`

चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु

चितवन, २२ असारः सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् ।

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बुद्ध एयरले छ महिनामै गर्यो ७ अर्ब ४१ करोड आम्दानी

काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । नेपालको आन्तरिक उड्डयन क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको कम्पनीले सन् २०२५ को ६ महिनामै उक्त नाफा कमाएको हो ।

सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यसअघि सन् २०२३ मा बुद्ध एयरले १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा कम्पनीको आम्दानी सन् २०२४ मा ८.८६ प्रतिशत अर्थात् १ अर्ब ५ करोड ७० लाख रुपैयाँ बढेको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालको मूल्यांकनले देखाएको छ ।

कम्पनीले कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलर कर्जाका लागि रेटिङ गराएको हो । यस अघि कोरोना महामारीको समयमा पनि बजारमा अन्य कम्पनीहरूको तुलनामा बलियो वित्तिय अवस्था कायम गर्न सफल बुद्ध एयर महामारीभन्दा अघिकै अवस्थामा फर्किएको देखिएको हो ।
बुद्ध एयरले सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । यस्तै, सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ, सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँको आम्दानी गरेको थियो ।

काठमाडौं, पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, भद्रपुरलगायत देशका प्रमुख सहरहरूमा दैनिक उडान गर्दै आइरहेको बुद्ध एयरले हाल १६ वटा एटीआर–७२ र २ वटा एटीआर–४२ विमानमार्फत सेवा दिइरहेको छ । विसं २०५३ मा स्थापना भएको बुद्ध एयरले भारतका कोलकाता र वाराणसीसम्म सीमित अन्तर्राष्ट्रिय उडान सेवा पनि दिँदै आएको छ ।

कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरको नेतृत्व गर्दै आएका छन् । कम्पनीको पछिल्लो पाँच वर्षको वित्तीय विवरणका आधारमा यसले सञ्चालन आम्दानी, नाफा तथा कर्जासम्बन्धी सूचकहरूमा उल्लेखनीय सुधार गरेको देखिएको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २२ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४६, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ५०, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु ४५ र मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५५, घिउ सिमी (जाजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ४५, लौका प्रतिकिलो रु ४५, परबर (तराई) प्रतिकिलो रु ४५, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ६५, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिण्डी प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु १२०, पालुङ्गो साग प्रतिकिलो रु १८०, तोरीको साग प्रतिकिलो रु ७०, हरियो प्याज प्रतिकिलो रु २५०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १४०, पार्सले प्रतिकिलो रु १०००, पुदिना प्रतिकिलो रु २००, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १४५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ९५, आँप (दशहरी) प्रतिकिलो रु ९५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (भारतीय) प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ६०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

ह्युमपाइप राखेर अवरुद्ध नाला–भक्तपुर सडकखण्ड खुलाइयो

काभ्रेपलाञ्चोक, २२ असार : अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो ।

भाँचिएको पुल अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि यातायात सञ्चालन भएका हुन् । गए राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर अस्थायी रूपमा पुल निर्माण गरेपछि आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार बनेपा नगरपालिका कार्यालय तथा सडक विभागको समन्वयमा रातभरमा अस्थायी रूपमा पुल सञ्चालनमा ल्याइएको हो ।

यहाँको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ । स्थानीयका अनुसार शनिबार राति मालवाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्मित उक्त पुल भाँचिएको थियो । पुल भाँचिएपछि अवरुद्ध उक्त वैकल्पिक सडकखण्डमा राजधानी जाने र राधजानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको थियो ।

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोक धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका हुन् ।

‘माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको छ ’ :पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेकपा माओवादी केन्द्र संसदीय व्यवस्थाको व्यापारी भएको बताएका छन् ।

संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली भन्दै माओवादीले संसदीय व्यवस्थाको भरमग्दुर दोहन गर्ने गरेको बस्नेतको टिप्पणी रहेको छ ।

उनले भने, ‘माओवादी चुनावमा एउटा दलसँग गठबन्धन गर्छ । सरकार बनाउन अर्को गठबन्धन र सरकार फेर्न फेरि अर्को गठबन्धन गर्छ । साना दलहरुलाई प्रयोग गर्छ । सरकार टिकाउन अन्य पार्टी फुटाउँछ । कसैसँग निहु खोज्न एउटा गठबन्धन गर्छ, आफै जाकिने भएपछि फेरि गठबन्धन फेर्छ । बाहिर जे भनेपनि संसदीय व्यवस्थामा सबैभन्दा बढी माओवादी रमाएको छ ।’

संसदीय व्यवस्थामा सुधार वा उपयुक्त विकल्प खोज्नुपर्ने माओवादीले संसदीय व्यवस्थालाई अझ कुरुप बनाउने काम गरेको उनको आरोप छ ।

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल

म्याग्दी, २२ असार : राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाले सडक, पुल र बस्ती संरक्षणका लागि रु तीन करोड ३९ लाख ८६ हजार ८२३ को लागतमा नदी किनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो । पर्खाल निर्माणपछि सडक, मोटरेबल पुल, गलेश्वर र राहुघाटको बस्तीमा बाढी र कटानको जोखिम न्यूनीकरण भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो । राहुघाटको कटानका कारण गलेश्वर, राहुघाटका करिब ५० घरपरिवार, एक सय मिटर सडक र मोटरेबल पुल जोखिममा परेको थियो ।

राहुघाट नदी किनारमा राहुघाट बस्तीतर्फ ५० मिटर ‘पलम पर्खाल’ र गलेश्वरतर्फ ८५ मिटर ‘कम्पोजिट’ पर्खाल निर्माण भएको योजना कार्यालयले जनाएको छ । गत फागुनदेखि सुरु भएको योजना निर्धारित समयमै सम्पन्न भएको हो । नदीमा आउने बाढीलाई नियन्त्रण गर्न चार मिटर चौडाइ भएको तीनतीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि छ तहमा ग्याविन पर्खाल निर्माण भएको छ ।

रु चार करोड ७२ लाख ३७ हजार ४६४ लागत अनुमान गरिएको योजना निर्माणका लागि गत फागुन १३ गते महाप्रभु–विआरटी साय जेभीसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले रातको समयमा पनि मजदुर र उपकरण परिचालन गरेर नदीमा पानीको सतह बढ्नुअघि नै तटबन्ध गरेको बताउनुभयो ।

बेनी–गलेश्वर सडकअन्तर्गत गलेश्वरमा पनि नदी कटानबाट सडकलाई जोगाउन तटबन्धन निर्माण भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर बिष्णु चापागाईँले बताउनुभयो ।

फाइभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

काठमाडौं । नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साईड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्वल प्रथम भएको छ ।
फाईनल प्रतिष्पर्दामा सुदुर पश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गरि नेपाल आर्मी प्रथम भएको हो । सेमिफाईनमा आर्मीले कोशी प्रदेशलाई ६—० र सुदुर पश्चिमले गण्डकीलाई २—१ गोल अन्तरले पराजित गरि फाईनल पुगेका थिए ।

भक्तपुरको थिमी स्थित मिडभ्याली कलेजमा एक कार्यक्रम वीच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुब आचार्यले उद्घाटन गर्नु भएको थियो भने विजेता खेलाडी तथा टिमलाई सदस्य सचिव टंकलाल घिसिङले पुरस्कार प्रदान गर्नु भएको थियो । प्रथम हुने टिमले ५० हजार र द्धितीय हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य तथा नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतियोगितामा आठ गोल गर्न सफल सुदुर पश्चिम प्रदेशकी आशीका एस के वेष्ट स्कोरर हुदाँ प्लेयर अफ दि टुर्नामेन्टमा नेपाल आर्मीकी सरस्वती तामाङ भएकी छन् ।यस्तै बेष्ट डिफेन्डरमा सुदुर पश्चिम प्रदेशकी पूर्णिमा नेगी भईन भने नेपाल आर्मीकी कुश्मा रानामगर बेष्ट गोल्डकिपर हुँदा बागमती प्रदेशकी सपना तामाङ उदयमान खेलाडी घोषित भएकी छन् । विधागत उत्कृष्ट भएका खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको थियो ।

बेँसीसहर–चामे सडकमा दैनिक सयौँ यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य

लमजुङ, २२ असारः चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । उतिबेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । मस्र्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण बेँसीसहर–चामे सडक ।

सोही सडकमा दैनिक सयौँ यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । साँघुरो कच्ची सडक, सधैँ जोखिम मोल्नुपर्ने अवस्था छ । त्यसमा पनि अहिले ठाउँठाउँमा खसेको पहिरोका कारण जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्री भगवान्को नाम जप्दै यात्रा गर्न बाध्य छन् । यस्तो जोखिमपूर्ण बाटोमा दर्जनाँै सवारीसाधन लमजुङ–मनाङ आवतजावत गर्दछन् । हिमालपारिको जिल्ला मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर–चामे सडक हो । भिरैभिर र मस्र्याङ्दी नदीमाथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा यात्री बँेसीसहर–चामे सडकमा त्रसित हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

