`

अस्ट्रेलियन डलर र युरोको मूल्य घट्यो, अन्य मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६४ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८७ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९३ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०३ पैसा कायम भएको छ ।युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रु चार अर्ब ६१ करोडको खाद्यान्न आयात गरिएको छ । धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् ।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न रु एक अर्ब ५६ करोड बढीको आयात गरिएको छ । गत आवको तीन महिनाको अवधिमा रु तीन अर्ब चार करोड मूल्य बराबरका १६ थरिका खाद्यान्न यो नाका हुँदै आयात गरिएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा खाद्यान्नको आयातमा वृद्धि भएको जानकारी दिए । ‘यो वर्षको पहिलो त्रैमासिकमा खाद्यान्नलगायतको वस्तुको आयातमा वृद्धि भएको छ’, उनले भने । चालु आवको तीन महिनाको अवधिमा रु अर्ब ८० करोड मूल्य पर्ने तीन करोड ३६ लाख १२ हजार ८१० किलोग्राम मकै आयात भएको छ ।

गत आवको तीन महिनामा भने रु एक अर्ब नौ करोड मूल्य पर्ने रु दुई करोड १६ लाख २७ हजार ९९२ किलोगाम मकै आयात भएको थियो । चालु आवको तीन महिनामा रु एक अर्ब ४६ करोड मूल्य पर्ने तीन करोड ९१ लाख एक हजार ३४२ किलोग्राम धान आयात भएको छ ।

गत आवको तीन महिनाको अवधिमा भने रु एक अर्ब छ करोड मूल्य पर्ने दुई करोड ९२ लाख ६२ हजार दुई सय किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनाको अवधिमा रु ८९ करोड ८२ लाख मूल्य पर्ने ९४ लाख एक हजार ४३६ किलोग्राम चामल आयात भएको छ ।

त्यस्तै गत आवको तीन महिनाको अवधिमा पनि रु ४६ करोड ५३ लाख मूल्य पर्ने ३८ लाख ४७ हजार ८०४ किलोग्राम चामल आयात भएको थियो । यहाँ आयात हुनेमा माल्ट, फापर, कोदो, ग्लुटेन, फलफूलको मिठो, मकै वा अन्य अन्नको च्याखलाको पिठो, कनिका, दलहनको पिठोलगायतका १६ थरिका खाद्यान्न आयात हुने गर्छ ।

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जादै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जादैछन् । उनी कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए। राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।

संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक कतारले सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ । सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्ने जनाइएको छ ।

सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध रहिआएको छ । हाल नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले पनि सम्मेलनमा सहभागिता अर्थपूर्ण छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

चितवन । सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराज मार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना-३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी । होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।

पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवर्द्धनात्मक कार्यक्रममा निस्केको होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिनुुभयो ।

आन्तरिक पर्यटनको प्रवर्द्धनसँगै पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुुभयो । यसैबीच टोलीले लुम्बिनी प्रदेशको बुटवलमा यहाँका पर्यटन व्यवसायीसँग आज अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार एवम् पोखरा भ्रमण वर्ष २०२५ का सहसंयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका रामसार सूचिमा सूचिकृत बेगनासताल, रुपाताललगायतका सात तालले पर्यटकीय सम्भावना बोकेको बताउनुुभयो ।

पोखरासहित लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यमा आउन उहाँले बुटवलका पर्यटन व्यवसायीसँग आग्रह गर्नुुभयो । पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको उहाँको भनाइ थियो ।

होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष कँडेलले पोखरा आएका पर्यटकलाई बुटवल पठाउने र बुटवल आएका पर्यटकलाई पोखरा पठाएर दुुवै क्षेत्र लाभान्वित बन्ने धारणा राख्नुुभयो ।

होटल तथा रेष्टुरेन्ट एशोसिएसन रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले पोखरासँग रुपन्देही पर्यटकीय साझेदारीका लागि तयार रहेको बताउँदै आफूहरूले बुटवलमा आएका पर्यटकलाई पोखरा पठाउने गरेको बताउनुुभयो ।

रुपन्देही गौतमबुद्धको जन्मस्थलसँगै धेरै ऐतिहासिक महत्वका स्थलरहको उहाँले जानकारी दिनुुभयो । पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले आपसी भाइचारासँगै साझेदारीले दुुवै गन्तव्य लाभान्वित हुने बताउनुुभयो ।

होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महासचिव सुरेश लामिछानले तीन दिने प्रवद्र्धनात्मक कार्यक्रमका साथ सो टोली बर्दिया हुँदै सुर्खेतसम्म पुुगी पर्यटन सम्बद्ध व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरी पोखरा फर्कने जानकारी दिनुुभयो । छलफलमा बुटवल क्षेत्रका पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको उपस्थिति थियो ।

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए  

काठमाडौँ । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् ।अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट छ हजार १७७ जना नेपाल भ्रमणमा आएका थिए ।यसैगरी, श्रीलङ्काबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बङ्गलादेशबाट चार हजार ६४१ र म्यानमारबाट तीन हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

राहदानी विभागले दैनिक एक हजार थान राहदानी उपलब्ध गराउने

काठमाडौँ । राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ ।विभागले दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था (ह्याण्डओभर र टेकओभर) तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ ।

उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको र अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन गर्न विभागले सबैलाई आग्रह गरेको छ । राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न, त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन विभागले ध्यानाकर्षण गराएको छ ।

पश्चिमी वायुको प्रभाव कायमै, आज कहाँको मौसम कस्तो?

काठमाडौं, १७ कात्तिक । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’ का कारण वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो । हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो । हिमपातका कारण आन्तरिक तथा बाह्य पर्यटक हिमालमै फसेका थिए । उनीहरुलाई उद्धार जारी छ ।
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यववस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षाको विवरण मापन गरिएको थियो । त्यसमध्ये १८५ वटा वर्षा मापन केन्द्रले उल्लेख्य मात्रामा वर्षाको विवरण उपलब्ध गराएको छ ।

तीमध्ये सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१ दशमलव १ मिलिमिटर वर्षा भएको थियो । वर्षा मापन गरिएका केन्द्रमध्ये चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो ।

नेपाल आयल निगमको ट्याङ्करबाट अवैध रूपमा पेट्रोल बिक्री, चालकसहित चार जना पक्राउ

बागमती-नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रुपमा बिक्री गरिरहेको अवस्थामा ट्याङ्कर चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल आयल निगम अम्लेखगञ्जबाट नेपाल आयल निगम थानकोट काठमाडौँ जाँदै गरेको ना४ख ९३७७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जयशिव शरणम् फ्यूल सेटर प्रालिमा अवैध रूपमा पट्रोल झिक्ने कार्य भइरहेको अवस्थामा ट्याङ्कर चालक तथा पेट्रोल पम्पमा काम गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले तत्काल नाम, थर र ठेगाना नखुलाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । चारै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

भारतद्वारा सीएमएस–०३ सञ्चार उपग्रह प्रक्षेपण

काठमाडौँ- भारतीय अन्तरिक्ष संगठन (इसरो) ले सीएमएस–०३ नामक सञ्चार उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरेको छ।यो अहिलेसम्म भारतले अन्तरिक्षमा पठाएको सबैभन्दा भारी उपग्रहहरूमध्ये एक हो। प्रक्षेपण गरिएको उपग्रहको तौल चार हजार ४ सय किलोग्राम रहेको छ।

प्रक्षेपणपछि इसरोका अध्यक्ष भी.नारायणनले भने,‘म सम्पूर्ण इसरो टोली र यस कार्यमा संलग्न सबैलाई बधाई दिन चाहन्छु। आजको मिसनले भारतका लागि अर्को गौरवपूर्ण उपलब्धिलाई थप गरेको छ।’

