`

दोस्रो एभरेष्ट भेट्रान कप सुरु

बेलबारी (मोरङ) – मोरङको बेलबारी–१० भाउन्नेस्थित कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा युनाइटेड भेट्रान क्लबको पहिलो विजयी भएको हो ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित दोस्रो एभे्रस्ट भेट्रान कप सोमबारदेखि सुरु भएको हो । एभे्रस्ट भेट्रान मोरङको आयोजनामा प्रस्तावित डाँगीहाट रङ्गशाला भाउन्नेमा प्रतियोगिता सुरु गरिएको छ ।

उद्घाटन खेल चन्द्रगढी भेट्रान क्लब र युनाइटेड भेट्रान क्लबबीच भएको खेलमा युनाइटेड विजयी भएको आयोजकले जनाएको छ । खेलको तेस्रौँ मिनेटमा युनाइटेडका महेन्द्र विश्वास खवासले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसकोलगत्तै खेलको आठौँ मिनेटमा युनाइटेडका तेजमान लिम्बूले दोस्रो गोल थप्दै टिमलाई बलियो बनाए ।

खेलको १६औँ मिनेटमा युनाइटेडका निराजन बस्नेतले तेस्रो गोल गरे । पुनः खवासले एक गोल थप्दै व्यक्तिगत रूपमा दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए । खेलको ३३औँ मिनेटमा चन्द्रगढीका प्रेमकुमार लिम्बूले एक गोल फर्काउँदै टिमलाई खेलमा फर्किन खोजे पनि त्यहीँबाट खेलको गति फेरि युनाइटेडतर्फ मोडियो ।

दोस्रो हाफको ११औँ मिनेटमा युनाइटेडका खवासले आफ्नो तेस्रो अर्थात् ह्याट्रिक गोल गर्दै टिमको जीत पक्का गरे । उत्कृष्ट प्रदर्शनका आधारमा खवास म्यान अफ दि म्याच घोषित बनेका छन् । उक्त प्रतियोगितामा प्रदेशभरिका १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष चरण गुरुङले बताएका छन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६८ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९३ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३५ पैसा र बिक्रीदर २० रुपैयाँ ४३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८० पैसा र बिक्रीदर नौ रुपैयाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४३ पैसा र बिक्रीदर २२ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ १० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ११ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा फर्किएपछि शाक्य भन्छन् – ‘न्यायको जीत भयो’

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःबहाली गरेपछि हितेन्द्र शाक्यले न्यायको जीत भएको प्रतिक्रिया दिएका छन्। कुराकानीमा उनले सरकारको निर्णयबाट आहात भएकामा न्यायालयले राहत दिएको बताए ।

शाक्यले भने, “न्यायलयको निर्णयले राहत महसुस भएको छ ।” उनले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्ववत् प्रतिबद्धता दोहोर्‍याए।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले शाक्यका पक्षमा परमादेश जारी गरेको हो । सरकारले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मङ्सिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिनुभएका आयोगका सचिव माहादेव पन्थले सो जिम्मेवारी बहन गर्नुभएको छ ।

उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कूल ४१ जना कर्मचारी कार्यरत रहनेछन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

कार्यालयको उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने भएकाले सबै सरोकार भएकालाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सूत्रात्मक पद्दतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुनबमोजिमका जातीय, भौगोलिक, लैङ्गिकलगायत समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकाले सबैपक्षको भरोसा रहने उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा जानकीकुमारी तुलाधर रसगुन शम्शेर जबरा एवं आयोगका कर्मचारीको उपस्थिति थियो । यस्तै, सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग निर्वाचन पूर्वतयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्न सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गर्नुभएको थियो । छलफलमा अर्थमन्त्रीले निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यकपर्ने बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्नु भएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सिन्हाले निर्वाचन सम्पन्न गर्नका निम्ति आवश्यक कानुनी सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले निर्वाचन सम्पन्न गर्ने कार्यमा स्वदेशी वस्तु र उत्पादनको प्रयोग गर्न आयोगलाई अनुरोध गर्नुभएको थियो ।

सो छलफलबाट प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न थप मद्दत पुगेको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौँ – नेकपा (एमाले)को आसन्न ११ आँै राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुङ्गिएको छ ।

ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि विवाद टुङ्गिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुङ्गिएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि सर्वसम्मतिबाट छनोट भएका छन् ।

प्रतिनिधि व्यवस्थापन समितिका सचिव ढुङ्गेलले प्रतिनिधि विवाद टुङ्गिएपछि कार्ड छपाइ प्रक्रिया पनि सुरु गरिएको जानकारी दिनुभयो । उहाँले प्रतिनिधिलाई केही दिनभित्र नै कार्ड वितरण गर्ने बताउनुभयो ।

समिति सचिव ढुङ्गेलले महाधिवेशनमा दुई हजार २६० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताउनुभयो । महाधिवेशनका आयोजक प्रतिनिधिलाई रु तीन हजार र निर्वाचित भएर आउने प्रतिनिधिलाई रु दुई हजार शुल्क तोकेको छ ।

एमालेको यही मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन काठमाडौँ हुँदैछ । महाधिवेशनले २५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ ।

भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ गर्ने भएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल समेतका केन्द्रीय नेताहरूको उपस्थितिमा आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको हो ।

बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने उक्त कार्यक्रममा व्यापक जनसहभागिता गराउने निर्णय गरिएको सो पार्टीका नेता ताज मोहम्मद मियाँले जानकारी दिनुभयो ।

पार्टी निकट जनवर्गीय सङ्गठनका समन्वयमा कार्यक्रम व्यवस्थापन तथा सभाको आवश्यक तयारी गरिने जनाइएको छ । देशभर एकताको सन्देश प्रवाह गर्न प्रदेशसभा तथा केही जिल्लामा एकता सन्देश सभा गरेको पार्टीले वाम ध्रुवीकरण तथा कम्युनिष्ट शक्तिबीच एकताको प्रारम्भ गरेको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ

काठमाडौँ – ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धाराबाट भागेका एक व्यक्ति आज पक्राउ परेका छन् । वन्यजन्तुको अखेटोपहार तस्करीमा दोषी ठहर भई कारागारमा सजाय भुक्तान गर्दै आएका र भदौ २४ गते भागेका ती व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–८ घर भई हाल मनमैजु बस्ने २२ वर्षका सविन गुरुङ रहेका छन् । निजलाई विशेष सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले आज तारकेश्वर नगरपालिकाको मनमैजुबाट पक्राउ गरेको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गुरुङविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतको विसं २०८१ भदौ २८ गतेको फैसलाले छ वर्ष कैद सजाय तोकेको थियो । निजलाई आजै कैद भुक्तानीका लागि केन्द्रीय कारागार कार्यालय पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीचको भेटवार्तामा के के भयो ?

कैलाली, २२ मङ्सिरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनालबीच आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ ।

भेटमा प्रदेश तथा सङ्घीय सरकारबीच सहकार्य, विकास आयोजना, कृषि तथा आर्थिक व्यवस्थापनलगायत विषयमा विस्तृत छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री शाहले धान खरिदको कोटा अपर्याप्त भएको भन्दै सुदूरपश्चिमका किसानलाई राहत मिल्ने गरी थप ५० हजार क्विन्टल धान खरिद गर्ने व्यवस्थाका लागि आग्रह गर्नुभएको थियो । यसैगरी मलखादको अनुदान कोटा १३ प्रतिशत हुनुपर्नेमा हाल छ प्रतिशतमा सीमित भएकाले यसको तत्काल समाधान खोजिदिन पनि उहाँले आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाहले गत भदौ २४ गतेको आगजनीबाट भएको क्षतिको सङ्क्षिप्त विवरण, अर्थ मन्त्रालयको परिपत्रअनुसार प्रदेश मुख्यमन्त्री, मन्त्री एवं प्रदेशसभा सदस्यहरूको सेवासुविधा, प्रहरी समायोजन ऐन, निजामती ऐनलगायत ऐन, मापदण्ड, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनलगायत विषयमा ध्यानाकर्षण गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँहरूबीच तीनै तहबीच समन्वय र सहजीकरण, प्राकृतिक स्रोतको उपभोगबाट प्राप्त हुने आम्दानी, सङ्घीय सरकारको शसर्त अनुदानमा सञ्चालित ठूला आयोजनाहरूको स्रोत सुनिश्चिततालगायत विभिन्न विषयका सम्बन्धमा छलफल भएको थियो ।

अर्थमन्त्री खनालले ‘जेनजी’ प्रदर्शनका क्रममा ध्वस्त भएको मुख्यमन्त्री कार्यालयको निरीक्षणसमेत गर्नुभएको थियो । निरीक्षणका क्रममा उहाँले उच्चस्तरीय छानबिन आयोगले पेस गर्ने प्रतिवेदनका आधारमा दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने र पुनर्निर्माण तथा व्यवस्थापनका विषयमा सङ्घीय तहबाट सहयोग प्रदान गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

काठमाडौँ, २२ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न उहाँले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुलाई निर्देशन दिनुभयो ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम समस्याका विषयमा छलफलका क्रममा प्रधानमन्त्री कार्कीले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकारले नीति नियम बनाउँदा वैदेशिक रोजगार व्यवसायी र दलालको मात्र लाभ नहेरी श्रमका लागि विदेश जाने आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता राख्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

“म्यानपावर व्यवसायी मोटाउने काम मात्र नगरौँ । म्यानपावरलाई सचेत गराउनुप-यो । अलपत्र पार्न भएन”, उहाँले भन्नुभयो । उहाँले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित मुलुकको भाषा र कामको अभिमुखीकरण तथा तालिम लिएर मात्र जाने व्यवस्था कडाका साथ लागू गर्नसमेत सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो ।

“वैदेशिक रोजगारीमा जानेले पनि पढ्नुप-यो । तालिम लिनुप-यो । राज्यले कर लिन्छ भने सुरक्षित आप्रवासनको पनि सुनिश्चितता गर्नुप¥यो । सबै कुरा दलाललाई छाडिदिएर हुँदैन”, उहाँले भन्नुभयो, “दलालले आफ्नो फाइदाका लागि उक्साउँछन् । गाउँदेखि सोझा मान्छेलाई लिएर आउँछन् । यता ठूलाबडाका म्यानपावर कम्पनी छन् । सबै मिलेर जनताको सोझोपनको फाइदा उठाएका छन् यो अवस्था अन्त्य गर्न राज्यले नै काम गर्नुपर्छ ।”

कार्यक्रममा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय राजकुमार श्रेष्ठ र गोविन्दबहादुर कार्की, श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानालगायत सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने

काठमाडौँ, २२ मङ्सिरः सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घाइतेको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने कार्य अगाडि बउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको जेनजी ‘प्रदर्शन’ का क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत उपलब्ध गराउन ‘जेनजी घाइते राहत सहायता कार्यविधि २०८२’ स्वीकृत गर्ने निर्णयसमेत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

बैठकले विसं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका स्व पत्रकार सुरेश रजकलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि किसानले उत्पादन गर्ने उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल रु ६२० तोकिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले किसानलाई प्रतिक्विन्टल रु ७० अनुदान कायम गरेको छ ।

यस्तै, विभिन्न दश जिल्लाका गरिब परिवारको सूचीसमेत स्वीकृत गरिएको प्रवक्ता खरेलले बताउनुभयो । तेह्रथुम, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व र पश्चिम), पर्वत, मोरङ र सुनसरीलगायत गरी २७ गरिब परिवारको सूची स्वीकृत गरिएको हो ।

यस्तै, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोश्रो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने र नेपाल प्रशासन सेवाको समूहीकरणअन्तर्गत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गर्ने निर्णय गरिएको छ ।

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’ गोदाममा आगलागी भएको छ अकबर अलीले सञ्चालन गरेको कस्मेटिक सामानको गोदाम अजाज सप्लायर्समा आज बेलुका आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको बताउनुभयो । आगलागीको कारण पहिचान गर्न अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु

सुडानको दक्षिणी कोर्डोफान राज्यमा गत हप्ता एक अस्पताल र शिशु विद्यालय (किन्डरगार्टन स्कूल) मा भएको आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार जनाएको छ ।

कलोगी प्रशासनिक एकाइका प्रमुख स्थानीय अधिकारी इसाम अल–दिन अल–सइदले एएफपीलाई बताएअनुसार सेनाको नियन्त्रणमा रहेको शहरमा बिहीबार भएको ड्रोन आक्रमण पहिले एउटा शिशु विद्यालय, त्यसपछि अस्पताल र तेस्रो पटक बालबालिकालाई उद्धार गरिरहेको स्थानमा आक्रमण खोजेका थिए ।

सन् २०२३ अप्रिलदेखि सुडानको सरकारी सेना र विद्रोही निकट अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच द्वन्द्व भइरहेको छ । द्वन्द्वका कारण दशौँ हजारको ज्यान गएको छ र लगभग एक करोड २० लाख विस्थापित भएका छन् ।

पश्चिमी सुडानमा सेनाको अन्तिम गढ अल–फासरमाथि अक्टोबरको अन्त्यतिर कब्जा गरेपछि आरएसएफले तीन राज्यमा विभाजित तेलको धनी कोर्डोफान क्षेत्रमा आक्रमण बढाएको छ।

“‘किन्डरगार्टेन’ र नजिकैको कलोगी ग्रामीण अस्पतालमा कम्तिमा तीन पटक आक्रमण गर्दा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु भएको र ३५ जना घाइते भएका छन्,” विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले सुडानी अधिकारीलाई उद्धृत गर्दै एक्समा उल्लेख गर्नुभएको छ।

उहाँले भन्नुभयो, “बिहीवारको आक्रमणमा बाँचेकाहरूलाई उपचारका लागि दक्षिण कोर्डोफानको अबु जेबैहा अस्पतालमा लगिएको छ । एकै पटक ठूलो सङ्ख्यामा मानिसहरू हताहत भएपछि उपचारका लागि रक्तदान र अन्य चिकित्सा सहयोगका लागि तत्काल सहयोग गर्न नागरिकहरूलाई सूचना गरिएको छ।”

महानिर्देशक घेब्रेयससले भन्नुभयो, “घाइतेलाई विद्यालयबाट अस्पताल लैजाने क्रममा पनि स्वास्थ्य कर्मी र उद्धारकर्तामाथि व्यापक आक्रमण भएको देखिन्छ । यो अमानवीय र घृणस्पद हो ।
नागरिक र स्वास्थ्य संस्थाहरूमा हुने यस्ता मूर्खतापूर्ण आक्रमणहरूको डब्लुएचओले स्पष्ट शब्दमा निन्दा गर्दछ र हिंसा अन्त्य गर्न र स्वास्थ्य लगायत मानवीय सहायतामा पहुँच बढाउन फेरि आह्वान गर्दछ ।”

उहाँले भन्नुभयो, “सुडानीहरूले धेरै पीडा भोगेका छन्। अब युद्धविरामको विकल्प छैन ।”डब्ल्यूएचओले स्वास्थ्य सेवामा भएका आक्रमणहरूको गणना र पुष्टि गर्दछ, यसले कसैलाई दोष दिँदैन किनकि यो एक अनुसन्धानमुलक संस्था हो ।

डब्लुएचओले बिहान ६ बजेदेखि दिउँसोसम्म भएको आक्रमणमा स्वास्थ्यकर्मी र बिरामी प्रभावित भएको जनाएको छ ।आक्रमणकारीले विद्यालय र स्वास्थ्य सेवामा अवरोध र ‘मनोवैज्ञानिक हिंसा’ र चेतावनी दिएको सङ्गठनको रिपोर्टमा उल्लेख छ।

सङ्गठनले यस वर्ष सुडानमा स्वास्थ्य सेवामा ६३ वटा आक्रमण गरेको र यसबाट एक हजार ६११ जनाको मृत्यु भएको छ र २५९ जना घाइते भएको जानकारी गराएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार भएको आक्रमणको आफु स्तब्ध भएको बताउनुभएको प्रवक्ता स्टेफेन डुजारिकले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “महासचिवले राजनीतिक दलको प्रभावमा नागरिक तथा निहत्था बालबालिकामाथि आक्रमण गर्ने सम्बन्धित सबैलाई तत्काल कारबाही गर्न र लडाइँ रोक्न र द्वन्द्वलाई बढावा दिने हतियारको प्रवाह रोक्न आफ्नो शक्ति प्रयोग गर्न आह्वान गर्दछ।”

पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध

काठमाडौँ –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच महिनादेखि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक नियुक्त नगर्दा विसं २०८३ को पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने प्रक्रिया अघि बढ्न सकेको छैन ।

समिति गठन आदेश, २०७७ अनुसार चार वर्षअघि नियुक्त भएका समितिका पदाधिकारीसहित कार्यकारी निर्देशकको कार्यकाल गत असार २२ गते सकिएको थियो । समिति अध्यक्षसहितका सदस्यको नियुक्ति गत भदौ १३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय निर्णयबाट भए पनि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन । मन्त्रालयले गत साउन २३ गते आवेदन माग गरेर प्रक्रिया सुरु गरे पनि अझै टुङ्गिएको छैन । कार्यकारी निर्देशकका लागि जारी सातदिने सूचनाअनुसार तीन जनाको निवेदन परेको थियो ।

छनोटको प्रक्रियाका लागि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गत साउन २० गते मन्त्रिस्तरीय निर्णय गरी ‘नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक छनोट कार्यविधि, २०८२’ स्वीकृत गर्नुभएको थियो । त्यसैताका मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्तिसम्बन्धी व्यवस्थालाई वस्तुनिष्ठ, निष्पक्ष र पारदर्शी बनाउन मनोनयनसम्बन्धी मापदण्ड २०७३ को दफा ७ बमोजिम कार्यविधि स्वीकृत गरिएको थियो । कार्यविधि स्वीकृत भएको चार महिना पूरा हुँदा पनि समितिको कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन ।

समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल कार्यकारी निर्देशक नियुक्ति नहुँदा २०८३ सालको पात्रोको ग्रह गणित रुजु गरी स्वीकृति दिनेलगायत काममा अप्ठ्यारो भइरहेको बताउनुहुन्छ । यसले समितिको दैनिक काममा समस्या नभए पनि २०८३ सालको पात्रो रुजु गरी स्वीकृति दिने प्रक्रियामा समस्या भएको उहाँले सुनाउनुभयो ।

छनोट कार्यविधिमा मन्त्रालयका प्रशासन तथा योजना महाशाखा हेर्ने सहसचिव संयोजक रहने व्यवस्था गरिएको छ । जसमा मन्त्रालयबाट नियुक्त एक जना विज्ञ सदस्य र मन्त्रालयको प्रशासन शाखाका उपसचिव सदस्यसचिव रहने व्यवस्था छ । संस्कृति संरक्षण अभियानी प्रकाश रायमाझी मन्त्रालयले पर्यटन र नागरिक उड्डयनको विषयलाई प्राथमिकता दिए पनि सांस्कृतिक क्षेत्रलाई बेवास्ता गर्दा यस्तो समस्या हुने गरेको बताउनुहुन्छ ।

समितिको गठन आदेश २०७७ अनुसार कार्यकारी निर्देशक नभएका बेला मन्त्रालयले राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतलाई जिम्मेवारी दिन सक्ने व्यवस्था छ । मन्त्रालयले त्यो जिम्मेवारी अहिले उपसचिव गोकर्णप्रसाद उपाध्यायलाई दिएको छ । प्रशासनिक काम उपाध्यायबाट भए पनि पात्रो प्रकाशनसम्बन्धी काम गर्न ज्योतिषशास्त्रको ज्ञान भएको व्यक्ति चाहिने भएकाले समस्या भएको तोयनाथ पन्तको पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यनाथ पन्तले बताउनुभयो ।

विगत वर्षमा समितिमा पञ्चाङ्गकारले पेस गरेका पात्रो गणनासम्बन्धी गणित पुस मसान्तसम्म रुजु गरी प्रकाशनका लागि स्वीकृति दिने गरिएकामा यस वर्ष मङ्सिर तेस्रो साता बितिसक्दा पनि काम अघि बढेको छैन । विगतमा माघ पहिलो सातासम्म पात्रो बजारमा आइसक्थे । समितिलाई पात्रो, भित्तेपात्रो, गोजीपात्रोको गणित हेरी प्रकाशनको अनुमति दिने काम गठन आदेशले तोकेको छ । यस्तै, विवाह, व्रतबन्धजस्ता सामाजिक र सांस्कृतिक परम्परा तथा धार्मिक अनुष्ठानसँग सम्बन्धित तिथि, मुहूर्त र साइतको निर्णय गर्ने जिम्मेवारी पनि समितिलाई नै तोकिएको छ । सूर्यग्रहण, चन्द्रग्रहण, समयशुद्धिलगायत अन्य ग्रह नक्षत्रमा आधारित विषयमा अन्तिम निर्णय गर्ने काम पनि समितिले नै गर्ने गर्छ ।

नेपाल सरकारलाई विभिन्न चाडपर्व, तिथि, मिति, मुहूर्त, साइत आदिको विवरण उपलब्ध गराउने, विभिन्न धर्म, संस्कृति, परम्परा र सम्प्रदायका चाडपर्वसम्बन्धी विवरण सङ्कलन गर्ने जिम्मेवारी पनि समितिकै हो । यसैगरी ज्योतिषशास्त्र, धर्मशास्त्र र कर्मकाण्डसम्बन्धी विषयमा तालिम र प्रशिक्षण सञ्चालन गर्ने, परामर्श सेवा प्रदान गर्ने काम पनि समितिले गर्दै आएको छ ।