बेँसीसहरबाट खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामेबजारसम्म ६५ किलोमिटर दूरी छ । यस सडकमा यात्रा जोखिमपूर्ण रहेको यात्रीहरू बताउँछन् । अधिकांश सडकखण्ड चट्टाने पहरो काटेर बनाइएकाले जोखिमपूर्ण छ भने अग्लो भिर, स–साना मोड, ग्रेडिङ नमिलेका र साँघुरो भएकाले थप जोखिमपूर्ण भएको स्थानीय सोमबहादुर गुरुङले बताउनुभयो ।

जीप चालक सोमराज मगरातीले भन्नुभयो, “विभिन्न ठाउँमा बेलाबेलामा पहिरो गइरहन्छ, पहिलाभन्दा पनि बाटो बिग्रँदै गएको छ, कुन बेला के हुन्छ डर रहन्छ ।” अर्का चालक रामबहादुर तामाङ भन्नुहुन्छ, “सडकबाट खसिहाल्यो भने सिधै मस्र्याङ्दीमा पुग्ने भएकाले बाँच्ने कुनै सम्भावना छैन ।” यात्राका क्रममा अधिकांश यात्री सडक र भिरको अवस्था देखेर डराउँछन् । कहिले त जीप गुड्दागुद्दै पनि माथिबाट ढुङ्गा र पहिरो खस्ने गर्छ, अझ बढी बर्खायाममा जोखिम हुने गरेको उहाँको भनाइ छ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार बेँँसीसहर–चामे सडकको यात्रा जोखिमपूर्ण छ । सरकारले आवश्कतानुसार पर्याप्त बजेट दिन नसक्दा सडक गुणस्तरीय नहुँदा जोखिम बनिरहेको छ । चालु आर्थिक वर्षमा रु ३६ करोड बजेट प्राप्त भएको थियो । आगामी आवका लागि यस सडकका लागि रु ४० करोड प्रारम्भिक बजेट सरकारले उपलब्ध गराउन लागेको छ ।

विभिन्न ठाउँमा दैनिकजसो पहिराले सडक अवरुद्ध बनाउँदा मनाङवासी चिन्तित छन् । लामो समयसम्म पहिराले यो सडक अवरुद्ध बनाउँदा मनाङबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जान हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन । जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो ।

विभिन्न कारणले २०५७ सालदेखि नेपाली सेनाले उक्त सडक निर्माणको जिम्मेवारी पायो । बाँदर लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी लगाएर सेनाले उक्त सडक निमार्ण गर्न सफल भयो भने बाटो निर्माणका क्रममा केहीको मृत्युसमेत हुन पुग्यो । यसरी सेनाले निर्माण गरेको सडकबाट मनाङवासीको सपना पूरा भए पनि सडक स्तरोन्नति हुन नसक्दा भने मनाङवासी निराश छन् । उनीहरूमात्र नभई लमजुङवासी, यात्री तथा पर्यटकसमेत सडक स्तरोन्नति नहुँदा चिन्तित छन् । सबैको एउटै चाहना छ, सडक गुणस्तरीय होस् र दुर्घटनाको जोखिम न्यून होस् ।

बेँसीसहरस्थित तत्कालीन नेपाली सेना कार्यगणले २०६९ सालमा सडक निर्माणकार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको हो । बेँसीसहर–चामे सडक पार गर्न झण्डै ६ घण्टा लाग्छ । बर्खालागेसँगै यो सडकमा पटकपटक पहिरो खस्ने र सडक अवरुद्ध हुँदा यात्रीहरू हैरानीमा छन् ।

आजको मौसमः कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २२ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

महाशाखाका अनुसार आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

मान्म (कालीकोट)- कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध हुन नदिने उद्देश्यले ठाउँठाउँ तयारीका साथ डोजरसहित आवश्यक सामग्री राखिएका छन् । राजमार्गको सुर्खेतबाट मुगुसम्मको खण्डमा वर्षातको समयमा बाढीपहिराका कारणले अवरुद्ध हुनसक्ने स्थान पहिचान गरी महत्वपूर्ण उपकरणसहित डोजरलाई तयारी अवस्थामा राखिएको हो ।

राजमार्ग अवरुद्ध नहोस् र भइहाले तत्काल सञ्चालनमा ल्याउन सकियोस् भनेर अत्यावश्यक उपकरणसहित डोजरलाई तयारी अवस्थामा राखिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । राजमार्गको सुर्खेत–दैलेख–कालीकोट–जुम्ला–मुगु सडकका विभिन्न सात स्थानमा सडक डिभिजन कार्यालय सुर्खेत र जुम्ला डोजर राखेका हुन् ।

राजमार्गलाई लक्षित गरी सडक डिभिजन कार्यालय सुर्खेतले दैलेखको राकम र तल्लो डुङ्गेश्वरमामा डोजर राखेको कार्यालय प्रमुख खुमबहादुर भण्डारीले बताउनुभयो । “यी डोजरले लेदो माटो वा पहिरो खसेर सडक अवरुद्ध गराए वा पहिरोले सडक अवरुद्ध गराएमा तत्काल सफा गरी सडक खुलाउने काम गर्ने छन्”, उहाँले भन्नुभयो, “वर्षायाम सुरु हुनासाथ कर्णालीका प्रमुख राजमार्ग अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राखी आवश्यक सामग्रीसहित डोजरहरू तयारी अवस्थामा राखेका हौँ ।”

सडक डिभिजन कार्यालय जुम्लाले कालीकोटबाट मुगुसम्मको सडकलाई लक्षित गरेर पाँच ठाउँमा डोजर तैनाथ गरेको छ । कालीकोटको गगनेखोला–दैखोलाबाट खुलालुसम्मका लागि खुलालुमा, खुलालुबाट मान्मसम्मका लागि हुल्ममा, मान्मबाट टाकुल्लासम्मका लागि पिलीमा, टाकुल्लाबाट नाग्मसम्मका लागि गाल्जेमा र कालीकोटको नाग्म–जुम्लाबाट मुगुसम्मका लागि बुलबुलेमा डोजर तैनाथ गरिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी एवं इञ्जिनियर प्रदीपनारायण चौधरीले जानकारी दिनुभयो ।

“राजमार्गमा पहिरो जाने तथा अन्य समस्या भए तत्काल सञ्चालनमा ल्याउनका लागि डोजरसहितको जनशक्ति तैनाथ गरिएको छ”, उहाँले भन्नुभयो, “वर्षातको समयमा कर्णाली राजमार्गमा सानातिना पहिरो आउने क्रम रहने भएकाले पूर्वतयारी थालिएको हो ।”

राजमार्गअन्तर्गत दैलेख र कालीकोट खण्डमा पहिरो खसेर बढी सडक अवरुद्ध हुने जोखिम रहेको सूचना अधिकारी चौधरीले बताउनुभयो । उहाँका अनुसार उक्त राजमार्गको दैखोला, सुनारखोला, पाल्तडा, पाली, गगनेखोलालगायत ठाउँमा अत्यधिक पहिरो खस्ने गर्दछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २२ असार : नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

असार २७ मा प्रदर्शन हुँदै फिल्म ‘यो मन त मेरो नेपाली हो’

काठमाडौँ, २२ असारः असार महिनामा नेपाली चलचित्र निकै कम प्रदर्शन हुन्छन् । वर्षातको मौसमको भएकाले पनि निर्माता तथा निर्देशकले यो महिनामा निकै कम चलचित्र प्रदर्शन गर्ने गरेका छन् । यसपटक पनि यही असार २७ गतेदेखि एउटा मात्र नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदैछ ।

नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको उक्त चलचित्रले विश्वभर छरिएका नेपालीको कथा र भावनालाई चित्रण गर्ने लेखक तथा निर्देशक नर प्रधानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो भाषा र संस्कृति जोगाएनौँ भने भावी पुस्ताले यो धरोहर गुमाउनेछ । हाम्रा पूर्खाले जोगाएको सम्पदा भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । चलचित्रले नेपालीपन प्रति माया र एकताको सन्देश दिन्छ । यसलाई व्यावसायिकभन्दा पनि सांस्कृतिक उपहारको रूपमा लिन सकिन्छ ।”

करिब १७ वर्ष अगाडि नेपालबाट अमेरिका पुग्नुभएका निर्देशक प्रधानले त्यहाँको व्यस्त जीवनले नेपाली संस्कृतिसँगको सम्बन्धमा दूरी बढाएको अनुभव गरेपछि चलचित्र तयार गरेको बताउनुभयो । उहाँका अनुसार चलचित्रले प्रवासमा रहेका नेपालीलाई कला र संस्कृति बारे जानकारी दिन्छ । उक्त चलचित्रलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विद्यालयस्तरका बालबालिकालाई देखाउन उपयुक्त ठानेको छ ।

“हाम्रो विषयवस्तुले मनोरञ्जनसँगै शिक्षा पनि दिन्छ । नेपाली भाषा र संस्कृति संरक्षणमा जोड दिइएका कारण चलचित्रलाई बालबालिकालाई देखाउन मिल्ने भनिएको हो । हामीले आफ्नो भाषा र सस्कृतिबारे बाल्यकालबाटै नयाँ पुस्तालाई जानकारी दिनु जरुरी छ”, निर्देशक प्रधानले भन्नुभयो ।

उक्त चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियारलगायतले अभिनय गर्नुभएको छ ।

९ संसदीय समितिका बैठक बस्दै, केके छन् कार्यसूची?

