`

लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान

तेहरान। सम्झौताका लागि लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्ने इरानले अघि सारेको एक प्रमुख शर्त रहेको तेहरानले जनाएको छ ।

इजरायलले लेबनानमा आफ्नो वर्तमान नियन्त्रण रेखाबाट पछि हट्नुपर्ने इरानको ‘इस्लामिक रिभोलुसनरी गार्डस्’ को विदेशी शाखा कुद्स फोर्सका प्रमुखले बिहीबार बताउनुभएको हो ।

इजरायलले लेबनानमा तेहरानको सहयोगी हेजबुल्लाहविरूद्ध हवाइ कारबाही चलाइरहेको छ भने इरानमा अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमण भएदेखि नै हेजबुल्लाह समूहले इरानको समर्थनमा इजरायलमाथि पटक पटक आक्रमण गर्दै आएको छ ।

“लेबनानमा प्रतिरोधलाई समर्थन गर्नु हामी सबैको कर्तव्य हो र यस क्षेत्रबाट इजरायललाई हटाउनु मुसलमानहरूको लागि एक साध्य लक्ष्य हो,” रिभोलुसनरी गार्डस् ’को विदेशी शाखाका प्रमुख इस्माइल कानीले इरानी सामाजिक सञ्जालमा गरेको एक पोस्टमा भन्नुभयो ।

“प्रतिरोधको न्यूनतम माग भनेको इरानमा ४० दिने युद्ध सुरु हुनुभन्दा पहिले लेबनानमा रहेको स्थितिमा इजरायललाई फर्कन सहमत गराउनु हो।

‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता

झापा। प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको छ ।

गत वर्षदेखि देखिन थालेको यो किराको सङ्क्रमण यस वर्ष झनै व्यापक भएपछि किसान, बगान सञ्चालक र उद्योगी चिन्तित भएका छन् ।

विशेषगरी, हल्दीबारी गाउँपालिका, भद्रपुर नगरपालिका तथा आसपासका चिया उत्पादन क्षेत्रका बगानमा लुपर किराको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । किराले चियाका कोमल तथा हरिया पात मात्र नभई बोटको वृद्धि प्रणालीमै असर पुर्‍याउन थालेपछि उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिएको छ ।

चिया व्यवसायीहरूका अनुसार यस वर्ष झापाका धेरै बगानमा ५० प्रतिशतभन्दा बढी क्षति पुगेको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ । समयमै नियन्त्रण गर्न नसकिए चिया उद्योगको उत्पादन चक्र नै प्रभावित हुने अवस्था देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।

भद्रपुर–७ का चिया व्यवसायी शुक्र ढकालका अनुसार किसानबाट पर्याप्त मात्रामा हरियो पत्ती प्राप्त हुन नसकेपछि केही चिया प्रशोधन उद्योगले उत्पादन घटाएका छन् भने कतिपय उद्योग बन्द हुने अवस्थासम्म पुगेका छन् । उहाँका अनुसार किसान यस वर्षको पहिलो टिपाइदेखि नै राम्रो उत्पादनको आशामा थिए । पर्याप्त वर्षा भएका कारण उत्पादन बढ्ने र आम्दानीमा सुधार आउने अपेक्षा गरिएको थियो । तर, दोस्रो टिपाइ सुरु भएसँगै लुपर किराको प्रकोप व्यापक रूपमा फैलिँदा आशा निराशामा परिणत भएको छ ।

नेपालमा उत्पादन हुने कुल चियामध्ये सबैभन्दा ठूलो हिस्सा झापाबाट उत्पादन हुन्छ । झापालाई नेपाली चियाको राजधानीका रूपमा चिनिन्छ । जिल्लाका बिर्तामोड, अर्जुनधारा, हल्दीबारी, भद्रपुर, कचनकबल, बाह्रदसी, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हजारौँ हेक्टर जमिनमा चियाखेती भइरहेको छ ।

झापामा ठूला बगानसँगै ससाना किसान पनि चियाखेतीमा आबद्ध छन् । साना किसानले उत्पादन गरेको हरियो पत्ती स्थानीय प्रशोधन उद्योगमा बिक्री गरेर जीविकोपार्जन गर्दै आएका छन् । जिल्लामा दर्जनौँ चिया प्रशोधन उद्योग सञ्चालनमा छन् । चियाखेतीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौँ श्रमिक, किसान तथा व्यवसायीको जीविकोपार्जन धानेको छ । विशेषगरी महिलाको रोजगारीको महत्त्वपूर्ण आधार चिया क्षेत्र नै हो ।

कृषि प्राविधिकहरूका अनुसार लुपर किराले चियाका कोमल पात खाएर बोटको प्रकाश संश्लेषण प्रक्रिया कमजोर बनाउँछ । पातमा रहेको हरितकण नष्ट हुँदा बोटको वृद्धि रोकिन्छ र दीर्घकालीन रूपमा बोट नै सुक्ने जोखिम बढ्छ ।

सामान्य अवस्थामा असार र साउन महिना हरियो पत्ती उत्पादनका दृष्टिले सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यही अवधिमा वार्षिक उत्पादनको ठूलो हिस्सा सङ्कलन हुने गर्दछ । तर यस वर्ष वैशाख–जेठदेखि नै सक्रिय भएको लुपर किराले उत्पादनको आधारभूत संरचनामै क्षति पुर्‍याएको किसानको गुनासो छ ।

गत वर्ष करिब ३० प्रतिशत क्षति पुर्‍याएको यो किराले यस वर्ष आधाभन्दा बढी बगान प्रभावित बनाएको अनुमान गरिएको छ । उत्पादन घटेसँगै किसानको आम्दानीमा प्रत्यक्ष असर परेको छ भने उद्योगको कच्चापदार्थ आपूर्तिमासमेत समस्या देखिएको छ ।

नेपालमा उत्पादित अर्थोडक्स चिया विश्वबजारमा गुणस्तरीय चियाका रूपमा चिनिन्छ । नेपाली चिया भारत, जर्मनी, अमेरिका, जापान, चीन, बेलायत, फ्रान्स, नेदरल्यान्ड्सलगायत मुलुकमा निर्यात हुँदै आएको छ । तर पछिल्ला वर्षमा निर्यात प्रक्रियामा देखिएका अवरोध, अन्तरराष्ट्रिय बजारको प्रतिस्पर्धा, उत्पादन लागतमा वृद्धि, रासायनिक मलको अभाव तथा रोगकिराको समस्या चिया क्षेत्रका मुख्य चुनौतीका रूपमा देखिएका छन् ।

उद्योगीका अनुसार उत्पादन घट्दै जाँदा निर्यात बजारमा नेपाली चियाको आपूर्ति निरन्तरता कायम राख्न कठिन हुने अवस्था सिर्जना हुन सक्छ । अन्तरराष्ट्रिय बजारमा एकपटक आपूर्ति कमजोर भए प्रतिस्पर्धी मुलुकले बजार ओगट्ने जोखिम रहने उनीहरूको भनाइ छ ।

झापाका सयौँ परिवारको आर्थिक जीवन चियामै निर्भर छ । साना किसानले दैनिक टिपेको हरियो पत्ती बिक्री गरेर घरखर्च चलाउने गरेका छन् । उत्पादन घट्दा उनीहरूको आम्दानीमा सिधा असर परेको छ । चिया उद्योगमा कार्यरत श्रमिकको रोजगारीसमेत प्रभावित हुने चिन्ता बढेको छ । उत्पादन घट्दै गए उद्योगले कामदार सङ्ख्या कटौती गर्नुपर्ने अवस्था आउनसक्ने उद्योगीको भनाइ छ । किसानका अनुसार लगातार दुई वर्ष रोगकिराको प्रकोप दोहोरिँदा चिया खेतीप्रतिको आकर्षण घट्न थालेको छ । उत्पादन लागत बढ्दै जाँदा आम्दानी भने घटिरहेको उनीहरूको गुनासो छ ।

चिया निर्यात प्रभावित

नेपाली चियाको प्रमुख बजार भारततर्फको निर्यात पुनः प्रभावित भएको छ । भारतीय पक्षले गुणस्तर परीक्षण प्रक्रियामा कडाइ गरेपछि एक सातायता चिया निकासी प्रभावित भएको हो ।

भारतको चिया बोर्डले नेपालबाट निर्यात हुने चियामा अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था लागू गरेपछि गत वैशाख १८ गतेदेखि करिब २१ दिनसम्म चिया निकासी अवरुद्ध भएको थियो । पछि भारतीय पक्षले प्रत्येक खेपको परीक्षण नगरी नमुनाका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था लागू गरेपछि निर्यात पुनः सुरु भएको थियो । तर अहिले भारतीय आयातकर्ताका गोदाममा पुगेका नेपाली चियाका प्रत्येक बोराबाट नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षणका लागि पठाउने र प्रतिवेदन नआएसम्म बिक्रीवितरण नगर्न निर्देशन दिइएपछि व्यवसायीहरू पुनः समस्यामा परेका छन् ।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले सीमावर्ती भन्सार नाकामा समस्या नरहे पनि भारतभित्र प्रवेश गरिसकेपछि चिया रोकिएको बताउनुभयो । उहाँका अनुसार कोलकातास्थित आयातकर्ताका गोदाममा पुगेका नेपाली चियाका धेरै खेप परीक्षण प्रक्रियाका कारण रोकिएका छन् ।

