`

द्वारिकादेवी ठकुरानी क्रिकेटः जानकीको कप्तानीमा टोली घोषणा

बैतडी- द्वारिकादेवी ठकुरानी यु–१९ महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ । जानकी थापाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीले जानकारी दिए । टोलीमा करिश्मा थापा (उपकप्तान), ममता बोहरा (विकेटकिपर), रबिना बोहरा, पुनम मल्ल, तनुजा भण्डारी, रेश्मा विष्ट, सिमरन विष्ट, युविका भण्डारी, वर्षा भण्डारी, सोनिका ठगुन्ना, अमृता विष्ट, आकृति भण्डारी र आयुश्मा चन्द रहेका छन् । टोलीको प्रशिक्षकमा ऋतु कनौजिया र व्यवस्थापकमा दीपेन्द्रबहादुर बोहरा रहेका छन् ।

कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको प्राविधिक सहयोगमा यही असार १२ गतेदेखि धनगढीको फाप्ला मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा प्रदेशका आठ जिल्लाको टोलीको सहभागीता रहनेछ । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ ।

खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

पाटन (ललितपुर), १२ असार : ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्युु भएको छ ।

महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।

“खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर आएको बाढीले बगाएर मृत्युु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौँ, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौँ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ, १२ असार : प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनुहुनेछ ।

प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले राससलाई जानकारी दिनुभयो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तत्र्रिmया गर्नुहुनेछ । सम्मेलनका क्रममा प्रधानमन्त्रीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट समेत हुने दूतावासले जनाएको छ ।

स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो । करिब पाँच लाख पाँच हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसङ्ख्या लगभग चार करोड ७४ लाख छ ।

सन् १९८६ मा युरोपेली सङ्घको सदस्य भएको स्पेनले सन् १९९५ मा सेन्जेनको सदस्यता लिएको थियो । स्पेनमा ८४ प्रतिशत स्पेनिस, एक दशमलव सात मोरक्कन, एक दशमलव दुई रोमानियन र अन्य जाति १२ दशमलव तीन रहेको तथ्याङ्क छ ।

स्पेनमा साना–ठूला गरी २० हजार फुटबल क्लब र १० लाख रजिष्ट्रर खेलाडी रहेको मुलुक हो । भाषाका हिसाबले स्पेनिस विश्वको चौथो धेरै बोलिने भाषा हो ।

नेपाल–स्पेन दौत्य सम्बन्ध

नेपाल र स्पेनबीच सन् १९६८ मे १३ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि सन् २०१८ मा मात्र त्यहाँ नेपालको आवासीय राजदूतावास स्थापना भएको हो । स्पेनको दूतावास यहाँ नभएकाले दिल्लीस्थित दूतावासले नेपाल हेर्दै आएको छ । स्पेनमा विभिन्न पेसा तथा व्यवसायमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ । उनीहरूमध्ये विशेष गरी कृषि, होटल, पर्यटन र निर्माणलगायत क्षेत्रमा बढी संलग्न रहेको जानकारी दिइएको छ ।

नेपाल र स्पेनबीच विगतदेखि नै उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदै आएको छ । तत्कालीन राजा वीरेन्द्रले सन् १९८३ मा स्पेन तथा त्यहाँका राजा कार्लाेसले पनि सन् १९८७ मा नेपालको चारदिने राजकीय भ्रमण गर्नुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१६ मा स्पेनमा ‘द्वन्द्वमा परेका व्यक्तिहरूको बेचबिखनसम्बन्धी उच्चस्तरीय बहस’मा भाग लिनुभएको थियो । त्यस्तै, सन् २०१९ मा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले स्पेनमा आयोजित मन्त्रीस्तरीय जिएसएमए कार्यक्रममा भाग लिनुभएको थियो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सन् २०२१ मा स्पेनको भ्रमण भएको थियो । त्यसअवसरमा नेपाल र स्पेनबीच जलवायु परिवर्तन र पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको थियो । वैदेशिक रोजगारीका हिसाबले नेपालीका लागि स्पेन नयाँ गन्तव्य बनिरहेको छ । स्पेन विश्वमै पर्यटकीय गन्तव्यका रूपमा रहँदै आएको छ । त्यहाँको आयस्रोतको प्रमुख आधारमध्ये पर्यटन महत्त्वपूर्ण क्षेत्र हो ।

वार्षिक सवा करोड पर्यटकले स्पेनको भ्रमण गरेको तथ्याङ्क छ । यसैबीच स्पेनबाट सन् २०१८ मा १९ हजार ५६३ पर्यटक नेपाल भ्रमणमा आएकामा कोभिड–१९ पछि त्यसमा केही गिरावट देखिएको छ ।

नेपालको भौगोलिक अवस्थिति, प्रकृतिक सौन्दर्य, अनुपम सांस्कृतिक सम्पदा र विविध विशिष्ट पर्यटकीय स्थानले स्पेनिस पर्यटकहरूलाई आकर्षण गर्ने प्रशस्त सम्भावना छ । अनुकूल हावापानी र साहसिक पर्यटन, आध्यात्मिक चिन्तन, ध्यान र योगका लागि नेपाल उपयुक्त गन्तव्य स्थलकारूपमा परिचित छ ।

नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले पनि स्पेनलगायतका युरोपली मुलुकका पर्यटकलाई नेपालबारे थाहा पाउन बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ ।

सोलुखुम्बुको फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान,नियमित उडान तालिका कागजमै सीमित

सोलुखुम्बु, १२ असारः पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि जहाज उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको जहाज उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ ।

प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौँबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौँ फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौँ फर्किएको अधिकृत थापाले जानकारी दिनुभयो । भेगको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरु काठमाडौँ पठाउन सकस परेको स्थानीय पदम श्रेष्ठले बताउनुभयो । उडान बन्द हुँदा गम्भीर अवस्थाका बिरामीको जीवन जोखिममा परेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन् । काठमाण्डौँ ‘रेफर’ गरिएका बिरामीलाई जहाजमार्फत पठाउन नसकिँदा घण्टौँ लगाएर गाडीमार्फत ओखलढुङ्गा तथा विराटनगर पठाउनु परेको स्थानीय पेम्बा शेर्पाको भनाइ छ ।

सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकको मुख्य गेटवे लुक्ला हो भने फाप्लु वैकल्पिक स्थलका रुपमा लिने गरिन्छ । मौसमले उडान अवरुद्ध हुँदा फाप्लु हुँदै लुक्ला पुग्ने पर्यटकहरूले योजना परिवर्तन गरिरहेको यातयात व्यवसायी मिङ्मार शेर्पाले बताउनुभयो ।

नियमित उडान तालिका कागजमै सीमित

जिल्लाका सदरमुकाम नजिकको फाप्लु विमानस्थलमा हाल नेपाल एयरलाइन्सबाहेक अन्य निजी विमान कम्पनीहरुले नियमित उडान तालिका राखेका छैनन् । मौसम प्रतिकूल भइरहने र यात्रुसमेत पर्याप्त नुहने भएपछि निजी विमान कम्पनीहरुले नियमित उडान तालिका समावेश नगरेको हुन् ।

नेपाल एयरलाइन्सले हप्तामा सोमबार, बुधबार, शुक्रबार र शनिबार काठमाण्डौँ–फाप्लुमा उडान भर्ने तालिका तय गरेको छ । तर, मौसमका कारण ती उडानहरु अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार हरेक महिना औसत १०÷१२ दिन मात्र उडान हुन सक्ने अवस्था रहन्छ । अर्कोतर्फ नेपाल एयरलाइन्ससँग अहिले फाप्लुका लागि चल्ने ट्विनअटर जहाजको सङ्ख्या सीमित छ । यन्त्रको अवस्था, पाइलटको अभाव र अन्य प्राविधिक कारणले गर्दा समेत तालिका प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ ।

फाप्लुबाट काठमाडौँसम्मको सडक मार्गको दूरी करिब २७५ किलोमिटर छ तर, त्यो सडक अहिले पनि गाडीका लागि पूर्ण रूपमा उपयुक्त छैन । बिपी राजमार्गको सिन्धुली, खुर्को तथा काभ्रे क्षेत्रको सडक पहिरोका कारण जोखिमपूर्ण भएकाले जिल्लावासीलाई सङ्घीय राजधानी काठमाडौँ आउजाउ गर्न कठिन छ ।