काठमाडौँ, २२ असारः सङ्घीय संसद्का विभिन्न नौवटा समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन् । यस्तै, महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ ।

राष्ट्रियसभातर्फको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ । संयुक्त समितिको रुपमा रहेको संसदीय सुनुवाइ समितिको बैठक पनि आज बस्ने गरी कार्यसूची निर्धारण भएको छ । अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल गर्ने कार्यसूची छ । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

उद्योग तथा वाणिज्य समितिमा नेपाल सरकारद्वारा किसानलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल हुनेछ । कृषि तथा सहकारी समितिमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ । पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी मरिण डाइभर्सन आयोजना र विविध शीर्षकमा छलफल गर्ने कार्यसूची छ । शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ ।

सङ्घीयता सबलीकरण समितिमा समितिको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ । संसदीय सुनुवाइ समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल हुनेछ ।

प्रतिनिधिसभाको बैठक यही असार २३ गते सोमबार र राष्ट्रियसभाको बैठक २४ गतेका लागि निर्धारण भएकाले समितिमा महत्त्वपूर्ण विधेयकलाई अगाडि बढाउने गरी छलफलको कार्यसूची तय गरिएको हो ।

उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि नेपाल एसियन कप खेल्नबाट वञ्चित

काठमाडौँ, २२ असारः एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ ।

उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा आज भएको खेलमा उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित भएको हो । हारसँगै नेपाल एसियन कप खेल्नबाट वञ्चित भएको छ । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा उज्वेकिस्तानका लागि एम सोयिमोभा, यु जोइरोभा, एम खिक्माटोभा र एम अमिनिजोनोभाले गोल गरिन् । यस्तै नेपालका लागि गीता राना र सविता रानामगरले मात्र गोल गरिन् । सावित्रा भण्डारी ‘साम्बा’को प्रहार बारमा लागेर गोलपोष्टबाट बाहिरिएको थियो । त्यस्तै गोलकिपर अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन् । जितसँगै उज्वेकिस्तानले पहिलोपटक छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाएको छ ।

त्यसअघि खेलको पहिलो हाफमा नेपाल उज्वेकिस्तानसँग ३–१ गोलले पछाडी परेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले दुई गोल गर्दै खेललाई ३–३ गोलको बराबरी गर््यो । पहिलो हाफमा उज्वेकिस्तानका लागि खाबीबुलेएभा र मातफुना सोयीमोभाले एक एक गोल गरिन् भने नेपालकी समिक्षा घिमिरेले एउटा आत्मघाती गोल गर्न पुगेकी थिइन् । यस्तै नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले एक गोल गरिन् । खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो । उसका लागि खाबीबुलेएभाले गोल गरिन् ।

यस्तै खेलको १२औँ मिनेटमा नेपालका तर्फबाट आत्मघती गोल हुन पुग्यो । उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो । खेलको २४औँ मिनेटमा नेपालका लागि कप्तान साम्बाले गोल गरिन् । खेलको ३७औँ मिनेटमा सरस्वती हमालको ह्यान्ड भएपछि उज्वेकिस्तानले पेनाल्टीको अवसर पायो । पेनाल्टीमा मातफुना सोयीमोभाले गोल गरिन् ।

मध्यान्तरपछिको खेलको ७०औँ र ७१औँ मिनेटमा साम्बाले लगातार गोल गरिन् । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । त्यसअघि खेलको पहिलो हाफको इन्जुरी समयमा एन एर्गासेभाले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि उज्वेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रहन पुगेको थियो ।

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ, २२ असारः प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहारमात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

झापामा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

भद्रपुर (झापा), २१ असारः झापाको मेचिनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची हाइवेमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बुधबारेतर्फ जाँदै गरेको प्र१–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको मे८प ८०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक अर्जुनधारा–११ का ३४ वर्षीय भीमबहादुर सार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याउना साथ चिकित्सकले निजलाई मृत घोषणा गरेका उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार अटोमा सवार बुद्धशान्ति गाउँपालिका–३ की ४९ वर्षीया निर्मला विक र उनकी १७ वर्षीया छोरी दिपा विक घाइते भएका छन् । घाइते दुवैको चारआलीस्थित बीएण्डके पोलिक्लिनिकमा उपचार भइरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो । अटो चालक बुद्धशान्ति–१ का ४० वर्षीय युवराज घिमिरेसहित सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अध्यक्ष दाहालद्वारा उपाधि बिजेता क्रिकेट टोलीलाई बधाई

काठमाडौँ, २१ असार ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले उक्त प्रतियोगिता उपाधि बिजेता टोली र जिताउन भूमिका खेल्ने व्यवस्थापन समूहलाई समेत बधाई दिनुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभएको छ, “एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको गर्विलो अवसरमा यू–१६ टोलीका सम्पूर्ण खेलाडी, टिम व्यवस्थापन तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

आज मलेसियामा भएको फाइनल प्रतियोगितामा नेपाली टोलीले सिङ्गापुरको टोलीलाई २ विकेटले पराजित गरेको हो । फाइनलमा सिङ्गापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो ।

‘हिमाल मानव अस्तित्वसँग जोडिएकाले सबै एकजुट भएर संरक्षण गर्नुपर्छ’ :मन्त्री पाण्डे

काठमाडौँ, असार २१ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमाल पृथ्वीको हृदयका साथै मानव अस्तित्वसँग जोडिएकाले सबै एकजुट भएर यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज यहाँ आयोजित ‘हिमालयन क्लाइमेट चार्टर’ सम्मेलनमा उहाँले हिमालको संरक्षण गर्नु भनेको मानव अस्तित्वको रक्षा गर्नु भएकाले यसको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा सबै एकजुट भएर हिमालय संरक्षण अभियानमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

हिमालय क्षेत्रलाई नेपालको मात्र नभई सम्पूर्ण पृथ्वीको साझा धरोहर र जलवायु सन्तुलन कायम गर्ने प्रणालीका रूपमा वर्णन गर्नुपर्ने मन्त्री पाण्डेले बताउनुभयो । “हिमाल पृथ्वीको हृदय हो । यसको रक्षा गर्नु केवल कर्तव्य होइन, मानव अस्तित्वको संरक्षण पनि हो”, उहाँले भन्नुभयो ।

उहाँले हिमालय क्षेत्रमा बढ्दै गएको जलवायु सङ्कटप्रति गहिरो चिन्ता व्यक्त गर्दै हिमनदी तीव्र गतिमा पग्लिनु, हिमताल फुट्नु, बाढी र पहिरोको जोखिम बढ्दै जानुलगायत घटनाले नेपालको जलस्रोत, जैविक विविधता, पर्यटन उद्योग र स्थानीय जनजीवनमा गम्भीर असर पारिरहेको बताउनुभयो ।

मन्त्री पाण्डेले हिमाल जोगाउनु कुनै क्षेत्रीय एजेण्डा नभई हाम्रो पृथ्वी र भावी सन्ततिको अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय रहेको बताउँदै सरकारले तयार पारेको ‘सफा हिमाल रणनीति–२०८२’को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले यो पाँच वर्षे कार्ययोजनाले फोहर व्यवस्थापन, वातावरण संरक्षण, पुनःस्थापना, उत्तरदायी पर्यटन र युवामार्फत नेतृत्व हस्तान्तरणलाई लक्षित गरेको बताउनुभयो ।

मन्त्री पाण्डेले अन्तरराष्ट्रिय वित्तीय संस्थालाई पर्वतीय राष्ट्रमा जलवायु सङ्कटको समाधानमा लगानी गर्न आह्वान गर्नुभयो । साथै, पर्यटन क्षेत्रका साझेदारलाई उत्तरदायी पर्यटन प्रवर्द्धनतर्फ उन्मुख हुन उहाँले प्रेरित गर्नुभयो ।

‘बिवाइएन ब्ल्याक्याक’गु्रपले नेपाल पर्वतारोहण सङ्घ, खुम्बु पासाङ ल्हामु गाउँपालिका र सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको सहकार्यमा गरेको सम्मेलनले हिमालय क्षेत्रको वातावरणीय भविष्यप्रति विश्वव्यापी ध्यानाकर्षणसहित ऐक्यबद्धताको आह्वान गरेको छ ।

यी संस्थाले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कटप्रति चिन्ता सार्वजनिक गर्दै संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । घोषणापत्रले कार्बन उत्सर्जन घटाउनेजस्ता विश्वव्यापी प्रयास मात्र होइन, हिमालयसँग पुस्तौँदेखि सहअस्तित्वमा रहेका समुदायको स्थानीय ज्ञानलाई महत्त्व दिएको छ ।

ब्ल्याक्याक ग्रुपका सिइओ काङ ते सूनले भन्नुभयो, “हिमालयबाट आएको यो मौन चेतावनीले देखाउँछ कि उच्चतम स्थानमा सुरु भएको परिवर्तन शीघ्र सबैभन्दा तल पुग्नेछ । जलवायु सङ्कट अब सम्पूर्ण मानव जातिको साझा मुद्दा हो । यो घोषणापत्र केवल वाचा होइन, जलवायु न्यायका लागि एकजुट आह्वान हो ।” उहाँले यो सन्देश विश्वभर फैलिने र सार्थक परिवर्तन ल्याउने विश्वास व्यत्तल गर्नुभयो ।

