिको घोषणा गरेको हो ।

गोकर्णेश्वरले गत वर्ष पनि नर्सिङ अध्ययनका लागि ११ जनालाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको थियो । नगरपालिकाले आफ्नो नगरमा स्थायी बसोबास गर्दै आएकाहरुलाईमात्र यो सुविधा दिएको नगर प्रमुख दीपक रिसालले जानकारी दिए । ‘हामीले नगरभित्र स्थायी रुपमा बसोबास गरी यहाँको मतदाताका छोराछारीका लागि मात्र यो सुविधा दिएका छौँ,’ उनले भने, ‘गत वर्ष छोरीलाई नर्सिङ अध्यापन गराउनका लागि कतिपय बाबुआमाले बसाईँसराई समेत गरेर आउनुभएको छ ।’

छोरीहरुलाई आत्मनिर्भर बनाउनका लागि नगरले नर्सिङ अध्ययनमा छात्रवृत्ति प्रदान गर्ने गरेको उनको भनाई छ । ‘छोरीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हामीले यो कार्यक्रम अघि बढाएका छौँ,’ उनले भने, ‘यो कार्यक्रमबाट हामीले गर्व गर्न लायक नर्सिङ जनशक्ति उत्पादन हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

यसवर्षबाट सीटीइभीटीले सबै कार्यक्रम मेरिटका आधारमा विद्यार्थी छनोट गर्ने भएकाले २० जनाको हाराहारीमा विद्यार्थीहरुले नर्सिङ छात्रवृत्ति पाउन सक्ने उनले बताए । ‘सिटिइभीटीको मेरिट लिष्टमा परेको र गोकर्णेश्वर नगरपालिकाको स्थायी बासिन्दा भएको जति जनालाई पनि हामी छात्रवृत्ति दिन तयार छौँ,’ नगर प्रमुख रिसालले भने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति शुक्रबार सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नीति सार्वजनिक गरेका हुन् ।

देशका हिमाली क्षेत्रका ३४ जिल्ला र तीन सय १९ तहमा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको अवस्थामा अहिलेको चुनौतीसँग जुध्नका लागि भन्दै मन्त्री पौडेलले परिवर्तित समस्या समाधान गर्न नीति अघि बढाउने तयारी गरेका थिए । सोहीअनुसार गत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पौडेलको प्रस्ताव पारित भएपछि नयाँ नीति आएको हो ।

यसले २०७१ सालमा आएको जनसंख्या नीतिपछि देखिएका जनसंख्या चुनौती समाधान तथा बढिरहेको युवा जनसंख्याबाट लाभ लिने विषय समेटेको छ ।
नीतिले हाल घटिरहेको प्रजनन दरलाई एक दशमलव ९४ बाट जनसंख्या वृद्धिदर सहज अवस्थामा पुर्याउन २ दशमलव १ प्रतिशतमा पुर्याउने लक्ष्य राखेको छ । साथै हाल उच्च रहेको १५ देखि ५९ वर्ष उमेर समूहको ६१ दशमलव ९ प्रतिशत जनसंख्याबाट अर्थतन्त्रले लाभ लिने परिकल्पना गरेको छ ।

जनसंख्याको अहिलेको अवस्थाका आधारमा योजना बनाउन आवश्यक रहेको र यसका लागि तीनै तहबीच समन्वय गर्नका लागि नीतिले जोड दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षतामा राष्ट्रिय जनसंख्या निर्देशन तथा समन्वय समितिको परिकल्पना गरेको नीतिले तीनै तहका समस्या सम्बोधन गर्न व्यवस्थापन मार्गदर्शन जारी गर्ने लक्ष्य लिएको छ ।

विकास योजनाहरु बने पनि उपभोग हुन नसकेको अवस्थालाई सम्बोधन गर्न नीतिले यस्ता पूर्वाधार बनाउँदा जनसंख्याको प्रभाव मूल्यांकन गर्ने लक्ष्य लिएको छ । साथै, जनसंख्याका सबै खालको तथ्यांक तीनै तहबीच एकीकृत प्रतिवेदन बन्ने प्रणालीका साथै व्यक्तिगत जनसंंख्या विवरण प्रणालीमा आबद्ध गरी सरकारका अंगहरुले एकीकृत रुपमा प्राप्त गर्न सक्ने लक्ष्य नीतिले राखेको छ ।

साथै, नागरिकको स्वास्थ्य पहुँच अभिवृद्धिका लागि स्वास्थ्य बीमामार्फत सबै नागरिकको पहुँच पुर्याएर स्वास्थ्य उपचारमा आर्थिक सहायता प्रदान गर्ने लक्ष्य नीतिले लिएको छ । नीतिको कार्यान्वयनले समृद्ध देश निर्माणको लक्ष्य प्राप्तिका लागि युवा परिचालनबाट जनसांख्यिक लाभ हुने अपेक्षा मन्त्रालयको छ । आन्तरिक बसाईंसराइ व्यवस्थि तगर्ने तथा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव क्षमताको उपयोग गरेर मर्यादित र सम्मानित जीवनको लक्ष्य प्राप्त हुने परिकल्पना नीतिले गरेको छ ।

