`

आज कुन तरकारी र फलफुलको मूल्य कति छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली) ४३ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २८ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४३ रुपैयाँ, आलु रातो प्रतिकिलो ६४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ , गाजर (तराई) प्रतिकिलो १०० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो १२० रुपैयाँ, रातो मूला प्रतिकेजी ५० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७५ रुपैयाँ, तने बोडी प्रतिकिलो १५० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ,मटरकोशा ३०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ११० रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो २२० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ८० रुपैयाँ, तीतो करेला प्रतिकिलो ८५ रुपैयाँ, लौका प्रतिकिलो ८० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, परबर (तराई) प्रतिकिलो १०० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ७५ रुपैयाँ, घिरौँला प्रतिकिलो ९५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो ८० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ९० रुपैयाँ कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो ६५ रुपैयाँ, स्कूस प्रतिकिलो १० रुपैयाँ, रायोसाग प्रतिकिलो १६० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी २२० रुपैयाँ, चमसुर प्रतिकेजी २४० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, मेथीको साग प्रतिकिलो २८० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १३० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३२० रुपैयाँ, कुरिलो प्रतिकिलो ४५० रुपैयाँ, निगुरो प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो २०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १२० रुपैयाँ , जिरीको साग प्रतिकिलो २५० रुपैयाँ, सेलरी प्रतिकिलो २४० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो २५० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २५० रुपैयाँ, केरा (दर्जन) १२० रुपैयाँ, कागती प्रतिकिलो १०० रुपैयाँ, अनार प्रतिकिलो ३२० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो २२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ९० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, निबुवा प्रतिकिलो ४० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ४५ रुपैयाँ, किबी प्रतिकिलो २३० रुपैयाँ निर्धारण गरिएको छ ।

लहान नगरपालिकाद्वारा विपन्न दलित परिवारलाई किरिया खर्च र राहत

सिरहा । सिरहाको लहान नगरपालिकाले विपन्न दलित र मुसहर समुदायका मृतक परिवारलाई किरिया खर्च र राहत सामग्री दिएर सहयोग गरेको छ। एक हप्ताको अन्तरमा बाबुआमा गुमाएका लहान-१५, लङ्ग्राहा मुसहरी टोलका शिवशङ्कर सदायलाई नगरपालिकाले आइतबार सहयोग गरेको हो।

७० वर्षीय बौधु सदाय र क्यान्सर पीडित उनकी श्रीमती कुमारीको निधनपछि दैनिक ज्यालादारी गर्ने शिवशङ्करलाई नगरपालिकाको सहयोगले ठूलो राहत मिलेको छ। नगर प्रमुख महेश चौधरीले स्वयं पीडितको घरमा पुगेर एक क्विन्टल चामल, दाल, नून, तेल लगायतका खाद्यान्न र किरिया खर्चका लागि जनही पाँच/पाँच हजार रुपैयाँ नगद दिएका थिए।

यस्तै, लहान-२४, मल्हन मुसहरी टोलमा पनि चार दिनअघि निधन भएका ७८ वर्षीय तेजीलाल सदायको परिवारलाई नगर प्रमुख चौधरीले राहत सामग्री र नगद सहयोग दिएका छन्।

नगर प्रमुख चौधरीले नगरपालिकाभित्रका दलित, विपन्न तथा मुसहर समुदायमा कसैको मृत्यु भएमा नियमित रूपमा राहत तथा सहयोग कार्यक्रम चलाइरहेको बताएका छन्। उनले ‘सामाजिक न्याय केवल योजनामा होइन, व्यवहारमा देखिनुपर्छ’ भन्दै हरेक दुःखद घडीमा साथ दिने प्रयास गरेको जनाए। नगरपालिकाले आगामी दिनमा यस्ता सहयोगलाई अझ संस्थागत र व्यवस्थित गर्ने बताएको छ।

जेनजी पुस्ताको रोजाइमा ‘मौरिस हर्जोग’ पदमार्ग

म्याग्दी । म्याग्दीको अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्ग युवा पुस्ता अर्थात् ‘जेनजी’ को पहिलो रोजाइ बनेको छ। दसैँ-तिहारको बिदामा पोखराकी दिवाना सुनुवार र बनेपाकी अनुषा लामा जस्ता धेरै युवा पर्यटक अन्नपूर्ण आधार शिविर घुम्न पुगेका छन्।

मौसममा सुधार आएसँगै दैनिक तीन सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन्, जसमा करिब ८० प्रतिशत जेनजी पुस्ताका छन्। सामाजिक सञ्जालमा भाइरल भएका फोटो र भिडियो देखेर लोभिएर आएका उनीहरू नयाँ ठाउँ घुम्न र प्रकृतिमा रमाउन चाहन्छन्।

छोटो दूरीमा हिमाल, ताल, झरना, फरक भूगोल र वन्यजन्तुको अवलोकन गर्न पाइने भएकाले अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्ग युवाहरूबिच लोकप्रिय बनेको हो। सन् १९५० मा अन्नपूर्ण हिमाल आरोहण गर्ने फ्रान्सका मौरिस हर्जोगको सम्मानमा नामकरण गरिएको यो पदमार्ग वि.सं. २०८० देखि सञ्चालनमा आएको हो।

पर्यटकको चाप बढेसँगै हुमखोला, साँघीखर्क लगायतका ठाउँमा स्थानीयवासीले अस्थायी टहरा र टेन्टमा होटल चलाएका छन्। तर, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्‍याप)ले स्थायी संरचना बनाउन नदिएको र विद्युत् तथा सञ्चार सुविधाको समस्या रहेको व्यवसायी बताउँछन्।

फोहर व्यवस्थापन र होटलको क्षमता विस्तार मुख्य चुनौती बनेको छ। गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पदमार्गको स्तरोन्नति र सुविधा थप गर्न प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गर्ने आश्वासन दिएका छन्। गाउँपालिकाले पनि एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणलाई निरन्तरता दिएको छ।

पौवादुङमाको अकबरे खुर्सानी खेती, देशभरका किसानका लागि अध्ययन केन्द्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशैभरका किसान र कृषि विज्ञका लागि सिकाइ तथा अध्ययन केन्द्र बनेको छ। यहाँका किसानले खुर्सानी खेतीबाट लिएको उल्लेखनीय आम्दानी र उन्नत प्रविधिले अन्य जिल्लाका किसानलाई आकर्षित गरेको छ।

गाउँपालिकामा करिब चार सय हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ भने करिब नौ सय किसान यसमा आबद्ध छन्। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार अध्ययन, अवलोकनका लागि देशका विभिन्न ठाउँबाट किसान र कृषि विज्ञहरू आउने गरेका छन्।

हालै सिन्धुलीको दूधौली नगरपालिकाका कार्यवाहक प्रमुख नन्दकिशोर थारुसहितको टोलीले यहाँको खेती प्रविधि, आम्दानी र चुनौतीबारे स्थलगत जानकारी लिएको थियो। थारुले यहाँको प्रविधिबारे सिकेर आफ्नो स्थानीय तहमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताए।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार गत वर्ष खुर्सानी बिक्रीबाट मात्रै १८ करोड रुपैयाँ आम्दानी भएको थियो। खुर्सानी खेती अहिले मुख्य आम्दानीको स्रोत र अध्ययन केन्द्रको रूपमा विकास भइरहेको उनको भनाइ छ।

गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई करिब ७० लाख रुपैयाँ बराबरका मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले बताइन्।

किसान ठंगजीत राईले ४२ रोपनी जग्गामा करिब ३२ हजार बिरुवा विस्तार गरी वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। पौवादुङमाको खुर्सानी खेतीले स्थानीय रोजगारी बढाउनुका साथै कृषि पर्यटनको सम्भावना पनि बढाएको किसानको भनाइ छ।

काठमाडौँ विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र सञ्चालन

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। यस केन्द्रले नेपालमा अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्वलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

