`

माओवादी केन्द्रले यी ६ वटा पार्टीहरुसँग एकता गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित ६ वटा पार्टीहरुसँग एकताको प्रक्रिया चाँडै गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । शनिबार बसेको सचिवालय बैठकले एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने निर्णय गरेको उनले बताए ।

पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘ हाम्रो आजको बैठकको एजेण्डा पार्टी एकता थियो । पार्टी एकतामा वैचारिक, राजनैतिक, सैद्धान्तिक, नीतिगत कुराहरु करिव टुङ्गे लगाइसकेको छौँ । आज खासगरी प्राविधिक र सांगठानिक विषयमा छलफल केन्द्रित भएको छ । छलफल र पार्टी एकतामा आउने सम्भावनामा एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीसँग भएको छ र भर्खरै नेकपाबाट विद्रोह भएको चिरण सीसँग पनि कुराकानी भईरहेको छ ।’

उनले नेकपा समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सँगै ल्याउने प्रयास गरेको बताए ।उनले भने, ‘हामीले विप्लव सीको पार्टीलाई सँगै ल्याउने प्रयत्न गरेको हो, यता एकीकृत समाजवादी पार्टीलाई सोलेडोले ल्याउन प्रयत्न गरेको कुनै कसुर राखेको छैन । उहाँहरुको आफ्नो निर्णय निर्णायक हुन्छ । हाम्रो प्रयत्नले पुगेन ।’उनले अब एकता गर्न ढिलो गर्न नहुँने भन्दै ढिलो भए राष्ट्रिय राजनीतिमा पहल कदमी कमजोर हुने बताए ।

‘हामी आज के निश्कर्षमा पुग्यौं भने अब एकता गर्न ढिलो गर्नु हुँदैन । एकता ढिलो गरियो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहल कदमी कमजोर हुन्छ,’ उनले भने ।

काँग्रेस महामन्त्रीद्वयसँग प्रधानमन्त्री कार्कीले गरिन् चुनावी परामर्श

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । यसै सन्दर्भमा आज उनले नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी हुन् ।

दिउँसो ४ देखि ५ बजेकोबीचमा करिब एक घण्टा चलेको छलफलका क्रममा आगामी निर्वचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बताए ।

प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन् । त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, ‘औपचारिक निर्णय गर्न बाँकी भए तापनि नेपाली काँग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय पनि गर्छौँ। नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ।’

उनीहरूले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलहरूसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताए । जेनजीलगायत सबै राजनीतिक दलहरूसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसद्को पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उनीहरूले राखे।

प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी छिन् । आज पार्टीको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको छ। प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरक फरक दलका नेताहरूसँग छलफल गरेकी थिइन् । प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइसकेको छ।

माल्दिभ्समा धूमपान ‘पुस्ताको प्रतिबन्ध’ लागू: २००७ पछि जन्मिएका सबैलाई सुर्तीजन्य पदार्थ निषेध

एएफपी । माल्दिभ्स सरकारले शनिवारदेखि ऐतिहासिक कदम चाल्दै सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र आगन्तुकहरूमा सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र खरिदमा पूर्ण प्रतिबन्ध लागू गरेको छ । योसँगै “धूमपानमा पुस्तागत प्रतिबन्ध” औपचारिक रूपमा सुरु गरिएको मुलुकहरूमध्ये माल्दिभ्स विश्वकै पहिलो देश बनेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रपति मोहम्मद मुइजुले यस वर्षको सुरुआतमा घोषणा गरेको यो नीति नोभेम्बर १ देखि कार्यान्वयनमा आएको हो । मन्त्रालयले यसलाई ‘जनस्वास्थ्यको संरक्षण र सुर्तीजन्यमुक्त पुस्ता निर्माणतर्फको निर्णायक कदम’ भनेर व्याख्या गरेको छ ।

“नयाँ प्रावधान अन्तर्गत सन् २००७ जनवरी १ मा वा त्यसपछि जन्मिएका व्यक्तिहरूलाई माल्दिभ्सभित्र सुर्तीजन्य उत्पादन किन्न, प्रयोग गर्न वा बिक्री गर्न निषेध गरिएको छ”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “यो प्रतिबन्ध सबै प्रकारका सुर्तीजन्य पदार्थमा लागू हुनेछ र खुद्रा विक्रेताहरूले बिक्री अघि खरिदकर्ताको उमेर प्रमाणित गर्नुपर्नेछ ।”

यो कानूनले माल्दिभ्सको पर्यटनमैत्री छविमा नयाँ स्वास्थ्य सन्देश थपेको छ । करिब ८०० किलोमिटर (५०० माइल) फैलिएको र एक हजार १९१ साना कोरल टापुहरू मिलेर बनेको यस द्वीप राष्ट्रमा प्रवेश गर्ने पर्यटकहरूसमेत सो प्रतिबन्धको दायरामा पर्नेछन् ।

स्वास्थ्य मन्त्रालयले इलेक्ट्रोनिक सिगरेट र भ्यापिङ उत्पादनहरूमा पनि पूर्ण निषेध लगाएको छ । यो प्रतिबन्ध उमेरका आधारमा नभई सबै व्यक्तिमा समान रूपमा लागू हुनेछ ।

नियम उल्लंगन गर्नेलाई कडा सजाय तोकिएको छ । १८ वर्षमुनिका व्यक्तिलाई सुर्तीजन्य वस्तु बेच्ने व्यापारीलाई ५० हजार माल्दिभ्सी रुफिया (झन्डै तीन हजार २०० अमेरिकी डलर) जरिवाना हुनेछ भने भ्याप उपकरण प्रयोग गर्नेलाई रु. पाँच हजार फिया (३२० अमेरिकी डलर) सम्मको जरिवाना हुनेछ ।

यो नीति बेलायतमा प्रस्तावित समान ‘पुस्तागत धूमपान प्रतिबन्ध’ भन्दा अघि लागू भएको हो । बेलायतमा सो प्रस्ताव अझै संसद् प्रक्रियामा छ भने यस्तो कानून लागू गर्ने पहिलो देश न्युजिल्यान्डले लागू भएको एक वर्ष पनि नपुग्दै सन् २०२३ नोभेम्बरमा आफ्नै प्रतिबन्ध खारेज गरेको थियो ।

माल्दिभ्सले भने सो नीति दीर्घकालीन स्वास्थ्य रणनीति र नयाँ पुस्तालाई सुर्तीजन्य जोखिमबाट जोगाउने ऐतिहासिक उपलब्धि भएको बताएको छ । स्वास्थ्य मन्त्रालयले भनेको छ, “हामी धूमपानमुक्त पुस्ता निर्माण गरेर स्वस्थ र सशक्त माल्दिभ्सतर्फ अग्रसर भएका छौँ ।”

सर्लाहीमा झरीका कारण धानबालीमा क्षति

सर्लाही । बेमौसमी वर्षाका कारण सर्लाहीमा भित्र्याउन ठिक्क पारेको धानमा क्षति पुगेको छ । जिल्लाको बरहथवा नगरपालिका–१४, हरिपूर्वा निवासी विन्देश्वर रायले बिहीबारदेखि परेको झरीका कारण धानबालीमा असर परेको बताए ।

‘एक विघा खेतको धान काटेर राखिएको थियो, बिहीबारदेखि परेको झरीका कारण क्षति पुगेको छ,’ उनले भने- ‘भिजेको धान केही दिनमै उम्रिन थाल्छ । केही त कुहिएर काम नलाग्ने भइसकेको छ ।’

लगातार परेको झरीका कारण आफूहरु समस्यामा परेको किसान विनोद यादवले सुनाए । ‘भित्र्याउने समयमा धानबालीमा पानीले क्षति गर्दा मन अमिलो बनेको छ’, उनले भने । यहाँका अधिकांश किसानले गत मङ्गलबार मात्रै धान काटेका थिए । केही दिन सुकाएर उठाउने तरखर गर्दागर्दै पानी पर्न थालेपछि समस्या भएको उनीहरुको भनाइ छ ।

केही समय अघि आएको बाढीका कारण पनि यहाँका किसान समस्यामा परेका थिए । पहिले बाढी र हावाले धान लडाएको थियो । अहिले परेको झरीले त्यसलाई डुबाएपछि अब धान काम नलाग्ने किसानको गुनासो छ ।

बोटमै रहेको धानमासमेत बाला झर्ने,पानीले जमिन गलेपछि धानको बोट लड्ने समस्या भएको बागमती नगरपालिका–११, का किसान यज्ञ धिमालले बताए । समयमै वर्षा नहुँदा बेलैमा धान रोप्न नपाएका किसान अहिले बेमौसमी पानीले मारमा परेको उनको भनाइ छ ।

जसोतसो उत्पादन भएको धान नाश हुने अवस्था आएको बागमती नगरपालिका कृषि शाखा प्राविधिक हिमाल शाहीको भनाइ छ । जिल्लाको अधिकांश स्थानमा परेको झरीले किसानले भित्र्याउन भनेर ठिक्क पारेको धानमा ठूला क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए ।

केन्द्रका अनुसार यसवर्ष जिल्लामा ८० प्रतिशतको हाराहारीमा मात्र धान रोपाइँ भएको थियो । त्यसमा पनि समय घर्किएर गरेको रोपाइँले धान उत्पादनमा गिरावट आउने उनको भनाइ थियो ।

जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्छ – भीम रावल

काठमाडौं । मातृभुमि जागरण अभियान नेपालका संयोजक भीम रावलले जेनजी पुस्ताले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने बताएका छन् । शनिबार देश बचाउ देश संमृद्व बनाउ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरुको रचनात्मक संवादमा बोल्दै उनले भष्ट्राचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले भनेकोे मैले सुनेको छु–हामी यो संविधानमा दाँयाबाँया गर्दैनौ । तपाई शल्यक्रिया कसरी गर्नुहुन्छ ? प्रौण पुस्ताको भएर भनिरहेको छु, यो संविधानको कयौ कुराहरु खारेज हुनुपर्छ ।’

उनले भ्रष्टाचारको जड नेताहरु मात्र नभई स्थानीय तहका तल्लो निकायसम्म महामारीको रुपमा फैलिएको बताए । उनले त्यसलाई निर्मूल पार्न उखेल्नलाई जेनजी अर्थात युवा पुस्ताले काम गर्नुपर्ने बताए ।

रविन्द्र मिश्र भन्छन् – हाम्रो पुस्ता नै ‘नेपालको इतिहासकै सबैभन्दा पापी पुस्ता’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नो छैटौं कृति ‘माथिको आदेश छ हिरासतमा कविता’ सार्वजनिक गरेका छन् ।शनिबार राजधानीमा आयोजित विशेष समारोहकाबीच उनले कृतिको लोकार्पण गर्दै देशको राजनीतिक, नैतिक र सामाजिक अवस्थामाथि कठोर टिप्पणी गरेका छन् ।

कृति लोकार्पण समारोहमा बोल्दै मिश्रले नेपाली राजनीतिप्रति जनताको विश्वास हराउँदै गएको उल्लेख गर्दै आफूहरुको पुस्ता नै ‘नेपालको इतिहासकै सबैभन्दा पापी पुस्ता’ भएको अभिव्यक्ति दिए ।

उनले भने, ‘राजनीतिकर्मीले भनेको कुरा अत्ति अविश्वासिलो हुन थालिसकेको छ । तर हामीले जेनजी पुस्ताको लागि देश बनाउन योगदान पु¥याउन सक्यौं भने अन्तिम श्वास आनन्दले फेर्न सकिनेछ । नत्र मैले आफ्नो पुस्तालाई सबैभन्दा पापी पुस्ता भन्ने गरेको छु ।’

मिश्रले विगतका पुस्ता अशिक्षित र विपन्न भए पनि नैतिकरूपमा शुद्ध रहेको भन्दै आफूहरुको पुस्ता भ्रष्टाचार र स्वार्थले ग्रस्त भएको बताए ।

उनले भने, ‘हाम्रा बाउबाजेहरू अशिक्षित थिए होला, रुढीवादी थिए होला, विपन्न थिए होलान् तर पतित थिएनन् । तर हाम्रो पुस्ता यस्तो पुस्ता हो जसलाई हाम्रा बाजेहरूको धर्म र नैतिकताको अवधारणाले अलिकति पनि बाध्न सकेन । देशको नियम कानुनले पनि रोक्न सकेन । हामी यस्तो पुस्ताका सदस्य हौं जसले मन्दिर बनाउँदा पनि भ्रष्टाचार गर्छौं ।’

तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ । काठमाडौँको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका– ३२ तिनकुनेस्थित सडकमा नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाप्र–०२–०५९प ४८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक काभ्रे पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको आज दिउँसो मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको छ भने एक जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज माओवादी केन्द्रको सचिवालय बैठक बस्दै, अन्य पार्टीसँगको एकता बिषयमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ ।शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरि बैठक बोलाइएको हो ।

बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने भनिएको छ ।शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

उद्योगी–व्यवसायीहरूलाई कुलमान घिसिङको अनुरोध – कानूनको सम्मान गरौँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सबैले कानूनको सम्मान गर्नुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत एक स्टाटसमार्फत उनले नियमित बिल तिरे पनि प्रिमियम महसुलको बक्यौता तिर्न नमान्दा, नेपाल विद्युत प्राधिकरणले कानुनबमोजिम लाइन काट्न बाध्य भएको बताए ।

उनले प्राधिकरणले दिएको किस्ता सुविधा प्रयोग गरेर बक्यौता रकम बुझाउन सबै उद्योगी–व्यवसायीहरूलाई अनुरोध गरेका छन् ।

उनले लेखेका छन्

जब देश अन्धकारमा डुबेको थियो, आम नागरिक लोडसेडिङको पीडामा थिए, त्यतिबेला केही ठूला उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेर विद्युत् आपूर्ति पाएका थिए । तर, आजसम्म पनि उनीहरूले त्यसबापतको प्रिमियम महसुल बुझाएका छैनन् । नियमित बिल तिरे पनि प्रिमियम महसुलको बक्यौता तिर्न नमान्दा, नेपाल विद्युत प्राधिकरणले कानुनबमोजिम लाइन काट्न बाध्य भएको हो । यो निर्णय नयाँ होइन — विगतमा चार पटकसम्म बक्यौता असुली गर्ने प्रयास हुँदा पनि राजनीतिक तहबाट अवरोध र हस्तक्षेप भयो । प्राधिकरणलाई आफ्नो बक्यौता उठाउने अधिकार प्रयोग गर्न दिइएन । २०८१ साल चैत ११ गते मैले कार्यकारी निर्देशकको हैसियतमा, विनियमावलीअनुसार बक्यौता उठाउन विद्युत नियमन आयोगमा पत्राचार गरेको थिएँ । त्यसै दिन मलाई पदबाट हटाइयो। हो, बक्यौता असुली गर्ने मेरो इमानदार प्रयास नै पद गुमाउने कारण बन्यो ।

आज फेरि पनि म त्यही दृढता र निष्ठाका साथ उभिएको छु । तर बक्यौता नतिर्ने केही ग्राहकको समर्थनमा, सञ्चार माध्यम, सामाजिक सञ्जाल र श्रमिकहरू मार्फत भावनात्मक दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ । म यस्ता गतिविधिप्रति सचेत र सतर्क छु ।

तर सोचौँ त — यदि बक्यौता नतिर्ने चलन बस्यो भने, भोलि अन्य ग्राहकहरूले पनि तिर्न छोडे भने कसले जिम्मा लिने? गलत नजिर बसाल्ने हो भने, भोलि कर नतिर्ने संस्कार पनि फैलिन सक्छ ।

त्यसपछि राज्य कसरी चल्ने? मेरो विनम्र आग्रह —
आफ्नो जिम्मेवारी बुझौँ, कानूनको सम्मान गरौँ, र देशको हितमा इमानदार बनौँ ।
प्राधिकरणले दिएको किस्ता सुविधा प्रयोग गरेर बक्यौता रकम बुझाउन सबै उद्योगी–व्यवसायी मित्रहरूलाई हार्दिक अनुरोध गर्दछु । यदि कसैलाई अन्याय भएको महसुस छ भने, न्यायिक निकायमार्फत आफ्नो हक खोज्ने अधिकार सबैलाई छ ।
म मेरो जिम्मेवारीबाट कहिल्यै पछि हट्दिन । जेन–जी पुस्ताले दिएको भ्रष्टाचार नियन्त्रण र सुशासनको जनादेश दृढताका साथ पूरा गर्नेछु । यो व्यक्तिगत अहंकारको विषय होइन — यो कानूनको पालना, संस्थाको प्रतिष्ठा र देशको शुद्धताको लागि गरिएको इमानदार प्रयास हो ।

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६७ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो ८० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, आलु सेतो प्रतिकिलो ६० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ , गाजर (तराई) प्रतिकिलो १०० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ६५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो १४० रुपैयाँ, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, तने बोडी प्रतिकिलो १३५ रुपैयाँ, मकै बोडी प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १८० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ९० रुपैयाँ, तीतो करेला प्रतिकिलो ८० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ७० रुपैयाँ, घिरौँला प्रतिकिलो ६० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो ९० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, बरेला प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो ९० रुपैयाँ, स्कूस प्रतिकिलो १५ रुपैयाँ, रायोसाग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १७० रुपैयाँ, चमसुर प्रतिकेजी २४० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, मेथीको साग प्रतिकिलो २०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १३० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो २८० रुपैयाँ, कुरिलो प्रतिकिलो ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १८० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ३५० रुपैयाँ, सेलरी प्रतिकिलो ३५० रुपैयाँ, पार्सले प्रतिकिलो ४०० रुपैयाँ, सौफको साग प्रतिकिलो २४० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २६० रुपैयाँ, केरा (दर्जन) १२० रुपैयाँ, कागती प्रतिकिलो ११० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो २३० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ५० रुपैयाँ, किबी प्रतिकिलो २४० रुपैयाँ निर्धारण गरिएको छ ।

