`

  एनआरएनए एकताका महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट प्रस्ताव पारित

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित गरेको छ ।आइतबार राति बसेको ओवी बैठकले डा. बद्री केसी पक्षसँग सहमतिका लागि पेश गर्ने ९ बुँदे प्रस्ताव पारित गरेको हो ।श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महासचिव बाबुराम (बीआर) लामाले सहमतिको प्रस्ताव पेश गरेका थिए । बैठकले ९ बुँदे सहमतिको मर्मलाई कार्यान्व्यन गर्ने जिम्मा अध्यक्ष श्रेष्ठलाई नै दिइएको छ ।

सहमतिको मस्यौदामा संघलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा सुदृढ बनाउने उल्लेख गरिएको छ ।

श्रेष्ठले डा. बद्री केसीले  नेतृत्व गरेको समूहसँग आपसी संवाद, सहकार्य र सहमतिको माध्यमबाट संघभित्र विगतका विवादहरू समाधान गर्ने र पारदर्शिता, विश्वसनीयता तथा संस्थागत स्थायित्वलाई प्राथमिकता दिने बैठकमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘एनआरएनए कुनै व्यक्ति वा समूहको संगठन होइन, यो विश्वभरका नेपालीहरूको साझा घर हो, जसलाई हामी सबैको सहकार्यले मात्र मजबुत बनाउन सक्छौं,’ श्रेष्ठले भने ।

अध्यक्ष श्रेष्ठको नेतृत्वमा तयार गरिएको मस्यौदाले आगामी १२औं महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वासयोग्य रूपमा सम्पन्न गर्ने स्पष्ट योजना समेटेको प्रवक्ता गंगाधर गौतमले बताए । उनले यसका लागि अध्यक्ष श्रेष्ठको नेतृत्वमा स्टेरिङ कमिटी गठन गर्ने र एमआइएस  व्यवस्थापन समिति र विवाद समाधान समितिहरु पनि गठन गर्ने प्रस्ताव गरेको जानकारी दिए ।

श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको अधिवेशनबाट निर्वाचित भएको हो ।  एनआरएनको आधिकारिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले फिर्ता लिने बुँदा पनि सहमति प्रस्तावमा समावेश गरिएको छ ।प्रवक्ता गौतमले कार्यसमितिबाट प्रस्ताव पारित भएकाले अब एकताको बल केसी पक्षको कोर्टमा रहेको जानकारी दिए ।

सहमतिका प्रस्तावित मुख्य बुँदाहरु ।एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री के.सी.को नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने ।

सम्मानित सर्वोच्च अदालतको मिति २०८० चैत्र २१ गते (२०२४ अप्रिल ३ तारिख) रिट नं ०७९–wo–१५०७ मा भएको परमादेश बमोजिम संघका पूर्व अध्यक्ष डा.शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा मिति २०२५ मे ३–४ मा आयोजित महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मतरूपमा निर्वाचित कार्यसमितिलाई स्वीकार गर्ने, साथै संघको केन्द्रिय कार्यालयमा अध्यक्ष महेश कुमार श्रेष्ठ र पदाधिकारीहरुलाई कार्यालयमा पदासिन गराउने ।

गैर आवासीय नेपाली संघको बाह्रौं महाधिवेशन सहमति पत्रमा हस्ताक्षर भएका मितिले ६ महिना भित्र सम्पन्न गर्ने । १२औं महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य रूपमा सम्पन्न गर्न र नियमित कार्यालय सञ्चालन गर्नका लागि एक स्टेअरिङ कमिटी गठन गर्ने । उक्त कमिटीले विधानमा र कार्यविधिमा  व्यवस्था भए अनुसार निर्वाचन समिति निर्वाचन अनुगमन समिति, सदस्यता तथा प्रतिनिधी व्यवस्थापन समिति र न्यायिक समिति गठन गर्ने ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट पुनः सुरु हुने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाइएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो ।

बैठकमा संस्थापन र इतर दुवै पक्षले धारणाका रूपमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने छन् । आजको बैठकमा महामन्त्री थापाले बैठकमा धारणाका रूपमा पुस मसान्तका लागि महाधिवेशन प्रस्ताव गर्नेछन् । संस्थापन पक्षले पनि धारणाकै रुपमा वैशाखमा महाधिवेशन प्रस्ताव गर्नेछ । त्यसमा दुवै पक्षले कार्यतालिका र औचित्यमा पनि धारणा राखेपछि छलफल अघि बढाउने तयारी भएको छ ।

जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ ।

ब्राउनले बिग बास लिग (बीबीएल) क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । टी–२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका ब्राउनले एनपीएलको दोस्रो संस्करणमा खेल्न पाउँदा खुसी व्यक्त गरे ।

जोस ब्राउनले टी–२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । टी–२० क्रिकेट यो स्कोर कमै खेलाडीले बनाएका छन् ।सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए ।

सुदूरपश्चिम रोयल्सको टोलीःदिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन ।

आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना 

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा मौसम साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।

साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको पनि महाशाखाको भनाई छ ।

कार्तिक शुक्ल चतुर्दशी: वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व मंगलबार (आज) स्नान, दान, जप, ध्यान गरी मनाइँदै छ । वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ ।

वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको पूजा गरी रातमा जाग्राम बस्ने गरिन्छ । चतुर्दशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ । शिवसँग सम्बन्ध भएकालाई शिव वैकुण्ठ र विष्णुसित सम्बन्ध भएकालाई ‘विष्णु वैकुण्ठ’ भनिन्छ । शिवपूजाका लागि अरुणोदयव्यापी चतुर्दशी उत्तम मानिएको छ भने उपवास (व्रत) का लागि अहोरात्र (रातदिन) को अरुणोदय चतुर्दशीले युक्त दिनलाई उपयुक्त मानिएको छ ।

भगवान् विष्णुका नाममध्ये एक नाम वैकुण्ठ पनि एक रहेको पण्डित बालमुकुन्द देवकोटाले बताए । “कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ, त्यसलाई वैकुण्ठ भनिन्छ । यसैगरी जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिने रूपमा जसको प्रसिद्धि छ, त्यसलाई पनि ‘वैकुण्ठ’ भनिन्छ । त्यस्तै महाभारतको शान्ति पर्वमा आफ्ना बहुसङ्ख्यक नामको व्यूत्पति भगवान् स्वयंले बताउनुभएको छ”, उनले भने ।

गतिनिरोधक गर्नेलाई ‘विकुण्ठ’ भनिन्छ र त्यो सम्पादन गर्नेलाई वैकुण्ठ भनिन्छ । जगत् सृष्टि गर्ने क्रममा भगवान्ले पृथ्वीलाई जलसित आकाशलाई वायुसित र वायुलाई तेजका साथ अविचल हुने गरी मिलाएकाले उनको नाम ‘वैकुण्ठ’ रहेको भन्ने पौराणिक मान्यता पनि छ ।

यस दिनसको पूजा गर्ने नसकेमा विष्णुका नाम मात्रको उच्चारणले पनि ठुलो पुण्य प्रदान गर्छन् र आपत्विपतबाट बचाउने विश्वास गरिन्छ । भगवान् विष्णुका सबै नाम ऐश्वर्य, स्वामित्व, व्यापकता, परोपकार, दुष्टदमन, लोक संरक्षक आदि गुणको सम्बन्धले युक्त छ ।

धर्मराज युधिष्ठिरले भीष्मसित यस विषयमा धेरै कुरा सोधेको महाभारतको शान्तिपर्वमा उल्लेख छ । भीष्मले विष्णु स्तुति गर्दा वा जप्दा व्यक्ति सम्पूर्ण दुःखदेखि पार हुन सक्छन् भनेर युधिष्ठिरसहित पाँच पाण्डवलाई सम्झाएको वर्णन महाभारतमा उल्लेख गरिएको पण्डित देवकोटाले जानकारी दिनुभयो । भीष्मले गरेको यो स्तुति गानको समय भएकाले आजको दिनदेखि भीष्म पञ्चक पनि सुरु हुन्छ ।

