`

आन्दोलनरत कर्मचारीलाई कार्यस्थलमा फर्कन युनिभर्सल मेडिकल कलेजको आह्वान

रुपन्देही। रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल प्रशासनले आन्दोलनरत कर्मचारीलाई कार्यस्थलमा फर्कन आह्वान गरेको छ ।युसिएसएसका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पिएसले आज प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको उपचारलाई मध्यनजर गर्दै आकस्मिकसहित सघन उपचार, प्रसूतिलगायत सबै सेवाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी नियमित कार्यमा फर्किन आह्वान गर्नुभएको हो ।

वर्तमान परिवेशमा आन्दोलनका कारण कुनै पनि बिरामीलाई प्रतिकूल प्रभाव पर्न गएमा सोको जिम्मेवार तथा जवाफदेही आन्दोलनकारी पक्ष नै हुनेसमेत विज्ञप्तिमा जनाइएको छ । हाल देखिएका समस्यालाई वार्ताको माध्यमबाट समाधानका लागि आवश्यक ‘समन्वय तथा सहयोग’ गरिदिन स्थानीय प्रशासन तथा सरोकार भएका सबैमा अपिलसमेत गरिएको छ ।

यस कलेजमा कार्यरत नर्सिङ तथा प्यारामेडिक्स कर्मचारीले प्रशासनसमक्ष विभिन्न माग राखी विसं २०८२ कात्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले कात्तिक ११ गते मङ्गलबार दिउँसो १ बजेसम्म पनि माग सम्बोधन नभए पूर्ण रूपमा ‘पेनडाउन’ गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष साहको निधन

सिराहा । सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी दिए ।

नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो । मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उनको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो ।

साह स्थानीय तहको पहिलो निर्वाचन (२०७४ साल) र दोस्रो निर्वाचन (२०७९ साल) मा वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष साहका श्रीमती र दुई छोरी रहेका छन् ।

हुम्ला र मनाङको दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध

काठमाडौँ। हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्‍याउन का लागि पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष आग्रह गरिएको छ।हुम्लाको नाम्खा गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकाका स्थानीयवासीसहितको प्रतिनिधिमण्डलले आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेलसँग भेट गरी दूरसञ्चारको पहुँच विस्तारका लागि अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

नाम्खा–६ स्थित लिमी क्षेत्र, नार्पा भूमि–१ स्थित नार गाउँ र वडा नं ५ को फू गाउँलगायत स्थानमा गुणस्तरीय र भरपर्दो दूरसञ्चारको पहुँच विस्तार गर्न स्थानीयले माग गरेका छन् । नाम्खाका विभिन्न क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार तथा नार्पाको नार र फू क्षेत्रमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा विस्तार गर्न आग्रह गरिएको छ ।

प्रतिनिधिमण्डलको ज्ञापनपत्र ग्रहण गर्दै सञ्चारमन्त्री खरेलले हुम्लाको लिमी, लाप्चालगायत क्षेत्रमा दूरसञ्चारको साधन टेलिफोन र ‘इन्टरनेट’ सेवाको पहुँच स्थापित गर्न तथा मनाङको नार्पा भूमिका दुर्गम क्षेत्रमा फोरजी सेवाको पहुँच पुर्‍याउन पहल गर्ने विश्वास दिलाउनुभयो ।

देशका ग्रामीण क्षेत्रका जनतालाई सञ्चार आदान–प्रदान, ‘डिजिटल’ भुक्तानीलगायतमा सहज होस् भन्ने हेतुले आफूले निरन्तर पहल गरिरहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री खरेलले सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशमा टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो । नाम्खामा रहेको लिमी उपत्यका पर्यटकीय गन्तव्य हो ।

सिमिकोटका राजन रावतले हुम्लाको पर्यटकीय क्षेत्र लिमीलाई पर्यटनको आकर्षक केन्द्रका रुपमा स्थापित गर्न तथा सञ्चारको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चार सञ्जाल विस्तारको पहल गरिदिन सञ्चारमन्त्रीसमक्ष आग्रह गरिएको बताउनुभयो ।

लिमी र लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न सकिन्छ । तर, त्यहाँ पुग्ने विभिन्न पदमार्गहरुमा टेलिफोन र इन्टरनेटको सुविधा नहुँदा स्थानीय एवं पर्यटकलाई समस्या हुने गरेको छ ।

पर्यटकीय क्षेत्र लिमी, लाप्चा सल्ली, न्यालु र ताक्चीमा कुनै पनि सञ्चारको साधन नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ । लिमीमा तीनवटा टावर निर्माण गरी टेलिफोन र इन्टरनेट सेवा सञ्चालनका लागि स्थानीयले माग गरेका छन् ।

“हाम्रो मुख्य माग लिमी लाप्चालगायत क्षेत्रमा सञ्चारको उपयोग गर्न पाउनुपर्छ भन्ने हो”, उहाँले भन्नुभयो, “बर्सेनि हजारौँ पर्यटक भित्रिने क्षेत्रमा सञ्चारको पहुँच स्थापित गर्न हुम्लावासीले पहलकदमी लिएका हौँ । यसले स्थानीयवासी र पर्यटकलाई राहत मिल्नेछ ।”

नेपाल पत्रकार महासङ्घ हुम्लाका सदस्यसमेत रहनुभएका रावतले आफूहरुको मागलाई सञ्चारमन्त्रीले सकारात्मक लिनुभएको र आगामी दिनमा हुम्लालगायतका सबै ग्रामीण क्षेत्रमा सञ्चारको पहुँच विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । ती क्षेत्रमा टेलिफोन र इन्टरनेटको सहजता भएमा पर्यटक लाभान्वित हुनेछन् । लिमी क्षेत्रमा झन्डै ६ महिना हिमपात हुनेगर्छ । बाक्लो हिमपातले स्थानीय र पर्यटकलाई सञ्चार सम्पर्कमा कठिन हुने गरेको छ ।

लिमीका फुन्जोक छोपेल तामाङका अनुसार कैलाश मानसरोवर जाने लिमी क्षेत्रमा पर्यटकलाई सञ्चार सम्पर्क गर्न असहज भएको र स्थानीय बिरामी परेको अवस्थामा सम्पर्क गर्न तथा समयमै अस्पताल लैजान समस्या भएको छ । टेलिफोन र इन्टरनेट सेवा सुरु भए स्थानीयलाई राहत मिल्नाका साथै पर्यटकलाई सञ्चार आदान–प्रदानमा सहज हुने तामाङले बताउनुभयो ।

लिमी एकता तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिडेडका अध्यक्ष छिरिङ नेक्याप लामाले भिसेट फोन सेवालाई गुणस्तरीय बनाउन सम्बन्धित निकायमा ताकेता गरिदिन सञ्चारमन्त्रीसमक्ष अनुरोध गर्नुभयो । कर्णाली प्रदेशअन्तर्गत हुम्लाको सुदूर उत्तर पश्चिममा अवस्थित नाम्खा पर्यटकीय गन्तव्य हो । स्थानीयका अनुसार लिमी क्षेत्रमा वार्षिक १५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।

यस्तै मनाङको नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तन्जिङ लामाले वडा नं १ स्थित नार गाउँ र वडा नं ५ को फू गाउँमा दूरसञ्चार सेवालाई दिगो तथा गुणस्तरीय बनाउन तथा टेलिकमको फोरजी सेवा विस्तारका लागि स्थानीयले सञ्चारमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँका अनुसार ती क्षेत्रमा एक÷एकवटा नेपाल टेलिकमका टावर रहेको र इन्टरनेट सेवाका लागि टेकमाइन्स नेटवर्क प्रालिसँग सम्झौता भएको छ ।

टेलिकम टावर र इन्टरनेट सेवा न्यून गुणस्तर तथा भरपर्दो नहुँदा पिएएमएस, इजिपी, सिसिआइएमएस, इआइएमएसलगायत अधिकांश सेवा अनलाइनमा आधारित हुनाका साथै ओटिपिसमेत मोबाइल नेटवर्कका कारण प्राप्त नहुने र दैनिक रिपोर्टिङ गर्नुपर्ने तथ्याङ्क अनलाइन प्रणालीमा प्रविष्टि गर्न कठिनाइ भइरहेको छ ।

अनलाइनका लागि पालिका केन्द्रदेखि दुई दिन हिँडेर जिल्ला सदरमुकाम झर्नुपर्ने बाध्यता रहेको भन्दै अध्यक्ष लामाले दैनिक सार्वजनिक प्रशासन तथा सेवा प्रवाहमा अवरोध सिर्जना भएकाले गुणस्तरीय र दिगो सूचना तथा सञ्चार सुविधा अति आवश्यक रहेकाले सोको व्यवस्थापनका लागि यथासम्भव फोरजीसहितको मोबाइल नेटवर्कका लागि शीघ्र पहल गरिदिन मन्त्री खरेलसमक्ष अनुरोध गरिएको बताउनुभयो ।

तोडफोडपछि बन्द रहेको ह्यात होटल पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउँछ

काठमाडौँ, ९ कात्तिकः ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडपछि बन्द रहेको ह्यात होटल पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाइएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आज विज्ञप्ति जारी गरी गत भदौ २३ र २४ गते प्रदर्शनका क्रममा होटलमा धेरै क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

जेनजी आन्दोलनका क्रममा होटलमा भएको क्षतिको मूल्याङ्कन भइरहेको र पुनर्निर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ सङ्कल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ । “जेनजीको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथिकक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेस्टुरेन्ट, ब्याङ्क्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ । त्यसयता होटल पूर्ण रूपमा बन्द छ । स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने हाम्रो अनुमान छ”, विज्ञप्तिमा भनिएको छ ।

होटलले आगामी दिनमा सरकारको राजस्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पु¥याउने गरी सञ्चालन हुने प्रतिबद्धता पनि जनाएको छ ।

होटल बन्द भएपछि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ–सहयोग हुने आश्वासन दिनुभएको छ ।

राजदूत फिर्ता बोलाउने विषयमा १४ गते सुनुवाइ हुने

काठमाडौँ । राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा यही कात्तिक १४ गते सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही कात्तिक १४ गते अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षसँग छलफलका लागि पेसी तोकेको हो ।

