लागुऔषध खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ
काठमाडौँ। लागुऔषध खैरो हेरोइनजस्तो देखिने १२ दशमलव ६४ ग्राम पदार्थसहित सात जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका–१ का ५० वर्षीय प्रशान्त राई, दोलखा गौरीशङ्कर गाउँपालिका–५ का ४७ वर्षीय पेम्बा तामाङ, काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ बेँसीगाउँका २३ वर्षीय अनिल केसी, काठमाडौँ गोकर्णेश्वर–६ का ४४ वर्षीय वसन्त तिमल्सिना, सोही नगरपालिका–८ का ३७ वर्षीय विक्रम ठकुरी, २५ वर्षीय प्रज्ज्वल मैनाली तथा ३५ वर्षीय देवेन्द्र अर्याल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेँसीगाउँ नजिक लागुऔषध बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।”
पक्राउ परेकाहरूलाई लागुऔषधसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