‘चुरे जोगाउन नसकिए मधेसको जीवन धरापमा पर्नेछ’

महोत्तरी, २१ असार : सरोकार भएकाहरूले चुरेको संरक्षण गर्न नसकिए मधेस प्रदेशको जीवन धरापमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रदेशको वन तथा वातावरण मन्त्रालयले आज यहाँ लालगढमा आयोजना गरेको पत्रकार र नागरिक समाजसँगको अन्तरक्रियामा सरोकार भएकाहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले चुरे क्षेत्रको निरन्तर दोहन, वन फडानी र जलवायु परिवर्तनले वन तथा वातावरणमा प्रतिकूल प्रभाव परेको उल्लेख गर्नुभयो । उहाँले चुरे र मधेसमा वनको अवस्था ‘रेडजोन’ मा पुगेको भन्दै यसलाई संरक्षण गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री यादवले भन्नुभयो, “यहाँको वन र चुरे क्षेत्र सङ्कटमा छ । यसलाई बचाउन सकिएन भने मधेसको जीवन नै धरापमा पर्नेछ । अब सरकारले मात्र यसको संरक्षण गर्नसक्ने अवस्था छैन, त्यसकारण आमनागरिक समाज र जनताको संयुक्त पहलकदमी आवश्यक छ ।”

उहाँले वनको संरक्षणलाई जीवनको मुद्दा बनाएर कलम चलाउन पत्रकारहरूसँग अपिल गर्नुभयो ।

पछिल्ला केही दशकयता विकास पूर्वाधारलगायत विभिन्न नाममा यहाँको वन कटान हुँदै गएकामा सहभागीले चिन्ता व्यक्त गरेका छन् । अभिलेखमा तीन लाख ३९ हजार ३४४ हेक्टरमा वन भए पनि राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष केन्द्रबाहेकका अन्य वनक्षेत्र सबै अतिक्रमणको चपेटामा परेको कतिपयको भनाइ थियो ।

कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका चुरे, नदी र वनक्षेत्र संरक्षणकर्मी, वातावरणविद्, स्थानीय तहका प्रतिनिधि, वनसम्बद्ध अधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो । वन तथा वातावरण मन्त्रालयको भू तथा जलाधार शाखाका अधिकृत नवोनारायण मिश्रले कार्यक्रममा वन संरक्षणका लागि सरोकार भएका सबै निकायले संयुक्त पहलकदमी बढाउने प्रतिबद्धता जनाएको बताउनुभयो । मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की, २१ असारः गण्डकी प्रदेशस्तरीय टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । यससँगै स्याङ्जाले लगातार दोस्रो पटक उपाधि चुम्न सफल भएको हो ।

पोखरामा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा भएको प्रतियोगिताको आज फाइनल खेलमा कास्कीलाई सात विकेटले हराउँदै स्याङ्जाले रु एक लाखसहित ट्रफी र मेडल पुरस्कार पायो । उपविजेता कास्कीले रु ५० हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।

आजको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कास्कीले निर्धारित २० ओभरको खेलमा १६ ओभरमा ‘अलआउट’ हुँदै ५६ रन बनाएको थियो । उपाधि जित्नका लागि ५७ रनको विजयी लक्ष्य पाएको स्याङ्जाले १० ओभरको तेस्रो बलमा लक्ष्य भेटायो ।

स्याङ्जाका लागि सिमाना केसीले १७ रनको ‘अविजित’ पारी खेलिन् । उनले २२ बलमा एक चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा ‘अविजित’ रहिन् । उनले १३ बलमा एक चौका प्रहार गरिन् । ओपनर श्रेया शाह पाँच, सलिना सेन छ, ज्योत्सनिका मरासिनी छ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान एक÷एक विकेट लिए ।

कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा दुई चौका र एक छक्का हानिन् । रचनाले २५ बलमा दुई चौका प्रहार गरिन् । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले तीन ओभरमा छ रन खर्चेर सर्वाधिक चार विकेट लिइन् । सिमाना केसीले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिइन् ।

स्याङ्जाकी सिमाना केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनी खेलको ‘वुमन अफदी म्याच’सँगै उत्कृष्ट बलरसमेत घोषित भइन् । कास्कीका सिर्जना पौडेल उत्कृष्ट ‘ब्याटर’ र सोनिमा पुन मगर उदियमान खेलाडी घोषित भइन् । यही असार १८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वत जिल्लाको सहभागिता थियो ।

उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ, २१ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले एसिसी यू–१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गरेको भन्दै नेपाली यू–१६ राष्ट्रिय टोलीलाई बधाई ज्ञापन गर्नुभएको हो ।

“एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गर्न सफल नेपाली यू–१६ राष्ट्रिय टोलीलाई हार्दिक बधाई ! यस गौरवमय सफलताका लागि प्रशिक्षक, व्यवस्थापन समूहलगायत सबैलाई धन्यवाद”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । आज मलेसियामा भएको फाइनल प्रतियोगितामा नेपाली टोलीले सिङ्गापुरको टोलीलाई पराजित गरेको हो ।

रुम्टाखोलामा सम्झौता अघि पक्की पुलः बर्खामा रोकिएनन् सवारी

गलकोट (बागलुङ), २१ असारः आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले एक वर्ष अघि सम्पन्न गरेको छ । बागलुङको दक्षिण भेग कुश्मिसेराबाट बरेङ हुँदै शान्तिपुर जाड्ने सडकको रुम्टाखोलामा एक वर्ष अघि पुल निर्माण गरिएको हो ।

पुल अभावमा वर्षायाममा सवारीसाधन ठप्प हुने समस्या अन्त्य भएको भन्दै स्थानीय हर्षित भएका छन् । पुलबाट पछिल्लो एक सातायता सवारीसाधन सञ्चालनमा आउन थालेका हुन् ।

जैमिनी नगरपालिका–९ र १० का नागरिकलाई पालिका सदरमुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त पुल निर्माणका लागि २०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले तयार भइसकेको हो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि वर्षामा सवारीसधान तार्ने तयारी गरिएको छ । निर्माण कम्पनी सूर्योदय कन्स्ट्रक्सन पर्वतले रु छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको जनाएको छ ।

अधिकांश काम सकिएकाले वर्षामा खोला जलसतह बढ्न थालेपछि पुलबाट सवारीसाधन सञ्चालन गर्न÷गराउन थालिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका इञ्जिनियर गोविन्दप्रसाद चौधरीले बताउनुभयो । उहाँले वर्षामा सवारीसधान नोरोकिने गरी पुलसँग जोडिएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । विसं २०८१ वैशाख ११ गते दुई वर्षमा पुल निर्माण सक्नेगरी सम्झौता भएकोमा एक वर्षमा सम्पन्न भएको उहाँको भनाइ छ ।

“यो वर्षामा सवारीसाधन गुड्न थालिसकेका छन्, सामान्य काम बाँकी भएपनि खोला बढेकाले सवारीसधान सञ्चालन थालिएको हो । कुस्मीसेरा–बरेङ–शान्तिपुर सडक विसं २०६५ मा निर्माण सम्पन्न भएर यातायात सञ्चालनमा आए पनि रुम्टाखोलामा पुल नहुँदा जैमिनी–९ पयैँु र १० राङ्खानीसँगै सिङ्गो बरेङ गाउँपालिकाका नागरिकले वर्षायाममा सास्ती खेप्नुपर्ने बाध्यता थियो”, चौधरीले भन्नुभयो । यसअघि पुल नहुँदा यातायात ठप्प भएपछि जैमिनी–९ र १० का नागरिक पालिका सदरमुकामसँगै सम्पर्कविहीन हुने गरेका उहाँको भनाइ छ ।

सडक निर्माण भएको १७ वर्षपछि उक्त रुम्टाखोलामा पुल बनेपछि दक्षिण बागलुङसँगै गुल्मी शान्तिपुरसम्मका स्थानीयलाई सहजता भएको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का लगाएर पुल निर्माण गरेको हो । कुल रु आठ करोड एक लाख ५९ हजार ६०८ लागत अनुमान रहेकामा निर्माण कम्पनीले रु छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा निर्माणको जिम्मा लिएको थियो ।

इमानदारीपूर्वक काम गर्दा समयभन्दा अगाडि काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि राम क्षत्रीले बताउनुभयो । उहाँले जनताले यो वर्षामा सास्ती खेप्न नपरोस् भनेर आफूले तीव्र गतिमा काम गरेको उल्लेख गर्नुभयो । “आफूले जिम्मा लिएको काम बेलैमा गरौँ भनेर तिव्रता दिएका थियौँँ”, उहाँले भन्नुभयो, “कामदारको सही परिचालन र निर्माण सामग्री समयमा उपलब्ध हुँदा काममा ढिलाइ भएन ।”

