`

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

काठमाडौँ, ३२ असार : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई शपथ दिलाउनु भएको हो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सरिक हुनुहुन्थ्यो ।

यसअघि उहाँ नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा हुनुहुन्थ्यो । एमालेको केन्द्रीय सदस्यसमेत रहनुभएका नवनियुक्त मन्त्री न्यौपानेले आजै सिंहदरबार पुगेर पद वहाली गर्ने कार्यक्रम छ ।

मन्त्री यादवद्धारा तराई–मधेसको खानेपानी समस्या समाधान गर्न विज्ञहरुसँग छलफल

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेशका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधानका लागि विज्ञ टोलीसँग छलफल गरेका छन् ।आज खानेपानी मन्त्रालयमा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरुसँग एक कार्यक्रमको आयोजना गरी वीरगञ्ज सहित तराई–मधेशका जिल्लामा जलवायु परिवर्तनका प्रतिकूल प्रभावका कारण खानेपानीको अभाव गम्भीर बन्दै गएकाले त्यसको समाधानका विषयमा बृहत छलफल गरिएको मन्त्री यादवले जानकारी दिए ।

उनले भने ‘तराई–मधेशका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधानका लागि आज खानेपानी मन्त्रालयमा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरुसँग बृहत छलफल सम्पन्न गरेका छौँ ’।
उक्त छलफलमा जलवायु परिवर्तन, तराई–मधेश क्षेत्रमा देखिएको भू–जल अभाव, जलस्रोतको खस्कँदो स्तर, चुरे दोहन, अव्यवस्थित शहरीकरण लगायतका कारणले मधेशमा उत्पन्न भएको खानेपानी सङ्कटबारे वैज्ञानिक विश्लेषण प्रस्तुत गर्नुका साथै, सहभागी विज्ञहरूबाट गम्भीर राय–सुझावहरू पनि सङकलन गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भू–जल पुनर्भरणका उपायहरू (पुनर्भरण पोखरी, वर्षा पानी संकलन, हरित क्षेत्रको विस्तार), वैकल्पिक स्रोतको पहिचान तथा पानीको मितव्ययी प्रयोगमा प्रविधि र जनचेतनाको भूमिका जस्ता विषयहरूमा विस्तृत विचारविमर्श भएको छ ।
यसै सन्दर्भमा, छलफलमा सहभागी विज्ञहरुसँग एक अध्ययन टोली गठन गर्ने विषयमा सहमति भएको मन्त्रालयका सहसचिव एवं योजना महाशाखा प्रमुुख ई कमलराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अध्ययन टोलीले तराई–मधेशका विभिन्न जिल्लाहरूको वर्तमान जल अवस्था, भू–जल संरचना, प्रदूषण स्तर तथा दीर्घकालीन समाधानका उपायहरूबारे विस्तृत विश्लेषण गर्नेछ ।

आजको उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, मीना श्रेष्ठ, आयोजना प्रमुख सुरत बम, खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल, आयोजना निर्देशनालयका प्रमुख लक्ष्मिप्रसाद उपाध्याय, भ्यालीबोर्डका प्रमुख सञ्जिवीक्रम राणा, पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरुका तर्फबाट भोला घिमिरे, देबीप्रसाद भट्टराई, प्रतापसिंह ताडबको सहभागीता रहेको थियो ।

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

काठमाडौँ, ३० असार : उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेको एक वर्षमा नयाँ सहरदेखि स्थानीय तहपिच्छे साना सहरी केन्द्रका योजनालाई प्राथमिकता दिनुभएको छ ।

एक वर्षमा सहरी विकास मन्त्रालयले दिगो र समावेशी सहरीकरणका लागि स्पष्ट खाका तयार गरेको मन्त्रालयले जनाएको छ । मन्त्री सिंहले आफ्नो मुख्य उद्देश्य गाउँ र सहरबीचको असमानता हटाई समग्र देशलाई आधुनिक, समृद्ध र व्यवस्थित सहरी प्रणालीमा रूपान्तरण गर्नुरहेको बताउनुभयो ।

“हामीले गाउँ र सहरलाई जोड्ने गरी एकीकृत सहरी विकासको अवधारणा अघि सारेका छौँ । यसअन्तर्गत ग्रामीण क्षेत्रमा आधारभूत सहरी सुविधा जस्तै सडक, खानेपानी, बिजुली, स्वास्थ्य, शिक्षा, पु-याउने र सहरी क्षेत्रमा ग्रामीण उत्पादनलाई बजारसँग जोड्ने योजना छ । यसले गाउँ र सहरबीचको खाडल कम गर्नेछ,” उहाँले भन्नुभयो, “नयाँ सहर आयोजना अन्तर्गत सरकारले मध्यपहाडी क्षेत्रमा पर्ने १० वटा सहरलाई कम्तीमा एक लाख जनसङ्ख्यालाई आवास सुविधा प्राप्त हुने गरी ‘ल्याण्ड पुलिङ’ अवधारणामा नयाँ सहरको रूपमा विकास गर्न कार्यक्रम अगाडि बढाएको छ ।”

यसैगरी मन्त्रालयले स्मार्ट सिटी परियोजना अगाडि बढाएको छ । काठमाडौँ, पोखरा, बुटवललगायत अन्य १० सहरलाई स्मार्ट सिटीको रूपमा विकास गर्न डिजिटल प्रविधि, हरित ऊर्जा र व्यवस्थित यातायात प्रणालीलाई प्राथमिकता दिएको मन्त्री सिंहले जानकारी दिनुभयो ।

“यसले सहरलाई वातावरणमैत्री र आधुनिक बनाउनेछ । नेपाल सरकारले हालै नेपालको स्मार्ट सहरको रूपरेखा तय गर्न स्मार्ट सिटी इन्डिकेटर, २०८२ स्वीकृत गरको छ,” उहाँले भन्नुभयो, “ग्रामीण सहरीकरण गाउँमा सहरी सुविधा पु¥याउन ग्रामीण सहरीकरण अवधारणा अन्तर्गत प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सानो सहरी केन्द्र (साना बजार, स्वास्थ्य केन्द्र, र सामुदायिक भवन) विकास गर्ने योजना छ । यस योजनाले गाउँका बासिन्दालाई सहरी सुविधा गाउँमै उपलब्ध गराउनेछ ।”

मन्त्री सिंहका अनुसार देशका पुराना सहरी क्षेत्र कसरी आधुनिकीकरण गर्ने भन्ने सम्बन्धमा पुराना सहरको संरचनात्मक र सामाजिक दुवै पक्षमा ध्यान दिइएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, वीरगञ्ज, जनकपुरजस्ता पुराना सहरको संरचना जीर्ण भइसकेको र अव्यवस्थित बस्ती बढ्दै गएकाले यसलाई समाधानमा जोेड दिइएको उहाँको भनाइ छ ।

“पुरातात्विक सम्पदा संरक्षणस् पुराना सहरमा रहेका सम्पदाको संरक्षण गर्दै तिनलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना छ । यसले ती क्षेत्रको सांस्कृतिक महत्व जोगाउनुका साथै आर्थिक सम्भावनासमेत वृद्धि गर्नेछ,” मन्त्री सिंहले भन्नुभयो, “सडक विस्तार र ढल व्यवस्थापन, पुराना सहरमा सडक साँघुरो र ढल प्रणाली अव्यवस्थित छ । स्थानीय तहसँग सहकार्य गरी एकीकृत सहरी पूर्वाधार विकास परियोजना सञ्चालन गरिएको छ ।”

एक वर्षमा सार्वजनिक यातायात र हरियाली प्रवर्द्धन पुराना सहरमा ट्राफिक जाम र प्रदूषणको समस्या समाधान गर्न सार्वजनिक यातायातलाई प्राथमिकता दिइएको छ ।

साथै, हरियाली प्रवर्द्धनका लागि पार्क र खुला क्षेत्रको निर्माण भइरहेको उहाँको भनाइ छ । मन्त्रालयका अनुसार काठमाडौंँ उपत्यकालाई सफा सहरका रूपमा विकास गर्ने, सहरीकरण व्यवस्थित रूपमा अघि बढाउने, उपत्यकाका नदी स्वच्छ बनाउने, पूर्वाधार विकासमा तीन तहको सरकारको समन्वय राम्रो बनाउनेलगायतका विषयलाई प्राथमिकतामा दिइएको छ ।

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन केन्द्रित

काठमाडौँ, ३२ असार : वन तथा वातावरण मन्त्रालयले काठको उत्पादनमा थप वृद्धि गरी काठ तथा काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउन केन्द्रित देखिएको छ । गत आर्थिक वर्षसम्म तीन करोड मात्र उत्पादन भएको काठ चालु आवको जेठ मसान्तसम्ममा जम्मा तीन करोड ३५ लाख घनफिट काठ उत्पादन भएको मन्त्रालयले जनाएको छ । साथै प्लाइउड उद्योग तथा जडीबुटी मुख्य विदेश निर्यात हुने वस्तुमा परेको छ ।

वनमन्त्री ऐनबहादुर शाही ठकुरीले एकवर्षे कार्यकालको प्रगतिबारे आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै वनको दिगो व्यवस्थापन हुनेगरी वनमा भएका ढलेका, सुकेका र बुढा रुख सङ्कलन गरी काठ दाउराको उत्पादन बढाउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “काठ दाउराको आपूर्ति गर्ने र फर्निचरलगायत वनजन्य सामग्री उत्पादन गर्ने उद्योगलाई सरल रूपमा कच्चापदार्थ उपलब्ध गराउने मन्त्रालयको नीति छ । मन्त्रालयले दिगो वन व्यवस्थापन भएको क्षेत्रफल चालु आवमा एक लाख हेक्टर पुर्‍याउने लक्ष्य राखेकोमा हालसम्म शतप्रतिशत प्राप्त भएको छ ।”

मन्त्री शाहीले यो अवधिमा हरित अर्थतन्त्र विकासको दिशा अवलम्बन गर्दै वन तथा वातावरण संरक्षण, हिमाल, हिमताल र हिमनदी संरक्षण, जैविक विविधता प्रवर्द्धन, वातावरणीय प्रभाव मूल्याङ्कनका लागि नीतिगत सुधारका काम भएका जानकारी दिनुभयो ।

नीतिगत सुधार

सङ्घीयतापछि बन्नैपर्ने महत्त्वपूर्ण चार रणनीतिहरू तयार भई नेपाल सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो । त्यस्तै यस अवधिमा चार वटा वन क्षेत्रका महत्त्वपूर्ण रणनीति स्वीकृत भएका र ११ वटा कानुनी दस्तावेजमा जन अपेक्षा अनुसार संशोधन तथा सुधार गरिएको छ । वन क्षेत्रका राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका महत्त्वपूर्ण कानुनी तथा प्राविधिक दस्तावेज तयार भई स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।

नेपालले तेस्रो राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदान (एनडिसी ३.०) सार्वजनिक गरिसकेको छ । त्यसमा आगामी १० वर्षभित्र ऊर्जा, यातायात, वन क्षेत्रसँग सम्बन्धित हरित गृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न तथा, जलवायु अनुकूलनसम्बन्धी परिमाणात्मक र नीतिगत लक्ष्यहरू तय गरी राष्ट्रिय दस्तावेज तयार गरिएको छ ।

“नेपालको भू–उपयोग क्षेत्र एउटै नक्शामा हेर्न पाइने गरी नेपालको राष्ट्रिय भू–क्षेत्र नक्शाङ्कन र प्रकाशन भएको छ । नेपालमा पाइने वनस्पतिको विवरण एउटै पुस्तकमा अध्ययन गर्न पाइने गरी नेपाल फ्लोरा प्रकाशन भएको छ” मन्त्री शाहीले भन्नुभयो ।