देवताका पनि देवता विष्णु सर्वाधिक रूपले पुजनीय मानिनुहुन्छ । भगवान् विष्णुको गणस्थलबाट पैदा भएकाले गण्डकी नाम रहन गएको पौराणिक मान्यता छ । दामोदर कुण्ड पनि कालीको शिर मानिएको छ । दामोदर पनि भगवान् विष्णुको नामसँग सम्बन्धित छ । काठमाडौँ उपत्यकामा रहेका र बग्ने नदीमध्ये एकको नाम विष्णुमती छ । जसको उत्पत्ति विष्णुपादुकाबाट भएको हो । विष्णुपादुका डाँडाको फेदमा रहेको बुढानीलकण्ठ विष्णु मूर्ति मान्यताका साथै कलात्मकताका दृष्टिले पनि सुप्रसिद्ध छ ।

भगवान् विष्णु पालनकर्ताका रूपमा स्थापित भई सबैलाई पालन गरेर रहने क्रममा जागा भई वैकुण्ठाधिपति भगवान् वैकुण्ठ धाममा जानुभएको थियो । आजैका दिन विष्णु वैकुण्ठधाम जानुभएको पौराणिक मान्यता रहेको पण्डित देवकोटाले बताए ।

हरिशयनी एकादशीका दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णुले त्यस अवधिमा कार्यभार भगवान् शिवलाई दिएका थिए । आज त्यो कार्यभार भगवान् शिवले विष्णुलाई दिएर कैलाश जानुहुने विश्वास पनि गरिन्छ । यसैले आजको दिनलाई हरि र हर मिलनको उत्सवका रूपमा मनाइने उनले जानकारी दिए ।

अत्यधिक धुवाँ फाल्ने र सवारी जाँचपास नभएका ३७ सवारीसाधन नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ ।

सोमबार ट्राफिक प्रहरीले जाँचपास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा सवारी जाँचपास नभएका तथा अत्यधिक धुवाँ फाल्ने भाँडाका बस १६, पिकअप भ्यान १४, स्कुल बस चार, व्यक्तिगत कार दुई र भाडाका कार एक गरी ३७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, “अत्यधिक धुवाँ फाल्ने र सवारी जाँचपास नभएका गरी ३७ सवारीसाधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अवस्था ठिक नभएको सवारीसाधन चलाउन नहुने कसुरमा कारबाही हुन्छ ।”

वायु प्रदूषण नियन्त्रण गर्न र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पछिल्ला दिनमा कडाइका साथ अनुगमन अभियान सञ्चालन गरिरहेको र सोही क्रममा सोमबार ३७ सवारीसाधन नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “अत्यधिक धुवाँ फाल्ने सवारीसाधन चलाउँदा वातावरण प्रदूषित हुन्छ, जसको असर सर्वसाधारणको स्वास्थ्यमा पर्छ । त्यस्तै, मर्मत नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले मर्मत गरी दुरुस्त अवस्थामा मात्रै सञ्चालन गर्न सबै चालक र सवारी मालिकलाई मेरो आग्रह छ ।”

उनले सवारी चालकलाई सवारीको प्राविधिक अवस्था समयसमयमा परीक्षण गर्न र जाँचपास अवधि समाप्त हुन नदिन आग्रह गरे । सोमबार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक मर्मत कार्य सम्पन्न गरी तोकिएको जरिवाना तिरेपछि मात्रै कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ । यसअघि पनि उपत्यका ट्राफिक प्रहरीले धुवाँ फाल्ने सवारीसाधन र जाँचपास नभएका गाडीविरुद्ध नियमित रूपमा कारबाही गर्दै आएको छ ।

ट्राफिक प्रहरीले पछिल्लो समय वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै, पेट्रोल र डिजेलबाट चल्ने पुराना सवारीसाधनको अवस्था परीक्षण, अनुगमन तथा चालक सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । साथै, सवारी जाँचपास तथा बिमा नवीकरणका विषयमा चालकलाई जानकारीमूलक अभियान सञ्चालन गरिरहेको छ ।

वातावरणविद्का अनुसार उपत्यकामा वायु प्रदूषणका प्रमुख कारण अत्यधिक धुवाँ फाल्ने पुराना सवारीसाधन हुन् । यसले खासगरी बालबालिका, वृद्धवृद्धा र दम, रोगीमा स्वास्थ्य समस्या बढाउने गरेको पाइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी धुवाँ परीक्षणलाई अझ प्रभावकारी बनाउन मोबाइल इमिसन टेस्ट युनिट थप गर्ने तयारी गरेको जनाएको छ । कार्यालयका अनुसार आगामी दिनमा पनि यस्ता चेकिङ अभियानलाई निरन्तरता दिइनेछ र नियम विपरीत सञ्चालनमा रहेका सवारीसाधन माथि थप कडाइ गरिनेछ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सञ्चालन र सुरक्षित बनाउन ट्राफिक प्रहरीले सर्वसाधारणसँग सहकार्यको पनि आह्वान गरेको छ ।

अटोरिक्सा सञ्चालनपछि नरैनापुरवासीलाई आवागमनमा सहज

बाँके, कार्तिक १८ । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो ।

नरैनापुर–६ गङ्गापुर निवासी सोहनलाल यादवका अनुसार साँझ र बिहान यात्रुवाहक बस जाने/आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटोरिक्साले अन्त्य गरेको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडक पक्की भएसँगै नरैनापुरमा सञ्चालनमा ल्याइएको अटोरिक्साले स्थानीयवासीलाई सहज बनाएको उनको भनाइ छ ।

सदरमुकाम नेपालगञ्जबाट नरैनापुर ४४ किलोमिटर टाढा पर्ने नरैनापुरमा यसअघि सवारीसाधनको सास्ती हुँदै आएको थियो । हिजोआज रिक्सा चढेर एक घण्टामा नेपालगञ्ज पुग्न सकिने नरैनापुर–५ जमुनीगाउँकी टीका बुढाथोकीले बताइन् ।

“रिक्सामा चढेपछि घामपानीले प्रभावित गर्दैन, समयको पनि बचत भएको छ । अहिले सजिलोसँगै गन्तव्यमा पुग्न सकिन्छ”, उनले भनिन्, “नरैनापुरमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई दैनिकी कामका लागि सदरमुकामसम्म पुग्न सहज भएको छ ।”

नरैनापुर गाउँपालिकाभित्रका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयाका गाउँबस्तीसम्म आवागमनमा अटोरिक्साले सहज बनाएको छ । साइकल वा मोटरसाइकलजस्ता निजी सवारीसाधन नहुने सर्वसाधारणलाई गाउँपालिकाभित्रका एक वडाबाट अर्को वडामा आउनजान अटोरिक्साले सुविधा पुगेको छ ।

अटोरिक्सा सञ्चालनमा आएपछि बालबालिका, अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक तथा बिरामी प्रत्यक्ष लाभान्वित भएका छन् । महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि रिक्साको उपयोग गर्दै आएका छन् । एक घण्टा पैदल हिँड्नुपर्ने यात्रा १५/२० मिनेटमा पुगिने बुढाथोकीले जानकारी दिइन् ।

अटोरिक्सा चलाएर नागरिकलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानी गर्दै आएको नरैनापुर–१ कटकुइँया निवासी अटोचालक जाकिर अलीले बताए । चार सिट क्षमताको अटोरिक्साले नरैनापुरको सीमावर्ती क्षेत्र सुइँया बघौडादेखि नेपालगञ्जसम्मको प्रतिव्यक्ति रु २५० र गाउँपालिका केन्द्र नरैनापुरदेखि रु २०० भाडा लिने गरेको उनको भनाइ छ ।

नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना

म्याग्दी, कार्तिक १८ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन्। थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन्।