विसं २०८३ को पात्रो स्वीकृतिको काममा ढिलाइ हुँदा विभिन्न स्थानबाट नयाँ वर्षको साइत र मुहूर्तसँग सम्बन्धित प्रश्न गर्नेको सङ्ख्या बढिरहेको पञ्चाङ्गकार, पण्डित, पुरोहितहरूको भनाइ छ । विशेषगरी विदेशमा रहेकाहरूले बिदा मिलाएर पुख्र्यौली थलोमा आई विवाह, व्रतबन्ध आदि कर्म गरेर फर्कन यस्ता मुहूर्त एवं साइत केही महिनाअघिदेखि नै खोज्ने गरेको पण्डित ढुण्डीराज न्यौपाने बताउनुहुन्छ ।

स्वदेशमै हुने सहरी क्षेत्रका मानिसले पनि महिनौँअघिदेखि साइत खोज्ने गरेका छन् । विवाह, व्रतबन्धजस्ता कर्म गर्न घरमा स्थान अभाव हुने भएकाले पार्टी प्यालेसमा ठाउँ लिनुपर्दा पहिले नै साइत खोज्ने क्रम सहरी इलाकामा बढ्दै गएको हो ।

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ, २२ मङ्सिर : स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

सिटी सफारी चालक मुत्यु प्रकरणमा सात जना पक्राउ

इनरुवा (सुनसरी) – गत असोज २५ गते यहाँको रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी ह त्या गरेको अरोपमा सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामधुनी–१ का ४३ वर्षीय राज किशोर साह, ४० वर्षीय नन्द किशोर साह, सप्तरी राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगन्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगन्ज–५ का २५ वर्षीय मिथिलेश यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक केशब थेबेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले आज इनरुवामा पत्रकार सम्मेलन गरी गत असोज २५ गतेको सो घटनामा पक्राउ परेका बारे जानकारी गराएको थियो । प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चालक रामधुनी–२ का ४५ वर्षीय चौधरीलाई अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका थिए । घटनाको अनुसन्धानका क्रममा मृतक चौधरीले तन्त्रमन्त्र गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएका कारण योजनाबद्ध रूपमा हत्या गरिएको बयानमा पाइएको प्रमुख थेबेले बताउनुभयो ।

ह त्या गर्नका लागि छ लाख ५० हजार रुपैयाँ लिएको समेत अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक थेबेले बताउनुभयो । पक्राउ परेकाले घटनामा संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव नपढेको आरोप लगाएपछि युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र युरोपेली सहयोगीहरूले सोमबार लन्डनमा वार्ता गर्ने तयारी गरेका छन्।

मियामीमा युक्रेनी र अमेरिकी अधिकारीहरूबीच केही दिनदेखि भएको वार्ता शनिबार कुनै स्पष्ट सहमतिविना सकिएपछि यो छलफल भएको हो । वार्ताको अन्त्यमा जेलेन्स्कीले थप वार्ताका लागि प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

वार्तासँग परिचित एक अधिकारीले सोमबार एएफपीसँग भने, “करिब चार वर्ष लामो रूस–युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा क्षेत्र अझै पनि ‘सबैभन्दा समस्याग्रस्त मुद्दा’ हो।”

राष्ट्रपति जेलेन्स्कीलाई बेलायती प्रधानमन्त्री केइर स्टार्मर, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले लन्डनमा स्वागत गर्नुहुनेछ ।

स्टार्मरले भन्नुभयो, “उहाँले जेलेन्स्कीलाई ट्रम्प प्रशासनको नेतृत्वमा सम्झौता स्वीकार गर्न दबाब दिनुहुनेछैन ।” “म राष्ट्रपतिलाई दबाब दिनेछैन,” स्टार्मरले आईटिभी न्यूजसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “सबैभन्दा महत्त्वपूर्ण कुरा यो सुनिश्चित गर्नु हो कि यदि शत्रुताको अन्त्य हुन्छ भने, र म आशा गर्दछु कि यो न्यायपूर्ण हुनुपर्दछ र यो स्थायी हुनुपर्दछ, हामी आज (सोमबार) दिउँसो छलफलमा केन्द्रित हुनेछौँ ।”

बेलायती विदेशमन्त्री यभेट कुपरले अमेरिकी समकक्षी मार्को रुबियोसँग सोमबार वासिङ्टन जाने कार्यक्रम रहेको छ ।युक्रेनी अधिकारीहरूका अनुसार मस्कोले आफ्नो छिमेकीमाथि आक्रमण जारी राखेको छ, जसमा आइतबारदेखि सोमबारसम्म कम्तिमा नौ जना घाइते भएका छन्।

जेलेन्स्कीले मियामी वार्ताका क्रममा अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग ‘धेरै ठोस र रचनात्मक’ कुराकानीका लागि आफ्ना वार्ताकारहरूसँग सामेल भएको बताउनुभएको थियो ।

जेलेन्स्कीले सामाजिक सञ्जाल टेलिग्राममा भन्नुभएको छ, “युक्रेन वास्तविक शान्ति ल्याउनका लागि अमेरिकी पक्षसँग इमान्दारीपूर्वक काम गर्न प्रतिबद्ध छ।”

ट्रम्पले आइतबार आफ्ना युक्रेनी समकक्षीको आलोचना गर्दै केही घण्टा अघि एक पत्रकार सम्मेलनमा भन्नुभयो, “मैले भन्नैपर्छ कि राष्ट्रपति जेलेन्स्कीले अझै प्रस्ताव नपढेकोमा म अलि निराश छु।”

विटकोफ र कुश्नरले गत हप्ता क्रेमलिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए ।सोमबारको वार्ताअघि फ्रान्सका राष्ट्रपति म्याक्रोँले रूसको ‘बढ्दो प्रभाव’ को आलोचना गर्नुभएको थियो ।

उहाँले एक्समा लेख्नुभएको छ, “हामी युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न अमेरिकीहरूसँग यी प्रयासहरू जारी राख्नेछौँ, यो बिना कुनै बलियो र दिगो शान्ति सम्भव छैन।”

“हामीले रूसलाई शान्ति छनौट गर्न बाध्य पार्न दबाब जारी राख्नुपर्दछ।लगभग चार वर्षको युद्धको अन्त्य गर्ने वाशिङ्गटनको प्रारम्भिक योजनामा रुसले युद्धको मैदानमा जित्न नसकेको भूमि पनि त्याग्नु (आत्मसमर्पण गर्नु) समावेश रहेको छ जुन सुरक्षा प्रतिज्ञाहरूको बदलामा नाटोमा सामेल हुने किएभको आकाङ्क्षाभन्दा कम छ।

युक्रेनले प्राप्त गर्न सक्ने सुरक्षा ग्यारेन्टीको प्रकृति अहिलेसम्म किएभको रक्षा गर्न जेटहरू पोल्याण्डमा रहनसक्ने प्रारम्भिक योजनाभन्दा बाहिर अनिश्चिततामा डुबेको छ ।

ट्रम्पले जनवरीमा कार्यालय फर्केदेखि युक्रेनलाई फकाउने र हप्काउने नीति लिँदै आउनुभएको छ। उहाँले सुरुमा जेलेन्स्कीलाई अमेरिकी समर्थनको लागि कृतज्ञ नभएकोमा आलोचना गर्नुभएको थियो।

अलास्कामा शिखर सम्मेलन सहितरूसी नेता पुटिनलाई युद्ध अन्त्य गर्न मनाउने ट्रम्पको प्रयासले परिणाम दिन असफल भएको छ र उहाँले हालै रूसी तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाउनुभएको छ। योजना सफल नहुँदा ट्रम्प पनि निराश भएको देखिन्छ।

“अमेरिकीहरूले युद्धविराम र शान्ति योजना ‘तत्काल’ गर्नुपर्ने जस्ता दबाब दिइरहेका छन् तर युक्रेन र उसका युरोपेली सहयोगी सावैभौमिकतामाथि आँच आउने प्रस्तावमा सहमत हुन नसक्ने बताउँदैुँदा ट्रम्प पनि निराश भएको देखिन्छ।

“अमेरिकीहरूले युद्धविराम र शान्ति योजना ‘तत्काल’ गर्नुपर्ने जस्ता दबाब दिइरहेका छन् तर युक्रेन र उसका युरोपेली सहयोगी सावैभौमिकतामाथि आँच आउने प्रस्तावमा सहमत हुन नसक्ने बताउँदै आएका छन्,” वार्ताबारे जानकार एक अधिकारीले एएफपीसँग भने ।

चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – जाजरकोटस्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

तत्कालीन अध्यक्ष अमृते दमाई, सचिव रामकुमारी राना, कोषाध्यक्ष धनसरी राना र लेखापरीक्षक भोजराज शर्मा पाण्डेविरुद्ध सामुदायिक वनको रकम बदनियतपूर्वक हिनामिना र दुरुपयोग गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो ।

आयोगको अनुसन्धानअनुसार उनीहरुले विभिन्न शीर्षकमा नक्कली बिल, काम नै नगरी खर्च देखाउने, आगलागी नियन्त्रणमा सहभागी नबनेका व्यक्तिको नाममा भुक्तानी गर्नेलगायतका क्रियाकलापमार्फत कुल रु नौ लाख ६५ हजार ८७३ हिनामिना गरेको देखिएको छ ।

आरोपीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ का सम्बन्धित दफाअनुसार कैद, जरिवाना र विगो असूल गर्न मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ

घोडाघोडी (कैलाली) – कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले गत भदौ ३० गतेदेखि वन पैदावार बिक्री वितरणमा अनिश्चितकालीन रोक लगाएपछि जिल्लामा सङ्कलित र लिलाम भइसकेका लाखौँ क्यूफिट काठ घाटगद्दीमै थन्किएका हुन् ।

समयमै सङ्कलन, मापदण्ड पालन, लिलाम प्रक्रिया पूरा गरेर घाटगद्दीमा राखिएको काठ उठाउन अनुमति नपाउँदा सामुदायिक तथा साझेदारी वन, निजी काठ व्यवसायी, मजदुर, उपभोक्तालगायत सबै मारमा परेका छन् । करोडौँ मूल्य बराबरको वन पैदावार कुहिने अवस्थामा पुगेको छ । मन्त्रालयले रोक लगाएको पत्रमा बिक्री वितरणमा विविध अनियमितता भएको जन गुनासो, प्रक्रिया पारदर्शी नभएको आरोप र भदौ २३ र २४ गतेको आन्दोलनका कारण असहज परिस्थिति सिर्जना भएको जनाइएको थियो । तर रोक लगाएको महिनौँ बितिसक्दा पनि न अनियमितता प्रमाणित गर्न कुनै छानबिन समिति बनेको छ, न त अनियमिततासम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छ ।