पुल वरपर मेसिनरी वाल र ग्याबिन जाली भर्ने काम अन्तिम चरणमा पुगेको क्षत्रीले बताउनुभयो । पुल हस्तान्तरणका लागि केही काम बाँकी भएपनि सवारीसाधन गुडाउन समस्या नरहेको उहाँको भनाइ छ ।

रुम्टाखोला पुलले जैमिनी नगरपालिकासँगै बरेङ गाउँपालिका र गुल्मीका हजाराँै नागरिकलाई सहजता प्रदान गर्ने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । “निर्माण व्यवसायीको चरम ढिलासुस्ती खेपिरहेको जैमिनी नगरपालिकामा सूर्योदय कन्ट्रक्सनले सम्झौता अगावै पुल निर्माण गरेको हो”, उहाँले भन्नुभयो ।

उक्त सडकको माथिल्लो खण्ड राङ्खानी–बरेङमा कालोपत्र भइसके पनि तल्लो खण्ड कुस्मीसेरा–राङ्खानी खण्ड भने अलपत्र बनेको छ । कालोपत्रका लागि चौथो पटक म्याद थप्दासमेत सडक कालोत्र हुन नसकेको उपप्रमुख शर्माले बताउनुभयो ।

राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई बधाई ज्ञापन

काठमाडौँ, २१ असार: राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू–१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई बधाई दिनुभएको हो ।
मलेसियामा आज भएको फाइलन खेलमा नेपाली टोलीले सि¬ङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।

राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ, २१ असारः वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा पहिरो खसेर बनेपा नाला हुँदै भक्तपुर खण्ड अवरुद्ध हुनुका साथै उक्त स्थानमा सडकमाथिको पुल भाँचिएको उहाँले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको घिमिरेले बताउनुभयो । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा बाढीका कारण भेरी करिडोर र रुकुमपश्चिमको आठविसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी करिडोर अवरुद्ध भएको छ ।

त्यस्तै जाजरकोटको पहिरोका कारण छेडागाड नगरपालिका–३ दखेरीभिरमा पहिरो जाँदा मध्यपहाडी राजमार्ग तथा बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कले भासुपातालमा पहिरो जाँदा मार्तडी–कोल्टी सडक पूर्ण रूपमा बन्द भएका प्रहरी नायब महानिरीक्षक घिमिरेले उल्लेख गर्नुभयो ।

प्रहरीका अनुसार पहिरोले अवरुद्ध भएको बाग्लुङथिस्त कालीगण्डकी करिडोर र रोल्पाको अखटेमा पहिरो जाँदा अवरुद्ध बनेको सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । त्यस्तै गुल्मीस्थित कालिगण्डकी करिडोर रोल्पाको परिवर्तन गाउँपालिका–५ मा खसेको पहिरोका कारण अवरुद्ध बनेको सहिद मार्ग एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व कोइरालाले भूमिका महत्त्पूर्ण छः सभापति देउवा

काठमाडौँ, २१ असारः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न स्व गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ ।

जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व कोइरालाको जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व कोइरालाको भूमिका महत्त्पूर्ण रहेकाले यसलाई भावी पुस्ताले पनि स्मरण गर्ने धारणा राख्नुभयो । अहिले मुलुक गणतन्त्रलाई सुदृढीकरण गर्दै आर्थिक सामाजिक रुपान्तरणको यात्रामा अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो ।

“गिरिजाबाबु नभएको भए मुलुकमा अहिल्यै गणतन्त्र आउने थिएन, गणतन्त्र ल्याउन उहाँले हिम्मत गर्नुभयो, जनमत सिर्जना गर्नुभयो”, सभापति देउवाले भन्नुभयो, “यद्यपि, अहिले केही समस्या छन्, तिनलाई समाधान गर्दै लैजानुपर्छ ।”

समावेशी राजनीतिक प्रणालीले सबै वर्ग, क्षेत्र र समुदायको राज्य संयन्त्रमा प्रतिनिधित्व सुनिश्चित गरेको जनाउँदै उहाँले मुलुकलाई आथिक रूपमा सम्पन्न बनाएर जनतालाई त्यसको लाभ दिलाउन सबै दल क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले हरेक कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीले अब आर्थिक सामाजिक रुपान्तरणको पनि नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “प्रजातन्त्र स्थापना, पञ्चायत र राजतन्त्र अन्त्य तथा संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । कांग्रेसको नेतृत्वमा संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धिको मार्ग अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले हरित ऊर्जा, आधुनिक कृषि प्रणाली, उन्नत बाली प्रवर्द्धन तथा किसानलाई प्रविधिसँग जोड्न विशेष योजना ल्याउनुपर्नेमा जोड दिँदै धार्मिक, सांस्कृतिक, आध्यात्मिक र साहसिक पर्यटन प्रवर्द्धन गरी मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्ने बताउनुभयो ।

कांग्रेस नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गिरिजाबाबु क्रान्ति र शान्तिको नायकका रूपमा रहनुभएको बताउनभुयो । “गिरिजाबाबु जे बोल्नुहुन्थ्यो, त्यो गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो । मन्त्री चौधरीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा विजेता खेलाडीलाई प्रोत्साहित गर्न सरकारले विभिन्न पुरस्कार र सम्मानको व्यवस्था गरेको जानकारी दिनुभयो ।

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले जनताको सङ्घर्षको माध्यमबाट प्राप्त राजनीतिक उपलब्धिलाई सुदृढ गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभभयो । उहाँले संविधानमा भएको जनअधिकार कार्यान्वयन गर्न एकजुट हुनुपर्ने उल्लेख गर्दै राजनीतिमा युवा पुस्ताको सहभागिता अनिवार्य रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा सभापति देउवाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताका विजेता नेपाली खेलाडी तथा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी उम्मेदवारलाई सम्मान गर्नुभएको थियो ।

वीरगञ्जबाट वनभोज खान खाएका शर्माको खोलाले बगाएर मृत्यु

बागमती, २१ असार: मकवानपुरको भिमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका-५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

वीरगञ्जबाट साथीहरूसँग वनभोज खान खाएका शर्माको खोलामा नुहाउने क्रममा अचानक पानीको बहाब बढ्दा बगेर मृत्यु भएको जानकारी आएको उहाँले बताउनुभयो ।

युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्छ :डा.कोइराला

काठमाडौं । नेपाली काग्रेसका नेता डा.शेखर कोइरालाले युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेसले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने तर कांग्रेस नै आवश्यक नभएको पनि बताए । उनले नकारात्मक कुरालाई मात्र लिएर अघि बढ्दा सबैकुरा हराउँदै जाने उल्लेख गर्दै विदेश पलायनलाई न्यूनीकरण गर्नुपर्ने औंल्याए ।

‘रोजगारीका अवसर सिर्जना गर्न नेपाली कांग्रेस नै चाँहिदैन । तर उचित कार्ययोजना चाहीं चाहिन्छ,’ उनले भने । सरकारसँग पैसा नभएर कृषकको लागि अनुदान नआएको उल्लेख गर्दै उनले नेपालमा उत्पादित कृषिजन्य बस्तु विदेश निर्यात गर्नुपर्नेमा जोड दिए ।

नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई उपप्रमुख डंगोलको आग्रह

काठमाडौँ, २१ असार : काठमाडौँ महानगरपालिकाले नन्ग्रेडेड माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह गरेको छ ।कामपाको उपप्रमुख सुनिता डङ्गोलले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रूपमा प्रधानाध्यापकलाई नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न सम्बन्ध भएका विद्यालयका प्रमुखलाई आग्रह गर्नुभएको हो ।

गएको तीन वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरू नन्ग्रेडेड नतिजा भएका विद्यालयहरूका प्रधानाध्यापकहरूसँग कुराकानी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

यसकारण नेतृत्वको खोजी भएको हो । उहाँले भन्नुभयो, “साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना नन्ग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ । त्यसपछि सबै समस्या केलाएर, सीप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला ।”

छलफलमा कामपाका शिक्षा अधिकृत केशव ज्ञवालीले, प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरूको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरू शिक्षासँगै श्रम क्षेत्रमा आबद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरूको एसइईको नतिजा राम्रो नभएको धारणा राख्नुभयो ।

छलफलमा विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो एक महिने अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँहरूको दृष्टिमा केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उल्लेख गर्नुभयो ।

विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कामपाबाट ५८ वटा सामुदायिक विद्यालयबाट चार हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये ९५६ जना (नन्ग्रेडेड)ले पुन परीक्षा दिनुपर्ने भएको छ ।

उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गएको वर्ष ५४५ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन् ।

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

सिरहा, २१ असार : असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुक्खै छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ ।

खेत जोतिए पनि पानीको अभावले रोपाइँ थाल्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि मधेसमा भने अझै पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।

सिरहाका लहान नगरपालिका–२३ का किसान रामकुमार यादव भन्नुहुन्छ, “समयमै बर्खा नहुँदा रोपाइँ नै गर्न पाइएन । खेत जोतेर बीउ तयार पारेको धेरै भइसक्यो, तर न पानी प¥यो, न मल पाइयो । अब पानी परेपछि मात्रै खेतमा काम अघि बढ्छ ।”