अध्यक्ष नारायणनका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म सातवटा थप उपग्रहहरू प्रक्षेपण गरिनेछ। साथै उनले गगयनयानको पहिलो मानवविहीन मिसन पनि अब उन्नत चरणमा पुगेको उनले बताए।इसरोका अनुसार आइतबार साँझ प्रक्षेपण गरिएको सीएमएस–०३ उपग्रह एउटा ‘मल्टिब्यान्ड’ सञ्चार उपग्रह हो।

मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की

काठामाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको बताएकी छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको बैठकमा उनले भनिन्, ‘हामी सबै मिलेर मुुलुक बनाउने हो । हामीले नसुधारे कसैले सुधारिदिँदैन । त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौं।’

प्रधानमन्त्री कार्कीले आफू राजनीतिक नेता नभएको र परिस्थितिले यहाँ ल्याइपुर्‍याएको बताउँदै गत भदौ २३ गतेअघिसम्म त यो परिस्थिति आउला भन्ने अनुमान पनि नभएको उल्लेख गरे। जेनजीहरूको सुरुको माग भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा रहेको बताउँदै उनले अहिले धेरैथरी जेनजी देखापरेका तथा धेरै माग आउन थालेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ।

‘कतिपय जेनजी यहीँ आएर चर्का कुरा गरेर जान्छन् । कतिपय यहाँभित्र ठीकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन् । जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन्’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘सिक्दै छन् । कतिपय त निकै नै परिपक्व कुरा पनि गर्छन् । हामीले भन्दा धेरै कुरा उनीहरूले जानेका छन्।’

प्रधानमन्त्री कार्कीले आफूहरू प्रदेश सरकारसँग सहकार्य गरेर नै अघि बढ्ने उल्लेख गर्दै संविधानले दिएको परिधिभित्रै रहेर काम गर्ने बताइन्। संविधानले बनाएका संरचनाको सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

‘स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन् । राजनीतिक दल नभई यो व्यवस्था चल्दैन। त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्ति पनि चुनाव लड्न दल खोल्दै छन्’, उनले भनिन्, ‘जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ भनेका छौं। कोहीकोही बरालिएका छन्, कोही उग्र पनि छन्। उनीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ।’

निर्वाचनको वातावरण बनाउने सरकारको मुख्य प्राथमिकता भएको बताउँदै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था गर्न लागेको जानकारी गराइन्।

‘प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिदको प्रक्रिया अघि बढिसकेको छ। छिमेकी मुलुकहरूले पनि सवारीसाधन उपलब्ध गराउँदै छन्। केही मित्रराष्ट्रले आर्थिक सहयोग गर्ने वचन दिएका छन्’, उनले भनिन्।

आन्दोलनमा क्षतिग्रस्त भएका प्रहरीका ९० प्रतिशत संरचना स्थानीय जनताले नै बनाइदिएको बताउँदै प्रधानमन्त्री कार्कीले यसले प्रहरीको मनोबल उकास्न र जनतासँगको सम्बन्ध थप कसिलो बनाउन मद्दत गरेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिलेभन्दा निकै प्रतिकूल अवस्थामा पनि चुनाव भएको छ। जेनजीहरूले पनि चुनाव हुनुपर्छ र अहिलेको अवस्थामै गर्न सकिन्छ भनेका छन्। दलहरूसँगको संवादले अझै बढी चुनावका पक्षमा वातावरण बनेको महसुस भएको छ।’

निर्वाचन आयोगलाई चाहिने १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी उपलब्ध रहेको र बाँकी व्यवस्थापन गर्न लागेको प्रधानमन्त्री कार्कीले बताइन्। आयोगले पनि तोकिएकै समयमा चुनाव गराउन सकिनेमा पूर्ण विश्वास दिलाएको उनको भनाइ थियो।

लुटिएका र हराएका हतियार फेला पर्दै गएका र प्राप्त हुन बाँकी रहेका हतियारको पनि लोकेसन पत्ता लागिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भागेका कैदी पनि फर्कन लागेका बताइन्। सुरक्षित वातावरण बन्छ भन्नेमा ढुक्क हुन आग्रह गर्दै उहाँले यस कार्यका लागि प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्नेमा जोड दिइन्।

स्थानीय सरकारले पनि हातेमालो गर्नुपर्ने र तीनै तहका सरकारसँग समन्वय गरेर नै अघि बढ्ने बताउँदै प्रधानमन्त्री कार्कीले अबको छलफल स्थानीय सरकारका प्रतिनिधिसँग गर्ने जानकारी गराइन्।

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

काठमाडौँ ।  गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।

आज यहाँ भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको थियो ।

बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदान प्रक्रिया र यसलाई सम्भव बनाउन आवश्यक संयन्त्र, कानुन र अन्य आवश्यकताबारे छलफल गरिएको जनाइएको छ ।

विदेशमा रहेका नागरिकको मतदानका विषयमा विद्यमान कानुनी अवस्था, अन्य मुलुकको कार्यान्वयन अनुभव र चुनौतीहरूबारे प्रारम्भिक छलफलका लागि प्रतिष्ठानलाई आमन्त्रण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा ‘आउट अफ कन्ट्री भोटिङ’ का विषयमा नीति प्रतिष्ठानले अघि बढाएको अनुसन्धानको कार्यप्रगति र प्रयोग हुन सक्ने विधिहरू प्रस्तुत गरिएको थियो । विदेशमा हुने मतदान प्रक्रिया, हुन सक्ने सुरक्षा चुनौती, आवश्यक जनशक्ति र यसका कार्यान्वयनका लागि निर्माण हुनुपर्ने राजनीतिक वातावरण आदि विषयबारे पनि चर्चा भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण बनाउन सङ्घीय सरकारसँग सहकार्य र समन्वयमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार मुख्यमन्त्रीहरूले प्रधानमन्त्री कार्कीले दलहरूबीच संवाद र छलफल अघि बढाएको कदमको प्रशंसा गर्दै यो प्रक्रिया चुनावी माहोल बनाउन उपयोगी हुने विश्वास व्यक्त गरे।

मुख्यमन्त्रीहरूले शान्ति-सुरक्षालाई निर्वाचनको प्रमुख चुनौतीका रूपमा औंल्याउँदै यसमा सबै तहका सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए। उनीहरूले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आपसी सहकार्य र सहअस्तित्वको भावनासहित काम गर्न सके तोकिएको समयमा निर्वाचन सम्भव हुने धारणा राखे।
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले भने, ‘हामी चुनावका विरोधी होइनौं, तर चुनावको वातावरण बनाउन सङ्घ सरकारले पहल गर्नुपर्छ र त्यसमा प्रदेश सरकारको भूमिकालाई पनि सम्मान गर्नुपर्छ। अबको निकास चुनाव नै हो।’

बैठकमा ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि सङ्घीय सरकारले विशेष ‘प्याकेज’ ल्याउनुपर्ने सुझाव पनि मुख्यमन्त्रीहरूले दिएका थिए। साथै, खर्च कटौतीका नाममा जारी गरिएको सङ्घीय परिपत्रले प्रदेश सरकारको अधिकारमा हस्तक्षेप गर्ने प्रयासजस्तो देखिएको भन्दै उनीहरूले असन्तुष्टि जनाए।

सङ्घीय सरकारले हालै जारी गरेको परिपत्रमा कानुनले तोकेको भन्दा बढी सल्लाहकार नथप्ने, १० लाख रुपैयाँभन्दा माथिका योजनामा अनिवार्य बोलपत्रमार्फत प्रतिस्पर्धा गराउने लगायतका निर्देशन दिएको थियो।

मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार (सोनल)ले खडेरी र अतिवृष्टिबाट प्रभावित किसानका लागि राहत प्याकेज घोषणा गर्न माग गरे। त्यस्तै, ‘डेडिकेटेड फिडर’को बक्यौता नतिर्ने उद्योगहरूको बिजुली लाइन काट्ने निर्णयले उद्योग, मजदुर र सरकारको राजस्वमा नकारात्मक असर पार्ने भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराए।