वन मन्त्रायलले यो वर्ष अहिले सम्मकै धेरै अथवा कूल गुनासोमध्ये ६२ प्रतिशत भन्दाबढी फछ्र्यौट गरेको छ । विकास आयोजना सञ्चालनको लागि सहजरूपमा वन क्षेत्रको प्रयोगका सन्दर्भमा सहजीकरण गर्नेगरी केही नेपाल ऐन संशोधनमार्फत वन ऐन संशोधन प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रिय निकुञ्ज, वनस्पति उद्यान क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकका प्रवेशका लागि टिकटका लागि अनलाइन प्रणालीको सेवा कार्यान्वयन तथा विस्तार गरिएको उहाँले बताउनुभयो ।

“हिमाली क्षेत्रका नागरिकको जीविकोपार्जनका लागि महत्वपूर्ण जडीबुटी यार्सागुम्बाको सङ््कलन तथा ओसारपसार सहज बनाउनको लागि निर्देशिका, २०८१ स्वीकृत भएको छ,” उहाँले भन्नुभयो, “सरकारले सञ्चालन गर्ने सार्वजनिक संस्थान घाटामा जाने प्रवृत्ति चिर्दै वन निगम र जडीबुटी प्रशोधन केन्द्रमा कार्यान्वयन पक्षमा जोड दिँदै नाफा गएको जानकारी गराउछु ।”

सन् २०२० सम्म ४५ दशमलव ३१ प्रतिशत रहेको वन क्षेत्र सरकार र समुदायद्वारा संरक्षण तथा व्यवस्थापन गरी ४६ दशमलव ०८ प्रतिशत पुगेको छ । यो वर्ष वन उद्यमशीलता र रोजगारीमा उल्लेख्य प्रगति भएको जानकारी गराउँदै मन्त्री शाहीले अहिले सम्ममा ४१ हजार व्यक्ति अथवा एक करोड ४८ लाख ४२ हजार श्रमदिन बराबरको रोजगार प्रदान गरिएको बताउनुभयो ।

जलवायु परिवर्तन र उपस्थिति

नेपालले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य मुख्य विषय राखी सगरमाथा संवादको पहिलो संस्करण सम्पन्न गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय तथा वन मन्त्रालयको सहआयोजनामा सम्पन्न गरी सम्मेलनको निष्कर्षस्वरूप २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ सार्वजनिक गरिएको छ ।

मन्त्री शाहीले जलवायु परिवर्तनले नेपाल र नेपाली समुदायलाई प्रभाव पारेको विषय अन्तरराष्ट्रियस्तरमा स्थापित भएको उल्लेख गर्नुभयो । “यस वर्ष जर्मनीको बोन सेसनमा हिमाल, माउन्टेनको विषयले महत्वपुर्ण प्राथामकिता पाएको छ” उहाँले भन्नुभयो, “हामीले गतवर्ष माउन्टेन, विपद व्यवस्थापन र जलावायू वित्तको मुद्दासहित कोप–२९ मा सहभागी भएका थियौँ । प्रस्तुत मुद्दामा हाम्रो उपस्थीतिले सार्थकता पाएको छ ।”

विकास आयोजनाका लागि सहजीकरण

मन्त्रालयले विकास आयोजनाका लागि वन क्षेत्रको रुख कटान तथा जग्गा प्राप्तिको लागि आवश्यक प्रक्रिया बेवसाइटमै राखेर सेवाग्राहीलाई सहजता प्रदान गरेको जनाएको छ । गत असार २५ सम्ममा कूल ४१ विकास आयोजनालाई ६०८ दशमलव ८५ हेक्टर वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका एक लाख तीन हजार सात सय ८८वटा रुखपोल हटाउन अनुमति दिइएको छ ।

विकास आयोजनालाई सहजीकरण हुने गरी वातावरणीय अध्ययन प्रतिवेदनको स्वीकृति प्रक्रियालाई र वन क्षेत्रको प्रयोग गर्न दिने प्रक्रियालाई सरल बनाइएको छ । यस अवधिमा २० वटा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन, ३० वटा क्षेत्र तथा कार्यसूची निर्धारण, पाँच वटा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन, नौ वटा परिमार्जित वातावरण व्यवस्थापन योजना स्वीकृत भएको मन्त्री शाहीले बताउनुभयो ।

कार्वन व्यापारमा सफलता

उहाँले कार्य जिम्मेवारी सम्हालेपछि पेरिस सम्झौता बमोजिम कार्बन व्यापारका लागि स्वीडेन सरकारसँग द्धिपक्षीय सम्झौतासमेत भइसकेको उल्लेख गर्नुभयो । “लामो समयदेखि कार्वन उत्सर्जन कटौती गरेवापत भुक्तानी पाउने रेड प्लसको रकम प्राप्त हुन कठिनाई भएकोमा तराईका १३ जिल्लाको करिब १८ लाख टन वनको कार्वन बिक्रीबाट १० मिलियन अमेरीकी डलर प्राप्त सुनिश्चत भइसकेको छ । सो रकम ८० प्रतिशत वन व्यस्थापन गर्ने समुदाय र व्यवस्थापककोमा जाने गरी लाभ वितरण योजना स्वीकृत गरिएको छ,” मन्त्री शाहीले भन्नुभयो ।

यसैगरी बागमती गण्डकी र लुम्बिनीको ३२ लाख हेक्टर वन क्षेत्रको कार्वन बिक्रीको वार्ता सम्पन्न भएको छ । नेपाल सरकार वार्ताको सम्झौताको दस्तावेज स्वीकृत गर्ने तयारीमा रहेको छ । साथै कर्णाली, कोशी र अन्य क्षेत्रको कार्वन मापन, खरिद तथा बिक्रीको खाका तयार गरिएको मन्त्रालयले विवरणमा उल्लेख छ ।ऊर्जा, वन, फोहर, उद्योग तथा यातायात क्षेत्रमा उत्सर्जन कटौती भएको कार्वन बिक्रीका लागि निजी क्षेत्रको सहभागिता हुने गरी कार्वन व्यापार नियमावली २०८२ तर्जुमा गरी स्वीकृतिका चरणमा रहेको छ ।

संरक्षण र वृक्षरोपण

चुरे संरक्षण कार्यक्रमको प्रगति उत्सार्जन भए पनि राष्ट्रपति चुरे कार्यक्रमलाई मार्गदर्शन गर्ने चुरेको गुरुयोजनालाई तीनै तहको अपनत्व हुने गरी समय सापेक्ष संशोधनको खाका तयार गरिएको छ ।

मन्त्रालयले प्रदेश सरकारसँगको सहकार्यमा ७७ जिल्लामा निःशुल्क बिरुवा वितरण, घरदैलो बिरुवा वितरण कार्यक्रम विधि अपनाउदै सगरमाथा संवादको मूलमर्म र भावनाअनुरूप ‘सगरमाथा वृक्षरोपण’ महाअभियान सञ्चालन गरिएको छ । हालसम्म करिब तीस लाख बिरुवा वृक्षरोपण र वितरण भएको उहाँले जानकारी गराउनुभयो ।

त्यस्तै वन डढेलो नियन्त्रणका सन्दर्भमा अन्य मन्त्रालय र समुदायसँग मिलेर वनबाट नियमित रूपमा प्रज्वलनशील पदार्थ निकाल्ने र मल बनाउने कार्यमा प्राथमिकता दिई सुरुवात गरिएको छ । वन डढेलोको बिमा कार्यक्रमबाट चार सय ९६ जनाको सामूहिक दुर्घटना बिमा भएको छ ।

जैविक विविधता तथा वन्यजन्तु संरक्षण

यस अवधिमा पहिलो पटक हिउँ चितुवाको अवस्था सर्वेक्षण कार्य सम्पन्न भई तीन सय ९७ वटा हिम चितुवा रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ । जैविक विविधताको हटस्पटको रूपमा रहेको गुल्मीको मदाने, रेसुङ्गा, सुर्खेतको काँक्रे विहार, कैलालीको वसन्ता, वर्दियाको खाता र कैलाली कञ्चनपुरको लालझडी मोहना वन संरक्षण क्षेत्रको व्यवस्थापन कार्ययोजनाको तयार गरिएको छ ।
जैविक तथा वन्यजन्तु संरक्षणका लागि ‘इन्टरनेशनल बिग क्याट एलाइइन्स’को सदस्यता प्राप्त गर्नका लागि सरकारबाट निर्णय भएको छ । यसबाट बाघ, चितुवा र हिउँ चितुवा र तिनको बासस्थान संरक्षण गर्न बहुपक्षीय सहयोग प्राप्त हुने उहाँको भनाइ छ । सदर चिडियाखाना जावलाखेलको व्यवस्थापनको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने गरी म्याद थप भएको छ भने निजी क्षेत्रबाटसमेत चिडियाखाना सञ्चालन र व्यवस्थापनका लागि मापदण्ड निर्माण कार्य अन्तिम चरणमा छ ।

विकास सहायता र सम्झौता

मन्त्रालयको नेतृत्व सम्हाले लगत्तै परियोजना विकास तथा जलवायु वित्त नेपालभित्र भित्र्याउन विशेष पहल गरेको अवगत गराउँदै उहाँले यस अवधिमा करिब ११ अर्ब अन्तरराष्ट्रिय वित्त भित्रिएको बताउनुभयो ।

यस अवधिमा नेपाल सरकार र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी संलग्न समझदारीपत्र गर्नका लागि नेपाल सरकारबाट निर्णय भएको छ । प्राविधिक सहायता अन्तर्गत नेपालमा नयाँ परियोजना विकासका लागि बाँसमा आधारित उद्यम विकासका लागि अध्ययन, चुरेको भूमिगत पानी पुनःउत्पादनसम्बन्धी अध्ययन तथा पर्वतीय उत्पादनको मूल्य शृङ्खलाको अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

कर्णाली र सुदूरपश्चिमको पहाडी जिल्लालाई समेट्ने गरी भू–संरक्षणका कार्यक्रम सञ्चालन गर्न भू–परिधिमा आधारित जलवायु उत्थानशील विकास कार्यक्रम सञ्चालनमा आएको छ । त्यस्तै दिगो वन व्यवस्थापन र वनक्षेत्र नभएको खाली÷सार्वजनिक÷पर्ती÷नदी उकास तथा निजी जग्गामा वनको विकास मधेश र लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेको समृद्धिका लागि वनमा १२ मिलियन अनुदान थप सम्झौता भएको मन्त्री शाहीले बताउनुभयो ।

मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण

यस अवधिमा मानव बन्यजन्तु कम गर्ने उद्देश्यको लागि विश्व वन्यजन्तु कोषमार्फत जिइएफबाट करिब पाँच मिलियन डलर अनुदान प्राप्त भएको छ । यो रकमले मानव वन्यजन्तुद्वन्द्व न्यूनीकरणका लागि उल्लेख्य योगदान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“मानव वन्यजन्तु द्वन्द्वको विषय एउटा ठूलो चुनौतीको रूपमा देखा परेको छ । यो आवमा देशका विभिन्न ठाउँबाट छ सय भन्दा बढी समस्याग्रस्त वन्यजन्तु उद्धार र व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको छ,” उहाँले भन्नुभयो,“ पहिलो, वन्यजन्तुलाई वन तथा निकुञ्जभित्र नै रमाउने गरी वन्यजन्तुको संरक्षण गर्न घाँसे मैदान र पानी स्रोतको व्यवस्थापन जस्ता बासस्थानको सुधारका कार्यक्रम आवश्यक छ । त्यसका लागि कार्यक्रम सञ्चालन गरिएको छ ।” चालु आवको हालसम्म एक हजार हेक्टर जमिनमा घाँसे मैदान व्यवस्थापन र ६१३ स्थानमा पानीको स्रोत संरक्षण गरिएको छ ।

