`

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

भजनी (कैलाली), २१ असारः कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा हुनुहुन्छ । यसवर्ष तीन बिघाहमा लगाएको धान उहाँले अझँै बिक्री गर्न सक्नुभएको छैन । व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उहाँले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन ।

“व्यापारीले सस्तोमा धान खोज्नुहुन्छ । उहाँहरुले भनेको दररेटमा धान बिक्री गर्दा आफ्नो लागत नै उठ्ने देखिँदैन ।” उहाँ भन्नुहुन्छ, “आजभोलि धान रोपेर पछुतो लागिरहेको छ ।” सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन् । किसानले प्रतिक्विन्टल रु दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री गरिरहँदा कतिपय किसानको त्यतिमा पनि धान बिक्री हुन सकेको छैन ।

गत वर्ष प्रतिक्विन्टल रु तीन हजार ८०० रुपैयाँ पाएका किसानलाई यसवर्ष उत्पादन बढेपछि धान बिक्री गर्न समस्या भएको अर्का किसान डल्लु दास बताउनुहुन्छ । “गतवर्ष मैले नै रु तीन हजार ८०० प्रतिक्विन्टल चैते धान बिक्री गरेको थिए ।” उहाँले भन्नुभयो, “यसवर्ष त्यहीँ धान बिक्री गर्नका लागि व्यापारीसँग हारगुहार किसानले गरिरहेका छन् ।” उहाँका अनुसार कैयौँ किसानले उदारोमा पनि धान व्यापारीलाई दिएका छन् । पैसा कहिले पाइने भन्ने ग्यारेन्टी नभएर पनि किसानले व्यापारीलाई धान बिक्री गर्न थालेलको डल्लु बताउनुहुन्छ ।

भजनी नगरपालिका–५ लालभोझीका कृषि बुढाले उत्पादन गरेको धान उदारोमा जबरजस्ती व्यापारीका जिम्मा लगाउनुपरेको गुनासो गर्नुभयो । उहाँले नगदमा उत्पादन गरेको वस्तु उदारोमा बेच्नु पर्ने बाध्यता आइपरेको बताउनुभयो । “एक बिघा क्षेत्रफलमा चैते धान लगाउँदा झण्डै १८ हजार खर्च आउँछ । उत्पादन भएको धान बिक्री गर्नलाई बजार छैन । कसैलाई बेच्नु पर्ने भए पनि लागत भन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो, “न्युनतम दररेट तोकेको सरकारले कम्तिमा भनेकै दररेटमा धान खरिदको व्यवस्था गरिदिएको भए किसान हतोत्साहित हुने स्थिति आउने थिएन ।”

भजनीमा यसवर्ष झण्डै एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती भएको थियो । उत्पादनका हिसाबले किसानमा वर्षेनी आकर्षण बढ्दै गएको भए पनि बजारीकरणले सधैँ धोका हुने गरेको किसान परदेशु चौधरीको भनाइ छ । उहाँले गतवर्ष धानको राम्रो रेट पाएपछि यसवर्ष दुई बिघाह बिस्तार गरेको बताउँदै अहिले त्यो विस्तार गरेकोमा पछुतो लाग्न थालेको बताउनुभयो । “ उत्पादन राम्रो भएका कारण किसानको आकर्षण बढ्दै गएको छ ।” उहाँले भन्नुभयो, “उत्पादन भएको धान बिक्रीका लागि हुने समस्याले आगामी वर्षमा उत्पादन घट्ने सम्भावना देखिएको छ ।”

वर्षात सुरु भइसकेका कारण किसानलाई उत्पादन भएको धान व्यवस्थापनमा चुनौती थपिएको छ । बाढी र डुवानको उच्च जोखिममा रहेको भजनी सामान्य वर्षामा डुवानमा पर्छ । डुवान भएपछि उत्पादन भएको धानलाई कहाँ व्यवस्थापन गर्ने भन्ने अर्को चिन्ता किसानलाई छ । “व्यापारीले समयमा धान खरिद नगरे उत्पादन भएको धान कता राख्ने भन्ने चिन्ता छ ।” स्थानीय भोजराज कठरिया भन्नुहुन्छ, “वर्षातको समयमा घर बाढीले डुवाउँदा आफै हुलाकी सडकमा जानुपर्ने बाध्यता हुन्छ । खानका लागि राखिएको अन्नपात त जोगाउन सकिँदैन भने यत्रो धान कसरी व्यवस्थापन गर्ने होला ?”

कैयौँ किसानले उत्पादन गरेको धान आज पनि हुलाकी सडकमै छ । घरमा राख्ने ओभानो ठाउँ नभएपछि किसानले धान घर नलिएर व्यापारी खोजिरहेका छन् । किसानलाई दबाबमा राखेर सस्तोमा धान खरिद गर्ने दाउ व्यापारीले खोजिरहेका छन् । “हामी किसानको समस्या देखेर निकै चिन्तित छौँ । हरेक निकायलाई गुहार माग्दा पनि समस्या समाधान हुन सकेको छैन ।” भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भन्नुभयो, “प्रदेश सरकार, साल्ट ट्रेनिङ, सङ्घीय सरकारसँग पनि किसानले उत्पादन गरेको धान खरिदको लागि आग्रह गर्दै आएका छौँ, सुनुवाइ भएको छैन ।”

उहाँले धानको समर्थन मूल्य तोकेको सरकारले धान खरिद गरेर सहजीकरण गरिदिन पनि आग्रह गर्नुभयो । “आज सयौँ क्विन्टल धान उत्पादन भएको छ । सरकारले धान खरिद नगर्दा त्यसको फाइदा व्यापारीले उठाएका छन् ।” उहाँले भन्नुभयो, “आज किसानले लागतभन्दा कम मुल्यमा धान बेच्न विवश छन् भने भोली त्यो किसान कृषिमा कसरी उत्साहित बन्न सक्ला ?” भजनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको चैते धान जोन सञ्चालन हुँदै आएको छ । धान जोनका कारण यसवर्ष भजनीमा चैत धान विस्तार विगतको भन्दा बढेको थियो ।

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौँ, २१ असारः सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक सबंस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्न भनेको छ ।

आगामी आवदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्नका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ । सो प्रणाली लागु नगरेका कारण सिर्जना हुने दायित्व सरकारले नबेहोर्ने जानकारी गराइएको छ ।

सरकारले कर्मचारी, मजदुर तथा अन्य व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न योगगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा सरकारी कर्मचारीका लागि निवृत्तीभरण कोष ऐन २०७५ कार्यान्वयनमा ल्याएको छ । सरकारले २०७५ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागु गरिसकेको छ ।

कतियप नियामक निकाय, संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानमा पेन्सन, उपदान सुविधा प्रदान गर्ने प्रचलन कायम रहेको छ । सरकारले अबलम्बन गरेको नीति अनुसार सार्वजनिक प्रतिष्ठानबाट कर्मचारीको अवकाशपछिको दीर्घकालीन दायित्व भुक्तानीका लागि आवश्यक व्यवस्था नगर्दा घाटामा रहेका तथा आफ्नै स्रोत नभई सरकारकै स्रोतमा निर्भर रहनुपर्ने निकायले दीर्घकालीन दायित्व सिर्जना गरिरहेको देखिएको छ ।

अर्थमन्त्रीस्तरीय यही असार २० गतेको निर्णयअनुसार सो निर्णय भएको र कार्यान्वयनका लागि पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २१ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि देशभर साधारणतया बदली बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरिएको छ ।

कर्णाली प्रदेशकाे भौतिक मन्त्रालयका सवारी चालकको शव फेला

काँक्रेविहार (सुर्खेत), २० असारः यही असार ६ गतेदेखि सम्पर्कविहीन भएका कर्णाली प्रदेशस्थित भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला परेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतमा सवारी चालकका रूपमा कार्यरत २९ वर्षीय हिमबहादुर विष्टको शव आज भेरी नदी किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का विष्ट असार ६ गते बिहान ‘बिरामी छु’ भनेर कार्यालयमा खबर गरेयता सम्पर्कविहीन भएका थिए ।

त्यसअघि विष्टले प्रयोग गर्ने सरकारी मोटरसाइकल असार ९ गते भेरीगङ्गा नगरपालिकास्थित भेरी पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो । खोजतलासका क्रममा आज बराहाताल गाउँपालिका–४ साजघाटस्थित भेरी नदी किनारमा निजको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढथापाले जानकारी दिनुभयो ।

अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको छ : गर्भनर पौडेल

काठमाडौं । गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन्।शुक्रबार काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा राय/सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पैसा भएपनि विदेशी विनिमयहरु विनियोजनमा समस्या रहेको बताए।

उनले भने,‘अहिले देशको आर्थिक अवस्था हेरेर दुखी हुनु पर्दैन्। त्यति निराशाजनक छैन् अर्थतन्त्र। ठिक छ। त्यति नराम्रो अवस्था केही छैन्। हामीसँग पैसा पनि छ। हामीसँग विदेशी विनिमयहरु पनि छन्। खाली विनियोजनमा कसरी जाने भन्ने विषय हो।’

उनले प्राकृतिक रुपमा अर्थतन्त्र जम्प गर्ने कुरा नभएको भन्दै उनले पोलिसीहरुमा सहज रुपमा मुभ गर्नुपर्ने धारणा राखे।
उनले पैसा,विदेशी विनिमयहरुहरु पर्याप्त रुपमा हुँदाहुँदै पनि वृद्धिका लागि सही चालक आवश्यक भएको औंल्याए।

उनले भने,‘यो अर्थतन्त्र भनेको प्राकृतिक रुपमा जम्प गर्ने कुरा होइन्। खासगरी पोलिसीहरुमा स्मूथ मुभ हुनुपर्छ। हामीसँग पैसा छ। विदेशी विनिमयहरु छ तर ग्रोथको लागि ड्राइभर छैन्।’गर्भनर पौडेलले अर्थतन्त्रको ग्राफ हेर्दा कोरोनाको समयमा चिन्ताजनक भएतापनि अहिले लयमा फर्किएको दाबी गरे।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलित

घोराही ९दाङ०, २० असार : यहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन् ।
घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि आज बिहान ४ बजे प्रतिष्ठानमा ल्याइएकामा १० बजेसम्म सामान्य डेलिभरी हुने बताइए पनि नभएपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो ।

शल्यक्रियामार्फत छोरीको जन्म भएको तर केही समयपछि सुत्केरीको मृत्यु भएकाले चिकित्सकको कमजोरी भएको आफन्तहरुको आरोप छ । उनीहरुले अस्पतालको ‘अपरेशन वार्ड’मा प्रवेश गरी केही चिकित्सक माथि हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ ।

मृतकका ससुरा महाबीर सुनारले आफ्नो माइली बुहारीको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएकाले न्याय नपाएसम्म शव नउठाउने बताउनुभयो । नवजात शिशुको उपचारसहित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उनीहरुको अडान छ ।

प्रतिष्ठानका निर्देशक डा जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे जानकारी लिने काम भइरहेको र वस्तुगत यथार्थ बारे पछि जानकारी गराउने बताउनुभयो ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

काठमाडौँ, २० असारः सरकारले ‘वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना (२०८२-२०८७)’ को मस्यौदा तयार गरेको छ ।

वायु प्रदूषणका कारण उत्पन्न भइरहेका विविध स्वास्थ्य समस्या, प्राकृतिक विपद्, जलवायु परिवर्तन र यसको प्रभाव, वातावरणीय क्षतिलगायत विषयमा केन्द्रित रहँदै सङ्घीय सरकारले आगामी पाँच वर्षका लागि कार्ययोजनासहित मस्यौदा तयार गरेको होे ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय वातावरण विज्ञान विभाग, वातावरण विभाग, वन तथा भू–संरक्षण विभाग, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत संस्थाका प्रतिनिधि, वातावरणविज्ञ र अन्य सरोकार भएकाबीच मस्यौदामाथि छलफल गरेको छ । प्राधिकरणले आएका सल्लाहसुझावलाई समावेश गरेर कार्यविधिलाई अन्तिम रुप दिने तयारी गरिरहेको छ ।