प्रधानमन्त्री कार्कीले राजनीतिक दल नै यो व्यवस्थाका वहनकर्ता भएकाले छिट्टै निर्वाचन सम्पन्न गरी दलीय सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू प्रतिबद्ध रहेको बताए।

माओवादी, एकीकृत समाजवादीसहित ८ दलबीच १८ बुँदे सहमति

काठमाडौं । नेपालको प्रमुख वामपन्थी ८ दलहरूले पार्टी एकता सहमति गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) बीच १८ बुँदे ‘पार्टी एकता सहमति पत्र’ मा हस्ताक्षर गरिएको छ ।

सहमति अनुसार आगामी १९ गते सहभागी सबै घटक दलका केन्द्रीय समितिहरुको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलन आयोजना हुनेछ । उक्त सम्मेलनले पार्टी एकताको घोषणा गर्दै घोषणा–पत्र, अन्तरिम विधान पारित गर्ने र नयाँ केन्द्रीय समिति गठन गर्ने निर्णय भएको छ ।

एकता सम्मेलनपछि ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने छ । नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ रहने र चुनाव चिन्ह पाँचकुने तारा तय गरिएको छ ।

सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, र नेपाली क्रान्तिको कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ हुने उल्लेख गरिएको छ ।आन्दोलन मुख्यतः शान्तिपूर्ण रहने र परिस्थिति अनुसार सडक, सदन तथा सरकार लगायत सबै मोर्चामा सक्रिय भूमिका रहने सहमति गरिएको छ ।

पार्टीको संरचना अनुसार केन्द्रदेखि वडा तहसम्म संयोजक र सहसंयोजक प्रणाली रहनेछ । सबै तहका समितिहरूमा सहभागी दलहरूबाट समानुपातिक समायोजन हुने र समितिहरू जनवादी केन्द्रियताको सिद्धान्तअनुसार सामूहिक नेतृत्व प्रणालीमा सञ्चालन हुने उल्लेख छ ।

वैचारिक–राजनीतिक मतभेदका विषयमा निरन्तर छलफल गर्दै अन्ततः एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति गरिएको छ ।

सहमति पत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महेन्द्रराय यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डां. बाबुराम भट्टराई, साथै अन्य सहभागी दलका शीर्ष नेताहरू चिरन पुन, राजु कार्की, सुवासराज काफ्ले, कर्णजित बुढाथोकी र प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

खाँदबारी-किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का सडकखण्ड निर्माणमा नेपाली सेनाले तीव्रता दिएको छ ।

खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किलोमिटरमध्ये साढे १० किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरिरहेको छ ।

भौगोलिक रूपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको १० किलोमिटर सडकखण्डको ट्रयाक सेनाले खोलिसकेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ ।

किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको खाँदबारीदेखि किमाथाङ्का सडकखण्ड गत माघ १४ गते ‘ब्रेक थ्रु’समेत भइसकेको छ ।

उक्त खण्डको १० किलोमिटरमध्ये छ दशमलव पाँच किमी सडकको स्तरोन्नति भइसकेको आयोजना प्रमुख शमशेर सिंहले जानकारी दिए ।

खाँदबारी–किमाथाङ्का सडकखण्डमा सेनाले साउन महिनायता मात्र एक हजार १२५ मिटर सडक स्तरोन्नति गरिसकेको छ । सेनाले उक्त सडक यो वर्ष चार दशमलव ३१ किलोमिटर सडक स्तरोन्नति गरिसक्ने जनाएको छ ।

खाँदबारी–किमाथाङ्का सडक स्तरोन्नति गर्न रु सात करोड विनियोजन भएको छ । ‘ट्रयाक ओपन’ र स्तरोन्नति भइसकेको सडकमा ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएपछि सेनाले हटाउन थालिसकेको छ ।

किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो । सडक निर्माणका लागि दैनिक १४० जनशक्ति परिचालन गरिएको छ ।

किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापार भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

बरुण नदीको पुल सञ्चालन भएपछि खाँदबारीबाट भोटखोला गाउँपालिका केन्द्र हुँदै च्याम्ताङसम्म यातायात सञ्चालन हुने भएको छ ।

सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडक सञ्चालन भएसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ ।

खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म ५७ करोड रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

अनलाइन सञ्चारमाध्यम दर्ता तथा सञ्चालन अब सूचना विभागबाटै

काठमाडौँ । अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनका लागि अब विभिन्न निकाय धाउनु नपर्ने भएको छ ।

अनलाइन दर्ता, नवीकरण र प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि कागजात विभिन्न निकायलाई बुझाउनुपर्ने झन्झट अन्त्य भई अबदेखि एकै ठाउँमा कागजात बुझाए पुग्ने भएको हो । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणलगायत काम सूचना तथा प्रसारण विभागबाटै हुने जनाएको छ ।

विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनको अभिलेख राख्ने र सो अभिलेख विभागले नै नियमित रूपमा काउन्सिललाई उपलब्ध गराउने छ । यसले विभिन्न निकायमा कागजात बुझाउनुपर्ने झन्झटको अन्त्य भएको छ । साथै प्रेस काउन्सिलले तीन हजार रुपैयाँ शुल्क लिई अभिलेख सूचीकरण र अभिमुखीकरण गर्दै आएकोमा अब सो रकम पनि तिर्न नपर्ने भएको छ ।

यसअघि सोही कामका लागि भिन्न–भिन्न कागजपत्र बुझाउनुपर्ने झन्झटबारे गुनासो आए पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा विभागले एकद्वार प्रणाली लागु गरेको हो । यसले सेवाग्राहीलाई सहज हुनका साथै सेवा प्रबाह पनि प्रभावकारी हुने मन्त्रालयको विश्वास छ ।

सूचना विभागले आजै सूचना प्रकाशित गरी अनलाइन सञ्चारमाध्यमको अभिलेख विभागले नै नियमित रूपमा प्रेस काउन्सिललाई उपलब्ध गराउने र अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि सेवाग्राहीले पुनः दर्ता प्रमाण पत्र सहितका कागजात प्रेस काउन्सिलमा बुझाउनु नपर्ने जानकारी गराएको छ ।

नेपाल राजपत्रमा २०८२ कात्तिक १३ मा प्रकाशित सूचना अनुसार नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ जारी भएको छ । उक्त नियमावलीमा अनलाइन सञ्चार माध्यम दर्ता तथा सञ्चालनसम्बन्धी व्यवस्था गरिएको छ । सोही नियमावलीको नियम ८ ‘ज’ मा सूचना तथा प्रसारण विभागले नियम ८ ‘क’ को उपनियम (४) बमोजिम प्रमाणपत्र प्राप्त गरेका अनलाइन सञ्चारमाध्यमको अभिलेख राख्नुपर्ने व्यवथा गरेको छ । सोही व्यवस्थाबमोजिम सञ्चारमाध्यमको अभिलेख विभागले नै नियमित रूपमा काउन्सिललाई उपलब्ध गराउने छ ।

यता प्रेस काउन्सिल नेपालले पनि आजै सूचना प्रकाशित गरी संशोधित छापाखाना तथा प्रकाशन नियमावली, २०८२ नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएकोले अनलाइन सञ्चारमाध्यमको अभिलेख तथा सूचीकरण प्रेस काउन्सिलले गर्ने गरी कानुनी व्यवस्था नभएको हुँदा उक्त कार्य प्रेस काउन्सिल नेपालबाट नहुने र अबदेखि सूचना तथा प्रशारण विभागबाटै हुने स्पष्ट पारेको छ ।