सिक्किमको दौरसाङदेखि नेपालको पहाडी भू–भागसम्म समान मौसमी स्वरूप, जनजीवनमा असर

काठमाडौं । नेपाल र भारतको उत्तरपूर्वी राज्य सिक्किमका हिमाली र डाँडापाखा क्षेत्रहरूमा पछिल्ला दिनहरूमा उल्लेखनीय मौसमी समानता देखिएको छ। पछिल्लो २४ घण्टाको अवस्थाअनुसार, दुबै क्षेत्रमा चिसो हावा, बदली र क्वैंका मौसमी प्रभावले जनजीवनलाई शीतल बनाएको छ ।

सिक्किमको पूर्वी भागमा पर्ने दौरसाङ र त्यस आसपासका पहाडी गाउँहरूमा हाल आंशिकदेखि पूर्ण बदली मौसम छाएको छ । यद्यपि, दौरसाङको प्रत्यक्ष मौसम डाटा उपलब्ध नभए पनि नजिकको साङ फरेस्ट ब्लक क्षेत्रको पछिल्लो मापनअनुसार अधिकतम तापक्रम २६ डिग्री सेल्सियम र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियम रहेको देखिन्छ ।

यो तथ्यांकले स्थानीय स्तरमा मध्यम शीतलता र हल्का आद्र्रतायुक्त मौसमको संकेत गर्दछ । सिक्किमको राजधानी गंगटोकमा पनि न्यूनतम तापक्रम १४ डिग्री सेल्सियम को आसपास झरेको छ, जसका कारण बिहान–साँझ हावाको सिरेटो बढेको महसुस भइरहेको छ ।

नेपालका पहाडी क्षेत्रमा पनि चिसो बढ्दो
नेपालको मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशका पहाडी र हिमाली भूभागहरूमा आंशिकदेखि पूर्ण बदली छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका डाँडापाखा क्षेत्रमा विशेषगरी चिसो र ओसिलो वातावरण कायम छ। तराई क्षेत्रमा भने आंशिक घाम र हल्का बादल देखिए पनि उच्च पहाडी क्षेत्रमा तापक्रम उल्लेखनीय रूपमा घटेको छ ।

हाल नेपालका विभिन्न स्थानहरूमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियम देखि १८ डिग्री सेल्सियम बीचमा रेकर्ड गरिएको छ । उदाहरणका लागि, जुम्लामा तापक्रम ७–९ डिग्री सेल्सियम, र काठमाडौंमा १४–१६ डिग्री सेल्सियम बीचमा रहेको छ । यसले हिउँद प्रारम्भको संकेत दिन थालेको मौसमविद्हरू बताउँछन् ।

तुलनात्मक दृष्टि
नेपालको मध्य र पूर्वी उच्च पहाडी क्षेत्र र सिक्किमको दौरसाङ क्षेत्रको मौसमीय स्वरूप अहिले लगभग समान देखिन्छ । दुवै क्षेत्रमा घना बादल, मध्यम तापक्रम र हल्का शीतलता मुख्य विशेषता बनेका छन् । हिमालपारिको यो समान मौसमी प्रणालीले पूर्व–हिमालय क्षेत्रलाई एउटै मौसमी प्रभावले घेरेको संकेत गर्दछ ।

जनजीवन र पर्यटनमा असर
यस्तो शीतल र बदली मौसमले स्थानीय बासिन्दा र पर्यटक दुबैका दैनिक गतिविधिमा केही असर पारिरहेको छ । बिहान र बेलुका चिसो हावा चलेका कारण न्यानो कपडाको आवश्यकता बढेको छ ।

पर्यटन क्षेत्रका विज्ञहरूका अनुसार, यस्तो मौसममा दृश्यता घट्ने सम्भावना हुने भएकाले यात्रुहरूले सावधानीपूर्वक योजना बनाउनुपर्ने सल्लाह दिएका छन् ।हालसम्म ठूलो वर्षा वा हिमपातको सम्भावना कम रहेको मौसमविद्हरूको पूर्वानुमान छ । तर, शीतल हावाका कारण स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चेतावनी जारी गरिएको छ ।

सिन्धुलीमा करेन्ट लागेर युवकको मृत्यु

रामेछाप । सिन्धुलीको तीनपाटन गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

तीनपाटन गाउँपालिका–५ लङ्गुरखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा २० वर्षीय धनबहादुर लामिछानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीयका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका लामिछानेलाई लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ चक्रवातको प्रभाव कमजोर हुँदै गएको छ । शुक्रबार रातिदेखि यसको प्रभाव कमजोर हुँदै गएको हो ।

महाशाखाले हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।जसका कारण, आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भागहरुमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।दिउँसो कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति भने कोशी र मधेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लगातारको झरीले धानबाली भित्र्याउन नपाउँदा किसान चिन्तित

म्याग्दी, १५ कात्तिक। खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका कृषक चिन्तित भएका भएका छन् । दसैँ तिहार पर्व मनाएपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने कृषकको तयारीलाई बेमौसमी झरीले प्रभावित बनाएको हो । म्याग्दीका खेतमा धान र बारीमा कोदो पाकेर भित्र्याउने समय भएको छ ।

खेतबारीमा रहेको धान कोदो वर्षासँगै हावाहुरीले लडाउँदा उत्पादनमा असर पर्नुका साथै भित्र्याउनका लागि काटेर सुकाएको बाली र नलपराल पानीले भिजेपछि चिन्तित भएको मङ्गला गाउँपालिका–२ रणवाङका कृषक लक्षिन बहादुर मल्लले बताए ।

मङ्गला गाउँपालिका–२ सिमका कृषक ध्रुव खत्रीले वर्षातका कारण खेतमा पाकेको धान काट्न नपाएको बताए । गत वर्ष १०० मुरी धान फलाएका खत्रीले यसपाली उत्पादन घट्ने बताए। कतिपय कृषकले काटेको धान खेतमै पानीले भिजेको छ । पानीले खेतमै धान र पराल कुहिने चिन्ता कृषकलाई छ ।

रोप्ने समयमा पर्याप्त वर्षा भएको, रोग, किरा नदेखिएको र तिहार अघिसम्मको मौसम अनुकूल हुँदा धानको उत्पादन बढ्ने कृषकको अपेक्षा थियो । माथिल्लो क्षेत्रका कृषकले स्थानीय जातको धान दसैँ र तिहारबिचमा भित्र्याएका थिए ।

बेसीका खेतमा तिहारलगत्तै धान काट्न थालेका थिए । जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र, म्याग्दीका अनुसार गत वर्ष भएकोमा १२ हजार ९७८ दशमलव पाँच मेट्रिक्टन उत्पादन भएको थियो । ४६ हजार ५९१ मेट्रिक्टन उत्पादन भएको थियो ।

जिल्लामा गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण तीन, खुमल चार, खुमल १०, लुम्ले दुईलगायतका उन्नत जातका धानखेती हुने गर्दछ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती गर्छन् । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुने गरेको छ ।

रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ ।

यी क्षेत्र धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोलाले बोटमै भएको धानलाई वर्षाले असर नगर्ने बताए ।

“धान काटिसकेको हो भने कुन्यु बनाएर भिज्नबाट बचाउनुपर्छ,” उनले भने “खेतमै परालसितै भएको धानलाई वर्षा सकिएपछि राम्रोसँग घाममा सुकाएर मात्रै भित्र्याउनुपर्छ ।” धान काट्ने योजनालाई मौसम सुधार नहुँदासम्म स्थगित गर्न केन्द्र प्रमुख बास्तोलाले कृषकलाई अनुरोध गरे।

गोठाला बेँसी झरेपछि भल्कोटमा बढ्यो चहलपहल

ढोरपाटन (बागलुङ), १५ कात्तिक : यति बेला बागलुङको निसीखोला गाउँपालिका–६ भिबाङमा बारीभरि चर्दै गरेका गाईगोरु, भैँसी र सेताम्य भेडाका भेटिन्छन् । छेउमै बसेर गन्थनमन्थन गर्दै हुन्छन् गोठाला । करिब चार महिना लेकमा बसेर आएका गोठाला गाउँघरका आफन्तसँग भेटा हुँदै निकै खुसी छन् । लेकबाट गोठ झारेपछि भल्कोट क्षेत्रमा गोठाला र बस्तुभाउको चलहपलह बढेको छ ।

गाई, भैँसी, भेडा र बाख्राले भल्कोटका बारी तथा खर्कहरू ढाकिएका छन् । हरेक वर्ष जेठ/असारमा लेक चढ्ने र असोजमा बँेसी झर्ने स्थानीयको परम्पराअनुसार यस वर्ष पनि गोठाला बेँसी झरेपछि भल्कोटमा चहलपहल बढेको हो । एकै परिवारले सयौँको सङ्ख्यामा बस्तुभाउ पाल्ने हुँदा गोठाला गुमती बसाइँ बस्छन् ।

बर्खाभरी लेक क्षेत्र बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातिहाल्ने, रिग, तिलाचन, खानीखोला क्षेत्रमा बसेका गोठलाहरू अहिले बेँसी क्षेत्र भर्कोबाङ, भल्कोट, मोराखोला, भिबाङलगायतका क्षेत्रमा छन् । अब यी क्षेत्रमा गहुँ, जौँ छरेपछि खर्चन र गुम भन्ने ठाउँमा जाने स्थानीय मनबहादुर बोहराले बताउनुभयो ।