अन्नपूर्ण-४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि-१, ७१ मेगावाट क्षमताको नीलगिरि-२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन्।

नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमतामध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ। नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ। कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको वडाध्यक्ष पुनले जानकारी दिए।

निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङको कायापलट भएको छ। भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाबाट महत्वपूर्ण योगदान भएको वडाध्यक्ष पुनको भनाइ छ।

“हामीले कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन् घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ”, उनले भने, “अवसर र रोजगार खोज्दै सहरबजार, पसेका र विदेशिएकाहरु गाउँ फर्किन थालेका छन्। बसाइँसराइ रोकिएको छ।”

गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन, स्वास्थ्य संस्थाको भवन बनेका छन्। जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवनलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको छ। जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेन्ट, ठेक्कापट्टा, ढुवानी, यातायात व्यवसाय, शेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताए।

जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी मध्ये सङ्घीयले ५०, प्रदेश र पालिकालाई २५÷२५ प्रतिशतका दरले बाँडफाँट हुने संवैधानिक व्यवस्था छ। नारच्याङमा रहेको प्रभा मावीले हाइड्रो इञ्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ।

म्रिस्तीखोला जलविद्युत् आयोजनाले विसं २०७१ कालीगण्डकी नदीमाथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो। बेँसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुई वटा बेलिब्रिज बनाएको म्रिस्तीखोलाले फेदीसम्म १४ किलोमिटर सडक निर्माण गरेको छ। नीलगिरि खोला जलविद्युत् आयोजनाले छोटेपा हुँदै हुमखोलासम्म पहुँचमार्ग बनाएपछि सहज यातायात पहुँच भएपछि अन्नपूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ।

रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेंसीदेखि लेकगाउँ सडक सञ्जालमा जोडिएको वडा सदस्य श्याम पुर्जाले बताए। घलेम्दी र म्रिस्तीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले प्रभावित क्षेत्रको बासिन्दाका हिसाबले संस्थापक शेयर लगानी गरेका छन्। नीलगिरि पहिलो, दोस्रो र रेलेखोला जलविद्युत् आयोजनाको प्रवद्र्धकले शेयर निष्काशनको प्रक्रियामा छन्।

कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा सबस्टेशन बनाएको छ। विसं २०७७ मा निर्माण सकिएको २२० केभी क्षमताको सबस्टेशनबाट हाल घलेम्दी, म्रिस्ती र थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएका छन्।

म्याग्दीको अन्नपूर्ण-३ दाना र पर्वतको कुश्मा-२ खुर्कोटमा सबस्टेशन र प्रसारण लाइन बनाएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्षसमेत रहेका घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले जानकारी दिए।

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं, कार्तिक १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०९ रुपैयाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८६ पैसा र बिक्रीदर २१ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५९ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ७२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आगामी पुष ९ मा राष्ट्रिय लिग

काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज एन्फा र क्लबबीच भएको बैठकबाट आगामी पुसमा राष्ट्रिय लिग गर्ने सहमति जुटेको हो । यस्तै, बैठकले यस वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने निर्णय गरेको छ । ‘ए’ डिभिजन लिग पछिल्लो पटक २०७९ सालमा भएको थियो । एन्फा र क्लब बसेको बैठकले अर्को वर्षको पुष ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ ।

यसैगरी राष्ट्रिय लिगमा गत संस्करणको ‘ए’ डिभिजन लिगमा शीर्ष ६ मा रहेका टोली र मकवानपुरमा बुधबारदेखि सुरु हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार गरी १० टोलीले राष्ट्रिय लिगमा सहभागी हुनेछ्न ।

‘ए’ डिभिजनका चर्च व्वाईज युनाईटेड क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस टिम, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र एनआरटी छन् ।

राष्ट्रिय लिगमा सहभागी टोलीले आगामी मङ्सिर ५ गते टोटी तथा ९ गते खेलाडी दर्ता गर्नुपर्नेछ । यसैगरी लिगको खेल तालिका भने मङ्सिर १९ मा सार्वजनिक हुने एन्फाले जनाएको छ ।

दुई भारतीय नागरिक २८ लाखसहित पक्राउ

कैलालीमा दुई जना भारतीय नागरिक रु. २८ लाखसहित पक्राउ गरेका छन् ।raआज धनगढी उपमहानगरपालिका —३ मिलनचोकबाट रु २८ लाख ३५० सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिलनचोकबाट भारतको लखिमपुर खिरी पलियाका हरचित गुप्ताले चलाएको भारतीय युपी ३१ सिएन ११७५ नंको कारमा जाँच गर्दा त्यसमा सवार सोही ठाउँका सागर गुप्तालाई स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो ।

निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रकोप : दशौँ हजार नागरिक सुरक्षित स्थानमा सारिए

मनिला । फिलिपिन्सको पूर्वी र मध्य भागमा आएको शक्तिशाली आँधी ‘कलमेगी’का कारण सोमबारदेखि दशौँ हजार नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

प्रशान्त महासागरबाट तीव्र गतिमा अघि बढिरहेको यस टाइफुनका कारण तटीय क्षेत्रका माछा मार्ने कार्य रोकिएका छन् भने साथै अधिकारीले भारी वर्षा र तीन मिटर (झन्डै १० फिट) उचाइका घातक ज्वारभाटा आउन सक्ने चेतावनी दिएका छन् ।

फिलिपिन्स मौसम विभागका अनुसार स्थानीय रूपमा ‘टिनो’ भनिने ‘कलमेगी’ सोमबार बिहान पूर्वी समर प्रान्तको गुइआन सहरबाट करिब २३५ किलोमिटर पूर्वमा थियो । यसले १२० किलोमिटर प्रतिघण्टा स्थायी र १५० किलोमिटर प्रतिघण्टासम्मका तीव्र हावा बहाइरहेको बताइएको छ ।

आँधी सोमबार साँझतिर फिलिपिन्सको तटीय क्षेत्रमा प्रवेश गर्ने र त्यसपछि मङ्गलबार पश्चिमतर्फ सर्दै सेबू लगायतका केन्द्रीय टापु प्रान्तहरूमा असर पुर्याउने अनुमान गरिएको छ । यी क्षेत्रमा गत सेप्टेम्बर ३० मा आएको ६.९ म्याग्निच्युडको भूकम्पले ठूला क्षति पुर्याएको थियो । भूकम्पमा परी कम्तीमा ७९ जनाको निधन भएको र हजारौँ नागरिक अझै विस्थापित रहेका छन् ।

पूर्वी समरका गभर्नर आर.भी.एवार्डोनले सेना, प्रहरी, अग्नि नियन्त्रक र विपद निवारण टोलीको सहकार्यमा अनिवार्य निकासी आदेश जारी गर्नु भएको छ । उहाँका अनुसार गुयुआन, मर्सिडिज र साल्सेडोका तटीय सहरका ७० हजारभन्दा बढी नागरिकलाई सुरक्षित निकासी केन्द्र, बलियो कन्क्रीट घर वा सामुदायिक भवनमा सारिएको छ ।

गभर्नर एवार्डोनले तीन मिटर अग्लो ज्वारभाटा आउन सक्ने चेतावनी दिँदै स्थानीय बासिन्दालाई सतर्क रहन अनुरोध गर्नु भएको छ । स्मरणीय छ, सन् २०१३ नोभेम्बरमा रेकर्डकै शक्तिशाली टाइफुन ‘हाइयान’ (फिलिपिन्स नाम ‘योलान्डा’) ले यही गुइआन सहरमा पहिलो पटक जमिन छोएको थियो । सो आँधीले मध्य फिलिपिन्समा करिब सात हजार ३०० जनाको मृत्यु वा बेपत्ता गराएको थियो ।