स्थानीय बिमला राई भन्नुहुन्छ, “सडकबाट जान भनेको शरीरलाई यातना दिनु हो । बिरामी छ भने झन् यात्रा कहिल्यै सकिँदैन जस्तो लाग्छ ।” स्थानीय तहका जनप्रतिनिधिले हवाई सेवा नियमित बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे भन्नुहुन्छ, “मौसमका कारण नियमित उडान असम्भव हुन्छ, तर यसलाई वैकल्पिक रुपमा सेनाको हेलिकप्टर, निजी एयरलाइन्ससँग सहकार्य गरेर काम गरिरहेका छौँ । जहाजको भर नहुँदा बिरामी, सुत्केरी तथा अन्य अति आवश्यक सरकार कामका लागि धेरै सास्ती खेप्नु पर्दछ ।”

महोत्तरीका १४ स्थानीय तहको बजेट साढे नौ अर्ब

महोत्तरी, १२ असारः महोत्तरीका स्थानीय तहको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट रु नौ अर्ब ४२ करोड १७ लाख ९३ हजार रहेको छ । जिल्लाका १५ मध्ये १४ स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

जलेश्वर नगरपालिकाबाहेक यहाँका अरू सबै स्थानीय तहले आ–आफ्नो ठाउँको नीति तथा कार्यक्रम र वार्षिक बजेट गाउँ तथा नगरसभाको परिषद्मा प्रस्तुत गरेका छन् । स्थानीय तहका लागि बजेट प्रस्तुत गर्ने कानुनी रुपमा स्वीकृत तालिकाबमोजिम असार १० भित्रै नौ नगरपालिका र पाँच गाउँपालिकाले आ–आफ्नो तहको गाउँ तथा नगरसभाको परिषद् आयोजना गरेका हुन् ।

सबैभन्दा बढी बर्दिबास नगरपालिकाले रु एक अर्ब २२ करोड ४० लाख १० हजारको बजेट प्रस्तुत गरेको छ । यसैगरी, गौशाला नगरपालिकाले रु एक अर्ब १५ लाख ५५ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेको छ ।

यसैगरी, भङ्गाहा नगरपालिकाले रु ७१ करोड ९८ लाख ४४ हजार, सम्सी गाउँपालिकाले रु ६३ करोड ४३ लाख १७ हजार, लोहारपट्टी नगरपालिकाले रु ५७ करोड ८८ लाख १९ हजार, मनराशिशवा नगरपालिकाले रु ५६ करोड ७४ लाख ८१ हजार र पिपरा गाउँपालिकाले रु ५३ करोड ५१ लाख ४७ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेका छन् ।

यसैगरी, बलवा नगरपालिकाले रु ५२ करोड ९१ लाख ९४ हजार, सोनमा गाउँपालिकाले रु ४९ करोड ३८ लाख, रामगोपालपुर नगरपालिकाले रु ४६ करोड १६ लाख ७६ हजार र औरही नगरपालिकाले रु ४५ करोड २७ लाख ७७ हजारको बजेट प्रस्तुत गरेका छन् । मटिहानी नगरपालिकाले रु ४४ करोड ५० लाख, महोत्तरी गाउँपालिकाले रु ४३ करोड ९४ लाख ७३ हजार र एकडारा गाउँपालिकाले रु ३३ करोड ८६ लाख ९६ हजारको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेका छन् । जलेश्वर नगरपालिकाको नगरसभा परिषद् आयोजना हुन सकेको छैन ।

जिल्लाका स्थानीय तहले बर्सेनि बजेटको आकार बढाउँदै लगे पनि आन्तरिक स्रोत परिचालन, स्थानीय कर बढाउने उपायबारे खासै पहलकदमी लिएको देखिएको छैन । स्थानीय स्रोतसाधनको परिचालनबाट आय हुने भरपर्दो आधार स्थानीय तहले बनाउन नसक्दा बजेट सङ्घीय र प्रादेशिक सरकारले दिने विभिन्न शीर्षकका रकममा निर्भर देखिएका छन् ।

तीन तहका सरकारमध्ये स्थानीय तह जनतासँग प्रत्यक्ष सम्बन्ध हुने घरआँगनको सरकार भएको हुँदा जनअपेक्षा सङ्कलन र जनचाहनाबमोजिमका योजना सञ्चालनमा यो तहको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा धेरै भारी वर्षा, तराईमा हावाहुरी

काठमाडौँ, १२ वैशाख : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सबै प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराई भू–भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भू–भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १२ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६० रुपैयाँ १८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०७ पैसा र बिक्रीदर १०० रुपैयाँ ५१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३८ पैसा र बिक्रीदर २१ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ५० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एमाले सचिवालय बैठकः विधान महाधिवेशनमा तीन प्रस्ताव पेस गरिने

काठमाडौँ, १२ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको दोस्रो विधान महाधिवेशनमा तीनवटा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले मुख्यालयमा आज बसेको ५३औँ सचिवालय बैठकले विधान महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव पेस गर्ने निर्णय गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । विधान महाधिवेशनको तयारीका काम गर्न पार्टी केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिइएको छ । विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आगामी भदौ २० देखि २२ गतेसम्म गर्ने तय भइसकेको छ ।

बैठकले विधान महाधिवेशनको तयारी गर्नका लागि आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । यसैगरी, केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पार्टीको पोलिटब्यूरो बैठक बस्ने निर्णय भएको छ । उपमहासचिव ज्ञवालीका अनुसार आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकले विधान संशोधनसम्बन्धी प्रस्ताव तयार गरी छलफलका लागि तल्लो तहको कमिटीमा पठाउने निर्णय भएको छ ।

यस्तै बैठकले पार्टीका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्बन फुकुवा गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । गत पुस १० गते बसेको सचिवालय बैठकले उहाँहरुलाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

सरकारको एक वर्ष सफल र प्रभावकारी

एमाले सचिवालय बैठकले वर्तमान सरकारको एक वर्षको कार्यकाल सफल र प्रभावकारी रहेको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । यसैगरी, देशले सही दिशा लिएको र सरकारमा एमालेको नेतृत्व प्रभावकारी रहेको बैठकको निष्कर्ष छ ।

बैठकले सुशासन र सेवा प्रभावमा अझ ध्यान दिन सरकारको ध्यानाकर्षण गरेको छ । देशमा राजनीतिक स्थायित्वको आधार बलियो भएको, दुई पार्टीबीचको समझदारी नीतिगत र अरू निर्णयमा पनि बलियो बन्दै गएको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । आज सम्पन्न सचिवालय बैठकले मुलुकको अर्थतन्त्रले विस्तारै लय समात्न थालेको निष्कर्ष निकालेकोे उहाँले बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले गत वर्ष अरूले नै बनाएको बजेट र नीति तथा कार्यक्रममा काम गर्नुपरेकाले अपेक्षा गरेजस्तो परिमाण आउन सक्दैनथ्यो भन्ने लागे पनि अनेकौँ बेथितिलाई सल्टाउँदै मुलुकलाई सही दिशातर्फ अघि बढाउन एमाले नेतृत्वको सरकार सफल भएको बताउनुभयो । आमजनताको सजकता, राजनीतिक दलको सक्रियता र सरकारको प्रभावकारिताका कारण प्रतिगामी प्रयास निस्तेज भएको बैठकले निष्कर्ष निकालेको छ । यसैगरी, बैठकले पार्टीमा अझ बढी भावनात्मक एकता सुदृढ गर्दै जाने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकद्वारा विभिन्न पाँच प्रस्ताव पारित

बैठकले वर्तमान सन्दर्भमा विभिन्न पाँच महत्वपूर्ण प्रस्ताव पारित गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । बैठकले इरान र इजरायलबीच जारी दुई साता लामो युद्धले समग्र खाडी क्षेत्रकै शान्ति र स्थायित्वमा गम्भीर चुनौती खडा गरेको भन्दै युद्धमा संलग्न दुवै पक्षलाई युद्धविरामको इमानदारीपूर्वक पालना गर्न, तनाव बढाउने कुनै पनि काम नगर्न, स्थायी रूपमा युद्ध अन्त्य गर्न सम्बद्ध पक्षहरूको ध्यानाकषर्ण गरिएको उहाँले बताउनुभयो ।