उक्त कार्ययोजना कार्यन्वयनका लागि करिब एक अर्ब २२ करोड लागत लाग्ने अनुमान गरिएकोे छ । मस्यौदाअनुसार विभिन्न प्रदूषण मापन केन्द्र स्थापनाका लागि रु १२ करोड लाग्ने अनुमान गरिएको छ । गणितीय नमूनीकरणका लागि रु एक करोड, अन्तरराष्ट्रिय तथ्याङ्क अध्ययनका लागि रु १० लाख, प्रदूषण मापन केन्द्र सञ्चालनका लागि रु १५ करोेड आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

यसैगरी सेन्टिनेल अस्पतालहरूको पहिचान तथा विकासका लागि रु पाँच करोड, अनुसन्धान प्रयोगशालाका लागि रु एक करोड, मानव स्रोतको विकासलाई रु एक करोड, विपद् सङ्कट उन्मुखता तथा वर्गीकरणका लागि रु एक करोड, अनुकरण अभ्यासलाई रु १० करोड, सुधारिएको चुलो वा विद्युतीय चुलो अनुदानका लागि रु ५० करोड लागत लाग्ने अनुमान गरिएको छ ।

कार्ययोजनाको मस्यौदाअनुसार अध्ययन अनुसन्धानका लागि रु एक करोड, प्रशासनिक खर्चतर्फ रु पाँच करोड, उपकरण खरिदमा रु पाँच करोड, अनुगमन तथा मूल्याङ्कनका लागि रु दुई करोड, राहतका लागि रु १० करोड, प्रचारप्रसारका लागि रु ५० लाख, जनचेतना अभिवृद्धिका लागि रु ५० लाख, अन्य विधिका लागि रु दुई करोड लागत आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले वायुु प्रदूषणका कारण बर्सेनि मानवीय स्वास्थ्यमा असर परिरहेको भन्दै प्रदूषण न्यूनीकरणका लागि तयार गरिएको मस्यौदा कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ । अन्य अन्तरसरकारी निकाय र निजी क्षेत्रसँग सहकार्य र समन्वयमा प्रदूषण न्यूनीकरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

प्राधिकरणका सहसचिव रोशनी श्रेष्ठले स्थानीय तहलाई बढी सक्रिय बनाएर वायु प्रदूषण न्यूनीकरणलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयोे । वातावरणीय प्रदूषण न्यूनीकरणका लागि कानुनद्वारा छुट्टै कोष स्थापना गर्न आवश्यक रहेको उहाँले भनाइ छ ।

वातावरणविद् तथा कार्ययोजनाका मस्यौदाकार डा रमेशराज पन्तले वायु प्रदूषणजन्य आपतकालीन अवस्था र त्यसबाट हुने क्षति न्यूनीकरण गर्नका लागि विभिन्न मन्त्रालय, निकाय, सङ्घसंस्था, प्रदेश तथा स्थानीय तहहरूबीच समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्यका साथ कार्ययोजना तयार गरिएको बताउनुभयो ।

“पाँचवर्षे योजनाअन्तर्गत वायु प्रदूषण नियमन, स्रोत पहिचान, जनचेतना अभिवृद्धि, प्रविधिको प्रयोग, मापन तथा पूर्वानुमान प्रणालीको विकास, कानुनी सुधार, नीति निर्माण तथा अनुगमन संयन्त्रको सुदृढीकरणलगायत कार्य प्राथमिकतामा राखिएको छ”, उहाँले भन्नुभयो, “कार्ययोजनाले वायु प्रदूषणका स्रोतहरूलाई वर्गीकरण गर्दै औद्योगिक उत्सर्जन, यातायातजन्य प्रदूषण, घरेलु इन्धन प्रयोग, कृषि क्रियाकलाप, जङ्गल, डढेलो तथा पूर्वाधार निर्माणलाई पहिचान गरेको छ । काठमाडौँ उपत्यका, लुम्बिनी–बुटवल, विराटनगर–इटहरी, पोखरा उपत्यकालगायत ठूला सहरलाई विशेष जोखिमयुक्त क्षेत्र मानी नियमनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।”

पन्तका अनुसार वायु प्रदूषणका कारण मानवीय स्वास्थ्यमा पर्नसक्ने नकरात्मक असरको न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ । “प्रदूषणका कारण बर्सेनि बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दम, हृदय रोगलगायत दीर्घकालीन रोगीहरूलाई असर गरिरहेको हुन्छ । ती वर्गलाई विशेष लक्षित गरेर स्वास्थ्य सुरक्षाका कार्यक्रम लागू गरिनेछ”, उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयको समन्वयमा वायु प्रदूषणसम्बन्धी स्वास्थ्य गम्भीरता बुझ्न र प्राथमिक उपचार सुनिश्चित गर्न अध्ययन गरिनेछ ।”

पन्तले वायु प्रदूषणले सामाजिक, आर्थिक, सांस्कृतिक प्रणालीमा पार्ने असर तुलनात्मक रूपमा बढ्दै गइरहेको भन्दै विमानस्थलको दृश्यता दूरी (भिजिविलिटी) मा कमी हुन गएको बताउनुभयो । “कयौँ घण्टा विमान अवतरण र उडान अवरुद्ध हुने गरेको छ । कतिपय अवस्थामा दुर्घटना गराउने गरेको छ”, उहाँले भन्नुभयो ।

यस्ता छन् कार्यविधिका पाँच वर्षे लक्ष्य

मस्यौदा अनुसार सन् २०१६ देखि स्थापनामा आएका २७ वटा वायु गुणस्तर मापन केन्द्रको विस्तार गरिनेछ । भूउपग्रह, मोबाइल मापन यन्त्र, र गणनात्मक नमूनामार्फत प्रदूषण पूर्वानुमानको प्रणालीलाई सुधार गरिने र अन्तरराष्ट्रियस्तरमा समेत प्रयोग भइरहेका ढाँचाहरूको स्थानीयकरण गरिने मस्यौदामा उल्लेख छ ।

जनचेतना अभिवृद्धि र सामुदायिक सहभागिताका लागि घरदैलो, विद्यालय शिक्षा, सञ्चार माध्यममार्फत वायु प्रदूषणसम्बन्धी जोखिम, त्यसबाट हुने असर र नियन्त्रणका उपायबारे जनस्तरसम्म चेतना पु¥याउने रणनीति अवलम्बन गरिनुका साथै बायो ग्यास, बिजुली चुलो, वातावरणमैत्री प्रविधिको प्रवर्द्धन गरिने लक्ष्य छ ।

कानुनी तथा नीतिगत सुधार गर्ने, संविधानले उपलब्ध गराएको स्वाच्छ वातावरणमा बाच्न पाउने हक कार्यन्वयनमा सहयोग गर्ने लक्ष्य कार्यविधिले राखेको छ । वायु प्रदूषणको मुख्य कारकहरूमा गाडी, इट्टा भट्टा, डढेलो, घरायसी इन्धन, औद्योगिक फोहर जलाउने रहेका भन्दै यस्ता काम गर्न नलगाउने लक्ष्य छ ।

सातै प्रदेशमा वातावरणीय प्रदुषण जाँच गरिने, सरोकार भएकाबीच समन्वय बढाउने, विपद् पोर्टल व्यवस्थित बनाउने, स्थानीय तहलाई सबल बनाउने, अनुमगन र मूल्याङ्कनलाई प्राथमिकता दिने लक्ष्य छ । त्यसैगरी सवारीसाधनमा युरो छको मापदण्डको प्रभावकारी कार्यान्वयन गराउने, वन डढेलो नियन्त्रण गर्ने, २० वर्षभन्दा पुराना सवारीसाधनलाई रोक लगाउनेलगायत लक्ष्य कार्यविधिमा राखिएको छ ।

वायु प्रदूषणका मुख्य असर

सन् २०२२ मा विश्व बैंकको एक अध्ययनअनुसार वायु प्रदूषणका कारण हरेक वर्ष विश्वमा करिब आठ दशमलव एक ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक भार पर्ने गरेको छ । यो भार वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपि)को छ दशमलव १५ प्रतिशत रहेको छ ।

विश्व बैंकको सन् २०१९ मा प्रकाशित प्रतिवेदनअनुसार नेपालमा प्रदूषणका कारण सन् २०३० सम्ममा झण्डै एक दशमलव ३८६ मिलियन अमेरीकी डलर बराबरको आर्थिक भार पर्नसक्ने अनुमान गरिएको छ ।

वायु प्रदूषण मानव स्वास्थ्य, जलवायु, पर्यावरणीय सन्तुलन, कृषि उत्पादन एवं दिगो विकासका लागि विश्वमा प्रमुख चुनौतीका रूपमा रहेको विभिन्न अध्ययनहरूले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको अनुसार घरभित्र र घरबाहिरको वायु प्रदूषणका कारण बर्सेनि ७० लाख मानिसको ज्यान जाने गरेको छ । सङ्गठनको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वको कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस घरभित्र भएको वायु प्रदूषणको जोखिममा रहेका, ९९ प्रतिशतभन्दा बढी मानिस प्रतिमाइक्रोमिटर (पिएम) दुई दशमलव पाँचका लागि तोकिएको मापदण्डको मात्राभन्दा बढी प्रदूषित हावा रहेको स्थानमा बसोबास गरिरहेका छन् ।

प्रदूषित वायुका कारण श्वासप्रश्वास, मुटु, मस्तिष्क, नशा, चर्म, इन्द्रिय, अनुवंशिकसम्बन्धी रोगबाट करोडौँ मानिस ग्रसित हुने गरेका र हरेक वर्ष लाखौँ मानिसको ज्यान जाने गरेको अध्ययनले देखाएको छ । त्यस्तै संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनअनुसार वायु प्रदूषणले ऐतिहासिक र पुरातात्विक महत्वका स्मारक, भवन र मठमन्दिरहरुमा गम्भीर क्षति पु¥याउँछ । फलस्वरुप, पुरातात्विक महत्त्वका संरचना कमजोर र क्षयीकरण भई बिग्रिँदा वा भत्किँदा जनधनको क्षति हुने गरेको उक्त प्रतिवेदनले जनाएको छ ।

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती, २० असार : बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल प्रारम्भ भएको छ ।

यही असार १ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गर्नुभएको थियो । सो बजेटमाथि आजदेखि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो ।

आजको प्रदेशसभा बैठकमा २६ जना प्रदेशसभा सदस्यहरुले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राख्नुभयो । प्रदेशसभा सदस्यहरुले जनताको चाहना र प्रदेशको आवश्यकताअनुसार बजेट नआएकाले त्यसलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभाको अर्काे बैठक शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । बजेटमाथिको छलफलले भोलि पनि निरन्तरता पाउने उहाँले बताउनुभयो । आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ माथि सभामा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

सो विधेयक बैठकमा छलफलका लागि सर्वसम्मतले स्वीकृत भएको सभामुख भुवनकुमार पाठकले घोषणा गर्नुभएको थियो ।

‘सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ’ – राप्रपा अध्यक्ष लिङ्देन

बनियानी (झापा), २० असारः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त लगानी भएर सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्ने बताउनुभएको छ ।

झापाको हल्दिबारी गाउँपालिकालाई आज यहाँ आयोजित पूर्णसाक्षर पालिका घोषणा गर्दै लिङ्देनले सरकारले सामुदायिक विद्यालयमा प्रशस्त लगानी गरे पनि नतिजा खस्किनुको कारण खोज्नुपर्ने समय आएको बताउनुभयो । “कहाँ कमजोरी भयो, यति धेरै लगानी गरेर पनि सामुदायिक विद्यालयको परिणाम कमजोर हुनुको कारण के हो?”, उहाँले भन्नुभयो, “निजी विद्यालयभन्दा किन कमजोर छ ?”