यसैगरी वन्यजन्तु जङ्गल बाहिर आइ हुने द्वन्द्वलाई रोक्न र सकेसम्मद्वन्द्व हुनै नदिन निरोधात्मक उपाय अन्तर्गत सोलार फेन्सिङ पाँच किमी जालीसहित तारबार निर्माण करिब १३ किमी, निर्माण सम्पन्न भएको छ । निरोधात्मक उपाय अपनाउँदा पनि मानव वन्यजन्तुद्वन्द्व भई मानवीय, पशुधन तथा कृषिबालीको क्षतिबापत राहतका रकम रु सात करोड १३ लाख वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जङ्गली रातो बाँदर र जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ भने टुहुरा तथा समस्याग्रस्त वन्यजन्तुलाई उद्धार गरी राख्ने व्यवस्था गरिएको छ । झापालगायत देशका विभिन्न भागमा देखापरेको हात्तीको समस्या समाधानका लागि रेपिड रेस्पोन्स टिमको परिचालनको व्यवस्था गरिएको छ । मन्त्री शाहीले वन क्षेत्र र आवादीको सिमानामा सोलार फेन्सिङ र हात्तीको सहज आवतजावतका लागि कोरिडोर निर्माण र व्यवस्थापनको कार्यक्रम राखिएको बताउनुभयो । आगामी आवमा यसका लागि रु दुई करोड ५० लाख विनियोजनसमेत गरिएको छ ।

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

कर्णाली, ३२ असारः कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विसं २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार भोलि प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थामा बिदा सूचना गरिएको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनुभयो ।

माथिल्लो कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटमा विशेषगरी धार्मिक तथा सांस्कृतिक महत्व दिएर मनाउने यो पर्वमा देउडा लगाएर खेल्नेसमेत गरिन्छ । साउने सङ्क्रान्ति पर्वको दिनमा ती जिल्लाका समुदायले आफ्नो घरको छतमा सल्लाको तेलयूक्त काठलाई राँको बनाएर बाल्ने र वर्षभरि गाउँघरमा सिर्जित विकृतिलाई धार्मिक विधि अनुसार लुतोको रूपमा फाल्ने प्रचलन रहिआएको छ ।

वीरगञ्ज महानगरमा ट्याङ्करमार्फत खानेपानी वितरण गरिने

वीरगञ्ज (पर्सा), ३२ असारः जिल्ला विपद् व्यवस्थापन समितिले मधेश सरकार र अन्य निकायबाट प्राप्त ट्याङ्कर प्रयोग गरी वीरगञ्ज महानगरसहित यहाँका विभिन्न स्थानीय तहमा खानेपानी वितरण गर्ने निर्णय गरेको छ ।

ट्याङ्कर र दमकलबाट नेपाली सेनामार्फत पानी वितरण गर्ने निर्णय समितिले गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खानेपानी संस्थान र सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा नेपाली सेनाको श्रीजङ्ग गणले खानेपानीको चर्काे अभाव झेलेका क्षेत्रमा पानी वितरण गर्ने जानकारी दिनुभयो ।

वितरणका लागि आवश्यक पानी उपलब्ध गराउन खानेपानी संस्थानलाई अनुरोध गरिएको छ । बैठकले दीर्घकालीन समाधानका लागि सङ्घीय तथा प्रदेशका सम्बन्धित निकायमा पहलकदमी गर्न अनुरोध गर्ने निर्णय गरेको छ । नेपाल टेलिकमले खानेपानीको अभाव भएका जनताका लागि टोल फ्रि नम्बरको व्यवस्था गर्ने जनाएको छ ।

खानेपानी संस्थानका शाखा प्रमुख प्रवीणकुमार साहले संस्थानले दैनिक ८० लाख लिटर बढी खानेपानी उत्पादन गरेपनि वितरण प्रणाली बजेट अभावका कारण व्यवस्थित हुन नसकेको बताउनुभयो । ‘‘यहाँका खानेपानीका उपभोक्ताले जथाभावि मोटरबाट पानी तान्ने प्रवृत्तिले समस्या देखिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘पानीको हाहाकार भएपछि पछिल्लो १५ दिनको अवधिमा नयाँ धारा जडान गर्न नौ सय बढी ग्राहकले निवेदन दिएका छन् ।’’

वीरगञ्ज महानगर–२८ का वडाध्यक्ष सरयुग महतो धनुकले आफ्नो वडामा वीरगञ्ज महानगर र खानेपानी मन्त्रालयले एउटा पनि डिप बोरिङ नगरेको गुनासो गर्नुभयो । वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्रले आफ्नो वडामा पनि खानेपानीको चर्काे अभाव भएकाले ट्याङ्करमार्फत खानेपानी वितरण गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्र प्रमुख अवधेशकुमार दुबेले प्राधिकरणबाट ग्राहक बनेर मात्रै डिपबोरिङबाट खानेपानी वितरण गर्न सम्बन्धित निकायलाई आह्वान गर्नुभयो । ‘‘टोल–टोलमा हुकिङ गरेर डिप बोरिङ चलाउँदै आइरहेको भेट्टाएका छौंँ । ती डिप बोरिङको स्वामित्व लिएर विद्युत्को मिटर जडान गरेर खानेपानी वितरण गर्नका लागि अनुरोध गर्दछौँ,’’ उहाँले भन्नुभयो ।

मनसुनजन्य क्षति न्यूनीकरणका लागि सवारीसाधनको समय तालिका निर्धारण

गण्डकी- जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य क्षति न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा नीजि तथा सार्वजनिक सवारीसाधनका लागि समय तालिका निर्धारण गरेको छ ।जिल्ला सुरक्षा समितिको आजको बैठकले भोलिदेखि लागू हुने गरी सात दिनसम्म अत्यावश्यकबाहेकका सार्वजनिक÷निजी यात्रुवाहक सवारीसाधनका लागि समय तालिका निर्धारण गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।

यस वर्षको मनसुन सक्रिय अवस्थामा रहेकाले बर्सातको समयमा सुरक्षा संयमता अपनाउन र बाढी, पहिरोको कारणबाट यात्रु तथा सवारीसाधनमा हुनसक्ने सम्भाव्य क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको एक सूचना जारी गरी उहाँले जानकारी दिनुभएको हो ।

सूचनामा काँहुखोलादेखि सिक्लेस जाने सवारीसाधन साँझ ५ः०० बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने भनिएको छ । यस्तै, सिक्लेसदेखि काँहुखोला जाने सवारीसाधन बिहान ५ः०० बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्नुपर्ने छ ।

विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी र काँहुखोलादेखि ताङतिङसम्म आवतजावत गर्ने सार्वजनिक÷निजी यात्रुवाहक सवारीसाधन सञ्चालनका सम्बन्धमा यसअघि असार २५ गतेदेखि १५ दिनका लागि जारी गरिएको सूचना यथावत् रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उक्त सूचनामा घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडक (वीरेठाँटी–घान्द्रुक, वीरेठाँटी–उल्लेरी र लुम्ले–लान्द्रुक) मा सञ्चालित सवारीसाधनले बिहान ५ः०० बजेपछि मात्र प्रस्थान गर्न पाउने र साँझ ५ः०० बजेभित्र आफ्नो प्रस्थान विन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्ने भनिएको थियो ।

यस्तै, काहुँखोलाबाट ताङ्तिङ जाने सवारीसाधनले बिहान ५ः०० बजेपछि मात्र यात्रा सुरु गर्नसक्ने र साँझ ४ः३० बजेभित्र प्रस्थान बिन्दुबाट छुटिसक्नुपर्ने तालिका निर्धारण गरिएको थियो ।

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

युरोपेली युनियन (इयु) का परराष्ट्र मन्त्रीहरूले मंगलबार गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य राष्ट्रहरूबीचको मतभेदका कारण कुनै ठोस निर्णय लिन सकिने सम्भावना कम देखिएको छ ।

इयु विदेश नीति प्रमुख काया काल्लासले इजरायलले मानवअधिकारसम्बन्धी द्विपक्षीय सम्झौताको उल्लंघन गरेको निष्कर्षपछि १० बुँदे सम्भावित उपाय प्रस्ताव गर्नुभयो । ती उपायमा सम्पूर्ण सम्झौता स्थगन, व्यापार सम्बन्ध सीमित गर्ने, इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगाउने, हतियार प्रतिबन्ध तथा भिसा–मुक्त यात्रा रोकिने जस्ता विकल्पहरू समावेश छन् ।

तर गाजामा भइरहेको विनाशप्रति बढ्दो असन्तुष्टिका बीच पनि इयु सदस्य राष्ट्रहरू इजरायलप्रति अपनाउने नीति विषयमा विभाजित छन् । कूटनीतिज्ञका अनुसार कुनै पनि निर्णय पारित गर्न आवश्यक पर्याप्त समर्थन जुट्न सकेको छैन ।

काल्लासले परराष्ट्र मन्त्रीहरूको बैठक अघि भन्नुभयो,“वार्ताको दिशा म भविष्यवाणी गर्न सक्दिनँ । तर हाम्रो ध्यान अहिले मानवीय अवस्थाको सुधारमा केन्द्रित हुनेछ ।”

गाजाको मानवीय अवस्था र हालैको सम्झौता

उक्त टिप्पणी काल्लासले इजरायली परराष्ट्र मन्त्री गिडेओन सारसँग गत बिहीबार गरेको सहमतिपछि आएको हो, जसअनुसार गाजामा थप प्रवेश विन्दु खोल्ने र खाद्यान्न आपूर्ति बढाउने निर्णय गरिएको थियो ।
गाजामा करिब २० लाख बासिन्दा युद्धका कारण अत्यन्तै कठिन मानवीय परिस्थितिको सामना गरिरहेका छन् । इजरायलले हमासविरुद्धको युद्धको क्रममा मानवीय सहायता अत्यधिक सीमित पारेको छ ।
“सीमा नाका खुल्दै गरेको, बिजुली पुनः जडान हुँदै गरेको, पानी आपूर्ति र थप मानवीय सहायता पु¥याउने प्रयासहरूमा केही सकारात्मक संकेत देखिएका छन्,” काल्लासले सोमबार बताउनुभयो । तर उहाँले थप्नुभयो,“वास्तविक सुधार देखिन अझ धेरै प्रगति आवश्यक छ ।”

पछिल्ला तथ्याङ्क र द्वन्द्वको पृष्ठभूमि

युद्धको सुरुवात सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि भएको थियो, जसमा एक हजार २१९ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए । हमासले अपहरण गरेका २५१ मध्ये ४९ जना अझै गाजामा छन्, जसमा २७ जनालाई इजरायली सेनाले मृत घोषणा गरिसकेको छ ।

गाजाको हमास–प्रशासित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ५८ हजार ३८६ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ, जसमध्ये धेरैजसो सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले विश्वसनीय ठानेको छ ।

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

कञ्चनपुर, ३२ असार : शुक्लाफाँटा नगरपालिका–१० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । झण्डै तीन दशकअघि निर्माण गरिएको उक्त पुलको पूर्वतर्फको भाग भासिएको छ ।

स्थानीयवासी सोही पुलबाट जोखिम मोलेर आवागमन गरिरहेका छन् । स्थानीय दीपक भट्टका अनुसार पुल जुनसुकै बेला ढल्न सक्ने अवस्थामा छ । पुलको दुरावस्थाबारे नगरपालिकालाई े जानकारी गराइएको उहाँ बताउनुहुन्छ ।

यसैबीच, पूर्वाधार विकास कार्यालय कञ्चका प्रमुख योगेन्द्र अधिकारीका अनुसार टोटीखोलामा बक्स कल्भर्ट निर्माणका लागि एसएमएम जेभीसँग आगामी असोजदेखि काम थाल्नेगरी असार २३ गते निर्माण सम्झौता भएको छ । उक्त योजनाअन्तर्गत रु दुई करोड ९१ लाख ८८ हजार लागतमा दुई स्पानको बक्स कल्भर्ट निर्माण गरिने छ ।

विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुन सक्छ : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुने बताएका छन् ।
संयुक्त राष्टसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले आयोजना गरेको अन्तर क्षेत्रीय संवाद कार्यक्रममा सहभागी हुन भियतनामको राजधानी हनोईमा रहेका मन्त्री अधिकारी एक देश एक प्राथमिक उत्पादन पहलसम्बन्धी उच्च–स्तरीय संवादमा सहभागी भएका हुन् ।

दुई दिन सम्म चलेको एशिया र अफ्रिकाका कृषि सँग सम्वन्धीत मन्त्री तथा वरिष्ठ सरकारी प्रतिनिधिहरू सहभागी कार्यक्रममा मन्त्री अधिकारीले प्राथमिकतामा परेका कृषि उत्पादनहरूको विकास तथा व्यवसायीकरणका लागि एशिया र अफ्रिकी देशहरु वीच अनुभव र सहकार्यको आवश्यकतामा जोड दिए ।

मन्त्री अधिकारीले भने “जलवायु परिवर्तनको असर र बजारको समस्या बढ्दै गएको अहिलेको समयमा, विकासशील राष्ट्रहरूको साझा अनुभव नै सबैभन्दा ठूलो स्रोत हुन सक्छ”। उनले उच्च मूल्ययुक्त ठूलो अलैंची जस्ता उत्पादनहरूमा नेपालले ध्यान दिइरहेको र यसको प्रशोधन, मूल्य अभिवृद्धि, तथा कृषि उद्यमशीलतामा थप लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

यसै वीच मन्त्री अधिकारीले भियतनामका उप–कृषि तथा ग्रामीण विकास मन्त्री होआङ त्रुङसँग द्विपक्षीय भेटघाट गरी दुई देशबीच कृषि व्यापार विस्तार, प्राविधिक सहकार्य, र संयुक्त अनुसन्धानका विषयमा छलफल गरे । उनिहरु वीच जडीबुटी तथा मसला जस्ता विशेष कृषि उत्पादनहरूमा नेपाल र भियतनाम वीचको व्यापार प्रवद्र्धन ,पोस्ट–हार्वेस्ट प्रविधि, कृषि डिजिटलाइजेसन, तथा जलवायु–स्मार्ट कृषिमा प्राविधिक सहकार्य,युवा उद्यमशीलता र कृषि व्यवसाय तालिम आदान–प्रदान लगायतका विषयमा कुराकानी भएको मन्त्री अधिकारीले जानकारी दिए ।

एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई एकताको महाधिवेशनका लागि एकजुट हुन अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका भ्रामक समाचारबाट बच्न र एकताको भावनामा काम गर्न सबैलाई आग्रह गरेका छन् ।पराजुलीले जारी गरेको विज्ञप्तिमा नेपालको सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको सहजीकरणमा गत मे ३–४, २०२५ मा सम्पन्न विश्व महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुँदा आफू अमेरिका क्षेत्रको क्षेत्रीय संयोजकमा निर्वाचित गरेको पनि स्मरण गराएका छन् ।

विज्ञप्तिमा उनले अमेरिका र क्यानाडामा दुई–दुई वटा एनसीसीहरू कानुनी रूपमा दर्ता भएको र छुट्टाछुट्टै नेतृत्वमार्फत काम गरिरहेको स्पष्ट पार्दै दुई एनसीसीलाई एकताको महाधिवेशनका लागि एकजुट बनाउने निर्णय भएको र सोही निर्णय कार्यान्वयनका लागि आफूले पहल गरिरहेको पनि उल्लेख गरेका छन् । दुवै एनसीसीका अध्यक्षहरू डा. अर्जुन बन्जाडे र सूर्य लम्सालले हस्ताक्षर गर्दा एनआरएनए आइसीसी अध्यक्ष महेश श्रेष्ठ पनि सहभागी भएका थिए ।

सहमतिअनुसार दुवै एनसीसीले अमेरिकाको पोर्टलमा सदस्यता खुलाउने, नवीकरण गर्ने र सबैलाई समेटेर एकताको महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन् । पराजुलीले दुवै एनसीसीका अध्यक्षहरूसँग निरन्तर छलफल भइरहेको बताउँदै कानुनी निर्देशन र सहमति पालना गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३२ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४७, गाजर (लोकल) प्रतिकिलो रु ९०, गाजर (तराई) प्रतिकिलो रु ८५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ५५, काउली तराई प्रतिकिलो रु ४५, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु २५ र मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (जाजमा) प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७५, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु २५, लौका प्रतिकिलो रु २५, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३५, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ३५, रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो रु ९०, तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु २००, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ७५, सजिवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ३५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १२००, सौफको साग प्रतिकिलो रु २००, पुदिना प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १३५, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु १२५, आँप (दशहरी) प्रतिकिलो रु १३०, हरियो तरबुजा प्रतिकिलो रु ११०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ४०, मेवा (नेपाली) प्रतिकिलो रु ७५, र मेवा (भारतीय) प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ४५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ८०, खुर्सानी अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु १३०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

देउवाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

काठमाडौँ- नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध शानदार जित निकालेको छ ।

बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा आज सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७-० ले गोलअन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले पहिलो हाफमा पाँच गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

नेपालको जितमा मीनाले ह्याट्रिक गरिन् । उनले खेलको आठौँ, ४२औँ र ७०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । साथै पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एक÷एक गोल गरे ।

जितसँगै नेपालले ३ खेलबाट ६ अङ्क बटुलेको छ । समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ । नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो । दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ ।

खेलको आठौ मिनेटमै नेपालले अग्रता लियो । नेपालको लागि मीनाले सुरुवाती गोल गरिन् । त्यसपछि खेलको १३आँै मिनेटमा समीक्षाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

खेलको ४२औँ मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता बढाइन् । त्यसपछि पूर्णिमा एक्लैले पहिलो हाफमा दुई गोल थपिन् ।

खेलको ७०औँ मिनेटमा मीनाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सरिताले अर्को गोल थपिन् ।

डडेल्धुरा अस्पताल स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हट्यो

अमरगढी (डडेल्धुरा)-स्वास्थ्य बिमा बोर्डले सुदूरपश्चिमको एक मात्र सङ्घीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको छ । बिमा बोर्डले प्रथम सेवा विन्दुमा नराखेपछि डडेल्धुरा अस्पतालले त्यस प्रकारको सेवा प्रदान गर्न नसकिने जनाएको छ ।

“उपरोक्त सम्बन्धमा स्वास्थ्य बिमाले यस डडेल्धुरा अस्पताल डडेल्धुरालाई प्रेषण केन्द्रको रूपमा मात्र सूचीकृत गरेको हुँदा साउन १ गतेदेखि यस अस्पतालले प्रथम सेवा विन्दुको रूपमा सेवा प्रवाह गर्न नसकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” डडेल्धुरा अस्पतालका निमित्त मेसु नरेन्द्रकुमार खनालद्वारा जारी सूचनामा भनिएको छ ।

सूचनाअनुसार अबदेखि डडेल्धुरा अस्पतालमा सिधैँ गएर बिमाको सेवा लिन नमिल्ने भएको छ । सेवा लिन चाहने बिमितहरूले स्थानीय तहका सूचीकृत स्वास्थ्य संस्थाबाट रेफरल सिफारिस अनिवार्य रूपमा लिएर जानुपर्नेछ ।

डडेल्धुरामा केवल परशुराम नगरपालिकाको जोगबुढा अस्पताल मात्र प्रथम सेवा विन्दुका रूपमा तोकिएको छ । जसका कारण उक्त क्षेत्रका केही सीमित सेवाग्राहीले मात्र बिमा सुविधा पाउने भएका छन् । बाँकी ६ वटा स्थानीय तहका बिमितहरूले डडेल्धुरा अस्पतालको बिमा सेवा उपयोग गर्न पाउने छैनन् ।

स्वास्थ्य बिमा कार्यालय डडेल्धुराले माथिबाट आएको निर्देशन स्पष्ट नभएकाले हाल प्रदेश सरकारसँग छलफल भइरहेको जनाएको छ । दर्ता अधिकारी दीपकबहादुर धामीले भन्नुभयो, “यस विषयमा प्रदेशसँग छलफल भइरहेको छ ।” उहाँका अनुसार डडेल्धुराका ३२ हजार नौ सय ८४ जना स्वास्थ्य बिमामा आवद्ध छन् ।

प्रदेश शाखा संयोजक जनकबहादुर साउदले भन्नुभयो, “प्रत्येक स्थानीय तहमा निर्माण हुने भनिएका अस्पतालबाट रेफर भएर आएका बिरामीले मात्र बिमा सेवा पाउने गरी नियमावली संशोधन गरिएको हो । तर हाल डडेल्धुरामा जोगबुढा बाहेक अन्य कुनै पनि अस्पताल प्रथम सेवा विन्दुका रूपमा तोकिएको छैन । त्यसैले अकस्मिक बाहेक अन्य बिमितले सेवा पाउने छैनन् ।”

यस निर्णयले अस्पतालमा उपचार गराउँदै आएका सुदूरपहाडका हजारौँ बिमित नागरिक अन्योलमा परेका छन् । विशेष गरी दुर्गम गाउँबाट आउने बिरामीलाई अब नजिकको अस्पतालमा जान, त्यहाँबाट रेफरल सिफारिस ल्याउन र फेरि डडेल्धुरा आउनुपर्ने बाध्यता आइलाग्ने छ ।

काठमाडौँ महानगरमा विज्ञान विषयमा छात्रवृत्ति आवेदन दिने धेरै

काठमाडौँ-काठमाडौँ महानगरपालिकामा शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न कूल १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन् ।

महानगर शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन देशभरका ७७ वटै जिल्लाबाट परेका छन् । आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा सबैभन्दा बढी १२ हजार ३३७, व्यवस्थापन विषयमा चार हजार ४८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिएका छन् । यो तथ्याङ्कले विज्ञान विषयप्रति विद्यार्थीको उच्च आकर्षण देखाउँछ, जुन कूल आवेदनको करिब ७१ प्रतिशत हो ।

शिक्षा अधिकृत पौडेलले हाल प्राप्त आवेदनको रुजु कार्य भइरहेको र यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न गरिने बताउनुभयो । आवश्यक प्रक्रिया पूरा भएपछि साउन १ गतेदेखि विद्यार्थीले अनलाइनमार्फत प्रवेशपत्र डाउनलोड गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

साउन ३ गते बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुनेछ । कक्षा १० को पाठ्यक्रममा आधारित हरेर हुने परीक्षामा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिने गरी निर्धारण गरिएको छ । सबै प्रश्नहरू बहुवैकल्पिक प्रकारका हुनेछन् । परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अङ्क (नेगेटिभ मार्किङ) नगरिने पनि महानगरले जनाएको छ । परीक्षापछि योग्यता सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिन्छ । त्यस आधारमा विद्यार्थीले शिक्षण संस्थामा अध्ययन गर्न पाउनेछन् ।

म महाधिवेशनमा सहभागी हुने विषय केन्द्रीय कमिटी बैठकले निर्धारण गर्छ : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को विधान महाधिवेशनमा आफ्नो भूमिकाबारे पार्टीको केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा आफू एमाले पार्टीको सक्रिय राजनीतिकमा क्रियाशील भइसकेकाले विधान महाधिवेशनमा सहभागी हुने कुरा केन्द्रीय कमिटी बैठकले तय गर्ने बताउनुभयो ।