विश्वविद्यालयले यस केन्द्रसँगै विद्यार्थीहरूको सुविधाका लागि ‘केयु-कनेक्ट’ नामक मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेका अनुसार, सूचना प्रविधि केन्द्रले जटिल अनुसन्धानका लागि ‘सुपरकम्प्युटिङ क्लस्टर’ सञ्चालन गर्ने, राष्ट्रिय एआई नीति कार्यान्वयन गर्ने, र भूकम्प, महामारीजस्ता आपतकालीन अवस्थामा सहयोग प्रणालीको विकास गर्नेछ।

नयाँ मोबाइल एप ‘केयु-कनेक्ट’ ले विद्यार्थीहरूलाई शैक्षिक, प्रशासनिक र क्याम्पससम्बन्धी जानकारीमा सहज पहुँच प्रदान गर्नेछ। यस एपमार्फत विद्यार्थी प्रोफाइल व्यवस्थापन, सूचना र सूचनापत्रमा तत्काल पहुँच, परीक्षा परिणाम, कोर्स सूची, शुल्क विवरण, भुक्तानी रेकर्ड, प्रमाणपत्र तथा प्रतिलिपि अनुरोध लगायतका सेवाहरू उपलब्ध गराइएको छ।

उपकुलपति वाग्लेका अनुसार, एपले विश्वविद्यालयसँग प्रत्यक्ष एकीकृत भएर कोठा आरक्षण, स्रोत व्यवस्थापन तथा कक्षा तालिकाजस्ता विषयमा समेत सहजता ल्याउनेछ।

तिहार पर्वले पारिवारिक, सामाजिक तथा मानवीय सम्बन्धहरूमा आत्मीयता र सुमधुरता थप्छ – कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तिहार तथा नेपाल संवत ११४६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमार्फत सभापति खड्काले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र पर्वहरूको संगम भएको मुलुक भएकाले यसभित्रको सहिष्णुता र आपसी सद्भावले राष्ट्रिय एकता मजबुत भएको उल्लेख गरेका छन् ।उनले तिहार पर्वले पारिवारिक, सामाजिक तथा मानवीय सम्बन्धहरूमा आत्मीयता र सुमधुरता थप्ने विश्वास व्यक्त गरे ।

नेपाल संवतको प्रसंग उल्लेख गर्दै खड्काले बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकालका रूपमा स्मरण गरे ।नेपाल संवत समाजसेवी शंखधर साख्वाद्वारा गरिब र पीडितहरूको ऋणमोचनबाट सुरु भएको सामाजिक जागरण भएको उल्लेख गर्दै उनले शंखधरको योगदानलाई ऐतिहासिक र प्रेरणादायी बताउँदै राष्ट्रिय विभूतिका रूपमा गरिएको सम्मानको स्मरण गरे ।

‘नेपाल संवत्ले हाम्रो मौलिकता र पहिचानको संरक्षण तथा प्रवद्र्धनका लागि निरन्तर प्रेरणा दिइरहेको छ,’ खड्काले भनेका छन् ।उनले अन्धकारमाथिको उज्यालोको विजयको प्रतीकको रूपमा मनाइने तिहार र आफ्नै पहिचान बोकेको नेपाल संवतको नयाँ वर्षले पारस्परिक एकता, सद्भाव र सामाजिक समृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूलाई पुनः शुभकामना दिएका छन् ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिका लागि पहिलो विशेष मौसम बुलेटिन जारी गरेको छ । महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर रहनेछ ।

कार्तिक ३ गते आज लक्ष्मीपूजाको दिन देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ । तर कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदलीसँगै एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

पुटिनलाई शान्तिका लागि दबाब दिन जेलेन्स्कीको राष्ट्रपति ट्रम्पसँग आग्रह

एएफपी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो छिमेकी राष्ट्र रुस र यसका नेता भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न थप दबाब दिन आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, “हमास र पुटिनमा केही समानता छन् तर हमासभन्दा उनी निकै बढी बलियो छन्। यो अझ ठूलो युद्ध हो र उनी विश्वको ‘दोस्रो शक्तिशाली’ सेना (नेता) हुन्।”

उनले थपे, “यसैले बढी दबाब आवश्यक पर्छ।” जेलेन्स्की वाशिंगटनको यात्राबाट फर्किएपछि अन्तर्वार्ता प्रसारित भएको थियो । जेलेन्स्किीले अमेरिकाबाट लामो दूरीको टोमाहक मिसाइल आपूर्ति गर्न असफल भएका छन् ।

पुटिनसँग ट्रम्पको बढ्दो निराशाको फाइदा उठाउने आशामा जेलेन्स्कीले हप्तौँसम्म टोमाहक्स उपलब्ध गराउन अमेरिकासँग आग्रह गरेपछि ह्वाइट हाउसमा ट्रम्पसँग भेटेका थिए्, तर अलास्कामा भएको शिखर सम्मेलनले यस विषयमा सफलता हासिल गर्न सकेको थिएन ।

यसैबीच, आफ्नो अन्तर्वार्तामा युक्रेनी नेताले बुडापेस्टमा ट्रम्प र पुटिनबीच हुने भनिएको वार्तामा आफूलाई पनि समावेश गर्नुपर्ने जेलेन्स्किीले बताएका छन्।

जेलेन्स्कीले भने, “यदि हामी वास्तवमै न्यायपूर्ण र दिगो शान्ति चाहन्छौँ भने हामीलाई यो त्रासदीका दुवै पक्ष चाहिन्छ । पुटिन बिस्तारवादी हुन् । युक्रेन पीडित छ र लडिरहेको छ। तर, निस्सन्देह: हामी बिना कसरी केही सम्झौताहरू हुन सक्छन्?”

जेलेन्स्कीको आइतबार प्रसारित एक अन्तर्वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले उनीयुक्रेनमा हतियार पठाउन तयार हुन् भन्ने फेरि संकेत गरे ।

“हामीले एउटा कुरा सम्झनु पर्छ। हामीलाई पनि उनीहरूको आवश्यकता छ। तपाईँलाई थाहा छ, हामी हाम्रा सबै हतियारहरू युक्रेनलाई दिन सक्दैनौँ,” ट्रम्पले फक्सको सन्डे मर्निङ फ्युचर्समा मारिया बार्टिरोमोसँग भने ।

मस्कोले हालैका हप्ताहरूमा युक्रेनी नागरिक पूर्वाधारमा आक्रमण बढाएको छ र हजारौँलाई अँध्यारोमा बस्न बाध्य पारेको छ । बढ्दो चिसो ऋतुसँगै भएको यो आक्रमणले युक्रेनी बालबालिका र बूढाबूढीलाई चीसाले स्वास्थ्यमा पर्न सक्ने चिन्ता बढाएको छ।

महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुभयो ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी विकेको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताउनुभएको थियो ।

विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमासमेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गर्नुभयो ।

विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनुभएको थियो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताकाबीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो ।

महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । उहाँले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।

आज विपिन जोशीको शव नेपाल ल्याइँदै

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदैछ ।इजरेली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा गरिएको छ ।काठमाडौंबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पु¥याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप

हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी ९खोप० खुवाइएको छ ।स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मुखबाट औषधीको रुपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म छ लाख ५२ हजार १२९ जना लक्षित समूहलाई खुवाउने लक्ष्य राखिएकामा ८४ प्रतिशत अर्थात पाँच लाख ४७ हजार ३११ जनालाई खुवाइएको छ ।

‘‘अझै १६ प्रतिशत लक्षित समूह हैजा विरुद्धको औषधी खानबाट छुटेका छन् । उनीहरुलाई पनि छठ पर्व लगत्तै फेरि खुवाउनेछौँ,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेसम्मको तथ्याङ्क हेर्दा हैजाविरुद्धको औषधी ख्वाउने ९खोप० अभियान प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको छ ।’’