हजारौँ गाउँ पूर्णरूपमा ध्वस्त भएका थिए र जहाजसमेत भित्री भूभागसम्म बगाइएका थिए । ‘हाइयान’ ले करिब १० लाख घर नष्ट पार्दै ४० लाखभन्दा बढी मानिस विस्थापित पारेको थियो । गभर्नर एवार्डोनले भन्नुभयो, “योलान्डाको भयावह अनुभवका कारण यस पटक कसैले पनि निकासीको आदेशको विरोध गरेका छैनन् । नागरिकलाई माफ माग्नुभन्दा सुरक्षित रहनु राम्रो हो भन्ने कुरा राम्ररी थाहा छ । त्यस बेलाको सडकमा शव छरिएको दृश्य अहिले पनि उनीहरूको सम्झनामा ताजा छ ।”

अधिकारीले पूर्वी समर नजिकका अन्य टापु प्रान्तबाट पनि हजारौँ गाउँलेलाई सुरक्षित ठाउँमा सारिएको जनाएका छन् । तटरक्षक, सेना र विपद-प्रतिक्रिया निकाय उच्च सतर्कतामा रहेका छन् । फिलिपिन्स विश्वका सबैभन्दा विपद-संवेदनशील देशहरूमध्ये एक मानिन्छ । प्रत्येक वर्ष औसतमा २० वटा टाइफुन वा आँधीबेहरी यसको भूमि र जनजीवनमा प्रभाव पार्ने गर्छन् ।

भूकम्प र सक्रिय ज्वालामुखीको उपस्थितिले यो देशलाई अझ जोखिमयुक्त बनाएको छ । यस पटकको टाइफुन ‘कलमेगी’ ले पुनः एक पटक फिलिपिन्सका नागरिकलाई विपद व्यवस्थापन र तयारीमा सजग रहन बाध्य पारेको छ ।

सञ्चारमन्त्री खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते पत्रकारको भेट

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकार दीपेन्द्र ढुङगानाले भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित सञ्चारमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा घाइते पत्रकारहरूको सवाल र मन्त्रालयले गर्ने सहजीकरणका विषयमा छलफल भएको छ । नयाँ पत्रिका दैनिकका फोटो पत्रकारका रूपमा कार्यरत ढुङ्गानालाई गत भदौ २३ गतेको जेनजी आन्दोलनको रिपोर्टिङको क्रममा नयाँबानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेको थियो ।

ढुङ्गानाको घाँटीको दाहिनेतर्फ तीनवटा रबरको गोली लागेको थियो । उहाँको पाटन अस्पतालमा शल्यक्रिया गरेर रबरको गोली निकालिएको थियो । उपचारका क्रममा करिब रु ७५ हजार खर्च भएको जनाइएको छ । पत्रकार ढुङ्गानाले सरकारसमक्ष उपचारका क्रममा खर्च भएको रकम उपलब्ध गराइदिन पहलका लागि सञ्चारमन्त्रीसमक्ष अनुरोध गर्नुभयो ।

पत्रकारहरूले प्रयोग गर्ने उपकरण (क्यामेरा, लेन्स, अडियो रेकर्डर)को बिमा अनिवार्य गर्नका लागि पहल गरिदिन पनि उहाँले आग्रह गर्नुभयो । सो अवसरमा सञ्चारमन्त्री खरेलले पेसागत व्यावसायिक कर्तव्य निर्वाहका क्रममा घाइते फोटो पत्रकार ढुङ्गानाको उपचार खर्च सरकारको तर्फबाट उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । साथै उहाँले अन्य घाइते पत्रकारहरूसँग छिट्टै भेट गरी उनीहरूका समस्या समाधानका लागि मन्त्रालयले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । सञ्चारमन्त्री खरेलले फोटो पत्रकारहरुको बिमाका लागि संस्थागत छलफल गरेर मन्त्रालयले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

ढुङ्गानाले पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य जोड्न, मानसिक स्वास्थ्यका लागि नियमित परामर्शको लागि मिडिया हाउसहरूलाई नियमित गराउने, फिल्डमा खट्ने पत्रकारहरूलाई सुरक्षा उपकरण अनिवार्य गराउने तथा प्राकृतिक प्रकोप, आन्दोलनजस्ता जोखिम ठाउँहरूमा रिपोर्टिङ गर्नका लागि अनिवार्य तालिम राख्नुपर्ने माग पनि सञ्चारमन्त्रीसमक्ष पेस गर्नुभयो ।

मागप्रति सकारात्मक जनाउँदै सञ्चारमन्त्री खरेलले उपयुक्त विषयमा आवश्यक छलफल र समन्वय गर्ने बताउनुभयो । जेनजी आन्दोलनका क्रममा समाचार, तस्बिर र भिडियो सम्प्रेषण गर्दागर्दै पत्रकार ढुङ्गानासहित शम्भु दङ्गाल, उमेश कार्की, श्याम श्रेष्ठ, वर्षा शाह घाइते हुनुभएको थियो ।

एकता राष्ट्रिय सम्मेलनमा पार्टी मातहतका सबै कमिटीलाई सहभागी हुन परिपत्र

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी मातहतका सबै कमिटीलाई यही कात्तिक १९ गते भृकुटीमण्डपमा हुने एकता राष्ट्रिय सम्मेलनमा सहभागी हुन परिपत्र गरेको छ ।

सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायत आठ वटा वामपन्थी दलहरूबीच एकता घोषणा गरिनेछ ।

सबै दलको सहभागितामा सोही दिन एकता राष्ट्रिय सम्मेलनमार्फत एकीकृत पार्टी घोषणा गरिनेछ । सोही सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्दै अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायतका कार्यहरू गरिने एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएकी महिला विदेशी पर्यटक अझै भेटिइनन्

गोरखा – मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी एक विदेशी महिला पर्यटक चार दिनसम्म भेटिएकी छैनन् ।

मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि फेला पार्न नसकिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

ठाउँठाउँमा झरेको पहिराका कारण उद्धारकर्ता शुक्रबार र शनिबार घटनास्थलसम्म पुग्न सकेका थिएनन् । पहिरो पन्छाउँदै सो टोली आइतबार घटनास्थल पुगेको थियो । उनीसँगै पदयात्रामा गएका श्रीमान् र पथप्रदर्शकले भने भागेर ज्यान बचाएका थिए ।

कैलालीमा ३७ दिनमा एक हजार ८४४ मतदाता थपिए

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले गत असोज १० गतेदेखि आजसम्म एक हजार ८४४ नयाँ मतदाता थपिएको जानकारी दिनुभयो । यही असोज १० गतेदेखि कार्यालयले मतदाता नामावली सङ्कलन सुरु गरेको हो ।

उहाँले भन्नुभयो, “दैनिक एक सयदेखि १२० जनासम्मले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराइरहेका छन्, नाम समावेश गराउनेमध्ये झण्डै ६५ प्रतिशत किशोर एवं युवा छन् ।”

यस अवधिमा ३३० मतदाताले ठाउँ सारीका लागि निवेदन दिएको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा पछिल्लो निर्वाचनमा क्षेत्र नं १, २ र ३ बाट नागरिक उन्मुक्ति पार्टीका र क्षेत्र नं ४ र ५ बाट नेपाली कांग्रेसका प्रत्यासी विजयी हुनुभएको थियो ।

उक्त निर्वाचनमा जिल्लाभरि पाँच लाख ३४ हजार ८६४ मतदाता थिए । सरकारले अध्यादेशमार्फत मतदाता नामावली ऐन संशोधन गरेपछि मतदाता नामावली सङ्कलन सुरु गरिएको हो । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन अवधि तोकिएको छ ।

निर्वाचनबारे निर्णय अधिवेशनले गर्छः लोसपा अध्यक्ष ठाकुर

जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने वा नलिने निर्णय आफ्नो पार्टीको अधिवेशनले तय गर्ने बताउनुभएको छ ।

जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले अधिवेशन कहिले गर्ने भन्ने विषयमा भने निर्णय नभएको बताउनुभयो ।