यसका लागि अहिलेको शिक्षा प्रणालीमा परिमार्जन गर्दै उद्यमशील सीपयुक्त शिक्षामा जोड दिइएको छ । साथै, विदेश गएका र फर्किएका आप्रवाशी जनशक्तिलाई उपभोग गर्ने गरी योजना तथा कार्यक्रम निर्माण गर्ने विषय नीतिले समेटेको छ ।
राज्यबाट प्रदान गर्ने सार्वजनिक सेवा राष्ट्रिय परिचय पत्रमा आवद्ध भएमा यसले नागरिकलाई सहजता र राज्यलाई सेवा र आवश्यकता तथा उपभोगको तथ्यांक दिने अपेक्षा नीतिले लिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको जनसंख्या चुनौती सम्बोधन गर्न सरकार गम्भीर रहेको भन्दै नागरिकबाट साथको अपेक्षा गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनसंख्यामैत्री सरकार निर्माण गर्न चाहेकाले मानिसको संख्या मात्र नभै उनीहरुका चाहनालाई समेत सम्बोधन गर्ने गरी का मगर्न नीति ल्याएको बताए ।

उनले सरकार जनसांख्यिक लाभ लिन र कम भएका क्षेत्रको समस्या सम्बोधन गर्न समन्वय गर्न तयार रहेको भन्दै तीनै सरकारसँग मिलेर युवाको परिचालनबाट देशलाई समृद्ध पार्न का मगर्ने प्रतिबद्धता जनाए ।‘नीतिले सरकारको प्राथमिकता अहिलेको समस्या सम्बोधन र अवसरबाट लाभ लिने भएको पुष्टि गरेको छ,’ उनले भने,‘यसको कार्यान्वयनमा तीनै तहका सरकार र सबैको साथ अपेक्षा गरेका छौं ।’

नयाँ–पूराना गाडी किनबेचदेखि क्याफसहितको सुविधा भएको ‘सि–कार’ सञ्चालनमा

काठमाडौं । सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । विहीबार काठमाडौंमा नेपालकै पहिलो यस प्रकारको स्वरुप सञ्चालनमा आएको हो ।

नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको साथै, एस्सेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुबिधा एकै स्थानमा उपलब्ध गर्न सकिन्छ । सबै प्रकारको ग्राहकलाई हेरेर यो स्वरुपको स्थापना गरिएको सि कारका संस्थापक रोशन घिमिरेले बताएका छन् ।
उनले भने, ‘सि कार भनेको गाडी किनबेचको नयाँ ठेगाना भनेर बुझ्दा हुन्छ । अटो क्षेत्रमा रहेका सम्पूर्ण स्टेक होल्डरहरु जस्तो– क्रेता विक्रेता, वर्कसप, बिमा कम्पनी सबैलाई हुने गरेर एउटा स्थान बनाएका छौ । सि कारभित्र आएपछि एउटै छानामुनि नयाँ र पुराना गाडी किनबेच, चार्जिङको सुविधा, एस्सेसरिज र क्याफेलगायत धेरै सुविधा यहाँ प्रदान गर्दै छौ ।’

उनले नेपालको सन्दर्भमा एउटा नयाँ काम गर्ने प्रयास गरेको भन्दै आवश्यकता अनुसार उनीहरुलाई सुविधा दिने हिसाबले सबै कामहरु गरेक बताए । उनले भने, ‘गाडीको मर्मत गर्नको लागि पनि वर्कसपहरु छन्, कसैलाई चलाउन डर लाग्छ भने उहाँको लागि चालकको व्यवस्था पनि गरेका छौ । यो नेपालको सन्दर्भमा एउटा नयाँ प्रयास पनि हो । ग्राहकको आवश्यकता अनुसार उहाँहरुलाई सुविधा दिने हिसाबले सबै कामहरु गरेका छौ ।’

उनका अनुसार मोबाइल चार्जिङको सेवा भन्नाले बाटोमै चार्ज गर्न सक्ने खालको क्षमता भएको इलेक्ट्रिक गाडीको पनि व्यवस्था गर्ने प्रयास भइरहेको छ । १० करोडको लगानीमा चार रोपनी क्षेत्रमा फैलिएको सि कारमा करिब ५० जनाले रोजगारी पाएका छन् र यस्तो खालको व्यवसायलाई नेपालको १४ वटा जिल्लाहरुमा विस्तार गर्ने योजना पनि रहेको छ ।

उनले भने, ‘सि कारलाई काठमाडौं बाहिर बिस्तार गर्ने विषयमा हामीले आउने आर्थिक वर्षमा तीनवटा ठाँउहरुमा यसको स्थापना गर्न छनोट गरिसकेका छौ भने त्यो तीनवटा मोडलको सफलता असफता, प्रगती हेरेर आउने समयमा अरु क्षेत्रमा कसरी अगाडि बढ्ने भनेर निर्धारण गर्छौ ।’

अटो मोबाइल क्षेत्रमा दर्ता गर्ने हिसाबले चुनौतीपूर्ण नभएपनि लगानी, बजारमा भएको अस्वस्थ प्रतिस्पर्धा, धेरै मात्रामा प्रतिस्पर्धी र आर्थिक मन्दिका कारण केही चुनौतीहरु भएको पनि उनको भनाइ छ ।