भौतिक पूर्वाधारदेखि शिक्षक तथा कर्मचारीको तलब, तालिम सबै विषयमा निजीभन्दा सामुदायिक विद्यालय पहुँचयोग्य रहेका बताउँदै सङ्घीय सांसदसमेत रहनुभएका लिङ्देनले शिक्षक अभाव भएका ठाउँमा पालिकाहरूले निजी स्रोतबाट शिक्षक नियुक्त गरेको आफूले पाएको उल्लेख गर्नुभयो ।

“भवन नभएर वा तलब नपुगेर वा तालिम नभएर कारण के होकि, कमजोरी र कारणहरू हामीले खोज्नुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो देश कस्तो बनाउने भन्ने कुरा अहिले उत्पादन भएका विद्यार्थीबाटै हो, आगामी भविष्य र नेपाल कस्तो हुन्छ भन्ने हामीले उत्पादन गर्ने विद्यार्थीले निर्धारण गर्छन् ।” आगामी दिनमा देश राम्रो÷नराम्रो जस्तो बने पनि त्यसको जस र अपजस शिक्षकले पनि लिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा शैक्षिकसत्र २०८१ को एसइई परीक्षमा हल्दिबारीबाट उत्तीर्ण भएका तीन सय आठ विद्यार्थीमध्ये उत्कृष्ट ३२ विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । प्रमुख अथिति लिङ्देन, गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलगायतले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले एसइईमा नगरका सामुदायिक विद्यालयबाट दुई सय ८९ र निजीबाट एक सय ७८ गरी चार सय ६७ विद्यार्थी सहभागी भएकामा सामुदायिकबाट एक सय ३८ र निजीबाट एक सय ७० जना उत्तीर्ण भएका जानकारी दिनुभयो । उहाँले गत वर्षभन्दा उत्तीर्ण प्रतिशत वृद्धि भएको बताउँदै गत वर्ष सामुदायिक विद्यालयमा उत्तीर्ण प्रतिशत २७ रहेकामा यस वर्ष बढेर ४८ पुगेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाले तयार पारेको गाउँ शिक्षा योजना पुस्तिका सार्वजनिक गरिएको छ । गाउँपालिकाकी शिक्षा शाखा प्रमुख जनककुमारी राईले शिक्षा क्षेत्रको सुधारका लागि पञ्चवर्षीय गाउँ शिक्षा योजना पुस्तिका तयार पारिएको बताउनुभयो । गाउँपालिकामा साक्षरता दर ९५ प्रतिशत रहेको प्रमुख राईले बताउनुभयो ।

त्यस्तै, हल्दिबारीलाई पूर्णखोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री

गाउँपालिकाले आज यहाँका ६८ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी पालिकाले उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मैनालीले स्वागत गर्नुभएको थियो । अध्यक्ष लिङ्देनले पालिकाले प्रदान गरेको सहायक सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो । अपाङ्गता भएकाहरूको दैनिकीलाई सहज बनाउन सहायक सामग्री वितरण गरिएकाले अधिकतम उपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

आज कार्यक्रममा सहायक सामग्री लिन आउन नसकेका÷छुटेकालाई घरघरमा पुर्याउन कर्मचारीहरूलाई निर्देशन पनि दिनुभयो । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, करुणा फाउन्डेसनसँगको सहकार्यमा र हल्दिबारी गाउँपालिकाले रु आठ लाख ९६ हजार बराबरको सहायक सामग्री वितरण गरेको गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापामगरले जानकारी दिनुभयो ।

कार्यक्रममा ह्वीलचियर १३ थान, वैशाखी सात थान, श्रवणयन्त्र १२ थान त्रिपल स्टिक छ थान, एलस्टिक १२ थान, नेक एक थान, एयर मेट्रेस दुई थान, स्टेनिङ फ्रेम तीन थान, ट्वाइलेट स्टेचर छ थान, वकिङ फ्रेम दुई थान र सिपी ह्वीलचियर दुई थान वितरण गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिनुभयो ।

मनसुनको हावापानीको अवस्था अद्यावधिकः मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने

काठमाडौँ, २० असारः जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनामा मधेस प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने अद्यावधिक आकलन सार्वजनिक गरेको छ ।

विभागले कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर र देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको अद्यावधिक विवरण सार्वजनिक गरेको विभागका सूचना अधिकारी दिनाकर कायस्थले जानकारी दिनुभयो ।

यसअघि विभागले गत जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको तथा अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने आकलन सार्वजनिक गरेको थियो ।

अहिले फेरि मनसुनको हावापानीको अवस्था अद्यावधिक गर्दै विभागले नयाँ आकलन सार्वजनिक गरेको हो । जसअनुसार कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकीको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना विगतको आकलनझैँ ५५ देखि ६५ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागका सूचना अधिकारी दिनाकर कायस्थले जानकारी दिनुभयो ।

सुदूरपश्चिमको उत्तरी भूभाग, लुम्बिनीको दक्षिणपूर्वी भूभाग, बागमतीको दक्षिणी भूभाग र कोशी प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छभने मधेस प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखिदेखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

उक्त अद्यावधिक आकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना तथा उत्पादन गर्ने केन्द्रको हावापानीको प्रारुपहरूको आकलन र साउथ एसियन सेसन क्याइमेट आउटलुक फोरकको आकलनका आधारमा गरिएको हो ।

यस्तै नेपालको मनसुन ऋतुको जलवायु प्रभाव पार्ने पूर्वी प्रशान्त महाशाखामा विकसित हुने एल्निनो र साउदर्न ओसिलिएसन तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिपोलको हालको अवस्था तथा जलवायु प्रारुपको मनसुन ऋतुको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुन ऋतुमा परेको हिउँ, अन्तरऋतु परिवर्तनका कारकहरूका आधारमा आकलन गर्ने गरिएको विभागका सूचना अधिकारी दिनाकर कायस्थले जानकारी दिनुभयो ।

रूसमा नयाँ सवारीसाधनको बिक्रीमा उल्लेखनीय गिरावट

रुसको उद्योग तथा व्यापार मन्त्रालयले सन् २०२५ को पहिलो छ महिनामा नयाँ सवारीसाधनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा करिब २८ प्रतिशतले घटेर छ लाख सात हजार पाँच सय युनिटमा झरेको जानकारी दिएको छ । यस अवधिमा यात्रु सवारी, साना व्यवसायिक सवारी तथा यात्रुबाहक बसहरू बिक्री भएका छन् ।

घरेलु रूपमा उत्पादन भएका सवारीसाधनमध्ये करिब तीन लाख ३३ हजार तीन सय युनिट मात्र बिक्री भएको र यो सङ्ख्या गत वर्षको तुलनामा करिब ११ प्रतिशतले कमि आएको मन्त्रालयले जनाएको छ ।

बिक्रीमा यात्रु सवारी २६ प्रतिशत, साना व्यवसायिक सवारी १९ प्रतिशत र यात्रुबाहक बस ५४ प्रतिशतले घटेका छन् । यसैगरी, जुन महिनामा मात्र नयाँ सवारीसाधनको बिक्री गत वर्षको सोही महिनाको तुलनामा ३१ प्रतिशतले घटेको र अघिल्लो महिनाको तुलनामा दुई प्रतिशतले कमि आएको मन्त्रालयले जनाएको छ । जुन महिनामा करिब एक लाख एक हजार युनिट नयाँ सवारीसाधन बिक्री भएका थिए ।

अमेरिकी कर वृद्धिका कारण श्रीलङ्काको कुल गार्हस्थ्य उत्पादन १.५ प्रतिशतले घट्ने : आइएमएफ

संयुक्त राज्य अमेरिकाले श्रीलङ्काको निर्यातमा ४४ प्रतिशत कर कायम गरेमा र प्रतिस्पर्धी व्यापारिक साझेदारहरूमाथिको कर घटाएमा श्रीलङ्काको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा १.५ प्रतिशतसम्म गिरावट आउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिवेदनले देखाएको छ ।

संयुक्त राज्य अमेरिकाले श्रीलङ्काविद्ध लगाएको ४४ प्रतिशत कर जुलाई ९ सम्मका लागि स्थगित भएको छ भने हाल आधारभूत १० प्रतिशत निर्यात करको सामना गरिरहेको छ ।

आइएमएफका अनुसार विशेष गरी गार्मेन्ट क्षेत्रका लागि नाफादर कम छ जसले फर्महरूको पर्याप्त कर वृद्धिलाई अवशोषित गर्ने क्षमतालाई सीमित गर्दछ । प्रतिवेदनमा बाह्य मागमा कमी र व्यापारमा देखिएको अस्थिरताका कारण कुल गार्हस्थ्य उत्पादनको तीन प्रतिशत बिन्दुले निर्यात घट्न सक्ने उल्लेख छ ।

आईएमएफले आयातित सामग्रीको न्यून आवश्यकता, विश्वव्यापी वस्तुको मूल्यमा आएको कमी र विनिमय दरको अवमूल्यनका कारण निर्यातमा आएको कमीलाई आंशिक रुपमा पूर्ति गर्ने बताएको छ ।

श्रीलङ्काको प्रतिस्पर्धात्मक क्षमतामा आएको कमी र बढ्दो अनिश्चितताले व्यावसायिक लगानीलाई निरुत्साहित गर्ने र कुल गार्हस्थ्य उत्पादनमा नोक्सानी हुने आइएमएफले जनाएको छ ।

आइएमएफले बेरोजगारी बढ्ने चेतावनी पनि दिएको छ भने सहयोग प्रदान गर्न सरकारमाथि सार्वजनिक दबाबले सुधार कार्यान्वयनलाई सुस्त बनाउन सक्छ र कार्यक्रमको कमजोर प्रदर्शनको जोखिम बढाउन सक्छ ।

युक्रेनमाथि हालसम्मकै ठूलो रूसी आक्रमण, कूटनीतिक समाधानको सम्भावना न्यून

रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट पार्नुभएको छ । उक्त अभिव्यक्तिसँगै रूसले युक्रेनविरुद्ध हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण आरम्भ गरेको पुष्टि भएको छ ।

उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवाद निष्कर्षविहीन रूपमा समाप्त भएको केही घण्टापछि सुरु भएको हो । राजधानी किभ लगायत युक्रेनका विभिन्न सहरहरूमा रातभरि ड्रोनको गुन्जन र विस्फोटहरूको आवाज सुनिएको थियो, जसमा युक्रेनी हवाई सुरक्षा प्रणाली सक्रिय रूपमा परिचालित रहेको जानकारी प्राप्त भएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले संवाददातासँग कुराकानी गर्दै भन्नुभयो, “हामी हाम्रो उद्देश्यहरू हासिल गर्न विशेष सैन्य अभियानलाई प्राथमिकता दिइरहेका छौं, तर त्यसलाई राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नु अझ उपयुक्त हुनेछ ।” यद्यपि उहाँले वर्तमान अवस्थामा कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले एक दिनअघि राष्ट्रपति पुटिनसँग भएको संवादमा युद्ध अन्त्यको विषयमा कुनै प्रगति नभएको जानकारी दिनुभएको छ । युक्रेनी अधिकारीका अनुसार ट्रम्प र राष्ट्रपति भोलोदिमिर जेलन्स्कीबीच थप कुराकानी शुक्रबार नै तय गरिएको थियो ।
किभका बासिन्दा तिमुरले उक्त आक्रमणलाई विगतका घटनाहरूभन्दा निकै फरक र भयावह भएको बताउँदै भन्नुभयो, “यसअघि कहिल्यै यति धेरै विस्फोटहरू एकसाथ भएको थाहा थिएन ।”