“पार्टीभित्रको कुन संरचनामा के भूमिका हुने भन्ने कुरा पार्टीको माथिल्लो तहको नेतृत्वले तय गर्ने छ । महाधिवेशन नहुँदाको अवस्थामा केन्द्रीय कमिटी नै सर्वोच्च अङ्ग हुन्छ”, उहाँले भन्नुभयो, “विधान महाधिवेशनमा मेरा उपस्थिति कसरी गराउनहुन्छ भन्ने कुरा केन्द्रीय कमिटीमा नै भरपर्ने कुरा हो । प्रतिनिधिका रूपमा हुन्छ वा आमन्त्रित सदस्यको रूपमा कसरी गराउनुहुन्छ यसमा मेरो कुनै यस्तो यही गर्नुपर्छ भन्ने छैन ।”

जबजको विजारोपण सुदृढीकरण र त्यसलाई सिद्धान्तलाई अगाडि बढाउने कुरा मदन भण्डारीले गरे पनि रहस्यम निधन भएकाले लागू गर्न नपाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तर, पनि पार्टी अगाडि बढ्यो । पार्टीले आफ्नो सिद्धान्तअनुसार अगाडि बढ्दै जाँदा यो ठाउँसम्म आइपुगेको छ ।” उहाँले पार्टी जनताको तहमा काम गरेअनुसार विधान महाधिवेशनमा प्रतिनिधित्वको सहभागी हुनुपर्नेमा बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले संसद् विघटन संविधानअनुसार नै तत्कालीन मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको आधारलाई कार्यान्वयन गरेको बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष भण्डारीले मदन भण्डारीप्रति सच्चा सम्मान गर्न, एमाले पार्टीको सङ्गठन र जबज विस्तारको माध्यम जन्मजयन्ती हुने बताउनुभयो । उहाँका अनुसार जन्मजयन्ती २०८२ र २०८३ सालभरि विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, वादविवाद, हाजिरीजवाफ, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीलगायतका क्रियाकलाप गरी देशभरि नै मनाइने छ । जन्मजयन्तीको समापन समीक्षासहित २०८४ सालमा गरिनेछ ।

मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउन समिति गठन

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मनाउनका लागि बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ७५ सदस्यीय मूल व्यवस्थापनि समिति गठन गरिएको छ ।

फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीका अनुसार जनताको बहुदलीय जनवाद (जबज) का विषयमा टोलटोलसम्म जानकारी गराउनका लागि गठित समितिको सहसंयोजकमा सुशील प्याकुरेल, प्रा डा गणेशमान गुरुङ र सचिवमा डा भेषराज अधिकारी रहनुभएको छ ।

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु

चितवन, ३२ असार : भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको हो ।

मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो ।

एक करोड ७० लाख चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी, ३२ असारः म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल जोड्न पदमार्ग निर्माण भएको छ । रु एक करोड ७० लाख चन्दा सहयोग जुटाएर उक्त पदमार्ग निर्माण गरिएको हो ।

खयरभारानी थान तथा क्षेत्र संरक्षण साथै व्यवस्थापन समितिको अगुवाइमा १० वर्षमा पाउद्वार गाउँदेखि लरेनी–खोप्रा (खोपारा), खयरखोला हुँदै खयरबाराही ताल जोड्ने पदमार्गको साथै चौतारी निर्माण र खानेपानीको सुविधा पु¥याइएको हो ।

समितिका संस्थापक राजु पुनले पाउद्वार र छिमेकी गाउँबासी तथा भक्तजनहरुले दिवङ्गत आफन्तको स्मृतिमा पदमार्ग र चौतारी निर्माण गरेको जानकारी दिनुभयो । सेवा निवृत्त बेलायती गोर्खा सैनिक पुनको अगुवाइमा विसं २०७२ देखि पाउद्वार–खयरभारानी ताल जोड्ने पदमार्ग निर्माण अभियान थालिएको थियो ।

“दिवङ्गत आफन्तको नाममा चौतारा र बाटो बनाउने पुरानो चलनलाई धार्मिक पर्यटनसँग जोड्ने हाम्रो प्रयासमा स्थानीयवासीका साथै खयरबाराहीमा पूजाआजा गर्न आउने अन्य ठाउँका भक्तजनले साथ दिनुभएको छ”, पुनले भन्नुभयो, “१० वर्षमा ६७ जनाले गर्नुभएको रु एक करोड ७० लाख सहयोगमा २७ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ ।”

सत्र जना दाताको सहयोगमा पाउद्वार–लरेनी खण्डमा चार दशमलव पाँच किलोमिटर, २३ जनाको सहयोगमा लरेनी–खोप्रा खण्डमा ११ किलोमिटर र २७ जनाको सहयोगमा खोप्रा–खयर खण्डमा १२ किलोमिटर पदमार्ग निर्माण भएको उहाँको भनाइ छ ।

भिरालो पाखामा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण भएपछि स्थानीयवासी, भक्तजन र पर्यटकहरुलाई आवतजावतमा सहज भएको पाउद्वारका बासिन्दा हरिप्रसाद तिलिजाले बताउनुभयो । दाताको सहयोगमा विभिन्न ठाउँमा आश्रयस्थल र खानेपानीको व्यवस्था मिलाइएको छ ।

अन्नपूर्ण र बराह शिखर हिमालको काखमा रहेको खयर ताल र ताल परिसरमा रहेको प्रसिद्ध धार्मिकस्थल खयर भारानी थानलाई लक्षित गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको छ । गाउँमा नभएका दाताहरुले समितिको सहजीकरणमा स्थानीय मजदुर परिचालन गरेर पदमार्ग र पूर्वाधार बनाउने गरेका छन् । पदमार्ग र चौतारामा निर्माणकर्ताको विवरन खुलाएर शिलालेख राखिएको छ ।

अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले खोप्रा, खयर क्षेत्रको पर्यटन पूर्वाधार निर्माणमा सरकारी निकायको तुलनामा समुदायको बढी लगानी भएको बताउनुभयो । सो क्षेत्रको पूर्वाधार निर्माणमा पर्यटन तथा उद्योग कार्यालयमार्फत पछिल्लो दुई वर्षयता रु ३२ लाख, अन्नपूर्ण गाउँपालिकाबाट करिब २० लाख बजेट खर्च भएको छ ।

स्थानीयवासीले ‘खयरभारानी’ भन्ने खयरबाराही तालमा जनैपूर्णिमा पर्वमा विशेष मेला लाग्ने गर्छ । खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने र आटे, मागेको पूरा भएपछि बली चढाउने चलन छ । जनैपूर्णिमाका दिन करिब एक हजार दुई सय जना भक्तजन खयरबाराही पुग्ने गर्छन् ।

जनैपुर्णिमा बाहेकका दिनमा ताल र यस क्षेत्रको अवलोकनका लागि पर्यटकहरु पुग्ने गर्छन् । पाउद्वारदेखि खयर जाने बाटोमा पर्ने खोप्रा लेक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ । समुन्द्री सतहदेखि तीन हजार छ सय ६० मिटर उचाइको खोप्रा लेकबाट धौलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

पर्यटन क्षेत्रमा खोप्राको नामले चिनिएको यो ठाउँलाई स्थानीयवासी ‘खोपारा’ भन्ने गर्छन् । खोप्रामा पाउद्वार सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरेको छ । चौरी र भेडाबाख्राको घुम्ती गोठ पनि खोप्रा, खयर क्षेत्रको आकर्षण हो । पाउद्वारदेखि एक दिनमा खोप्रा र दुई दिनको पैदलयात्रामा खयरबाराही तालमा पुग्न सकिन्छ ।

आज चारवटा संसदीय समितिका बैठक हुँदै

काठमाडौँ, ३२ असार : केही दिनका लागि सङ्घीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चारवटा संसदीय समितिका बैठक हुँदैछन् ।

आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक हुँदैछ ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते हुँदैछन् ।

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

काठमाडौँ, ३२ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको हुनसक्ने छ ।

देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई भेग तथा मधेस प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले आज बिहान ६ः ०० बजे जारी गरेको नियमित मौसम बुलेटिनअनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

नापतौलमा हेरफेर गरेको गरेको पाइएपछि दुई वटा व्यापारिक फर्ममाथि कारबाही

काठमाडौँ, ३२ असारः गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा व्यापारिक फर्ममाथि कारबाही गरेको छ । विभागले श्रीराम टोबाको उद्योग प्रालिलाई रु तीन लाख बराबरको जरिवाना गरेको छ ।

यस्तै, एसवीएल प्रोफेसनल प्रालिलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको विभागले जनाएको छ । अधिकतम खुद्रा मूल्य नराखी बिक्री वितरण गरेको पाइएपछि कारबाही गरिएको विभागको भनाइ छ ।

विभागले उपलब्ध गराएको विवरण अनुसार सात वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । त्यस्तै, काठमाडौँ र ललितपुरका पाँच वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिमआवश्यक निर्देशन एवम् कारबाही गरिएको जनाएको छ । विभागले असार ३१ गते नौ, ३० गते पनि समान नौ वटा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । केहीलाई सामान्य निर्देशन दिइएको छ भने केहीलाई कागजातसहित आउन भनेको छ ।

यस्तै, असार २९ गते नौ, असार २७ गते पाँच,असार २६ गते १६, असार २५ गते ११ वटा फर्ममा अनुमगन गरी आवश्यक कारबाही गरिएको जनाएको छ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३२ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर १०० रुपैयाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९० पैसा र बिक्रीदर १०७ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २० पैसा र बिक्रीदर १४ रुपैयाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ४३ पैसा र बिक्रीदर २१ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५० रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९९ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ८३ पैसा र विक्रीदर ३५७ रुपैयाँ ३९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

खानेपानीमन्त्री यादवको एक वर्षः मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालय सम्हालेको करिब एक वर्ष पूरा भएको छ । गत वर्षको असार ३१ गते पदभार सम्हालेका उनले आफूले एक वर्षमा खानेपानीका क्षेत्रमा उल्लेख्य काम गरेकाे दाबी गरेका छन्। “गतवर्षको दसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने बाचा गरेको थिए, सोहीअनुसार गत असोज २२ गतेदेखि सुन्दरीजल प्रशोधन केन्द्र हुँदै काठमाडौँ उपत्यकामा आपूर्ति गर्न सफल भएँ”, उनले भने ।

विगतका वर्षमा पुस र माघमा मेलम्चीको पानी आपूर्ति हुने गरेकामा आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि असोज २२ गते नै पानी ल्याउन सफल भएको उनको भनाइ छ । “यसका लागि म आफै मेलम्ची पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीसँग छलफल गरेको थिएँ, फलस्वरुप काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी आपूर्ति भएको अवस्था छ”, उनले भने।

उनका अनुसार हाल दैनिक छ करोड लिटरभन्दा बढी पानी काठमाडौँमा आपूर्ति भइरहेको छ । साथै खानेपानी मन्त्रालयको व्यवस्थापन सर्वेक्षण गरी खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत अस्थायी रुपमा सञ्चालित आयोजनालाई १५ वटा स्थायी कार्यालयका रूपमा स्थापना गरिनुका साथै काठमाडौँ उपत्यकाको चक्रपथ बाहिर मेलम्चीको खानेपानी विस्तारका लागि पाँच वटा प्याकेजमा सार्वजनिक खरिद प्रक्रिया थालिएको उनले जानकारी दिए ।