अधिवक्ता प्रतिभा उप्रेतीले यही कात्तिक २ गते प्रतिनिधिसभा विघटन भएको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने कुनै गुञ्जायस नै नभएको अवस्थामा राजदूत नियुक्ति संविधानतः हुन सक्ने अवस्था नै नभएकाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय गैरकानुनी भएको उल्लेख गर्दै उक्त निर्णय बदरको माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् ।

अदालतको आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटोको म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ लिई आउनुहोला ।”

सरकारले गत असोज ३० गते कात्तिक २० गतेभित्र ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । फिर्ता बोलाइएका राजदूतमा चीनका प्राडा कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका प्रा धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेश विक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा. दुर्गाबहादुर सुवेदी रहेका छन् ।

T

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

साँखरमा पहिरो नियन्त्रणका लागि भूकम्प प्रतिरोधकता परीक्षण अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गरिने कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिए ।

गत असोज १८ गते सडक भासिएको उक्त खण्ड हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । यसअघि विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मस्र्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको हो ।

एकैसाथ ३६ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ ।  गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालको आजको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो ।

मन्त्रालयले आज साँझ जारी गरेको सूचनामा कुल ३१ प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ ।

गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत खिमबादुर रायमाझीलाई जुम्लाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । जुम्लाका प्रजिअ केदारनाथ शर्मालाई गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृत बनाइएको छ । गृह मन्त्रालयका सहसचिव वासुदेव घिमिरेलाई झापाको प्रजिअमा सरुवा गरिएको छ भने झापाका प्रजिअ गोपालकुमार अधिकारीलाई काभ्रेपलाञ्चोकको प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै गृहका सहसचिव गोगनबहादुर हमाललाई बर्दियाको प्रजिअमा पदस्थापन गरिएको छ भने बर्दियाका प्रजिअ सुरेन्द्र पौडेललाई सिरहामा सरुवा गएिको छ । यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेललाई मोरङको प्रजिअमा सरुवा गरिएको छ भने मोरङका प्रजिअ इन्द्रदेव यादवलाई महोत्तरी पठाइएको छ ।

गृहको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई ललितपुरको प्रजिअमा पठाइएको छ भने ललितपुरका प्रजिअ सुमन घिमिरेलाई सोही विभागमा ल्याइएको छ । रुपन्देही, कैलाली, नवलपरासी, महोत्तरी, दोलखा, पर्सा, उदयपुर, डडेलधुरा, लमजुङ, बाँके, बर्दिया, जुम्ला, अर्घाखाँची, रौतहट, कपिलवस्तु, सिन्धुली, अछाम, गुल्मी, सुनसरी, ललितपुर, भक्तपुर, मोरङ, झापा, काभ्रे, बारा, धनकुटा, धनुषा, मकवानपुर, गोरखा, सर्लाही र सिरहाका प्रजिअको सुरुवा गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

स्रोत नखुलेको करिब ७० लाखसहित पक्राउ परेकाविरुद्ध आठ दिन म्याद थप

काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ८५ हजार रकम र सुनका गहनासहित पक्राउ गरेका दुई जनामाथि आठ दिन म्याद थप गरिएको छ ।तिहार बिदाको समयमा यही कात्तिक ५ गते पक्राउ परेका धादिङको नीलकण्ठ नगरपालिका दुई घर भई हाल काठमाडौँ बस्ने २२ वर्षकी रोजिना सुनार र चिनिया नागरिक झाओ झोङलाई आज म्याद थपिएको हो । दुवैलाई बिदा खुलेपछि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनार बैंकीङ कसुरमा फरार रहेको अभिलेखसमेत पाइएको बताए ।दुवै जनालाई नागार्जुन नगरपालिकास्थित सानो भर्‍याङमा अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको थियो । निजका साथबाट रु ६९ लाख ८५ हजार नगदसहित सुनको झुम्का चार थान, बाला चार थान र मोबाइल पाँच थान बरामद गरिएको थियो ।

शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन मधेस प्रदेशको भ्रमणमा जाने भएका छन् ।उनीसँगै भ्रमण दलमा उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दङ्गाल पनि रहेका प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनीहरू सोमबार जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको रावलले बताए। सोमबार र मंगलबार त्यहाँ रहँदा मन्त्री अर्यालसहितको टोलीले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्ने र छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने संयोजक रावलले जानकारी दिए ।

विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग १०६ रनले पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपाल अमेरिकासँग पराजित भएको छ ।भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकासँग १०६ रनले हार ब्यहोरेको हो । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमा अलआउट भयो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४०, आसिफ शेखले ३७, भिम सार्कीले २९, आरिफ शेखले २० तथा सोमपाल कामीले ११ रन बनाए ।

कुशल भुर्तेल र सन्दीप लामिछानेले खाता खोल्न सकेनन् भने रोहित पौडेलले दुई रनमात्रै बनाए । यस्तै, गुलशन झा ३ रनमा आउट हुँदा ललित राजवंशी शून्यमा अविजित रहे ।

नेपाललाई सस्तैमा समेट्न हर्मित सिंह एक्लैले ६ विकेट लिए । यस्तै, शुभम रन्जानेले दुई तथा रुशिल उगरकरले एक सफलता हात पारे ।त्यसअघि दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा टस हारेर पहिले ब्याटिङ थालेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २६२ रनको योगफल तयार गर्यो ।

अमेरिकाका लागि स्मित पटेल र मिलिन्द कुमारले अर्धशतकीय इनिङ्स खेले । पटेलले १०० बलमा ७५ रन बनाउँदा कुमार ५० बलमा ७० रनसहित अविजित रहे । यस्तै, सैतेजा मुक्कामल्लले ४२, शुभम रन्जनेले १९, हर्मित सिंहले १६ रन जोडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

जलवायुका कारण सगरमाथा हिमक्षेत्र उच्च जोखिममा

काठमाडौँ, कात्तिक ९ –पछिल्लो अध्ययनले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमताल विष्फोटन, हिमपहिरो तथा छिटो हिउँ पग्लने जोखिम बढेको देखाएको छ ।अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको ‘थामे उपत्यका हिमताल विष्फोटन बाढीको कारण, प्रभाव, र भविष्यका जोखिम’ नामक अध्ययनमा उक्त क्षेत्रमा प्रत्येक दश वर्षमा औसत ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको उल्लेख छ । उक्त अध्ययन ईसिमोडका जोखिम विशेषज्ञहरू सुदनविकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरुणभक्त श्रेष्ठले गर्नुभएको हो ।

अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व हिमनदीको पग्लिने दर बढ्नेजस्ता समस्या भोगिरहेको देखाएको छ । यो दर पछिल्ला दशकमा पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ । द्रुत हिमनदीको प्रभावका कारण अमू दरिया, सिन्धु, गङ्गा, ब्रह्मपुत्र र इरावदी बेसिनका २५ हजारभन्दा बढी हिमताल वृद्धि भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष भएको हिमताल विष्फोटनको बाढी सम्बन्धमा गरिएको उक्त अध्ययनले सो पुष्टि गरेको हो । भूगर्भीय र भूआकृतिक कारकहरूको विनाशकारी, जटिल र श्रृङ्खलाबद्ध असरले सो क्षेत्रमा हिमताल विष्फोटन बाढीको शक्तिलाई बढाइदिएको अध्ययनमा उल्लेख छ ।

इसिमोडको अध्ययनका एक लेखक ‘रिमोट सेन्सिङ विश्लेषक’ सुदन विकास महर्जनले हिन्दुकुश हिमालयमा २५ हजारभन्दा बढी हिमताल रहेका र थामे घटनाले तुलनात्मक रूपमा साना तालबाट पनि हुने जोखिम बुझ्न र रोक्नका लागि धेरै प्रयास गर्न आवश्यक छ भन्ने देखाएको उल्लेख गर्नुभयो । अध्ययनमा जलवायु परिवर्तनका कारण थामेमा बिनाशकारी क्षति पुगेको उल्लेख छ ।

अध्ययनले चार हजार नौ सय मिटर उचाइमा रहेको हिमतालमा ठूलो चट्टान खस्दा बाँध भत्किएर एक लाख ५६ हजार घन मिटर पानी बाहिरिएको देखाएको छ । उक्त पानी १२० मिटर तल रहेको अर्को तालमा खस्दा तालमा २२ मिटर अग्लो र ५१ मिटर चौडा प्वाल परेको थियो । त्यसले थप तीन लाख तीन हजार घनमिटर पानी बाहिरिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

दुवै तालमा भएको पानी एक साथ बग्दा पानीको बहाव अत्यन्तै तीव्रभएको र त्यसले ठूला ढुङ्गासहितका भग्नावशेषलाई ८० किलोमिटर तलसम्म बगाएर लगेको थियो । त्यसपछि उत्पन्न बाढीले आफ्नो बाटोमा पर्ने नदी किनारमा क्षति गरेको थियो ।

नदीको प्राकृतिक रूपमा साँघुरिएको भाग र अस्थायी रूपमा जम्मा भएको बाढीको पानी बगेर जाँदा बाढीले ठूलो रुप लिएको थियो । “यसले गर्दा ठूलो क्षति भएको, थामे गाउँ नजिकको करिब आधा किलोमिटर चौडा उपत्यका भग्नावशेषहरुले भरिएको थियो ।”

बाढीले निजी घर, एउटा विद्यालय, स्वास्थ्य चौकी, पुल र एउटा जलविद्युत् आयोजनालाई क्षति पुर्याएको थियो । उक्त घटना दिउँसो भएकाले र पानी जम्मा भएको कारण बाढी चरणबद्ध रूपमा आएकाले मानवीय क्षति हुन नपाएको प्रतिवेदनमा उल्लेख छ । उक्त विपद्ले १३५ व्यक्ति विस्थापित र २५ घर नष्ट भएका थिए ।

नेपालमा सन् १९२० को दशकदेखि यता ९० भन्दा बढी हिमताल विष्फोटन भइसकेका छन् । जसमध्ये सगरमाथा क्षेत्रमा मात्रै ५० वर्षभन्दा कम अवधिमा पाँचवटा यस्ता ठूला घटना भइसकेका छन् ।