विद्यापति स्मृति पर्वका अवसरमा आज जनकपुरधाममा आयोजित समारोहमा विद्यापतिको योगदान, महत्व तथा गरिमाको चर्चा गर्नुभयो । सो अवसरमा कविता वाचनसमेत गरिएको थियो ।

नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

नेपाल सरकार गृहमन्त्रीस्तरको आज कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । दर्ज्यानी चिह्न प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकहरूमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले छन् ।

सो समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आ–आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवं कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउनेगरी दृढतापूर्वक काम गर्न दर्ज्यानी चिहबाट सुशोभित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो ।

श्रीलङ्कामा वन तथा वन्यजन्तु संरक्षणको लागि “वाना सुराकुमा”कार्यक्रम सुरु

कोलम्बो । श्रीलङ्काले सोमबार देखि देशको प्राकृतिक वन र वन्यजन्तु स्रोतको संरक्षण गर्न वातावरण मन्त्रालय अन्तर्गत “वाना सुराकुमा”नामक एकीकृत परिचालन कार्यक्रम सुरु गरेको छ ।

मन्त्रालयले “वाना सुराकुमा” कार्यक्रमको मुख्य उद्देश्य वातावरणीय अपराधको रोकथाम गर्दै वन र वन्यजन्तु संरक्षण सञ्चालनलाई अझ प्रभावकारी बनाउनु रहेको बताएको छ । कार्यक्रमले वन्यजन्तु संरक्षण विभाग, वन संरक्षण विभाग, प्रहरीलाई एक ढिक्का गरी देश भरि वनसँग सम्बन्धित अपराधका लागि समन्वय र द्रुत नियन्त्रण प्रतिक्रियालाई सुदृढ पार्ने जनाइएको छ ।

कार्यक्तम २४ सै घण्टाको हटलाइन सेवा सर्ट कोड-१९९५ मार्फत सञ्चालन गरी जनतालाई वन विनाश र वातावरणीय क्षतिको घटनाको रिपोर्ट गर्न सक्षम बनाउँने जनाइएको छ ।

कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीचको शिष्टाचार भेटमा के भयो ?

काठमाडौँ – कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उदो युगेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी, लगानी, व्यापार तथा पर्यटन प्रवर्द्धनलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कार्यवाहक राष्ट्रपति यादवले नेपाल र जर्मनीबीच सन् १९५८ मा दौत्य सम्बन्ध स्थापना भएयता कायम रहेको आपसी विश्वास र सहयोगप्रति सन्तोष व्यक्त गर्नुभएको थियो । उहाँले उच्चस्तरीय भ्रमण, विकास साझेदारी, जनस्तरको सम्बन्ध, लगानी तथा पर्यटन क्षेत्रलाई दुई देशबीचको सम्बन्धका आधारस्तम्भका रूपमा उल्लेख गर्नुभयो ।

जेनजी आन्दोलनपछि नेपालको लोकतान्त्रिक यात्राले नयाँ गति लिएको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले उत्तरदायी, जवाफदेही र भ्रष्टाचारमुक्त शासनप्रति जनआकाङ्क्षा राष्ट्रिय एजेण्डाका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले आगामी ५ मार्च २०२६ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने सरकारको प्राथमिकताबारे समेत जानकारी दिनुभयो ।

सङ्घीय गणतन्त्र जर्मनी नेपालका प्रमुख विकास तथा व्यापार साझेदारमध्ये एक रहेको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले सन् १९६१ देखि प्राप्त हुँदै जर्मन सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनजस्ता अन्तरराष्ट्रिय मुद्दामा जर्मनीले बहुपक्षीय मञ्चमा खेलेको भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि आपसी हितका विषयमा सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

नेपालले आगामी वर्ष अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्दै कार्यवाहक राष्ट्रपति यादवले उक्त लक्ष्यलाई दिगो बनाउन जर्मनीलगायत विकास साझेदारहरूको पूँजी, प्रविधि, लगानी र आर्थिक साझेदारी आवश्यक रहेको बताउनुभयो ।

जर्मनीका राजदूत उदो युगेन भोल्जले नेपाल–जर्मनी सम्बन्ध अत्यन्तै घनिष्ट र बलियो रहेको उल्लेख गर्दै नेपालको सरकारलाई जर्मनीको निरन्तर समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा किरिया पुत्री भवन शिलान्यास

काठमाडौँ – प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रमअन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको आज शिलान्यास गर्नुभएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गर्न लागिएको बताउनुभयो । आगामी दिनमा भवन निर्माणका साथै भवनबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी दुःखद निधन हुँदा आशौच बार्ने संस्कार (किरिया पुत्री) का लागि काठमाडौँ महानगरपालिका–३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका नाममा रहेको जग्गामा किरिया पुत्री भवन निर्माण गर्न गत भदौ १९ गते बसेको नीतिनिर्माण समितिको बैठकले निर्णय गरेको थियो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले भवन निर्माणको उद्देश्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरूलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

सञ्चारमन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको शिष्टाचार भेट

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राजदूत पार्क तइ योङले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र दक्षिण कोरियाबीचको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्रथमिकताका सम्बन्धमा छलफल भएको सञ्चारमन्त्री खरेलको सचिवालयले जनाएको छ ।

भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनालगायत नेपालमा डाटा सेन्टरको स्थापनामा पु¥याएको सहयोगका लागि आभारसमेत व्यक्त गर्नुभयो । यसका साथै मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिको साथै स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराउनुभयो ।

सञ्चारमन्त्री खरेलले रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरियाले लामो समयदेखि नेपाली युवालाई रोजगारी प्रदान गरिरहेकोमा सराहाना गर्नुभयो ।

सो अवसरमा दक्षिण कोरियाका राजदूत पार्क तइ योङले मन्त्री खरेललाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राजदूत योङले नेपालमा दक्षिण कोरियाली सहयोगमा सञ्चालित परियोजनाको अवस्था तथा नेपालमा कोरियाली सरकारको सहयोगको प्राथमिकताका विषयमा जानकारी गराउँदै कोरिया सरकार नेपालको शिक्षा, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमार्फत आर्थिक रुपान्तरण एवम् समृद्धिका लागि सहयोग गर्न तत्पर रहेको जानकारी गराउनुभयो ।

राजदूत योङले नेपाली युवा मेहेनती र इमान्दार रहेको तथा पछिल्लो समय नेपाल कोरियामा वैदेशिक रोजगारीमा पठाउने उत्कृष्ट मुलुक रहेको उल्लेख गर्नुभयो । भेटमा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो ।

संयोजक प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच यी बिषयमा छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज छलफल भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा भएको छलफलमा यही कात्तिक १९ गते भृकुटीमण्डपमा हुने एकता राष्ट्रिय सम्मेलनको तयारी, आठ वाम शक्तिको एकतासभा, घोषणापत्र, अन्तरिम विधान पारित, केन्द्रीय समितिको गठनलगायतका विषयमा कुराकानी भएको एकीकृत समाजवादीका नेता ताजमोहम्मद मियाँले जानकारी दिनुभयो ।

मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा गरिएको मियाँले बताउनुभयो ।

दुई पार्टीका प्रमुखबीचको भेटघाटमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भएका सहकार्य तथा वाम एकतापछिको सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा समेत छलफल भएको थियो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत आठ वाम पार्टीबीच एकीकरण गर्ने सैद्धान्तिक सहमतिपछि भएको छलफलमा अन्य कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्न भएका प्रयास, अन्तरराष्ट्रिय तहमा शक्ति राष्ट्रबीच भएका युद्ध र त्यसको प्रभावबारे छलफल गरिएको जनाइएको छ ।