प्रेस काउन्सिल नेपालका मूख्य अधिकृत झविन्द्र भुसालले संशोधित नियमावली अनुसार अनलाइनको अभिलेख सूचना विभागले राख्ने र काउन्सिलले अनुगमनको काम गर्ने बताए । उनका अनुसार यसभन्दा अगाडि पत्रकारले विभिन्न निकायमा छुट्टाछुट्टै कागजात बुझाउनुपर्थ्यो । अब अभिलेख विभागले राख्ने र काउन्सिलले अनुगमनको काम गर्नेछ ।

अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोधन, २०७४) मा दर्ता भएका अनलाइन सञ्चारमाध्यमको अभिलेख प्रेस काउन्सिलले राख्नुपर्ने साथै पत्रकार आचारसंहिता पालना गरे/नगरेको सम्बन्धमा अनुगमन तथा निरीक्षणसमेत गर्ने व्यवस्थाबमोजिम काउन्सिलले मापदण्ड बनाई तीन हजार शुल्क लिई अभिलेख, सूचीकरण र अभिमुखीकरण गर्दै आएकोमा केही नेपाल ऐन संशोधन गर्ने ऐन संशोधन गरी सोहीबमोजिम छापाखाना तथा प्रकाशन (दोस्रो संशोधन) नियमावली आएको हो ।

यसअघि प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमको रूपमा सञ्चालन हुने अनलाइनलाई व्यवस्थित गर्दै जाने उद्देश्यका साथ २०७० साउन १६ गते देखि अनलाइन सूचीकरण प्रारम्भ गरेको थियो । ततपश्चात नेपाल सरकारले २०७३ चैत ७ गतेबाट लागु हुने गरी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ जारी गरी कार्यान्वय हुँदै आएको थियो ।

सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै सञ्चारमन्त्री जगदीश खरेलले सञ्चार माध्यमसँग सम्बन्धित काम कारबाहीलाई सहज र प्रभावकारी बनाउन एकद्वार प्रणाली लागु गर्न निर्देशन दिँदै आएका छन् । मन्त्री खरेलले विभिन्न सञ्चार माध्यमका पत्रकार तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल निरन्तर गर्दै आएका छन् ।

एथलेटिक्स टोली भारत प्रस्थान

काठमाडौँ। एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३औँ संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आज भारतको चेन्नई प्रस्थान गरेको छ। टोलीमा खेलाडीसहित ३६ जना सहभागी छन्।

नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। खेलाडीमा गिर्वाणविक्रम शाह, शिवहरि खनाल, रइवतबहादुर दाहाल, गौतम माझी, तेजेन्द्र थापा, हरिगोपाल जोशी, राजेशकुमार श्रेष्ठ, कृष्णप्रसाद सिग्देल, शर्मिला श्रेष्ठ प्रधान, विष्णु मल्ल, सीता गुरुङ, इन्द्रकुमारी मल्ल, सुनीलकुमार लालवनी, श्रवणकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, आशनारायण चौधरी, अरुणकुमार वैद्य, एन्थोनी अमात्य, गोविन्दबहादुर थापा, सन्तोषबहादुर खड्का, सुरेश जोशी र गौरी श्रेष्ठ छन्।

टोली प्रमुखमा जीएन शर्मा, व्यवस्थापकमा भैरव शाही र यशोदा शर्मा, सहायक व्यवस्थापकमा भरतमणि आचार्य दीक्षित र विजयलक्ष्मी शाही तथा फिजियोमा विश्वरत्न मानन्धर र सुधा थापालगायत छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे।

बालुवाटारमा प्रधानमन्त्री कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीचको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक जारी छ ।

बालुवाटारमा जारी बैठकमा वर्तमान अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउने विषयमा छलफल भैइरहेको छ ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहेको छ ।

रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी फेरबदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार सम्पन्न सचिवालय बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागहरूमा जिम्मेवारी फेरबदल गरेको छ ।प्रवक्ता मनिष झाका अनुसार बैठकले नयाँ अनुहारहरूलाई अवसर दिँदै केही विभागहरूमा संरचनात्मक परिमार्जन गरेको हो ।

बैठकको निर्णयअनुसार रवि किरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखमा जिम्मेवारी दिइएको छ । अधिकारी लामो समयदेखि नेपालका विविध अनुसन्धान कार्यमा संलग्न रहेका छन् ।

त्यस्तै, रामप्रसाद भट्टराई र डा. कृष्णमान शाक्यलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्य बनाइएको छ । भट्टराई पूर्व नेपाल स्काउट निर्देशक हुन् भने शाक्य जनस्वास्थ्य विज्ञका रूपमा चिनिन्छन् ।

सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुख र तोयानारायण पौडेललाई केन्द्रीय शिक्षा विभाग सदस्यको जिम्मेवारी दिइएको छ । पौडेल ह्वाइट हाउस कलेजका प्राचार्य हुन् ।

त्यस्तै, बोधनारायण श्रेष्ठ केन्द्रीय संगठन विभाग उपप्रमुख बनेका छन् । श्रेष्ठ व्यवस्थापन विज्ञ हुन् र संयुक्त राष्ट्रसंघ नेपालमा लामो समय कार्यरत थिए ।पार्थीवेन्द्र उपाध्याय, मनिराम घिमिरे, र ज्ञानु पौडेल पनि केन्द्रीय शिक्षा र महिला विभागमा सदस्यका रूपमा नियुक्त भएका छन् ।

पूर्व लुम्बिनी प्रदेश मन्त्री कल्पना पाण्डे र सामाजिक नेतृ ज्ञानु पौडेल केन्द्रीय महिला विभाग सदस्यका रूपमा चयन भएका छन् ।प्रवास समन्वयमा सक्रिय अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख र ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव बनाइएको छ ।

त्यस्तै, प्रमिला कुमारी सिंह नीति विचार विभाग सदस्यका रूपमा जिम्मेवारी पाएकी छन् । सिंहले नेपालका विभिन्न विकास परियोजनामा लामो समय काम गर्ने अनुभव प्राप्त गरेकी छिन् ।

राष्ट्रपति पौडेल भोलि कतार भ्रमणमा जादै

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सम्मेलनमा सहभागी हुन सोमबार त्यहाँ प्रस्थान गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । भ्रमणबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सम्मेलनको महत्त्व र गरिमाअनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको उल्लेख गर्नुभयो ।

सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक कतारले सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ । सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्ने जनाइएको छ ।

सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध रहिआएको छ । हाल नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले पनि सम्मेलनमा सहभागिता अर्थपूर्ण छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कनुहुने मन्त्रालयले जनाएको छ ।

लुम्बिनी लायन्सको एन्थम सार्वजनिक

काठमाडौं । लुम्बिनी लायन्सले एनपिएलको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) ’स्याबास !’ सार्वजनिक गरेको छ ।
बुद्द दर्शन र खेललाइ एउटै बिम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ ।

यो एन्थम मुख्यत दर्शकको भावबाट लेखिएको कुरा सर्जक नवराज पराजुलीले बताए । मैदानमा हुने ११ जना खेलाडीजस्तै मैदानबाहिरका दर्शक पनि खेलमा होमिएका हुन्छन् । ती दर्शकलाइ बाह्रौँ खेलाडीको रुपमा एन्थममा समेटिएको छ ।
सर्जक भन्छन्, ‘जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसबेला दर्शकहरुले आफ्नो टिमलाइ जे भन्न मन लाग्छ, एन्थममा ती पंतिहरु समेटिएका छन् ।’

बुद्द दर्शनमा भएको ध्यान र स्वासको महानतालाइ खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छ ।एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन् । लिरिकल भिडियोको निर्माण बिबेक निशानीले गरेका हुन् ।एनपिएलको ट्रफी टूरको क्रममा लुम्बिनीमा भएको विशेष कार्यक्रममा सो एन्थम सार्वजनिक गरिएको थियो ।