साथै, यो क्षेत्रलाई आवश्यक भएको दक्ष जनशक्तिको कमि हुनुपनि प्रमुख चुनौतीको रुपमा देखा परेको पनि उनको भनाइ छ ।
उनले भने, ‘अटो मोबाइल क्षेत्रमा गाडी किनबेच गर्ने कुरा दर्ता गर्ने हिसाबले चुनौती पूर्ण छैन् । तर पनि लगानीको हिसाबले बजारमा भएको अस्वस्थ प्रतिस्पर्धा र धेरै मात्रामा प्रतिस्पर्धीहरु भएको हुनाले र आर्थिक रुपमा पनि मन्दि भएको कारणले केही चुनौतीहरु छ । अर्को चुनौती भनेको दक्ष जनशक्तिको कमि पनि हो । यो क्षेत्रमा जुन किसिमको सिप र दक्षता हामीलाई चाहिन्छ त्यो सिप नेपालमा अभाव नै छ ।’

उनले सरकारले यो क्षेत्रको विस्तारको लागि गर्नुपर्ने प्रमुख कार्य नीतिगत रुपमा सहजिकरणको साथै आयातको क्षेत्रमा देखा परेको चुनौतीहरुलाई सम्बोधन गर्नु रहेको पनि उल्लेख गरेको छ ।

कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको विवाइडीको नयाँ शोरुमले ग्राहकलाई सहज हुनेछ । साथै सि–कारमा विभिन्न ब्राण्डका सेकेन्ड ह्यान्ड सवारी साधन पनि उपलब्ध हुनेछन् ।

शुभारम्भका अवसरमा महानायक राजेश हमालले सवारी साधन सम्बन्धी एकै थलोमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने भएकाले लाभदायी भएको प्रतिक्रिया दिए ।

ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्सचेञ्जका पनि सुविधा पाउनेछन् । कम्पनीले सवारी खरिदबिक्रीका साथै सि–कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ ९१५० भन्दा बढी विद्युतीय सवारी चार्ज गर्न सकिनेछ ।
कम्पनीले यसका लागि दु्रत गतिमा चार्ज हुने सुविधा ल्याएको छ । ग्राहकले सि–कार परिसरमै रहेको इटालियन रेस्टुरेन्टको मज्जा लिन सक्नेछन् । त्यति मात्रै होइन, सि–कारमा सवारी साधनका स्पेयर पार्टस् पनि सुलभ मूल्यमै उपलब्ध हुनेछन् ।
कम्पनीले ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्मको प्राविधिक रुपमा सम्पूर्ण जिम्मेवारी लिनेछन् ।
साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले बिलबुक निस्शुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सि–कारमार्फत सवारीको बीमा गर्नेले बिलबुक नवीकरणको पनि सुविधा पाउनेछन् । जसका लागि उनीहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।
कम्पनीले ग्राहकहरुलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ । विभिन्न वर्गीकरणका सदस्यता योजनामा सि–कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुन्छ भने विभिन्न सेवामा आकर्षक छुट पनि पाउने कम्पनीको भनाइ छ ।

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी, २७ असार : कालीगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ । त्यो क्रम रोकिएको छैन । अवरुद्ध सडक खोल्न प्रहरीचौकी भुर्तुङबाट प्रहरी टोली परिचालन भएको तर तत्काल पहिरो पन्छाउन असम्भव भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई बाढी र पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २७ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५७, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३९, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ७५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ५५, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु ३० र मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८५, भटमास कोसा प्रतिकिलो रु १४०, तीतो करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३०, परबर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४५, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकिलो रु १५०, तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १८०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ९०, सजिवन प्रतिकिलो रु १६०, रातो बन्दा प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु ११०, पार्सले प्रतिकिलो रु १२००, पुदिना प्रतिकिलो रु १८०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १४५, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु १००, आँप (दशहरी) प्रतिकिलो रु १२०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ६५, काँक्रो (हाइब्रिट) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ४५, नास्पाती (लोकल) प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (भारतीय) प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ३५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी हरियो अकबरे प्रतिकिलो रु २१०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ११०, हरियो धनियाँ प्रतिकिलो रु ३२०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

लामो समयदेखि बस्न नसकेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै

काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी कार्यपालिका बैठक बस्न लागेको हो ।

महानगरको लामो समयदेखि कार्यपालिको बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।

महानगरका अनुसार शुक्रबार बिहान ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ भने त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्नेछ भने सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने छ ।

आज विश्व जनसङ्ख्या दिवस

काठमाडौँ, २७ असारः आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ ।

राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ ।

जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ ।

जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ । विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ ।

राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले चौध देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षणअनुसार प्रजनन उमेरका अधिकांश वयस्कले इच्छाअनुसार बच्चा नजन्माउनुको कारण बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षतिलाई मानिएको छ ।

यो दिवसका अवसरमा मन्तव्य व्यक्त गर्दै महासचिव एन्टोनियो गुटरेसले निष्पक्ष, शान्तिपूर्ण र आशाले भरिएको विश्व निर्माण गर्न युवालाई साथ दिनुपर्नेमा जोड दिनुभएको छ ।

आज जारी गर्नुभएको सन्देशमा उहाँले दिगो विकास, शान्ति र मानव प्रतिष्ठाका लागि उनीहरुका अधिकारको समर्थन आवश्यक भएको बताउनुभएको छ । युवाले चाहेको परिवार सिर्जना गर्न उनीहरुलाई सशक्त बनाउने यो वर्षको जनसङ्ख्या दिवसको नारा हो ।