“आयातकर्ताको गोदाममा पुगेपछि प्रत्येक बोराबाट नमुना सङ्कलन गरेर प्रयोगशालामा पठाउने गरिएको छ । प्रतिवेदन नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था भएपछि व्यवसायीहरूले नयाँ निकासी प्रक्रिया अघि बढाउन सकेका छैनन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार हाल कोलकातामा करिब ५० हजार किलोग्राम नेपाली चिया रोकिएको छ । केही ट्रकको परीक्षण प्रतिवेदन प्राप्त भए पनि अधिकांश खेपको प्रतिवेदन आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि भारतीय चिया बोर्डले आयातकर्तालाई चिया भारत पुग्नुअघि नै सम्बन्धित पोर्टलमा विस्तृत विवरण दर्ता गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । चिया आउने मिति, गोदामको स्थान, कन्टेनर विवरण तथा ‘प्रोफर्मा इनभ्वाइस’ पेस गरेपछि मात्र अस्थायी स्वीकृति पत्र प्राप्त हुने प्रावधानले पनि नेपाली निर्यातकर्तालाई थप झन्झट व्यहोर्नुपरेको थियो ।

सरकारी तथ्याङ्कअनुसार नेपालमा वार्षिक करिब दुई करोड ६० लाख किलोग्राम चिया उत्पादन हुन्छ । उत्पादनमध्ये अधिकांश अर्थोडक्स चिया निर्यात हुने गरेको छ । नेपाली चियाको निर्यातमध्ये ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर रहेकाले त्यहाँको नीतिगत परिवर्तनले नेपाली किसान, उद्योगी र निर्यात व्यवसायीलाई प्रत्यक्ष असर गर्ने गरेको छ ।

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

चितवन। डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख क्युफिट काठ निकाल्ने भएको छ । कार्यालयले ढलेका, सुकेका (सुख्खड खडा र ढलापडा) लगायत काठ निकाल्ने तयारी गरेको हो ।

कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले आगामी असारभित्रमा काठ सङ्कलन गरी बिक्री गर्ने तयारी गरिएको बताउनुभयो । कार्यालयअन्तर्गत रहेको वरण्डाभार वन क्षेत्रबाट काठ निकाल्न लागिएको हो । वरण्डाभार क्षेत्र १० हजार ३०२ हेक्टर रहेको उहाँले जानकारी दिनुभयो ।

वन कार्यालयले वरण्डाभार वन क्षेत्रबाट एक लाख क्युफिट काठ सङ्कलन गरेपछि केही काठ बिक्रीका लागि वन निगमलाई दिइने प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चालिस लाख क्युफिट काठ वन निगमलाई दिन्छौँ, बाँकी हामीले बिक्री गर्छाैं ।” गत वर्ष एक लाख २० हजार क्युफिट काठ निकालिएको थियो ।

यसैगरी, कार्यालयले जोखिमयुक्त स्थानका रुख पनि कटान गर्दैछ । प्रमुख आचार्यका अनुसार मानवीय र भौतिक क्षति हुनसक्ने ठाउँको पहिचान गरी रुख कटान गरिने छ । देवघाट जाने सडकका २५ वटा कटान गरिसकिएको जनाउँदै उहाँले भरतपुरबाट कालिका नगरपालिका जाने दुई वटा सडक किनारका र पूर्वपश्चिम राजमार्गको टिकौली जङ्गलको जोखिमपूर्ण रुख कटानको तयारी गरिएको बताउनुभयो ।

प्रमुख आचार्यका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय नजिक नहरमा रहेका सुकेका सिसौका रुख पनि कटान गर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “जङ्गल क्षेत्रभित्र रहेको भए तापनि बाटोको जोखिम, टेलिफोनको जोखिम, बिजुलीको जोखिम र हवाई जोखिम यी चार वटा जोखिम भएका स्थानका रुख कटान गरिन्छ ।”

सरकारी कार्यालयमा हुनसक्ने जोखिम मध्यनजर गर्दै आसपासका रुख पनि कटान गरिँदै छ । सशस्त्र प्रहरी कार्यालय आँपटारी र प्रहरी तालिम केन्द्रमा पनि केही रुख काटिँदैछ । वन क्षेत्रमा रहेका भूमिहीन तथा सुकुमवासी बस्तीका रुखहरु भने जोखिम भए पनि काट्न नमिल्ने प्रमुख आचार्यको भनाइ छ ।

भरतपुरतर्फको देवघाट क्षेत्र, आँपटारी, गणेशस्थानलगायत क्षेत्रमा रुखहरू जोखिमपूर्ण भए पनि कटान गर्न नमिल्ने प्रमुख आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “लालपुर्जा नभएका क्षेत्रमा जोखिम भए पनि रुख काट्ने जोखिम लिन सक्दैनौँ । सरकारले निर्णय गरेर आयो भने गर्न सक्छौँ, नत्र सकिदैँन ।”

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

भक्तपुर। भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।

आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिनुभयो । आगलागीबाट करिब रु ५० लाख बराबरको क्षति भएको छ ।

विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान छ । हाल जलेका सामग्री हटाउने तथा सरसफाइको कार्य सुरु गरिएको छ ।

धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ । प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी छ ।

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको हो ।

एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किँदा सात जना घाइते भएका हुन् ।

दुर्घटनामा एम्बुलेन्समा सवार छ जना र मिनी ट्रक चालक गरी सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ बस्ने २४ वर्षीय कुशल परियार, सोही ठाउँ बस्ने ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अन्जना बुढा मगर, तीन वर्षीय युवान बुढा मगर, पूर्वी रुकुम भुमे गाउँपालिका–७ बस्ने ३६ वर्षीया चिजामाया घर्ती, रोल्पाको थवाङ गाउँपालिका–२ बस्ने ६० वर्षीया धनप्रसाद बुढा मगर घाइते भएका छन् ।

घाइतेमध्ये २५ वर्षीया अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । घाइतेहरुको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

काठमाडौँ। नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ ।

राष्ट्रसङ्घीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्यः सन् २०३० पछिका लागि राष्ट्रसङ्घीय विकास प्रणाली निर्माण’ छलफलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् २०३० पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसङ्घीय विकास प्रणालीलाइ सक्षम बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य (एसडिजी) कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ गर्नुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रसङ्घीय विकास प्रणालीलाई संस्थागत संरचनाले मात्र होइन, साझेदारी र ऐक्यबद्धतामार्फत अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । नागरिक समाज, युवा, शैक्षिक क्षेत्र, स्थानीय सरकार, निजी क्षेत्र तथा अन्य सरोकार भएकाहरूको सक्रिय सहभागिता बिना भविष्यमा प्रभावकारी र सान्दर्भिक विकास प्रणाली निर्माण गर्न नसकिने उहाँको भनाइ थियो ।

स्थायी प्रतिनिधि थापाले आज गरिने निर्णयहरूले आगामी पुस्ताका लागि प्रभावकारी र परिणाममुखी बहुपक्षीय प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै अन्तरराष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ – आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तरराष्ट्रिय दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८२ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य युद्ध र सशस्त्र द्वन्द्वका कारण बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अधिकार उल्लङ्घनप्रति विश्वभर ध्यानाकर्षण गराउनु हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बालबालिका घरमा सुरक्षित रूपमा बस्न, विद्यालयमा अध्ययन गर्न, खेल्न वा अस्पतालमा उपचार गराउनसमेत नसक्ने अवस्थामा छन् । हत्या, शारीरिक क्षति, अपहरण, यौन हिंसा, विद्यालय तथा स्वास्थ्य संस्थामाथि आक्रमण र मानवीय सहायता पहुँचमा अवरोधजस्ता गम्भीर घटनाबाट बालबालिका प्रत्यक्ष प्रभावित भइरहेका छन् ।

महासचिव एन्टोनियो गुटरेसद्वारा सार्वजनिक ‘बालबालिका र सशस्त्र द्वन्द्व’सम्बन्धी वार्षिक प्रतिवेदनअनुसार सन् २०२४ मा बालबालिकाविरुद्ध भएका गम्भीर उल्लङ्घनका घटना अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढेका छन् । प्रतिवेदनमा विश्वभर २२ हजार ४९५ बालबालिकालाई प्रभावित पार्ने ४१ हजार ३७० गम्भीर उल्लङ्घनका घटना प्रमाणीकरण गरिएका उल्लेख छ ।

प्रतिवेदनमा सबैभन्दा बढी उल्लङ्घनका घटना इजरायल तथा अधीनस्थ प्यालेस्टिनी क्षेत्रमा आठ हजार ५५४, कङ्गो लोकतान्त्रिक गणतन्त्रमा चार हजार ४३, सोमालियामा दुई हजार ५६८, नाइजेरियामा दुई हजार ४३६ र हैटीमा दुई हजार २६९ वटा अभिलेख गरिएका छन् ।

प्रतिवेदनअनुसार हत्या तथा शारीरिक क्षति बालबालिकाविरुद्ध हुने सबैभन्दा धेरै गम्भीर उल्लङ्घनका रूपमा देखिएको छ । सन् २०२४ मा मात्र ११ हजार ९६७ बालबालिका यसबाट प्रभावित भएका छन् । विस्फोटक पदार्थ, युद्धका अवशेष, बारुदी सुरुङ, अस्थायी विस्फोटक उपकरण तथा जनघनत्व बढी भएका क्षेत्रमा गरिएका आक्रमणका कारण अधिकांश बालबालिका पीडित भएका छन् ।

सशस्त्र समूह तथा सैन्य बलद्वारा हजारौँ बालबालिकालाई भर्ती गरी युद्ध तथा सहयोगी भूमिकामा प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ । अपहरण तथा बाल सैनिकका रूपमा प्रयोग गरिने घटनामा वृद्धि भएको जनाइएको छ ।