फोहोर व्यवस्थापनमा समस्या आएपछि बन्चरेडाँडा पुगे मन्त्री घिसिङ

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएपछि त्यसको समाधानको प्रयास गर्न आइतबार बिहान शहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा पुगेका छन् ।

बन्चरेडाँडा पुगेका मन्त्री घिसिङले सो क्षेत्रमा देखिएका समस्याबारे जानकारी लिएका भएका छन् । उपत्यकाको फोहर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङको जिल्लाको सिमाना बन्चरेडाँडामा छ ।

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

काठमाडौं । नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर आह्वान) भएको छ ।

नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको छ । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ ।

सुरुङ मार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था भएतापनि दक्ष जनशक्ति एवम् सुरक्षाका कारण सञ्चालनमा आउन सकिरहेको छैन । मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) तोकिसकेको छ ।

सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेकोे तर सडक विभागको हालको कार्यबोझ तथा सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङ संचालन एवम् मर्मत कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो । सेवा प्रदायकले पाँच बर्षको सुरुङ मार्ग संचालन तथा मर्मत गर्ने छ ।

यसअवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञहरुबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ, फास्ट ट्रयाकजस्ता संरचनाहरु स्वदेशी जनशक्तिबाटै संचालन गर्न सहज हुने देखिन्छ ।

सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।

सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८÷८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।समितिका अनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४४ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७४ रुपैयाँ, आलु रातो प्रतिकिलो ८० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ, आलु सेतो प्रतिकिलो ६० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ११५ रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ७० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, तने बोडी प्रतिकिलो १५० रुपैयाँ, मकै बोडी प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १८० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ९० रुपैयाँ, तीतो करेला प्रतिकिलो ६० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ८० रुपैयाँ, घिरौँला प्रतिकिलो ५० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५५ रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो ९० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो ८५ रुपैयाँ, स्कूस प्रतिकिलो १० रुपैयाँ, रायोसाग प्रतिकिलो ११० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १३० रुपैयाँ, चमसुर प्रतिकेजी १८० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, मेथीको साग प्रतिकिलो २०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १३० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो २७० रुपैयाँ, कुरिलो प्रतिकिलो ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १३० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ३५० रुपैयाँ, सेलरी प्रतिकिलो ३०० रुपैयाँ, पार्सले प्रतिकिलो ४०० रुपैयाँ, सौफको साग प्रतिकिलो २२० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २६० रुपैयाँ, केरा (दर्जन) १२० रुपैयाँ, कागती प्रतिकिलो ११० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो २३० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ५० रुपैयाँ, किबी प्रतिकिलो २४० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज (आइतबार) बस्ने भएको हो । दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औं महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ ।

बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो ।
आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन् ।

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी गर्दै केदार

सुनसरी। इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन् । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गरे । सुरुआतमा करिब रु दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु एक करोडभन्दा बढी लगानीमा रूपान्तरण भएको छ । यही नर्सरीबाट वार्षिक रु ३५ लाखदेखि रु ४० लाखसम्म आम्दानी हुने गरेको अधिकारी बताउँछन् ।

अधिकारीका हजुरबुबा र बुबाले फूल तथा बिरुवाको व्यवसाय सुरु गरेका थिए । हजुरबुबाबाट प्रेरित भएर उनका बुबाले सुपारीको बिरुवा उत्पादन सुरु गरे । अधिकारीले भने, “बुबा सुपारीका बिरुवादेखि विभिन्न प्रजातिका फूल र फलफूलका बिरुवा उत्पादन गरेर बिक्रीका लागि वीरगन्ज, बुटवल, नारायणगढसम्म पुग्नुहुन्थ्यो ।”

सानो उमेरमा बुबासँगै बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र फूल रोप्ने काम अधिकारीका लागि खेलभन्दा पनि बढी खुसीको विषय थियो । उनी सम्झन्छन्, “बुबा बिरुवा रोप्नुहुन्थ्यो, म त्यसमा पानी हाल्थेँ । त्यसैमा सन्तोष मिल्थ्यो, त्यही कामप्रति मोह र लगाव बढ्दै जाँदा पछि यहीँ पेसा रोजे । फूल र बिरुवासँगको सम्बन्ध मेरो आत्मासँग गाँसिएको छ ।”

केही समयअघि मात्र क्यानडा पुगेका अधिकारीलाई त्यहाँको आधुनिक जीवनशैलीले लोभ्याए पनि मन भने सधैँ नेपालमै थियो । उनलाई अरूको देशमा गएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय गर्नु गर्वको कुरा लाग्यो । दुई वर्ष नबित्दै स्वदेश फर्किएर अधिकारी अहिले इटहरीमा तीन नर्सरी शाखा स्थापना गरी सञ्चालन गरिरहेका छन् ।

हाल अधिकारीको नर्सरीमा सात युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । “देशमै बस्न पाउनु, यहीँ आम्दानी हुनु र अरूलाई पनि रोजगारी दिन सक्नु साँच्चिकै सन्तोषको कुरा रहेछ”, अधिकारी भन्छन्।

पशुपति नर्सरीमा अहिले २५ सयभन्दा बढी प्रजातिका बिरुवा छन् । मनिप्लान्ट, टर्मिनेलिया, चाइनादल, भियतनामी नरिवल, थाइकिङ जामुन, अम्बक, सुपारीलगायत विदेशी बिरुवादेखि सिजनल फूल र फलफूलका विभिन्न प्रजातिका बिरुवा यहाँ पाइन्छन् । केही बिरुवा कोलकाता, मुम्बई, काठमाडौँ र चीनबाट आयात हुने र केही यही आफैँले उत्पादन गर्ने गरेको अधिकारीले बताए ।

“नरिवल र सुपारीका बिरुवाको माग अत्यधिक छ”, उनले भने । अधिकारीले सञ्चालन गरेका नर्सरी अहिले इटहरीकै आकर्षण बनेको छ । यहाँ आउने जोकोही बिरुवाको विविधता र सुन्दरता देखेर मोहित हुन्छन् । धेरै व्यक्ति किनमेलसँगै घुम्न, फोटो खिच्न र फूलबारीमा रमाउनका लागि आउने गरेका उनको भनाइ छ ।

अधिकारीका अनुसार अहिले धेरै जसो टिकटक, युट्युब, गुगललगायत अनलाइन माध्यममार्फत माग आउने गरेको छ । “हामीले देशभर ‘डेलिभरी’ गर्ने गरेका छौँ । देशमा सम्भावना छैन भनेर बिदेसिने युवाका लागि धेरै सम्भावना नेपालमै छ । लगन, मेहनत र विश्वास भए पर्याप्त आम्दानी गर्न सकिन्छ । फूल र बिरुवाले मलाई आर्थिक मात्र होइन, आत्मिक सन्तुष्टि पनि दिएको छ”, उनले भने ।

पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै परदेशको मोह त्यागी आफ्नै माटोमा आत्मनिर्भर बनेका अधिकारीजस्ता युवा उद्यमीले देशभित्रै रोजगारी र समृद्धिको बाटो सम्भव छ भन्ने प्रमाणित गरेको छ ।

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

नयाँदिल्ली । आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ ।

भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका अधिकारीहरूले ‘चयन गरिएका’ तीर्थयात्री समूहलाई सिख धर्मका संस्थापक गुरु नानकदेवको जन्मजयन्तीको १० दिने चाडमा सहभागी हुन अनुमति दिएको उल्लेख गरेका छन् ।

यसअघि मे महिनामा दुवै राष्ट्रबीच भएको घातक झडपले सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको थियो । सन् १९९९ पछि सबैभन्दा गम्भीर मानिएको उक्त द्वन्द्वमा मिसाइल, ड्रोन र तोपको आदानप्रदान भएको थियो, जसमा ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । त्यसपछि सामान्य सवारी–साधनका लागि खुला रहने भूमि नाकाहरू बन्द गरिएका थिए ।