द्वन्द्वलाई नचर्काउन, द्वन्द्वमा सहभागी नहुन र विश्व शान्तिका लागि सार्थक योगदान गर्न बैठकले शक्ति राष्ट्रहरूको ध्यानाकर्षण गरेको छ । यसैगरी, ‘भिजिट भिसा’को दुरुपयोग भएको र यस सम्बन्धमा विभिन्न बेथिति एवं अनियमितता देखापरेको भनेर संसद्भित्र र बाहिर उठेका प्रश्नका विषयमा अध्ययन र छानबिन गर्न ‘उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ बनाउनु सकारात्मक कदम भएको निष्कर्ष निकाल्दै बैठकले यसमा संलग्न सबैलाई धन्यवाद दिएको छ ।

यसैगरी, दैलेखमा भइरहेको पेट्रोलियम पदार्थको अध्ययन र उत्खनन कार्यबाट त्यहाँ ११२ अर्ब मेट्रिक टन मिथेन ग्यास रहेको भन्ने प्रारम्भिक प्रतिवेदनले देशमा उत्साह र आशाको सञ्चार उत्पन्न गराएको बैठकले ठहर गरेको छ । पेट्रोलियम पदार्थको अध्ययन र उत्खनन कार्यले देशलाई ऊर्जाको क्षेत्रमा आत्मनिर्भर बनाउन र समृद्धितर्फ अगाडि बढाउन यो परियोजना ठूलो संवाहक बन्न सक्छ भन्ने पार्टीको ठहर रहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

यसैगरी, बैठकले पारित गरेको प्रस्तावमा यस वर्ष औसतभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमानसमेतलाई ध्यानमा राख्दै राष्ट्रिय राजमार्गहरूलाई निर्वाध सञ्चालन हुने व्यवस्था मिलाउन बैठकले नेपाल सरकारको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो । उपमहासचिव ज्ञवालीका अनुसार सिङ्गो पार्टीपङ्क्तिलाई विपद् व्यवस्थापनका काममा तयारी अवस्थामा रहन र विपद्को बेलामा आ–आफ्नो ठाउँबाट परिचालित हुन सचिवालय बैठकले आह्वान गरेको पार्टीका उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो ।

नेपालको परम्परागत सीपमा आधारित व्यवसायी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर । राष्ट्रिय युवा परिषदमा आवद्ध परम्परागत सीपमा आधारित युवा सञ्जालले नेपालको परम्परागत सीपमा आधारित व्यवसायी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय युवा परिषद्को सभा हलमा एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

यस अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा मुगु, जुम्ला, भक्तपुर जिल्लाका उद्यमीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई त्रिभुबन विश्वविद्यालय नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका पूर्व प्रमुख प्रा.डा.सोमप्रसाद खतिवडाले प्रशिक्षण दिएका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले उद्यमीहरुलाई हौसला प्रदान गरेका थिए । ‘आफ्नो कर्ममा पसिना बगाउ“दा राम्रो आम्दानी गर्न सकिन्छ । जागिर भन्दा उत्तम व्यवसाय उद्यम नै हो ।’ बस्नेतले भने, ‘परदेशमा गएर दुःख पाउनु भन्दा स्वदेशमै उद्यम, व्यवसाय गर्दा सन्तुष्टि मिल्छ ।’ अरुको जागिर गर्नु भन्दा आफ्नै उद्यम गर्न उनले प्रेरित गरे । परदेशमा गएर दुःख पाउनु भन्दा स्वदेशमै उद्यम गरेर बा“च्न सजिलो भएको उनले बताए ।
परम्परागत सीपमा आधारित युवा सञ्जालका अध्यक्ष राज कार्कीले पहिलो कार्यक्रम ऐतिहासिक भएको बताए । व्यवसायको आधुनिकीकरण गर्नु अहिलेको अपरिहार्यता भएको कार्कीले बताए । यो कार्यक्रम गर्न सहयोग गरेकोमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष बस्नेत र प्रमुख प्रशासकिय अधिकृत गेहनाथ गौतमलाई उनले धन्यवाद व्यक्त गरे । सञ्जालका कोषाध्यक्ष अमित कुमार दासले स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा सबै सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै केही उदाहरणिय व्यवसायीलाई मायाको चिनो प्रदान गरिएको थियो । राष्ट्रिय युवा परिषदमा आवद्ध परम्परागत सीपमा आधारित युवा सञ्जालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको राष्ट्रिय युवा परिषद समन्वयमा भएको थियो ।

पताञ्जली जग्गा हिनामिना प्रकरण : माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ, ११ असार : विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरण्को उहाँविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा आज भएको थुनछेक बहसपछि अदालतले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्री नेपाललाई नगद रु ३५ लाख वा सो बराबरको बैंक जमानतमा छाड्न आदेश भएको छ ।” न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उक्त थुनछेक आदेश गरेको हो ।

आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित हुनुभएपछि अपराह्नदेखि उहाँसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरुले थुनछेक बहस गर्नुभएको थियो । नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गर्नुभएको थियो ।

पतञ्जली योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।विगतमा पतञ्जली योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।

एमाले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनाको निलम्वन फुकुवा

काठमाडौँ, ११ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्वन फुकुवा गरेको छ ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज बसेको ५३ औँ सचिवालय बैठकले पाण्डे र तिमिल्सेनाको निलम्वन फुकुवा गरिएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

गत पुस १० गते बसेको सचिवालय बैठकले उहाँहरूलाई छ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्वन गरेको थियो । उपमहासचिव ज्ञवालीले पार्टीमा उहाँहरू दुवै जनालाई पार्टी काममा खटाउने निर्णय गरेको बताउनुभयो । पार्टीभित्र राख्नुपर्ने कुरा सार्वजनिक गरेपछि स्थायी कमिटी सदस्य पाण्डे र तिमिल्सेनालाई कारबाही गरेको थियो ।

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति डा यादव

चितवन, ११ असार : पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले चिकित्सा नैतिकता (मेडिकल इथिक्स) छोड्न नहुने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आज आयोजित ‘एक्युट अङ्कोलोजी सर्भिस’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले पैसा–पैसा भन्ने डाक्टरले चिकित्सा नैतिकता पालना नगर्ने बताउनुभयो ।

राम्रो उपचार गर्ने डाक्टर नर्सको ‘एम्बेसडर’ बिरामी बन्ने बताउँदै उहाँले भन्नुभयो, “राम्रो उपचार पाएको बिरामीले भन्छ कि ‘यो डाक्टर राम्रो छ’ भनेर । यसले तपाईंको इज्जत, मानसम्मान प्राप्त हुन्छ, त्यसको ‘बाइप्रडक्टर’ पैसा हुन्छ ।” चिकित्सक र नर्सको व्यवहारले बिरामीको आधा रोग निको हुने बताउँदै उहाँले पैसाको पछाडि नदौडिन आग्रह गर्नुभयो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादवले प्रतिस्पर्धी बन्न सके पैसा आफैँ पछाडि लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पैसाको पछि नभाग, पैसा तिम्रो पछि भाग्नेछ ।”

आफूले नौ वर्ष अघि प्रोस्टेट क्यान्सरको उपचार गरेको स्मरण गर्दै उहाँले पेटस्क्यान गर्न जापान जानु परेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “जापानबाट फर्केपछि नेपालमै पेट स्क्यान ल्याउनुपर्छ भनेर तत्कालीन सरकारलाई रु ३६ करोड बजेट विनियोजन गर्न लगाएको थिएँ ।” उक्त रकम फ्रिज भएको तर मेसिन आउन नसकेको उहाँको भनाइ थियो । अहिले यस अस्पतालले पेट स्क्यान मेसिन ल्याउने प्रक्रिया पुनः सुरू गरेकोमा आफूलाई खुसी लागेको बताउनुभयो ।

डा यादवले दुई दशकमा देशमा ठूलो परिवर्तन आएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, दूरसञ्चार, पूर्वाधार क्षेत्रमा धेरै ठूलो परिवर्तन भएको भन्दै उहाँले अझै गुणस्तरीय रुपमा विकास अघि बढाउनुपर्ने आवश्यक रहेको औँल्याउनुभयो । लोकतन्त्रपछि स्थानीय तहमा ३६ हजार जनप्रतिनिधिमध्ये १२ हजार दलित, जनजाती, मधेशी, महिला, सीमान्तकृत जननप्रतिनिधि रहेको चर्चा गर्दै उहाँले यो लोकतन्त्रको उपलब्धि भएको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले २५ वर्षमा क्यान्सर अस्पतालबाट धेरै अनुभव सिकिएको बताउँदै त्यही अनुभवबाट अहिले विभिन्न तालिम आयोजना गरिएको बताउनुभयो । नेपालमा अन्यत्र नभएको दक्ष जनशक्ति यस अस्पतालमा भएको चर्चा गर्दै डा पौडेलले क्यान्सरको जनशक्ति नेपालमा अझै कमि रहेको बताउनुभयो ।