स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरमा ८२ प्रतिशत, ठोरी गाउँपालिकामा ८६ प्रतिशत हैजा विरुद्धको औषधी खुवाइएको छ । त्यस्तै गरी जिराभवानी गाउँपालिकामा ७८ प्रतिशत, जगरनाथपुर गाउँपालिकामा ९४ प्रतिशत, पर्टेवासुगौली गाउँपालिकामा ८५ प्रतिशत लक्षित समूहले औषधी खाएका छन् । त्यसैगरी सखुवा प्रसौनीमा ८९ प्रतिशत, पर्सागढी नगरपालिकामा ८४ प्रतिशत, बहुदरमाई नगरपालिकामा ८० प्रतिशत, पोखरिया नगरपालिकामा ८३ प्रतिशत कालिकामाई गाउँपालिकामा ८१ प्रतिशत, धोविनी गाउँपालिकामा ८५ प्रतिशत लक्षित समूहले औषधी लिएका छन् । त्यसैगरी छिपरमाई गाउँपालिका ९३ प्रतिशत, पकहाँमैनपुर गाउँपालिकामा ८० प्रतिशत र विन्दवासिनी गाउँपालिकामा ९१ प्रतिशतले हैजा विरुद्धको औषधी लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हैजा विरुद्धको खोप अभियानमा सर्वसाधारणको सक्रिय सहभागिता रहेको बताउनुभयो । ‘‘हामीले खोप केन्द्रहरुको नियमित अनुगमन र निरीक्षण गर्दै आइरहेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘अहिले धान भित्र्याउने समय र चाडपर्वको समय भएकाले पनि खोप अभियानको समय थपेर भएपनि अघि बढाउन निर्देश गर्दछु ।’’

जनस्वास्थ्य अधिकृत ठाकुरले हैजा महामारी विरुद्धको खोप पर्सा जिल्लाका एक वर्ष उमेर माथिका सबैलाई खुवाउन अनुरोध गर्नुभयो । ‘‘मुखबाट खुवाइने खोप भएकाले सुरक्षित र भरपर्दो भएकाले ढुक्क भएर सेवन गर्न अनुरोध गर्दछौँ’,’ उहाँले भन्नुभयो ।

यो खोप अभियानमा एक वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ । यो खोपको औषधी एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो औषधी दिन सकिने जनाइएको छ ।

चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र

काठमाडौँ । चालु आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान भएको छ ।

किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउने लक्ष्य अनुसार सरकारले आवश्यक प्रबन्ध मिलाएको स्पष्ट पारेको छ । रासायनिक मल आयातका लागि सरकारले रु २८ अर्ब ८२ करोड १४ लाख बराबर बजेट विनियोजन गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार, गत असोज मसान्तसम्म एक लाख ९४ हजार ८५ मेट्रिकटन मल आपूर्तिको चरणमा छ । त्यसमा कृषि सामग्री कम्पनीको युरिया ३३ हजार ३३८ मेट्रिकटन, साल्ट ट्रेडिङ कर्पोरेसनको ५७ हजार ६७० मेट्रिकटन बराबर छ । कृषि सामग्री कम्पनीले युरिया, डिएपीसमेत गरी कूल एक लाख १५ हजार ४०५ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनले ७८ हजार ६८० मेट्रिक टन बराबरको मल आपूर्ति गरेको छ ।

मन्त्रालयका अनुसार, हाल एक लाख आठ हजार ९०८ मेट्रिक टन मल भने मौज्दात छ । त्यसमा कृषि सामग्री कम्पनीमा डिएपी, युरिया, पोटास समेत गरी कूल ६३ हजार आठ सय मेट्रिक टन र साल्ट्र ट्रेडिङ कर्पोरेसनमा ४५ हजार १०८ मेट्रिक टन बराबर रासायनिक मल मौज्दात छ ।

हिउँदे खेतीलाई पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । गत साउनदेखि असोज मसान्तसम्म एक लाख ३२ हजार ८०७ मेट्रिक टन मल बिक्री भएको मन्त्रालयले जनाएको छ ।

तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौँ । तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक बिदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो । भाइटिकाको दिन भने सो प्रणाली बन्द हुनेछ । उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागले जनाएको छ ।

केन्द्रीय बैङ्कले यसअघि नै भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैङ्किङ प्रणाली सञ्चालनमा ल्याउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । तिहारको भाइटिकाको दिन बाहेक अरू दिन अरू सबै दिन भन्सार जाँचपासका गर्न आवश्यक पर्ने बैङ्किङ सेवा सुचारु गर्ने व्यवस्था गर्नु गराउन क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ: उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’ को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले सोमबार (आज) आस्था र उल्लासको पर्व तिहार (शुभ दीपावली), २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको लागि शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरेका हुन् ।

उपराष्ट्रपति यादवले भनेका छन्, “शुभ दीपावलीले हाम्रो मन, वचन र कर्मप्रतिको पवित्र भावनाहरू आत्मसात् गर्न सहयोग पुगोस्, सम्पूर्ण नेपाली एकताबद्ध भई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई मजबुत बनाउनका लागि यसले उत्प्रेरित गर्न सकोस् ।” तिहार पर्वको उज्यालोले हाम्रा मनका सम्पूर्ण रिस, राग, वैमनस्यता र द्वेषलाई बिर्सिएर मेलमिलाप र खुसीयालीको वातावरण सिर्जना हुने उनको भनाइ छ ।

समग्रमा पाँच दिनसम्म मनाइने यो पर्वको माध्यमबाट हामीलाई सामूहिकता र एकताको भावनाले बाँधिएको एक सुदृढ समाज निर्माणको प्रेरणा प्राप्त हुने शुभकामना सन्देशमा उल्लेख छ

प्रधानमन्त्री कार्कीद्वारा तिहारको शुभकामना

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा आज जारी गर्नुुभएको शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उक्त शुभकामना व्यक्त गर्नुभएको हो ।

“कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो” शुभकामना सन्देशमा भनिएको छ,“तसर्थ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔंँ ।”

प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेको र यसका निम्ति राजनीतिक संवाद र सुरक्षास्थिति सुधारको काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

सन्देशमा भनिएको छ,“फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस् कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ ।”

यस वर्षको परिवर्तनको असिम आकाङ्क्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, “भदौको महान् जेनजी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ, यसबीचमा जेनजीले चाहेको सुशासन र विकासको आधारशीला तयार पनि भएको छ ।”

दीपावलीको उज्यालोसँगै आउने यी पर्व जीवनमा आशा, विश्वास र समृद्धिका प्रतीक भएको र अन्धकारमाथि उज्यालोको, निराशामाथि आशाको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा यी पर्वहरू मनाउने गरेको सन्देशमा छ ।

विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई युवा पक्राउ

गण्डकी : प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार पोखरा–२२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टीन एक्लै हिँडिरहेको अवस्थामा खुकुरी देखाइ हातपात गरी अभद्र व्यवहार गरेको सूचनाका आधारमा दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुुभयो ।

उहाँकाअनुसार सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई घटनामा संलग्न व्यक्तिहरूलाई एक थान खुकुरीसहित नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन विक र तनहूँ व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रवक्ता बस्नेतले बताउनुभयो ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १९ पैसा र बिक्रीदर १०० रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २९ पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९२ पैसा र बिक्रीदर २२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८ रुपैयाँ १६ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ १२ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ४० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल

काठमाडौं, ३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन् ।

तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज एक सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। “नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ”, राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भएको जनाएका छन् । तिहारका माध्यमबाट प्रकट हुने विभिन्न सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरित गर्न सकोस भन्ने उनले कामना गरेका छन् ।

तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ । यस पर्वमा काग, कुकुर, गाई, गोरु, पर्वत आदिको सम्मान गर्ने, पूजा गर्ने तथा लक्ष्मी पूजाको दिनमा भगवती लक्ष्मीको पूजा आराधना गरिन्छ । भाइटीकाका दिनमा दाजुभाइ तथा दिदीबहिनीबीच आपसमा टीका लगाई सद्भावका साथ पूजा अर्चना गरी हर्षोल्लासका साथ यो पर्व मनाइन्छ ।

भाइटीका लगाउने, म्हपूजा गरी आत्मशुद्धि गर्नेजस्ता चलनले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकार माथिको प्रकाशको विजयजस्ता सन्देशहरू प्रवाह गरेको देखिने राष्ट्रपतिले सन्देशमा स्पष्ट पारेका छन् ।

आज नरक चतुर्दशी, आजै कुकुर तिहार

काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउन्छन् ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।

वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
नरक चतुर्दशी
आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन् । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउन्छन् । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।