कांग्रेसद्वारा निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई कारबाही

काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने २६ नेता तथा कार्यकर्तालाई सचेत गराएको छ ।

पार्टीको केन्द्रीय अनुशासन समितिको यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भनी प्राप्त हुनआएका उजुरीका आधारमा सचेत गराएको हो ।

समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार समितिले कैलालीमा दुई, डोल्पामा १०, सल्यानमा ११, दैलेखमा एक, खोटाङमा एक र धनुषामा एक गरी २६ जना पार्टीका नेता तथा कार्यकर्तालाई अब उप्रान्त पार्टी हितविरुद्ध काम नगर्न सचेत गराउने निर्णय गरेको हो । साथै प्राप्त अनुशासन कारबाही सम्बन्धित उजुरीहरू छानबिनकै क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

कांग्रेसले २०७९ सालमा सम्पन्न तीनै तहको निर्वाचनमा पार्टीका उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारका विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकका सन्दर्भमा पार्टीको विधानअनुसार स्वतः निष्काशन गरेको थियो । ती कारबाही परेकाको हकमा तोकिएको प्रक्रिया पुर्याई आफूहरूउपर हुने कारबाही फुकुवाका लागि प्राप्त भएका पुनरावेदनका हकमा समितिले आवश्यक निर्णयका लागि पार्टीको केन्द्रीय कार्यसमितिको यही असार २२ गतेको बैठकमा पेस गरेको थियो ।

त्यस्ता प्राप्त भएका सम्पूर्ण निवेदनहरूलाई आवश्यक कारबाहीका लागि कोशी प्रदेशबाट १७, मधेस प्रदेशबाट २३, बागमती प्रदेशबाट चार, गण्डकी प्रदेशबाट तीन, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट चार र सुदूरपश्चिम प्रदेशबाट एक गरी ८८ जनाको निवेदन रहेको पार्टी कार्यालयले जनाएको छ ।

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर – मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बसेको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले पर्साको वीरगञ्जसहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । खानेपानी सङ्कट समाधानमा आवश्यक सहयोग गर्न सङ्घीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्करसहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।

‘आयोडिनयुक्त नुन ऐन’ परिमार्जन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको हिजोको बैठकले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५’ लाई हालको सन्दर्भअनुसार यथाशीघ्र परिमार्जन गरी कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समिति सभापति अब्दुल खाँनले ऐन बनेको लामो समयपछि कार्यान्वयनमा ल्याउँदा त्यसको सान्दर्भिकता परिवर्तन भएको बताउँदै ऐनमा नुनको सहज र सर्वसुलभ आपूर्ति सुनिश्चित गर्न आवश्यक सबैपक्ष नसमेटिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो ऐनले विगतमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भइरहेको आयोडिनयुक्त नुनको आपूर्ति, ढुवानी र वितरणलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा राखेको छ । तर मन्त्रालयहरूबीच कार्यविभाजन अस्पष्ट भएकाले ऐन परिमार्जन आवश्यक देखिएको छ ।”

बैठकले ‘आयोडिनयुक्त नुन ऐन’ समयसापेक्ष बनाई संशोधन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

नुनको कारोबारमा निजी क्षेत्र एवं अन्य निकायलाई खुला गर्दा नुनको आपूर्ति शृङ्खला, गुणस्तरीयता, मूल्य तथा दुर्गम क्षेत्रका नागरिकका लागि नुनको उपलब्धतामा पर्नसक्ने असरबारे विस्तृत अध्ययन गर्नुपर्ने समितिले निष्कर्ष निकालेको छ ।

विसं २०५५ मै उक्त ऐन बने पनि त्यसयताका सरकारहरुले राजपत्रमा सूचना प्रकाशन नगर्दा ऐन कानुनी रुपमा कार्यान्वयन भएको थिएन । सरकारले गत वैशाख २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै ‘आयोडिनयुक्त नून (उत्पादन तथा विक्री वितरण) ऐन, २०५५’ लाई आगामी साउन १ गतेदेखि लागू हुने निर्णय गरिसकेको छ ।

ऐनको समयमानुकूल परिमार्जन नहुँदासम्म नुनको आपूर्ति, ढुवानी तथा बिक्री वितरणसम्बन्धी व्यवस्था साविकबमोजिम नै हुने गरी आवश्यक व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मान्त्रालयलाई निर्देशन गर्ने सभापति खांनले बताउनुभयो ।

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

ढोरपाटन (बागलुङ), २७ असार : एक वर्ष अगाडि नै सञ्चालनमा आउने भनिएको एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको निर्माणकार्य अझै सम्पन्न भएको छैन । बागलुङको बडिगाड गाउँपालिका–५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो ।

छ वर्ष अगाडि निर्माण सुरू भएको सबस्टेशन हालसम्म ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । एक वर्षदेखि स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको थियो । गत वर्ष असार ९ गते सर्वोच्चले रिट नै खारेज गरिदिएको थियो । अहिले टावर निर्माण सम्पन्न भए पनि तार तान्ने काममा अवरोध भएको आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो ।

पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्नका लागि कपिलवस्तुको मोतिपुरदेखि आयोजना सुरू भएको थियो । उक्त आयोजनाले अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास, पौँदी अमराई हुँदै बुर्तिबाङ जोड्ने एक सय ३२ केभीको सबस्टेशन २०७८ सालदेखि निर्माण सुरु भएको थियो । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सबस्टेशन निर्माण भएको छ ।