उहाँका अनुसार, यसपटक असार सुरू भएदेखि नै वर्षा कमजोर रहेकाले खेत सुकेका छन् । बोरिङ गर्ने सुविधा नभएकाले आकाशेपानीकै भर पर्नुपरेको छ । “अहिले रोपाइँको सबैभन्दा संवेदनशील समय हो, तर बजारमा डिएपी मल पाइँदैन । मल नहुँदा बीउ छर्ने समयमा धानलाई बढ्न आवश्यक पोषण दिन सकिन्न । यसले उत्पादनमा ठूलो असर गर्छ ,” उहाँले दुःखेसो गर्नुभयो ।

आकाशेपानीकै भरमा किसान

तराईका धेरैजसो जिल्लाजस्तै सिरहाका किसान पनि आजसम्म सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकाशेपानीमा भर पर्न विवश छन् । “पहिला–पहिला असारको सुरूमा नै पानी पथ्र्यो, तर अब त कहिले पानी पर्छ, कुनै ठेगान छैन,” लहान–१९ का किसान प्रदीप यादवले गुनासो गर्नुभयो ।

कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार, जिल्लामा कूल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन रहेकामा हालसम्म मात्र १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । उहाँले भन्नुभया, “अहिलेसम्म भएको रोपाइँ पनि अधिकांश किसानले बोरिङमार्फत गरेका हुन् ।”

यदि चाँडै पर्याप्त पानी नपरे बाँकी रोपाइँ ढिलो हुने र यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने कृषि विज्ञहरूको भनाइ छ । तर, मौसमविद्हरूका अनुसार मधेसका सबै स्थानमा मनसुन पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्नेछ ।

डिएपी मलको अभाव

पानी मात्र होइन, रोपाइँको अर्को बाधक बनेको छ, रासायनिक मल अभाव । कृषि सामग्री कम्पनी लिमिटेड, लहानका प्रबन्धक दीपक पौडेलका अनुसार, रोपाइँका लागि आवश्यक पर्ने पाँच हजार मेट्रिक टन डिएपी मलमध्ये हालसम्म मात्र आठ सय २५ मेट्रिक टन मात्र आपूर्ति भएको छ ।

“दक्षिणी भेगका किसानहरू सिँचाइका लागि मोटरको भरमा छन्, तर मल छैन”, प्रबन्धक पौडेलले भन्नुभयो, “गत वर्ष तीनपटक मल वितरण गरिएको थियो, तर यस वर्ष अहिलेसम्म एकपटक मात्र गरिएको छ । साउनको पहिलो हप्तामा मल आएन भने कार्यालयमै किसानको चाप बढ्ने देखिन्छ ।”

डिएपी मलको अन्तरराष्ट्रिय मूल्य वृद्धि र टेन्डर घाटाको डरका कारण मल आपूर्तिमा ढिलाइ भएको प्रबन्धक पौडेलको भनाइ छ । “अब कृषि मन्त्रालयले वैकल्पिक उपायबाट मल ल्याउने पहल गर्न आवश्यक छ”, उहाँले सुझाव दिनुभयो । युरिया र पोटास भने कार्यालयमा पर्याप्त रहेको उहाँले जानकारी दिनुभयो ।

समयमै रोपाइँ सम्पन्न भए आगामी बाली गहुँ, तोरी, सागसब्जीलगायतमा पनि राम्रो प्रभाव पर्ने नेपाल राष्ट्रिय कृषक समूह सिरहाका अध्यक्ष प्रदीप सिंह दनुवारको भनाइ छ । सरकारले समयमै मल आपूर्ति र दीर्घकालीन सिँचाइ समाधानमा ध्यान नदिए किसानको वर्षभरको मेहनत खेर जाने खतरा बढ्दै गएको उहाँले बताउनुभयो ।

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज

खोटाङ, २१ असार : रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुग्नुभएको थियो । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाउनुभएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा स्वदेश नेपाल फर्कनुभयो ।

मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचत गर्नुभएका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुग्नुभयो । अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुग्नुभएका सरोजले गाउँ फर्किएर व्यावसायिक बङ्गुर फार्म सञ्चालन गर्नुभयो ।

सुरूमा बङ्गुरले राम्रो उत्पादन दिँदै थियो । व्यावसायिक बङ्गुर पालनमा निकै उत्साहित बन्नुभएका सरोज आफूले उत्पादन गरेका बङ्गुर बिक्री नभएपछि छोटो समयमै निरुत्साहित बन्नुभयो । बङ्गुरपालनबाट करिब रु १८ लाख घाटा बेहोर्नुभएको छ ।

ठूलो लगानीमा सुरू गर्नुभएका बङ्गुरपालन व्यवसाय छाडेर सरोज पुनः बाख्रापालनमा लाग्नुभयो । बाख्रापालनका लागि जनशक्ति अभाव भएपछि त्यसलाई पनि छाड्नुभएका सरोजले सम्भावनाका खोजी गर्न भने छाड्नुभएन ।

गाउँमै केही गर्ने उद्देश्यसहित सम्भावनाका खोजी गरिरहनुभएका सरोजले छ वर्षअघि एउटा युटु्यब च्यानलमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती गर्ने विधिसम्बन्धी दिइएको जानकारी राम्ररी हेर्नुभयो । गाउँमै बसेर केही गर्ने हुटहुटीमा छटपटाइरहनुभएका सरोज त्यो युट्युब च्यानलकै माध्यमबाट भारतको हैदरावादसम्म पुगेर ड्रागन फ्रुटखेती गर्ने विधिसम्बन्धी हप्ता दिनको तालिम लिनुभयो ।

तालिम लिएकै ठाउँबाट २५० वटा ड्रागन फ्रुटका बिरुवा खरिद गरी साथमै लिएर आफ्नो घर हौँचुर फर्कनुभयो । घरमा आएर पाखो बारीमा रोप्नुभयो । अहिले ती बिरुवालाई मदर प्लान्ट (आमा बोट)को रूपमा विकास गर्दै त्यसैबाट बर्सेनि नयाँ बिरुवा उत्पादन गरेर विस्तार गर्नुभयो ।

सुरूमा २५० वटा बिरुवा ल्याएर व्यावसायिक खेती थाल्नुभएका सरोजको फार्ममा अहिले दुई हजार ७०० वटा ड्रागन फ्रुटका बोट छन् । सरोजको फार्मभरि अहिले राताम्मे भएर फलेका ड्रागन फ्रुट टिप्ने दोस्रो लट (चरण)को सिजन (समय) सुरू भएको छ ।

तीन वर्षअघिदेखि उत्पादन दिन थालेको फार्मबाट गत वर्ष दुई हजार केजी बिक्री भएको थियो । बर्सेनि उत्पादन वृद्धि हुँदै गएको फार्ममा यस वर्ष तीन हजार केजीभन्दा बढी ड्रागन फ्रुट उत्पादन हुने अनुमान गरिएको सरोजले जानकारी दिनुभयो ।

एउटा बोटबाट सरदर २५ केजी उत्पादन हुन थालेको फार्मबाटै प्रतिकेजी रु ३०० मा बिक्री गर्दा रु छ लाख सङ्कलन भएको सरोजले जानकारी दिनुभयो । करिब २० रोपनी पाखो बारीमा लगाइएको ड्रागन फ्रुट खरिद गर्नका लागि ग्राहक सरोजको घरैसम्म पुग्ने गरेका छन् ।

ड्रागन फ्रुट खरिदका लागि घरैमा आउने ग्राहकलाई प्रति केजी रु ३०० मा बिक्री गरिरहेको सरोजले जानकारी दिनुभयो । “खेती हेर्नकै लागि पनि मानिसहरू फार्ममा पुग्ने गरेका छन् । ड्रागन फ्रुट पाकेको सूचना फेसबुकमा हालेपछि ताजा फल खान र चाख्नैका लागि पनि ग्राहकहरू आउँछन्”, उहाँले भन्नुभयो, “ड्रागन फ्रुटको माग बढ्दो छ । ग्राहकको मागलाई मध्यनजर गरेर थप जग्गामा खेती विस्तार गरिरहेको छु । आगामी दिनमा प्रतिकेजी रु ५० सम्ममा बिक्री गर्नेगरी विस्तार गरिरहेको छु ।”

ड्रागन फ्रुटमा औषधीय गुण हुने र नेपालको लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको सरोजले बताउनुभएको छ । कृषि पेसामा फाइदा हुँदैन भन्ने भनाइलाई गलत सावित गर्दै सरोज व्यावसायिक ड्रागन फ्रुटखेतीमा रमाउनुभएको छ ।

एक छोरा र एक छोरीकी बुबा सरोजलाई श्रीमती कौशिला लिम्बूले सहयोग गर्दै आउनुभएको छ । झापाको गोमेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय लिएर स्नातकसम्म अध्ययन गर्नुभएका सरोजले २०७६ सालबाट गाउँमा आएर ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गर्नुभएको हो ।

सरोज र कौशिला दम्पती काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बन्नुभएको छ । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न ड्रागन फ्रुटखेती सुरू गरेको उहाँहरू बताउनुहुन्छ ।