प्रदेश सरकारले रोक लगाउने औचित्य स्पष्ट नगर्नु, समाधान प्रक्रियामा ढिलाइ गर्नु र वैकल्पिक प्रणालीको व्यवस्था नगर्नुले समस्या उत्पन्न भएको छ । कैलालीमा करिब एक लाख ७१ हजार ३७० क्यूफिट काठको लिलाम प्रक्रिया पूरा भइसकेको थियो । डिभिजन वन कार्यालय पहलमानपुरमा हालसम्म ८६ हजार ३७० क्यूफिट काठ लिलाम भइसकेको छ । त्यसैगरी डिभिजन वन कार्यालय कैलालीमा पनि ८५ हजार क्युफिट काठ लिलाम भइसकेकामा उठाउन नपाइ घाटगद्दीमै थन्किएको हो । डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टका अनुसार सरकारको निर्णयपछि ठेक्का भइसकेको काठ उठाउन नपाउँदा सामुदायिक वन, साझेदारी वन, उपभोक्ता, मजदुर र काठ व्यवसायी सबै मर्कामा परेका छन् । उहाँ भन्नुहुन्छ, “वन समूहबाट सङ्कलन हुने राजस्व पनि रोकिएको छ, जसको प्रत्यक्ष असर स्थानीयदेखि प्रदेश सरकारसम्म परेको छ ।”

गठन भएको दुई वर्षपछि मात्रै सञ्चालनमा आएको गौरीगङ्गा साझेदारी वनले सङ्कलन गरेको २५ हजार क्यूफिट काठ घाटगद्दीमा थन्किएको छ । अध्यक्ष बलबहादुर महतोले भन्नुभयो, “हामीले एक करोड ८० लाख पुरानो ऋण तिर्नै बाँकी छ । काठ बेचेर ऋण तिर्ने योजना थियो, तर रोकले निकै समस्या परेको छ ।”

कैलालीको चुरे गाउँपालिका सबैभन्दा बढी प्रभावित छ । यहाँ आन्तरिक खपत नहुने भएकाले सबै लिलाम बिक्री गर्ने गरिएको थियो । वन समूहले काठ बेचेर राजस्व सङ्कलन, वन विकास, सामाजिक कार्यक्रम र ऋण तिर्ने गरेका थिए । तर यसपटक काठ उठ्नै नपाउँदा समस्या भएको चुरे–३ सहजपुरस्थित जनजागृति सामुदायिक वनका अध्यक्ष धनबहादुर खडायतले बताउनुभयो । उहाँका अनुसार पाँच हजार क्यूफिटभन्दा बढी काठ घाटगद्दीमै छ ।

चुरे–३ को पञ्चवली सामुदायिक वनमा पनि तीन हजार क्युबिक फिट काठ सङ्कलन गरिएको थियो । काठ कुहिएर खेर जान थालेको सामुदायिक वनका अध्यक्ष प्रेम रानामगरले बताउनुभयो । “वन पैदावार बिक्री रोक्नका लागि अनियमितताको कारण देखाइएको छ”, उहाँ भन्नुहुन्छ, “जहाँ अनियमितता भयो त्यहाँ रोकेर छानबिन गर्नुपर्छ । किन कैलालीमै मात्र प्रतिबन्ध लगाइएको हो । सरकारले स्पष्ट गर्नुपर्छ ।”
केही दिनमा बिक्री वितरण नखुलाइएमा आन्दोलनमा उत्रिने स्थानीयले चेतावनी दिएका छन् । महोन्याल–७ कुइनेस्थित बन्डाली सामुदायिक वनमा पनि तीन हजार चार सय क्युबिक फिट काठ कुहिने अवस्थामा पुगेको वनका अध्यक्ष महेश विष्टले बताउनुभयो । काठ व्यवसायीहरूले सापटी र बैङ्कबाट कर्जा लिएर व्यवसाय चलाइरहेकामा सरकारले वन पैदावार बिक्री–वितरणमा रोक लगाएपछि लगानी डुब्ने अवस्थामा पुगेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका अध्यक्ष हिक्मत कुँवर बताउनुहुन्छ ।

सुदूरपश्चिम प्रदेशका वनसम्बन्धी समस्या समाधानका लागि गठित कार्यदलका सदस्यसमेत रहनुभएका कुवँरका अनुसार कार्यदलले वन पैदावार बिक्री खोल्नुपर्ने मागसहित मुख्यमन्त्रीलाई प्रतिवेदन पेस गरिसकेको छ । “यदि प्रतिवेदनका सुझावहरू कार्यान्वयन भएनन् भने, हामी सबै सरोकारवालासँग छलफल गरेर अगाडि बढ्छौँ,” उहाँले भन्नुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले वन पैदावार बिक्री वितरणमा रोक लगाएपछि खुलाउने पर्नेलगायतका विभिन्न २५ बुँदे माग राख्दै सामुदायिक वन समूहका उपभोक्ता र विभिन्न सरोकारवाला निकायहरू आन्दोलित भएका थिए । विकल्प खोज्न प्रदेश सरकारले गत कात्तिक २८ गते वन निर्देशक हेमराज विष्टको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले मङ्सिर २१ गते नै मुख्यमन्त्री कमलबहादुर शाहलाई सुझाव सहित प्रतिवेदन बुझाएको छ । विष्टका अनुसार प्रतिवेदनमा काठ नियमअनुसार तत्काल बिक्री वितरण फुकुवा गर्न सिफारिस गरिएको छ ।

सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल

सुदूरपश्चिम – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र र समष्टिगत विकासका लागि उत्तर—दक्षिण सिधासम्पर्क स्थापित हुने भरपर्दो राजमार्ग आवश्यक रहेको बताउनुभएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव २०८२ को आज उद्घाटन गर्दै उहाँले गुणस्तरीय र भरपर्दो उत्तर—दक्षिण सडक सञ्जाज नहुँदा सुदूरपश्चिम प्रदेशमा विकासले गति लिन नसकेको धारणा राख्नुभयो ।

अर्थमन्त्री खनालले भन्नुभयो,“उत्तर—दक्षिण कनेक्टिभिटी अति महत्त्वपूर्ण छ, कनेटिभिटीले नै विभिन्न हावापनी भएको भूगोल, विभिन्न संस्कृति र क्षमता भएकाहरूलाई सहज रूपमा आर्थिक गतिविधिमा सक्रिय बनाउँछ । सुदूरपश्चिममा यही नभएका कारण विकासमा समस्या भयो ।”

उहाँले स्रोतको उपयोग गर्दै ठूला परियोजना अगाडि बढाउनुपर्ने र अधुरा विकास आयोजना सकेसम्म चाँडो सम्पन्न गर्नुपर्छ भन्ने सोचका साथ आफूले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नभयो “ जेनजी युवापुस्तको आवाजले देशलाई परिवर्तनका लागि अगाडि बढ्न सन्देश दिएको छ । नवयुवाको परिवर्तनको चाहनालाई संस्थागत गर्न तोकिएको फागुन २१ मा निर्वाचन गर्नुछ । हामीसँग धेरै समय, सीमा पनि छैन, तथापि विकासका कामलाई एउटा लयमा लिनका लागि हाम्रो प्रयत्न जारी छ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सुदूरपश्चिम प्रदेश कृषि, पर्यटन, जलस्रोत, जडिबुटीलगायत स्रोतमा सम्भावनाको खानी भए पनि अपेक्षित विकास हुन नसकेको बताउनुभयो । अब सबै पक्ष मिलेर प्रदेशको विकासका लागि लाग्नुपर्ने र त्यसमा आफ्नो तर्फबाट पनि भूमिका रहने बताउनुभयो ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले पछिल्लो तथ्याङ्कले सुदूरपश्चिममा गरिबी घट्नुको साटो बढेको देखिएको भन्दै अब सही योजनामा लगानी गरेर स्रोतको उपयोग र आर्थिक गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले हरेक वर्ष आयोजना हुने महोत्सवमार्फत विभिन्न माग राखेर शालिन आन्दोलन थालिएको लामो समय भइसक्दापनि धेरै माग पूरा हुन नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो ।

समारोहमा सुदूरपश्चिमको विकास तथा अन्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै पत्रकार चित्राङ्गत थापा, स्वास्थ्य सेवातर्फ डा प्रदिप मिश्र, डा मोहन साउद, तीर्थराज पन्त, भाषा साहित्यतर्फ डा टिएन जोशी, शिक्षातर्फ प्राडा तुल्सीराम जोशी, उद्योग व्यापारतर्फ हेमराज पाठक, समाजसेवातर्फ सिवी चन्द, पर्यटनतर्फ व्यवसायी कलमबहादुर बम, कृषितर्फ रबिनकान्त पन्त, महिला उद्यमी राजकुमारी चौधरी, लोकसंस्कृतितर्फ चक्र बम, खेलकुदतर्फ शेरबहादुर सिंह र क्रिकेटर दिपेन्द्रसिंह ऐरी तथा युवा उद्यमी सुरज रैकालाई सम्मान गरिएको थियो ।

धनगढी उपमहानगरपालिका—१ मा रहेको मैदानमा भइरहेको महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा कृषिउपज प्रदर्शनी, हस्तकला, जडिबुटी, स्थानीय समुदायका खानाका परिकार, सांस्कृति कार्यक्रम, बाल उद्यानलगायत स्टल राखिएका छन् ।

चुनावको विकल्प छैन- लीलामणि पोखरेल

म्याग्दी, २२ मङसिर : नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।

बेनीमा आज भएको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता पोखरेलले संवैधानिक संकट टार्न, जेनजी आन्दोलनको माग, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, स्थायित्व, राष्ट्रियता र स्वाधिनताको रक्षा तथा विगतका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धीको रक्षाका लागि चुनावलाई सफल बनाउन आग्रह गर्नुभयो ।

“विगतका उपलब्धीको रक्षा गरेर देशलाई सही बाटोमा डो-याउन कमीकमजोरीको आत्मसमिक्षा, गरेका काम र योजनासहित चुनावबाट अनुमोदित हुने अवसरको सदुपयोग गर्न नेता कार्यकर्ताले चुनावको वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो “सुशासन, सामाजिक न्याय र समृद्धिको मुद्दा लिएर जनतामा जान तयार छौँ ।”

हुण्डीमार्फत् ५७ लाख ४७ हजार कारोबार गर्ने श्रेष्ठ पक्राउ

काठमाडौँ, २२ मङ्सिर: नेपाल प्रहरीले हुण्डीमार्फत् रु ५७ लाखभन्दा कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुण्डीमार्फत् बढी रु ५७ लाख ४७ हजार ३५० रकम कारोबार गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