राष्ट्रपति जेलन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भन्नुभयो,“रूसले फेरि एकपटक प्रमाणित गरेको छ कि उसले युद्ध र आतंकको अन्त्य गर्ने कुनै तयारी गरेको छैन । यदि अन्तर्राष्ट्रिय समुदायबाट ठोस र ठुलो दबाब नपरेसम्म, रूसको विनाशकारी व्यवहारमा परिवर्तन आउन गाह्रो देखिन्छ ।”

रूसी सेनाले डोनेत्स्क क्षेत्रमा रहेको एक गाउँ नियन्त्रणमा लिएको दाबी गरेसँगै युक्रेनी भूभागमा थप दबाब सिर्जना भएको देखिन्छ । आक्रमणको क्रममा पोल्यान्डको किभस्थित दूतावासमा क्षति पुगे पनि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको जनाइएको छ ।

जर्मन परराष्ट्र मन्त्रालयले आक्रमणको समयबारे प्रतिक्रिया दिँदै भनेको छ, “नेताहरूबीचको संवाद सम्पन्न भएको तुरुन्तै आक्रमण हुनु यहि देखाउँछ कि रूस अझै पनि बल प्रयोगमा निर्भर रहन चाहन्छ । युक्रेनले आफ्नो रक्षा गर्न झन बढी सहयोगको आवश्यकता छ ।”
उक्त आक्रमण युक्रेनमाथिको रूसी आक्रमणमा हालसम्मकै सबैभन्दा ठूलो भएको युक्रेनी वायु सेनाले जनाएको छ । वायु सेनाका अनुसार सो आक्रमणमा ५३९ ड्रोन र ११ मिसाइल प्रयोग गरिएको थियो, जसबाट कम्तीमा २३ जना घाइते भएको पुष्टि भएको छ ।

युक्रेनले पनि पछिल्लो समय रूसभित्र प्रतिक्रिया स्वरूप हमला बढाएको छ । रुसको रोस्तोभ क्षेत्रमा युक्रेनी ड्रोन खस्दा एक महिलाको मृत्यु भएको त्यहाँका कार्यवाहक क्षेत्रीय गभर्नरले जनाएका छन् ।

युद्धविरामका लागि संयुक्त राज्य अमेरिकाको पहलमा सुरु गरिएका वार्ताहरू अहिले निष्क्रिय अवस्थामा देखिए पनि युक्रेन र रूसले युद्धबन्दीको नयाँ विनिमय कार्यक्रम जारी राखेका छन्, जुन इस्तानबुलमा भएको पछिल्लो छलफलको परिणामस्वरूप सम्भव भएको बताइएको छ ।

‘सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ’ – मन्त्री भण्डारी

अमरगढी (डडेल्धुरा), २० असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनपक्षीय काममा निरन्तर लागिपरेको भए पनि चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ ।

डडेल्धुरामा आज कार्यकर्तासँगको भेटघाटमा मन्त्री भण्डारीले सरकारको जनपक्षीय काम देखेर अत्तालिएकाहरूले वर्तमान सरकारप्रति विरोध गरिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार जनआकाङ्क्षा पूरा गर्न लागिपरेको छ । यो संयुक्त सरकार हो, संयुक्त सरकारबाट एकल सरकारको जस्तो अपेक्षा पूरा नहुन सक्छन् । तर सरकारले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको छ ।”

मन्त्री भण्डारीले हालको राष्ट्रिय राजनीति, सरकारको प्राथमिकता, उद्योग तथा आपूर्ति क्षेत्रका विषयमा सरकारको नीति तथा योजनाबारे प्रकाश पार्नुभएको थियो । उहाँले विशेषगरी सुदूरपश्चिम प्रदेशमा आर्थिक विकास, रोजगारी सृजना र औद्योगिक पूर्वाधार विस्तारमा सरकारले चालेका कदमहरूको जानकारी दिनुका साथै स्थानीय तहका कार्यकर्ताको भूमिका पनि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

भेटवार्तामा कार्यकर्ताहरूले जिल्लाको विकास, रोजगारी, व्यावसायिक विस्तार तथा केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयका विषयमा सुझाव, गुनासो र अपेक्षाहरू राखेका थिए । मन्त्री भण्डारीले ती सबै सुझावलाई गम्भीरतापूर्वक लिनुका साथै समाधानका लागि मन्त्रालय तथा पार्टीस्तरमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकलाई प्रयोगशाला नबनाउन आग्रह

काठमाडौँ, २० असारः यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान, नागरिकता, लिङ्ग परिवर्तन र सामाजिक स्वीकार्यतालाई एकीकृत र मर्यादित बनाइनुपर्नेमा जोड दिइएको छ । मायाको पहिचान नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियन्ताहरूले सो समुदायलाई प्रयोगशाला नबनाउन आग्रह गरेका छन् ।

एउटै समुदायभित्रै लिङ्ग परिवर्तन, हर्मोन प्रयोग र नागरिकता वितरणमा देखिएको अनियमितता सबैको सहकार्य र समन्वयबाट रोक्नुपर्ने अभियन्ता सन्ध्या लामाले बताउनुभयो । सो समुदायका अभियन्ताका अनुसार एउटै व्यक्तिलाई कहिले महिला, कहिले पुरुष, कहिले ‘अन्य’को नागरिकता वितरण गरिएको छ । शल्यक्रियामार्फत लिङ्ग परिवर्तन (सेक्स चेन्ज) गरिसकेका व्यक्तिहरू अझै नागरिकता लिन सङ्घर्षरत रहेका लामाले उल्लेख गर्नुभयो ।

अभियन्ता लामा आफै सन् २०१७ मा लिङ्ग परिवर्तन गरी महिला बन्नुभएको हो । उहाँले भन्नुभयो, “लिङ्ग परिवर्तन गरेसँगै नियमित हर्मोन खान्छौँ, क्याल्सियमको कमी ल्याउँछ, हड्डी दुख्छ, अरु असर कति छन् कति । लिङ्ग परिवर्तनपछि पिसाबमा समस्या आयो, फेरि दिल्ली गएर सर्जरी गर्नुपर्यो । विवाहितले सल्लाह नगरी लिङ्ग परिवर्तन गर्दा परिवार बिग्रिन्छ । तेस्रोलिङ्गी भनेर खुलेर आउने अनि पछि विवाह गरेर बस्नेहरूले हामीजस्ता वास्तविक तेस्रोलिङ्गीको बदनाम गरेका छन् ।”

यस्तो अन्योलपूर्ण अवस्था अन्त्य गर्न समुदायका प्रतिनिधिले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको जनाएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सबै व्यक्तिलाई एकीकृत र मर्यादित पहिचानसहितको नागरिकता दिनुपर्ने समुदायको माग छ ।

अभियन्ता नुमा लिम्बू (चञ्चला)ले लिङ्ग परिवर्तनपछिको नागरिकता, संविधान र सामाजिक व्यवहारबारे सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । “हामी महिला–पुरुष होइनौँ, फरक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक हौँ । त्यसैले हामी ‘अन्य’ पहिचानसहितको नागरिकता मागिरहेका छौँ”, उहाँले भन्नुभयो । प्रशासनले महिलाका रूपमा नागरिकता लिन सुझाव दिने गरेको बताउँदै उहाँले कतिपयले बाध्य भएर महिलाका रूपमा नागरिकता लिएको उल्लेख गर्नुभयो ।

“कतिले ‘अन्य’को पहिचान पाएका छन् । पुरानो नाममा फेरबदल गर्न गाह्रो हुने भएकाले सुरुआतमै सही पहिचानसहितको नागरिकता दिनुपर्छ । हाम्रो संविधानमा अधिकार लेखिएको छ, व्यवहारमा कार्यान्वयन हुनुपर्छ”, लिम्बूले भन्नुभयो । पहिचान नबुझेर विवाह हुने र तेस्रोलिङ्गी भन्ने थाहा पाएपछि सम्बन्ध विच्छेदका घटना बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

संविधानसभा सदस्य एवं ब्लु डायमण्ड सोसाइटीका संस्थापक सुनिलबाबु पन्तले पश्चिमी अवधारणाले हाम्रो विविधता निस्तेज पार्न नसक्ने बताउनुभयो । अधिकारसहितको पहिचानको माग गर्दा हाम्रो मौलिकता, विविधता र वास्तविकता लोप नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “राज्यले कुनै नीति नबनाई चार प्रकारका नागरिकता वितरण गरिरहेको छ । यसले अन्योलका साथै विभेदलाई कानुनी रूप दिइरहेको छ ।”

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले ब्लु डायमण्ड सोसाइटीको लाजिम्पाट र धुम्बाराहीस्थित भवन पछिल्लो समय युएसएआइडीको अनुदान रोकिएपछि प्रयोगविहीन भएको बताउनुभयो । समुदायको नाममा बनेको भवन निजी स्वार्थमा प्रयोग गर्न नहुने धारणा उहाँले राख्नुभयो ।

विवाहको दाबी र प्रमाणको अभाव

मायाको पहिचान नेपालका सचिव एवं दक्षिण एसियामा पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्नुभएका अभियन्ता सुरेन्द्र पाण्डेले समलिङ्गी विवाहबारे भ्रम फैलाइएकाले यसलाई सबै मिलेर असफल बनाउनुपर्ने धारणा राख्नुभयो । “हाम्रो पहलमा दर्ता भएका विवाहलाई आफूहरूले गरेको भनेर गलत प्रचार गरिएको छ । निजी लाभ लिने उद्देश्यले २० जोडीको समलैङ्गिक विवाह भएको भनेर प्रमाणबिना प्रचार गर्ने संस्था पनि छन् । तिनका काम असफल पार्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय एकजुट हुनु जरुरी छ”, उहाँले भन्नुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित पहिचान, नागरिकता, लिङ्ग परिवर्तन, सामाजिक स्वीकार्यता, स्वास्थ्य र कानुनी सुरक्षासहित समानता र मर्यादाको सुनिश्चितता आजको आवश्यकता भएकाले यसका लागि समुदायका सबै एकजुट हुनुको विकल्प नरहेको उहाँले उल्लेख गर्नुभयो ।

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’

काठमाडौँ, २० असार : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पेनको सेभियामा भएको संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागिता र त्यसक्रममा भएका उच्चस्तरीय भेटघाटले स्पेनसहितका राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको स्पष्ट परेको छ ।

प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको यही असार १६ देखि १९ गतेसम्म भ्रमणबाट नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुगेको परराष्ट्रसचिव अमृतबहादुर राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्मेलनका क्रममा प्रधानमन्त्रीबाट भएका भेटघाटले स्टोनिया, स्पेन, पोर्चुगल, इजिप्टलगायतका राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगको छ, साथै नेपाल र संयक्त राष्ट्रसङ्घसँगको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुगेको छ ।”

परराष्ट्रसचिव राईले सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता एवं सक्रियाताले अन्तरराष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको जनाउँदै अतिकम विकसित मुलुकको समूहका अध्यक्षका रूपमा धारणा प्रस्ततु गर्नुका साथै नेपालको दिगो विकास तथा स्तरोन्नतिका लागि अन्तरराष्ट्रिय सहयोगको आह्वान गर्नुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्पेनको व्यावसायिक समुदाय र तथा प्रवासी नेपालीसँग गर्नुभएको अन्तरक्रियाबाट नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।” त्यसैगरी उहाँका अनुसार प्रधानमन्त्रीले इजिप्टका प्रधानमन्त्रीसँगको भेटमा हमासले बन्दी बनाएका विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर रिहाइको पहलका लागि अनुरोध गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाली राजदूतावास म्याड्रिडद्वारा आयोजित स्पेनका व्यावसायिक समुदायसँको अन्तरक्रियामा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले अतिकम विकसित मुलुकहरूसम्बन्धी उच्चस्तरीय कार्यक्रममा गरिबी, भोकमरी, कुपोषण, व्यापार घाटाजस्ता समस्या भोग्नुपरेको तथा ऋणको साँवाब्याज भुक्तानीमा ठूलो रकम छुट्याउन परेकाले जननताका शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न कठिन भएको बताउनुभएको थियो ।