ड्रागन फ्रुट फूल फुलेको ३५–४५औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने सरोजले जानकारी दिनुभयो । सरोजले ड्रागन फ्रुटखेतीका लागि मात्र रु १८ लाख लगानी गरिसक्नुभएको जनाइएको छ ।

व्यावसायिक कृषि पेसामा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवद्र्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदान दिने वातावरण मिलाउनुपर्नेमा सरोजको जोड छ । सामान्य अनुदानले कृषि क्षेत्रको प्रवद्र्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न सरकारलाई सरोजको आग्रह छ ।

सरोजले सुरू गर्नुभएको व्यावसायिक कृषि फार्ममा ड्रागन फ्रुटसँगै आँप, कागती र केराको व्यावसायिक खेती गर्नुका साथै मौरीपालन गर्नुभएको छ । सरोजको फार्ममा लगाइएका ड्रागन फ्रुट, केरा र मौरीले उत्पादन दिन थाले पनि आँप र कागतीका बिरुवा भने भर्खर हुर्कंदै गरेका छन् ।

एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य केही गर्नु नपर्ने र रोपेको २०/२५ वर्षसम्म लगातार फल दिने हुनाले अन्न खेतीबालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने सरोजले बताउनुभयो । जेठ अन्तिमदेखि मङ्सिर अन्तिमसम्म फल दिने ड्रागन फ्रुटको एउटै बोटबाट हरेक वर्ष आठ पटकसम्म फल टिप्न मिल्ने सरोजले जानकारी दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘हिमालयन एग्रो फार्म’ दर्ता गरेर व्यावसायिक कृषि व्यवसाय सुरू गर्नुभएका सरोजलाई गाउँपालिकाले ड्रागन फ्रुटका लागि पिलर निर्माण तथा टायर खरिदका लागि रु दुई लाख अनुदान रकम उपलब्ध गराइएको कृषि शाखा प्रमुख उद्धव बास्तोलाले जानकारी दिनुभयो । युवा कृषक सरोजलाई आगामी दिनमा सहयोग गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

वीरगञ्ज (पर्सा), २१ असार : चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३ दशमलव ४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकी गत आवको ११ महिनामा भने रु सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा यो नाका हुँदै भटमासको प्रशोधित तेल धेरै निर्यात भएको जानकारी दिनुभयो । “व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधित गरेर फेरि विदेशी मुलुकमा निर्यात गरेको देखिन्छ ।”

वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा भटमास तेल प्रशोधित निर्यात भने रु ५५ अर्ब तीन करोड मूल्य पर्ने २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ ।

जबकी गत आवको सोही अवधिमा भने रु आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात भएको थियो । चालु आवको ११ महिनामा यो नाका हुँदै रु नौ अर्ब ७५ करोड मूल्य पर्ने सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । जबकी गत आवको सोही समयमा भने रु आठ अर्ब चार करोड मूल्यको भएको थियो ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको ११ महिनामा रु आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको ११ महिनाको अवधिमा रु नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

ढोरपाटन (बागलुङ), २१ असार : बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ । जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन् भर्खरै जन्मिएरका भेडाका पाठा । जसले लेकाली जनजीवनलाई छर्लङ्ग पार्छ । समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ ।

हिजोआज त्यही भेडीगोठ र भेडाका बथान हेर्ने बुकीपाटन पुग्ने पर्यटक बढ्दै छन् । हजारौँ भेडा र सयौँ गोठालको बासस्थन बनेको छ ढोरपाटन बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि विकास हुँदै छ । यति बेला बुकीपाटनमा घाँस पलाएर हरियाली बनेको छ । त्यही हरियालीमा सेताम्मे भेडाका बथाले बुकीपाटनको सुन्दरतालाई बढाएको छ । पाँच वर्ष अगाडिसम्म बुकीपाटन भेडा गोठालाका लागि मात्रै प्यारो थियो । तर अहिले प्राकृतिक सुन्दरतासँग रम्नेका लाग अझ बढी प्रिय बनेको छ ।

भेडाका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन । उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ । पछिल्लो दुई वर्षयता बुकीपाटन पुग्ने पर्यटक र पत्रकारले त्यहाँको दृश्य सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न थालेपछि ढोरपाटन उपत्यका पुग्ने पर्यटकले बुकीपाटनको यात्रा तय गर्ने छन् । बुकीपाटन पुग्न सडक सञ्जालको सुविधा छैन । अघिल्लो वर्षसम्म गोरेटोमार्फत भेडीगोठाला र पर्यटक बुकीपाटन उक्लिने गर्थे । यस वर्ष भने पदमार्ग बनेको छ ।

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ आउने पर्यटकको नजरमा सबैभन्दा पहिले भेडाका बथान र भेठी गोठमा पुग्ने गर्छ । ढोरपाटन पाखाथरदेखि करिब पाँच घण्टाको पैदल यात्राान बुकीपाटनको पहिलो गन्तव्य गर्पाछेडा पुगिन्छ । गर्पाछेडा पुग्दा बित्तिकै चारै तिर हजारौँका सङ्ख्यामा छरिएर चर्दै गरेका भेडाका बथान देख्दा पर्यटकको थकाननै मेटिने गर्छ । बुकीपाटनमा आउने अधिकांश पर्यटक भेडाका बथानसँग रमाउने ढोरपाटनका भेठी गोठाला भक्त अदैले बताउनुभयो ।

पाँच वर्ष अगाडिसम्म गोठाला र भेडाका बथानबाहेक कोही पनि बुकीपाटनमा नआउने गरेको भन्दै पछिल्लो समय दिनदिनै सहर बजारबाट पर्यटक घुम्न आउने गरेको उहाँले सुनाउनुभयो । आफूहरू बच्चैदेखि बुकीपाटनमा बस्ने हुँदा यहाँको सुन्दरतासँगै रमाउने बानी परिसकेको उहाँको भनाइ छ । पर्यटकले भेडीगोठ, भेडाका बथान र गोठालाका जनजीवनबारे बढी चासो दिएर हेर्ने गरेको अदैले बताउनुभयो । पर्यटक आउन थालेपछि बुकी पाटनमा पहलपहल बढ्न थालेको उहाँ बताउनुहुन्छ ।

“हामीहरू रहरले बुकीमा बसेका हैनौँ, तर अहिले त मान्छेहरू रहरले घुम्न आउँछन्, भेडा पाल्ने हाम्रो बाध्यता हो, यहीबाटै हामीहरूले जीविकोपार्जन गर्छौं, पहिले गाठाला मात्रै हुन्थ्यो, बाहिरी मान्छे कोही आउँदैनथ्यो, अहिले हिउँदसम्मै बाहिरी मान्छेको चाप हुन्छ”, उहाँले भन्नुभयो, “सहर बजारका मान्छेले भेडाको बथान नदेखेको भएर होला, यहाँ आए भने घण्टौँ भुल्छन्, हामीहरूलाई पनि अनेक जिज्ञासा राखेर जान्छन्, कोही त दुई÷तीन दिननै यही बस्छन् ।”

दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेलगायत थुप्रै बुकीपाटन क्षेत्र पर्छन् । यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठालाहरू अस्थायी गोठ बनाएर बस्दै आएका छन् । सयौँ गोठालाको हजारौँ सङ्ख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन् । एउटै गोठालाको पाँच हजारसम्म भेडा हुन्छन् । धेरै स्थानबाट गोठालाहरूले भेडा लिएर आउँदा सिङ्गो पहाडनै ढपक्क ढाकिने गर्छ । रोल्पाको सुनछहारीबाट बागलुङको निसीखोला, निसेलढोर हुँदै बुकीपाटन आउनुभएका पुनराम घर्तीमगरले हिजोआज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको सुनाउनुभयो ।

आफू झण्डै ४० वर्षदेखि बुकीपाटनमा भेडा चरनका लागि आएको सुनाउँदै पहिले कोही पनि घुम्नका लागि नआउने उहाँको भनाइ छ । रोल्पाबाट दुई साता लगाएर भेडी गोठ लिएर आएको घर्तीमगरले बताउनुभयो । आफूले झण्डै एक हजार ७०० भेडा पाल्दै आएको उहाँको भनाइ छ । एकै ठाउँमा हजारौँको सङ्ख्यामा भेडा देख्दा घुम्न आएका पर्यटक दङ्ग पर्ने घर्ती मगर बताउनुहुन्छ । पर्यटकले गोठालाको कपडा, खाना र बासस्थानलाई बढी चासो दिएर हेर्ने गरेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “बुकीपाटन त हामीजस्ता गोठलाको लागि घाँसको भण्डार हो, यहाँ जति गए पनि जति भेडा चराए पनि चार÷पाँच महिनालाई प्रस्त घाँसले पुग्छ, यहाँको घाँस पोषिलो हुने हुँदा भेडा सप्रिन्छन्, त्यसले गर्दा बर्खाको समय बुकीपाटन आउँछौँ, अहिले त गोठाला मात्रै होइन, पर्यटक पनि बुकीपाटन आउन थाले, उनीहरूले यहाँ आएर हाम्रो भिडियो बनाएर जान्छन्, के–केमा आउँछ हेर्नु होला भन्छन्, हामीसँग मोबेल (मोबाइल) पनि छैन, केही छैन के बाट हेर्ने ?”