बालबालिकाविरुद्ध हुने यौन हिंसाका घटनासमेत बढ्दै गएका छन् । विशेषगरी बालिकाहरू बढी प्रभावित भए पनि बालकहरू पनि यौन हिंसाको सिकार बनेका छन् । सामाजिक कलङ्क, प्रतिशोधको डर तथा पर्याप्त सहयोग सेवाको अभावका कारण यस्ता घटना अझै कम मात्रामा सार्वजनिक हुने गरेको राष्ट्रसङ्घले जनाएको छ ।

सन् २०२४ मा मानवीय सहायता पहुँचमा अवरोधसमेत चिन्ताजनक रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्वरत पक्षहरूले राहत सामग्री बोकेका सवारीसाधन र सहायता कर्मीमाथि आक्रमण गर्नुका साथै आवतजावतमा प्रतिबन्ध र प्रशासनिक अवरोध सिर्जना गर्दा बालबालिका स्वास्थ्य, शिक्षा र संरक्षणलगायत आधारभूत सेवाबाट वञ्चित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घले गत वर्ष विद्यालय र अस्पतालमाथि करिब दुई हजार आक्रमण भएको पुष्टि गरेको छ । यस्ता घटनाले बालबालिकाको शिक्षा र स्वास्थ्य सेवामा पहुँच थप प्रभावित भएको तथा द्वन्द्वग्रस्त क्षेत्रमा उनीहरूको जोखिम बढेको प्रतिवेदनमा उल्लेख छ ।

उक्त विश्वसंस्थाले बालबालिकामाथि हुने गम्भीर उल्लङ्घन अन्त्य गर्न द्वन्द्वका मूल कारण समाधान, दोषीमाथि जवाफदेहिता सुनिश्चित तथा बाल संरक्षण, पुनःस्थापना र पुनःएकीकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

यसैबीच, बालअधिकार अभियन्ता तथा संयुक्त राष्ट्रसङ्घको ‘बालबालिका र सशस्त्र द्वन्द्व’ सम्बन्धी ऐतिहासिक प्रतिवेदनकी लेखक डा ग्रासा माशेलले बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु वयस्कहरूको साझा दायित्व भएको बताउनुभएको छ । उहाँले प्रत्येक बालबालिकाको अधिकार सुरक्षित र सुनिश्चित हुने शान्तिपूर्ण विश्व निर्माणका लागि अन्तरराष्ट्रिय समुदायले थप प्रतिबद्धता देखाउनुपर्नेमा जोड दिनुभएको छ ।

“बालबालिका सबैभन्दा पहिले बालबालिका नै हुन् । उनीहरूको संरक्षण गर्नु र उनीहरूका सबै अधिकार सुनिश्चित हुने शान्तिपूर्ण संसार निर्माण गर्नु हाम्रो दायित्व हो”, उहाँले यस अवसरमा जारी गर्नुभएको सन्देशमा भन्नुभएको छ ।

गायिका सिर्जना खत्री ‘हाउडेमाया‘को ‘फुलमाया’ मा दीपा शाहीको धमाकेदार प्रस्तुती

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायिका सिर्जना खत्री ‘हाउडेमाया‘को नयाँ गीत ‘फुलमाया’ सार्वजनिक भए लगत्तै गीतको भिडियोको चर्चा चुलीएको छ । भिडियोका क्लिपहरु अहिले ले टिकटक, फेसबुक, युट्युब लगायतका विभिन्न सामाजिक सञ्जालमा व्यापक रूपमा दर्शक तथा श्रोताको ध्यान आकर्षित गरिरहेको छ।

गायिका स्वयमकै शब्द, संगीत रहेको गीतमा सिर्जनाका अलावा दीपा शाही, सिर्जन खरेल, दिलिप शाह तथा आयुष प्रतिकको अभिनय देख्न सकिन्छ । नितिन चन्दको निर्देशन रहेको गीतमा योगेश काजी शाहको उत्कृष्ट संगीत संयोजन रहेको छ। सरल शब्द, आकर्षक संगीत र भावनात्मक प्रस्तुतिले गीतलाई अझ प्रभावशाली बनाएको निर्माण पक्षको भनाइ छ। सियोन श्रेष्ठ कोरियोग्राफी रहेको भिडियोको छायांकन रुपेश थापाले गरेका हुन् । शौखिन तिमल्सिनाको सम्पादन तथा कलर संयोजन रहेको गीतको भिडियो सिर्जना खत्री ‘हाउडेमायाको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

पाली संगीत क्षेत्रमा स्थापित गायिका सिर्जनाका ‘एक नम्बर हरामी’, ‘मेरो एक्सको छम्मा’, ‘डबल माया’ र ‘नौटंकी माया’ जस्ता चर्चित गीतहरूले लाखौँ दर्शक–श्रोताको मन जितिसकेका छन्। सोही सफल यात्रालाई निरन्तरता दिँदै ‘फुलमाया’ले पनि प्रारम्भिक चरणमै बलियो छाप छोडेको छ।

चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट

चितवन। नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वाेत्कृष्ट बन्न सफल भएको छ ।

यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका हुन् । काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्रमा यस वर्ष एमबिबिएसतर्फ ६३.५० प्रतिशत र बिडिएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसैगरी, उक्त परीक्षामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत अर्थात् ७७ मध्ये ७१ उत्तीर्ण गराई दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको ८९.७७ प्रतिशत अर्थात् ८८ मध्ये ७९ जना उत्तीर्ण गराई तेस्रो हुन सफल भएका छन् । यसैगरी, भारतमा पढेका ४२.३१ प्रतिशत, बङ्गलादेशमा पढेका ४१.१४ प्रतिशत, चीनमा अध्ययन गरेका १५.०४ प्रतिशत र फिलिपिन्समा पढेका २८.५७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन् भने इजिप्ट र रसियामा पढेकाहरूले पुनः परीक्षा दिनुपर्ने भएको छ ।

काउन्सिलको नतिजाअनुसार नेपाल बाहिर पढेका विद्यार्थीले सात÷आठ पटक परीक्षा दिने गरेका तर नेपालका मेडिकल कलेजमा पढेकाले बढीमा दुई पटकमै परीक्षा उत्तीर्ण गरेको यथार्थलाई विश्लेषण गर्दा चिकित्सा विधामा नेपालको पढाइ सन्तोषजनक रहेको देखिन्छ । काउन्सिलका अनुसार नेपालको समग्र नतिजा राम्रो भए पनि विदेशका मेडिकल कलेजमा पढेका नेपाली विद्यार्थीको नतिजाले सम्बद्ध सबैलाई पुनः चिन्तित बनाएको छ ।

यसै सन्दर्भमा चितवन मेडिकल कलेजका उपनिर्देशक अरुण कोइरालाले मेडिकल कलेजहरूको शैक्षिक गुणस्तरको मानकका रुपमा लिइने काउन्सिलको यस वर्षको परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको सिएमसीको उत्पादन गर्व गर्न लायक रहेको बताउनुभयो ।

कुशल व्यवस्थापनसहित सिएमसीमा कार्यरत शैक्षिक तथा प्रशासनिक जनशक्तिको खटाइ र विद्यार्थीको मेहनतका कारण सर्वाेत्कृष्ट हुन सफल भएको स्पष्ट गर्दै उपनिर्देशक कोइरालाले भन्नुभयो, “आउँदा दिनमा शत्प्रतिशत नतिजा प्राप्त गर्ने लक्ष्यका साथ अघि बढ्ने छौँ । स्वदेश तथा विदेशका प्रतिभावान् विद्यार्थीहरूको पहिलो रोजाइमा ‘सिएमसी’ पर्नेगरी सम्पूर्ण टिम परिचालित हुनेछ ।”

सिएमसी कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले शैक्षिक गुणस्तरका पक्षमा कुनै पनि सम्झौता नगरी अघि बढेकाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । उहाँले देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरमा अवस्थित सुविधासम्पन्न सिएमसी शिक्षण अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको, प्रयोगात्मक कक्षालाई उच्च प्राथमिकता दिएका, अनुभवी एवम् क्षमतावान् शिक्षक तथा कर्मचारीको व्यवस्था गरिएको र पठनपाठनसहित अनुशासनलाई प्राथमिकता दिएकाले पछिल्ला वर्षहरूमा अब्बल विद्यार्थीको रोजाइमा सिमसी कलेज परेको स्पष्ट गर्नुभयो ।

सो कलेजमा स्नातक तहको एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफरी, पब्लिक हेल्थ, फार्मेसी, बिएस्सी एमएलटी (ल्याब), बिएस्सी एमआइटी (रेडियोग्राफी) को पढाइ हुने गरेको छ । यसैगरी, स्नातकोत्तर तहमा एमडी÷एमएस, एमएन, एमपिएच, एमएस्सी माइक्रोबायोलोजी र विशिष्टीकृततर्फ एमडी÷एमसिएचको पढाइ हुने सो कलेजले जनाएको छ । सो क्याम्पसमा अहिले विभिन्न विधा र तहमा गरी एक हजार ४०० विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रशासनले जनाएको छ ।

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ, २१ जेठः राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्नुहुँदै दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवद्र्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको छ ।”

विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाउँदै आएका छौँ । राष्ट्रपति पौडेलले नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक तथा सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको उल्लेख गर्नुभएको छ ।

जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानुनी व्यवस्थाबाट मात्र सम्भव नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यसका लागि समाजका सबै तह÷वर्गमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य भएको बताउनुभएको छ । दिवसले विविधता भित्रको एकतालाई सुदृढ गर्दै समतामूलक, सभ्य र समावेशी समाज निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता पुनः स्मरण गराएको उहाँको भनाइ छ ।

“जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदको विरुद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई अझ बढी संवेदनशील हुन हार्दिक आह्वान गर्दछु”, सन्देशमा उल्लेख छ ।

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार होः उपराष्ट्रपति

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्य रहेको बताउनुभएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ का अवसरमा आज देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “नेपालको संविधानले यसलाई दण्डनीय अपराधका रूपमा परिभाषित गर्दै सबै नागरिकलाई समान अधिकार र अवसर प्रत्याभूत गरेको छ तर, कानुनी व्यवस्था मात्रले पुग्दैन, सामाजिक चेतना, सांस्कृतिक रुपान्तरण, शिक्षा र नागरिक सक्रियता पनि उत्तिकै आवश्यक छ ।”

विसं २०६३ जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको ऐतिहासिक दिनको स्मरण तथा सम्मानमा हरेक वर्ष मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ । उपराष्ट्रपति यादवले सामाजिक न्याय, समानता र मानवअधिकार सुनिश्चितताका लागि यो एउटा महत्वपूर्ण दिवस भएको उल्लेख गर्दै प्रत्येक नागरिकले समान अवसर पाउनु र सम्मानका साथ बाँच्न पाउनु नै सभ्य समाजको आधार हो भन्नुभएको छ ।

जातीय भेदभाव र छुवाछूतका कारण विगतमा धेरै समुदाय शिक्षा, रोजगारी, आर्थिक अवसर र सामाजिक सहभागिताबाट वञ्चित रहँदै आएको उल्लेख गर्दै उहाँले संविधानले प्रत्याभूत गरेको अर्को ऐतिहासिक पाटो बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी जातीय छुवाछूत अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने सङ्कल्पसहित अघि बढ्नु आजको आवश्यकता भएको उपराष्ट्रपति यादवले बताउनुभएको छ ।

यो दिवस केवल संस्मरणका लागि मात्र नभई नेपालमा आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै छुवाछूतमुक्त, सभ्य र समतामूलक समाज निर्माण गर्ने हाम्रो दृढ सङ्कल्पको प्रतीक भएको उपराष्ट्रपति यादवको भनाइ छ । दिवसले भेदभावविरुद्धको आवाज बुलन्द गर्दै समानता र न्यायको पक्षमा दृढ रहन तथा समावेशी समाज निर्माणमा योगदान पु¥याउन हरेक नागरिकलाई उत्प्रेरित गर्ने उहाँको विश्वास छ ।

बिहानै मदिराले मातेपछि…

बाजुरा। ढीनन्दा नगरपालिका–६ कोटिलाका टेकेन्द्र र नीर रावतबीच स्थानीय होटलमा मदिरा पिएपछि विवाद हुँदा नीरको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार मदिराले मातेका दुवैजनाबीच विवाद हुँदा टेकेन्द्रले प्रहार गरेको ढुङ्गाले लागेर नीरको घटनास्थलमै मृत्यु भएको हो ।

घटना आज बिहानको हो । यसबारे जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको उहाँले जानकारी दिनुभयो।

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन

लुम्बिनी। लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा, १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गर्नुभएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा पाँच नयाँ मन्त्रीलाई समावेश गरिएको छ । नेकपा (एमाले) बाट चार र जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी तोकिएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आउनुभएको थियो । अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण यही जेठ २५ गते सोमबारका लागि तय भएको छ ।

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

बाँके। बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ ।निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले पाँच योजनाको ठेक्का सम्झौता रद्द गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गाउँपालिकाको विभिन्न वडामा योजना निर्माण कार्यका लागि अमन कन्स्ट्रक्सन, गुलरिया–५, बर्दियासँग गरिएका पाँच वटै ठेक्का सम्झौता रद्द गरिएको हो ।खजुरा गाउँपालिका–४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्र गर्न २०७७ फागुन १२ गते अमन कन्स्ट्रक्सन, गुलरिया–५, बर्दियासँग ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७८ जेठ ३० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम पूरा भएको छैन ।

दुई भागमा अलग–अलग ठेक्का आह्वान गरिएको उक्त योजनाअन्तर्गत ग्राभेल हाल्ने र गिट्टी बिछ्याउने काम भए पनि कालोपत्र हुन नसक्दा सडक पुनः जीर्ण बनेको छ ।अमन कन्स्ट्रक्सनले ठेक्का पाएको एनआइसी बैङ्कदेखि मनकामना जाने सडक तथा नाली निर्माण, गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति, तथा बिगाउँ ९० नम्बरदेखि १०५ नम्बरसम्मको बाटो स्तरोन्नतिका योजना पनि वर्षौंदेखि अधुरै छन् ।

पालिकाले यी सबै पाँचवटै ठेक्का रद्द गर्ने निर्णय गरेको हो । सबै ठेक्का अमन कन्स्ट्रक्सनकै रहेका छन् । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले सम्झौता रद्द गरी कालोसूचीमा किन नराख्ने भन्दै पालिकाले गत मङ्सिर २ गते सार्वजनिक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

सार्वजनिक सूचना जारी भएपछिको तोकिएको अवधिमा पनि सम्झौताबमोजिम निर्माण कार्य अगाडि बढाउने विश्वसनीय आधार पेस गर्न नसकेकाले अमन कन्स्ट्रक्सन, गुलरिया–बर्दियासँगको ठेक्का सम्झौता अन्त्य गरिएको उहाँको भनाइ छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ ।बैठक दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन ललितपुरमा बस्ने भएको हो ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने भएकाले समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ २५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।

यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

आज देशका यी भूभागमा हावाहुरीसहित वर्षा हुने, तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना

काठमाडौं । हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल, बाँकी पहाडी भूभागमा आंशिक बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राती कोशी र मधेश प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने छ। कोशी र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

फिर्के खोला वरपरका १६० संरचना हटाइयो

कास्की। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी १६० संरचना हटाएको छ ।

यही जेठ १० गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन सुरु गरेको थियो । महानगरले फेवाताल संरक्षणसँग जोडिएको फिर्केखोला सफाइ तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ ।

पोखराको वडा नं १८ को अँधेरीकुनादेखि सुरु भएर वडा नं २, ४, ५, ७, ८ र १७ हुँदै वडा नं ६ गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्केखोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

यसैगरी महानगरले फिर्के खोलाघरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्र आफैँ हटाउन आग्रह गरेको छ । खोलाघर सफाइबाट निस्किएका भग्नावशेष व्यवस्थापनका लागि स्स्काभेटर, जेसिबी तथा महानगरीय प्रहरी बल परिचालन गरिएको छ ।

महानगरपालिकाले फिर्केखोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै १० दिनभित्र सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी ढल खोलामा फाल्ने कार्य बन्द गर्न चेतावनी दिएको छ । अन्यथा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी महानगरले फिर्केखोला संरक्षणका लागि महानगरले भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० अनुसार खोलाको मापदण्ड १० मिटरबाट घटाएर छ मिटर कायम गरेकाले उक्त क्षेत्रभित्र कुनै पनि संरचना निर्माण नगर्न नगरवासीलाई आग्रह गरिएको छ ।

“महानगरपालिकाले फिर्केखोला कोरिडोर निर्माण परियोजना र मापदण्डभित्र बनेका संरचनाबारे विस्तृत जानकारी छिट्टै सार्वजनिक गर्नेछ । फिर्केको मापदण्डभित्र कुनै पनि संरचना बनाउने गैरकानुनी हुन्छ”, नगर प्रमुख आचार्यले भन्नुभयो ।

फिर्केखोलामा बढ्दो अतिक्रमण, फोहर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोलाघरका संरचना हटाएको हो । अतिक्रमित संरचना हटाएपछि फिर्केको दायाँबायाँनै फुट ट्रयाक निर्माण गर्ने योजना महानगरको छ

तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो

काठमाडौँ। नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन अघिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम आज बढेर ४१ डिग्रीसम्म पुगेको छ ।

विभागका मौसमविद् सरोज पुडासैनीले विस्तारै तापक्रम वृद्धिकै चरणमा रहेको जानकारी दिँदै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

विभागमा अहिले राति प्राप्त तापक्रम मापनअनुसार आज सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री पुगेको छ ।

यस्तै नेपालगञ्जमा ३९.५ र जनकपुरमा ३८.२ डिग्री तापक्रम मापन भएको छ । यस्तै सिमरामा पनि ३८.२, धनगढीमा ३८.१, चन्द्रगढीमा ३६.९, धरानमा ३६.५ र विराटनगरमा ३६.१ डिग्री तापक्रम मापन भएको छ ।

यस्तै काठमाडौँमा पनि केही दिन अघि २५ डिग्रीमा झरेको तापक्रम आज बढेर ३०.६ डिग्री मापन भएको छ ।

हाल नेपालको पश्चिम भू–भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

भोलि बिहीबार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू–भागमा आंशिक बादल लाग्ने छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको जनाइएको छ ।

मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

अभिलेख अनुसार आज कतैकतै वर्षा भएको र यो क्रम भने जारी नै रहने छ । आज काठमाडौँसहित केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।

खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना तथा अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषदद्वारा आज आयोजित १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, ख्याति र पहिचानका लागि मात्र सीमित नभएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “यो व्यक्तिको सर्वाङ्गिण विकासको सशक्त माध्यम हो । अनि अनुशासन, सहकार्य नेतृत्व, आत्मविश्वास र राष्ट्रिय एकताको जग र आधार पनि हो ।”

खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज यो आकर्षक पेसा र राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यम पनि बनेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