मन्त्री यादवका अनुसार यसबीचमा नेपाल खानेपानी संस्थान कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी विनियमावली, २०८१ जारी गरी २०७४ यता रोकिएको पदपूर्ति प्रक्रिया पुनःसञ्चालनमा ल्याइएको छ । साथै अन्तरराष्ट्रिय साझेदारी विस्तारअन्तर्गत भारत सरकारसँग खानेपानी तथा सरसफाइसम्बन्धी साझेदारीका लागि द्विपक्षीय सम्झौता गरिएको छ ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग मूल व्यवस्थापन, प्रविधि हस्तान्तरण, अनुसन्धान, तथ्याङ्क आदानप्रदानलगायतका विषयमा समझदारी भएको उनको भनाइ छ । मन्त्री यादवले केही समय अघि संयुक्त राष्ट्र सङ्घको आयोजनामा स्पेनको सेभियामा आयोजित राज्य प्रमुखको पहलमार्फत पानी र सरसफाइ वित्तपोषण कार्यक्रममा सहभागिता जनाइ नेपालको दीर्घकालीन वित्तीय प्रतिबद्धता प्रस्तुत जनाएको उल्लेख गरे । साथै अन्तरमन्त्रालय तथा अन्तर सरकार समन्वयअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग पानीको बहुपक्षीय उपयोगसम्बन्धी सम्झौता तथा प्रदेश सरकारसँग खानेपानी तथा सरसफाइ क्षेत्रमा लागत साझेदारीमा आधारित सम्झौता गरिएको मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिए।

शाक्यका अनुसार झापा, वीरगञ्ज, पोखरा, भरतपुर, धरान, बुटवल, कैलालीलगायतका प्रमुख सहरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत खानेपानीका संरचना विस्तार कार्य अघि बढाइएको छ । साथै पछिल्लो एक वर्षमा जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोप व्यवस्थापनअन्तर्गत बाढी÷पहिरोबाट क्षति पुगेका खानेपानी आयोजना पुनःसञ्चालनमा ल्याइएको छ । जलवायु परिवर्तनका कारण बारा, पर्सालगायतका जिल्लामा खानेपानीको समस्यालाई समाधान गर्न दुई सय ५० भन्दा बढी स्थानमा डिप बोरिङ निर्माण गरिएको छ भने केही स्थानमा थप डिप बोरिङ निर्माण गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा रु चार अर्ब ५० करोड लागतमा बृहत खानेपानी योजना कार्यान्वयनमा ल्याइएको छ । यसबाट तराई–मधेसमा बढ्दो जलसङ्कट तथा सुक्खापनको दीर्घकालीन व्यवस्थापनका लागि राप्ती खोला खानेपानी पथान्तरण आयोजनाको सम्भाव्यता अध्ययन अघि बढाइएको मन्त्री यादवले जानकारी दिए ।

मन्त्री यादव आएपछि तराई–मधेसलगायत क्षेत्रका दीगो र भरपर्दो खानेपानी सेवा सुनिश्चित गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको साझेदारीमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामार्फत तराईका सर्लाही, रौतहट, महोत्तरी, धनुषा, बारा र पर्सा गरी छ जिल्लामा खानेपानी आपूर्तिका लागि दीर्घकालीन पूर्वाधार विकासको कार्य अघि बढाइएको मन्त्रालयका सहसचिव तथा योजना महाशाखा प्रमुख ई कमलप्रसाद श्रेष्ठले जानकारी दिए । उनले भने, “पछिल्ला एक वर्षमा खानेपानी मन्त्रालयले नीतिगत, कूटनीतिक र भौतिक पूर्वाधारका दृष्टिले महत्वपूर्ण फड्को मारेको छ, सेवा प्रवाहको सुदृढीकरणसँगै दीर्घकालीन तथा दिगो प्रणाली निर्माण भएको छ ।”

साथै काठमाडौँको सुन्दरीजलमा २५ दशमलव पाँच करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माणका लागि खरिद प्रक्रिया अघि बढाइएको छ भने सल्लाघारी, कोड्कु, धोबीघाटका ढल प्रशोधन केन्द्रको निर्माण पुनःसुरु भएको छ । कीर्तिपुर र महाँकालचौरमा क्रमशः ६० लाख र ८० लाख लिटर क्षमताका खानेपानी ट्याङ्की निर्माण गरिएका छन् ।

साथै खानेपानी तथा सरसफाइ नियमावली, २०८१ लागू, सहलगानी निर्देशिका अद्यावधिक, जनसहभागिता शुल्क ३० प्रतिशतबाट १५ प्रतिशत बनाइएको छ । मन्त्री यादवका अनुसार विभिन्न खानेपानी आयोजनाका लागि करिब रु १२ अर्बको बजेट सहमति प्राप्त गरी निर्माण अघि बढेको छ । “पछिल्लो एक वर्षमा बजेट फछ्र्यौट प्रक्रियालाई द्रुत गतिमा अघि बढाइएको छ, आर्थिक वर्ष २०८१/८२ मा खानेपानी तथा ढल व्यवस्थापन विभागको पुँजीगत खर्च ८६ प्रतिशत पुगेको छ”, उनले भने । मन्त्री यादवको सक्रियतामा पानी शुद्धीकरणको अभियान स्वरूप नयाँ आयोजना तथा खानेपानी उपभोक्ता संस्थामार्फत अनिवार्यरुपमा क्लोरिनेसन युनिट सञ्चालन गरिएको छ भने कर्णाली प्रदेशको भेरी पम्पिङ आयोजनाको ठेक्का सम्झौता, वनजग्गा स्वीकृति तथा रूख कटान अनुमति पश्चात निर्माण सुरु भएको छ ।

काठमाडौँ उपत्यकाको खानेपानी वृद्धिका लागि सिस्नेरी आयोजना विस्तृत अध्ययन सम्पन्न भई परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा देशभर ८६ वटा खानेपानी आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ । खानेपानी आपूर्ति सुधारका लागि काठमाडौँ उपत्यकामा एक हजार सात सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले जनाएको छ ।

जसअनुसार स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्र सात सय किलोमिटर पाइप विछ्याइएको छ । यस्तै, देशभरका विभिन्न जिल्लामा २० वटा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सञ्चालनमा ल्याइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख ई रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती परियोजनाहरू पुराना योजनाको मर्मतदेखि नयाँ निर्माणसम्म विभिन्न चरणमा छन् ।

गत असोजमा आएको अविरल वर्षाका कारण प्रभावित मुलुकभरका पाँच सय २५ वटा खानेपानी आयोजना पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको मन्त्री यादवले बताए । यी सम्पूर्ण आयोजना तथा सुधारात्मक कार्यहरूबाट करिब १५ लाख नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास मन्त्रालयले लिएको छ ।

सुन्दरीजल दैनिक साढे आठ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । याङ्ग्री, लार्केलगायत विगतको बाढीका कारण क्षतिग्रस्त मेलम्चीको इन्टेक स्थान्तरणका लागि अन्तरराष्ट्रिय परामर्शदाता छनौट प्रक्रिया अघि बढेको छ । पछिल्लो एक वर्षमा काठमाडौँ उपत्यका चक्रपथभन्दा बाहिर (कीर्तिपुर, पेप्सीकोला, मध्यपुर, थिमी, भक्तपुर र बौद्ध) क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाइएको छ ।

गत वर्षको बाढीले क्षति गरेको धोबीघाटमा रहेको तीन करोड ७० लाख लिटर क्षमताको फोहर पानी प्रसोधन केन्द्रको परीक्षणका लागि तयारी अवस्थामा रहेको मन्त्री यादवको भनाइ छ । खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गरी हिमाली तथा पहाडी जिल्लामा सहज, सुलभ तथा स्वच्छ खानेपानी वितरणको सुनिश्चित हुने गरी काम सुरु भएको उनको भनाइ छ ।

पोखरामा खानेपानी सुधार आयोजनामार्फत ४८ हजार पाँच सय, विराटनगरमा ४५ हजार नौ सय ८७ र झापाको बेलडाँगीमा २३ हजार सात सय ४३ जनसङ्ख्यालाई स्वच्छ खानेपानी आपूर्ति गरिँदै छ । यस्तै, वीरगञ्जमा १४ वटा नयाँ खानेपानी आयोजनाहरूको निर्माण कार्य सुरु भइसकेको मन्त्री यादवको भनाइ छ । यसअवधिमा जापानी सहयोग नियोग जाइकाको अनुदान सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको निर्माण तथा परीक्षण सम्पन्न भएको मन्त्रालयको भनाइ छ ।

 

 

चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनको उद्योग उत्पादन जुन महिनामा छ दशमलव आठ प्रतिशतले बढेको छ । यो वृद्धि अघिल्लो महिनाको पाँच दशमलव आठ प्रतिशतभन्दा छिटो हो ।चीनको राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको जानकारीअनुसार, चालु वर्षको पहिलो छ महिनामा चीनको उद्योग उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

यो तथ्याङ्क देशका ठूला उद्योगहरूको उत्पादनलाई जनाउने हो, जसको वार्षिक कारोबार कम्तीमा दुई करोड चिनियाँ मुद्रा बराबर हुन्छ ।
उद्योगका विभिन्न शाखाहरूमा छुट्टाछुट्टै हेर्दा, सामान्य उत्पादनमा सात प्रतिशतले वृद्धि भएको छ । उपकरण बनाउने क्षेत्रमा १० दशमलव दुई प्रतिशत र प्रविधिमा आधारित उद्योगमा ९ दशमलव ५ प्रतिशतको वृद्धि देखिएको छ ।

त्यसैगरी, वैकल्पिक ऊर्जा सवारी साधन र उद्योगमा प्रयोग हुने चलायमान यन्त्रहरूको उत्पादनमा क्रमशः ४३ दशमलव १, ३६ दशमलव २ र ३५ दशमलव ६ प्रतिशतको तीव्र वृद्धि भएको छ ।

अझै, देशको कुल उत्पादन (घरेलु आम्दानी) चालु वर्षको पहिलो छ महिनामा ५ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । उपभोग्य वस्तुको बिक्री पाँच प्रतिशतले बढेको छ भने दीर्घकालीन सम्पत्तिमा गरिएको लगानी २ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।

मालपोत कार्यालय भक्तपुरको परिसरबाट २४ लाख घुससहित प्रमुख र सहयोगी पक्राउ

भक्तपुर, ३१ असार : भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग मोही तल्सिङको मुद्दा मिलाउन भन्दै कार्यालय परिसरमै घुस लिएको रकम रु २४ लाख ५० हजार रकमसहित उनीहरूलाई पक्राउ गरेको हो । आयोगको टोलीले राउतको साथबाट रकम बरामद गरेर कार्यालयमै मुचुल्का उठाई नियन्त्रणमा लिएको हो ।

उदयपुरका घर भएका कार्यालय प्रमुख आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुर निवासी राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत टोलीले बरामद गरी नियन्त्रणमा लिएको छ । घुस रकम माग गरेको गुनासो अख्तियारमा परेपछि टोलीले आज छापा मारेको अख्तियारले जानकारी दिएको छ ।

राष्ट्रपति ट्रम्पको चेतावनीले शान्ति प्रक्रियामा असर पर्ने रूसी आशंका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने घोषणा र रूसी व्यापारिक साझेदारहरूमाथि सम्भावित प्रतिबन्धको चेतावनी दिएपछि रूसले उक्त अभिव्यक्तिलाई शान्ति प्रक्रियामा प्रतिकूल असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

राष्ट्रपति ट्रम्पले रूसलाई ५० दिनको समयसीमा दिँदै युक्रेनसँग शान्ति सम्झौता गर्न आग्रह गर्नुभएको छ । साथै, उहाँले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै युक्रेनलाई नयाँ अमेरिकी हतियार उपलब्ध गराउने योजनाको घोषणा गर्नुभएको छ ।

रूसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “वाशिङ्टन तथा नेटोका राष्ट्रबाट लिइएको यस्तो निर्णयलाई युक्रेनी नेतृत्वले सम्भवतः युद्ध जारी राख्न प्रोत्साहनको रूपमा बुझ्न सक्छ । ट्रम्पद्वारा व्यक्त विचार अत्यन्त गम्भीर छन्, र त्यसको यथोचित विश्लेषण आवश्यक रहेको छ ।”