पथरी शनिश्चरे गोल्डकपः पाँचथर सेमिफाइनल प्रवेश

काठमाडौँ – सङ्कटा क्लब काठमाडौँलाई पराजित गर्दै पाँचथर क्लब ‘अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२’ को दोस्रो चरणमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा सङ्कटालाई ०–१ गोलअन्तरले हराउँदै पाँचथरले सेमिफाइनलको यात्रा तय गरेको हो ।

गोल गर्न नसक्दा गत वर्षको उपविजेता टोली सङ्कटा पहिलो खेलबाटै बाहिरिएको छ । पाँचथरले खेल अवधिभर थुपै्र गोल गर्ने मौका पाए पनि गोल गर्न भने सकेन । निकै प्रतिस्पर्धात्मक खेलमा खेलाडीबीचको झगडाले केही समय खेल अवरुद्ध भएको थियो । खेलमा दुवै टिमका चार–चार खेलाडीले पहेँलो कार्ड पाए ।

पाँचथरका लागि एकमात्र निर्णायक गोल खेल सुरु भएको दुई मिनेटमा विशाल घलानले गरे । खेलको म्यान अफ दी म्याच पाँचथरका घलान घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे । भोलिको खेल न्युरोड टिम एनआरटी र झापा–११ बीच हुनेछ ।

प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार प्राप्त गर्नेछ ।

एमालेको महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने भएको छ ।

देशभरबाट करिब दुई हजार एक सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ४० वर्षमुनिका युवा पनि प्रतिनिधिका रुपमा सहभागी हुने भएका हुन् ।

एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चार जना प्रतिनिधि चयन हुनेमा एक जना अनिवार्य भनिएको छ । जसमा दुई जना खुला, एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरेर चार जना प्रतिनिधि छनोट हुनेछन् ।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजार २०० पार्टी सदस्य बराबर चार जना महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने एमालेले निर्णय गरेको छ । उहाँले मापदण्डअनुसार १६५ निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले, अनेरास्ववियु र युवासङ्घ नेपालबाट पाँच–पाँच जनाका दरले ४० वर्षमुनिका प्रतिनिधि सहभागी हुने सुनिश्चित गरिएको बताउनुभयो ।

अन्य कमिटीबाट पनि प्रतिस्पर्धा गरेर महाधिवेशनमा प्रतिनिधि हुने सक्ने उहाँको भनाइ छ । महाधिवेशनका लागि एकतिहाइ महिला प्रतिनिधि हुने सुनिश्चिता पनि पार्टीले गरेको छ ।

एमालेले महाधिवेशनका लागि प्रनिनिधि चयन मङ्सिर १३ गते एकैदिन देशैभरि गर्ने निर्णय गरेको छ । एमाले महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

दलित बालबालिकाको विद्यालय सहभागिता बढाउन ‘घरदैलो’ अभियान

सिरहा – यहाँका सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी दलित र विपन्न समुदायका भए पनि उनीहरूको विद्यायलमा नियमित उपस्थिति नदखिएपछि लहान–११ स्थित पिडरबोनी माध्यमिक विद्यालयले शैक्षिक जागरणको ‘घरदैलो’ अभियान सुरु गरेको छ ।

प्रधानाध्यापक र शिक्षकहरूको टोली अहिले दलित बस्तीमा पुगेर अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन प्रेरित गरिरहेको छ ।

प्रधानाध्यापक वीरेन्द्रकुमार यादवले विद्यालयको जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा अधिकांश दलित समुदायका विद्यार्थीहरू बढी अनुपस्थित रहने गरेको पाइएपछि त्यसलाई सुधार गर्न यो अभियान थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानाध्यापक भएर आएको तीन महिनाको समयमा विद्यार्थी सङ्ख्या हेर्दा अधिकांश दलित समुदायका विद्यार्थीहरू रहेका पाइयो । चाहे अनुसारको शैक्षिक सुधार गर्न कठिनाइ भएपछि दलित बस्तीमा पुगेर त्यहाँका बालबालिकालाई नियमित विद्यालय पठाउन उत्पे्ररित गरिरहेका छौँ ।”

अभियानका क्रममा दलित बस्तीमा सामाजिक चेतनाको अभावका कारण बालबालिकाहरू विद्यालय पठाउन उत्सुक अभिभावक नपाइएको प्रधानाध्यापक यादवको भनाइ छ । समाजमा पछि परेका समुदायहरूलाई मुक्ति दिलाउने एक मात्र हतियार शिक्षा भएको भन्दै उहाँले सम्पूण सरोकारवालाहरूलाई चेतना अभिवृद्धि गर्नतर्फ अग्रसर भइदिन आग्रह गर्नुभयो ।

दैलोमा आएर नियमित विद्यालयमा विद्यार्थी पठाउन विद्यालयका प्रअ शिक्षकहरूले आएर दिएको जनचेतनाले अब नियमित विद्यालय पठाउने स्थानीय अभिभावक रामउद्गार मरिकले प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “निम्न वर्गका समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको महसुस पनि भयो ।”

दलित अगुवा तथा लेखक राजेश राम विद्रोहीका अनुसार मधेस प्रदेशका डुम र मुसहर समुदायका बालबालिकाहरू अझै पनि विद्यालयभन्दा टाढा रहेका छन् । दलित विद्यार्थीलाई विद्यालयमा नियमित गराउने सम्बन्धमा पिडरबोनी माविको प्रयासको प्रशंसा गर्दै उहाँले मधेस प्रदेशका डुम र मुसहर समुदायका बालबालिकाहरू अहिले पनि बाल श्रमिक र बालविवाहको जोखिममा रहेकाले यस्तै किसिमको जनचेतना सबै सामुदायिक विद्यालयले दलित बस्तीहरूमा फैलाउनुपर्नेमा जोड दिनुभयो ।

दलित विद्यार्थीलाई विद्यालयमा नियमित गराउन नगरले पनि चासो दिएको छ । त्यसका लागि नगरले यस वर्षदेखि दलित बालबालिकालाई निःशुल्क कपी–पेन्सिल वितरण र दलित बस्तीमा ४१ वटा ट्युसन कक्षा सञ्चालनको व्यवस्था गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । “पिडरबोनी विद्यालयले सुरु गरेको अभियानलाई हामी नगरका सबै ५९ सामुदायिक विद्यालयमा विस्तार गर्दैछौँ,” चौधरीले बताउनुभयो ।

बसाइँसराइले म्याग्दीमा घटे मतदाता

म्याग्दी- म्याग्दीमा पछिल्लो तीन वर्षको अवधिमा मतदाताको सङ्ख्या घटेको छ। विसं २०७९ मा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार ८४ हजार ५२० जना कायम भएको छ।

जिल्ला निर्वाचन कार्यालय, म्याग्दीका सूचना अधिकारी गोविन्द थापाका अनुसार अघिल्लो निर्वाचनको तुलनामा एक हजार छ सय जना मतदाता सङ्ख्या घटेको हो। ४१ हजार १७४ जना पुरुष, ४३ हजार ३४५ महिला र एक जना अन्य छन्।

मृत्यु भएकाको नामावली हटाएको, दोहोरो परेकाको एक ठाउँमा कायम गरेको र बसाइँसराई गरेर गएकाको स्थानान्तरण गरिएकाले मतदाता घटेका सूचना अधिकारी थापाले बताए।

यसैगरी म्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा २३९ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगले गत असोज १० गतेदेखि मतदाता नामावली दर्ताको व्यवस्था मिलाएको थियो। विदेशबाट फर्किएका, नयाँ नागरिकता लिएकाहरूले मतदाता नामावली दर्ता गर्न आइरहेका जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले बताए।

आगामी फागुन २१ गते घोषणा भएको निर्वाचनका लागि मतदाता नामावली दर्ता, अद्यावधिकसँगै मतदानस्थलको अवस्था अध्ययन थालेको उनले बताए। यसअघि मतदानस्थल रहेको ठाउँमा विपद्ले क्षति पुगेको र अन्य कारणले स्थानान्तरण तथा गाभ्नुपर्ने भएमा सोको विवरण पठाउन स्थानीय तहलाई निर्वाचन कार्यालयले पत्राचार गरेको छ।

