`

१३औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय फिल्म फेस्टिभल काठमाडौँ हुने

काठमाडौँ – विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यका साथ ‘१३औँ नेपाल मानव अधिकार अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’ काठमाडौँमा हुने भएको छ ।

आगामी मङ्सिर २५ देखि २९ गतेसम्म काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा हुने पाँच दिने महोत्सवमा यस वर्षको मूल विषयवस्तु ‘बाल अधिकार’ रहेको महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले २६ देशका ५० चलचित्रहरू प्रदर्शन गर्नेछौँ । महोत्सवमा छानिएका धेरैजसो चलचित्रले कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता प्रतिष्ठित अन्तरराष्ट्रिय महोत्सव सहभागिता जनाइसकेका छन् । हामीले देखाउने चलचित्रले मानवअधिकारका विषयलाई सहज र सरल रूपमा दर्शकसम्म पु¥याउनेछन् ।”

उहाँले ‘कान्स फिल्म फेस्टिभल २०२५’ अन्तर्गत ‘पाल्मे डी ओर’ (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’, सोही महोत्सवमा पहिलोपटक प्रदर्शनी गरिएको ‘नाभी लिली’ बजिका भाषामा बनेको पहिलो ‘फिचर’ चलचित्र ‘आजुर’ लगायत महोत्सवको आकर्षण रहेको जानकारी दिनुभयो ।

महोत्सवका क्रममा विश्वभरका चलचित्र निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीहरूको उपस्थितिमा अन्तरक्रियात्मक समूहगत छलफल, फोटो प्रदर्शनी, ‘लाइभ पेन्टिङ’ लगायत विभिन्न कार्यक्रम आयोजना गरिने आयोजकले जनाएका छन् ।

मधेस प्रदेश : मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुर – मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री पदमा नियुक्तिका दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयले आज सूचना जारी गरी शुक्रबार दिनको ५ः०० बजेभित्र दाबी पेस गर्न आह्वान गरेको हो । प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सरोजकुमार यादवले दिएको राजीनामा स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ ।

तनहुँमा सात जना एचआइभी सङ्क्रमित थपिए, एक जनाको मृत्यु

दमौली (तनहुँ) – तनहुँमा ४५० जना एड्स सङ्क्रमित रहेका छन् । त्यसमध्ये २६८ जनाले प्रदेश अस्पताल दमौलीबाट एआरटी औषधि सेवन गरिरहेका छन् । बाँकीले भने बाहिरी जिल्लाबाट औषधि सेवन गर्दै आएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले चालु आर्थिक वर्षमा सात जना नयाँ एचआइभी सङ्क्रमित थपिएको जानकारी दिनुभयो । चालु आवमै एक जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । उहाँले एचआइभी सङ्क्रमितको परीक्षणका लागि दमौली अस्पतालमा उपचार केन्द्रको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । गर्भवतीका लागि जिल्लास्थित सबै स्वास्थ्य संस्थामा एचआइभी परीक्षणको व्यवस्था मिलाइएको दवाडीले बताउनुभयो ।

एचआइभी सङ्क्रमितको हकहितका लागि काम गर्दै आएको तनहुँ सहयोगी संस्थाका केशु गुरुङले समाजको डरका कारण अझै पनि सङ्क्रमित खुल्न डराउने गरेको जानकारी दिनुभयो ।

श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन – अध्यक्ष साम्पाङ

धरान (सुनसरी – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट गर्नुभएको छ ।

बराहक्षेत्र स्थित चक्रघट्टीमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताउनुभयो ।

“हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ,” अध्यक्ष साम्पाङले भन्नुभयो, “नेपालको कुनै पनि राजनीतिक दल ‘चोखो र जनउत्तरदायी’ छैनन ।” जाति, धर्मवर्गका आधारमा फुटेको देशलाई जोड्न निस्केको हो श्रम संस्कृति पार्टी मुलुकको सामाजिक एकता र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृति विकास आफ्नो लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष साम्पाङले आफ्नो नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले हाल देशभर सङ्गठन विस्तारलाई आक्रामक रूपमा अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि ठूला भनिने दलहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको बेला श्रम संस्कृति पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । जनताको विश्वास र समर्थन वृद्धिले आफ्नो दल राष्ट्रिय विकल्पका रूपमा स्थापित भएको छ ।”

विदेशी नागरिकको अवैध ढङ्गबाट हुनसक्ने प्रवेशलाई लक्षित गर्दै पर्साको सीमावर्ती क्षेत्रमा कडाइ

वीरगञ्ज( पर्सा) – जिल्ला प्रशासन कार्यालय पर्साले सीमावर्ती नाकाबाट विदेशी नागरिकको अवैध ढङ्गबाट हुनसक्ने प्रवेशलाई लक्षित गर्दै सुरक्षा जाँचमा कडाइ गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले अवैध रूपमा विदेशी नागरिक आउनसक्ने भएकाले आवश्यक सतर्कता अपनाइएको बताउनुभयो ।

“शङ्कास्पद व्यक्ति, समुदाय जिल्लाभित्र प्रवेश गरेको आवस्थामा त्यस्ता व्यक्ति तथा समुदायका सम्बन्धमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गर्दछौँ”, उहाँले भन्नुभयो, “त्यस्ता परिचय नखुलेका अपरिचित व्यक्ति, समुदायलाई घरमा बसोबास गर्न नदिन, कुनै कामकाजमा नलगाउनहुन जिल्ला सुरक्षा समितिको निर्णयानुसार आमसर्वसाधारणलाई अनुरोध गरिन्छ ।” पर्साको १०७ किलोमिटर क्षेत्र छिमेकी मुलुकसँग खुला सीकानाका जोडिएको छ ।

समानुपातिक प्रतिनिधिधित्व सुनिश्चित हुनेगरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव

काठमाडौँ – उज्यालो नेपाल पार्टीले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव अगाडि सारेकोे छ ।

आज यहाँ पार्टी घोषणसमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले नेपालमा सङ्घीयताको अभ्यासलाई कायम राख्दै व्यावहारिक, परिणाममुखी र प्रभावकारी बनाउनुपर्ने प्रस्ताव राखेको छ । घोषणापत्रमा भनिएको छ, “समानुपातिक सांसद र मनोनित सांसद एक पटकको लागि मात्र हुने व्यवस्था गरिनुपर्दछ, स्थानीय तहको चुनाव गैरदलीय आधारमा हुनुपर्छ ।”

देशको जनसङ्ख्या, भूगोल, पहिचान, सामथ्र्य र आर्थिक सम्भावनालाई मध्यनजर गर्दै प्रदेश र स्थानीय तहको संरचना र सङ्ख्या पुनरावलोकन, बृहत राष्ट्रिय सहमतिको आधारमा सङ्घीयतासँग जोडिएका विषयलाई सम्बोधन, शासकीय सुधारका सन्दर्भमा विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त भएका सुझावका आधारमा मन्त्रालयको सङ्ख्या पुनरावलोकन गरिनुपर्ने पार्टीको धारणा छ ।