लैङ्गिक आधारमा हुने ‘डिजिटल’ हिंसा थप चुनौतीपूर्ण छः उपाध्यक्ष घिमिरे

कपिलवस्तु, २२ मङ्सिरः राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले लैङ्गिक आधारमा हिंसाको सामाना गरिरहेका महिलामाथि ‘डिजिटल’ हिंसा थप चुनौतीका रूपमा देखिएको बताउनुभएको छ ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘डिजिटल प्रविधिको सही प्रयोगसम्बन्धी अन्तरक्रिया’ मा उहाँले सूचना–प्रविधिको दुरुपयोग हुँदा युवती, महिला, यौनिक अल्पसङ्ख्यक तथा संवेदनशील समूहका व्यक्तिले नयाँ प्रकारका हिंसाको सामना गर्नुपरेको बताउनुभयो ।

उपाध्यक्ष घिमिरेले आक्रमक टिप्पणी, गालीगलौज तथा अपमानजनक प्रतिक्रियाहरूका कारण धेरै युवतीहरू सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्न पनि डराउने स्थिति उत्पन्न भइरहेको बताउनुभयो । “डिजिटल हिंसाले व्यक्तिको मानसिक स्वास्थ्यमा मात्र होइन, सामाजिक सहभागिता, आत्मविश्वास, पेसागत अवसर र नेतृत्व क्षमतामा समेत गम्भीर असर पारिरहेको छ”, उहाँले भन्नुभयो,“डिजिटल प्रविधि झनै उन्नत बन्दै जाँदा हिंसाका नयाँ–नयाँ रूप देखा पर्नसक्ने र महिला, नेतृ, पत्रकार, जनप्रतिनिधि तथा सार्वजनिक व्यक्तित्वविरुद्ध चरित्र हत्या हुने अवस्था छ । यसबारे समयमै सचेत हुन आवश्यक छ ।”

उपाध्यक्ष घिमिरेले डिजिटल हिंसा कुनै काल्पनिक समस्या नभई महिला, किशोरी र हजारौँ नागरिकले दैनिक भोगिरहेको वास्तविकता भएको उल्लेख गर्दै यसको बदलिँदो स्वरुपअनुसार रोकथामका रणनीति अद्यावधिक हुनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा पार्टी अध्यक्ष ओलीलाई ‘अवधारणा–पत्र’

काठमाडौँ, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औँ राष्ट्रिय महाधिवेशनका सन्र्दभमा आफ्नो अवधारणा पत्र बुझाउनुभएको छ । पार्टीका महासचिव शङ्कर पोखरेलमार्फत उहाँले सो अवधारणापत्र बुझाउनुभएको हो । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीलाई लेखिएको ‘अवधारणा–पत्र’ पार्टी महासचिव पोखरेललाई बुझाउनु भएको हो । अध्यक्ष ओलीलाई बुझाउने भनेता पनि समय नमिलेपछि महासचिव पोखरेललाई उहाँले ‘अवधारणा–पत्र’ बुझाउनु भएको हो ।

अवधारणा पत्रमा पार्टी महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको माग गर्नुभएको छ । उहाँले महाधिवेशनमा छलफलका लागि तयार पारिएको ‘अवधारणा–पत्र’ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरी प्रतिनिधिको बिचमा छलफल गर्ने समेत वातावरण मिलाउन अध्यक्ष ओलीलाई अनुरोध गर्नु भएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौ २३ गते भएको ‘जेन–जी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछि मुलुकमा असाधरण फेरबदल भएकाले पार्टीले लिएका नीति र कार्यनीतिका समस्याबारे पुनः मूल्याङ्कन गर्नुपर्ने बताउनु भएको छ ।

“राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको आवश्यकता देखिएको छ । हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न जरुरी भएको छ,” उहाँले अवधारणा पत्रमा उल्लेख गर्नुभएको छ ।

अवधारणा पत्र बुझाउन वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराईसमेत गएका थिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

काठमाडौँ, २२ मङ्सिर : निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा आज जारी विज्ञप्तीमा यही मङ्सिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ ।आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५ गतेसम्म देशभरबाट सङ्कलित मतदाता विवरणलाई अद्यावधिक अघि बढाइने जानकारी दिनुभएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरू योग्य मतदाता मानिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक (दावी बिरोध) कार्यक्रम अन्तर्गत सङ्कलित मतदाताको विवरण आयोगको वेबसाईटमा प्रकाशन गरिनेछ ।

आयोगले सङ्कलित मतदाता नामावली आफ्नो वेबसाइटमा प्रकाशन गरेपछि मङ्सिर २६ गतेसम्म नाम, ठेगाना वा अन्य विवरणमा त्रुटी सच्याउन निवेदन दिन सकिने विज्ञप्तीमा उल्लेख छ ।

कसैले झूटो विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन सकिनेछ । एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा परेमा एक स्थानमा मात्र राख्न अनुरोध आयोगको छ । मृतक वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन सूचना दिन आग्रह गरिएको छ । दाबी–विरोधका सबै प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।

मतदान स्थल छनोटका लागि अनलाइन सुविधा वृद्धि गर्ने उद्देश्यसहित आयोगले कतिपय मतदान स्थलहरूको पुनरावलोकन समेत गरेको छ । मतदाताले अब आफ्नो वडाभित्रका मतदान स्थलमध्ये सुविधाजनक स्थल छनोट गर्न अनलाइन प्रणालीमार्फत निवेदन दिन सक्नेछन् । आयोगले मतदाता नामावलीलाई अझ शुद्ध, विश्वसनीय र त्रुटीरहित बनाउन आम मतदाता तथा सरोकारवालाको सक्रिय सहभागिताका लागि अपिल गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता

काठमाडौँ, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आयोगको कार्यालय कान्तिपथ पुगेर एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख निरज आचार्यले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलगायतलाई भेटेर दल दर्ताको निवेदन हस्तान्तरण गर्नुभएको हो ।

आयोगले उक्त प्रणालीतर्फको कार्यक्रम गत शनिबारदेखि सुरू गरेको थियो । यस प्रणालीका लागि दल दर्ताका लागि यही मङ्सिर २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आयोगले आग्रह गरेको छ ।

सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली, २२ मङ्सिरः गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् । प्राप्त प्रमाणका आधारमा १५ जनालाई पक्राउ गरिएको र थप १५ जनाको पहिचान गरी पक्राउका लागि जिल्ला अदालतबाट पक्राउ आदेश लिएको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कमलामाई नगरपालिका–५ वडा कार्यालयमा तोडफोड, आगजनी तथा लुटपाट गरेको आरोपमा पक्राउ गरी आपराधिक उपद्रव गर्न नहुने कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१२ घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजार बस्ने २० वर्षीय सुजन साह, कमलामाई नगरपालिका–८ घर भई हाल कमलामाई–६ अनामनगर बस्ने ३६ वर्षीय रत्नबहादुर श्रेष्ठ, कमलामाई–५ का ४७ वर्षीय फौद थापा मगर, तीनपाटन गाउँपालिका–४ घर भई हाल कमलामाई–६ स्थित गौतम फर्मा केयरका सञ्चालक ३० वर्षीय सुजन गौतम रहेका छन् ।

यस्तै सर्लाहीको रामनगर गाउँपालिका–६ स्थायी घर भई हाल सिन्धुलीको कमलामाई–६ धुराबजार बस्ने २५ वर्षीय पपुकुमार साह, कमलामाई–५ का २७ वर्षीय रबन चौधरी, कमलामाई–१२ का ३९ वर्षीय क्षितिज श्रेष्ठ, भारतको सीतामढी जिल्ला घर भई हाल सिन्धुलीको कमलामाई–६ धुराबजार बस्ने २२ वर्षीय देवनन्दन साह, कमलामाई–४ का २४ वर्षीय सविन लामा, कमलामाई–१२ का २३ वर्षीय डोरबहादुर सार्की, महोत्तरीको गौशाला नगरपालिका–२ घर भई हाल सिन्धुलीको कमलामाई–५ मा बस्ने राजु महरा, सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का २५ वर्षीय होमबहादुर लुङ्गेली, कमलामाई–८ का ३४ वर्षीय ओमबहादुर खत्री, कमलामाई–८ कै ३० वर्षीय कमल पाख्रिन र महोत्तरीको बर्दिबास नगरपालिका–१४ घर भई हाल कमलामाई–६ बस्ने ३५ वर्षीय हरिचन सोनारलाई पनि प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो ।
–––

एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन

काठमाडौँ, २२ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को जारी दोस्रो संस्करणमा लिग चरणका खेल पूरा भएका छन् । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको लिग चरणमा आठ टोलीबीच कुल २८ वटा खेल भएका थिए ।

दर्शकको उल्लेख्य उपस्थिति रहेको लिग चरणका २८ खेलमध्ये १५ खेलमा दोस्रो पारीमा ब्याटिङ गर्ने टोली विजयी भए भने १३ पटक पहिलो पारीमा ब्याटिङ गर्ने टोलीले जिते । प्रतियोगितामा हालसम्म विराटनगरले सबैभन्दा ठूलो स्कोर बनाएको छ । उसले पोखराविरुद्ध २२० रन बनाएको थियो भने पोखराले कर्णालीविरुद्ध २०१ रन बनाएको थियो । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ को उच्च योगफल बनायो । जनकपुरको उच्च योगफल चितवनविरुद्ध १८० रन रह्यो । साथै कर्णालीको उच्च योगफल पोखराविरुद्ध १६७ रन रहँदा लुम्बिनीको उच्च योगफल कर्णालीविरुद्ध १५८ रह्यो ।

जारी प्रतियोगितामा फराकिलो अन्तरले जित निकाल्नेमा अगाडि विराटनगर र काठमाडौँ रहे । विराटनगरले पोखरालाई र काठमाडौँले चितवनलाई समान ५३ रनको फराकिलो अन्तरले पराजित गरेका थिए । सुदूरपश्चिमले चितवनलाई ४९ रनको फराकिलो जित निकाल्दा चितवनले विराटनगरलाई ४८ रनले हराएको थियो । विराटनगरले एकै खेलमा सबैभन्दा बढी २१ अतिरिक्त रन खर्चियो । जनकपुरले पनि कर्णालीविरुद्ध १५ अतिरिक्त रन खर्चिँदा सुदू्रपश्चिम र जनकपुरले पोखराविरुद्धका खेलमा अतिरिक्त रनका रुपमा समान १४÷१४ रन खर्चियो ।

ब्याटिङमा विदेशी खेलाडी हावी

हालसम्म खेलमा ब्याटिङमा विदेशी खेलाडीको दबदबा रह्यो । पोखरा एभेञ्जर्सका एडम रोसिङ्टनले सर्वाधिक ३२३ रन बनाए । उनले सात खेलमा एक शतक र दुई अर्धशतक बनाए । उनले सबैभन्दा बढी ३१ चौका प्रहार गरे ।