सबस्टेशनको काम सम्पन्न भए पनि लाइन तान्ने काम बाँकी हुँदा आयोजना समयमै सम्पन्न गर्न नकिएको प्रमुख चौधरीको भनाइ छ । स्थानीयले काममा अवरोध नगरेको भए गत वर्ष असार मसान्तमै विद्युत् सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन २०७८ साल चैत १२ गते परीक्षण गरी सञ्चालन गरिएको र गुल्मी तम्घासको सबस्टेशन अघिल्लो वर्ष असार ७ गतेदेखि सञ्चालनमा आएको प्रमुख चौधरीले जानकारी दिनुभयो । बुर्तिबाङ सबस्टेशन सञ्चालनमा आउनका लागि अब पौँदी अमराईबाट बुर्तिबाङसम्मको १८ किलोमिटर तार तान्न बाँकी रहेको उहाँको भनाइ छ ।

सबस्टेशन निर्माणका लागि छ वर्ष अगाडि ठेक्का प्रक्रिया गरी ४० करोडमा मुडभरी/जोशी/गौरा जेभीले जिम्मा लिएको थियो भने लाइन विस्तारका लागि करिब रु ८३ करोडको लागतमा सिक्माकोन/एमएसपील जेभीलाई जिम्मा दिइएको थियो । कपिलवस्तुबाट बुर्तिबाङ ८६ किलोमिटर दूरी रहेको छ । यहाँ डबल सर्किटको तार विस्तार हुने छ ।

“हामीहरूले अघिल्लो वर्ष नै काम सम्पन्न गरेर विद्युत् सेवा प्रवाह गर्ने गरी काम गरेका थियौँ, सबै काम सकिएको थियो, जम्मा १८ किलोमिटर लाइन तान्न मात्र बाँकी छ”, आयोजना प्रमुख चौधरीले भन्नुभयो, “यो अवरोध हटाउनका लागि स्थानीयसँग समय–समयमा छलफल भएको छ, विवाद समाधान भयो र काम सुरू भयो भने सकिनका लागि धेरै समय लाग्दैन ।”

चौधरीले आयोजना सम्पन्न गर्ने म्याद अघिल्लो वर्षमा माघ २८ गते सकिएको र छ महिना थप गरेको भन्दै अवरोध नहट्दा निर्माण कम्पनीले काम गर्न नसकेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले प्रसारण लाइनबाट प्रभावित बनेका स्थानीयलाई मुअब्जा दिलाउनका लागि कार्यदल गठन भएको जानकारी दिनुभयो । स्थानीयले मुअब्जा पाएपछि समस्या समाधान हुने उहाँको भनाइ छ । कार्यदलले प्रतिवेदन पेस गरेर मुअब्जा वितरण भएपछि काम अगाडि बढ्ने गुरुङले बताउनुभयो ।

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासड

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।

बिहीबार काठमाडौंको हिमालय होटलमा आयोजित एक समारोहमा कपडाको ब्राण्ड ‘डेनिम एण्ड डेभिल्स’ र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । उनी ३ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् ।

ब्रान्ड एम्बेसडरको हस्ताक्षर समारोहमा बोल्दै सन्दीपले कम्पनीको परिवारको सदस्यजस्तै भएको बताए ।‘यो ब्रान्डको सुरुवाती दिनहरुदेखी यहाँसम्म आउदा आफूलाई पनि एकदमै गर्व लाग्छ कि यो ब्रान्डसँग म सुरुदेखि नै थिए । आज यो ब्रान्ड यहाँसम्म पुग्दा आफ्नो परिवारले नै सफलता पाएको महसुस गरेको छु,’ उनले भने ।

चालीस किलो गाँजासहित पाँच जना पक्राउ

काठमाडौँ, २७ असार : नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ, काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले रु एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ । उनीहरूले काठमाडौँ कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको प्रहरीको भनाइ छ ।

चोरी तथा डाँका मुद्दामा संलग्न दुई जना पक्राउ

नेपाल प्रहरीले चोरी तथा डाँका मुद्दामा संलग्न दुई जनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीका अनुसार २०८१ चैत २९ गते पोखराको अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाले घाँटीमा लगाएको दुई तोलाको सुनको सिक्री पोखरा महानगरपालिका–१० शिवचोकबाट उनीहरूले लुटपाट गरेका थिए । सो अभियोगमा काभ्रेपलाञ्चोक बेथानचोकका अञ्जन तामाङ र काठमाडौँ गोकर्णेश्वरका सुरेश तामाङलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ गोकर्णेश्वर–४ बाट पक्राउ गरी थप कारबाहीका लागि जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २७ असार : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २० पैसा र बिक्रीदर चार रुपैयाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४७ पैसा र बिक्रीदर २१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ५० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ७० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन,आवतजावतमा समस्या

वीरगञ्ज (पर्सा), २७ असारः सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा भएको छैन । विभागले भनिएको ‘स्टिल बेलिब्रिज’को बोलपत्र रद्द गरेको छ । विसं २०८१ को वर्षायाममा बाढीले पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगर बहुदरमाई नगरपलिकाको सिमानामा रहेको तिलाबे पुलमा क्षति हुँदा आवतजावतमा समस्या भएको छ ।