गोठालाहरू सुरुमा लेकबाट भर्कोबाङमा झर्ने र त्यहाँ गहुँ, जौँ छरेपछि विस्तारै अन्य ठाउँमा जाने उहाँको भनाइ छ । अबको करिब १५ दिन भल्कोट क्षेत्रमा बस्ने र त्यसपछि गुम, खर्चनलगायतका ठाउँमा गोठ सार्ने बोहराले बताउनुभयो ।

“यो त हाम्रो परम्पराजस्तै हो, यति धेरै सम्पत्ति एकै ठाउँमा पाल्न सकिँदैन, बर्खामा लेक, हिउँदमा बेँसी गरेर पाल्नुपर्छ, हाम्रो पाकापुर्खाहरूले त्यही गरे, हामीहरूले पनि त्यही नै गर्दै आएका छौँ, तर पछिल्लो समय पहिलेको जस्तो अवस्था छैन”, बोहराले भन्नुभयो, “अहिले त धेरैले बस्तुभाउ पाल्न कम गरेका छन्, पहिले–पहिले त एउटै घरमा पाँच÷सात सय डिङ (बस्तुभाउ) हुन्थे, अहिले त धेरै कम भएका छन् ।”

स्थानीय ढालेन्द्र घर्ती मगरले आफूहरू असोज तेस्रो साता मात्रै बेँसी झरेको सुनाउनुभयो । भल्कोटका बारीमा गहुँ छरेपछि बस्तुभाउलाई अन्तै लैजाने उहाँको भनाइ छ । लेकमा बस्दा धेरै गोठालाहरूले एकै ठाउँमा भेडाबाख्रा र गाईभैँसी राख्ने गरेको भन्दै बँेसी झरेपछि छुट्टै बाँध्ने उहाँले बताउनुभयो । बँेसीमा आ–आफ्नो बारीमा बाँध्ने हुँदा बारीभरि बस्तुभाउ देखिने घर्ती मगरको भनाइ छ । पहिले आफ्ना झण्डै १०० गाई गोरु रहेको भन्दै अहिले धेरै कम भएको उहाँले सुनाउनुभयो ।

घर्ती मगरले भन्नुुभयो, “बस्तुभाउ पाल्ने धेरै गाह्रो छ, एकै ठाउँमा राखेर पाल्न सकिँदैन, वर्षभरि चरनका लागि ठाउँठाउँमा पुग्नुपर्छ, गोठ सार्ने, पशुचौपाया सार्ने, घाँस काट्नै प¥यो, पहिले हाम्रा अग्रजहरूलाई झन कति गाह्रो थियो होला ?, त्यस बेला त अहिलेको भन्दा धेरै पाल्थे, यहीबाट खान लाउन पुगे त हुन्थ्यो पुग्दैन, अरु दुःख पनि गर्नुपर्छ ।”

यस क्षेत्रका किसानले सयौँ पशुचौपाया पाल्दै आए पनि व्यावसायिक बन्न सकेका छैनन् । स्थानीय कुम्भीरा मगरले आफ्ना ५१ वटा गाई रहेको सुनाउँदै यसबाट जीविकोपार्जन हुन नसकेको बताउनुभयो । घरमा पहिलेदेखि नै गाई पाल्दै आएको हुँदा आफूहरूले निरन्तरता दिँदै आएको बताउनुभयो । गाई धेरै पाल्दा बारीमा मल हुने उहाँको भनाइ छ । वर्षमा रु २० हजारको दूध, घ्यूसमेत बिक्री गर्न नसकेको मगरले सुनाउनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५ कात्तिक : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९२ पैसा र बिक्रीदर २० रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १००को खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २२ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइट https://www.nrb.org.np/forex मा उपलब्ध हुने जनाइएको छ ।

शुक्रबार सबैभन्दा बढी सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा

काठमाडौं, १५ कात्तिक । मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ ।
यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभयो । उहाँका अनुसार वर्षा जारी रहेकाले पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा झापामा १७५ मिलिमिटर वर्षा भएको छ भने इलाममा पनि १५८ मिलिमिटर वर्षा भएको छ । शुक्रबार राति पौने ११ बजेसम्मको मौसम विज्ञान विभागको रेकर्डअनुसार गोरखा जिल्लामा पनि १९० मिलिमिटर वर्षा भएको छ ।

सप्तरीमा १५६, उदयपुरमा १०२, मनाङमा ११५, सुनसरीमा ८२, नुवाकोटमा ८९, लमजुङमा ८२ मिलिमिटर वर्षा भएको छ । राति भने पूर्वको कोशी प्रदेश र थोरै मधेस प्रदेश केन्द्रित वर्षा हुने विभागले जनाएको छ ।यस्तै बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि वर्षा हुने छ । राति देखिनै विस्तारै बदलीमा सुधार हुँदै जाने पनि जनाइएको छ ।

निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी : प्रधानमन्त्री कार्की

काठमार्डौ, १५ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग मुलुकको समयसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी, सरकारको काम कारवाहीलगायतका विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकारका तर्फबाट अधिकत्तम प्रयास भइरहेको र क्रमशः वातावरण बन्दै गएको तथा यसबीचमा जेनजी, राजनीतिक दलबीचमा छलफल भएको समेत सो अवसरमा जानकारी दिइएको थियो ।

सबैलाई विश्वासमा लिएर निर्वाचन सफल बनाउने र नयाँ सरकारलाई जिम्मा लगाएर विदा हुने मनसायमा आफू रहेको समेत प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

सुशासन कायम गर्ने र निर्वाचन गराउने सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजनीतिक दललाई निषेध गरेर नभई उत्साहपूर्वक सहभागिता गराएर फागनु २१ को निर्वाचन सम्पन्न गर्दै सत्ता हस्तान्तरण गर्ने बताईन् । आफूले असहज अवस्थामा सरकारको नेतृत्व लिएको स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले आलोचनाबाट नडराउने बताएकी छन् ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थिति थियो ।

आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

काठमाडौं, १५ कात्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् ।
प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिनपनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।

आजका दिन धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । यसैगरी काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

यसैगरी नारायणहिटस्थित चातुव्र्युह नारायणस्थानमा गई पूजा, आराधना एवं दर्शन गर्नाले पनि काठमाडौँ उपत्यकाका चारै नारायणस्थानमा पुगे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको मन्दिरका मठाधीश डा राजेश्वरानन्दले जानकारी दिए। आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

छोरी पेटोङटार्नको राजीनामापछि थाक्सिनको फेउ थाई पार्टीमा नयाँ नेतृत्व चयन

बैङ्कक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गर्नु भएको सत्तारूढ फेउ थाई पार्टी ले शुक्रबार नयाँ नेतृत्व चयन गरेको छ । पार्टीले आफ्नी नेत्री तथा पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामापछि पूर्व उप-अर्थमन्त्री जुलापुन अमोर्नभिवाटलाई नयाँ पार्टी प्रमुखका रूपमा चयन गरेको घोषणा गरेको हो ।

अगस्ट महिनामा कम्बोडियासँगको सीमा विवादसम्बन्धी ‘नैतिक उल्लङ्घन’ को आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएपछि पेटोङटार्नले गत हप्तामात्रै पार्टी नेतृत्व छोड्ने घोषणा गर्नु भएको थियो । ३९ वर्षीया पेटोङटार्न पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी हुनुहुन्छ ।

राजनीतिक विश्लेषकका अनुसार उहाँको राजीनामालाई पार्टीले सम्भावित कानूनी विवाद र न्यायिक चुनौतीबाट जोगिने रणनीतिक निर्णयका रूपमा लिएको देखिन्छ । यस घटनाले थाइल्यान्डमा सिनावात्रा परिवारको लामो राजनीतिक प्रभाव क्रमशः कमजोर हुँदै गएको सङ्केत गरेको पनि तर्क गरिएको छ ।

फेउ थाई पार्टीको आधिकारिक फेसबुक पृष्ठमा प्रत्यक्ष प्रसारण गरिएको मतदानपछि ५० वर्षीय जुलापुन अमोर्नभिवाट नयाँ पार्टी प्रमुख निर्वाचित भएको घोषणा गरिएको थियो । उत्तरी चियाङ माई प्रान्तका सांसदसमेत रहेका जुलापुनले पत्रकारलाई सम्बोधन गर्दै भन्नुभयो, “पार्टीको नेतृत्व गर्ने अवसर पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दछु । यो जिम्मेवारी दिनुभएकोमा सबै सदस्यलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

जुलापुन थाइल्यान्डका अनुभवी राजनीतिज्ञ सोमपोङ अमोर्नभिवाटका छोरा हुनुहुन्छ । उहाँले २०१९ मा उपप्रधानमन्त्रीको रूपमा सेवा गर्नुभएको थियो । उहाँ फेउ थाईको अघिल्लो कार्यकालमा समेत पार्टी नेतृत्वको जिम्मेवारीमा रहनुभएको थियो । सन् २०२३ को आम निर्वाचनअघि जुलापुन पार्टीका प्रमुख नीति-नियोजक मध्ये एक हुनुहुन्थ्यो । उहाँले नागरिकलाई १० हजारबाट (झन्डै ३०० अमेरिकी डलर) नगद प्रोत्साहन र क्यासिनो सञ्चालनलाई वैधता दिने प्रस्ताव अघि सार्नु भएको थियो, जसले मतदाता माझ पार्टीलाई लोकप्रिय बनाएको थियो ।