त्यस अवसरमा विकासका लागि वित्त सम्मेलनमा व्यक्ति भएका प्रतिबद्धता कार्यान्वयन गर्न ठोस कदम चाल्न तथा वित्तीय खाडल न्यूनीकरणका लागि व्यावहारिक कार्ययोजना अघि सार्न पनि प्रधानमन्त्रीले आह्वान गर्नुभयो ।

एक प्रश्नको जवाफमा परराष्ट्रसचिव राईले भन्नुभयो, “नेपालप्रति अन्तरराष्टिय जगत्को धेरै ठूलो सद्भाव छ, स्वाभाविक रूपमा युरोपेली मुलुकले गहिरो र ठूलो सद्भाव राख्छन्, त्यो सद्भावलाई नेपालका प्रतिष्ठा अभिवृद्धि गर्ने र आर्थिक समृद्धिमा प्रयोग गर्ने सवालमा यस्ता भ्रमणलाई अन्तरराष्ट्रिय मञ्चलाई प्रयोग गर्ने गरेका छौँ ।”

अन्तरराष्ट्रिय मञ्चमा नेपाल त्यसै पनि ४६ वटा अतिकम विकसित मुलुकको अध्यक्षको नाताले ठूलो भूमिकामा रहेको जनाउँदै उहाँले दश वर्षको अवधिमा हुने यो सम्मेलनले दिगो विकास लक्ष्य पूरा गर्न कसरी आर्थिक सहयोग उपलब्ध गराउने केन्द्रित रहेकाले पनि त्यो आवाजलाई मुखरित गर्न नेपाल सफल भएको प्रतिक्रिया दिनुभयो ।

स्वास्थ्यमा सुधार आएपछि स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

काठमाडौँ, २० असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा सुधार आएपछि मन्त्री वीर अस्पतालबाट उपचारपछि घर फर्कनु भएको अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक प्रा डा शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भएको थियो ।
मन्त्री पौडेलले थाइल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगतै ज्वरो आएपछि यही असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।

‘कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’ : अध्यक्ष नेपाल

काठमाडौँ, २० असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण श्रमजीवी जनताको समतामूलक समृद्धिका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको पाँचौँ अधिवेशनको उद्घाटन गर्दै उहाँले देशको राजनीतिमा विभिन्न कम्युनिष्ट पार्टीमा बढ्दै गइरहेका अन्तरविरोधलाई समाप्त गर्न कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताउनुभयो ।

विश्व परिवेशमा कम्युनिष्ट आन्दोलन कमजोर भएको समयमा नेपाली जनताले कम्युनिष्ट पार्टीलाई अनुमोदन गरेको बताउँदै अध्यक्ष नेपालले देशको धरातलीय यथार्थ सापेक्ष कार्यनीतिक कार्यदिशाका कारण नेपाली समाजको रुपान्तरणका लागि कम्युनिष्ट आदर्श तथा विचारको विकास सम्भव भएको उल्लेख गर्नुभयो ।

विभिन्न समूहमा छरिएका वामपन्थी शक्तिलाई एकीकृत गरी बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि प्रयास भइरहेको बताउँदै उहाँले सामाजिक न्याय, समानता, आर्थिक विकासको लक्ष्य हासिल गर्न कम्युनिष्टहरूले वर्गीय शोषण, उत्पीडन विभेदको अन्त्यका लागि क्रियाशील हुनपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बहुलवादी समाज, पूर्ण लोकतान्त्रिक अधिकार, जनताको समतामूलक समृद्धि, सामन्तवादको अन्त्य र शोषित, पीडित जनताको आर्थिक विकासका लागि एकीकृत समाजवादीको स्थापना भएको विश्वास व्यक्त गर्नुभयो ।

मुलुकमा भ्रष्टाचारका कारण आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले आफ्नो पार्टी मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

राजनीतिक अधिकारसहितको पूर्ण नागरिक स्वतन्त्रता, लेख्न, बोल्न पाउने अधिकारका लागि आफूले लामो सङ्घर्ष गरेको स्मरण गर्दै अध्यक्ष नेपालले राजनीतिक षड्यन्त्रका कारण अहिले आफूलाई भ्रष्टाचारको मुद्दा दायर गरिएको बताउनुभयो । उहाँले आफूले कहिले पनि अनियमितता नगरेकाले अदालतबाट न्याय प्राप्त गर्ने विचार व्यक्त गर्नुभयो ।

‘औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक’ : डा युवराज खतिवडा

गण्डकी, २० असारः पूर्वअर्थमन्त्री तथा गभर्नर डा युवराज खतिवडाले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताउनुभएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको २९औँ स्थापना दिवस तथा २८औँ वार्षिकोत्सव समारोहका अवसरमा आज आयोजित ‘राष्ट्रिय अर्थतन्त्र र साना तथा मझौला उद्योग व्यवसायीका चुनौती तथा समाधान’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो ।

सङ्घका अध्यक्ष विनोद श्रेष्ठले युवाशक्ति विदेशिने समस्याको समाधान रोजगार सृजना नै भएको बताउनुभयो । लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले पर्यटनको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा सङ्घीय सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा डा इन्द्रप्रसाद तिवारीले व्यावसायिक दृष्टिकोण विकासमा नेतृत्व गरेका वर्गले साना व्यवसायीको हितमा काम गर्न सुझाव व्यक्त गर्नुभयो । धार्मिक, शैक्षिक तथा पर्यटकीय सम्भावना बोकेको लेखनाथ क्षेत्रको समुचित विकास आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले आर्थिक मन्दीका बाबजुद पनि सङ्घका सदस्यहरू उत्पादनमा लागिरहेकामा प्रशंसा व्यक्त गर्नुभयो । सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संस्थाको भौतिक संरचना र सामाजिक रुपान्तरणमा सङ्घको भूमिका स्मरण गराउनुभयो ।

उहाँले २०७८ सालमा स्थापना गरिएको ‘चन्द्रकृष्ण ज्येष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने घोषणा गर्नुभयो । पुरस्कार राशि रु एक लाख एक हजार रहेको छ ।

गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नेतर्फ अघि बढौं : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नेतर्फ अहिलेको नेतृत्वले ध्यान जान आवश्यक रहेको बताएका छन् ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीका अवसरमा शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र शान्ति प्रक्रियाप्रति परिवर्तनमा कोइरालाको महत्वपूर्ण योगदान रहेको भन्दै अब उनको सपना पूरा सबै लाग्नुपर्ने बताए । यस्तै, उनले अहिलेको सरकारले गरेका गतिविधि, संसदीय अभ्यास र न्यायलयका गतिविधि जनतासँग गरेको कबुल विपरित भइरहेको बताए ।

उनले गिरिजाप्रसाद कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै अहिले नेतृत्वमा रहेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।
उनले भने, ‘अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि—के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौं ?’

उनले आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको उल्लेख गर्दै अहिले जनताको भावना र पिरमर्का बुझ्न अभियानमा निस्केको बताए । कार्यक्रममा उनले वर्तमान सरकार, संसद र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचे जस्तै अवस्था सहज नरहेको बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डसहित राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका नेता, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले कोइरालाको योगदानको स्मरण गर्दै लोकतन्त्र, मानव अधिकार र शान्ति स्थापनामा उनको अग्रणी भूमिकाको चर्चा गरेका थिए ।

बिपी राजमार्गको काभ्रे–खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक, २० असार : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो ।

कार्यालयद्वारा आज जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ । यसअघि यही असार ६ गते काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बिपी राजमार्गमा असार ७ गतेदेखि सोही समयमा करिब १० घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाएको थियो ।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई यसअघि १५ दिनका लागि राति सञ्चालनमा रोक लगाइएको काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । उहाँका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो । आइतबारदेखि काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ ।

गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड सडक नै बगाएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको यस राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् ।

बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । क्षतिग्रस्त राजमार्ग निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढेको छ ।

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

धरान (सुनसरी), २० असारः सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक क्रियाकलाप र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालले उच्च सतर्कता अपनाउने प्रतिबद्धता जनाएको छ ।

सशस्त्र प्रहरीले सीमा सुरक्षा सुदृढीकरणलाई दीर्घकालीन प्राथमिकताका रूपमा लिँदै सीमावासीहरूसँग सहकार्य र समन्वय मजबुत बनाउने घोषणा गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीले आज ‘सीमावासीसँग सशस्त्र प्रहरी’ अन्तक्र्रिया गरेको थियो । सो अन्तक्र्रियामा सीमा अपराध नियन्त्रणका लागि स्थानीय तहसँग सहकार्य गर्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजङ्ग थापाले बताउनुभयो ।

अन्तरक्रियामा भारतसँग सीमा जोडिएका इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका ६६ वटा सीमावर्ती वडाका जनप्रतिनिधिको सहभागिता थियो । सीमा क्षेत्रमा फैलँदै गएको लागुऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करीलगायतका सीमापार अपराधहरू नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले रणनीतिक योजना तयार गरी कार्यान्वयनमा लैजाने बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बताउनुभयो । उहाँले सीमामा सुरक्षाको चुनौती बढेसँगै सीमा सुरक्षा मजबुत बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले हाल बन्द छोटी भन्सारहरू पुनः सञ्चालन गर्न, नयाँ छोटी भन्सारहरू स्थापना गर्न र सीमामा महिला सशस्त्र प्रहरी कर्मचारीहरूको सङ्ख्या वृद्धि गर्न माग गरेका छन् । सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणमा महिला प्रहरीको उपस्थिति प्रभावकारी हुने उनीहरूको भनाइ छ ।

बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

असार २० काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नु भएको छ ।
बेलायत–नेपाल चेम्बर अफ कमर्स र नेपाल दूतावास, लन्डनको संयुक्त आयोजनामा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको बताउँदै बेलायती व्यवसायीहरुलाई लगानीको लागि आग्रह गर्नु भएको हो ।

नेपाल र बेलायतबीचको आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित लण्डन स्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रममा विशेष सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायत बचि २ सय वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको, गोरखा सैनिकहरू भर्ति, विकास सहयोग, शिक्षा र व्यापारमा बेलायतको ठूलो योगदान रहेको चर्चा गर्दै दुई देशबीचको यो सम्बन्धलाई व्यापार र लगानीमार्फत थप उचाइमा पुर्‍याउनु पर्ने बताउनु भयो ।

नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहको चर्चा गर्दै उहाँले नेपालको रणनीतिक भौगोलिक अवस्थिती, युवा र दक्ष जनशक्ति, कम श्रम लागत, र विस्तार भइरहेको मध्यम वर्गले लगानीमैत्री वातावरण निर्माण गरेको बताउनु भयो ।

“नेपालमा जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा आकर्षक अवसरहरू रहेको छ । नेपालसंग ४० हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न सक्ने क्षमता छ । स्वच्छ र हरित ऊर्जा भविष्य हो, र हामी बेलायती कम्पनीहरूलाई यी अवसरमा सहभागी हुन आमन्त्रण गर्छौं ।” अध्यक्ष ढकालले भन्नु भयो ।

सूचना प्रविधिमा नेपाली युवाको सीप र दक्षताले नेपाललाई आउटसोर्सिङ र डिजिटल सेवाको प्रतिस्पर्धी हब बनाउन सकिने बताउँदै अध्यक्ष ढकालले लगानीकर्तालाई नेपालमा लगानीको लागि आवश्यक सहजीकरण र स्थिर वातावरण प्रदान गर्न महासंघ प्रतिवद्ध रहेको बताउनु भयो ।