एक्युट अङ्कोलोजी सर्भिसका परिकल्पनाकार एवं अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहले नेपालमा पहिलो पटक क्यान्सरको आकस्मिक अवस्था (एक्युट अङ्कोलोजी सर्भिस) मा विशेषज्ञ उपचार सेवाका बारेमा प्रकाश पार्नुभएको थियो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा सम्पन्न “फाउण्डेसन कोर्स टु अक्युट अङ्कोलोजी सर्भिस” तालिम सम्पन्न भएसँगै एक्युट अङ्कोलोजी सर्भिस सुरू गरिएको उहाँले बताउनुभयो ।

एक्युट अङ्कोलोजी सर्भिसअन्तर्गत, रोगीले आकस्मिक लक्ष्ण देखाउने वित्तिकै तत्काल उपचार, समन्वययुक्त मूल्याङ्कन र बिरामीको अवस्थाअनुसार प्राथमिकता तोक्ने व्यवस्था गरिने उहाँको भनाइ छ । कार्यक्रममा अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने, उपनिर्देशक डा उमेश नेपाल, डा योगेश रेग्मीलगायतले बोल्नुभएको थियो । कार्यक्रमका अवसरमा तालिममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थी चिकित्सक, नर्सलाई पूर्व राष्ट्रपति डा यादवले प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो ।

ईरान–इजरायल युद्धविरामपछि स्थिति शान्त हुँदै, दुबै पक्षबाट गम्भीर प्रतिक्रिया

ईरान र इजरायलबीच १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछिको युद्धविराम दोस्रो दिनमा प्रवेश गर्दा क्षेत्रीय अवस्था क्रमशः शान्त हुँदै गएको देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम ‘सफल रूपमा अघि बढिरहेको’ टिप्पणी गर्नुभएको छ । उहाँको भनाइअनुसार अमेरिकी आक्रमणहरूले ईरानको आणविक क्षमतामा गहिरो क्षति पु¥याएको र ‘दशकौं पछाडि धकेलेको’ दाबी गरिएको छ ।

तर अमेरिकी गुप्तचर विवरणहरूले ती आक्रमणहरूबाट ईरानको सबै सञ्चालित केन्द्रीय उपकरणहरू पूर्णरूपमा नष्ट नभएको उल्लेख गरेका छन् । रिपोर्टका अनुसार केही भूमिगत आणविक भवनहरू अझै सुरक्षित रहेका छन्, जसका कारण कार्यक्रम केही महिना मात्रै पछि धकेलिएको हो ।
यता इजरायली सेनाले ईरानको आणविक पूर्वाधारमा ‘महत्त्वपूर्ण क्षति’ पु¥याएको दाबी गर्दै उक्त अभियानले केही वर्षसम्मको ढिलाइ गराएको विश्वास व्यक्त गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘ऐतिहासिक विजय’ भनेका छन् ।

ईरानका राष्ट्रपति मसउद पेसेश्कियानले शान्तिपूर्ण रूपमा परमाणु ऊर्जा प्रयोग गर्ने आफ्नो देशको अधिकार सुरक्षित रहने बताउनुभयो । साथै, युद्धको समयमा सीमित गरिएको इन्टरनेट सेवा पुनः सामान्य अवस्थामा फर्काउने प्रक्रिया सुरु गरिएको साइबर शाखाले जनाएको छ ।
ईरानले युद्धमा ज्यान गुमाएका वरिष्ठ सैन्य अधिकृत र वैज्ञानिकहरूको सम्मानमा शनिबार राजकीय अन्त्येष्टि गर्ने तयारी गरेको छ । पहिलो दिनै इजरायली कारबाहीमा ज्यान गुमाएका क्रान्तिकारी गाड्र्सका प्रमुख होसेइन सलामीलाई बिहीबार अन्त्येष्टि गरिनेछ ।

ईरानी स्वास्थ्य मन्त्रालयका अनुसार युद्धको क्रममा ६१० जना सर्वसाधारणको मृत्यु भएको छ भने इजरायली पक्षका अनुसार ईरानी आक्रमणबाट २८ जनाको ज्यान गएको छ ।यता, इजरायलले ईरानको केन्द्रीय बैंकलाई आतङ्कको आर्थिक स्रोतको रूपमा औपचारिकरूपमा घोषणा गर्दै ‘मध्यपूर्वमा आतंकवादलाई प्रोत्साहन गर्ने प्रणाली’ को रूपमा दोष लगाएको छ ।

यसैबीच, ईरानी संसदले अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियामक संस्था (आइएइए) सँगको सहकार्य स्थगित गर्ने निर्णय गरेको छ, जुन कानुनी रूपमा लागू हुनका लागि संरक्षक परिषद्को अनुमोदन आवश्यक हुनेछ ।

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

कञ्चनपुर, ११ असारः आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पु¥याएर बन्धक बनाइएका ५८ नेपाली युवाको आज उद्धार गरी ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरुको उद्धार गरी ल्याइएको हो ।

नागरिक संस्था किन नेपाल÷किन इण्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा युवाको उद्धार गरी पश्चिमी सीमा नाका गड्डाचौकी हँुदै नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो ।

रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न सङ्घ संस्था र प्रहरीले उद्धार गरेको उहाँले बताउनुभयो ।

उद्धार गरेका युवालाई बसमार्फत सीमा नाका गड्डाचौकी पु¥याइएको थियो । रोजगारी दिने भनेर लग्ने व्यक्तिको खोजी कार्यसँगै आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । सीमा नाकामा उद्धार गरेर ल्याइएका युवालाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) डम्बरबहादुर विश्वकर्माले स्वागत गर्नुभएको थियो ।

सुदूरपश्चिमका युवालाई आजै घर जाने व्यवस्था मिलाइएको छ भने अन्य जिल्लाका युवालाई बस्नका लागि प्रबन्ध गरिएको छ । उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली, डोटीका गरी ११ जना रहेका छन् भने अन्य चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, दाङ, बाँके, स्याङजा, धादिङ, कास्की, सर्लाही, रुकुम बागलुङ, इलाम, रुपन्देहीका गरी ४६ जना रहेका छन् ।

फेसबुक ठगी प्रकरणः ६२ लाख ठगी गरेका युवक पक्राउ

धरान (सुनसरी), ११ असारः सामाजिक सञ्जाल फेसबुकमार्फत रु ६२ लाख ७५ हजार २०० ठगी गरेका युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनले ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक आइडी बनाइ आफूलाई ‘फुइङ भानिदा’ नामक थाइल्याण्डको नागरिक सिएम कमर्सियल बैंकका मेनेजर भएको परिचय दिँदै आएका थिए ।

उनले आफ्नो परिचय दिँदै एलेन अर्बी शाही नामक व्यक्तिको सो बैंकमा खाता रहेको, निजको कोही पनि नातेदार नभएको र पीडित कुर्मराज शाहीको जात मिल्ने भएकाले सो खातामा रहेको सम्पूर्ण रकम तपाईँको नाममा राखिदिन्छु भनी झुठ्ठा प्रलोभन देखाउँदै रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।

प्रवक्ता खतिवडाका अनुसार उक्त प्रलोभनमा परी पीडित कुर्मराज शाहीले विभिन्न मितिमा मेहताको नाममा रहेको बैंक खातामा जम्मा रु ६२ लाख ७५ हजार २०० पठाएका थिए । अनुसन्धानका क्रममा पीडितलाई झुटो विश्वास दिलाइ ठगी गरिएको पुष्टि भएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

लामो समयदेखि फरार रहेका मेहतालाई जिल्ला प्रहरी कार्यालयको टोलीले मङ्गलबार साँझ सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । प्रवक्ता खतिवडाका अनुसार पक्राउ परेका मेहतालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटी, काठमाडौंँ पठाइएको छ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

म्याग्दी, ११ असार : आयोजकलाई घरेलु मैदानमा पराजित गर्दै स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को बिजेता बनेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको प्रतियोगिताको आज बेनीको खुला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुईविरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै स्याङ्जा विजयी भएको हो ।