तर, राजनीतिक विश्लेषकका अनुसार फेउ थाई पार्टीको नेतृत्व जोसुकैले सम्हाले पनि वास्तविक शक्ति र प्रभाव अझै पनि पार्टीका संस्थापक थाक्सिन सिनावात्रा र उहाँको राजनीतिक परिवारकै वरिपरि केन्द्रित रहने छ । थाक्सिन र उहाँका समर्थक दशकौँदेखि थाइल्यान्डको सैन्य समर्थक र शाही अभिजात वर्गका प्रमुख प्रतिद्वन्द्वी बनेका छन् । उनीहरूले अघि सारेको ‘लोकप्रियतावादी नीति’ लाई देशका परम्परागत अभिजातले आफ्नो सामाजिक संरचनामा चुनौतीका रूपमा लिएका छन् ।

सन् १९९० को दशकको अन्त्यतिर थाक्सिनले फेउ थाईको पूर्वरूपको रूपमा रहेको थाई रक थाई पार्टी स्थापना गर्नु भएको थियो । तर सन् २००६ मा सैनिक विद्रोहपछि उहाँलाई प्रधानमन्त्री पदबाट हटाइयो र त्यसपछि लामो समय विदेश निर्वासनमा रहनुभयो ।

हाल ७६ वर्षीय थाक्सिन सिनावात्रा भ्रष्टाचार सम्बन्धी मुद्दामा जेल सजाय काटिरहनु भएको छ । यद्यपि, उहाँको राजनीतिक प्रभाव र लोकप्रियता अझै पनि थाइल्यान्डको जनमत र सत्तारूढ दलको निर्णय प्रक्रियामा गहिरो रूपमा प्रतिविम्बित भइरहेको देखिन्छ ।

साढे तीन महिनामा काउन्सिलमा एक सय १७ उजुरी

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म प्रेस काउन्सिल नेपालमा एक सय १७ वटा उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार ६३ सामग्रीको स्वअनुगमन हुँदा २० वटामा आचारसंहिता प्रतिकूल भएको देखिएको हो ।

काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले चालु आवमा परेका एक सय १७ उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात खण्डन सम्प्रेषण गरी ५५ वटाले पेस गरेको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार १२ वटाले क्षमायाचना/भूलसुधार गरेका, तीनवटाले सामग्री स्थगन गरेका, चारवटालाई स्पष्टीकण सोधिएको, १२ वटालाई निर्देशन एवं सचेत गराइएको र ३१ वटा प्रक्रियामा रहेका छन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका समयमा सञ्चारमाध्यम एवं सोका सामाजिक सञ्जालबाट १४ वटा र कुनै पनि सञ्चारमाध्यमअन्तर्गत दर्ता नदेखिएका एवं सम्पर्क ठेगानासमेत उल्लेख नभएका तीनवटा सामाजिक सञ्जालबाट पत्रकार आचारसंहिता प्रतिकूल भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको काउन्सिलले जनाएको छ ।

अनुगमनपश्चात ११ वटा सञ्चारमाध्यमलाई निर्देशन एवं सचेत गराइएकामा सातवटाले क्षमायाचनासहित भूलसुधार र एक समाचार एजेन्सीलाई जवाफ माग गरिएकामा क्षमायाचना गरी जवाफ पेस गरेको, तीनवटालाई कुनै जवाफ पेस नभएको हुँदा ताकेता गरिएको, चारवटाले सामग्री स्थगन गरेका सहप्रवक्ता बोहोराले जानकारी दिनुभयो । साथै बाँकीको सम्पर्क ठेगाना नभएका कारण थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

काउन्सिलले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत सम्प्रेषण भएका सामग्रीउपर प्राप्त हुने उजुरी/जनगुनासाको सुनुवाइका साथै नियमित अनुगमन गर्दै आइरहेको छ । त्यसक्रममा काउन्सिलले सञ्चारमाध्यमले सञ्चालन गर्ने युट्युबलगायत सामाजिक सञ्जालको अभिलेख गरी अनुगमन गर्नुका साथै सञ्चारमाध्यमको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको समेत प्रवृत्तिगत अनुगमन गरिरहेको छ ।

सञ्चारमाध्यममा आबद्ध नभई सञ्चालनमा रहेका युट्युब च्यानलसहित सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीउपर उजुरी परेमा वा स्वअनुगमन हुँदा आचारसंहिता प्रतिकूल देखिएमा त्यस्ता सामाजिक सञ्जाललाई प्रथमपटक भूलसुधार निर्देशन एवं सचेत गराइने र त्यसो गर्दा पनि भूलसुधार नगरेमा आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पत्रचार गरिने काउन्सिलले जनाएको छ ।

वर्तमान अवस्थामा कतिपय सञ्चारमाध्यमबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको सहप्रवक्ता बोहोराले उल्लेख गर्नुभयो ।

काउन्सिलको अनुगमनबाट त्यस्तो देखिएको सन्दर्भमा आचारसंहिताको अनुगमनलाई थप चुस्तदुरुस्त बनाउनका लागि काउन्सिलका सदस्यलाई ‘फोकल पर्सन’का रूपमा तोकी अनुगमनलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

गण्डकीका सबै घरपरिवारमा यसै वर्ष पूर्ण विद्युतीकरण : मुख्यमन्त्री पाण्डे

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका सबै घरमा चालु आर्थिक वर्षभित्रमा विद्युत् सुविधा पुर्याइने बताउनुभएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज पोखरामा आयोजना गरेको विद्युत् उपभोक्ता अधिकार र हालको कानुनी व्यवस्थासम्बन्धी अन्तक्र्रियामा उहाँले विद्युतीकरण र काठेपोल विस्थापनको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । मुख्यमन्त्री पाण्डेले उपभोक्ता अधिकार प्रदेश सरकारको प्राथमिकताको विषय भएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय ग्रीड, लघुजलविद्युत् र सौर्य ऊर्जाबाट गरी हालसम्म ९९ दशमलव आठ प्रतिशत घरमा सबै हिसाबले बिजुली पुगेको छ । बिजुली पुग्न केही पहाडी भूभाग बाँकी छन् । नवलपुरको पहाडी क्षेत्रमा पुर्याउन बाँकी छ, त्यहाँ पुगेपछि यो वर्षभित्रमा गण्डकीको सबै ठाउँमा बिजुली पुग्छ ।”

मुख्यमन्त्री पाण्डेले सबै घरमा बिजुली सुविधा पुर्याउन र उज्यालो गण्डकी प्रदेशका लागि विद्युत् प्राधिकरणसँग प्रदेश सरकारले सम्झौता गरेको जानकारी दिनुभयो । उहाँले सो कार्यका लागि रु ७२ करोडको सम्झौता गरिएको पनि उल्लेख गर्नुभयो ।

उपभोक्ताको हित र रक्षाका लागि प्रदेश सरकारले हालसम्म ३० हजार ४०० वटा काठेपोल विस्थापन गरेको जानकारी दिनुभयो । “स्थानीय तहले गाड्ने र सरकारले काठेपोलको ठाउँमा फलामे पोल दिनेगरी काम गरिरहेका छौँ । धेरै ठाउँमा हटिसकेको छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पाण्डेले ऊर्जा विकाससम्बन्धी स्पष्ट अधिकार प्रदेश सरकारलाई नहुँदा काम गर्न समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताको हितका लागि कसरी काम गर्ने भनेर तीनवटै तहका सरकारबीच स्पष्ट कानुनी व्यवस्था आवश्यक छ । प्रदेशलाई अधिकार भयो भने हामीले नजिकबाट काम गर्न सक्छौँ । प्रदेश र स्थानीय सरकारलाई कानुनी रूपमा अधिकार दिएर नागरिकको समस्या समाधान गर्दै उपभोक्ताको अधिकार सुनिश्चित गर्न आवश्यक छ ।”

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले जलविद्युत्को क्षेत्राधिकार स्थानीय र प्रदेश सरकारलाई प्रस्टसँग तोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले उपभोक्ताको हक, अधिकार संरक्षणमा विद्युत् प्राधिकरण जिम्मेवार बन्नुपर्ने बताउनुभयो । विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले हालसम्म ६० लाख घरपरिवारमा विद्युत् लाइन जडान भएको जानकारी दिँदै उपभोक्ता अधिकार सुनिश्चित गर्ने दायित्व आयोगको रहेको उल्लेख गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले प्रदेश सरकार व्यवसायीहरूको पिरमर्कामा तथा कठिन अवस्थामा नजिकको सरकारको अनुभूति गराउन नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रमका वक्ताहरूले सर्वसुलभ, भरभर्दो र सुरक्षित विद्युत् आपूर्ति, बिनाअवरोध सेवामा निरन्तरता, बिल भुक्तानी प्रणाली, ग्राहक सेवा, मर्मत तथा सुरक्षालगायत पक्षहरू सरल र प्रभावकारी भएको खण्डमा मात्र उपभोक्ता अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरेका थिए ।

