नखिपोटमा खुला बास्केटबल आइतबारदेखि
काठमाडौं। नखिपोट युथ क्लबको आयोजनामा पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा हालसम्म पुरुषमा १८ तथा महिलामा ७ टिमको सहभागिता निश्चित भएको आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
उनले टिम दर्ताको समय शुक्रबारसम्म रहेकाले सहभागी टिमको संख्या बढ्न सक्ने बताए । पुरुषको खेल नकआउट तथा महिलाको खेल लिग कम नकआउट पद्धतिमा हुनेछ।
पुरुषमा नेपाल आर्मी तथा महिलामा माउन्टेन मुभर्स साविक विजेता हुन् । हरेक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने आयोजकले जनाएको छ । त्यसमा २ खेलाडीले खेल्न पाउने प्रावधान छ।
प्रतियोगितामा मोफसलबाट कम्तीमा २ टिमको सहभागिता पक्का भइसकेको आयोजक क्लबका सदस्य एवं प्रतियोगिता संयोजक विनोद श्रेष्ठले बताए । दुवै टिम धरानका हुन् ।
धरानबाट जोन एन्ड द लोकल ब्यान्ड र धरान टिमले सहभागिता पक्का गरिसकेका छन् । मोफसलबाट पहिलोपटक टिम सहभागी हुन लागेको हो।