पहिलो सेटमा २५–१७ र तेस्रोमा २६–२४ को अन्तरमा स्याङ्जालाई पराजित गरेको म्याग्दी दोस्रो, चौथो र पाँचाँै सेटमा २५–१९, १६–२५ र १७–१५ को अन्तरमा पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझायो ।

बागलुङलाई २५–१४, २५–२१ र २५–२३ को सोझो तीन सेटमा पराजित गर्दै तनहुँ तेस्रो भएको प्रतियोगिताको रेफ्री संयोजक टलसिङ थापाले बताउनुभयो । आइतबारदेखि सुरु भएको प्रतियोगितामा म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता थियो ।

विजेताललाई नगद रु दुई लाख, उपविजेतालाई नगद रु एक लाख, तेस्रोलाई नगद रु ५० हजार र चौथोलाई नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको म्याग्दी जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

स्याङ्जाका सञ्जोक परियार उत्कृष्ट खेलाडी, अमित केसी उत्कृष्ट प्रशिक्षक, तनहुँका विवस आले उत्कृष्ट सेटर, म्याग्दीका विष्णु नेपाली उत्कृष्ट सर्भर, धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर घोषित हुनुभयो ।

उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु पाँच–पाँच हजार तथा अन्य विधागत उत्कृष्ट खेलाडीलाई जनही नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त वितरण गरिएको थियो ।

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

मान्म (कालीकोट), ११ असारः कालीकोटका नौवटै स्थानीय तहले पहिलो पटक असार १० को समय सीमाभित्र नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र छ गाउँपालिका रहेको कालीकोटका नौवटै स्थानीय तहले आर्थिक वर्ष २०८२÷०८३ का लागि कूल रु तीन अर्ब ७५ करोड ७१ लाख ९१ हजार ३२९ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

विगतमा आधाजसो स्थानीय तहको बजेट समय सीमा कटेपछि आउने गरेकामा सुधार गर्दै सबै स्थानीय तहले असार १० गतेको समय सीमाभित्र बजेट प्रस्तुत गरेका छन् । यहाँका नौ स्थानीय तहमध्ये चार स्थानीय तहले सोमबारसम्म गाउँ तथा नगरसभा सम्पन्न गरी सकेकामा थप पाँचले मङ्गलबार बजेट सार्वजनिक गरेको जिल्ला समन्वय समितिका प्रवक्ता अजय बमले जानकारी दिनुभयो ।

“यसअघि विभिन्न कारण सबै स्थानीय तहको बजेट असार १० सम्म नआउने समस्या थियो”, उहाँले भन्नुभयो, “यसपटक सबैले असार १० को ‘डेटलाइन मिट’ गरेका छन् ।”

जिल्लामै सबैभन्दा बढी रु ७० करोड १४ लाख नौ हजार ७१० को बजेट विनियोजन गरेको तिलागुफा नगरपालिकाले विद्यालय गाभ्ने, सबै बस्तीमा भरपर्दो सडक पु¥याउने, जैविक उत्पादनमा जोड दिने कार्यक्रम ल्याएको उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो ।

स्थानीय सरकारको जिम्मेवारी ‘मिसन रोजगारी’ भन्ने नाराका साथ यहाँको नरहरिनाथ गाउँपालिकाले रु ५१ करोड ८३ लाख ८० हजार ५०० को बजेट ल्याएको छ । पालिकाले पहिलो पटक मावि तहमा विद्यालय नर्स कार्यक्रम ल्याएको पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो ।

यही असार ६ गते गाउँसभा आयोजना गरेको पचाल झरना गाउँपालिका अध्यक्ष देवराज शाहीले बताउनुभयो । उहाँका अनुसार पालिकाले रु ४३ करोड ८४ लाख ३९ हजार ३५२ को बजेट ल्याएको छ ।

त्यस्तै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै रास्कोट नगरपालिकाले असार ८ गते नगरसभाको आयोजना गर्दै रु ४७ करोड २२ लाख ८२ हजार ५१० को बजेट सार्वजनिक गरेको नगर प्रमुख धर्मराज शाहीले बताउनुभयो ।

खाँडाचक्र नगरपालिकाको रु ५३ करोड ५५ लाख ५५ हजार ९२० बजेट प्रस्तुत गर्दै उपप्रमुख गणेशबहादुर शाहीले विगतका कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।

त्यस्तै विपद् पीडितका लागि सहयोग गर्ने योजनासहित सान्नी त्रिवेणी गाउँपालिकाले रु ४१ करोड ९२ लाख ६२ हजार ४१ को बजेट ल्याएको उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले बताउनुभयो ।

पलाता गाउँपालिकाले रु ४८ करोड २३ लाख ३२ हजार ८४६ बजेट ल्याएको छ भने शुभकालिका गाउँपालिकाले रु ४६ करोड २० लाख ५० हजार ४०० र महाबै गाउँपालिका रु ३५ करोड ८७ लाख ४७ हजार ९६६ बजेट सार्वजनिक गरेका छन् ।

पनौतीको बजेट रु एक अर्ब ६१ करोड

काभ्रेपलाञ्चोक, ११ असार : यहाँको पनौती नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।असार सोमबार नै सुरू भएको पनौतीको सत्रौँ नगरसभा ‘बजेट सिलिङ विवाद’ का कारण गणपूरक सङ्ख्या नपुगेको जनाउँदै आजसम्मका लागि स्थगन गरिएको थियो ।

स्थानीय तह सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार गणपूरक सङ्ख्या पुगेको जनाउँदै नगरले आज नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । सभामा आगामी आवका लागि रु एक अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट प्रस्ताव गरिएको छ ।

नगरसभामा नगर प्रमुख रामशरण भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दिगो, भरपर्दो, तथा वातावरणमैत्री पूर्वाधारमा जोड दिइने बताउनुभयो । नगरभित्र गौरवको आयोजना तथा वडाभित्र कम्तीमा ‘एक वडा एक गौरवको आयोजना’का लागि क्रमागत रुपमा बजेट विनियोजन गरिएको जनाइयो ।

पनौती शिरानचौरमा निर्माणाधीन रङ्गशालालाई नगरको आन्तरिक स्रोतबाट पूर्णता दिइने, पुण्यमाता खोला–किनारमा वृक्षरोपण कार्यक्रम, रोजगार सेवा केन्द्रलाई रोजगार बैंकका रूपमा विकास गर्ने नगरको नीति–कार्यक्रममा उल्लेख गरिएको छ ।

सभामा उपप्रमुख गीता बञ्जाराले आगामी आवको आय व्ययसहितको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रतिवडा रु एक करोड ३० लाखका दरले रकम विनियोजन गरिएको जनाइएको छ ।

विशेषगरी वडा नं ७ को संरक्षित स्मारक क्षेत्रभित्रका सम्पदामैत्री घर संरचना निर्माण तथा मर्मतमा प्रोत्साहन गर्न र विश्वसम्पदा सूचीमा सूचीकृतसम्बन्धी कार्यलाई प्रभावकारी रुपले अघि बढाउने नगरको नीति कार्यक्रममा जोड दिइएको छ ।ल्लामा सबैभन्दा बढी बजेट ल्याउने पनौती नगर भएको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये मङ्गलबारसम्ममा १२ तहले आफ्नो नीति तथा कार्यक्रम ल्याएका थिए ।

वर्षाकै कारण उपत्यकाको फोहर व्यवस्थापनमा विगतमा जस्तो समस्या हुँदैन : कामपा

काठमाडौँ, ११ असारः काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । वर्षाको समय सुरू भएसँगै विगतका वर्षमा नागरिकले लामो समयसम्म फोहर व्यवस्थापन नहुँदा निकै समस्या भोग्नुपरेको थियो ।

यस वर्ष भने महानगरले वर्षायाम सुरू भएसँगै फोहर व्यवस्थापनका लागि विगतका वर्षमा हुने समस्या समाधान भइसकेकाले सहज हुने जनाएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार विगतका वर्षमा पटक–पटक समस्या आउने तीन पिप्लेदेखि अन्तिम फोहर वयवस्थापनस्थल बञ्चरेडाँडासम्मको सडक मर्मतको काम भइसकेकाले फोहर व्यवस्थापनका लागि सहज हुन्छ ।