अघिल्लो निर्वाचनमा म्याग्दीमा ८२ वटा मतदानस्थलमा ११९ मतदान केन्द्र र जिल्ला कारागारमा एक वटा अस्थायी मतदान केन्द्र थिए। प्रतिनिधिसभामा एकवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीका छवटा स्थानीय तहमा ४५ वटा वडा छन्।

राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन् : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भनी आएका समाचारप्रति सत्यता नभएको बताएका छन् ।

सोमबार अपरान्ह सामाजिक संजालमार्फत उनले मन्त्री पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले भनेका छन्,‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु ।

जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’

नयाँ राजनीतिक दल खोल्न मन्त्री पदबाट राजीनामा दिन लागेको भन्ने आसयका समाचारहरुप्रति घिसिङले प्रष्टिकरण दिएका हुन् ।

कांग्रेस केन्दीय समितिको बैठक लम्बिँदा बागमती प्रदेशसभाको बैठक अनिश्चित

बागमती, कात्तिक १७ –नेपाली कांग्रेस केन्दीय समितिको बैठक लम्बिँदा बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ ।कांग्रेस केन्द्रीय समितिको बैठक लम्बिएको र सो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहभागी हुनुपर्ने भएकाले प्रदेशसभाको बैठक अनिश्चित बनेको हो ।

लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भए पनि मुख्यमन्त्री बानियाँले पार्टीको केन्द्रीय समितिको बैठकपश्चात् मात्र प्रदेशसभाको बैठक बोलाउने बताएकाले बैठकको मिति तय हुन नसकेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठकका लागि बागमती प्रदेशका उपसभामुख अपसारा चापागार्इंले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग परामर्श गरिरहनुभएको र उहाँसँगको परामर्शपश्चात् प्रदेशसभाको बैठकको मिति तय हुने सचिव पौडेलले बताउनुभयो । सम्भवतः काात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढ्ेको उहाँले बताउनुभयो ।

बागमती प्रदेशसभाको सभाहल जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी गरेकोे छ । तत्कालका लागि अस्थायी रुपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्नेगरी प्रदेश सरकारले तयारी थालेको हो । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको सचिव पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीको निर्देशन : सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नुस्

काठमाडौँ, कात्तिक १७ –प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिनुभएको छ । उहाँले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितता गर्न समेत निर्देशन दिनुभयो ।

वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण दिन आज आयोजित मन्त्री र सचिवहरूको बैठमा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम नतिजामुखी हुन मातहतका निकायलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सबै मन्त्रालयहरूले ‘ब्लुप्रिन्ट’ तयार गरी कार्यान्वयन गर्नुहोस्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्नुहोस् ।”

आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्नुपर्नेलगायतका १४ बुँदे निर्देशन दिँदै उहाँले कर्मचारीहरूको सरुवा बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

“आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउनुहोस्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “भौतिक संरचना मेसिनरी औजार तथा उपकरणमा पुगेको क्षतिबाट सेवा प्रवाह अवरुद्ध हुन नदिन तत्काल खरिद वा वैकल्पिक सेवा प्रवाहको व्यवस्था गर्नुहोस् ।”

निर्वाचनको वातावरण बनाउन आफूले निर्वाचन आयोग, सुरक्षा निकाय राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिँदै उहाँले निर्वाचनको पूर्वतयारीका लागि आआफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री कार्कीले सबै मन्त्रालयहरूको वार्षिक कार्ययोजना कार्यान्वयनको समीक्षा गर्दै परम्परागत शैलीबाट माथि उठेर नयाँ मानकहरू स्थापनाका लागि आवश्यक पहल गर्न सुझाव दिनुभयो ।

आफ्नो अध्यक्षताका अन्तरप्रदेश परिषद्लगायतका सबै परिषद् वा समितिका बैठकका लागि प्रबन्ध मिलाउन निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा कूटनीतिक मामिलासम्बन्धी छलफल आयोजना गर्नसमेत ध्यानाकर्षण गराउनुभयो

प्रदेशमा जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने र तीनै तहका सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “कानुनको शासन प्रत्याभूत गर्न सबै खाले आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्नुपर्नेछ । यसमा कुनै सम्झौता नगर्नुहोस् ।”

प्रधानमन्त्री कार्कीले अनावश्यक देखिएका संरचना खारेज गर्ने, गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने कार्य तत्काल प्रारम्भ गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “तपाइँहरू स्थायी सरकार हो । आफ्नो ज्ञान सीप अनुभवको प्रयोग गरी कर्तव्य र उत्तरदायित्व पालनामा खरो उत्रनु हुनेछ ।”

पार्टी एकता प्रक्रियामा जनार्दन शर्माले जनाए असहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघि बढाइरहेको पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् । शर्माले वर्तमान एकता प्रयास जेनजी आन्दोलनको भावना विपरीत रहेको बताएका छन् ।

शर्माले भने, ‘माधवजीसँग पार्टी एकता गरे भने म जान्नँ, म पार्टी पुनर्गठन गर्छु । मैले यो कुरा भनिदिएको छु ।’ उनले पार्टीलाई सुदृढ बनाउने कुरा गरेको स्पष्ट गर्दै भने, ‘आफ्नो पार्टी फुटाउने र अर्को पार्टी ल्याएर एकता गर्छु भन्ने कुरा एकता होइन ।’

उनले अहिले भइरहेको एकता प्रयास माओवादी पार्टीले बोक्न नसक्ने खालको भएको बताएका छन् । शर्माले भने, ‘महाधिवेशनमा प्रतिस्पर्धा छल्नकै लागि प्रचण्डले एकताको कुरा गरिरहनुभएको हो । पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ, त्यसपछि मात्रै समग्र कम्युनिस्ट आन्दोलन एकतामा जान सक्छ ।’

उनले तत्काल एकता प्रक्रिया स्थगन गरी पार्टीको पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न आह्वान गरे ।

उनले गणतन्त्र स्थापना पछि माओवादी पार्टीले जनयुद्धको भावना, संविधानको मर्म र जनआकांक्षाअनुसार समाजवादको आधार निर्माण गर्ने जिम्मेवारी पूरा गर्न नसकेको उल्लेख गरे ।

राष्ट्रपति पौडेल कतार प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी पदाधिकारी एवम् सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, राष्ट्रपति पौडेलले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नेछन् ।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने छन् ।

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २७ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७० रुपैयाँ, आलु रातो प्रतिकिलो ८५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ, आलु सेतो प्रतिकिलो ६८ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४८रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, रातो मूला प्रतिकेजी ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ, मकै बोडी प्रतिकिलो ५५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ७० रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १५० रुपैयाँ, मटरकोसा प्रतिकिलो १४० रुपैयाँ, तीतो करेला प्रतिकिलो ७० रुपैयाँ, लौका प्रतिकिलो ४० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ८० रुपैयाँ, घिरौँला प्रतिकिलो ५० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो ९० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो १० रुपैयाँ, रायोसाग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १३० रुपैयाँ, चमसुर प्रतिकेजी १५० रुपैयाँ, तोरीको साग प्रतिकिलो ७० रुपैयाँ, मेथीको साग प्रतिकिलो १८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो २८० रुपैयाँ, कुरिलो प्रतिकिलो ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १२० रुपैयाँ, जिरीको साग प्रतिकिलो ३५० रुपैयाँ, सेलरी प्रतिकिलो ३०० रुपैयाँ, पार्सले प्रतिकिलो ४०० रुपैयाँ, सौफको साग प्रतिकिलो १५० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २६० रुपैयाँ, केरा (दर्जन) १२० रुपैयाँ, कागती प्रतिकिलो ११० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो २३० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ५० रुपैयाँ र किबी प्रतिकिलो २४० रुपैयाँ निर्धारण गरिएको छ ।