यमपञ्चकको तेस्रो दिन आज,धन धान्यकी देवी लक्ष्मीको पूजा आराधना हुँदै

काठमाडौं, ३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घर घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परा अनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख छ ।

भ्रष्टाचार रोक्न पाँचसय र एकहजारका नोट बन्द गर्न माग

काठमाडौँ, २ कात्तिकः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न तेस्रो विशेष बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरेको छ । आज यहाँ एक पत्रकार सम्मेलन गरी गत असोज २६ देखि ३० गतेसम्म बसेको तेस्रो विशेष बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा जारी विज्ञप्ति पार्टीका प्रवक्ता खडक विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक गर्नुभएको थियो । सो पार्टीले रु ५०० र एक हजार दरका नोट खारेज गर्न माग गरिएको छ । समिति बैठकका निर्णयहरुमा भ्रष्टाचार रोक्न ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने सो पार्टीले माग गरेको हो ।

त्यस्तै कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने नेकपाले निर्णय गरेको छ । विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष बर्खेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव विप्लवले जेनजी युवाहरुको विद्रोहपछि नयाँ कम्युनिष्ट केन्द्र बनाउने गरी नेकपा माओवादी केन्द्रलगायत घटकहरूसँग छलफल चलिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब पहिलेको जसरी कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन । नयाँ बहस आवश्यक भएकाले अब माओवादीसँग पनि यही ढङ्गले छलफल भइरहेको छ ।”

यसैगरी बैठकले जेनजी विद्रोह सफल भए पनि जेनजीहरु आफ्नो ‘एजेन्डा’अनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको छभने जेनजी विद्रोहपछि कम्युनिष्टहरुबीचको एकता र नयाँ कम्युनिष्ट केन्द्र निर्माणको आवश्यकता झनै जरुरी रहेको निष्कर्ष निकालेको छ । यसअनुसार नेकपाले समाजवादी मोर्चामा आबद्ध पार्टी, माओवादी घटक, सबै कम्युनिस्ट पार्टीसँग छलफल बढाउने र आफ्नो ठाउँमा जुनसुकै योगदान गर्न तयार रहने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

काभ्रेमा तिहारभर मालवाहक सवारी साधन र टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक २ कात्तिकः जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको आजको निर्णयअनुसार जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको जनाइएको छ ।

समितिका अनुसार तिहार पर्वअन्तर्गत यही कात्तिक ३ गते बिहान ५ देखि ७ गते बिहान ७ बजेसम्म जिल्लाभर मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको हो । तिहारमा अन्य साधनका यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो । उहाँका अनुसार यस अवधिभर टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने छ । अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने यो नियम लागू नहुने जनाइएको छ ।

काभ्रेपलाञ्चोकस्थित तीन राजमार्ग अरनिको, बिपी र हेलम्बु तथा पनौती–बनेपा सडकखण्डबाट दैनिक करिब दुई हजार ५०० टिपर सङ्घीय राजधानी काठमाडाँैलगायतका स्थान आवतजावत गर्छन् । स्थानीय प्रशासनले दुई वर्षदेखि सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमनका लागि राति मात्रै सञ्चालन गर्न अनुमति दिँदै आएको थियो ।

यसैगरी समितिले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले गर्न गराउन अनुरोध गर्दै राति ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

साथै चाडपर्वको यस अवसरमा शान्तिसुरक्षामा असर पर्नेगरी सार्वजनिक स्थानमा हो–हल्ला एवं झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी पारिवारिक, सामाजिक तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल गर्ने, कानुनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने–खेलाउने भुइँचम्पा, पटका, आतसबाजीजस्ता विपद् निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवं प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार तथा बिक्रीबितरण गर्ने कार्य नगर्न÷नगराउनसमेत समितिले अनुरोध गरेको छ ।

मुख्यमन्त्री बानियाँद्वारा तलब भत्ता वापतको रकम विपन्नलाई

बागमती, २ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले आफू गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “हामीले राजनीति मानवता र मानवको सेवाका लागि गर्ने हो,” उहाँले भन्नुभयो, “नेता बिपी कोइरालाले भन्नुहुन्थ्यो, गरिबलाई न्याय र आयको सिद्धान्तलाई अङ्गीकार गरेर अघि बढिरहेका छौँ ।” बिपीको त्यही भनाइअनुसार आफू सधैँ गरिब, विपन्न समुदायको हितमा काम गर्दै आएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले आफ्नो व्यक्तिगत लगानी र तलब भत्ता सुविधाबाट मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा थप दुईवटा घर निर्माण भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले पदभार ग्रहण गर्ने क्रममा आफ्नो तलब भत्ता सुविधाबाट मनहरी गाउँपालिकाका एक जना विपन्नलाई घर बनाई दिने घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार रु चार लाख ६५ हजारमा तीनवटा कोठा, शौचालय, बत्ती र पानीसहितको सुविधासम्पन्न घर निर्माण गरी आज एकल महिला मिठुमाया सुनारको हस्तान्तरण गरिएको हो ।

सो अवसरमा मुख्यमन्त्री बानियाँले बाख्रापालन गरी जीविकोपार्जन गर्दै आउनुभएका सुनारलाई रु २० हजार नगद आर्थिक सहयोगसमेत प्रदान गर्नुभयो ।

जनकपुरधाममा धुमधामका साथ हनुमान जयन्ती मनाइँदै

जनकपुर । जनकपुरधाममा धुमधामका साथ श्री हनुमान जयन्ती मनाइँदै छ । हनुमान जयन्तीको अवसरमा आज जनकपुरधाममा शोभायात्रा निकालिएको छ । मिथिलाञ्चल सांस्कृतिक कलापरिषद्ले जनकपुरधामस्थित रेल्वे स्टेशनबाट शोभायात्रा निकालेको छ ।

आजैको दिनमा हनुमानको जन्म भएको मान्यता रहेको छ । लक्ष्मी पुजाको १ दिन पहिला हनुमान जयन्ती मनाउने परम्परा अनुसार १५ वर्षदेखि जनकपुरधाममा भब्यताका साथ आफूहरुले जयन्ती मनाईरहेको परिषद्का अध्यक्ष शभ्मु साहले बताए ।

हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिलाञ्चल र जनकपुरधामवासीहरूलाई उनले आग्रह गरे । स्टशन चोकबाट निकालिएको शोभायात्रा जनकपुरधामको जानकी मन्दिरमा पुग्दा मन्दिरका पुजारीले भब्य स्वागत गरेका थिए ।

हनुमान, शिव र गरुडको कलात्मक प्रतिरुप सहित बैण्डबाजा र झाँकी सहित निकालिएको सोभायात्रामा महिला, युवा, साधुसन्तहरुको सहभागिता रहेको थियो । शोभायात्राको समुदघाटन मधेश प्रदेशका सांसद जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले गरेका थिए ।

कैलाली भन्सार कार्यालयबाट तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली), २ कात्तिकः कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक अर्ब ७९ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि असोजसम्ममा सो परिमाणमा राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार भन्सार महसुलतर्फ रु ६९ करोड ६७ लाख, मूल्य अभिवृद्धि करतर्फ रु ६८ करोड ९८ लाख, अन्तःशुल्कतर्फ रु पाँच करोड तीन लाख र अन्यतर्फ रु ३५ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा भने पुग्न सकेको छैन ।

साउनमा रु ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ५३ करोड ७० लाख र असोजमा रु ७६ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

तीन महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको १८ दशमलव ४६ प्रतिशत हो । आर्थिक वर्ष २०८१÷८२ मा पनि राजस्व लक्ष्यअनुसार सङ्कलन भएको थिएन । गत आर्थिक वर्षमा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै हो ।

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौँ, २ कात्तिकः प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती आज पूजाआराधनासहित देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धनवन्तरी जयन्ती मनाइएको हो । आयुर्वेदका चिकित्सक एवं यस क्षेत्रमा लागेकाले आज बिहानै भगवान् धनवन्तरीको विधिपूर्वक पूजाआराधना गरेका थिए । धनवन्तरीलाई भगवान् विष्णुको अवतारका रुपमा समेत मानिन्छ ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धनवन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धनवन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो ।

आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । आयुर्वेद चार वेदमध्येको अथर्ववेदको उपवेद हो ।

धनवन्तरी जयन्तीका अवसरमा आज चन्द्रागिरि नगरपालिका वडा नं ८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा कार्यक्रम आयोजना गरियो । नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, चन्द्रागिरि –८ का वडाध्यक्ष प्रल्हाद रिजाल, प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर ,अस्पतालका प्रमुख डा नारायण अचार्य, आयुर्वेद क्याम्पस कीर्तिपुरका प्रमुख प्राडा शिव मंगल प्रसाद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आयुर्वेद विज्ञ पुष्पराज पौडेल , कलाकार निखिल उप्रेती, आयुर्वेद विज्ञ निर्मल विज्ञ लगायतले आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक धनवन्तरीको विविध आयममाथि प्रकाश पार्नुभएको थियो ।

देशकै सर्वाेत्कृठ सो चिकित्सालयले गत वैशाख २५ गते पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तीय बनाउन पहिलो पटक शल्यक्रिया सेवा सुरुआत गरेको थियो ।

यसैबीच आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड., जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरुमा समेत विविध कार्यक्रम गरी मनाइएको छ ।

पछिल्लो समय आयुर्वेदिक औषधिको बिक्री चार गुणासम्म बढिरहेको सिंहदरबार वैद्यखाना विकास समितिले जनाएको छ । गत वर्षसम्म ठप्प प्रायः रहेको वैद्यखानाको उत्पादन अहिले बढ्न थालेको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।

चीनद्वारा पाकिस्तानको ‘रिमोट सेन्सिङ्ग उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

चीनले आइतबार तीनवटा रिमोट सेन्सिङ्ग उपग्रहसहित ‘लिजियान–१ वाई८’ नामक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।‘लिजियान–१ वाई८’ चीनद्वारा विकास गरिएको एक व्यावसायिक प्रक्षेपण रकेट हो, जसको प्रयोग उपग्रहहरूलाई पृथ्वीको कक्षमा पठाउन गरिन्छ ।

यो रकेट चीनको उत्तरपश्चिम क्षेत्रमा रहेको एक व्यावसायिक अन्तरिक्ष प्रक्षेपण क्षेत्रबाट बिहान ११ः३३ बजे (बेइजिङ समय अनुसार) प्रक्षेपण गरिएको थियो । रकेटले तीनै उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षमा पु¥याएको छ ।

‘रिमोट सेन्सिङ्ग उपग्रह’ त्यस्तो उपग्रह हो, जुन पृथ्वीको सतहको बारेमा जानकारी सङ्कलन गर्नका लागि पृथ्वीबाट टाढा अन्तरिक्षबाट काम गर्छ । यसले विभिन्न प्रकारका क्यामेरा र सेन्सरको प्रयोग गरेर भू–भाग, मौसम, जङ्गल, समुद्र र अन्य गतिविधिहरूको निगरानी गर्छ ।

प्रक्षेपण गरिएका तीन उपग्रहहरूमा पाकिस्तानको रिमोट सेन्सिङ उपग्रह (पआिरएसएस–२) तथा एआईआर–०३ र एआईआर–०४ उपग्रहहरू रहेका छन् ।

मस्तिष्कको अध्ययनबाट ध्यान र श्रवणका भविष्यसूचक संयन्त्र उजागर

जब मानिसले कुनै कार्यमा ध्यान केन्द्रित गर्छ, त्यसबेला मस्तिष्कले केवल फरक ढङ्गले नसुनी स्मार्ट रूपमा पनि सुन्छ भन्ने तथ्य हालैको अध्ययनले पुष्टि गरेको छ ।

जेरुसेलमस्थित हिब्रू विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको नयाँ अनुसन्धानले मस्तिष्कको प्रमुख ध्वनि–प्रशोधन केन्द्र श्रवण कर्टेक्स सक्रिय संलग्नताका बेला कसरी कार्य गर्छ भन्ने नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ । यसले केवल आवाजको प्रतिक्रियामा मात्र नभई, कार्यको लयसँगै आफ्नै गतिविधिलाई सिङ्क्रोनाइज गर्ने गर्छ ।

साइन्स एडभान्सेस पत्रिकामा प्रकाशित यो अध्ययनको नेतृत्व एडमन्ड एन्ड लिली साफ्रा सेन्टर फर ब्रेन साइन्सेज र इन्स्टिच्युट अफ लाइफ साइन्सेजका प्राध्यापक इजरायल नेल्केनले गर्नुभएको हो । उहाँको नेतृत्वमा गरिएको यो अनुसन्धानले श्रवण सहायता, ध्यान प्रशिक्षण तथा मस्तिष्क–कम्प्युटर इन्टरफेस सुधार गर्न सघाउने सम्भावना देखाएको छ । यसले मस्तिष्कले कसरी ध्वनिलाई फिल्टर गर्छ र प्राथमिकता दिन्छ भन्ने संयन्त्रलाई स्पष्ट पारेको छ ।

वैज्ञानिकहरूको भनाइमा यस संयन्त्रको नक्कल गरेर विकास गरिने उपकरण र थेरापीहरूले व्यक्तिले केन्द्रित हुँदा वास्तविक समयमा पृष्ठभूमि आवाजलाई दबाउन र महत्त्वपूर्ण ध्वनिको स्पष्टता बढाउन सहयोग गर्न सक्छन् ।

शोधकर्ताहरूले जब व्यक्ति कुनै कार्यमा संलग्न हुन्छ, त्यसबेला श्रवण कर्टेक्सका न्युरोनहरू केवल बाह्य आवाजका कारण सक्रिय हुँदैनन्, प्रत्येक न्युरोन फरक क्षणमा ‘टिक’ गर्छ र केवल सुनेको कुरा प्रतिध्वनित गर्ने नभई, बरु कार्यको गतिलाई पहिचान गर्ने सङ्केत दिन्छ भन्ने पत्ता लगाएका छन् ।

प्राध्यापक नेल्केनले भन्नुभयो, “हाम्रो अध्ययनले देखाउँछ कि मस्तिष्क केवल आवाजमा प्रतिक्रिया दिँदैन, यो हामी के गर्दैछौँ भन्ने आधारमा ती आवाजहरूको अर्थलाई पुनः संरचना गर्छ । जब हामी कुनै कार्यमा केन्द्रित हुन्छौँ, श्रवण कर्टेक्सले त्यस कार्यसँग सम्बन्धित आवाजहरू अझ प्रभावकारी रूपमा सुन्छ ।”

पहिले वैज्ञानिकहरूले ध्यानले ध्वनि ग्रहणमा प्रभाव पार्छ भन्ने त जानेका थिए, तर मस्तिष्कले त्यसलाई कसरी प्रशोधन गर्छ भन्नेबारे स्पष्ट थिएनन् । नयाँ अध्ययनले ध्यानले महत्त्वपूर्ण आवाजहरू बढाएर होइन, कार्यको संरचनासँग मेल खाने गरी न्युरोनहरूको समय–गत गतिविधि पुनर्गठन गरेर कार्य गर्छ र यसको अर्थ, श्रवण कर्टेक्सले मात्र प्रतिक्रियाहरू बढाउँदैन, बरु भविष्यवाणी पनि गर्छ र अपेक्षित आवाजहरूको लागि तयारी गर्छ भन्ने देखाएको छ ।

कम्प्युटर मोडेलिङद्वारा गरिएको विश्लेषणले यो समय–आधारित गतिविधिले केही न्युरोन जडानहरूलाई अस्थायी रूपमा कमजोर पार्छ, जसले कार्यका लागि आवश्यक ध्वनिलाई अझ स्पष्ट र सटीक रूपमा बुझ्न सहयोग पु¥याउँछ भन्ने देखाएको छ । ध्यानले भोल्युम बढाउने यन्त्रझैँ काम गर्दैन, बरु यो एक अनुकूलन फिल्टरझैँ व्यवहार गर्छ—न्युरोनहरूबीच सञ्चारको ढाँचा पुनः आकार दिन्छ ।