अन्तर्राष्ट्रिय प्रतिक्रिया र सहयोगको स्वरूप

यदि उक्त अवधिमा शान्ति सम्झौता हुन नसकेको खण्डमा, राष्ट्रपति ट्रम्पले रूसका बाँकी व्यापारिक साझेदारमाथि उच्च दरको आयात कर (ट्यारिफ) लगाउने चेतावनी दिनुभएको छ, जसको उद्देश्य रूसको सैन्य अर्थतन्त्रमा प्रत्यक्ष असर पार्नु हो ।

हालसम्म रूसले चीन, भारतजस्ता व्यापारिक साझेदारहरूसँगको सहकार्यबाट पश्चिमी प्रतिबन्धको प्रभावलाई न्यून तुल्याउँदै आएको देखिन्छ ।
यसैबीच, डेनमार्क र नेदरल्यान्ड जस्ता युरोपेली राष्ट्रहरूले राष्ट्रपति ट्रम्पको प्रस्तावित योजनामा सहभागी हुने इच्छा व्यक्त गरेका छन् । उक्त योजनाअनुसार, अमेरिका निर्मित उच्च प्रविधियुक्त हतियार युक्रेनलाई आपूर्ति गरिनेछ ।

वार्ताको सम्भावना र द्विपक्षीय अडान

रूसले शान्ति वार्ताका लागि खुला रहनुको साथै युक्रेनी पक्षबाट समय र स्थान सम्बन्धी प्रस्तावको प्रतीक्षा गरिरहेको बताएको छ । यद्यपि, युक्रेनी नेतृत्वले वर्तमान रूसी वार्ता टोलीसँग संवाद गर्नु ‘अप्रभावकारी’ हुने धारणा व्यक्त गरेको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले अघिल्ला वार्तामा युक्रेनले सम्पूर्ण पश्चिमी सैन्य समर्थन त्याग्नुपर्ने तथा पूर्व र दक्षिणका चारवटा क्षेत्रहरूबाट सेना फिर्ता गर्नुपर्ने सर्तहरू राख्नुभएको थियो, जसलाई युक्रेन तथा उसका पश्चिमी सहयोगी राष्ट्रहरूले अस्वीकार गरेका छन् ।

जनस्तरको धारणा र सुरक्षाकर्मीको प्रतिक्रिया

रूसी राजधानी मस्कोमा सर्वसाधारणहरूले राष्ट्रपति ट्रम्पको अभिव्यक्तिलाई विविध दृष्टिकोणबाट व्याख्या गरेका छन् । एभिएसन इन्जिनिय स्वेतलानाले भन्नुभयो, “यो एक रणनीतिक खेलजस्तै हो । उहाँले ५० दिन दिनुभएको छ, त्यसपछि अर्को निर्णय आउनेछ । अब हामी हाम्रो राष्ट्रपतिको आगामी कदम प्रतिक्षा गरिरहेका छौँ ।”
त्यस्तै, युक्रेनका अग्रपंक्तिमा रहेर डटेर लडिरहेका सुरक्षाकर्मीहरूले आशावादी भए पनि सतर्क प्रतिक्रिया दिएका छन् । एक सैनिकले भन्नुभयो, “पछिल्ला अभिव्यक्तिहरूको आधारमा मात्र विश्वास गर्न गाह्रो छ । अतीतमा पनि यस्ता धेरै वाचा भएका थिए, तर सबै पूरा भएका थिएनन् ।”

एक अन्य सुरक्षाकर्मीले भन्नुभयो,“यदि यी हतियार केही समयअघि आएका भए, हामीलाई धेरै सहयोग पुग्थ्यो । तर अहिले पनि यदि यसले स्थिति सुधार गर्न सघाउँछ भने, हामी त्यसलाई सकारात्मक रूपमा लिन्छौँ ।”

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

महेन्द्रनगर (धनुषा), ३१ असार: मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंह र सङ्घीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवबीच मधेसमा विद्यमान खानेपानी समस्या समाधानको लागि छलफल भएको छ ।

आज मधेस भवन जनकपुरधाममा उहाँहरूबीच प्रदेशमा विद्यमान खानेपानी समस्या समाधानका लागि दुवै तहका सरकार मिलेर अगाडि बढ्ने विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेशका १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या गहिरिँदै गएकाले दीर्घकालीन योजनासहित मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।

मन्त्री यादवले जलवायु परिवर्तनका कारण उत्पन्न भएको सुक्खा समस्या र त्यसले उत्पन्न गरेको खानेपानीको सङ्कट दिनानुदिन गम्भीर बन्दै गएकाले समस्या समाधानका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सङ्घीय र प्रदेश सरकारले भएका साधनस्रोतको अधिकतम प्रयोग गरी समस्या समाधान गर्न र खानेपानीसँग सम्बन्धित ससर्त योजनालाई तत्काल कार्यान्वयन गर्न आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

छलफलमा प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवसहित सरोकार भएकाहरूको सहभागिता रहेको थियो ।

घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

ढोरपाटन (बागलुङ, ३१ असार : निसीखोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ झिम्पाका ५० वर्षीय कमल विकको आज दिउँसो भिरबाट लडेर मृत्यु भएको हो ।

कपासे भिरमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको निसीखोला गाउँपालिका–४ अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिनुभयो । विक भिरबाट करिब पाँच सय मिटर तल खसेको उहाँको भनाइ छ ।

विक भिरबाट लडेपछि उहाँसँगै गएका साथी रामबहादुर घर्तीले स्थानीयलाई खबर गरेपछि गाउँले घटनास्थलमा पुगेर उद्धार गर्दा मृत्यु भइसको अध्यक्ष पौडेलको भनाइ छ । भिरबाट लड्नुभएका विकको स्थानीयको खोजी कार्यपछि फेला परेको उहाँले बताउनुभयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, “धेरै अग्लो ठाउँबाट लड्नु भएको रहेछ, लडेको थाहा पाउँदा साथ गाउँलेहरू सबै गएर खोजी गर्‍यौँ, खोजी गर्दा लडेको ठाउँबाट धेरै तल शव फेला पर्‍यो ।”

देशमा धेरै काम गर्न सकिने ठाउँ छ : कुलपति राई

काठमाडौँ, ३१ असार : नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति भूपाल राईले देशमा दिनैपिच्छे भ्रष्टाचारका मात्रै समाचार आइरहेको भन्दै यसले देशलाई नै पछि पारिरहेको बताउनुभएको छ । नेपाल साहित्यिक पत्रकार सङ्घको १९औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै कुलपति राईले देशका नेताहरूका नाम जोडेर आइरहने दिनैपिच्छेका हेडलाइनले पीडादायी अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले भ्रष्टाचार नहुने हो भने देशका धेरै क्षेत्रमा धेरै काम गर्न सकिने अवस्था रहेको बताउनुभयो । कार्यक्रममा कुलपति राईले साहित्यिक पत्रकारिता साहित्यको रङ्गमञ्चमा प्रवेश गर्ने साहित्यकारको मूलद्वार रहेको बताउँदै यसको छुट्टै महत्त्व रहेको बताउनुभयो । आफूले पनि सुरूमा पत्रपत्रिकामार्फत लेखेर कवि बनेको स्मरण गराउँदै उहाँले साहित्यिक पत्रकारिताको क्षेत्रमा केही गरौँ भनेर गत वर्षदेखि दुईजना साहित्यिक पत्रकारलाई पुरस्कृत गर्न थालिएको बताउनुभयो ।

राज्यले अझै पनि साहित्यिक पत्रकारहरूलाई खास सम्झन नसकेको र त्यसको मुख्य कारण राज्यमा बस्ने मान्छे कस्तो छ, उनीहरूको विचार र चेतना कस्तो छ भन्ने कुराले निर्धारण गर्ने बताउनुभयो । उहाँले अहिले एआइका कारण पत्रपत्रिकामाथि चुनौती सिर्जना गरेको उल्लेख गर्दै कागजबाट विधुत्मा पुगेपनि इतिहास भुल्न नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “एआईले कविता लेख्न सुरू गरेको छ, तिमीहरूको कविता के हुन्छ भनेर मलाई सोध्ने गरिएको छ, मैले एआईले आँसु झार्छ कि झार्दैन ? भनेर सोध्ने गरेको छु , त्यसकारण मानिसको अन्तरमन जस्तो एआई हुँदैन, त्यसको महत्व छुट्टै छ ।” कार्यक्रममा सङ्घले भोजपुरी भाषाको पत्रिका ‘भोजपुरिंया माटी’का अग्रज साहित्यिक पत्रकार रामप्रसाद साह र गुल्मीका अग्रज साहित्यिक पत्रकार शशी पन्थीलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरेको थियो ।

कार्यक्रममा साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले गुठका मानिसलाई सम्मान गर्ने विकृति बढिरहेका बेला यहाँ वास्तविक र योग्य व्यक्तिलाई सम्मान गरिएकोमा प्रशंसा गर्नुभयो । उहाँले सरकारले खासै साहित्यिक पत्रकार र पत्रकारितालाई महत्त्व नदिएकोमा दःुख व्यक्त गर्नुभयो ।

पुरस्कृति व्यक्ति शशी पन्थीले पुरस्कार वा सहयोगको आशाले काम गरेको होइन काम गर्दै जाँदा फल पनि लाग्लो रहेछ भनेर आज थाहा पाएको बताउनुभयो । अर्का सम्मनित व्यक्ति रामप्रसाद साहले साहित्यक पत्रकारिता गर्न गाह्रो भएको र अझै प्रकाशन गर्न झनै गाह्रो रहेको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा अग्रज पत्रकार पुरूषोत्तम दाहालले साहित्यसम्बन्धी पत्रकारिता अग्नि तपस्या जस्तो लाग्ने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो कसरी चलाइरहेको होला भनेर छक्क परिरहेको छु । शशीजीले ५२ वर्षदेखि हाम्रो पुरूषार्थ चलाइरहनुभएको छ । अहिले हातहातमा पत्रकारिता पुगेको छ, एआइले गर्दा चुनौतीपूर्ण छ ।” उहाँले साहित्य भनेको मान्छेको चेतनासँग जोडिएको बताउनुभयो ।

सङ्घका अध्यक्ष मोहन दुवालले संस्था स्थापना भएको १९ वर्ष पुगिसकेको र संस्थाले केही प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाँले कसैको आशा गर्नुभन्दा पनि आफैँले केही प्रयास गर्नुपर्ने बताउनुभयो ।

देश स्थिरताको बाटोमा गएकाले अब द्रुत सेवा प्रवाह आवश्यक छः उपसभापति खड्का

भेरीगङ्गा (सुर्खेत), ३१ असारः नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले देशमा स्थिर सरकार बनेकाले अब जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस सुर्खेतद्वारा आज आयोजित सङ्गठन र समसामयिक विषयमा केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उहाँले संसद्का दुई ठूला पार्टी मिलेर छ÷छ महिनामा विश्वासको मत लिनुपर्ने अवस्था अन्त्य भई देश स्थिरताको बाटोमा गएको उहाँको बताउनुभएको हो ।

स्थिर सरकारले अब काममा जोड दिनुपर्छ भन्दै उपसभापति खड्काले भन्नुभयो,“दुई ठूला राजनीतिक दलबीचको सहकार्यका कारण देशमा सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू स्थिर देखिएका छन् । अब जनतालाई त्यहीअनुसारको डेलिभरी दिन आवश्यक छ ।”

उहाँले हालै सम्पन्न कांग्रेसको सात दिने विस्तारित बैठकलाई ऐतिहासिक भन्दै बैठकमा सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारहरूको कार्यसम्पादनको समग्र समीक्षा गरिएको बताउनुभयो ।

उपसभापति खड्काले पार्टीभित्रको सङ्गठन सुदृढीकरणका लागि विधानअनुसार केन्द्रीय अनुशासन समितिको निर्णय गरेको र त्यसमा चित्त नबुझेमा केन्द्रीय सभापतिमार्फत कार्यसमितिमा पुनरावेदन गर्न सकिने स्पष्ट व्यवस्था रहेको स्मरण गराउनुभयो ।