हिमताल विष्फोटन बाढी उच्च हिमाली क्षेत्रमा सबैभन्दा विनाशकारी र प्रमुख खतरामध्ये पर्दछन् । केही घण्टाभित्रै लाखौं घन मिटर पानी र भग्नावशेष छोड्न सक्ने क्षमता भएका यस्ता घट्नाले तल्लो तटीय क्षेत्रमा विनाशकारी क्षति पुर्याउँछन् ।

अध्ययनका सहलेखक इमिमोडका हिम विश्लेषक तेन्जिङ छोग्याल शेर्पाले जलवायुका अति गम्भीर घटना बढ्दै जाँदा, थामे जस्ता बाढीका घट्ना एउटा कठोर सम्झना र आत्म–चिन्तनको क्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले पहाडी समुदायहरूले कसरी जलवायु–प्रेरित विपत्तिहरूको चपेटा सहिरहेका छन् भन्ने देखाउँछ । यस्ता अध्ययनले जलवायु परिवर्तनका वास्तविकताहरू बुझ्न सहयोग गर्छ ।”

इसिमोडका वरिष्ठ सल्लाहकार तथा अध्ययनका सहलेखक अरुणभक्त श्रेष्ठले थामे घटनाले हिन्दुकुश हिमालय क्षेत्रमा विश्वको तुलनामा झन्डै तीन गुणाले तापक्रम वृद्धि भइरहेकाले यस क्षेत्रका हिमनदीमा खतरा बढ्दै गएको बताउनुभयो । “पछिल्ला दुई वर्षमा मात्रै, हामीले यस क्षेत्रमा हिमताल विष्फोटन बाढीसहित धेरै उच्च हिमाली खतराहरू देखेका छौं, त्यसैले अब यस क्षेत्रमा वास्तविक सूचना तत्काल सुदृढ गर्न थप बाढी र मौसम पूर्वानुमान स्टेसन स्थापना र भविष्यमा हुनसक्ने घट्नाबाट हुने क्षति घटाउन ईन्जिनियरिङ संरचना, जस्तै नदीकिनार सुरक्षणसम्बन्धी काम गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

थामे घटनाले हिमवत क्षेत्र र विपद्सम्बन्धित घटना बुझ्न र भविष्यमा कार्यान्वयन योग्य नीति निर्माणका लागि पाठ सिकाएको छ । हालसालै, यस क्षेत्रमा ‘बिल्डिङ एडप्टेसन एण्ड रेजिलेन्स इन द हिन्दु कुश हिमालयज’ परियोजनाले विपद्को लागत र जोखिम घटाउनेमा ध्यान केन्द्रित गरेको छ ।

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत,चार महिनाभित्र पूरा गरिसक्ने

चितवन, कात्तिक ९-भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठपश्चात् कामलाई तीव्रता दिइएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरण गरिरहेको छ । अहिले ६५ प्रतिशत क्षेत्रमा तार बिछ्याइएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिनुभयो । यो सकिएसँगै घरमा विद्युत् जोड्ने छौँ । “ठेकेदार कम्पनीले छठलगत्तै तीव्रता दिएमा भरतपुरतर्फको काम शीघ्र सकिनेछ ।”

यहाँको काम ७५ प्रतिशत पूरा भएको जनाउँदै इञ्जिनियर सुवेदीले पाइप जडान, डिभाइस जडान, फाउण्डेसन निर्माणलगायत सकिएको बताउनुभयो । उहाँका अनुसार भरतपुर र पोखराको काम सक्न समय थपगरी सन् २०२६ जुलाईसम्म पु¥याइएको छ । तेस्रो पटक असोज अन्तिमसाता समय थप गरिएको जनाउँदै उहाँले पोखरामा विद्युत् भूमिगतको काम ६० प्रतिशत पूरा भएको बताउनुभयो ।

केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएकामा अहिले थपगरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गर्न थालिएको आयोजनाका प्रमुख इञ्जिनियर सुवेदीले जानकारी दिनुभयो ।

पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ । आयोजना प्रमुख इञ्जिनियर सुवेदीका अनुसार महानगरभित्र विद्युतीय तार भूमिगत गर्न रु एक अर्ब ४० करोड लागत अनुमान गरिएको छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट बिवनयोजन गरिएको थियो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटकपटक म्याद थप गरेर कामलाई अघि बढाइएको आयोजना कार्यालयले जनाएको छ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले उक्त आयोजना अघि बढाएको हो ।

निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्नेमा ‘प्रचण्ड’को जोड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको माध्यममार्फत संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। माओवादी केन्द्र गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिस्थितिमा निर्वाचनको अर्को विकल्प नभएको बताए ।

केन्द्रीय महाधिवेशन आयोजक समिति संयोजक दाहालले भनो,“हामी निर्वाचनबाट पछि हट्ने कुरा हुँदैन । निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारलाई सबै ढङ्गले दबाब दिनु आवश्यक छ । पछिल्लो परिस्थितिको निकास यसैबाट हुनसक्छ ।”

‘जेनजी’ प्रदर्शनको गम्भीर समीक्षा गरेर माओवादीले जटिल परिस्थितिमा देशलाई निकास दिन निर्वाचन नै विकल्प भएको निष्कर्ष निकालेको उनको भनाइ थियो । पछिल्लो समय निर्वाचनको वातावरण बन्दै गएको र अन्य दल पनि निर्वाचनमा भाग लिन तयार भइसकेको संयोजक दाहालले बताए ।

कुनै पनि बहानामा फेरि अर्को दुर्घटना हुन नदिने जिम्मेवारी सबैको रहेको भन्दै उनले त्यसका लागि पनि तोकिएको समयमा निर्वाचन हुनुपर्ने धारणा राखे। संयोजक दाहालले ‘जेनजी’ पुस्ताले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे आफ्नो पार्टीले सुरुदेखि नै आवाज उठाउँदै आएको पनि उल्लेख गरे ।

रास्वपाले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने भएको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले मतदाता नामावली अद्यावधिक गराउन पार्टीको तर्फबाट अभियान नै चलाउने निर्णय गरेको रास्वपाका सदस्य गणेश पराजूलीले जानकारी दिए ।

उनले बैठकमा कात्तिक २१ र २२ गते बस्ने केन्द्रीय समितिको विस्तारित भेलाको तयारी, मतदाता नामावली अद्यावधिक, समसामयिक राजनीतिको समीक्षा लगायत विषयमा छलफल भएको बताए ।‘कात्तिकको २१ र २२ गतेको लागि तय भएको विस्तारित भेलामा प्रस्तुत गर्ने राजनीति प्रतिवेदन र र ती विषयहरुमा राख्न पर्ने कुराहरुका विषयमा पनि छलफल भएको छ ।

रास्वपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचन केन्द्रीय हुनेबारे छलफल भएको छ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय दिएकाले पार्टीको तर्फबाट नामावली दर्ताका लागि अभियान नै चलाउन जानुपर्नेमा जोड दिएको छ’, उनले भने ।

भ्रष्टाचार कुनै रूपमै सह्य हुने छैन : नवनियुक्त मन्त्री गौतम

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने निर्णय गरेकी छन् ।

‘जेनजी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरूको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ । यसको डिटेल हाम्रो विज्ञहरूबाट वर्कआउट हुन्छ त्यसपछि फेरि तपाईंहरूलाई बताउँछु,’ उनले भनिन् । उनले विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने बताइन् ।

साथै उनले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक दुबै प्रकारका भ्रष्टाचार अन्त्य गर्न निर्देशन दिएकी छिन् । गौतमले कुनै पनि किसिमको भ्रष्टाचार सह्य नहुने चेतावनी दिइन् । उनका अनुसार अनावश्यक रूपमा आफन्त वा नातेदारलाई प्राथमिकता दिने, कार्यालयका काममा काखापाखा गर्ने जस्ता व्यवहार पनि भ्रष्टाचारकै रूप हुन् ।

मन्त्री गौतमले स्वास्थ्य क्षेत्रलाई पारदर्शी र जनमुखी बनाउन सबै कर्मचारीलाई इमानदारीपूर्वक जिम्मेवारी वहन गर्न आग्रह गरेकी छिन् ।
उनले भनिन्, ‘कुनै पनि कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । भ्रष्टाचार आर्थिक रुपमा पनि हुन्छ र प्रशासनिक रुपमा पनि हुन्छ । हामीले अनायसै रुपमा काखापाखा गर्ने कुराहरु पनि भ्रष्टाचारकै अंगहरु हुन् । त्यसकारण यस्तो चाँही नहोस् भनेर हामीले ख्याल गर्नुपर्छ ।’

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै, को को बन्दैछन् मन्त्री ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।मन्त्रिपरिषद्‌मा पर्यटन, स्वास्थ्य, खेलकुद र श्रमसहित चार नयाँ मन्त्री थपिने बालुवाटार स्रोतले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी गणपतिलाल श्रेष्ठलाई , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सुधा गौतमलाई , युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बब्लु गुप्तालाई र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्धालयको जिम्मेवारी खगेन्द्र सुनारलाई दिने तयारी गरिएको बताइएको छ ।

चार नयाँ मन्त्री थपिएपछि प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ १२ सदस्यीय बन्नेछ।

भटौलीको पाँचौँ वडा कप पुरुष भलिबल प्रतियोगिताको उपाधि भटौली टाइगरलाई

रामेछाप । मन्थली नगरपालिका–७ भटौलीको पाँचौँ वडा कप पुरुष भलिबल प्रतियोगिताको उपाधि भटौली टाइगरले जितेको छ । ९ टिमले भाग लिएको खेलमा भटौली स्टार ए लाई पराजित गर्दै भटौली टाइगरले उपाधि जितेको हो । भटौली टाइगरले उपाधिसँगै नगद ३० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने भटौली स्टारले २० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा मुगिटार समाज तेस्रो भएको छ । उसले नगद १० हजार, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्तोना स्थान प्राप्त गर्ने भटौली लाइनले नगद ५ हजार मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताका विजयी खेलाडीहरूलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, वडा नं ७ का वडाध्यक्ष भुवनहरि प्रसाईँ लगायतले नगद पुरस्कारका साथै सिल्ड, मेडल र प्रमाण पत्र वितरण गरेका छन् ।

शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

शनिबार पाथीभरा मन्दिरमा ६ हजार ३९३ जना भक्तजनले दर्शन गरेका थिए।दशैँतिहार र चैतेदशैँको समयमा यहाँ धेरै भक्तजन आउने गर्छन्।गत असोज महिनाभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए।ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे ।

बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए । पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ । तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन् ।

समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । यो लिगको ८६ औँ खेल हो ।
आइतबार नेपाल बलियो टोली संयुक्त राज्य अमेरिकासँग भिड्न लागेको हो । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेट सुरु हुनेछ ।

नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्न लागेको हो ।केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंकतालिकाको ७ औँ स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका भने २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।लिग–२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म हुँदैछन्।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक १३ गते (बिहीबार) युएईसँग खेल्ने तालिका छ । यस्तै, शृङ्खलाको तेस्रो खेलमा कात्तिक १५ गते (शनिबार) अमेरिकासँग खेल्ने छ भने शृङ्खलाको अन्तिम खेलमा नेपालले कात्तिक १९ गते (बुधबार) युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३% ले वृद्धि भएको छ।सोही अवधिमा चिया निर्यात भने ४०.९०% ले घटेको छ।कार्यालयका अनुसार अन्य वस्तुहरूमा पनि निर्यातको मात्रामा वृद्धि र कमी आएको छ।झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको हो ।

तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१र८२ को सोही अवधिमा रु एक अर्ब सात करोड २२ लाखबराबरको अलैँची निर्यात भएको उनले बताए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको तीन महिनामा चियाको निर्यात ४० दशमलव ९० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु एक अर्ब एक करोड २१ लाख ८६ हजार मूल्यबराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१र८२ को सोही अवधिमा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजारबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट एक सय २६ प्रतिशत, छुर्पी ६१ दशमलव ८० प्रतिशत, प्लाइउड शतप्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ७१ दशमलव ४० प्रतिशत, धातुका अन्य अवशेष शतप्रतिशत, मुसुरो दाल चार सय ८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा ३२ दशमलव ३० प्रतिशत र अम्रिसो निर्यातमा २४ प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा रु चार अर्ब ८० करोड ३९ लाख २४ हजारको मालवस्तु निर्यात भएको छ ।

सुदूरपश्चिमका शक्तिपीठहरुमा जात्राको रौनक

बैतडी । दसैँ र तिहारजस्ता ठूला पर्व सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा जात्राको रौनक सुरु भएको छ । कार्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङलगायत जिल्लाका शक्तिपीठ तथा मन्दिरहरूमा जात्रा लाग्ने गर्दछ ।

कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गरेको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताए । उनले भने, “दसैँको समयमा जात्रा लागेका मन्दिरहरूमा पनि कार्तिक शुक्ल पक्षमा समेत पूजाआजासहित जात्रा हुने गरेको छ । शरद ऋतु देवीदेवताहरूको पूजाउपासना गर्ने उत्तम ऋतुका रूपमा मानिन्छ । त्यसैले कार्तिक शुक्ल पक्षमा देवीदेवताहरूको पूजन गर्ने चलन रहिआएको छ ।”

कार्तिक शुक्ल प्रतिपदादेखि नै विभिन्न मन्दिरमा जात्रा सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म जात्रा मनाउने चलन रहिआएको दार्चुलाको लेकमका नरेन्द्र रावलले बताए । उनले भने, “असोजको दुर्गा पक्षमा मात्र नभएर कार्तिक शुक्ल पक्षमा पनि विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठहरूमा सामूहिक पूजाआजा गर्ने चलन छ । कार्तिक मास उत्तम भनेर शास्त्रमा समेत लेखिएकाले यो महिना देवीदेवता पूजनका लागि उत्तम रहेको मानिन्छ ।”

कार्तिक शुक्ल पक्ष सुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार, मेलौली भगवती, फाल्ङासैनी भगवती, शिवनाथ, महारुद्र, त्रिवणीधाम (राताशीला), गणमेश्वर, जगन्नाथ मन्दिरमा जात्रा लाग्ने गर्दछ । यस्तै कफलाशैनी भगवती, जगन्नाथ, सिगास धुरा, सनशेर, सुरपाल, अनिरुद्रलगायत मन्दिरहरूमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गर्दछ ।

यस्तै दार्चुलामा रहेको मालिकार्जुन धाम, लटिनाथलगायत मन्दिरमा जात्रा लाग्ने गर्दछ । लटिनाथ मन्दिर बन्तोलीमा कार्तिक शुक्ल द्वितीयाको राति जात्रा लागिसकेको छ । यस्तै डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ ।

डोटीमा रहेको बडिकेदार मन्दिरमा कार्तिक शुक्ल पक्षमै जात्रा लाग्ने गरेको स्थानीयहरूले बताएका छन् । त्रिपुरासुन्दरी भगवती, रौलाकेदार, शिवनाथ, महारुद्रलगायत मन्दिरमा कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ भने मेलौली भगवती, फाल्ङासैनी भगवती, उग्रतारालगायत मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यस्तै जगन्नाथ र गणमेश्वर मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । यसैगरी प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ । यहाँ लाग्ने जात्रामा दर्शन गर्न सीमावर्ती भारतीय नागरिक पनि आउने गर्दछन् ।

बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्रामा दर्शन गर्न सीमावर्ती भारतीय नागरिक पनि आउने गरेका स्थानीय नरेन्द्र थापाले बताए । उनले भने, “कार्तिक शुक्ल सप्तमीदेखि सुरु भई कार्तिक शुक्ल अष्टमीका दिन लाग्ने मेलामा भारतको झुलाघाट, पिथौरागढलगायत क्षेत्रबाट हजारौँ दर्शनार्थी आउने गरेका छन् । भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ । हाम्रा सांस्कृतिक चाडपर्वमा भारतीय दर्शनार्थी आउने गर्दछन् ।”

प्रत्येक वर्ष हजारौँको लगानी गरेर भारतीय दर्शनार्थीहरू नेपालका बैतडी, डडेल्धुरा, दार्चुला पुग्ने गरेको भारतीय पत्रकार प्रमोद भट्टले बताए । उनले भने, “विशेष गरेर त्रिपुरासुन्दरी भगवती मन्दिरमा दर्शनका लागि हामी पुस्तौँदेखि आउने गरेका छौँ । यो वर्ष पनि हजारौँले दर्शनको तयारी गरेका छन् । कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा हामी भगवती मातालाई भाकलअनुसारका चिजवस्तु अर्पण गर्ने गर्दछौँ ।” जात्राकै लागि भनेर कैलाली कञ्चनपुरमा बसाइँ सरेकाहरू पनि आउने गरेका छन् । देवीदेवताका मन्दिरमा लाग्ने सामूहिक जात्राले सामाजिक, आत्मीयता र भ्रातृत्वको भावना बढाउने विश्वास गरिएको छ ।

चिसो बढेपछि हुम्लाको लिमी प्रहरी चौकी सदरमुकाम स्थानान्तरण

हुम्ला । अत्यधिक चिसो भएपछि उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-६ लिमीस्थित इलाका प्रहरी चौकी सुनखानी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ ।लिमीलगायत उच्च भेगमा चिसो अत्यधिक बढ्दै गएको र तापक्रम माइनसमा भएका कारण प्रहरी चौकी ६ महिनाका लागि सदरमुकाम स्थानान्तरण गरिएको हो । गत असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सिमकोट फर्केका हुन् ।

चिसो निकै बढ्दा सुरक्षाकर्मीलाई सदरमुकाम सिमकोट फिर्ता बोलाइएको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । तेइस जनाको दरबन्दी भए पनि हाल उक्त चौकीमा प्रहरी नायब निरीक्षक नरबहादुर चन्दको नेतृत्वमा १४ प्रहरी कार्यरत थिए ।

प्रहरी नायब निरीक्षक चन्दले बाक्लो हिमपातपछि चिसोले बस्न नसकेपछि जिल्लालाई खबर गरेको बताए । धारामा पानी जम्ने तथा तापक्रम माइनस आठ डिग्री सेल्सियसमा झरेपछि काम गर्न कठिन भएको उनले बताए

नारायणपुर–राजपुर खण्ड नबन्दा हुलाकी सडक अधुरो, ६ अर्ब बजेट लाग्ने अनुमान

बाँके । राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडक खण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो अवस्थामा छ ।नारायणपुर–राजपुर सडक निर्माण गर्न निर्देशनालयले केही वर्षअघि नै डिपिआर तयार गरिसके पनि निर्माण कार्य सुरु हुन सकेको छैन । डिपिआरअनुसार यो खण्ड निर्माण गर्न करिब रु. ६ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले सो खण्डमा सडक निर्माण नगरिए हुलाकी राजमार्ग अधुरै रहने निष्कर्षसहित निर्माण प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रमुख भण्डारीका अनुसार यो खण्डमा निर्माण कार्य अगाडि बढाउन स्रोत सुनिश्चितका लागि सम्बन्धित निकायमा फाइल पेस गरिसकिएको जनाउँदै केही समयमै स्रोत सुनिश्चित हुने र सोपश्चात् ठेक्का व्यवस्थापनको काम अगाडि बढाइने छ । यो खण्डको करिब ३५ किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्न करिब चार वर्ष समय लाग्ने र सो सडक खण्डमा १५ पुल निर्माण गर्नुपर्ने देखिएको उनले बताए ।

सडकखण्डको ३५ किमी क्षेत्रमध्ये आधाभन्दा बढी अर्थात् १८ किमी जंगल क्षेत्र रहेको छ । छोटो दूरी र सहजताका कारण निर्माण सम्पन्न भइसकेको नेपालगञ्जदेखि अगैयासम्मको स्थानमा सर्वसाधारणका सवारीसाधनले हुलाकी सडक नै प्रयोग गर्ने गरेका प्रमुख भण्डारीले बताए । बाँकेको नारायणपुरबाट दाङको राजपुरसम्मको करिब ३५ किमी खण्डको स्रोत सुनिश्चित प्राप्त गर्ने अन्तिम अवस्थामा पुगेको छ । नारायणपुर-राजपुर सडक खण्ड निर्माण हुन सके बाँकेको सोनारी क्षेत्रको विकासमा टेवा पुग्ने राप्ती सोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीनकुमार थारूले बताए ।