पार्टीले संविधानलाई गतिशील दस्तावेजको रूपमा स्वीकार गरेको छ । आज घोषणापत्र सार्वजनिक गर्दै नेपालको उज्यालो भविष्यको लागि वर्तमान संविधानका केही व्यवस्थाहरू संशोधन गर्नुपर्ने, सांसद सदस्य नभएका विज्ञहरूलाई मन्त्री बनाउन सकिने व्यवस्था गर्नुपर्ने तर परराष्ट्रमन्त्री, गृहमन्त्री, कानूनमन्त्री र रक्षामन्त्री सङ्घीय संसद्को सदस्यबाटै चयन गर्नुपर्ने, प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गर्नुपर्ने पनि जोड दिएको छ ।

पार्टीले स्वदेश तथा विदेशमा रहेका सक्षम, इमानदार र मेधावी नागरिकलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ । घोषणापत्रअनुसार सो पार्टीले राज्यको क्षमता बढाएर गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य दायित्वभित्र पार्ने र स्वदेशी पुँजी परिचालन गरी रोजगारी सिर्जना गर्ने पार्टीको मुख्य ध्येय छ । पुराना राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि जनमुखी शासकीय क्षमता प्रदर्शन गर्न नसकेको आरोप लगाउँदै पार्टीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र भ्रष्टाचारबाट आर्जित सम्पत्ति छानबिन गरी जफत गर्ने नीति अख्तियार गर्ने जनाएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘एकै संसदीय निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक उम्मेदवार हुन नपाइने व्यवस्था हुनुपर्छ, प्रदेशमा सांसद रहने व्यवस्था हटाइ प्रदेशसभाको काम गर्नेगरी स्थानीय तहको प्रमुख र उपप्रमुखको प्रतिनिधित्व हुने प्रदेश परिषद् बनाउनुपर्छ, प्रदेश परिषद्ले ऐन पारित गर्ने व्यवस्था गर्दै प्रधानमन्त्री निर्वाचित भइसकेपछि जुनसुकै अवस्थामा संसद्को आधा कार्यकाल सरकार सञ्चालन गर्ने सुनिश्चितता गर्नुपर्छ ।”

युक्रेनीको अधिकार विना ‘मात्र शान्ति’ असम्भव भएको फिनल्याण्डका राष्ट्रपतिको भनाइ

युक्रेनमा लडाइँ रोक्नका लागि गरिने कुनै पनि सम्झौताले न्यायपूर्ण शान्तिका सबै सर्तहरू पूरा गर्ने सम्भावना नभएको फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले बुधबार प्रसारित एक अन्तर्वार्तामा बताउनुभएको छ।

“युरोपेली देशहरूले युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई जोगाउन काम गरिरहेका छन् र युक्रनी नागरिकको अधिकार र सार्वभौमसत्तामाथि तगारो बन्नेगरी हुने शान्ति सम्झौताको कुनै अर्थ नहुने उहाँले बताउनुभयो ।

“वास्तवमा कसैले राम्रो, वा कुनै प्रकारको सम्झौताका लागि प्रस्ताव राख्न सक्छ तर यो राष्ट्रिय सार्वभौमसत्ता विपरित भयो भने यसलाई नमान्ने अधिकार सम्बधित पक्षमा सीमित रहन्छ।

“यथार्थमा हामी फिनल्यान्डवासीहरूले पनि शान्ति स्थापना हुने क्षणको लागि आफूलाई तयार पार्नुपर्छ र विगत चार वर्षदेखि हामीले धेरै कुरा गरेका न्यायपूर्ण शान्तिका सबै सर्तहरू पूरा हुने सम्भावना अहिलेको प्रस्तावमा आएजस्तो मलाई लाग्दैन।”

उहाँले रूससँग एक हजार ३४० किलोमिटर (८३० माइल) लामो सिमाना जोडिएको फिनल्यान्डका लागि युक्रेनमा ‘अन्यायपूर्णरूपमा शान्ति’ को सलागि सम्झौता भयो भने यसको अर्थ के हुनेछ भन्ने बारेमा विस्तृत रूपमा बताउनुभएन ।

क्रेमलिनको युक्रेन आक्रमणलाई लिएर दुई राष्ट्रहरूबीच तनाव बढेपछि, उक्त नर्डिक देशले सन् २०२३ डिसेम्बर सम्ममा रुससँगको आफ्नो पूर्वी सीमा बन्द गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुवैसँग घनिष्ठ सम्बन्ध भएका स्टबले भन्नुभयो, “आउँदा दिन र हप्ताहरूले युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरूले परिणाम दिनेछन् कि छैनन् भन्ने कुरा निर्धारण गर्नेछन्।”स्टबले भन्नुभयो, “संयुक्त राज्य अमेरिका युक्रेनमा शान्तिबाट आर्थिक रूपमा लाभ लिन खोजिरहेको छ।”

“हामी यस्तो अवस्थामा छौँ कि संयुक्त राज्य अमेरिका शान्ति मध्यस्थताका विभिन्न सम्झौताहरूमा युक्रेनी खनिज भण्डारजस्ता बिषयलाई अमेरिकी लगानीका लागि खुला गर्न प्रयास गरिरहेको छ । ती क्षेत्रहरूसँगको सम्बन्धित समाधान पनि कुनै न कुनै रूपमा व्यापारसँग जोडिएको छ,” उहाँले भन्नुभयो ।

उहाँले रुसले लडाइँ अन्त्य गर्ने योजनाको पछिल्लो संस्करणलाई स्वीकृति दिनेछ कि छैन भन्नेमा शङ्का व्यक्त गर्दै भन्नुभयो, “के हामी कुनै प्रकारको युद्धविराम र शान्तितर्फ अघि बढिरहेका छौँ।”

स्टबले गत महिना सार्वजनिक भएको मूल अमेरिकी योजना पढ्दा यसबाट खासै सकारात्मक परिणामका लागि आशा राख्ने अवस्था देखिएको थिएन ।

मस्कोका धेरै अधिकतम मागहरूलाई प्रतिबिम्बित गर्ने मूल योजना रुसले तयार पारेको र अमेरिकाद्वारा प्रस्ताव गरिएको भन्ने कतिपय यूरोपली नेताहरूको आरोपको वाशिङ्टनले खण्डन गर्दै आएको छ।

मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्नेमा अध्यक्ष थापाको जोड

बागमती – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नियमानुसार मुआब्जा दिएर मात्र हेटौँडाको मुख्य सडक विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले पूर्वपश्चिम राजमार्ग निर्माण हुनुअगावै नम्बरी जग्गामा भौतिक संरचना निर्माण भएकाले स्थानीयलाई मुआब्जा वितरण गरेरमात्र सडकका संरचना भत्काउनु र सडक विस्तार गर्नु उचित हुने उल्लेख गर्नुभएको हो ।

“सडक विस्तार गर्ने कुराको विरोध गरेको होइन”, अध्यक्ष थापाले सामाजिक सञ्जालमा भन्नुभएको छ, “जनताको सम्पत्ति सरकारले अनधिकृत ढङ्गबाट कब्जा गर्न पाइन्न ।”