नेपाल र बेलायतबीचको सम्बन्धलाई प्रगाढ बनाउन बेलायतस्थित नेपाली समुदायले खेलेको भूमिका सराहनीय रहेको चर्चा गर्दै अध्यक्ष ढकालले नेपाली उत्पादनको बजारिकरण, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा नेपाली समुदायले थप योगदान दिनसक्ने बताउनु भयो । कार्यक्रमले दुवै देशबीच व्यापार, लगानी र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।

स्थानीय र आगन्तुक चराको गन्तव्य ‘कान्ति ताल’

नेपालगञ्ज (बाँके), २० असारः कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो । नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ । कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न चराका लागि आहार र विहारका लागि लामो समयदेखिको आश्रयस्थल हो ।

जानकारहरू जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण कान्ति ताल चरा अध्ययनका लागि पनि प्रसिद्ध भएको बताउँछन् । विज्ञहरू यो ताललाई ‘बर्ड पार्क’ र ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने बताउँछन् । तर यही तालमा केही समयअघि मोटरबोट चलाउने प्रयास भएपछि स्थानीय, अधिकारकर्मीलगायतको विरोध पनि भयो । विरोधपछि डुङ्गा चलाउने योजना अलपत्र पर्यो । अहिले तालको एक छेउमा एउटा काठको डुङ्गा अलपत्र छ । न डुङगा चढ्न आउनेहरू छन् नत चलाउने मानिस नै देखिन्छन् ।

जैविक विविधता र पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्दै पर्यावरण जोगाउनमा कान्ति तालको भूमिका महत्त्वपूर्ण भएको जानकार बताउँछन् । विशेषगरी सारसका लागि यो क्षेत्र महत्त्वपूर्ण छ । सारसको बासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्ति ताल र मानखोल हो । त्यसमध्ये पनि कान्ति ताल सबैभन्दा राम्रो बासस्थान भएको विज्ञको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरको वडा नं २२ र २३ मा २५ बिघामा फैलिएको कान्ति ताल परम्परागत चराका लागि मात्रै नभई विभिन्न देशबाट बर्सेनि आउने विदेशी चराको पनि महत्त्वपूर्ण बासमा पर्छ । तालमा वर्षभरि नै दुर्लभ चराचुरुङ्गी बसोबास गर्नुका साथै जाडो तथा गर्मी छल्न विभिन्न देशबाट बर्सेनि चराहरू आउने गरेका छन् ।

फ्रेन्डस् फर वाइल्ड वाइल्ड लाइफ कन्जरभेसनका अध्यक्ष आशिष चौधरीका अनुसार नेपालगञ्ज आसपासमा यहाँजस्तो सिमसार अन्य ठाउँमा छैन । “यहाँ प्रकृतिप्रेमीका लागि मात्र नभई जनावर र चराका लागि पनि उपयुक्त वातावरण छ, लामो समयदेखि यसलाई जोगाउन सकेकै कारण विभिन्न देशबाट यहाँ बर्सेनि चरा आइरहेका छन्”, उहाँले भन्नुभयो ।

दुर्लभ चराको बासस्थान रहेको कान्ति ताल क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनका लागि मोटरबोट सञ्चालनको प्रक्रिया सुरु भएपछि संरक्षणविद्ले चासो व्यक्त गर्दै उपमहानगरमै उक्त कार्य रोक्नका लागि निवेदन दिएका थिए । उनीहरूले तालमा मोटरबोट सञ्चालन गर्नुको साटो चरापार्क निर्माण गरी आम्दानी गर्न सकिने सुझाव पनि दिएपछि अहिले त्यसतर्फ चासो बढाइएको उहाँको भनाइ छ ।

मोटरबोट सञ्चालन भएमा पर्यावरणमा क्षति पुग्नुका साथै चराचुरुङ्गी यहाँबाट लोप हुने भएकाले उनीहरूको संरक्षणका लागि भए पनि मोटरबोट सञ्चालन गर्न नहुने उनीहरूको सुझाव छ । “तालमा मोटरबोट सञ्चालनका लागि लामो प्रयास भयो, तर बोट चढ्ने मानिस पनि भएनन्, त्यसपछि प्रयास भएको छैन, यो ताललाई अहिले प्राकृतिक रूपमै संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ”, चौधरीले भन्नुभयो । चौधरी तालमा काठको डुङ्गा चलाउन समस्या नभए पनि मोटरबोट चलाउँदा त्यहाँको पारिस्थितक प्रणालीमा नै असर पुग्ने बताउनुहुन्छ ।

“पोखराको फेवातालमा पनि मोटरबोट चलाइएको छैन, काठको डुङ्गा नै चलाइएको छभने नेपालगञ्जको सानो तालमा मोटरबोट नै चलाउन जरुरी छैन, मोटरबोट चलाउँदा जीवाश्मा इन्धनका कारण जीव र पन्छीमा समस्या हुन्छ”, उहाँले थप्नुभयो ।

चौधरीका अनुसार पछिल्लो समय सिमसारलगायतका क्षेत्र अतिक्रमणमा पर्दा धेरै प्रजातिका चराहरू सङ्कटमा पर्दै गएका छन् । उहाँले भन्नुभयो, “नेपाल सरकारले संरक्षित सूचीमा राखेका नौ वटामध्ये छवटा तराईमा पाइन्छन्, जसमध्ये बर्दियामा दुईवटा र बाँकेमा पाँचवटा प्रजातिका चरा भेटिन्छन्, कान्ति ताल पनि मासिने हो भने ती प्रजातिका चराको अस्तित्व नै सङ्कटमा पर्ने खतरा छ ।”

पन्छी संरक्षण समाज र नेपाल चराविज्ञ सङ्घले केही समयअघि गरेको डेढ घण्टा अवलोकनका क्रममा कान्ति तालमा ३२ प्रकारका परम्परागत चरा र केही आगन्तुक चरा भेटिएका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विस्टले ताललाई सिमसार क्षेत्रका रूपमा लिइएको बताउनुहुन्छ । “धेरैले यसलााई सिमसार भन्छन्, सिमसारजस्तो नदेखिए पनि स्थानीय र विदेशबाट आउने चराका लागि यो महत्त्वपूर्ण बासस्थान हो”, उहाँले भन्नुभयो ।

प्रमुख विष्टका अनुसार कान्ति तालमा लामो समयदेखि माछापालन हुने गरेको थियो । आफूले सानैदेखि माछापालन गरेको देखेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “लामो समयदेखि कान्ति तालमा माछापालन हुने गरेको थियो, यसलाई पर्यटकीय गन्तव्य बनाउन अघिल्लो सरकारले काम गरेको हो, यद्यपि यो प्रक्रिया अहिले अगाडि बढेको छैन ।”

कान्ति तालमा जाडोमा यहाँ एक सय ५३ र गर्मीयाममा ६२ प्रजातिका चरा देख्न पाइन्छ । तालमा अफ्रिकाबाट जुरे कोइलीदेखि इन्डोनेसिया, उत्तरी चीन, थाइल्याण्ड, साइबेरिया, मलेसियालगायतका देशबाट पनि चरा आउने गरेका छन् । सरकारले संरक्षित सूचीमा सारसका तीन प्रजाति पनि यही तालमा पाइने उहाँले बताउनुभयो ।

तालको जैविक विविधता जोगाएर भावी पुस्ता लागि चरालाई जोगाएर राख्नु स्थानीय तहको जिम्मेवारी भएको उहाँको भनाइ छ । प्राकृतिक सिमसार भएको जैविक विविधिता जोगाएर राख्नुपर्नेमा मास्ने काम हुन लागेपछि आफूलाई चिन्ता लागको संरक्षणकर्मी चौधरीको भनाइ छ । उहाँले मोटरबोटको विकल्पमा बायोडाइभर्सिटी पार्क, बोटानिकल गार्डेन वा चरा पार्कका रूपमा ताललाई विकास गरी टिकटमार्फत आम्दानी गर्ने बाटोसमेत भएको बताउँछन् ।

“तालको संरक्षण चराका लागि मात्र होइन, हाम्रै लागि र भावी पुस्ताका लागि पनि आवश्यक छ”, उहाँले भन्नुभयो, “नेपालगञ्ज मानसरोवर जाने भारतीय यात्रुका लागि ट्राञ्जिट प्वाइन्ट पनि हो, उनीहरूलाई लक्षित गरी ताललाई यही रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ, यसतर्फ ध्यान नदिई मोटरबोट मात्र विकल्प देख्न हुँदैन ।”

कान्ति तालमा हरेक वर्ष चराको गणना हुन्छ । दुई वर्षअघि २५ प्रजातिका चरा रहेकामा गत वर्षको गणनामा २२ प्रजातिका चरा भेटिएका थिए । यस वर्ष भने चराको सङ्ख्या ३२ पुगेको छ । यस वर्ष राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा ३२ प्रजातिका थप चरा भेटिएको र यो गत वर्षको तुलनामा बढी भएको थियो ।

तालमा सारस, फिसिङ क्याट, मलाहलगायतका चराको बासस्थान छ । यहाँ गर्मीयाममा युरोप, मध्यपूर्वी एसिया र इन्डोनेसियाबाट चरा आउँछन् भने जोडोमा साइबेरिया, उत्तरी चीनबाट चरा आउँछन् । आगन्तुक चराले पनि तालमै बच्चा जन्माउँछन् । स्थानीयहरू ताल संरक्षणका लागि दिगो विकासको अवधारणमा काम गर्नुपर्ने बताउँछन् । यस ताललाई चरा अवलोकनको केन्द्र तथा जैविक विविधता सिकाइ केन्द्रका रूपमा ताललाई विकास गर्न सकिने जानकारहरू बताउँछन् ।

वाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती, २० असारः सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ ।

प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने कार्यसूची छ ।

सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेपछि बिहीबार साँझदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो । बिहीबारको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समसामयिक विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रदेश सरकारले आगामी आवका निम्ति रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रस्तुत प्रस्ताव गरेको छ ।

संविधानको पालना गर्ने र उल्टयाउनेबीच सङ्घर्ष चलिराखेको छ : अध्यक्ष दाहाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संविधानसभाद्वारा जारी संविधानलाई सुदृढ बनाउने र राजनीतिक उपलब्धि उल्टयाउनेबीच लडाइँ चलिरहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको दुर्गानारायण ढकालको ‘समाजवादी दर्पणको रुपरेखा’ नामक पुस्तकको विमोचन गर्दै उहाँले भन्नुभयो, “संविधानका मूलभूतः मान्यतालाई इमान्दारिताका साथ पालना गर्ने र संविधानलाई उल्ट्याउने र त्यसलाई फेरि प्रतिक्रियावादी अनुकुल बनाउनेबीच सङ्घर्ष चलिराखेको छ ।’

आफूले सरकारको नेतृत्व गरेको समयमा नीति कार्यक्रम तथा बजेटमार्फत मुलुकलाई समाजवादी यात्रामा अघि बढाएको उल्लेख गर्दै अध्यक्ष दाहालले उक्त प्रयासलाई जनतासमक्ष लैजान बुद्धिजीविलाई आग्रह गर्नुभयो । “पहिलोपटक सरकारको नेतृत्व गर्दा गरिब किसानको ऋण एकैसाथ मिनाह गरिएको थियो । पूर्व–पश्चिम लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर भौतिक पूर्वाधारद्वारा राष्ट्रिय एकतालाई सुदृढ गर्नेकुरा देशलाई समाजवादतिर लैजाने प्रयास थियो”, उहाँले भन्नुभयो, “अहिले त्यो व्यवहारतः कार्यान्वयनको चरणमा छ । तर हाम्रा बुद्धिजिवीले न त्यसलाई अन्तरनिहित रूपमा बुझ्न चाहन्छन् न इमानदारिताका साथ जनतालाई भन्न चाहन्छन् ।”