एकै दिन देशभर १४ आगलागीका घटना,सावधानी अपनाउन आग्रह

काठमाडौँ । एकै दिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्वसावधानी तथा चेतना अभावमा देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा एकै दिन अर्थात् कात्तिक ७ गते आगलागीका घटना घटेका छन् । अधिकांश आगलागीका घटना असावधानीका कारण घटेको देखिन्छ ।

प्राधिकरणका अनुसार कात्तिक ६ गते पनि १३ आगलागीका घटना भएका थिए । झापा, इलाम, सुनसरी, सङ्खुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालिकोट र पर्सामा दुई आगलागीका घटना घटेका थिए । यस्तै पाल्पामा तीन आगलागीका घटना घटेका थिए । कात्तिक ५ गते १७ आगलागीका घटना घटेका थिए । प्राधिकरणको उपलब्ध गराएको तीन दिनको विवरणमा अधिकांश विपद्का घटनामा आगलागी देखिएको छ । मनसुन सकिएर वर्षा हुन छाडेपछि देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको देखिएको छ । आगलागीबाट जोगिनका लागि विशेष सावधानी अपनाउनसमेत प्राधिकरणले आग्रह गरेको छ ।

कात्तिक ७ गते देशभर कुल १८ विपद्का घटना घटेका थिए । ती घटनामा परेर ६ जना घाइते भएका छन् । ती घटनामा परेर रु ७७ लाख ९१ हजार बराबरको अनुमानित क्षति भएको छ । यस्तै, सर्पदंशका दुई, पहिरो एक र चट्याङ, जनावर आक्रमणका एकएक घटना घटेका थिए ।

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परी तीन जनाको मृ त्यु

काठमाडौँ – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झापा, धनुषा र महोत्तरीमा गरी तीन जनाको मृत्यु भएको हो ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार झापाको शिवसताक्षी नगरपालिकास्थित लालपानीमा खेलिरहेका बेला खुट्टामा गोमन सर्पले डस्दा एक पाँच वर्षीय बालकको मृत्यु भएको छ । उहाँको उपचारका लागि सर्पदंश केन्द्र चारआली लैजाने क्रममा मृत्यु भएको हो ।

यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका—४ क्याम्पसचोक बस्ने ४३ वर्षीय एक महिलाको आगोले जलेर मृत्यु भएको छ । लक्ष्मी पूजाको दिन बालिएको दियोमा पुनः तेल हाल्ने क्रममा अचानक कपडामा आगो सल्किँदा घाइते भएपछि उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, महोत्तरीको बर्दिवास नगरपालिका—१ सङ्गमटोलस्थित एक घरमा ग्यास चुहावट भई अचानक आगलागी हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आगलागीमा परी शरीरको ९० प्रतिशत भाग जलेका उहाँको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएकामा कीर्तिपुरस्थित बर्न अस्तपालमा उपचारका क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

पछिल्ला २४ घण्टामा भएका १६ वटा विपद्जन्य घटना भएका र विभिन्न ठाउँमा तीन जना घाइते भएका पनि प्राधिकरणले आज जारी बुलेटिनमा उल्लेख छ ।

छठको दोस्रो दिन आज ‘खरना’

महोत्तरी । छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।

बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको छ । दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आइएको छ ।

छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन/प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खादैनन् । मैथिली बोलीचालीमा अर्बा ९नउसिनिएको अन्न० खाइने यो विधिलाई ‘अर्बा–अर्बाइन’ पनि भनिन्छ । ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकअर्कासँग जोडिएका एकै दिनका विधि हुन् ।

श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले आज सूर्यास्तपछि चन्द्रदर्शनपछि यो विधि सम्पन्न गर्नेछन् । ‘खरना’लाई स्वधर्म र आत्मसंरक्षण तथा पापको नाशको भावमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण बताउछन्।

पर्वको महत्त्वपूर्ण मानिने निराहार व्रत कात्तिक शुक्ल षष्ठी तिथिमा गरिन्छ । यो मुख्य विधि भोलि सोमबार सम्पन्न गरिने तयारी छ । सूर्य उपासनाको निराहार व्रत बसेर बर्तालुले मनमोहक ढङ्गले सजाइएको जलाशय घाटमा पुगेर स्नानसँगै अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।

त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ । बर्तालुले ‘खरना’ विधिसँगै प्रसादस्वरुप खाएका खिरपछि नै निराहार व्रत सुरु हुन्छ । यो व्रत सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन गरिन्छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पीठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू र अन्य धर्मावलम्बीले समेत धुमधामसँग मनाउन थालेपछि छठपर्व साझा बन्दै गएको छ । पर्वमा सबै धर्म, संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको रामनन्दन महेन्द्र विश्वेशर क्याम्पस जलेश्वरका प्राचार्य अजयकुमार झाले जाकारी दिए ।

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ पैयाँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २८ पैसा र बिक्रीदर चार रुपैयाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८० पैसा र बिक्रीदर २१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८ रुपैयाँ १३ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४५९ रुपैयाँ २९ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६६ पैसा , ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

मौसम : कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा – केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलका कारण नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा । यसका साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वारका रूपमा पनि पोखरा पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय आन्दोलन र प्रतिकूल मौसमले खस्केको पोखराको पर्यटन अहिले मौसममा सुधार र लामो बिदाका कारण पुनर्जीवित भएको छ ।

“विभिन्न मारमा परेको पोखराको पर्यटन क्षेत्रमा अहिले केही राहत महसुस भएको छ । विशेषगरी तिहारको समयमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक पनि सन्तोषजनक मात्रामा आइरहेका छन्”, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका भन्नुभयो । “लामो बिदा, अनुकूल मौसमले अहिले लेकसाइडका ९० प्रतिशत होटेल अकुपेन्सी रहेको छ, पोखरा हुँदै आसपासका पर्यटकीय गन्तव्यमा अन्नपूर्ण पदयात्रादेखि मुस्ताङसम्मको यात्रामा निस्केका आन्तरिक तथा केही बाह्य पर्यटकको आगमनले उत्साह थपेको छ ।” अहिले पोखरामात्र नभई गण्डकी प्रदेशकै पर्यटनमा सकारात्मक प्रभाव पारेको सुवेदीले बताउनुभयो ।

अध्यक्ष सुवेदीका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल करिब रु आठ खर्बबराबरको लगानी भएको छ । सोमध्ये करिब रु ६ खर्ब होटल व्यवसायमै लगानी भएको छ भने प्रत्यक्ष रूपमा करिब १५ हजार व्यक्ति यस क्षेत्रको रोजगारीमा आश्रित छन् ।

पोखरामा करिब एक हजार २०० पर्यटकीयस्तरका होटल सञ्चालनमा छन्, जसमा ७०० वटा लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन् । एक रातमा करिब ४० हजार पाहुना समायोजन गर्न सक्ने क्षमता पोखराका होटलमा रहेको छ । हाल पोखरामा एउटा फाइभस्टार, ६ फोरस्टार र करिब ३० थ्री, टु र वन–स्टार लक्जरी होटल सञ्चालनमा छन् ।

आन्तरिक पर्यटकमा पदयात्राप्रति पनि उत्साह देखिएको छ । पोखरा पदयात्रा (ट्रेकिङ) का लागि एक महत्त्वपूर्ण प्रवेशद्वार हो । अन्नपूर्ण बेस क्याम्प ट्रेक, मर्दी हिमाल ट्रेक, घोरेपानी–पुनहिल ट्रेकजस्ता विश्व–प्रसिद्ध पदमार्ग पोखराबाटै सुरु हुन्छन् । यी पदमार्गले हरेक वर्ष हजारौँ ट्रेकरलाई आकर्षित गर्छन्, जसले पोखराको पर्यटनमा थप विविधता ल्याएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्यले भन्नुभयो, “पोखरा नेपालका लागि पदयात्राको प्रवेशद्वार हो । अन्नपूर्ण क्षेत्रमा रहेका अनगिन्ती सुन्दर पदमार्गले यस क्षेत्रलाई विश्वभरका ट्रेकरका लागि आकर्षक गन्तव्य बनाएका छन् । अहिले आन्तरिक र बाह्य पर्यटकको आगमन उत्साहजनक देखिएको छ ।” उहाँले पोखराको पर्यटनलाई दिगो र समृद्ध बनाउन यी पदमार्गको संरक्षण र प्रवर्द्धनमा सरकारले चासो बढाउनुपर्ने बताउनुभयो । आचार्यले भन्नुभयो, “यस याममा पोखरामा पर्यटकको चाप बढ्नु स्वाभाविक हो, तर हामी समग्र वर्षभरि नै पदयात्रा पर्यटनलाई सक्रिय राख्न चाहन्छौँ”, आचार्यले यसका लागि नयाँ ट्रेकिङ रुटहरूको पहिचान, अवस्थित रुटको स्तरोन्नति, ट्रेकर सुरक्षाका लागि आवश्यक पूर्वाधार विकास र पथप्रदर्शकको क्षमता अभिवृद्धिमा सक्रियतासँगै हालैमात्र अन्नपूर्ण नर्थ जसलाई मौरिस हर्जोग ट्रेल भनेर टानले प्रवर्द्धन गरेको बताउनुभयो ।

आचार्यका अनुसार केही दिनयता कास्कीको छोमरोङ, पोथना, विरेठाँटी लमजुको बँेसीसहर, म्याग्दीको घासा गरेर पाँच चेकपोष्टबाट विदेशी पर्यटक दैनिक हजारदेखि एक हजार २०० र नेपाली चार हजारदेखि चार हजार ४५ सम्म पदयात्रामा जाने गरेका तथ्याङ्क छ ।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले पनि लामो समयपछि पोखरामा पर्यटकको आगमन उत्साहजनक देख्न पाएकामा खुसी व्यक्त गर्नुभयो । दसैँभन्दा तिहारमा पर्यटकको आगमन राम्रो छ, “रेस्टुरेन्ट र बारमा पनि पर्यटकको चहलपहल बढेको छ । यसले हामी व्यवसायीलाई थप ऊर्जा दिएको छ”, उहाँले भन्नुभयो ।

पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले यो मौसममात्र पर्यटनको आगमनले पर्यटन क्षेत्रको लगानी थेग्न नसक्ने भन्दै सबै मौसममा पर्यटन भित्र्याउने दीर्घकालीन योजना सरकारसँग हुनुपर्ने बताउनुभयो । आन्तरिक तथा बाह्य बजारमा पोखराको सुन्दरता र विविधतालाई चिनाउन विशेष पहलको खाँचो छ ।

“पोखरा प्राकृतिक, साहसिक र सांस्कृतिक पर्यटनको गन्तव्य हो, पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउन सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयको खाँचो छ ।” उहाँले प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता र महामारीको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा पर्ने भएकाले राज्यले दिगो पर्यटन रणनीति अवलम्बन गरेर पर्यटन क्षेत्रलाई सुरक्षित राख्नुपर्ने बताउनुभयो । पोखरालाई साहसिक पर्यटनको हबका रूपमा विकास गर्ने, नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने र पूर्वाधार विकासमा सहयोग पुर्याउने योजनाको भुजेलले खाँचो औँल्याउनुभयो ।

सांस्कृतिक विविधता, र साहसिक गतिविधिको अनुपम सङ्गम, फेवातालमा डुङ्गा सयर, सराङकोटबाट सूर्योदयको दृश्यावलोकन, विश्व शान्ति स्तूपा भ्रमण, डेभिस फल्स र गुप्तेश्वर गुफाको अवलोकन, अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयजस्ता आकर्षणले पर्यटकलाई सधैँ लोभ्याउने गरेकाले यसलाई व्यवस्थित गर्नुपर्ने भुजेलको भनाइ छ ।

नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विदेशी पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ । विशेषगरी फेवातालको किनारमा रहेका रेस्टुरेन्ट, क्याफे र पसलले साँझमा जीवन्त वातावरण सृजना गरिरहेका छन् । तालमा गरिने डुङ्गा सयर, ताल किनारमा साइक्लिङ वा पैदलयात्रा गर्दा पर्यटकले शान्ति र आनन्दको अनुभव गर्ने गर्दछन् । तालको बीचमा रहेको तालबाराही मन्दिरले पनि सांस्कृतिक महत्व बोकेको छ ।

तोडफोड र आगजनीमा संलग्नलाई सार्वजनिक गर्नुपर्ने एमालेका युवा नेताहरूको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेताहरूले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

एमाले केन्द्रीय सदस्य तथा निवर्तमान मन्त्री भगवती न्यौपाने, पोलिटब्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय सदस्यहरू पार्वती रावल, अइन्द्रसुन्दर नेम्वाङ, गोविन्द थापा र एमाले शिक्षा विभाग सदस्य डा सुन्दरी पोखरेलले संयुक्त रूपमा विज्ञप्ति जारी गरी उक्त प्रदर्शनमा संलग्नमध्ये हालसम्म पक्राउ परेका र हालसम्म मुद्दा दायर गरिएकाको विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।

नेताहरूले लुटेका हातहतियार र गोलीगठ्ठा कति सङ्ख्यामा बरामद गरिन्छ, हरेक दिन विवरण सार्वजनिक गर्नुस् भन्दै त्यस्ता लुटेराहरूको विवरण र सरकारी तथा निजी घरमा आगजनी गर्ने, लुटपाट गर्ने व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनमा अशान्ति फैलाउने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड तथा आगजनी गर्ने विभिन्न गिरोहका नाइके र सदस्यलाई पक्राउ गरेर कारबाही गरिएको तथा उनीहरूविरुद्ध मुद्दा चलाइएको विवरण दिनहुँ सार्वजनिक गर्नुहोस् ।”

मुक्तिनाथ दर्शनका लागि यात्रुको भिड, एकैदिन छ हजार ८५९ पर्यटक मुस्ताङ प्रवेश

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले राष्ट्रिय राजमार्ग पुरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यहाँ एकैदिन छ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । शुक्रबार एकैदिन दुई हजार १६८ यात्रुवाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको लामाले उल्लेख गर्नुभयो ।

यसैगरी कात्तिकको एक सातामा बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५०९ जना आन्तरिक तथा बाहय पर्यटक मुुस्ताङ भित्रिएका छन् । यहाँ कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १२९ आन्तरिक र तीन हजार ३८० विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाले बताउनुभयो । कात्तिकको पहिलो सातासम्म बेनी–जोमसोम सडकमार्ग हुँदै छ हजार ७३६ सवारीसाधन मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ भित्रिएका थिए । यहाँ आन्तरिक ९१ हजार १२५ र विदेशी २७ हजार ४६४ जना मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक रुपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । मुक्तिनाथमा आज बिहानैदेखि दर्शनार्थीको सङ्ख्याले परिसर पूरै खचाखच भरिएको कोषाध्यक्ष गुरुङको भनाइ छ । मन्दिरमा दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइनबद्ध गराउन सुरक्षा निकायसँगै स्वंयसेवक खटाइएको कोषाध्यक्ष गुरुङले जनाउनुभयो ।

हिउँदयाम सुरु भइसकेकाले चिसोसमेत बढेकाले हाइअल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई तयारी अवस्थामा राखेर दर्शनकार्यमा सहजीकरण गरिएको उहाँले बताउनुभयो । यहाँ वडा कार्यालय र मुक्तिनाथ विकास समितिको पहलमा मन्दिरको चारैतर्फ सीसी क्यामेरा जडान गरिएकाले दर्शनार्थी सुरक्षाका लागि कुनै समस्या नहुने कोषाध्यक्ष गुरुङले सुनाउनुभयो ।

तिहारलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जनाएको छ । सयौँ सवारीसाधन एकैसाथ बेनी–जोमसोम सडकमार्गमा फ्लो हुँदा ट्राफिक जामसमेत भएको थियो । मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म करिब ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले शुक्रबार बेनी–जोमसोम राष्ट्रिय राजमार्गमा सञ्चालनमा रहेका सबै होटल पर्यटकले भरिभराउ भएको बताउनुभयो । चाडपर्वका बेला मुस्ताङ घुमफिर गर्ने महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास भएकै कारण पर्यटकको सङ्ख्यामा अकल्पनीय रुपमा वृद्धि हुँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ ।

विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मान्न स्वदेश फर्किएका नेपाली मुस्ताङ भ्रमण गर्नेको संङ्ख्या बढेको अध्यक्ष लालचनले बताउनुभयो । सामान्य अवस्थामा पर्यटक व्यवस्थापन नहुने भए पनि दसैँ तिहार र छठ पर्वमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र मुस्ताङ बन्न थालेको छ ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज हुँदै जान थालेपछि यहाँको पर्यटन व्यवसायमा नयाँ उभार आउन थालेको हो । पर्यटकीय याममा यहाँ सञ्चालनमा रहेका होटलले पर्यटक थेग्न नसक्ने अवस्था रहेको छ । प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका पर्यटक होटल बुकिङ गरेर मात्रै आउन अनुरोध गरेको छ ।

एसिया यात्राका क्रममा राष्ट्रपति ट्रम्पले कतारका शीर्ष अधिकारीसँग भेटवार्ता गर्ने

एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजा शान्ति सम्झौतामा प्रमुख सहयोगी कतारका अमिर र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने भएको छ ।

कतारका शीर्ष अधिकारीहरू नेता ट्रम्पलाई कतारमा स्वागत गर्न एयर फोर्स वन अवतरण गर्ने हजारौँ अमेरिकी सैनिकको क्षेत्रीय मुख्यालय रहेको अल उदेइद एयर बेसमा अवतरण गर्नेछन् ।

गत जनवरीमा राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेपछि पहिलो पटक एसियाको भ्रमण गर्न लागेका हुन् । राष्ट्रपति ट्रम्पको दुई क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुने र चीनका राष्ट्रपति सी जिनपिङ र अन्य एसियाली नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

यस पहिले घोषणा नभएको कतार बैठकमा अमेरिकी विदेश मन्त्री मार्को रुबिओ पनि सहभागी हुनुहुनेछ। गाजा युद्ध विरामलाई सही मार्गमा हिँडाउन वासिङ्टनको पूर्ण कूटनीतिक दबाबको एक भागको रूपमा इजरायलको भ्रमणपछि उनी कतार प्रस्थान गरेका हुन् ।

युद्ध सुरु भएदेखि नै कतारले इजरायल र हमासबीच अप्रत्यक्ष वार्तामा मध्यस्थताको महत्त्वपूर्ण भूमिका खेलेको छ। कतार, इजिप्ट, संयुक्त राज्य अमेरिका र टर्कीसँगै शान्ति सम्झौताको मध्यस्थकर्ताहरू मध्ये एक हो।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यस हप्ता टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई गाजामा सुरक्षा बलको स्थापना र हमासको भविष्यसहित सम्झौताको अति संवेदनशील अर्को कदमबारे छलफल गर्न आमन्त्रण गरेका छन् ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा युद्ध सुरु भएदेखि नै एक प्रमुख मध्यस्थकर्ता रहेका छन् ।

ट्रम्पको विश्व पुनःनिर्माण योजनाबाट टाढा हुन सङ्घर्षरत युरोप

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा इजरायल-हमासबिच भएको अमेरिकी-मध्यस्थतामा युद्धविराम सम्झौताको स्वागत गर्दा उहाँका पछाडि उभिएका विश्व नेता केवल प्रतीकात्मकरूपमा देखिए । यो युरोपको घट्दो प्रभावको स्पष्ट सङ्केत थियो ।

गाजा युद्धदेखि युक्रेन द्वन्द्वसम्म युरोपेली देश कूटनीतिकरूपमा आफ्नो स्थान जोगाउन सङ्घर्षरत छन् भने ट्रम्पले ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत विश्व राजनीतिलाई पुनः आकार दिने प्रयास तीव्र बनाउनुभएको छ । भू-राजनीतिक विज्ञ लिन्डसे न्युम्यान भन्नुहुन्छ, “ट्रम्पको नीति अब अलगाववादी होइन-उहाँ आफ्नो छविमा संसार पुनःनिर्माण गर्दै हुनुहुन्छ । युरोपले उहाँलाई प्रभाव पार्न सक्ने सम्भावना अत्यन्त न्यून छ ।”