उहाँले भन्नुभयो, “खेलकुदको यो विशिष्ट महत्त्व र विशेषतालाई मध्यनजर गरेर गुणस्तरीय शिक्षाका साथसाथै विद्यालयतहदेखि नै खेल प्रतिस्पर्धा, कार्यक्रम र गतिविधि बढाएर खेलप्रति आकर्षित र प्रोत्साहन गर्न सरकारले विशेष नीति र कार्यक्रम बनाउनुपर्दछ । खेल क्षेत्रसँग सम्बन्धित व्यक्ति, निकाय र सरोकारवालाले पनि यसतर्फ विशेष ध्यान दिन आवश्यक छ ।”

राष्ट्रपति पौडेलले आज नेपालमा खेलप्रतिको क्रेज बढ्दै गएको उल्लेख गर्दै खेलसँगै खेल प्रतियोगितमा मेरो भविष्य सुरक्षित छ भन्ने भावना जागृत गर्न राज्यले पनि यसलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयतहदेखि नै खेल र शिक्षासँगको अन्तरसम्बन्ध र महत्त्वलाई एकसाथ अघि बढाउँदै खेल संस्कृतिको विकास र विस्तारका लागि यस्ता प्रतियोगितालाई सङ्घ, प्रदेश र स्थानीयस्तरमा सञ्चालन गर्न कञ्जुस्याइँ गर्न हुँदैन ।”

उहाँले जित र हार खेलको स्वभाविक पक्ष भए पनि खेलकुदका प्रतियोगितमा सहभागिता, निरन्तर अभ्यास एवं प्रयास, सिकाइ र अनुभव नै महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

गायिका तेजवती जोशीको नेपालकी छोरीमा गीता ढुंगानाको अभिनय

काठमाडौँ । करिब दुई दशकदेखि शास्त्रीय संगीतमा साधनारत गायिका तेजवती जोशीको स्वर रहेको नेपालकी छोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कुमार मिश्रको शब्द, टेकेन्द्र नेपालीकोको संगीत रहेको गीतमा सुन्दरी मोडल गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । २ चुल्ठी बाटेकी गीता भिडियोमा गज्जबसँग खुलेकी छिन् । देशप्रेम, ठूलालाई आर्शिवाद र सानालाई माया गर्ने भावलाई समेटिएको गीतमा गीतकार भिडियोमा सकारात्मक सोच भर्ने काम गरिएको छ ।

गीतका माध्यमबाट गीतकार र गायिकाले स्वाभिमान र शिर नझुक्ने नेपालकी छोरीको नेपाली पारालाई जोड दिएका छन् । योगेन्द्र राजकर्णीकारको निर्माण, रिदम कँडेलको एरेन्ज, साजन शाहको मिक्सिङ  तथा  मास्टरिङ रहेको गीतको निर्देशन जिबी आग्रीले गरेका हुन् ।

थम्मन टाडीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन सिलन लम्सालले गरेका हुन् । भिडियो ओएसआर डिजिटरबाट बजारमा आएको हो । गायिका तेजवती र संगीतकार टेकेन्द्रले यसअघि चुम्बक, हजार जुनीसहित ४ वटा गीतमा सहकार्य गरेका थिए । गायिका जोशीले  यसअघि उनले नेपाली र नेवारीमा पनि  गीत ल्याएकी थिइन् ।

यी हुन् चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय

काठमाडौँ। मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा रूपन्देहीका सबैभन्दा बढी देखिएका छन् ।

मुलुकभरमा चार हजारभन्दा बढी नौ सामुदायिक विद्यालय रहेकामा तीन विद्यालय रूपन्देहीकै रहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार रूपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानवज्ञान माविमा देशभरिमै सबैभन्दा बढी आठ हजार दुई सय ३९ विद्यार्थी छन् ।

रूपन्देहीकै तिलोत्तमा नगरपालिकाको शान्ति नमूना माविमा सात हजार एक सय २०, बुटवल उपमहानगरपालिकाकै कान्ति माविमा छ हजार ३४ र नवीन औद्योगिक कदरबहादुर रीता माविमा पाँच हजार तीन सय ४० विद्यार्थी रहेका छन् ।

रूपन्देहीपछि काठमाडौँमा बढी विद्यार्थी भएका सामुदायिक विद्यालय रहेका छन् । काठमाडौँ महानगरपालिकाको ज्ञानोदय माविमा चार हजार सात सय ४६ र विश्वनिकेतन माविमा चार हजार तीन सय एक विद्यार्थी रहेको छन् ।

धनुषाको विदेह नगरपालिकाको जनता नमूना माविमा छ हजार दुई सय ६६, मोरङको सुन्दरहरैचा नगरपालिकाको सुकुना माविमा चार हजार छ सय ४२, भक्तपुरको भक्तपुर नगरपालिकाको वागीश्वरी माविमा चार हजार एक सय ८५ र कपिलवस्तुको शिवराज नगरपालिकाको नेपाल आदर्श माविमा चार हजार एक सय १४ विद्यार्थी रहेका छन् ।

अर्थ मन्त्रालयद्वारा प्रकाशित आर्थिक सर्वेक्षण, २०८२/८३ का अनुसार पछिल्लो समयमा विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । हाल देशभरका परम्परागतसहित २७ हजार १० सरकारी विद्यालय छन् ।

बरफ फ्याक्ट्रीमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट। रौतहट जिल्लाको बौधिमाई नगरपालिका–५ कोपवाको बरफ फ्याक्ट्रीमा तार जोड्नेक्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बौधिमाई नगरपालिका–५, कोपवाका धर्मलाल जयसवालका ३५ वर्षीय छोरा मनोहरलाल जयसवालको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

जयसवालको आफ्नै बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते भएका जयसवाललाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो ।

जयसवालको शव परीक्षणका लागि गौरस्थित प्रदेशिक अस्पतालमा राखिएको समेत उहाँले जानकारी दिनुभयो ।

मन्त्री मेहताद्वारा स्वास्थ्य बिमाका विषयमा अस्पतालका प्रमुखसँग छलफल

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमा देखिएका समस्या समाधान गर्नका लागि छलफल गर्नुभएको छ ।

मन्त्री मेहताले स्वास्थ्य बिमा बोर्ड र उपत्यकाका सरकारी अस्पतालका प्रमुखसँग आज मन्त्रालयमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा विद्यमान असहजता र सुधारका बारेमा छलफल गर्नुभएको हो ।

छलफलमा मन्त्री मेहताले स्वास्थ्य बिमा कार्यक्रम गरिबी जनताको स्वास्थ्यसँग जोडिएकाले सुधार गरेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बिमा बन्द गरिएका अस्पतलाका स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो । “स्वास्थ्य बिमा कार्यक्रम जनताको कार्यक्रम हो । यसलाई अस्पतालले नियमित गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बिमाको विकल्प छैन । त्यसैले बन्द गरिएका अस्पतालले चाडै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नुहोस् ।”

मन्त्री मेहताले स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य उपचार सुविधा थैलीमा गरेको परिवर्तनका सम्बन्धमा थप छलफल गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । केही दिन अघि मात्र बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैलीको दररेट परिमार्जन गरेको थियो ।

छलफलमा स्वास्थ्य सचिव डा विकास देवकोटाले स्वास्थ्य बिमा सहज बनाउने मन्त्रालयले नीतिगत छलफल गरिरहेको बताउनुयो । उहाँले हालै गरिएको सुविधा थैलीको दररेटका सम्बन्धमा केकसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

बोर्डका कार्यकारी निर्देशक सकुन्तला प्रजापतिले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ मा कुनकुन परीक्षणको दररेट कम भएका छन् र ती दररेटका सम्बन्धमा अस्पतालसँग छलफल गरेर अगाडि बढ्न सकिने बताउनुभयो । छलफलमा अस्पताल प्रमुखहरूले हालै बोर्ड परिमार्जन गरेको सुविधा थैली परिमार्जन गर्नुपर्ने माग राख्नुभएको थियो ।

उहाँहरूले स्वास्थ्य बिमा बोर्डबाट प्राप्त हुनुपर्ने रकम लामो समयदेखि बक्यौता रहँदा सेवा सञ्चालनमै समस्या भएको बताउनुभएको थियो । छलफलमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पताल लगायत प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।

प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न

बाल्टिमोर (अमेरिका) ।अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा International Nepali Artists Society (INAS) Maryland द्वारा आयोजित “दोस्रो किड्स ट्यालेन्ट शो २०२६” भव्य रूपमा सम्पन्न भएको छ। नेपाली भाषा, कला, संस्कृति तथा पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा प्रवासमा हुर्किएका नेपाली बालबालिकाहरूले गायन, नृत्य र नेपाली भाषा वक्तृत्वकलामा उत्कृष्ट प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत शरद राज आर्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने मेरिल्यान्ड स्टेट डेलिगेट डा. ह्यारी भण्डारी र ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकाल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

इनास मेरिल्यान्डकी अध्यक्ष शान्ति भण्डारीको नेतृत्वमा सम्पन्न कार्यक्रमको संयोजन सुशील पंगेनी र अमृता नेपालले गर्नुभएको थियो। नेपाली भाषामा गरिएको आत्मीय सञ्चालन र व्यवस्थापनले दर्शकको प्रशंसा बटुलेको थियो।