नयाँदिल्लीस्थित पाकिस्तानी उच्च आयोगले भारतबाट आएका सिख तीर्थयात्रीहरूलाई दुई हजार एक सयभन्दा बढी भिसा जारी गरिएको जनाएको छ । ती तीर्थयात्रीहरू पाकिस्तानको ननकाना साहिब सहरमा हुने गुरु नानकको जन्मोत्सवमा सहभागी हुने अपेक्षा गरिएको छ । ननकाना साहिब भारत–पाकिस्तान सीमाबाट करिब ८५ किलोमिटर पश्चिममा अवस्थित छ, जहाँ प्रत्येक वर्ष दशौँ हजार श्रद्धालु भेला हुने गर्छन् । यस वर्षको उत्सव मङ्गलबारदेखि आरम्भ हुने बताइएको छ ।

सन् १९४७ मा ब्रिटिश शासनको अन्त्यसँगै भारत र पाकिस्तानको विभाजन हुँदा बनाइएको यो सीमा आजसम्म पनि दुई देशबीच संवेदनशील विन्दु रहँदै आएको छ । अटारी–वाघा नाकाको यो सीमा दुवै देशका पञ्जाब राज्यहरूमा फैलिएको छ । यहाँ दैनिक झण्डा अवतरण समारोहमा हजारौँ दर्शक दुवैतर्फबाट सहभागी हुन्छन् ।

भारतले इस्लामाबादमाथि अप्रिल २२ मा भारत–प्रशासित कश्मीरमा भएका पर्यटकमाथिका आक्रमणहरूमा समर्थन गरेको आरोप लगाएको थियो । उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गरेको थियो । यही आरोप–प्रत्यारोपकै बीच मे महिनामा द्वन्द्व सुरु भएको र त्यसपछि सम्बन्ध झन् चिसिएको थियो ।

यद्यपि, हाल पाकिस्तानले जारी गरेको यो भिसा निर्णयले धार्मिक तथा सांस्कृतिक सम्पर्क पुनःस्थापनाको दिशामा सकारात्मक सङ्केत दिएको भारतीय विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक, देशले तोड्यो आफ्नै गति रेकर्ड

जियुक्वान (चीन) । चीनले शनिबार उसको शेन्झाउ-२१ यानले सफल प्रक्षेपणपछि आफ्नै राष्ट्रिय रेकर्ड तोड्दै चीनको अन्तरिक्ष स्टेशनसँग अत्यन्त तीव्र गतिमा सफलतापूर्वक डक गरेको घोषणा गरेको छ ।

यो डकिङ प्रक्रिया चीनको अन्तरिक्ष इतिहासमा नयाँ उपलब्धिका रूपमा दर्ज भएको बताइएको छ । चीन म्यान्ड स्पेस एजेन्सीका अनुसार सम्पूर्ण डकिङ प्रक्रिया करिब साढे तीन घण्टा मात्र चलेको हो । यो अघिल्ला मिसनभन्दा तीन घण्टा छोटो हो ।

शेन्झाउ-२१ स्पेसक्राफ्ट उत्तरपश्चिमी चीनको जियुक्वान प्रक्षेपण केन्द्रबाट शुक्रबार राति स्थानीय समय अनुसार ११ः४४ बजे योजना अनुसार प्रक्षेपण गरिएको थियो । सफल डकपछि यानमा रहेका तीन जना अन्तरिक्ष यात्रीले अन्तरिक्ष स्टेशनको तियानहे कोर मोड्युलमा प्रवेश गर्ने कार्यक्रम छ ।

चालक दलमा पाइलट तथा मिसन कमान्डर झाङ लु रहनुभएको छ । उहाँ दुई वर्षअघि शेन्झाउ-१५ मिसनमार्फत पनि अन्तरिक्ष स्टेसन पुगिसकेका अनुभवी अन्तरिक्ष यात्री हुनुहुन्छ । अन्य दुई सदस्य पहिलोपटक अन्तरिक्ष यात्रामा सहभागी भएका हुन् । ३२ वर्षीय इन्जिनियर वु फेई देशका सबैभन्दा कान्छा अन्तरिक्ष यात्री हुनुहुन्छ भने झाङ होङ्झाङ पेलोड विशेषज्ञ हुनुहुन्छ जसले यसअघि नयाँ ऊर्जा र नयाँ सामग्रीमा अनुसन्धान गर्नुभएको थियो ।

झाङ लुले टोलीले तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा ताई-ची, बगैँचा सिँचाइ र कविताको माध्यमबाट ‘अन्तरिक्षलाई युटोपिया’ बनाउने लक्ष्य रहेको बताउनुभएको छ । उहाँहरू पनि अघिल्ला चालक दल झैँ झन्डै छ महिनासम्म अन्तरिक्षमा बस्नुहुनेछ ।

अन्तरिक्षमा रहँदा चालक दलले जैव-प्रविधि, एयरोस्पेस चिकित्सा, सामग्री विज्ञान र अन्य विषयमा २७ वैज्ञानिक तथा अनुप्रयुक्त परियोजना सञ्चालन गर्ने योजना बनाएको छ । यस पटक पहिलो पटक चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा मुसा पठाएको छ । दुई नर र दुई पोथी गरी कुल चार मुसालाई वजनहीनता र सीमित वातावरणले तिनीहरूको व्यवहार र अनुकूलन क्षमतामा कस्तो प्रभाव पार्छ भन्ने अध्ययनका लागि पठाइएको हो ।

चीन एकेडेमी अफ साइन्सका इन्जिनियर हान पेइका अनुसार यस अध्ययनले अन्तरिक्षमा साना स्तनपायी प्राणीको प्रजनन, अनुगमन तथा आपतकालीन प्रतिक्रियाको प्रविधि विकासमा मद्दत गर्नेछ ।” उहाँले भन्नुभयोे, “मुसाको अन्तरिक्ष वातावरणमा अनुकूलन परिवर्तनको प्रारम्भिक मूल्याङ्कन हाम्रो भविष्यका जैविक अध्ययनका लागि अत्यन्त महत्वपूर्ण हुनेछ ।”

सिन्ह्वा समाचार एजेन्सीका अनुसार ६० दिनभन्दा बढी गहन प्रशिक्षणपछि ३०० उम्मेदवार मध्येबाट यी ‘स्पेस माइस’ छनोट गरिएको हो । चाइना नेसनल रेडियोका अनुसार यी मुसा पाँचदेखि सात दिनसम्म अन्तरिक्ष स्टेशनमा रहनेछन् र फर्कने क्रममा शेन्झाउ-२० यानमार्फत पृथ्वीमा ल्याइने छ ।

चीनको अन्तरिक्ष कार्यक्रम विगत दुई दशकदेखि देशको राष्ट्रिय गौरव र प्रविधिक उपलब्धिको प्रतीक बनेको छ । चीनले सन् २००३ मा पहिलो मानवयुक्त अन्तरिक्ष उडान सफलतापूर्वक सम्पन्न गर्दै पूर्व सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकापछि यस्तो उपलब्धि हासिल गर्ने तेस्रो राष्ट्र बनेको थियो ।

चीन म्यान्ड स्पेस एजेन्सीका प्रवक्ता झाङ जिङ्बोले चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने अभियानका लागि अनुसन्धान तथा विकास कार्य सुचारुरूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सन् २०३० सम्ममा चन्द्रमामा चिनियाँ अन्तरिक्ष यात्री अवतरण गराउने हाम्रो लक्ष्य दृढ र स्थिर छ ।”