जोमसोम-कागबेनी सडक भासिँदा गन्तव्यमा नपुगी फर्किए पर्यटक

मुस्ताङ — निरन्तरको वर्षाका कारण जोमसोम-मुक्तिनाथ-कोरला सडकखण्ड भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न गएका सयौँ भक्तजन तीर्थयात्री गन्तव्यमा नपुगी जोमसोमबाट फर्किएका छन् । जोमसोम-पान्डाखोलाबीचको सडक बिहीबार वर्षाका कारण करिब २५ मिटर भाँसिएको थियो ।

जोमसोम-कोरला सडक भाँसिएपछि मुक्तिनाथ दर्शन गर्न जाने भक्तजन सवार यातायातका साधनलाई स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा जोमसोममा राकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय गौरवको बेनी-जोमसोम खण्ड सहज भए पनि वर्षाका कारण उक्त सडक भाँसिएपछि टाढाटाढाबाट मुक्तिनाथ दर्शन गर्न गएका भक्तजनको यात्रा जोमसोममै पूर्णविराम लागेको हो ।

प्रजिअ भुसालले जोमसोममाथिको सडक भाँसिएपछि जोमसोमबाट मुक्तिनाथ जाने सवारीसाधनलाई माथि जान रोक लगाइएको बताए । उनका अनुसार मुक्तिनाथबाट फर्किने क्रममा सडक भाँसिएको स्थानमा अलपत्र परेका सवारीसाधनलाई सुरक्षा निकायको समन्वयमा जोमसोम तल झार्ने कार्य भइरहेको छ ।

मेची राजमार्ग अवरुद्ध, वैकल्पिक सडक पनि ठप्प

इलाम — बिहीबारदेखिको निरन्तर वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

विभिन्न स्थानमा सडक भासिएकाले उक्त खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

मेची राजमार्गको वैकल्पिक सडकका रुपमा सञ्चालन भएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ । मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) को बेलासेस्थित माइखोलाको पक्की पुल भाँचिएपछि गत असोज १८ गतेदेखि नै सो सडक बन्द छ । इलाम सदरमुकामबाट झापा जोड्न सबै सडक अवरुद्ध भएपछि इलाम र झापाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।

जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण शनिबारसम्म कोशी प्रदेशको इलामलगायत विभिन्न क्षेत्रमा मौसम प्रभावित हुने जनाइएको छ ।

राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न आग्रह

काठमाडौँ — चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न आग्रह गरिएको छ ।पूर्वमन्त्रीहरू ज्वालाकुमारी शाह, भगवती न्यौपाने, पूर्वराज्यमन्त्री विमला विक र राष्ट्रिय सभाका सांसद भैरवसुन्दर श्रेष्ठ, एमालेका नेताहरू पार्वती रावल, पार्वती विशुंके, अइन्द्रसुन्दर नेम्वाङ, सूर्य ढकाल, हरि राजवंशी, अफिलाल ओखडा, गोविन्द थापा र लेखक तथा विश्लेषक प्रा डा योगेन्द्र गुरुङ, डा पदम खतिवडा र सौरमराज तुलाधरलगायतले शुक्रबार संयुक्त अपिल जारी गरी पछिल्लो समयमा नेपालको झन्डाको दुरुपयोग भएको भन्दै त्यसो नगर्न आग्रह गरेका हुन् ।

उनीहरूले गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड, डकैती, चोरीलगायत घटनामा पक्राउ परेकाले राष्ट्रिय झन्डा ओढेर झन्डाको दुरुपयोग गरेका भन्दै यसरी दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने मागसमेत गरे ।

राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न आह्वान गर्दै अपिलमा लेखिएको छ, ‘राष्ट्रिय झन्डा हाम्रो एकताको प्रतीक हो, आफ्ना विचार तथा मुद्दा स्थापित गराउन राष्ट्रिय झन्डा प्रयोग गर्नु किमार्थ झन्डाको सम्मान गरेको र मर्यादा राखेको ठहर्दैन । निहित स्वार्थ राखेर राष्ट्रिय झन्डाको प्रयोग गर्ने कार्यलाई निषेध गरिनुपर्छ, आफ्नो निहित मुद्दा स्थापित गर्न राष्ट्रिय झन्डा देखाएर, झन्डा अगाडि सारेर जनतालाई भावनात्मक रूपमा बहकाउमा पार्नु अनैतिक हो ।’

पुराना उपलब्धिको ग्रहण गर्दै सच्चिएर अघि बढ्नुपर्छ : उपसभापति वाग्ले

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले नयाँ पुस्ताले पुराना उपलब्धिलाई ग्रहण गर्दै देशको राजनीतिक र आर्थिक जगलाई थप बलियो बनाउन अघि बढ्नुपर्ने राय व्यक्त गर्नुभएको छ ।

रास्वपाद्वारा आज यहाँ आयोजित ‘जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीर्षकको बृहत् राजनीतिक संवाद कार्यक्रममा उहाँले जेनजीलाई आग्रह गर्दै अग्रगमनका लागि विगतका उपलब्धिलाई अझ समृद्ध बनाउँदै आर्थिक मुद्दा अघि बढाउन सकिने धारणा राख्नुभयो ।

वाग्लेले जेनजी आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइसँगै सिङ्गो देशको अग्रगमनबारे भएको छलफल उपलब्धिमूलक भएको बताउनुभयो।

उहाँले राजनीतिक दलहरु सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।“पुरानो ‘लिगेसी’ ग्रहण गर्नुपर्छ।हामीभन्दा अघि, पुराना उपलब्धिलाई ग्रहण गर्दै त्यसमा इँट्टा थप्दै जगलाई मजबुत बनाउँदै जाने हो।अघि बढ्ने हो पछि जाने हैन”, उहाँले भन्नुभयो ।

संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी, विवेकशील साझा पार्टी, हाम्रो नेपाली पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जेनजी समूहका प्रतिनिधिहरु र अभियन्ताहरुको सहभागिता रहेको थियो।

नेताकार्यकर्तालाई ओलीको आह्वान-जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सबैलाई ‘आफ्नै घर फर्किन’ अपिल गरेका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी)को नाम नलिइकन सामाजिक सञ्जालमार्फत ओलीले यस्तो अपिल गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिरहँदा ओलीले घर तपाईँहरूको पसिना र रगतले बनेको हो भन्दै यस्तो अपिल गरेका हुन् ।

उनले भनेका छन्, ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता-कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईँहरूको पसिना र रगतले बनेको हो ।’

ओलीले लेखेका छन्
दिदीबहिनी तथा दाजुभाइहरु,
कमरेडहरु !
निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा नेकपा (एमाले) ले सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्यो। अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो। देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व यही पार्टीले गर्‍यो । सामाजिक सुरक्षाका कार्यक्रम ल्याउने लोक कल्याणकारी राज्यको आरम्भ यही पार्टीले गरेको हो । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामीले गरेका यी कामका सयौं उदाहरण छन्।
एमाले केवल एउटा राजनीतिक संगठन होइन — यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो–ठूलो योगदान गरेर यो घरलाई अड्याए ।
आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।
त्यसैले, विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु —
जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्।
यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।
फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं।
हामी एउटै परिवार हौं —
हाम्रो लक्ष्य स्पष्ट छ —
समृद्ध नेपाल, सुखी नेपाली।
म सबैमा आह्वान गर्न चाहन्छु –
कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा —
हाम्रो साझा सपना साकार पार्न ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।

उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसंग आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा शुक्रवार आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगहरुको विद्युत लाइन काटिँदा देशभरका दजर्नौ उद्योगहरू बन्द हुन पुगेको र यसबाट हजारौँ रोजगारी संकटमा परेको भन्दै वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरे ।
उनले लाइन काटिँदा राष्ट्रले नै ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको, औद्योगिक उत्पादन, निर्यात र मुलुकको समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको बताए । विवाद समाधानका लागि संवाद र सहकार्यको वातावरण सिर्जना गर्न सरकारसंग आग्रह समेत उनको छ ।

यस्तै अध्यक्ष ढकालले अर्थतन्त्र पुनरुत्थानका लागि उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्नु आजको आवश्यक्ता भएको बताए । उनले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी उद्योग प्रतिष्ठानमाथी भएको आक्रमणले औद्योगिक सुरक्षाको अभाव देखिएको, लगानीकर्तामा भय पैदा गरेको र लगानीकर्ताले आत्मविश्वास कमजोर भएको बताए ।

अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्न सकिएन भने देशमा लगानी आउने नभई भएको पूँजी समेत पलायन हुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे ।

‘आन्तरिक र बाह्य लगानीको लागि उद्योगी–व्यवसायीले सुरक्षित महसुस गर्ने वातावरण आवश्यक छ । देशमा रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने निजी क्षेत्र हरेक आन्दोलनका समयमा आक्रमणको सिकार हुनु दुखःद हो । निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक छ । र यसको लागि सरकारले उचित पहल गर्नु पर्दछ ।’उनले भने सरकारले औद्योगिक सुरक्षा तथा क्षतिग्रस्त उद्योगहरूको पुनर्निर्माण लगायतका विषय गरेका निर्णयहरु सराहनीय रहेपनि नीति कार्यान्वयन ढिलो हुने प्रवृत्तिमा सुधार गर्नु पर्नेमा अध्यष ढकालले जोड दिए ।