कर्णाली याक्सका मार्क वाट पनि ब्याटिङमा अब्बल रहे । उनले सात खेलमा एक शतक र एक अर्धशतकसहित २४६ रन बनाए । उनी लिग चरणमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बने । उनले २१ छक्का प्रहार गरेका थिए । उनले लुम्बिनी लायन्सविरुद्ध मात्रै १२ छक्का प्रहार गरेका थिए ।

चितवन राइनोजका रवि बोपाराले पनि तीन अर्धशतकसहित २३७ रन बनाए । दुई सयभन्दा बढी रन बनाउनेमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका ओपनर बिनोद भण्डारी छन् । उनीहरुले क्रमशः २०८ र २०१ रन बनाए ।

नेपाली ब्याटरहरु कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, देव खनाल, गुलशन झा, आशिफ शेख, आरिफ शेख, भीम सार्कीलगायतले एकाध खेलमा राम्रो प्रदर्शन गरे पनि समग्रमा ब्याटिङमार्फत आफ्नो टोलीलाई उल्लेखनीय योगदान गर्न भने सकेनन् ।
ब्याटिङतर्फ स्ट्राइक रेटमा पनि विदेशी खेलाडी अगाडि देखिए । दुई वटा मात्रै खेल खेलेका विराटनगरका फाप डुप्लेसीले २१३.७९ को स्ट्राइकमा एक अर्धशतकसहित ६२ रन बनाए । लिग चरणका सबै खेल खेलेका हर्मित सिंहले १९३.७५ को स्ट्राइक रेटमा रन बनाए । पोखराका दान डाउथवेटले १८७.१७ को स्ट्राइक रेटमा रन बनाए । प्रतियोगितामा सबैभन्दा लामो साझेदारी १३२ रनको रह्यो । विराटनगरका लोकेश बम र मार्टिन गुप्टिलले पोखराविरुद्ध दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए ।

दुई शतक, ३७ अर्धशतक

प्रतियोगितामा हालसम्म दुई खेलाडीले मात्र शतक बनाएका छन् । पोखराका एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध १०८ रन र कर्णाली याक्सका मार्क वाटले लुम्बिनीविरुद्ध ११४ रन बनाए ।

प्रतियोगितामा हालसम्म ३७ अर्धशतक प्रहार भएका छन् । कूल अर्धशतकमध्ये २७ विदेशी खेलाडीले बनाए । विदेशी खेलाडीमा रवि वोपाराले तीन, एडम रोसिङ्टनले तीन, प्रियाङ्क पञ्चालले दुई, मार्क वाटले दुई र सञ्जय कृष्णमूर्तिले दुई तथा बाँकी विदेशी खेलाडीले एक÷एक अर्धशतक बनाए । नेपाली खेलाडीतर्फ कुशल भुर्तेलले दुई अर्धशतक बनाए । साथै नेपाली खेलाडीहरु भीम सार्की, इशान पाण्डे, अर्जुन साउद, अनिल साह, बिनोद भण्डारी, बसिर अहमद, लोकेश बम र आशिफ शेखलले एक÷एक अर्धशतक बनाए ।

२९ वटा डकआउट

प्रतियोगितामा १८ ब्याटर २९ पटक डकआउट अर्थात् शून्य रनमा आउट भएका छन् । जसमध्ये जोस ब्राउन, सुमित महर्जन र जर्ज मुन्से र आशिफ शेख सबैभन्दा बढी तीन पटक डकआउट भए ।

बलिङमा चम्किएका नेपाली खेलाडी

जारी संस्करणमा ब्याटिङतर्फ औसत प्रदर्शनमा सीमित केही नेपाली खेलाडी बलिङमा भने चम्किए । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सात खेलमा १५ विकेट लिए । उनको प्रदर्शन टोलीलाई क्वालिफायरमा पु¥याउन महत्वपूर्ण रह्यो । लामिछाने इकोनोमीमा पनि अब्बल रहे । उनले पाँच दशमलव १० को औसतमा रन खर्चिए ।

सुदूरपश्चिमका अभिनाश बोहोराले पनि १४ विकेट लिँदै टोलीलाई क्वालिफायरमा पु¥याउन सहयोग गरे । उनको इकोनोमी सात दशमलव ८० रह्यो । काठमाडौँ गोर्खाजका लागि साहब आलमले १२ विकेट लिए । उनले पोखराविरुद्धको खेलमा ह्याट्रिकसहित ६–२५ को उत्कृष्ट प्रदर्शन गरे । आलमको इकोनोमी छ दशमलव ३३ रह्यो ।

काठमाडौँका कप्तान करण केसीको प्रदर्शन पनि राम्रो रह्यो । उनले कुल १२ विकेट लिए । त्यसबाहेक पोरखाका धनञ्जय लक्षण, कामाठाडौँका मिलिन्द कुमार, लुम्बिनीका शेर मल्ल, सुदूरपश्चिमका हर्मित सिंह र कर्णाली याक्सका नन्दन यादवले समान १०÷१० विकेट लिए । समग्रमा ब्याटिङमा चुकेका नेपाली खेलाडीले बलिङमा भने राम्रो प्रदर्शन गरेका छन् ।
त्यसैगरी सबैभन्दा बढी आउट गर्ने बलरबाहेकका खेलाडीमा सुदूरपश्चिमका बिनोद भण्डारी अगाडि छन् । उनले सात वटा क्याच लिए भने तीन वटा स्टमपिङ गरे । साथै पोखराका एडम रोसिङ्टनले चारवटा क्याच लिए भने तीन वटा स्टमपिङ आउट गरे । साथै काठमाडौँका जोन सिम्पसनले एउटा क्याच लिए भने चार वटा स्टमपिङ गरे ।

सबैभन्दा बढी क्याच लिने खेलाडीमा भने काठमाडौँका मिलिन्द कुमार र चितवनका कुशल मल्ल छन् । दुवैले आठ÷आठ क्याच लिएका छन् । मिलिन्द कुमारले पोखराविरुद्धको खेलमा पाँच क्याच लिएका थिए । काठमाडौँका गेरार्ड इरामस र पोखराका कप्तान कुशल भुर्तेलले समान सात÷सात क्याच लिएका छन् । ब्याटरहरु २०३ पटक क्याचमार्फत आउट भएका थिए ।

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी

महेन्द्रनगर – एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए ।

“एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए ।” रानाले भन्नुभयो, “मलेसियाबाट आएर भारतका विभिन्न ठाउँमा पनि रोजगारीका लागि कुदेँ ।”दुई वर्षअघि गाउँमै फार्म बनाएर अण्डा उत्पादनमा जुटेका रानाले छोटो समयमै व्यवसायमा सफलता हात पारेको बताउँछन् । “अहिले चार हजार कुखुराले अण्डा दिँदैछन् ।” उहाँले भन्नुभयो,“मासिक नौ÷दश लाखको कारोबार भए पनि मुनाफा अढाइ लाख भइरहेको छ ।”

व्यवसायी रानाले कात्तिक महिनादेखि माघसम्म अण्डाको व्यापार राम्रो हुने गरेको बताउनुभयो । “एक हजार पाँच सय कुखुरा पाल्नबाट सुरु गरेको अहिले चार हजार कुखुरा छन् ।” उहाँले भन्नुभयो–“रु तीस लाखबाट सुरु गरेको कारोबार अहिले ८० लाखको हाराहारीमा पुगिसकेको छ ।” अहिले दैनिक दुई हजार पाँच सय देखि तीन हजार अण्डा बिक्री हुने गरेको छ ।

मलेसिया रोजगारीका बेला मामा नातापर्ने सीताराम राना त्यहाँ अण्डा उत्पादन कम्पनीमा कार्यरत थिए । “मामालाई भेट्न जाँदा आफूमा पनि स्वदेश गएर उत्पादनमा लाग्ने सोच पलायो, फर्किए पनि । लगानी नहुँदा केही समय भारत पनि पसँे ।” उहाँले भन्नुभयो–“धान कुटानीको मिल बिक्री गरेर आएको रकम अण्डा उत्पादनका लागि लगानी गरेर अघि बढे ।”
कृषि ज्ञान केन्द्र, पशु कार्यालय लगायतका सरोकार वाला निकायबाट भने कुनै खालको अनुदान रकम नपाएको रानाको भनाइ छ । उहाँले कञ्चनपुरमै पहिलो पटक आधुनिक (केजस्टक) प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका हुन । “गाउँ घरमा राना थारु समुदायले परम्परागत रुपमा त कुखुरा पाल्न थालेको दशकाँै भयो होला तर व्यावसायिक रुपले आधुनिक प्रविधिसँग जोडिएर यहाँ सुरु मैले नै गरेको हुँ ।” व्यवसायी रानाले भन्नुभयो–“लगानी, सीप र मेहनत भए रोजगारीका लागि खाडीमूलुक जान पर्देन ।”हाल भइरहेको आम्दानीबाट रानाले कुखुरा फार्ममै लगानी विस्तार गरिरहेका छन् ।

उहाँले फार्मबाट उत्पादन भएको अण्डाको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको बताउनुभयो । “यहाँको सबैजसो पालिकाका बजारमा अण्डा दैनिक बिक्री वितरणका लागि गइरहेको छ ।” रानाले भन्नुभयो,“स्वदेश मै उत्पादनमूलक कार्यमा जुटेका हामी जस्ता युवाहरुलाई प्रोत्साहनका सरकारले ध्यान दिनुपर्छ ।”

“निम्न आयस्तर भएको युवालाई कृषि, उत्पादनमा लाग्दा स्थानीयदेखि केन्द्र सरकारले सहयोगी प्याकेज दिनुपर्छ ।” उहाँले भन्नुभयो–“वास्तविक किसानसम्म सरकारको सहयोग पुग्ने हो भने धेरै युवाहरु घर आँगनमै रोजगारी पाउँछन् ।”

एनपिएलः आज खेल नहुने

काठमाडौँ – यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।

सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।

भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह

रुसले भेनेजुएलाको नेतृत्वको पक्षमा उभिएको र अमेरिकी सरकारलाई काराकाससँग पूर्ण द्वन्द्व नगर्न आग्रह गरेको रुसी उप विदेशमन्त्री सेर्गेइ र्याबकोभले आइतबार बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “भेनेजुएलामा तनाव उच्च रहेको छ र बढ्दै गएको छ । मस्कोले त्यहाँ देखिएका पछिल्ला घटनाक्रमलाई गहिरो चासोका साथ हेरेको छ।” र्याबकोभले भन्नुभयो, “भेनेजुयला विवाद यस क्षेत्रमा निर्विवाद प्रभुत्व कायम गर्ने वाशिङ्गटनको चाहनासँग जोडिएको छ र यो ट्रम्प प्रशासनको ट्रेडमार्क हो।”