‘स्वर्गीय महल’ अर्थ लाग्ने तियाङ्गोङ पूर्णरूपमा चीनद्वारा निर्मित अन्तरिक्ष स्टेशन हो । अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट चीनलाई अलग गरिएपछि यो परियोजना चीनकै प्रयासले सम्पन्न गरिएको हो । देशको अन्तरिक्ष कार्यक्रम सत्तारूढ कम्युनिस्ट पार्टीको सैन्य शाखा, पिपुल्स लिबरेसन आर्मी (पिएलए) को निगरानीमा सञ्चालन हुँदै आएको छ ।

त्यसै गरी, पाकिस्तानसँगको सहकार्यमा चीनले हाल दुई जना पाकिस्तानी अन्तरिक्ष यात्री चयन गर्ने प्रक्रिया अघि बढाएको छ । तीमध्ये एक जना पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा पठाइने तयारी भइरहेको छ, जसले चीनको अन्तरिक्ष स्टेशनमा प्रवेश गर्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीको रूपमा नयाँ अध्याय सुरु गर्नेछ ।

विदेशी कम्पनीलाई बन्दरगाह दिने योजनाविरुद्ध बङ्गलादेशमा डक कामदारको हडताल

ढाका । बङ्गलादेशका डक कामदारले विदेशी कम्पनीलाई प्रमुख बन्दरगाह सञ्चालनको अनुमति दिने सरकारको योजनाको विरोध स्वरूप शनिबार देशको सबैभन्दा ठूलो चट्टोग्राम बन्दरगाहमा हडताल आरम्भ गरेका छन् ।

अन्तरिम सरकारले बन्दरगाह सञ्चालनको इजाजतपत्र विदेशी कम्पनीलाई भाडामा दिने तयारी गरिरहेको खबर सार्वजनिक भएपछि श्रमिक सडकमा उत्रिएका हुन् । अक्टोबरमा थोरै सङ्ख्याबाट सुरु भएको वाकआउट अहिले करिब २०० जना डक कामदारमा विस्तार भइसकेको छ ।

यो बन्दरगाह बङ्गलादेशको मुख्य व्यापारिक प्रवेशद्वार र विश्वव्यापी गार्मेन्ट आपूर्ति शृङ्खलाको अत्यन्त महत्वपूर्ण केन्द्र हो । चट्टोग्राम पोर्ट अथोरिटीका अध्यक्ष एस.एम. मोनिरुज्जमानका अनुसार विदेशी विशेषज्ञ अपरेटरले लगानी बढाउने र बन्दरगाह सञ्चालनको दक्षता सुधार गर्नेछन् । विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेश आफ्नो अधिकांश आयात-निर्यातका लागि यही बन्दरगाहमा निर्भर छ ।

यसलाई पहिले ‘चटगाँव’ नामले चिनिन्थ्यो र यो रणनीतिक रूपमा बङ्गालको खाडीको किनारमा अवस्थित छ । संयुक्त अरब इमिरेट्स (युएइ) आधारित ‘डिपी वर्ल्ड’ कम्पनीले बन्दरगाहको नयाँ मुरिङ कन्टेनर टर्मिनल सञ्चालन गर्न चासो देखाएको छ भने डेनिस शिपिङ कम्पनी ‘ए.पी.मोलर-मार्सक’ ले सहर बाहिर रहेको लाल्डिया कन्टेनर टर्मिनलमा रुचि जनाएको बङ्गलादेशको सरकारी समाचार एजेन्सी बिएसएसले जनाएको छ ।

जहाजरानी मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद युसुफका अनुसार अन्तरिम प्रशासनसँग डिसेम्बरसम्ममा सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । गत वर्ष अगस्ट २०२४ मा व्यापक जनआन्दोलनपछि शेख हसिनाको सरकार ढलेपछि गठन भएको अन्तरिम प्रशासन आगामी फेब्रुअरीमा हुने निर्वाचनपछि प्रतिस्थापित हुनेछ ।

कञ्चनपुरमा आजदेखि धान खरिद

दोधारा चाँदनी (कञ्चनपुर)- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि किसानका धान खरिद सुरु गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख महिकरण महराले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि आज (आइतबार) देखि किसानबाट धान खरिद गरिन लागेको जानकारी दिए । कम्पनीले यस वर्ष कञ्चनपुरमा पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने उनले बताए ।

“यस वर्ष हामीले पहिलो चरणमा पाँच हजार क्विन्टल धान खरिद गर्छौँ”, उनले भने, “पछि आवश्यकता अनुसार थप हुनसक्छ ।” विगतका वर्षहरूमा कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि यस वर्ष पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने लक्ष्य राखेको हो ।

गत वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको भए पनि लक्ष्यको २० प्रतिशतमात्र धान खरिद भएको कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार गत वर्ष दुई हजार ९५१ क्विन्टल मात्र धान खरिद भएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा खाद्य संस्थानले किसानबाट १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा तीन हजार क्विन्टल मात्र धान खरिद गर्न सकेको थियो । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि खाद्य संस्थानले यसपटक धान खरिद गर्ने लक्ष्य घटाएको हो ।

संस्थानले मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ मूल्य तोकेको छ । कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ ।

समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन आग्रह

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिने चापका कारण उत्पन्न हुने समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ ।

बोलपत्रदाताले अन्तिम समयमा मात्र बिड समिसन गर्ने प्रचलन रहेकाले एकै पटक प्रणालीमा अत्याधिक चाप पर्ने गरेको कार्यालयले स्पष्ट पारेको छ ।

प्रणालीमा देखिने समस्याले बोलपत्र प्रक्रियामा जटिलता उत्पन्न हुने र छुट्ने जोखिम अत्याधिक रहने गरेकाले त्यससँग सम्बन्धित गुनासा आउने गरेको कार्यालयले उल्लेख गरेको छ ।

विद्युतीय खरिद प्रणालीको सर्भरमा समस्या आएर कुनै पनि प्रयोगकर्ताको पहुँच हुन नसकेमा मात्र कार्यालयले म्याद थप गर्ने गरेको छ ।

अन्तिम समयमा चापका कारण प्रणालीमा ढिलाई भएकै आधारमा मात्र म्याद थप गर्न नमिल्ने कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन र अन्तिम समयको जोखिम नलिन आग्रह गरेको छ ।

अन्तिम समयमा माग हुने प्राविधि सहायता प्रदान गर्न समस्या पहिचानमा नै समय अभाव हुने स्पष्ट पार्दै कार्यालयले प्राविधिक सहायताका लागि पनि समयमा नै सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ ।

कुनै प्राविधिक समस्या देखापरे समयमा नै फोन मार्फत आवश्यक सहजीकरण गर्न कार्यालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

सामाजिक सुरक्षा कोषमा जम्मा भयो ९४ अर्ब

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँ बराबरको रकम जम्मा भएको छ ।कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार रुपैयाँ बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।

कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।

कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ ।

यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दावी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम रु १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रहेको छ ।

सिल्मी-ठुलीपोखरी-कार्कीनेटा सडक जोखिमपूर्ण

पर्वत । सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला-सिल्मी-ठुलीपोखरी-खौला-कार्कीनेटा सडकखण्ड निर्माण व्यवसायीको लापरबाहीले जोखिमपूर्ण बनेको छ ।

पोखरा-बागलुङ राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको यो सडकमा दैनिक सयौँ सवारीसाधन चल्ने भए पनि समयमा काम नगर्दा यात्रुहरूलाई सास्ती भएको हो । सिल्मी-ठूलीपोखरी सडकको पोखरी घुम्ती, लौकेको उकालोलगायत ठाउँमा रहेको सोलिङका ढुंगा उप्काएर अन्यत्र लगिएको तर, उक्त ठाउँमा ग्राभेललगायतका सामग्री नराख्दा बिरामी तथा विद्यालय जाने विद्यार्थीलाई समस्या भएको हो । सडक समयमा काम नहुँदा ठूलीपोखरी हुँदै दैनिक आवतजावत गर्ने सवारीसाधन बाटैमा अलपत्र परेका हुन् ।