उहाँले भन्नुभयो, “विगतमा फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा पनि विगतको फोहरलाई (क्यापिङ्) माटोले छोपेर मिलाउने काम गरिसकेको र सडक मर्मतको काम पनि भइसकेकाले फोहरकै कारण नागरिकले सास्ती खेप्नुगर्दैन ।” राईका अनुसार तीन पिप्लेदेखि सिसडोलसम्म केही स्थानमा पहिरो जाने गरेकामा ती स्थानमा पर्खाल निर्माण गरिएकाले नियमित पानी परे पनि समस्या हुँदैन ।

महानगरका कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । हरेक दिन उपत्यकाबाट एक हजार ६०० मेट्रिकटन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी महानगरको ५०० मेट्रिक टन बञ्चरेडाँडा लग्ने गरिएको छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र महानगरको गरी दैनिक कम्तीमा २०० गाडीले फोहर ओसार्ने गरेको छ ।

सुरूमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन हुँदै आएको छ । विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ मा महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानुनी व्यवस्था छ ।

यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्ने हुन्छ । पछिल्लो समय महानगरले बञ्चरेडाँडामा लग्ने फोहर घटाउनका लागि ३२ वडालाई छ क्षेत्रमा निर्धारण गरेर फोहर वर्गीकरणको काम गरिरहेको छ ।

राष्ट्रियता र देशभक्तिपूर्ण गीतसङ्गीत सन्सारभर गुञ्जिन थालेको छः मन्त्री पाण्डे

काठमाडौँ, ११ असारः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली राष्ट्रियता र देशभक्तिपूर्ण गीतसङ्गीत अहिले सन्सारभर गुञ्जिन थालेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

काठमाडौँमा आज नेपाल सङ्गीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतमा नेपालभित्र पनि विदेशी गीतहरुले उच्च स्थान पाइरहेकामा अहिले नेपालमा मात्रै होइन विश्वभर नै नेपाली गीत सङ्गीतले उच्च स्थान पाइरहेको बताउनुभयो ।

यसरी नेपाली गीत अरुले पनि सुन्नु भनेको यसको महत्व बढेको बताउँदै उहाँले अझै नेपाली कला संस्कृतिलाई माथि उठाउन गीत सङ्गीत तथा नाट्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा भएको सम्मान समारोहमा बोल्दै सांस्कृतिमन्त्री पाण्डेले आज सम्मानित हुने अग्रज स्रष्टाबाट खारिएको उत्पादन आउने र आफ्ना नयाँ पुस्तालाई हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मानित हुनुभएका नौ स्रष्टाहरुले आज राष्ट्रिय परिचयपत्र र पहिचान प्राप्त गर्नुभएको उल्लेख गर्नुभयो ।

उक्त समारोहमा पाँच दशक बढी समयदेखि गीत सङ्गीतको क्षेत्रमा सक्रिय वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घ साधना सम्मान’ प्रदान गरिएको थियो । विसं २००७ मङ्सिर २६ गते सुनसरीको धरानमा जन्मनुभएका गायक श्रेष्ठले १८ वर्षको उमेरमा रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरी सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको थियो । उक्त सम्मानको राशि रु दुई लाख र ताम्रपत्र रहेको छ ।

श्रेष्ठले रेडियो नेपालबाट २०२७ र २०२८ सालमा पुरुषतर्फ उत्कृष्ट गायन उपाधि एवं २०३० सालमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । उहाँले ४०० बढी गीत गाउनुभएको छ । वरिष्ठ गायक श्रेष्ठले सङ्गीतको क्षेत्रमा गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै यसपालि दीर्घ साधना सम्मान प्रदान गरिएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले जानकारी दिनुभयो ।

उहाँले प्रतिष्ठानको अझै आफ्नो भवन बन्न नसकेकाले डिपिआर तयार भएको जानकारी दिँदै भवन निर्माणका लागि आवश्यक पहल लिन मन्त्री पाण्डेसँग आग्रह गर्नुभयो । सो क्रममा प्रतिष्ठानका उपकुलपति शम्भू राईले प्रतिष्ठानले स्रष्टाको योगादनको मूल्याङ्कन गर्दै यसपाली दीर्घ साधना सम्मानका साथै बाध्यबादन र खोज अनुसन्धान विधामा समेत सम्मान तथा पुरस्कारको थालनी गरिएको बताउनुभयो ।

उक्त समारोहमा विभिन्न विधामा आठजना अग्रज स्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ पनि वितरण गरिएको थियो । उक्त पुरस्कारको राशि जनही रु एक लाख रहेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा प्रगतिले जानकारी दिनुभयो ।

उक्त पुरस्कार पाउनेमा रङ्गमञ्च विधामा वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापा, सङ्गीत विधामा वरिष्ठ गायिका कुन्ती मोक्तान, नाट्य विधामा वरिष्ठ नाट्यकर्मी वेदकुमारी न्यौपाने, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, नृत्य खोज तथा अनुसन्धान विधामा वरिष्ठ अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल, लोकसङ्गीत विधामा वरिष्ठ लोक गायक नारायण रायमाझी, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा कुशेश्वर राई र वाद्यबादन विधामा वरिष्ठ वाद्ययबादक राजु अग्रवाल रहनुभएको छ ।

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, ११ असार : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका–१० बानेश्वरमा आज आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रको विकासमा महिलाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले आधुनिक प्रविधिको प्रयोग गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले नेपालको महिला आन्दोलनकी शीर्ष नेत्री मङ्गलादेवी सिंहले महिलालाई मताधिकारसँगै शिक्षा र सम्पत्तिको हक, नीतिगत तहमा सहभागिताको सुनिश्चिततासँगै महिलाको आर्थिक अधिकारका लागि आवाज उठाएको स्मरण गर्नुभयो ।

“देशको अर्थतन्त्र चलायमान बनाउन महिलाको योगदान महत्त्वपूर्ण छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । काठमाडौँ महानगरपालिका–१० बानेश्वरका स्थानीय महिलाको सीप विकास र आयआर्जन वृद्धिका लागि मङ्गलादेवी सिंह फाउन्डेसनले प्रदान गरेको १० दिने अचार बनाउने तालिम का सहभागीलाई उहाँले प्रमाणपत्र वितरण गर्दै सिकेको सीपबाट आयआर्जनका लागि शुभकामना पनि दिनुभयो ।

कार्यक्रममा मङ्गलादेवी सिंह फाउण्डेसनकी अध्यक्ष सिर्जना सिंहले फाउन्डेसनले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनका लागि विभिन्न स्थानमा सीपमूलक तालिम सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले उत्पादनसँगै त्यसको बजारीकरणका लागि पनि सहभागीले तालिमको माग गरेको भन्दै त्यसका लागि फाउन्डेसनले कार्यक्रम ल्याउने बताउनुभयो ।

सवारी साधन बन्द गर्दा मनसुनका आधारमा चलाएको पाइए प्रजिअ सहितलाई कारबाही गर्ने : गृहमन्त्री लेखक

काठमाण्डौं ११ असारः गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी बर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

बुधबार गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुने सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्य सम्वन्धी बैठकमा बोल्दै गृहमन्त्री लेखकले मनसुनका बेला हुन सक्ने सडक दुर्घटना न्युनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचारसंहिता कार्यान्वयनमा जोड दिएका हुन् । उनले उक्त निर्णयहरुका बारेमा आम नागरिकसम्म पुगाउन सुचना प्रवाहमा ध्यान दिन आग्रह समेत गरे ।

‘कुनै ठाउँमा भारी बर्षा हुने भनिसकेपछि सवारी साधन चल्नु हुन्न भनिसकेपछि कुनै जिल्लामा सवारी साधन भेटियो भने त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीलाई कारबाही गरिनेछ ।’ उनले भने, ‘कारण देखाउनुपर्ने छैन् । बिरामी र एम्बुलेन्स छ भने त्यो एउटा विषय बन्ला होइन भने सामान्य गाडी कसैका भनसुनका आधारमा चलाइएको पाइए कारबाहीको विषय बन्छ । ’ उनले उक्त विषय गृहसचिव र प्रहरी प्रमुखहरुलाई तल्लो तहसम्म सर्कुलर गर्न निर्देशन समेत दिए ।

पहिरोले सडक अवरुद्धका साथै सवारीसाधन समेत बगाउने अवस्था आउने गरेको भन्दै गृहमन्त्री लेखकले सडक सञ्जाल अवरोध हुँदा धेरै समस्याहरु सिर्जना हुने गरेको बताए ।

सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक नरहेको संसदीय समितिको निष्कर्ष