बाढीले तिलाबे पुलको फाउण्डेसनसँगै रहेको पिलरमा क्षति भएपछि पुल जोखिममा छ । हाल पुलबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यहाँको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट तिलाबे खोलामा स्टिल बेलिब्रिज उपलब्ध हुन नसकेपछि सडक ‘एप्रोच’ र जडानका लागि आह्वान गरिएको ठेक्का रद्द भएको जानकारी दिनुभयो ।

“यसअघि सडक विभागले चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी बेलिब्रिज जडान र एप्रोच सडक निर्माणका लागि रु तीन करोड ३० लाखको ठेक्का आह्वान गरेको थियो”, उहाँले भन्नुभयो, “एक साताभित्रै स्टिल बेलिब्रिज जडान गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो । तर, वर्षायाम सुरु भइसकेकाले काम रोकिएको हो ।”

कार्यालय प्रमुख पटेलले आव सुरु हुने बित्तिकै तिलाबे पुलको सडक एप्रोच र बेलिब्रिज जडानको बोलपत्र पुनः आह्वानको प्रक्रिया अघि बढाइने जानकारी प्राप्त भएको बताउनुभयो ।

पर्वतीय क्षेत्रमा बढ्दै जोखिम, हिमताल विस्फोटको खतरा

काठमाडौँ, २७ असार : गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो । बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना नागरिक बेपत्ता छन् भने सात जनाको मृत्यु भएको छ । तीस मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको छभने मितेरी पुल बगाएको छ । एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बाढीसँगै बगेर गयो भने चीनसँगको व्यापार अवरुद्ध भएको छ ।

जल तथा मौसम विज्ञान विभाग हिमताल विस्फोटबाटै बाढी आएको प्रारम्भिक निष्कर्षमा पुगेको छ । विभागका बाढीविज्ञ विनोद पराजुलीले सुप्राग्लेसियर ताल फुट्दा बाढी आएको भन्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।

“रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहबाट करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्छ । हिमनदीको करिब बीच भागमा विकास भएको सुप्राग्लेसियर ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ”, उहाँले भन्नुभयो, “अहिले उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटरमात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिकोे तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । अध्ययनले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलका क्षेत्रमा परेको देखिएको छ ।”

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वैज्ञानिकहरूले पनि चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको ‘सुप्राग्लेसियर ताल’ फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् । गत साउन ३२ गते दिउँसो १ः३० बजेतिर सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहित आएको बाढीको घटना नसेलाउँदै फेरि रसुवामा आएको बाढीले त्रास फैलाएको छ । थामेमा पनि स्थानीयले यसरी एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले बगरमा परिणत भएको थामेको दृश्यले जोकोहीको मन पनि भक्कानिन्छ अझैसम्म ।

हालैका यी घटना (रसुवाको बाढी र सगरमाथाको थामे क्षेत्रको विस्फोट) नयाँ बनेका साना, सुप्राग्लेसियर तालहरूबाट भएको इसिमोडले पुष्टि गरिसकेको छ । इसिमोडले १९८५ देखि हिमनदी, हिमताल र त्यसमाथिको विपद् अनुगमन गर्दै आएको छ । त्यसबेला सोलुखुम्बुस्थित खुम्बुमा डिजछो ताल फुट्दा जलविद्युत् आयोजना बगाएर झण्डै ३० लाख अमेरिकी डलर बराबरको क्षति भएको थियो । त्यसपछि इसिमोडले उक्त घटनाको मूल्याङ्कन गर्नुका साथै मेलम्ची, वीरेन्द्र ताल, हुम्ला र भारतको सिक्किमस्थित चामोली, दक्षिण लोनाकमा आएका विपद्को समेत अध्ययन गरेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले जलवायु परिवर्तनका कारण हिउँ पग्लिनु, हिमताल विस्फोट हुनुजस्ता शृङ्खलाबद्ध असरको सुरुआत भएको भन्दै यसको ठूलो क्षति तल्लो क्षेत्रमा पर्न जाने बताउनुभयो । “हालको हिमताल विस्फोटबाट अझ सतर्क हुनुपर्ने र तापक्रम वृद्धिका आधारमा समयमै पूर्वसूचनाका प्रणाली अपनाउन अत्यावश्यक देखिएको छ”, उहाँले भन्नुभयो ।

सुप्राग्लेसियर ताल

इसिमोडका अनुसार सुप्राग्लेसियर ताल हिमनदीको सतहमा बन्ने, विशेषगरी ढुङ्गामाटोले ढाकिएका क्षेत्रमा देखिने जलासय हुन् । यी ताल अस्थायी र गतिशील हुने र सानो पानीको पोखरीका रूपमा सुरु भएर ठूलो तालमा परिणत हुन सक्छन् । उपग्रहबाट यस्ता ताल देख्न गाह्रो हुन्छ । विशेषगरी ल्यान्डसेट र सेन्टिनेल टुजस्ता माध्यमबाट ताल देख्न सकिन्छ । डिसेम्बर २०२४ मा देखिएको उक्त ताल सानो पोखरी थियो । जुन २०२५ को जुनमा तीव्र रूपमा फैलिएको हो ।