राजमार्ग निर्माणपूर्व नै घनाबस्तीको विकास भइसकेको हेटौँडा बजारको बीचबाट राजमार्ग लैजाने काम आफैँमा तर्कसङ्गत मान्न नसकिने जिकिर गदैै उहाँले राजमार्गलाई रातोमाटेदेखि राप्ती खोला हुँदै सामरीसम्म बाइपास बनाउनु उचित हुने सुझावसमेत दिनुभएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकअन्तर्गत मकवानपुरको हेटौँडास्थित मुख्य सडक विस्तारको तयारीविरुद्ध स्थानीयहरू आन्दोलनमा उत्रेका छन् ।

सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरालगायत संरचना हटाउन मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले मङ्सिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरेपछि स्थानीय आन्दोलनमा उत्रेका हुन् ।

स्थानीयले आज बिहानैदेखि हेटौँडाको मुख्य बजार क्षेत्रका बजार पसल बन्द गराई प्रदर्शन सुरु गरेका छन् । सडक सीमाभित्र पर्ने संरचनाको मुआब्जा उपलब्ध गराएमात्र संरचना हटाउने भन्दै स्थानीयले सडक विस्तारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही पनि रोकिएको छैन – प्रधानमन्त्री कार्की

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचार विरुद्धको कारबाही नरोकिने बताउनुभएको छ । जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हामी काम गर्न नै आएको हो । जे सकेको गरिरहेका छौँ । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरूप जसरी पनि हामीले काम गर्नु छ । यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन, हामी रोकिँदैनौँ ।”

निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको उहाँले बताउनुभयो । भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचना नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको उहाँले प्रस्ट्याउनुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हामी कहाँ अख्तियार दुरूपयोग अनुसन्धान आयोग छ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ । केन्द्रीय अनुन्धान ब्युरो छ, विगतमा ती निकायलाई प्रभावकारी रूपमा काम गर्न नदिइएको हुन सक्छ । दलीय प्रभाव परेको हुन सक्छ, हामी कुनै प्रकारको दबाब दिँदैनौँ । ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन्, प्रभावकारी ढङ्गले चल्न सकुन, समानान्तर रूपमा धेरै संरचना बनाएर मात्र नतिजा आउने होइन । मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो ।” अहिले अख्तियारले आफ्नो रफ्तार बढाइरहेको उहाँले बताउनुभयो ।

सबै क्षेत्रको अति दलीयकरण हुँदा मुलुकले प्रगति गर्न नसकेको टिप्पणी गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तपाईंहरूले समाचारमा पढिरहनुभएकै होला । केही ठूला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरूले कदम चालेका छन् ।”

प्रधानमन्त्री कार्कीले आउँदो चुनावमा युवालाई नै संसद्मा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणासमेत राख्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले भन्नुभएको छ, “यहाँ किसानका नाममा राजनीति भयो । किसानले मल पाउँदैनन् तर किसानको नेता देश–विदेश घुमिरहेको हुन्छ, मन्त्री–सांसद बनिरहेको हुन्छ, कार्यकर्ता अघिपछि लगाइरहेको हुन्छ । सहुलितको मल, बीउ, ऋणसमेत उसैले एकलौटी गरिरहेको हुन्छ, अरु व्यवसाय गर्नेहरूका नाममा राजनीति भयो, आफ्नो पेसा–व्यवसाय गर्न छाडेर नेतागिरी गर्दै हिँड्ने प्रवृत्ति नै बनेको रहेछ । भ्रष्टाचारको जड यहाँ छ, यस्तो वातावरणमा कसरी देशले उन्नति गर्छ ?”

नेता किरातीसहित प्रतिनिधिमण्डलका अन्य सदस्यले जेनजीका आवाज सम्बोधन चाँडो हुनुपर्ने माग गर्नुभएको थियो । उहाँहरूले आन्दोलनकारी जेनजीमाथि एकातिर प्रहरीले धरपडक गरिरहेको र अर्कोतिर केही दलले घोषित रूपमै गुण्डा परिचालन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । यदि कुनै दलले घोषित रूपमै गुण्डागर्दी गर्न सङ्गठन खोलेर अघि बढ्छ भने जेनजीले प्रतिकार गर्नुपर्ने अवस्था आउन सक्छ भनी उहाँहरूले चेतावनी दिनुभयो ।

हेटौँडाको मुख्य सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्ने

बागमती, १७ मङ्सिर : हेटौँडाको मुख्य सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई कारबाहीको दायरामा ल्याउने स्थानीय प्रशासनले बताएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज सूचना जारी गर्दै हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्‍याउने र व्यवसायीलाई धम्की दिने समूहलाई कारबाहीको दायरा ल्याउने बताउनुभएको छ ।

सडक डिभिजिन कार्यालय हेटौँडाले गर्न लागेको सडक विस्तार अभियानमा बाधा नपुर्‍याउन आग्रह गर्दै प्रजिअ अधिकारीले सडक विस्तार अभियानमा सरोकारवाला र हेटौँडावासीको उत्साहजनक सहभागिता देखिएको र धेरैजसो व्यवसायीहरूले तोकिएको समयसीमा मङ्सिर २० गतेअगावै आफ्ना पसल अन्यत्र सार्ने र समान ‘सेल’ लगायतका अफर राखेर बिक्रीवितरण गरी सहयोग गरिरहेको उल्लेख गर्नुभएको छ ।

केही व्यक्तिहरूले व्यवसायीहरूको यस सकारात्मक कार्यलाई निरुत्साहित गर्न धाकधम्की दिने, जबर्जस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कार्यमा अवरोध पुर्‍याउने गतिविधि गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको प्रजिअ अधिकारीको सूचनामा उल्लेख छ ।

सडक विस्तारमा अवरोध खडा गर्ने उद्देश्यले प्रेरित कुनै पनि गतिविधि गर्ने व्यक्तिहरुप्रति पूर्ण सचेत रहेको उल्लेख गर्नुहुँदै प्रजिअ अधिकारीले सडक डिभिजन कार्यालयको यस अभियानमा कानुनविपरीत कार्य नगर्न/नगराउन अनुरोध गर्नुभएको छ ।

दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

त्रिशूली (नुवाकोट), १७ मङ्सिरः ऐतिहासिक तथा धार्मिक महत्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाका अवसरमा लाग्ने मेलामा दर्शनार्थीको भीड लागेको छ ।मोक्षदा एकादशीदेखि सुरु भएको मेला भोलि पूर्णिमासम्म विशेष रूपमा लाग्ने मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिनुभयो । उहाँका अनुसार, यसवर्ष चतुर्दशी र पूर्णिमा एकैदिन परेकाले मुख्य दर्शनको घुइँचो आजैदेखि लागेको हो ।

आज बिहानैदेखि साँझ ५ बजेसम्म १५ हजारभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेको अनुमान छ । भोलि पूर्णिमाका दिन यो सङ्ख्या अझै धेरै हुने दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

मेलामा विशेषगरी बाँस र निगालोका चोयाबाट बनाइएका धुन्से, डोका, भकारी, नाङ्लोलगायत हस्तकलाका सामग्रीको कारोबार हुने स्थानीय राजकुमार श्रेष्ठको भनाइ छ । गाईभँैसीलाई धुवाउने परम्परागत धुपी र शिखरबेंसी क्षेत्रमा उत्पादन हुने समुन्द्रफिनी जातको धानको चामलसहित अन्य कृषिउपजको व्यापार मेलाको मुख्य आकर्षण मानिन्छ ।

एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग छनोट

काठमाडौँ, १७ मङ्सिर : एसीसी पुरुष यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो ।

प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् ।प्रतियोगिताका खेलहरू आइसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् ।

नेपालको पहिलो खेल श्रीलङ्कासँग डिसेम्बर १३ तारिखमा राखिएको छ । दोस्रो डिसेम्बर १५ मा बङ्गलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ ।नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन् । उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ ।

प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई पक्राउ

काठमाडौँ, १७ मङ्सिर : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरीलाई कुटपिट गरी लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले गत भदौ २४ गतेको जेनजी प्रदर्शनीका क्रममा काठमाडौँ महानगरपालिका–२४ विशालबजारमा जनसेवाबाट खटिएका प्रहरीलाई घेराबन्दी तथा कुटपिट गरी धनमाल लुटपाटमा संलग्न दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा काठमाडौँ महानगरपालिका–२० चिकामुगल बस्ने ४१ वर्षीय नीरज चित्रकार र काठमाडौँ महानगरपालिका–१० दमाईंटोल बस्ने ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले ‘ड्युटी’मा खटिएका प्रहरीलाई घेराबन्दी गरी प्रहरीका साथमा रहेको धनमाल लुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका नीरज चित्रकार विरुद्धमा यसभन्दा अगाडि पनि ज्यान मार्ने मुद्दामा प्रहरीवृत्त जनसेवा न्युरोडमा मुद्दा चलेको अनुसन्धानमा खुलेको छ । पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।

बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, १७ मङ्सिर : प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो अघि बढाउन सरकार लागिपरेको बताउनुभएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको र उक्त पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त करवापतको रकम प्रत्येक वर्ष खातामा जाने व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।

यससम्बन्धी प्रक्रिया छिटो अघि बढाउन उहाँले ऊर्जा र अर्थ मन्त्रालयलाई निर्देशन पनि दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसै विषयमा प्रधानमन्त्री कार्कीले बुधबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत आयोजना प्रभावित क्षेत्र गोरखा र धादिङका केही पूर्वजनप्रनिधिहरू तथा स्थानीय सरोकारवालासँग छलफल गर्नुभयो ।

त्यसक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजना अघि बढाउन सरकारले देखाएको तत्परताप्रति खुसी व्यक्त गर्दै यसलाई केवल विद्युत् आयोजनामा मात्र सीमित नगरी बहुउद्देश्यीय आयोजनामा विकास गर्न छुट्टै प्राधिकरण गठनका लागि सुझाव दिनुभयो । छलफलमा अर्थमन्त्री रामेश्वर खनाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अन्य अधिकारीहरूको सहभागिता थियो ।

एक हजार २०० मेगावाटको यस जलविद्युत् आयोजनाको लागत २०७९ मा दुई खर्ब ५५ अर्ब अनुमान गरिएको थियो । अब यो लागत चार खर्ब नाघ्ने अनुमान छ । नेपाल सरकारले जग्गा अधिग्रहण गरी रु ४२ अर्ब स्थानीय जग्गाधनीलाई मुआब्जा दिइसकेको छ । काठमाडौँ, पोखरा र चितवन जस्ता ठूला सहरको बीचमा रहेको यो आयोजना निर्माण सम्पन्न गर्न कम्तीमा आठ वर्ष लाग्ने आंकलन छ ।

कर्णालीका माओवादी संसदीय दलका नेता राजकुमार शर्माले दिए राजीनामा

कर्णाली- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दल नेता राजकुमार शर्माले दल नेताबाट राजीनामा दिनुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता शर्माले दलका प्रमुख सचेतक कृष्णबादुर जिसीसमक्ष आज राजीनामा दिनुभएको हो ।

दलका प्रमुख सचेतक जिसीलाई उहाँले पत्रमार्फत सम्बोधन गर्दै लेख्नुभएको छ, “उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।”

कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका उहाँले हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएसँगै दलको नेताबाट राजीनामा दिएको जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र) बिगठन भएर नेपाली कम्युनिष्ट पार्टी भएको छ । शर्माले राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टीका बाँकी १२ प्रदेशसभा सदस्यबाट दलको नेता चयन गर्ने बाटो खुला भएको प्रमुख सचेतक जिसीले जनाउनुभयो ।

प्रधानमन्त्रीलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको चार बुद्दे ज्ञापन पत्र

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद र भ्रष्टाचार विरोधी अभियानको टोलीले प्रधानमन्त्री सुशीला कार्की समक्ष ज्ञापन पत्र बुझाएका छन् ।बुधबार प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई जेनजी आन्दोलनको म्यान्डेट, निर्वाचन प्रक्रिया, भ्रष्टाचार विरुद्द र सुशासन एवं आर्थिक–वित्तिय क्षेत्रसँग सम्बन्धित मागहरू सहित ४ बुद्दे ज्ञापन पत्र बुझाएको अध्यक्ष सुदन किरातीले जानकारी दिए ।

उनले भ्रष्टाचारसम्बन्धी छानविन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गर्नको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए ।

‘भ्रष्टाचारसम्बन्धी छानविन गर्न एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी आयोगको सिफारिसको आधारमा दोषीलाई कारबाही गरी भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई राष्ट्रियकरण गर्ने प्रक्रियाको थालनी गर्नको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छौं ।’

त्यस्तै, घोषित फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्ने, वैदेशिक रोजगार, शिक्षा लगायत अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्ने लगायत माग आफूहरुले राखेको उनले जानकारी दिए ।

एक करोड २५ लाख बढी ठगी गर्नेसहित तीन जना पक्राउ

काठमाडौँ, १७ मङ्सिर : बैदेशिक रोजगारीका नाममा आकर्षक तलबको लोभमा फसाएर ठगी हुनेक्रम बढिरहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगीएको भनेर कार्यालयमा दैनिक चार÷पाँच वटा उजुरी आउने गरेको छ ।

कार्यायलका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उजुरीको छानबिन गरी पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने अभियानमा टोली नै परिचालन गरिएको र केही परिणाम आइरहेको बताउनुभयो ।

उहाँले आज मात्रै करोडौँ ठगीको आरोपमा तीन जनालाई पक्राउ गरी कारबाहीका लागि प्रहरी कार्यालयमा पठाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “तर उजुरी आइरहेको र यसरी रोजगारीका नाममा भएका ठगिका घटना बढ्दो नै छ ।”

सूचना अधिकारी आचार्यले पीडितबाट एक करोड २५ लाख बढी ठगी गरेका एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालिएको बताउनुभयो । यसरी पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका घर भई हाल ललितपुर बस्ने श्यामचन्द्र अधिकारी रहेका छन् ।

अल्बानिया, अजरबैजान मेमोडोनिया सर्बियालगायतका देशहरू पठाउने भनी मानिसबाट रु एक करोड २५ लाख ७८ हजारभन्दा बढी पैसा उठाएर ठगी गरेको उजुरीमा अधिकारीलाई पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने अन्य दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । नवलपरासी घर भई हाल काठमाडौँ बस्ने दिलबहादुर सारु मगरले सर्बिया पठाउने भनेर रु चार लाख ५० हजार ठगी गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो ।