मुस्ताङको सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन

मुस्ताङ । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फु गाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उहाँहरू बिहीबार साँझ सम्पर्कविहीन हुनुभएको सूचना प्राप्त भएको बताउनुभयो ।चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको सीमावर्ती दामोदरकुण्ड क्षेत्रको मुस्ताङ–मनाङ सरिबुङ पास समुन्द्री सतहदेखि छ हजार मिटर उचाइमा पर्दछ । त्यहाँ भारी हिमपात भएकाले विदेशी पदयात्रीसहित १४ जनाको टोली सम्पर्कविहीन भएको उहाँले उल्लेख गर्नुभयो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्पर्कविहीन रहेका पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरेको छ ।सो धर्मशालामा खाने, बस्नेसहित अत्यावश्यक सामान व्यवस्थित रहेकाले सम्पर्कविहीन टोली त्यहाँ हुनसक्ने भन्दै प्रजिअ भुसालले धर्मशालामा उहाँहरूलाई कुनै समस्या नपर्ने बताउनुभयो ।

हिमालय एडभेन्चर ट्राभल कम्पनीमार्फत सरिबुङ पासको पदयात्रामा निस्किएक सबै दुई साताअघि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले जानकारी दिनुभयो ।मुस्ताङको दामोदरकुण्ड हुँदै सरिबुङ पास निस्किएका तीन अष्ट्रियन पर्यटकसहित नेपाली पदप्रदर्शकको टोली गत मङ्गलबारदेखि सम्पर्कमा नरहेको उहाँको भनाइ छ ।

आज बिहान मात्रै फोन सम्पर्कमा आएका जनाउँदै मैनालीले स्पष्ट कुराकानी भने हुन नसकेको बताउनुभयो । अक्टोबर २६ तारिखमा दामोदरकुण्डबाट सरिबुङ पासतर्फ हिँडेको जानकारी प्राप्त भएको बताउँदै उहाँले त्यसयता कुनै सम्पर्क नभएको उल्लेख गर्नुभयो ।

“हामीलाई आज मात्रै पथप्रदर्शकले फोन सम्पर्क गरेका थिए, तर प्रतिकूल मौसम र सञ्चार अवरोधका कारण राम्ररी कुराकानी हुन सकेन”, व्यवस्थापक मैनालीले भन्नुभयो, “हामीले फोनको ‘ट्रयाकिङ’ गरेर स्थान पत्ता लगाउन गृह मन्त्रालयसँग अनुरोध गरेका छौँ ।”

सम्पर्कविहीन भएका पदयात्री रहेको स्थान पत्ता लगाउन सकेमा उद्धारका लागि हेलिकप्टर पठाउने तरी तयारी भएकोबारे गृहमन्त्रालयमा जानकारी गराइएको उहाँले उल्लेख गर्नुभयो ।सम्पर्कविहीन पदयात्री सरिबुङबाट मनाङको फु गाउँ हुँदै चाँमे निस्किने योेजनामा रहेका व्यवस्थापक मैनालीले बताउनुभयो ।

मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

गोरखा । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन् । चुमनुब्री–३ न्याक फेदीनेर खसेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी उनका गाइड रमेश भट्टले जानकारी दिनुभयो ।

न्याक फेदीभन्दा केहीमाथि भिरमा आज दिउसो २ः०० बजेतिर घटना भएको उहाँले बताउनुभयो । “भिरबाट झरेको ढुङ्गाले उहाँलाई पुरेको छ । टाउको मात्र देखिएको छ, उहाँले भन्नुभयो, “उहाँको श्रीमान् र मचाहिँ सकुशल छौँ ।”

त्यतिबेला ठूलो पर्यटकको समूह रहेको उहाँले बताउनुभयो । “उहाँ पुरिए पनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनन्”, उहाँले भन्नुभयो । घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उहाँले बताउनुभयो ।

अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ।त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले शुक्रबार सूचना जारी गर्दै अध्ययन बिदा लिए पश्चात फर्केर सेवा नगर्ने शिक्षक र कर्मचारीलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको हो।

त्रिविले अध्ययन बिदा लिए पश्चात त्रिविमा फर्कि सेवा नगर्ने शिक्षक र कर्मचारीबाट अध्ययन बिदाको सर्त उल्लंघन गरेको देखिएको बताएको छ।

सूचनामा अध्ययन बिदा उपभोग गरी हाजिरी नभएकारसर्तअनुसार पूरा समय काम नगरेकारसेवाबाट हटाइएकारराजीनामा स्वीकृत गरी बरबुझारथ नगरेकार राजीनामा पेस गरी स्वीकृत नभएका शिक्षक तथा कर्मचारीलाई ३५ दिनभित्र समितिको कार्यलयमा उपस्थित हुन आग्रह गरिएको छ।

राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै

काठमाडौँ, १४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन् भएको छ ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । सो औपचारिक भ्रमणका लागि उनी यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्ने उनले बताए । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्नेछन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । भ्रमणबारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सो दोस्रो सम्मेलनको महत्त्व र गरिमा अनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको उल्लेख गरे । सम्मेलनका दौरान राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक सम्मेलन कतारले आयोजना गरेको हो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ । सचिव राईले भने, “सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्नेछ ।”

संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहिआएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेकाले पनि सम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

जनजातिको अधिकार कार्यान्वयनका लागि सरकारको तदारुकता जरुरी : अध्यक्ष दाहाल

काठमाडौँ, १४ कात्तिक । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको अधिकार कार्यान्वयनका लागि राज्य, सरकार र संवैधानिक आयोगबीच सहकार्य एवं तदारूकता आवश्यक रहेको बताएका छन् ।

आदिवासी जनजाति आयोगले यहाँ आज आयोजना गरेको ‘आयोगका सिफारिस कार्यान्वयनका समस्याहरू र आगामी कदमबारे बृहत् अन्तरक्रियात्मक कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले आदिवासी जनजाति आयोगले गरेका सिफारिसहरूमध्ये थोरै मात्र कार्यान्वयन भएको र अधिकांश कार्यान्वयन नभएको भन्दै यसलाई गम्भीर चिन्ताको विषयका रूपमा लिनुपर्ने बताए । उनले भने, “आयोगको प्रतिवेदन अध्ययन गर्दा सिफारिस तथा सुझावहरूको कार्यान्वयनको अवस्था कमजोर देखिन्छ, यो विषयमा राज्यका सबै अङ्गहरूको तदारूकता आवश्यक छ ।”

अध्यक्ष दाहालले आयोगका प्रतिवेदनहरू राष्ट्रपतिसमक्ष पेस भए पनि तिनका सिफारिस र सुझावहरू कार्यान्वयनमा नआएको गुनासो दोहोरिइरहेको भन्दै संसद्, सरकार र आयोगबीच समन्वय अभिवृद्धि गर्नुपर्ने बताए । उनले थपे, “संसद्को भूमिका ऐन–कानुन निर्माणको हो । त्यसका लागि सरकारले संसद्मा बिजनेस ल्याउनुपर्छ । प्रतिनिधिसभा विघटनको अवस्थामा राष्ट्रियसभाले संवैधानिक सीमाभित्र रहेर सहकार्य गर्न तयार छ ।”

नेपालको संविधान र कानुनी व्यवस्थाअनुसार आदिवासी जनजाति आयोग गठन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले आयोगको गठन आदिवासी जनजातिको लामो सङ्घर्षको उपलब्धि रहेको बताए । उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना आदिवासी, जनजातिलगायत उत्पीडित वर्गको बलिदान र सङ्घर्षको प्रतिफल हो । यस उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी हो ।”

नेपालको कुल जनसङ्ख्याको करिब ३८ प्रतिशत जनसङ्ख्या आदिवासी, जनजाति समुदायको भए पनि उनीहरू सबै क्षेत्रमा पछाडि पारिएको र समान प्रतिनिधित्व नपाएको उल्लेख गर्दै दाहालले राजनीतिक परिवर्तनका हरेक चरणमा आदिवासी जनजातिको योगदानलाई स्मरण गरे ।

संविधानमा सुनिश्चित अधिकारहरू विशेषगरी धारा ३२ अन्तर्गत भाषा तथा संस्कृतिको हक र धारा ४२ अन्तर्गत सामाजिक न्यायको हक कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले आवश्यक ऐन कानुन समयमा बनाउन नसक्दा केही निराशा देखिएको बताए । “प्राप्त उपलब्धिलाई कमजोर पार्ने षड्यन्त्रहरू भइरहेका छन्”, उनले भने, “हामीले त्यस्ता प्रयासहरूलाई परास्त गर्दै सचेतना र एकता बलियो बनाउनुपर्छ ।”

आयोगका छैटौँ वार्षिक प्रतिवेदनमा सार्वजनिक संस्थानहरूमा आदिवासी जनजातिको प्रतिनिधित्व अझै सीमित रहेको तथ्याङ्क प्रस्तुत भएको उल्लेख गर्दै अध्यक्ष दाहालले समावेशीकरणको नीति अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको टिप्पणी गरे । उनले सरकार र सम्बन्धित निकायहरूलाई यसतर्फ गम्भीर बन्न आह्वान गरे ।