बुकीपाटन समुद्री सतहदेखि चार हजार ५०० मिटरको उचाइसम्म फैलिएको छ । यहाँ हरेक बर्सातको समय असारदेखि कात्तिकसम्म गोठाला बस्ने गर्छन् । कात्तिक महिना पछाडि चिसो बढ्ने हुँदा बँेसी झर्ने गर्छन् । भैरवाहदेखि बुकीपाटन आउनुभएको प्रकाश ज्ञवालीले यहाँको प्राकृतिक सुन्दरता र भेडाका बथानले आफूलाई लोभ्याएको बताउनुभयो । आठ जनाको समूहमा ढोरपाटन उपत्यका घुम्न आएको बेला होटल व्यावसायिकले बुकीपाटन जान सुझाएपछि बुकी उक्लिएको उहाँको भनाइ छ । आफूले अहिलेसम्म एकै ठाउँमा हजारौँ भेडा नदेखेको ज्ञवालीले सुनाउनुभयो ।

“बुकीपाटनमा म पहिलोपटक आएको हुँ, यति अग्लो उचाइमा पहिलोपटक आएको, त्यसमाथि जिन्दगीमै पहिलोपटक पहाडै ढाकिने गरी चर्दै गरेका भेडाका बथान देखेँ, यो मेरो ‘लाइफ’कै अविस्मरणीय हुनेछ”, ज्ञवालीले भन्नुभयो, “यहाँका गोठाला कति सहयोगी, कति मायालु, सबैभन्दा बढी त म यहाँको गोठ र भेडाहरूले प्रभावित भए, अहिले छोटो समयका लागि आएको थियौँ, अर्को पटक आउँदा धेरै दिन बस्ने गरि आउने छौँ ।”

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २१ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४४, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३९, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४६, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६५, काउली तराई प्रतिकिलो रु ५५, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु ४० र मकै बोडी प्रतिकिलो रु ७५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, २००, घिउ सिमी (जाजमा) प्रतिकिलो रु ९५, टाटे सिमी मूल्य प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४५, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ११०, पालुङ्गो साग प्रतिकिलो रु २००, तोरीको साग प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु २५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७५, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु १०००, पुदिना प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३३०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु १००, आँप (दशहरी) प्रतिकिलो रु १००, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, नास्पाती (लोकल) प्रतिकिलो रु १२०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (भारतीय) प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ६०, खुर्सानी अकबरे प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो धनियाँ प्रतिकिलो रु २२०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

सिङ्गापुर विरुद्धको फाइनल खेलमा नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ, २१ असार : एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले बलिङ गर्दैछ ।मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको ट्समा सिङ्गापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका छ्न । यससँगै नेपालले पहिले बलिङ गर्दैछ ।

घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो । यता सिङ्गापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।

समूह चरणमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । उक्त प्रतियोगिताअन्तरगत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

कर्णाली प्रदेशसभा बैठकद्वारा बजेट सर्वसम्मतले पारित

कर्णालीर-कर्णाली प्रदेशसभाको आजको बैठकले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १४१ को उपनियम १२ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहलाई आगामी आव.२०८२/८३ को समग्र बजेट पारित गरियोस् भनि सभामा प्रस्ताव गर्न समय दिनुभएको थियो ।

योजनामन्त्री शाहले कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । उक्त प्रस्तावसँगै आगामी आव.२०८२/८३ को बजेट सर्वसम्मतले पारित भएको सभामुख गुरुङले घोषणा गर्नुभयो ।

बैठकमा मन्त्री शाहले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तरगत अर्थ वित्तिय व्यवस्थामा विनियोजित ११ करोड ५० लाख रकमलाई विभिन्न योजनाहरुमा विनियोजन गरी कार्यान्वयन गर्न प्रदेशसभामा विशेष प्रस्ताव पेस गर्नु भएको थियो ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले असार १ गते रु ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको थियो । कुल विनियोजित बजेटमध्ये चालूतर्फ रु सात अर्ब ७९ करोड ९१ लाख एक हजार (२३ दशमलव ६४ प्रतिशत) रु पूँजीगततर्फ रु १९ अर्ब ९८ करोड २७ लाख १३ हजार (६० दशमलव ५५ प्रतिशत) बजेट सरकारले विनियोजन गरेको छ ।

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोक, २१ असार : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।

उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ । स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो । पुल भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो । यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ ।

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए । जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले उक्त सडकखण्ड अस्थायी रुपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

सुप विश्वविद्यालयमा साउन १४मा स्ववियू निर्वाचन

दोधारा चाँदनी (कञ्चनपुर)-महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिनुभयो । “साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ ।”

उहाँले भन्नुभयो, “भर्ना हुन बाँकि सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ ।” यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो ।

जलविद्युत्को सेयरमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रयासरत :मन्त्री खड्का

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनाको सेयरमार्फत गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी बैठकमा  आफ्नो धारणा राख्दै कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री खड्काले गरिब तथा विपन्न जनतालाई सेयरमार्फत समृद्ध बनाउनेगरी सरकारले कार्ययोजना बनाएको उल्लेख गर्नुभयो ।

नेता खड्काले पार्टीले लिएको समाजवादको सिद्धान्तलाई अवलम्बन गर्दै समृद्ध मुलुक निर्माणमा आफूले काम गरिरहेको बताउनुभयो । “जलविद्युत् क्षेत्रमार्फत मुलुकको विकास सम्भव छ, म मन्त्री भएर आएपछि भारतसँगै बङ्गलादेशमा समेत विद्युत् निर्यात सुरु गरेका छौँ, उक्त कार्यसँगै त्रिदेशीय विद्युत् व्यापार भएको छ”, उहाँले भन्नुभयो ।

उहाँले भारत र भारत हुँदै बङ्गलादेश विद्युत् निर्यातका लागि ठूला प्रसारण लाइन निर्माणमा महत्त्वपूर्ण सम्झौता भई र प्रसारण लाइन निर्माण अगाडि बढेको जानकारी गराउनुभयो । यस्तै विद्युत् उत्पादन तथा व्यापारका लागि चीनसँग सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।

नेता खड्काले आफू मन्त्री भएपछि ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ऐतिहासिक र उत्कृष्ट काम भएको बताउनुभयो । आगामी आर्थिक वर्षका लागि आफ्नो मन्त्रालयले समानुपातिक ढङ्गले बजेट विनियोजन गरेको उहाँको भनाइ थियो ।

एक अर्बको जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

गलकोट (बागलुङ), २१ असार : बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । एक अर्बको कोष बनाउने लक्ष्य रहेकामा कोषमा रु ५० लाख १० हजार जम्मा भइसकेको जैमिनी नगरपालिकाले जनाएको छ ।

पालिकाभित्रका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउनका लागि जैमिनी नगरपालिकाले रु एक अर्बको जैमिनी नागरिक उपचार कोष बनाउने लक्ष्यका साथ तीन वर्षअघि कोष घोषणा गरेको थियो । तीन वर्षअघि नगरपालिकाले रु १० लाख जम्मा गरेर घोषणा गरेको कोषमा गत वर्ष रु १५ लाख र यस वर्ष रु २५ लाख जम्मा गरिएको छ ।

कोषको ब्याजबाट नागरिकहरूको स्वास्थ्य उपचारका लागि सहायता प्रदान गर्ने लक्ष्यसहित कोष निर्माण थालिएको बताउँदै आगामी एक वर्षमै कोष वृद्धि भएर एक करोड पुर्‍याइने जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले बताउनुभयो । सामाजिक सुरक्षाको दृष्टिकोणबाट स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नको लागि नगरपालिकाले कोष स्थापना गरेको पुनको भनाइ छ ।

“दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पुर्‍याउने लक्ष्य रहेको छ, उक्त कोषमा रु एक अर्ब जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पुर्‍याउन सकिन्छ, कोषमा आम नागरिकले समेत सहयोग प्रदान गर्न सकिने छ”, पुनले भन्नुभयो, “कोषमा पालिकाले बर्सेनि नीति तथा कार्यक्रममार्फत रकम थपिँदै लैजाने गरिएको छ, आगामी दिनमा रकम अभावमा उपचार गर्न नसकेर नागरिक मर्न नपर्ने हाम्रो चाहना छ ।”

कोषमा हालैमात्र नगरपालिकाका योजना शाखा प्रमुख प्रेमप्रसाद सापकोटाले जन्मदिनको खर्च कटाएर रु १० हजार सहयोग गर्नुभएको छ । सापकोटाले कोषको सकारात्मक सन्देश फैलाउन व्यक्तिगत रूपमा आफूले पहिलो योगदान गरेको बताउनुभयो । नगरपालिकालले कर्मचारी, जनप्रतिनिधि तथा सर्वसाधारणले समेत कोषमा योगदान गर्न आह्वान गरेको छ ।

क्यान्सर, मुटुरोग, मिर्गौलाजस्ता उपचारमा ठूलो खर्च लाग्ने रोगका लागि नगरपालिकाले कोषको ब्याजबाट सहयोग उपलव्ध गराउनेगरी नीति बनाउन लागेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, २१ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।