पायक पर्ने स्थानमा नि:शुल्क आँखा शिविर सञ्चालन गर्दा…

ढोरपाटन, (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको सो तीन दिने नि:शुल्क आँखा शिविरमा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिकाका र ढोरपाटन नगरबासी लाभान्वित भएका थिए ।

शिविरमा आँखा परीक्षणसँगै मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको थियो । परीक्षणका क्रममा मातियाविन्दु देखिएका ८५ जनाकोे शल्यक्रिया र परेला आँखाभित्र पसेका दुईजनाको उपचार गरिएको थियो । आँखामा जटिल समस्या भएका १३ जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ समेत गरिएको थियो ।

हिमालय आँखा अस्पताल पोखरामा सेवारत जलविन्दु विशेषज्ञ डा अनिल पराजुली लगायतका चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले शिविरमा आँखा परीक्षण, उपचार र शल्यक्रिया गरेको थियो । निसीखोला–१ का कुमबहादुर मल्लले आफूलाई पायक पर्ने स्थानमा आँखा शिविर मार्फत् सेवा प्राप्त गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो,“आँखामा समस्या हुँदै आएको थियो । परीक्षण गराउँदा मोतियाबिन्दु भएको देखियो । शल्यक्रिया भयो । अहिले आँखाको ज्योति फर्किदा यो भन्दा आनन्दको क्षण के होला रु”

लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष तेजिन्द्र खत्रीका अनुसार शिविरमा चार सय ९५ जनालाई आवश्यकताका आधारमा चस्मा वितरण, ३२४ जनालाई औषधि वितरण अन्य आँखा जाँचसँगै आवश्यक परामर्श दिइएको थियो ।

दूर्गम भूगोल, आर्थिक समस्या र चेतनाको अभावका कारण आँखाको समस्या पालेर बसेका नागरिकको सहजताका लागि नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, “ ग्रामीण भेगका नागरिकले आँखामा सामान्य समस्या भयो भने पोखरा, काठमाडौँका अस्पतालमा जानुपर्ने अवस्था छ, त्यसलाई मध्यनजर गरी लायन्स क्लबले नि:शुल्क शिविर संयोजन गरेको हो, शिविरमा धेरै ठाउँमा वृद्धदेखि सबै उमेर समूहका नागरिक आएर सेवा लिनुभयो, यस्ता शिविर निरन्तर गर्दै जाने छौँ ।”

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु. आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व दुवैमा वृद्धि भएको जानकारी दिए ।

जबकि गत आवको तीन महिनामा भने रु. छ अर्ब १९ करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए । गत आवको तीन महिनामा सवारीसाधनको आयातबाट पाँच अर्ब ९५ करोड राजस्व संकलन भएको थियो ।

चालु आवको तीन महिनामा रु. तीन अर्ब ४१ करोड मूल्य पर्ने २४ हजार नौ सय ३९ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । ती अनएसेम्वल्ड मोटरसाइकलको आयातबाट तीन अर्ब २८ करोड राजस्व संकलन भएको छ ।

त्यस्तै गत आवको तीन महिनाको अवधिमा भने रु. दुई अर्ब ४९ करोड मूल्य पर्ने १९ हजार चार सय ८९ अनएसेम्वल्ड मोटरसाइकल आयात भएको थियो । चालु आवको तीन महिनामा रु. ६२ करोड २४ लाख मूल्य पर्ने तीन सय ३० जीप, कार र भ्यानको आयात भएको छ ।

ती सवारीसाधनको आयातबाट रु. एक अर्ब ७५ करोड राजस्व संकलन भएको छ । गत आवको तीन महिनाको अवधिमा भने रु ७६ करोड ५८ लाख मूल्य पर्ने चार सय ३२ जीप, कार र भ्यानको आयात भएको थियो । सो आवमा ती सवारीसाधनको आयातबाट भने रु. एक अर्ब ९६ करोड राजस्व संकलन भएको थियो ।

चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु. ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन् । ती विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ अर्ब ७२ लाख राजस्व संकलन भएको छ ।

गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै रु. १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधन आयातबाट रु नौ करोड ११ लाख मात्रै राजस्व संकलन भएको थियो ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबारदेखि जारी बैठकको दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले बैठकको एजेण्डामा आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन, सङ्गठनात्मक कार्ययोजनालगायत केन्द्रीय कार्यकारिणी समितिको बैठकको एजेण्डा रहेको बस्नेतले बताए ।
जसपा नेपालले कात्तिक १९ र २० गते ललितपुरस्थित थसी ब्याङ्क्वेटमा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको उनको भनाइ छ ।

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक ,आज अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ ।उनका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए । स्वर्गीय जीवनाथ खतिवडाको पार्थिव शरीरलाई सोमबार (आज) पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।

भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा भारतले २९८ रनको चुनौतीपूर्ण योगफल बनायो ।जवाफमा दक्षिण अफ्रिकाले राम्रो सुरुवात गरे पनि भारतीय बलरहरूको अनुशासित बलिङ अघि टिक्न सकेन ।

भारतकी दीप्ति शर्माले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिँदै जितमा मुख्य भूमिका खेलिन् । तिनैको कारण दक्षिण अफ्रिकाको मध्यक्रम एकपछि अर्को गर्दै ढलेको थियो ।यो उपाधिसँगै भारतले महिला क्रिकेटमा नयाँ इतिहास रचेको छ । यसअघि भारत दुईपटक फाइनल पुगे पनि उपाधिबाट वञ्चित भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत टोलीलाई बधाइ समेत दिएका छन् ।

अस्ट्रेलियन डलर र युरोको मूल्य घट्यो, अन्य मुद्राको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६४ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८७ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९३ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०३ पैसा कायम भएको छ ।युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रु चार अर्ब ६१ करोडको खाद्यान्न आयात गरिएको छ । धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् ।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न रु एक अर्ब ५६ करोड बढीको आयात गरिएको छ । गत आवको तीन महिनाको अवधिमा रु तीन अर्ब चार करोड मूल्य बराबरका १६ थरिका खाद्यान्न यो नाका हुँदै आयात गरिएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा खाद्यान्नको आयातमा वृद्धि भएको जानकारी दिए । ‘यो वर्षको पहिलो त्रैमासिकमा खाद्यान्नलगायतको वस्तुको आयातमा वृद्धि भएको छ’, उनले भने । चालु आवको तीन महिनाको अवधिमा रु अर्ब ८० करोड मूल्य पर्ने तीन करोड ३६ लाख १२ हजार ८१० किलोग्राम मकै आयात भएको छ ।

गत आवको तीन महिनामा भने रु एक अर्ब नौ करोड मूल्य पर्ने रु दुई करोड १६ लाख २७ हजार ९९२ किलोगाम मकै आयात भएको थियो । चालु आवको तीन महिनामा रु एक अर्ब ४६ करोड मूल्य पर्ने तीन करोड ९१ लाख एक हजार ३४२ किलोग्राम धान आयात भएको छ ।

गत आवको तीन महिनाको अवधिमा भने रु एक अर्ब छ करोड मूल्य पर्ने दुई करोड ९२ लाख ६२ हजार दुई सय किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनाको अवधिमा रु ८९ करोड ८२ लाख मूल्य पर्ने ९४ लाख एक हजार ४३६ किलोग्राम चामल आयात भएको छ ।

त्यस्तै गत आवको तीन महिनाको अवधिमा पनि रु ४६ करोड ५३ लाख मूल्य पर्ने ३८ लाख ४७ हजार ८०४ किलोग्राम चामल आयात भएको थियो । यहाँ आयात हुनेमा माल्ट, फापर, कोदो, ग्लुटेन, फलफूलको मिठो, मकै वा अन्य अन्नको च्याखलाको पिठो, कनिका, दलहनको पिठोलगायतका १६ थरिका खाद्यान्न आयात हुने गर्छ ।