काठमाडौँ, ११ असार : प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषनक नरहेको निष्कर्ष निकालेको छ । समितिको आज बसेको बैठकमा आयोजनाको हालसम्मको प्रगति विवरण सन्तोषजनक नरहेकाले सो परियोजनासँग सम्बन्धित दस्तावेजनको विस्तृत अध्ययन गर्ने निर्णय गरेको छ ।

बैठकले सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसँग थप छलफल गर्ने निर्णय गरेको समिति सभापति दिपकबहादुर सिंहले जानकारी दिनुभयो । “आयोजनाको प्रगति १ प्रतिशत मात्रै देखियो, केकति कारणले न्यून प्रगति भएको हो भनेर बैठकमा छलफल भयो”, उहाँले भन्नुभयो, “सो सम्बन्धमा सम्बन्धित मन्त्रीसँग थप जानकारी लिने र अध्ययनका लागि आयोजनासँग सम्बन्धित थप कागज मगाउने निर्णय भयो ।”

बैठकले राष्ट्रिय गौरवका आयोजनामा आयोजना प्रमुखको नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई निर्देशनसमेत दिएको छ । सो आयोजनामा नौ महिनासम्म आयोजना प्रमुख नतोकिएको पाइएको छ । सो आयोजनाको ठेकेदार कम्पनीमा रमन कन्स्ट्रक्सन जेभी पेटल कम्पनी रहेको छ ।

दश स्थानीय तहको वार्षिक बजेट रु पाँच अर्ब ५५ करोड सात लाख २४ हजार

खोटाङ, ११ असार : जिल्लाका दशवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आगामी आवका लागि रु पाँच अर्ब ५५ करोड सात लाख २४ हजार २५१ बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु एक अर्ब दुई करोड ९२ लाख ३४ हजार ३९१ को नीति तथा कार्यक्रम ल्याएको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले कृषि, पर्यटन, शिक्षा क्षेत्र सुधार, स्वास्थ्य क्षेत्रको गुणस्तर, स्थानीय गौरवका आयोजना, विपद् व्यवस्थापन, श्रमदानलाई प्रोत्साहन गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादन वृद्धि र बजारीकरण गरी स्वावलम्बी र आत्मनिर्भर नागरिक बनाउनेजस्ता कार्यक्रमलाई प्राथमिकता दिएर नीति तथा बजेटमा समावेश गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

त्रिधार्मिकस्थलमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाले रु ८० करोड १८ लाख ८१ हजार ७१९ को नीति तथा कार्यक्रम ल्याएको छ । एघार वडा रहेको यो नगरपालिकाले भौतिक पूर्वाधारबाहेक खानेपानी योजना, पर्यटन विकास तथा कृषि उत्पादनमा मात्रै रु छ करोड ४७ लाख ९४ हजार ११९ बजेट विनियोजन गरेको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ५५ करोड ४८ लाख ९९ हजार ८१९ बराबरको वार्षिक बजेट ल्याएको छ । गाउँपालिकामध्ये सबैभन्दा ठूलो नौ वडा रहेको यो गाउँपालिकाले आर्थिक विकास, सुशासन तथा संस्थागत विकास, वन वातावरण तथा विपद व्यवस्थापन, पूर्वाधार विकास र सामाजिक विकासलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाइएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो ।

कृषि व्यवसायका लागि जिल्लाको सबैभन्दा उर्वर क्षेत्रमा पर्ने रावाबेंसी गाउँपालिले रु ३८ करोड ५६ लाख ५६ हजार ८४३ को अनुमानित बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर आगामी आव २०८२/८३ को बजेट ल्याएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ५६ करोड दुई लाख ६८ हजार ५८९ बजेट ल्याएको छ । पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, आन्तरिक रोजगारीमा जोड, लैङ्गिक तथा समावेशीकरण, सूचना प्रविधिमा आधारित सेवा प्रवाह, विपद् व्यवस्थापनलगायत क्षेत्रमा आधारित रहेर आगामी आवको नीति तथा कार्यक्रम निर्माण गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो ।

जिल्लाको उत्तरी क्षेत्रमा ऐंसेलुखर्क गाउँपालिकाले रु ४९ करोड ७० लाख ९३ हजार ८८ बजेट प्रस्तुत गरेको छ । भौतिक पूर्वाधार निर्माणका योजनालाई पहिलो प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम निर्माण गरेर सार्वजनिक गरिएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

बराहपोखरी गाउँपालिकाले रु ३८ करोड ४० लाख ५६ हजार ७७० बजेट ल्याएको छ । बजेट कार्यान्वयनलाई जिम्मेवार र जवाफदेही बनाउन आगामी आवबाट कार्यसम्पादन सम्झौता गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख सालिकराम बञ्जाराले जानकारी दिनुभयो ।

जन्तेढुङ्गा गाउँपालिकाले रु ४४ करोड ३७ लाख ३४ हजार बजेट सार्वजनिक गरेको छ । आयआर्जन र रोजगारी सिर्जना हुने मुख्य कृषि र पशुपालन भएको भन्दै निर्वाहमुखी कृषि प्रणालीबाट व्यवसायीकरणतर्फ उन्मुख गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिनुभयो ।

केपिलासगढी गाउँपालिकाले रु ५० करोड सात लाख ५९ हजार ३७३ बराबरको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार विकास तथा कृषि उत्पादनलाई प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभयो ।

जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा मात्रै वडा रहेको) साकेला गाउँपालिकाले आव २०८२/८३ का लागि रु ३९ करोड ३० लाख ३९ हजार ६५९ बजेट ल्याएको छ । गाउँसभामा गाउँपालिका प्रमुख रविप्रकाश राईले ‘नवजात शिशु बचत’ योजनालगायत नयाँ नीति तथा कार्यक्रम घोषणा गर्नुभएको थियो ।

सरकारको एक वर्ष सफल सन्तोषजनक र प्रभावकारी : एमाले

काठमाडौँ, ११ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आजको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजनक, सफल र प्रभावकारी भएको मूूल्याङ्कन गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठूला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको हो ।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षत्रमा ध्यान दिनुुपर्नेमा जोड दिइएको बताउँदै दैलेखमा मिथेन ग्यासको उत्खननको प्रारम्भिक प्रतिवेदन आउनुुलगायत काम थप उपलब्धिका विषय भएको निचोड निकालेको छ ।

कोशी प्रदेशसभा : विनियोजन विधेयकमाथिको छलफल सकियो

विराटनगर, ११ असार : आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक माथिको छलफल सकिएको छ । यही असार ७ गते टेबुल भएको विनियोजन विधेयकमा ३८ जना कोशी प्रदेशसभा सदस्यहरूले भाग लिनुभएको थियो ।

प्रदेशसभा सदस्यहरूको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेटमा पुँजीगत खर्चभन्दा चालु खर्च बढी देखिनुका कारण सङ्घबाट प्राप्त हुने रकम पनि चालु खर्चमै राख्नुपर्ने बाध्यता भएको स्पष्ट पार्नुभयो । उहाँले कोशी प्रदेशमा लोक सेवाबाट कर्मचारी पदपूर्ति हुनु र कर्मचारीको महँगी भत्ता पनि वृद्धि हुनुले चालु खर्च बढेको जानकारी दिनुभयो ।

योजना बैंकमा ५० हजारभन्दा बढी योजना समावेश हुनु सरकारको पहिलो अभ्यास हो भन्दै सांसदहरूले छानेका योजना र सरकारले आवश्यकता महसुस गरेका योजनामा मात्र बजेट विनियोजन हुनुपर्ने बताउनुभयो । उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले कृषिलाई चाहिने रासायनिक मलका निम्ति प्रदेश सरकारले समन्वय गर्न मात्र सक्ने बताउनुभयो । उहाँले विकासे बजेटले रोजगार सिर्जना गर्न नसक्ने भएकाले उत्पादन क्षेत्रमा बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले मन्त्रालयअन्तर्गत दुई हजार ८२८ योजना सञ्चालनमा रहेको बताउँदै १४ वटा स्थानीय तहमा बास प्लान्टका लागि बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले ३७ वटा बहुवर्षीय योजना समावेश भएको भन्दै प्रदेश सरकारले थोरै समयमा १२ हजार ८०० हेक्टर जग्गामा सिँचाइको प्रबन्ध मिलाएको छ भन्नुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विपद् व्यवस्थापन, कानुन निर्माण, यातायात व्यवस्थापन र भूमि व्यवस्थापनका लागि मन्त्रालयले कूल रु ९६ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । सीमित बजेटबाट प्रदेशले अत्यधिक लाभ लिने र जनतामा सुशासन, शान्ति र सेवा प्रवाहजस्ता कार्यमा बजेटको समुचित उपयोग हुने उहाँले बताउनुभयो ।