त्यस्तै सर्लाही घर भई ललितपुरका चन्द्रभूषण प्रसादलाई रु तीन लाख ८० हजार ठगीको आरोपमा पक्राउ गरिएको छ । सूचना अधिकारी आचार्यका अनुसार अब्लानिया पठाउने भनेर रकम ठगी गरेको पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको छ ।

उनीहरू तीनै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।

वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

वीरगञ्ज (पर्सा) – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठाएको छ ।

कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट रु चार अर्ब ५८ करोड, कपडाबाट रु चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ ।

इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट रु तीन अर्ब सात करोड राजस्व सङ्कलन गरेको छ । चालु आवको चार महिनामा वीरगञ्जबाट रु दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।

विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो गर्नुपर्नेछ – प्रचण्ड

काडमाडौँ, १७ मङ्सिर : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य, उपचार र जीविकोपार्जनको सुनिश्चितता तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माणका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य भएको बताउनुभएको छ ।

चौतिसौँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण अपाङ्ग समुदायप्रति सम्मान तथा शुभकामना व्यक्त गर्दै उहाँले अपाङ्ग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्र निर्माणको केन्द्रमा राख्नु हामी सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।

संयोजक दाहालले समावेशी विकास, पहुँचयोग्य पूर्वाधार, उपचार, शिक्षा तथा रोजगारमा समान अवसर र सम्मानजनक जीवनका आधारहरूमा टेकेर नै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्न सकिने सन्देशमा उल्लेख गर्नुभएको छ ।

सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता

काडमाडौँ – नेपाली कांग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पार्टीको विधानअनुसार स्थानीय तहदेखि सङ्घीय संरचनासम्म अपाङ्गता भएका सदस्यहरूको सहभागिता सुनिश्चित गरेको बताउनुभएको छ । भविष्यमा पनि यस्तो सहभागितालाई अझ प्रभावकारी र जिम्मेवारीपूर्ण बनाउने पार्टीको प्रतिबद्धता उहाँले सन्देशमा दोहोर्याउनुभएको छ ।

नेपालको संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशितालगायत विषयहरूलाई कांग्रेसले निरन्तर संरक्षण गर्दै आएको कार्यवाहक सभापति खड्काले सन्देशमा उल्लेख गर्नुभएको छ ।

बेमौसमी वर्षाका कारण यो वर्ष उत्पादनमा कमी आउने

काठमाडौँ – विभिन्न समयमा भएको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानी पुर्‍याउँदा यो वर्ष उत्पादनमा कमी आउने भएको छ ।

बेमौसमी वर्षाका कारणबाट भएको कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानीको तथ्याङ्क/विवरण सङ्कलन कम्पाइलेसन तथा विश्लेषणको लागि गठन भएको समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हालै बुझाएको प्रतिवेदनअनुसार खासगरी बेमौसमी वर्षाबाट प्रभावित पाँच वटा प्रदेशहरूमा प्रभावित कूल क्षेत्रफल १५ हजार ४९९ हेक्टरमा विभिन्न कृषि उत्पादन विशेषगरी धान, उखु, तरकारी र फलफूलको उत्पादनमा करिब एक लाख २७ हजार ३८३ मेट्रिक टन घटी उत्पादन हुने देखिन्छ ।

सो क्षतिले बाली (बीउबिजनसहित) करिब रु तीन अर्ब ५४ करोड ६१ लाख चार हजारको आर्थिक क्षति पुर्‍याएको अनुमान गरिएको छ । जसमा मधेस प्रदेशमा सबैभन्दा बढी रु तीन अर्ब २२ करोड ४७ लाख १९ हजारको आर्थिक नोक्सानी भएको देखिन्छ ।

प्रतिवेदनमा भनिएको छ, “प्राप्त तथ्याङ्कअनुसार बालीतर्फ रु तीन अर्ब ५४ करोड ६१ लाख ४ हजार, पशुपन्छी, मत्स्य तथा घाँसखेतीतर्फ रु १६ करोड १५ लाख ४६ हजार, कृषि तथा पशुपन्छी पूर्वाधारतर्फ रु एक करोड छ लाख २५ हजार, सरकारी कार्यालयतर्फ ५८ लाख ६० हजार, जमिन कटानतर्फ रु तीन करोड ७१ लाख १७ हजार र बीउबिजनतर्फ रु दुई करोड ८१ लाख चार हजार बराबरको क्षति गरी जम्मा रु तीन अर्ब ७६ करोड १२ लाख ५२ हजार बराबरको क्षति भएको देखिन्छ ।” बेमौसमी वर्षाका कारण तरकारीमा सबैभन्दा बढी रु एक अर्ब २५ करोड ७१ लाख ३३ हजार ५५० बराबरको क्षति पुगेको देखिन्छ । जुन कूल क्षतिको ३५.४५ प्रतिशत हुन आउँछ

क्षतिका हिसाबले मधेस प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ रु तीन अर्ब ३५ करोड ५५ लाख १६ हजारको क्षति भएको छ । यस प्रदेशको आठै जिल्लामा रोपिएको धानबालीमा क्षति भएको छ भने तरकारी, फलफूल, उखु र पशुधन पनि प्रभावित भएका छन् । कोशी प्रदेशमा रु ३६ करोड ८३ लाख ८९ हजारको क्षति भएको छ । जसमा धान, तरकारी, अलैँची, अदुवा, केरा, आलु, चिया र कोदोबाली मुख्य छन् । बागमतीमा रु दुई करोड चार लाख ५४ हजार, गण्डकीमा १२ लाख ८० हजार र लुम्बिनीमा १ करोड ५६ लाख १४ हजारको क्षति भएको समितिका संयोजक तथा कृषि मन्त्रालयका सहसचिव जगनाथ तिवारीले जानकारी दिनुभयो ।

समितिले कोशी प्रदेशका प्रभावित पालिकाहरूमा स्थानीय तहको कार्यक्रमहरूमा बाढी पहिरोबाट प्रभावित साना किसानहरूको उत्थानका लागि पशुपन्छीपालन पुनःस्थापना कार्यक्रम लागू गर्नुपर्ने सुझाव पनि दिएको छ । समितिले भनेको छ, “मधेस प्रदेशका प्रभावित पालिकाहरूमा स्थानीय तहको कार्यक्रमहरूमा बाढीबाट प्रभावित साना मत्स्यपालक किसानहरूको उत्थानका लागि माछापालन पुनःस्थापना कार्यक्रम लागू गर्नुपर्ने देखिन्छ, पुनःस्थापना कार्यक्रम सञ्चालनका लागी सङ्घीय ससर्त अनुदान र प्रदेश ससर्त अनुदान कार्यक्रममा समेत समावेश गर्नुपर्ने देखिन्छ ।”

पाकिस्तानी राजदूतावासद्वारा भरतपुर आँखा अस्पताललाई सहयोग

काठमाडौँ, १७ मङ्सिरः पाकिस्तानले भरतपुर आँखा अस्पतालको पूर्वाधार विकासका निम्ति रु १० लाख प्रदान गरेको छ । अस्पताल परिसरमा मङ्गलबार आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा राजदूत हाश्मीले पाकिस्तानी सहयोगमा निर्मित उक्त अस्पतालको सुदृढीकरणका लागि निरन्तर सहयोग गर्न पाएकामा पाकिस्तान गर्वित रहेको बताउँदै यो सहयोग पाकिस्तान–नेपाल सम्बन्धका निम्ति महत्त्वपूर्ण स्तम्भका रूपमा चिरकालपर्यन्त स्मरणीय रहन्छ भन्नुभयो ।