दुई देशबीच हालै सम्पन्न रणनीतिक साझेदारी र सहयोगसम्बन्धी सम्झौतालाई उद्धृत गर्दै र्याबकोभले रुसले भेनेजुएलासँग बलियो ऐक्यबद्धता कायम राखेको पनि बताउनुभएको छ। र्याबकोभले भन्नुभयो, “हामी भेनेजुएलालाई समर्थन गर्दछौँ, त्यसरी नै यसले हामीलाई समर्थन गर्दछ । यो कठिन समयमा हामी काराकास र उसको नेतृत्वसँग काँधमा काँध मिलाएर उभिएका छौँ।”

अमेरिकाले क्यारेबियन सागरमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । पेन्टागनले सेप्टेम्बर २ यता क्यारेबियन र पूर्वी प्रशान्त महासागरमा कथित लागुऔषध जहाजहरूमा कम्तिमा २२ पटक आक्रमण गरेको छ, जसमा ८७ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ – प्रजिअ अधिकारी

दमौली (तनहुँ) – जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि भने सेवा प्रवाहमा केही असहजता आएको थियो । विभिन्न कठिनाइका बीचमा पनि सेवा प्रवाह नरोकिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

जेनजी प्रदर्शनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी समेत भएको थियो । यस पश्चात् केहीदिन सेवा प्रवाह पूर्णरुपमा अवरुद्ध समेत भएको थियो । केही समयपछि कार्यालय भवन मर्मत तथा वैकल्पिक व्यवस्था गरी हाल नियमित रुपमा सबै प्रकारका सेवा प्रवाह भइरहेको छ ।

उहाँका अनुसार पाँच हजार तीन सय ८८ जनालाई राष्ट्रिय परिचयपत्र, तीन हजार छ सय ५९ जनालाई राहदानी, तीन हजार छ सय सात जनालाई नागरिकता, एक हजार दुई सय १३ जनालाई सिफारिस÷प्रमाणीकरण सेवा प्रदान गरिएको छ ।

यस्तै चार सय ३४ जनाको गुनासो सम्बोधन, तीन सय ९८ जनालाई संस्था दर्ता र नवीकरण, एक सय ४० जनालाई नाबालक परिचयपत्र, ६५ जनालाई हातहतियार नवीकरण र नामसारी सेवा प्रदान गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

तीन हजार नागरिकता वितरण, छ जनाद्वारा परित्याग

यस्तै तीन महिनाका अवधिमा तीन हजार छ सय एक जनालाई नागरिकता वितरण गरेको छ । साउनदेखि असोजसम्म एक हजार सात सय २४ नयाँ र एक हजार आठ सय ७७ प्रतिलिपि वितरण गरिएको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार नयाँ नागरिकतातर्फ एक हजार सात सय १४ जनालाई वंशज (बाबुको आधारमा), पाँच जनालाई वंशज (आमाको आधारमा), तीन जनालाई गैरआवासीय र दुई जनालाई वैवाहिक अङ्गिकृत नागरिकता वितरण गरिएको छ । नौ सय ३३ महिला र सात सय ९१ पुरुषलाई नागरिकता वितरण गरिएको छ ।

प्रतिलिपितर्फ वंशजका आधारमा नौ सय २० महिला र नौ सय ५७ पुरुष गरी एक हजार आठ सय ७७ जनालाई नागरिकता वितरण गरिएको छ । प्रजिअ अधिकारीका अनुसार त्यस अवधिमा दुई महिला र चार पुरुष गरी ६ जनाले नागरिकता परित्याग गरेका छन् ।

गत साउनमा एक हजार चार सय ७९, भदौमा एक हजार ३६ र असोजमा एक हजार ८६ जनालाई नागरिकता वितरण गरिएको उहाँले बताउनुभयो । सोही अवधिमा एक सय ४० नाबालक परिचयपत्र वितरण गरिएको छ । अधिकारीका अनुसार नयाँ दर्तातर्फ एक सय ३५ र प्रतिलिपितर्फ पाँच जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ ।

यस्तै कार्यालयले एक हजार छ सय ५३ राहदानी वितरण गरेको छ भने दुई हजार जनाको विवरण सङ्कलन गरेको छ । पाँच हजार तीन सय ८८ जनाको राष्ट्रिय परिचयका लागि विवरण सङ्कलन गरिएको छ भने १० हजार पाँच सय ३६ जनाको परिचयपत्र वितरणका लागि सम्बन्धित पालिकामा पठाइएको जनाइएको छ ।

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार , आलु रातो प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, आलु सेतो प्रतिकिलो ३१ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो २९ रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ७५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४५ रुपैयाँ, सलगम प्रतिकिलो ९० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ९० रुपैयाँ र स्कुस प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ५० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ३५ रुपैयाँ, रातो मूला प्रतिकिलो ४५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ९० रुपैयाँ, तने बोडी प्रतिकिलो १६० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ ।

ब्रोकाउली प्रतिकिलो १४० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १५० रुपैयाँ, जिरीको साग प्रतिकिलो २५० रुपैयाँ, सेलरी प्रतिकिलो ४५० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ३५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ, रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, मेथीको साग प्रतिकिलो १४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २७० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ९० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ र आभोकाडो प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ ।

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला¬) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

करिव १३ किलोमिटर दुरीको सडकमध्ये करिब दुई किलोमिटर बाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको सडक योजना कार्यालयले जनाएको छ । यातायात व्यवसायी रेशबहादुर विश्वकर्माले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्राअवधि स्तरोन्नतिपछि २० देखि २५ मिनेटमा छोटिएको बताउनुभयो ।

“पछिल्लो पाँच वर्षयता पोखरा–बेनी आवतजावत गर्न बेनीदेखि रत्नेचौर बागलुङहँुदै मालढुङ्गा जोड्ने घुमाउरो वैकल्पिक सडकको यात्रा गर्दै आएका थियौँ,” उहाँले भन्नुभयो “घुमाउरो सडकमा यात्रा गर्नुपर्ने समस्या हट्नुका साथै यात्राअवधि पनि छोटिएको छ ।”

जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि धुलो र हिलोमा जोखिम तथा कष्टपूर्णयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । “बाँकी रहेको ठाउँमा पनि सडक स्तरोन्नतिको कामले छिट्टै पूर्णता पाउने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो,“सडक स्तरोन्नतिले पूर्णता पाएपछि सार्वजनिक यातायात र ढुवानीको भाडादर पनि समायोजन हुनेछ् ।”

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक विसं २०६८ मा एकतर्फी कालोपत्र भएको थियो । मुस्ताङ र कोरला नाका सडक सञ्जालमा जोडिपछि यातायातका साधनको चाप बढ्दा साँघुरो यो सडक पछिल्लो समय जीर्ण बनेको थियो ।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका– ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने सडक दुई लेनको बनाएर कालोपत्र गर्न विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य थियो । सडक निर्माण कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए ।

यसअघि गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन किलोमिटर तीन सय मिटर कालोपत्र र दुई किलोमिटर दुई सय मिटर ढलान भएको थियो । लस्ती–बेनी खण्डको छ किलोमिटर पाँच सय मिटर सडक यही मङ्सिर पहिलो सातादेखि कालोपत्र गर्न थालिएको थियो । लस्ती, केराबारी, लामाखेत खण्डमा कालोपत्र सकिएको छ । स्थानीय प्रशासनसँग समन्वय गरेर मङ्सिर १ देखि २० गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सडक बन्द गरेर कालोपत्र गर्ने कामलाई सहज बनाइएको थियो । लस्ती–फर्से र मिलनचोक बजारभित्र करिब एक किलोमिटर दुई सय मिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका इञ्जीनीयर जीवन चौधरीले बताउनुभयो ।

वारीबेनीको सात सय ६० मिटर, केराबारी र फर्से पहिरोमा एक÷एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ । वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीहरुको अहसमति तथा फर्से र केराबारीमा पहिरोका कारण ठेक्काबाट हटाउनुपरेको बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागार्इंले बताउनुभयो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा तीन समिति गठन

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष परिषद् बैठकले निर्वाचन परिचालनसहित वार्ता संवादसहित विभिन्न तीन समिति गठन गरेको हो ।

अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवका अनुसार बैठकले जगप्रसाद शर्माको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । सो समितिको सदस्यमा कृष्णप्रसाद शर्मा, जेकेन्द्र श्रेष्ठ, जयराम वाग्ले र रुकसाना कपाली हुनुहुन्छ । निर्वाचन परिचालन तथा वार्ता समितिको संयोजकमा जनार्दन शर्मा र सदस्यमा सन्तोष परियार, ओजस्वी भट्टराई र मानुषी यमी भट्टराई हुनुहुन्छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीको आगामी केन्द्रीय समितिको बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा राम कार्कीलाई तोकिएको छ, यो समितिको सदस्यमा सन्तोष परियार, डा जनक शाह र मोनिका निरौलालाई तोकिएको छ ।”

आजको मौसम : विभिन्न स्थानहरुमा हल्का बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशभर आंशिक बदली भईरहेको छ ।

यस्तै, महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का बर्षा÷हिमपातको सम्भावना समेत रहेको महाशाखाकाले जनाएको छ ।

आज राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

काठमाडौँ, २२ मङ्सिर : गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ । यो प्रतियोगितामा १० किलोमिटर तथा पाँच किलोमिटर दौड समावेश गरिनेछ ।

नेपाली राजदूतावास, थाइल्याण्डमा सरोकारवाला सङ्घ संस्थाको सहभागितामा आइतबार एक छलफल कार्यक्रम आयोजना गरेको थियो । सो छलफलमा नेपाल एयरलाइन्स, गैर–आवासीय नेपाली घ–थाइल्यान्ड राष्ट्रिय समन्वय परिषद्, पिपुल अफ नेपाली ओरिजिन एशोसिएसन, थाई–नेपाल संघ, थाई–नेपाल फ्रेन्डसिप एसोसिएसन, संयुक्त राष्ट्र संघीय निकायमा कार्यरत नेपाली, र विभिन्न पेशा सञ्चालन गरिरहेका नेपाली उद्यमीसहित म्याराथन सञ्चालन गर्ने केही थाई नागरिककोसमेत सहभागिता थियो ।

कार्यक्रमका लागि थाईल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डमा स्थापित नेपालसँग सम्बन्धित सबै संघ–संस्थाका प्रतिनिधि समावेश हुनेगरी एक आयोजक समिति गठन गरिएको छ ।

कार्यक्रमले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी, नेपाली पर्यटन, नेपाली परिकार तथा नेपालको साँस्कृतिक र निर्यातयोग्य वस्तुहरूको प्रचारप्रसार गरी प्रभावकारी रुपमा नेपाल चिनाउने लक्ष्य राखिएको नेपाली दूतावासले जनाएको छ ।