तापमान वृद्धिको कारण

हिमतालविज्ञ शरद्प्रसाद जोशीले तापमान वृद्धिका कारण हिमनदीजन्य घटनामा वृद्धि भएको बताउनुभयो । “हिमनदी तालहरूको नक्साङ्कन र निरन्तर अनुगमन, खतरनाक तालहरूको सूचीलाई नियमित अद्यावधिक गर्न जरुरी रहेको छ । छोटो समय टिक्ने तालमा पनि अनुसन्धान गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हिमनदी पग्लनुको गति र ताल निर्माणको प्रक्रियालाई जोखिम मूल्याङ्कनमा समावेश गर्न आवश्यक छ ।”

उहाँका अनुसार छोटो अवधिमा उच्च तापमान वृद्धिका कारण बरफ खसाल्ने, पर्खाल भत्किने, चट्टान खस्ने, जमिन भासिने घटना निम्त्याउँछ । इसिमोडका अनुसार हालका घटनामा बाढीले गिट्टी, बालुवा, माटो र ठूला ढुङ्गा बोकेको देखिन्छ र जसले पानीमात्र भएको बाढीको तुलनामा धेरै क्षति पुर्याउँछ । हिमाली क्षेत्रमा हिउँको सट्टा वर्षा बढी हुँदा यस्ता घटना बढ्ने इसिमोडको निष्कर्ष छ ।

विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)द्वारा प्रकाशित २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गरेको छ । सन् २०२४ को गत जनवरीदेखि सप्टेम्बरमा औसत तापमान औद्योगिक क्रान्तिअघिभन्दा १.५४ (+०.१३ सेल्सियसले बढी भएको देखाएको छ । सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १.४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १.३ डिग्री सेल्सियस मानव सिर्जित रूपमा तापमान वृद्धि भएको अध्ययनले देखाएको छ ।

समुद्री तापक्रममा उल्लेखनीय वृद्धि भएको, बरफको कमी, ठूला आर्थिक र मानवीय क्षति भइरहेको डब्लुएमओले बताएको छ । सङ्गठनले २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रूपमा दर्ता गरेको छ । यसले जलवायु परिवर्तनको तीव्रगति र यसको असरलाई थप प्रस्ट्याएको छ ।

एलनिनो प्रभावले तापक्रम वृद्धि थप बढाएको सङ्गठनको निष्कर्ष छ । सङ्गठनको अध्ययनअनुसार समुद्री सहतमा पनि वृद्धि भई सन् २०१४ देखि २०२३ को अवधिमा वार्षिक ४.७७ मिमी बढेको छ । यसैगरी २०२३ मा ग्लेसियरले १.२ मिटर पानी बराबरको बरफ कम भएको र यो १९५३ पछि सबैभन्दा उच्च बरफ पग्लिएको घटना रहेको सङ्गठनको प्रतिवेदनमा उल्लेख छ ।

इसिमोडको अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ ।

बढ्दो हिमनदीजन्य विपद्

इसिमोडका विज्ञहरू नै हिमनदीजन्य विपद्को आवृत्ति देखेर चकित भएको बताउँछन् । इसिमोडका विपद् जोखिम न्यूनीकरण प्रमुख सास्वत सन्यालले सन् २००० को दशकमा यस्ता घटना हिन्दूकुश–हिमालय क्षेत्रमा ५ देखि १० वर्षमा एकपटक हुने अपेक्षा गरिए पनि पछिल्लो समय बढ्दै गएको बताउनुहुन्छ । “तर २०२५ को मे र जुन दुई महिनामा मात्र हिमनदीजन्य बाढी तीनवटा देशमा (नेपालको हुम्लास्थित लिमी, अफगानिस्तानको एन्डोराब उपत्यका, पाकिस्तानको चित्राल÷हुनजा)आएको छ”, उहाँले भन्नुभयो । सोमबार (असार २४) नेपालमा मात्र दुईवटा बाढी, रसुवा र माथिल्लो मुस्ताङमा देखापरका थिए । अध्ययनले २१औँ शताब्दीको अन्त्यसम्ममा हिमनदी विस्फोटको जोखिम तीन गुणा बढ्ने अनुमान गरेको छ ।

“यी घटना तीव्र रूपमा बढिरहेका छन्, जुन हिन्दूकुश–हिमालय क्षेत्रमा पहिले कहिल्यै देखिएको थिएन । हामीले यस्ता शृङ्खलाबद्ध विपद्को कारणलाई अझ गहन रूपमा बुझ्न आवश्यक छ”, सन्यालले भन्नुभयो, “लुकेका तालहरूले अहिले पनि ठूलो विनाश गरिरहेका छन् ।”

पूर्वसूचना प्रणालीको अभाव

जल तथा मौसम विज्ञान विभागका अनुसार हालसम्म इम्जा र छो–रोल्पाबाहेक अरू साना तालमा पूर्वसूचना प्रणाली छैन । “हामी यस्तो विशाल हिमाली क्षेत्रको कुरा गर्दैछौँ जहाँ जताततै यस्ता तालहरू बन्न सक्छन् । यति छिटोछिटो हुने परिवर्तनलाई समेट्ने प्रविधि र डाटा प्रणाली अहिलेसम्म विकसित भइसकेको छैन”, इसिमोडका जलवायु तथा वातावरणीय जोखिमविद् च्याङ्गो झाङले भन्नुभयो ।