यस संयन्त्रको उजागरले मस्तिष्कले जटिल संवेदनात्मक संसारको अर्थ कसरी बनाउँछ भन्नेबारे नयाँ दृष्टिकोण प्रदान गरेको छ । अध्ययनले हाम्रो ध्वनि–ग्रहण प्रणाली निष्क्रिय होइन, बरु भविष्यवाणीमुखी छ—यो निरन्तर आगामी आवाजहरूको तयारीमा रहन्छ भन्ने देखाएको छ ।

प्राध्यापक नेल्केनले भन्नुभयो, “यो अनुसन्धानले हामी कसरी कोलाहलपूर्ण वातावरणमा पनि ध्यान केन्द्रित रहन सक्छौँ भन्ने व्याख्या गर्छ । मस्तिष्कले अर्थपूर्ण ध्वनिलाई जोड दिन सिक्छ र अप्रासङ्गिक आवाजलाई बेवास्ता गर्छ ।”

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा इजरायली सेनाले यस क्षेत्रको दक्षिणमा हवाई आक्रमण गरेको इजरायली सेनाले बताएको छ ।

यद्यपि हमासले युद्धविरामको पालना गरेको दाबी गरेको छ । हमासका अधिकारीले इजरायलले आक्रमण पुनः सुरु गर्न ‘बहाना’ बनाएको आरोप लगाएका छन्।

हमास र इजरायलबीच आक्रमणको आरोप प्रत्यारोप लगाइरहँदा गाजा युद्ध रोक्न नौ दिन पहिले गरिएको युद्धविरामलाई दुबै पक्षले यदाकदा उल्लङ्घन गरेका देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सुरक्षा फौजलाई गाजा पट्टीमा रहेका आतङ्कवादी लक्ष्यविरुद्ध कडा कारबाही गर्न निर्देशन दिनुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा अक्टोबर १० देखि लागू भएको प्यालेस्टाइन क्षेत्रमा भएको युद्धविरामले इजरायल र हमासबीच दुई वर्षभन्दा बढी समयदेखि जारी विनाशकारी युद्ध रोकेको छ।

सम्झौताले बन्धक र कैदी आदानप्रदान गर्ने सहमति अनुप नै दुबै पक्षबाट बन्धी आदानप्रदान गरेका छन् ।

इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान आतङ्कवादीहरूले एन्टी ट्याङ्क मिसाइलहरू प्रहार गरेका र सम्झौताका सर्तहरू अनुसार राफा क्षेत्रमा आतङ्कवादी पूर्वाधारहरू नष्ट गर्न सक्रिय आइडिएफ सेनामाथि गोली चलाएका छन्।”

“आइडिएफले राफा क्षेत्रलाई लक्षित गर्दै लडाकू विमान र तोपखानाको प्रयोग गरी जवाफ दिएको छ,” विज्ञप्तिमा भनिएको छ।

यसअघि इजरायली सेनाका एक अधिकारीले हमासका लडाकुहरूले इजरायलको नियन्त्रणमा रहेको इलाकामा रहेका सेनामाथि ‘धेरै आक्रमण’ गरेको बताएका थिए।

प्यालेस्टिनी प्रत्यक्षदर्शीका अनुसार इजरायलको नियन्त्रणमा रहेको दक्षिणी शहर राफामा झडप भएको थियो ।

नाम उल्लेख नगर्ने सर्तमा एक ३८ वर्षीय प्रत्यक्षदर्शीले भने, “हमास र अबु शबाब भनेर चिनिने स्थानीय प्यालेस्टिनी समूहबीच लडाइ भइरहेको समय ‘इजरायली सेनाको ट्याङ्क’को उपस्थितिबाट हमासअ लडाकू छक्क परेका थिए।”

उनले भने, “इजरायली वायुसेनाले दुई पटक हवाई आक्रमण गरेको थियो ।”

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सरकारका मन्त्रीहरूसँग बैठक गरेपछि झडप सुरु होे। केही मन्त्रीहरूले इजरायली सेनालाई प्यालेस्टाइनी लडाकू समूहविरुद्ध युद्ध पुनः सुरु गर्न आह्वान गरेपछि आक्रमण सुरु भएको हो ।

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ, २ कात्तिकः मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार तिहारका लागि मुस्ताङ र डोल्पाबाट झण्डै एक हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ ।

यसअघि दसँैमा मुस्ताङसहित डोल्पा, मुगु, जुम्लालगायत स्थानबाट १६ हजार भेडाच्याङ्ग्रा बेनी–जोमसोम सडकमार्ग हुँदै बिक्रीका लागि अन्यत्र लगिएको पशु चिकित्सक लालमणि अर्यालले जानकारी दिनुभयो । दसैँ तथा तिहारमा भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको उहाँले बताउनुभयो ।

घरपझोङ–४ जोमसोमका व्यापारी पेम्बाछिरिङ रोकायाले ८० च्याङ्ग्रा तिहारका लागि बजारमा पु¥याउनुभएको छ । उहाँले दसैँमा ३०० च्याङ्ग्रा बिक्रीका लागि पोखरा पु¥याउनुभएको थियो । मुस्ताङबाट खेदाएर बेँसी झार्दै गरेका व्यापारी रोकायले म्याग्दीको तातोपानीबाट ट्रकमा ढुवानी गरी पोखरा पु¥याउनुभएको हो । दसैँमा प्रतिच्याङ्ग्रामा रु पाँच हजारसम्म घाटा भएको उहाँले बताउनुभयो ।

तिहारका लागि खरिद गरिएको च्याङ्ग्रा खोरमा नै रु ३० हजार परेको र थोरै च्याङ्ग्रा भएकाले सहजै बिक्री हुन्छ भन्ने लागेको व्यापारी रोकायाले बताउनुभयो । मुस्ताङबाट पोखरा पु¥याउँदा प्रतिच्याङ्ग्राको ढुवानी खर्च रु एक हजार ५०० लाग्ने उहाँको भनाइ छ । विगत १२ वर्षदेखि निरन्तर च्याङ्ग्राको व्यापार गर्दै आउनुभएका रोकायाले च्याङ्ग्राको व्यापारमा जोखिम हुने गरेको बताउनुभयो ।

मुस्ताङका पाँच स्थानीय तहमा ५७ हजार बढी भेडाच्याङ्ग्रा पालन गरिएको छ । जसमध्ये २५ प्रतिशत मात्रै भेडाच्याङ्ग्रा बिक्री भएको छ । हिमाली जिल्लामा पालन गरिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले उपभोक्ताले बढी रुचाउने गर्छन् ।

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौँ, २ कात्तिकः महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

महाकवि देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आज मैतीदेवीस्थित सङ्ग्रहालयमा आयोजना गरेको व्यक्तित्व चर्चा तथा कविता वाचन कार्यक्रममा कुलपति भूपाल राईले मन्त्रालयले सञ्चालन गरेमा यसको गरिमा बढ्ने बताउनुभएको हो । २०७९ सालमा लक्ष्मी जयन्तीकै अवसर पारेर सङ्ग्रहालय शुभारम्भ गरिए पनि अझै धेरैले यसका बारेमा जानकारी नपाएको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “यो अझै सङ्ग्रहालय भइसकेको छैन, सङ्ग्रहालय हुन जस्तो छ, त्यस्तै बनाइनुपर्ने थियो, तर त्यस्तो बनाइएन, म यो घरमा २०३८, २०३९ सालतिर आएको थिएँ, त्यसबेला भएजस्तो घर यो रहेन, डिल्लीरमण रेग्मी पुस्तकालय शिक्षा मन्त्रालयले नै चलाएजस्तै यो पनि संस्कृति मन्त्रालयले चलाउनुपर्छ ।”

नेपालमा सङ्ग्रहालय बुझ्ने सांस्कृतिक चेतना नहुँदा पनि अप्ठ्यारो भएको उहाँले सुनाउनुभयो । सङ्ग्रहालय बुझ्नेगरी सांस्कृतिक चेतना फैल्याउनुपर्ने कुलपति राईको भनाइ छ । लक्ष्मी जयन्तीमा पहिलोपटक राजवंशी भाषाको पनि कविता वाचन गरेर बहुभाषिक कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ ।