समाजवादको मुख्य तगारो दलाल पुँजीवाद भएको जिकिर गर्दै अध्यक्ष दाहालले अहिले त्यस प्रवृत्तिविरुद्ध सङ्घर्ष जारी रहेको बताउनुभयो । “विचौलियाले राष्ट्रिय अर्थतन्त्रलाई जसरी पनि कब्जा गर्ने प्रयास गरिरहेको छ, अहिले भ्रष्टाचारीको संरक्षण र दलाल पुँजीवादको पक्षपोषण गर्नेलाई पनि कम्युनिस्ट नै भनिएको छ । त्यसविरुद्ध लड्नेलाई पनि वामपन्थी नै भनिएको छ । दुवै उस्तै हुन् भनेर जुन भाष्य बनाउन खोजिएको छ, यो नै गलत छ”, उहाँले भन्नुभयो ।

इयू अमेरिकासँग व्यापार सम्झौताका लागि तयार छ : इयू प्रमुख

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घ (इयू) अमेरिकासँग जारी कर विवाद समाधानका लागि ’सम्झौताका लागि तयार’ रहेको बताउनुभएको छ । उहाँले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन नसक्ने सम्भावनाबीच पनि वार्ताका लागि तयारी गरिरहेको उहाँले बताउनुभयो ।

भोन डेर लेयेनले आरहुसको भ्रमणका क्रममा उक्त टिप्पणी गर्नुभएको हो । सम्झौताका लागि जुलाई ९ सम्मको समयसीमा रहेको उल्लेख गर्दै उहाँले इयू र संयुक्त राज्य अमेरिकाबीचको व्यापार १.५ ट्रिलियन युरो (१.७७ ट्रिलियन अमेरिकी डलर) रहेको बताउनुभयो ।

“यो ठूलो काम हो,” यूरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा उहाँको भनाइ उद्धृत गर्दै लेखिएको छ ।

‘सैद्धान्तिक रूपमा एउटा सम्झौता’ मा पुग्ने लक्ष्यमा जोड दिँदै भोन डेर लेयेनले भन्नुभयो, “दुई पक्षबीच व्यापारको विशाल परिमाणको कारण यो छोटोे समयसीमाभित्र विस्तृत सम्झौतालाई अन्तिम रूप दिन असम्भव हुनेछ।”

उहाँले वार्ता असफल भएमा इयूले प्रतिशोधात्मक कदम चाल्न नहिचकिचाउने पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामी सँगसँगै चित्तबुझ्दो सम्झौता हुन नसक्ने सम्भावनाका लागि तयारी गरिरहेका छौँ भन्ने तपाईहरु सबैलाई थाहा छ । हामी वार्ताबाट समाधान चाहन्छौँ । ”

व्यापार र आर्थिक सुरक्षाका लागि युरोपेली आयुक्त मारोस सेफकोभिक हाल वासिङ्टनमा हुनुहुन्छ भने उहाँले सम्झौता गर्ने प्रयासमा अमेरिकी व्यापार प्रतिनिधिहरूसँग छलफल गरिरहनुभएको छ ।

यसैबीच, जर्मनीका चान्सलर फ्रेडरिक मर्जले पनि दुवै पक्षलाई ‘छिटो र सरल सम्झौता’ गर्न आग्रह गर्दै यस्तो सम्झौता फार्मास्युटिकल्स, इन्जिनियरिङ र अटोमोटिभ म्यानुफ्याक्चरिंग लगायत प्रमुख क्षेत्रका लागि महत्वपूर्ण रहेकोमा जोड दिनुभएको छ ।

हाल संयुक्त राज्य अमेरिकाले इयूका कार र अटो पाट्र्समा २५ प्रतिशत र स्टिल र आल्मुनियमका उत्पादनहरूमा ५० प्रतिशत कर लगाएको छ ।

संयुक्त राज्य अमेरिकाले काठ, एयरोस्पेसका सामान तथा उपकरण, फार्मास्युटिकल्स, सेमीकन्डक्टर र महत्वपूर्ण खनिजहरू समावेश गर्न कर विस्तार गर्ने तयारी गरिरहेको बताएको छ ।

चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

भरतपुर,२० असारः बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो ।

चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो । बिहीबार राति एक जना साथीका साथ माछा मार्न गएका थिए ।

लिची बेचेर रावाबेँसीका किसानले गरे एक करोड आम्दानी

खोटाङ, २० असारः रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब रु एक करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ ।

कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताउनुभयो । पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं ५ दुवेकोलमा आठ र वडा नं ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ ।

आफूले रु ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले बताउनुभयो । उहाँले प्रतिदाना रु एकमा बिक्री गर्नुभएको हो ।

सोही स्थानका खड्गप्रसाद रेग्मीले रु ४५ हजारका लिची बेचिसक्नुभएको छ । केही किसानले एक लाख भन्दा बढीका लिची बेचिसकेका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो । रावाबेँसीका किसानले लिचीबाट यसपटक रु ९५ लाख हाराहारी आम्दानी गरेका उहाँको अनुमान छ ।

रावाबेँसी गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रुपमा विकास गर्नेगरी यही असार १० गते सम्पन्न १७ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताउनुभयो ।

पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक

काठमाडौं । अमेरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ । अमेरिकाको क्यापिटल हिलमा लामो र कठिन संसद् सत्रपछि तल्लो सदनले बिहीबार २१८–२१४ को मतले विधेयक पारित गरेको हो ।यसअघि माथिल्लो सदन सिनेटले मंगलबार एक मतको अन्तरले यो विधेयक अनुमोदन गरेको थियो ।

ट्रम्पले रिपब्लिकन नियन्त्रित कंग्रेसलाई ४ जुलाईसम्म अन्तिम संशोधित विधेयकमा हस्ताक्षरका लागि पठाउन समयसीमा दिएका थिए ।

यो विधेयकले आगामी १० वर्षमा संघीय घाटामा ३.३ ट्रिलियन डलर थप्न सक्ने र लाखौँ मानिसहरूलाई स्वास्थ्य बीमाबाट वञ्चित गर्ने संसदीय बजेट कार्यालयले प्रक्षेपण गरेको छ । तर, यसलाई ह्वाइट हाउसले अस्वीकार गरेको छ ।बिहीबार साँझ पत्रकारहरूसँग ट्रम्पले यो विधेयकले देशलाई ‘रकेट जहाज’मा परिणत गर्ने बताएका छन् ।

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं। संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ। आज अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूची छ।

यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे बजेका लागि बोलाइएको छ। बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल हुनेछ।

हेटौँडाको राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बागमती, २० असार : पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय दीपेन्द्र कुमार झाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २० असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४७, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ७५, काउली तराई प्रतिकिलो रु ५०, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु ५० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४५, टाटे सिमी मूल्य प्रतिकिलो रु ८५, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ५५, झिगुनी प्रतिकिलो रु ६५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४५, भिण्डी प्रतिकिलो रु ७५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ५५, रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो साग प्रतिकिलो रु १६०, तोरीको साग प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु २००, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु १०००, पुदिना प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३३०, केरा (दर्जन) रु १४५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु १००, आँप (दशहरी) प्रतिकिलो रु १००, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, नास्पाती (लोकल) प्रतिकिलो रु ११०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (भारतीय) प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ६०, खुर्सानी अकबरे प्रतिकिलो रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

नागरिकले पाउने स्वास्थ्य सेवालाई प्रक्रियामुखी भन्दा परिणामुखी बनाउनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नागरिकले पाउने स्वास्थ्य सेवालाई प्रक्रियामुखी भन्दा परिणामुखी बनाउनुपर्ने बताएका छन् ।

बस्नेतले नागरिकहरु प्रक्रियामुखी कार्यमा अलमलिनुपरेको भन्दै अस्पतालबाट पाउने सेवा, सुविधालाई व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

बस्नेतले भने, ‘मानिसलाई हरेक रोगसँग लड्नका लागि अस्पतालको सहारा चाहिन्छ । यस्तो संवेदनशील क्षेत्रको व्यवस्थापन अत्यासलाग्दो र झण्झटीलो प्रक्रियाले जेलिएको छ । सर्वसाधारणको स्वास्थ्य उपचारको भरोसा मानिएका सरकारी अस्पताल आफैं बिरामी जस्तो देखिन्छन् ।’

सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा पुर्याउने सरकारी नारा केबल नारामा सीमित भएको भन्दै वर्षौदेखि नेपाली जनताले भोग्दै आएको पींडा जस्ताको तस्तै रहेको उनको भनाइ छ ।उनले सरकारी सेवालाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

बागमती प्रदेश सरकारको बजेट समानुपातिक र समावेशी छैन:राप्रपा सांसद थापा

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद उद्धव थापाले कडा आलोचना गरेका छन् । उनले बजेटलाई असमानुपातिक, असमावेशी तथा विभेदपूर्ण भन्दै आपत्ति जनाएका हुन् ।

राप्रपा बागमती प्रदेश संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग बोल्दै सांसद थापाले सरकारको नीति तथा कार्यक्रममा समेटिएका दृष्टिकोणहरू व्यवहारमा नआएको आरोप लगाए । ‘बजेटमा विभिन्न समुदाय र क्षेत्रको आवश्यकता तथा अधिकारलाई समेटिएको देखिँदैन,’ थापाले भने, ‘विकासका नाममा केही चुनिँदा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको छ, जसले संघीयताको मूल मर्मविपरीत छ ।’

उनले विशेष गरी पिछडिएको तथा दुर्गम क्षेत्रहरूलाई बेवास्ता गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । ‘हामी समानुपातिक समावेशी प्रतिनिधित्वको कुरा गर्छौं तर बजेटमा त्यो देखिँदैन,’ उनले थपे ।

सांसद थापाले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रमा बजेटको असमान वितरणको उल्लेख गर्दै त्यसलाई सच्याउन सरकारलाई आग्रह गरेका छन् । साथै उनले बजेट निर्माण प्रक्रियामा जनप्रतिनिधिहरूको पर्याप्त सहभागिता नभएको दाबी गर्दै आगामी दिनमा यसबारे गम्भीर पुनर्विचार हुनुपर्ने बताए ।

सशस्त्र प्रहरीद्धारा भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज (पर्सा), २० असार : सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका रु १८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद गरेको छ ।

भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर–१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बताउनुभयो । बरामद सामग्री बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० बराबरका सामान बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

“भन्सार छलेर ल्याइएका रु २७ करोड ५६ लाख ५६ हजार ४८७ बराबरका सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौँ”, सूचना अधिकारी सिंहले भन्नुभयो, “सोही अवधिमा बिलबिजक नभएका रु १० करोड ७१ लाख २३ हजार ४०३ मूल्य बराबरका सामगैी राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको छ ।”

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रदेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई ७८ रनमै समेट्दै कास्कीले लगातार दोस्रो जित हासिल गरेको हो ।

नवलपुरले २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो । नवलपुरका लागि यमुना पंगेनी ७ र वर्षा सुनार शुन्यमा अविजित रहे । मोनिका लामिछाने २२, धनकुमारी क्षेत्री ८, लिजा गुरुङ शुन्य, श्रेया शर्मा ४, आयुषा चापागाईँ ३, पुर्णिमा सुनार ७ र वर्षा सुनार शुन्यमा आउट भइन् ।

कास्कीका लागि चन्द्रमाया बराल २ तथा श्रद्धा गुरुङ, रेखा तामाङ र रिया तामाङले समान १÷१ विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । कास्कीका लागि रचना चौधरीले २५ र चन्द्रमाया बरालले १५ रनको अविजित पारि खेले । कप्तान सिर्जना पौडेल २७ रनमा आउट भइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् । श्रद्धा गुरुङ ८, शिखा दवाडी १५, रेखा तामाङ २ रनमा आउट भइन् ।