मन्त्री भण्डारीले जनताको चाहनाअनुसार प्रहरी चौकी भवन निर्माण गर्ने एवं अधुरा रहेका प्रहरी चौकीलाई पूर्णता दिने भन्दै सरकार लागुऔषध नियन्त्रण, सवारी दुर्घटनालाई न्यूनीकरणजस्ता क्षेत्रमा योजनाबद्ध काम गर्ने जानकारी दिनुभयो ।

पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले आफूले कुनै पनि अराजक काम नगरेको, जनताको चाहना अनुसारकै योजनामा बजेट विनियोजन गरेको स्पष्ट पार्दै सरकार पर्यटन प्रवर्द्धन, पदमार्ग निर्माणका लागि बजेटको व्यवस्था गरेको जानकारी दिनुभयोे ।

भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले प्रदेश मातहतमा रहेका जिल्ला सरकारी अस्पताललाई व्यवस्थित गर्ने जानकारी दिनुभयो । उहाँले अस्पतालमा जनशक्ति भएको ठाउँमा उपकरण नहुने र उपकरण भएको ठाउँमा जनशक्ति नहुने अव्यवस्थालाई व्यवस्थित गरिने स्पष्ट पार्नुभयो । उहाँले अस्पतालको स्तरोन्नतिसँगै जनशक्तिको आवश्यक प्रबन्ध मिलाउनका लागि बजेट व्यवस्था गरिएको बताउनुभयो ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले ४४ वटा कार्यक्षेत्र रहेको यो मन्त्रालयमा व्यवस्था भएको बजेटबाट सक्दो जनताको माग सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुसहर समुदायका लागि सक्षम छोरी र पहाडमा आवासीय विद्यालय निर्माण गर्न पनि बजेट विनियोजन भएको बताउनुभयो ।प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।

निराशाहरु चिर्दै नेपाल अगाडि बढि रहेको छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले निराशाहरु चिर्दै नेपाल अगाडि बढि रहेको बताएका छन् ।एभरेष्ट फाइभर सिमेण्ट बोर्ड प्रालिको उद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले निराशाको बीचमा पनि आशाको दियो बलिरहेको भन्दै यती बेला व्याप्त निराशालाई केही गरेर देखाउन खोजी रहेको बताए ।

उनले भने, ‘नेपाल बन्दैछ, निराशाको बीचमा पनि आशाको दियो बल्दैछ । यती बेला व्याप्त निराशालाई, हामीले केही न केही गरेर देखाएर त्यसभित्र सम्भावना खोजि रहेका छौ । हामीले जबसम्म उत्पादन वृद्धि गर्न सक्दैनौँ तबसम्म उद्योगको योगदान जिडिबिमा हुदैँन्, रोजगारीमा हुँदैन् ।’यस्तै, उनले उद्योगको लागि मन्त्रालयसँग बजेट प्रयाप्त नभएपनि निजी क्षेत्रसँग प्रयाप्त रहेको भन्दै उनीहरुलाई नीतिमा सहुलियत दिनुपर्ने बताए ।

उनले भने, ‘उद्योग खोल्न सकिन्छ तर सञ्चालन गर्नको लागि चुनौती छ । उद्योग र उद्यमशिलतामा जोखिम हुँदा पनि यसलाई सुरु गर्नुपर्ने छ । यसका लागि राज्यको नीति आवश्यक छ । हामीले धेरै उद्योग स्थापना गर्नुपर्ने छ, धेरै रोजगारी सिर्जना गनुपर्नेछ तर सरकारको बजेटको दायराभित्र रहेर गर्नुपर्ने छ । हामीसँग बजेट प्रयाप्त छैन् । हामीले बजेटमा भन्दा पनि यसपाली नीतिमा बढि ध्यान दिएका छौ । नीतिमा सहुलियत दिउ बजेट निजी क्षेत्रसँग छ ।’

चलचित्र ‘रियाल रिङ्गेट’को गीत ‘जिन्दगीः उडी जाने हो कहाँ’को चर्चा

काठमाडौँ । आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेकाे चलचित्र ‘रियाल रिङ्गेट’को गीत ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको छ ।मंगलबार काठमाडौँको आइएनआई सिनेमा, नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको मार्मिक कथा समेटेको छ ।

गीतमा विदेशमा नेपालीले भोग्ने सङ्घर्ष, उनीहरूको घरपरिवारको विचलित अवस्था र बाध्यताले बिविदेशिदाँको पीडालाई समेत देखाएको छ । रवि मल्ल र कोसिस क्षेत्रीको संयुक्त शब्द, चन्दन ध्वज केसी र किरण तुलाधरले सङ्गीत रहेको गीतमा गायक केतन क्षेत्रीले स्वर दिएका छन् । विभोर पोखरेलले निर्देशन गरेकाे चलचित्रका निर्माता गगनलाल प्रधान रहेका छन् । अभिनेत्री निता ढुङ्गानाले लामो समयको मिहिनेतपछि फिल्म रिलिजको सङ्घारमा पुगेकोमा खुसी व्यक्त गरिन् । चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय छ ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्मको नाम ‘रियाल रिङ्गेट’ कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रण गरेर राखिएको हो । जसले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्दछ ।

रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन रहेको फिल्ममा राजीव समरको कोरियोग्राफी छ । भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको फिल्मलाई काफिया फिल्मस्ले वितरण गर्दैछ ।

आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताउनु भयो । मन्त्री भण्डारीले यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्‍याउने भएकाले सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिने उल्लेख गर्नु भयो ।

सो समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरी नयाँ उद्योग स्थापना गरेको बताउनु भयो । यसले देसभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो । स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको पनि अध्यक्ष ढकालको भनाइ थियो।

आइएमई ग्रुप अन्तर्गत करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ। यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन्। उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइवर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ । यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ, र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन्। यी बोर्डहरू लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन्।
फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ। यहाँसम्म कि इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माण समेत गर्न सकिन्छ, जुन १०–१५ दिनमै तयार पार्न सकिने भएकाले यसको माग नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ।

प्राकृतिक प्रकोप जस्तै, भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने छन्। प्लास्टर वा रङ्गको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुनेछ।

यस उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा जोड दिएको छ। हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन्।

उनीहरूले प्रोसेससङदेखि प्याकिङसम्मका सबै काममा संलग्न छन् । एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.ली ले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ।

आईसीसीसी पुतली सडक शाखामा शैक्षिक मेला सम्पन्न, डेढ सय बढी बिद्यार्थीको सहभागिता

काठमाडौं। इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) को पुतली सडक शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट २०२५’ नामक शैक्षिक मेला सम्पन्न भएको छ। हालै सम्पन्न मेलामा क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी जानकारी दिइएको मेलामा सहभागी तथा अध्ययनका लागि क्यानडा जान इच्छुक बिद्यार्थी रोशन तामागंले बताए । उनले आँफु आइसीसीसीको पुतली सडक शाखामा पुग्दा कैयौँ प्रश्न बोकेर पुगेको तर आइसीसीसीका सिनियर काउन्सलरहरुले आफ्ना सारा जिज्ञासाहरुको उत्तरले एउटा निर्णय लिन सहज भएको बताए।

आईसीसीसीका प्रवन्ध निर्देशक राम खड्काका अनुसार मेलामा सापकोटाजस्तै कैयौँ बिद्यार्थीहरु पुगेको र उनीहरुले आफ्ना जिज्ञासाहरुको समाधाg लिएर फर्किएको बताए । प्रवन्ध निर्देशक खड्काका अनुसार विदेश अध्ययनको योजना बनाएका करिब डेढ १ सय बढी बिद्यार्थीको मेलामा सहभागीता रहेको थियो। मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव पाउँदा बिद्यार्थीहरुले अनविज्ञता रहेका धेरै कुराहरुमा प्रस्ट बनेको प्रतिक्रिया दिएका थिए।

बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म चलेको मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभई विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र करियर उद्देश्यहरूको आधारमा बिद्यार्थीहरुलाई सल्लाह दिइएको थियो। मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्वतयारी कक्षामा आक्रषक छुट तथा विभिन्न खालका उपहारहरु पनि प्राप्त गरेका थिए।