उनले आयोगलाई पर्याप्त साधन, स्रोत र अधिकारसहित सशक्त बनाउन आवश्यक रहेको बताउँदै राष्ट्रियसभाको तर्फबाट सहयोग गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे । “संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई ऐन कानुन निर्माणमा गम्भीर ध्यानाकर्षण गराउन आयोगको भूमिका बढाउनुपर्छ”, उनले जोड दिए ।

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल मर्म विविधता, समानता र समावेशितामा निहीत रहेको भन्दै त्यसको संरक्षण र प्रवर्द्धनका लागि साझा प्रयास जारी राख्न सबैलाई आग्रह गरे ।

निर्वाचन कार्यालय भक्तपुरमा एक महिनामा तीन हजार ४४८ मतदाता थपिए

भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा एक महिनामा तीन हजार ४४८ मतदाता थपिएका छन् । सरकारले आगामी फागुन २१ गते घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामवाली दर्ताको आह्वान गरेपछि जिल्लामा मतदाता नामावली दर्ता गर्ने युवापुस्ता बढेका हुन् ।

निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पुगेका नेपाली नगरिकता प्राप्त व्यक्तिलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि अहिले १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक दुई सय ५० देखि तीन सय जनासम्म नाम दर्ता गराउन आउने गरेका कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले असोज १० गतेदेखि सुरु भएको नयाँ मतदाता नामावली सङ्कलनमा आजसम्म तीन हजार ४४८ जनाले नाम दर्ता गराएका जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभित्रका पुरुष एक हजार १३ र महिला नौ सय ५४ तथा बाह्य जिल्लाबाट बसाइँ सरी आएका एक हजार ४८१ जनाले मतादाता नामावलीमा नाम दर्ता गराएका छन् ।

सूचना अधिकारी बिसीले भक्तपुरमा अहिलेसम्म कुल एक लाख ९३ हजार ४८२ जना मतदाता कायम रहेका जानकारी दिनुभयो । उहाँले सरकारले नयाँ नामावली दर्तासँगै सच्याउने, दोहोरो नाम हटाउने, ठाउँसारी गर्नेलगायत कार्यका लागि यही कात्तिक ३० गतेसम्मको समयसीमा निर्धारण गरेकाले अझै मतदाताको सङ्ख्या वृद्धि हुने उहाँले बताउनुभयो ।

एमालेमा छ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने

काठमाडौँ, कात्तिक १४-नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुनेछन् ।एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको बताउनुभयो।

उहाँले भन्नुभयो,“हामीले सबै सङ्गठित सदस्यको प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पुर्याएका छौँ । करिब छ लाख ६० हजार सङ्गठित सदस्यबाट नै प्रतिनिधि छनोट हुनेछन् ।” भोलि बस्ने सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने विभाग प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

यसअघि पार्टीको १०औँ महाधिवेशनका लागि आठ लाख ५० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गरिएका थिए । एमालेको ११औँ महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा तोकिएको छ ।

नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने :प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गर्ने निर्णय गरेकी छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्भालेकी प्रधानमन्त्री कार्कीले खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेकी हुन्।

समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्य चयन भएका छन्। मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन्। समितिले एक महिनाभित्र खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्नुपर्नेछ।

खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्नेछन्।त्यसैगरी निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्नुहुने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए।

आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

काठमाडौँ, कात्तिक १४-महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकारको गत आर्थिक वर्ष २०८१\८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस गरेको छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरु पेस गर्नुभएको हो । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले आजै केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको चल, अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण महालेखा परीक्षकको कार्यालयमा पेस गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुरुप तयार पारिएको यी विवरण एवम् प्रतिवेदनमा नेपाल सरकारको बजेट र एक्स्ट्रा बजेटरी निकायका प्रचलित कानुनले तोकेका विवरणहरु समावेश गरिएका छन् ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१र८२ मा नेपाल सरकारको सञ्चित कोष रु एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक तथा नगद अवस्था रु ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक छ । यद्यपि, विभिन्न कोषहरुको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमका आधारमा नगद तथा बैङ्क मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको आदेशलाई निरन्तरता

काठमाडौँ, कात्तिक १४ –सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको बिहीबारको इजलासले उक्त आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि, न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारको आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।

आदेशमा भनिएको छ, “यस अदालतबाट २०८२ कात्तिक ११ गतेमा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ, प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तुको सुनुवाइ यथाशीघ्र हुनुपर्ने प्रकृतिको देखिँदा सो प्रयोजनका लागि पेसी स्थगन गर्न नपाउने गरी आगामी मङ्सिर १४ पेसी तोकी दिएको छ ।”

न्यायाधीश पोखरेलको इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको थियो । अन्तरिम आदेशको सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि बिहीबार बोलाएको थियो । आज सार्वजनिक भएको उक्त आदेशमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ ।

आयोगका अध्यक्ष हरिप्रसाद रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विपक्षी बनाई मन्त्रिपरिषद्ले गत असोज २३ गते भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय खारेज गर्न माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ, कात्तिक १४ –काठमाडौँ महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएकाले फोहरमैला घरबाट ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै फोहरमैला घर तथा कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको हो ।

कामपाले काठमाडौँ उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकाले फोहर बिर्सजन गर्न नसकिएको सूचनामार्फत जानकारी गराएको हो ।

जेन्जीसहिति वित्तीय पीडितले कार्तिक १६ गते आन्दोलन गर्ने

काठमाडौं । पहिला देश (पिपुल्स रेभुलेसन) अभियानले प्रधानमन्त्री शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्ने छाँट नदेखिएको भन्दै राजीमाको माग गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारले न्याय नदिएको भन्दै कार्तिक १६ गतेदेखि सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छ ।

जेन्जीले गरेको ऐतिहासिक आन्दोलनबाट जनताले ठूलो आशा राखेको तर वर्तमान सरकारले वेवास्ता गरेको भन्दै पहिला देशका संयोजक एसपी शाहले जेन्जी, लघुवित्त, सहकारी, मिटर व्याज, बैंकलगायतका पीडितले न्याय नपाउन्जेल निरन्तर संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

शाहले संविधान परिमार्जन सभाको गठनको माग गर्दै आफूहरुले अगामी १६ गते सांकेतिक प्रदर्शनको घोषणा गरेको पनि जानकारी गराए । जेन्जीले २७ घण्टामा सत्ता पलट गरे पनि वर्तमान सरकार पुरानै डर्राभन्दा फरक नभएकोप्रति दुःख व्यक्त गर्दै भने, ‘शुसिला कार्कीको सरकार न घोडा, न गधा, खच्चड जस्तैः भयो, यसबाट देशले निकास नपाउने भएकाले राजीनामा गर्नुपर्छ ।’

पहिला देशका संरक्षक मनिराम ज्ञवालीले जेन्जी आन्दोलनको आँधिहुरीबाट निर्माण भएको वर्तमान सरकार पनि केपी ओलीको भन्दा फरक नभएकोले संविधान परिमार्जन सभामार्फत देशलाई निकास दिनुपर्ने बताए । लघुवित्त पीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका ज्ञवालीले वित्तीय शोषणको अन्त्य र विशेष वित्तीय ऐन खारेजको माग गर्दै, त्यसको मुख्य बाधक राष्ट्र बैंक भएको आरोप लगाए । ज्ञवालीले केपी ओली र रमेश लेखकको स्वेच्छाचारीताले देशले ठूलो संकट भोगेको आरोप लगाउँदा जेन्जीको मर्म अनुसार वर्तमान सरकारले देशलाई अगाडी बढाउनुपर्ने माग राखेका छन् ।

मिटर ब्याजी तथा किसान मजदूर आन्दोलनका सचिवालय सदस्य सूरेश घिमिरे र विकास स्नेहीले मिटर ब्याज पीडितहरुका माग तीन–तीन पटका आयोगमार्फत प्रतिवेदन बने पनि पीडितले न्याय नपाएको गुनासो गरेका छन् । ‘जनतामारा मिटर ब्याजी तथा शोषकहरुले लिखित गरेका जाली तमसुक र चेकहरु रद्ध नगरेसम्म पीडितले न्याय पाउँदैनन,’ घिमिरेले थपे ।

नागरिक युवा दस्ताका संयोजक तथा पहिला देशका संस्थापक सदस्य सम्भू थापाले ठूला बैंक र वित्तीय संस्थाहरुले ब्रह्मलुट गरेको आरोप लगाउँदै भने, ‘कुने पनि वित्तीय पीडितहरुलाई कालो सूचि र धितो लिलाम गरि सुकुम्बासी बनाए कडा आन्दोलन हुन्छ ।’

एन्टेक जे जेन्जीका सुरेन्द्र घर्ति, सुनिल सिंह र विकाश रसाइलीले वर्तमान सरकारले आफूहरुलाई वेवास्ता गर्दै एन्जीयो तथा आइएन्जीयोहरुको प्रभावमा परि देशलाई थप द्वान्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए ।

जेनवाईका प्रतिनीधी सौरब भण्डारीलगायतले सरकारप्रति आक्रोश व्यक्त गर्दै तत्कार संविधान परिमार्जिन सभाको गठन हुनुपर्ने माग गरे ।