नवलपुरका लागि यमुना पंगेनीले २ तथा श्रेया शर्मा र आयुषा चापागाईँले समान १÷१ विकेट लिए ।उता दोस्रो खेलमा पर्वत र स्याङ्जाले वर्षाका कारण खेल रोकिएपछि अंक बाडेका छन् ।

१४६ रनको विशाल लक्ष्य पाएको पर्वतले १.१ ओभरमै २ विकेट गुमाउँदै ३ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । लगातार वर्षाभएपछि खेल हुन नसक्दा दुवै टिमले अंक बाडेका हुन् । वर्षा हुनुअघि ओपनर शुसिला भट्टराई ३ रनमा अविजित रहँदा योगिता केसी क्याचआउट भइन भने जिविका क्षेत्री शुन्यमा रनआउट भइन् । स्याङ्जाका लागि निरु जिटीले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनायो । स्याङ्जाका लागि सिमाना केसीले ३३ रनको योगदान दिइन् । उनले ३८ बलमा २ चौका प्रहार गरिन् । श्रेया शाह १९, सलिना सेन १३ रनमा आउट भइन् । ज्योत्सनिका मरासिनी २४ रनमा रिटायर्ड आउट भइन् । कुशुम गोदार ४ र निरु जिटी ४ रनमा नटआउट रहिन् ।
पवर्तका लागि दिपिका सापकोटाले २ तथा प्रतिभा खड्काले १ विकेट लिइन् ।

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

खोटाङ, २० असार : सामाजिक तथा राजनीतिक विमर्शका रूपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार २१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चमलाई मियो बनाइरहनुभएका खोटाङे कलाकार मणि कुलुङ राईको कथा÷निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन ४ गतेसम्म मञ्चन गर्ने तयारी गरिएको हो ।

खोटाङको रावाबेँसी गाउँपालिका–४ हौँचुरमा जन्मिएर राजधानी काठमाडौँलाई कर्मथलो बनाएर रङ्गकर्मीका रूपमा क्रियाशील कलाकार कुलुङद्वारा निर्देशित नाटक ‘हराएको कुकुर’ सोमबारबाहेक हरेक दिन ४ः०० बजेदेखि मञ्चन हुने बताइएको छ । शुक्रबार, शनिबार र आइतबार भने मध्याह्न १२ः०० बजेदेखि पनि मञ्चन गर्ने तयारी गरिएको निर्देशक कुलुङले जनकारी दिनुभयो ।

नाटक ‘हराएको कुकुर’ काठमाडौँको थापागाउँस्थित मण्डला थियटरमा मञ्चनको तयारी गरिएको कथा निर्देशक रङ्गकर्मी कुलुङले जानकारी दिनुभयो । “नाटकले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीमा पक्षपात र नागरिक आवाजमाथिको दमनजस्ता विषयलाई उजागर गर्नेछ । ‘हराएको कुकुर’ राज्यद्वारा हराइएको सत्यको प्रतीक हो”, उहाँले भन्नुभयो, “यो नाटक एउटा सरल खोजीको कथामात्र होइन । यो सत्ताको आलोचना गर्ने, नागरिक चेतनालाई झक्झक्याउने र संरचनागत अन्यायलाई प्रश्न गर्ने एक गहिरो नाट्य प्रस्तुति हो ।”

मञ्चनको सम्पूर्ण तयारी पूरा भएको ‘हराएको कुकुर’ एउटा रूपकात्मक नाटक भएको निर्देशक कुलुङले बताउनुभयो । “कुकुर हराएको सामान्य घटनाबाट सुरु हुने कथा क्रमशः एउटा गम्भीर सामाजिक तथा राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ । नाटकको उत्कर्षमा हराएको कुकुर भेटिन्छ”, उहाँले भन्नुभयो, “जुन दृश्यले एउटा समाधान प्रस्तुत गरेजस्तो देखिए पनि नाटकका मूल प्रश्नहरू अझै अनुत्तरित रहन्छन् । यो नाटकले धेरै दर्शकको मन जित्ने विश्वास लिएका छौँ ।”

नेपाली रङ्गमञ्चका चर्चित नायक दयाहाङ राईले थापागाउँमा सञ्चालन गर्नुभएको मण्डला थियटरमा मञ्चन हुने नेपाली नाटक ‘हराएको कुकुर’लाई रवीन तामाङले नाट्य रूपान्तरण गर्नुभएको जनाइएको छ । नाटकका मञ्चमा किरण नेपाली, स्मृति कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङलगायतको अभिनय÷प्रस्तुति रहने जनाइएको छ ।

यस्तै, अबिनास डिएम, मीना श्रेष्ठ, मनि कुलुङ, सुनिल वाहिङ राईको प्रस्तुतिसमेत मञ्चमा रहनेछन् । नेपथ्यतर्फ भने ध्वनि परिकल्पनामा अमिर ताम्राकार र नवीन काफ्ले, प्रकाश परिकल्पनामा उमेश तामाङ र प्रकाश परिचालकमा सुनिल बाहिङ राई रहनुभएको जनाइएको छ । नाटकमा दीपा मगराती, दिनेश श्रेष्ठ, पुजन लिम्बू, आकाश मगर, मञ्जिल मगर, अनुप न्यौपाने, प्रज्ञा विष्टलगायतको समेत मञ्चन भूमिका रहने जनाइएको छ । दुई हप्तासम्म मञ्चन हुने कथा÷निर्देशक रङ्गकर्मी थुलुङको नाटक ‘हराएको कुकुर’को ट्रेलर मण्डला थियटरले समेत सार्वजनिक गरिसकेको छ ।

पाँच वर्षदेखि राजधानी काठमाडौँमा रहेर रङ्गमञ्चमा गर्दै आउनुभएका रङ्गकर्मी कुलुङले यसअघि नेपाली कथानक नाटक ‘मृत्यु कुण्ड’को निर्देशन गर्नुभएको थियो । खुवालुङ, दमिनीभिर, ताप, विम्बको सपना, रामप्रसाद राईलगायत दर्जनौँ चर्चित नाटकमा अभिनय गरिसक्नुभएका रङ्गकर्मी कुलुङको यो नाटकले दर्शकको मन जित्ने अपेक्षा गरिएको दर्शकहरूले बताएका छन् ।

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर (काठमाडौँ), २० असार : मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्राबासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।

त्रिविको ईश्वरी कन्या छात्राबासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानीलगायतको प्रबन्धबारे अनुगमन गर्न बिहीबार अपराह्न कीर्तिपुर पुगेको प्रतितिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई यस्तो निर्देशन दिएको थियो । टोलीमा समितिका सभापति अब्दुल खानसहित सांसदहरू कान्तिका सेजुवाल, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणी राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मङ्गलप्रसाद गुप्ता र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा ईश्वर सुवेदी त्रिवि छात्राबास पुग्नुभएको थियो ।

विश्वविद्यालयको छात्राबासको व्यवस्था अनुगमन गर्न संसदीय टोली पुगेको सम्भवतः यो पहिलो घटना हो । संसदीय टोलीलाई छात्राबास पुग्नासाथ भान्साको व्यवस्थापन देखाउँदै त्यहाँका विद्यार्थीले अत्यन्त फोहर भाँडाकुँडा प्रयोग गर्ने गरिएको, भान्साको सरसफाइको अवस्था दयनीय रहेको, भान्छाको टेबुल, बस्ने मेच आदि साधन अत्यन्त फोहर भएको देखाएका थिए । यसबारेमा बारम्बार गुनासो गर्दा प्राचार्यको कार्यालय, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा अन्य सम्बद्ध निकायले बेवास्ता गरेको र कतिपय अवस्थामा छात्राबासका वार्डेन लगायतबाट उल्टै रुखो व्यवहार र हप्कीदप्की हुने गरेको बताएका थिए ।

“पढ्न आएका हामीहरू समयमा मुख धुने पानीसमेत नपाए तनावमा पर्नुपर्यो, योसँगै भान्साको समेत समस्या बताउँदा वार्डेन म्यामलले ‘सरकारी होटलमा बसेपछि यस्तै हो, जे मिल्छ त्यसैले चलाउनु’, भन्नेसम्मको रुखो जवाफ दिनुभयो”, एमएस्सी तेस्रो सेमेष्टरकी छात्रा सविना रेग्मीले सांसद टोलीसमक्ष भन्नुभयो । छात्राहरू रहने ठाउँमा पानी र सरसफाइ अनिवार्य हुनुपर्ने कुराप्रति त्रिविका पदाधिकारीहरू असंवेदनशील रहेको पनि उहाँले बताउनुुभयो । “पानी अत्यन्त कम र त्यसमाथि पनि प्रयोग गर्न नै नमिल्ने गरी धमीलो पठाइयो । महिनावारी भएका बेलामा पनि एक जग पानीले सरसफाइ गर्नुपर्नेसम्मको कष्ट हामीले भोग्नुपर्यो”, अर्की छात्रा रोहना जोशीको भनाइ थियो । तत्काल समाधान गर्न सकिने र आपत परेको कुरा लिएर जाँदा पनि सरकारी काम हो समय लाग्छ, भन्ने जवाफ दिइने गरेको पनि उहाँले बताउनुभयो । सासाना समस्या पनि समाधान नगरीदिँदा छात्राबासमा बिजुली वा अरु पूर्वाधार बिग्रेका अवस्थामा छात्राहरूले आफैँ पैसा उठाएर मर्मत गर्नुपर्नेसम्मको अवस्था सृजना गरिएको उहाँले बताउनुभयो ।

छात्राबासको निरीक्षण र छात्राहरूको गुनासो सुनेपछि संसदीय टोलीले केन्द्रीय क्याम्पसका प्राचार्य अकलदेव मिश्र र प्रोक्टर राजेन्द्र कुवँरसँग समस्याबारे सोधपुछ गरेको थियो । सांसदहरूले आफूहरूले छात्राबासमा अवलोकन गर्दा सुरसफाइ र स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्ड पनि नपुर्याइएको पाएको बताएका थिए । “त्रिविको केन्द्रीय क्याम्पसजस्तो प्रतिष्ठित संस्थामा यस्तो दुरावस्था देखिनु दूर्भाग्यपूर्ण हो, विद्यार्थीलाई स्वच्छ पानी र आधारभूत सरसफाइबाट वञ्चित गराएर मानवअधिकार उल्लङ्घन गरिएको छ”, समितिका सभापति खानले भन्नुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा ईश्वर सुवेदीले छात्राबासको भोजनालयमा खाद्यान्नको स्वच्छतालाई सर्वाधिक प्राथमिकता दिइनुपर्ने बताउनुभयो । आफूले त्यहाँ प्रयोग भएको पानीको नमूना सङ्कलन गरेको बताउँदै उहाँले विभागमा त्यस पानीको स्वच्छताबारे जाँच गरिने बताउनुभयो । छात्राबासका समस्या तत्काल समाधान गर्न निर्देशन दिँदै उहाँले विद्यार्थीबाट फेरि पनि सोही खालको गुनासो आए समितिले थप कदम चाल्ने चेतावनी दिनुभयो ।

त्रिवि स्ववियुका सभापति दीपकराज जोशीले त्रिवि पदाधिकारीहरूमा विद्यार्थी नरम स्वरले उठाएका कुरा बेवास्ता गर्ने र सोही कुरा दबाबमूलक ढङ्गले राखेपछि मात्र पूरा गर्ने प्रवृत्ति रहेकाले समस्या जटिल हुन गएको बताउनुभयो । शौचालय व्यवस्थापन गर्न राखिएको माग सुन्दै सुनिएन अनि त्रिवि प्रिन्सिपल कार्यालयको शौचालय बन्द गरेपछि बल्ल माग पूरा भयो”, उहाँले बताउनुभयो ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, २० असार : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५३ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।