उहाँले क्रियाशील सदस्यता वितरण तथा नवीकरणसम्बन्धी कार्यहरू पार्टी विधानअनुसार जिल्ला तहकै अधिकार क्षेत्रभित्र पर्ने भएकाले यी कार्य तत्काल अघि बढाउन निर्देशन दिनुभयो ।

डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौँ, ३१ असार : नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४५ रुपैयाँ ५० पैसा, एक सय ४७ रुपैयाँ र एक सय ४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ तोकिएको छ ।

इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

विपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक, ३१ असार: विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न आजको सुरक्षा समिति बैठकले उक्त सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

कार्यालयले मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि उल्लेखित क्षेत्रमा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ ।

यसअघि यही असार ६ गते काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले विपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ः०० बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो ।

काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वर्षामा बाढीपहिरोको जोखिम भएकाले काठमाडौँबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने बताउनुभयो ।

गत वर्ष असोजको बाढीपहिरोले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो । त्यसपछि सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक सयौँ यातायातका साधान आउजाउ गर्छन् ।

बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पु¥याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियासमेत अघि बढाइरहेको जनाएको छ ।

चलचित्र ‘गुन्यो चोलो’ भदौ १३ गते रिलिज हुँदै, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो ।लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्रीकै रहेको छ । गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाह रहेको बताएको छ ।

गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ । महिलाको भेसमा रहेका उनको गज्जवको अदाह दिएका छन् । गेस्चर र पोस्चरमा पनि उनले मेहनत गरेका छन् । भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।निर्माण टिमले चलचित्र रिलिज डेट पनि घोषणा गरेको छ । ‘गुन्यु चालो ः द ड्रेस’ भदौ १३ गते रिलिज हुनेछ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चालो ः द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।

‘गुन्यु चोलो ः द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।

चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ ।

यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।

जलवायु न्यायको विषय संसद्लगायत मञ्चमा उठाउने कांग्रेस नेता कोइरालाको प्रतिबद्धता

काठमाडौँ, ३१ असार: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जलवायु न्यायको विषय आफूले संसद्लगायत विभिन्न मञ्चमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालयमा आज आयोजित छलफल कार्यक्रममा उहाँले जलवायु परिवर्तनको प्रभाव सबै क्षेत्रमा पर्ने भएकाले यो मुद्दा सबै मञ्चमा उठाएर जागरण फैल्याउनुपर्नेमा जोड दिनुभयो ।

जलवायु परिवर्तन हालको मुख्य मुद्दा भएकाले यसमा सरोकार भएका सबै निकायले काम गर्नुपर्ने नेता कोइरालाको भनाइ थियो ।संविधान संसोधनका सन्दर्भमा शान्ति समाजले अघि सारेको एजेण्डा महत्त्वपूर्ण भएको पनि उहाँले बताउनुभयो ।समाजका सभापति रेनुका पौडेलले संस्थाको गतिविधिकाबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य रोजिना विष्टले जलवायु न्यायसम्बन्धी शान्ति समाजको १० बुँदे धारणा प्रस्तुत गर्नुभएको थियो । समाजले संविधान संशोधनका गर्दा समेट्नुपर्ने विषयबारे अभियान सञ्चालन गर्दै आएको छ । यसैगरी विगत दुर्ई दशकदेखि प्राकृतिक विपत्तिका दौरान उद्धार, राहत र पुनर्वासका लागि बलियो स्थायी संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै आइएको समाजका कोषाध्यक्ष चन्द्रमणि बञ्जाराले बताउनुभयो ।कार्यक्रमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, पूर्वसभापतिहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र विभिन्न शाखा सदस्यहरूको सहभागिता रहेको थियो ।

अर्घाखाँचीमा पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

अर्घाखाँची ३१ असारः यहाँको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ।आज बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उहाँकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

दुवै जना रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएकामा समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेका डिएसपी मल्लले बताउनुभयो ।

ढुङ्गा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवैजनाको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माको भनाइ छ ।

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

गुल्मी, ३१ असार: आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । करिडोर सडकखण्डअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे र वडा नं ६ को बरल्वामा सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीको समन्वयमा सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनद्वारा डोजर र स्काभेटरको माध्यमबाट दुई दिनसम्म पहिरो पन्छाएपछि आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।

वर्षाका कारण दुवै स्थानमा चट्टानसहितको ठूलो पहिरो गएको हँुदा पहिरो हटाउन लामो समय लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले बताउनुभयो ।

पहिरोका कारण कुनै पनि समयमा जोखिम उत्पन्न हुनसक्ने भन्दै स्थानीय पालिका र प्रशासनले त्यस सडक क्षेत्रमा आवतजावत गर्ने मानिसलाई सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ । बर्सात सुरू भएसँगै कालीगण्डकी करिडोर सडक पटकपटक अवरुद्ध हुँदै आएको छ ।

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

नेपालगञ्ज, ३१ असारः भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र रु सात लाख ८७ हजार नगदसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट सुनका गहना र नगद चोरेर कोहलपुरस्थित होटेल न्यू कालीकोटेमा बसेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, बाँकेकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार पक्राउ पर्नेमा कालीकोट रासकोट नगरपालिका–१ निवासी ४२ वर्षीय मनबहादुर शाही र ४२ वर्षीय तेजबहादुर शाही, कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–८ बस्ने १८ वर्षीय पङ्कज केसी, सोही पालिकाको वडा नं ८ निवासी ४५ वर्षीय प्रेमबहादुर खत्री र ३८ वर्षीया अनिता खत्री तथा नरहरिनाथ गाउँपालिका–९ बस्ने २८ वर्षीया सरिता शाही रहेका छन् ।

सोमबार पक्राउ गरेका उनीहरूलाई जिल्ला अदालत बाँकेबाट आज म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

नक्कली नोट र लागुऔषधसहित पक्राउ

यस्तै, बाँकेको कोहलपुर नगरपालिका–१ बाट प्रहरीले नक्कली नोट र लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रालिका अध्यक्ष तथा सञ्चालक मनबहादुर सहकारी देउवा रहेका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

देउवालाई इलाका प्रहरी कार्यालय, कोहलपुर र सुर्खेतबाट आएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा अनलाइनको कार्यालयबाटै पक्राउ गरिएको हो । उनको साथबाट एक हजार दरका ५१ वटा नक्कली नोट र १९ किलो ३३५ ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ ।

वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ स्वीकृत

काठमाडौँ, ३१ असारः प्रतिनिधिसभाको आजको बैठकले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ स्वीकृत गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउन र सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्ने प्रयोजनले विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।

उहाँले परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने आयोजनामा सार्वजनिक ऋणको आकार बढ्दै गएको सन्दर्भमा सार्वजनिक ऋणको चाप कम गर्न, रोजगारी प्रवर्द्धन र दिगो आर्थिक विकासका लागि कानुनी आधार तयार गर्न विधेयक अगाडि बढाइएको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले विधेयकले विकासको गतिलाई तीव्रता दिन, विदेशी लगानी आकर्षण र पुँजी परिचालन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विकासका निम्ति वैकल्पिक वित्तको परिचालन गर्नुपर्ने नीति आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू वासुदेव घिमिरे, दामोदर पौडेल बैरागी, किरणकुमार साह, प्रतिमा गौतम, देवेन्द्र पौडेल, वर्षमान पुन, मेटमणि चौधरी, हितराज पाण्डे, ठाकुर गैरे, सराज अहमद फारुकी, बिमला सुवेदी, रञ्जुकुमारी झा, मैना कार्की र प्रेम सुवालले भाग लिनुभएको थियो ।

यसैगरी बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले प्रस्तुत गर्नुभएको ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको छ ।

सैधान्तिक छलफलमा सांसदहरू रामहरि खतिवडा, प्रतिमा गौतम, सीता मिजार, मैना कार्की, दामोदर पौडेल वैरागी, किरणकुमार साह, दुर्गा राई, प्रकाश ज्वाला, सराज अहमद फारुकी, रुपा सोशी चौधरी, ज्वालाकुमारी साहले सहभागी हुनुभयो ।
सांसदका प्रश्नको जवाफमा मन्त्री दाहालले विधेयकको औचित्यबारे चर्चा गर्नुभएको थियो । सभामा गणपुरक सङ्ख्या नपुगेपछि यो विधेयक आज पारित हुनसकेन । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ७ गते दिउँसो १ बजे बस्नेछ ।

कालिकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड

मुगु । सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालिकोटमा तोडफोड गरिएको छ । कालिकोटको तिलागुफा नगरपालिका गाल्जेमा वर्षाका कारण भत्किएको सडक निर्माण गर्न गएको स्काभेटर डोजर तोडफोड गरिएको हो ।

सडकको खाल्डो पुर्नका लागि गाल्जे गएको आर.डी. ०४२०६६ नम्बरको ह्याब्बी स्काभेटर डोजर कालिकोट जुपिथाका अपरिचित युवाले तोडफोड गरेका हुन् ।

सडक डिभिजन कार्यालय जुम्लाका सवारी चालक तेजेन्द्र हितानका अनुसार गाल्जेमा अवरुद्ध सडक निर्माणका क्रममा रहेको ह्याब्बी स्काभेटर डोजर जुपिथाका ६÷७ जना परिचित युवाको समुहले तोडफोड गरेको बताए ।उनले भने, ‘अवरुद्ध कर्णाली राजमार्गको गाल्जेमा स्काभेटरले २५ वटा होल खोपेको थियो । खोपेका २५ वटा होल मध्ये १० वटा होलमा माटोले पुरी दिएको छ ।’

सवारी चालक हितानले सव डिभिजन कार्यालय जुम्लाबाट गएको टोली माथी समेत हातपात भएको बताए ।
‘कर्णाली राजमार्ग निर्माणका क्रममा रहेको स्कोटरलाई तेल उपलव्ध गराउनका लागि गएको बा २ भ १६६८ नम्बरको गाडीको चालकलाई हातपात गर्ने प्रयास गर्दा गाडीको भाइजरसमेत फुटेको छ,’ उनले भने ।

कालिकोट जुपिथाका ५÷६ जना युवालाई कालिकोटको गाल्जेमा रहेको प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घटनाको थप आवश्यक अनुसन्धान भइरहेको छ ।

गरिबी र असमानता अन्त्यका लागि भूमि अधिकार आवश्यक: मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), ३१ असार: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोबास, गरिबी र सामाजिक असमानता अन्त्यका लागि भूमिको स्वामित्व आवश्यक रहेको बताउनुभयो ।

आज यहाँ भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यक्रममा उहाँले जग्गाको स्वामित्व नभएको व्यक्तिले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न नसक्ने भन्दै त्यही कारण सरकार सबै नागरिकलाई जग्गाधनी बनाउने अभियानमा लागेको उल्लेख गर्नुभयो ।

मख्यमन्त्री कँडेलले भूमिहीन तथा अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकारले नीति र कार्यक्रम अघि सारेको बताउनुयो । “हामी सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न चाहन्छौँ, त्यसका लागि भूमिको स्वामित्व अनिवार्य छ”, उहाँले भन्नुभयो,“आगामी दिनमा क्रमशः भूमिहीन र सुकुम्बासी परिवारलाई प्रमाणपुर्जा वितरणको कार्यलाई तीव्रता दिनेछौँ ।”

मुख्यमन्त्री कँडेलले चौकुने गाउँपालिका वडा नं ७ र ८ का १०४ जना भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नुभएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्ट, जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनार, भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतका संयोजक तथा सदस्यहरू, चौकुने गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षहरू, सरोकार भएका निकायका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।