एनआरएनए एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक, सदस्यता खुला गर्ने देखि निर्वाचन समिति गठनसम्म

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक बसेको छ ।आइतबार भर्चुअलरुपमा बसको बैठकमा संघका अध्यक्ष द्वय महेशकुमार श्रेष्ठ र डा. बद्री केसीले अध्यक्षता ग्रहण गरेका थिए भने महासचिव द्वय बाबुराम (बीआर) लामा र गौरीराज जोशीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता भएपछि बसेको पहिलो बैठकले १२ एनआरएनएको १२ औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन पनि गरेको छ । उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तोकिएको छ । निर्वाचन समितिमा उनीसहित ७ जना रहने छन् । यसैगरी बैठकले अमेरिकाका भरत अर्याल, बेलायतका सुरेन्द्र श्रेष्ठ र चिरञ्जीवी ढकाल, अष्ट्रेलियाका होमनाथ पाण्डे, मध्यपूर्वका नरेन्द्र भाट र टिबी कार्कीलाई निर्वाचन आयुक्त तोकिएको छ ।

यसैगरी आगामी महाधिवेशनलाई लक्षित गरेर डिसेम्बर ९ देखि १ महिनाका लागि सदस्यता खुला गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । त्यसका लागि कार्यविधि बनाएर स्टेरिङ कमिटीमा २ दिनभित्र पेस गर्ने जिम्मा महासचिव द्वय लामा र जोशीलाई दिइएको छ । एक, दुई वा सो भन्दा बढी एनसीसी भएका देशहरूमा सदस्यता प्रमाणीकरण गर्ने जिम्मा सम्बन्धित एनसीसीका अध्यक्ष र महासचिवलाई नै जिम्मेवारी दिने निर्णय पनि भएको छ ।

११ सदस्यीय स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ, डाक्टर बद्री केसी, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम, भवानी ओली र इन्द्रा बन रहेका छन् ।

एमाले महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बासको व्यवस्था गरिने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा भएपनि बासको प्रबन्ध गरेको जनाएको छ । कमिटीका सचिव आर सि लामिछानेले टाढाबाट आउने प्रतिनिधिलाई बस्न र खानाका समस्या भएमा नेता तथा कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

“यसपटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन । तर हामीले प्रतिनिधिलाई काठमाडाँैमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ,” उहाँले भन्नुभयो, “अहिले हामीले प्रदेशगत रूपमा काठमाडौँमा बस्न समस्या हुने प्रतिनिधिको विवरण सङ्कलन गरिरहेका छौँ ।”

महाधिवेशनमा करिव दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् । यसपटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्क पनि तीन हजार र दुई हजार मात्र तोकेको छ । महाधिवेशनका आयोजक प्रतिनिधिलाई तीन हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिलाई रु दुई हजार रुपियाँ शुल्क तोकेको हो । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ ।

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज (पर्सा), २२ मङ्सिरः वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर्ति गर्ने विश्वास लिइएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले तरकारी तथा फलफूलको थोक बजार यहाँकै बासिन्दका लागि तयार पारिएको बताउनुभयो ।

“यो बजार छपकैयावासीकै नाममा बनाइएको हो । सफा, सुरक्षित र व्यवस्थित राख्न यहाँका स्थानीयवासीको भूमिका महत्वपूर्ण छ । यो यहाँकै सम्पत्ति र धरोहर हो,’’ प्रमुख सिंहले भन्नुभयो,‘‘ डेढवर्ष अगावै सञ्चालन गर्न खोजेपनि विविध कारणले केही समय ढिलो भएको हो ।’’

प्रमुख सिंहले बिपी उद्यानमा रहेका व्यवसायीको कारण पनि छपकैयाँको बजार सञ्चालनमा आउन केही समय बढी लागेको बताउनुभयो ।‘‘अब बिपी उद्यानमा रहेको अव्यवस्थित बजारलाई हटाउने अभियान थालनी गरिनेछ,’’ उहाँले भन्नुभयो,‘‘बिपी उद्यानका व्यवसायीलाई यहाँ स्थानान्तरण गर्नका लागि पनि विकल्प दिएका छौंँ ।’’पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताउनुभयो ।

“अव्यवस्थित थोक बजारको अभावका कारण किसानलाई सडक छेउ वा अस्थायी ठाउँमा बिक्री गर्नुपर्ने बाध्यता थियो । अब किसानले सहज रूपमा उत्पादन ल्याउन, उपभोक्ताले व्यवस्थित रुपमा खरिद गर्न र सवारी सञ्चालन पनि सरल हुनेछ,’’ उहाँले भन्नुभयो ।महानगरका प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा रु ७० लाखको लागतमा निर्माण गरिएको १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन् ।

बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध छन् । आगामी दिनमा दोस्रोचरणमा पनि थप रु ७० लाख लगानी गर्दै युनिट सङ्ख्या र भौतिक संरचना विस्तार गर्ने योजना रहेको महानगरले जनायो । महानगरका अनुसार खुद्रा र थोक कारोबारलाई अलग–अलग संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुनेछ ।

मुस्ताङमा दुर्लभ हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ, २२ मङ्सिर : हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो ।

बायोकोर्स नेपाल र एक्याप मिलेर यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्चलेंकमा हिउँ चितुवाको सङ्ख्या एकीन गर्न, हिउँ चितुवाको आहारा प्रजातीको अवस्था र मानव र हिउँ चितुवा बीचको द्वन्द्वको अवस्था पहिल्याउन र जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थान र विद्यमान अवस्थाको जानकारी लिने उद्देश्यले हिउँ चितुवाको अध्ययन अनुसन्धान गर्न क्यामेरा ट्ययापिङ सुरु गरिएको बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गत हप्तादेखि यहाँको वारागुङ मुक्तिक्षेत्रको झोङ,पुडाक, छेङ्गुर,थोरङ्फेदी, फल्याक,धार्काजुङ र मुस्ताङ—डोल्पा सडकको उच्चलेंकमा १५ थान क्यामेरा जडान गरिएको बताउँनुभयो ।

आजदेखि यहाँको घरपझोङ गाउँपालिका अन्तर्गत स्याङ,मार्फा र चिमाङ गाउँको उच्चलेंकमा थप क्यामेरा हिउँ चितुवा ट्यापिङका लागि थप क्यामेरा जडान गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । यहाँका उच्चलेंकमा हिउँ चितुवाको विस्तृत अध्ययन अनुसन्धानका गर्न बायोकोसका प्रतिनिधि बायोलोजिस्ट गुरुङ र असिस्टेन प्रवीन लामा क्यामेरा जडानकार्यमा खटिएका छन् । यसैगरी एक्याप जोमसोमबाट प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली खटिनु भएको हो ।

बायोकोस र एक्यापका प्राविधिक टोलीले यहाँका उच्चलेंकमा हिउँ चितुवाको सम्भावित बासस्थान क्षेत्रमा पुगेर क्यामेरा जडान गरेका हुुुन ।यहाँका सम्भावित हिउँ चितुवा बासस्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्ययापिङ क्यामेरा दुई महिनासम्म लेंकमा राखिने छन् । हिउँद याममा हिउँ चितुवाको सङ्ख्या एकीन गर्न र हिउँ चितुवाको गतिविधि थाहा पाउँन क्यामेरा जडान गरिएको हो ।

कायोकोसका प्रतिनिधि बोलोलोजिस्ट गुरुङले दुई महिनापछि उच्चलेंकमा राखिएका क्यामेराको डाटा सर्वेक्षण गरिने जानकारी दिनुभयो ।“ दुई महिनापछि क्यामेरा झिकेर ल्याउँछाँै, सफ्वेयर अपडेट गरी हिउँ चितुवाको विस्तृत विवरण सङ्कलन हुन्छ, प्रतिनिधि गुरुङले भन्नुभयो,‘ क्यामेरामा कैंद भएका डाटा सबै एक्यापलाईनै हस्तान्तरण हुन्छ, हामीले हिउँ चितुवाको एकीन मात्रै गछौंँ ” बायोकोस नेपालले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको विभिन्न क्षेत्रमा हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्यापिङ लगायतका कार्य गर्दैआईरहेको प्रतिनिधि गुरुङको भनाइ छ ।

मुख्य रुपमा नाउन अध्ययनका लागि कार्य गरिने भए पनि बायोकार्सले त्यसको साथसाथैमा हिउँ चितुवाकोसमेत अध्ययन गर्ने गरेको जनाएको छ । सन् २०२२ देखि लगातार मनाङमा चार वर्षसम्म निरन्तर हिउँ चितुवाको अध्ययन गर्न क्यामेरा ट्ययापिङ गर्ने गरिएकोमा यसपालि मुस्ताङमा यसप्रकारको कार्यक्रम पहिलो भएको बायोलोजिस्ट गुरुङले जानकारी दिनुभयो ।

यसैगरी माथिल्लो मुस्ताङमा पनि एक हिउँ चितुवासम्बन्धी विद्यावारिधि विद्यार्थीले क्यामेरा ट्ययापिङमार्फत हिउँको अध्ययन सुरु गरेका एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । मुस्ताङमा पटक पटक हिउँ चितुवा अध्ययनका लागि क्यामेरा ट्ययापिङ लगायतका काम भए पनि हालसम्म कतिको सङ्ख्यामा हिउँ चितुवा छन् भन्ने तथ्य एकीन हुन सकिरहेको छैन ।

पछिल्लो समय मुस्ताङमा हिउँ चितुवा र मानव बीचको द्वन्द्व बढेको देखिन्छ । हिउँ चितुवा उच्चलेंक छाडेर सडक र बस्तीमा झर्ने र यहाँका पशुपालकको गोठमै पसेर पशुचौपाया लगायतलाई क्षति पु¥याउने घटना दोहोरिरहेका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण उच्चलेंकमा चरनक्षेत्रमा घाँस पलाउन छाडेको र पानीका स्रोत सुक्दै जान थालेपछि हिउँ चितुवाको आहारा नाउर खोला र बस्तीसम्म झर्ने गरेको पाइएको छ । हिउँ चितुवा नाउर लगायतका आहारा पछ््याउँदै खोला र बस्तीमा झर्दा मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेको हो ।

यहाँ हिउँ चितुवाको संरक्षण र मानव बीचको सहअस्तित्व निर्माण गर्नसमेत चुनौती बढदै गईरहेको छ । यसैगरी कम उचाइको क्षेत्रमा रहने चितुवा (कमन लियापार्ट) पनि तापक्रम वृद्धि हुँदै जाँदा माथिमाथि बासस्थान सार्ने लगायतका घटना पनि देखिन थालेका छन् ।