यहाँस्थित पाकिस्तानी दूतावासका अनुसार राजदूत हाश्मीले चितवन शिक्षण अस्पतालको भ्रमण गरेर त्यहाँका विद्यार्थीसँग छलफल गर्नुभएको थियो । त्यसअघि उहाँले लुम्बिनीको भ्रमण गरेर लुम्बिनी विकास बोर्ड र लुम्बिनी नगरपालिकाका कार्यवाहक प्रमुखसँग बेग्लाबेग्लै छलफल गर्नुभएको थियो ।

यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ७२ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ९० रुपैयाँ, आलु रातो प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, आलु सेतो प्रतिकिलो ३७ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३० रुपैयाँ रहेको छ ।

यस्तै, गाँजर (लोकल) प्रतिकिलो १३० रुपैयाँ , गाँजर (तराई) प्रतिकिलो १२० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६५ रुपैयाँ, काउली (तराई) प्रतिकिलो ५५ रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, तने बोडी प्रतिकिलो १७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकिलो १३० रुपैयाँ, तिते करेला प्रतिकिलो १२० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, परवर (तराई) प्रतिकिलो १०० रुपैयाँ, घिरौँला प्रतिकिलो १२० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५५ रुपैयाँ, सलगम प्रतिकिलो ११० रुपैयाँ, भिन्डी प्रतिकिलो १०० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ७० रुपैयाँ र पिँडालु प्रतिकिलो १०० रुपैयाँ, स्कुस प्रतिकिलो २० रुपैयाँ कायम गरिएको छ ।

साथै, रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १५० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ६० रुपैयाँ, मेथीको साग प्रतिकिलो १५० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ, बकुला प्रतिकिलो १४० रुपैयाँ, तरुल प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो १, २०० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो १४० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ५५० रुपैयाँ, सेलरी प्रतिकिलो ४०० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो १५० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैया, गान्टेमुला प्रतिकिलो ८० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ, तामा प्रतिकिलो १२० रुपैयाँ, तोफु प्रतिकिलो १३० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २७० रुपैयाँ, केरा (दर्जन) १४५ रुपैयाँ, कागती प्रतिकिलो १०० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, अम्बा प्रतिकिलो ८० रुपैयाँ, लप्सी प्रतिकिलो ६०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, किबी प्रतिकिलो २०० रुपैयाँ, सरिफा प्रतिकिलो १८० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।

अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्य छ : नेपाल

काठमाडौँ, १७ मङ्सिरः अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायबाट निन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ ।अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्यूरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले मङ्गलबार दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवं साझेदारीसम्बन्धी उच्चस्तरीय बैठकमा उक्त कुरामा जोड दिनुभएको हो ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार सचिव राईले अल्पविकसित देशहरूको आर्थिक उन्ननयनका निम्ति अन्तरराष्ट्रिय बजारसम्म पहुँच विस्तार, संरचनात्मक अवरोधहरूको अन्त्य तथा अन्तरराष्ट्रिय समुदायबाट अधिकभन्दा अधिक स्रोत साधनको उपलब्धता निश्चित हुनुपर्नेमा जोड दिनुभयो ।

कृषि, जलविद्युत्, पर्यटन, निर्माण, सूचना तथा सञ्चार प्रविधि र मानव संशाधनका क्षेत्र नेपालको आर्थिक रुपान्तरणका अपार सम्भावना भएका क्षेत्र हुन् भन्दै सचिव राईले तिनमा लगानी गर्न अन्तरराष्ट्रिय समुदाय र नेपालको विकासका साझेदारहरूका साथै संयुक्त राष्ट्रसङ्घ एवं यसका विशिष्टिकृत संस्थाहरूसँग सहकार्य गर्न नेपाल सरकारले चाहेको बताउनुभयो ।

सिरहा प्रशासनद्वारा सीमा क्षेत्रको सुरक्षामा कडाइ, अवैध प्रवेशमा निगरानी

सिरहा-जिल्ला प्रशासन कार्यालय सिरहाले सीमावर्ती नाकाबाट परिचय नखुलेका र शङ्कास्पद व्यक्तिको अवैध प्रवेश रोक्न थालेको छ । प्रशासनले एक सूचना जारी गर्दै सीमा क्षेत्रमा सुरक्षा निकायबाट सुरक्षा व्यवस्थालाई थप बलियो पारिएको जनाएको हो ।

“सीमावर्ती नाकाबाट परिचय नखुलेका शङ्कास्पद् व्यक्ति अवैध ढङ्गबाट यस जिल्लामा प्रवेश गर्नसक्ने हुँदा सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको छ”, सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जारी गर्नुभएको सूचनामा उल्लेख छ,“आमनागरिक, व्यवसायी र समुदायलाई सजग रहन र यदि कुनै अपरिचित व्यक्ति वा समूह देखापरेमा नजिकको सुरक्षा निकायलाई जानकारी दिनको लागि आग्रह छ ।”

कार्यालयले कुनै पनि परिचय नखुलेका अपरिचित व्यक्तिलाई समुदायमा बसोबास गर्न नदिन र कुनै पनि कामकाजमा संलग्न नगर्न नगराउन पनि अनुरोध गरेको छ । जिल्लासँग नेपाल–भारतबीच करिब ४० किलोमिटर लामो सीमा जोडिएको छ ।

मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

भद्रपुर (झापा), १७ मङ्सिर : आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएका छन् ।मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाखबराबरको वस्तु तथा सामान आयात भएका थिए ।

गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा रु सात अर्ब ९६ करोड सात लाखबराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु आठ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए ।

काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत निर्यात हुने गरेका छन् । उक्त कार्यालयले आव २०८२/८३ को पहिलो चार महिनामा आयात निर्यातबाट रु पाँच अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।

‘अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ’ :अध्यक्ष ओली

काठमाडौँ, १७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि आफ्नो पार्टीले सामाजिक सुरक्षा भत्ताको व्यवस्था उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहार, राजनीतिक एवं सामाजिक आन्दोलनका माध्यमबाट परिवर्तन गर्दै आएको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले उक्त कुरा बताउनुभएको हो ।राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र नागरिक अधिकार प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई सङ्गठित गर्दै पार्टीले नेतृत्वमा स्थापनाको प्रयास जारी राखेको, अपाङ्गता भएका तमाम व्यक्तिले उठान गर्दै आएका विषयलाई पनि समावेश गर्दै आएको उहाँले बताउनुभएको छ ।

सन्देशमा अध्यक्ष ओलीले “अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र, स्वावलम्बी र मर्यादित जीवनयापन गर्न व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री तथा प्रविधि सेवा, पहुँच युक्तता, सामाजिक सुरक्षा, पारा खेलकुदको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका सवालमा नेकपा एमाले गम्भीर छ”, भन्नुभएको छ ।

एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना

काठमाडौँ, १७ मङ्सिरः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए । प्राधिकरणका प्राप्त भएका विवरणमध्ये १७ वटा आगलागीका मात्रै घटना थिए । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमणको रहेका थिए । पर्साको पर्सागढी नगरपालिका ३ झुलिटार बस्ने ५५ बर्षिया एक महिला जंगलमा घास काटन जाँने क्रममा बाघले आक्रमण गरी घाइते हुनुभएको थियो ।

प्राधिकरणका अनुसार आगलागीका कारण रु ८२ लाख ९१ हजार बराबरको क्षति भएको छ । सिरहामा तीन, भोजपुरमा दुई, पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर,कास्की, कपिलवस्तु, गुल्मी, बाँकेमा आगलागीका घटना भएका थिए । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ ।

गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बालेर आगो ताप्दा, विद्युत्को तार सर्ट हुँदा, विद्युत् सर्ट भई आगलागी भएको पाइएको छ । यस्तै अचानक विद्युतीय सवारी साधनमा आगलागी भएको घटना पनि प्राधिकरणमा दर्ता भएको छ ।

प्राधिकरणको विवरण हेर्दा अधिकांश आगजनी असावधानीका काररण भएको देखिन्छ । सामान्य सावधानी अपनाउँदा समेत जनधनको क्षति हुनबाट जोगाउन सकिने भएपनि असावधानी र जनचेतनाको अभाव देखिन्छ ।

आज ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

काठमाडौँ, १७ मङ्सिरः अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो ।

यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ ।

अपाङ्गताभएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भएपनि व्यवहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।

देशभरको मौसम आज मुख्यतया सफा रहने

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ । दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो । विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ ।

विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ ।४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ । लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।

राज्यका सबै संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति

काठमाडौँ, १७ मङ्सिर: राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दैै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापति गर्न जरुरी भएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ, अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उहाँहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको छ ।”

अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वनजिक सवारी, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

उहाँले भन्नुभएको छ, “अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा रहेका नकारात्मक भावनामा परिवर्तन ल्याइ समावेशिता, समानता, मानवअधिकार पहुँचयोग्य वातावरण एवं भेदभावविहीन समाजको निर्माण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको न्यायपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार, परिवार, समाज तथा सङ्घ संस्थाहरूको एकल र सामूहिक भूमिका अभिवृद्धिमा यस दिवसले थप बल पु¥याउने मैले विश्वास लिएको छु ।”

अपाङ्गता भएका नागरकिहरूको हकअधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो । यसवर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा विभन्नि कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ ।

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, कति पुग्यो?

काठमाडौँ, १७ मङ्सिरः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३० पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४८ पैसा र बिक्रीदर चार रुपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३० पैसा र बिक्रीदर २२ रुपैयाँ ४० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै शालग्राम सङ्ग्रहालय

ढोरपाटन (बागलुङ), १७ मङ्सिर: बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङभित्र सवा एक लाख शालग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटक बढेका हुन् ।

विशेष गरी मुस्ताङ घुम्नका लागि आएका पर्यटकहरु यहाँ आउने गरेका छन् । पछिल्लो समय औसतमा दैनिक ३०० पर्यटकले सङ्ग्रहालयको अवलोकन गर्ने गरेका छन् ।

शालग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । सार्वजनिक बिदाको दिन एक हजारभन्दा बढी पर्यटक आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि स्वामी प्रपन्नचार्यले जानकारी दिनुभयो ।

पछिल्लो चार महिनामा मात्रै २५ हजारभन्दा बढी पर्यटकले सङ्ग्रहालय अवलोकन गरेको उहाँको भनाइ छ । गत वर्ष झण्डै दुई लाख पर्यटक यहाँ आएको उहाँले बताउनुभयो । सङ्ग्रहालय पाँच वर्षअघि सर्वसाधारणलाई खुला गरिएको थियो ।

त्रिशूल आकारमा सुरुङभित्र रहेको सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । सङ्ग्रहालयमा ३०० किलो तौलसम्मका शालग्राम छन् । ऋषि प्रपन्नचार्यले भन्नुभयो, “नेपालीसहित भारतीय पर्यटकको आकर्षण बढेको छ, सुरुमा खासै पर्यटकको आगमन हुन सकेको थिएन, तर पछिल्लो समय आगन्तुकको सङ्ख्या बढ्दै गएको छ, अहिले सार्वजनिक बिदामा एक हजारभन्दा बढी पर्यटक यहाँ आउँछन्, अरु बेला पनि दुई÷तीन सय आइरहेका छन् ।”

पश्चिम नवलपरासीबाट घुम्न आएकी एलिना खनालले सङ्ग्रहालय धार्मिक महत्वको भएको बताउनुभयो । उहाँ मुक्तिनान पुगेर फर्कने क्रममा यहाँ आउनुभएको थियो । “यति ठूला सङ्ग्रहालयबारे मलाई थाहा थिएन, यहाँ आएर यति धेरै शालग्र्राम अवलोकन गर्न पाउँदा निकै खुसी लाग्यो”, खनालले भन्नुभयो, “कालीगण्डकीमा अहिले शालग्राम पाइन छोडे, तर यहाँ सङ्ग्रहित गरेर राखेको देख्दा अचम्म लाग्यो, यसको संरक्षण गर्न जरुरी छ ।”

शालग्राम सङ्ग्रहालय अवलोकनका लागि चितवनबाट आउनुभएका टीकाराम पाठकले पारिवारिक भ्रमणका लागि यहाँ आएको बताउनुभयो । सङ्ग्रहालयमा राखिएका कालिगण्डकी नदीको उत्गमस्थल दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको नक्सासहितको आकृतिले आकर्षित गरेको उहाँको भनाइ छ । शालग्राम सङ्ग्रहालय क्षेत्रमा श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरलगायतका थुप्रै धार्मिक संरचना निर्माण भएका छन् ।

तनहुँको बेनीकोट गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

दमौली (तनहुँ), १७ मङ्सिर: तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष रु दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् । सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ ।

बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष रु १६ लाख ५० हजारको सुन्तला बिक्री गर्नुभएको बताउनुभयो । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहनुभएका उहाँले सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको उल्लेख गर्दै गाउँबाट यस वर्ष रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिनुभयो ।

कालबहादुर रानाले आफूले रु चार लाखको सुन्तला बिक्री गरेको सुनाउनुभयो । उत्पादन भएका सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ठेकेदार नै गाउँसम्म आउँछन्, सुन्तला बगानको मोलमोलाइ गरेपछि बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्छन् ।”

स्थानीय मनसिंह थापाले अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सहज र मनग्य आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वर्ष मङ्सिर महिनाभर बेनीकोट गाउँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ हुन्छ ।” थापाले यस वर्ष रु दुई लाख १० हजारको सुन्तला बिक्री गर्नुभयो ।

भिरालो सडक रहेको र सडकको स्तरोन्नति नहुँदा सदरमुकामबाट नजिकै भए पनि सुन्तला ढुवानीमा समस्या भोग्नुपरेको व्यवसायी लेखबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दैनिक पाँच वटासम्म गाडीमा सुन्तला बजार पु¥याउने गरिएको छ । जोखिमपूर्ण बाटो भएकाले असहज भने छ ।”

बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन् । यहाँको सुन्तला काठमाडौँ, चितवन, पोखरासम्म पुग्ने गरेको छ । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले किसान यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् ।

नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर

काठमाडौँ, १७ मङ्सिरः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई सर्कुलर गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केही थप व्यवस्था तथा संशोधन गरेको थियो ।

बाढीपहिरोबाट प्रभावित इलामलगायतका जिल्लाका उद्यम व्यवसायका लागि प्रवाहित कर्जालाई ऋणीको अनुरोधमा कर्जाको पुनरसंरचा गर्न सकिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी आगामी चैतसम्मको पुनरसंरचना गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसरी पुनरसंरचना वा पुनरतालिकीकरण गर्दाको समयमा कर्जालाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानीको व्यवस्था कायम गर्नुपर्ने प्रावधान राखिएको छ ।

यसैगरी अबदेखि बैंक तथा वित्तीय संस्थाले अधिविकर्षलगायतका प्रयोजनक नखुलेका व्यक्तिगत कर्जा रु एक करोडसम्म प्रवाह गर्न सक्नेछन् । तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त सीमा नाघेजति रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रबन्ध गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यस्तै, इजाजतप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था बमोजिम उपलब्ध गराइने कर्जाको व्याजदर पाँच दशमलव ७५ प्रतिशत कायम गरिएको छ । यसअघि त्यस्तो व्याजदर छ प्रतिशत थियो ।

केन्द्रीय बैंकले ‘घ’ वर्गका वित्तीय संसथालाई पनि कर्जाको पुनरतालिकीकरण एव्म पुनरसंरचनाका सम्बन्धमा केही नयाँ व्यवस्था गरेको छ । विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका व्यक्तिलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिव्यक्ति रु १५ लाख बराबरको लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

यसअघि त्यस्तो कर्जा रु सात लाख बराबर मात्रै उपलब्ध गराउन सकनिे व्यवस्था थियो । समूहमा आवद्ध भएको सदस्यलाई एकै अवधिमा कर्जा वा धितो कर्जा मध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ ।

समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, १७ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
सन्देशमा प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको आर्थिक–सामाजिक अवस्था एवं अपाङ्गताको गाम्भीर्यका आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपाङ्गता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट गर्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता भएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।

नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तरराष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका उहाँले बताउनुभएको छ ।

आजको यस दिवसले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, सम्बन्धित सबै सरोकार भएकाहरूलाई अपाङ्गता भएका व्यक्ति एवं तिनका अभिभावकको हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा अझ धेरै कार्य गर्ने प्रेरणा र ऊर्जा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

वातावरण बिगार्नेलाई जरिवाना तिराउनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्पन्नताका होडमा पृथ्वीको वातावरण बिगार्नेलाई जरिवाना तिराउनुपर्ने बताउनुभएको छ ।

एमालेको वन तथा वातावरण विभागले वन, वातावरण तथा जलवायु परिवर्तन स्रोत पुस्तिका विमोचन एवं जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप–३०) को समीक्षा कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले प्रकृतिको महत्त्वलाई विश्वका सबै देशले बुझ्नुपर्नेमा जोड दिनुभयो ।

“वातावरण, विकास, समृद्धिका लागि वन हुनुपर्छ । सबै कुरा उपयुक्त ढङ्गले उपभोग्य छन् । हाम्रा वन र खोलानाला पनि समुचित ढङ्ग उपभोग्य वस्तु हुन् । तिनलाई संरक्षित गर्दै हामीले उपभोग गर्नुपर्दछ”, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले प्रकृतिका चिजहरूको महत्त्वलाई बुझ्नु आवश्यक रहेको बताउनुभयो ।

“जुन चिज फेरि लगाएर विकास गर्न सक्दछौँ त्यस्ता चिजलाई उपभोग गर्न डराउनुहुँदैन । तर करोडौँ वर्षसम्म उत्पादन गर्न नसकिने चिजको उपभोगमा होसियार हुनुपर्दछ”, उहाँले भन्नुभयो, “काठ केही वर्षभित्र तयार गर्न सक्दछौँ । तर ढुङ्गा हामीले उत्पादन गर्न नसक्ने भएकाले उपभोग गर्दा नि होसियार हुनुपर्दछ ।”

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले वन वातावरण जोगाउन एमाले प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले एमालेले मुलुकलाई लोकतान्त्रिक लयमा फर्काउन नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकोसमेत दाबी गर्नुभयो ।

विभागमा प्रमुख भारती पाठकले वातावरणीय सन्तुलन, वनको संरक्षण, प्रवर्द्धन र विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल चाइनिज ताइपेसँग पराजित

इन्डोनेसिया – अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको हो । खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो ।

चाइनिज ताइपेको लागि हुङ के सिनले निर्णायक गोल गोल गरिन् । उनले खेलको ५३ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलिको जित सुनिश्चित गरिन् । फिफा महिला फुटबलको वरियतामा चाइनिज ताइपे ४२ औँ स्थानमा रहँदा नेपाल ८९ औँ स्थानमा रहेको छ ।

यस त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै चाइनिज ताइपेले इन्डोनेसियालाई ५–० गोलअन्तरले पराजित गरेको थियो ।

चलचित्र विधेयक संशोधनसहित अघि बढ्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, १६ मङ्सिर : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सरकारले प्रस्तुत गरेको चलचित्र विधेयक अघि बढाउने विषयमा सहमति जुटेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सरकार, सांसदहरू र सरोकारवालाहरूको छलफलपछि विधेयक चलचित्र क्षेत्रको आवश्यक बुँदाहरू थपेर संशोधनसहित अघि बढ्ने सहमति जुटेको हो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयकलाई संशोधनसहित अघि बढाइने बताउनुभयो । उहाँले विधेयकमा संशोधन गर्न सकिने प्रावधान हुँदाहुँदै सरकार विधेयक फिर्ता गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “सरकारले विधेयक फिर्ता लिन चाहेको छैन । विधेयक प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नेमा सरकार स्पष्ट छ, सरकार, समिति र चलचित्र क्षेत्रका सरोकारवालाको सुझावका आधारमा विधेयकमा व्यापक परिमार्जन गरेर अगाडि बढ्नुपर्छ ।”

उहाँले विधेयकको दफावार छलफलको क्रममा संशोधन गर्न सकिने धारणा राख्नुभयो । सरकारको तर्फबाट धारणा सुनिसकेपछि चलचित्रकर्मी, निर्माता सङ्घ र अन्य सरोकारवालाहरू पनि विधेयक संशोधनको पक्षमा देखिएका हुन् ।

बैठकमा सुझाव दिन पुग्नुभएका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्माता सङ्घका महासचिव खगेन्द्र लामिछाने तथा चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामीलगायतले चलचित्र विधेयक चलचित्र क्षेत्रको विधि आयामलाई समेट्ने गरी संशोधन गर्नु आवश्यक भएको बताउनुभयो ।

बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले विधेयकमा विभिन्न चरणमा सरोकारवाला, विज्ञ र सांसदहरूसँग छलफल गरी दफावार छलफलमा अघि बढ्न समिति तयार रहेको बताउनुभयो । समितिले संशोधनका लागि सरोकारवालाहरूसँग लिखित सुझाव पनि मागेको उहाँले जानकारी दिनुभयो ।