जोखिम घटाउन जुटेको लगानी

हरित जलवायु कोष (जिसएफ)बाट नेपालले जोखिममा रहेका चारवटा हिमतालको सतह घटाउनका लागि करिब रु पाँच अर्बको अनुदान पाउने निश्चित भएको छ । केही दिनअघि पपुआ निउगिनीको राजधानी पोर्ट मोरिस्बीमा बसेको ४२औँ बोर्ड बैठकले नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो र हिमताल विष्फोटको जोखिमबाट धनजनको रक्षा’ शीर्षकको परियोजना स्वीकृत भएसँगै अब जोखिममा रहेका चार हिमतालको जोखिम न्यूनीकरण गर्न लागत व्यवस्थापन भएको हो ।

अतिकम विकसित मुलुकहरूको समूह (एलडिसी)को तर्फबाट जिसिएफको वैकल्पिक बोर्ड सदस्यसमेत रहनुभएका वन तथा तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखाका निवर्तमान प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले परियोजनाको कार्यान्वयनबाट हिमताल विष्फोटको जोखिम घटाएर नेपाललाई हुनसक्ने सम्भावित क्षति कम गर्न सकिने बताउनुभयो ।

नेपालको राष्ट्रिय अनुकूलन योजनामा समेत गम्भीरतापूर्वक राखिएको हिमताल विष्फोटको जोखिममा यस्ता दर्जनौँ अरू परियोजनाको खाँचो रहेको उहाँको भनाई छ । यस परियोजनमा नेपाल सरकार, युएनडिपी, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घले एक करोड ३८ लाख अमेरिकी डलर अर्थात् करिब रु दुई अर्ब सहलगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो परियोजना सरकारको तर्फबाट कोषको सम्बन्धनप्राप्त निकायका रूपमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले पेस गरेको हो । नेपालले यसअघि सोलुखुम्बुको इम्जा तालमा ३.४ मिटर पानीको सतह घटाएर जोखिम न्यूनीकरण गरेको थियो ।

४७ वटा हिमतालको जोखिम

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइना’ शीर्षकको अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा अवस्थित ४७ वटा हिमताल फुट्न सक्ने बताएको छ ।

युएनडिपी र इसिमोडले संयुक्त रूपमा गरको उक्त अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा पर्ने ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ । यी हिमताल जुनसुकै बेला पनि फुट्न सक्ने र नेपालले ठूलो धनजनको क्षति व्यहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । उक्त अध्ययनअनुसार यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ ।

तिनीहरूमध्ये केही अत्यन्त संवेदनशील मानिएका छन्, जसले ठूलो मात्रामा जनधनको क्षति गराउने सम्भावना रहेको अध्ययानले देखाएको छ । प्रतिवेदनले जोखिममा रहेका हिमताल फुट्दा नेपालले विलियन डलरभन्दा बढी वित्तीय क्षति व्यहोर्नुपर्ने र ठूलो मानवीय क्षति पनि गर्न सक्ने उल्लेख गरेको छ । प्रतिवेदनले क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका कार्यक्रम तय गर्न पनि सुझाव दिएको छ ।

पर्वत जोगाउने पैरवी

हरेक वर्ष विभिन्न मुलुकमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको शिखर सम्मेलन (कोप) हुने गर्छ । कोपजस्ता अन्तरराष्ट्रिय मञ्चमा नेपालले जलवायुजन्य सङ्कटबाट नेपालका पर्वतीय क्षेत्रहरूलाई जोगाउन विश्व समुदायको सहयोग चाहिने भन्दै पैरवी गर्दै आइरहेको छ । जलवायु परिवर्तन गराउन नगन्य भूमिका खेले पनि हिउँ पग्लने, हिमताल विस्फोटजस्ता जलवायुजन्य घटनाले नेपाललाई ठूलो नोक्सान पुग्न सक्ने भन्दै विश्व समुदायको ध्यानाकर्षण गर्दै आइरहेको छ ।

यही जेठ पहिलो साता पनि नेपालले अन्तरराष्ट्रिय मञ्चमा जलवायु सङ्कटका उदाहरण प्रस्तुत गरेर जलवायु न्यायका लागि आवाज उठाउन सगरमाथा संवादको आयोजना गरेको थियो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले सगरमाथा संवादले उच्च भूभाग (हिमाली क्षेत्र) र तल्लो भूभाग (तराई, समुद्री सतह)बीचको सम्बन्ध–हिमदेखि समुद्र, माथिल्लो क्षेत्रबाट तल्लो क्षेत्रमा पर्ने प्रभावलाई क्षेत्रीय तहमा उठाएको बताउनुभयो । “संवादले जलवायु न्याय, मानवताको भावना र क्षेत्रीय तथा विश्वव्यापी सहकार्य अपनाउनुपर्ने एजेण्डा उठाएको थियो, हामीले पर्वत जोगाउने पैरवीस्वरूप संवाद आयोजना गरेका थियौँ”, उहाँले भन्नुभयो ।

वन विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयका प्रा डा राजेशकुमार राईले जलवायु परिवर्तनले नेपालजस्ता हिमाली देशहरूको अर्थतन्त्रमा गहिरो असर पारिरहेका भन्दै सगरमाथा संवादले जलवायु परिवर्तनका कारण हिमाली अर्थतन्त्रमा परेको असरलाई अन्तरराष्ट्रियकरण गरेको बताउनुभयो ।

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, २७ असार : सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
आजको बैठकमा सांसदहरू सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराउनुभएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।

यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ ।

त्यसैगरी, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।