वैकल्पिक व्यवस्था नगरी सडक अलपत्र छाड्दा उकालो ठाउँमा हिलोले सवारीसाधन जान सकिरहेका छैनन् । सवारीसाधन नियमित नहुँदा विद्यालय जाने विद्यार्थी तथा बिरामीलाई समेत समस्या भएको स्थानीय मिलन पौडेलले जानकारी दिए ।

हिलो हुने समयमा भइरहेको सोलिङ उप्काएर ढुंगा लाने तर बाटो नबनाउने गर्दा स्थानीय समस्यामा परेको कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलकप्रसाद रिमालले बताए । वैकल्पिक सडकको उचित व्यवस्थापन तथा मर्मत हुनुपर्नेमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेको उनको आरोप छ ।

“हामीले पटक पटक निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गर्न आग्रह गरेका छौँ, तर खासै ध्यान दिइएको छैन, उनले भने, “कतिपय समयमा उल्टो गाली गर्ने गरेको छ ।”

स्थानीय बासिन्दा तथा यातायात व्यवसायी सुरेश केसीका अनुसार सडक बिग्रँदा दैनिक रूपमा कुश्मा, पोखरालगायत ठाउँमा जाने र आउने सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको बताए । उनका अनुसार निर्माण व्यवसायीलाई मर्मतको कुरा उठाउँदा धम्क्याउने गरेका बताए ।

सो सडकको निर्माण र अनुगमनको जिम्मेवारी लिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले यस विषयमा निर्माण पक्षलाई पटक पटक निर्देशन दिएको बताए । “हामीले तत्काल सडक मर्मत गर्न भनिरहेका छौँ तर निर्माण व्यवसायीले अटेरी गर्दा यस्तो समस्या आएको हो, त्यसका लागि स्थानीय जनता र जनप्रतिनिधिले दबाब दिनुपर्छ”, उनले भने ।

सडकमा सोलिङ भएको भाग उप्किएपछि साना गाडी, मोटरसाइकल र पैदल यात्रुहरू आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको छ । स्थानीयले सम्बन्धित निकाय तथा निर्माण कम्पनीलाई तत्काल मर्मत गरी सडक व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

पूर्वाधार विकास कार्यालयको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत बजेट रु. पाँच करोड ८० लाखमा पाँच किलोमिटर सडकको स्तरोन्नति सुरु भएको हो । उक्त सडक यस आवमा सकिनुपर्नेमा हालसम्म जम्मा २५ प्रतिशत मात्र काम भएको छ । सडकमा कालोपत्र, ढलान, नाली, टेवा पर्खाल तथा जाली लगाउने कार्य हुने जिल्ला पूर्वाधार कार्यालयले जनाएको छ ।

सरकारको नगद मौज्दात ६५ अर्ब ८१ करोड

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखा परीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गरे । प्रतिवेदनअनुसार आव २०८१/८२ मा सरकारको सञ्चित कोष रु. एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको छ । यस्तै, नगद अवस्था रु. ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक रहेको छ ।

विभिन्न कोषको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात रु. ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको प्रवक्ता लामिछानेले जानकारी दिए ।

वैशाखयता ४ हजार ६०० विपद्जन्य घटना, ३३५ जनाको मृत्यु

काठमाडौं । यो वर्षको १५ कात्तिकसम्म देशभर ४ हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म ३३५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने १ हजार २६४ जना घाइते भएका छन् । बाढीका मात्रै ३१६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका ५५० घटना हुँदा ६७ जनाको मृत्यु र चार जना बेपत्ता तथा चट्याङका ३५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्पदंशका ५३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, जनावरको आक्रमणका २६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ । भारी वर्षाका ४२० घटनामा सात, आगलागीका १ हजार ६१४ घटनामा २६ र हुरीबतासका २८६ घटनामा आठ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिए ।

हिउँ पहिरोमा परी ९ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुई जनाको मृत्यु भएको छ । विपदजन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।यो वर्षको १५ कात्तिकसम्म देशभर ४ हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म ३३५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने १ हजार २६४ जना घाइते भएका छन् । बाढीका मात्रै ३१६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका ५५० घटना हुँदा ६७ जनाको मृत्यु र चार जना बेपत्ता तथा चट्याङका ३५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्पदंशका ५३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, जनावरको आक्रमणका २६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ । भारी वर्षाका ४२० घटनामा सात, आगलागीका १ हजार ६१४ घटनामा २६ र हुरीबतासका २८६ घटनामा आठ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिए ।

हिउँ पहिरोमा परी ९ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुई जनाको मृत्यु भएको छ । विपदजन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९२ पैसा र बिक्रीदर २० रुपैयाँ ०१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९६ पैसा र बिक्रीदर २२ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कमजोर बन्दै ‘मोन्था’ आँधीको प्रभाव, आज कहाँ-कहाँ पानी पर्छ ?

काठमाडौं । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

पूर्वमन्त्री आलमको ‘आइसियू’मा उपचार हुँदै

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ।

मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ। उहाँ लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा हुनुहुन्थ्यो।

विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उहाँले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।

माओवादी केन्द्रले यी ६ वटा पार्टीहरुसँग एकता गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित ६ वटा पार्टीहरुसँग एकताको प्रक्रिया चाँडै गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । शनिबार बसेको सचिवालय बैठकले एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने निर्णय गरेको उनले बताए ।

पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘ हाम्रो आजको बैठकको एजेण्डा पार्टी एकता थियो । पार्टी एकतामा वैचारिक, राजनैतिक, सैद्धान्तिक, नीतिगत कुराहरु करिव टुङ्गे लगाइसकेको छौँ । आज खासगरी प्राविधिक र सांगठानिक विषयमा छलफल केन्द्रित भएको छ । छलफल र पार्टी एकतामा आउने सम्भावनामा एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीसँग भएको छ र भर्खरै नेकपाबाट विद्रोह भएको चिरण सीसँग पनि कुराकानी भईरहेको छ ।’

उनले नेकपा समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सँगै ल्याउने प्रयास गरेको बताए ।उनले भने, ‘हामीले विप्लव सीको पार्टीलाई सँगै ल्याउने प्रयत्न गरेको हो, यता एकीकृत समाजवादी पार्टीलाई सोलेडोले ल्याउन प्रयत्न गरेको कुनै कसुर राखेको छैन । उहाँहरुको आफ्नो निर्णय निर्णायक हुन्छ । हाम्रो प्रयत्नले पुगेन ।’उनले अब एकता गर्न ढिलो गर्न नहुँने भन्दै ढिलो भए राष्ट्रिय राजनीतिमा पहल कदमी कमजोर हुने बताए ।

‘हामी आज के निश्कर्षमा पुग्यौं भने अब एकता गर्न ढिलो गर्नु हुँदैन । एकता ढिलो गरियो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहल कदमी कमजोर हुन्छ,’ उनले भने ।

काँग्रेस महामन्त्रीद्वयसँग प्रधानमन्त्री कार्कीले गरिन् चुनावी परामर्श

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । यसै सन्दर्भमा आज उनले नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी हुन् ।

दिउँसो ४ देखि ५ बजेकोबीचमा करिब एक घण्टा चलेको छलफलका क्रममा आगामी निर्वचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बताए ।

प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन् । त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, ‘औपचारिक निर्णय गर्न बाँकी भए तापनि नेपाली काँग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय पनि गर्छौँ। नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ।’

उनीहरूले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलहरूसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताए । जेनजीलगायत सबै राजनीतिक दलहरूसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसद्को पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उनीहरूले राखे।

प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी छिन् । आज पार्टीको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको छ। प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरक फरक दलका नेताहरूसँग छलफल गरेकी थिइन् । प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइसकेको छ।