-युक्रेन युद्धमा दबाब र विभाजन-

रूसविरुद्ध युरोपको समर्थन र ट्रम्पको दृष्टिकोणबिच गहिरो मतभेद छ । उहाँले पछिल्लो हप्ता रूसी तेल-ग्यास उद्योगमाथि प्रतिबन्ध लगाए पनि त्यो कदम रुसी राष्ट्रपति पुटिनप्रतिको निराशाबाट बढी प्रेरित थियो । उहाँले भन्नुभएको छ, “मैले धेरै पटक भ्लादिमिरसँग राम्रो कुरा गरेको छु, तर केही परिणाम निस्किँदैन ।”

ट्रम्पले युक्रेन युद्ध रोक्ने वाचा पूरा गर्न सक्नु भएको छैन । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की र पुटिनबिच वार्ताको पहल असफल भएपछि उहाँले युरोपेली नेतालाई सहयोगको आग्रह गर्नुभयो । तर युरोप भित्रै मतभेद देखिएको छ । युरोपेली सङ्घ (इयु) ले युक्रेन सहयोगका लागि फ्रिज गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने योजनामा सहमति जुटाउन सकेको छैन ।

हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले अझै पनि समर्थनको विरोध गरिरहनुभएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने प्रतिबन्धलाई ‘निर्णायक मोड’ भन्नुभएको छ तर विश्लेषकहरू भन्छन्, “युरोपेली एकता नटुट्नु नै युरोपको आंशिक विजय हो ।”

-मध्यपूर्वमा युरोपको प्रभाव कमजोर-

इजरायल-हमास युद्धविराममा युरोपको भूमिका न्यून रह्यो । ट्रम्पले इजिप्ट, कतार, टर्की र साउदी अरबको भूमिकाको प्रशंसा गर्नुभयो तर युरोपको योगदानबारे मौन रहनुभयो । इयु विश्वकै सबैभन्दा ठुलो सहायता प्रदायक भए पनि इजरायलमाथि यसको दबाब सीमित छ ।

बेलायत र फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको कदमले अमेरिकी प्रशासनलाई असन्तुष्ट तुल्याएको बताइन्छ । ट्रम्पका नजिकका अधिकारीले पनि लन्डनको भूमिकालाई ‘भ्रमपूर्ण’ भनेका छन् । विश्लेषक जोनाथन स्चान्जर भन्नुहुन्छ, “ट्रम्पको युद्धविरामले युरोपेली आलोचनालाई केही समयका लागि शान्त पारेको छ र दुवै पक्षलाई रचनात्मक संवादतर्फ अग्रसर बनाएको छ ।”

न्युम्यानका अनुसार ट्रम्प अब युरोपभन्दा मध्यपूर्वका मुलुकसँग सम्बन्ध विस्तारमा बढी केन्द्रित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जहाँ अन्य अमेरिकी प्रशासन टाढा जान खोज्थे, ट्रम्प त्यहाँ केन्द्रविन्दु खोजिरहनुभएको छ ।”

-युरोपका लागि मिश्रित सन्देश-

ट्रम्पले नाटोबाट अमेरिकालाई फिर्ता नगरे पनि र युरोपेली सामानमा भारी कर नलगाए पनि उहाँले देशलाई रक्षा खर्च बढाउन दबाब दिइरहनुभएको छ । युक्रेनमा रुसको आक्रमणले पनि युरोपमा सुरक्षा चेतना बढाएको छ । सन् २०२० मा इयु छोडेको बेलायत पुनः आफ्नो छिमेकीसँग नजिकिएको छ । प्रधानमन्त्री किर स्टार्मर वासिङ्टन र महाद्वीपबीचको प्रमुख कडी बन्नुभएको छ ।

इतिहासकार क्याथलिन बर्कका शब्दमा, “ट्रम्पले बुझ्न थाल्नुभएको छ-शत्रुभन्दा सहयोगी हुनु सधैंँ राम्रो हुन्छ । यदि युरोप एकजुट रह्यो भने उनीहरूको प्रभाव अझ बढ्न सक्छ ।”

हेटौँडामा आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था

हेटौँडा । छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न हेटौँडा नगरक्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार छठ घाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने छ । व्रतालुहरू पूजा गर्न नदी तटमा

जाँदा चोरी, डकैती, लुटपाट हुनसक्ने भएकाले विशेष टोली, मोबाइल गस्तीदेखि र ‘स्ट्राइकिङ’ सहितका प्रहरी परिचालन गरिने उनले बताए ।

तत्काल प्रतिक्रियाका लागि ‘क्यूआरटी’ अर्थात् ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलत्तै उक्त टोली घटनास्थलमा पुग्ने गरी सम्पूर्ण तयारी गरिएको प्रहरीले जनाएको छ ।

स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’

महेन्द्रनगर । इजरायल-हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ ।

आज साँझ एक कार्यक्रमका बीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपिन चोक’ नामाकरण गरिएको हो । कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाको पूर्व खेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडा स्तरीय क्रिकेट प्रतियोगितासमेत आयोजना गरिने घोषणा गरे । “साहसिक व्यक्तित्व स्व जोशी सकुशल घर फर्किनेमा हामी दुई वर्षसम्म आशामा थियौँ, तर उनी आफू नरहेर साथीहरूको ज्यान जोगाए । उनको सम्मानमा अब बन्ने वडा कार्यालयमा तस्बिर राख्ने र वडाबाट प्रतिनिधित्व गर्ने क्रिकेटका खेलाडीसमेत रहेकाले रहेका वर्ष प्रतियोगिता आयोजना गर्ने योजना बनाउने छौँ”, उनले भने ।

वडाध्यक्ष धामीले हाल स्थानीय वासीसहितको चाहनामा वडामा विपिन चोक नामाकरण गरिएको र अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णय गराउन पहल हुने बताए । दीप प्रज्वलन कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीलगायत टोलीवासीको उपस्थिति रहेको थियो ।

पाकिस्तानी ध्वजाबाहक विमानद्वारा पाँच वर्षपछि बेलायतका लागि पुनः उडान सुरु

एएफपी । बेलायतले उड्डयन सुरक्षाको चिन्ताका कारण लगाइएको पाँच वर्षको निलम्बन अन्त्य गरेपछि पाकिस्तानको सरकारी स्वामित्वको विमान कम्पनीले शनिबार बेलायतका लागि सीधा उडान पुनः सुरु गरेको छ।

पाकिस्तानी ध्वजाबाहक विमान एयरबस ए ३२० कराँचीको नजिकै दुर्घटना भई करिब १०० जनाको मृत्यु भएको एक महिनापछि ऋणमा डुबेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआईए) लाई सन् २०२० को जुनमा बेलायत, युरोपेली संघ र संयुक्त राज्य अमेरिका उडानमा रोक लगाइएको थियो ।

उक्त घातक दुर्घटनामा मानवीय त्रुटि भएको आरोप लगाइएको थियो। बेलायतले जुलाईमा हवाई सुरक्षा मापदण्डहरू सन्तोषजनक र अन्तर्राष्ट्रिय मापदण्डहरू अनुरूप रहेको निष्कर्ष निकाल्दै पाकिस्तानी ध्वजा बाहकहरूमाथिको प्रतिबन्ध हटाएको थियो।

इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित एक समारोहमा पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले बेलायतका लागि उडान पुनः सुरु हुनु पिआइएको विश्वसनीयता पुनर्स्थापनाका लागि एक प्रमुख कोसेढुंगा भएको बताए ।

“पाँच वर्षको लामो र कठिन ढिलाइपछि आज इस्लामावादबाट म्यानचेस्टरसम्मको उडान पुनः सुरु हुनु भनेको हामीले हाम्रो कडा परिश्रम र दृढताबाट हासिल गरेको उपलब्धि हो,” आसिफले भने।

बेलायतले प्रतिबन्ध लगाए पछिका वर्षहरूमा पाकिस्तानी अधिकारीहरूले पाइलटको प्रशिक्षण, इजाजत पत्र, विमान मर्मत र सुरक्षा प्रोटोकलमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न परिवर्तन गरेको उनले बताए।

इस्लामाबाद र म्यान्चेस्टरको बीचमा हप्तामा दुई उडान भर्नेबाहेक पिआईएले लन्डन र बर्मिंंघमको लागि पनि उडानहरू सञ्चालन गर्ने योजना बनाएको छ।

युरोपेली संघ उड्डयन सुरक्षा निकायले सन् २०२४ नोभेम्बरमा पिआईएमाथि लगाइएको प्रतिबन्ध हटाइपछि जनवरीमा पेरिसका लागि उडानहरू पुनः सुरु गर्न एअरलाइन्सलाई अनुमति दिइएको थियो।

करिब सात हजार व्यक्तिलाई रोजगारी दिइरहेको पाकिस्तानी ध्वजाबाहक पिआईएले लामो समयदेखि ऋण, कुव्यवस्थापन र नियामक मुद्दाहरूविरूद्ध संघर्ष गर्दै आएको छ। सरकारले एयरलाइन्सलाई निजीकरण गर्ने वाचा गरेको छ, यद्यपि गत वर्ष एक खरीदकर्ता कम्पनीले प्रस्तावित मूल्यभन्दा धेरै कम प्रस्ताव गरेपछि सम्झौता हुन सकेको थिएन ।

सन् १९५५ मा स्थापना भएको पिआईए कुनै समय पाकिस्तानको राष्ट्रिय गौरव र द्रुत विकासको प्रतीक थियो तर दशकौँदेखिको वित्तीय घाटा र सुरक्षा कमजोरीका कारण यसको प्रतिष्ठा खस्कँदै गएको छ।

जेन जेड प्रदर्शनमा भवन जेलेपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अझै अनिश्चित

कैलाली । गत भदौ २४ को जेनजी प्रदर्शनका क्रममा सुदूरपश्चिम प्रदेशसभा भवनमा क्षति पुगेपछि प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन । क्षतिग्रस्त प्रदेशसभा भवन र अन्य संरचना मर्मत तथा व्यवस्थापनको काम पनि अझै सुरु भएको छैन ।

प्रदेशसभा सचिवालयका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा व्यवस्थापन भई नसकेको र बैठक सञ्चालनका लागि अन्य ठाउँमा पनि विकल्प नदेखिएकाले बैठक अनिश्चित बनेको हो ।