महाकवि देवकोटाका सुपुत्र प्रा डा पद्मप्रसाद देवकोटाले लक्ष्मीप्रसाद देवकोटाले कवितामा प्रयोग गर्ने मिथकमा आफूले आध्यात्मिकता पाएको बताउनुभयो । महाकवि देवकोटामा कल्पना, भाषाको प्रयोग र दूरदर्शिताको क्षमता आफूले पाएको पनि उहाँले स्मरण गर्नुभयो ।

महाकवि देवकोटाका बारेमा अवधारणापत्र प्रस्तुत गर्नुहुँदै डा बालकृष्ण अधिकारीले निधन भएपछि पनि धेरैले मनदेखि श्रद्धा गरेका व्यक्तित्वका रुपमा आफूले लक्ष्मीप्रसादलाई पाएको बताउनुभयो । महाकवि देवकोटाका बारेमा दर्जन बढी व्यक्तिले विद्यावारिधि शोध तयार पारेको उहाँले सुनाउनुभयो । लक्ष्मीप्रसाद देवकोटाले नै नेपालमा पहिलो मौलिक महाकाव्य शाकुन्तलको रचना गर्नुभएको थियो । अवधारणापत्रमाथि टिप्पणी गर्नुुहुँदै समालोचक सुधा मैनालीले महाकवि देवकोटा विश्व साहित्यमा नै योगदान गरेका व्यक्तित्वका रुपमा दर्ज हुनुभएको बताउनुभयो ।

सो अवसरमा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं काव्य विभाग प्रमुख बाबा बस्नेतले साहित्य संस्कृतिको अभिव्यक्तिका रुपमा रहेको बताउनुभयो । कार्यक्रममा कवि एवं कवयित्रीहरु प्रभा भट्टराई, मनोज न्यौपाने, समिरन चालिसे, सानु गुल्मेली, शोभा दुलाल, मिसन अधिकारी, मिथोच, उषा शेरचन, अञ्जु राजवंशी, सन्तोष श्रेष्ठलगायतले कविता, गजल, गीतलगायत रचना वाचन गर्नुभएको थियो ।

पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्छः पूर्वउपसभापति श्रेष्ठ

पाटन (ललितपुर), २ कातिकः नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा पार्टीगत हीत तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने बताउनुभएको छ ।

ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै पूर्वउपसभापति श्रेष्ठले दलभन्दा माथि उठेर राष्ट्रिय एकताका लागि नेपाली कांग्रेसको नेतृत्वले समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक दल लोकतन्त्रका वाहक भएको उल्लेख गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको विकल्प नभएको बताउनुभयो ।

कांग्रेसमा शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरे पनि अरूले त्यस्तो अग्रसरता देखाउन नसकेको पूर्वउपसभापति श्रेष्ठको भनाइ थियो । विगतका आठ राजनीतिक दल मात्रै हैन, अब नयाँ राजनीतिक दललाई पनि संवादमा समावेश गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । “अग्रजहरुलाई निषेध गरेर पनि राजनीति अगाडि बढ्न सक्दैन, सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।

पूर्वउपसभापति श्रेष्ठले पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न सक्दो सहयोग गर्ने बताउनुभयो । “विगतको असन्तुष्टिको जिम्मेवारी दलहरूले लिनुपर्छ, मुलुक र राष्ट्रियतालाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले वर्तमान समस्याको समाधान राजनीतिक दलहरूभित्रबाटै समाधान गर्नुपर्छ भन्दै निषेधको राजनीति त्यागेर सहकार्य, सहअस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्छ भन्नुभयो ।

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

खाँदबारी (सङ्खुवासभा), २ कात्तिकः जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद भोगिरहेका सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा विश्वकर्मा नक्खु कारागारबाट फरार भएका थिए । फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्र नजिकबाट पक्राउ गरिएको हो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । फरार कैदीलाई पक्राउ गरी कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । कारागार प्रशासनसँग समन्वय गरी विश्वकर्मालाई पुनः नक्खु कारागार पठाइने उहााले जानकारी दिनुभयो ।

गृह मन्त्रालयद्वारा शान्तिसुरक्षा कायम गर्न निर्देशन

काठमाडौँ, २ कात्तिकः गृह मन्त्रालयले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, आपूर्ति व्यवस्थापन, अनुगमन निरीक्षण र कार्यक्रममा सहभागिता एवम् व्यवस्थापनलगायत विषयमा देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज जिल्लामा शान्तिसुरक्षा तथा अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नुपर्नेलगायत व्यक्तिगत आचरणसमेतका विषयमा सजगता साथ सक्रिय एवम् प्रभावकारी भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा र विश्वास जागृत एवम् अभिवृद्धि गर्ने तथा नतिजा देखिने गरी प्रचलित कानुनले प्रदान गरेका जिम्मेवारी निर्वाह गर्ने क्रममा देहायबमोजिम गर्न र गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार मन्त्रालयले शान्तिसुरक्षाअन्तर्गत जेनजीको प्रदर्शनपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै जिल्लाभित्र शान्तिसुरक्षामा तत्काल र दीर्घकालमा असर पार्ने सुरक्षा चुनौतीहरू सतहमा आउनुपूर्व नै पहिचान एवम् विश्लेषण गर्दै त्यसका लागि सूचना सङ्कलन, विश्लेषण र उपयोगलाई समन्वयात्मक रूपमा प्रभावकारी बनाउनसमेत निर्देशन दिएको छ ।

त्यसैगरी मन्त्रालयले पछिल्लो परिवर्तनपश्चात् नयाँ सरकार गठन भई आम निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुनेगरी शान्तिपूर्ण ढङ्गबाट अन्य पक्षलाई उत्तेजित नपार्ने एवम् उक्साहट नहुनेगरी पूर्वस्वीकृति लिएर मात्र सभा सम्मेलन गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ ।

जेनजी पुस्ताको प्रदर्शनका क्रममा मुलुकका विभिन्न भागमा सुरक्षा निकायका साथबाट हराएका वा लुटिएका हातहतियार र खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायले कार्ययोजना बनाई संयुक्त रूपमा प्रभावकारी सेक्युरिटी अपरेशसन सञ्चालन गर्ने, अवैध हातहतियारको नियन्त्रण गर्न आवश्यक कार्य गनुपर्ने मन्त्रालयको निर्देशनमा उल्लेख छ ।

सरकारले जिल्लास्थित सबै सुरक्षाकर्मी तथा निजामती कर्मचारीको मनोबल बढाउने गरी छलफल, अनुगमन एवम् उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्न, कानुन कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्दै दण्डहीनताको अन्त्य गरी नागरिकमा स्थानीय प्रशासन एवम् सुरक्षा निकायप्रतिको विश्वास जागृत र अभिवृद्धि गराई सुरक्षा प्रत्याभूति गर्न तथा कानुन विपरीतका कार्यमा संलग्न जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कारबाही गर्न र विस्थापित भएका सुरक्षा निकायका कार्यालय स्थानीय समुदायसँगको समन्वय एवम् सहयोगमा पुनःस्थापित गर्न र गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

जिल्लाबाट शान्तिसुरक्षा, विपद् व्यवस्थापनलगायत तत्काल जाहेरीसमेतका विषयमा गर्नुपर्ने दैनिक प्रतिवेदन मन्त्रालयको दैनिक प्रतिवेदन प्रणालीबाट गर्ने, प्रतिवेदन गर्नुपर्ने उल्लेखनीय विषय नभए पनि दैनिक जानकारी गराउनुपर्ने र राष्ट्रिय अन्तरराष्ट्रिय प्रभाव पार्ने, अपराध नियन्त्रण र शान्तिसुरक्षामा गम्भीर असर पु¥याउनेलगायत महत्वपूर्ण घटनाको सूचना तत्कालै मन्त्रालयसमक्ष प्रमुख जिल्ला अधिकारीले जाहेरी गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

मन्त्रालयले जिल्लाभित्रका गतिविधिका बारेमा नियमित प्रतिवेदन र जाहेरी गर्नुपर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको रहने भएकाले घटनाको प्रकृति तथा संवेदनशीलता विश्लेषण गरी यथाशीघ्र जानकारी गराउने र मन्त्रालयबाट आवश्यक छानबिन तथा कारबाहीका लागि लेखी पठाइएका विषयहरू प्राथमिकताका साथ फछ्र्यौट गर्नुपर्ने निर्देशन दिएको छ ।