प्रतियोगितामा नृत्यतर्फ प्रतिष्ठा देवकोटा, गायनतर्फ आर्शिभ खनाल तथा नेपाली भाषा वक्तृत्वकलातर्फ कृपा ढकाल विजेता बने। उत्कृष्ट प्रदर्शन गर्ने अन्य १० जना बालप्रतिभालाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा वरिष्ठ कलाकार, गीतकार तथा साहित्यकारहरूको निर्णायक मण्डल रहेको थियो। आयोजकका अनुसार सहभागी सबै बालबालिकालाई प्रमाणपत्र, मायाको चिनो र नगद पुरस्कार प्रदान गरिएको थियो भने विजेतालाई ५०० डलरसम्म पुरस्कार वितरण गरिएको थियो।

यसै अवसरमा इनास मेरिल्यान्डले “इनास कला केन्द्र” स्थापना गर्ने घोषणा गरेको छ। कला केन्द्रमार्फत नेपाली नृत्य, गायन, नेपाली भाषा तथा जुम्बा कक्षा सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, अभिभावक तथा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमलाई सफल बनाउन अध्यक्ष शान्ति भण्डारीको नेतृत्वमा INAS Maryland को सम्पूर्ण टिम सक्रिय रूपमा खटिएको थियो। सचिव प्रकाश कँडेल, बरिस्ट-उपाध्यक्ष राजु ढुङ्गेल, बाध्यवादन संयोजक खिम मस्राङि मगर कोषाध्यक्ष स्वरुपा रसाइली लगायत सम्पूर्ण पदाधिकारी, स्वयंसेवक तथा कलाकारहरूले कार्यक्रम व्यवस्थापन, समन्वय तथा सञ्चालनमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

कर्जा दुरूपयोग कसुरमा पाण्डे पक्राउ

काठमाडौँ – कृत्रिम व्यवसाय खडा गरी पटकपटक कर्जा दुरूपयोग गरेको कसुरमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष तथा इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनेरी साइन्सेसका सञ्चालक ओमप्रसाद पाण्डेलाई पक्राउ गरिएको छ ।

काठमाडौँ महानगरपालिका–९ रातोपुलका पाण्डेलाई आज पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो ।

बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उनीविरुद्ध उच्च अदालत पाटन ललितपुरबाट २०८२ मङ्सिर २८ गते पक्राउ पूर्जी जारी भएको थियो ।

प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन

काठमाडौँ – प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिका कामकारबाहीका सम्बन्धमा समन्वय एवं सहजीकरण गर्न सभापति ओजस्वी शेरचनको अध्यक्षतामा आठ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिको आजको बैठकले समितिमा रहेका सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी उक्त उपसमिति गठन गरेको हो ।

नवगठित उपसमितिमा सदस्यहरु पुकार बम, प्रभाव ढकाल, महावीर पुन, रिङ्गला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल, लेखजङ्ग थापा र सीता थपलिया हुनुहुन्छ ।

बैठकले समितिको कामकारबाहीलाई गतिशील बनाउने उद्देश्यले कार्यक्षेत्रभित्रको विषय अध्ययन गरी प्रतिवेदन पेस गर्न पाँच वटा विषयगत उपसमिति पनि गठन गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतासम्बन्धी उपसमितिमा सांसद कामनी कुमारी, चन्द्रमोहन यादव, तोसिमा कार्की, प्रभा ढकाल, रिङ्गला यादव र लेखजङ्ग थापा, शिक्षासम्बन्धी उपसमितिमा गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, रमेशकुमार मल्ल र राधिका रम्तेल हुनुहुन्छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी उपसमितिमा सांसद कुसुम महर्जन, झविलाल डुम्रे, पुकार बम, प्रमिलाकुमारी गच्छदार र महावीर पुन, सूचना तथा सञ्चारसम्बन्धी उपसमितिमा सांसदहरु खुसबु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल तथा खेलकुदसम्बन्धी उपसमितिमा सांसद अच्युतम् लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सीता थपलिया सदस्य हुनुहुन्छ ।

उपसमितिलाई प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार विषयगत क्षेत्रमा अध्ययन गर्ने, सो सिलसिलामा सम्बन्धित निकायबाट विवरण माग गर्ने तथा ती निकायका पदाधिकारीलाई उपसमितिमा आमन्त्रण गरी छलफल गर्ने र समितिलाई भएका अधिकार प्रयोग गर्न सक्ने कार्यादेश दिइएको सभापति शेरचनले जानकारी दिनुभयो । उपसमितिको कार्यावधि छ महिना छ ।

गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजापट्टीको ७० प्रतिशत भूभागमा इजरायली नियन्त्रण विस्तार गर्ने विषय अमेरिकाद्वारा प्रस्तावित द्वन्द्व समाधान तथा पुनर्निर्माण योजनामा समावेश नभएको बताउनुभएको छ ।

मंगलबार अमेरिकी सांसदहरूसमक्ष आयोजित एक सुनुवाइका क्रममा रुबियोले गाजामा जारी द्वन्द्व अन्त्य, पुनर्निर्माण तथा दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने उद्देश्यले तयार पारिएको २० बुँदे अमेरिकी योजनामा उक्त प्रकारको भूभाग नियन्त्रण विस्तारको व्यवस्था नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले अमेरिका गाजामा दिगो शान्ति, सुरक्षा तथा स्थिर शासन व्यवस्थाको पक्षमा रहेको उल्लेख गर्दै त्यहाँको प्रशासन कुनै सशस्त्र समूहको नियन्त्रणमा नरही जनताको हितलाई केन्द्रमा राखेर सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । रुबियोका अनुसार गाजाको भविष्य शान्तिपूर्ण, सुरक्षित र पुनर्निर्माणमुखी हुनुपर्नेमा अमेरिका प्रतिबद्ध छ ।
यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीमा इजरायली सेनाको नियन्त्रण विस्तार गर्ने सम्बन्धमा निर्देशन दिएको जानकारी सार्वजनिक गर्नुभएको थियो । उहाँका अनुसार हाल करिब ६० प्रतिशत भूभागमा रहेको सैन्य नियन्त्रणलाई बढाएर ७० प्रतिशतसम्म पु¥याउने लक्ष्य राखिएको छ ।

रुबियोको भनाइलाई गाजाको वर्तमान अवस्था, क्षेत्रीय सुरक्षा तथा द्वन्द्वपछिको व्यवस्थापनबारे अमेरिकी दृष्टिकोणको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ । अमेरिका गाजामा दीर्घकालीन शान्ति स्थापना, मानवीय सहायता प्रवाहको सहजता तथा पुनर्निर्माण प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने पक्षमा रहेको बताइएको छ ।

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा समस्या

कञ्चनपुर। सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् ।प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू प्रभावित भएका हुन् ।

कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका हुन् ।

महाकाली प्रादेशीक अस्पतालका निमित्ति मेडिकल सुपरिटेन्डेन डा अर्जुन भट्टले आपूर्ति केन्द्रबाट रेबिजविरुद्धको खोप नआएपछि समस्या भएको बताउनुभयो ।

“अस्पतालमा दैनिक ४०/५० जना बिरामीहरू रेबिजविरुद्धको खोप लगाउन आउँछन्, हामीसँग खोप उपलब्ध छैन”, उहाँले भन्नुभयो, “जेठदेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएपछि अस्पतालले सेवा दिन सकेको छैन ।” धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिममा मात्रै नभई नेपालभर खोप उपलब्ध हुन नसकेको जनाएको छ ।

आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य अधिकृत महेश भण्डारीले प्रदेशका सबै अस्पतालहरूमा रेबिजविरुद्धको खोप उपलब्ध हुन नसकेको बताउनुभयो ।

“सुदूरपश्चिममा मात्रै नभई अहिले मुलुकभर रेबिजविरुद्धको खोप अभाव छ,” उहाँले भन्नुभयो, “कहिलेसम्म आपूर्ति हुन्छ भन्ने यकिन भइसकेको छैन ।” प्रदेश आपूति केन्द्रबाट सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल र ९ वटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्यचौकीमा खोप उपलब्ध गराउँदै आएको छ ।

प्रदेशका विभिन्न अस्पतालमा खोप अभावका कारण कतिपय बिरामीलाई निजी स्वास्थ्य संस्थामा महङ्गो शुल्क तिरेर खोप लगाउन बाध्य हुनुपरेको छ ।

“सरकारी अस्पतालमा खोप पाइएन निजी स्वास्थ्य संस्थाबाट रु ६४५ मा खरिद गर्यौं त्यो पनि सहजै पाइएन,” आज खोपका लागि महाकाली अस्पताल पुगेका सेवाग्राही लिलि कुवँरले भन्नुभयो, “तीन पटक लगाउनुपर्ने खोप अर्को पटक नपाउने होकि भन्ने चिन्ता छ ।”

साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनबाट बाहिरियो

भारत (गोवा) – साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ । सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा आज नेपाल बङ्गलादेशसँग पराजित भएको हो । यसअघि सन् २०१६ मा भएको साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा पहिलो अग्रता नेपालले लिएको थियो । नेपालको लागि गीता रानाले खेलको २३ औँ मिनेटमा गोल गरिन् । दीपा शाहीले प्रहार गरेको कर्नर किकमा गीताले डि बक्स एरियाबाट गोल गर्न सफल भएकी हुन् ।

नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफको अतिरिक्त समयमा बङ्गलादेशले गोल गर्दै खेल बराबरीमा फर्कायो । बङ्गलादेशको लागि रितु पोर्ना चक्माले गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बङ्गलादेशकी सागुरिकाले थप एक गोल गर्दै बङ्गलादेशको जित सुनिश्चित गरिन् ।

इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता, यस्ता छन् लक्षणहरु

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अनपाएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सीमानाकामा निगरानी तथा उच्च सतर्कता अपनाइएको बताउनुभयो । “अहिले जहाँ सङ्क्रमण देखिएको त्यो देशभन्दा हामी टाढा रहेका छाँै । तर पनि हामी नेपालमा भाइरसको सङ्क्रमणको प्रवेश नगरोस् भनेर उच्च सतर्कता अपनाएका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी अभिमुखीकरणसहित उपचार व्यवस्थापन तथा सङ्क्रमण नियन्त्रणका उपायबारे पनि छलफल गरिएको छ ।”

उहाँले इवोला सङ्क्रमण भएको ठाउँमा जान सक्ने नेपालीको व्यवस्था र मापदण्डका विषयमा समन्वय भइरहेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अन्तरराष्ट्रिय सरोकारको जनस्वास्थ्य आपत्कालीन अवस्था घोषणा गरेको छ ।

मन्त्रालयले सङ्क्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेशविन्दुमा स्वास्थ्यकर्मी परिचालन गरी शङ्कास्पद बिरामीको परीक्षणसमेत गरिरहेको उहाँले बताउनुभयो । नेपालमा अहिलेसम्म इबोला भाइरसको सङ्क्रमणको पृष्टि भएको छैन ।

लक्षण

अचानक कडा ज्वरो आउने र अत्यधिक कमजोरी महसुस हुने, वान्ता हुने, पाखला लाग्ने र पेट दुख्ने, टाउको मासपेशी तथा घाँटी दुख्ने, छालामा डाबर देखिने, कलेजो तथा मिर्गौलाको कार्यमा असर पुग्ने, केही बिरामीमा आन्तरिक वा बाह्य रक्तश्राव हुने गर्दछ ।

अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि

अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री मे महिनामा हालसम्मकै उच्च स्तरमा पुगेको छ ।अष्ट्रेलियाको मोटर उद्योग महासंघले बुधबार सार्वजनिक गरेको मासिक बिक्री तथ्यांकअनुसार मे महिनामा नयाँ बिक्री भएका सवारीसाधनमध्ये ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनको हिस्सा २० प्रतिशत पुगेको छ । यो अप्रिलमा कायम भएको १६.४ प्रतिशतको अघिल्लो कीर्तिमानभन्दा बढी हो ।

हाइब्रिड र बाह्य चार्ज गर्न मिल्ने हाइब्रिड सवारीसाधनलाई समेत समावेश गर्दा, मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ४६ प्रतिशत विद्युतीकृत सवारीसाधन रहेका महासंघले जनाएको छ ।

महासंघका प्रमुख कार्यकारी अधिकृत टोनी वेबरले विद्युतीकृत सवारीसाधनतर्फको परिवर्तन विशेषगरी बहुउपयोगी सवारी क्षेत्रमा स्पष्ट देखिएको बताउनुभयो । उहाँका अनुसार, एक वर्षअघिको तुलनामा मे महिनामा विद्युतीय बहुउपयोगी सवारीको बिक्री १६७ प्रतिशतले वृद्धि भएको छ भने बाह्य चार्ज गर्न मिल्ने हाइब्रिड बहुउपयोगी सवारीको बिक्री ३७७ प्रतिशतले बढेको छ । यसैबीच पेट्रोलबाट चल्ने बहुउपयोगी सवारीको बिक्री भने ३१ प्रतिशतले घटेको छ ।

चिनियाँ सवारी निर्माता कम्पनीले मे महिनामा अष्ट्रेलियामा ८ हजार २११ वटा नयाँ सवारीसाधन बिक्री गरेको छ, जुन सन् २०२५ को सोही अवधिको तुलनामा १५५ प्रतिशत बढी हो ।

मे महिनाको अन्त्यसम्ममा तीन प्रमुख चिनियाँ सवारी निर्माता कम्पनीहरूले अष्ट्रेलियामा कुल ७८ हजार १६८ वटा नयाँ सवारीसाधन बिक्री गरेका छन्। गत वर्षको सोही अवधिमा यो संख्या ४६ हजार ०२३ थियो ।

यद्यपि, टोयोटा अझै पनि अष्ट्रेलियाको सबैभन्दा ठूलो सवारी निर्माता बनेको छ । तर कम्पनीको बिक्री सन् २०२५ को पहिलो पाँच महिनामा भएको १ लाख ७५३ बाट घटेर सन् २०२६ को सोही अवधिमा ७६ हजार ०१७ मा झरेको छ ।

विश्लेषकहरूका अनुसार अष्ट्रेलियामा विद्युतीय तथा अन्य विद्युतीकृत सवारीसाधनप्रति उपभोक्ताको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ, जसले देशको अटोमोबाइल बजारमा महत्वपूर्ण परिवर्तनको सङ्केत दिएको छ ।

नखिपोटमा खुला बास्केटबल आइतबारदेखि

काठमाडौं। नखिपोट युथ क्लबको आयोजनामा पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा हालसम्म पुरुषमा १८ तथा महिलामा ७ टिमको सहभागिता निश्चित भएको आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

उनले टिम दर्ताको समय शुक्रबारसम्म रहेकाले सहभागी टिमको संख्या बढ्न सक्ने बताए । पुरुषको खेल नकआउट तथा महिलाको खेल लिग कम नकआउट पद्धतिमा हुनेछ।

पुरुषमा नेपाल आर्मी तथा महिलामा माउन्टेन मुभर्स साविक विजेता हुन् । हरेक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने आयोजकले जनाएको छ । त्यसमा २ खेलाडीले खेल्न पाउने प्रावधान छ।

प्रतियोगितामा मोफसलबाट कम्तीमा २ टिमको सहभागिता पक्का भइसकेको आयोजक क्लबका सदस्य एवं प्रतियोगिता संयोजक विनोद श्रेष्ठले बताए । दुवै टिम धरानका हुन् ।

धरानबाट जोन एन्ड द लोकल ब्यान्ड र धरान टिमले सहभागिता पक्का गरिसकेका छन् । मोफसलबाट पहिलोपटक टिम सहभागी हुन लागेको हो।

साङ्गठानिक सुदृढीकरणलाई प्राथमिकतामा राख्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले साङ्गठानिक शुद्धीकरण एवं सुदृढीकरणलाई प्राथमिकतामा राखेर जिम्मेवारी बहन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लाग्नुभएका प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उहाँले प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी पारदर्शी, समयसापेक्ष एवं नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।

महानिरीक्षक अर्यालले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवं निष्ठापूर्वक सम्पादन गर्न निर्देशन दिनुभयो ।

त्यसअवसरमा मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले पदीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न अनुरोध गर्नुभयो

स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

सुरुङ्गा(झापा) – मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशी र त्यसमा सवार माझीलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल पु¥याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।

जापान सरकारद्वारा नाबालिगहरूको सुरक्षाका लागि कडा सामाजिक सञ्जाल जाँचको आह्वान

टोकियो (जापान) – जापान सरकारले नावालिग तथा कम उमेरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सुरक्षाका लागि कडा उमेर प्रमाणिकरण लगायतका आवाश्यक प्रतिबन्धहरु लागु गरेर सामाजिक जिम्मेवारी बलियो बनाउन आह्वान गरेको छ ।

क्योडो न्यूजका अनुसार जापान सरकाले सञ्चार मन्त्रालयलाई अन्य देशहरूमा देखिएको जस्तै पूर्ण उमेर–आधारित प्रतिबन्ध उपयुक्त नहुन सक्ने भन्दै सामाजिक सञ्जालको महत्व र उपयोगिता कायम रहने गरी सञ्चार उपकरणको लागि सुरक्षित रुपमा चलाउन सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

जापान सरकारको प्रतिवेदनले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यको रक्षा गर्ने र सामाजि सञ्जालमा युवाहरूको निर्भरता कम गर्ने उद्देश्यले उपायहरूको वैकल्पिक व्यवस्था गरिने जनाएको छ ।

यो आवाह्न प्रविधिको तिव्र विकास र सामाजिक सञ्जालको उच्च उपयोगको बीचमा आएको छ , जसले आपराधिक गतिविधिहरूमा नाबालिगहरूको संलग्नता सहित उनीहरूको हानिकारक प्रभावहरू न्युनिकरण गर्ने उपायको खोजी गर्ने जनाइएको छ ।

क्योडो न्यूजका अनुसार, यो प्रयास हानिकारक वेबसाइटहरूमा पहुँच रोक्ने उदेश्यले अभिभावकको निगरानीको रूपमा आएको हो ।

गत वर्ष देखि जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले युवा प्रयोगकर्ताहरूको सुरक्षामा सामाजिक सञ्जाल र स्मार्टफोन अपरेटिङ सिस्टमको भूमिका विस्तार गर्ने विषयमा छलफल गरिरहेको जनाइएको छ ।

पछिल्लो समयमा प्रस्ताव गरेका देशहरूको सूचीमा जापान सामावेश भएको छ भने ती मध्ये धेरैले नाबालिगहरूमा सामाजिक सञ्जालको प्रयोग सम्बन्धी कडा कानून लागू गरेका छन् ।

फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि समाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध गर्न कानुनी प्रक्रियालाई छिटै टुङ्ग्याउने लक्ष्य राखेको छ भने अस्ट्रेलियाले गत वर्ष १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसैगरी स्पेन र डेनमार्कले यो निर्णय माथि विचार गरिरहेको जनाइएको छ ।

अध्ययन बिदा दुरुपयोग गरेका ४१ प्राध्यापकबाट दश करोडभन्दा बढी असुल

काठमाडौँ। अध्ययन बिदाकमा गएर लामो समय सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन् ।

अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पु¥याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन् ।