सभामुख भीमबहादुर भण्डारीले संरचना मर्मत र आवश्यक सामग्री व्यवस्थापनका लागि छलफल भइरहेको बताए । प्रदेशसभाको बैठक कक्षका टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटपलगायत सम्पूर्ण समान जलेर नष्ट भएकाले त्यसको व्यवस्थापनपछि मात्रै बैठकका लागि वातावरण बन्ने उनको भनाइ छ ।

प्रदर्शनका क्रममा प्रदेशसभा सचिवालय, विषयगत समितिका कार्यालय, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका कार्यालयमा पनि आगजनी गरिएको छ । सचिवालयका अनुसार प्रदेशसभाका छ वटा चार पाङ्ग्रे गाडी र पाँच वटा मोटरसाइकल आगजनीबाट नष्ट भएका छन् । करिब रु. १२ करोडको भौतिक क्षति भएको छ ।

सचिवालयका सचिव देवबहादुर बोगटीले भवन मर्मत र आवश्यक प्राविधिक सामग्री व्यवस्थापनका लागि स्रोतको समस्या रहेको बताए । प्रदेशसभा बैठक कक्षको मर्मत तथा आवश्यक सामान व्यवस्थापनका लागि मात्रै कम्तीमा रु. ५० लाख खर्च लाग्ने अनुमान गरिएको उनले बताए ।

गत भदौ ५ मा प्रदेशसभा बैठक बसेको थियो । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार प्रदेशसभामा हाल चार वटा विधेयक विचाराधीन छन् । प्रदेशसभाको अधिवेशन अन्त्य भएको छैन ।

संयुक्त राष्ट्रसङ्घले ‘काम गर्न छोडेको छ’ : ब्राजिलका राष्ट्रपति लुला

क्वालालम्पुर । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले शनिबार संयुक्त राष्ट्रसङ्घ (युएन) र अन्य बहुपक्षीय संस्थाले आफ्नो उद्देश्य गुमाएर ‘काम गर्न छोडेका छन्’ भन्ने कठोर टिप्पणी गर्दै गाजाका युद्धपीडितको संरक्षणमा असफल भएको आरोप लगाउनुभएको छ ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति लुलाले भन्नुभयो, “गाजा पट्टीमा यति लामो समयदेखि भइरहेको नरसंहारलाई कसरी स्वीकार गर्न सकिन्छ ? ती संस्था, जसलाई यस्ता अत्याचार रोक्नका लागि स्थापना गरिएको थियो, आज निष्क्रिय बनेका छन् । संयुक्त राष्ट्रसङ्घ र यसको सुरक्षा परिषद अब काम गर्दैनन् ।”

उहाँले मलेसियासँगको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो र अन्तर्राष्ट्रिय समुदायले मानवताको पक्षमा ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा राष्ट्रपति लुलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति समेत व्यङ्ग्य गर्दै भन्नुभयो, “एकजना नेताका लागि नोबेल पुरस्कारभन्दा टाउको उठाएर हिँड्न सक्नु धेरै महत्त्वपूर्ण कुरा हो ।”

ट्रम्प हाल एसियाली भ्रमणमा रहनुभएको छ । उहाँले आफ्नो भ्रमणको अन्तिम दिन बिहीबार दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ता गर्नु हुने छ । यसअघि, उहाँ आइतबार थाइल्यान्ड र कम्बोडियाबिच हुने शान्ति सम्झौतामा हस्ताक्षर साक्षी बन्ने अपेक्षा गरिएको छ, जसमा अमेरिकी मध्यस्थता रहेको बताइएको छ ।

नर्वेको नोबेल समितिले भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई यस वर्षको शान्ति पुरस्कार प्रदान गरेपछि ट्रम्पलाई बेवास्ता गरिएको भन्दै ह्वाइट हाउसले असन्तोष जनाएको थियो । जनवरीमा दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेपछि ट्रम्पले आफूले विश्वका धेरै द्वन्द्व समाधान गर्न योगदान दिएको भन्दै नोबेल पुरस्कारको योग्य भएको दाबी गर्दै आउनुभएको छ । यद्यपि विश्लेषकले त्यसलाई अतिरञ्जित ठानिरहेका छन् ।

यसबिच, ट्रम्प र लुलाबिच पछिल्ला महिनामा सम्बन्ध पुनः स्थापनाको सङ्केत देखिएको छ । दुवै नेताबिचको सम्बन्ध अघिल्लो वर्षका तिक्त घटनाका कारण तनावपूर्ण बनेको थियो-विशेषतः ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको मुद्दा र सजायका विषयमा । ट्रम्पले बोल्सोनारोप्रति सहानुभूति देखाएपछि लुला प्रशासनसँगको सम्बन्ध बिग्रिएको थियो ।

ट्रम्प प्रशासनले ब्राजिलका धेरै उत्पादनमा ५० प्रतिशत कर वृद्धि गरेको थियो र ब्राजिलका सर्वोच्च अदालतका एक न्यायाधीशसहित केही शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो । सेप्टेम्बरमा ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोलाई सन् २०२२ को चुनावमा पराजित भएपछि गरिएको असफल ‘कू प्रयास’ मा संलग्नताको आरोपमा २७ वर्षको जेल सजाय सुनाएको थियो ।

तर संयुक्त राष्ट्र महासभाको साइडलाइनमा दुवै ७९ वर्षीय नेताबिच भएको छोटो भेटपछि सम्बन्ध पुनः सामान्य बन्दै गएको देखिन्छ । त्यसयता उहाँले अक्टोबर ६ मा टेलिफोन वार्ता गर्नु भएको थियो र आसन्न आसियान शिखर सम्मेलनमा प्रत्यक्ष भेट हुने सम्भावना रहेको बताइएको छ ।

कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधार खोज्न सबैमा अनुरोध गरेको छ ।मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएरहेको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सबैका जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले आज एक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायत कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ ।”

जेनजीपुस्ताको अगुवाइमा भएको प्रदर्शनपश्चात् गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ क्रियाशील रहेको स्मरण गराउँदै मन्त्रालयका प्रवक्ता काफ्लेले सोही अनुसार सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, स्रोत र साधनको व्यवस्थापन, राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ता र संवाद गरिरहेको जानकारी दिनुभयो ।

देशमा शान्तिसुरक्षा कायम गर्दै घोषित मितिमा स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको योगदान महत्त्वपूर्ण र भूमिका अपरिहार्य रहेको भन्दै सोहीबमोजिमको भूमिका र दायित्व अनुसार सहकार्य र समन्वय आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “गत भदौ २३ र २४ गतेको प्रदर्शनपश्चात्, सार्वजनिक सेवा पुनः सञ्चालन गर्नाका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्रक्रिया आरम्भ गरी शान्तिसुरक्षाको अवस्था सामान्य हुँदै जानुका साथै सरकारले निर्वाचन केन्द्रित वातावरण निर्माण गरिरहेको छ । हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”

देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरूसमेत सचेत हुनुपर्नेतर्फ मन्त्रालयले ध्यानाकर्षण गराएको छ । आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्बाध सार्वजनिक सेवा प्राप्त गर्ने, निर्वाचनमा भाग लिन पाउनेलगायत हकअधिकार कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्द्धन गर्ने कार्यमा योगदान गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

‘सङ्घीय सरकारद्वारा विकास बजेट रोकिँदा समस्या भएको छ’ – मुख्यमन्त्री आचार्य

अर्घाखाँची- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारद्वारा विकास बजेट रोकिँदा चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयनमा समस्या भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले सडक, पूर्वाधार, सहरी विकास, खानेपानीलगायत जनतासँग प्रत्यक्ष जोडिएका शीर्षकमा विनियोजित बजेट सङ्घीय सरकारद्वारा रोकिँदा काम अघि बढ्न नसकेको बताए ।

उनले भने, “सङ्घीय सरकारले बजेट रोक्का गर्दा सहरी विकास, खानेपानी, सडकका काम रोकिएका छन् । वर्तमान अवस्थामा बजेटबिना काम गर्न समस्या हुन्छ । अर्घाखाँचीको विकासको गति अहिले निर्णयले कहाँ पुर्‍याउँदैछ ? देशको विकास के हुँदैछ ? यो विषयमा सरोकार भएका सबै जवाफदेहिता हुनुपर्छ ।”

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट अर्घाखाँची जिल्लामा काम भइरहेका उल्लेख गर्दै भावी दिनमा उपलब्ध साधनस्रोतको सदुपयोग गरी जनताको आकाङ्क्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । केही व्यक्तिले सरकारी कार्यालयमा पुगेर धम्कीपूर्ण व्यवहार देखाउने तथा अराजक गतिविधि गरिरहेकामा चिन्ता व्यक्त गर्दै उनले स्थानीय प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

मुख्यमन्त्री आचार्यले भने, “निश्चित समूह केही व्यक्ति कार्यालय गएर कर्मचारीलाई धम्क्याउने र थर्काउने काम भइरहेको छ । अबिलम्ब त्यसलाई रोक्नका लागि ठोस् कदम चाल्न सरोकार भएका सबैलाई अनुरोध गर्दछु । यस्तो गर्न कसैलाई पनि छुट छैन । कर्मचारीको मनोबल घटाउने अधिकार कसैलाई पनि छैन । यो कार्य तुरुन्त रोकिनु आवश्यक छ ।”

उनले आपसी भाइचारा र सम्बन्ध कायम राख्दै आएको सामाजिक सद्भावलाई अक्षुण राख्न सबै राजनीतिक दल, नागरिक समाज र सङ्घसंस्थाका प्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनालले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सबै राजनीतिक दल दलिय स्वार्थभन्दा माथि उठेर एकै ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

उनले कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनको तयारी गरिरहेको बताउँदै वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने उल्लेख गरे । उनले जनताका काममा गुणस्तरीय र पारदर्शी तवरबाट सेवा प्रवाहमा ध्यान दिन कर्मचारी र जनप्रतिनीधिलाई आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ठाकुरकुमार विकले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि देशका सबै बामपन्थी र प्रगतीशिल शक्ति एकै ठाउँमा उभिनुपर्ने बताए । उनले बामपन्थी शक्ति फेरी एक ढिक्का भएर लड्नु पर्ने अवस्था आएको उल्लेख गर्दै उनले नेपालको लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखे ।

एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खनाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य विक, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।