गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण
काठमाडौँ। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ ।अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखापरीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनको सारांशमा लेखिएको छ ।
संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ ।
संस्थानमा रहेको जग्गामध्ये धनुषा जिल्लामा ४३.५ बिघा, महोत्तरीमा १२२ बिघा, बारामा २७ बिघा, पर्सामा सात बिघा तथा काठमाडौँमा १४ रोपनी, ललितपुरमा १२ रोपनी र भक्तपुरमा दुई रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।संस्थानले यसको पूर्ण लगत तयार नगरेकाले तयार गर्न र अन्य जिल्लामा अतिक्रमण भएको जग्गाको एकीकृत तथा अद्यावधिक लगत तयार गरी अतिक्रमित जग्गााको संरक्षण गरिनुपर्छ ।
संस्थान कार्यव्यवस्था विनियम, २०४९ को १७ (१) बमोजिम अधिकार क्षेत्रभित्रको जग्गासम्बन्धी छुट्टै लगत तयार गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।संस्थानले विभिन्न ६८ जिल्लाअन्तर्गत पहाडमा पाँच लाख ६१ हजार ९९० रोपनी र तराईमा ६६ हजार ३२० बिघा जग्गा गुठीको नाममा रहेको प्रतिवेदनमा उल्लेख छ ।