सरकारले अपराध नियन्त्रण सम्बन्धमा जिल्लाभित्र घट्ने कुनै पनि घटनाको निरूपण, पीडितलाई न्याय र दोषीलाई कानुनको दायरामा ल्याउने कार्यमा नागरिकको आशा, विश्वास र भरोसामा अभिवृद्धि हुनेगरी कार्यसम्पादन गर्ने, गराउन र छिमेकी मुलुकहरूसँग सीमा जोडिएका जिल्लाले सीमा सुरक्षा, सीमा स्तम्भको सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध तथा सीमापार अपराध नियन्त्रणका लागि सीमा क्षेत्रका गतिविधि नियमित रुपमा निगरानी गर्ने, जिल्ला सुरक्षा समितिका तर्फबाट सीमा निरीक्षण गर्ने, सुरक्षाकर्मीबाट एकल तथा संयुक्त गस्ती पट्रोलिङ गर्ने र आवश्यकताअनुसार समकक्षी बैठकसमेत आयोजना गर्न पनि निर्देशन दिएको छ ।

समकक्षी बैठकमा सहभागिता जनाउनुपूर्व मन्त्रालयको स्वीकृति लिने र त्यस्ता बैठकमा राष्ट्रिय हितका विषयहरू स्पष्टसँग उठाउुपर्ने तथा मन्त्रालयले स्पष्ट अधिकार दिएको अवस्थामा बाहेक लिखित सहमति नगर्ने साथै बैठक सम्पन्न भएपछि प्रमुख जिल्ला अधिकारीले सो बैठकका सम्बन्धमा मन्त्रालयलाई लिखित प्रतिवेदन दिन मन्त्रालयले निर्देशन दिएको छ ।

सञ्चारमन्त्री खरेलसमक्ष कार्ययोजना पेस

काठमाडौँ, २ कात्तिकः प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । यसका लागि काउन्सिलले कार्ययोजना तयार गरेको छ । प्रस्तावित सो कार्ययोजना काउन्सिलका पदाधिकारी र कर्मचारीसहितको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेस गरेको छ ।

आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेललाई आगामी कार्यक्रमको कार्ययोजना पेस गरेको हो । सो अवसरमा उहाँले काउन्सिलको अनुगमनलाई सहजीकरण गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारीदिनुभयो । उहाँले अनुगमन, तथ्य जाँच र निर्वाचन विशेष अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

प्रस्तावित कार्ययोजनाअनुरुप यही कात्तिकसम्म विशेष अनुगमन, मङ्सिरदेखि तथ्य जाँच तथा आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचन सन्दर्भमा विशेष अनुगमन गरिनेछ । यसका लागि आवश्यक प्रस्तावित बजेट र कार्यक्रम ढाँचा पनि काउन्सिलले हस्तान्तरण गरेको छ ।

काउन्सिलका सदस्य शन्तराम बिडारीका अनुसार काउन्सिलको आचारसंहितासम्बन्धी अनुगमनलाई विशेष रुपमा अनुगमन गर्न तथ्य जाँच र सरकारले निर्वाचन सफल पार्ने लक्ष्यमा निर्वाचनसम्बन्धी आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन प्रस्तावित कार्ययोजना पेस गरिएको छ । सञ्चारमन्त्री खरेलले हालै काउन्सिलको भ्रमणको सिलसिलामा काउन्सिलको कामलाई गतिशील र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना ल्याउन निर्देशन दिनुभएको थियो । सोही अनुरुप काउन्सिलले कार्ययोजनासहित आफ्नो सक्रियता बढाएको हो ।

अब पार्टीभित्र नाटक र अलमल गर्ने समय छैन, गुटबन्दी बन्द गरौ – नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको गुटबन्दी बन्द गर्नुर्ने बताएका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् । उनले विगतका मापदण्ड बदलेर गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले अब पार्टीभित्र नाटक र अलमल गर्ने समय नभएको पनि बताए ।

उनले भनेका छन्,‘विगतका मापदण्ड बदल्नु पर्दछ । गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ ।नाटक अब चल्दैन ।नेतृत्व कसिमा उत्रनु पर्दछ। अब अलमल गर्नु हुँदैन । खरानी हात परेको छ । सफा अब गर्नै पर्दछ ।’

मेक्सिको-युरोपियन सङ्घ व्यापार सम्झौता २०२६ फेब्रुअरीदेखि लागु हुने

मेक्सिको सहर । मेक्सिको र युरोपियन सङ्घबिचको नयाँ व्यापार सम्झौता आगामी फेब्रुअरीदेखि लागु हुने भएको छ । मेक्सिकोकी राष्ट्रपतिले शुक्रबार यस विषयमा जानकारी दिनुभएको छ ।

यो सम्झौताले सन् २००० सालमा भएको पुरानो सम्झतालाई प्रतिस्थापन गर्दै मेक्सिकोका कृषिजन्य तथा बनावट वस्तुमा महसुल कटौती गर्ने छ, जसले मेक्सिकोका निर्यातलाई युरोपमा फाइदा पुर्‍याउने छ । स्थानीय सञ्चार माध्यमका अनुसार, यसले ८६ प्रतिशत कृषिजन्य वस्तुमा महसुल तत्कालै हटाउने छ भने बाँकी १० प्रतिशत महसुल सात वर्षभित्र क्रमशः हटाइने छ ।

युरोपियन सङ्घ र मेक्सिकोबिच २०२४ मा भएको व्यापार करिब ८२ अर्ब यूरो बराबर रहेको छ, जुन लगभग ९५ अर्ब अमेरिकी डलरको हाराहारी हो । युरोपियन सङ्घ मेक्सिकोको तेस्रो ठुलो व्यापारिक साझेदार हो ।

नारायणहिटी अगाडि दुलालको ‘२२औँ काग सम्मेलन’ सम्पन्न

काठमाडौँ, कात्तिक २ गते । काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटीद्वार अगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गर्नुभएको छ ।

टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गर्नुभयो । आज बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उहाँले कागको आवाज निकाल्नासाथ काग भेला भएका थिए ।

दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्नुहुन्छ । उहाँसँग मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारको धुन निकाल्ने कला पनि छ ।

उहाँका अनुसार, विगतका वर्षहरूमा उहाँले कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले विमानस्थल परिसरमा, त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आउनुभएको छ । दुलालले भन्नुभयो, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो । कागलाई यमराजको दूतका रूपमा मानिन्छ । यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ ।”

काग तिहारलाई धार्मिक र सांस्कृतिक दुवै अर्थमा मनाइने परम्परालाई जोगाउन तथा जनचेतना जगाउन दुलालको यो कार्यक्रमलाई उपस्थित दर्शकहरूले सराहना गर्नुभएको छभने बहुप्रतिभाको धनी दुलालको चर्चा गर्नुभएको छ ।

कार्यक्रमको मुख्य प्रायोजकमा मोर्डन राप्ती रियल स्टेट र भरत विश्वकर्मा रहनुभएको छभने सहप्रायोजकमा ह्याम्स हस्पिटल, शङ्करप्रसाद आचार्य, चुडा मैनाली, होराइजन स्पा, नौकरी नेपाल र शान्ति तथा ग्रामीण विकास केन्द्र नेपाल रहेका थिए ।

सप्तरीमा गोली प्रहार गरी पुजारीको लिइयो ज्यान, दुईवटा गोलीका खोका फेला

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।

गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए। अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए ।

घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ ।

घटनास्थलबाट दुईवटा गोलीका खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । उनका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको छ ।

काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं,इटहरी, जनकपुर पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । शुक्रबार १७ र शनिवार एक वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।

सडक डिभिजन कार्यालय जनकपुरले २१,काठमाडौंले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँच÷पाँच, पाल्पा तथा दमौलीले चार÷चार र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले एक÷एक गरी ५० वटा ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन् ।

ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएर आधारभूत रुपमा ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।

विभिन्न मितिमा लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।

सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।

उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।