विश्वविद्यायलका अनुसार हालसम्म ४१ जना प्राध्यापकले रकम फिर्ता गरेका छन् । यसबाट रु १० करोड ४६ लाख ५६ हजार ८०४ रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ ।

अध्ययन बिदामा रहेका १९१ प्राध्यापकमध्ये ४१ जनाले रकम फिर्ता गरेको छानबिन समितिका संयोजक डा. जीवन काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार ६२ जनाले रकम फिर्ताका लागि समितिसमक्ष निवेदन दिएका छन् । यीमध्ये ५४ जनालाई समितिले पत्र काटेको छ ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको चासो र सक्रियताले गर्दा त्रिविले कामलाई तीव्र गतिमा अगाडि बढाएको छ । मन्त्रालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकहरूलाई कबुलियतनामाअनुसार चाँडो रकम फिर्ता गराउन निर्देशन पनि दिएको छ ।

संयोजक काफ्लेले अध्ययन बिदामा गएर सेवामा नफर्किने प्राध्यापकहरूबाट रकम फिर्ता गर्ने क्रम जारी रहेका जानकारी दिँदै रकम फिर्ता नगरेकाहरूलाई अविलम्ब रकम बुझाउन आह्वान गर्नुभएको छ ।

विश्वविद्यालयका प्राध्यापक सेवामा नफर्किँदा दुई अर्ब बढीको नोक्सानी भएको जनाइएको छ । विश्वविद्यालयको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउँछन् ।

विश्वविद्यालयका निमित्त उपकुलपति डा सुशीलबहादुर बज्राचार्यले अध्ययन बिदामा गएर सेवामा नफर्किने प्राध्यापकहरूले नियमअनुसार बिगो रकम चाँडो फिर्ता गरेर सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ ।

उहाँले कानुनअनुसार सबै प्रक्रिया पूरा गरेर पटक पटक सूचना प्रकाशन गरिएको राससलाई बताउनुभयो । निर्धारित समयमा सम्पर्कमा नआए कानुनअनुसार हुने उहाँले बताउनुभयो ।

मन्त्रालयको पहलपछि त्रिविले छानबिन समिति बनाएर अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकहरूको खोजी गरी उनीहरूबाट रकम असुली गरिरहेको छ ।

यससम्बन्धी समाचार प्रकाशित भएपछि त्रिविले अध्ययन बिदामा गएर नफर्किने शिक्षक–कर्मचारीहरूको खोजबिन गर्न डा काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य हुनुहुन्छ ।

उक्त समितिले खोजबिन गर्दा करिब ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको थियो । समितिका संयोजक डा. काफ्लेले अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको सङ्ख्या बढ्दा विश्वविद्यालयले आर्थिक क्षतिका साथै शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको बताउनुभयो ।

त्रिवि कार्यकारी परिषद्ले २०८१ पुस २५ गते छानबिन समिति बनाएको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ प्राध्यापक छन् ।

छानबिन समितिले बिदामा गएर नफर्किनएका प्राध्यापकबाट रकम असुलका लागि पटक पटक सूचना निकालेर ताकेता गरिरहेको छ । यसरी ताकेता गर्दा पनि रकम फिर्ता नगर्नेहरूको नाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।

समितिले छिट्टै अध्ययन प्रतिवेदन विश्वविद्यालयलाई बुझाउने जनाएको छ । एक जना प्राध्यापकले कम्तीमा रु १० लाखदेखि बढीमा ५० लाखसम्म फिर्ता गर्नुपर्ने देखिएको विश्वविद्यालयले जनाएको छ ।

इरानी ड्रोन आक्रमणपछि कुवेत विमानस्थलमा क्षति, युद्धविराम संकटमा

दुबई। इरान र अमेरिकाबीच जारी तनावका बीच फेरि आक्रमण–प्रतिआक्रमण भएको छ। यसले हालै लागू गरिएको नाजुक युद्धविरामलाई थप चुनौती दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।बुधबार इरानी ड्रोन आक्रमणका कारण कुवेतको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलको एक टर्मिनल भवनमा ठूलो क्षति पुगेको छ। आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको कुवेती स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कुवेतका रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुलअजिज अल–ओताइबीका अनुसार विमानस्थलको यात्रु टर्मिनललाई लक्षित गरी धेरै शत्रुतापूर्ण ड्रोनहरू प्रहार गरिएको थियो। घटनापछि विमानस्थल केही समयका लागि बन्द गरिएको थियो। पछि वैकल्पिक टर्मिनलबाट सीमित उडान सञ्चालन पुनः सुरु गरिएको छ।

यसैबीच, इरानले युद्धविराम विस्तारका लागि मध्यस्थकर्तासँगको संवाद स्थगित गरेको बताइएको छ। क्षेत्रीय एक अधिकारीका अनुसार लेबनानमा युद्धविराम प्रभावकारी रूपमा लागू नभएसम्म तेहरान वार्तामा फर्किन इच्छुक छैन।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ता अझै जारी रहेको बताएका छन्। पछिल्ला केही सातादेखि इरान, अमेरिका र इजरायलबीचको द्वन्द्व अन्त्य गर्न वार्ता चलिरहेको भए पनि विभिन्न क्षेत्रमा भइरहेका लगातार आक्रमणहरूले शान्ति प्रयासलाई कमजोर बनाइरहेका छन्।

इरानले अझै पनि हर्मुज जलडमरूमध्यमाथि आफ्नो नियन्त्रण कायम राखेको छ। उता अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ। यसका कारण विश्व बजारमा तेल तथा प्राकृतिक ग्यासको मूल्य उच्च रहँदा युद्धको प्रभाव विश्वभर महसुस भइरहेको छ।

कुवेतको विदेश मन्त्रालयले इरानी आक्रमणको कडा निन्दा गर्दै आवश्यक परे जवाफ दिने अधिकार सुरक्षित रहेको जनाएको छ। मन्त्रालयले यस्तो आक्रमणलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको छ।
विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमले मध्यपूर्वमा तनाव पुनः चर्किने संकेत देखिएको छ र युद्धविराम दीर्घकालीन रूपमा टिक्ने वा नटिक्ने विषय अझै अनिश्चित बनेको छ।

जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना शुभारम्भ

काठमाडौँ। नेपाल सरकार, धुलिखेल नगरपालिका, धुलिखेल अस्पताल, यहाँस्थित जर्मन दूतावास तथा जर्मन विकास सहकार्यका प्रतिनिधिले आज धुलिखेलमा स्वास्थ्य सेवा, सामुदायिक पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण परियोजनाको संयुक्त रूपमा शुभारम्भ गरेका छन् ।

कार्यक्रममा नेपालका लागि जर्मन राजदूत उडो यूजेन भोल्ज, केएफ डब्ल्यु विकास बैंक, जिआईजेड नेपालका साथै नेपाल सरकारका वरिष्ठ अधिकारी, धुलिखेल अस्पतालका प्रतिनिधि तथा स्थानीय सरोकार भएकाहरूको उपस्थिति थियो ।

कार्यक्रमअन्तर्गत धुलिखेल खानेपानी आपूर्ति प्रणालीको पुनर्निर्माण सम्पन्न भएको घोषणा गर्दै धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम र राजदूत भोल्जले संयुक्त रूपमा उद्घाटन गर्नुभएको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

सन् १९९२ मा स्थापना भएको उक्त प्रणालीले २० हजारभन्दा बढी स्थानीय बासिन्दाका साथै धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयलाई सुरक्षित खानेपानी उपलब्ध गराउँदै आएको छ ।गत वर्षको बाढी र पहिरोबाट प्रणालीमा क्षति पुगेपछि जर्मन सरकारले यसको पुनर्निर्माणका लागि एक लाख २० हजार युरो सहयोग उपलब्ध गराएको थियो ।

त्यसैगरी, धुलिखेल अस्पतालमा अटोक्लेभसहितको नयाँ स्वास्थ्यजन्य फोहोर व्यवस्थापन उपचार केन्द्र (हेल्थकेयर वेस्ट म्यानेजमेन्ट ट्रिटमेन्ट साइट) को उद्घाटन भएको छ । अस्पतालमा वातावरणमैत्री फोहोर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले स्थापना गरिएको उक्त केन्द्रमार्फत फोहरको वर्गीकरण, सङ्कलन, उपचार र सुरक्षित निस्तारणका अभ्यासलाई थप प्रभावकारी बनाइने जनाइएको छ ।

जिआईजेडको सहयोगमा गत पुसदेखि अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

कार्यक्रमका क्रममा जर्मन सरकारको सहयोगमा केएफडब्ल्यु विकास बैंकमार्फत धुलिखेल अस्पतालमा ५०० किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान परियोजनाको पनि शुभारम्भ भएको छ ।

परियोजना सम्पन्न भएपछि अस्पतालका आपत्कालीन सेवा, शल्यक्रिया कक्ष, प्रयोगशाला तथा अन्य महत्वपूर्ण सेवाका लागि भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ । उक्त प्रणालीबाट वार्षिक ७७८ मेगावाट घण्टा विद्युत् उत्पादन हुने तथा अस्पतालको ऊर्जा खर्चमा वार्षिक करिब रु ९५ लाख बचत हुने अनुमान गरिएको छ ।

कार्यक्रममा जर्मन पक्षले स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा तथा दिगो आर्थिक विकासका क्षेत्रमा नेपालसँगको दीर्घकालीन सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो । जर्मनीले केएफडब्ल्यु जिआईजेडमार्फत नेपालको समावेशी, जलवायु प्रतिरोधी र दिगो विकासका प्रयासमा सहयोग गर्दै आएको छ ।